Wednesday, April 27, 2016

सदभावनाले संजय बचाउ अभियान चलाउने

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरका एक जना व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकारका रुपमा रहेका प्रतिवादी संजय कुमार साह आमरण अनशनमा बसेका कारण उनको स्वास्थ्य स्थिति विग्रदै गएपछि अदालतको आदेशका कारण उनको थप उपचारका लागि काठमाण्डौ स्थित डिल्ली बजार कारागारको रोहवरमा उपचार गर्न पठाइएको छ ।
 जनकपुर बम काण्डमा निर्दोष ५ जना नागरिकको हत्या भएको र दर्जनौं मानिसहरु गम्भीर घाइते भएको उक्त बम काण्डका पनि प्रमुख योजनाकारका रुपमा संजय साहलाई अभियूक्त बनाई अदालतकै आदेशले उनी कारागारमा थुनामा रहेका थिए । तर, सिंघानिया हत्याको घटनामा पनि साहको संलग्नता देखिएपछि धनुषा प्रहरीले उनलाई कारागारबाट झिकाई अनुसन्धान प्रक्रिया अगाडी वढाउन थालेपछि उनी आमरण अनशनमा बसेका छन् । उच्च स्तरीय न्यायिक छानविन समिति गठन हुनुपर्ने र सम्पुर्ण घटनाहरुका दोषीलाई कारवाही हुनुपर्ने तथा आफु निर्दोष भई सह अभियूक्तहरुले पोलेकै भरमा आफुलाई प्रशासनले पुर्वाग्रह राखि फसाउन खोजेको भन्दै साह गत चैत्र २१ गते देखि आमरण अनशनमा बसेका छन् । गत ८ बैशाखमा थुनछेक प्रयोजनका लागि धनुषा जिल्ला अदालतमा बयान गराउनका लागि उपस्थित गराउँदा उपस्थित गराइएका क्रममा साहले बयान गर्दा सवाल जवाफको पहिलो प्रश्नमै मेरो स्वास्थ्य स्थिति ठिक नभएको हुँदा म अहिले बयान गर्न सक्दिन मेरो मेडिकल चेक जाँच गरि पाऊ भनि उल्लेख गर्नुका साथै उनका कानुन व्यवसायी प्रकाश घिमिरेले पनि निजको स्वास्थ्यको कारण हाल बयान गर्न सक्ने अवस्था नभएको हुँदा अदालतका एक जना कर्मचारी समेत खटाई निजको स्वास्थ्य परिक्षण गरी गराई पाऊ भनि इजलाश समक्ष भनेका थिए ।
तत्पश्चात स्वास्थ्यको कारणले इन्कार गरेको अवस्थामा शारिरीक तथा मानसिक अवस्था ठीक नभएको अवस्थामा बयान कार्य सम्पन्न हुने अवस्था नदेखिएका ले आजै जनकपुर अञ्चल अस्पतालमा लगि स्वास्थ्य परिक्षण गरी गराई भोली मिति २०७३ साल बैशाख ९ गते १० बजे प्रतिवेदन सहित पेश गर्न अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यले आदेश दिएका थिए । सोही आदेश पश्चात ८ बैशाखमा साहलाई जनकपुर अञ्चल अस्पतालमा दिनको ३ बजेर ४० मिनेटमा अस्पतालका बरिष्ठ विशेषज्ञ चिकित्सक लगायतका टोलीले उनको उपचार गरेको थियो । उपचारका क्रममा शरिरीक जाँच गर्दा निजको शरीरमा पानीको कमि भई कडा जल विनियोजन एवम शरीरमा चाहिने आवश्यक क्यालोरीको कमि भई शरीरको भित्री अंगहरु असंतुलन भएको हुँदा तुरन्तै अस्पताल भर्ना गरी उपल्लो तहका चिकित्सकिय निगरानीमा राखि उपचार गर्नुपर्ने आवश्यकता भएकोले सोही अनुरुप व्यवस्था गरिएको तथा रक्त परीक्षणको रिपोर्ट पनि फलोअप गरी तद अनुसार उपचार जारी राख्ने वा रिफर गर्नु पर्ने अवस्थाको सुक्ष्म अनुगमन निरन्तर गरिने व्यहोरा सहितको पत्र बैशाख ८ गते अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले हस्ताक्षर गरेको पत्र अदालतलाई पठाइनुका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय धनुषालाई बोदार्थ गरिएको थियो ।
