Tuesday, December 23, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह


नाई जान्न् न भन्न छोरा एसएलसी जस्तै हो के लेख्न आए पुग्छ लेख्न नसके फोन गर्नु बाहिरैबाट लेखेर पठाउला ! कम्तिमा यस्तो सुवर्ण अवसरमा बाउ आमाको सपना त सकार गर्दे !

२०७१ पौष ०६ गते आईतबार

लालकिशोर झा हत्या प्रकरणमा प्रमुख अभियुक्त महन्थ वैकुण्ठको भविष्य निर्धारण हुन सक्ने

रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णव । 
उनलाई लाल किशोर झा हत्याको मुद्दामा 
प्रमुख अभियुक्त तथा योजनाकारको 
रुपमा मुद्दा दर्ता गरिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी गोनरपुरा २ मा घर भई जनकपुर नगरपालिका वडा नं. ८ मा वस्ने लाल झा भनिने लालकिशोर झाको हत्या भएको ४ वर्ष वितिसक्दा पनि धनुषा जिल्ला अदालतमा हालसम्म उक्त हत्याकाण्डको विषयमा टुङ्गो लाग्न सकेको छैन । ११ कार्तिक २०६७ मा लाल किशोर झा जनकपुर स्थित आफ्नो घरबाट जिल्ला शिक्षा कार्यालय महोत्तरी जानको लागि हिडेर बस पार्क तर्फ गईरहेको बेलामा विहान ९ः३० बजेको समयमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते अवस्थामा झालाई तत्कालै जनकपुर अञ्चल अस्पताल पु¥याइएपनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा सोही दिन मृत्यु भएको थियो । मृतक झाको शवको गराइएको शव परिक्षण प्रतिवेदनमा समेत झाको मृत्यु गन सट इन्जुरीको कारण भएको बताइएको छ । उक्त घटनाको प्रमुख मास्टरमाइन्ड तथा योजनाकारको रुपमा धनुषा प्रहरीले रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवलाई अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतमा उभ्यिाएको भएपनि अदालतले उनलाई तारेखमा रिहा गरेको अवस्थामा अब अदालतले गर्ने आदेशले वैकुण्ठ दास दोषी ठहर हुने वा नहुने भन्ने टुङ्गो लाग्ने छ । थुनछेक मुद्दामा वैकुण्ठले तारेख पाएर राहत पाएको भएपनि त्यसपछि राजन मुक्तिले प्रहरी समक्ष गरेको बयानमा हत्याको प्रमुख योजनाकार वैकुण्ठ दास वैष्णव नै रहेको बताएपछि अदालतले बैकुण्ठलाई दोषी ठहर गर्ने हो वा होइन, त्यसको समेत निष्कर्ष निस्किने छ । प्रस्तुत मुद्दाको पेसी २ पुषमा रहेको भएपनि अदालतले माघ १४ गतेको लागि सारेको छ ।
लालकिशोर झा गोली प्रहारबाट घाइते भई 
उपचार गराईरहेको अवस्थाको तस्वीर ।
 सोही दिन उनको मृत्यु भएको थियो ।
घटना भएपछि भुमिगत रहेका सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले स्थानीय संचार माध्यमहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।
 उक्त घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी नायव उपरीक्षक जगदीश पोखरेलको अध्यक्षतामा ७ सदस्यीय प्रहरी कर्मचारी समेतको अनुसन्धान टोली गठन गरिएको थियो । घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाई अनुसन्धान गर्न स्थानीय स्तरमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त अनुसन्धान टोली गठन गरेको थियो । यता अनुसन्धान टोलीका सदस्य समेत रहेका तत्कालिन प्रहरी निरीक्षक हरि खतिवडाले बुझाएको प्रतिवेदनमा घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाउँदै जाँदा तराई जनतान्त्रिक भुमिगत समुहमा रहेका ५÷६ जना व्यक्तिहरुको समुहले झालाई योजनावद्ध तरिकाले हत्या गरेको बताइएको छ ।
झालाई मार्नको लागि योजना बनाई झाको बारेमा सम्पुर्ण विवरण बुझी झाको निगरानी गर्दै आई मौका खोजी ३ वटा मोटरसाइकलमा चढी आएका ५–६ जनाको समुहले झा निरपुगी मोटरसाइकलबाट ओर्ली झालाई गोली प्रहार गरी सख्त घाइते पारी मोटरसाइकलमै चढी फरार भएको खतिवडाको प्रतिवेदनमा उल्लेख छ । अभियुक्तहरुको सुराक पत्ता लगाउँदै जाँदा तिनीहरु मध्येको विजुली सिंह भन्ने राकेश पाण्डे, रौकी भनिने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादव रहेको तथा तिनीहरुलाई घटना लगतै केही दिनमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।
लालकिशोर झा हत्या अभियोगमा 
पक्राउ परेका राकेश पाण्डे र शिव कुमार ठाकुर ।
 अहिले उनीहरु लगायत सुनिल अधिकारी यादव
