Tuesday, June 2, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


बल्ल यो विपतीले गर्दा जिऊ पलाए जस्तो छ । यसरी नै दातृ निकायले राहत सधैभरी पठाईदिए हुन्थ्यो नि !


२०७२ जेष्ठ १७ गते आईतबार


शिक्षा अधिकारीको मिलेमतोमा विद्यार्थी ठग्दै अवैधानिक विद्यालयहरु


अवैध नीजि (संस्थागत) विद्यालयहरुको विगविगी ः मिट इ.बोर्डिङ स्कुल र अक्षर विद्या मन्दिर
 अवैध विद्यालय हुन । यस्ता दर्जनौं विद्यालयहरु जिल्ला शिक्षा कार्यालयबाट अनुमति नै नलिई
 अवैधानिक तरिकाले संचालन गरी विद्यार्थी र अभिभावकलाई ठग्ने गरेका छन् । यस्ता अवैध 
विद्यालयहरुलाई कारवाही गर्न पुनरावेदन अदालत जनकपुरले परमादेश गरेपनि शिक्षा 
अधिकारीले कुनै पनि कारवाही गरेको छैन ।
अजय अनुरागी
जनकपुरधाम............
मोटो रकम शुल्क असुली गरेर विद्यार्थीहरु भर्ना गरिरहेको जनकपुरको वकिल टोलमा अवस्थित अक्षर विद्या मन्दिर अवैध रहेको रहस्य खुलेको छ । द स्र्माट स्कुल र स्मार्ट कलास साथै जनकपुरको पहिलो आईएसओ ९००१ मान्यता प्राप्त रहेको भनेर व्यापक प्रचारवाजी गरेर अभिभावकहरुलाई झुक्याउँदै विद्यार्थी भर्ना लिईरहेको उक्त विद्यालयको नाउँ जिल्ला शिक्षा कार्यालयको रेकर्डमा उल्लेख नरहेको द एक्सक्लुसिभले गरेको अनुसन्धानमा खुलेको छ । विश्वसनिय श्रोतका अनुसार उक्त विद्यालयका संचालकहरुले ५ कक्षा सम्म अध्ययन अध्यापन गराउने भनी अनुमति प्राप्त टुन्ड मुन्ड मेमोरियल बोडिङ स्कुल किनेका हुन । तर, टुन्ड मेमोरियलको नाउँ परिवर्तन गरेर अक्षर विद्या मन्दिर नाउँले विद्यालय संचालन गरी अभिभावक र विद्यार्थीहरुलाई ठगी गर्दै आएको रहस्य खुलेको छ ।

जनकपुरको क्याम्पस चौकमा संचालित विद्यापति मेमोरियल इ.बो.स्कुलले 
५ कक्षासम्म पढाउने मात्र अनुमति पाएपनि अवैधानिक तरिकाले 
कक्षा ८ सम्म पढाई विद्यार्थी तथा अभिभावकलाई ठग्ने गरेका छन् ।
त्यसैगरी जनकपुरको विद्यापति चौक विद्यानगरमा कक्षा १ देखि १० सम्म पठन पाठन गराउँदै आएको मिट इंग्लिस बोडिङ स्कुलले पनि विद्यार्थी र अभिभावकहरुलाई ठग्दै आएको रहस्यको पर्दाफास भएको छ । गंगासागर पोखरीको कुनामा बछार प्रसुति केन्द्रको सामुने रहेको डनबस्को विद्यालय मनोज साहले किनेको बताइन्छ । रोचक कुरा के हो भने डनबस्को विद्यालय कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पढाउने  भनेर जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति लिएको पाइन्छ ।