 त्यसपछि साहलाई इमरजेन्सीबाट वार्डमा भर्ना गराई विशेषज्ञ चिकित्सकको टोलीले उपचार सुरु गरेको थियो । ९ बैशाखमा उनको रक्त परीक्षणको रिपोर्टमा क्रियेटिनको मात्रा वृद्धि भई किडनीमा असर परिरहेको, रगतको सुगरको मात्रामा कमि रहेको तथा क्यालोरीको समेत कमि देखिएको प्रतिवेदन आए पछि चिकित्सकहरुले साहलाई उपचारको क्रममा अत्यावश्यक औषधिहरु दिन खोज्दा साहले असहयोग गरेको मेडिकल सुप्रिटेन्डेन्ट यादवले बताए । उनको शरीरमा विषाक्त रसायन बढ्दै गएको र अर्को किडनी समेत प्रभावित हुन सक्ने, लामो समय देखि पेट खाली रहेका कारण पेटमा रक्तस्राप समेत हुन सक्ने खतरा देखिएको हुनाले आइसियूमा राखि उपचार गर्नुपर्ने आवश्यकता देखिए पछि आइसियू सहित सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आवश्यक देखिएको भन्दै अस्पतालले साहलाई रेफर गरिएको पत्र अदालतलाई पठाएको थियो ।
त्यसपछि १० बैशाखमा कारागारकै रोहवरमा सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन तथा प्रत्येक १५÷१५ दिनमा स्वास्थ्य प्रगतिको प्रतिवेदन समेत पेश गर्न अदालतले आदेश गरेको थियो । १० बैशाखमा रात भरी साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने विहान ४ बजे उनलाई काठमाण्डौ स्थित डिल्लीबजार कारागार पुर्याइएको थियो ।
साहकी पत्नीको पनि अवस्था गम्भीर
शनिबार समाचार लेखिरहँदा १० औं दिनमा आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साह र उनका शुभचिन्तक शिवशंकर यादवको समेत स्वास्थ्य अवस्था विग्रदै गएको छ । हुन त उनीहरुलाई जनकपुर अञ्चल अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले नियमित उपचार तथा स्लाइन पानी चढाईरहेको भएपनि चक्कर आउने गरेको, कमजोरी भएको, पेट दुखेको, पेटमा जलन हुने गरेको, पिसाव गर्दा जलन हुने गरेको आमरण अनशनमा बसेकी रंगिला देवीले द एक्सक्लुसिभलाई बताएकी छिन् । अनशन तोडाउन विभिन्न तहबाट पहल भएपनि जबसम्म उच्च स्तरीय छानविन समिति गठन हुँदैन तबसम्म अनशन नतोड्ने उनले बताइरहेकी छिन् ।
साहको बचाउमा सदभावना पार्टी
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष हुन । दोस्रो संविधानसभाको चुनावमा उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए । उनी बम काण्डमा अभियूक्त बनेपछि तत्कालिन सभामुख सुभाषचन्द्र नेम्वाङले उनको सांसद पदलाई निलम्बन गरेका थिए । हाल उनी अभियूक्त मात्र भई निलम्बित सांसद कायमै रहेको र उनी अदालतको आदेशबाट अपराधि ठहर नभएका कारण उनी हालसम्म आफ्नो पार्टीको बरिष्ठ उपाध्यक्ष पदमा कायमै रहेको ११ बैशाखमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सदभावनाका अध्यक्ष राजेन्द्र महत्तोले बताएका थिए । पार्टीको पुनर्गठन नभएको हुनाले उनको पदमा कुनै अरु व्यक्तिलाई हालसम्म नल्याइएको भन्दै महत्तोले साहद्वारा उठाइएको माग प्रति पुर्ण समर्थन जनाउँदै नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राखेका थिए । उनी सामान्य नागरिक नभएर यस क्षेत्रका जनताको जनप्रतिनिधि समेत रहेकाले नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी अनुसन्धानबाट देखिने दोषीलाई कारवाही तथा निर्दोषलाई रिहाई गरिनुपर्ने माग गर्दै महत्तोले यो त न्यायको आधारभुत सिद्धान्त नै पनि रहेको बताएका थिए ।
महत्तोद्वारा धनुषाका सिडिओसँग कुराकानी
राजेन्द्र महत्तोले धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई ११ बैशाखमा होटेल वेलकममा बोलाई करिब १५ मिनेट जति कुराकानी गरेका थिए । अनशन र अनशनबाट उठाइएका मागको सवालमा आफुले प्रत्येक दिनको जानकारी गृहमन्त्रालयलाई गराईरहेको सिडिओले महत्तोलाई जानकारी गराएका थिए । पथलैयामा सुरक्षाकर्मीहरुको गोष्ठिमा समेत आफुले छानविन समिति गठनको बारे भन्दा अदालती प्रक्रियामा गईसकेको मुद्दामा अलग किसिमले छानविन समिति गठन हुन नसक्ने जवाफ आएको कुरा सिडिओले महत्तोलाई बताएका थिए । आमरण अनशन तोडाईदिन महत्तोलाई प्रजिअ चापागाईले आग्रह गरेका थिए ।
