Saturday, May 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


भ्रष्टाचारी, कालोबजारी गर्ने माथि केही बोल्न नसक्ने, अनि बत्ती नभएको बेलामा दुईवटा रोटी डढदैमा आफ्नो पुरुषार्थ हेराउने, खुरुक्क खाँ होइन त खालास् फेरी  !

२०७३ जेष्ठ ०९ गते आईतबार

लाल किशोर झा हत्या प्रकरण हत्या देखि हालसम्मको सम्पुर्ण विवरण न्यायको पखाईमा पीडित परिवार

लाल किशोर झा हत्याका
प्रमुख योजनाकार भनिएका प्रतिवादी
अजय अनुरागी
जनकपुरधाम............

महोत्तरी गोनरपुरा २ मा घर भई जनकपुर नगरपालिका वडा नं. ८ मा वस्ने लाल झा भनिने लालकिशोर झाको हत्या भएको ६ वर्ष वित्न लाग्दा पनि धनुषा जिल्ला अदालतमा उक्त हत्याकाण्डको विषयमा टुङ्गो लाग्न सकेको छैन । ११ कार्तिक २०६७ मा लाल किशोर झा जनकपुर स्थित आफ्नो घरबाट जिल्ला शिक्षा कार्यालय महोत्तरी जानको लागि हिँडेर बस पार्क तर्फ गईरहेको बेलामा विहान ९ः३० बजेको समयमा अपरिचित व्यक्तिहरुको समुहले गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते अवस्थामा झालाई तत्कालै जनकपुर अञ्चल अस्पताल पु¥याइएपनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना गराउँदा उपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको थियो । 

मृतक झाको शवको गराइएको शव परिक्षण प्रतिवेदनमा समेत झाको मृत्यु गन सट इन्जुरीको कारण भएको बताइएको छ । उक्त घटनाको प्रमुख मास्टरमाइन्ड तथा योजनाकारको रुपमा धनुषा प्रहरीले रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवलाई अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतमा प्रस्तुत गरेको छ । तर, अदालतले उनलाई तारेखमा रिहा गरेको अवस्थामा अब अदालतले गर्ने आदेशले वैकुण्ठ दास दोषी ठहर हुने वा नहुने भन्ने टुङ्गो लाग्ने छ । किनभने विगत ५ बर्ष देखि उक्त मुद्दाको पेसी सर्दै आएको भएपनि  धनुषा जिल्ला अदालतका २ नम्बर इजलासका न्यायाधीश ओम कुमार उपाध्यायले ९ जेष्ठ २०७३ मा पेशी तोकेका छन् । थुनछेक मुद्दामा वैकुण्ठले तारेख पाएर राहत पाएको भएपनि त्यसपछि राजन मुक्तिले प्रहरी समक्ष गरेको बयानमा हत्याको प्रमुख योजनाकार वैकुण्ठ दास वैष्णव नै रहेको बताएपछि अदालतले बैकुण्ठलाई दोषी ठहर गर्ने हो वा होइन, त्यसको समेत निष्कर्ष निस्किने छ । घटना भएपछि भुमिगत रहेका सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले स्थानीय संचार माध्यमहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए । राजन मुक्ति समेत पक्राउ परी अहिले कारागारमा थुनामा छन् । उक्त मुद्दामा प्रतिवादीहरु शिव कुमार ठाकुर, भास्कर भन्ने सुनिल कुमार अधिकारी यादव र जैसवाल भन्ने मनिष चौधरीलाई ज्यान सम्बन्धि महलको एक नम्बर विपरित १३४ नम्बर  अनुसार जन्म कैदको माग गरिएको छ भने बैकुण्ठ दास बैष्णवलाई ज्यान सम्बन्धि महलको १ नम्बर विपरित १६ नम्बर अनुसार १० बर्ष देखि १५ बर्षसम्म कैद सजाय माग गरिएको छ ।
लाल किशोर झाको हत्या भएदेखि अहिलेसम्मको सम्पुर्ण विवरण
मृतक लाल किशोर झा । फाइल फोटो
घटना भएको दिन जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव, प्रहरी हवलदार तेजी लाल साह र प्रहरी जवान मनि भुषण प्रसाद यादव सहितको टोली खटेर घटना स्थलको बस्तु स्थिति मुचुल्का सहितको प्रतिवेदन पेश गरेको थियो । सोही दिन अज्ञात व्यक्तिहरुलाई यकिन पहिचान गरी खोजतलास एवम पक्राउ गर्ने तथा नगर यूनिटहरुबाट नाकाबन्दी गरी खोजतलास एवम सर्च गर्ने कार्य जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी प्रधान कार्यालयलाई बोदार्थ गर्दै अञ्चल प्रहरी कार्यालय जनकपुरलाई पत्राचार गरेको थियो । झाको हत्याको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै निजलाई गोली प्रहार गर्नुपर्ने कारणहरु के के हुन सक्छन्, वारदातमा संलग्न अभियूक्तहरुको पहिचान भयो वा भएन, घटना स्थलमा के कस्ता सबुत प्रमाणहरु फेला परेका छन्, वारदातमा संलग्न अभियूक्तहरु लुकिछिपी बस्न सक्ने स्थान एवम छिमेकी जिल्लाहरुमा समेत समन्वय गरी व्यापक रुपमा प्रहरी परिचालन गरी निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी भए गरेको अनुसन्धान प्रगति विवरण जाहेरी गर्ने क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिइएको थियो ।
११ कार्तिक २०६७ मै मृतक लाल किशोर झाका भाई मनोज कुमार झाद्वारा अपरिचित व्यक्तिहरुले मेरो दाजुलाई गोली हानी हत्या गरेको भन्दै आवश्यक कानुनी कारवाहीका लागि महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा जाहेरी दरखास्त दिइएको थियो । ११ कार्तिक मै फरेन्सिक मेडिसिन विभाग काठमाण्डौ अटोप्सी सेन्टरद्वारा गोली प्रहार गरी हत्या गरिएको शव परीक्षण प्रतिवेदन महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौलाई प्रदान गरियो ।
