Monday, January 12, 2015

शहीद सत्यनारायण पाठकको बलिदानीलाई नबिर्सौं

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शहीद सत्यनारायण पाठकको शहादत दिएको २६ औं बर्ष बितिसक्दा पनि हामीले एउटा वहाँको स्मारक लाई पूर्णता दिन सकेको छैनौं । यसबिच कयौं उतार चढावहरु यस जनकपुरले झेलेको छ । कयौं क्रान्तीका विगुल यस माटोले फूकेको छ । यस माटोबाट क्रान्तीका  बिगुल ्फूकने एक सच्चा जुझारु क्रान्तीकारी योद्धालाई हामीले बिर्सेतापनि ईतिहासले बिसर्ने छैन । यसै क्रममा शहीद  सत्यनारायण पाठकलाई हार्दिक श्रद्धाञ्जलीका साथ केही शब्दरुपी पुष्पाञ्जली । पिता रामचन्द्र पाठकका तीन छोरा मध्येका कान्छा सुपुत्रका रुपमा २०१५ सालमा धनुषा जिल्लाका बघचौरा गा.वि.स.मा जन्म लिएका सत्यनारायण पाठक एक जुझारु कर्तव्यनिष्ट तथा लगनशिल कर्मठ व्यक्ति हुनुहुन्थ्यो । सदा अन्याय, अत्याचारका विरुद्ध लडने सत्यनारायण पाठकलाई राजनितिक गतिविधिमा लागेको कारणबाट पंचायती  प्रशासनले नौ कक्षामा अध्ययनरत रहदा छात्रवृति रोकी निष्काशन ग¥यो । याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयबाट निष्काशित भएपछि भारतको बिहार शिक्षा बोर्डबाट एस.एल.सी. (मध्यमा) उत्तिर्ण गर्नु भयो । बि.ए. को फर्म भरि परीक्षाको तयारीमा हुनुहुन्थ्यो । २०३७ सालमा गम्भीरा देवी संग बैवाहीक सम्बन्ध भएपछि पंचायती व्यवस्थाका पृष्ठपोषकको चाकडी गरी जीविकोपार्जन गर्नु भन्दा आफ्नो मिहेनत र परिश्रमबाट विभिन्न कार्य गरी जीवनयापन गरी पंचायती व्यवस्था विरुद्ध लड्ने श्रेयष्कर ठानी २०४१ सालमा भोला सिंह मिथिला इंगलिश बोर्डिग स्कूलमा शिक्षकमा नियुक्ति लिनु भई कार्यरत हुनुहुन्थ्यो । नेपाली कांग्रेसका आदर्शबाट प्रभावित भई नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि बनी थुना (जेल) अनेकौ पटक पर्नु भएको थियो ।
नेपाली कांग्रेसद्धारा संचालित २०४२  साल जेष्ठ ६ गते देखि शुरुवात भएको सत्याग्रहमा गिरफ्तारी दिई ९ (नौ) महिना सम्म जलेश्वर कारागारमा जीवन व्यतित गरी फर्कनु भयो । जनकपुुर नगरपालिकाको वडा नं. ७, ८ र १३ करिब ४ सय ८५ विघा  जग्गा अधिग्रहण गरी लाहुरे तथा बाहिरका उच्च पदस्थ नागरिकलाई बसोवास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने दरवारको योजना थियो ।
