Thursday, September 24, 2015

एमाओवादीका मधेसी नेताहरुले दिपावली नमनाउने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 एमाओवादीले संविधान घोषणा गरेको दिन दिपावली मनाउने निर्णय गरेपनि मधेसी नेताहरुले त्यसलाई नमान्ने घोषणा गरेका छन् । आम नेता कार्यकर्ता र सुभचिन्तकले संविधान घोषणा गरेको खुसीयालीमा दिपावली मनाउने निर्णय गरेको थियो । तर, तराई मधेशका एमाओवादीका केन्द्रीय सल्लाहकार, पोलिटब्यूरो सदस्य तथा केन्द्रीय सदस्य गरि १४ नेताले एक संयुक्त बक्तव्य निकाल्दै निर्णय नमान्ने घोषणा गरेका हुन् ।
उनीहरुले पार्टीले मधेश(थरुहटको विषम परिस्थितिलाई आकलन नै नगरि कांग्रेस(एमालेको लहैलहैमा लागेर दीपावली र संयुक्त सभा जस्तो विजय उत्सवसम्म मनाउने निर्णय गरिएको आरोप लगाउँदै सो आफूहरुको लागि असहनीय र पिडादायी भएको उल्लेख गरेका छन् ।
संयुक्त वक्तब्यमा भनिएको छ, ‘ पार्टीले मधेश(थरुहटको विषम परिस्थितिलाई आकलन नै नगरि कांग्रेस(एमालेको लहैलहैमा लागेर दीपावली र संयुक्त सभा जस्तो विजय उत्सवसम्म मनाउने निर्णयमा पुग्नु हाम्रोलागि असहनीय र पिडादायी भएको छ । त्यसैले पार्टीको यो निर्णय फिर्ता लिई आन्दोलनमा आउन अनुरोध गर्दछौ । अन्यथा, हामी यसप्रकारको दुस्साहसपूर्ण कार्यमा सहभागि नहुने व्यहोरा सहित सम्वन्धित पक्षलाई जनकारी गराउन चाहन्छौ ।’ उनीहरुले प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने नाममा विभेदकारी संविधान जारी हुन लागेको समेत दाबी गर्दै सिंगो तराई मधेस आन्दोलनले जलिरहेको अवस्थामा सवैलाई नसमेटी निर्माण गरिएको संविधान जनताको हितमा नरहेको समेत बताएका छन् ।
यसरी असहमति राख्ने नेताहरुमा पोलिटब्यूरो सदस्यहरु रामचन्द्र झा , विश्वनाथ शाह, प्रभु साह, महेन्द्र पासवान, केन्द्रीय सदस्यहरु रामरिझन यादव, रामकुमार शर्मा, हकिकुल्ला खाँ , भरत साह, घनश्याम यादव, रामचन्द्र मण्डल, उपेन्द्र प्र. साह, चिनक कुर्मी, केन्द्रीय सल्लाहकारहरु कलामुदीन राइन र रमेशरञ्जन झा रहेका छन् । एमाओवादी नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान हुन लाग्दा आफूलाई खुसी र गर्वको अनुभूति भएको बताएका छन् । तर, अहिले नै दिपावली र नाचगान गर्ने बेला भएको बताए ।
नाचगान जरुरी छैन ः भट्टराई
शनिबार काभ्रेको पाँचखाल १६ स्थित धुर्मुस सुन्तली एकीकृत वस्तीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी नेता डा.बाबुराम भट्टराईले मुलुक युगीन परिवर्तनको संघारमा भएको खुसीको अनुभूति रहेका बताए । तर, तराई मधेस, थारुवान र जनजातिका कयौं मुद्दाहरु सम्बोधन नभएकाले त्यहाँ असन्तुष्टि कायमै भन्दै उनले उनीहरुलाई छिटो सम्बोधन गर्नु पर्ने बताए ।
‘त्यहाँका जनतालाई पनि विश्वासमा लिएर हामीले संविधान बनाउनु पर्थ्यो, तर सकेनौं । जुन असन्तुष्टि छ, त्यसलाई छिट्टै सम्बोधन र्गयौं भने दिपावली गर्ने अवस्था आउँछ’ उनले भने(‘अहिले बढी नाचगान गर्नुभन्दा यसलाई सकारात्मक रुपमा लिएर सबैको समर्थन जुटाएर जानुपर्छ । म मुलरुपमा खुसी छु । तर, आशिंक रुपमा अझै नाचगान गर्ने बेला भइसकेको छैन ।’

