Monday, June 15, 2015

ज्वाँईलाई जेल पठाई छोरीलाई बेचेको खुलासा

पीडित श्रीमान–श्रीमति विष्णु र शुशिला ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
 आमा बुबा भनेपछि छोरीका लागि देउता समान हुन्छन् । छोरीले कहिल्यै दुःख नपाउन् भनेर आमाबुबाले सकेसम्म सुन्दर घरवर खोजेर ,दाईजो दिएर विहे गरि दिन्छन् । ससुरामा केहि कष्ट परे हेर्छन् ,सहयोग गर्छन् । तर छोरीसंगै लिएको पैँचो रुपियाँ पचाउन ज्वाँईलाई जेल पठाई छोरीलाई बेचेको कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यो कुरा भने यथार्थ हो । 
 
सापटी लिएको पाँच लाख रुपैयाँ बेईमानी गर्न धनुषा रघुनाथपुर ८ का मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले ज्वाँईलाई जेल र छोरीलाई बेचेको खुलासा भएको छ । ज्वाँई धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरलाई हतियारसहित फँसाएर जेल पठाएको र छोरी २३ वर्षीया शुशीला ठाकुरलाई बेचेको रहस्य बाहिरिएको हो । ज्वाँई डेढ वर्षको जेल जिवन विताएर बहिर निस्किएपछि यस्तो अनौठो रहस्य सार्वजनिक भएको छ । 
 
विष्णु र शुशीलाको विवाह २०६६ सालमा समाजिक परम्परा अनुसार भएको थियो । निम्न घरपरिवारका शुशीलाका पति विष्णु विहे भएको दुई वर्षपछि आफ्नो घरपरिवारको भविष्यका लागि रुपैयाँ कमाउन वैदेशिक रोजगारीमा साउदी अरेविया गए । विदेश गएर मिहिनेत साथ कमाएको एक(एक पैसा जोड्ने  र जम्मा भएको रुपैयाँ बेला(बेला श्रीमतीको नाममा विष्णुले घर पठाउन थाले ।  श्रीमान विष्णुले पठाएको रुपैयाँ पैसाले घरपरिवारको खर्च जुटाउनुका साथै रकम बचत समेत गर्न थालिन, शुशीला ।  
 


शुशिलाका आमाबुबा ।
विदेशबाट ज्वाँई विष्णुले पठाएको रुपैयाँ पैसा र छोरी शुशीलाको  सुख देख्न नसकी शुशीलाका बुबा मिश्री र आमाको मनमा पाप जाग्यो । त्यसपछि रुपियाँपैसा कसरी हात पार्ने दाउमा लागे शुशीलाकी बुबाआमा । बुबाआमाले छोरी र ज्वाँईलाई फकाई विभिन्न कामको बहानामा सापटी भन्दै पटक(पटक गरी पाँच लाख ५० हजार रुपैया लिन सफल भए । पीडित शुशीला भन्छिन्, ‘ पैसाको लेनदेन भईरहेको अवस्थासम्म माईतसंग सम्बन्ध अत्यन्तै सुमधुर थियो । तर, जव श्रीमान विदेशबाट आउनु भयो र मलाई पैसा माग्न भन्नुभयो , पैसा माग्न थाले देखि आफुलाई जन्म दिएर पालन पोषण गर्ने आमाबुबासंगको सम्बन्ध चिसिँदै गयो ।’
  दुई वर्षपछि २०७० सालमा विदेशबाट कमाएर विष्णु घर फर्केर आए । विष्णुका अनुसार आफु विदेशमा मिहिनेतसाथ कमाएर पटक पटक दिएको सापटी साढे पाँचलाख रुपैयाँ माग्न थालेपछि सासुससुराले पैसा पचाउन  षड्यन्त्र रच्न थाले । त्यस कार्यमा शुशीलाकी जेठी दिदी धनुषा मथलेश्वर पुरन्दाहा विहे भएकी कोशिला पनि संलग्न भएको विष्णुको भनाई छ ।
 
एक दिन श्रीमान(श्रीमती औषधि उपचार गराउन जनकपुर आएको मौका छोपी हामीलाई जेठी दिदी कोशिलाले दुवै जनालाई साँझ पर्यो भोली घर जानु भन्दै आफ्नो घर लगेको शुशीलाले बताइन् । शुशिला भन्छिन, ‘दिदी कोशिलाले आफ्नो घरमा लगेर एउटा कटुवा पेस्तोल श्रीमान विष्णुको सिडानीमा राखेर प्रहरी बोलाई पक्राउ गराए ।’ हातहतियार तथा खरखजानाको मुद्दामा धनुषा जिल्ला अदालतले डेढ वर्षको कैद सजाय सुनएपछि विष्णु महोत्तरीको जलेश्वर जेल जानु प¥यो ।   
 