१२ कार्तिक २०६७ मा झाको हत्याको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक जगदीश पोखरेलको अध्यक्षतामा प्रहरी निरीक्षकद्वय प्रकाश मल्ल, हरि खतिवडा , प्रहरी नायव निरीक्षकहरु कृष्णदेव साह, महेन्द्र साह, विश्वनाथ महत्तो र प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव सहित ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको भन्ने प्रहरी उपरीक्षक दिनेश अमात्यको प्रतिवेदन पेश गरियो । १३ कार्तिकमा झालाई गोली प्रहार गर्ने समुह कुनै पार्टीमा आवद्ध छ ÷छैन, सो समुहको तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्नुका साथै कानुनी कारवाही गरी भए गरेको  अनुसन्धान प्रगति विवरण अबिलम्ब खुलाई पठाईदिन प्रहरी प्रधान कार्यालयले क्षेत्रिय प्रहरी कार्यालय हेटौडालाई निर्देशन दिएको थियो ।
१८ कार्तिक २०६७ मा महानगरीय प्रहरी महाराजगञ्जद्वारा अनुसन्धानको क्रममा तयार पारिएका सक्कल मिसिल कागजातहरु जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गर्नुका साथै २३ कार्तिक २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता । २३ कार्तिक २०६७ मै प्रहरी निरीक्षक प्रकाश मल्लको अध्यक्षतामा प्रहरी सहायक निरीक्षकहरु मनोज कुमार यादव, विगन राय यादव र प्रहरी हवलदार तेजी लाल साह सहित ४ सदस्यीय अर्को अनुसन्धान टोली प्रहरी निरीक्षक दिनेश अमात्यद्वारा गठन गरिएको थियो ।
प्रतिवादीहरु राकेश पाण्डे र शिवशंकर ठाकुर । फाइल फोटो ।
झाको हत्याको घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाउँदै जाँदा तराई जनतान्त्रिक भुमिगत समुहमा रहेको ५÷६ जनाको समुहले लाल किशोर झालाई मार्नुको लागि योजना बनाई निजको बारेमा सम्पुर्ण विवरण बुझि निजको निगरानी गर्दै आई मौका छोपी गोली प्रहार गरी हत्या गर्ने व्यक्तिहरु जनकपुर नगरपालिका वडा नम्बर ७ मा बस्ने बर्ष ३० को विजुली सिंह भन्ने राकेश पाण्डे र जनकपुर ६ बस्ने बर्ष २५ को शिव कुमार ठाकुरलाई पक्राउ गरी आवश्यक कानुन बमोजिम कारवाहीका लागि दाखिला गरेको भन्दै १३ मंसिर २०६७ मा प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा पेश गरिएको थियो ।
१४ मंसिर २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई शारिरीक जाँचका लागि अञ्चल अस्पतालमा उपचार गर्न पठाउँदा दुवै जना मानसिक र शारिरीक रुपले फिट रहेको चिकित्सकको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लद्वारा प्रस्तुत गरिनुका साथै सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पत्रकार सम्मेलन गरी पक्राउ गरेका दुवै जनालाई सार्वजनिक गरिएको थियो ।
झालाई मार्नको लागि योजना बनाई झाको बारेमा सम्पुर्ण विवरण बुझी झाको निगरानी गर्दै आई मौका खोजी ३ वटा मोटरसाइकलमा चढी आएका ५(६ जनाको समुहले झा निरपुगी मोटरसाइकलबाट ओर्ली झालाई गोली प्रहार गरी सख्त घाइते पारी मोटरसाइकलमै चढी फरार भएको प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदनमा उल्लेख छ । अभियुक्तहरुको सुराक पत्ता लगाउँदै जाँदा तिनीहरु मध्येको विजुली सिंह भन्ने राकेश पाण्डे, रौकी भनिने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादव रहेको तथा तिनीहरुलाई घटना लगतै केही दिनमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।
१५ मंसिर २०६७ मा प्रतिवादी शिव कुमार ठाकुर र १६ मंसिर मा प्रतिवादी राकेश पाण्डेसँग जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायाधीवक्ता सत्यनारायण यादव समक्ष अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रकाश मल्लले बयान कागज गराएको थियो ।
१६ मंसिर २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका धनुषा जिल्ला इन्चार्ज सुनिल भन्ने भास्कर मुक्तिलाई पक्राउ गरी कारवाहीका लागि प्रस्तुत गरिनुका साथै जसवाल भन्ने व्यक्ति र वैकुण्ठ दास वैष्णव उक्त घटनामा संलग्न रहेको प्रतिवेदन प्रहरीले पेश गरेको थियो । १७ मंसिर २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक प्रकाश मल्लले जनकपुर वडा नम्बर ८ स्थित रत्नसागर मठको महन्थ अन्दाजी बर्ष ३५÷३६ को बैकुण्ठ दासलाई उक्त मुद्दामा पक्राउ गर्नु पर्ने भएकोले निजको खोज तलास एवम पक्राउ गरी दाखिला गर्न प्रहरी चौकी जनकपुरधामलाई निर्देशन दिइएको थियो ।
२२ मंसिर २०६७ मा विप्लव कुमार झाले लाल किशोर झालाई रत्न सागर मठका महन्थ बैकुण्ठ दासले  मार्न लगाएको हुन सक्ने भन्दै बयान कागज गरेको पाइन्छ । लाल किशोर झाले बैकुण्ठ दासको विरोध गर्दै आएका कारण पक्राउ परेका तिनै जना प्रतिवादीलाई लगाएर बैकुण्ठ दासले झालाई हत्या गराएको हुन सक्छ भन्दै कागज गरेका थिए ।