२०७२ आशिन ०३ गते आईतबार

गृहयूद्धमा फस्दै मुलुक

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संविधानसभाको प्रभावकारिता सभामा कस्ता व्यक्तिले भाग लिन्छन्, सभाले बनाउने प्रावधानहरु कस्ता छन्, तथा सभाद्वारा पारित निर्णयहरु कार्यान्वयन गरिन्छन वा गरिँदैनन्, भन्ने कुरामा निर्भर रहन्छ । विश्व इतिहासमा विशेष गरी जनक्रान्ति, स्वतन्त्रता तथा उपनिवेशबाट मुक्त भएका धेरै देशहरुले संविधानसभालाई सफलता पुर्वक प्रयोग गरेका छन् । भारत, आयरलेन्ड, इटाली तथा नर्बे जस्ता देशहरुले संविधानसभाको प्रयोगबाट नयाँ संविधान निर्माण गरी धेरै हदसम्मको स्थिर प्रजातन्त्र स्थापना गरेका छन् । तर, ठुलो आन्दोलन पछि पनि र संविधान सभा गठन गरिएतापनि पाकिस्तान, फ्रान्स र रसिया जस्ता देशहरु असफल रहे । सन् १९४७ मा पाकिस्तानमा गठित संविधानसभाबाट दशकौं सम्म सैनिक तानाशाही तथा सामन्ती प्रजातान्त्रिक सरकारको प्रादुर्भाव हुन गयो ।
त्यसैगरी सन् १७८९ मा फ्रान्समा गठित संविधानसभाले लामो गृह यूद्ध रोक्न असफल रह्यो जुन तत्कालित राजाको फाँसीमा टुङ्गिन पुग्यो । त्यसपछि गठित अस्थिर तथा हिंसात्मक सरकारहरुलाई अन्ततः अपदस्थ गरी नेपोलियन बोनापार्ट सत्तामा आए ।
रसियामा लेनिनका बोल्सेभिक क्रान्तिकारीहरुले संविधानसभालाई समर्थन गरेका थिए । तर, रसियन राजालाई अपदस्थ गरेपछि गठित उक्त सभालाई नियन्त्रण गर्न सकेनन् । प्रजातन्त्रवादीहरु बीच अल्पमतमा परेका लेनिन संविधान सभाको विरुद्धमा उभिए र भने,‘ साम्यवादी गणतन्त्र सामान्य भन्दा उच्च स्तरको प्रजातन्त्र हो ।’ तत्पश्चात, लेनिनको सैन्यले संविधानसभालाई हतियारको प्रयोगबाट बन्द गरेपछि रसिया रक्तपुर्ण लामो गृह यूद्धमा होमियो । तसर्थ, संविधानसभाले या त शान्ति र प्रजातन्त्र ल्याउन सक्दछ वा यसले तानाशाही अथवा गृह यूद्धलाई पनि निम्तियाउन सक्छ ।
 हो, नेपालमा पनि शदियौं देखिको नेपाली जनताको संविधानसभाबाट नयाँ संविधानको सपना असोज ३ गते साँझ ५ बजे साकार हुन गईरहेको छ । तर, जारी हुने नयाँ संविधानले उत्पीडित, उपेक्षित, बञ्चित वर्ग आदिको भावनालाई सम्बोधन नगरेको हुनाले नेपालमा अहिले पनि खस शासकहरु तानाशाहका रुपमा अगाडी देखा परेका छन् भने नेपालमा एक खाले गृह यूद्धको लक्षणहरु देखा पर्न थालेका छन् ।
गणितको आधारमा संविधान गृह यूद्धको एक कारण
अमेरिकाका पुर्व राष्टूपति जिमी कार्टरले भनेका छन्,‘ जब देशका जनताका अवाज सुन्न सकिन्न ठिक त्यसैबेला हामी गल्ती गर्दछौं ।’ यो कुरा उनले राज्य संचालन गर्नका लागि सरकारले ध्यान दिनुपर्ने कुराको सवालमा भनेका हुन । तर, नेपालमा नेपाली जनताको भाग्य भविष्यको निर्धारण गरिने संविधानसभाबाट संविधान निर्माण हुन गईरहेको अवस्थामा पनि करिब ४० दिन देखि लाखौं जनता सडकमा उभिएर, आफ्नो ज्यानको आहुति दिएर संवैधानिक अधिकारको माग गरिरहँदा मधेसीको मागलाई पुरा पुरी वेवास्ता गरी जसरी संविधान जारी गर्न लागिएको छ त्यसले मधेसमा शान्ति होइन थप हिंसा भड्किने र मुलुकमा गृह यूद्ध चर्किने संम्भावना प्रवल हुँदै गएको छ ।
दुई तिहाई भन्दा बढी मतको आधारमा संविधानसभाबाट संविधान जारी हुनुले कानुनी वैधता प्राप्त गर्न सकेपनि देशको आधा भन्दा वढी जनसंख्याले संविधानलाई आत्मसाथ नगरी जलाईरहने परिस्थिति निर्माण हुनुले पनि यो संविधानको औचित्यता माथि प्रश्न चिन्ह खडा गरेको छ ।
महात्मा गान्धीले भनेका छन्,‘मेरो बुझाईको लोकतन्त्र, सर्बाधिक कमजोरले पनि सर्बाधिक ताकतवर जतिकै समान अवसर पाउनु हो ।’ तर, नेपालमा अहिले जारी भईरहेको संविधानमा कमजोर वर्गको अधिकार सुनिश्चित हुन गईरहेको छैन । सदियौं देखि वर्चस्व जमाई ताकतवर बनेका एउटा खास खस समुदायलाई नै झन् झन् ताकतवर बनाउने र उपेक्षित, उत्पीडित वर्ग समुदायलाई झन् झ्न कमजोर बनाउने काम नयाँ संविधानबाट गईरहेको छ ।
संविधानसभामा हाल कायम ५९८ सभासदहरुमध्ये ५३७ जनाले हस्ताक्षर गरेका छन् भने हस्ताक्षर नगर्नेमा अधिकांश तराई मधेस केन्द्रीत दलबाट प्रतिनिधित्व गरेका सभासद् छन् । भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी रहेकोमा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गरेक थिए ।
मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण संख्या बढेको हो । सो मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) ले पनि संविधानको प्रतिमा हस्ताक्षर गरे । हस्ताक्षर कार्य समाप्तिपछि सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायत सभासद्को उपस्थितिमा नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए । सभाध्यक्ष नेम्वाङ आफूले प्रमाणीकरण गरेको प्रति संविधानसभा भवनस्थित ल्होत्से हलमा उपस्थित राजनीतिक दलका शीर्ष नेता, सभासद् एवम् सञ्चारकर्मीसामु सार्वजनिक गरेका थिए । सो अवसरमा तालीको गड्गडाहट करिब पाँच मिनेटसम्म गुञ्जिएको थियो  । हलको माथिल्लो मञ्चमा रहेका शीर्ष नेताहरुले तालीको गड्गडाहटका बीचमा संयुक्त रुपमा हात हल्लाई सबैलाई अभिवादन गरेका थिए । प्रमाणीकरण गर्ने सङ्क्षिप्त कार्यक्रमपछि सभाध्यक्ष नेम्वाङसहित शीर्ष नेतासित तस्बिर खिंचाउन सभासद्को भीड लागेको थियो  ।