विष्णुलाई जेल पठाएपछि पनि त्यतिखेर आफ्नै आमाबुबा र दिदीको यस्तो चाल रहेछ भन्ने थाहा पाइनन् । त्यस पश्चात आमाबुबाले आफुलाई प्रभावमा पार्न सफल भएको शुशीलाको भनाई छ । 
शुशीला भन्छिन, ‘आमाबुबाले पैसा बेईमानी गर्नका लागि ज्वाँई तह लगाए अव छोरीलाई तह कसरी लगाउने भन्ने दाउमा लागेको थियो तर मलाई त्यतिखेर सम्म पनि थाहा थिएन ।’   ‘एक दिन रौतहटको शिवगढी मेला हेर्न जाने भनि आमाबुबा र बुबाका छिमेक नेंग्रा यादव भन्ने व्यक्ति, म र मेरो ४ बर्षको छोरा समरलाई समेत लिएर गयो’ ।  गएको २०७१ बैशाख महिनामा शुशीला र उनका चार वर्षीया छोरा समरलाई रौतहटको शिवगढी मेला हेर्न भन्दै शिवमन्दिरमा लगे । र, त्यहाँबाट रौतहट जिल्लाको अजगेवी गाविसका छुठु राय यादवका ३५ वर्षीय छोरा शौखीलाल राय यादवसंग ४० हजारमा बेचेर त्यहाँबाट फरार भए । शुशिलाले भन्छिन, ‘ म र मेरो छोरालाई बेचेको कुरा मैले त्यति खेर मात्र थाहा पाएँ जव तीन चारजना पुरुषहरु लिन आए । अनि हात समातेर तिमीलाई ४० हजारमा किनेको छु  भनेपछि ।’ त्यसपछि त शुशिलाको होस नै हरायो । श्रीमान जेलमा, आमा बुवाले आफुलाई बेचिदियो भन्ने कुरा पत्याउनु पनि त कसरी ? तर, परिस्थितिको आँकलन गरेपछि उनलाई पछुताउनुको अन्य विकल्प थिएन ।
 

आमाबुबाले मलाई ‘तिमी र छोरो यहाँ बस्दै गर, हामी केहि बेरमा घुमफिर गरेर आउँछौ’ भन्दै गएका उनीहरु साँझसम्म पनि आएनन् । त्यसपछि आफुलाई किनेको व्यक्तिले तीन चार जना व्यक्तिहरु आएर समातेर लगेको शुशीलाको वेदना छ ।  बेच्नेकार्यमा संलग्न आमाबुबाको साथै मेला हेर्न भन्दै संगै गएका बुबाका छिमेक नेंग्रा यादव र उनका छोरी रौतहटको विरती गाउँमा विहे भएकी सकुन्ती यादव, आफ्नो जेठी दिदी कोशिला समेत गरी पाँच जनाको हात रहेको शुशीलाले बताइन । शुशिलाका अनुसार आफु र छोरालाई किनेका यादवले घरमा लगि कतै निस्किन नदिई घरमै थुनेर राख्ने , कुटपीट गर्ने ,यौन शोषण गर्ने जस्ता यातना दिने गरेको थियो ।   यता डेढ वर्षको जेल सजाय भोगेर गएको फाल्गुन महिनामा पति विष्णु घर फर्केपछि शुशीला र सानो छोरालाई खोज्दा उनीहरु एक वर्षदेखि वेपत्ता भएको कुरा थाहा पाए । यसमा पनि सासु ससुराकै चाल छ भन्ने कुराको शंका लागेपछि खोज अनुसन्धान शुरु गरेको बताउँदै डेढ महिना पश्चात रौतहटको एक गाउँमा यादव थरका व्यक्तिसंग ४० हजार रुपैयाँमा बेचेको कुरा गएको चैत्तमहिनाको अन्ततिर मात्र थाहा पाएको विष्णुको भनाई छ । विष्णुले भन्छन, ‘मैले थाहा पाउने वितिकै रौतहटको स्थानीय कोपबा प्रहरी चौकीमा आफ्नी श्रीमती र छोरालाई बेचिएको उजुरी दिनासाथ प्रहरीले शुशीला र छोरो समरलाई उद्धार गरिदिए ।’ 
शुशीला उद्धार भएपछि सासु ससुराले लिएको पैँचो रुपियाँ बेईमानी गर्न नै यस्तो षड्यन्त्र रचेको खुलासा भएको विष्णुको भनाई छ । शुशीलासंग यादवले विहे पनि गरेका छैनन् । तर शुशीलाको गर्भमा यादवको ८ महिनाको बच्चा छ ।
 