राजेन्द्र महत्तोमाथि खनिए साहका परिवारजन
राजेन्द्र महत्तो जनकपुर आएपछि संजय साहका परिवारजन, आफन्त तथा समर्थकहरु महत्तो माथि खनिएका थिए । यत्रो दिनसम्म आमरण अनशन बसिसके पनि मागको सुनुवाई नभएको र पार्टीले गम्भीरतापुर्वक ध्यान नदिएको भन्दै महत्तो माथि खनिएका थिए । तर, आफुले सक्दो प्रयास गरिरहेको, सरकारका निकायहरुलाई भेट गरिरहेको भन्दै यो आक्रोशलाई शान्तपार्दै हौसला बनाई राख्न तथा संजय साह निर्दोष हुन र उनले सबै अभियोगबाट मुक्ति पाउनेमा आफु विश्वस्त रहेको महत्तोलाई बताएका थिए ।
संजय बचाऊ अभियान चलाइने
संजय साह निर्दोष रहेको तथा राजनीतिक पुर्वाग्रहका कारण झुठा मुद्दामा फसाइएको हुनाले संजय साहलाई बचाउन सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहको संयोजकत्वमा संजय बचाउ अभियान चलाइने सदभावना पार्टीले निर्णय गरेको छ । १० बैशाखमा अबेर राति राजेन्द्र महत्तोको उपस्थितिमा बसेको बैठकबाट जिल्ला स्तरमा मधेसी मोर्चासँग समन्वय गरी विभिन्न समितिहरु बनाई संजय बचाउ अभियान चलाइने निर्णय भएको बैठकमा सहभागी एक जनाले बताए । अभियानले विभिन्न स्वरुपका कार्यक्रमहरु समेत गर्नेछन् । संजय साहकी श्रीमति रंगिला देवीको अनशन तोडाउने सवालमा आफ्नो श्रीमानले अनशन नत्यागेसम्म आफुपनि अनशन नत्याग्ने बताएपछि काठमाण्डौ फर्केर संजय साहसँग भेट गरी अनशन विषयमा के गर्ने भन्ने निर्णय लिइने महत्तोले उक्त बैठकमा बताएका थिए ।
यस अघि पनि सदभावना पार्टी धनुषाको अगुवाईमा संजय साहको मागमा समर्थन गर्दै ७ बैशाखमा जनकपुर बन्द गराइएको थियो । त्यसैगरी विभिन्न प्रदर्शनमा समेत सदभावनाले अगुवाई गर्दै आएको छ । गत बैशाख ८ गते सदभावना पार्टीका प्रवक्ता संतोष मेहताद्वारा जारी गरिएको विज्ञप्तीमा समेत विगत लामो समय देखि सांसद संजय साह र उनका परिवारजनहरु आमरण अनशनमा बसेको हुँदा तिनीहरुको जीवन रक्षार्थका लागि तथा घटनाका बास्तविक दोषीहरु उपर कडा भन्दा कडा कारवाही गर्नका लागि नेपाल सरकारसँग माग गर्नुका साथै मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण गराइएको थियो । रंगिला देवी आमरण  अनशन बसेको स्थलमा उनीहरुका माग प्रति समर्थनमा गराइएको हस्ताक्षर अभियानमा समेत करिब १० हजार भन्दा वढी मानिसहरुले हस्ताक्षर गरी समर्थन गरेको संजय साहका परिवारजनहरुको दावी छ ।
माग प्रति संघ संस्थाको पनि समर्थन
संजय साह र उनका परिवारजन आमरण अनशनमा बसेको हुनाले तिनीहरुका माग सम्बोधन गरी उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारवाही गर्न माग गर्दै महाबिर यूवा कमिटिका अध्यक्ष धर्मेन्द्र साह र राष्टिूय मुस्लिम संघर्ष गठबन्धनले माग गरेको छ ।
अदालतमा बयान पल्टियो
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार भनेर प्रहरीले आरोप लगाएको निलम्बित सभासद संजयकुमार साहका सन्दर्भमा अधिकांश आरोपीहरुले अदालतमा वयान फेरेका छन् । प्रहरी समक्ष साहको नाम लिएका उनीहरुले अदालतमा यातना दिई त्यस्तो वयान लिएको न्यायाधीश समक्ष बताएका छन् ।
