Monday, May 27, 2013

प्रकाशकीय


२०६८ जेठ ८ गते आईतबारका दिन देश, समाज र विकासको सपना बोकी “द एक्सक्लुसिभ” साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित भएको थियो । र, यही २०७० जेठ ८ गते दोस्रो वार्षिकोत्सव देशको राजनीतिक उथल पुथलका कारण मनाउन न पाउँदा अत्यन्त दुःखित भएकोे छु । राजनीतिक दलहरु बीच बल्झिएको राजनितिले नयाँ संविधान जारी नै नगरी संविधानसभाको विघटन पश्चात मुलुक झन–झन भुमरीमा फस्दै गएको छ । नवगठित चुनावी मन्त्रीपरिषदको गैरदलिय सरकारले अषाढमा पनि निर्वाचन गराउन नसक्नुमा राजनीतिक दलहरु पनि त्यतिकै जिम्मेवार देखिन्छन । अब मंसिरमा निश्पक्ष र भयरहीत संविधानसभाको चुनाव गराई नयाँ संविधान जारी गराउने तर्फ वर्तमान सरकार अग्रसर हुनेछ भन्ने आशा राखेको छु ।
       गैरमुनाफामुलक साप्ताहिक पत्रिका व्यवसायलाई निरन्तरता दिदैं दुई वर्षभित्र देखिएका विभिन्न आरोह अवरोहका बीच यस पत्रिकाले उपलब्धी र चुनौतिका साथै यस क्षेत्रका संचार जगतमा आफ्नो दरो उपस्थिति जनाएको हामीलाई ज्ञात भएको छ । द एक्सक्लुसिभ  छोटो समयमा नै समाजका सच्चा पहरेदार र परिवर्तनका मार्गमा सदैव अडिग हुँदै संचार जगतलाई समेत आफ्नो दायित्व प्रति सचेत हुन चुनौती दिदै आएको पाठकहरुको प्रतिक्रिया छ । हामीलाई गर्व छ देश, समाज र विकासको सच्चा सिपाही भई कार्य गर्दै आएकोमा । कसै सँग सम्झौता नगरी संघर्षको बाटो अपनाई सत्य, तथ्य र समाजमा देखिएका विकृति–विसंगति, भ्रष्टाचार र विभिन्न किसिमका माफियातन्त्र विरुद्ध जोड्दार रुपमा आवाज उठाउन चुकेका छैनौं ।कुनै  पनि दबाब र गलत तत्व सँग कहिल्यै सम्झौता गरेनौ र नगर्ने प्रतिबद्धता पनि दोहो¥याउन चाहन्छौं।
हामीले समाजबाद, विकास र न्यायलाई जोडदिएका छौं । हामीले आवाजबिहीनको आवाजलाई उजागर गर्ने हरसम्भव प्रयास गरेका छौं र गर्ने नै छौं । जसले गर्दा छोटो समयमा नै संचार क्षेत्रमा यो पत्रिका स्थापित हुन पुगेको छ । मलाई के पनि लाग्छ भने “द एक्सक्लुसिभ” सबै पक्षको रुचिको विषय भईसकेको हँुदा पाठक वर्गमा देखिएका आकांक्षा पुरा गर्न हामीलाई जिम्मेवारी अझै थपिएको महशुस भएको छ । त्यस जिम्मेवारीलाई पुरा गर्न हामीहरु हरसम्भव प्रयासरत रहने छौं । केही कमी कमजोरी, प्राविधिक त्रुटि र केही अंशीक त्रुटिलाई समेत अब आउने दिनमा सुधार गर्ने विश्वास व्यक्त गर्दछौं ।
   द एक्सक्लुसिभ एउटा पत्रिका मात्र नभई एउटा मिशन पनि हो त्यस मिशनमा पूर्ण रुपमा साथ दिने द एक्सक्लुसिभका सम्पादन मण्डली सहितका टिम र आफ्नो उपस्थिति जनाउनु भएका सम्पुर्ण पाठक वर्ग समाजिक अभियानकर्ता, बुद्धिजिवी, राजनीतिज्ञ, युवा विद्यार्थी, व्यापारी विज्ञापनदाता , सम्पूर्ण शुभेच्छुक तथा देश विदेशबाट प्राप्त सुझाव सल्लाह  लाई आत्मसात गर्दै आगामि श्रावण महिनाको सुरुवातबाट दैनिक पत्रिका ‘हल्ला बोल’ को समेत प्रकाशन गर्ने सहर्ष जानकारी गराउन चाहन्छौं।

सम्पादकीय

प्रतिबद्धता


२०६८ जेठ ८ गते ‘द एक्सक्लुसिभ’ पत्रिकाको पहिलो अंक बजारमा आएको २०७० जेठ ८ गते दुई वर्ष पुरा भएको छ । विभिन्न आरोह अवरोहका बीच हामीले दुई वर्ष कसरी पुरा गर्यौ त्यस तर्फ ध्यान नै गएन् । देश, समाज र विकास प्रति प्रतिबद्ध नारा रहेको हाम्रो पत्रिकाले नारालाई कति पुष्टी गरेको छ वा छैन त्यो पाठक वर्ग सामु प्रष्ट छ ।
जनतालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्ने अठोट लिएको द एक्सक्लुसिभले अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थय, कृषि, खेलकुद कला, संस्कृति आर्थिक सहित राजनीतिक विषयमा निर्भिकताका साथ जनसमक्ष समाचार राख्न सकेकोमा आफूलाई गौरवान्वित महशुश गर्दछ । अन्तरवार्ता, चाण्क्य निति, विश्व प्रसिद्ध व्यक्तित्व सहित नियमित प्रकाशन गरिएको छ । साथ– साथै एक्सक्लुसिभले कार्टुनको प्रयोग मार्फत समाजका विकृति विरुद्ध व्यङ्य हानेको छ ।
यसका अतिरिक्त नियमित लेख रचना दिएर एक्सक्लुसिभलाई एउटा विचारमुलक पत्रिकाको रुपमा स्थापित गराउने सम्पूर्ण लेखक ,स्तम्भकारहरुलाई धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु । गैरमुनाफामुलक व्यवसाय पत्रिका प्रकाशनमा सम्पूर्ण सहयोग प्रदान गर्ने यस पत्रिकाका प्रकाशक राजु चौधरीको भुमिका अत्यन्त महत्वपुर्ण छ । सम्पादकीय सवतन्त्रता लाई उच्च सम्मान गर्नु हुने यस पत्रिकाको प्रकाशक प्रति पनि त्यतिकै आभार व्यक्त गर्न चाहन्छु । यसका अतिरिक्त कम्प्यूटर ले–आउट सहयोग प्रदान गर्ने भाई संजय कुमार ठाकुरको भुमिका पनि त्यतिकै महत्चपूर्ण छ । जहिले पनि पत्रिकालाई आकर्षक बनाउन रचनात्मक कार्य गर्न उनी हिचकिचाएनन् ।
त्यसैगरी पाठकवर्गहरुको हात सम्म पत्रिका पु¥याउने तथा बजार ब्यवस्थापन गर्ने साथीलाई पनि व्यक्तिगत रुपमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै विज्ञापनदाता, पाठकवर्ग लगायत सम्पुर्ण शुभेच्छुकहरुले म प्रति गरेको विश्वास, स्नेह र मायालाई उच्च सम्मान गर्दै तेस्रो वर्ष पनि त्यसलाई निरन्तरता प्रदान गर्नु हुने नै छ भन्ने अपेक्षा राख्दछु । पत्रकार आचार संहितालाई दृष्टिगत गर्दै पिडीत जनताको आवाज बन्न यो पत्रिका फेरी पनि विगतको वर्ष झै यस वर्ष पनि निरन्तर कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।यसका अतिरिक्त सिमित स्रोत– साधन तथा जनशक्तिलाई व्यवस्थापन गर्दै पाठक समक्ष उपस्थित हुनु ठुलै चुनौती हामी सामु छ । यद्यपि यस अंकमा विभिन्न लेख–रचना मार्फत तथा व्यक्तिगत रुपमा आएका सम्पुर्ण सुझावहरुलाई निरन्तरता दिँदै पत्रिकालाई अझ प्रभावकारी र लोकप्रिय बनाउन हरसम्भव प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
   

