Tuesday, May 19, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


यस्तो खोत पारामा राहत पाइन्न, राहत पाउन ठुला गाडी, सुरक्षित घर हुनुपर्छ । मागेर ल्याएको राहत विग्रियो भने जिम्मा कसले लिने ? हुँदैन, मिल्दैन राहत दिन हामी आफै सुरक्षित राख्छौं !

२०७२ जेष्ठ ०३ गते आईतबार

नजिकिँदै पहाड र मधेस

गोरखामा भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गर्दै जनकपुरका यूवाहरु ।
अजय अनुरागी
जनकपुरधाम............
गौतम ढुङ्गेल (६०) जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गरि जिविकोपार्जन गरिरहेका छन् । २०१२ सालमा जनकपुरमै जन्मिएका ढुङ्गेल विद्यार्थी  राजनीति देखि नै सक्रिय छन् । गिरिराज मणि पोखरेल अनेरास्ववियूको अध्यक्ष भएका बेला गौतम महासचिव थिए । लिलामणि पोखरेल अध्यक्ष भएका बेला उनी सचिव थिए । एकातिर पोखरेलद्वय अहिले एमाओवादीमा शिर्ष नेताको रुपमा स्थापित छन् भने अर्को तर्फ गौतमले जनकपुरमा पुस्तक पसल संचालन गर्नु परेको छ ।
गौतम ढुङ्गेलका सहोदर ८ जना दाजुभाई मध्ये ७ जना जनकपुरबाट विस्थापित भईसकेका छन् । मधेस मुक्तिको नाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समुहहरुको धम्की मधेस आन्दोलनका दौरान पहाडे समुदायलाई लक्षित गरी गरिएको आक्रमणका कारण उनीहरु पलायन भए । गौतमका दाई केशव ढुङ्गेल जो नेपाली कांग्रेस धनुषाका उपसभापति तथा जनकपुर नगरपालिकाका वडा अध्यक्ष समेत भईसकेका व्यक्ति हुन, उनी पनि अन्ततः पलायन हुनु पर्यो । जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहका एक जना कमाण्डरले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । उनको धम्कीलाई कांग्रेस धनुषाले पनि गम्भीरतापुर्वक लिन नसकेपछि उनी पलायन भए । कांग्रेस भित्रको केही नेताहरु पनि ढुङ्गेल धपाइएपछि आफ्नो राजनीतिक करियर बन्ने ठानेर मौन बसे ।
गौतम ढुङ्गेल भन्छन,“ मेरो पुस्तक पसलमा आगजनी गर्न पनि आन्दोलनकारीहरु आए । तर, घरबेटी प्रमोद झाले मेरो घर जलाउन दिन्न भनेपछि मात्र तिनीहरु फर्किए । अर्को दिन पसलमा ढुङ्गा मुढा गर्न आउँदा कृष्ण झाले  रोकेका थिए ।” ढुङ्गेल थप्छन,“ मधेस आन्दोलन दौरान २२ दिनसम्म कदम चौकको घरमा बाल बच्चा परिवार सहित थुनिएर बस्नुपर्यो । छरछिमेकले तरकारी किनेर ल्याईदिन्थ्यो ।” उनका सबै दाजु भाई काठमाण्डौ पलायन भए पनि आर्थिक अवस्था कमजोर रहेको र पसलबाट हुने आम्दानीले छोरा छोरी परिवार पाल्न सकिने हुनाले गौतम पलायन हुन तयार भएनन् । जे हुन्छ, देखा जाला, मैले कसैको केही विगार गरेको छैन, मलाई मारे पनि नमारे पनि जनकपुर छोडेर जान्न आत्मविश्वासका साथ जनकपुरमै बसेका गौतम ढुङ्गेल अहिले मज्जाले बसेका छन् ।
भुकम्प पीडितमा ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि जनकपुरमा नेपालको नक्सा बनाई मैनवत्ती बालेर प्रार्थना गरिदै ।


ढुङ्गेल परिवार झै जनकपुरमा बर्षौं देखि बसोबास गर्दै आएका पहाडे समुदायहरु जनतान्त्रिकको आतङ्क र मधेस आन्दोलनको क्रममा उच्छङखल व्यक्तिहरुद्वारा भएको आक्रमणका कारण पलायन हुनु पर्यो । जनकपुरमा करिब १७ सय घर परिवार पहाडे समुदायका थिए । थापा चौक, मुर्ली चौक, कदम चौक, भानु चौक, किशोरी नगर, ब्रम्हपुरी, आनन्दनगर, पिडारी चौक, शान्तिनगर, लगायतका चौकहरुमा पहाडे समुदायहरुको बसोवास थियो । १४ सय घर परिवार पलायन भएका छन् । पहाडे समुदायहरुको ३ सय घर जति पनि अब जनकपुरमा नरहेको बताइन्छ ।
जनकपुरका हाइप्रोफाइल व्यक्तिहरु वरिष्ठ अधिवक्ताद्वय लक्ष्मी बहादुर निराला, रामजी प्रसाद मैनाली, जनकपुर चुरोट कारखानाका इन्जिनियर सुन्दर राज वली, जचुकालीकै क्षेत्रिय निर्देशक सुशिल कोइराला विस्थापित हुनु पर्यो । जानकी माविका नेपाली विषयका शिक्षकद्वय केदार नेपाल, दुर्गा प्रसाद कोइराला, गणित विषयका शिक्षक दिलिप माथेमा जस्ता स्थापित शिक्षकहरु जनतान्त्रिकहरुको धम्की थेग्न नसकेपछि काठमाण्डौ सरुवा गराएर पलायन भए । त्यसैगरी ठेरा घर भई बेंगाडावर स्रोतकेन्द्रमा स्रोत व्यक्ति रहेका प्रयागराज काफ्ले पनि अन्ततः घर जग्गा बेचेर पलायन हुनु पर्यो । राराब क्याम्पसका प्राध्यापकहरु इश्वर उपाध्याय, बद्री दाहाल, माधव ढुङ्गाना लगायतले सरुवा गराएर जानु पर्यो ।
त्यसैगरी यहाँ बसेर राजनीति गर्नेहरु एमाले नेता सनत सुवेदी, जनमोर्चा नेपालका धनुषा अध्यक्ष लक्ष्मण सिंह, कांग्रेस धनुषाका उपसभापति केशव ढुङ्गेल लगायत थुप्रै नेताहरु पनि पलायन हुनु पर्यो । नभन्दै जनतान्त्रिक समुहले जनकपुर चुरोट कारखानाका कर्मचारी श्याम श्रेष्ठ नरेन्द्र खाती र आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा कुमार निरौलालाई गोली हानी हत्या नै गरिदिए पछि हिम्मत गरेर बसेका पहाडे समुदायहरुको पलायन हुने क्रम तीब्र गतिमा बढ्यो । घर जग्गा बेचेर पलायन हुन थाल्यो । कतिपय हुने खाने सम्पन्न व्यक्तिहरु राजधानी काठमाण्डौ गए, मध्यमवर्गीयहरु हेटौडा तिर गए भने नहुने व्यक्तिहरु बर्दीवास गौराडाँडा, सिन्धुली लगायत आफन्तहरु बसोवास गरेको थातथलो र पायक पर्ने ठानुतिर मुभ गरे ।