२०७२ आशिन ०३ गते आईतबार

जलेश्वरमा सहिदको सहादतलाई सलाम !

सहिद विरेन्द्र कुमार विच्छा र उनको श्रीमति र छोरा छोरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनका क्रममा महोत्तरी जिल्लाले ६ जनालाई गुमाउनु परेको छ । प्रहरीले गोली चलाउँदा एउटै परिवारका हजुरबुवा र नाती, महिला, बालक लगायत ६ जना नागरिक गुमाउनु पर्दा महोत्तरी जिल्लावासी अहिले ठुलो शोकमा परेका छन् ।
समाजसेवी गणेश चौधरीको सहादत
’मेरा बुबा र छोराको के दोष थियो?’

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे । बाटोमा भेटिएका मामा विनोद चौधरीले ’झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए । तर महेन्द्र चोक काट्नै पाएनन् । प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो । उनी ठाउँका ठाउँ ढले । १० कक्षामा पढ्दै गरेका १७ वर्षीय रोहनको मृत्युले जलेश्वर नगरपालिका(७ बजराहीको चौधरी परिवार शोकमा डुबेको छ । घरमा रुवाबासी चलिरहेको छ । बुधबार दिउँसो ३ बजेको त्यो घटनापछि अर्धअचेत उनकी आमा बबिताले एक दाना अन्न खाएकी छैनन् । रोहनका किताब, स्कुलको परिचयपत्र र मोबाइल हेर्दै भक्कानिन्छिन् । छिनछिनमा बेहोस हुन्छिन् । बर्बराइरहन्छिन, ’हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो?’
रोहन जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे । ’पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’ विनयले भावविह्वल हुँदै भने ।
शुक्रबार फेरि त्यही परिवारमा अर्को बज्रपात आइलाग्यो । गाउँमा छिरेर प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा रोहनका हजुरबुबा ६० वर्षीय गणेशको ज्यान गयो । गणेश शुक्रबार साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो । बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।
‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ,’ छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराले के दोष थियो? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन ।’ गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए । उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए । उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए । त्यसैगरी राष्टिूय समाचार समितिका महोत्तरी सम्वाददाता भएर समेत उनले काम गरेका थिए । यति मात्र होइन उनी रेडक्रस आँखा उपचार केन्द्रको व्यवस्थापक समेत रहेका थिए ।  भोज राज घिमिरे गृहमन्त्री भएका बेला जलेश्वर नगरमा उनी नगर पञ्चायतका उपसभापति समेत बनेका थिए । इस्माइल अन्सारी सभापति भएका बेला उनी उपसभापति भएका थिए । महोत्तरीका प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत पत्रकार कुमरकान्त झा भन्छन,“ उनी सदैव राजसंस्था र पञ्चायती व्यवस्थाका पक्षधर थिए । जब उनी नगरको उपसभापति भएर जनमत संग्रहमा बहुदललाई पराजित गरी निर्दललाई जिताउन भुमिका निर्वाह गरे तब उनलाई २०३६ साल तिर तत्कालीन राजा वीरेन्द्र शाहले सेवा पदकसमेत प्रदान गरेका थिए ।” पुर्व मन्त्री समेत रहेका तमलोपाका नेता गणेश तिवारी नेपाली भन्छन,“ गणेश चौधरी विशुद्ध समाजसेवी हुनुहुन्थ्यो । उनको जन्म नै समाज सेवाको लागि भएको थियो । सरल जिवन र उच्च विचार राख्ने उहाँमा महात्मा गान्धीजीको अन्स हेर्न सकिन्थ्यो । प्रहरीले उनको हत्या गरेर जघन्य, अक्षम्य अपराध गरेको छ ।” उनी रेडक्रस र पत्रकारिताका अतिरिक्त शिक्षा क्षेत्रमा पनि गम्भीर थिए । महोत्तरीको जलेश्वरमा मनिपाल इन्जिनियरिङ्ग कलेज संचालन गराउनमा उनले ठुलो योगदान निर्वाह गरेका थिए । त्यसैगरी उनी जलेश्वर क्याम्पसको संस्थापक सदस्य पनि थिए ।