२३ मंसिर २०६७ मा राकेश पाण्डेले आफुलाई प्रहरीले पक्राउ गरी मानसिक एवम शारिरीक यातना दिई क्रुर व्यवहार एवम कुटपिट  गरी आफ्नो स्वेच्छा विपरित जवरजस्ती कागजहरुमा सहि छाप गराई आंगजिऊमा निल घा चोट परेकोले अदालतको रोहवरमा अस्पताल मार्फत शारिरीक जाँच गराई पाऊँ भन्दै धनुषा जिल्ला अदालतमा निवेदन दर्ता गरेको थियो ।
१ पुष २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई कुनै पनि चोटपटक नदेखिएको अञ्चल अस्पतालको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय धनुषामा प्रस्तुत गरेको थियो । ४ पुष २०६७ मा महोत्तरीको एकडरा वडा नम्बर ४ घर भई हाल जनकपुर ७ मा बस्ने बर्ष ५८ का बलराम मिश्र, जनकपुर ८ मा बस्ने सुर्यकान्त झाको छोरा बर्ष ४७ को मनोज कुमार झा, जनकपुर वडा नम्बर ८ बस्ने बर्ष ५० का विनोदानन्द झा, जनकपुर ७ बस्ने बर्ष ४९ का भोगेन्द्र झा, जनकपुर ७ बस्ने बर्ष ३० का सुदिष्ट कुमार मिश्र लगायतले जिल्ला प्रहरी कार्यालय धनुषामा बयान कागज गरेको पाइन्छ ।
४ पुष २०६७ मा मृतक झाका बुवा पशुपति झाले विजुली सिंह भनिने राकेश पाण्डे, रक्की भन्ने शिव कुमार ठाकुर, रत्नसागर मठका महन्थ बैकुण्ठ दास, भास्कर मुक्ति भन्ने सुनिल यादव र जैसवाल भन्ने व्यक्ति समेत संलग्न भई आफ्नो छोराको हत्या गराएको भन्दै कानुन बमाजिम कारवाही र सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो । ५ पुष २०६७ मा भास्कर मुक्ति भन्ने सुनिल कुमार अधिकारी फेला परेकोमा निजलाई पक्राउ गर्नुका साथै जैसवाल भन्ने मनिष चौधरीको खोजी तलास गरिरहेको तथा फेला परेमा पक्राउ गरी दाखिला गर्ने भन्दै प्रहरी निरीक्षक हरि खतिवडाले जिल्ला प्रहरी धनुषामा प्रतिवेदन पेश गरेको थियो । ७ पुष २०६७ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधीवक्ता मान बहादुर कार्की समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रकाश मल्लले पक्राउ परेका प्रतिवादी सुनिल कुमार अधिकारीसँग बयान कागज गरेको थियो ।
प्रतिवादी राजन मुक्ति । फाइल फोटो ।
पक्राउ गरिएका तिनै जना प्रतिवादीहरु सुनिल कुमार अधिकारी यादव, राकेश कुमार पाण्डे र शिवकुमार ठाकुरको हकमा घटनामा कसुरदार देखिने मनासिव आधार विद्यमान देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरु तिनै जनालाई धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा थुनुवा पुर्जी दिई थुनामा बस्न कारागार कार्यालय महोत्तरी जलेश्वरमा पठाइदिनु भन्ने व्यहोरा समेतको आदेश गरेको छ । अदालतको उक्त आदेशानुसार प्रतिवादी तिनै जना अहिले जलेश्वर कारागारमा थुनामा छन् । प्रहरी समक्ष पक्राउ परेका प्रतिवादीहरुले गरेको बयान कागज र घटनाका साक्षी बनाइएका विपलव कुमार झा समेतले गरेको विवरण कागजका अनुसार जनकपुरको रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले योजना बनाई सुपारी दिएर लाल किशोर झाको कन्टूेक्टमा हत्या गरिएको उल्लेख छ । लाल झाका बुबा पशुपति झाले जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यानमुद्दाको जाहेरी गरेको थियो । उक्त मिसिलमा साक्षीहरुले गरेको कागज अनुसार रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले मठको सम्पति हिनामिना गरी जग्गा वेच विखन गर्दै आएकोमा लाल किशोर झाले विरोध गर्दै गरेकोमा वैकुण्ठ दासले तिनै जना प्रतिवादीहरुलाई रकम दिई गोली प्रहार गरी मार्न अह्राई खटाई गोली प्रहार गरी मार्न लगाएको हो भनी किटानै गरिएको छ ।
११ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बर राज पौडेलको इज्लासमा प्रतिवादी शिव कुमार ठाकुर, १२ पुष २०६७ मा प्रतिवादी राकेश कुमार पाण्डे र सुनिल कुमार अधिकारी यादवले गरेको बयानमा प्रहरीद्वारा लगाइएको आरोप तथा अनुसन्धान बयान कागजबाट इन्कारी गरेको पाइन्छ । यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए ।
 जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।  यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट पक्राउ परेका तिनै जना प्रतिवादीहरु राकेश, शिव कुमार र सुनिल अधिकारीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा जलेश्वर कारागार पठाईदिन आदेश जारी गरिएको थियो । साथै फरार रहेका बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश समेत धनुषा जिल्ला अदालतबाट जारी गरिएको थियो । घटना भएपछि वैकुण्ठ दास फरार भएका थिए । अचम्मको कुरा के हो भने जति बेला बैकुण्ठ फरार भएका थिए त्यतिबेला उनलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको तत्कालिन जिल्ला सुरक्षा समितिले व्यक्तिगत सुरक्षा गार्ड पिएसओ समेत उपलब्ध गराएको