Wednesday, December 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

कस्तो मुर्ख अस्पताल बनाईदिन जग्गा दान गरेको हामीलाई दिए हुन्थ्यो नि ! बालुवा, गिट्टीको सट्टा जग्गै बेचेर खान्थे बा !

२०७३ पौष ०३ गते आईतबार

एकिकृत सहरी विकास परियोजनाको ढल निर्माण कार्यमा व्यापक अनियमितता, ठेक्केदार प्रतिनिधिको पक्षमा धनुषाको सिडिओ

एकिकृत सहरी विकास परियोजना अन्तरगत निर्माण भईरहेको ढलमा अनियमितता पाइएको छ ।
ढलको तल बालुवा राख्नुपर्नेमा राखिएको छैन,
 ढलको जोड्नीमा राख्नुपर्ने मापदण्ड अनुसारको
स्लेव राखिएको छैन, खाल्डोमा रहेको पानीको
 डिवाटरिङ गरिएको छैन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालकै प्राचिन सहरहरु मध्ये एक हो, जनकपुरधाम । प्राचिन मिथिलाका राजधानीका रुपमा स्थापित रहेको यो सहर पौराणिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकिय रुपले विश्वमै प्रख्यात रहेको छ । तर, आधुनिक जनकपुरधामको अवस्था कुरुप सहरको रुपमा विख्यात हुन गईरहेको छ । फोहोरमैला, ढल व्यवस्थापन नभई पानीको निकास नहुनु, सडक कतै देखा नपर्नु, लामखुट्टेको राजधानीको रुपमा जनकपुरको पहिचान बन्न थालेको पाइन्छ । छाडा चौपाया, गाईबस्तु, सुँगुर, अव्यवस्थित सहर, साँगुरो बाटो आदि यस सहरको प्रमुख समस्याको रुपमा रहेको छ । ती सबै समस्याहरुलाई समाधान गर्न एसियाली विकास बैंकको सहयोग तथा लगानीमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा एकिकृत सहरी विकास परियोजनालाई हेरिएको छ । करोड रुपैयाँको बजेट मात्र देखिरहेको जनकपुर नगरपालिका अब उपमहानगरपालिका भएपनि उसको आफ्नो आर्थिक क्षमता, सामर्थय र बजेट विनियोजन अत्यन्तै कम रहेको छ । यस्तो अवस्थामा करिब १ अर्ब रुपैयाँको लगानीमा जनकपुरमा ढल निर्माण, सडक निर्माण, फोहोर मैला व्यवस्थापन तथा जनचेतना मुलक कार्यक्रम सहित परियोजना लागु भएको छ । उक्त परियोजना अन्तरगत अहिले जनकपुरमा ढल निर्माणको कार्यहरु प्रारम्भ भएपनि थुप्रै अनियमितता पाइएको छ । गुणस्तरहिन कार्य भईरहेको भन्दै जनकपुरका यूवा विद्यार्थीहरु नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, कृष्णा सिंह, भवेश मिश्र, सुदर्शन सिंह, सुशिल कर्ण, जानी खान, लव कुमार झा आदिले असंतुष्टि जनाएको छ । यता जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले एक सप्ताहमा गुणस्तरहिन कार्य नरोकिए जस्तो सुकै आन्दोलन पनि गर्न पछि नहटने चेतावनी समेत दिएका छन् ।
२३ डिसेम्बर २०१५ मा सडक र ढल निर्माण गर्नका लागि जेडआईइसि÷शर्मा जेभीका आधिकारिक प्रतिनिधि रमेश शर्मा र उक्त परियोजना बीच ९८ करोड रुपैयाँको लागतमा ३०.३८ किलोमिटर ढल निर्माण र ९.२७ किलोमिटर पक्की सडक निर्माण गर्ने सम्झौता भएको थियो । २२ फेब्रुवरी २०१६ देखि उक्त निर्माण कम्पनीले कार्य सुरु गरेको ७ सय ३० दिन भित्रमा अर्थात २१ फेब्रुवरी २०१८ मा कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त निर्माण कम्पनीको तर्फबाट प्रतिनिधिका रुपमा आफुलाई समाजसेवी भन्ने निर्माण व्यवसायी बलराम महतो खटिएका छन् ।