यादवले यातनाको क्रममा  तलको खुटटाको भागमा आगोले जलाई दिएको समेत पीडा पोख्दै शुशीलाले भन्छिन, ‘ पैसा पचाउन साजिस रचेर मेरो श्रीमानलाई जेल पठाएर म र मेरो छोरोलाई बेचेर मेरो संसारमा आगो लागाउने राक्षस जस्ता आमाबुबासहित सबै दोषीहरुलाई प्रशासनले कडा भन्दा कडा कारबाही गरी मेरो न्याय दियोस् ।’ 
 
श्रीमती शुशीलाको गर्भमा यादवका ८ वर्षको बच्चा भएको कुराले श्रीमान विष्णु अति नै तनावमा  छन् । विष्णुले अहिले श्रीमती शुशीलालाई घरमा राख्न अस्वीकार गरेपछि शुशीला हाल डेढ महिनादेखि ओरेक नेपाल धनुषाको शरणमा छन् । आफुलाई शुशीलाको माया नलागेको हैन तर तर समाजले के भन्लान् भन्ने डरले राख्नबाट अश्वीकार गरेको विष्णुको भनाई छ । अन्यायमा परेका श्रीमान् श्रीमतीको अवस्था घर न घाटको छ । न्यायको लागि अहिले श्रीमान(श्रीमती महिलाअधिकारकर्मीहरुको सहारा लिएर प्रहरी प्रशासन धाईरहेका छन् । आफ्नी श्रीमती र छोराको बेचविखनमा संलग्न ६ जनामाथि कडा कारबाही र आफुसँग  लिएको साढे पाँच लाख व्याज सहित उपर गराई पाऊ माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दिइएको छ । श्रीमान श्रीमतीले न्यायको लागि पहल गरीदिन सबैपक्षसंग आग्रह गरेका छन्  । 
 
यता शुशीलाकी बुबा मिश्रीलाल र आमा कुमारीले आफुहरु ज्वाँईको कुनै पैसा नलिएको दावी गर्छन् । शुशीलाको बेचविखनमा समेत आफुहरुको संलग्नता नरहेको आमाबुबाले धाख लगाउँछन् ।  
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले यो घट्नामा संलग्न दोषीहरुलाई खोज अनुसन्धान गरी कडा कारबाही गरिने बताएका छन् । प्रजिअ ढुङ्गानाले तत्काल श्रीमती शुशीलालाई आफ्नो घरमा लगी राख्न विष्णुलाई सुझाव दिएका छन् । अन्यायमा परेका श्रीमानश्रीमतीलाई यो मुद्दामा आफु अत्यन्त गम्भीर भएकोले दोषीहरु कुनै पनि बाहानामा उम्किन नमिल्ने र उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिने प्रजिअ ढुंगानाले आश्वासन दिएका छन् ।

२०७२ जेष्ठ ३१ गते आईतबार

बुवाले घर हडप्न खोजेको छोरीको आरोप

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
छोरीले दुःख गरी बनाएको घरसहित घडेरी बुबाले बेईमानी गर्न खोजेपछि छोरीले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छन् । जनकपुर उपमहानगरपालिका ४ की मिनु झाले आफुले तीन धुर घडेरी किनेर सो जग्गामा बनाएको तीन तल्ले घर आफ्नै बुबाले बेईमानी गर्न खोजेको भन्दै जिल्ला पहरी कार्यालय अन्तरगत रहेको महिला तथा बालबालिका कार्यालयमा  उजुरी दिएकी हुन् ।

श्रीमान दिपेन्द्र झाको २०६६ सालमा सवारी दुर्घट्नामा परी निधन भएपछि ससुरामा अंशबण्डा नभएको अवस्थामा आफ्नो बुबा जनकपुर उपमहानगरपालिका ४ दुर्गा मन्दिर टोल बस्ने महेश मिश्रको नाममा किनेको तीन धुरी घडेरी बुबाले बेईमानी गर्न लागेको मिनुको भनाई छ । उनले भनिन् ‘ श्रीमानको सवारी दुर्घटनामा निधन भयो , अंशबण्डा हुँदा घरपरिवारमा पछि समस्या हुन्छकी भनेर आफ्नै बुबाको नाममा जउनपा ४ गोलका फुलवारी स्थित तीन धुर जग्गालिएर दुःख गरी गरी घर बनाए ।

