Tuesday, June 3, 2014

एडिबी परियोजनामा करोडौं खर्च कर्मचारीद्वारा व्यापक भ्रष्टाचारकोे आशंका

एकीकृत शहरी विकास आयोजनाको इकाई कार्यालय जनकपुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

एकीकृत सहरी विकास आयोजनाको कामले परिणाम नदेखाएपनि हालसम्म दुई आर्थिक वर्षमा कुल २ करोड ७२ लाख ८४ हजार ५ सय ८ रुपैयाँ खर्च गरिसकेको छ । आयोजना कार्यान्वयन निकाय जनकपुरले आर्थिक वर्ष २०६९÷०७० को २०६९ साउन देखि २०७० को अषाढ सम्म रु. ३६ लाख ६२ हजार ७ सय २४ खर्च गरेको थियो भने आर्थिक वर्ष २०७०÷०७१ को बैशाख मसान्तसम्म रु. २ करोड ३६ लाख २१ हजार ७ सय ८४ खर्च गरिसकेको छ ।
उक्त रकम मध्ये दुई वर्षमा चालुगत खर्च तर्फ रु. ५० लाख ८ सय ७ र पुँजिगत खर्च तर्फ रु. २ करोड २२ लाख ८३ हजार ७ सय १ खर्च गरिसकेका छन् । पुँजीगत खर्च तर्फ आर्थिक वर्ष २०७०÷०७१ को बैशाख मसान्त सम्म सबारी साधन खरिद वापत रु. ४० लाख २३ हजार ९ सय ९६, मेसिनरी औजार वापत रु. ७८ हजार ३ सय ३४, डिएससी मोविलाइजेशन, मोटर र कार्यक्रम सहित गरी रु. १ करोड ३६ लाख ९ हजार ८ सय ४२ र एनजिओ कार्यक्रम वापत रु. ३२ लाख ४६ हजार ५ सय २ आयोजना कार्यान्वयन ईकाई जनकपुरले खर्च गरिसकेका छन् ।
    त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा पुँजीगत तर्फ फर्निचर फिक्चर्स वापत रु. २ लाख ४० हजार ५ सय १७ र मेसिनरी औजार वापत रु. १० लाख ८४ हजार ५ सय १० खर्च गरेका छन् । चालुगत खर्च तर्फ आर्थिक वर्ष २०६९÷०७० मा कर्मचारी तलब वापत रु. १२ लाख २९ हजार ३ सय ७८, कर्मचारी पोसाक भत्ता वापत रु. ४५ हजार, संचार महसुल सेवा वापत रु. ७४ हजार ३ सय ६१, कार्यालय सम्बन्धि खर्च वापत रु. ४लाख १७ हजार ९ सय २४, भाडा वापत रु. १० हजार, मर्मत तथा सम्भार वापत रु. २ लाख ४ हजार २ सय ७५, इन्धन सवारी वापत रु. २१ हजार ९ सय २५, सुचना प्रकाशन वापत रु. १ लाख १५ हजार ७ सय ५४, विविध खर्च वापत रु. २० हजार ६ सय ९० र कार्यक्रम भ्रमण खर्च वापत रु. १ लाख ९८ हजार ३ सय ९० खर्च गरेका छन् ।
त्यसैगरी चालु आर्थिक वर्षको बैशाख महिनासम्म कर्मचारी तलब बापत रु. १५ लाख ४५ हजार ६ सय १२, कर्मचारी प्रोत्साहन भत्ता वापत रु. ८३ हजार १७, कर्मचारी विमा वापत ९ हजार ८ सय, संचार महसुल वापत रु. १५ हजार ६ सय ९२, कार्यालय संचालन सम्बन्धि खर्च वापत रु. ३ लाख १८ हजार ६ सय ६४, भाडा वापत रु. १६ हजार, मर्मत तथा सम्भार वापत रु. ९३ हजार ५ सय ९६, इन्धन सवारी वापत रु. १ लाख ९३ हजार २ सय ९७, परामर्श तथा अन्य सेवा शुल्क वापत रु. १० हजार, विज्ञापन तथा सुचना प्रकाशन वापत रु. ५० हजार ३ सय ४१, विविध खर्च वापत रु. ६९ हजार २ सय ६५ र कार्यक्रम भ्रमण खर्च वापत रु. २ लाख ५७ हजार ८ सय २५ खर्च गरेका छन् ।
 यसरी नेपाल सरकार, एसियाली विकास बैंकको ऋण र अनुदान, जनकपुर नगरपालिकाको ऋण र योगदानबाट संचालन हुने भनिएको उक्त आयोजनाले मुर्त रुप लिन नसकेपनि करोडौं रुपैयाँ खर्च भइसकेको छ । यद्यपि उक्त आयोजना साकार हुने हो वा होइन भन्ने अन्यौल यथावत नै रहेको अवस्थामा चरम राजनीतिकरणले जनकपुरको विकास अझै पनि अन्धयारोमै रहेको प्रष्ट देखिन्छ । 