निर्माण व्यवसायीको तर्पmबाट बलराम महतोले प्रस्तुत गरेको कार्ययोजनाको सूचिमा ५ सय २० दिनमा एनपी २ र एनपी ३ सहितको ह्यूम पाइप विछाईसक्ने बताएको छ । पछिल्लो समयमा भएको आन्दोलन तथा सार्वजनिक विदाहरुका कारण ५० दिन काम गर्न नसकिने र २ सय ४३ दिन भित्रमा ह्यूम पाइप विछाउने कार्य सम्पन्न गरिसक्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको पाइन्छ । यसरी हेर्ने हो भने ५ सय २० दिनमा करिब ३१ किलोमिटर पाईप विछाइनुपर्ने हो । अहिले सम्मको अवस्थामा अर्थात २ सय ४३ दिन भित्रमा करिब १४ किलोमिटर पाईप विछयाइनुपर्ने हो । तर, बास्तवमा अहिलेको प्रगति हेर्ने हो भने आजको दिनसम्ममा करिब ५ किलोमिटर मात्र ह्यूम पाईप विछयाइएको छ । प्रतिशतको आधारमा हेर्ने हो भने सय प्रतिशत काम हुनु पर्नेमा करिब ३३ प्रतिशत कार्य मात्र गरिएको छ । आजको दिनसम्ममा करिब ११ किलोमिटर जतिको लागि ह्यूम पाईप मौज्दातमा रहि  ३ किलोमिटर मौज्दात घटी रहेको बुझिएको छ । व्यावसायीक उत्पादनको काम अक्टुवर महिनामा प्रारम्भ भएतापनि भार संतुलन परिक्षणको अभावमा जडान गर्ने काम हुन सकेको छैन ।
उक्त निर्माण व्यवसायीले हालसम्ममा कुल ३ सय ५५ वटा मेन होल निर्माण गरिसक्नुपर्नेमा कुल ३४ वटा मात्र मेन होलको काम आंशिंक रुपमा मात्र गरिएको छ । किनभने निर्माण गरिएका मेन होलको अन्य कामहरु प्लास्टर, पनिङ, भर्याङ, कभर राख्ने कामहरु बाँकी नै रहेको छ ।
परियोजनाको निर्माण कार्यमा अनियमितता
अनुगमनका क्रममा पाईपको जोड्नी मुनि
राखिएको स्लेव भत्किएको पाइएको थियो ।
एक त कछुवाको गतिमा निर्माण कार्य भईरहेको छ त्यसमा पनि गुणस्तरहिन कार्य गरिनुका साथै व्यापक अनियमितता भएको भन्दै जनकपुरका स्थानीय यूवाहरुको समुहले २३ मंसिर २०७३ मा जनकपुरको मुरली चौक देखि विश्वकर्मा चौकसम्म भईरहेको निर्माण कार्य रोकेको थियो । पछि एकिकृत सहरी विकास परियोजनाका म्यानेजर गंगाप्रसाद यादव र कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झा लगायतको टोलीले स्थलगत निरीक्षण गर्दा पनि अनियमितता पाइएको थियो । सम्झौता अनुसार ह्यूम पाईप विछ्याउने क्रममा १२ सय, १ हजार तथा ९ सय सेन्टिमिटर डायामिटरको पाईप जोडनीको मुनितिर (१००ह५० ह १०) सेन्टीमिटर साइजको एम २० गे्रडको प्रिकास्ट स्लायव डाया मिटर ७ सय ५० तथा डाया मिटर ६ सय से.मि.को पाईप जोडनीको मुनि तिर (५० ह ४०ह१०) से.