Monday, January 23, 2017

कार्यालयमा अनुपस्थित रहेका गाविस सचिवहरुलाई स्पष्टिकरण

माचीझिटकैया गाविसमा अनुगमन गर्दै जिविस धनुषाका योजना अधिकृत ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लाको गाविसको कार्यालयमा पुगेर काम नगर्ने गाविस सचिवहरुलाई स्थानीय विकास अधिकारीले स्पष्टिकरण सोधी कारवाहीको प्रक्रिया अगाडी वढाएका छन् । स्थानीय विकास अधिकारी सन्त बहादुर सोनारले प्रथम चरणमा स्पष्टिकरण सोधेर ३ दिन भित्र चित्त बुझ्दो जवाफ दिन तथा जवाफ चित्त बुझ्दो नभए कानुन बमोजिम कारवाही गर्ने बताएका छन् ।
जिविस कार्यालयबाट योजना अनुगमन तथा प्रशासकीय अधिकृत समेतको टोलीले गाविसहरुको अनुगमन गर्दा तपाई कार्यरत ठाढीझिझा गाविसमा अनुगमन टोली पुग्दा तपाई गाविसमा नरहेको अवस्था थियो । गाविसको सर्वसाधारण जनताले गाविस सचिव कहिले काँही गाविसको वैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने भन्ने गुनासो पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद सचिवसँगै रहेको भन्ने गुनासो पाइयो । तपाई के कति कारणले गाविसमा उपस्थित नभएको ? गाविसको दैनिक कार्य संचालन गाविसमा बसेर किन नगरेको ? गाविसको हाजिर किताव, दैनिक आम्दानी खाता, मालपोत रसिद तथा अन्य सिफारिस दस्तुरको रसिद तपाई गाविसमा नराखि आफुसँगै के कति कारणले राख्नु भएको हो ? सो को चित्त बुझ्दो जवाफ पत्र पाएको मितीले ३ दिन भित्र यस कार्यालयमा पेश गर्नुहुन व्यहोरा जानकारी गराईन्छ । जवाफ चित्त बुझ्दो नभएमा कानुन बमोजिम भई जाने व्यहोरा सुचित गरिन्छ । यसरी धनुषाका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनारले धनुषाका ठाढी झिझा गाविसका गाविस सचिव रामनरेश ठाकुरलाई लिखित स्पष्टिकरण पेश गर्न भनि ५ माघ २०७३ मा पत्राचार गरेका छन् । सचिव ठाकुरलाई सोधिए झै जिल्लाका अन्य गाविस सचिवहरुलाई समेत स्पष्टिकरण सोधिएको छ ।
अनुगमनको क्रममा बन्द रहेका बलहासघारा गाविस ।
जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले २२ पुष २०७३ मा धनुषाका केही गाविसको कार्यालयहरुमा पुगेर स्थलगत अनुगमन गरी कारवाहीका लागि स्थानीय विकास अधिकारी समक्ष ५ माघ २०७३ मा प्रतिवेदन पेश गरेपछि कारवाहीको प्रक्रिया अगाडी वढेको हो । योजना अधिकृत आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांश गाविसका गाविस सचिवहरु कार्यालयमा उपस्थित नरहेकोले अनुपस्थित गाविस सचिवलाई किन र कतिकारणले गाविसमा अनुपस्थित रहेको हो, सो को बारेमा मौखिक स्पष्टिकरण सोधी आवश्यक परेमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने सुझाव दिइएको छ । यदि विदामा रहेको भए किन विदा स्वीकृत गरिएन र जिल्ला विकास समितिमा जानकारी गरिएन भन्ने बारेमा स्वयम गाविस सचिवलाई उपस्थित गराई बुझ्नुपर्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको व्यहोरा
देउरी परवाहा गाविसमा अनुगमन गर्दै
जिविस धनुषाका योजना अधिकृत ।
देउरी परवाहा ः देउरी परवाहा गाविसमा गाविस सचिव शंकरनारायण झा, प्राविधिक सहायक मोहन कुमार मण्डल रहेको तथा गाविस सचिव झालाई सोही गाविससँग बल्हागोठ गाविसको समेत थप जिम्मेवारी दिएको पाइयो । सामाजिक परिचालक भोगेन्द्र ठाकुरले सहयोग नगरेको गाविस सचिव झाको भनाई रहेको, हाजिर किताव नरहेको साथै कार्यालयमा अन्य कुनै प्रकारको कागजात नरहेको पाइएको थियो । चोरी हुन्छ भनि सदरमुकाम जनकपुरमा नै सबै कागजातहरु राख्ने गरेको अवस्था रहेको, आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिकको रकम भुक्तानी भएको, भौतिक संरचनामा ३ कोठे पक्की भवन रहेको तर कम्प्यूटर, फोटो कपी मेसिन जस्ता सामानहरु नरहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी उक्त गाविसहरुमा ८ वटा सार्वजनिक पोखरीहरु रहेको भएपनि सबै पोखरीहरु व्यक्तिले प्रयोग गर्दै आएको उल्लेख छ ।