थियो । पिएसओ हुँदा हुँदै वैकुण्ठ जनकपुरबाट कसरी फरार भए, हालसम्म अनुत्तरित छ । करिब १० महिनासम्म फरार रहेका वैकुण्ठ दास वैष्णव अचानक धनुषा जिल्ला अदालतमा हाजिर भएपछि धनुषा जिल्ला अदालतका तत्कालिन न्यायाधीश अम्बरराज पौडेलले २२ अषाढ २०६८ मा बैकुण्ठलाई साधारण तारेखमा रिहा गरेका थिए । अदालतमा हाजिर भएका बैकुण्ठसँग गरिएको विभिन्न सवाल जवाफका क्रममा आफुले लाल किशोर झालाई नचिनेको तथा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अभियोग ल्याइएको बयान दिएका थिए । आफु धार्मिक, सामाजिक, मठ मन्दिरको संरक्षण गर्ने काम गरेकाले चरित्र हत्या गरी आफुलाई फसाउनका लागि झुठा मुद्दा लगाइएको तथा लाल किशोर झालाई आफुले नमारेको भन्दै विभिन्न १७ वटा प्रश्नहरुको जवाफ दिने क्रममा गुठी संस्थान रत्नसागर मठको बर्तमान महन्थ आफै रहेको र त्यहाँको जग्गा जमिन मठको नै रहेकाले आफुले ति जग्गा जमिनहरुको संरक्षण सम्बद्र्धन, पुजा पाठ, जप समेत उक्त स्थानमा हुने गरेको बताएका थिए ।  उक्त घटनाको प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका वैकुण्ठ दासलाई अदालतले मुद्दा थुनछेकको क्रममा साधारण तारेखमा रिहा गरेपछि स्थानीय स्तरमा समेत उक्त आदेशको तिब्र आलोचना गरिएको थियो । त्यसपछि १ साउन २०६८ मा जाहेरवाला पशुपति झाले उक्त न्यायाधीशको विरुद्धमा न्याय परिषदमा उजुरी नै गरेका थिए ।
त्यसपछि २९ असोज २०६८ मा बैकुण्ठ दासको हकमा धनुषा जिल्ला अदालतद्वारा गरिएको आदेश बेरितको आदेश रहेको भन्दै उक्त आदेश बद्दर गरी प्रतिवादीलाई थुनामा राखि पुर्पक्ष गरी पाऊ भन्दै जाहेरवाला पशुपति झाले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । ११ साउन २०६८ मा पुनरावेदन अदालतका न्यायाधीशद्वय तेज बहादुर केसी र द्वारिकामान जोशीको संयूक्त इजलासबाट  धनुषा जिल्ला अदालतको आदेशलाइ नै सदर गरिएको आदेश बेरितको रहेको भन्दै नायव महान्यायाधीवक्ता सुर्य प्रसाद कोइरालाले ३ बैशाख २०६९ मा सर्बोच्च अदालतमा पुनरावेदन गरिएको थियो ।
त्यसैगरी १९ पुष २०६९ मा प्रतिवादीहरु शिवकुमार ठाकुर, सुनिल कुमार अधिकारी यादव र राकेश कुमार पाण्डेले धनुषा जिल्ला अदालतबाट भएको थुनछेक आदेश बदर गर्न पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा पुनरावेदन अदालत जनकपुरले पनि ९ अषाढ २०६८ जिल्ला अदालतकै आदेशलाई ठहर गरेको थियो । त्यसैगरी पुनरावेदनको आदेश बदर गराउन प्रतिवादी सुनिल कुमार अधिकारी यादवले सर्बोच्च अदालतमा गरेको पुनराअवलोकनमा पनि सर्बोच्च अदालतले पुनरावेदन अदालत जनकपुरलाई नै सदर गरेको थियो ।
१७ पुष २०६८ मा बयान कागज गरेका बलिराम मिश्रले जिउ धनको शान्ति सुरक्षा प्रदान गरी पाऊ भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता गराएका थिए । लाल किशोर झाको घटनाको सम्बन्धमा प्रहरीलाई गरेको कागजलाई लिएर तिमीले किन कागज गरिस र अदालतमा बक पत्र गरिस भने ठिक हुँदैन भनि विभिन्न अज्ञात व्यक्तिहरुले भारतीय नम्बरबाट फोन गरी धम्की दिईरहेको कुरा जानकी चौकीका सईलाइ अवगत गराउनुका साथै धनुषा जिल्ला अदालतमा २ असोज २०६८ देखि बक पत्र गर्न उपस्थित हुँदा बक पत्र नगर्न राजनीतिक, सामाजिक साथै पारिवारिक दवाव र अज्ञात नम्बरहरुबाट धाक धम्की समेत आउने गरेकोले आफ्नो दायित्व निर्वाह गर्न असमर्थ रहेको भन्दै २० कार्तिक २०६८ मा अदालतमा बलिराम मिश्रले निवेदन दर्ता गराएका थिए । १६ पुष २०६८ मा किचनको ताल्चा तोडी सिलिण्डर लगिएको अवस्थामा सामान्य कुरा मानि चुप लागेको भए पनि १७ पुष २०६८ मा राति घरको पर्खालमा खतरा अल भनि लेखिएको र तत्पश्चात राति ढुङ्गामुढा गर्ने गरेकोमा जानकी चौकीका सई बेचन यादवलाई टेलिफोनबाट प्रत्यक्ष गई सम्पुर्ण कुराको जानकारी समेत गराएको हुनाले आफु र आफ्ना परिवारका सदस्यहरुलाई त्रास दिईरहेको हुनाले शान्ति सुरक्षाका लागि बलिराम मिश्रले जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएको पाइन्छ ।
घटनामा टर्निङ प्वाइन्ट तव आयो, जब घटनाको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सर्बोच्च व्यक्ति अध्यक्ष राजन मुक्ति भनिने रंजित झाले उक्त घटनामा वैकुण्ठ दास नै प्रमुख योजनाकार रहेको प्रहरी समक्ष बयान ग¥यो । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका हुन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् ।
 राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् ।  उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर(७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् ।
 झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हत्याको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।  यद्यपि राजन मुक्तिले धनुषा जिल्ला अदालतको इजलासमा भने इन्कारी बयान गरेका छन् ।