तीन जना यौन व्यवसायी पक्राउ


द एक्सक्लुसिभ सम्वाददाता

जनकपुरका लजहरुमा अवैध देह व्यापार भैरहेको द एक्सक्लुसिभले समाचार सम्प्रेसन गरेपछि प्रहरीले देह व्यापारमा संलग्न रहेको आरोपमा सोमवार स्थानिय बजरंग चौकबाट तीन महिलालाई पक्राउ गरेको छ । बजरंग चोक स्थित एक घरबाट प्रहरी विहान करिव ११ वजे दुई केटी सहित ३ जना महिलालाई पक्राउ गरेको छ । ग्राहकका पखाईमा रहेका ति महिलाहरुलाई गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मुजेलिया प्रहरी चौकीबाट संयुतm रुपमा खटेको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । महोत्तरी निवासी शत्रुघ्न यादव भने व्यतिmले सो घर केहि महिना अघि मासिक रु.१५ हजारका दरले भाडामा लिई यौन व्यवसाय गराउदै आएको एक जना प्रहरीले बताए । विगत केहि महिना देखि जनकपुरमा यौन व्यवसाय फस्टाएको छ ।
यौन व्यवसायमा सक्रिय महिलाहरुले सडकमै ग्राहक खोज्न थालेका छन् । पक्राउ परेका महिलाहरुले घरको आर्थिक अवस्था कमजोर भएर यौन व्यवसायमा संग्लन भएको बताएका छन् । एउटा ग्राहकबाट  तिन देखि पाँच सय सम्म रकम पाउने गरेको उनीहरुको भनाई छ । पक्राउ परेकी सवैला घर बताउने ति अन्दाजी १८ वर्षिया महिलाले भनिन,‘ ५÷६ वर्ष अघि नै आमा बुवाको मृत्यू भईसक्यो, घरमा कोही छैन,एउटा दाई हुनुहुन्छ, त्यो पनि ससुराली मै बस्छन्, कुनै खोजखबर गर्दैन, के गर्ने गुजारा चलाउनलाई  केहि त गर्नुपर्छ ।’ अन्य पेशा गरेर पनि त गुजरा चलाउन सकिन्छ नि ? भन्ने प्रशनमा उनले भनिन,‘ अन्य पेशा भन्दा यो पेशा सजिलो छ, यहाँ आफ्नो कोही नभएकोले महिलालाई सजिलै कसैले काम दिदैन, म जस्ता अनपढ केटीलाई कसले काम दिन्छ ? हुनत मैले काम पनि न खोजेको होइन, तर कामै खोज्ने क्रममा कति जनाले मेरो अस्मिता नै लुटे । पछि  कुनै मतलव राखेन ।’ त्यसकारण मलाई सजिलो यो पेशा नै लाग्यो, उनले भनिन ।
उनीसँगै पक्राउ परेकी महोत्तरीको धवौली घर बताउने ति महिलाले भनिन, ‘यो कार्य कसैले लहरले हैन करले नै गरेको हुनुपर्छ, जस्तो मलाई लाग्छ ।’ ‘मेरो श्रीमान दिन भरि रिक्सा चलाउनु हुन्छ, तर राती घर आउँदा हातमा एक रुपैया पनि हुदैन, कमाएको जति रुपैयाँ रक्सीमा उडाउँछ,’ उनले भनिन,‘ घरमा तिन जना बच्चाहरु छन्, कमाउनेवाला कोहि छैन, यौन धन्दामा म पुर्ण रुपमा सक्रिय छैन, कहिले काँही मात्र आउने गरेको छु ।‘
आज विहानै एक जनाले फोन गरेर फलानो ठाँउमा आउन भन्या थियो, काम पनि भएन, मोवाइल पनि हरायो, सव भन्दा ठुलो करा त प्रहरीले प्रक्राउ गर्दा झन बदनामी नै भयो ,यसो भनिरहँदा उनको आखामा आँशु देखिन्थयो ।
यस सम्वन्धमा प्रहरी निरिक्षक दिनेश पजियारले प्रक्राउ परेकाहरु वारे अनुसन्धान भईरहेको बताए । प्रहरीले एक ठाउँबाट केही महिलालाई पक्राउ गरेपनि जनकपुरका लजहरुमा हुने अवैध देह व्यापार रोकिएको छैन ।

‘द एक्सक्लुसिभ’ सँगको मेरो अनुभव



सन्तोष सिंह

‘द एक्सक्लुसिभ’ दुई वर्ष पुरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्षको यात्रामा केहि पाइला म पनि साथमा हिडेको छु । मेरो पत्रकारिता र एक्सक्लुसिभ यात्राको सानो अनुभव छ । शिक्षाको विद्यार्थी भएर पत्रकारिता गर्नु मेरो लागि चुनौतीहरु अझै बाँकी नै रहेको मेरो बुझाइ छ । तर पाँच वर्षे शिशु पत्रकारिताको यात्रामा महत्वपुर्ण क्षण र एक्सक्लुसिभको अनुभव पिडादायि नै छ । जनकपुरमा थालनी गरेको पत्रकारिता मेरो लागि अविस्मरणिय छ । अध्ययनका लागि गाउँबाट जनकपुर पस्न साथ मेरो लक्ष्य पत्रकारिता गर्ने बन्यो । २०६१ सालमा एसएलसी दिएर २०६२ सालमा जनकपुर बस्न थाले पछि यहाँ छापा पत्रकारिताले राम्रै स्थान पाएको थियो । कक्षा १२ पढदा यहाँ सञ्चालन भएका एफएमहरुमा पस्ने जमर्को गरें । तर म सफल हुन सकिन । पटक पटकको प्रयास सफल हुन सकेन । जनकपुरमा लगभग ८ एफएम पछि खुलेको मिथिलाञ्चल एफएमबाट पत्रकारिता शुरुवात गरें । मेरो पत्रकारिता गर्ने रहर पुरा भयो । तर उद्येश्य भने पुरा हुन सकेन । म छापा पत्रकारितामा आएँ । छापाको दुई वर्ष अनुभव भए पछि म अपराध र समाजको रिर्पोटिङ्ग गर्न चाहन्थे । जुन क्षेत्रमा  सिकाउने काम यस एक्सक्लुसिभका सम्पादक तत्कालिन मिथिलाञ्चल विशेष दैनिक तथा मिथिलाञ्चल एफएमका कार्यकारी सम्पादक अजय अनुरागीले भरपुर सहयोग गर्नु भयो । साथीहरुले मलाई काम गर्न हौसाए । अपराध र समाजको रिपोर्टिङ्ग गर्ने उद्येश्यले पत्रकारिता सिकेको मिथिलाञ्चल छोडेर एक्सक्लुसिभमा आएको थिएँ । यहाँ सम्मको यात्रामा नवल सर हँुदै अजय अनुरागि र सुरेश यादव संगको मेरो सम्बन्ध प्रगाढ भयो ।

