Wednesday, April 3, 2013

‘आर्थिक विपन्नताको शिकार, मधेशी किसानको जीवनमा हाहाकार’




पशुपतिनाथ मधेसी
नेपालबाट बग्ने तमाम नदिहरु मधेशको माटो छोएरै आफ्नो यात्रा तय गर्ने गरेको हुन्छ । तर पनि हाम्रा मधेशका किसान पानीका लागि त्रसित हुन्छन् । हुन त आजको २१औं शताब्दीमा मधेशी किसान भगवानको ईन्द्रको आश पालेर बस्नु आफैमा दुर्भाग्यपुर्ण हो । कम घनत्वकै भए पनि यदि हामीले मधेशको पूर्व र पश्चिमलाई जोडेर एउटा खोला निर्माण गरे र मधेशमा राम्रो सिचाईको ग्यारेन्टी गर्न सके हाम्रा भुमी उर्वर मात्र हुने होईन, सुनसम्म उत्पादन गर्न सक्छ । यहाँ सुन भन्नुको अर्थ किसानको आर्थिक स्तर खुवै मजाले उकासिने गरि पृथ्वी फल्नु हो । तर नेपाली शासकहरुले मधेशमा केहि राम्रो भएको हेर्न चाहदैनन् । त्यसैले यस्ता केहि सिमित प्रयासहरु पनि भएका छैनन जसले मधेशको किसानको मुहान फेर्न सकोस । मधेशको किसानको उर्वर भुमि झन उर्वर होस र उनिहरुको आर्थिक स्तर उकासियोस । मधेशको भुमिको उर्वरतालाई केलाउने हो भने यहाँ दाल, गहुँ, चामल र मौसमी तरकारी खुवै मजाले उब्जिन सक्छ ।  मधेशको भूमि देव भूमि हो जहाँ माता सीता र भगवान् बुद्ध जन्मेका थिए ।  पौराणिक, आध्यात्मिक  र समाजिक रुपले उर्वर मधेशको भुमिलाई नेपाल सरकारको बक्र नीतिले कमजोर बनाएको छ र किसान कहिले ईन्द्रको मुख ताक्ने त कहिले सामन्तको हात(खुट्टा समाउन बाध्य छन ।
    मधेशसँग टाँसिएको सीमावर्ती क्षेत्र बिहार  जहाँ खाध मल र विउबिज पर्याप्त मात्रामा उपल्ब्ध भए पनि मधेशी किसान त्यसबाट लाभान्वित हुन सकिरहेका छैनन् ।  मधेशमा खाध मल र बिजको जबरजस्त अभाव देख्न सकिन्छ । खाध मल र बिजको अभावका कारण सुन उब्जाउने क्षमता भएको मधेशको उर्वर जमिन बाझो बनेको छ । मधेशी किसान जिल्ला सदरमुकाम र सरोकारवाला निकायका अगाडी सहयोगको लागि हात फैलाईरहेका हुन्छन, तर सदाझैं हात लाग्यो सुन्य । नेपाल सरकारको निकायबाट केहि सिन्को नभाँचिएको देखेपछि किसान सीमावर्ती
क्षेत्रबाट साईकलमा खाध ल्याउने शाहस जुटाँउछन् । तर उनको शाहसलाई ‘स्यालुट’ गर्नुको साटो नेपाल प्रहरी उनिहरुसँग आफू खुशी घुस माँग्छन, अभद्र व्यवहार गर्छन् र मानशिक तनाव दिन्छन । विचारा किसान ! चार पैसा बचाँउनको लागि टंटलापुर घामको परवाह नगरि साईकलमा खाध ल्याउने शाहसी प्रयास गर्छन तर उसको त्यो कदम नेपाल प्रहरीका लागि घुस खाने अवसर श्रृजना गरिदिन्छ । गरिवको ‘पसिना’ को कमाई लुट्ने नेपाल प्रहरी, हाय रे नेपाल प्रहरी ! खेती नगरे किसानले के गरि आफ्नो पेट पाल्ने