गुरु पुर्णिमाका अवसरमा रोहण चौधरीले लेखेको पत्र
आदरणीय सम्मानीय गुरु वर्ग, सम्पुर्ण विद्यार्थी साथी भाईहरु  । म आज गुरु पुर्णिमाको विशेष दिनमा उज्जयालो भविष्य दिने यहाँ उपस्थित गुरु वर्गहरुका बारेमा केही भन्न गईरहेको छु । हामी आज जे पनि छौ त्यो सबै गुरुको कारणले नै हो । यदि आज अहिले यो संसारमा गुरु नभएको भए हामी बाँदर जस्तै हुन्थ्यौं । गुरु हाम्रो जीवनको महान सम्पती हो । हामीले गुरुलाई भगवानको रुपमा मान्ने गर्छाैं । हामीले गुरुको कारणले नै विद्या हासिल गर्न पाएका छौं । यदि गुरु नभएको भए आज कोही पनि व्यक्ति शिक्षित हुन सक्ने थिएन होला । गुरुको कारणले नै हामी सहि र गलत छुट्याउन सक्छौं । गुरुले गर्दा नै शिक्षित हुन्छौं र आफ्नो भविष्य बनाउन सक्छौं । शिक्षा विनाको जीवन अधुरो हो भने गुरु विनाको जीवन पनि अधुरो नै हो । यदि हामी विद्यालय गयौं र त्यहाँ गुरु नै छैन भने त्यो विद्यालयको केही पनि काम छैन । गुरुले गर्दा नै मानिस डाक्टर, इन्जिनियर, पायलट बन्छन् । गुरुलाई हामीले सधै सम्मान गर्नुपर्छ । उहाँहरुलाई सधै खुशी राख्नुपर्छ । र, कहिले पनि अपमान हुने काम हामीले गर्नु हुँदैन । विद्यालयमा हामी धेरै कुराहरु सिक्छौं । त्यो सबै गुरुहरुबाट प्राप्त गछौं । विद्यालयमा गएर हामीले थाहा नभएका कुराहरु सिक्छौं । यदि गुरुहरु नभईदिएको भए आज हाम्रो देशको अवस्था धेरै कमजोर हुन्थ्यो । गुरुको चित्त दुखाउनु भनेको आफ्नो बुवा र आमाको अपमान गर्नु हो । हामीले कुनै पनि नराम्रो काम गर्नु हुँदैन, जुन कामले गुरुको चित्त दुखोस् । यति भन्दै म तपाईहरुको माझमा एउटा कविता भन्न चाहन्छु । गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर । गुरु भनेको ब्रम्हा, विष्णु र परमेश्वर हो । गुरु भनेको साक्षात देवता हो । गुरुलाई हामी सबैले सम्मान गर्नुपर्छ । यति भन्दै म आफ्नो दुई शव्द समाप्त गर्दछु, धन्यवाद ।
सहिद विच्छाको परिवारमा विजोग
सहिद रामविवेक यादव र उनको श्रीमति ।
महोत्तरीको पिगौना ६ का ३५ बर्षिय विरेन्द्र कुमार विच्छाको पारिवारिक अवस्था अत्यन्त दयनिय छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका विच्छाको गत शुक्रबार १० बजेर ७ मिनेटमा नर्भिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थियो । जनकपुरको राराब क्याम्पसमा स्नातकोत्तरमा अध्ययनरत विच्छा गाउँकै नजिक रहेको प्रकौली स्थित शान्ति निकेतन स्कुलमा पढाएर परिवारको जीवन यापन गर्थे । पिता देव चन्द्र विच्छा र माता उर्मिला विच्छाको सन्तानको रुपमा रहेका विरेन्द्र विच्छाको सहादत पछि उनको परिवारमा रुवावासी भएको छ । उनको श्रीमति सिम्पी विच्छाको अहिले सम्म होस आउन सकेको छैन । एक महिना अघि मात्र जन्मिएका उनका छोराको नामाकरण पनि गर्न सकिएको थिएन । त्यसैगरी २० महिनाको उनको एउटा छोरी रहेको छ ।
महिलाले पनि सहादत दिए