अव बुबा यो जग्गा तिम्रो हैन भनी भनि राख्नु भएको छ । मेरो त कमाउने पनि कोहि छैन । अव कहाँ जानु ।’ आफ्नी १४ वर्षकी एक छोरी ९ कक्षामा पढी रहेको र अव छोरीको पढाईमा पनि बाधा पर्ने भन्दै मिनुले चिन्ता व्यक्त गरिन् । ‘बुबाले पनि यसरी सम्पति बेईमानी गर्नु हुन्छ भन्ने मैले सपनमा पनि सोँचेकी थिइन’ भन्दै मिनुले भनिन् ‘ अव को माथि विश्वास गर्नु । श्रीमान् वितेको अवस्थामा माईतले सहयोग गर्नुको साटो भएभरको सम्पति पनि बेईमानी गर्न खोज्नु म माथि सारो अन्याय गर्न लागेका छन ।

बुबाको नाममा किनेको तीन धुर घडेरीमा विभिन्न संघ संस्थाहरुमा काम गर्दै दुःख गरी तीन तल्ले घर बनाएको मिनुको भनाई छ । सो तीन धुरमा बनाएको घरसहित घडेरी बुबाले छोरा आर्थात आफ्नो भाई डा.रविन्द्र मिश्रको नाममा लेख्न खोजेको मिनुले बताईन् ।
    मिनुले न्यायको लागि पहल गरिदिन महिला अधिकारबादी संघ संस्थाहरुमा निवेदन दिनुको साथै सबै पक्षलाई सहयोग गरिदिन गुहार गरेकी छन् ।

२०७२ जेष्ठ ३१ गते आईतबार

साइकलमा मोटरसाइकल

Add caption
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालमा मोटरसाइकल हुन त धेरै जसो व्यक्तिहरुले चढ्ने गरेका छन् । खास  गरी यूवाहरुको लागि सबै भन्दा आकर्षक र पहिलो आवश्यकताको रोजाईको बस्तु भनेकै मोटरसाइकल हो । मोटरसाइकल नेपालमा धेरै महँगो छ । सामान्य मानिसले मोटरसाइकल किन्न सक्ने हिम्मतै गर्न सक्दैनन् । त्यस्ता मानिसहर साइकलमै सबारी गरेर संतुष्टि लिई रहेका हुन्छन् । तर, यदि पैसा छैन भने मोटरसाइकलै किन्नुपर्छ भन्ने छैन । साइकललाई पनि मोटरसाइकल बनाउन सकिन्छ । तपाईलाई विश्वास नलाग्ला । साइकलमा पनि कहिँ मोटरसाइकल हुन सक्छ ? तर, महोत्तरीका एक जना अनपढ युवकले साइकलमै मोटरसाईकल जस्तै गुड्ने पृथक खालका साईकल बनाएका छन् । महोत्तरी महदैया ५ तपनपुरका २३ वर्षीय अशोककुमार सहनीलले सो साईकल बनाएका हुन् ।  
 

खेतमा सिँचाई गर्ने सानो मोटर (दमकल)को ईन्जिन प्रयोग गरेर उक्त साईकल बनाएर चढ्ने गरेका छन् । मोटरसाईकल जस्तै गुड््ने साईकल मट्टी तेलबाट चल्ने गर्छ । सहनीका अनुसार एक घण्टामा एक लिटर मट्टी तेल खपत हुने साईकल प्रति घण्टा ४० कि.मि. दुरी पार गर्छ ।  
सहनीले सो साईकल चार दिनको प्रयास पछि गएको जेठ १७ गते पूर्ण रुपमा तयार पारेर चढ्न थालेका छन् । पूर्ण रुपमा अनपढ सहनी दुई वर्ष अघिदेखि यस्तो साईकल बनाउने सोच बनाएको भएपनि आर्थिक अभावको कारण ले नत साईकल किन्न सकेका थिए नत ईन्जिन र चाहेको सामग्रीहरु ।
 

तर पछिल्लो समय हाउस वाईरिंग र ज्याला मजदुरी गरी जोडेको रुपैयाँबाट साईकल , सिँचाई गर्ने पुरानो मोटर , अन्य फलामका सामग्रीहरु किनेर बनाउन आफ्नो सपनालाई साकार पार्न उनी सफल भए । 
साईकलको सिस्टम मोटरसाईकल जस्तै देखिएपनि दुवैको तुलनात्मक रुपमा धेरै नै भिन्नता रहेको छ । साईकलमा मोटरसाईकल जस्तै साईलेन्सर , सेल्फ, क्लच, अगाडीको लाईट सबै छन् ।
 