 जलेश्वर कारागारमा थुनामा छन् ।
पक्राउ गरिएका तिनै जना प्रतिवादीहरु सुनिल कुमार अधिकारी यादव, राकेश कुमार पाण्डे र शिवकुमार ठाकुरको हकमा घटनामा कसुरदार देखिने मनासिव आधार विद्यमान देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरु तिनै जनालाई धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा थुनुवा पुर्जी दिई थुनामा बस्न कारागार कार्यालय महोत्तरी जलेश्वरमा पठाइदिनु भन्ने व्यहोरा समेतको आदेश गरेको छ । अदालतको उक्त आदेशानुसार प्रतिवादी तिनै जना अहिले जलेश्वर कारागारमा थुनामा छन् । प्रहरी समक्ष पक्राउ परेका प्रतिवादीहरुले गरेको बयान कागज र घटनाका साक्षी बनाइएका विपलव कुमार झा समेतले गरेको विवरण कागजका अनुसार जनकपुरको रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले योजना बनाई सुपारी दिएर लाल किशोर झाको कन्टूेक्टमा हत्या गरिएको उल्लेख छ । लाल झाका बुबा पशुपति झाले जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यानमुद्दाको जाहेरी गरेको थियो । उक्त मिसिलमा साक्षीहरुले गरेको कागज अनुसार रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले मठको सम्पति हिनामिना गरी जग्गा वेच विखन गर्दै आएकोमा लाल किशोर झाले विरोध गर्दै गरेकोमा वैकुण्ठ दासले तिनै जना प्रतिवादीहरुलाई रकम दिई गोली प्रहार गरी मार्न अह्राई खटाई गोली प्रहार गरी मार्न लगाएको हो भनी किटानै गरिएको छ । 
घटना भएपछि वैकुण्ठ दास फरार भएका थिए । अचम्मको कुरा के हो भने जति बेला बैकुण्ठ फरार भएका थिए त्यतिबेला उनलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको तत्कालिन जिल्ला सुरक्षा समितिले व्यक्तिगत सुरक्षा गार्ड पिएसओ समेत उपलब्ध गराएको थियो । पिएसओ हुँदा हुँदै वैकुण्ठ जनकपुरबाट कसरी फरार भए त्यसको उत्तर हालसम्म अनुत्तरित छ । करिब १० महिनासम्म फरार रहेका वैकुण्ठ दास वैष्णव अचानक २७ अषाढ २०६८ मा धनुषा जिल्ला अदालतमा हाजिर भएपछि धनुषा जिल्ला अदालतका तत्कालिन न्यायाधिश अमर राज पौडेलले बैकुण्ठलाई साधारण तारेखमा रिहा गरेका थिए । उक्त घटनाको प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका वैकुण्ठ दासलाई अदालतले मुद्दा थुनछेकको क्रममा साधारण तारेखमा रिहा गरेपछि स्थानीय स्तरमा समेत उक्त आदेशको तिब्र आलोचना गरिएको थियो ।
घटनामा टर्निङ प्वाइन्ट तव आयो, जब घटनाको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सर्बोच्च व्यक्ति अध्यक्ष राजन मुक्ति भनिने रंजित झाले उक्त घटनामा वैकुण्ठ दास नै प्रमुख योजनाकार रहेको प्रहरी समक्ष बयान ग¥यो । जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झा हत्याको मुख्य योजनाकार रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव नै रहेको राजन मुक्तिले खुलासा गरेपछि वैकुण्ठ झन संकटमा परेको छ । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका हुन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
रत्नसागर मठमा महामृत्युन्जय जपको
क्रममा शिव लिङ्गलाई जलाभिषेक गर्दै 
महन्थ वैकुण्ठ दास वैष्णव ।
मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् । 
राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् । 
उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिठ्ठामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर–७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् । 
झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हत्याको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।
यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिठ्ठामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिठ्ठामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । 
जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो । यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १८ पुषमा बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश जारी गरेको थियो । 