मि. साइजको एम २० ग्रेडको प्रिकास्ट स्लायव राख्नुपर्ने हो । त्यसैगरी ज्वाइन्टमा रबर गैसकेट राख्नुपर्ने, एलाेंग द पाइप मुनितिर २० सेन्टीमिटर मोटाईमा स्यान्डबेडिङ अर्थात ह्यूम पाईप को तल बालुवा विछ्याउनुपर्ने हो । यति मात्र होइन ह्यूम पाईप विछ्याउने क्रममा करिब ३ मिटर गहिराईको खाल्डो खन्दा ठाउँ ठाउँमा छेउ तिरको ढलको पानी कतिपय ठाउँमा खानेपानीको पाईप फुटी पानी लिकेज हुने गरेको छ । कहिँ कहिँ बेडबाटै पानी रसाउने देखिएकोले त्यस्ता ठाउँमा डिवाटरिङ अर्थात पम्प सेट राखेर पानी निकालेर त्यसको समुचित व्यवस्था मिलाई ह्यूम पाईप विछ्याउनुपर्ने कुरा सहितको प्रावधान सम्झौतामा उल्लेख रहेको छ । तर, उक्त दिन गंगा प्रसाद यादव र बद्रीनाथ झा सहितको संयूक्त टोलीले जनकपुरको मुरली चौक स्थित पुर्वतर्फ र पश्चिम तर्फ गरिएको कामको अवलोकन गर्दा सम्झौता अनुसार रितपुर्वक काम नभएको पाइयो । त्यसको स्थलगत मुचुलका पनि उठाइएको थियो जसमा स्थानीयवासीहरुका साथ साथै परियोजना प्रमुख गंगा प्रसाद यादव र कन्सलटेन्ट बद्रीनाथ झाको समेत हस्ताक्षर गरिएको छ ।
शिलान्यास भएको ठाउँ राराब क्याम्पसको पुस्तकालय भवनको अगाडी, बसहिया रोडको वरिपरी, बुधवारे हटिया नजिक होटेल नमस्तेको बरिपरी पिडारी चौक देखि भानु चौकका बीच, जनकपुर चुरोट कारखाना, रामा होटेल भानु चौक, रहमान पथ, एस ३ आउट फलको पश्चिम भाग, मालपोत कार्यालय देखि भमरपुरा चौक बीचको ठाउँ  २ मा यस्तै पानीले प्रभाव पारेको खाल्डोहरु पाइन्छ । अर्थात ती खाल्डोहरुमा डिवाटरिङ नगरि पाईप विछ्याइएको छ ।
अनुगमनका क्रममा खाल्डोमा रहेको पानीलाई डिवाटरिङ
नगरी पानीको दलदलमै पाईप विछाएको पाइएको थियो ।
निर्माण कम्पनीले उक्त ठाउँहरुमा काम व्यवस्थापनको लागि सोरिङ प्लेट, स्लज पम्प, रोड बेज, फुट बेज, फेन्सेज तथा सेफ्टी आदिको व्यवस्था मिलाउन महिनौ व्यतित गर्नु परेको भएपनि हालसम्म सोरिङ प्लेट  तथा पम्प काम गर्ने अवस्थामा नरहेकोले एक्सभेटरको बकेटबाट डिवाटरिङ तथा एक्सटूा अर्थ वर्क अर्थात अतिरिक्त माटो सडकमा राख्नुपर्ने बाध्यता छ । तर, कार्यको प्रगति विवरण भने न्यून देखिएको छ ।
यसका अतिरिक्त ह्यूम पाईपको आफ्नो प्रोडक्सन प्लान्ट नभएको, सप्लायरबाट आवश्यकता अनुसारको पाईप अथा समयमा आपुर्ति हुन नसकेको, आफ्नो प्रोडक्सन प्लान्टको कमर्शियल प्रोडक्सन १५ जुन २०१६ देखि हुनुपर्नेमा अक्टुवर २०१६ देखि मात्र भएको र उत्पादन भएको पाईपको लोड वियरिङ टेस्ट हालसम्म पनि नगरिएको हुनाले ह्यूम पाईप विछ्याउने कार्य प्रभावित हुन पुगेको अवस्था रहेको सुपरिवेक्षण कार्यका लागि खटिएका कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झाको भनाई छ । बेला बेलामा रबर गेसकेटको अभावले पनि काम प्रभावित हुन पुगेको देखिन्छ । निर्माण व्यवसायी तर्फ हुनुपर्ने प्राविधिक जनशक्तिको अभाव, दक्ष कामदार खास गरी डकर्मीको अभावमा मेन होलको काम प्रभावित भएको हो । ह्यूम पाईप विछ्याउने कार्य भईरहेको भएपनि व्याक फिलिङको काम, लेयर वाईज अर्थात तहगत कम्प्याक्सनको काम सम्झौता अनुसार नगरि अधुरो र अपुरो रहेको छ । यसका अतिरिक्त पाईप विछ्याउने क्रममा पुनरस्थापनको कार्य पनि गरिएको छैन ।