साईकलमा जम्मा खर्च १३ हजार रुपैया लागेको सहनीले बताएका छन् । सहनीे अनपढ भएर पनि पृथलक खालका साईकल बनाएपछि गाउँघरका मान्छेहरु दंग परेका छन् । सहनी बाटोमा साईकल गुडाउँदा हेर्नेहरुको लर्को लाग्ने  गरेका छन् । आफुले तयार गरेको साईकल हेर्न मान्छेहरुको भीड लाग्ने गरेपछि आफ्नो खुसीको सीमा नरहेको सहनीको भनाई छ ।  सहनीले एक वर्षअघि घर मै सानो साईकल पसल खोलेको र पछि मुम्बई गएर मजदुरी गएर फर्केको बताउँदै अहिले गाउँघरमै हाउस वाईरिंको काम गर्ने गरेका छन् ।
 

२०७२ जेष्ठ ३१ गते आईतबार

अनशनकारीहरुको अवस्था चिन्ताजनक हुँदै अनिश्चितकालिन जनकपुर बन्दको आह्वान

आमरण अनशनमा बसेका तीनै जना अनशनकारीहरुको स्वास्थ्स्य अवस्था चिन्ताजनक भएपछि स्लाइन पानी चढाइएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

आमरण अनशनबाट पनि  राज्यले माग प्रति कुनै चासो नलिएपछि जनकपुर उद्योग बाणिज्यसंघले अनशनसँगै अनिश्चितकालिन जनकपुर बन्द गरी आन्दोलनलाई थप सशक्त बनाउन अगाडी वढेको छ ।
 जनकपुुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराका अनुसार संघका पदाधिकारीहरु आमरण अनशनमा बसेको ४ दिन वितिसक्दा पनि सम्बन्धित निकायले चासो नदेखाएपछि आम हडतालको विकल्प रोज्न बाध्य बनाइएको हो । साहका अनुसार आफुहरुले उठाएको मागको सुनुवाई गर्न उर्जा मन्त्रि वा उर्जा सचिव वा नेपाल विद्युत प्राधिकरणका निर्देशकले आएर वार्ता गरी लिखित सहमति नगरुन्जेलसम्म आन्दोलन सशक्त हुनेछ ।
 

हुन त धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगाना, प्रहरी उपरीक्षक गणेश बहादुर थापा क्षेत्री, जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख जितेन्द्र झा र जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अनशन स्थलमा पुगेर अनशनकारीहरुलाई अनशन तोड्न आग्रह गरिसकेका छन् । यिनीहरुको अनशन तोडाउन र मागको सुनुवाई गराउन तपाईले के कस्तो पहल गर्नुभयो भन्ने सवालमा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना भन्छन,“ हामीले सहजकर्ताको रुपमा अनशनकारी संग वार्ता र छलफल गरि नै रहेका छौं । उर्जा मन्त्रालयसँग सम्बन्धित उच्च तहका व्यक्तिहरुसँग समेत समन्वय गरी मागका बारेमा जानकारी गराई सकेका छौं । यति नै दिनमा उहाँहरुको माग पुरा भईहाल्छ र अनशन नै तोडिनै दिनुहुन्छ भन्ने कुराको यकिन तिथी मिति त भन्न सकिन्न् । तर, चाँडै अनशन तोडनु हुनेछ भन्ने मेरो विश्वास भएको छ ।”
 

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाका अनुसार अनशनकारीहरुले उठाएको माग जायज हो र त्यो मागको सम्बोधन गराउनको लागि आफु क्षेत्रिय कार्यालय मुजेलियाका निर्देशक रामचन्द्र पाण्डे, विद्युत प्राधिकरण केन्द्रका केन्द्रिय कार्यकारी निर्देशक मुकेश काफ्ले, भारप्रेषण केन्द्रका निर्देशक भुवन क्षेत्रीसँग निरन्तर कुराकानी गरिरहेको छु । शनिबार साँझसम्ममा केही न केही समझदारी हुने विश्वास राखेको छु । झाका अनुसार शनिबार नेपालको राष्टिूय ग्रिडको लाइन जनकपुरमा सप्लाई गरिएको छ । सुख्खा मौसम भएपछि विद्युत उत्पादनका स्रोतहरु अवरुद्ध भएपछि उत्पादनमै कमी आउन थालेपछि राष्टिूय ग्रिडको लाइनबाट जनकपुर बञ्चित हुने गर्दछ ।
विगत ६ महिना देखि जनकपुरमा भारतीय लाइन सप्लाई गरिएको हुनाले जनकपुरमा अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या आईरहेको स्वीकार गर्दै वितरण केन्द्रका प्रमुख झा भन्छन,“ जनकपुरको विद्युतमा देखिएको समस्या समाधान गर्नका लागि मैले प्रमुख जिल्ला अधिकारी समक्ष ६ महिने कार्य योजना प्रस्तुत गरेको छु । जिल्ला प्रशासन कार्यालय धनुषाको एक जना प्रशासकिय अधिकृतको संयोजकत्वमा उद्योग बाणिज्य संघका सदस्य समेत गरि ५ दलिय अनुगमन समिति पनि बनेको छ । उक्त कार्य योजना कार्यान्वयन भयो भने सबै समस्या समाधान हुनेछ ।”
 