    स्पष्टवक्ता, निर्भिक सत्यनारायण पाठक तत्कालीन पंचायती व्यवस्थाका पृष्ठपोषकहरुद्धारा षड्यन्त्रपूर्वक तरिकाबाट ज.न.पा.वा.नं.–८ मा रहेको जनताका जग्गाहरु हडपी पंचायती व्यवस्थाका जनकपुर भन्दा बाहीरका पृष्टपोषकहरुलाई जग्गामा घर बनाई दिने नीतिको विरुद्धमा सक्रिय नेतृत्व प्रदान गर्न थाल्नु भो । वहाँले सो जग्गा लिने हो भने उचित मुआवजा दिनुपर्छ र जग्गावालले चाहेमा पहिलो निजहरुलाई प्राथमिकता  दिई त्यस पछि अरुलाई प्राथमिकता दिनुपर्छ भनि तत्कालीन प्र.जि.अ. संग छलफल गर्न जाँदा प्र.जि.अ. बाबुराम पौैडेल आगबबुला भए । सो ठाउँमा एक धुर पनि जग्गा नभएका सत्यनारायण पाठक जनता माथि भई रहेको शोषण एवं अत्याचार  विरुद्ध खुलेर प्र.जि.अ.लाई चुनौती दिदैं भनेका थिए –“जब सम्म म जीवित छु तब सम्म तिमी त के देशका सारा प्रशासनलाई यहाँ उतारे पनि यो शोषण हुन  दिन्न” – यसरी निर्भिकताका साथ चुनौती दिएका सत्यनारायण पाठकलाई प्र.जि.अ.ले हेरौला भनेका थिए । त्यसको भोलिपल्ट सो जग्गा नपाउन नापी शाखाका मान्छे एवं प्रशासन लगि जग्गामा प्रवेश गर्न खोज्दा यता जनचेतना जगाई तयार भएका त्यहाँका जनता सत्यनारायण पाठकको नेतृत्वमा केटाकेटी, बुढाबुढी  सबले ढुंगा, लाठ्ठी, झारु, टोकरी ईत्यादी लिई प्रशासन माथि जाई लागि जग्गामा प्रवेश गर्न दिएनन । त्यहाँबाट प्र.जि.अ., एस.पी. यावत प्रहरी  प्रशासन त्यहाँ अड्न नसकि भागाभाग गरे । यसरी तिल्मिलाएको प्रशासन २०४५ साल पौष २६ गते भ्यानमा एक दुई सय जति प्रहरी जवान  लिई गोलीगठ्ठा सहित सुसज्जित भई पुनः त्यहाँ पुगे । एकचोटी प्रशासनलाई लखेटीसकेका जनता  आफ्नो जीविकोपार्जनका साधन खोसिन थालिएकोले पुनः सत्यनारायण पाठकको नेतृत्वमा जुरमुराएर उठे। त्यहाँ सत्यनारायण पाठक र प्र.जि.अ.का बीच वादविवाद चल्यो । सत्यनारायण पाठकले विवादका क्रममा भनेका थिए– “हान गोली– मेरो छाती अगाडी छ, यो गोलीले यो जग्गा खोस्न सक्ने छैन” यत्ति के भनेका थिए एकचोटी चोट खाइसकेका प्र.जि.अ. रन्थनिए र आफैले आफ्ना सुरक्षाकर्मीको पेस्तोल छिनी सत्यनारायण पाठक माथी गोली प्रहार गरे । नभन्दै गोली सत्यनारायण पाठकको  निधारमा लाग्न पुग्यो । उनी ढले । उनी मारिएको खबर सुन्नासाथ जनकपुरको जनकचौकमा रहेका नेविसंघका नेता ललन चौधरी, पंक्तिकार आफै, जानकी सरण साह, अरुण झा, बलिराम झा लगायतका दर्जनौ यूवाहरुले घटनास्थल पुगी पाठकको शरीरबाट बगेको रगतबाट टिका लगाउँदै हजारौं मानिसहरुका साथ पञ्चायति व्यवस्था मुर्दावाद भन्दै नारा निकालेका थिए । पिडारी गाउँ हुदै निस्केको उक्त जुलुशले सिडियो कार्यालयमा ढुङ्गा मुढा गर्नुका साथै अस्पतालमा रहेको प्रहरी बिटमा आक्रमण गरेका थिए ।  उनी ढलेको देखि जनता आक्रोसित भई गोलीको वास्ता नराखि प्रशासन माथि जाईलागे । अन्धाधुन्ध गोली फायरिगं हुन थाल्यो तर लोकप्रिय सत्यनारायण पाठकको अवस्था देखि गोली खुट्टा, हात, पेट जहाँतही लागेतापनि आक्रोसित जनताले प्रशासन माथि जाइ लाग्न छोडेनन । अन्त्यमा केहि सीप नलागी सत्यनारायण पाठकको शबलाई जीपमा हाली प्रशासन भाग्न सफल भयो । त्यसपछि आक्रोसित जनताले– पंचायती व्यवस्था मुर्दावाद, जग्गा लिन पाइदैन, पंचायते भरौटेलाई दिन पाइदैन, इत्यादि नारा लगाउँदै दशौं हजार जनताले नगर परिक्रमा गर्दै जानकी मन्दिरको छेउमा रहेको प्रहरी चौकीमा समेत आक्रमण गरे । सोही जुलुशले तत्कालीन एस.