मधेस आन्दोलन र जनतान्त्रिक समुहहरुको धम्की मुख्य कारण त थियो नै तर तिनीहरु पलायन हुनु पछाडी जनकपुरका भु माफियाहरुको षडयन्त्र प्रमुख कारण थियो । त्यस्ता भु माफियामा मधेसी र पहाडे समुदायका व्यक्तिहरु पनि थिए । ती भु माफियाहरुको भुमिगत सशस्त्र संगठनहरुसँग मिलेमतो थियो । उनीहरुले यहाँ बसोवास गर्ने पहाडे समुदायको फोन नम्बर दिएर भुमिगत समुहबाट धम्की दिलाउने, ज्यान जोगाउन भन्दै ती पहाडे समुदायहरु बर्षौ देखि बसोवास गर्दै आएको घर घडेरी कौडीको भाउमा जग्गा बेचेर जानु र अर्को तिर महँगो जग्गा किनेर बसोवास गरेका पहाडे समुदायहरुको पीडा शव्दमा व्यक्त गर्न सकिन्न । पलायन भएका एक जना भन्छन,“ सधै जनकपुरमा बसियो नयाँ ठाउँमा आएर बस्नु पर्दा घुलमिल गर्न धेरै गाह्रो परिरहेको छ । जसो तसो जीवन गुजार्नु परिरहेको छ । जनकपुरको सधै याद आउँछ । माहौल शान्त भयो भनेर सुनेको छु । तर, त्यहाँ अब गएर बसोवास गर्न सकिने सामथर््य छैन । किनभने जनकपुरको जग्गा अब धेरै महँगो भईसक्यो ।”




तत्कालिन स्ववियूका सभापति ज्ञानेन्द्र यादव लगायत ३÷४ जना विद्यार्थी नेताहरुले असुरक्षित बनेका छात्राहरुलाई रेस्व्यु गर्नु परेको थियो । यादव अहिले मधेसी जनअधिकार फोरम नेपाल धनुषाका संगठन विभाग प्रमुख छन् । खास गरी मधेस आन्दोलनका क्रममा विभिन्न मानिसहरु विभिन्न स्वार्थले लागेका थिए केही मानिसहरु मुद्दा प्रति समर्पित थिए, कोही आन्दोलनकै आवरणमा लुट खसोट गर्ने स्वार्थले लागेका थिए । आन्दोलनलाई बदनाम गर्ने प्रवृतिका मानिसहरु पनि लागेको स्वीकार्दै यादव भन्छन,“ आन्दोलनका दौरान कोठा भाडा लिएर वस्ने पहाडे छात्राहरुको अस्मिता नै लुटिने हो कि भन्ने डर त्रास पनि थियो । आम हडतालका कारण सवारी साधन बन्द थियो । छात्राहरुलाई उच्छृङ्खल यूवाहरुले जिस्काउने काम गर्न थाले । अनि हामीले जनकपुर अञ्चल अस्पतालको नसिंङ क्याम्पस, रमदैया स्थित जानकी मेडिकल कलेज र राराब क्याम्पसका पहाडे छात्राहरुलाई रेस्क्यू गरी वर्दीवास, सिन्धुली सहित सुरक्षित स्थान सम्म पु¥यायौं । पहाडे समुदायका पसलहरुमा आगजनी, लुटपाट, घरमा ढुङ्गा मुडाले आक्रमण सबै हुन थाले पछि पहाडे समुदायहरु पलायन भएका छन् ।

जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गर्दै गौतम ढुङ्गेल । मधेस आन्दोलन
 पछि उनका ६ जना दाजु भाई जनकपुरबाट पलायन भईसकेका छन् ।
त्यति हुँदा पनि राष्टिूय पार्टी भनाउने राजनीतिक दलहरुले समेत सुरक्षाको ग्यारेन्टी गराउन नसक्नु, राज्य विफल भएको अवस्था हुनु सर्वदलिय संयन्त्रको वैठकबाट प्रेस विज्ञप्ती समेत जारी नभए पछि उनीहरु अन्ततः पलायन नै हुनु पर्यो ।
जनकपुरधाम पवित्र र्तीर्थस्थल हो र यहाँ मरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास र आस्थाका साथ भारतबाट केही पहाडे समुदाय आएका थिए । त्यसैगरी जनकपुरमा अवसरको खोजीमा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, सर्लाही, सिरहा, उदयपुर, महोत्तरी, सप्तरी लगायतका ठाउँबाट पहाडे समुदाय जनकपुरमा आएर बसोवास गर्ने गरेका थिए । सरकारी कार्यालय काम गर्ने जागिरेहरु जनकपुर सरुवा गराएर आउँदा जनकपुरको राम्रो शैक्षिक अवस्था, शान्तिपुर्ण बातावरण हेरेर जनकपुरमै जग्गा किनी वसोवास गर्ने गरेका थिए ।
जनकपुरमा पहाडे समुदाय र मधेसी समुदायका मानिसहरु बीच एक आपसमा राम्रो सौहाद्र र सम्बन्ध थियो । होली जस्तो पर्वमा पहाडे समुदायहरु तराईमा हुने होली भन्दा एक दिन अगाडी मनाउँथे । सामुहिक रुपमा पहाडे समुदायहरु सडकमा निस्केर होली खेल्थे । एक आपसमा राम्रो सदभाव थियो । त्यसैगरी मधेसीहरुको पवित्र पर्व छठ, चौरचन लगायत पर्वहरु जनकपुरका पहाडे समुदायले पनि मनाउन थालेका थिए ।
तत्कालिन माहौलबाट पहाडे समुदाय जनकपुरबाट पलायन भएपछि सबै भन्दा वढी बेफाइदा जनकपुरलाई नै परेको छ । जनकपुर बजारमा आएको मन्दि अहिले सम्म सकिएको छैन । दशैमा रहने गरेको बजारको रौनक हराएको छ । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह ‘हिरा’ भन्छन,“ पहाडे समुदायसँग क्रय क्षमता थियो । उनीहरु बस्तु किनमेल गर्न कुनै पनि कन्जुस्याई गर्दैन्थे । उनीहरु पलायन भएपछि महिनामा मात्रै १ करोड भन्दा वढी रकमको व्यापारमा नोक्सानी भईरहेको छ ।” हिरा भन्छन,“ थापा चौक स्थित सनत सुवेदी, नारायण सुवेदीको घरमा जाँदा कहिले पनि उनीहरुले मेरो नाउँ लिएर बोलाएनन् । छोरा आयो, बस्न देऊ, खाजा देऊ भनेर सेल र अनर्सा खुवाउने गरेको बाल्यकालको स्मरण कहिल्यै विर्सन सकिन्न ।” मधेस आन्दोलनका दौरान केही उच्छृङ्खल व्यक्तिहरु धमिलो पानीमा माछा मार्ने उद्देश्यले परिचालित भएका थिए ।
