Monday, April 20, 2015

योगनारायण अदालतमा हाजिर हुने ः एमाले धनुषा

योगनारायण यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य योगनारायण यादव प्रहरी समक्ष सरेन्डर नगरी अदालतमा सिधै हाजिर हुने नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बताएका छन् । यादव भुमिगत नभई पार्टीको सम्पर्क मै रहेको भन्दै साह भन्छन,“अहिलेको प्रहरीको अनुसन्धान प्रक्रिया निश्पक्ष छैन, एकपक्षिय ढंगले अनुसन्धान प्रक्रिया अगाडी वढाएका बेला यादवले प्रहरी समक्ष सरेन्डर गर्ने अवस्था नरहेको हुनाले उनी अदालतमा हाजिर हुनेछन् ।” उनलाई पक्राउ गर्न धनुषा प्रहरी र काठमाण्डौको प्रहरी चौतर्फी खोज तलास र सर्च अभियानमा जुटेका बेला नेकपा एमालेले ३ बैशाख २०७२ मा पत्रकार सम्मेलन गरेर यादव निर्दोष रहेको समेत साहले दावी गरेका छन् ।
    वैकल्पिक पोलिटब्यूरो सदस्य यादवकै योजना र रोहवरमा धनुषाको सबैला नगरपालिका वडा नंं. १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति चयनको विषयलाई लिएर स्थानीयलाई हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गरिएको हो । 
चैत ८ गते राति साढे ७ बजे सबैला नगरपालिका वडा नं. १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति चुनावमा कसरी प्रस्तुत हुने सम्बन्धी भइरहेको छलफलमा यादव नेतृत्वको समूहले उनकै निर्देशनमा आपूmहरुमाथि आक्रमण भएको एमाले सबैला गाउँ इकाइ कमिटी अध्यक्ष एवं पुर्व गाविस अध्यक्ष रामवली साहसहित घटनाका घाइतेहरुले आरोप लगाएका छन् । आक्रमणमा परि गम्भिर घाइते भएका स्थानीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटैमा मृत्यु भएको थियो भने रामप्रकाश यादवको गोली हानी रहस्मय तरिकाले हत्या गरिएको थियो । घटनामा १२ जना भन्दा बढि घाईते भएका थिए । रामप्रकाश यादवको हत्या कसरी भयो भन्ने रहस्य अहिले पनि यथावत छ ।
    १८ चैत्रमा यादव विरुद्ध जिल्ला प्रहरी धनुषामा सिकिल देवी र श्याम किशोर साहले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरे पछि उनी प्रहरीको वान्टेड सूचिमा परेका छन् । गत चैत्र ८ मा सबैलामा रामसेवक राउत गडेरीलाई हत्या गरेको तथा आक्रमणमा परी १ दर्जन जति मानिस घाइते भएपछि यादवलाई प्रमुख अभियुक्त बनाइएको छ । यादवसँगै चिनिएका २४ जना विरुद्ध किटानी जाहेरी र नचिनेका २० जना गरी कुल ४४ जना विरुद्ध उक्त मुद्दा दर्ता भएको छ । ३ सय ३ नम्बर दर्ता रहेको उक्त मुद्दामा यादव सँगै उनका भाईहरु र उनका सहयोगी नेता तथा कार्यकर्ताहरु पनि अभियुक्तको सूचिमा परेका छन् ।
एमालेको सबैला गाउँ इकाई कमिटिका सदस्य तथा संगठित सदस्य रहेका योगनारायणका भाई महेन्द्र यादव  र अर्को भाई जगदीश यादव (यूवा संघ अञ्चल कमिटिका सदस्य) विरुद्ध पनि किटानी जाहेरी परेको स्रोतको भनाई छ । त्यसैगरी उक्त मुद्दामा नेकपा एमालेको धनुषा जिल्ला कमिटिका सचिव लक्ष्मीनारायण यादवका विरुद्ध मुद्दा दायर गरिएको बताइन्छ । धनुषाको कजरारमौल घर भएका लक्ष्मीनारायण योग नारायणको दाहिने हातको रुपमा चिनिन्छन् । त्यसैगरी धनुषाका गोदारका अच्छेलाल महत्तो (एमालेको जनकपुर अञ्चल समितिका पुर्व सदस्य तथा सचिव), सबैला मुसहरी टोल वडा नं. १ का महेश यादव, लाल विहारी यादव, भुवनेश्वर यादव, सिताशरण यादव, मखनाहाको जिवछ यादव, झटियाहीको दुर्गा साह र देवलाल मण्डल विरुद्ध पनि किटानी जाहेरी परेको बताइन्छ । सिताशरण यादव नेकपा एमालेको सबैला गाउँ इकाई कमिटिका पुर्व अध्यक्ष तथा क्षेत्र नं. ६ का क्षेत्रिय कमिटि सदस्य पनि हुन । त्यसैगरी जिवछ यादव क्षेत्रिय कमिटिका सदस्य, दुर्गा साह भर्खरै सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनबाट बैकल्पिक सदस्य चुनिएका थिए । देवलाल मण्डल यूवा संघको क्षेत्र नं. ६ को क्षेत्रिय अध्यक्ष र इन्चार्ज पनि हुन । सबैलाका रामबाबु यादव विरुद्ध पनि मुद्दा परेको बताइन्छ । यता नेकपा एमाले धनुषाले जारी गरेको प्रेस बक्तव्यमा पनि यादवलाई निर्दोष बताएका छन् । माओवादी