गाउँमा छोराको भविष्य राम्रो हुँदैन त्यहि भएर हातिलेट( ९ घर भएकी ४१ वर्षीया रामशिला मण्डलको अनुरोधमा उनका श्रीमान शम्भु मण्डलले पाँच वर्ष अघि सदरमुकाम जलेश्वर नगरपालिका (४ राजदेवी मन्दिर नजिक डेरा गरी बस्न थाले  । आफ्ना १४ वर्षीय छोरा सरोज मण्डल र १५ वर्षीय छोरा सन्तोष मण्डललाई जलेश्वरकै बोर्डिङस्कुलमा भर्ना गराएर उनीहरुको भविष्य उज्वल पार्ने विभिन्न प्रयास गरी रहेका थिए । तर जलेश्वरको शंकर चोकमा कर्फयु उल्लघंन गरी भई रहेको प्रर्दशन हेर्न शंकरचोक पुगेकी रामशिला मण्डललाई शुक्रबार भदौ २५ गते प्रहरीले चलाएको गोली टाउकोमा लागेपछि उनी त्यँही ढलिन, उनी ढले लगतै उनका छोरा छोरीको भविष्य पनि त्यँही ढल्यो ।
जे सपना बोकेर उनी गाउँ छाडेर सदरमुकाम जलेश्वर आइपुगिन् अव त्यही सपना पुरा नहुने भयो  । ’राम्रो अध्ययन अध्यापन गराए छोरालाई ठुलो मान्छे बनाउने उनको चाहना थियो,’ रामशिलाका देवर विरेन्द्र मण्डलले भने, ’तर अव उनी आफैं यो दुनियामा नरहेपछि उनका छोरा छोरीको भविष्य नै अन्यौलमा पर्ने भयो ।’  राप्रपा नेपाल कमल थापाको पार्टीका सक्रिय जिल्ला सदस्यसमेत रहेकी रामशिला गोली हानिएको दिन आन्दोलनमा सहभागी थिइनन् । उनी जलेश्वर २ शंकरचोक नजिक एउटा घरको ओत लागेर प्रर्दशन हेरिरहेकी थिइन् । त्यतिकैमा उनको टाउँका गोली लागेको देवर विरेन्द्र मण्डलले बताए ।
प्रहरी र प्रर्दशनकारीबीच भइरहेको झडपमा ढुंगा हान्ने आन्दोलनकारीलाई केही नहुनु, तर झडप हेरेर बसेकी आफनी भाउजुलाई गोली प्रहार गरेपछि उनको परिवारमा ठुलै बज्रपात भएको विरेन्द्रले बताए । रामशिलाका श्रीमान् शम्भु मण्डल डाम्ही मडै गाविसका प्राविधिक सहायक रहेका र उनले नै कमाएका पैसाले सबै परिवार खुशी खुशी बाचिरहेका थिए । तर, घरलाई ठिक ढंगबाट डोर्याएर लग्ने श्रीमतीको मृत्यु भएपछि श्रीमान शम्भु पनि विक्षिप्त भएका छन् । रामशिलाका दुवै छोरा पनि आमाको मृत्युले अन्त्यतै दुखित भएका छन् । छोराहरुले जलेश्वर ४ मा रहेको डेराको कोठामा आमालाई खोजी रहेका हुन्छन् ।  राति सुत्दासमेत उनका छोराहरु आमा आमा भनेर बर्वराउने गरेको उनका बुबा शम्भु मण्डलले बताए । शम्भुले मधेसमा जारी आन्दोलनमा आफ्नी श्रीमतीको सहादत खेर नजाने उनको भनाइ छ ।
सहिद राम विवेकको परिवारमा बंश नै नरहने खतरा
उक्त आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा सबै भन्दा पहिले गोली लागेर मृत्यु हुने व्यक्ति हुन महोत्तरी ५, महोत्तरीका २२ बर्षिय रामविवेक यादव । पिता इन्दु यादव र आमा इन्दो देवीका एक मात्र छोराको रुपमा रहेका रामविवेकको ज्यान गएपछि उनको परिवारको वंश नै खतरामा परेको छ ।
गत फागुन महिनामा विहे गरेर ल्याएकी उनकी श्रीमति अनिला देवी यादव अब आफ्नो जीवन कसरी चल्ने हो भन्ने सोचका साथ अचेत भएकी छिन् । सकारात्मक कुरा के हो भने उनी अहिले गर्भवती छिन । र उनको परिवारको आशाको किरण बाँकी रहेको छ । आर्थिक रुपले अत्यन्तै विपन्न उक्त परिवारमा अहिले ठुलो विजोग परेको छ ।
परिवारको सहारा नै गुम्यो
महोत्तरीको बखरीका २२ बर्षिय अमित कापडको पनि उक्त आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएको छ । उनको श्रीमति गर्भवती छिन । डेढ वर्षकी एउटा छोरी पनि छिन् । उनको बुवाको अवस्था शारीरिक रुपले पनि दयनिय छ । ५ भाई बहिनी रहेका अमितले टयाक्टर चलाएर परिवारको जीविको पार्जन गर्दै आएका थिए । उनका आमा राम सुन्दर कापडी विलौना गर्दै भन्छिन,“सिंगो परिवार उसैमाथि आश्रित थियो । छोरीको विहे गर्नुछ, परिवारको लालन पालन कसरी होला ?”

