Tuesday, November 7, 2017

सन्दर्भ ः नेपाल प्रहरी दिवस, प्रहरी सहिद परिवारको विजोग

प्रहरी सहिद परिवार प्रेम शिला चौधरी  ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा बैदेही घर भएका तत्कालिन प्रहरी जवान रामकुमार चौधरीको संकटकालमा मृत्यु भयो । माओवादीले २०५२ साल देखि सशस्त्र विद्रोह सुरु गरेको थियो । अञ्चल प्रहरी कार्यालय जनकपुर मार्फत  सर्लाहीको मलंगवा दरबन्दी रहेका चौधरी २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा खटिँदा चौधरीको निधन भयो । उनको ३८ बर्षिय पत्नी प्रेम शिला चौधरी अहिले पनि आफ्नो श्रीमानको निधन कसरी भयो भन्ने कुराबाट बेखबर छिन् । जतिबेला प्रहरी जवान चौधरीको निधन भएको थियो, चौधरी दम्पतिको विवाहको १ बर्ष पनि वितेको थिएन । उनको कुनै सन्तान पनि छैन । विवाह हुँदा प्रेम शिला १८ बर्षकी थिईन । श्रीमान वितेपछि उनको संसार नै ध्वस्त भयो । ससुरा जोगिन्दर चौधरीले जसो तसो घर परिवार सम्हाल्दै आएका थिए । तर, ५ बर्ष अघि ससुराको पनि निधन भयो । अहिले उनको आफ्नो भन्ने परिवारमा खासै कोही पनि छैन । आफन्तमा देवर पर्ने नातेदारहरुले बेला बखत रेखदेख गर्ने गरेपनि जीवनका दिनहरु विताउन प्रेम शिलालाई धेरै अप्ठ्यारो भईरहेको छ ।
२७ असोजमा संघीय प्रहरी इकाई कार्यालय जनकपुरले आयोजना गरेको प्रहरी दिवसको कार्यक्रममा बोलाइएकी ती प्रेम शिला अमर प्रहरी सहिद परिवारको पंक्तिमा बसेकी थिईन । प्रेम शिलासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले उनको श्रीमानको निधन कसरी भयो भन्ने बारेमा जान्न खोज्दा उनले गहभरी आँसु चुहाउँदै भनिन,“ त्यो कुरा त अहिलेसम्म पनि मलाई थाहा भएन, मेरो श्रीमानको मृत्यु कसरी भयो । चुनावका लागि नेपालगञ्ज तिर जाँदैछु भनेर भनेका थिए । गएको केही दिन पछि उनको लाश जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भनेर प्रहरीद्वारा जानकारी गराइएको मात्र थियो ।” चुनावको लागि जानु भन्दा एक दिन पहिले जनकपुरमा सिनेमा हेर्न जाऊँ भनेर भनेपनि सिनेमा हेर्न जान सकिएन । उताबाट तपाई फर्केर आएपछि जनकपुरसँगै जाउँला भनेर भनेको सम्झिँदै प्रेम शिला भन्छिन,“ विहे भएको १ बर्षमै श्रीमान वित्ला भन्ने कुराको कल्पना पनि गर्न सकेको थिएन । प्रहरीसँग विवाह भएपछि जीवन आनन्दले वित्ला भनेर सोचेकी थिएँ । तर, मेरो दुर्भाग्य, पछिल्लो २० बर्ष देखि अत्यन्तै कष्टपुर्ण जीवन जिउन बाध्य भएको छु ।” अर्को विहे किन नगरेको भन्ने प्रश्नमा प्रेम शिला भन्छिन,“ हाम्रो जाती भुमिहारमा विधवा महिलाको दोस्रो विहे गर्ने परम्परा छैन । त्यतिबेला दोस्रो विहे गर्ने कुरा कसैले कल्पना पनि गर्न सक्दैन्थ्यो ।” श्रीमानको पेन्सनबाट गुजारा चलाईरहेकी प्रेमशिलालाई पतिको निधन पश्चात राज्यले के कस्ता सेवा सुविधा दिए भन्ने कुरा बारे पनि उनी पुर्णतया बेखबर छिन् । भन्छिन,“ सरकारले पैसा के कति दियो वा दिएन भन्ने कुरा आफुलाई केही पनि थाहा छैन । सबै कुरा ससुरालाई थाहा थियो होला । तर, उहाँ पनि अब वितिसक्नु भयो ।”