एक्सक्लुसिभमा काम गर्नु मेरो लागि सामान्य थिएन । दैनिक छापामा काम गरेको अनुभव यहाँ अपुग भयो । तर अजय सरको सल्लाहमामा लगातार काम गर्न थालें । पहिलो पृष्ठमा बाइलाइन समाचार छाप्ने रहर संगै पत्रकारिताको उद्येश्य पुरा हुन थाल्यो । शिक्षा, अपराध, समाज संगै यहाँ मलाई खेल र मनोरञ्जन समाचार लेख्न एक पेज नै छुट्याइयो । जुन पेज भर्नु भन्दा पनि पाठकलाई स्वाद दिनु मेरो लागि चुनौति थियो । तर अजय सर र अनिल दाईको सल्लाहमा अघि बढदै जाँदा प्रकाशक राजु चौधरीबाट समेत मैले माया पाएँ । यहाँ मैले लेखेको समाचारको  पहिलो टारगेट युवा पुस्ता हुन्थ्यो । खेलकुदको समाचार निरन्तर लेखेकै कारण द एक्सक्लुसिभको सहयोगले खेलकुद तथा संस्कृति विकास कोषले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार पाएँ ।
एक्सक्लुसिभमा आउने खोराक एक साता अघि नै तय हुन्थो । जिम्मेबारी बाँडफाड हुन्थ्यो । यहाँ डेस्कबाट समाचर तोकेर गर्न लागउनु भन्दा पनि म बाट नै यो साता के(के गर्ने सम्पादक अनुरागी सरले सोध्नु हुन्थ्यो । मैले रोजेको विषयमा नै सहयोग पाउँथे । यहाँ काम गर्दा आज सम्म गर्व नै गरेको छु । मालिकको दवावमा आफैले लेखेको समाचारको खण्डन छाप्नु परेको छैन । न त कसै सामु झुक्नु परेको छ । त्यहि नै मेरो लागि एक्सक्लुसिभको ठुलो साथ हो । समाचारमा फलोअप गर्ने सिकाई मैले यहाँबाट नै सिकेको छु । समग्रमा भन्ने हो भने एक्सक्लुसिभले पत्रकारितामा खोज गर्न मलाई सिकायो । यहाँ काम गर्दा मैले कहिल्यै तनाव झेल्नु परेन । समयमा तलव र समयमा काम गर्ने वातावरण पाए पछि म सन्तुष्ट थिएँ । तर पत्रकारितामा लागे पछि सबैको राष्टिूय सञ्चार माध्यममा पस्ने रहर हुन्छ । जुन मौका मैले जनकपुरबाट पाउन सकिन । र, म महोत्तरी हुदै सर्लाही आएँ । तर एक्सक्लुसिभको साथ भने छोडेको छैन । विभिन्न स्थानमा रहेर पनि पनि यहाँ मैले काम गर्ने मौका पाएको छु । मौका संगै छापिएको समचारको प्रभावले मलाई खुसि बनाएको छ । एक्सक्लुसिभ सप्ताहिको दुई वर्ष पुरा भएको अवसरमा पाठकले यस पत्रिकालाई मन पराएर मेरो समाचारलाई मन पराइदिनु भएको धन्यवाद दिन चाहन्छु ।

‘द एक्सक्लुसिभ’ समाज प्रति जिम्मेवार मिडिया


 जिवेश झा


‘द एक्सक्लुसिभ’ ले सञ्चार जगतको दुई बर्षे यात्रा तय गरेको छ । नेपाली सञ्चार क्षेत्रमा आफ्नो अमिट छाप छोडेको ‘एक्सक्लुसिभ’ ले ग्रामिण र शहरिया दुवै सुचनालाई संतुलित रुपले पसकेको कारण उ आफू समाजप्रति जिम्मेबार मिडियाको रुपमा प्रस्तुत भएको उसको पठनियताबाट प्रस्ट हुन्छ ।
‘एक्सक्लुसभ’ मा खोजमुलक समाचार हुनु यसको ठुलै सबल पक्ष हुन । जनकपुरमा कोठे पत्रकारिता बढ्दै गरेको अवस्थामा ‘स्पट जर्नालिज्म’ अर्थात संबाददाता आफै स्रोत र सुचना कहाँ पुगेर समाचार बनाउनु खुशीकै खबर हो । आफूलाई बरिष्ठ पत्रकार भन्नेहरुले जनकपुरिया पत्रकारितालाई प्रदुषित गर्नका लागि कोठे पत्रकारिता, हनुमान पत्रकारिता र सञ्जय उवाच पत्रकारिता जस्ता किसिमका पत्रकारिता गर्नमै व्यस्त छन् । सञ्जय महाभारतका एक पात्र हुन । उसँग दुव्य दृष्टी थियो । उसले एउटा कोठामै बसी आफ्नो दिव्य दृष्टीको सहयोगले प्रत्यक्ष प्रशारण गर्दथे र कुरुक्षेत्र युद्धको तमाम सुचना आफ्ना राजा ध्रितराष्ट्रलाई दिने गर्दथे । त्यो पत्रकारितामा एउटा बन्द कोठामा सुचना तयार गरिन्थ्योस संबाबददातालाई स्रोत र घटना स्थलमा पुग्नै पर्दैनथ्यो । धेरै हदसम्म यस्तै किसिमको पत्रकारिता गर्नेहरुको जमात बढिरहेको बेलामा एक्सक्लुसिभले आफ्नो मिहिनेत र उर्जा खर्चेर नविनतम समाचार पस्किनु र पाठकवर्गमा ‘पोपुलर’ हुनु गर्वकै बिषय हो । एक्सक्लुसिभले उठान गरेका बिषयहरु नविनताले भरिपुर्ण नै हुन्छन ।  खेलकुद, व्यापार तथा बाणिज्य, राजनीति, समाज, कला, साहित्य तथा पत्रकारिता जगतको बिबिध आयामका रिपोर्टिङहरु गरेर आफूलाई एक पुर्ण साप्ताहिक पत्रिकाको रुपमा स्थापित गर्नु चुनौतिपुर्ण नै थियो । दर्जनौं साप्ताहिक बर्षौंदेखि प्रकाशित हुने गरेको ठाँउमा नयाँ साप्ताहिकको के आवश्यक्ता ? के फरक छ र यसमा ? नाम चाँहि अंग्रेजी रहेछ ? जस्ता बिबिध प्रश्नहरुको सामना ‘द एक्सक्लुसिभ’ ले यी दुई बर्षमा नगरेका होईनन । नामझैं समाचार संप्रेशण पनि ‘एक्लुसिभ’ रुपले नै गरेको कारणले होला जनकपुरका बौद्धिक जमातमाझ आजको मितिमा एक्सक्लुसिभ निकै चर्चा पाएको पत्रिका हो । खासगरि स्थानिय पत्रिकाले स्थानिय बिषयबस्तु उठान गर्नुपर्छ भन्ने मान्यता बोकी स्थापित भएको एक्सक्लुसिभ जनकपुरिया पत्रकारिताको लागि बर्दान नै हो । उसका समाचारहरु आफ्नै पत्रकारहरुले लेख्नु, जनकपुरको लेन्सले समाचार लेख्नु र अरु सञ्चार माध्यमबाट ‘कपी’–‘पेस्ट’ नगर्ने चरित्र संस्थागत गरेकोले होला आज संपादक अजय अनुरागी जनकपुरमा निकै प्रशंसित छन् । यी पङतिकारले गत महिना बरिष्ठ पत्रकार श्यामशुन्दर शशीसँग जनकपुरको पत्रकारिताको स्थितिबारे कुरा गरेका थिए । पत्रकार शसीको अनुशार संपादक अजय अनुरागी निकै मिहिनेत गरेर एक्सक्लुसिभ पत्रिका प्रकाशित गर्ने गरेको मिहिनेती पत्रकार हुन । अर्को तर्फ नेपाल पत्रकार महासंघ, धनुषाका उपाध्यक्ष अनिल मिश्रले पनि एक्सक्लुसिभलाई एक व्यवसायिक पत्रिकाको रुपमा उल्लेख गरेका थिए ।  पत्रकारिता जगतमाथि सँधै आरोप लगाईन्छ कि फलानो मिडिया दलगत पत्रकारिता गर्याज छ, उ ठुला–बडा भनिनेहरुको मुखपत्र हो । समाचार स्रोतको रुपमा पनि ठुल–ठुला मान्छेलाई नै उदृत गर्छ । राजनीतिक दलको समाचार मात्र समाचार बन्छ । त्यो पत्रिका त किन प्रकाशित गरिए होला ? जस्ता गुनासाहरु समाजबाट आईरहेका हुन्छन् । यी पङतिकारले एक्सक्लुसिभको समाचार सामाग्रीहरुलाई बडो नजिकबाट नियाल्दै आएका हुन् । यिनले राजनीतिक दलको समाचारले मात्र प्राथमिक्ता पाएको, समाचार स्रोतको रुपमा ठुल–ठालुलाई मात्र प्रयोग गरिएको र व्यवशायिक्ता गुमाएको पत्रिकाको रुपमा एक्सक्लुसिभलाई पाएनन् । एक पत्रकारको हैशियतले मैले एक्सक्लुसिभलाई यसरी नियालिरहेको बेलामा पाठकले कसरी यो पत्रिकालाई लिन्छन भन्ने बुझ्न दीपनारायण जीको पत्रिका पसलमा पुगे । मंगलवारको दिन थियो । बिहानको ११ बजिरहेको थियो । मैले दीपनारायण जीलाई ‘द एक्सक्लुसिभ’ दिनुस न भने, तर उनको उत्तर थियो ‘लि जिये लास्ट कपी है’ । उनको यो जबाफबाट पनि एक्सक्लुसिभ कति पठनिय छ भन्ने प्रमाणित हुन्छ । दुई बर्षे पत्रकारिता यात्राको क्रममा आलोचक कम प्रशंसक बढि जन्माएको यस पत्रिकामा केहि कमी–कमजोरीहरु पनि अवश्य रह्यो । उदाहरणको लागि आठौं पृष्ठमा पाश्चात्य जगतका बिद्वानहरुको ‘प्रोफाईल’ लेख्नु अलि अनुचित नै हो जस्तो पत्रकार जितेन्द्र झाको ठम्याई थियो । जनकपुरसँग कुनै संबन्ध नै नभएका नेताहरुको अन्तरवार्ता प्रकाशित गरियो । जनकपुरका महिलाहरुबारे समाचार संप्रेशण भएनन् । महिलाहरुको अवस्था कस्तो छ ? उनिहरु घर–परिवारमा निर्णायक भुमिका निर्वाह गर्ने हैशियतमा छन त भन्ने जस्ता मुद्दाहरु समाचारको बिषयबस्तु बनेनन् । मेरो अध्ययन र विवेकले नियाल्न सक्ने कमजोरी यिनिहरु नै हुन ।