महोत्तरीको जलेश्वर बजराहीमा एउटै परिवारका हजुरबुवा गणेश चौधरी र नाती रोहण चौधरी सहिद भएका छन् । बायाँबाट क्रमशः गणेश चौधरीलाई राजा विरेन्द्रले पदक सेवाबाट सम्मान गर्दै, सहिद रोहण चौधरी, किरियामा बसेका रोहणका बुवा र भाई, गुरु पुर्णिमाको अवसरमा रोहणले लेखेको पत्र ।


२०७२ आशिन ०३ गते आईतबार

जलेश्वरमा सन्त्रास र भयको माहौल

सिमावर्ती नाका महोत्तरीको भिठ्ठामोडमा भारतीय नाकाबाट
जलेश्वर प्रवेश गर्ने यात्रुहरुलाई चेक जाँच गर्दै सशस्त्र प्रहरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
लगातारको वन्द र कर्फयुका कारण महोत्तरीका सर्वसाधारण जनता कष्टकर जिवनयापन  गर्न वाध्य भएका छन् । भदौ २३ गते देखी जारी अनिश्चितकालिन कर्फयुका कारण जलेश्वर सहित आसपासका जनजीवन कष्टकर वन्दै गएको छ । केहि समयका लागी महोत्तरी प्रशासनले कर्फयु हटाउदै जाँदा जलेश्वरको जनजीवन सामान्य  वन्दै गएपनि पूर्ण रुपमा सर्वसाधारण जनता वजारमा हिडडुल गर्न सकेको छैन । कर्फयुका कारण दैनिक कामकाजमा समेत असर परेको छ ।
कर्फयु र वन्दका कारण जलेश्वर वजार खुल्न नसकेपछि ग्रामीण भेगका जनतालाई समेत प्रभावित गरेका छन् । दैनिक उपभोग्य सामान खरिद गर्न पाएका छैनन् भने वैंकहरु वन्द हुँदा निकै समस्या भएको छ । यता संबिधान निर्माण र प्रदेशको सिमाकंनमा असंतुष्ट रहेका मधेशी मोर्चाको ३५ दिन देखिको लगातारको बन्दका कारण यातायातका सबारी साधन चल्न सकेको छैन भने बजार, कलकारखाना र शैक्षिक सस्ंथाहरु पनि पुर्णरुपमा बन्द रहेको छ । यातायातका सबारी साधन चल्न नकसकेको र बजार पनि पुर्णरुपमा बन्द रहेका कारण दैनिक उपभोग्य सामग्रीको अभाब देखिएको छ । दैनिक मजदुरी गरेर घरपरिबारको गुजारा चलाउदै आएकाहरु सब भन्दा बढि मारमा परेका हुन । लामो वन्दका कारण ग्यास उपलब्ध नहुदाँ सर्वसाधारण जनता घरमा भोकै वस्न वाध्य छन ।
सीमावारपार गर्नेमाथि पनि निगरानी
 नेपालमा भई रहेको मधेश आन्दोलनलाई मध्यनजर राख्दै नेपाल र भारतका सुरक्षकर्मीले सीमा वारपार गर्ने समुदायमाथि पनि निगरानी बढाइएको छ । संयुक मधेसी मोर्चाले असोज ३ गते गाउँ गाउँ तथा प्रत्येक चोकका साथै बजारमा कालो झण्डा गाड्ने, गाउँ गाउँमा संविधान जलाउने, जलेश्वरमा कालो झण्डासहित मौन जूलूस जन प्रर्दशन गर्ने, बेलूका ७ बजेदेखि ८ बजेमा ब्ल्याक आउट गर्ने र असोज ४ गते चालु जलेश्वर भरू जलेश्वर भन्ने नारा दिँदै महोत्तरीको जलेश्वरमा विशाल विरोध प्रदर्शन गरी संविधान जलाउने कार्यक्रम तय गरेपछि शान्ति सुरक्षामा खलल पर्ने प्रयाप्त आधार भएको जनाउँदै महोत्तरीको स्थानीय प्रशासनको आग्रहमा भारतीय सुरक्षाकर्मीले सीमामा जाच कडा पारिएको छ । अवाञ्छित गतिविधि सीमाबाट नेपाल तर्फ नहोस भन्दै भारतीय सीमा सुरक्षाबलले हरेक यात्रुसँग सोधपुछ गर्दै आउजाउ गर्न दिएको छ । नेपालमा अवाञ्छितमा गतिविधि गर्ने र गराउने उद्देश्यले आउजाउ गर्ने माथि कडा निगरानी राखिएको छ ।