जनकपुर उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको ४८ घण्टे अल्टिमेटम लगतै प्राधिकरण प्रमुख झाले उक्त कार्ययोजना प्रस्तुत गरेको थियो । कार्य योजना अनुसार तारको क्षमता अभिवृद्धि गर्ने, टूान्सफर्मरको क्षमता अभिवृद्धि गर्ने, चुहावट नियन्त्रण गर्ने, लाइन टिूप भएपछि एउटा फ्यूज जडान गर्नका लागि पुरै सहरको विद्युत सप्लाई ठप्प गर्नुपरेको समस्या समाधानका लागि एमसिसिबी जोड्ने लगायतका कार्यक्रमहरु रहेको छ ।
 

अनशनकारीहरुले उठाएका मागहरु मध्ये दुईवटा माग उर्जा मन्त्रालयसँग सम्बन्धित रहेको छ भने एउटा माग जनकपुर उपमहानगरपालिकाको कार्यालयसँग सम्बन्धित छ । लामखुट्टेको आतंकबाट मुक्ति दिलाउनु पर्ने भन्ने माग उपमहानगरपालिकासँग सम्बन्धित रहेकाले तपाईले के गरिरहनु भएको छ भन्ने सवालमा जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुन्य प्रसाद लुइटेल भन्छन,“ लामखुट्टेलाई मार्नका लागि हामीले मच्छर मार्ने औषधि छर्कने काम सुरु गरिसकेका छौं । मट्टीतेल, पुरानो मोविल, सर्प आदि मिसाएर प्रारम्भमा लामखुट्टेको लार्भाहरुलाई मार्ने प्रयास गरेका छौं । त्यसपछि फगिङ मेसिन आफुहरुसँग उपलब्ध नरहेकाले कि त अरु ठाउँबाट मगाउनु पर्यो वा त्यो हुन नसके हामी जिल्ला जनस्वास्थ्य कार्यालय धनुषासँग समेत समन्वय गरी अगाडी वढ्ने छौं ।” कार्यकारी अधिकृत लुईटेलका अनुसार सुरुमा लार्भा मार्ने अभियान ७÷८ दिनसम्म सहरका मुख्य सडकहरुमा र त्यसपछि अन्य वस्तीहरुमा लगिने छ । त्यसका अतिरिक्त ढलहरुको सर सफाई सँगै सहरलाई सफा राख्ने अभियान पनि अगाडी वढाइने छ ।
 

अनियमित लोडसेडिंग एवं लो भोल्टेजबाट मुक्ति पाउनका साथै नेश्नल ग्रिडमा जनकपुरलाई जडान गर्नु पर्ने र लामखुट्टेबाट मुक्ति पाउनु पर्ने दुई सुत्रिय माग सहित संघका पदाधिकारीहरु आमरण अनशन बसेका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह,सचिव सुरेन्द्र भण्डारी र कार्यकारी सदस्य फुलदेव पण्डित लगायत तीन जना पदाधिकारी गत बुधबारबाट जनकपुरको जनकचोकमा अनशन बसेका छन् । लामो समयदेखि जनकपुरमा तालिका भन्दा बढी अनियमित लोडसेडिंग हुँदै आएको र सम्बन्धीत निकायमा पटक(पटक समस्यासमाधानको लागि जानकारी गराउँदासमेत वेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष शिवशंकर साह हीराको भनाई छ ।
 
 चर्को गर्मीको समयमा अनियमित लोडसेडिंग एव कम भोल्टेजको समस्या र जनकपुरमा  लामखुट्टेको संक्रमणले जनकपुरबासी पिडीत र ज्यानसमेत जानसक्ने अवस्था आईसकेकोले संघ नै आन्दोलनमा आउनु परेको साहको भनाई छ ।
 
यता अनशनमा बसेकाहरुको स्वास्थ्य अवस्था चिन्ता जनक हुन थालेपछि अनशनकारीहरुलाई स्लाइन पानी चढाइएको छ । जनकपुर अञ्चल अस्पतालबाट चिकित्सक पठाई तिनीहरुलाई स्लाईन पानी चढाइएको हो । यसका अतिरिक्त अस्पतालले अनशनकारीहरुको स्वास्थ्य अवस्था अवजरभेशन गर्नका लागि स्वास्थ्यकर्मीहरुको चौविसै घण्टा टोली खटाएको छ । अञ्चल अस्पतालका विकास समितिका अध्यक्ष डा.नागेन्द्र प्रसाद यादव आफै अनशन स्थलमा पुगेर अनशनकारीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
 