अबको बाटोः
मेरो बिचारमा एक्सक्लुसिभले समाचार सामाग्रीलाई समावेशी बनाउँदा बढि पठनिय होला । महिला, दलित, मुसलिम र तमाम सीमान्तकृत समुदायका मुद्दाहरु उठान गरेर ‘पोपुलर सेन्टिमेन्ट्स’ कमाउन आग्रह गर्दछु । साथै राजनीतिभन्दा पनि जनकपुरको बिग्रदो शिक्षा क्षेत्रलाई नैतिक बनाउन समाचार संप्रेशणको माध्यमबाट पहल गरे थप रोचक होला । शहरियामुखी पत्रिकाभन्दा पनि ग्रामिण परिवेशमा रहेर ग्रामिण बिषयबस्तु पनि उठान गरे आलोचना खेप्नु पर्ने स्थिती आउने संभावना अलि न्युन नै रहन्छ ।  ? जनकपुरको सुचना जनकपुरवासीकै लागि ?  भन्ने नारालाई संस्थागत गर्दै पत्रकारिता यात्रा जारी रहोस भन्ने कामना गर्न चाहन्छु । जनकपुरको कमी–कमजोरीलाई मात्र होईन राम्रा पक्षलाई पनि उतिक्कै प्राथमिक्ताकासाथ उठान गरि  ? भ्रस्टाचारका मुद्दादेखि संघर्ष र सफलताका मुद्दालाई पनि उतिक्कै महत्वका साथ कभरेज दिईने छ भोलीका दिनमा भन्ने आशा छ । खोज पत्रकार तथा हाम्रा संपादक अजय अनुरागी भोलीका दिनमा थप रोचक तथा अनुसन्धानमुलक सामाग्री हामी माझ ल्याउने उर्जा उनमा बढोस । हामीलाई हाम्रा पाठकवर्गले रुचाईदिएकोमा धन्यबाद ! समाजिक मुद्दाहरुलाई उठान गर्नेनै छौं भन्ने प्रतिबद्धताका साथ कलमलाई यहि बिराम दिई २ बर्षे प्रशंसनिय पत्रकारिता यात्रा तय गरेको एक्सक्लुसिभलाई धन्यबाद दिदै आफ्ना पाठकलाई सहृदयी रुपले सम्झिन चाहन्छु ।