हुन त्यो बुझिदिने कोहि छैन तर घुस खानको लागि सबैको त्रिनेत्र खुल्नु बडो लज्जास्पद हो । बिगतका दिनमा किसानले घुस नदिएकै कारण गोलीको शिकार हुने गरेको, लात(जुत्ता खाएको र बेवजह जेल जीवन विताएको जस्तो घटनाहरु सार्वजनिक नभएका होईनन् । यी सब नेपाल प्रहरीका दानव रुपहरु हुन् । किसानहरु दिनहुँ आफ्नो भाग्यलाई श्रापी रहेका हुन्छन । उनिहरुको आर्थिक स्थिती दिनप्रतिदिन खस्किदै गएको छ । उनिहरुको आवाज सुनेदिने कोहि छैन । आवाज विहिनको आवाज मानिने मिडिया पनि किसानको आवाजलाई त्यति वास्ता नगरेको देखिन्छ । उनिहरु आफ्ना छोरा(छोरीलाई राम्रो शिक्षा दिन सकिरहेका छैनन् । निजी बिद्यालय त परै जाओस बिद्धार्थीको न्युन्तम आवश्यक्ताहरु पनि पुरा गर्न सक्ने हैशियतमा छैनन मधेशका किसानहरु । ‘आर्थिक विपन्नताको शिकार, मधेशी किसानको जीवनमा हाहाकार’ नामका नारा बन्न सक्छ अहिले उनिहरुको वास्विक हैशियतलाई केलाउने हो भने ।
    यदि नेपाल सरकारले किसानलाई खाध, मल र बिज उपलब्ध गराउन सक्ने हैशियतमा छैन भने ती बस्तुमाथि लाग्ने भंसार र करका तमाम प्रावधानहरु खारेज गरिनुपर्छ । भारत सरकारसँग बिबिध किसिमका वार्ताहरु गरेर भए पनि किसानका लागि चाहिने चिज(विजहरु ‘अन डिमान्ड’ र विना करको सहजै उपल्व्ध हुने वातावरण निर्माण गरिनुपर्छ ।
    यदि मधेशका किसानका लागि भारतबाट सहजै खाध(मल आयात गर्ने संयन्त्र बनाईए किसानको ‘कायापलट’ हुनेछ । मधेशी किसान भारतको हरियाण, पंजावको किसानझैं आर्थिक रुपले संपन्न हुनेछन र किसान पेशा पनि सुरक्षित र दह्रो रुपले संस्थागत हुनेछ । नेपाल सरकारको अर्थशास्त्रीहरुको अध्ययन नपुगेर हो कि बनको बाघले नखाए पनि मनको बाघले निलेको हो भनौं, के भनौं । आजको मितिमा कृषिको उत्पादन बढाउनेतर्फ विकसितदेखि बिपन्न मुलुकसम्मको ध्यान तानिएको छ । तर दुर्भाग्यवस नेपाल सरकारको नीति कृषिलाई कमजोर गर्नेतर्फ उद्धत छ ।
    अर्थशास्त्रीहरुले यो बुझ्नुपर्यो को मोटो अर्थ आर्जन गर्ने र ‘भुखमरी’ हटाउने सर्वकालिक विकल्प कृषि नै हो । उनिहरुले आफ्नो नेपालको कृषिलाई हेर्ने चस्मा बदलिनपर्ने आवश्यक्ता आईसके । त्यसैले, मधेशको किसानको लागि नभए पनि आफ्नो नेपाली पेट नेपालकै ‘दाना’ बाट भर्नकै लागि भए पनि नेपाल सरकार र उसका संबन्धित निकाय जाग्नै पर्योे । नेपालको ‘लाईफलाईन’ मानिने मधेशको भुमिलाई वाँझो देख्ने शाहसबाट मुक्त हुनैपर्यो् । र आफ्नो पेट भर्न पनि अर्काको भुमिको फल खाने संस्कार कस्तो होला, सोचौं है सोचौं ।

मिति ः २०६९ चैत्र १८