२०७३ जेष्ठ ०९ गते आईतबार

२०४६ सालको आन्दोलनका जीउँदो शहीद ललन चौधरी जीवन मरनको दोसांधमा

सिकिस्त विरामी परेका ललन चौधरीको नर्भिक अस्पतालमा आईसियूमा
राखि उपचार भईरहेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली काँग्रेसका ज्युँदा सहिद तथा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नायक ललन चौधरी अहिले गम्भीर रुपमा विमारी भई काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार गराई रहेका छन् । उनको स्वाँस फुल्ने तथा स्वाँस लिन विगत दुई सातादेखि अपठ्यारो भईरहेको अवस्थामा जनकपुरमा उपचार गर्न सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालको आईसियूमा राखि उपचार भईरहेको उनका भाई राजु चौधरीले बताएका छन् । उनलाई विगत पाँच वर्षदेखि निन्द्रासमेत भईरहेको थिएन । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध जनकपुरको जानकी मन्दिरमा तत्कालिन पञ्चनेता हेम बहादुर मल्लले आयोजना गरको पञ्चे ¥यालीमा ललन चौधरीले गएर पञ्चायती व्यवस्था विरुद्ध कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका थिए । कालो झण्डा देखाएका कारण उनलाई तत्कालिन पञ्चायती शासकहरुले निर्मम ढंगले यातना दिई मरिसकेको भन्दै फालि दिएका थिए । तर पछि होस आउँदा उनी जिवीतै रहेको भन्दै तत्कालिन शासकले जलेश्वर हुँदै सिन्धुली जेल पठाएका थिए ।
विभिन्न आन्दोलनका समयमा अग्रनी भूमिकामा रही योगदान गर्दै आएका तत्कालिन नेविसंघका विद्यार्थी नेता ललन चौधरी विभिन्न समयमा गरी पाँच वर्षभन्दा बढी जेल जिवन विताएका थिए । उनलाई त्यस्ताका निर्मम ढंगले यातना दिइएको हुनाले अहिले आएर उक्त यातनाले असर गर्न थालेको ललन चौधरीका भाई राजु चौधरीले बताएका छन् ।
यूवा अवस्थामा रहेका बेला उनी कराँटेका बल्याक बेल्ट खेलाडीसमेत भएका कारण तत्काल अवस्थामा उक्त यातनाले धेरै असर नगरे पनि अहिले आएर असर गर्न थालेको ललनचौधरी स्वयम्ले बताएका छन् । देश र प्रजातन्त्रका लागि हरेक समय आफ्नो ज्यानको परवाह नगर्ने ललन चौधरी अहिले जीवन र मरनको दोँसाधमा रहिरहेको बेला नेपाली काँग्रेसले कुनै पनि खोज खबर समेत नलिएकोमा अत्यन्तै दुःख लागेको उपचारार्थ ललन चौधरीले बताएका छन् । ललन चौधरी ती व्यक्ति हुन् जो तत्कालिन विद्यार्थी नेता युवराज खाँतीको कमाण्डमा मधेशमा नेपाली काँग्रेसका लागि स्टार प्रचारक भई संगठन निर्माण गरेका थिए । ललन चौधरी एक पटक कराँटे खेलमा राष्टिूय प्रतियोगितामा विजेता भईसकेपछि तत्कालिन खेलकुद मन्त्रीले पञ्चे खेलाडीहरुलाई हराएको र प्रजातान्त्रिक विद्यार्थीले जितेको भन्दै पुरस्कार थापिरहेका ललन चौधरीलाई मन्त्री आफैले कुटेका थिए ।
ललन चौधरीको विरताको गाथा
२०४६ फाल्गुन ३ गते जनकपुरको जानकी मन्दिरमा
 आयोजित पञ्च¥यालीमा कालो झण्डा देखाउँदै ललन चौधरी ।
जनआन्दोलन सुरु हुनुभन्दा चार दिनअगाडि २०४६ फागुन ३ गतेका दिन काठमाडौंको दक्षिणपूर्वमा पर्ने भारतको सिमानानजिक रहेको सहर जनकपुरमा पञ्च¥यालीको आयोजना गरिएको थियो । जनकपुर ऐतिहासिक रुपमा हिन्दूहरुको पवित्र धार्मिकस्थलका रुपमा परिचित छ । यो सहर राजा जनकको राज्य मिथिलाको राजधानी मानिन्छ । उनकी छोरी सीताको विवाह हिन्दूहरुका देवता रामसँग भएको थियो जसको वीरताको बखान रामायणमा गरिएको छ । सहरको मध्यभागमा सीताप्रति समर्पित जानकी मन्दिर अवस्थित छ ।
जनकपुर क्याम्पसका राजनीतिशास्त्रका विद्यार्थी २३ वर्षीय ललन चौधरी त्यस दिन हुन लागेको पञ्च¥यालीलाई पर्खिरहेका थिए । त्यस ¥यालीले जनकपुर सहरको परिक्रमा गर्ने कार्यक्रम थियो । ललन स्कुल पढ्दा देखि नै नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ (ने.वि.संघ) मा आबद्ध भएका थिए । बैचारिक रुपमा उनी काङग्रेसप्रति प्रतिबद्ध त छँदै थिए, त्यसबाहेक उनी पञ्चायती व्यवस्थाविरोधी बन्नका पछाडि अरु पनि दरिला कारणहरु थिए । उनका राजनैतिक क्रियाकलापका कारण उनका बाबुलाई सरकारी स्वामित्वमा रहेको जनकपुर चुरोट कारखानाको नोकरीबाट बर्खास्त गरिएको थियो ।
केही दिनअगाडि मात्र उनलाई खोज्दै उनको घरमा आएका प्रहरीहरुको हात पर्नबाट उनी जोगिएका थिए । उनी जनआन्दोलनको तयारीका क्रममा गाउँबाट बाहिर गएका थिए । प्रहरीहरु उनलाई खोजीरहेका छन् भन्ने खबर सुनेपछि उनले सोचे, ‘उनीहरु मलाई समात्न चाहन्छन् भने म समातिउँला । तर लुत्रुक्क परेर समातिनुभन्दा बरु मरुँला । इतिहासका किताबमा लेखिन लायकको कुनै काम गरेपछि मात्र म गिरफ्तार हुन्छु ।’