यस अघि पनि परियोजना प्रमुख र कन्सलटेन्टको संयूक्त अनुगमनका बेला बसहिया रोड, पिडारी भानु चौक क्षेत्र लगायत अन्य विभिन्न सडक खण्डहरुमा मापदण्ड विपरित डिफेक्टेड हयूम पाईप र स्लेवहरु पाइएको थियो । जसलाई रिजेक्ट गरिसकिए पनि तिनीहरुको प्रयोग गरिएको र काम नलाग्ने सामानहरु कार्य स्थलबाट हटाउनका लागि निर्माण व्यवसायीलाई मौखिक र लिखित निर्देशन दिँदादिदै पनि निर्माण व्यवसायीले अवज्ञा गरेको पाइयो । २३ मंसिर २०७३ मा मुरली चौक पश्चिमको साइटमा पनि त्यस्तै भत्किएको ह्यूम पार्ईप, स्लेव आदिहरु पाइएको थियो । त्यस्ता रिजेक्टेड सामग्रीहरुको निर्माण कार्यमा प्रयोग गरिरहेको स्थानीय यूवाहरुले आशंका व्यक्त गरेका थिए । यति मात्र होइन निर्माण गर्दा ह्यूम पाईपको तल २० सेन्टीमिटर मोटाईमा बालुवा राखेर पाईप विछ्याउनुपर्नेमा बालुवा नराखेको पाइयो । ह्यूम पाईपको भालेपोथि ज्वाइन्ट गर्ने ठाउँमा राख्नुपर्ने स्लेव मापदण्डको अनुसार नभएर भत्केको कमजोर स्लेव प्रयोग गरेको पाइएको थियो । त्यहाँ रहेका पानीलाई डिवाटरिङ गरिएको थिएन । बालुवा सडकमा कहिँ कतै मौज्दातको रुपमा रहेको पाइएन । ग्राभल समेत पाइएन । यसरी हेर्ने हो भने उक्त परियोजनाको कार्य अवधि अब करिब १५ महिना मात्र बाँकी रहेको अवस्थामा र कार्य बोझको परिणाम बढी नै बाँकी रहेको अवस्थामा कार्य थप प्रभावित हुने प्रसस्त आधारहरु देखिन्छ ।
३ मंसिर २०७३ मा जनकपुरका यूवाहरु तथा परियोजनाका म्यानेजर, कन्सलटेन्ट टिम लिडर र ठेक्केदार प्रतिनिधि सहितको संयूक्त अनुगमन
पछि देखिएको त्रुटि विषयमा उठाइएको मुचुल्का ।
२८ सेप्टेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले १२ सय मिलिमिटर व्यास बाहेक अन्य व्यासको हयूम पाईपहरु नदेखिएको, रब्बर ग्यासकेटको पर्याप्त मौज्दात नदेखिएको, ह्यूम पाईपहरुको आपुर्ति नगरिएको, आपुर्ति गरिएकाहरु मध्ये केही त्रुटिपुर्ण भई प्रयोगका लागि अयोग्य देखि रिजेक्ट गरिएको हुनाले ती सबै रिजेक्ट सामग्रीहरुलाई कार्यस्थलबाट हटाउन, त्यस्ता सामग्रीहरुका कारण स्थानीयवासीहरुको आवतजावतमा समेत समस्या भईरहेको, २२ अगस्त २०१६ मा पाईप विछ्याउँदा व्याक फिलिङको काम अर्थात माटोलाई पुनः रोलर चलाई पुर्ववत्त अवस्थामा नल्याएको, सवारी आवागमनमा कठिनाई भएको भन्दै जेडआईइसि÷शर्मा जेभीका ठेकेदार प्रतिनिधि बलराम महतोलाई प्रष्ट रुपमा पत्र मार्फत लिखित रुपमै निर्देशन दिइएको टिम लिडर झाले बताउने गरेका छन् । तर पनि निर्देशन अनुसार काम गरिएको पाइन्न ।
१४ डिसेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले जेडआईइसि÷ शर्मा जेभीका प्रोजेक्ट म्यानेजरलाई नै पत्र लेखेर प्रष्ट रुपमा ताकेता गरेको पाइन्छ । रिजेक्ट गरिएका भत्किएका ह्यूम पाईप तथा स्लेवहरुलाई कार्यस्थलबाट जतिसक्दो चाँडो हटाउन, खाल्डोमा पानीहरु रहेकाले त्यसलाई हटाउनका लागि उपयूक्त व्यवस्थापन गर्न तथा २० से.मि.को मोटाईको सेन्ड ग्राभल राख्न, कम्पेक्सन गर्न,  विभिन्न ठाउँमा खाल्डो खन्ने क्रममा खानेपानीको पाईप फुटेर अवरुद्ध भएको खानेपानीको वितरण सुचारु गराउन जतिसक्दो चाँडो व्यवस्था मिलाउन भनिएको छ । यति मात्र होइन विभिन्न डायमिटरका स्पाईगट टाईपको ह्यूम पाईपको उत्पादन तथा आपुर्ति गर्न पहिले भनिएपनि हालसम्म नभएको भन्दै ताकेता गरिएको छ ।