जनकपुर नगरपालिकाका कर्मचारीहरु इन्जिनियर विरेन्द्र यादव (आयोजनाका सहायक व्यवस्थापक), लेखा अधिकृत जयचन्द्र मिश्र, गणेश यादव, राकेश कुमार यादव र नसिम धोवीले आयोजनावाटै तलब भत्ता खाइरहेका छन् । यसका अतिरिक्त आयोजना व्यवस्थापकका रुपमा पछिल्लो आर्थिक वर्षमा दिगम्बर ठाकुर र हाल गंगाप्रसाद यादवले तलब भत्ता खाइरहेका छन् । यस आर्थिक वर्षमा नगरपालिकाको बारुण यन्त्रका चालक कृष्ण वहादुर राणा मगर र स्वीपर इन्दीरा मेस्तरनीलाई समेत तलब भत्ता खुवाउने गरिएको छ ।
    रोचक कुरा के हो भने आयोजनाका व्यवस्थापकले आफुले चढ्ने सवारी रु. ४० लाखमा किनेका छन् भने कन्सल्टेन्टलाई पनि रु. ४० लाखमा किनेर चढ्न दिएका छन् । यति मात्र होइन आयोजना अन्तरगत किनिएका ७ वटा मोटरसाइकलहरु मध्ये ३ वटा एनजिओलाई, १ वटा कन्सलटेन्टलाई दिएका छन् भने ३ वटा मोटरसाइकल आयोजनाका कर्मचारीहरुले चढ्ने गरेका छन् । सडक, ढल र ल्यान्ड फिल साइटको डिजाइन इस्टीमेट गर्नका लागि रु. ६ करोड ५८ लाखमा ठेक्का दिइएको छ भने हालसम्म उक्त कन्सलटेन्टलाई रु. १ करोड ३६ लाख ९ हजार ८ सय ४२ रुपैयाँ भुक्तानी समेत गरिसकिएको अवस्था छ । यति महँगो कन्सलटेन्टलाई ठेक्का दिनुमा व्यापक कमिशनको खेल भएको र उक्त कमिशनबाट आयोजनाका कर्मचारीहरु मालामाल भएको स्रोतको दावी छ । आयोजनाले दुई वर्ष भित्र गरिएको ती सम्पुर्ण खर्चको शिर्षकमा समेत कर्मचारीहरुले व्यापक हिनामिना तथा भ्रष्टाचार गरेको नगरवासीहरुको आरोप छ ।
    जनकपुरको दुरावस्थालाई अन्तय गरी कायापलट गर्ने उद्देश्य लिई जनकपुर भरीको २६ किलोमिटर सडक र सोही दुरीमा ढल र व्यवस्थित ल्यान्ड फिल साइटको  निर्माण गर्न जानकी मन्दिरलाई केन्द्र विन्दु मानि त्यहाँबाट विस्तारित र अन्य ढल सहितको सडक संजाल र फोहरलाई उचित तथा बैज्ञानिक तवरले व्यवस्थापन गरिने उद्देश्य लिई एकीकृत सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंक, नेपाल सरकार र जनकपुर नगरपालिका विच त्रिपक्षिय सम्झौता भएको हो ।
    सन् ८ मई २०१२ मा जनकपुर नगरपालिका , एसियाली विकास बैंक र नगरविकास कोषबीच जनकपुर नगरपालिकाको विकासका लागि सडक निर्माण , नगरको सौन्दर्यीकरण सहितका लागि एसियाली विकास बैंकले १९.०४ अमेरिकी डलर अनुदान दिने त्रिपक्षिय सम्झौता भएको थियो । एडिबीका तर्फबाट नेपालमा रहेका कन्टूी डाइरेक्टर तथा आवासिय मिसन प्रतिनिधी केनिची योडोयामा , नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक सुशिल ज्ञवाली र जनकपुर नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले सम्झौतामा हस्ताक्षर गरेका छन् । एक अमेरिकन डलर बराबर नेपाली रुपैयाँ ८५.१५ मानि पुरा परियोजनामा रु. १ अर्ब ६२ करोड १२ लाख ५६ हजार अनुमानित लागत लाग्ने अनुमान गरिएको छ । सडक , नाला र समुदायमा आधारित शीपमुलक तालिमका लागि उक्त रकम लगाइनेछ ।
कसरी गरिएको छ बजेटको बाँडफाँड ?