मोर्चाका रामबहादुर साहले जाड रक्सी सेवन गरी एमालेका नेता तथा कार्यकर्ताहरुबारे जथाभावी गालीगलौज गरिरहेको होहल्ला सुनि योगनारायण यादवको घरमा रहेका हाम्रा ५÷७ जना साथीहरु तिनी जडियालाई गाली गर्दै लखेटदै जाँदा योगनारायण यादवको घर भन्दा करिब ३ सय मिटर पुर्व दक्षिण एक फर्निचर भएको घरमा भागेर पुग्दा त्यहाँ बैठक वसिरहेको विपक्षी माओवादी मोर्चाका अगुवासँग भिडन्त÷झडप हुन गई कम विशेष दुवै पक्षका कार्यकर्ताहरु घाइते हुन गई स्थानीय स्वास्थ्य चौकी र जनकपुर अञ्चल अस्पतालमा भर्ना भएको एमालेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
    घाइतेहरु मध्ये माओवादी मोर्चा तर्फका दुईजना गम्भीर घाइते काठमाण्डौ रेफर गरिए पश्चात एमाले पक्षका सख्त घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आएका योगनारायण यादवका भाई महेन्द्र यादव र गम्भीर घाइते रामविहारी यादवलाई अस्पताल हातावाटै र महेश यादवलाई सबैला स्थित आफ्नो घरबाट राति करिब १० बजे तिर प्रहरीले पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ । यसरी आफ्ना साथीहरु पक्राउ पर्न थालेपछि सबैलाका एमालेका नेता तथा कार्यकर्ताहरु भागाभाग भई गाउँ छोडेको मौका छोपी मध्य रातिमा विपक्षी माओवादी मोर्चाद्वारा आफ्ना पार्टीका जुझारु अगुवा कार्यकर्ता रामप्रकाश यादवलाई आफ्नो घर गोठबाट अपहरण गरी क्रुर यातना पश्चात गोली हानी हत्या गरेको नेकपा एमाले धनुषाले प्रेस विज्ञप्ती जारी गरी आरोप लगाएको छ ।
रामसेवक राउत गडेरीको मृत्यु भएको जाहेरी दरखास्तमा एकातर्फ उक्त झडपमा जादै नगएका तर सो दिन सबैला स्थित आफ्नै घरमा रहेका योगनारायण यादव र तिनका दाजुभाई स्थित दर्जनौं निर्दोष नेकपा एमालेका अगुवा कार्यकर्ताहरुलाई फसाउने गरी नाउँहरु जाहेरी दरखास्तमा हालिएको एमाले धनुषाले आरोप लगाएको छ । झडपका समयमा आ आफ्ना गाउँ ठाउँमा रहेका लवटोली गाविसका पुर्व राष्टिूय प्रतिनिधि परिषद सदस्य अच्छेलाल महत्तो, कजरा रमौल घर भएका बर्तमान जिल्ला सचिव लक्ष्मीनारायण यादव, झटियाही घर भएका जिल्ला समिति सदस्य दुर्गा साह, यूवा संघ नेपाल ६ नम्बर क्षेत्रका अध्यक्ष देवा मण्डल र मखनाहा घर भएका जिवछ यादवलाई उक्त जाहेरी दरखास्तमा नाम हाली षडयन्त्र मुलक ढंगले फसाउन खोजिएको एमालेले आरोप लगाएको छ ।
    जिल्ला प्रहरी कार्यालय धनुषा उक्त षडयन्त्र मुलक हत्या श्रृङ्खलालाई सुक्ष्म रुपमा खोज तलास गरी अध्ययन अनुसन्धान र छानविन गर्नुको सट्टा माओवादी मोर्चाले फिजाएको हल्लाको पछाडी लागि नेकपा एमालेको विरुद्धमा दत्तचित्त भएर लागेको प्रहरी माथि एमालेले आरोप लगाएको छ । एकातिर सबैला घटनाको निहुमा एमालेको संगठन ध्वस्त पार्ने कुनियतले ६ नम्बर क्षेत्र भरिका नेता र अगुवा कार्यकर्ताहरुको नाम उल्लेख भएको जाहेरी जिल्ला प्रहरी कार्यालयले अबिलम्ब दर्ता गर्ने तर अर्को तिर मृतक रामप्रकाश यादवकी धर्मपत्नी जनकीया देवी यादवले मेरो श्रीमानको हत्याराहरु फलाना फलाना हुन भनी दिइएको किटानी जाहेरी दरखास्त हालसम्म पनि दर्ता नगर्नुले प्रहरी प्रशासनले माओवादी मोर्चाको दवाव र प्रभावमा परी गहिरो अनुसन्धान नै नगरिकन एक पक्षिय रुपमा काम गरिरहेको आरोप लगाइएको छ ।     कानुनी राज्यको मर्यादाको पक्ष पोषण गरिरहेको आफुहरुको धैर्यताको यो भन्दा वढी परीक्षा लिने धृष्टता नगर्न र चौतर्फी एवम पुर्वाग्रह रहित ढंगको गहिरो र सुक्ष्म अनुसन्धान अगाडी वढाई बास्तविक दोषी र अपराधिहरुलाई कारवाहीको दायरा भित्र ल्याउन र राजनीतिक पुर्वाग्रहको कारणले फसाइएका निर्दोष व्यक्तिहरुलाई दोष मुक्त गर्न एमाले धनुषाले विज्ञप्ती मार्फत प्रहरी प्रशासन समक्ष माग गरेको छ । उक्त कार्यको लागि सबैला घटनाको स्वतन्त्र र निश्पक्ष छानविन गर्न तथा गराउनका लागि एक न्यायिक छानविन कमिटि बनाई घटनाको सत्य तथ्य बाहिर ल्याई बास्तविक अपराधिहरुलाई कारवाही गर्न नेकपा एमाले धनुषाले प्रेस विज्ञप्ती मार्फत नेपाल सरकारसँग माग गरेको छ ।

२०७२ बैशाख ०६ गते आईतबार