 पहिचान र अधिकारको लागि भएको दुई पटकको मधेस आन्दोलनको उद्देश्य सहि भएपनि आन्दोलनलाई बदनाम गराउन घुसपैठ भएका व्यक्तिहरुको आपराधिक हरकत र भु माफियाहरुको पैसा कमाउने स्वार्थका कारण जनकपुरको पहाडे समुदायहरु पलायन भईसकेपछि जनकपुरमा मिश्रित संस्कृतिको प्रष्ट अभाव झल्किन्छ । हुन त मधेस आन्दोलनमा जसरी घुसपैठ भयो त्यसैगरी पहाडे समुदायहरुको हकहितको लागि भनेर गठन गरिएको चुरे भावर राष्टिूय एकता पार्टीको पनि हिंसात्मक प्रतिकारले ढल्केवर, लालगढ, वर्दीवास, हरिवन जस्ता राजमार्गहरुमा मधेसी समुदाय निशानामा पर्यो । जसकारण मधेसी र पहाडी बीचको सदभाव झन खलबलिन आगोमा घ्यू थप्ने काम गर्यो ।
जनकपुरवासी अहिले आएर पहाडे समुदायहरुको बसोवासको महत्व राम्ररी बुझेका छन् । जनकपुरबाट पहाडेहरु पलायन के भए जनकपुरमा शैक्षिक माहौल पनि पलायन भयो । परिणाम स्वरुप अहिले जनकपुरबाट करिब १ हजारको हाराहारीमा विद्यार्थीहरु माध्यमिक शिक्षा लिनका लागि सिन्धुलीमा अध्ययनरत छन् । उच्च शिक्षा आर्जन गर्न अहिले विद्यार्थीहरु काठमाण्डौ वा अन्य ठाउँमा जान बाध्य छन् । जब कि पहिले विद्यार्थीहरु अन्य जिल्लाहरुबाट पढ्नकै लागि जनकपुरको राराब क्याम्पस आउँथे ।
त्यसैपनि ऋितिक रोशन काण्डले गर्दा देशैभरी मधेस र पहाड बीच साम्प्रदायिक दंगा भडकेको प्रसंग र नबलपरासी, कपिलबस्तुमा मधेसी समुदाय प्रति भएको हिंसाले मधेस आन्दोलनमा सदभाव विगार्न उत्प्रेरकको रुपमा काम गरेको थियो । काठमाण्डौको सिंहदरवारमा विगत सदियौं देखि सत्ता चलाउनेहरुले मधेस माथि गरेको भेदभाव र अन्यायका विरुद्ध भएको स्वस्फुर्त मधेस आन्दोलनको लक्ष्य पहाडी समुदायलाई भगाउने, विस्थापित गराउने वा पलायन गराउने विल्कुलै थिएन ।
लामो समय पछि सम्बन्धमा सुधार आउन थालेको भएपनि अब बन्ने नयाँ संविधानमा राज्यको पुनसंरचना र विभाजन, प्रदेशको नामाङ्कन, सिमाङ्कन लगायतका विषयलाई लिएर फेरी पनि पहाड र मधेस बीचको दुरी बढ्न थालेको थियो । खासगरी राजनीतिक दलका नेताहरुले पुर्वी तराईको झापा, मोरङ्ग, सुनसरी र पश्चिमी तराईको कञ्चनपुर र कैलाली लगायत ५ जिल्लाहरुको विषयमा अत्यन्तै गैरजिम्मेवार, गैरसम्बेदनशिल अभिव्यक्ति दिएपछि पहाडे र मधेसी समुदाय बीच तिक्तता उत्पन्न भएको थियो । अर्को तर्फ बन्दुक बोकेर विद्रोह गरेका जयकृष्ण गोइतको हिंसात्मक विद्रोह र सिके राउतको अलग देश सहितको अलगाववादी शान्तिपुर्ण अभियानले गर्दा पनि पहाडे समुदायले मधेसी समुदायलाई विखण्डनबादी, देशद्रोही सम्मको आरोपहरु लगाउन थाले । खासगरी सत्ता चलाउने राजनीतिक दलहरुले जनता जनता बीच विभाजन ल्याउन र शासन गर्न भुमिका खेल्ने गरेको पाइन्छ ।
१२ बैशाख अघिसम्म मधेस र पहाड बीचको लडाई चरमसम्म पुगिसकेको थियो । संघियताको सवालमा दुवै समुदाय बीच अविश्वास वढ्दै गएको थियो भने दुरी पनि झन झन वढ्दै गइरहेको थियो । तर, १२ बैशाखमा आएको महाविनाशकारी भुकम्पले गर्दा राजधानी काठमाण्डौ लगायत पहाडका जिल्लाहरुमा  भिषण मानविय क्षति, धनको क्षति भएपछि मधेसमा बस्ने हरेक नागरिकहरुको मन रोयो । पहाडे समुदायहरुको आँखाबाट आँशु बगेको देख्दा हरेक मधेसीको आँखाबाट पनि आँशु आयो । जनकपुरले विपतमा परेका पहाडे समुदायहरुलाई राहत संकलन  गरी भुकम्पले प्रभावित भएका जिल्लाहरु गोरखा, काभ्रे, सिन्धुपालचौक, रामेछाप, दोलखा, सिन्धुली र काठमाण्डौ समेतका स्थलहरुमा पुगेर राहत वितरण गरेका छन् ।
जनकपुरका विभिन्न संघ संस्थाहरुद्वारा महाभुकम्प प्रभावित क्षेत्रहरुमा करिव १ करोड भन्दा वढी मुल्य बराबरको राहत सामग्रीहरु वित्तरण गरेका छन् ।
    गत सोमवार नेपाली काँग्रेस धनुषा, रामानन्द युवा क्लव र पिराडी युवा क्लवले भुकम्प प्रभावित दोलखाको सदरमुकाम चरिकोटमा करिव पाँच लाख मुल्य बराबरको राहत सामाग्री वित्तरण गरेका छन् । रामानन्द युवा क्लवका पुर्व अध्यक्ष जिवनाथ चौधरीका अनुसार भुकम्प पिडितहरुका लागि १० क्विन्टल चामल, १० क्विन्टल च्युरा, २ यस कार्टुन पानी, त्रिपाल, कपडा, सावुन लगायतका राहत सामग्रीहरु वित्तरण गरिएको छ । त्यस्तै, जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर औधषी व्यवसायी संघ, जनकपुर सर्जिकल व्यवसायी संघ ,जनकपुर युथ डेभल्पमेन्ट फोर्स,  नेपाल भारत युवा मैत्रि संघ ,मारवाडी सेवा समिति जनकपुर , राष्टिूय मधेश समाजवादी पार्टीका भातृ संगठन युवा लिग र समाजवादी विद्यार्थी संघ लगायतका संघसंस्थाहरुले राहत सामग्री संकलन गरी भुकम्प प्रभावित जिल्लाहरुमा वित्तरण गरेका छन् ।
त्यस्तै, आफन्त नेपाल धनुषाधाम, जानकी आँखा अस्पताल, सन्त निरांकारी संघ धनुषा शाखा  लागायतका संघसंस्थाहरुले पनि राहतका सामाग्रीहरु संकलन गरि वित्तरण गरेको छ । जिल्ला विकास समिति धनुषाका कार्यरत समाजिक परिचालकहरुले आफ्ना पाँच दिनको तलव भुकम्प पिडितहरुको लागि दिने घोषणा गरेको छ । त्यस्तै, धनुषाका निजी विद्यालयहरुका छाता संठगठन प्याबशन र एन प्याबसनले समेत प्रति विद्यालय १० देखि २० हजारको दरले भुकम्प पिडितको लागि रकम संकलन गरिरहेको छ । प्याबशन धनुषाका पुर्व अध्यक्ष महेश मण्डलले विद्यालयहरुबाट रकम संकलनको कार्य जारी रहेको बताए । जिल्लामा करिव एक सय जति संस्थागत विद्यालयहरु छन् । 