जनकपुर माध्यमिकि परिक्रमाको असल एवम् खराब पक्षहरुको विश्लेषण


उमेशलाल कर्ण
जनकपुरलाई हिन्दु धर्मावलम्वीहरुको उच्च आस्थाको केन्द्रको रुपमा परिचित गराई विभिन्न पर्व तिहार तथा परम्परालाई जीवन्त राख्न समय समयमा केही न केही क्रियाकलापहरुको आयोजन गरिन्छ, जस अन्तर्गत रामनवमी, बिबाह पञ्चमी, परिक्रमा ( अन्तःगृह परिक्रमा ) आदि पर्दछन् । यी धार्मिक गतिविधिहरुको सञ्चालनवाट स्थानीय व्यापारी लगायत धेरैको जीबनयापन यसैमा केन्द्रित रहेको यथार्थ छ । यस्ता उत्सव महोत्सवहरुको सञ्चालन गर्दा यहाँका संघसंस्थाहरुको भूमिका अग्रस्थानमा रहनु पर्नेमा त्यो नभएर यसमा गैरजिम्मेवारीपनाको अवस्थाहरु देखिएको छ । यसको प्रतिनिधि उदाहरणको रुपमा माध्यमिकि परिक्रमालाई लिन सकिन्छ । परिक्रमामा सहभागी हुनेहरु मध्ये अधिकांश पचास साठी वर्ष उमेर नाघि सकेका श्रद्धालुहरु हुन्छन् । यिनीहरुको व्यवहारमा धर्म प्रतिको अन्धभक्ति चरमसीमा नाघि सकेको विभिन्न उदाहरणहरु देखिन्छन् । कहिले, कहाँ, कसले, कसरी, कुन अवस्थालाई पूर्णता दिएर यस धार्मिक अनुष्ठानमा सहभागी हुनु पर्छ ? जस्ता पक्षहरुको सम्बन्धमा कसले अधिकारिक उत्तर दिनु पर्ने हो ? यसलाई स्थानीय प्रशासनले कुन कुन आधार दिएर व्यवस्थित वनाउनु पर्ने हो ? जस्ता अनुत्तरित प्रश्नहरु हाम्रा सामु खडा भएको छ । यी र यस्ता अन्य यक्षप्रश्नहरुलाई हामि कहिलेसम्म वेवास्ता गर्ने वा यसको समुचित उत्तर दिने जस्ता महत्वपूर्ण सन्दर्भ रहेको छ ।
    धर्म र यससँग जोडिएर रहेका विविध पक्षहरुलाई समय अनुसार परिवर्तित वा समाज अनुकुल  नवनाई प्रभावकारी रुपमा व्यवहारमा ल्याउन सकिदैन । जनकपुरवाट प्रारम्भ भएको पाक्षिक परिक्रमामा सकभर सवै वन्दोवस्तीका सामानहरु लिएर तयार भएका हाम्रा वरिष्ठ सामाजिक सदस्यहरु जसलाई जीवनका समग्र पक्षहरुमा अरुको सहयोगको नितान्त आवश्यकता हुन्छ तर कसैले उनीहंरुको समस्याका पक्षहरुमा सघाउन चाहेका हुँदैनन् । अन्तिम दिन समापन हुने दिनमा गृह परिक्रमामा सहभागी भएकाहरुलाई विहानको समयमा सहयोगका केही नाराहरु सुन्न पाइन्छ, जस्तै निःशुल्क स्वास्थ्य सल्लाह शिबिर, च्युरा मिठ्ठा ( गुंर ) नास्ताको व्यवस्था, शर्बत, हराएका मान्छेहरुको खोजी गर्न माइकिंगको व्यवस्था आदि रहेको देखिन्छ । यस प्रकारको राहत सहयोगवाट सबैले यसलाई स्वीकार गर्ने थोरै मात्र हुन्छन् । शिबिरमा औषधि वितरणको जिम्मेबारी कम उमेरका अपरिपक्व केटाहरुमा त्यसमा संलग्न रहेका हुन्छन् । स्वास्थ्य सल्लाह तथा अन्य सहयोगात्मक अवस्थालाई समेत कुनै अधिकारिक निकायले आप्mनो जिम्मामा त्यसको सञ्चालन भएको पुष्टी गर्न सकिने अवस्था रहेको छैन । यो धार्मिक यात्राको सुरुवात भएको दिन र अन्तिम दिनको समाप्तीलाई नजिकवाट नियाल्दा यसमा भएका केही सकारात्मकता र बढी नकारात्मकताको अवस्थालाई विश्लेषण गर्न खोजिएको छ ।