औरही गाविस ः औरही गाविसमा गाविस सचिव गुणनिधि दाहाल, प्राविधिक सहायक कृष्ण देव राय, कार्यालय सहयोगी लाल ठाकुर, सामाजिक परिचालक, पुष्पा कुमारी साह कर्मचारीहरु कार्यरत रहेको छ । गाविस सचिव चैत्र देखि त्यस गाविसमा कार्यरत रहेको र चक्कर गाविसको थप जिम्मेवारी पालो पालो गरी दुई गाविसमा बहन गर्ने गरेको, गाविसमा उपस्थित हुने गरेको गाविस सचिवको भनाई रहेको थियो । सामाजिक सुरक्षाको पहिलो किस्ता वितरण भएको र पुँजीगत पहिलो किस्ता समेत संचालनमा रहेको, सामाजिक परिचालकले बस्ती टोल स्तरबाट योजना तर्जुमा गरी ल्याउने गरेको जानकारी दिएको, गाविसको आफ्नै कार्यालय भवन नरहेको र भवन हाल निर्माणाधिन अवस्थामा रहेको देखियो । त्यसैगरी गाविसको दैनिक आम्दानी खाता राख्ने गरेको भनाई रहेता पनि दैनिक आम्दानी खाता कार्यालयमा नरहेको, हाजिर किताव कार्यालयमा रहेको र कर्मचारीले हाजिरव समेत गरेको पाइयो । कार्यालयबाट संचालन हुने दैनिक कार्यहरुको रेकर्डको लागि आवश्यक दर्ता चलानी किताव कार्यालयमा नभेटिएको र चिठ्ठी पत्रहरुको दर्ता चलानी पानामा टिपी पछि उतार गर्ने गरेको भनाई पाइयो ।
करिब २० बर्ष देखि निर्माणाधिन रहेको गिद्धा गाविसको कार्यालय ।
गिद्धा गाविस ः गिद्धा गाविसमा गाविस सचिव यूवराज मगर, सामाजिक परिचालक मनोज अधिकारी कर्मचारीको रुपमा रहेको जानकारी गराइयो । उक्त गाविसमा प्राविधिक सहायकको नाम रामकिशोर यादव रहेको र प्राविधिक सहायक पनि कार्यालयमा नआउने गरेको पाइयो । गाविस भवन भाडामा रहेको तर गाविस सचिव आउँदाको दिन समेत कार्य सो भाडाको भवनबाट नभई चौरबाट नै हुने गरेको पाइयो । झण्डै २० बर्ष अघि देखि  सुरु भएको गाविस भवनको निर्माण कार्य अझै सम्पन्न नभएको, गाविस सचिव गाविसमा एकदमै न्यून महिनाको एक दुई दिन मात्र आउने गरेको, अन्य समयमा जिल्ला सदरमुकामबाटै काम काज गर्ने गरेको कुरा जानकारी गराइयो । हाजिर रजिष्टर नै नरहेकाले हाजिर गर्न नपाएको सामाजिक परिचालक र कार्यालय सहयोगीको गुनासो रहेको, व्यक्तिगत घटना दर्ता कितावहरु कार्यालय सहयोगीको घरमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
एकराही गाविस ः एकराही गाविसका गाविस सचिव सदरमुकाममै रहने गरेको जानकारी प्राप्त भयो । गाविस कार्यालय बन्द रहेकाले अन्य विवरण प्राप्त गर्न असमर्थ रहेको प्रतिवेदनमा उल्लेख छ ।
माची झिटकैया गाविस ः माचीझिटकैया गाविसका गाविस सचिव रामचन्द्र यादव सुनौलो हजार दिनको कार्यक्रममा भाग लिन जिल्ला सदरमुकाम आएको जानकारी प्राप्त भयो । प्राविधिक सहायक जुगल किशोर यादव र सामाजिक परिचालक कम्ली कुमारी यादव परिषदको काममा कार्यालयमै व्यस्त अवस्थामा रहेको पाइयो । सिफारिस दस्तुर लिने नगरेको, सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता वितरण भईसकेको तर भरपाई बुझाउन बाँकी रहेको जानकारी प्राप्त भयो । भौतिक सुविधा अन्तरगत पक्की भवन रहेको र सो भवनको एउटा कोठा टेलिफोन टावरको लागि टेलिकमले भाडामा लिएको, त्यस गाविसमा रहेको हाट बजार रु. ४ लाखमा ठेक्कामा रहेको, दर्ता चलानी चालु हालतमै रहेको तर आम्दानी खाता कार्यालयमा नरहेको, जनकपुरमै रहने गरेको भनाई रहेको, पुँजीगत अनुदान पहिलो किस्ताको काम सुरु भएको जानकारी प्राप्त भयो भनि प्रतिवेदनमा उल्लेख छ ।