फागुन ३ गतेको दिन बिहानै ललन, गोजीमा एक टुक्रा कालो कपडा राखेर घरबाट बाहिर निस्के । ¥याली जानकी मन्दिर आइपुगेर आमसभामा परिणत भएपछि भीडको बीचबाट हातमा कालो झन्डा बोकेर पञ्चायतविरोधी नारा लगाउने उनको सुर थियो । यसो गर्दा उनी गिरफ्तार हुने निश्चित थियो र उनी कठोर यातनाको सिकार हुन सक्थे । तर ललन सकेसम्म धेरै मानिसहरुले उनको विरोध प्रदर्शन देखून भन्ने चाहन्थे ।
२०४६ चैत २६ गते तत्कालिन राजा विरेन्द्रले बहुदल घोषणा गरेपछि जनकपुरको बारहविघामा आयोजित विजय ¥यालीलाई सम्बोधन गर्दै
 ललन चौधरी (हात हल्लाउँदै), पछाडि विमलेन्द्र निधी, तल बसेका
 लिला कोइराला र महेन्द्र नारायण निधी । फाइल फोटो ।
क्याम्पस गएर उनले साथीहरुलाई आफूले बनाएको योजना सुनाए । उनका साथीहरुले उत्साहपूर्वक उनको योजनाको समर्थन गरे । उनका १० जना साथीहरुले त उनीसँगै कालो झन्डा बोकेर जानेसमेत निधो गरे । सबैभन्दा पहिला ललनले झन्डा देखाउने र त्यस समयको परिस्थिति हेरी अरु साथीहरुले पनि झन्डा देखाउने सहमति भयो । वरिपरि धेरै प्रहरी भएमा ललनबाहेक अरु सबै भाग्ने सल्लाह भएको थियो ।
¥याली एक बजे सुरु भयो । जनकपुर तथा यसको छेउछाउका गाउँहरुबाट आएका पञ्चहरु सहरको परिक्रमा गर्न थाले । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको पूर्ण कदका तस्विरहरु बोकेको त्यस जुलुसले पञ्चायत व्यवस्थाको समर्थनमा नारा लगायो । ¥याली जनकपुरको सडकबाट अगाडि बढिरहेका बेला ललन र उनका साथीहरु एक्लाएक्लै जानकी मन्दिरतिर गइरहेका थिए । खुला मैदानको छेउमा रहेको जानकी मन्दिरको पश्चिमी प्रवेशद्वारनजिक उनीहरु भेट्ने तय गरिएको थियो । बाटामा ललनले ने.वि.संघका साथी केशव ढुङ्गेललाई भेटे र उनले केशवलाई पनि आफूसँगै हिंड्न भने ।
ललनको योजना थाहा पाएपछि अग्ला ललनलाई हेर्दै केशवले भने, ‘तिमी पक्राउ पर्ने निश्चित छ । तिमी साँच्चै यसो गर्न चाहन्छौं ?’ ‘म पक्राउ पर्न चाहन्छु,’ ललनले दृढ भएर जवाफ दिए । उनीहरु जानकी मन्दिरमा आइपुग्दा आमसभा सुरु भइसकेको थियो । सभामा त्यस दिनका मूख्य अतिथि धनुषाबाट निर्वाचित राष्टिूय पञ्चायतका सदस्य हेमबहादुर मल्ल भाषण गर्दै थिए । केही बेर स्थितिको अवलोकन गरेपछि ललनले साथीहरुलाई बोलाए अनि आफूचाहिँ भीडलाई छिचोल्दै मञ्चतिर बढे । भीडको अगाडि पुगेपछि कालो झन्डा दाहिने हातमा उचालेर उनी ‘पञ्चायती व्यवस्था मुुर्दावाद ! बहुदलीय व्यवस्था जिन्दावाद !’ भन्ने नारा लगाउँदै मञ्चतर्फ दौडिए ।
ललनको चर्को आवाजलाई साथ दिँदै उनका साथीहरुले पनि पञ्चायत व्यवस्थाविरोधी नारा लगाए । भीडका मानिसहरु हठात् यो कसरी भयो भनेर उदेक मान्दै ललन र उनका साथीहरुले नारा लगाएको हेरिरहे । ठीक यसै बेला त्यहाँ दुईओटा घटना भए । भीडको बीचबाट कसैले ‘बम ! बम ! भाग ! भाग ! भनेर चिच्यायो । आतंकित भएर सबै मानिसहरु एकैचोटी बाहिर निस्कने ढोकातिर दौडे । ’ यति नै बेला प्रहरीहरुको एक झुन्ड ललनमाथि जाइलाग्यो । प्रहरीले उनलाई लात्तीले भकुरेर डन्डाले पिट्दै घिसारेर मन्दिरको परिसरभित्र लगे । ललन भने आफूले गर्न चाहेको काम पूरा भएकोमा सन्तुष्ट थिए । उनी एक्लैले पञ्चहरुको ¥यालीलाई भताभुङ्ग पारेको यो घटना जनकपुर सहरमा चर्चाको विषय बन्यो ।
२०४६ फाल्गुन ३ गते पक्राऊ परेका ललनलाई डिएसपी कार्यालय लगियो । महेन्द्रनारायण निधि, लिला कोइराला, ललन चौधरी र वृषेश चन्द्र लाल लाई त्यहाँबाट १ महिनको लागि जलेश्वर कारावास पठाइयो । त्यहाँ बाट चारै जनालाई सिन्धुली कारावास पठाईएको थियो । हुन त ललनको  हत्या गर्नकै लागि सिन्धुली स्थानान्तरण गरिएको भए पनि राजाले बहुदल दिन तयार रहेको अञ्चलाधिशलाई फोन गरे पछि उनको ज्यान गएन् । धन्य, उनी बाँचे ।
२०४६ चैत २६ गते राजा विरेन्द्रले बहुदल घोषणा गरेपछि जनकपुरको वारहविघामा आयोजित विजय रैलीमा सम्बोधन गर्न पुगेका ललन चौधरीलाई हर्नका निम्ति पनि भनेर ४ लाख जति मानिसहरु जम्मा भएका थिए । कालो झण्डा देखाउने युवा ललन चौधरीलाई मान्छेले आफ्नो काँधमा बोकेर नगर परिक्रमा गराएका थिए । ‘शेरे गणेशमान जिन्दावाद, बहुदलीय व्यवस्था जिन्दावाद र ललन चौधरी जिन्दावाद’ भनेर नारा लगाईएको थियो । नेपालका प्रतिबन्धित राजनैतिक दलहरुले २०४६ माघ ७ गतेका दिन निर्दलीय  पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीका लागि जनआन्दोलन गर्ने घोषणा गरे र फागुन ७ गतेलाई जनआन्दोलन शुरु गर्ने दिनका रुपमा रोजे, जुन दिन ४० वर्ष अगाडि राणाशासनको अन्त्य भएको थियो । प्रजातन्त्रको पुनर्वहालीका लागि भएको त्यस जनआन्दोलनलाई दबाउन सरकारले सक्दो प्रयास गरेको थियो । तर अन्ततः जनताको जित भई छाड्यो । चैत २६ गतेका दिन राजाबाट राजनैतिक दलमाथिको प्रतिबन्ध फुकुवा भयो र संसदीय प्रणालीको शासन व्यवस्था स्थापनाका लागि प्रयास थालियो । ६० दिन सम्म उक्त जनआन्दोलन चलेको थियो ।