खानेपानीको पाईप ब्लक गरेपछि उपभोक्तालाई समस्या
ढल निर्माणका क्रममा उक्त निर्माण कम्पनीले खाल्डो खन्ने तथा हयूम पाईप विछाउने क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय जनकपुरद्वारा जडान गरिएको पाईप ठाउँ ठाउँमा भत्काईएको छ । ढल निर्माणको काम अगाडी वढाएपछि खानेपानीको पाईपलाई काटी काठको प्लग ठोकी खानेपानीको आपुर्तिलाई अवरुद्ध पारिएको छ ।
 यसरी ती पाईपहरु भत्काएर अवरुद्ध गरिएपछि सहरका सयौं नागरिकहरु खानेपानीको सुविधा प्राप्तिबाट बञ्चित हुन पुगेको छ । नमस्कार होटेल, मालपोत कार्यालय देखि मुरली चौक हुँदै विश्वकर्मा चौक सम्म, परिक्रमा सडक, थापा चौक देखि भानु चौक, पेठिया बजार स्थित रहिम पथ, कन्या पाठशाला लगायतका ठाउँहरुमा जडान गरिएको खानेपानीको पाईप भत्काइएको हो ।
नेपाल खानेपानी संस्थान कार्यालय धनुषाका कार्यालय प्रमुख सुरेश कुमार महतोका अनुसार ती निर्माण कम्पनीका प्रतिनिधि बलराम महतोलाई भत्काएर अवरुद्ध गरेको खानेपानीको पाईप जडान गर्न पटक पटक ताकेता गरेपनि कुनै सुनुवाई नै नगरेको हो । करिब ४ सय देखि ५ सय उपभोक्ताहरु त्यसकारण खानेपानी सेवन गर्नबाट बञ्चित हुन पुगेको छ, खानेपानी सुचारु नै नभएपछि उपभोक्ताहरु अब खानेपानीको जडान गरिएको लाईन समेत काटिदिनका लागि आवेदन दिन थालेका छन् । खानेपानी पनि नपाउने र न्यूनतम महसुल बुझाउनु नै पर्ने हुनाले ती उपभोक्ताहरु लाईन काटिदिन भन्दै आवेदन दिन थालेको हो । यसरी खानेपानी अवरुद्ध भएपछि मासिक ३ लाख जतिको महसुल सहितको रकम खानेपानी संस्थानलाई घाटा भईरहेको तथा १० लाख रुपैयाँ भन्दा वढीको पाईप भत्काईएको कार्यालय प्रमुख महतो बताउँछन् । करिब ३ महिना देखि ती ठाउँहरुमा खानेपानीको वितरण हुन सकिरहेको छैन ।
खानेपानी संस्थानले गाल्भोनाइज्ड आयरण र डक्टाईल आईरन सहितको पाईप जडान गरेको थियो । तर, एकिकृत सहरी विकास परियोजनाका डेपुटी म्यानेजर विरेन्द्र यादवले पोलिथिन पाईप जडान गर्न दिनुस भनेर दवाव दिएको सुनाउँदै खानेपानीका कार्यालय प्रमुख महतो भन्छन,“ जे पाईप हामीले जडान गरेका हौं त्यही पाईप लगाउनु पर्ने हुन्छ । विरगञ्जमा पनि त्यसै गरिएको हो । हामीले आफ्नो खानेपानी संस्थानका महाप्रवन्धक डा.अर्जुनबाबु ढकाललाई समेत जानकारी गराउँदा त्यो निर्माण कम्पनीले जुन अवस्थामा पाईप थियो सोही अवस्थामा ल्याउनु पर्ने बताएका छन् ।”
काम भन्दा वढीको भुक्तानी