‘द एक्सक्लुसिभ’ एक सामाजिक अभियन्ता




रोशनकुमार झा





सञ्चार समाजको ऐना हो भन्ने कुरा पत्रकारिताको पहिलो कक्षा देखि लिएर पत्रकारहरुले जिवन पर्यन्तसम्म घोक्ने गर्छन र समाजले पनि त्यहिरुपमा ग्रहण गरेको हुन्छ । तर कतिपय पत्रपत्रकारिता समाजको ऐनामात्र नभई समाजको सकारात्मक परिवर्तनको रेखाङ्कनसमेत गर्दछ । ऐनाले त मात्र प्रतिविम्ब दिने हो तर जसले परिवर्तनको रेखाङ्कन गर्ने गर्दछ त्यो वास्तवमा जनउत्तरदायी र जिम्मेवारीपुर्ण पत्रकारिता हो खास गरेर त्यस्तो समाजमा जहाँ अद्यावधि विकास कसले, कहिले, कहाँ र कुन स्वरुपमा गर्ने भन्ने कुराको चर्चा पनि भएको छैन । पत्रकारिता समाजको ऐना भन्ने सिद्धान्त विकसित समाजको लागि महत्वपुर्ण होला तर जनकपुरजस्तो समाजको लागि त्यहाँसम्म पुग्न कम्तीमा पनि दुई युग लाग्ने छ । दुई वर्ष अगाडी जनकपुरमा एउटा पत्रिकाको जन्म हुन्छ, पत्रिकाको जिम्मेवारी भर्खर पत्रकारिता सिक्दै गरेका एक हुल युवाले लिन्छन् । ३ दर्जन साप्ताहिक पत्रिका जहाँ बजारको आँखानै नदेखिकन विलाउँछ, त्यहाँ त्यहि थुप्रोमाथि एउटा अझ ‘झुत्रो’ थुप्रिने सबैले अडकल काटेको हुन्छ । तर आश्चर्य ! पत्रिकाले पहिलो अंकबाटै प्रभाव जमाउन सफल हुन्छ । त्यहि पत्रिका हो ‘द एक्सक्लुसिभ ।’ पहिला केहि अंक त धेरै पत्रिकाहरुले प्रभावशालीनै निकाल्ने गर्छन तर पछि त्यहि प्रभावलाई कायम राख्न सक्नु सबैको लागि चुनौती हो । यहि चुनौती समाना गर्न नसकेर धेरै पत्रिकाको मृत्यु भैसकेको छ । तर ‘द एक्सक्लुसिभ’ले त्यो चुनौतीलाई सामना ग¥यो, प्रभावशाली हिसाबलेनै सामना ग¥यो र पछिल्लो दुई वर्षको सानो उमेरमानै यो पत्रिका पाठकको आवश्यक्ताकोरुपमा स्थापित भैसकेको छ । पाठकलाई ‘द एक्सक्लुसिभ’को वानि लागिसकेको छ । यहाँ पत्रिकाका सम्पादक अजय अनुरागी, एउटा सफल नेतृत्वकोरुपमा स्थापित भैसकेका छन । पत्रिकाले समाजको प्रतिविम्ब निर्माण गर्ने गर्दछ, समाजको विचारलाई प्रतिध्वनित गर्दछ, विचारको निर्माण गर्दछ, विचारको प्रवाह र संश्लेशन गर्दछ, समाज विकासको रेखाङ्कन गर्दछ, आलोचना र समालोचना गर्दछ, समाजलाई दिशानिर्देश गर्दछ अर्थात एउटा समाजिक अभियन्ताकोरुपमा समाजलाई स्थापित गर्न, कुसंस्कारलाई प्रतिस्थापित गर्न र अग्रगमणतिर समाजलाई उत्पे्ररित गर्न प्रयास गर्दछ, जनकपुरका कति पत्रिका यस कुरामा सफल छन भन्ने कुरा अनुसन्धान र खोजविनकै विषय हुन तर ‘द एक्सक्लुसिभ’ले यि सबैकुरामा सदैव प्रयत्नशील रहेको मैले पाएको छु ।
दोस्रो कुरा ‘द एक्सक्लुसिभ’ले एउटा सम्पुर्ण ‘प्याकेज’ दिन्छ । पत्रिकामा राजनीतिक, सामाजिक, साँस्कृतिक, खेलकुद, मनोरञ्जन, विचारका साथै व्यङ्ग्यको बडो राम्रो समिश्रण छ जोकि एउटा पुर्ण ‘सचार’ हो । पाठकले बडो सुरुचिपुर्वक सबै परिकारको रसस्वादन गर्ने गर्दछ । खोजखबर र विश्लेशनात्मक सामाचार अझ पत्रिकाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । यसले पाठकलाई पत्रिकाप्रति आकृष्ट गर्छ र समाजले परिवर्तनको दिशाबोध गर्छ । भाषाशैली एकदमै सहज, स्पष्ट र प्रभावशाली छ ।
पत्रिकाको कमजोर पक्ष केलाउनु एकदमै गाहूो काम हो । किनकि राम्राको भिडमा नराम्रो कुरा खोज्नु भुसमा सियो खोज्नु जतिकै कठिन छ । त्यसैले म नराम्रो भन्दा पनि कम राम्रो भन्ने कुराहरुप्रति ध्यानाकृष्ट गराउन चाहन्छु ।
‘द एक्सक्लुसिभ’का रिपोर्टहरु एकदमै लामा लामा हुन्छन् । एउटै रिपोर्ट दुई पेजसम्मको हुन्छ । पाठक त्यति लामा रिपोर्टहरु पढ्न झर्को मान्छन । ‘न्युज रिपोर्ट’ कम शब्दमा तर प्रभावकारी तवरले लेख्दा राम्रो । रिपोर्ट लामा हुँदा एउटै कुरा दोहूो¥याएर आउँछ । विविसी लगायत विश्वका ठुला मेडियाहरुले ५०० शब्दसम्ममा राम्रा, प्रभावकारी र विश्वस्तरिय समाचारहरु सम्प्रेशन गर्ने गरेको छ । ‘द एक्सक्लुसिभ’संग पनि त्यस्तै अपेक्षा गरेको छु । अर्को कुरा सेटिङ्गको हो जोकि विशुद्ध टेक्निकल कुरा हो । पत्रिकाको सेटिङ्ग एउटा साप्ताहिक पत्रिकाजस्तो भएन । पत्रिकालाई उसको सेटिङ्गले आकर्षकस्वरुप प्रदान गर्ने गर्दछ, जसले पाठकलाई अकर्षित गर्छ । प्रथम कुरा पाठकले हेर्दानै पढुँ पढुँ महसुस गर्ने कुरा हो, जसले उसलाई हातमा पत्रिका लिन मजबुर गरेको हुन्छ । पछि मात्र पत्रिकाको विषयले पाठकलाई बाँध्ने गर्दछ । तेस्रो कुरा हो, पठनीय सामग्रीको कमी । पत्रिकाले बढी विषयको उठान गर्दैन । पत्रिकामा साप्ताह भरिमा जिल्ला, क्षेत्र, समाज वा राष्टूमा भएका महत्वपुर्ण घटनालाई पनि एक पेज प्रदान गरेको भए सुनमा सुगन्ध हुन्थ्यो । अन्तमा, म फेरी दोहो¥याउन चाहन्छु, जहाँ राम्रा हुन्छन, त्यहिँ कम राम्रा कुरा पनि हुन्छन । पत्रिकाले अगामी दिनमा ती सारा कम राम्रा कुरालाई एकदमै राम्रो स्तरमा पु¥याउनेछन भन्ने विश्वास लिएको छु । पत्रिकाले सफलतापुर्वक दुई वर्ष सम्पन्न गरेको अवसरमा पत्रिका परिवारलाई बधाई र तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना ।