सिंघानिया हत्या काण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित सभासद साह, चन्द्रदीप यादव, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, रामकरण यादव, ओमप्रकाश यादव, अंशीराईन, विजय भन्ने दीपेन्द्र यादव कुसिऐत, रामविनोद यादव, वन लामा, मनक लामासहित ११ जनामाथि मुद्दा दर्ता गराएको थियो । आरोपीहरुमध्ये दीपेन्द्र, रामविनोद, पवन तथा मनक फरार छन् भन्ने अन्य सात जना विभिन्न आरोपमा यस अघि नै पक्राउ परी पुर्पक्षमा जेलमा छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलासमा जारी सिंघानिया हत्या सम्बन्धी मुद्दाको वयानको क्रममा ओमप्रकाश यादव, योगेन्द्र सहनी, अर्जुन सिंह भन्ने मुकेश चौधरी, चन्द्रदीप यादव तथा रामकरण यादवले आफूलाई निर्दोषमात्र भनेका छैनन, हत्याका मुख्य आरोपी भनिएका निलम्बित सभासद साहको पनि कुनै संलग्नता नरहेको दावी गरेका छन् । प्रहरी अनुसन्धानको क्रममा सिंघानिया हत्याको योजना बनाउन निलम्बित सभासद साहले आफ्नो कदम चौकस्थित घरको छतमा पटक पटक बैठक बसेको, १० लाखको सुपारी दिएको तथा होटल रामामा हतियार एवं जलपानको लागी ३० हजार नगद समेत दिएको वयान दिएका चन्द्रदीप यादवले न्यायाधीश समक्ष संजयकुमार साहसंग चिनजान भए पनि उनीसंग हत्या योजना सम्बन्धी कुनै कुरा नभएको वयान दिएका छन् । प्रहरीले आफूलाई धाक धमकी दिएको तथा भाईलाई समेत मुद्दामा फसाई दिने भन्दै आफैले लेखेर ल्याएको कागजमा सही छाप गराएको उल्लेख गरेका छन् ।
सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले प्रहरी समक्ष दिएको वयानमा निलम्बित सभासद साह तथा उनका सहयोगी राम गोवीन्द यादवले १० लाखको सुपारी दिएर सिंघानियालाई हत्या गर्न लगाएको खुलासा गरेका थिए । अरुण सिंघानियालाई २०६६ साल फागुन १७ गते जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो । त्यस्तै २०६९ साल वैशाख १८ गते रामानन्द चौकमा गराइएको वम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको सहित दुवै घटनामा साहमाथि मुद्दा चल्दैछ ।
न्यायिक छानविनको माग गर्दै बन्द
निलम्बित सभासद संजयकुमार साहलाई नियोजित तरीकाले फसाउन खोजेकोले न्यायिक छानविन समितिको माग गर्दै सद्भावना पार्टीले घोषणा गरेको जनकपुर बन्दको प्रभाव मंगलवार दिनभरी देखियो । मुख्य सडकका पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द रहे भने स्कुल कलेजहरु पनि सञ्चालन भएनन् । विहान फाटफुट यातायातका साधनहरु चले पनि मध्यान्हपछि बन्द भएका थिए । बन्द सफल बनाउन सद्भावनाका कार्यकर्ताहरु चौक चौकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साहको पनि स्वास्थ्य अवस्था खराब हुँदै ।
संजय साहको समर्थनमा सदभावना पार्टीले बन्द आह्वान गरेको बन्दको पुर्व सन्धयामा ६ बैशाखमा जनकपुरमा निकालेको मशाल जुलुस ।

२०७३ बैशाख १२ गते आईतबार

संजय साहलाई कारवाही गराउन जिवनाथ चौधरी सक्रिय

संजय साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संजय साह र जिवनाथ चौधरी एक अर्काका जानी दुश्मन हुन भनेर जनकपुरमा जो कोहीले पनि भन्ने गर्छन । दुवै जनालाई जनकपुरमा मानिसहरुले ‘डन’, ‘माफिया’, र ‘गुण्डा’ को समेत संज्ञा दिने गरेका छन् । विगतमा संजय साहको पृष्ठभुमि एउटा गुण्डा, ठेक्केदार आदिको रहेपनि पछिल्लो समयमा खास गरी मधेस आन्दोलन देखि उनी राजनीतिक परिचय बनाउन सफल मात्र भएनन्, उनी संविधानसभाको चुनावमा  धनुषा निर्वाचन क्षेत्र नं. ४बाट दुई दुई पटक सभाषदमा निर्वाचित समेत भईसकेका छन् । उनी हाल सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत हुन । यसका अतिरिक्त उनी भौतिक राज्य तथा निर्माण मन्त्रालयका पुर्व राज्य मन्त्रि समेत भईसकेका व्यक्ति हुन । उनी अहिले निलम्वित सभाषद हुन । हाल उनलाई जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश अनुरुप कारागारमा थुनुवा बन्दीको जिवन व्यतित गरिरहेका छन् । र, अरुण कुमार सिंघानिया हत्याको समेत प्रमुख योजनाकारका रुपमा उनलाई लिइएको छ ।