पी. कार्यालय, डि.एस.पी. कार्यालयमा समेत ढुंगामुढा प्रहार गरे । १६ घण्टा सम्म प्रशासन विहीन जनकपुर पंचायती प्रशासन माथि पूर्णरुपले आक्रोसित थियो । त्यसकोे भोली पल्ट विभिन्न जिल्लाबाट प्रहरी झिकाई जनकपुरको गल्ली गल्लीमा चोकचोकमा छ्याप्प–छयाप्ती राखियो । अनि सत्यनरायण पाठकका पिता एवं सम्बन्धी नातेदारलाई मात्र झिकाई प्रशासनले गोप्य ढंगबाट रातमा करिब १२ बजे दाहा संस्कार गराए । सहादत दिएको दशौ दिन उता गर्भवती रहेकी सत्यनरायण पाठक की पत्नी गम्भीरा देवीले आफ्नो माइतमा छोराको जन्म  दिइन । यसरी नेपालका कर्मठ निर्भिक स्पष्टवक्ता, प्रजातन्त्रवादी सत्यनरायण पाठक  किसानका लागि एवं प्रजातन्त्रका संर्घषमा आफ्नो जीवनलाई शाहदत दिई योग्दान दिनु भएका कुरा चिर अविस्मरणीय छन । वहाँका  पत्नी गम्भीरा देवी र वहाँका दाई बिजेन्द्र पाठक ज.न.पा.वा.नं.–८ का अवधेश पोखरेलले दिएको चार धुर र आफै किनेको दुई धुर गरि ६ धुर जग्गामा सानो झोपडी बनाई आफ्ना एक मात्र छोरा संजय पाठकका साथ आर्थिक विपन्नता पूर्ण अवस्थामा जिविका चलाइ रहनु भएको छ ।
    अन्त्यमा यस देशका एक सच्चा क्रान्तिकारी योद्धा पाठकबाट हामीले प्रेरणा लिई जनताको उत्थान गर्न सक्यौं भने हाल प्राप्त गन्तन्त्रका सार्थकता एवं वहाँ प्रति सच्चा श्रद्धाञ्जली ठहरीने छ  । 
  

शहीद सत्यनारायण पाठकको शालिक निर्माणास्थल
अधुरो शालिक
२०४६ सालमा बहुदल स्थापना पछि जनकपुर नगरपालिका –८ को वडा अध्यक्ष बन्ने व्यक्तिले शहीद सत्यनारायण पाठकको सम्मानमा शालिक निमांण गर्ने नेपाली काँग्रेसले त्यति बेला निर्णय ने गरेको थियो । सुरेन्द्र शर्मा वडा अध्यक्ष बने पनि शालिक निर्माण सम्बन्धी कुनै कार्य अगाडी बढेन । पछि अवधेश पोख्रेल वडा अध्यक्ष बन्दा २०५४ मा शालिक निर्माणका लागि वडा कमिटिले योजना बनाई स्थानीय नागरिक सँग आर्थिक  सहयोग माँगेर डेढ लाख रुपैयामा अधुरो शालिक निर्माण कार्य गरेका छन् । पोख्रेल भन्छन,“तर पछि आएर राजनीतिक विवाद भयो र निर्माण कार्य स्थगित नै भयो ।” अहिले आएर शुखचन्द्र मिश्रको अध्यक्षतामा शहीद सत्यनारायण पाठक स्मृति प्रतिष्ठान नै दर्ता गरिएको छ । प्रतिष्ठानका सचिव अरुण झा भन्छन,“ शालिक निर्माण सम्बन्धि टेक्निकल कार्य अगाडी बडेको छ , नक्सा लिने कार्य भएको छ, निकट भविष्यमै शालिक निर्माण सम्बन्धि सम्पुर्ण कार्य पुरा हुनेछ ।”
२०७१ पौष २७ गते आईतबार