रत्नसागर मठमा महामृत्युन्जय जपको
 क्रममा शिव लिङ्गलाई जलाभिषेक गर्दै 
महन्थ वैकुण्ठ दास वैष्णव ।



२०७१ पौष ०६ गते आईतबार

घटनालाई डाइभर्ट गर्न समेत जाहेरी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
लाल झा हत्या केशमा मान महन्थ जगन्नाथ दासको आफु चेला रहेको दावी गर्दै रविन्द्र कुमार यादव भन्ने रविन्द्र दासले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा २९ मंसिर २०६७ मा जाहेरी पठाएका थिए । ठेरा कचुरीमा घर भई जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालिन लेखापाल नन्द कुमार झा, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जानकी मन्दिरका छोटा महन्थ रोशन कुमार झा, दिपक भन्ने सानु कुमार झालाई प्रतिवादी बनाई जाहेरी पठाएका थिए । लाल किशोर झा जिल्ला शिक्षा कार्यालय महोत्तरीमा अधिकृत पदमा कार्यरत रहेको र सोही कार्यालयमा लेखापाल पदमा कार्यरत रहेको नन्द किशोर झासँग आर्थिक लेनदेन नमिलेपछि नन्द किशोर झाले हत्या गराएको भन्ने आरोप लगाइएको थियो । उक्त कार्यालयको जिल्ला शिक्षा अधिकारी अधिकांश बाहिर नै रहने गरेको कारण निजको जिम्मेवारी समेत लाल झा नै बहन गर्ने गरेको तथा लाल झा र नन्द किशोर झाले एक आपसमा मिलोमतो गरी उक्त कार्यालय र उक्त कार्यालय अन्तरगतका विभिन्न विद्यालय तथा शिक्षक शिक्षिका नियूक्ती, सरुवा, राहत कोटा दरबन्दी समेत सम्बन्धि काम काज गरी गराइदिए बापत दुवै जनाले गैरकानुनी रुपमा मोटो रकम लाल झाले नन्द कुमार झा मार्फत लिएको आरोप लगाइएको थियो । 
जसबाट लाल झाले ८५ लाख रुपैयाँ आफ्नो हिस्सा नन्द कुमार झा मार्फत पाउने भई आफ्नो हिस्साको सो रकम लाल झाले नन्द झा सँग माग्दा नन्द झाले उक्त रकम आनाकानी गरेकोमा लाल झा भनिने लाल किशोर झाले केही समय पुर्व नन्द झालाई हप्काई डर धाक देखाई देखाउन लगाई सो रकम दिन कर गरेको उक्त जाहेरीमा आरोप लगाइएको थियो । तत्पश्चात रकम बन्दोवस्त गरेर चाँडै दिउँला भनि लाल झालाई भाखा कागज गरिदिएकोमा सो भाखा कागज अनुसार आफ्नो हिस्साको सो रकम दिन लाल झाले नन्द झालाई बारम्बार ताकेता गर्दै आएको थियो । 
बारबारको ताकेता पछि दिक्क भएका नन्द झाले लाल झालाई यत्रो ठुलो रकम दिनुको साटो केही रकम खर्चेर यसलाई नै तह लगाउनु पर्छ भनि नन्द कुमार झाले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई भेट्न पुग्दा रामतपेश्वरले मलाई रु. १० लाख दिनुस, मेरो भानिज जनतान्त्रिकमा लागेका छन्, उसलाई बोलाउँछु र जानकी मन्दिरमा सबै अपराधिहरुलाई एक जुट बोलाई नन्द झालाई मार्न लगाउछु भनेर बचन दिएको र सोही बचन अनुसार लाल झाको हत्या गराएको उक्त जाहेरीमा उल्लेख छ । हुलाक मार्फत जाहेरी पठाएपछि जिल्ला प्रशासन कार्यालयमा सनाखत गर्नुपर्ने हुन्छ तर, निवेदक रविन्द्र दासले सनाखत पनि गर्न गएका थिएनन् । अनि जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता नगरी संलग्न प्रतिवादीहरुलाई पक्राउ गरि कारवाही नगरिएको भन्दै निवेदकले पुनरावेदन अदालत जनकपुरमा ३ मंसिर २०६७ मा परमादेशको लागि मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा पुनरावेदन अदालतले धनुषा जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दामा गलत प्रभाव पार्न झुठा व्यहोराको जाहेरी हुलाक मार्फत पठाएको तथा अभियुक्तहरुको मिलोमतोमा झुठो कपोलकल्पित मुद्दा  दर्ता गराएको हुनाले उक्त मुद्दा खारेजी गरिएको छ भनेर ३१ जेष्ठ २०६८ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधिशद्वय टिकाबहादुर हमाल र राजकुमार वनको संयुक्त इजलासले आदेश गरेको थियो ।