जनकपुरको क्याम्पस चौकमा यसबर्ष मात्र संचालित स्वर्णिम 
पाठशालाले  एकैपटक कक्षा १ देखि १० सम्मको पठनपाठन 
संचालन भईरहेको प्रचार गरिरहेको छ । जवकि उक्त विद्यालयको
 नाउँमा शिक्षा कार्यालयले अनुमति नै दिएको छैन ।
तर, मिट इंग्लिस बोर्डिङ स्कुलले एक त डनबस्कोको नाम परिवर्तन गरेर मिटको नाउँमा विद्यार्थीहरुलाई ठगि गरिरहेको छ भने नेपाली माध्यममा मात्र पढाउने अनुमति रहेकोमा गैरकानुनी ढंगले अंग्रेजी माध्यममा मिटले पठनपाठन गराईरहेको रहस्य उजागर भएको छ । यति मात्र होइन कक्षा १ देखि ५ सम्मको अनुमति नै नरहेको मिट इंग्लिस बोर्डिङ स्कुलले उक्त कक्षाहरुको पठन पाठन गराएर ठगिमा ठगि गर्दै आएको देखिन्छ ।
    त्यसैगरी अहिले जनकपुरको क्याम्पस चौकमा स्वर्णिम पाठशाला कक्षा १० सम्म पठन पाठन गराउँदै आएको भएपनि उक्त विद्यालयको नाउँमा शिक्षा कार्यालयले इजाजत दिएको छैन । स्रोतका अनुसार कक्षा १० सम्मको अनुमति प्राप्त तेजकुञ्ज विद्यालय किनेर स्वर्णिम पाठशाला चलाइएको हो । हिजोको मोनिङ स्टार हाई स्कुल अवैधानिक तरिकाले ओम इन्टर नेशनल स्कुल भएको छ । त्यसैगरी यस वर्ष एसएलसी परीक्षामा परीक्षा दिनबाट वञ्चित गराएका मोर्डन नेपाल इंग्लिस बोर्डिङ स्कुल सुभद्रा मुटुकधारी एसएम प्लस टुमा मर्ज भएको छ । मोडर्न नेपालले ६ जना एसएलसीका विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गराएका थिए । यसरी हेर्ने हो भने यी त उदाहरण मात्र हुन । जनकपुरमा नीजि विद्यालयहरुले विभिन्न किसिमले विद्यार्थी र अभिभावकहरुलाई ठग्दै आएको पाइन्छ । २०७२ बैशाख देखि सुरु भएको नयाँ शैक्षिक सत्रमा जनकपुर सहरमा मात्रै २६ वटा नीजि विद्यालयहरु अवैध रहेको खुलासा भएको छ । डिआई पब्लिक स्कुल, जनक इरा, स्वस्तिक पाठशाला, ज्ञान मन्दिर, नेपाल क्याम्ब्रिज इन्टरनेश्नल स्कुल, मेघा, आरडी शिक्षा निकेतन, इटन, नेश्नल, प्रमिता एकेडमी, मिट, सिटी मन्टेशरी, किडी कन्भेन्ट, मोर्डन एडभान्स एकेडमी, जेनिथ नेशनल एकेडमी, मिथिला मन्टेश्री, स्वर्णिम पाठशाला, ज्ञान पाठशाला मेमोरियल, मोनालिशा, न्यू मोनालिशा, न्यू लाइफ, शुभप्रभात, पारागन, डिएस, डिएम, सरस्वती, लिटिल फलावर आदि विद्यालयहरु पुर्ण रुपमा अवैध रहेको पाइएको छ । ती विद्यालयहरुले पठन पाठनका लागि जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति लिएको छैन ।