‘द एक्सक्लुसिभ’ तटस्थताको कसीमा उभिन सफल


जितेन्द्र झा 


द एक्सक्लुसिभ साप्ताहिकको म ग्राहक होइन,  तर पनि लगभग सबै अंक मसँग सुरक्षित हुनुपर्छ । दुई चार अंक कागजी रुपमा त बाँकी पीडीएफ फाइल । काठमाडौं बसाइ भएकाले मैले पत्रिका मेलबाटै पढ्न बाध्य पनि छु । जनकपुरबाटै पत्रकारिता शुरु गरेकाले जनकपुरका कुनै पनि पत्रिका मलाई आकर्षित गर्छ । यस्तोमा हरेक साता मेरो इनबक्समा आउने द एक्सक्लुसिभको म नियमित पाठक नै छु ।
विज्ञापनकै लागि नयाँ वर्ष, दशैंतिहार र छठ पर्व जस्ता अवसर विशेषमा पत्रिका निकाल्ने प्रवृत्तिमाझ एक्सक्लुसिभले आफूलाई फरक पंक्तिमा उभ्याएको छ । मैले त मेलबाट नियमित पाउने गरेको छु, त्यसैले पत्रिका नियमित प्रकाशित हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ । नेपाल प्रेस काउन्सिलको वर्गीकरणको सूचीमा पत्रिकाको नाम लेखाउन र सरकारी कोषबाट केही रकम हात पार्नका लागि मात्र पनि धनुषामा दर्जनौं कोठे पत्रिका प्रकाशन भइरहेका छन् । ती पत्रिका पढ्न प्रेसमै पुग्नु पर्ने हुनसक्छ । पाठकको हात मै नपुग्ने एकथरी नामधारी पत्रिकाहरुका बीचमा थोरै समयमा पनि नियमितताले एक्सक्लुसिभलाई चिनाउने अवसर दिएको छ । आगामी दिनमा यही प्रवृत्तिलाई अझ दृढ बनाउन सके पत्रिकाले थप उचाइ लिन सक्छ ।
एक्सक्लुसिभले केही स्थानीय मुद्दालाई राम्रै महत्व दिएर प्रकाशन गरेको म सम्झिन्छु । अपराधिक घटना होउन् वा विकासे वजेटमा अनियमितता, यी विषयमा जनतालाई सुसूचित गराउन यसले खर्चेका शब्दहरुको मूल्यांकन गरिनुपर्दछ । पत्रिका समाजको ऐना हुन्छ, पत्रिका जहाँबाट प्रकाशित भइरहेको छ त्यहाँको त्यसको वास्तविक चित्रण हुनै पर्छ ।
त्यस्तै स्थानीय प्रतिभाहरुलाई चिनाउनका लागि शुरुका अंकमा गतिलै प्रयास भएको थियो । गायन, संगीत, खेलकुद, विज्ञान लगायतका विभिन्न विधामा जनकपुर क्षेत्रबाट प्रतिभाहरु उदाइरहेका छन् । उनीहरुले स्थानीय मिडियाले कति स्थान दियो मलाई थाहा नहुन सक्छ । तर त्यस्ता केही प्रतिभाहरुका फोटो र जानकारी यस पत्रिकामा छापेर यसले ती नयाँ पुस्तालाई पनि जोड्ने प्रयास ग¥यो जुन सराहनीय छ । चियापसलमा देश विदेशका गतिविधिबारे टिकाटिप्पणी गर्ने एउटा वर्ग विशेषका लागि पत्रिकाका अन्तरवस्तु केन्द्रीत हुनु हुन्न । सामाजिक उत्तरदायित्वको बोध गरी मिडियाले समाजको सर्वांङगीन हित हुने नीति अबलम्बन गर्न सक्नु पर्छ ।
साप्ताहिक पत्रपत्रिकाको एउटा विशेषता कुनै निश्चित मुद्दाको गहिराइ सम्म पुग्नु र त्यसका अन्तरकुन्तरलाई खोतलेर आम जनतालाई बताउनु पनि हो । यस पत्रिकाले यस ध्येयका साथ अधिकांश अंकमा कुनै न कुनै विषयमा गहिराइमा पुग्ने कसरत गरेको पाइन्छ । त्यस्ता मुद्दा उठाउँदा यसले आफूलाई सन्तुलित राख्ने प्रयास गरेको पनि म सम्झिन्छु । मिथिला बम काण्डको दोषी को भन्ने समाचारमा आरोप लागेका दुई पक्ष र प्रहरी समेतको भनाइहरु आएका थिए । यसले तटस्थताको कसीमा उभ्याउन सहज हुन्छ पत्रिकालाई ।
शब्दमात्र महत्वपुर्ण छैन, यद्यपि शब्दलाई ब्रम्ह भनेरै व्याख्या गरिन्छ । कुनै एउटै तस्वीर, कार्टुन पनि धेरै नै अर्थवान हुनजान्छ, समयपरिस्थितिले । एक्सक्लुसिभले तस्वीर कार्टुनलाई पनि यथोचित स्थान दिएर पत्रकारिताका बहुआयामिक पक्षमध्ये केहीलाई समेटने प्रयास गरेको छ । पत्रिकामा केही त्रुटिपनि निरन्तर दोहोरिने गरेको छ । जस्तै वाक्य सङ्गति नै नहुनु, शब्दका हिज्जे गलत लेखिनुलगायतका भाषिक अशुद्धता । एकदुई अंकमा मात्र भएको भए मानवीय कमजोरी मान्न सकिन्छ तर जहिल्यै यस्तो त्रुटि गर्नु राम्रो मानिन्न । अर्को पेज लेआउटमा ध्यान दिइनुपर्छ । खानाको स्वाद कस्तो छ भन्दा पनि कसरी पस्किएको हो त्यो महत्वपुर्ण हुन आउँछ । पत्रिकालाई पठनीय बनाउन केही प्राविधिक सुधार नितान्त आवश्यक छ ।
अनलाइन पत्रिकामा र धेरै बिक्ने राष्टिूय दैनिकमा प्रकाशित भइसकेका लेखहरु यस साप्ताहिकमा छापिएका छन् । स्थानीय स्तम्भकारहरुलाई नै त्यो स्थान उपलब्ध गराएको भए पाठकप्रति न्याय हुने थियो कि ? तर प्रकाशित सामग्री पुनः प्रकाशन गर्नु नै हुन्न भन्ने होइन । विशिष्ट महत्वका खबर, विचार, विश्लेषणहरु साभारका रुपमा प्रकाशित गर्नुलाई स्वभाविक मान्न सकिन्छ ।

काठमाडौं बासस्थान बनाएका टाउके नेताको अन्तरवार्ताले नै पुरा पृष्ठ भरिएका देखिन्छन् । मेरो बुझाइमा यसलाई अलि परिमार्जन गर्न सकिन्छ । शीर्ष भनाउँदा ती नेताहरु जहाँ जे गए नि बोलिरहन्छन् र समाचार बनिरहन्छ । कुनै खास मुद्दामा थोरै मात्र अन्तर्वार्ता राख्ने बाँकी सामग्री अनुसन्धानमुलक र विश्लेषणात्मक सामग्री राख्दा पत्रिकाको ओज बढ्ने थियो कि ? त्यस्तै क्षेत्रीय र स्थानीय मुद्दालाई उठाएर अन्तर्वार्ता गर्दा पनि हुन्छ । किनभने काठमाडौं केन्द्रीत अधिकांश संचारमाध्यमले क्षेत्रीय मुद्दालाई कम महत्व दिन्छन्, दिएपनि पूर्वाग्रहीपनबाट ग्रसित भएर । जनकपुरबाट निस्किने पत्रिकाले जनकपुर र सो क्षेत्रको आवाज र मुद्दालाई केन्द्रसम्म पु¥याउने ध्येयका साथ पनि केही सामग्री दिनु पर्छ । यसले पुलको काम गर्न सक्छ । आमसंचारका साधन पत्रिकाले यो दायित्व झन् जिम्मेवार भइ निर्वाह गर्न पनि सक्छ । पृष्ठ मात्र भर्नु छ भने अन्य धेरै विकल्प पनि छन् ।
पत्रिकामा जनकपुरको माटोको वासना आउन सकोस् त्यसका लागि गृहकार्य गरिनुपर्छ । विश्व प्रसिद्ध व्यक्तित्वलाई चिनाउनु पर्छ तर जनकपुरलगायत सो क्षेत्रका महत्वपुर्ण व्यक्तिलाई बिर्सनु भएन । उनीहरुलाई कसले चिनाइदेला त ? यो पनि एउटा सचेत पत्रकारले सोच्नै पर्छ । राजनीतिक संक्रमणबाट गुज्रिरहेको नेपालमा पत्रपत्रिकामा राजनीतिक समाचारको चाहिने भन्दा बढी भएको आरोप लाग्ने गरेको छ । पाठकलाई सामाजिक, आर्थिक, शैक्षिक विषयका खुराक दिएमा पत्रिकाले वृहत्तर रुचिका पाठकलाई आकर्षित गर्न सक्छ ।
पत्रिकामा पाठकसँग दोहोरो संवाद कायम गर्नका लागि पनि निश्चित स्थान छुट्याइनुपर्छ । व्यापार, शिक्षा, कृषि, अर्थ, स्वास्थ्य, जीवनशैली जस्ता विभिन्न क्षेत्रका फिचरलगायतका सामग्री समेट्न प्रयास गरिनुपर्छ । पत्रिकाको ब्लग केही दिन अघि मात्र देखेँ, विश्व सूचना सञ्जालमा आफ्नो स्थान बनाउन वेवसाइट राम्रो माध्यम हुनसक्छ ।
पत्रिकाको उत्तरोत्तर प्रंगतिको कामना ।