२०७१ पौष ०६ गते आईतबार

अख्तियारको डरले वन कार्यालयका ६ जना कर्मचारीद्वारा राजिनामा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
३ फागुन २०४७ मा पृथ्वी बहादुर थापा जिल्ला वन कार्यालय धनुषाको पियन पदमा नियुक्ती पाएका थिए । २० असोज २०६४ मा उनी फोरेष्टर पदमा वढुवा भएका थिए । त्यसैगरी ६ अषाढ २०५० मा रामचन्द्र यादव सशस्त्र वन सुरक्षाको सिपाही पदमा नियूक्त भएका थिए । ३१ अषाढ २०५४ मा सुकप्रसाद तमाङ, ६ अषाढ २०५० मा सिताराम दास, १४ मंसिर २०५३ मा बम बहादुर बुलन र १ साउन २०५० मा जुगेश्वर मण्डल जिल्ला बन कार्यालय धनुषामा जमादार पदमा नियुक्त भएका थिए । पृथ्वी बहादुर, सिताराम र जुगेश्वरले पेन्सन समेत पकाईसकेका छन् । तर, अचानक ती ६ जनै कर्मचारीहरुले घरायसी कारणले गर्दा नेपाल सरकारको सेवामा रही काम काज गर्न असमर्थ रहेको भन्दै  पदबाट राजिनामा गरेका छन् । जिल्ला वन कार्यालय धनुषाका सहायक वन अधिकृत लक्ष्मण साहका अनुसार उनीहरुले घरायसी कारण भन्दै राजिनामा गरेका छन् । र, एक जना कर्मचारी वाहेक ५ वटै कर्मचारीहरुको राजिनामा स्वीकृत समेत भईसकेका छन् ।
फरेष्टर पदमा रहेका पृथ्वीबहादुरको तलब १९ हजार ४ सय ९० रुपैयाँ र रामचन्द्र यादवको तलब १८ हजार ३ सय रुपैयाँ मासिक थियो । त्यसैगरी ४ जनै जमादारका तलब १८ हजार ३ सय ९० रुपैयाँ थियो । उनीहरुले महँगी भत्ता वापत रु. १ हजार थप भत्ता पाउने गरेका थिए । यति तलब हुँदा हुँदै कुनै पनि कर्मचारीले सोझै घरायसी कारण नेपाल सरकारको स्थाई जागिर छोड्दैन । जागिर छोड्नुको प्रमुख कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा पर्ने र जेल जानुपर्ने डर नै रहेको वन कार्यालयका एक जना कर्मचारीको भनाई छ । नत्र भने सोही पदमा १३ हजार रुपैयाँ मात्र मासिक तलब पाउने सर्तमा भर्खर मात्रै जिल्ला वन कार्यालय धनुषाले धनुषाको वेंगाशिवपुर ९ का युगल किशोर यादव, धनुषा भरतपुर २ का झनक प्रसाद ढुङ्गेल, भोजपुर दलगाउँ ७ का भेषराज श्रेष्ठ, धनुषा देवडिहा ४ का रामदेव मुखिया, सर्लाही लालबन्दी ७ का जित बहादुर खत्री र सिन्धुली हतपते १ का टेक बहादुर रोक्कालाई करारमा नियुक्त गरेको छ ।
एकातर्फ नेपाल सरकारको जागिर खानु भनेको देउता खोज्नु झैं असम्भव वन्दै गईरहेको अवस्थामा स्थाई कर्मचारीले जागिर छोड्नु भनेको सहज अवस्था पक्कै पनि होइन । कर्मचारीले कि त खुबै भ्रष्टाचार गरेको हुनुपर्दछ वा नक्कली सर्टिफिकेटको आधारमा अवैधानिक तरिकाले जागिर खाएको हुुनुपर्छ । फरेष्टर पदमा वढुवा हुनको लागि एसएलसी उत्तिर्ण भएको हुनुपर्दछ र जमादार पदमा कार्य गर्नको लागि टेस्ट अर्थात कक्षा १० पास भएको हुनुपर्छ । तर, जिल्ला वन कार्यालय धनुषाको एक जना कर्मचारीका अनुसार राजिनामा दिने ती कर्मचारीहरुसँग जुन पदमा उनीहरु कार्यरत थिए त्यो पदको लागि आवश्यक शैक्षिक योग्यता थिएन ।
उनीहरुले राजिनामासँगै पाउनुपर्ने सम्पुर्ण सेवा तथा सुविधा वापतको रकम समेत निकासा गरिसकेका छन् । जिल्ला वन कार्यालय धनुषाका लेखापाल जगदीश साहका अनुसार उनीहरुले संचित विदा वापतका रकम, औषधि उपचार वापतका रकम निकासा गरेर लगिसकेका छन् । औषधि उपचारका लागि सेवा अवधिमा लिएको हद बराबरको २१ महिनाको तलब र २० वर्षभन्दा वढी सेवा अवधि रहेकोका लागि १५ प्रतिशत थप रकम पाउने व्यवस्था छ । सोही अनुसार भोलाले रु. ३ लाख ७५ हजार ८ सय ८०, जुगेश्वरले रु. ४ लाख ३० हजार ९ सय १२, सुक तमाङले रु. ३ लाख ७५ हजार ८ सय ८०, सितारामले रु. ४ लाख ३० हजार ९ सय १२, रामचन्द्रले रु. ४ लाख ३० हजार ९ सय १२ र बम बहादुरले रु.३ लाख ७५ हजार ८ सय ८० निकासा गरेका छन् । 
त्यसैगरी संचित विदा वापत भोलाले रु. २ लाख ३६ हजार ४ सय ९५, सुकले रु. २ लाख ३० हजार ५ सय ९५, जुगेश्वरले रु. २ लाख ५४ हजार ५, सितारामले रु. २ लाख ५८ हजार ७ सय ९३, रामचन्द्रले रु. २ लाख ६७ हजार ६ सय २४ र बम बहादुरले रु. २ लाख २५ हजार ५६ निकासा गरेका छन् । यसका अतिरिक्त उपदान स्वरुप भोला साहले रु. ४ लाख ७३ हजार ५ सय ८५, सुक प्रसाद तमाङले रु. ४ लाख ७३ हजार ५५ र बम बहादुर बुलनले रु. ४ लाख ८५ हजार ७ सय ९९ रकम निकासा गरी लगिसकेका छन् । त्यसैगरी सिताराम, जुगेश्वर र रामचन्द्रले पेन्सन बापत रु. ८ हजार ८ सय ६५ प्रति महिना पाउने गरेका छन् ।
नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशैभरी विभिन्न निकायहरुमा छानविन गर्न लाग्दा खास गरी शिक्षकहरु धमाधम राजिनामा दिँदै हिँडेका छन् । कतिपय कर्मचारीहरु कारवाहीमा पनि परिरहेका छन् । भर्खर मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यमाञ्चल ग्रामिण विकास बैंक जनकपुरका वरिष्ठ सहायक गणेश प्रसाद साह माथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ । सेवा प्रवेश गर्नका लागि साहले पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली तथा झुठो देखिएको भन्दै २९ मंसिर २०७१ मा आयोगले विशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ । विहार विद्यालय परीक्षा समितिबाट सन् १९८८ मा इन्टरमिडिएट उत्तिर्ण गरेको भनेर साहले पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली तथा झुठो देखिएको अख्तियारले जनाएको छ । साह माथि साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार दण्ड सजायको माग दावी गर्दै अख्तियारले विशेष अदालत काठमाडौमा आरोप पत्र दर्ता गराएको छ ।
तसर्थ अब सवाल के उठ्छ भने शैक्षिक योग्यता प्रमाण पत्र नपुगेको र पनि गैरकानुनी तरिकाले जागिर खाई तलब भत्ता तथा अन्य सेवा सुविधाहरु उपभोग गरिरहेको र राजिनामा दिएर पनि अख्तियारको कारवाहीबाट जोगिन सकिन्छ भन्ने सोचका साथ राजिनामा दिएका कर्मचारीहरुको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्छ वा गर्दैन, खाई पाई आएको रकम असुल गर्छन वा गर्दैनन् त्यो हेर्न भने बाँकी नै छ ।