मधेश आन्दोलनलाई मध्यनजर राख्दै भारतको विहार राज्यको मधुवनी र सीमामढी जिल्लासँग ३८.४७ किलोमीटर सीमा जोडिएको महोत्तरीको १३ गाउँ विकास समितिको  सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतीय एसएसबीले भारतको सीमासँग जोडिएको महोत्तरीका विभिन्न नाकाहरुमा सूरक्षा व्यवस्था कडा पारी चेकजाँच सुरू गरिएको छ । सुरक्षास्थितलाई ध्यानमा राखि भारतले सीमामा रहेको प्रहरी चौकीहरुलाई पनि हाईएलर्ट गरेका छन भने नेपाल तर्फको सुरक्षाकर्मीहरुले पनि सीमामा आउजाउ गर्नेहरुको चेक जाँच गरेका छन् । महोत्तरीको वोर्डरक्षेत्रमा एसएसवी जवान, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ज्वाईन्ट पेटूोलिङ समेत शुरु गरिएको छ ।
चेक जाँचको लागि डाँग स्क्वाँयडपनि तैनाथ गरिएको छ भने नाईट भिजन क्यामेराबाट पनि ग्रामीण क्षेत्रसम्म नजर राख्ने काम भएको छ । साथै सीमा सँगै रहेको भारतीय र नेपाली गाउँका स्थानीयलाई आ आफनो घरमा पनि संदिग्धलाई वास बस्न नदिन सूचना जारि गरिएको छ । सीमामा रहेको दुवैं तर्फको बजार होटल र लजहरूमा निगरानी बढाइएको छ । अपारधिक गतिविधिमा संलग्नहरुले भारतको मधुबन्नी र सितामढीको सिमा प्रयोग गरी कुनै पनि हालतमा नेपाल तर्फ जान नदिने उद्देश्यका साथ संदिग्ध हुलिया भएकाहरु माथि विशेष निगरानी बढाइएको प्रहरीले बताएको छ । सुरक्षाकर्मीले  भारतको बिहारको मधुवनी र सीतामढी जिल्लासँग सीमा जोडिएको  दक्षिणी  क्षेत्रका मुख्य प्रवेश नाका महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुर लगायत १३ गाउँ विकास समितिका सीमावर्ती क्षेत्रमा सीमावारपार गर्ने समूहमा हुन सक्ने घुसपैठको निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरिक्षक सौरभ राणाले नेपाल भारतको सीमावर्ती महोतरीको दक्षिणी भेगका बस्तीमा  सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताए । जनताले असुरक्षित महसुश हुन नदिन सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो उनले भने  पारीबाट अपराधिक समूहको हुन सक्ने घुसपैठलाई रोक्न सीमामा निगरानी बढाउन सुरु गरेका छौं ।  त्यसै गरीनिषेधित घोषणा गरिएका  आसपास क्षेत्रमा समेत सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।  उनले जलेश्वर वरिपरिका क्षेत्रमा सुरक्षा सजकता र सुरक्षाकर्मीको उपस्थिति  बढाइएको बताए । प्रहरी उपरिक्षक सौरभ राणाले सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चनाखो सुरक्षा सर्तकताले २६ भदौ देखि शनिवार सम्म महोतरी कुनै अप्रिय घटना हुन नपाएको दाबी गरेका छन् ।
शनिवार देखि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने नाकामा नेपाल भारत तर्फका उल्लेख रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतीय एसएसबीले नेपालको ती नाकाहरुबाट प्रवेश गर्ने नेपाली सवारी साधन र सर्व साधारणहरुलाई चेकजाँच गरी भारततर्फ प्रवेश गर्न दिने गरेको छ । भारतीय सीमा क्षेत्रमा ४८ घण्टे विशेष पेटूोलियम सेवा सञ्चालनमा ल्याएका छन् । सरकारले महोतरीको  सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थति बढाएको छ ।
महोत्तरीमा जारि संयुक्त लोकातान्त्रि मधेसी मोर्चाको मधेश आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर जलेश्वरनगरपालिका ७ का  रोहन चौधरी ६० वर्षीय रेडक्रसकर्मी गणेश चौधरी महोत्तरी गाविस ५का  रामविवेक यादव  पिगौना ५का  विरेन्द्र विच्छा जलेश्वर नगरपालिका १४ बखरीका मुसवा भनिने अमित कापर र हातिलेट ९ घर भएकी ३६ वर्षिया रामशिला मण्डल गरी ५ जन मृत्यु भएको थियो । प्रर्दशनकारीको कुटाईबाट सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको थियो ।