भ्रुण तस्करीको गोरखधन्दा


अजय अनुरागी

जनकपुरमा चिकित्सकहरुले अवैध भ्रुण हत्या गर्दै आएको विभिन्न कालखण्डमा समाचार पुष्टि भएपनि प्रशासनिक कारवाही नहुँदा तिनीहरुको गोरखधन्दा अझ विकराल रुपमा विस्तार हुँदै गएको छ । ती चिकित्सकहरुको गिरोहले कानुनलाई लत्याउँदै लिङ्ग पहिचान गरि अवैध भ्रुण हत्या, मानव शरीरको अङ्ग प्रत्यारोपन देखि लिएर अव भु्रण तस्करीको गोरखधन्दालाई आफ्नो आय आर्जनको मुख्य स्रोत नै बनाउन थालेका छन ।  जसको पछिल्लो उदाहरण हो, जनकपुरमा भ्रुण तस्करीका लागि फालिएको आठ वटा बच्चाहरुको बरामदी ।
प्रहरीको लापरबाहिका कारण जनकपुरमा अबैधरुपमा गर्भपतनको नाममा भु्रण हत्या गर्ने प्रबृति बढदै गएको छ । यसको नाजायज फाईदा उठाउदै एका तिर चिकित्सक र स्वास्थयकर्मीहरु मालामाल भएका छन भने जनकपुरमा भु्रण तस्कर पनि सक्रिय रहेको जेष्ठ ९ गते बिहिबार साुझ देखिएको  घटना पछि यस्तो खुलासा भएको हो ।
प्रसुति गृहमा अबैध गर्भपतनको क्रममा जनकपुरकी डा. निलम चौधरीले लिङ्ग काटेर फालेको घटना सेलाउन नपाउँदै भ्रुण हत्याको अर्काे रहस्य सार्बजनीक भएको छ । जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर अगाडि कपाल मोचनीसरमा प्लास्टिको डब्बामा बन्द गरि फालिएको अबस्थामा भेटिएको ८ वटा मृत भ्रुणले यति खेर निकै चर्चाको पाएकोे छ । बरामद गरिएको उक्त ८ वटा मृत भ्रुणहरुको प्रकृति हेर्दा त्यसलाई मेडिकल प्रयोजनकै लागि पहिले देखि नै प्रिजर्भ गरेर राखिएको हुन सक्ने आशंका चिकित्सकहरुको छ । बन्द गरिएको डब्बा बाहिर मृतक भ्रुणको तौल र उमेर समेत लेखिएको हुनाले मेडिकल प्रयोजनका लागि पहिले देखि नै यस्ता क्रियाकलाप हुने गरेको आशंका गरिएको छ । प्रायः जसो शिक्षण अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक पढाईका निम्ति मृतक भ्रुणहरु ‘स्पेसिमेन’ को रुपमा राख्ने गरिएको हुन्छ । ती शिक्षण अस्पतालहरुले प्रति भ्रुण रु. ५० हजार सम्म किन्ने गर्छन । अर्को आशंका के पनि देखिन्छ भने जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर एउटा अनुसन्धान गर्ने स्वास्थ्य संस्था भएका कारण अनुसन्धान गर्न कै लागि ती भ्रुणहरु राखेको हुन सक्ने तथा डा. निलम चौधरी प्रकरणले चर्चा पाएको अवस्थामा प्रहरी प्रशासन द्धारा छापामारी हुन सक्ने आशंकाका आधारमा अतालिएर फाल्न लगाएको हुन सक्ने अर्को आशंका व्यक्त गर्न सकिन्छ । वा केही महिना अगाडि मात्र संचालन भएको जानकी हेल्थ केयरलाई बदनाम गराउनका निम्ति अवैध गर्भपतन गर्ने÷गराउने अन्य नर्सिङ होमहरुले फाल्न लगाई षडयन्त्र गरेको हुन सक्ने आशंका पनि गर्न सकिन्छ । त्यसै गरी कतिपय मुलुकहरुको होटेलहरुमा भ्रुणको डिस विक्री गरिने हुँदा उक्त भ्रुणहरु तस्करी कै लागि प्रयोग हुने गरेको आशंका पनि यथावत छ । यद्यपि उक्त सम्पुर्ण आशंकाहरुको पुष्टि हुन बाँकी छ । देउताको उपाधी पाएका चिकित्सकहरु अब ज्यानमारा यमराजको उपाधी प्राप्ति गर्न तल्लीन रहेका बेला फैलदैगरेको ती गोरखधन्दाका सम्राज्यलाई प्रहरीले पर्दाफास गराउलान की नगराउलान भन्ने प्रश्न यथावत छ ।  उक्त आशंकाहरुमा  विश्वस्त धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“जसरी मृत भ्रुणहरु डिब्बामा प्याक गरेर, लेबलिङ गरेर एउटा अस्पतालको छेउमा  फालिएको अवस्थामा बरामद गरियो, उक्त भ्रुणहरु नेपालमै वा भारतमा मेडिकल प्रयोजनका लागि उपयोग गर्ने प्रष्ट अनुमान लगाउन सकिन्छ । ती भ्रुणहरुको तस्करी हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । ” हुन त धनुषा प्रहरीले अनुसन्धानको प्रकृया अगाडी बढाई सकेको छ ।स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक तथा नर्सिङ होम लगायतका क्षेत्रहरु अन्तरगत सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । अनुसन्धानको क्रममा प्रहरीले कतिपय चिकित्सकहरुको राय लिने क्रमलाई अगाडी बढाएको छ । उक्त घटनामा संलग्न को(को हुन, कसरी त्यहाँ राखिएको हो, कुन प्रयोजनका लागि राखिएको हो भन्ने रहस्यको पर्दाफास अहिले सम्म  प्रहरीले गर्न सकेका छैनन । उक्त घटनाबाट एउटा कुरा प्रष्ट के देखिन्छ भने जनकपुरमा अवैध तरिकाले अधिकार प्राप्त नरहेका चिकित्सकहरुले भ्रुण हत्या गर्ने गर्दछन । अनैतिक यौन सम्बन्धबाट रहन गएको गर्भ र लिङ्ग पहीचान गरि भ्रुण हत्या गर्ने बढदो क्रम सगंै  भ्रुण तस्करहरु पनि सकृय  रहेको जनकपुरको यो घटनाले सार्बजनीक भएको छ ।
नेपाल परिबार नियोजन संघ, मेरी स्टोप्स सेन्टर र जनकपुर अञ्चल अस्पतालमा सुरक्षीत गर्भपतन  गराउने  मात्र मान्यता पाएपनि  यस्ता अबैध  कारोबारमा संलग्न कारोबारीह यहाको निजी अस्पताल, क्लीनिक, स्वास्थय सस्ंथा र झोले स्वास्थयकर्मीले खुलेआम गर्भपतन गरिरहदा समेत स्थानिय प्रहरी प्रशासन मौन रहेको छ ।  प्लास्टिको डब्बा भित्र प्रिजर्भ गरि राखिएको अबस्थामा भेटिएको भ्रुण कसले, किन र कुहाबाट ल्याएको र यस्ता घटनामा संलग्न रहेकाहरुलाई   कानुनको दायरामा ल्याउने हो की, वा डा. निलम चौधरीलाई कारबाहि गर्न कुनै चासो नदेखाएको जस्तै औपचारिक्तामा मात्र सिमित राख्ने हो प्रहरीको अगामी  कामकारबाहिले नै बताउनेछ ।
५ वर्षमा धनुषामा ११ हजार गर्भपतन