प्रहरी सहिद परिवार  पुनिता ठाकुर ।
धनुषाको विन्धी घर भएका अभिराम ठाकुर ९ चैत्र २०५७ मा माओवादीसँगको भिड्न्तमा विरगती प्राप्त गरे । इलाका प्रहरी कार्यालय रुकुमकोट, रुकुममा कार्यरत रहेका अभिराम ठाकुर तत्कालिन विद्रोही नेकपा माओवादीसँगको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए । उनको निधन भएपछि श्रीमति पुनिता ठाकुरलाई दुई छोरा र १ छोरीको परिवार चलाउन निकै समस्या भयो । हुन त राज्यले ७ लाख रुपैयाँ प्रदान गर्यो तर, त्यो रुपैयाँ त केही बर्षमै सकियो । श्रीमानको पेन्सनले मात्र छोरा छोरीहरुको शिक्षा तथा पालन पोशन सम्भव नभएपछि सिलाईका तालिम लिएर कपडा सिउने देखि बचत तथा सहकारी संस्थाका अभिकर्ता बनेर उनले आफ्ना छोरा छोरीहरुलाई जसो तसो पढाउन सफल भएकी छिन् । २५ बर्षिय छोरा चन्द्रभुषण ठाकुरलाई इन्जिनियरिङ्गको पढाई र २२ बर्षिय छोरा प्रकाश ठाकुरलाई विएससी गराउन सफल पुनिता ठाकुर भन्छिन,“ श्रीमान वितेपछि घर चलाउन धेरै समस्या भयो । हाम्रो विहे हुनु अघि नै सासु वितेकी थिईन, श्रीमान वितेको केही बर्ष पछि ससुराको पनि निधन भयो ।” त्यसपछि घर चलाउन धेरै नै समस्या भोगिरहेकी पुनिता भन्छिन,“ सरकारले प्रहरीका सहिद परिवारहरुलाई खासै वास्ता गरेको छैन । बर्षमा एक दिन प्रहरी दिवसमा बोलाइन्छ त्यसपछि सहिद परिवार कसरी बाँचिरहेका छन्, के कस्ता समस्याहरु भोग्नु परेको छ विषयमा कहिल्यै खोज खबर लिँदैनन् ।”मेरो छोरा छोरीहरु पढेर काविल बनिसके तर म जस्तै कतिपय प्रहरी सहिद परिवारका सन्ततीहरु बेरोजगार छन्, गरिवीको जीवन जिउन बाध्य भएका छन्, कतिपय बैदेशिक रोजगारीमा जान परेका छन्, त्यसैले सरकारले ती सहिद परिवारका सन्ततीहरुलाई नेपाल प्रहरीमै जागिर दिनुपर्ने ठाकुर बताउँछन् ।
यसरी हेर्ने हो भने आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा देशैभरी कैयौं प्रहरीहरुले आफ्नो ज्यानको प्रवाह नगरी बलिदानी दिएका प्रहरी सहिद परिवारहरुको अवस्था भने अत्यन्तै विदारक पाइन्छ । राज्यले सहिद घोषणा गर्नुका साथै कतिपयलाई ७ लाख र कतिपयलाई १० लाख रुपैयाँ राहत बापत दिएपनि तिनका परिवार र सन्ततीहरुको भविष्यबारे राज्यले नसोचिदिँदा तिनीहरुको विचल्ली भएको छ ।
धनुषामा सहादत दिने वीर प्रहरीहरु
प्रहरी सहिदहरुलाई श्रद्धान्जली व्यक्त गर्दै प्रदेश नं. २ का
प्रमुख तथा एआईजी विजयलाल कायस्थ ।
माओवादीले सशस्त्र विद्रोह गरिरहेको बेला धनुषाका कतिपय सुरक्षाकर्मीहरुले सहादत दिनु पर्यो । ११ फागुन २०५७ मा धनुषा महेन्द्रनगर १ घर भएका प्रहरी नायव निरीक्षक इन्द्र बहादुर बस्नेत इलाका प्रहरी कार्यालय बेलघारी सिन्धुलीमा कार्यरत थिए । माओवादीले चौकीमा आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । त्यसैगरी धनुषाको लगमा गाडागुठी घर भएका अर्का प्रहरी नायव निरीक्षक सोनेलाल मण्डलको २४ चैत्र २०६२ मा मृत्यु भएको थियो । माओवादी सशस्त्र समुहले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आक्रमण गर्दा उनको निधन भएको थियो ।