२०७१ पौष ०६ गते आईतबार

नोबेल ग्यासको उद्योग मै छापामारी आवश्यक

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा दशैं पर्व अघि नै सुरु भएको ग्यासको कृत्रिम अभाव तथा कालोबजारी चार महिना वितिसक्दा पनि हालसम्म जारी नै रहेको छ । दशैं पर्वमा जनकपुरबाट बाहिर बसेका मानिसहरु फर्किएर छठ पर्वसम्म रहने हुनाले ग्यास विक्रेताहरुले मोटो रकम आर्जन गर्नका लागि सुरु गरेको कालोबजारीको धन्दालाई हालसम्म निरन्तरता दिएका छन् ।  १ हजार ४ सय ५० रुपैयाँ खुद्रा मुल्य रहेको प्रति सिलिण्डर बजारमा रु. २ हजार देखि २५ सय सम्ममा ग्यास विक्रेताहरुले विक्री गर्ने गरेको छ । पसलमा ग्यास माग्न जाँदा ग्यास छैन, भनेर विक्रेताहरुले सिधा जवाफ दिन्छन् । लिनु नै छ भने अलि बढी दाम दियो भने कुनै व्यवस्था गर्न सक्छु भनेर मनमौजी रकम तिरेर उपभोक्ताहरु खाने पकाउने एलपी ग्यासको सिलिण्डर किन्न बाध्य छन् । कालाबजारी रोक्नु पर्ने जिम्मेवारी पाएका धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना टुलु टुलु हेर्न बाध्य छन् । 
रमाइलो कुरा त के हो भने आम उपभोक्ता झैं सिडिओ ढुङ्गाना पनि काला बजारीका शिकार भएका छन् । ११ कार्तिकमा सिडिओ ढुङ्गानाले आफ्नो भान्से र एक जना प्रहरी कर्मचारीलाई ग्यास किन्न राम चौक स्थित मेनुका टेन्ट हाउसमा पठाउँदा रु. १ हजार ४ सय ५० पर्ने खाना पकाउने सिलिण्डरलाई रु. २ हजारमा किन्न बाध्य भए । मेनुका टेन्ट हाउसमा रहेका कामदार श्याम साहले रु. १ हजारको नोट सि.नं. ख÷२१ ५४३९५७ र अर्को १ हजारको नोट सि.नं. ग÷७२ ७९८०५० लिएका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरी ल्याउँदा छठ पर्व भएका कारण कार्तिक १६ गते उपस्थित हुने जिम्मा जमानीमा छोडिएको थियो । १६ गते उपस्थित भएका साहलाई थुनामा राखि कालाबजारी मुद्दा अन्तरगत आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रजिअ ढुङ्गानाले द एक्सक्लुसिभलाई बताएका छन् । तर, जनकपुर अञ्चल ग्यास व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन,“प्रमुख जिल्ला अधिकारीसँग ग्यास विक्रेताले वढी मुल्य लिएको छैन । प्रजिअ ढुङ्गानाले नोबेल ग्यासको सिलिण्डर पठाएको थियो र मनोज ग्यासको सिलिण्डर लिएर गएका कारण ५ सय रुपैयाँ धरौटी वापत लिइएको हो ।” जब ग्यास व्यवसायीहरुले चर्को विरोध गरे उनलाई तारेखमा रिहा गरियो ।
ग्यासको कालोबजारी भएपछि १६ कार्तिकमा जनकपुर यूथ डेभलोपमेन्ट फोर्सका यूवाहरु रामानन्द चौक स्थित राजकरण साह प्रोपराइटर रहेको अनुप टेूडर्समा गएर ग्यास वितरण गराएका थिए । उक्त फोर्सका संयोजक समितिका सदस्य समेत रहेका ज्ञानेन्द्र झा ज्ञानुका अनुसार उक्त पसलमा ग्यास किन्न जाँदा उपभोक्ताहरुलाई ग्यास छैन भनेर प्रोपराइटर साहले फर्काउने गरेका थिए । तर जव उसको गोदाममा यूवाहरुले खोजी गर्दा करिब ८०÷८५ वटा जगदम्बा ग्यासको सिलिण्डर राखेको पाइयो । यसले पनि ग्यास विक्रेताहरुले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको पुष्टि हुन्छ, झाको भनाई छ । त्यसैगरी १५ कार्तिकमा ती यूवाहरुले रामानन्द चौकमै रहेको किरण टेूडर्सको २ सय सिलिण्डर वितरण गरेका थिए । 
एकातर्फ ग्यास कम्पनीहरुले ग्यासको आपुर्ति नै नगरिरहेको ग्यास विक्रेताहरुले भनिरहेको भएपनि रातिको समयमा मान्छेहरु सुतिरहेको बेला ग्यास विक्रेताहरुले टूक मार्फत ग्यास लिने गरेको समेत पाइएको छ । १७ कार्तिकमा रातको समयमा मनोज ग्यासको एउटा टूकले ग्यास सिलिण्डर ग्यास विक्रेतालाई दिइरहेको अवस्थामै स्थानियवासीहरुले फेला पारेपछि प्रहरीले उक्त टूकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 