 अर्को तर्फ जिवनाथ चौधरी जिल्ला विकास समिति धनुषामा सह लेखापालको रुपमा कार्यरत एक कर्मचारी थिए । रामानन्द युवा क्लवको पुर्व अध्यक्ष समेत रहिसकेका चौधरी अहिले जिल्ला विकास समितिमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनलाई विशेष अदालतले भ्रष्टाचारी रहेको ठहर गर्दै कैद र जरिवाना समेत गरिसकेको छ । उनले आफ्नो बचाउको लागि सर्बोच्चमा पुनरावेदन गर्ने भन्दै बताउँदै आएका छन् । यसका साथै उनी होटेल सिताप्यालेसका संचालक समेत हुन ।
जिवनाथ चौधरी ।
जिवनाथ चौधरी संजय साहलाई कारवाही गराउन हरसम्भव प्रयास गरिरहेका छन् । संजय साहबाट आफु पटक पटक पीडित मात्र नभई आफ्नो ज्यान सम्म लिने अर्थात हत्या सम्म गराउन उनले पटक पटक प्रयास गरेकाले संजय साहलाई कानुनले कारवाही गर्दा सबैभन्दा वढी खुशी आफु नै हुने जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफ्नो घरमा संजय साहले डकै ितगर्न लगायो, पटक पटक आक्रमण गरी ज्यान लिन संजय साहले प्रयास गर्यो त्यसैले आफु संजय साहबाट पीडित भएको र उनलाई कानुनले जन्मकैद गरे मात्र आफुलाई न्याय हुने बताउँदै जिवनाथ चौधरीले संजय साह विरुद्धका हरेक अपराधका प्रमाणहरु आफुले धनुषा प्रहरी र वकिलहरुलाई समेत उपलब्ध गराईरहेको र संजयलाई कानुनी कारवाही गराउन आफु खुलेरै सक्रिय भएको चौधरीले द एक्सक्लुसिभलाई खुलेर बताएका छन् । जनकपुर बम काण्ड, सिंघानिया हत्या काण्ड लगायत थुप्रै अपराध उनले गरेका कारण संजय साहलाई कारवाही गरिए अधिकांश जनकपुरवासी समेत खुशी हुने उनले बताएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारीले फैसला गर्दै २१ महिनाको कैद सजाय तोकेको र उक्त फैसलालाई पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतको न्यायाधीश कल्याण श्रेष्ठको इजलासले समेत सोही फैसलालाई सदर गरिसकेको हुनाले उनी अपराधि ठहर भईसकेका छन् र अब उनी राजनीतिज्ञ वा निलम्बित सांसद मात्र नरहि अपराधि भएका कारण सदभावना पार्टीले समेत उनको राजनीतिक पद बरिष्ठ उपाध्यक्ष पदबाट खारेजी गर्नुपर्ने चौधरीले सदभावना पार्टीसँग माग गरेका छन् ।
संजय साह र जिवनाथ चौधरी बीच किन भयो दुश्मनी ?
जिल्ला विकास समिति धनुषाका तत्कालिन सभापति राम चरित्र साहको कार्यकालमा संजय साहले जिविसबाट अन्दाजी बार्षिक रु. ४ लाखमा कवाडी ठेक्का लिएका थिए । कवाडको ठेक्का लिएको भएपनि राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुबाट आलु, प्याज, चामल, दाल, फलफुल, गाईभैसी सबैबाट राजश्व असुली गर्ने गर्थे । जिवनाथ चौधरीका अनुसार राजश्व दिन नमान्ने सबारी साधनका डूाइभर र कन्डक्टरलाई संजयका मान्छेहरुले कुटपिट गरी जवरजस्ती कर असुली गर्ने गर्थे । यसरी ४÷५ लाखको ठेक्कामा करोडौं रुपैयाँ अवैध तरिकाले संजयले कमाउन थालेपछि २०५८ साल तिर कवाड ठेक्का संजयलाई जिविसले सोझै नदिई प्रतिस्पर्धा गर्न लगाईयो । ४÷५ लाख रुपैयाँमा पाउने ठेक्का प्रतिस्पर्धा गरी संजयले रु. १ करोड १० लाखमा कवाडको ठेक्का लिए । प्रथम किस्ता वापत २० लाख रुपैयाँ जिविसमा संजयले जम्मा गरे र करिव ९०÷९२ लाख रुपैयाँको ग्यारेन्टी नेपाल बंगलादेश बैंकमा जम्मा ग¥यो । बाँकी किस्ताको समय सकिएपछि पनि संजय साहले बुझाउन बाँकी रहेको रकम जिविसमा नबुझाएपछि जिविसले संजयलाई रकम भुक्तानी गर्न पटक पटक ताकेता ग¥यो । यता संजय साहले ठेक्कामा धेरै घाटा भएको हुनाले राजश्व मिनाहा गरिदिन जिविसलाई आग्रह ग¥यो । जिवनाथ चौधरीका अनुसार राजश्व मिनाहा गर्ने अधिकार जिविसलाई नभएको कारण उक्त रकम जम्मा गर्न जिविसले नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्र लेख्यो । तर पनि नेपाल बंगलादेश बंैकले रुपैयाँ जम्मा गर्न नमानेपछि जिविसले नेपाल राष्टू बैंकलाई पत्र लेख्यो । त्यसपछि २४ घण्टा भित्र रकम भुक्तानी गरिदिन नेपाल राष्टू बैंकले नेपाल बंगलादेश बैंकलाई पत्र लेखेपछि बंगलादेश बैंकले जिविसलाई रकम बुझाएको थियो । त्यसपछि बंगलादेश बैंकले धितोमा राखेको संजयको जग्गा लिलाम गरी रकम असुली गरेको जिवनाथ चौधरीले बताएका छन् ।