    सुरुकै अवस्था देखि रहेका सकारात्मकतामा भाईचारा, बन्धुत्व तथा सहकार्यहरुको उदाहरणीय भूमिकाहरु देख्न सकिन्छ । यसमा सहभागीहरु आप्mना कृषि, गृहस्थ कार्यहरुमा सहभागी दिक्दार पनि भएका हुन्छन् । पन्द्रह दिनको घुमघामले धेरै हदसम्म पुनर्ताजगीकरण भएर फेरी अर्को वर्षमा गर्नु पर्ने कार्यमा पूर्ण उर्जाका साथ सहभागी हुन तयार भएका हुन्छन् । यस वर्षको परिक्रमामा केही असामाजिक क्रियाकलापहरुले पनि स्थान लिएको छ, जस अन्तर्गत श्रद्धालुहरुलाई आवश्यक हुने सेवा सुबिधाहरु सहज उपलब्ध भएको हुँदैन । यसलाई जिम्मेबार निकायहरुले समयानुकुल परिवर्तन गरेर यसवाट राष्टूले विकासका विविध पक्षहरुको  सम्वृद्धि गर्न यसलाई महत्वपूर्ण अवसरको रुपमा परिचित गराउन सकिन्छ । यसवाट आन्तरिक पर्यटनका आकर्षक प्याकेजहरु तयार गरी विभिन्न संस्थाहरुलाई यसमा आकर्षण गर्न सकियो भने हाम्रो पर्यटनको क्षेत्रमा अपेक्षित सुधारका साथ यसलाई व्यवस्थित गर्न पनि सक्षम हुन्छौं ।  परिक्रमाबाट उब्जिएका केही नकारात्मक अवस्थाहरुलाई सम्बद्ध पक्षहरु जिम्मेवार बन्न सक्नु पर्ने अनिवार्य शर्तको रुपमा हाम्रा सामु रहेको छ । नकारात्मक पक्षहरुमा मुख्य रुपमा श्रद्धालुहरुको बास, खानपान, खानेपानी, उपचार एवम् अन्य सहयोगको अवस्था अत्यन्तै कमजोर रहेको  उनीहरुको व्यवहारवाट पुष्टि भएको हुन्छ । जनकपुरको अन्तःगृहको परिक्रमा सडकको जीर्ण अवस्थाले चप्पल जुत्ता लगाएर हिंड्दा पनि जोखिमयुक्त हुने तर यसलाई व्यवहारमा ल्याउन नाङ्गो खुटृामा पुरा गर्नुपर्ने परम्परागत अवधारणा रहेको छ । यस्ता मान्यताहरुको विकास गरेर श्रद्धालुमैत्री सवै व्यवस्था ल्याउन विभिन्न तयारी गर्नु पर्ने अनिवार्य रहेको छ ।
    आन्तरिक पर्यटनको आधारमा यस अवसरलाई उपयोगी हुने किशिमवाट सञ्चालन गर्न केही मूल पक्षहरुमा आगामी वर्ष देखि सुधार एवम् परिवर्तनको खाँचो रहेको सन्दर्भमा परिक्रमामा प्रयोग हुने सडक, बासस्थानको सुनिश्चितता, शौचालय, स्नानगृह, आवश्यक औषधि उपचारहरुको प्रबन्ध, प्रशासनले नेतृत्व गर्ने समूहको पनि परिचालन गरी यसमा समयको मागको आधारमा आवश्यक सुधार भयो भने सर्वजन हिताय सर्वजन सुखायको अवस्था सुनिश्चित हुन जान्छ । यो हाम्रो परम आवश्यकता हो ।

मिति ः २०६९ चैत्र १८