  नेपाल भारत युवा मैत्रि संघका महासचिव कृष्णा सिंहले भुकम्प पिडितहरुको लागि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई राहतको सामग्री बुझाउँदै भने,‘ हामी नुनदेखि सुन सम्म दिन तयार छौं, चिन्ता नलिनुस्, तपाईहरुलाई चाहिने हरेक सामग्री हामी उपलब्ध गराउन तयार छांै ।’जेवाईडिएफका  सदस्य ज्ञानेन्द्र झा ज्ञानु भन्छन,“ पहाडको पिडा हाम्रो पनि पिडा हो, उहाँहरुको पिडामा हामी मल्हम लगाउन आतुर छांै, राजनीतिकर्मिले आफ्ना रोटी सेक्न जे जस्तो हावा दिएपनि यस्तो विपत्तिको वेलामा हामी आफ्ना दाजुभाईलाई एक्लै छाडन सक्दैनांै ।” तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य समेत रहेका कृष्णा सिंह भन्छन,“हामी पहाडका विभिन्न जिल्लाहरुमा राहत लिएर पुग्यौं । सबै ठाउँमा हामीले अत्यन्तै पीडामा रहेका पहाडी समुदायहरुलाई मद्दत गर्न हरसम्भव प्रयास गरिरहेका छौं ।” सिंह फेरी थप्छन,“राष्टू निर्माण गर्ने यो नै उचित समय हो । हामी त्यहाँ पुग्दा उहाँहरुले पनि राम्रो सम्मान दिनु भयो । अहिले सहि हिसावले नेतृत्व र कर्मचारीतन्त्र अगाडी वढ्यो भने साँच्चै राष्टू निर्माण हुनेछ । किनभने अहिलेसम्म सहि अर्थमा राष्टू निर्माण नै भएको छैन ।”
        तसर्थ नेपालको लागि यो भुकम्पले विनाश ल्याएपनि नेपाल भित्र बसोवास गर्ने पहाडी, मधेसी र हिमाली जनताहरुलाई हामी पहिले नेपाली हौं र नेपालमा बस्ने हरेक नागरिक दाजु भाई तथा दिदी बहिनी हौं भन्ने अवसर समेत जुटाएको देखिन्छ । जसरी कोशीमा वाढी आउँदा पहाडबाट राहत आउँछ र पहाडमा भुईचालो जाँदा मधेसबाट सहयोगी हातहरु अगाडी बढ्दैछन्, राष्टू र राष्टिूयता समेत बलियो भएर जाँदैछ । तर, सत्ता हाँक्ने व्यक्तिहरुले कुनै पनि जनतालाई जाती, भुगोल वा नस्लका आधारमा भेदभाव गर्न छोड्नुपर्ने हुन्छ । अनिमात्र नयाँ नेपालको निर्माण हुनेछ ।



२०७२ जेष्ठ ०३ गते आईतबार

फेरी उठ्दैछ आस्थाको ‘परशुराम प्रतिमा’


परशुराम कुण्ड स्थित भगवान परशुरामको ५१ फिटको 
प्रतिमा मंगलबार आएको भुकम्पमा ढलेको छ ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी पर्साका जगदीश राम भक्कानिदै थिए । त्यत्रो श्रम लगाएर बनाएको उनको रचना प्रकृतिले ध्वस्थ बनाइदिएको थियो । एक दिन वा एक महिना होइन निरन्तर ६ महिना लगाएर बनाएको भगवान परशुरामको ५१ फिटको मुर्तीको प्रतिमा नेपालमा आएको महाविनाशकारी भुकम्पले ढालेको थियो । धनुषाको मिथिलेश्वर निकास ४, पुरन्दाहा टोल स्थित ऐतिहासिक तथा पौराणिक स्थल परशुराम लगाउको डीलमा ५१ फिटको  परशुरामको प्रतिमा उनले बनाएका थिए । १२ बैशाख २०७२ का दिन आएको भुकम्पको कम्पनले उक्त प्रतिमाको दुवै खुट्टा क्रयाक भएको थियो । तर, २८ बैशाख मंगलबारका दिन आएको अर्को ठुलो भुकम्पले प्रतिमालाई पुर्णतः ढालिदियो । झनै सम्मको जगदीशको प्रयासपछि निर्मित आस्थाको प्रतिमा ढलेपछि उनी दैवलाई सम्झिरहेका थिए । हुन त यस अघि उनले धेरै भगवानहरुको प्रतिमा नवनाएको पनि होइन । भगवान परशुरामको प्रतिमा बनाउनु अघि उनले धनुषाको टुटेश्वरमा १८ फिट उचाई रहेको भगवान बजरंगबलीको, सर्लाहीको कान्छि बजार पररियामा १४ फिटको भगवान हनुमानजीको, दोलखा चरिकोटमा १० फिटको हनुमानजीको प्रतिमा उनले बनाएका थिए । त्यसैगरी सर्लाहीको हरिपुरवामा १० फिटको बजरंगबलीको, धनुषाको इनर्वामा मण्डपको मुख्य प्रवेशद्वार लगायत थुप्रै प्रतिमाहरु उनले बनाईसकेका थिए । उनले बनाएका सबै प्रतिमाहरु एक से एक आकर्षक र मनमोहक छन् । तर, भगवान परशुरामको प्रतिमा उनको लागि नै ठुलो चुनौती थियो । र, उनले त्यो चुनौतीलाई स्वीकार गर्दै अन्ततः बनाए पनि । नभन्दै, अदभुत प्रतिमा पनि बन्यो । उक्त प्रतिमा हेर्ने जो कोही पनि मुर्तीकारको कला र समर्पणलाई धन्यवाद दिन्थे । महाभुकम्पले मानौं त्यो प्रतिमालाई ढालेन, मुर्तीकारको जीन्दगी नै ढालिसकेको थियो । उनको आश मरिसकेको थियो । तर, सकारात्मकक कुरा के हो भने मुर्तीकारको निराशलाई आशामा रुपान्तरण गर्न मुर्ती बनाउन लगानी गर्ने दाता किशोरी साहले फेरी त्यो आस्थाको प्रतिमा बनाउने बचनवद्धता व्यक्त गरेका छन् । सोकमा डुवेको मुर्तीकार जगदीसको बल्ल ज्यानमा ज्यान आएको छ । मुर्तीकार राम भन्छन,“जसरी मैले बनाएको प्रतिमा ढल्यो र दाता किशोरी साहले फेरी बनाउन लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्, ठीक त्यसैगरी म पनि पहिलेको मुर्ती भन्दा पनि आकर्षक र झन मनमोहक प्रतिमा बनाउन कुनै कसर बाँकी राख्ने छैन ।”
कसरी बन्यो भगवान परशुरामको प्रतिमा ?