चौधरीका अनुसार, संजयलाई के लाग्यो भने जिवनाथले नै गरेर ठेक्का कम्पिटिशनमा लिनुपरेको र राजश्व मिनाहा पनि हुन नदिनमा चौधरीले नै तत्कालिन एलडिओलाई सहमत गराएको आशंकामा संजयले आफुसँग दुश्मनी गरेको हो । यसका अतिरिक्त आफु पार्ट टाइममा विभिन्न संघ संस्थामा काम गर्न थालेपछि बढ्दै गएको लोकप्रियता र सामाजिक क्रियाकलापमा आफ्नो रुचि बढ्न थालेपछि संजय म बाट तर्सिएर मसँग दुश्मनी मात्र गरेनन् मेरो ज्यान समेत लिन पटक पटक गुण्डाहरुलाई परिचालन गरेको जिवनाथ चौधरी बताउँछन् । संजयले योजना बनाई तत्कालिन एसपी छविलाल जोशी बन्जाडे, राम विनोद यादव, ओम प्रकाश यादव र भरत झा समेतको सहयोगमा मेरो घरमा डकैती गर्न लगाएको जिवनाथ चौधरीको आरोप छ । उक्त डकैती मुद्दाको जिल्ला प्रहरीमा जाहेरी दिन जाँदा एसपी बन्जाडेले संजय र म बीच विवाद गराउन सक्रिय भए र संजय साहले नारावाजी गराए ।
संजय साहले मधेसमा रहेको भुमिगत आपराधिक समुहहरुसँग साँठगाँठ राखि आफु माथि सांघातिक हमला गराएको जिवनाथले आरोप लगाएका छन् । जिवनाथका अनुसार संजयकै निर्देशनमा भुमिगत समुहका आकाश त्यागी भन्ने श्रीराम यादवले जनकपुरको विश्वकर्मा चौक नजिक आफुमाथि गोली प्रहार गराएको, अर्जुन सिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरी मार्फत संजयले जनकपुर बम काण्डमा आफुलाई मार्न भनी बम विस्फोट गराएको घटनाबाट पनि संजय साह मेरो ज्यानको पछाडि कति हदसम्म हात धोएरै परेको जिवनाथ चौधरी बताउँछन् । आफुमाथि जहिले पनि संजयले आक्रमण गर्न लगाएको भएपनि आफु पनि संजय विरुद्ध आक्रामक नभई रक्षात्मक अवस्थामा रहि कानुनको सहाराबाट संजयलाई कानुनी कारवाही हुनुपर्छ भन्ने बाटो नै अख्तियार गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफुले कहिल्यै पनि कसैको अपहरण, हत्या, लुटपाट तथा जवरजस्ती जग्गा कव्जा नगरेको, गरेको छु भने कसैले पनि देखाओस अनि मात्र आफुलाई माफिया वा गुण्डा भन्न मिल्ने तर्क राख्दै जिवनाथ चौधरीले आफु जहिले पनि समाजको सेवाका लागि अग्रसर रहेको बताएका छन् । यति कम समयमै कसरी अकुत सम्पत्ति आर्जन गरेको सबालमा बैंकको ऋणबाट व्यापार, व्यवसाय गरी सम्पत्ति आर्जन गरेको चौधरीले बताएका छन् । जग्गा व्यवसाय, निर्माण व्यवसाय र होटेल व्यवसायबाट आफुले सम्पत्ति आर्जन गरेको चौधरीको दावी छ ।
उता संजय साह माथि जिवनाथ चौधरीले पनि भौतिक आक्रमणको प्रयास गराएका छन् वा छैनन् भन्ने कुराको वा जिवनाथ चौधरीले संजय साह माथि लगाएका दुश्मनीका कारण सहितका आरोपहरुबारे संजय साह जेलमा रहेका कारण उनीसँग कुराकानी गर्न द एक्सक्लुसिभ सफल हुन सकेको छैन । हुन त संजय साह पनि असुरक्षित रहने गर्थे भन्ने कुराको पुष्टि के बाट पनि हुन्छ भने संजय साह बुलेट प्रुफ ज्याकेट लगाउने गर्थे ।


२०७३ बैशाख १२ गते आईतबार

मधेसमा बढ्दो अपराधको शृंखला

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही हेमपुर ७ का ६० वर्षीय एमाले नेता रामनरेश यादवको गत पुस १४ मा हत्या भयो । गाविसका पूर्वअध्यक्षसमेत रहेका जिल्ला कमिटी सदस्य यादव ‘मर्निङ वाक’ गर्दै घरबाट केही पर पुगेका बेला एक समूहले नियन्त्रणमा लिई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गर्याे । हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय उमेश राय यादव, ३५ वर्षीया मञ्जुदेवी यादव र उनका १८ वर्षीय छोरा रूपेश पक्राउ परे । तीनै जना पुर्पक्षका लागि जेलमा छन् । मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रभूषण यादव भन्छन् ‘टोलकै एक परिवारमा बाबु(छोराको विवाद भएपछि नेता यादव बाबुपट्टि लाग्दा ज्यान गुमाउनुर्पयो ।’ यो घटना सेलाउन नपाउँदै सप्तरी झुड्की प्रहरी चौकीका ३८ वर्षीय असई रमेश सुब्बा ड्युटीमा बसेकै बेला मारिए । पुस २० मा साँझ एक समूहले गोली प्रहार गरी सुब्बाको हत्या गरेपछि त्यस क्षेत्रमा त्रास बढ्यो । घटनाको खासै अनुसन्धान भएको छैन । आरोपित अशोक यादव साधारण तारेखमा रिहा भइसकेका छन् । मुद्दामा खासै आधार नदेखिएकाले आरोपित साधारण तारेखमा छुटेको त्यहाँका सरकारी वकिल कार्यालयको भनाइ छ । त्यहाँका एसपी भीम ढकाल भन्छन, ‘रिसइबी साध्न सहकर्मीको हत्या गरियो, यसबारे थप अनुसन्धान भइरहेको छ ।’
महोत्तरी प्रहरीका अनुसार डेढ महिनायता दुई बालकको फिरौतीकै लागि अपहरण गरी हत्या गरिएको छ । भटौलिया २ का रवीन्द्र महासेठका ८ वर्षीया छोरा चिरञ्जीवी र जलेश्वर १२ का ११ वर्षीय निश्चल पाण्डेको हत्या भएको हो । पर्सामा समेत उस्तै प्रयास भयो । वीरगन्जका ३५ वर्षीय राजेश साह गुप्तालाई एक समूहले फागुन ५ मा अपहरण गरी चार लाख फिरौती लिएको थियो । पीडितले बन्धक बनाएर फिरौती नदिए मारिदिने धम्की दिएको बताएपछि प्रहरीले घटनाको आरोपमा पूर्वप्रहरी जवान अरविन्द सिंहसँगै श्रीभगवान सिंह, दीपक सिंह र विक्की सिंहलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पूर्वप्रहरी सिंहले फागुन ५ गते राजीनामा दिएका थिए ।
यी प्रतिनिधिमूलक घटना हुन् । हत्या, अपहरण, धम्कीलगायतका घटनाले मधेसका सीमावर्ती पर्सादेखि सप्तरीसम्मको क्षेत्र (प्रस्तावित २ नम्बर प्रदेशका आठ जिल्ला) अपराधको अखडा बनेको छ । लामो समयदेखि हुँदै आएका यस्ता घटना रोक्न सरकारलाई पनि उत्तिकै चुनौती छ । यस्ता अपराधका शृङ्खला खासगरेर पहिलो संविधानसभाको चुनाव ताकादेखि चलेको हो, जुन बेला राजनीतिक आडमा मधेसमा भूमिगत संगठनको बिगबिगी थियो । त्यसैले यस्ता शृङ्खला रोक्न सरकारले यी जिल्लालाई सुरक्षाको उच्च जोखिमको सूचीमा राख्दै संवेदनशील क्षेत्र घोषणा र्गयो र विशेष सुरक्षा नीति ल्यायो तर त्यो संवेदनशीलता कागजमै सीमित भयो । थप सुरक्षा नीति अख्तियार नहुँदा वा सुरक्षात्मक उपाय नअपनाउँदा गम्भीर प्रकृतिका अपराध थामिएका छैनन् ।
प्रहरी स्रोतअनुसार पर्सादेखि सप्तरीसम्मका आठ जिल्लामा पछिल्लो एक वर्षमा गम्भीर प्रकृतिका अपराधमध्ये ७६ जना सर्वसाधारणको हत्या भएको छ । प्रहरीको यो तथ्यांक राष्टिूय मानवअधिकार आयोग र इन्सेक वर्ष पुस्तकसित मिल्दोजुल्दो छ । हत्या हुनेमा राजनीतिक कार्यकर्ता, व्यापारी, सरकारी कर्मचारी, महिला, मजदुर र बालबालिकालगायत छन् । १० जनाको अपहरण भएको छ । फिरौतीका लागि धम्क्याउने घटना योभन्दा बढी छन् । कतिपय घटना ढाकछोप गरिएकाले उजागर हुन पाएका छैनन् ।
रिसइबी, आर्थिक लाभ र यौनजन्य क्रियाकलापले हत्या शृङ्खला बढेको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरीका अनुसार त्यस अवधिमा सबैभन्दा बढी सर्लाही तथा बारामा १४(१४ र सबैभन्दा कम पर्सामा ३ जनाको हत्या भएको छ । धनुषा र सप्तरीमा ११(११ जना, महोत्तरीमा १०, रौतहटमा ८ र सिरहामा ५ जनाको हत्या भएको छ । गोली प्रहार र विस्फोटका घटनासमेत भएका छन् ।