बल्हासघारा गाविस ः बल्हासघारा गाविसको कार्यालयमा कोही पनि नभेटिएको । २ बजेको समयमा गाविस भवन बन्द हालतमा रहेको, गाविस सचिव दुई महिना देखि नआएकोेले सामान्य सिफारिसको लागि समेत धेरै कठिनाई भएको भनि स्थानीयबासी आक्रोशित रहेको पाइयो । प्राविधिक सहायक महिनाको २÷३ मात्र बस्ने गरेको जनगुनासो रहेको, ६ महिना देखि मृत्यू दर्ताको सिफारिस समेत नपाएको भनि गुनासो आएको प्रतिवेदनमा उल्लेख छ ।
पतनुका गाविस ः पतनुका गाविसमा अनुगमनको लागि पुग्दै गर्दा गाउँ परिषदको बारेमा छलफल जारी थियो । गाविस सचिव श्रीनारायण साह तथा प्राविधिक सहायक भुवनेश्वर यादव परिषदमै व्यस्त देखिन्थे । प्राविधिक सहायकले भित्र गई अवस्था के छ भनि बुझ्न खोज्दा पहिले आनाकानी गरे तथापी पछि राजी भए । यस गाविसमा गाविस सचिव भन्दा जनताको आक्रोश प्राविधिक सहायक माथि रहेको पाइयो । प्राविधिक सहायकले व्यापक मात्रामा अनियमितता गरेको आरोप स्थानीयको थियो । सिफारिसहरु घरमै बसेर गर्ने र सिफारिस बापतको दस्तुर रसिद नकाटि आफ्नै खल्तीमा राख्ने गरेको र रसिद माग्दा किन चाहियो भनि उल्टै प्रतिप्रश्न गर्ने गरेको भनि जनआक्रोश अत्याधिक रुपमा रहेको पाइयो । गाविसमा हाजिरी किताव नरहेको, दर्ता चलानी, आम्दानी खाता नरहेको पाइयो ।
खजुरी चन्हा गाविस ः खजुरी चन्हाका गाविस सचिव रामनरेश ठाकुर महिनामा ४÷५ दिन मात्र आउने गरेको स्थानीयको भनाई, गाविस कार्यालय करिब पौने ३ बजेको समयमा पुग्दा बन्द अवस्थामा रहेको थियो । कार्यालय सहायक कार्यालयमै बस्ने गरेको, सामाजिक सुरक्षा भत्ता शौचालय निर्माण नगरेको खण्डमा आधा मात्रै दिने गरेको स्थानीय वृद्धवृद्धाको गुनासो रहेको थियो । गाउँपरिषद, गाविस अनुदान के कति केमा खर्च भन्ने विषयमा २÷४ जना व्यक्ति बसेर निर्णय गर्ने गरेको तर, आम नागरिकहरुलाई जानकारी नरहेको भन्ने जस्ता गुनासो पाइयो ।
ठाढीझिझा गाविस ः ठाढीझिझा गाविसमा गाविस सचिव रामनरेश ठाकुर, प्राविधिक सहायक प्रदिप कुमार महरान र कार्यालय सहयोगी सुलिन्दर पासमान रहेको जानकारी पाइयो । गाविस सचिव कहिले काँही बैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने गरेको पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद कार्यालयमा नभेटिएको तथा सचिवसँगै रहेको भनाई पाइयो । यस गाविसमा रहेका ६ वटा पोखरीहरु ठेक्कामा रहेको र त्यसबाट गाविसमा करिब १७÷१८ लाख रुपैयाँ आम्दानी हुने गरेको भनाई पाइयो । सबै कागजपत्रहरु सचिवको डेरामा रहेको, दर्ता चलानी समेत कार्यालयमा नरहेको अवस्था पाइयो । सामाजिक सुरक्षा भत्ता भुक्तानी लिएको तर वितरण नभएको साथै यस आर्थिक बर्षको गाउँ परिषद समेत सम्पन्न नभएको अवस्था पाइयो, योजना अधिकृत आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
दिइएको निर्देशन