भारतीय नेता चन्द्रशेखर, एम.जे.अकवर, सुब्रमन्यम स्वामी, डिपी त्रिपाठी, गणेशमान सिंह सहितको निर्देशनमा पञ्च रयालीमा कालो झण्डा देखाएको थिएँ भन्दै ललन चौधरी भन्छन,“२०१८ माघ १९ गतेका दिन दुर्गानन्द झाले राजा महेन्द्रको गाडी माथि बम आक्रमण गरी गणतन्त्रको फाउण्डेशन गरेकै ठाउँमा २०४६ फागुन ३ गते मैले कालो झण्डा देखाएर लोकतान्त्रिक गणतन्त्र स्थापना अभियानको नेपालमै शुरुवात गरेको थिएँ ।”
पटक-पटक जेल
२०४६ आन्दोलन हुनु अगाडी २०३५ सालको आन्दोलनमा जनकपुरको डिएसपी कार्यालयमा ४ महिना नजरवन्द, २०३६ मै जनकपुर चुरोट कारखानाका मजदुरहरुद्वारा गरिएको आन्दोलनमा २ महिना नजरबन्द, २०४२ को सत्याग्रहमा ७ महिना जेल, २०४६ को आन्दोलनमा २ महिना जेल, २०४२ मा राजा विरेन्द्रको सवारी हँुदा २ वर्ष जेल, इन्डो(नेपाल टेूड सन्धी ब्रेक हँदा ७ महिना जेल, २०५९ मा ९ महिना जेलमा जीवन बिताउनु परेको ललन चौधरी करिब ४० पटक थुनामा समेत गइसकेका छन् । २०४८ को चुनावमा महेन्द्रनारायण निधी विरुद्ध विद्रोही बनेर चुनावमा आउन युवाहरुले उक्साए पनि ललन चौधरीले त्यसो नगरी आफ्ना नेतालाई सम्मान गरेका थिए । तर अहिले ललनको नेपाली कांग्रेसमा कुनै पदीय भुमिका छैन् । ललन चौधरी २०४६ आन्दोलनमा यति लोकप्रिय भएका थिए कि नेविसंघ धनुषाका सभापति भएको बेला उनलाई संयुक्त बाममोर्चाका मदन भण्डारीले पोलिट ब्यूरो सदस्यको पद प्रस्ताव गरेका थिए तर उनी काँग्रेसलाई परित्याग गरेनन् । त्यसैगरी जनवादी मोर्चाका रामराजा प्रसाद सिंह, फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका वृषेशचन्द्र लाल सहितकाले पार्टी प्रवेश गर्न प्रस्ताव गरे पनि उनले काँग्रेस परित्याग गरेका छैनन् । तर, अब उनी कांग्रेस परित्याग पनि गर्न सक्ने बताईरहेका छन् । आफुले देश र प्रजातन्त्रको लागि नेपाली कांग्रेसको झण्डा बोकेर हरेक आन्दोलनमा मात्र नलागी धनुषा जिल्लामा कांग्रेस संगठन विस्तारमा सधै सक्रिय रहेपनि  अहिले आफ्नो ज्यान जानेगरी विरामी हुँदा समेत पार्टीका नेताहरुले कुनै खोज खबर नगरेपछि अब पार्टीमा बस्ने वा नबस्ने बारे सोच्न बाध्य बनाएको उनी बताउँछन् ।

२०७३ जेष्ठ ०९ गते आईतबार

ठगी गर्ने जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको पीडित विद्यार्थीहरुको आरोप

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
ठगीको आरोपमा मुद्दा खेपिहरेका जानकी मेडिकल कलेज रमदैया भवाडीका तीन जना शेयरधनीहरु जिल्ला प्रहरी कार्यालय धनुषामा सरेन्डर गरेका छन् । विद्यार्थीहरुबाट रकम उठाई पठनपाठन ठप्प पारेको भन्दै विद्यार्थीहरुले गत बर्षको साउन मसान्तमा कलेजका शेयरधनीहरु उपर ठगी मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार, कलेजका ७ जनामाथि मुद्दा दायर भएपनि विहिबार तीन जना शेयरधनीले जिप्रका धनुषामा हाजिर भएका छन् । हाजिर हुनेमा ओपी पाण्डे, समिर ढुङगेल र कामेश्वर साह रहेका छन् । कलेजका पुराना सञ्चालकहरु ओपी पाण्डे, समीर ढुंगेल, कामेश्वर साह, बलराम गुप्ता, अशोक सिन्हा, कृष्णदेव यादवसहित सात जनालाई प्रहरी कार्यालयले मस्ट वान्टेडको सूचीमा राखेको थियो । गुप्ता, सिन्हा र यादव भने अझै फरार छन् ।
चिकित्साशास्त्रमा अध्ययनरत कलेजका ३ सय ७४ विद्यार्थीसँग २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम लिएपछि कलेज बिक्री गरेर फरार भएको सञ्चालकहरूमाथि आरोप लागेको छ । पुरानो सञ्चालक समितिले गत असार २७ गते कलेजको ८७ प्रतिशत सेयर धनबहादुर शेरचन, हरिमान लामा र हरिकृष्ण भट्टचनलाई बिक्री गरेको थियो ।
जाहेरी दिएको एक बर्ष वित्न लागेपछि मात्र धनुषा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी वढाएकोले प्रहरीको काम कर्तव्य माथि शंका उत्पन्न हुन थालेको बताउँदै उक्त कलेजका पीडित विद्यार्थीहरुले प्रहरीले ती संचालकहरुसँग मोटो रकमको प्रलोभनमा परी ती संचालकहरुकै पक्षमा अनुसन्धान अगाडी वढाएको बताएका छन् ।  ७ र ८ जेष्ठ २०७२ मा मेडिकल कलेजमा पुगेका प्रहरीहरुले कलेज संचालक ओपी पाण्डेको पक्षमा हस्ताक्षर गर्न दवाव दिएको, हस्ताक्षर गर्न नमान्दा परीक्षामा फेल हुने जस्ता प्रहरीले विद्यार्थीहरुलाई धम्की दिएपछि कतिपय विद्यार्थीहरुले उनको पक्षमा हस्ताक्षर समेत गरिसकेको पीडित विद्यार्थीहरुले बताएका छन् ।