धनुषा रधुनाथपुर ४ तथा हाल जनकपुर उपमहानगरपालिका १४ का किशोरी साह ‘कमल’ पेशाले निर्माण व्यवसायी हुन् । कमल निर्माण सेवा प्रा.लि. फर्मका उनी सञ्चालक हुन । व्यवसाय सँगै उनी राजनीतिमा पनि सक्रिय छन् । नेकपा एमालेको धनुषा जिल्ला कमिटिका सदस्य तथा एमाले भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनका केन्द्रिय सदस्य पनि हुन । ३ बर्ष अघि धनुषाको इनर्वामा सीताराम नामक यज्ञ गराउन उनको भुमिका अहम थियो । उनले यज्ञका लागि आर्थिक लगानी पनि गरेका थिए । यज्ञकै क्रममा उनको भेट एक जना ‘मौनी बाबा’ सँग भयो । मौनी बाबा ती साधु हुन जो विगत ३३ बर्ष देखि मौन धारण गरेका छन् भने १२ बर्ष सम्म उभिएर बसेका कारण उनलाई ‘ठरहेसरी बाबा’ पनि भनिन्छ । ती मौनी बाबाले परशुराम तलाउमा भगवान परशुरामको प्रतिमा बनाउने उद्देश्यले शिलान्यास कार्य सम्पन्न गरेको १ बर्ष वितिसक्दा पनि प्रतिमा बन्न सकिरहेको थिएन । बाबाले प्रतिमा बनाईदिन किसोरीलाई भने । अनि कति लागत लाग्न सक्छ जवाफ दिए पछि प्रतिमा बनाउन किसोरी सहमत भए ।
किसोरीले रड, सिमेन्ट, वालुवा, गिट्टी लगायतका निर्माण सामग्रीहरु पठाउन थाले । किसोरी भन्छन,“ १५÷२० फिट सम्म उचाईको प्रतिमा बन्ने भनिएको थियो । यत्रो हेभी प्रतिमा बन्नेछ भन्ने कुरा मैले कल्पना सम्म गरेको थिइनँ ।” पुल चौक इन्जिनियरिङ क्याम्पसबाट सिभिल डिप्लोमा इन्जिनियरिङ समेत गरेका साहले गल्ती के भयो भने उनी आफै गएर प्रतिमा बनिरहेको स्थलमा गएर प्राविधिक कुराहरु हेर्न भ्याएनन् । प्रतिमाको खुट्टामा १२ एमएमको ८ वटा र १६ एमएमको ४ वटा गरी दुवै खुट्टामा २४ वटा रड मात्र लागेको थियो । जवकी त्यसमा २५ वा ३० एमएमको रड प्रयोग हुनु पर्ने थियो । इन्जिनियरिङ डिभाइन नै बनाइएको थिएन । मौनी बाबाको रोहवरमा मिस्तिरीहरुको सुझाव अनुसार मात्र बनाइनु ठुलो गल्ती थियो । दाता साह भन्छन,“ उत्तर र दक्षिण तर्फ बनाइएको प्रतिमा, उत्तर दक्षिण दिसा तर्फ भएको पहिलो भुकम्पले खुट्टा क्रयाक भएपछि नै मलाई प्राविधिक कमजोरी भएको अनुभुति भईसकेको थियो । त्यसमा पनि जुन क्वालिटीको सिमेन्ट प्रयोग हुनु पर्ने थियो त्यो पनि भएन र सिमेन्ट, वालुवाको जुन अनुपातमा मिश्रण हुनु पर्ने थियो त्यो पनि भएन ।”
उक्त मुर्ती बनाउन र रंग रोगन गर्दा सम्म २४ लाख रुपैयाँ लगानी भईसकेको थियो भने ५ लाख रुपैयाँको रेलिङ लगाउन लगत अनुमान गरिएको थियो संयोग पनि कस्तो रह्यो भने भगवान परशुरामको जन्म ज्यन्तीको अवसर पारेर ८ बैशाख २०७२ का दिन अनावरण गरिएको उक्त प्रतिमा ४ दिन पछि आएको भुकम्पमा क्रयाक भयो ।
२८ बैशाख दिन आएको भुकम्पबाट प्रतिमा ढल्यो भन्ने खबर मौनी बाबाका शिष्य मार्फत पाए लगत्तै किसोरी सबै काम छोडेर परशुराम तलाउ हानिए । त्यहाँ पुग्दा ढलेको उक्त प्रतिमानिर पुगेका स्थानीय वासीहरु रोइरहेका उनले देखे पछि उनको आँखाको आँशु पनि थम्न सकेन । स्थानीयवासीहरुको मनोवल गिरेको थियो । अनिष्ठ भयो, अपसगुन भयो, भगवान परशुरामकै प्रतिमा ढल्नुले अब यहाँ ठुलै अनिष्ठ हुने हो कि भन्ने डर त्रासमा रहेका स्थानीयवासीलाई सम्हाल्दै किसोरीले भने,“ यसमा अपसगुन वा अनिष्ठको कुरा केही पनि छैन । प्रतिमा भुकम्प प्रतिरोधात्मक थिएन । क्वालिटीमा कमजोरी थियो । देशैभरी भुकम्पले लाखौं घर ढलेका छन् । हजारौं मान्छे मरेका छन् ।” सान्तवना दिँदै उनले थपे,“ विगतको गल्तीबाट मैले पनि ठुलो पाठ लिएको छु । तपाईहरुको आस्थाको प्रतिमालाई फेरी पनि उठाउँछु । आउँदो एक बर्ष भित्र परशुराम ज्यन्तीको अवसरमा इन्जिनियरबाट डिजाइन गराई भुकम्प प्रतिरोधात्मक बलियो प्रतिमा बनाई अनावरण गर्नेछु ।”
परशुराम तलाउलाई परशुराम कुण्ड पनि भन्ने गरिन्छ । धार्मिक र पौराणिक स्थल हुँदा हुँदै पनि जिल्लामा समेत धार्मिक पर्यटकिय गणतव्यको पहिचान बनेको थिएन । तर, उक्त प्रतिमा बनेपछि एउटा नयाँ पहिचान मात्र बनेको थिएन, प्रतिमा हेर्न र कुण्डमा पुग्न दिनहुँ सैकडौं पर्यटकहरु पुग्न थालिसकेका थिए । तीर्थाटन गर्न जनकपुर आउने पर्यटकहरु ‘धनुषाधाम’ दर्शन गर्न जाँदा बाटोमै पर्ने उक्त कुण्डमा पर्यटकहरु रुक्ने गर्थे । मुर्ती अनावरण हुँदा भएको यज्ञमा मात्रै दिनहुँ करिब २५ हजार सम्म श्रद्धालु भक्तजनहरु पुगेका थिए ।
प्रतिमा अनावरणको राजनीति
परशुराम प्रतिमा बनाउने दाता किशोरी साह ।
परशुरामको प्रतिमा वनिसकेपछि अनावरणका लागि राजनीति सुरु भयो । उदघाटन हुनु ६ महिना अगाडी देखि नै को द्वारा मुर्ती उदघाटन गराउने विषयलाई लिएर स्थानीयवासीहरु विभाजित भए । धनुषा क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका निर्वाचित सभाषद डा.चन्द्रमोहन यादवले आफ्नो संसदीय विकास कोषको १० लाख रकमबाट जिविस मार्फत टेन्डर गराउने र त्यस क्षेत्रको विकास गराउने घोषणा गरेका थिए । त्यसैले केही मानिस चन्द्रमोहनबाट उदघाटन गराउनु पर्छ भन्ने तर्क राखेका थिए । अर्को तर्फ परशुराम कुण्डमा विद्युत आपुर्ती गराउन भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको अहम भुमिका रहेको भन्दै केही मानिस मन्त्री निधिबाट उदघाटन गराउने भनिरहेका थिए । त्यसैगरी एमाले नेता रघुवीर महासेठ सिंचाई मन्त्री भएको बेला परशुराम कुण्डको तटबन्ध गर्न बोल्डर, जालीको काम गराउनुका साथै बजेट समेत दिलाएको भन्दै महासेठ मार्फत नै उदघाटन हुनु पर्छ भनेर अड्डी कसेपछि उदघाटनका लागि त्रिकोणीय राजनीतिक द्वन्द्व सुरु भयो । स्थानीयवासी विभाजित भए । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने उक्ती झै स्थानीय वासीहरुले ८ गते महासेठ, ९ गते मन्त्री निधि र १० गते सभाषद यादव मार्फत उदघाटन गराए । महासेठले औपचारिक रुपमा उदघाटन गरे भने, मन्त्री निधिले यज्ञशालाको पूजा गरे भने यादवले यज्ञको सुरुवात गरे ।