सडक, ढल निर्माण र फोहर मैला व्यवस्थापनका लागि छुटियाइएको रकममा २५ प्रतिशत नेपाल सरकारले लगानी गर्ने, ५५ प्रतिशत एडिबीले ऋण दिने, १५ प्रतिशत जनकपुर नगरपालिकाले ऋण दिने र म्याचिङ फन्ड वापत जनकपुर नगरपालिकाले ५ प्रतिशत योगदान गर्ने हो ।
     त्यसैगरी कन्सलटेन्टका लागि नेपाल सरकारले २० प्रतिशत लगानी गर्ने र ८० प्रतिशत एडिबीले अनुदान दिने हो । सामुदायिक विकासका लागि १२ प्रतिशत नेपाल सरकारले, ६८ प्रतिशत एडिबीले अनुदान दिने र २० प्रतिशत म्याचिङ फन्ड वापत जनकपुर नगरपालिकाले लगानी गर्नुपर्ने छ । जग्गा अधिग्रहण तथा पुर्नस्थापनका लागि नेपाल सरकारले ८० प्रतिशत रकम र जनकपुर नगरपालिकाले २० प्रतिशत खर्च गर्नुपर्ने छ ।
 त्यसैगरी नगरपालिका अन्तरगत चालु खर्चका लागि नेपाल सरकारले १९ प्रतिशत, एडिबीले ५१ प्रतिशत अनुदान र जनकपुर नगरपालिकाले ३० प्रतिशत रकम खर्च गर्नुपर्ने हुन्छ । फोहर मैला व्यवस्थापन अन्तरगत सेनिटरी ल्यान्ड फिल साइटका लागि ११.६ हेक्टर जग्गा अधिग्रहण तथा ग्याँस उत्पादनका लागि रु. २७ करोड ५८ लाख ८६ हजार लाग्ने अनुमान गरिएको छ । २६ किलोमिटर सडक निर्माणका लागि रु. १ अर्ब ३ करोड ७१ लाख २७ हजार लागत छुट्याइएको छ । जनकपुर नगरपालिका भित्र भएका १६.५ किलोमिटर सडक सुधारका लागि, बस पार्कलाई व्यवस्थापन र पार्कहरुको व्यवस्थापनका लागि रु. २८ करोड ८६ लाख ५८ हजार ५ सय बजेट छुट्याइएको छ ।
त्यसैगरी भएका २६ किलोमिटर ढललाई विस्तार, सुधार तथा सर(सफाई तथा मर्मतका लागि र १८.६ किलोमिटर नयाँ ढल निर्माण गर्नको लागि रु. ४४ करोड १९ लाख २८ हजार ५ सय बजेट छुट्याइएको छ । सामुदायिक पुर्वाधारहरुको लागि रु. २ करोड ९८ लाख २ हजार ५ सय रकम छुट्याइएको छ । सामुदायिक विकास कार्यक्रम संचालन गर्न तथा लैङ्गिक समानता र समाजिक समावेशीकरणमा अभिवृद्धि गर्न गैर सरकारी संस्थाहरु मार्फत गरिने जनचेतना मुलक कार्यक्रमहरुका लागि रु. २५ लाख ५४ हजार ५ सय छुट्याइएको छ ।
     डिजाइन र सुपरिवेक्षणका लागि कन्सलटेन्टका लागि रु. ८ करोड ५१ लाख ५० हजार र गैर सरकारी सेवाहरुको कन्सलटेन्टका लागि रु. ४ करोड ३४ लाख २६ हजार ५ सय गरी कुल १२ करोड ८५ लाख ७६ हजार ५ सय रकम छुट्याइएको छ । कर भुक्तानी वापत रु. २२ करोड ९९ लाख ५ हजार , संचालन लागतका लागि रु. ५ करोड १९ लाख ४१ हजार ५ सय छुट्याइएको छ । कन्टिन्जेन्सी वापत रु. १७ करोड ११ लाख ५१ हजार ५ सय छुट्याइएको छ । यसरी उक्त परियोजना अन्तरगत कुल १ अर्ब ६२ करोड १२ लाख ५६ हजार बजेट छुटयाइएको हो ।
कहाँ कहाँ हुन्छ सडक निर्माण ?