२०७२ साउनमा  उक्त कलेजका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी जयप्रकाश महत्तो, चौथो बर्षमा अध्ययनरत विद्यार्थी प्रविण कुमार मिश्र, दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी जितेन्द्र यादव, रुपेश कुमार साह, रुपेश गोइत, तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी संतोष अधिकारी र अरविन्द अधिकारी लगायतका निवेदकहरुले कलेजका तत्कालिन संचालकहरु काठमाण्डौ निवासी ओम प्रसाद पाण्डे, पाण्डेकी श्रीमति अर्चना पाण्डे, झापा चन्द्रगढीका हेमता सुवेदी, जनकपुरका बलराम गुप्ता, धनुषा भरतपुरका समिर ढुङगेल, महोत्तरी गोनपुरा तथा हाल जनकपुरका कामेश्वर साह र कामेश्वर साहकी श्रीमति सुरिता साह सुडि विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गरिएको थियो ।
जाहेरबाला विद्यार्थीहरु लगायत सैकडौ विद्यार्थीहरुलाई कलेजका संचालकहरुले राम्रो पढाउँछौं, हस्पिटल राम्रो संचालन गछौं, कुनै प्रकारका व्यवधान हाम्रो कलेजमा हुँदैन भनि आश्वासन दिएको उक्त जाहेरीमा उल्लेख छ । सोही आश्वासन अनुसार विद्यार्थीहरु जयप्रकाश महत्तोबाट रु. २७ लाख, प्रविण कुमार मिश्रबाट रु. २८ लाख, जितेन्द्र यादवसँग रु. १५ लाख ५० हजार, रुपेश कुमार साहसँग रु. ८ लाख, रुपेश गोइतसँग रु. २५ लाख, संतोष अधिकारीसँग रु. ३१ लाख, अरविन्द अधिकारीसँग रु. ३१ लाख, रंजन यादवसँग रु. १२ लाख, निरज यादवसँग रु. ३२ लाख, गौतम झासँग रु. २२ लाख, सरोज कुमार साहसँग रु.३१ लाख, अमरिन्द्र यादवसँग रु. २१ लाख ८० हजार, मनिका सेनीसँग रु. ३२ लाख, विनय विक्रान्तसँग रु. ३१ लाख, शुभम विश्वाससँग रु. ३० लाख ४० हजार, राहुल कुमार झासँग रु. ३० लाख ४० हजार, अर्सदिप कौरसँग रु. ३२ लाख, संजिव कुमार चौधरीसँग रु. २७ लाख, राजु कुमार मण्डलसँग रु. १० लाख, अधिराज ओलासँग रु. २६ लाख ५० हजार रकम असुली कहिल्यै कलेज संचालन गर्न तथा कहिल्यै महिनौंसम्म बन्द गरी संचालकहरु फरार रह्ने गरेका छन् ।
 विद्यार्थीहरुले कलेज तथा हस्पिटल संचालन गर्नका लागि आग्रह गर्दा पनि संचालकहरुले कुनै वास्ता नगर्दा शिक्षा मन्त्रालय, शिक्षण अस्पताल महराजगञ्ज, नेपाल मेडिकल काउन्सिल समेतमा पटक पटक भविष्य रक्षाको लागि आवेदन गर्दा समेत ती कलेज संचालकहरुले कलेज सुचारु गर्ने प्रतिवद्धता गरेपनि पठन पाठन नगराई तथा हस्पिटल संचालन नगरी आफुहरुको रकम पच गरी ती संचालकहरु फरार भएपछि आफुहरु ठगिएको उक्त जाहेरीमा उल्लेख छ । २७ जेष्ठ २०७२ मा जाहेरवाला लगायत विद्यार्थीहरुले शिक्षण अस्पताल महराजगञ्ज तथा नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय समेतमा २८ जेष्ठ २०७२ मा अध्यापन कार्यको समायोजनका निम्ति जानकारी पत्र प्रस्तुत गर्दा पनि तिनीहरुले आफुहरुको भविष्य विगार्ने कार्य गरी ठगी गरेको हुँदा अन्यायमा परी भविष्य रक्षार्थ तथा जघन्य अन्यायीहरुलाई हदैसम्म सजाय गरी पाउन तथा ठगेको ४ करोड ७७ लाख ७० हजार रकम समेत तथा अन्य विद्यार्थीहरुको गरी दशौं करोड रकम फिर्ता तथा क्षतिपुर्ती समेत दिलाई पाउन भन्दै जाहेरी दिइएको हो । जाहेरवाला विद्यार्थीहरुले प्रमाणको रुपमा रकम बुझाएको नगदी रसिदको प्रतिलिपी समेत उपलब्ध गराईदिएको छ ।
राम जानकी हेल्थ फाउन्डेशन प्रा.लि. अन्तरगत संचालित उक्त जानकी मेडिकल कलेजका संचालकहरु परिवर्तन भईसकेको छ । १ साउन २०७२ मा रामजानकी हेल्थ फाउन्डेशन प्रा.लि.को संचालक समितिको बैठक उक्त कम्पनीका संचालक समितिका अध्यक्ष धनबहादुर शेरचनको अध्यक्षतामा  बसेको बैठकबाट उपाध्यक्ष हरिमान लामा र संचालक हरिकृष्ण भट्टचन उपस्थित रहेकोमा कम्पनीको सम्पुर्ण चुक्ता सेयर संख्याको ८७ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयर धनीहरुको उपस्थिति रहेको हुँदा बैठकले पुर्ण कानुनी वैधता प्राप्त गरेको उल्लेख छ । नयाँ संचालक समितिमा कामेश्वर साह, साहकी श्रीमति सुरिता कुमारी साह र ललन कुमार सिन्हा समेत रहेको छ ।
ठगी मुद्दा लागेका तीनै जनाको सम्पति समेत रोका भएपछि उनीहरु जिप्रका धनुषामा हाजिर भएको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पाण्डेसहित कलेजका सेयरहोल्डर समिर ढंगेल र कामेश्वर साहसमेत रहेका छन । कलेजमा अध्ययनरत विद्यार्थीहरुले ठगी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्द जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ सालमा उजुरी दर्ता गराएका थिए । लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरुले भर्ना शुल्क फिर्ता माग्दै ठगी आरोपमा उजुरी दिएका थिए । विद्यार्थीहरुले कलेज  संचालकविरुद्ध भर्नाका रसिदसहित प्रहरीमा उजुरी दिएका थिए ।  जानकी मेडिकल कलेजका सञ्चालक विरुद्ध ठगी मुद्दा चलाउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कलेज सञ्चालकहरुको लापरवाहीका कारण एक वर्षदेखि पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु कारवाहीको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । पीडित विद्यार्थीहरुले सिंहदरबार घेराउ लगायतका काठमाडौं केन्द्रित आन्दोलनसमेत गरेका थिए ।

२०७३ जेष्ठ ०९ गते आईतबार