त्यसैगरी धनुषा लक्ष्मिनिवास ७ का प्रहरी सहायक निरीक्षक नैनबहादुर तामाङ्ग ८ अषाढ २०६२ मा निधन भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरमा माओवादीले गरेको आक्रमणमा परि तामाङ्गले वीरगति प्राप्त गरेका थिए । २४ साउन २०५५ मा धनुषा महेन्द्रनगर ५ का प्रहरी हवलदार केशव गिरीले सहादत प्राप्त गरेका थिए । प्रहरी चौकी सामे खर्च, सिन्धुपालचौकमा कार्यरत रहेका तामाङ्ग माओवादीले हालेको एम्बुसमा परेर सहादत दिएका थिए ।
धनुषा महेन्द्रनगर १ का प्रहरी जवान भोला रजक महोत्तरीको बर्दिवास स्थित सशस्त्र प्रहरी गनमा कार्यरत रहेका बेला ७ भदौ २०५७ मा माओवादीसँगको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए । त्यसैगरी धनुषा हंसपुर कठ्पुल्ला २ का प्रहरी जवान सुबोध कुमार सिंह धनुषाको सिन्धुली स्थित इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत रहँदा १२ भदौ २०५९ मा सहादत प्राप्त गरेका थिए । माओवादीले इलाका प्रहरी कार्यालय भिमानमा आक्रमण गर्दा ५१ जना प्रहरी सुरक्षाकर्मीहरुको मृत्यु भएको थियो । सिंह पनि त्यही आक्रमणमा सहादत प्राप्त गरेका थिए । धनुषा तल्लो गोदार ७ का प्रहरी जवान धनबहादुर गौतम अर्घाखाँचीको इलाका प्रहरी कार्यालय रवनमा कार्यरत रहँदा रातिको समयमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि सहादत दिएका थिए । धनुषा नक्टाझिज १ का प्रहरी जवान विरकुमार महतो धनुषाकै इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेको बेला घर फर्किने क्रममा माओवादीसँगको दोहोरो भिडन्तमा सहादत दिएका थिए ।
धनुषामा कार्यरत रहेका प्रहरीहरुको सहादत
माओवादीको सशस्त्र द्वन्द्वकालमा देशका विभिन्न ठाउँबाट सुरक्षा प्रदान गर्नका लागि धनुषामा खटिएका २५ जना प्रहरीहरुले सहादत प्राप्त गरेका थिए । ४ कार्तिक २०५३ मा धनुषाको इलाका प्रहरी कार्यालयमा खटिएका प्रहरी नायव निरीक्षक यम बहादुर केसी, १६ कार्तिक २०५५ मा धनुषाको प्रहरी चौकी मुखियापट्टीमा कार्यरत रहेका प्रहरी जवान प्रेम कुमार चौधरी, २ चैत्र २०५६ मा इलाका प्रहरी कार्यालय यदुकुहामा खटिएका प्रहरी जवान रामकुमार सिंह दनुवार माओवादीसँगको दोहोरो झडपमा सहादत प्राप्त गरेका थिए । त्यसैगरी २५ पुष २०५९ मा धनुषाको प्रहरी चौकी गिद्धामा कार्यरत रहेका प्रहरी जवान केदारनाथ कुवर, १६ भदौ २०६० मा इलाका प्रहरी कार्यालय यदुकुहामा कार्यरत रहेका प्रहरी हवलदार लालबहादुर लामाले सहादत प्राप्त गरेका थिए ।
त्यसैगरी ३० कार्तिक २०६० मा धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभुमिमा कार्यरत रहेका प्रहरी जवान जनुवा थारु, २१ मंसिर २०६० मा इलाका प्रहरी कार्यालय सबैलामा कार्यरत रहेका प्रहरी निरीक्षक नरेश पोखरेल, १६ पुष २०६० मा इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी हवलदार टेकलाल श्रेष्ठ, २९ पुष २०६० मा इलाका प्रहरी कार्यालय धनुषाधाममा कार्यरत रहेका प्रहरी हवलदार झलक बहादुर महतको पनि माओवादीसँगको दोहोरो भिडन्तमा सहादत प्राप्त भएको थियो ।