    तर, भुकम्पबाट प्रतिमा ढलेपछि उदघाटनका लागि आतुर ती तिनजना नेता मध्ये अहिले सम्म कोही पनि पुगेका छैनन् । धन्यवाद भन्नु पर्छ ती दाता किसोरी साहलाई जसले पुनः लगानी गरेर प्रतिमा बनाउने बचन दिएका छन् ।
हुन पनि साह समाजसेवी चरित्रका मानिस देखिन्छन् । २०६१ सालमा धनुषाधाम गाविसको गौरीपुर सडकमा करिब ५÷६ लाख रुपैयाँको लागतमा २ किलोमिटर कच्ची सडक साहले बनाइदिएका छन् । साउन महिना र कार्तिक पुर्णिमाका दिन हजारौं श्रद्धालु भक्तजन जम्मा हुने सिरहाको उतरैनीमा उनले इनार वनाईदिएका छन् । उतरैनी त्यो ढाडै हो जहाँबाट जल भनेर टुटेश्वरमा महादेवको शिवलिङ्गमा अर्पण गरिन्छ । तर, त्यो ठाउँमा भक्तजनहरु कमला नदीकै पानी खान बाध्य थिए । २०६८ साल तिर किशोरीले करिब ३ लाखको लागतमा ३०÷४० फिट गहिरो इनार खनाएका छन् ।
किसोरी आफै एसएलसी उत्तीर्ण भएको फकिरचन्द्र गामी उच्च माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको लागतमा सरस्वती मन्दिर वनाईदिएका छन् । त्यसैगरी विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि उनले लगानी गर्दै आएका छन् ।
धन सबैले कमाउँछन् तर दान गर्ने परिपाटी विलकुलै नरहेको समयमा किसोरी जस्ता दाताहरुको जय होस् र, समाजको विकासका लागि एक होइन हजारौं दाताहरु अगाडी आउनु प्रेरित हुनु पर्दछ ।
पौराणिक महत्व
रामायणकालीन समयमा जति पनि आतातायी राजाहरु हुन्थे तिनको संहार ‘परशु’ फर्सा र धनुषले गर्ने गर्थे । देवाशुर संग्रामको समयमा भगवान विश्वकर्माले ‘पिनाक’ र ‘वैष्णवी’ गरी २ वटा धनुष निर्माण गर्नु भएको थियो । ‘वैष्णवी’ धनुष लिएर भगवान परशुरामले आतातायी राजाहरुको संहार गर्नु हुन्थ्यो भने ‘पिनाक’ भगवान महादेवले बोक्नु हुन्थ्यो । ‘पिनाक’ र ‘वैष्णवी’ जोडा धनुष थियो । ती दुवै धनुष तत्कालिन समयका लागि ठुलो क्षेत्यास्त्रको रुपमा थियो । साहित्यकार अवधेष पोखरेल भन्छन,“ तत्कालिन समयमा आतातायी असुरहरुको नजरबाट बचाउन भगवान शिवले मिथिलाका राजा जनकको पुर्वज देवरातलाई जिम्मा लगाउनु भएको थियो । किन भने त्यस बेला मिथिला असुरहरुको प्रभाव नरहेको भुमी पथर््यो ।”
    पिनाक धेरै जटिल र विशाल थियो । जसलाई आम मानिसले उठाउन सक्दैनथ्यो । उठाउन अघि पिनाकको पूजन हुन्थ्यो । तर, राजा जनककी छोरी सीताले त्यो पिनाकलाई हटाएर सरसफाई गर्ने र त्यो ठाउँमा फेरी राखिदिने गरेको देखेपछि राजा जनकलाई सीतामा दैवी गुण छ भन्ने अनुभुति भयो । अनि सीताको विवाह पनि देवपुरुष सँग नै हुनु पर्छ भन्दै त्यो पिनाकमा प्रत्यन्चा चढाउन सक्ने व्यक्ति सँग सीताको विवाहका लागि उनले स्वयम्बर रचे । उक्त स्वयम्वरमा आएका थुप्र्रै वीर योद्धाहरु पिनाकमा प्रत्यन्चा चढाउन त के हल्लाउन पनि सकेनन् । तर, भगवान रामले प्रत्यन्चा चढाउँदा पिनाकको ती टुक्रा भयो । एउटा टुक्रा खसेको ठाउँलाई धनुषसागर भनिन्छ र अर्को टुक्रा खसेको ठाउँ धनुषाधाम भयो भने तेस्रो टुक्रा आकाशमा गएको बताइन्छ । साहित्यकार पोखरेलका अनुसार त्यो बेला दिव्यास्त्र जान्ने व्यक्ति दुई जना मात्र थिए । भगवान परशुराम र विश्वामित्र । परशुराम विश्वामित्रको नातीको नातामा पर्थे । राजा भएपछि आतातायी राक्षसहरुको संहार गर्ने शर्तमा विश्वामित्रले रामलाई दिव्यास्त्रको ज्ञान दिएका थिए । वैष्णवी र पिनाक धनुष कसरी उठाउने, कसरी प्रत्यन्चा चढाउने भन्ने ज्ञान रामलाई विश्वामित्रले दिएका थिए ।
दुर्दम्नीय दुर्जेय मनचिन्ते गतिशिलतामा परशुराम पिनाक कसले भाँच्यो भनेर क्रोधित हुँदा मिथिला आए । सीतालाई लिएर अयोध्या प्रस्थान गर्नै लाग्दा परशुराम  रामको अगाडी उभिए । शिव धनुष पिनाक कसले भाँच्यो भनेर रिसले आगो भएका परशुरामले प्रश्न गर्दा राजा दशरथ बेहोस नै भए भन्दै साहित्यकार पोखरेल भन्छन,“ लक्ष्मणले प्रतिरोध गर्न लाग्दा रामले विनयी स्वरमा मैले प्रत्यन्चा चढाउन लाग्दा भाँचिएको जवाफ दिए । अनि तिमीले नै भाँचेको हो भने पिनाकको जोडा वैष्णवी धनुषमा प्रत्यन्चा चढाएर देखाउ भने । रामले वैष्णवीमा पनि प्रत्यन्चा चढाए पछि सायद राम अवतार भईसक्यो भन्ने अनुभुति परशुरामलाई भयो ।”
    पोखरेलका अनुसार परशुरामको रिसलाई शान्त गर्न विश्वामित्रले सुझाएको कुन्डमा नुहाएकाले त्यो कुण्डलाई परशुराम कुण्ड भनिन्छ । परशुराम कुण्डमा नुहाएर शान्त भएका परशुराम पछि महेन्द्र पर्वतमा तपस्याका लागि गए ।


२०७२ जेष्ठ ०३ गते आईतबार

पहाडको घाउमा मधेसले मल्हम लगाउनु आवश्यक : भवेश मिश्र

भवेश मिश्र