निर्माण प्रतिनिधि बलराम महतोले अहिलेसम्ममा पहिलो पटक मोविलाईजेसनको पेश्की बापत पहिलो पटक १० प्रतिशत बापत ८ करोड ५४ लाख ६२ हजार तथा ५ प्रतिशत बापत ४ करोड २७ लाख ३१ हजार ३ सय ९० गरी जम्मा १२ करोड ८१ लाख ९३ हजार ३  सय ९० रुपैयाँ पहिलो किस्ता बापत भुक्तानी पाईसकेको छ । हालसम्म पाईप लेईङ र अन्य  कामहरु बापत विभिन्न तीन चरणमा तीन वटा रनिङ बिलबाट करिब १० करोड ७५ लाख १० हजार ३ सय २७ गरी कुल २३ करोड ५७ लाख ३ हजार ७ सय १७ रुपैयाँको भुक्तानी प्राप्त गरिसकेको छ । यसरी हेर्ने हो भने काम उनले एक चौथाई गरेका छैनन् तर भुक्तानी भने करिब एक चौथाईको पाईसकेका छन् ।
टिम लिडर र ठेक्केदार प्रतिनिधि हटाउने खेल
परियोजनाका ठेक्केदार प्रतिनिधि बलराम महतोको प्रशंसा तथा बचाऊ गर्दै र कन्सलटेन्टका टिम लिडर
बद्रीनाथ झालाई हटाउन धनुषाका सिडिओ दिलिप चापागाईले
कन्सलटेन्टलाई लेखेको पत्र ।
बलराम महतो बास्तवमा अहिले तराई मधेसमा निर्माण व्यवसायीमा बादसाह बनेका छन् । धेरै परियोजनाहरु उनकै मातहतमा रहेको रमन कन्स्टूक्शन कम्पनीले पाएका छन् । जस्तै हुलाकी सडक अन्तरगत जनकपुर(जलेश्वर भिठ्ठामोड सडक, जनकपुर देखि कदम चौक हुँदै बल्हा सघारासम्मको सडक, रेल्वेमा पेटी कन्टूेक्ट, विभिन्न ठाउँमा पुल निर्माण आदि परियोजनाहरु उनको मातहतको कम्पनीले ठेक्का प्राप्त गरेको छ । तर, अन्तराष्टिूय स्तरको ठेक्काका लागि आह्वान गरिएको एकिकृत सहरी विकास परियोजना अन्तरगतको जनकपुरको सडक तथा ढल निर्माणका लागि उनको कम्पनीको योग्यता नपुगेपछि जेडआईइसि÷ शर्मा जेभीले पाएको हो । त्यसपछि उक्त कम्पनीले बलराम महतोलाई आफ्नो कम्पनीको प्रतिनिधिको रुपमा पठाएको छ । जसमा उनको कम्पनी रमण कन्स्टूक्शनको नाम निसान पनि छैन । त्यसपछि उनले सोही परियोजनामा सव कन्टूेक्टरको रुपमा आफु र आफ्नो कम्पनीलाई मनोनयन गरि पाउ भनेर आवेदन दिएपछि उनलाई कन्सलटेन्ट टिम लिडर बद्रीनाथ झाले अस्वीकार गरेका थिए ।
४ अक्टुवर २०१६ मा टिम लिडर झाले एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादवलाई लेखेको पत्रमा के भनिएको छ भने ३ अक्टुवर २०१६ मा ठेक्केदार प्रतिनिधि बलराम महतोले टिम लिडर झालाई दुव्र्यवहार गर्नुका साथै परियोजनाका कामलाई समेत प्रतिकुल असर पारिरहेकोले त्यसतर्फ गम्भीरताका साथ ध्यान दिन अनुरोध गरिन्छ । त्यसपछि ५ अक्टुवर २०१६ मा परियोजना अधिकृत गंगा प्रसाद यादवले टिम लिडर झालाई दिएको जवाफ सहितको पत्रमा के भनिएको छ भने परियोजनाको निर्माण कार्यका लागि निर्माण कम्पनीका प्रतिनिधि बलराम महतो विरुद्ध कारवाही चाँडै अगाडी वढाईने छ ।

गुणस्तरहीन कामको विरोध गर्दै जनकपुरका यूवाहरु
मुरली चौकमा परियोजनाको काममा रोक लगाउँदै ।