यता आमरण अनशन प्रति गणेश यूवा कमिटि, राम यूवा कमिटि, राजदेवी यूवा कमिटि, रामानन्द यूवा क्लब, नेपाल बार एसोशिएशन, धनुषा मुस्लिम यूवा समाज, धनुषा फोटो ग्राफरसंघ लगायत थुप्रै क्लब तथा संघ संस्थाहरुले समर्थन जनाएका छन् । केही यूवा क्लवहरुले समर्थन जनाउँदै विभिन्न चौकहरुमा टायरबाली विरोध प्रदर्शन समेत गरेका थिए ।

२०७२ जेष्ठ ३१ गते आईतबार

पूर्ण रुपमा दृष्टि विहीन दम्पतिलाई पुत्री लाभ ‘छोरी नै हाम्रो आँखा हो’ ः दम्पति

नवजात शिशुका साथ दृष्टिविहिन आमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 
पूर्ण रुपमा दृष्टि बिहीन दम्पतिलाई पत्रीलाभ भएको छ । दुई वर्ष अघि अन्तरजातिय प्रेम विवाह गरेका दम्पतिलाई पुत्री लाभ भएको हो ।  काभ्रेप्लानचौक जिल्ला खरिनाथोक गाविसका ३२ वर्षका श्याम तामाङ र जनकपुर उपमहानगरपालिका १५ कुवाकी  २३ वर्षीया सीता पाशमान तामाङलाई पुत्री लाभ भएको हो । जनकपुर अञ्चल अस्पतालमा सोमबार राति शल्यक्रिया गरेर पुत्री लाभ भएको शल्यक्रिया गर्ने स्त्री रोग विशेषज्ञ डा.रामजी यादवले जानकारी दिनुभयो । 
 

सीतलाई व्यथा लागेपछि सोमबार विहान जनकपुर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पछि समान्यरुपमा बच्चा पाउन समस्या भएपछि शल्यक्रिया गर्नु परेको डा.यादवको भनाई छ । अहिले अमा र बच्चा अवस्था समान्य रहेको र बच्चाको तौलन ३.४ किलोग्राम रहेको डा.यादवले जानकारी दिनुभयो ।
गरिबीले अत्यन्त दयनीय अवस्था एवं बेसहारा दम्पतिले सन्तान पाएपछि खुसीको सीमा छैन ।
पूर्ण रुपमा दृष्टिबिहीन श्याम र सीताको दुई वर्ष अघि साथीहरुको आग्रहमा घरपरिवारलाई थाहै नदिई प्रेम विवाह भएको थियो । उनीहरु काठमाण्डौको कृतिपुरमा डेरा गरी बसेर घुमफिर गरेर धुप बेच्ने गर्दछन् । धुप बेच्दा एक जना दृष्टि भएको व्यक्तिको सहारा लिनु परेको सीताको भनाई छ । धुप बेच्दा दिनको एक सयदेखि पाँच सय रुपैयाँ कमाएर श्रीमान श्रीमती जिवीको चलाउने गरेको सीतले बताउनुभयो । छोरी पाएपछि सीताले खुसी व्यक्त गर्दै भन्नु भयो ‘ आफु दृष्टिविहीनको सहारा कोहि थिएनन् । गरिब छु । अहिलेसम्म अर्काको सहाराले जसोतसो जिवन चलाउँदै थियौं । छोरी पाएकोले हामी अत्यन्तै खुसी छौं । अव जीवनमा केहि उज्यालो भएको अनुभूति भईरहेको छ ।  हाम्रो आँखा छोरी नै हो । भग्वानले उनको जिवन दिउन्  एउटै पार्थना छ । ’
 

श्याम र सीता जन्मैदेखि दृष्टि बिहीन छैनन् । सातवर्षको मेरमा आफुलाई टाईफाईड हुँदा आँखा दुख्यो र त्यपछि एकाएक कहिल्यै नदेखिने गरी दुवै आखाँ गुमेको सीतले अझै विर्सिनु भएको छैन । अत्यन्त विपन्न घरपरिवारमा जन्मिएकी सीताको त्यतिखेर उपचारको लागि चाहिएजति रुपैया पैसा नपुग्दा सदाको लागि दृष्टिबिहीन हुन पुगेको सीताकी आमा वेच्नीदेवी अझै त्यो दिन विर्सिनु भएको छैन ।  यस्तै श्रीमान श्यामले पनि तीन वर्षको उमेरमा दुवै आँखाको दृष्टि गुमेको पिडा व्यक्त गर्नु भयो । 
   