नयाँ वर्ष २०७२ को उपलक्षयमा सम्पूर्ण नेपाली जनताहरु एक आपसमा शुभकामना साटासाट गर्दै थिए । तर शुभकामना अनि खुसियालीको माहौल नसकिदै २०७२ साल बैशाख १२ गते दिउँसो ११ः५८ बजे महा विनासकारी भूकम्प गयो । जसको प्राविधिक मापन ७.९ रेक्टर स्केलको भनियो । जसले गर्दा नेपाल अनि नेपाली जनताको अपूर्णिय क्षति भयो । अहिले सम्म ८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको र यो क्रम जारी नै रहेको कुरा सर्वविदीत नै छ ।
उक्त दिन आएको भूकम्पको धक्का प्रत्येक नेपाली चाहि त्यो धनि होस वा गरिब , बाहुन होस वा दलित, पहाडी होस वा मधेशी सबैले आ( आफनो विभिन्न अनुभवका साथ महसुस गरेका थिए । सोही धक्का महसुस गरेका मध्ये म पनि एक थिए । धेरै भाग्यमानी मध्ये म पनि एउटा छु भन्ने भयो । तर राजधानी लगायत मध्य पहाडी जिल्लाहरु पुर्ण रुपले क्षतिग्रस्त भयो । भूकम्पमा बाँच्नेहरु त बाँचे तर बाँच्ने अधिकाँसमा पिडा अनि डर त्रासले आफनो डेरा जमायो । शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्र बढि प्रभावित भयो । भारत ,चीन, पाकिस्तान लगायत दर्जनौ मूलुकका उद्धार टोली नेपाल प्रवेश गरि उद्धारको कामलाई युद्ध स्तरबाट गर्न थाले । अरु दैविक विपती भन्दा यो विपति अलि फरक महसुस भयो । तराईको सहर जनकपुर पनि यसबाट अछुतो रहेन । तर क्षति भने न्यून नै रहयो । आफनौ देशको पहाडी जिल्लामा ठुलो क्षतिको समाचारले मन खिन्न बनायो । मृतकको तथ्याङक अनि आफ्नो आफ्mन्त, इस्ट( मित्रको सम्पर्क विहिनताले मनमा अनेक प्रश्नहरु उब्जी रहेको  थियो । तर समय डर त्रासमा बस्ने थिएन । मनलाई शान्त पार्दै भूकम्प पिडितको उद्धार अनि राहतको लागी कटिबद्ध भएर लाग्ने साहस जाग्यो । तत्कालै जनकपुरमा रहेको जे.वाई.डी.एफ जनकपुर यूथ डेभलोपमेन्ट फोर्सका साथीहरु संग मिलेर राहत संकलन तिर केन्द्रित भए । दुई दिन लगाएर जम्मा गरिएकोृ संकलनबाट राहत सामग्री सहित म जे.वाई. डि. एफका साथीहरु संगै भूकम्प गएको चौथौ दिन नै अर्थात मंगलवार गोरखाको लागी प्रस्थान गरे । काठमाण्डौबाट टाढाको जिल्ला गोरखा जाने निर्णय त्यस बेला आवश्यत्ताको हिसाबले सहि थियो ।
त्यति बेला सम्म नेपाल सरकारले एकद्धार प्रणली लागु गर्ने निर्णय गरिसकेको थियो ।अर्थात राहतकर्मीले राहतका सम्पुर्ण समानहरु सरकारलाई बुझाउनु पर्ने अनि पछि सरकारले त्यसलाई आफनो ढङ्गले वितरण गर्ने तर हामीले सो निर्णयलाई अस्विकार गर्दै सिधै पिडित सम्म राहत पुरयाउने जमर्काे गर्याै । जनकपुरका युवाहरुको जमातले एक टूक राहत सामग्री गोरखाको ताप्ले गाविसमा पुरयायौ । जनकपुरबाट राहत पुरयाउने पहिलो टोली नै बन्यौ । राहत वितरण गरेर फर्केको बेला म लगायत जे. वाई. डी एफ का सम्पूर्ण सदस्यहरु अत्यन्तै  हर्षित थिए । सायद धेरैले त्यो अनुभव पहिलो चोटी महसुस गरेको भएर होला । कोशी बाढि पिडितको राहत वितरण पछिको त्यो मेरो दोस्रो अनुभव थियो । दुई दिन पछि गोरखा बाट हामी सबै फर्किसकेका थियौं । मेरो मनमन कता कता अधुरो पन महसुस भईरहेको थियो । राहत वितरणको ईच्छा अझैं नपुगेको जस्तै भयो । त्यतिकैमा राहत वितरणका लागी एउटा अर्काे  टोली बन्यो जसको नेतृत्व म आफैले गर्ने मौका पाए । मेरो मामाको छोरा जो अष्टेूलियार्को    अपस्किल’ कम्पनीमा काम गर्नु हुन्छ । वहाँकै कम्पनीको आर्थिक सहयोग अनि राष्टिूय मधेश समाजवादी पार्टीको भातृ संगठनहरु समाजवादी युवा लिग अनि समाजवादी विद्यार्थी संगको सहकार्यमा पुनः एक पटक राहत वितरण गर्ने कार्यक्रम बन्यो । समाजवादी युवा लिगको राष्टिूय उपाध्यक्षको हैसियतले सो कार्यक्रमका नेतृत्व गर्ने अवसर प्राप्त भयो । गोरखाबाट फर्केको भोलि पल्टै फेरी त्यही जोश र जागरका साथ एक मिनी टूक सामग्री लिएर पुनः गोरखा जिल्लाकै लागी प्रस्थान गरे । यस पालिका हाम्रो गन्तव्य थियो गोरखा जिल्लाको धेरै नै विकट गा.वि. स धानच्चोक सदरमुकामबाट ३२ कि.मि टाढा थियो । सो गाउ १२ किलो भन्ने ठाउबाट  २२ कि.मि भित्र झयालाफाँट भन्ने ठाउसम्म मात्र हाम्रो मिनी टूक पुग्यो ।
त्यस ठाउँ बाट टेूक्टरमा सबै समान लोड गरेर हामी सो गाउँको वार्ड नं. १,२ र ३ भिलिङ्ग अनि मार्था गाउँ पुग्यो । ४ घण्टाको अति नै जोखिम पुर्ण टेूक्टरको यात्रा पछि हामी उत्त गाउँ पुग्न सफल भएका थियौ । उक्त गाउँ पुग्नु भन्दा अधिल्लो राती  हामी भूकम्प पिडितहरुकै शिविर नजिकै बास बसेका थियौ । अधिल्लो दिन उक्त गाउँ पुग्दाको दृश्य एकदमै कहाली लाग्दो थियो । गाउँको एउटा घर पनि बांकी थिएन । सम्पूर्ण घरहरु पूर्ण रुपमा क्षतिग्रस्त थियो । राहतको नाममा सेनाले हेलिक्पटरबाट झारेको ४ वटा त्रिपाल अनि तीन बोरा चामल मात्र पुगेको अवस्थामा थियो । भूकम्प गएको आठौं दिन सम्मको हालत थियो त्यो । हामीले तिनै वाडको १६५ घर धुरीलाई १० दिन सम्मको लागी पुग्ने सम्पूर्ण समानहरु त्रिपाल, चामल, दाल, च्यूरा, दालमोढ, चाउचाउ, बिस्कुट , मस्यौरा, साबुन , खाने तेल, मसला, ग्लुकोज, खाने प्लेट, औषधी,नुन, जीवन जल, मिनिरल वाटर अनि लत्ताकपडा लगायतका समानहरु समेत बाँडेका थियौ । राहत सामग्री पाउनेमा अधिकाँस दलित समुदायका थिए । तर खुसीको कुरा के थियो भने ,उक्त गाउँमा कोही पनि भूकम्पले मरेका थिएनन् । उनीहरुले जनकपुरबासीको सहयोग मरुन्जेल सम्म नविर्सने कुरा हामीलाई सुनाए । चार दिनको लामो बसाई पछि हाम्रो टोली जनकपुर फर्कियो । सात दिनको निरन्तर राहत वितरणको कार्यक्रमले शरिर अलि थकित भएको अवस्था थियो । तर जोश म भित्र मरेको थिएन । सहयोगको अथक प्रयास त्यतिकैमा सिमित रहेन । जनकपुर फर्केको भोली पल्टै फेरी राहत सामग्री वितरण गर्ने कार्यक्रम बन्यो । दोस्रो चोटी गोरखा जाने टोली नै यसपाली पनि जान लागेको थियो र फेरी पनि टोली नेतृत्वको जिम्मा मैले नै पाएको थिए । तर यसपालिको गन्तव्य भनने अर्कै जिल्ला थियो । नेपालको एक मात्र गा.