१६ अक्टुवर २०१६ मा टिम लिडर झाले जेडआईइसि÷ शर्मा जेभीका आधिकारीक प्रतिनिधि सव कन्टेूक्टरको रुपमा रमन कन्स्टूक्शन कम्पनीलाई मनोनित गरी नियूक्त गर्न जेडआईइसि÷शर्मा जेभीले भनेको थियो । परियोजनाको कुल कामको ९५ प्रतिशत जिम्मेवारी रमन कन्स्टूक्सनलाई दिन भनिएको छ, अन्तर्राष्टिूय स्तरको ठेक्का भएका कारण उनलाई दिन सकिँदैन भनिएको छ । त्यसको कारणमा रमन कन्स्टूक्शनलाई आवश्यक पर्ने उपकरणहरु, जनशक्तिहरु, सामग्रीहरु ठेक्का स्वीकार गर्दा योग्यता तथा ती मापदण्डहरु हुनुपर्ने भन्ने शर्तमै ठेक्का जेडआईइसि÷ शर्मा जेभीलाई दिएको हो । तर, रमन कम्पनीसँग ती सबै कुराहरुको अभाव देखिन्छ । चालु कार्यको प्रगति पनि अत्यन्तै न्यून छ । ह्यूम पाईप उत्पादनका लागि आफ्नै कारखाना हुनुपर्ने, क्याम्पको स्थापना हुनुपर्ने आदि कुराहरु पनि नरहेकाले रमन कन्स्टूक्शनलाई उक्त परियोजनाको ९५ प्रतिशतको साझेदार बनाउन नसकिने झाद्वारा जेडआईइसि÷ शर्मा जेभीलाई लेखिएको पत्रमा उल्लेख छ ।
त्यसैगरी १६ अक्टुवरमै ठेक्केदार प्रतिनिधिको रुपमा रहेको बलराम महतोलाई कारवाही गरी उनलाई हटाएर उनको ठाउँमा अर्को उपयूक्त प्रतिनिधि पठाउनका लागि टिम लिडर झाले शर्मा जेभीलाई पत्राचार गरेको पाइन्छ । १७ अक्टुवर २०१६ मा परियोजनाका प्राजेक्ट म्यानेजर गंगा प्रसाद यादवले जेडआईइसि÷ शर्मा जेभीलाई पत्र लेखेर ठेक्केदार प्रतिनिधि बलराम महतोका कारण परियोजनाको कार्यमा प्रतिकुल असर परिरहेकोले प्रतिनिधिलाई हटाई अर्को प्रतिनिधि चयन गरी पठाउन भनिएको छ । तर, त्यसको ३ दिन पछि केही ठुलै चलखेल हुन्छ र २० अक्टुवर २०१६ मा परियोजनाका प्रोजेक्ट म्यानेजर जो ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउने कुरा गरिरहेका हुन्छन्, अचानक टिम लिडर झालाई नै हटाई अर्को टिम लिडर पठाउनु पर्छ भन्दै कन्सलटेन्ट कम्पनीलाई पत्राचार गर्छन् । यो कुरा किन पनि रहस्यपुर्ण छ भने अब गंगा प्रसाद यादवको के तर्क छ भने टिम लिडर बद्रीनाथ झाको काम गराईलाई लिएर स्थानीय माहौल नरहेको, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय जनता समेत उनको विपक्षमा रहेकोले टिम लिडर बद्रीनाथ झालाई हटाउनु पर्छ ।
बलराम महतोको बचाऊ गर्दै टिम लिडर झा हटाउन सिडिओको रहस्यमय चासो
२० अक्टुवर २०१६ अर्थात सोही दिन ४ कार्तिक २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले पनि स्वावजेभी डिएससी कन्सलटेन्टलाई पत्राचार गरी टिम लिडर बद्रीनाथ झालाई हटाउन भन्दै पत्राचार गरेको पाइयो । आयोजना संचालनको सम्बन्धमा केही महिना अगाडी देखि निर्माण व्यवसायी प्रतिनिधि र टिम लिडर बीचमा केही द्विविधाहरु देखिएको भन्दै दुई पक्ष बीच उत्पन्न मनोमालियले परियोजना निर्माणको कार्य सम्पन्न हुनमा ढिलाई हुने तर्क गरिएको छ । प्रजिअ चापागाईले लेखेको उक्त पत्रमा ठेक्केदार प्रतिनिधिको प्रशंसा गरिएको छ । हालसम्मको आयोजना निर्माणको अवस्था र विभिन्न समयमा भएका छलफल समिक्षाबाट समेत निर्माण व्यवसायी प्रतिनिधिको उपस्थिति र आयोजना समयमा नै सम्पन्न गर्न देखाएको तदारुक्ताको उच्च मुल्याङ्कन र प्रशंसा गर्नुपर्छ, प्रजिअ चापागाईद्वारा जारी पत्रमा लेखिएको छ । छलफलमा टिम लिडर झाले पेश गरेका बिचारधारणा र आयोजनालाई समयमा सम्पन्न गर्ने