अनुगमन गरिएका अधिकांश गाविसमा गाविस सचिव अनुपस्थित रहेको पाइयो । कर्मचारी हाजिरी रजिष्टर नरहेको पाइयो । दैनिक आम्दानी किताव कुनै पनि गाविसमा भेटिएन । व्यक्तिगत घटना किताव समेत नरहेको पाइयो । गाविस विकास समिति नै हो वा व्यक्तिको कुनै भाडाको कोठा हो भन्ने जस्तो अवस्था पाइयो । यस्तो अवस्थामा गाउँ विकास समितिका आवश्यक कागजपत्र गाउँ विकास समितिमै राख्न, दैनिक रुपमा हाजिर गर्न, अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन, दर्ता चलानी किताव, दैनिक आम्दानी किताव, मालपोत रसिद, सेवा शुल्क, दस्तुर रसिद आदि अनिवार्य रुपमा कार्यालयमै राख्न समेत निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ ।



 २०७३ माघ ०९ गते आईतबार

धनुषामा १३ स्थानीय निकाय प्रस्तावित बालाबाखर टुक्रयाइयो, लगमा नगरपालिका गरिनुपर्ने भन्दै सिमाङ्कनको विरोध

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा कुल १३ वटा स्थानीय निकाय प्रस्तावित गरिएको छ । प्रस्ताव गरिएको निकायहरु मध्ये धनुषाको बालाबाखर गाविसलाई टुक्रियाईएको छ । बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई प्रस्तावित सप्तऋषि नगरपालिका सबैलामा समावेश गरिएको छ भने बालाबाखरको वडा नं. २,३ र ९ लाई सहिदनगर नगरपालिका यदुकुहामा समावेश गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवर, क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजार, धनुषाधाम नगरपालिका धनुषाधाम, सप्तऋषि नगरपालिका सबैला, सहिदनगर नगरपालिका यदुकुहा र योगीबाबा नगरपालिका ठाढी, नगराईन नगरपालिका नगराईन गरी कुल ८ नगरपालिका र १ जनकपुर उपमहानगरपालिका प्रस्ताव गरिएको छ । त्यसैगरी जमुना गाउँपालिका परवाहा, हंसपुर  गाउँपालिका बेल्ही चौक, मिथिला विहारी गाउँपालिका तारापट्टी, कमला सिद्धीदातृ गाउँपालिका लगमा गरी कुल ४ वटा गाउँपालिका प्रस्ताव गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवरमा तुल्सी, नक्टाझिज, ढल्केवर, बेंगाडावर, लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वर, हरिहरपुर, पुष्पवलपुर गाविसहरुलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ६० हजार ७  सय ९ जनसंख्या रहेको छ । त्यसैगरी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सिनुरजोडा, सपही, बनिनिया, गोपालपुर, क्षिरेश्वरनाथ नगरपालिका अन्तरगतका रमदैया भवाडी, महेन्द्रनगर र दिगम्बरपुर, शान्तिपुर गाविसलाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल  जनसंख्या ६८ हजार ८ सय ८७ प्रस्ताव गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा भरतपुर, गोदार, लवटोली र बरमझियालाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ३४ हजार ८ सय प्रस्ताव गरिएको छ । त्यसैगरी धनुषाधाम नगरपालिका धनुषाधाममा धनुषाधाम गोदार, भुतही पटेर्वा, धनुषाधाम, उमाप्रेमपुर,  यज्ञभुमि, रघुनाथपुर र कजरारमौललाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६० हजार ९ सय ४२ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सप्तऋषि नगरपालिका सवैलामा सबैला नगरपालिका, पटेर्वा, मखनाहा, ठिल्ला यदुवा, बालाबाखर, सतोषर, खरिहानीलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ४५ हजार ६ सय ६४ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सहिदनगर नगरपालिका यदुकुहामा ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखरको वडा नं. २,३ र ९, गोठकोयलपुर हठिपुर हरवारा, हरिने विषरभोरा, धबौली, सिंग्याही मडानलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ५४ हजार ७ सय ८९ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी योगीबाबा