वि.स जस्को नाम एउटा अक्षरबाट मात्र बनेको छ । धादिङ्ग जिल्लाको उत्तरी भेगमा पर्ने अत्यन्तै दुर्गम गाउँ  (‘रि’) भूकम्प गईसकेको एघार दिन वितिसक्दा पनि सो गाउँमा  राहतको नाउँमा केही पनि नगएको कुरा सुन्दा हामी अचम्म परेका थियौ । जनकपुरबाट पुनः एउटा मिनी टूक राहतको सम्पूर्ण सामग्री लिएर हामी धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्ग बेसीको लागी प्रस्थान गर्याै । सदरमुकाम भन्दा अगाडी हाम्रो टूक जाने अवस्था थिएन । हामीले गोरखाको जस्तै आफना सम्पूर्ण राहतको समान टूेक्टरमा लोड गरेर उक्त गा.वि.सको लागी अर्काे दिन पुग्ने गरि साँझ सदरमुकामबाट हिडयौं । हामी संग उक्त गाउँका सहयोगी भाईृ संगै थिए । टेूक्टरको बाटो अतिनै जोखिम पूर्ण थियो । शायद तराई मधेशमा जन्मे (हुर्केकोले होला त्यो डाँडाकाडा पहाडको बाटो हामीलाई अप्ठ्यारो भएको जस्तो बाटोमा अगााडी बढ्दै गर्दा हामीले टेूक्टरमा लोड गरेको सामग्री डोरी चुडिएर तल झर्न थाल्यो । हामी अप्ठ्यारोमा पर्यौं । रात पर्न लागी सकेको थियो । हामी सबै जना मिलेर सुरक्षित साथ सम्पूर्ण सामग्रीहरु फेरी टेूक्टरमा लोड गरेर आफनो गन्तव्य तिर लाग्यौं । हाम्रो राहत सामग्री राती लुट्ने डरले हामी बीच बाटोको एउटा गाउँमा बास बस्यौ । हामी बास बसेको घर पनि आशिंक रुपमा भत्केको थियो । दुई घण्टा जति हामी वहाँहरु संगै भलाकुसारी गरेका थियौ । पछि रात्रीको खाना खाएर हामी सुत्न गयौं । भोली पल्ट हामी बाँकीको बाटो खुट्टाले हिँडेरै जाने निर्णय गरयौं र टेूक्टरमा एक जना भाईलाई संगै राखेर अगाडी पठायौं । पांच घण्टाको लामो हिँडाई पछि हामी लापाङ्ग गाउँ पुगयांै । जङ्गलको पुरानो बाटो हिँडेर होला मनमा अलिकति डर पनि लाग्दै थियो । तर उक्त पैदल हिडाईको क्रममा एउटा निकै मर्माहक दृश्य देखियो । हामी जुन गाउँको लागी राहत सामग्री लिएर जादै थियौं सो गाउँका केही मानिसहरु आफनो सम्पूर्ण समान डोकोमा बोकेर आफनो परिवार सहित तल झर्दै थिए । मनमा निकै उत्सुकता जाग्यो । मैले तत्कालै वहाँहरुलाई यसको कारण सोधे । उनीहरु निकै भावुक अनि रुन्चे स्वरमा आफनो व्यथा सुनाउदै भन्े ूअब हाम्रो घर बस्ने लायकको छैन । हाम्रो भत्केको घर मुनिबाट पनि पानीको मुहान फुटेर सबै हिलो भएको छ । जति गरे पनि फेरी घर बनाउने अवस्था छैन । बनाई हाले पनि यस पालिकाृ वर्षामा पहिरोले घर बगाई दिने निश्चित छ । त्यसैले हामी सधैको लागी आफनो घर छोडेर चितवन तिर जान लागेको ।ू एक छिन त  मेरो मन भित्र बाटै हराएको थियो । हामी फेरी अगाडी बढ्यौं । लापाङ्ग गाउँबाट अगाडी टेूक्टर जाने बाटो थिएन । हामी संग राहतको सम्पूर्ण सामग्री त्यही थन्काउनु बाहेक अरु केही विकल्प थिएन । ‘रि’ गाविसको मानिसहरु पनि राहत लिन १० घण्टाको पैदल बाटो हिडेर तल झरेका थिए । त्यती टाढा जनकपुरबाट राहत सामग्री आएकोमा उनिहरु अचम्म मानिरहेको देखियो । उनीहरुको आँखामा देखिएको आँसुले उनीहरुको पिडा प्रस्टै बुझिन्थ्यो । भूकम्पले त बांचियो तर अब अगाडी कसरी बाँच्ने भन्ने प्रश्न शायद सबैको मुहारमा प्रस्ट उब्जेको मलाई  भान भइरहेको थियो । राहतका सम्पूर्ण समानहरु तिनीलाई हस्तान्तरण गर्दै हाम्रो टोली त्यहाँ बाट बिदा भयो । त्यस गाउँका मानिसहरुले सो राहत सामग्री लिएर जान दुई दिन सम्म लाग्ने कुरा बताएका थिए । उनीहरुमा आफन्त गुमाएको पिडा अनि सरकार प्रतिको आक्रोस प्रस्टै देखिन्थ्यो ।
भनिन्छ, भूकम्प कति खेर आउने भन्ने समय विज्ञानले अहिले सम्म पत्तालगाउन सकेको छैन , र यो तितो यथार्थ पनि हो । तर यसको जोखिमलाइृ न्यूनिकरण गर्न सकिन्छ । पहाडका अधिकाँस भीड अनि डाँडाकाडाहरुमा ठुलो ठुलो चिराहरु परिसकेको छ । जसको प्रत्यक्षदर्शाी म स्वयम पनि छु । यस पालिकोे वर्षा याममा ठुलो पहिरो आउने प्रायः निश्चित नै छ । तसर्थ सरकारले बेलैमा पहिरो बाट हुने क्षतिलाइृ कम गर्न युद्धस्तरमा अहिले देखिनै काम गर्नु पर्ने मेरो बुझाई रहेको छ । मैले आफनो १२ को अनुभवमा के देखे भने , यदि सरकारले बेलैमा सचेत भएर व्यवस्था मिलाउन सकेन भने एउटा दर्दनाक तथा कहाली लाग्दो अवस्था सिर्जना हुनेछ । आफनै देशमा पनि पहाडका दुर्गम भेगका भूकम्प पिडितहरु शरणार्थीको रुपमा बसोबास गर्न बाध्य हुनेछ । सो अवस्था पछि विसराल रुप लिने सक्ने हुँदा सम्बन्धीत पक्षहरु सचेत र सचेष्ट हुनु समयको डिमाण्ड रहेको छ । यस्तो विपतीको बेलामा हामी तराई(मधेशका बासीहरु जो महाभूकम्पबाट बाँचन सफल भयौं , उहाँहरुले सक्दो सहयोग गरी पहाडमा बसोबास गर्ने नेपाली दाजुभाईहरु प्रति सहानुभूति देखाउन सक्नु पर्दछ ।
२०७२ जेष्ठ ०३ गते आईतबार