सम्बन्धमा देखाएको उदासिनतालाई यहाँको नागरिक समाज, राजनीतिक पार्टी, सरोकारबाला तथा प्रशासनले समेत अपेक्षित ठान्ने अवस्था देखिएन भन्दै  प्रजिअ चापागाईद्वारा लेखिएको पत्रमा के पनि भनिएको  छ भने यस नगरका नागरिकमा आयोजना छिटो सम्पन्न गरी चाँडो भन्दा चाँडो लाभ लिने तिब्र चाहना बढीरहेको सन्दर्भमा स्थानीय मुल्य मान्यता र एक अर्को प्रति हेर्ने दृष्टिकोण तथा व्यवहार समग्र अवस्थालाई विश्लेषण गर्दा हालको टिम लिडर राखिराख्न उपयूक्त हुने नदेखिएकोले हालका टिम लिडरलाई तत्काल अन्यत्रको जिम्मेवारी दिई अर्को टिम लिडरको व्यवस्था गरी आयोजनाको शिघ्र सम्पन्न गर्ने कार्यमा सहयोगका लागि अनुरोध गर्दछु ।
रोचक कुरा के छ भने यस अघिसम्म ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउनु पर्ने विषय कारवाहीको प्रक्रियामा अघि वढीरहेको बेला कन्सलटेन्टका प्रतिनिधि झालाई नै हटाउन जिल्लाको सिडिओले किन चासो लियो त ? गुणस्तरहीन काम गरि अनियमितता गरिरहेका ठेक्केदार प्रतिनिधि बलराम महतोको पक्षमा एउटा सिडिओले किन वकालत गर्यो ? स्थानीय वासीहरुका अनुसार ठेक्केदार प्रतिनिधि बलराम महतोले आर्थिक चलखेल गरी परियोजना म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई आफ्नो पक्षमा पार्न सफल भएको घटना क्रमहरुले पनि पुष्टि गर्छ ।
कन्सलटेन्टको जवाफ
कन्सलटेन्टका आधिकारिक प्रतिनिधि डा.श्याम कुमार मानन्धरले २० अक्टुवर २०१६ मै परियोजनाका म्यानेजर गंगा प्रसाद यादवलाई दिएको जवाफमा आफुहरुको टिम लिडर झाको कार्यबाट आफुहरु पुर्णतः संतुष्ट रहेको, झालाई हटाउन आवश्यक तथ्य र प्रमाणहरु नदिएको भन्दै बरु झालाई हटाउनुपर्ने कुनै ठोस आधार वा कारण रहेको छैन ।
उनलाई हटाउन यसरी दवाव दिए सम्झौता नै भंग गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चेतावनी पत्र मार्फत दिइएको छ ।
यसरी हेर्ने हो भने उक्त परियोजनाका सम्बन्धित पक्षहरु एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, निर्माण कम्पनीका ठेक्केदार प्रतिनिधि बलराम महतो र डिजाइन कन्सलटेन्ट तथा सुपरिवेक्षण कार्यका टिम लिडर बद्रीनाथ झा रहेका छन् । यसरी हेर्ने हो भने टिम लिडर झाले परियोजनाको कार्यमा अनियमितता हुन नदिनका लागि बेला मौकामा सदैव सचेष्ट गराउँदा गराउँदै पनि ठेक्केदार प्रतिनिधिले टेरपुच्छर नलगाएको पाइन्छ । त्यसैले उनलाई हटाउन सबै एकमत भएको पाइन्छ ।
माथि उल्लेख गरिएका कारणहरुले परियोजना प्रभावित भईरहेको अवस्थामा परियोजनाको कार्य समयमै र गुणस्तरयूक्त ढंगले सम्पन्न हुने कुरामा आशंका बढ्दै गएको पाइन्छ । अनियमितता भएको प्रष्ट प्रमाणहरु देखिए पनि दोषीलाई कारवाही नगर्ने हो भने भ्रष्टाचार र अनियमितता बढ्नुका साथै दण्डहिनता पनि बढ्दै जाने हुनाले स्थानीय राजनीतिक दल, नागरिक समाज,यूवा, विद्यार्थी तथा स्थानीय वासीले दवाव सिर्जना गर्नु आवश्यक छ ।


२०७३ पौष ०३ गते आईतबार