जनकपुर अञ्चल ग्यास व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन,“ जनकपुरमा ग्यासको कालोबजारी भएको छैन । एक महिनामा करिब २० देखि २५ हजारसम्म सिलिण्डरको माग रहेको ठाउँमा ३० देखि ३५ प्रतिशतसम्म मात्र आपुर्ति भएपछि ग्यासको अभाव भएको हो ।” धनुषा जिल्लामा करिब ५५ देखि ६० हजारसम्म ग्यास सिलिण्डरका उपभोक्ता छन् । जनकपुरमा नोवेल, मनोज, सुपर, सहारा, नारायणी, लियो बारा, कोशी, जगदम्बा, अम्बर, प्रिमा लगायतको ग्यास कम्पनीहरुका आधिकारिक विक्रेता छन् । १ सय १३ जना कुल आधिकारिक ग्यास विक्रेता रहेकोमा ८० जना नोबेल ग्यास कै विक्रेता छन् । जनकपुरमा खपत हुने ग्यासहरु मध्ये ८० प्रतिशत जति नोबेल ग्यासकै उपभोक्ता पनि छन् । हुन त जनकपुरमा साइकल पसल, पान पसल, किराना पसल लगायतका पसलहरुमा समेत अवैधानिक तरिकाले ग्यासको  खुद्रा विक्री गर्ने गरिएको छ ।
१४ दशमलव २ किलोको एलपी ग्यास धनुषामा अब ७ दशमलव १ किलो मात्र बिक्रि हुने भएको छ । ग्यासको हाहाकारलाई न्यु नीकरण गर्न ७ दशमलव १ किलो मात्र आपुर्ति गर्न सहमति भएको थियो । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ढुङ्गानाको अध्यक्षतामा वसेको उक्त वैठकमा विभिन्न ग्यास विक्रेताहरुसँगको छलफलमा गरिएको उक्त सहमति पनि कार्यान्वयन हुन सकेको छैन । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा भन्छन,“जनकपुरमा नोबेल ग्यासको एक महिनामा ५० हजार जति सिलिन्डरको उपभोक्ता छन् । नक्टाझिज स्थित ग्यासको उद्योगमा स्थानीय प्रशासनले छापामारी गर्नु आवश्यक छ ।” अभाव भएको होइन, जानीजानी नोबेल ग्यास उद्योगका संचालक भैरव क्षेत्रीले अभाव सिर्जना गरेको हो भन्दै हिरा भन्छन,“ प्रशासनले नोबेल ग्यास उद्योगमा राज्यले कुन कुन महिनामा कति ग्यास आपुर्ति ग¥यो र उक्त उद्योगले जनकपुरमा कुन कुन मितिमा कति ग्यास सिलिन्डर वितरण गरे र कुन कुन डिलरलाई कति कति वितरण गरे भन्ने कागज माग्नु पर्छ ।” 
नोबेल ग्यास उद्योग जनकपुर उद्योग बाणिज्य संघको सदस्य पनि हो । त्यस अनुसार संघले उद्योग संचालक भैरव क्षेत्रीसँग ग्यास आपुर्ति तथा वितरणको तथ्याङ्क मागेको भएपनि उसले उपलब्ध नगराएको भन्दै हिरा भन्छन,“स्थानीय प्रशासनले आफु सक्दैन भने उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन, ग्यास व्यावसायी लगायतको सम्मिलित एक आयोग गठन गरी उक्त उद्योगमा अनुगमन गरी तथ्याङ्क मात्र प्राप्ति गर्न सक्यो भने दुधको दुध र पानीको पानी छुट्याउन सकिन्छ ।” कालाबजारी भईरहेको छ भनेर स्थानीय प्रशासनमा गुनासो गर्दा पनि त्यसको न त समाधान गराउन सकेको छ न त उद्योग मै छापामारी गरेको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोला पनि कालाबजारीको प्रमाण सहित उजुरी आयो भने आफुहरु कारवाही गर्छौं भन्दै नक्टाझिज स्थित उद्योगमा हालसम्म छापामारी नगरेको उनी स्वीकार्छन् । जे भएपनि आखिर कृत्रिम अभाव होस वा कालाबजारी, उपभोक्ताले सुपथ मुल्यमा सहज ढंगले खाना पकाउने एलपी ग्यास सिलिन्डर पाउनु पर्छ । त्यो आपुर्ति गराउने दायित्व राज्यको होे । राज्यको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासन कार्यालयले त्यसको दायित्व र जिम्मेवारीबाट पन्छिनु हुँदैन । उसको त्यो  जवाफदेहिता पनि हो ।