त्यसैगरी ठगिको अर्को स्वरुप के पाइएको छ भने जिल्ला शिक्षा कार्यालयबाट अनुमति एउटा कक्षाको र पठन पाठन अर्को कक्षाको गर्ने गरेका छन् । जस्तै जनकपुरको क्याम्पस चौकमा संचालित विद्यापति मेमोरियल इन्गलिस बोर्डिङ स्कुलले कक्षा ५ सम्म पठन पाठन गराउने अनुमति लिएको छ । तर, उक्त विद्यालयले अवैधानिक तरिकाले कक्षा ८ सम्म पठन पाठन गराई कानुन विपरित काम त गरेकै छ, अभिभावक र विद्यार्थीहरुलाई पनि ठगि गर्दै आएको पाइन्छ । यसरी ठगि गर्ने विद्यालयहरु कम्तिमा पनि ३० वटा यस जिल्लामा रहेको द एक्सक्लुसिभले गरेको अनुसन्धानमा खुलेको छ । ती विद्यालयहरुको विवरणका लागि हेर्नुहोस बक्स ।
यसरी हेर्ने हो भने जनकपुरका ३ दर्जन भन्दा वढी नीजि विद्यालयहरुले विद्यार्थी अभिभावकलाई ठगि गर्दै आएको भएपनि कानुनी कारवाही गर्ने निकाय जिल्ला शिक्षा कार्यालय धनुषा मौन बसेको छ । यस्ता विद्यालयहरुलाई कानुन अनुसार कारवाही गर्न पुनरावेदन अदालत जनकपुरले जिल्ला धनुषाको शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारीलाई परमादेश समेत जारी गरिसकेको छ । नीजि तथा आवासिय विद्यालय अर्गेनाइजेशन नेपाल धनुषा शाखाको अध्यक्ष महेश मण्डलले शिक्षा कार्यालय र शिक्षा अधिकारी विरुद्ध दायर गरेको रिटमा १५ असोज २०७० मा पुनरावेदन अदालत जनकपुरको न्यायाधिशद्वय तेजबहादुर केसी र राजेन्द्र कुमार पोखरेलको संयुक्त इजलासले अनुमति नलिई संचालन भईरहेको विद्यालयहरुलाई बन्द गर्न शिक्षा अधिकारी र शिक्षा कार्यालयको नाउँमा परमादेश नै जारी गरिएको छ ।
शिक्षा ऐन २०२८ को दफा ३ अनुसार शिक्षा नियमावली २०५९ को नियम ३,४,५ समेतले विद्यालय संचालन गर्दा शिक्षा कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर पनि अनुमति नलिई धनुषामा दर्जनौं विद्यालयहरु अवैध रुपमा संचालित हुनुमा जिल्ला शिक्षा कार्यालय धनुषाका शिक्षा अधिकारी प्रमुख रुपमा दोषी रहेको पाइन्छ । शिक्षा अधिकारीले आफ्नो उत्तरदायित्व बमोजिम काम गरेको पाइँदैन । जिल्लामा अवैधानिक रुपमा विद्यालयहरु संचालनमा रहेको वा नरहेको भन्ने कार्यका लागि ३१ अषाढ २०६९ मा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि मनुजा बराल, शिक्षक संगठनका तर्फबाट विजय चौधरी, प्यावशनका अध्यक्ष महेश मण्डल, एनप्यावशनका प्रतिनिधि भुपनारायण झा र संचारकर्मी विकास साह सहित ५ सदस्यीय छानविन समिति गठन भएको थियो । उक्त समितिले छानविन गरेर १४ भदौ २०६९ मा जनकपुरमा २५ वटा नीजि विद्यालयहरु अवैधानिक रुपले अनुमति नलिई विद्यालय संचालन गरिरहेको भन्ने प्रतिवेदन समेत शिक्षा कार्यालयमा पठाएको थियो । तत्कालिन शिक्षा अधिकारी उपेन्द्र मण्डलले ती विद्यालयहरुलाई बन्द गराई कानुनी