Monday, July 4, 2016

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा थुनामा रहेका मोहन ठाकुर रिहा भएपछि भन्छन, पार्टीले मेरो कामको मुल्याङ्कन गरोस्

मोहन कुमार ठाकुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनको बेला महोत्तरीमा एक जना सशस्त्र प्रहरीका असई थमन विकलाई हत्या गरेको आरोपमा कारागार थुनिएका ३ जना अभियूक्तहरु मध्ये मोहन ठाकुर पुनरावेदन अदालतको आदेशबाट रिहा भएका छन् । २९ माघ २०७२ मा पक्राउ परेका ठाकुर सहित अन्य २ जनालाई महोत्तरी जिल्ला अदालतले  पुर्पक्षका लागि जेल चलान गरेको थियो  । जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ बस्ने २५ वर्षीय सञ्जयकुमार साह, वडा नम्बर २ बस्ने ३० वर्षीय प्रदीप साह माझी र परिकौली फुल्हट्टा गाविस–३ हाल जलेश्वर नपा–१७ बस्ने ५५ वर्षीय मोहन ठाकुर थिए । जसमध्ये २७ जेष्ठ २०७३ मा ठाकुर रिहा भएका छन् भने अन्य २ जना कारागारमै थुनामा छन् । जेल जानेहरुले मधेस आन्दोलनका बेला गत भदौ २५ गतेका दिन महोत्तरीमा अवस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जससागरमा कार्यरत असई थमन बिकलाई कुटपीट गरी हत्या गरेको आरोप लगाइएको छ  । रिहा भएपछि मोहन कुमार ठाकुरसँग द एक्सक्लुसिभले गरेको कुराकानी ः

 म मोहन कुमार ठाकुर अनपढ, गँवार भएपनि पार्टीको रणनीति अनुसार मधेसवादीको पक्षमा अत्यन्तै लगनशिलताको साथ मधेस आन्दोलनमा लागेको थिएँ । म मधेस आन्दोलनको एउटा सक्रिय कार्यकर्ता हो । दोस्रो पटक सदभावना महोत्तरीको कार्यसमिति सदस्य भएको व्यक्ति हो ।

पक्राउ परेका बेला बायाँबाट क्रमशः प्रदिप माझी,
 संजय साह र मोहन ठाकुर ।
मधेस आन्दोलन उत्साह जनक ढंगले अगाडी वढ्दै थियो । जलेश्वरमा आन्दोलनको संयोजकत्वको जिम्मा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक तराई मधेस लोकतान्त्रिक पार्टीको फाँटमा परेको थियो । जलेश्वरमा वृहत जनशक्ति प्रदर्शनको तयारी गरिएको थियो । जलेश्वर नगरपालिका घुमेर महादेव स्थान, साहुजीपट्टी हुँदै दुर्गा चौकमा आएर जुलुस जम्मा भई मञ्चिय कार्यक्रम गरि विरोधसभामा सम्बोधन गर्ने तयारी थियो । मञ्चमा नेताहरु बस्ने क्रम चलेको थियो भने आन्दोलनकारीहरुको मास पनि हजारौंको संख्यामा जम्मा भएको थियो । त्यतिकैमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको छतबाट भिडलाई तितरवितर गर्नका लागि अश्रु ग्यास फायर गर्न थालियो । दर्जनौं राउण्ड अश्रू ग्यास प्रहरीले फायर गरेको थियो । भिड तितरवितर भईरहेको थियो । तर,  अचानक गोली फायर गरियो । ४ जना प्रदर्शनकारीहरुको स्पोटमै मृत्यू भयो । जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा रातिमा कफ्र्यू लगाइयो । रात भरी जलेश्वरका सडक सुनसान थिए । तर, ४ जना मान्छे मारिएको आक्रोश थियो, प्रदर्शनकारीहरुमा । विहान पल्ट सशस्त्र प्रहरीका असई थमन विक यूवाहरु भएको ठाउँमा पुगे । यूवाहरुले ती व्यक्तिलाई यहि मान्छे हो प्रदर्शनकारीहरुलाई गोली हान्ने भनेर चिने । पछाडीबाट एक जना सिभिल डूेसमा बनौटाका प्रहरी मोटरसाइकलमा आईरहेका थिए । त्यसपछि पुलिस भाग्न थाल्यो । ४÷५ हजार जति प्रदर्शनकारीहरु थिए । प्रदर्शनकारीहरुले तिनीहरुलाई लखेट्न थाले । थमन विकलाई कुटपिट गरी घाइते बनाए ।
त्यहाँ उनको मृत्यू भएको थिएन । तर, स्थानीय प्रशासनको चरम लापरवाही देखियो । घाइते विकलाई उपचार गराउनका लागि हेलिकप्टर मगाउन सकिन्थ्यो । तर, मगाइएन । साढे ११ बजेसम्म जलेश्वर अस्पतालमा राखियो । तर, थप उपचारका लागि जनकपुर पठाउँदा रुट गलत अपनाइयो । जुन गाउँका मानिसहरुलाई प्रहरीले हत्या गरेको थियो सोही बाटोबाट एम्बुलेन्सलाई पठाइयो । प्रहरी प्रशासनको के योजना र षड्यन्त्र अनुसार नै त्यो बाटोबाट पठाइयो । भिडलाई थप आक्रोषित गर्न पठाइएको थियो । असईको मृत्यु भएपछि त्यही नाउँमा आफुहरुले गरेको दमनलाई सेलाउन सकिन्छ र मधेस आन्दोलनलाई मथ्थर पार्न सकिन्छ भन्ने उद्देश्यले प्रहरीले सोचेर नै त्यो बाटोमा पठाएको थियो ।
पुष २९ गते मसाल जुलुस प्रदर्शन गर्ने तयारी थियो । सरस्वती पुजा भन्दा एक दिन पहिलेका कुरा हो । आन्दोलन सकिसकेपछि म आउँदै थिएँ । जिरोमाइलमा मलाई गिरफ्तार गरियो । विनोदजी तपाई नै होइन भनेर सोधिरहेको थियो । त्यतिबेला ३ जना पुलिस थिए । र, एउटा भ्यान पछाडी थियो । महुवा कपिलेश्वरका एक जना घुमुवा संजय पासवानले आफ्नो मुख छोपेको थियो । र, उनले इशारा गर्यो कि यहि मान्छे हो समातिहाल्नुपर्छ । अनि एक जना प्रहरीले मलाई भन्यो, तपाईलाई एसपी ओफिस जानुपर्छ । मैले भने, भोली विहान भेटे हुँदैन । बल गर्ने कुरै भएन । मलाई गाडीमा चढाइयो र मेरो मोवाइल प्रहरीले नियन्त्रणमा लियो । मलाई सम्पर्क विहिन बनाइयो । विचमा मलाई राखेर दुवै तर्फ राईफलधारी पुलिस गाडीमा बस्यो । मलाई एउटा अपराधि सरह व्यवहार गरिदैथियो । २ मिनेट जति भ्यान चलेको होला । तराई मधेस लोकतान्त्रिक पार्टी ओफिस निर आउँदा साथीहरु शंकर साही समेत थिए । मैले शंकरजीलाई भनें, म भित्र जाँदैछु । त्यसपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा मलाई बसाइयो । आधा घण्टा पछि एसपी साहेव आउनु भयो । विनोदजी के छ भनेर एसपी साहेवले मलाई सोध्नुभयो । मैले म विनोद होइन मोहन ठाकुर हो भनेर भनें । कुराकानी भईरहेको बेला भिडियो क्याम्रामा रेकर्डिङ्ग समेत गरिँदै थियो । किनभने मेरो कुरा र पुलिसले उपलब्ध गराएको भिडियोमा साउण्ड म्याच गर्नु थियो र अदालतमा प्रस्तुत गर्ने उद्देश्यले भिडियो क्याम्रामा रेकर्डिङ्ग गरेको कुरा जब अदालतमा मलाई उपस्थित गराइयो तब मात्र मैले बुझ्न सकें ।