२०७१ पौष ०६ गते आईतबार

उठन सकेन यूवा शक्ति - सुनिल कुमार श्रेष्ठ “सानु”




मैले देखेको नेपालमा बुढेसकालको अन्तिम अवस्था सम्म पार गरिसकेका जो आफ्नो व्यक्तिगत स्वार्थ र पदको मोहमा राष्टूको जिम्मेवार पदहरु ओगेटेर बसेका छन्, उनीहरु नै आफुलाई यूवा भनाउनुमा विश्वास  राख्छन् । तर, वास्तविकतामा मैले र  राष्टूका अन्य म जस्ता यूवा र यस राष्टूकै जनताले देखेको र बुझेको सत्यता त्यो भन्दा निकै फरक र आश्चर्यचकित पार्ने खालको छ भन्ने मेरो बुझाई छ । सत्ता र पावरको चलखेल गर्ने वा वाँडफाँडमा उमेर ढलिसकेका व्यक्ति जो आफुलाई यूवा भनेर नसुहाउँदा ढंगले वास्तविक यूवा जसमा निर्णय लिन सक्ने क्षमता आँट झनै वा साहस निकै धेरै छ उनीहरुलाई सत्ता र पावरले पुस्तै देखि पराम्परागत तरिकाले दवाईराखेका छन् । नारा, जुलुस, आन्दोलन वा भाषणमा मात्र सिमित शव्द ‘यूवा पुस्ता’ उत्थानको निकै प्रयोग गरी दुरुपयोग भएको मैले यही राष्टूमा सुनेको र आफुले अनुभुति गरेको छु । 
दोस्रो विश्वयूद्ध पछि दक्षिण एसिया बाहेकका सम्पुर्ण देशका जनताले र कहिलिएका शक्तिले यूवा नेतृत्वमा विश्वास र त्यस शक्तिको सदुपयोग गरेर आफुलाई आजको शताव्दीमा विकसित राष्टूमा परिणत गरिसकेका छन् । आजको समयमा दुबई, सिंगापुर, फ्रान्स, कुवेत, कोरिया जस्ता देशहरु यूवा पुस्ताकै नेतृत्वको कारणले यति विकसित र अघि बढेको हाम्रा दक्षिण एसियाली मुलुकका जनताले देखिसकेका छौं ।
तर हालसम्म हाम्रो दक्षिण एसियाली देश जस्तै ः भारत, नेपाल, भुटान आदिका कहिलिएका तथाकथित शक्तिहरुले आ आफ्ना व्यक्तिगत स्वार्थ र सत्ता मोहको कारण परम्परागत सोच हालसम्म कायम राखेर नै देशका जनतालाई बेरोजगारी, भुखमरी आदिको शिकार बनाई आ आफ्ना ढंगले तथा कथित लोकतन्त्रको नाममा शासन गरिरहेका छन् । बेरोजगारी, भुखमरी जस्ता समस्या सिर्जना गराई नेपाली जनता माथि पुस्तै देखि दमन र शोषण यिनै कहिलिएका उमेर ढलिसकेका ७०–८४ वर्ष यूवा नेतृत्वले नै गरेको हो भन्ने सारा यथार्त नेपाली यूवाले यसको राम्रो अनुभव पाईसकेको मेरो मात्र न भई अधिकांश यूवाको बुझाई छ । सत्ता ओगेटेर, शक्ति को दुप्रयोग गरेर ८४ वर्ष पुग्दा सम्म आफुलाई यूवा भन्ने खोक्रोपना वा पाखण्डीपन गरेको मेरो बुझाई छ । जो प्रस्ट बोल्न सक्दैन, ठिकले हिँड्न जान्दैन, आफ्नो निर्णय आफै गर्न आँट सम्म गर्दैन ऊ नै आफुलाई यूवा नेता हुँ भनेर सोझा नेपाली जनतालाई हालसम्म ठग्दै हिँडिरहेका प्रशस्त उदाहरणहरु म स्वयमले देखेको छु । गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला, केपी ओली र यस्ता थुप्रै तथा कथित नेताहरु छन जसले आफुलाई यूवा हँु भन्दा सोझा नेपाली जनतालाई निकै हस्यास्पद तुल्याएको छ । यसै बीचमा एमालेकै महाधिवेशनमा नै हेर्ने हो भने त्यसमा यूवाहरुद्वारा गरिएको ढुंगामुढाले यो अवश्य प्रमाणित गरेको छ कि यूवा आज पनि केवल बाहिर उभिएर बसेका छन् र तथा कथित यूवा जसको उमेर ढलिसकेको छ उ नै भित्र बसेर    तामासा गरिराखेका हुन्छन् ।
वास्तविक यूवाको सन्दर्भमा चर्चा गर्दै म एकचोटी जनकपुरको त्यो यूवाहरुको चर्चा गर्न चाहन्छु जसका क्रान्तिकारी संघर्षका गुमनाम यथार्तले मलाई आज स्वयम कलम चलाउन बाध्य तुल्याएको अनुभव हुन्छ । दुर्गानन्द झा यो राष्टूको त्यस्ता यूवामा पर्छन जसको आँट, साहास राष्टू र जनता प्रतिको सेवालाई अहिलेको यूवा र आउने हरेक पुस्ताले प्रशंसा गर्नेपर्छ भन्ने मेरो बुझाई छ ।