 दुवै जना दृष्टि बिहीन भएपनि सरकारबाट दृष्टिबिहीनले पाउनु पर्ने भत्ताबाट बञ्चित छन् । आफ्नी छोरीले तीन वर्षदेखि दृष्टि बिहीन भत्ता नपाएकी सीताकी आमा बेच्नीको गुनासो छ । 
 
सीताकी आमा बेच्नीले भन्नुभयो ‘ भन्छ सरकारले गरीब,असहायलाई सहयोग गर्छन् । तर खै हामीले केहि पाएको । हामी सुकुम्बासी छौ, अर्काको घरमा डेरा भारा गरी बसेका छौ । छोरीले तीन वर्षदेखि दृष्टिविहीन भत्ता पाएकी छैन । श्रीमान पनि दायाँ हात्तको आपांग हुनु हुन्छ उहाँलेपनि भत्ता पाउनु भएको छैन । ’ भन्दै आफुहरुलाई सरकारले सेवासुविधा दिनुपर्ने माग गर्नुभयो ।


२०७२ जेष्ठ ३१ गते आईतबार

एम्बुलेन्स चालकको गोरख धन्दा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


जनकपुरमा सञ्चालित केहि एम्बुलेन्सका चालकहरुले गोरखधन्दा गर्ने गरेको रहस्य खुलेको छ । एम्बुलेन्सचालकहरुले कमिसनको भरमा विरामीहरुलाई आफू ईच्छा अनुकुलको क्लिनिक ,नरसिंगहोम र होस्पिटलहरुमा पट्याएर ठग्ने गरेको खुलासा भएको हो ।
 

बुधबार अकास्मिक उपचारको लगि एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल गएका एक जना विरामीलाई चालकले कमिसनको लागि अन्यत्रै एक होस्पिटलमा पुर्याएपछि यस्तो रहस्य खुलेको हो । बुधबार विहान महोत्तरी हरिनमरीका राजेन्द्र प्रसाद गुप्तालाई अकस्मात मुखबाट रगत आएपछि जनकपुरमा सञ्चालित बा.१ भm ७०० नम्बरको एम्बुलेन्समा बोलाएर जनकपुर अञ्चल अस्पताल पुर्याउन भनेका थिए । तर सो एम्बुलेन्सका चालक रामचन्द्र साहले विरामीलाई जनकपुरको विवाहमण्डपको पछाडीमा सञ्चालित रामजानकी नरसिंह होममा पुर्याएका थिए । 

 त्यसपछि विरामी गुप्ताका आफन्तले चाँडो अञ्चल अस्पतालमा पुर्याउन भनेपछि चालक साहले ‘ यो एम्बुलेन्स यसै नर्सिंग होमको हो म अरु ठाउँमा जान्न’ जवाफ दिएपछि विरामीका आफन्त सन्तोष गुप्ताले जानकी प्रहरी चौकीमा खबर गरी प्रहरी बोलाएर विरामीलाई अञ्चल अस्पताल पु¥याउन लगाएका थिए । त्यहाँबाट गोरखधन्दा गर्ने ती एम्बुलेन्ससहित चालक साहलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा रखेको जनाईएको छ ।   
 

जनकपुरमा कमिसनको खेलमा एम्बुलेन्स चालक र विचौलियाहरुको विगविगीले दैनिक उपचार गराउन आउने सयांै सर्वसाधारणहरु ठगिने गरेका छन् । जनकपुरमा पछिल्लो समय डाक्टर, क्लिनिक, होस्पिटल र नर्सिंगहोमहरुले कमिसनमा विचौलियाहरु राखेर आ आफ्नो तिर विरामी तानेर ल्याई ठग्ने गरेको  सर्वसाधारणहरुको गुनासो रहेपनि त्यसको समाधानका लागि कसैले पनि पहल कदमी लिएको छैन । यो त एउटा उदाहरण मात्र हो ।

 जनकपुर अञ्चल अस्पतालकै कर्मचारीहरु, चिकित्सकहरु निजी स्वास्थ्य संस्थाहरुका लागि कमिशन एजेन्टको रुपमा काम गर्ने गर्छन् ।  अस्पताल आइसकेका विरामीहरुलाई समेत मर्ने डर देखाएर बाहिर पठाउने गरेका छन् । यसका अतिरिक्त दलालका रुपमा औषधि पसलेहरु, प्याथोलोजि, एक्स रे, अल्ट्रासाउण्ड गर्ने संस्थाहरुसमेत विभिन्न स्वास्थ्य संस्थाहरुका लागि दलाली गर्ने गरेका छन् ।
 
२०७२ जेष्ठ ३१ गते आईतबार