कारवाही गर्नुको साटो ४० वटा विद्यालयहरुलाई कानुन र अख्तियारी विपरित अनुमति प्रदान गरे । प्यावशन र एनप्यावशन संयुक्त समितिका संयोजक महेश मण्डलका अनुसार तत्कालिन अधिकारी उपेन्द्र मण्डलले पहिलो लटमा एकै चोटी कक्षा ५ सम्म र दोस्रो लटमा एकै चोटी कक्षा ८ सम्म विद्यालय संचालन गर्न अनुमति दिए । कानुन अनुसार एकै चोटी तहगत विद्यालय संचालनका लागि अनुमति दिन सकिँदैन । १÷१ कक्षा १÷१ वर्षमा अपग्रेड गर्नुपर्ने हुन्छ । तर तत्कालिन अधिकारी मण्डलकै बाटो अहिलेको शिक्षा अधिकारी शंकर कार्कीले पनि अख्तियार गरेको पाइन्छ । एउटा विद्यालयलाई कानुन विपरित अनुमति प्रदान गर्न तत्कालिन अधिकारी मण्डलले १ लाख देखि ३ लाख रुपैयाँ सम्म असुली गरेको बताइएझै अहिलेको अधिकारी कार्की पनि पैसा कमाउने दाउमा देखिन्छन् । किनभने अहिले शिक्षा समितिबाट यस वर्षमा १८ वटा विद्यालयहरुलाई अपग्रेड गराउने कोटा आएको भएपनि अधिकारी कार्कीले ३४ वटा विद्यालयहरुका लागि सिफारिस गरेको पाइन्छ । यस बर्ष मात्र कक्षा ८ को प्रश्न पत्र नदिइएको विद्यालयहरुलाई समेत कक्षा ९ संचालनका लागि अधिकारी कार्कीले सिफारिस गर्नुले पनि रुपैयाँको चलखेल अगाडी नियम मिचेर पनि अगाडी वढ्न कार्की उद्दत रहेको देखिन्छ । एनप्यावशन धनुषाका सचिव अवधेश तिवारी भन्छन,“ अवैधानिक तरिकाले संचालित रहेका नीजि विद्यालयहरुलाई कारवाही गर्न शिक्षा अधिकारी कार्कीलाई भन्न जाँदा आफुहरुसँग समय नरहेको भन्दै पन्छिने गर्छन् । सरकारी विद्यालयबाट फुर्सत भए मात्र नीजि विद्यालयको सन्दर्भमा प्रक्रिया अगाडी बढाउने भनिरहेको हुन्छन् ।”
यसरी समग्रमा हेर्ने हो भने जनकपुरको गल्ली गल्लीमा च्याउ झै उम्रिएका अवैधानिक नीजि विद्यालयहरुले समाज, विद्यार्थी र अभिभावकहरुलाई ठगि गर्नुमा जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा कार्यालय र शिक्षा अधिकारी नै प्रमुख रुपमा दोषी रहेको पाइन्छ । नत्र भने अदालतले समेत परमादेश गरिसकेको, छानविन समितिले समेत प्रतिवेदन पेश गरी अवैधानिक विद्यालयहरुलाई पहिचान गरिसकेको अवस्थामा कारवाही भईसकेको हुनुपथर््यो । तर, कारवाही नगरिनुले पनि जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारी प्रमुख रुपमा जिम्मेवार रहेको देखिन्छ । स्थानीय प्रशासनले यी कुरामा ध्यान नपु¥याईरहेको अवस्थामा शिक्षा विभाग, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल पहल लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडी वढाउनु पर्ने आवश्यक देखिन्छ ।