त्यसैगरी धनुषाको इलाका प्रहरी कार्यालय यदुकुहामा २२ फागुन २०६० मा तत्कालिन सशस्त्र समुह माओवादीले गरेको आक्रमणमा प्रहरी निरीक्षक सहित ९ जना प्रहरीहरु सहादत प्राप्त गरेका थिए । प्रहरी निरीक्षक गम्भीरचन्द, प्रहरी सहायक निरीक्षक रामबालक यादव, प्रहरी हवलदार बेचन कुमार राउत र प्रहरी जवानहरु रामहर्ष उपाध्याय, रामबलराम यादव, तेज प्रसाद भट्टराई, दिलिप कुमार सिंह, निर्मल कुमार पुलामी मगर, बलबहादुर राईको सहादत भएको थियो ।
त्यसैगरी १ मंसिर २०६१ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी जवान विरकुमार महतो, ८ फागुन २०६१ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार राउत माओवादीसँगको दोहोरो भिडन्तमा मारिएका थिए । त्यसैगरी ७ बैशाख २०६२ मा जनकपुर १४ स्थित वडा प्रहरी कार्यालय मुजेलियामा माओवादीले राजमार्गमा राखेको पे्रसरकुकर बम हटाउने बेला प्रहरी निरीक्षक अजय कुमार सिंह, प्रहरी सहायक निरीक्षक राजेन्द्र कुमार श्रेष्ठ र प्रहरी हवलदार रविन्द्र दमाईको निधन भएको थियो । ११ चैत्र २०६२ मा जनकपुरको वडा कार्यालय मुजेलियामा कार्यरत प्रहरी सहायक निरीक्षक रामनाथ प्रसाद यादव र प्रहरी हवलदार प्रेम बहादुर स्याङ्वोले सहादत प्राप्त गरेका थिए ।
पीडा शव्दमा व्यक्त गर्न सकिंदैन ः  एआईजी विजयलाल कायस्थ
यसरी हेर्ने हो भने द्वन्द्व कालमा धनुषा सहित देशैभरीका करिब १ हजार ५ सय जना नेपाल प्रहरीका कर्मचारीहरुले आफ्नो कर्तव्य पालनाको शिलशिलामा ज्यानको आहुति दिएका छन् । देश र जनताका लागि ती बीर सपुतहरुले सहादत दिएपनि ती सहिद परिवारहरु प्रति राज्यले बेला मौका खोज खबर नलिँदा सहिद परिवारहरु असंतुष्ट देखिन्छन् ।
प्रदेश नं. २ को प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त नायव महानिरीक्षक विजयलाल कायस्थ भन्छन,“ आज तिनै प्रहरीहरुको त्यागले नेपाल प्रहरी दरो खुट्टाका साथ उभिन सफल भएको छ । सम्पुर्ण सामाजका अगाडी शिर ठाडो पार्न सफल भएको छ । सिंगो ७३ हजार प्रहरी कर्मचारी रहेको नेपाल प्रहरी संगठन नै ती अमर बीर प्रहरी सहिद प्रति आभारी छन् । र, ती  सहिद परिवारहरुका साथ हमेसा रहनेछन् ।” २०१२ सालमा नेपाल प्रहरीको ऐनमा लाल मोहर लागेपछि प्रहरी संगठनले बैधानिकता पाएको थियो । असोज मसान्तमा उक्त ऐन पारित भएकाले प्रत्येक बर्षको असोज मसान्तमा नेपाल प्रहरीले प्रहरी दिवस मनाउने गरेको छ । एआईजी कायस्थ भन्छन,“ संकटकालको समयमा देशैभरी करिब हामीले साढे १५ सय प्रहरी साथीलाई गुमाएका छौं । त्यसको पीडा शव्दमा व्यक्त गर्न सकिंदैन । आफ्नो प्राणको आहुतिले भिजेको संगठन सायदै अरु होला । र, देशलाई आवश्यक परे ७३ हजार प्रहरी अझै पनि आहुति दिन तयार छौं ।”

२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment