Monday, June 15, 2015

ज्वाँईलाई जेल पठाई छोरीलाई बेचेको खुलासा

पीडित श्रीमान–श्रीमति विष्णु र शुशिला ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
 आमा बुबा भनेपछि छोरीका लागि देउता समान हुन्छन् । छोरीले कहिल्यै दुःख नपाउन् भनेर आमाबुबाले सकेसम्म सुन्दर घरवर खोजेर ,दाईजो दिएर विहे गरि दिन्छन् । ससुरामा केहि कष्ट परे हेर्छन् ,सहयोग गर्छन् । तर छोरीसंगै लिएको पैँचो रुपियाँ पचाउन ज्वाँईलाई जेल पठाई छोरीलाई बेचेको कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यो कुरा भने यथार्थ हो । 
 
सापटी लिएको पाँच लाख रुपैयाँ बेईमानी गर्न धनुषा रघुनाथपुर ८ का मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले ज्वाँईलाई जेल र छोरीलाई बेचेको खुलासा भएको छ । ज्वाँई धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरलाई हतियारसहित फँसाएर जेल पठाएको र छोरी २३ वर्षीया शुशीला ठाकुरलाई बेचेको रहस्य बाहिरिएको हो । ज्वाँई डेढ वर्षको जेल जिवन विताएर बहिर निस्किएपछि यस्तो अनौठो रहस्य सार्वजनिक भएको छ । 
 
विष्णु र शुशीलाको विवाह २०६६ सालमा समाजिक परम्परा अनुसार भएको थियो । निम्न घरपरिवारका शुशीलाका पति विष्णु विहे भएको दुई वर्षपछि आफ्नो घरपरिवारको भविष्यका लागि रुपैयाँ कमाउन वैदेशिक रोजगारीमा साउदी अरेविया गए । विदेश गएर मिहिनेत साथ कमाएको एक(एक पैसा जोड्ने  र जम्मा भएको रुपैयाँ बेला(बेला श्रीमतीको नाममा विष्णुले घर पठाउन थाले ।  श्रीमान विष्णुले पठाएको रुपैयाँ पैसाले घरपरिवारको खर्च जुटाउनुका साथै रकम बचत समेत गर्न थालिन, शुशीला ।  
 


शुशिलाका आमाबुबा ।
विदेशबाट ज्वाँई विष्णुले पठाएको रुपैयाँ पैसा र छोरी शुशीलाको  सुख देख्न नसकी शुशीलाका बुबा मिश्री र आमाको मनमा पाप जाग्यो । त्यसपछि रुपियाँपैसा कसरी हात पार्ने दाउमा लागे शुशीलाकी बुबाआमा । बुबाआमाले छोरी र ज्वाँईलाई फकाई विभिन्न कामको बहानामा सापटी भन्दै पटक(पटक गरी पाँच लाख ५० हजार रुपैया लिन सफल भए । पीडित शुशीला भन्छिन्, ‘ पैसाको लेनदेन भईरहेको अवस्थासम्म माईतसंग सम्बन्ध अत्यन्तै सुमधुर थियो । तर, जव श्रीमान विदेशबाट आउनु भयो र मलाई पैसा माग्न भन्नुभयो , पैसा माग्न थाले देखि आफुलाई जन्म दिएर पालन पोषण गर्ने आमाबुबासंगको सम्बन्ध चिसिँदै गयो ।’
  दुई वर्षपछि २०७० सालमा विदेशबाट कमाएर विष्णु घर फर्केर आए । विष्णुका अनुसार आफु विदेशमा मिहिनेतसाथ कमाएर पटक पटक दिएको सापटी साढे पाँचलाख रुपैयाँ माग्न थालेपछि सासुससुराले पैसा पचाउन  षड्यन्त्र रच्न थाले । त्यस कार्यमा शुशीलाकी जेठी दिदी धनुषा मथलेश्वर पुरन्दाहा विहे भएकी कोशिला पनि संलग्न भएको विष्णुको भनाई छ ।
 
एक दिन श्रीमान(श्रीमती औषधि उपचार गराउन जनकपुर आएको मौका छोपी हामीलाई जेठी दिदी कोशिलाले दुवै जनालाई साँझ पर्यो भोली घर जानु भन्दै आफ्नो घर लगेको शुशीलाले बताइन् । शुशिला भन्छिन, ‘दिदी कोशिलाले आफ्नो घरमा लगेर एउटा कटुवा पेस्तोल श्रीमान विष्णुको सिडानीमा राखेर प्रहरी बोलाई पक्राउ गराए ।’ हातहतियार तथा खरखजानाको मुद्दामा धनुषा जिल्ला अदालतले डेढ वर्षको कैद सजाय सुनएपछि विष्णु महोत्तरीको जलेश्वर जेल जानु प¥यो ।   
 
विष्णुलाई जेल पठाएपछि पनि त्यतिखेर आफ्नै आमाबुबा र दिदीको यस्तो चाल रहेछ भन्ने थाहा पाइनन् । त्यस पश्चात आमाबुबाले आफुलाई प्रभावमा पार्न सफल भएको शुशीलाको भनाई छ । 
शुशीला भन्छिन, ‘आमाबुबाले पैसा बेईमानी गर्नका लागि ज्वाँई तह लगाए अव छोरीलाई तह कसरी लगाउने भन्ने दाउमा लागेको थियो तर मलाई त्यतिखेर सम्म पनि थाहा थिएन ।’   ‘एक दिन रौतहटको शिवगढी मेला हेर्न जाने भनि आमाबुबा र बुबाका छिमेक नेंग्रा यादव भन्ने व्यक्ति, म र मेरो ४ बर्षको छोरा समरलाई समेत लिएर गयो’ ।  गएको २०७१ बैशाख महिनामा शुशीला र उनका चार वर्षीया छोरा समरलाई रौतहटको शिवगढी मेला हेर्न भन्दै शिवमन्दिरमा लगे । र, त्यहाँबाट रौतहट जिल्लाको अजगेवी गाविसका छुठु राय यादवका ३५ वर्षीय छोरा शौखीलाल राय यादवसंग ४० हजारमा बेचेर त्यहाँबाट फरार भए । शुशिलाले भन्छिन, ‘ म र मेरो छोरालाई बेचेको कुरा मैले त्यति खेर मात्र थाहा पाएँ जव तीन चारजना पुरुषहरु लिन आए । अनि हात समातेर तिमीलाई ४० हजारमा किनेको छु  भनेपछि ।’ त्यसपछि त शुशिलाको होस नै हरायो । श्रीमान जेलमा, आमा बुवाले आफुलाई बेचिदियो भन्ने कुरा पत्याउनु पनि त कसरी ? तर, परिस्थितिको आँकलन गरेपछि उनलाई पछुताउनुको अन्य विकल्प थिएन ।
 

आमाबुबाले मलाई ‘तिमी र छोरो यहाँ बस्दै गर, हामी केहि बेरमा घुमफिर गरेर आउँछौ’ भन्दै गएका उनीहरु साँझसम्म पनि आएनन् । त्यसपछि आफुलाई किनेको व्यक्तिले तीन चार जना व्यक्तिहरु आएर समातेर लगेको शुशीलाको वेदना छ ।  बेच्नेकार्यमा संलग्न आमाबुबाको साथै मेला हेर्न भन्दै संगै गएका बुबाका छिमेक नेंग्रा यादव र उनका छोरी रौतहटको विरती गाउँमा विहे भएकी सकुन्ती यादव, आफ्नो जेठी दिदी कोशिला समेत गरी पाँच जनाको हात रहेको शुशीलाले बताइन । शुशिलाका अनुसार आफु र छोरालाई किनेका यादवले घरमा लगि कतै निस्किन नदिई घरमै थुनेर राख्ने , कुटपीट गर्ने ,यौन शोषण गर्ने जस्ता यातना दिने गरेको थियो ।   यता डेढ वर्षको जेल सजाय भोगेर गएको फाल्गुन महिनामा पति विष्णु घर फर्केपछि शुशीला र सानो छोरालाई खोज्दा उनीहरु एक वर्षदेखि वेपत्ता भएको कुरा थाहा पाए । यसमा पनि सासु ससुराकै चाल छ भन्ने कुराको शंका लागेपछि खोज अनुसन्धान शुरु गरेको बताउँदै डेढ महिना पश्चात रौतहटको एक गाउँमा यादव थरका व्यक्तिसंग ४० हजार रुपैयाँमा बेचेको कुरा गएको चैत्तमहिनाको अन्ततिर मात्र थाहा पाएको विष्णुको भनाई छ । विष्णुले भन्छन, ‘मैले थाहा पाउने वितिकै रौतहटको स्थानीय कोपबा प्रहरी चौकीमा आफ्नी श्रीमती र छोरालाई बेचिएको उजुरी दिनासाथ प्रहरीले शुशीला र छोरो समरलाई उद्धार गरिदिए ।’ 
शुशीला उद्धार भएपछि सासु ससुराले लिएको पैँचो रुपियाँ बेईमानी गर्न नै यस्तो षड्यन्त्र रचेको खुलासा भएको विष्णुको भनाई छ । शुशीलासंग यादवले विहे पनि गरेका छैनन् । तर शुशीलाको गर्भमा यादवको ८ महिनाको बच्चा छ ।
 