२०७२ जेष्ठ १७ गते आईतबार

चोर डाक्टर शैलेन्द्र ?

चोरीको अभियोगमा पक्राउ परेका डा.शैलेन्द्र मिश्र ।
जनकपुर उपमहानगरपालिका वार्ड नं.४ का डा.शैलेन्द्र मिश्र पेशाले चिकित्सक रहेको तस्वीरमा देखाइएको बोर्डले प्रष्ट हुन्छ । आन्तरिक राजश्व कार्यालयमा प्यानमा दर्ता गरिएको प्यान नम्बर ६०१२०५५१० र रजिष्टूेशन नम्बर २०३८ बताइएको उक्त बोर्डमा विरामी जाँच्ने समय विहान ७ बजे देखि ११ बजेसम्म तथा दिउँसो १ बजे देखि ५ बजेसम्म रहेको डा.शैलेन्द्र मिश्रको नाउँले झुन्डियाइएको उक्त होडिङ बोर्डमा प्रष्ट देखिन्छ । तर, ती डा.शैलेन्द्र मिश्र पेशाले चोर रहेको कसैले बतायो भने तपाई अचम्ममा पर्न सक्नुहुन्छ ।
    हो, उनी पेशाले कथित चिकित्सक बताएपनि उनी अहिले मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा उनी अहिले थुनामा छन् । जनकपुरको विद्यापति चौकमा बसोवास गर्दै आएका तथा मोटर ग्यारेज संचालन गर्दै आएका महेश मिश्रका उनी छोरा हुन ।
प्रहरीले शैलेन्द्रलाई रंगेहात पक्राउ गरेको हो । स्थानीयवासीहरुका अनुसार शैलेन्द्र लागु औषधका दुवर््यसनी हुन । उनलाई स्थानीयले कहिल्यै पनि डाक्टर भनेर पत्याएनन् । तर, स्थानीय एफएम तथा रेडियोहरुमा उनले गराएको विज्ञापन तथा प्रचार प्रसारको भरमा गाउँ गाउँबाट विरामीहरु जचाउन भने आउने गर्थे । जनकपुर हेल्थ क्लिनिक मुरली चौक ४ दुर्गा मन्दिर नजिक संचालन गर्ने गर्थे । उनको लेटर प्याडमा आफुलाई जेनरल मेडिसिन, कन्सल्टेन्ट फिजिसियन र सर्जन भनेर पहिचान दिएका छन् । मेडिकल अफिसरको रुपमा उनले २०३८ दर्ता नम्बर रहेको उल्लेख गरेका छन् । तर नेपाल मेडिकल काउन्सिलबाट प्राप्त एनएमसी नम्बर उल्लेख गरेका छैनन् । जसकारण पनि उनी फर्जी डाक्टर भएको हुनसक्ने शंकालाई बल प्रदान गर्छ । उनले आफ्नो शैक्षिक योग्यतामा भारत विहारको दरभंगा स्थित एमटिटीएम होस्पिटलबाट बिइएच मेडिसिन र एमडी भारतको बिएएमएसभीआरए यूनिभरसिटीबाट गरेको उल्लेख गरेका छन् ।  हाड, न्यूरो, छाला तथा प्यारालाईसिस रोगको विशेष उपचार गरिने भनेर लेटरप्याडमा आफ्नो विशेषता उल्लेख गरेका छन् । उनको आपराधिक क्रियाकलापमा संलग्नता भएको हुन सक्ने भनेर स्थानीयवासीहरुको विगत लामो समय देखि रहेको आशंका पुष्टि भएपछि उनी वास्तवमा पेशाले डाक्टर थिए कि थिएनन् भन्ने कुरा पनि अनुसन्धानको विषय रहेको छ । अनुसन्धानमा संलग्न रहेका प्रहरी नायव निरीक्षक गगन शाही भन्छन,“ शैलेन्द्र मिश्र वास्तवमा डाक्टर हो वा होइन भन्ने कुराको  अनुसन्धान गर्ने निकायले गर्लान । त्यो पाटोबाट हामीले अहिले अनुसन्धान गरेका छैनौं । तर उनलाई हामीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो । अनुसन्धानका क्रममा आफ्नो मति विग्रियो, नगर्नुपर्ने काम मैले गरें भनेर स्वीकार भने गरेका छन् ।” सई शाहीका अनुसार उनको आफ्नो पनि मोटरसाइकल ग्यारेज रहेको र मोटरसाइकल सम्बन्धि पुरा पुरी  जानकार भएकाले पनि मोटरसाइकल चोरी गर्न उनलाई सहज भएको हुनसक्छ ।