विगत ५ वर्षमा जनकपुरमा सुरक्षित गर्भपतन गराउनेहरुको आधिकारिक संख्या ७ हजार ५ सय ४४ छन भने यसको ठीक आधा असुरक्षित गर्भपतन गराउने गरेको सम्बन्धित निकायको दावी छ । जस अन्तर्गत विगत ५ वर्षमा मेरी स्टपस सेन्टरमा ५५३९ , परिवार नियोजन संघमा १८५५ र जनकपुर अञ्चल अस्पतालमा १ सय ५० सुरक्षित गर्भपतन गराईएको छ । ठीक त्यसैगरी झण्डै त्यसको आधा गाउँघरका अर्ध चिकित्सक, क्वोक्स र औषधि पसल संचालकहरुले असुरक्षित गर्भपतन गर्ने गरेको सम्बन्धित निकायको दावी छ । यसरी सुरक्षित र असुरक्षित दुवै गर्भपतनको आंकडालाई जोडने हो भने धनुषामा विगत ५ वर्षमा ११ हजार संख्या हुन पुग्छ । खास गरी लोक लाजका कारण बदनाम हुने डरले पनि ग्रामिण क्षेत्रका महिलाहरु सिमाबर्ती भारतका जयनगर, बासोपट्टी,मधुवनी, दरभंगा, सितामढी, सुरसंड लगायतका ठाउँमा गएर अत्यधिक रुपैयाँ खर्च गरेर असुरक्षित गर्भपतन गर्ने गरेका छन । सम्बन्धित निकाय स्थानीय प्रशासनले ती अवैध काम गर्ने व्यक्तिहरुलाई कारवाही नगर्दा तिनीहरुको मनोबल झन बढेको हो । परिवार नियोजन संघ जनकपुरका बरिष्ठ शाखा प्रवन्धक राम बहादुर कार्की भन्छन,“ सुरक्षित गर्भपतन गराउनेहरुमा कतिपय अविवाहीत, श्रीमान् बैदेशिक रोजगारमा गएको १ वर्ष वितिसक्दा पनि अन्य व्यक्तिसँग गरिएको अबैध सम्बन्धबाट हुने गर्भवती महिलाहरु पनि आउने गरेका छन । तर त्यस सम्बन्धि हामी सम्पुर्ण रुपले गोप्नीयता कायम राख्छौ ।” अधिकांश गर्भपतन हुनेमा छोरी नै रहने गरेको छ ।
सरकारले १२ हप्तासम्मको गर्भ गर्भपतन गराउने मान्यता दिएपछि धेरैजसो महिलाले सरकारद्धारा मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर गभ्र्र पतन गराउने गरेका छन्, तर गोपनियताका नाममा र लाजले गर्दा अझै पनि केही महिलाले सरकारबाट स्वीकृति नपाएका निजी मेडिकल  हलमा महँगो शुल्क तिरेर अवैध रूपमा गर्भपतन गराउँदै ज्यान जोखिममा पार्ने गरेका छन् ।  गर्भपतनलाई कसैले पनि परिवार  नियोजनको साधन बनाउन नहुने उनको सुझाव छ ।  कतिपय महिला आफूले प्रयोग गरेको अस्थायी साधन असफल भएर  पनि गर्भपतन गराउन आउने गरेका छन्, तर यस्तो केस कमै हुने उनको अनुभव छ । कम उमेरमा र उमेर ढल्किएपछि गर्भपतन गराउँदा  स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ ।
गर्भपतनको वैधानिकता
महिला अधिकारकर्मीहरूको लामो अन्दोलनपश्चात् सरकारल्े १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन दिने मान्यता दिएको हो । २०६०  सालमा सुरक्षित गर्भपतन सेवा(प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो ।  महिलाको चाहनाबिना आकस्मिक गर्भ रहेका १२  हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । यदि गर्भवती महिलाको मानसिक सन्तुलन ठीक नभएको एवं हाडनाता करणी भै  गर्भ रहे १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । अहिले सरकारले जिल्ला अस्पताल, मेरी स्टोप सेन्टर तथा नेपाल परिवार नियोजन संघलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ, तर  पनि अज्ञान एवं लाजका कारण निजी मेडिकल हल तथा क्लिनिकहरूमा गएर असुरक्षित गर्भपतन गराउँदा समस्या आएपछि उपचारका लागि  जिल्ला अस्पताल तथा मेरी स्टोप सेन्टरमा आउने बिरामीहरू पनि भेटिएका छन् । सुरुमा लाजले गर्दा पहिले महँगो शुल्क तिरेर निजी मेडिकल  हलमा गर्भपतन गराउने अनि पछाडि धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, पाठेघर राम्रो सफा नभएको जस्ता समस्या लिएर महिलाहरू आउने  गरेको बताउँछन् । कुनै पनि कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । सरकारले सुरक्षित गर्भपतन ऐन ल्याएपछि पीडामा परेका महिला तथा युवतीहरूलाई गोप्य र सुरक्षित रूपमा समाजमा पुनस्र्थापना हुने बाटो खोलेको त छ नै, अनिच्छित गर्भ रहे अधिकारको प्रयोग गर्न पनि पाएका छन्  तर त्यससँगै विकृति पनि भित्रिँदैछ । सन्तान करले होइन, रहरले जन्माऊँ भन्ने नारा आफंैमा राम्रो भए पनि कतिपय अविवाहित युवतीले  यसलाई परिवार नियोजनकै साधनका रूपमा लिएर जीवनलाई नै जोखिममा धकेल्दै आएका छन् । परिवार नियोजन संघ धनुषाका वरिष्ठ शाखा प्रवन्धक रामबहादुरकार्की भन्छन,“विवाहितहरूले श्रीमान्  लिएर आउँछन्, अविवाहितहरू साथीसँग आउँछन । श्रीमान् खोई भन्दा बताउन चाहँदैनन्, अन्कनाउँछन् ।” सुरक्षित गर्भपतन सेवा(प्रक्रिया (२०६० आएपछि गर्भपतन गराउन खुकुलो भएकाले त्यसको सदुपयोग वरदान सावित भए पनि केहीका लागि भने यसले विकृति ल्याएको कार्की  बताउँछन ।
गर्भपतन रहर होइन, बाध्यता
 १६ वर्ष पार गरेकी महिलाले कसैको मञ्जुरीविना पनि ३ हप्तासम्मको गर्भपतन गराउन आउने कानुनी व्यवस्था छ । त्यसो त कानुनले बलात्कार वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा  १८ हप्ता र गर्भवतीले बच्चालाई जन्म दिएको अवस्थामा गर्भवती वा जन्मिने शिशुको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने  चिकित्सकको सिफारिस भएको अवस्थामा गभपर्तन गराउन पाउने हुन्छ, तर जुनसुकै अवस्थामा सूचीकृत चिकित्सकले स्वीकृत संस्थामा मात्र  गभपर्तन गराउन पाउने भनिएको छ । परिवार नियोजनसंघमा डा. दिपेन्द्र कुमार यादव, गिता कुमारी राय, मेरी स्टप सेन्टरमा डा. दिपेन्द्र कुमार गोहीबार र अनोखा कुमारी झा र जनकपुर अञ्चल अस्पतालमा गरी जम्मा ६ जना मात्र सुचीकृत छन । त्यसैगरी जनकपुर अञ्चल अस्पतालका डा.विरेन्द्र साह, डा.विजयकुमार सिंह, डा. कल्पना बछाड र डा. प्रभु साह गरी ४ जना सुचिकृत छन । हाल नेपालको ७५ वटै जिल्लामा ३ सय ५२ वटा सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान  गरिरहेको छ । सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात् प्लास्टिकमा क्यालुनाद्धारा खालि पारिएको  सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवासँगसँगै एम.ए. अर्थात् मेडिकल एबोर्सन (औषधीद्धारा गरिने गर्भपतन) सञ्चालनमा आएको छ । यी दुवै  सेवा अधिकांश सरकारी अस्पताल तथा केही गैरसरकारी स्वास्थ्य संस्थामा उपलब्ध छ, तर गर्भपतन सेवा दिने संस्था र चिकित्सक दुवै  सूचीकृत हुनुपर्छ ।