त्यस्ता प्रशंसनिय व्यक्तिको योगदानलाई विपी होस, गिरिजाबाबु देखि लिएर सुशिल कोइराला नेतृत्वको नेपाली कांग्रेस जो आफुलाई लोकतन्त्रमा विश्वास राख्ने पार्टी र व्यक्ति भनेर चिनाउन अग्रसर रहन्छ त्यसले दशकैसम्म पनि सम्मान वा शहिद घोषणा गर्न सकेन । १८÷१९ वर्षकै कलिलो उमेरमा लोकतन्त्रको परिभाषा बुझिसकेको दुर्गानन्द झा लोकतन्त्र स्थापित गराउन राजा महेन्द्रलाई बम हाल्न सम्म पछि नपरेको त्यो लोकतान्त्रिक विचार भएको यूवालाई लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका उमेर ढलिसकेका यूवा नेता सुशिल कोइरालाको लोकतन्त्रमा विश्वास राख्ने सरकारले उनलाई शहिद घोषणा गर्न नसक्नु वडो विडम्बनाको कुरा हो ।
जनकपुरकै ललन चौधरी जसलाई जिउँदो शहिदको उपनाम समेत प्राप्त गरेको भन्ने गर्छन । हो उनी त्यो त्यक्ति हुन जसले लोकतन्त्रको स्थापित गराउन गरिएको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका एउटा उदाहरणीय व्यक्ति हुन । आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमनको शिकार भएपछि हालसम्म प्रष्ट आवाजले बोल्न नसक्ने पीडा उनी खेपीरहेका छन् । जुन व्यक्तिलाई राज्य सञ्चालनको निम्ति भुमिका खेलिसक्नु पर्ने थियो उसको अवस्था यस्तो नाजुक कसरी छ ? आखिर उनले राष्टूलाई दिएको योगदानको बदला के पाए त ? हो यो प्रश्न यही उमेर ढलिसकेको यूवा नेता सुशिल कोइरालाको नेतृत्वमा बनेको सरकार जुन पुर्ण रुपमा लोकतन्त्रमा विश्वास गर्छ उसैसँग सोधन पाए ठिक होला कि भन्ने मेरो बुझाई छ । सायद पक्कै पनि यो कुरा अहिले कसैको चासोको विषय नहोला ।
त्यसैक्रममा इतिहास पल्टाउँदै जाँदा म एउटा साहासी, राष्टूप्रेमी र दुरदर्शी व्यक्ति डा.लक्ष्मी नारायण झाको चर्चा गर्न चाहन्छु । उनी त्यो व्यक्ति हुन जसले पञ्चायतकालमै पञ्चायत व्यवस्थाको विरुद्धमा आवाज उठाएर एउटा देशभक्त र जनता प्रेमीको रुपमा पहिचान दिए । त्यस साथसाथै मिथिला राज्यको माग राखेर उनले राज्यलाई संघीयता आवश्यक रहेको जनाउँदै, उनले आफुमा कतिसम्मको दुरदर्शीपना रहेको संकेत दिएका थिए । यस्ता प्रतिभाशिल व्यक्तिहरु यसै राष्टूका सम्पति थिए र छन् । भनिन्छ हिराको खोज एउटा जोहरीले मात्र गर्न सक्छ, हो रहेछ । यस्ता शक्तिलाई राज्यले षड्यन्त्र पुर्ण ढंगले दमन गरि हालसम्म गुमनाम पारे । राज्यपक्षबाट भएको यस्तो दुस्साहसलाई हालसम्म कुनै पार्टी वा दल जो आफुलाई लोकतान्त्रिक हुँ भनेर प्रचारवाजी गर्दै हिँडे, कसैले यस्ता विषयलाई चासो दिएनन् । जुन प्रकारका गल्ती इतिहासमा राज्यपक्षद्वारा भयो र त्यही गल्ती हालसम्म नसच्याउनुले के प्रस्ट पार्दछ भने हालसम्म यो राष्टूमा पुरानै विचारधाराका व्यक्ति स्थापित छन् र सत्तामा तथाकथित लोकतान्त्रिक विचार र चरित्रका व्यक्ति हावी छन्् भन्ने मेरो बुझाई छ । सायद भनौं वा पक्कै पनि यो कुरा आदिले कसैको चासोको विषय नहोला तर मलाई विश्वास छ कि यस्ता महान व्यक्तिहरुले दिएको योगदान र सहेको पीडा अहिलेको यूवावर्गले बुझेको हुनुपर्छ भन्ने मेरो अनुभव छ ।
आज राष्टू कुन स्थितिमा पुगेको छ छर्लङ्गै छ । यसको मुख्य कारण यूवा नेतृत्व नहुनु हो । आज दक्षिण एसिया विश्वको सबैभन्दा गरिब र अविकसित क्षेत्रको रुपमा रहेको कारण पनि यूवा नेतृत्वको कुनै विकल्प छैन भन्ने मेरो अनुभुति छ । यदि देश र जनताको जीवनसँग जोडिएको आधारभुत समस्याको ठिक ठिक समाधान गर्नु छ भने यूवालाई नेतृत्वमा पु¥याउनु एक मात्र अन्तिम विकल्प हो । जय देश जय यूवा !

२०७१ पौष ०६ गते आईतबार