२०७२ जेष्ठ १७ गते आईतबार

मोटरसाइकल चोरी गर्ने गिरोह धनुषा प्रहरीको फन्दामा

८ जेष्ठमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका कमल ठाकुर, बाबुजी यादव, शिवराज श्रेष्ठ, अनिल कुमार साह, 
जितेन्द्र साह, शैलेन्द्र मिश्र, सरोज यादव र विक्की साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा दिनैपिच्छे, दिउँसै मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटरसाइकल चोरी गर्ने अभियोगमा धनुषा प्रहरीले धनुषाको लखौरी(८ बस्ने १७ वर्षिय कमल ठाकुर, महोत्तरी सनौल(९ का २६ वर्षिय बाबुजी यादव, धनुषा क्षिरेश्वरनाथ नपा(२ का १७ वर्षिय शिवराज श्रेष्ठ, धनुषा हाँसपुर(८ का २४ वर्षिय अनिल कुमार साह, जनकपुर उपमहानगरपालिका वडा नम्बर(१२ बस्ने २४ वर्षिय जितेन्द्र साह, वडा नम्बर(४ का ४० वर्षिय शैलेन्द्र मिश्र, वार्ड नम्बर(१ का ३० वर्षिय सरोज यादव र २८ वर्षिय विक्की साहलाई पक्राउ गरेका छन् । उक्त गिरोहले धनुषा लगायत मध्य तराईका विभिन्न जिल्लाहरुमा मोटरसाइकल चोरी गरी भारत नेपालको सिमावर्ती जिल्लाहरुमा पार्टपुर्जाहरु विक्री वितरण तथा साटफेर गर्ने, चोरीका मोटरसाइकल किन्ने ग्राहक खोज्ने तथा चोरीका मोटरसाइकलहरुको ओसारपोसार गर्ने गरेका थिए ।
उनीहरुबाट ज३प १३४१ नम्वरको प्यासन प्रो, ज२१प ६३०५ नम्वरको पल्सर १५० सिसि, ज३प ५८३६ नम्वरको पल्सर १५० सिसि, बा४७प १५२० नम्वरको यमाहा जिटुयस, ज५प ५३५२ होन्डा एनएक्सजि, ज४प ९०१२ साईन, ज७प ६०१ नम्बरको मोटरसाइकल, ज५प ७६३ नम्वरको मोटरसाइकल, मोवाईल ४ थान, ना२३प ४४५९ नम्बरको विलबुक बरामद गरिएको धनुषाका प्रहरी प्रमुख गणेश बहादुर थापाले जानकारी दिएका छन् ।
यसरी गर्थे चोरी