यादवले यातनाको क्रममा  तलको खुटटाको भागमा आगोले जलाई दिएको समेत पीडा पोख्दै शुशीलाले भन्छिन, ‘ पैसा पचाउन साजिस रचेर मेरो श्रीमानलाई जेल पठाएर म र मेरो छोरोलाई बेचेर मेरो संसारमा आगो लागाउने राक्षस जस्ता आमाबुबासहित सबै दोषीहरुलाई प्रशासनले कडा भन्दा कडा कारबाही गरी मेरो न्याय दियोस् ।’ 
 
श्रीमती शुशीलाको गर्भमा यादवका ८ वर्षको बच्चा भएको कुराले श्रीमान विष्णु अति नै तनावमा  छन् । विष्णुले अहिले श्रीमती शुशीलालाई घरमा राख्न अस्वीकार गरेपछि शुशीला हाल डेढ महिनादेखि ओरेक नेपाल धनुषाको शरणमा छन् । आफुलाई शुशीलाको माया नलागेको हैन तर तर समाजले के भन्लान् भन्ने डरले राख्नबाट अश्वीकार गरेको विष्णुको भनाई छ । अन्यायमा परेका श्रीमान् श्रीमतीको अवस्था घर न घाटको छ । न्यायको लागि अहिले श्रीमान(श्रीमती महिलाअधिकारकर्मीहरुको सहारा लिएर प्रहरी प्रशासन धाईरहेका छन् । आफ्नी श्रीमती र छोराको बेचविखनमा संलग्न ६ जनामाथि कडा कारबाही र आफुसँग  लिएको साढे पाँच लाख व्याज सहित उपर गराई पाऊ माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी समेत दिइएको छ । श्रीमान श्रीमतीले न्यायको लागि पहल गरीदिन सबैपक्षसंग आग्रह गरेका छन्  । 
 
यता शुशीलाकी बुबा मिश्रीलाल र आमा कुमारीले आफुहरु ज्वाँईको कुनै पैसा नलिएको दावी गर्छन् । शुशीलाको बेचविखनमा समेत आफुहरुको संलग्नता नरहेको आमाबुबाले धाख लगाउँछन् ।  
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले यो घट्नामा संलग्न दोषीहरुलाई खोज अनुसन्धान गरी कडा कारबाही गरिने बताएका छन् । प्रजिअ ढुङ्गानाले तत्काल श्रीमती शुशीलालाई आफ्नो घरमा लगी राख्न विष्णुलाई सुझाव दिएका छन् । अन्यायमा परेका श्रीमानश्रीमतीलाई यो मुद्दामा आफु अत्यन्त गम्भीर भएकोले दोषीहरु कुनै पनि बाहानामा उम्किन नमिल्ने र उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिने प्रजिअ ढुंगानाले आश्वासन दिएका छन् ।

२०७२ जेष्ठ ३१ गते आईतबार

No comments:

Post a Comment