सडक निर्माण अन्तगत १९.७ किलोमिटर दुरी सर्बे गरिसकिएको छ । परिक्रमा सडक अन्तरगत ७.८ किलोमिटर, मुरली चौक देखि भैरव चौक, जनक चौक हुँदै शिवचौक सम्म १ किलोमिटर, मुजेलिया प्रहरी चौकी देखि ५ सय मिटर दक्षिण राजमार्ग देखि कभर्ड हलसम्म ०.८ किलोमिटर, मुजेलिया प्रहरी चौकी देखि दिपा आयल स्टोर्स हुँदै मनि मण्डपसम्म १.१ किलोमिटर, थापा चौक रजौल हुँदै मुजेलिया प्रहरी चौकीसम्म १.३ किलोमिटर, जानकी मन्दिर देखि जनकपुर अञ्चल अस्पताल, बारहविघा, रामानन्द चौक, वडा नं. ८ को कार्यालय हुँदै सत्यनारायण चौक नजिक परिक्रमा सडकसम्म २.१ किलोमिटर, जानकी मन्दिर देखि हनुमान मन्दिर हुँदै शुभ चौक सम्म १ किलोमिटर, जानकी मन्दिर देखि महाविर चौक, पुरानो वस पार्क, परिक्रमा रोडको जिरोमाइल चौकसम्म १.१ किलोमिटर, पुरानो वस पार्क देखि परिक्रमा सडकको माछा बजार चौक, मोडर्न बोडिङ् स्कुल हुँदै बसहियाको नगरपालिका सिमा सम्म १.१ किलोमिटर, पुरानो वस पार्क देखि पेठिया हुँदै रंगभुमि मैदानसम्म १ किलोमिटर र राममन्दिर देखि कदम चौक हुँदै कपिलेश्वरको प्रहरी चौकीसम्म १.५ किलोमिटर गरी कुल ११ वटा योजना अन्तरगत कुल १९.८ किलोमिटर सडकको निर्माणका लागि सर्बेक्षण कार्य पुरा भइसकेको छ ।
    त्यसैगरी कुल ८.६ किलोमिटर सडक निर्माणका ७ वटा छुट्टा छुट्टै सडक खण्डको सर्वेक्षण कार्य अहिले वाँकी छ । सिता कुण्ड देखि दुधमती सडक (याज्ञवल्कय संस्कृत विद्यालय हुँदै सिताकुण्ड, ग्यालेक्सी बोडिङ स्कुल दशरथ मन्दिर सम्म) १.४ किलोमिटर, विवाह मण्डप देखि देवी चौक सम्म ०.६ किलोमिटर, मुरली चौक देखि हनुमान मन्दिर सम्म १.८ किलोमिटर, शिव चौक देखि कदम चौक सम्म ०.५ किलोमिटर, जिरोमाइल १ देखि जिरोमाइल २ सम्म ०.३ किलोमिटर, शिव चौक देखि भानुचौक, रेल्वे स्टेशन, जलाद खोला सम्म १.२ किलोमिटर र ल्याण्ड फिल साइट सम्मको सडक २.८ किलोमिटर गरी कुल ८.६ किलोमिटर सडक निर्माण गरिनेछ ।
कहाँ कहाँ हुन्छ ढल निर्माण ?
उक्त परियोजनाबाट जनकपुर नगर भित्रका विभिन्न सडक खण्डका कुल १६.६ किलोमिटर ढल समेत निर्माण गरिने भएको हो । जनकपुर अञ्चल अस्पताल देखि संकटमोचन मन्दिर हुँदै थापा चौक नजिकको परिक्रमा सडक सम्म १ किलोमिटर, किडिकन्भेन्ट बोडिङ स्कुल धनुषापथ देखि गोदावरी स्कुल, सरस्वती स्कुल, जानकी मेडिकल कलेज ब्रहमपुरी हुँदै थापा चौकसम्म १ किलोमिटर, नगरपालिकाको उत्तरी सिमा देखि राजमार्गको जिरोमाइल चौकसम्म ६.६ किलोमिटर, मुरली चौक देखि क्याम्पस चौक, राराब क्याम्पस हुँदै जलाद खोलासम्म १.४ किलोमिटर, विसहरा पोखरी देखि मालपोत कार्यालय हुँदै जलाद खोला सम्म ०.९ किलोमिटर, विसहरा चौक देखि मिट क्याम्पस हुँदै क्याम्पस चौकसम्म ०.४ किलोमिटर, विसहरा चौक देखि पिररिया माई थान हुँदै राराब क्याम्पस सम्म ०.५ किलोमिटर, विसहरा टोल देखि सिद्धि गणेश मन्दिर हुँदै मालपोत कार्यालय सम्म ०.५ किलोमिटर, मोनास्टिक बोडिङ स्कुल देखि जलाद खोलासम्म ०.५ किलोमिटर, शिवचौक देखि नगरपालिकाको कार्यालय देखि परिक्रमा सडक सम्म ०.६ किलोमिटर, शिव चौक देखि भानु चौक हुँदै रेल्वे स्टेशन जलाद खोलासम्म १.२ किलोमिटर, उद्योग बाणिज्य संघ देखि देवान पोखरी हुँदै स्टाफ नर्स कलेज, शुभ चौक सम्म ०.८ किलोमिटर, शुभ चौक देखि रेल्वे स्टेशन सम्म ०.६ किलोमिटर, मिल्स एरिया देखि जलाद खोलासम्म ०.६ किलोमिटर गरी कुल १४ वटा सडक खण्डमा नयाँ   ढल निर्माण गरिने हो ।



२०७१ जेष्ठ १८ गते आईतबार