नगरपालिका ठाढीमा इटहर्वा, चक्कर, बफई, गिद्धा, दुहवी, एकराही, ठाढीझिजा, खजुरीचन्हा, प्रखे महुवालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा ४९ हजार ७ सय ३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी नगराईन नगरपालिकामा मुखियापट्टी मुसहरनिया, बहेडाबेला, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास, नगराईन, फुलगामा, घोडघास, लगमा गाढागुठ्ठी, देवडिहा र बहुअर्वालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६६ हजार १ सय २३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । जनकपुर उपमहानगरपालिकामा साविक जनकपुर नगरपालिकाको १ देखि १६ वटा वडासम्म, वडा नं. १७  लोहना, वडा नं. १८ प्रको महुवा, वडा नं. १९ बेंगाशिवपुर, वडा नं. २० देउपुरा रुपैठा, वडा नं. २१ कुर्था, वडा नं. २२ बसपिट्टी, वडा नं. २३ विन्धी, वडा नं. २४ बसहिया, वडा नं. २५ लक्ष्मीपुुर बगेवा र गोपालपुर, वडा नं. २६ ठेडा कचुरी,  वडा नं. २७ कनकपट्टी र मानसिंहपट्टी समावेश गरिएको छ । उक्त उपमहानगरपालिकामा १ लाख ७० हजार ४ सय ९१ जनसंख्या प्रस्ताव गरिएको छ ।
जमुनि गाउँपालिका परवाहामा पौडेश्वर, औरही, देउरी परवाहा, झोझीकटैया, लखौरी, धनौजी गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३२ हजार २ सय ९४ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी हंसपुर गाउँपालिका बेल्ही चौकमा अन्दुपट्टी, मानसिंहपट्टी, बघचौरा, हंसपुरकठपुल्ला, सुगा निकास, नौवाखोर  पर्साही, सुगा मधुकरही र सोनिगामा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३७ हजार ५ सय ३८ जनसंख्या प्रस्ताव गरिएको छ । मिथिला विहारी गाउँपालिका तारापट्टीमा भुतही पटेर्वा, मिथिलेश्वर निकास, झटियाही, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३४ हजार १ सय २ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी कमला सिद्धीदात्री गाउँपालिका लगमामा दुवरकोट हथलेटवा, माचीझिटकहिया, लक्कर, बलहासघारा, पतनुका, बल्हाकठाल, बल्हा गोठ, इनर्वा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३८ हजार ७ सय ८५ जनसंख्या प्रस्ताव गरिएको छ ।
सिमाङ्कनको विरोध
धनुषा जिल्लाको क्षेत्र नं. १ स्थित पुर्वी क्षेत्रको गाविसका स्थानीयवासीहरुले प्रस्तावित सिमाङ्कनको विरोध गर्दै सिमाङ्कन सच्याउनका लागि संघर्ष समिति नै गठन गरिएको छ । रामचरित्र साहको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले प्रस्ताव गरिएको कमला सिद्धीदात्री गाउँपालिका लगमालाई गाउँपालिका गरिएकोमा विरोध जनाउँदै नगरपालिका प्रस्ताव गर्न माग गरेको छ । उक्त क्षेत्रको खजुरी चन्हा र प्रखे महुवालाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोले त्यसलाई हटाएर कमला सिद्धीदात्री गाउँपालिकामा राखि जनसंख्याको आधारले पनि नगरपालिका प्रस्ताव गर्न नेपाल सरकारसँग माग गरेको छ । खास गरेर खजुरी चन्हा र प्रखे महुवा गाविसका स्थानीयवासीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक मेलमिलाप पुर्वी तथा उत्तरी क्षेत्रसँग मात्र रहेकोले ती दुई गाविसलाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोमा विरोध गरिएको हो । विरोध स्वरुप सुरुमा नेपाल सरकारलाई खासगरी प्रधानमन्त्री र स्थानीय विकास मन्त्रीलाई ज्ञापन बुझाइने संघर्ष समितिका संयोजक साहले बताएका छन् ।

 २०७३ माघ ०९ गते आईतबार