महोत्तरीमा हजारौं नागरिक तथा नेताहरु विस्थापित

स्थानीय प्रशासनबाटै असुरक्षित भएको भन्दै महोत्तरीका २ हजार घरपरिवार गाउँ छाडेर भारतको शरण लिएका छन् । उनीहरू सुरक्षा खोज्दै भारतको विहारस्थित मधवापुर र भिट्ठामोड पुगेका हुन् । उनीहरूले मधवापुर र भिट्ठामोडमा नेपाली शरणार्थी भन्दै शिविर नै सञ्चालन गरेर बस्दै आएका छन् । महोत्तरीको विभिन्न गाविसबाट भिट्ठामोडमा १ हजार ५ सय र मधवापुरमा ५ सय परिवार शरण लिएको सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव बताउँछन् ।
    यही २३ गते जलेश्वरको महेन्द्र चोकमा आन्दोलनरत मधेशी मोर्चाले कोणसभा गरिरहेको बेला प्रहरीसँग झडप हुँदा तीनजना आन्दोलनकारी मारिएका थिए । दुई दिनपछि सशस्त्र प्रहरीका एक असईलाई आन्दोलनकारीले आक्रमण गरी ज्यान लिएका थिए । सोही दिन प्रहरीले थप दुई जनालाई मारेपछि अहिले प्रहरी र जनता दुवै आतङ्कित भएका छन् ।
    भदौ २५ गते असई थमनबहादुर विश्वकर्मा मारिएपछि जलेश्वरको प्रहरीले बज्राही, रतवारा, साडी, महोत्तरी, सोनमा, सनोखरालगायत गाउँमा प्रवेश गरी अनाहकमा सर्वसाधारणलाई यातना दिएको भन्दै स्थानीय आक्रोशित छन् । शुक्रवार साँझदेखि आइतवार बिहानसम्म स्वतन्त्र सभासद् चन्देश्वर झा, केदारनाथ पाठक, महेशप्रसाद चौधरी, अरविन्द साह, महेन्द्र चौधरी, महेन्द्र झा, जयरुद्र झा, हरिशचन्द्र ठाकुर, जयविन्द झालगायत बज्राहीका ५ सय घरधुरीमध्ये ४ सय परिवारका सदस्यले हस्ताक्षर गरी विज्ञप्ति नै जारी गरेका छन् । नेपाल सरकारपले सुरक्षा प्रदान गर्न नसक्ने भएकाले आत्मसुुरक्षाका लागि छिमेकी मित्रराष्टू भारतमा शरण लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
    यता, आन्दोलनरत मोर्चामा आबद्ध चारओटै मधेशी दलका महोत्तरी अध्यक्ष तथा केही केन्द्रीय सदस्य मधवापुर शिविरमा तीन दिनदेखि बसिरहेका छन् । मधवापुर शिविरमा सद्भावना पार्टीका केन्द्रीय सहमहामन्त्री देवेन्द्र यादव, तमसपा केन्द्रीय उपाध्यक्ष रानी शर्मा, केन्द्रीय सदस्य सुरेश पाण्डे, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण यादव, नागेन्द्र यादव, अमरेशनारायण झा, तमलोपा केन्द्रीय सदस्य सुशील शर्मा, नेपाल सद्भावना पार्टीका केन्द्रीय सुनिल रोहितलगायत छन् । विहारमा विधानसभाको चुनावलाई लक्षित गरी भारत सरकारले गत शुक्रवारदेखि त्यहाँको ग्रामीण क्षेत्रमा ५ भन्दा बढी संख्यामा भेला, सभा, सम्मेलन गर्न नपाउने व्यवस्था लागू गरेको छ । उक्त नियमले भने शरणार्थी बस्न अप्ठ्यारो परिरहेको उनीहरूले बताए ।

२०७२ आशिन ०३ गते आईतबार