बरामद गरिएका चोरीका मोटरसाइकलहरु ।
उनीहरुको टिममा सबैले फरक फरक भुमिका निर्वाह गर्ने गरेपनि गिरोहका सदस्यहरुलाई चिन्ने गरेका थिएनन् । धनुषा प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चोरी गर्नेहरुको दुईवटा नेटवर्क सक्रिय रहेको छ । यूवा अवस्थाका, लालची, दुवर््यसनीमा फसेका, भर्खरै एसएलसी पास गरेका आलाकाचा महत्वकांक्षी ठिटाहरुलाई ती गिरोहले मोटरसाइकल चोरी गर्ने जिम्मा दिएका हुन्छन् । खास गरेर ती चोरहरुलाई लक फुटाएर डाइरेक्ट कसरी बनाउने भन्ने प्रशिक्षण समेत दिइएको हुन्छ ।
    ती यूवाहरुले १ हजार देखि २ हजार रुपैयाँ सम्म प्रति मोटरसाइकल उठाए बापत पाउने गर्छन् । मोटरसाइकल उठाए लगत्तै नाइके कहाँ मोटरसाइकल पु¥याएर उसको जिम्मेवारी पुरा हुन्छ । खास गरी मोटरसाइकल ग्यारेजका संचालक वा मोटरसाइकलका मिस्त्रीहरु नाइकेको रुपमा काम गर्ने गर्छन् । मोटरसाइकल प्राप्ति गर्ने वित्तिकै मोटरसाइकललाई जति सक्दो चाँडो लुकाउने जिम्मेवारी नाइकेको हुन्छ । मोटरसाइकल लुकाईसकेपछि नाइकेले दुई तरिकाले मोटरसाइकललाई सप्लाई गर्छन् । पहिलो तरिका हो नाईकेले डिलरलाई मोटरसाइकल बारे जानकारी दिनु । अनि डिलरले दलाल मार्फत ग्राहक खोजेर मोटरसाइकल १५ देखि २० हजार रुपैयाँसम्म विक्री गर्छन् । स्तरीय जानकार मिस्त्रीहरु डिलरको रुपमा काम गर्छन् भने लागु औषधमा पल्केका यूवाहरु ग्राहक खोज्ने दलालको रुपमा काम गर्छन् । डिल पक्का भईसकेपछि नाइकेले वा डिलरले ५ सय देखि १ हजार रुपैयाँ दिएर करियर मार्फत मोटरसाइकल ग्राहक सम्म जिम्मा लगाउने काम गर्छन् । नाइकेले दोस्रो तरिकाबाट पनि मोटरसाइकल विक्री गर्छन् । नाइकेले सिधा ग्राहक आफै खोजेर पनि विक्री गर्छन् । मुख्य कुरा के हो भने यी सम्पुर्ण भुमिका सहित संगठित भई गिरोहका रुपमा काम गर्नेहरुले विभिन्न तहका मानिसहरुलाई चिनिरहेका हुँदैनन् ।
 पक्राउ परेका व्यक्तिहरु मध्ये शिवराज श्रेष्ठ र कमल ठाकुरको काम भने मोटरसाइकलको लक तोडेर चोरी गर्ने रहेको छ । त्यसैगरी विक्की साह, अनिल साह, जितेन्द्र साह र शैलेन्द्र मिश्रको भुमिका भनेको चोरेको मोटरसाइकल सानो नाइकेसम्म पु¥याउने गरेको थियो । त्यसैगरी सानो नाइके सरोज यादव र बउवा भन्ने बाबुजी यादवले मोटरसाइकल लुकाएर राख्ने र मोटरसाइकलको बारेमा डिलरलाई जानकारी दिने भुमिका निर्वाह गर्ने गरेक ाथिए  त्यसपछि डिलर बउवा भन्ने बाबुजी यादवले दलाललाई मोटरसाइकल आएको जानकारी गराउने, किन्ने मान्छे उपलब्ध भएको जानकारी आएपछि करियरलाई सानो नाइकेकोमा पठाई मोटरसाइकल उठाउन लगाएर कस्टमर सम्म पु¥याउन लगाउने भुमिका निर्वाह गरेका थिए । सरोज यादवले विक्रीको केही कमिशन र बाबुजीले सानो कमिशन पाउने गर्छन् । तर, धनुषा प्रहरीले अहिले सम्म पनि ग्राहक खोज्ने, ग्राहकसँग मोलमोलाई गरी पैशा लिने, कहिले काँही करियर समेत उपलब्ध गराउने दलाल को हुन भनेर पहिचान गर्न सकेको छैन । त्यसैगरी चोरीको मोटरसाइकल किन्ने ग्राहक र करियरको हुन भन्ने व्यक्तिको समेत पहिचान गर्न सकेका छैनन् ।  चोरी गर्ने व्यक्तिहरुले नै तत्कालै चोर बाटोको प्रयोग गरी नजिकको भारतीय बजारमा लगेर कवाडी तथा मोटर पार्टसका पसलहरुमा सस्तो मुल्यमा बेच्ने गरेको अर्को गिरोह पनि सक्रिय छ । ती गिरोह पनि अहिले धनुषा प्रहरीको फन्दामा आउन सकेको छैन ।
जनकपुरबाट सुरु हुने उनीहरुको संजाल महोत्तरी हुँदै भारत बिहारको बासोपट्टी, छतौनी, हरलाखी लगायतका स्थानमा पुग्ने गरेको छ । ती स्थानबाट समेत चोरीको मोटरसाइकल बरामद गरेर ल्याइएको अनुसन्धानमा संलग्न प्रहरी नायव निरीक्षक गगन साहीले बताएका छन् ।
    गएको एक साताभित्र विभिन्न स्थानहरुबाट पक्राउ परेका ती गिरोहका व्यक्तिहरु र चोरी गरेको मोटरसाइकल सार्वजनिक गर्दै प्रहरी प्रमुख थापाले उनीहरुको चोरीको शैलीलाई ‘आधुनिक’ बताए । एसपी थापा भन्छन,“ अहिले मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ परेपछि तत्कालै मोटरसाइकल चोरी हुने अपराधमा कमि आउने छ । तर, मानिसले पनि सचेतता अपनाउनु पर्यो । आफ्नो मोटरसाइकलको ह्याण्डल लक गर्नुपर्दछ ।”


२०७२ जेष्ठ १७ गते आईतबार