एसपी साहेवलाई मैले भनें मलाई घर जान दिनुस् । अनि एसपी साहेवले भोली पठाउछु भनेर जवाफ दिनु भयो । मैले भनें मलाई मेरो मोवाइल दिनुस घरमा जानकारी दिनुपर्यो । मोवाइल दिइयो । र, मैले आफ्नो छोरा अशोक ठाकुरलाई फोन गरेर सबै कुराको जानकारी गराएँ । १० मिनेट पछि आन्दोलनकारी संजय साह र प्रदिप माझीलाई समेत प्रहरीले म भएको ठाउँमा समातेर ल्यायो । संजय साहलाई अलि अलि पहिले देखि पनि चिनिरहेको थिएँ । तर, माझीलाई यस अघिसम्म चिनेको थिइन । ती दुवै जनालाई कहिले माथि लगिन्थ्यो त कहिले तल ल्याइन्थ्यो । करिब ४÷५ पटक सम्म आउने जाने क्रम चल्यो । हामी तिनै जनालाई आँखा बाँधेर तल माथि लगिन्थ्यो । तर, कुनै यातना भने दिइएन । हामीलाई गिरफ्तार के का आधारमा गरिएको थियो, हामीले बुझ्न सकिरहेका थिएनौं ।
म आन्दोलनमा सुरु देखि नै सक्रिय थिएँ । कहिल्यै हिंसा गरेको छैन । जिल्ला प्रशासन घेराउ गर्ने दिन मात्र मेरो हातमा एउटा लाठी थियो । हामीले जिल्ला प्रशासन घेराउ गरिरहँदा प्रमुख जिल्ला अधिकारी विनोद यादव आफ्नो निवासबाट सशस्त्र प्रहरीको क्याम्प हुँदै जिविसको गेट भएर जिल्ला प्रशासन पुग्नुभएको थियो । मुल गेटबाट पस्नसक्नु भएको थिएन । त्यस यता मैले कहिल्यै लाठी पनि बोकिन् । तर, मलाई सशस्त्र प्रहरी असई थमन विकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो । अदालतमा आदेश हुने दिन त्यो दुई जना यूवाहरु धेरै डराईरहेका थिए । म अलि उमेरमा पाको भएको हुनाले पनि मलाई डर भईरहेको थिएन तर ती दुई जना यूवाहरुलाई हर्ट अटेक नै होला जस्तो अनुभुति भईरहेको थियो । जितेन्द्र नामका एक जना असई हाम्रो सुरक्षाका लागि अदालतमा खटाइएको थियो । एसपी साहेव पनि त्यहाँ आउनु भयो । मैले एसपी साहेवलाई भनें तपाईकै कमि कमजोरीका कारण हामी निर्दोषहरु जेल पर्ने अवस्था आएको छ । किनभने एक जना घनश्यामजी र उद्धव क्षेत्री वकिल साहेवले मेरो नजिक आएर के भन्नु भएको थियो भने मोहनजी २÷३ दिनको लागि जेल जानुस्, हामी चाँडै छोडाईहाल्छौं । मैले बुझें पुर्पक्षमा जाँदा २÷३ दिन होइन, महिनौं लाग्न सक्छ । मलाई मेरो चिन्ता थिएन । चिन्ता थियो त मात्र ती दुई जना यूवाहरुको ।
हामीलाई अदालतबाट तल ल्याइयो । दृष्य कस्तो थियो भने १ हजार देखि १५ सय जतिको बीचमा मानिसहरु नाराबाजी गरिरहेका थिए । मैले प्रदिपलाई भने कि प्रदिप अब हामीले मान्छेहरुलाई रोक्नुपर्छ । नत्र पुलिसले गोली चलायो भने हाम्रै कारण फेरी निर्दोष मानिसहरु मारिन सक्छन् । मानविय क्षति हुन सक्छ । त्यसकारण हामीले नाराबाजी गरिरहेका मानिसहरुलाई के भन्यौं भने हामीहरु मधेसको मुक्तिका लागि नै जेलमा गईरहेका छौं । अनि भिडको नाराबाजी शान्त त भयो तर हाम्रा आफ्न्त र परिवारजनहरु धुरुधुरु रोइरहेका थिए । हामीले आफुलाई सम्हाल्यौं । हामीलाई जलेश्वर कारागार लगियो ।
जलेश्वर जेलभित्र जाने वितिकै हामी तिनै जनालाई देखेर कारागार भित्र रहेका सम्पुर्ण कैदी बन्दीहरुले जय मधेसको नारा लगाउन थाल्यो । करिब १५÷२० बर्ष यता जेल भित्र कुनै कैदी जाँदा कैदीबन्दीहरुले एक साथ यसरी नाराबाजी गर्दै कसैलाई पनि स्वागत गरिएको थिएन । हामीलाई सबै कैदी साथीहरुले भव्य स्वागत गरे । सबैले भने कुनै चिन्ता लिनु पर्दैन । तर, जेलभित्र धेरै समस्याहरु छन् । सुत्ने ठाउँको अभाव, शौचालयको अभाव लगायत थुप्रै कमि कमजोरीहरु छन् । जेलका समस्याहरु कुनै अर्को दिन विस्तारमा बताउँला ।
पुनरावेदन अदालतबाट आदेश आईसकेको थियो । जेलका चौकिदार श्रीनारायण भित्र आएर भने कि अदालतले राम्रो आदेश गरेको छ । मैले उनलाई सोधे के भयो, हामी तिनै जना रिहा भयौं कि भएनौं । अनि श्रीनारायणले तपाई मात्र रिहा हुनु भएको छ भनेर जवाफ फर्काउँदा मलाई धेरै पीडा भयो । किनभने म त बुढो भईसकेको मान्छे, मेरो परिवारमा पनि छोरा छोरीहरु छन् तर ती दुई जना यूवाहरुको भविष्यलाई लिएर धेरै चिन्ता भइरहेको थियो । तर, के गर्ने । मलाई बाहिर आउनु पर्यो । अदालतबाट साधारण तारेखमा र एम्बुलेन्सको आगजनीको आरोपमा ४÷४ हजार रुपैयाँ विगो राखेर म छुटेको थिएँ । सदभावनाको पार्टी ओफिसमा सबैभन्दा पहिले आएँ । साथीहरु फुलमाला लगाउन थाल्नु भयो । मैले इन्कार गरें । ५ बजे घर आएँ । शुक्रबार घर फर्केको थिएँ । आईतबारसम्म कहिँ कतै गइन । त्यसपछि सँधै पार्टी ओफिस जाने गरेको छु ।
जेलमा हुँदा पार्टी अध्यक्ष राजेन्द्र महतो, सह अध्यक्ष लक्ष्मण लाल कर्ण, महासचिव मनिष सुमन, सह महासचिवहरु देवेन्द्र यादव, सुरिता साह लगायतले फोन गर्नुहुन्थ्यो । सबैले चिन्ता लिनु पर्दैन । जे भए पनि अब मेरो पनि घर परिवार छ । छोरा छोरीहरु छन् पार्टीले मेरो पनि भविष्यको बारेमा सोचिदिनुपर्दछ भन्ने मेरो इच्छा र पार्टीसँग आग्रह पनि छ । मधेस आन्दोलनका दौरान र त्यस अघि पनि मैले पार्टीले दिएको निर्देशन अनुसार पनि मेरो मुल्याङ्कन होस् भन्ने मात्र चाहना रहेको छ ।
पार्टीले मेरो प्रोमोशन नै गर्नुपर्छ वा आगामी चुनावमा टिकट नै दिनुपर्छ भन्ने कुरा मैले भनिरहेको छैन तर आगामी दिनमा पनि पार्टीको निर्देशनमा कुनै पनि कार्यकर्ता अगाडी वढ्नका लागि उत्प्रेरित गर्नका लागि पनि मलाई के लाग्छ भने मलाई पार्टीले मेरो भविष्यबारेमा सोच्नुपर्दछ । जे भएपनि मधेसले आफ्नो मुक्ति पाउनै पर्ने हुन्छ ।




२०७३ आषाढ १९ गते आईतबार