प्रहरीका एक उच्च अधिकारीको विश्लेषणमा सुरुमा अपराधका आडमा राजनीतिमा रमाउनेले यस्ता घटना दिनदिनै घटाउन थालेपछि सिको गर्ने क्रम पनि चलेको छ । उता राष्टिूय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रहरीको भूमिका रियाक्टिभभन्दा प्रोएक्टिभ कम देखिनुले समस्या भएको बताउँछिन् । उनी भन्छिन, ‘समाजमा कानुनको अनभिज्ञता, प्रहरीको गहिरो र रुचीपूर्वक अनुसन्धान अभावले नागरिक दिनदिनै असुरक्षित भइरहेका छन् । त्यसैले प्रहरीको सुरक्षा सतर्कता नागरिकमुखी हुनुपर्छ ।’ आयोगको अद्यावधिक समीक्षाले यही ठहर गरेको उनले बताइन् । अर्का एक अधिकारकर्मीले प्रहरी ‘इन्टेलिजेन्स’ का नाममा घुमुवा परिचालन गरी आर्थिक लाभतिर लाग्दा हत्या, अपहरणजस्ता जघन्य मुद्दाको फाइल पेन्डिङमा राख्ने चलनका कारण जघन्य घटनाले प्रश्रय पाइरहेको बताए ।
इच्छाशक्ति अभाव
१३ जनाको हत्या आरोपित भूमिगत संगठनका राजन मुक्ति भनिने रञ्जितकुमार झा केही वर्षदेखि (धनुषा, लक्ष्मीपुर बगेवा ७) भारतको पटनामा ‘सेल्टर’ लिएर बस्थे । यसैगरी बाराको गन्जभवानीपुरमा एकैपटक तत्कालीन चार माओवादी कार्यकर्तालाई हत्या गरी भारत विहार पूर्वीचम्पारणका एक प्रभावशाली नेताको संरक्षणमा पुगेका भूमिगत संगठनकै कमान्डर सुनिल जैसवाल (बारा, गन्जभवानीपुर) लामो समयदेखि पारि नै बस्थे । तर प्रहरीको थोरै आँटले यी दुवै जना सहजै फन्दामा परे, जसले गर्दा पीडितहरूले न्याय पाएको महसुस गरे । जनकपुरदेखि वीरगन्जसम्मका यी दुई मुख्य सफलतासँगै दर्जनौं फरार अभियुक्त त्यो बेला समातिएका थिए ।
तत्कालीन माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहको हत्याका अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन् । हत्या भएका घटनादेखि अहिलेसम्मको अवधिमा दर्जन प्रहरी प्रमुख र प्रशासक फेरिए तर उनका हत्या अभियुक्तलाई पक्राउ गर्न कसैले चासो देखाएन । पत्रकार महासंघले जति दबाब दिँदै आए पनि प्रहरीले झारा टार्ने आशा बाहेक केही गरेको छैन । एक सुरक्षा अधिकारी भन्छन, ‘अभियुक्तहरूलाई पक्रन खासै चुनौती छैन तर पक्राउ गर्ने न आँट छ न त चासो । कसरी पक्राउ पर्छन् ?’ प्रहरीमा यस्ता आँटको कमीले अपराध गर्नेको मनोबल बढिरहेको उनको भनाइ छ ।
मौखिक रूपमा फरार भनिएका तीन जना अभियुक्तको मुद्दा मुल्तबीमा छ । पत्रकार साहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो । अपहरण भएको ३५ दिनपछि अर्थात् कात्तिक २२ गते उनको शव साबिक डुमरवाना गाविस ९ मा पर्ने चारकोशे जंगलको टाँगिया बस्तीमा गाडिएको अवस्थामा भेटिएको थियो । इनर्वासिरा ८ निवासी पत्रकार साहकी पत्नी उमरावती देवी भन्छिन, ‘आरोपितहरू खुलेआम भेटिरहेको स्थानीयले बताइरहँदा प्रहरीले पक्रन आँट गर्दैन । नपक्रुन्जेल न्याय पाउँदिनँ’ उनले भनिन, ‘बाँकी ३ जना जेल नगए शान्ति मिल्दैन ।’
चेतनाको कमी
कलैया ६ का २६ वर्षीय सन्तोष साह कलवार चैत २ देखि बेपत्ता भएपछि घरमा चिन्ता बढ्दै गयो । उनको खोजी गर्दै परिवार व्याकुल भए । कतै पत्तो लागेन । इलेक्टिूकल काम गर्दै गुजारा चलाएका उनी जीवित फेला परेनन् । दुई दिनपछि हत्या गरी बोरामा कसेर फालिएको अवस्थामा कलैया १ स्थित चौरमा फेला परे । उनलाई घाँटीमा डोरी कसेर हत्या गरी फालिएको थियो । घटनामा संलग्न आरोपमा कलैया ४ को एक पूरै परिवार हिरासतमा छ ।  यस्तै रौतहट सन्तपुर दोस्तिया ७ घर भई बाराको भोडाहा ८ स्थित प्रेमीलाई भेट्न आएका २६ वर्षीय युवक पुनदेव यादवको फागुन ४ मा हत्या भयो । उनको शव फागुन १४ गते मनहर्वा ५ स्थित टेङ्ग्रहर खेलाको छेउमा गाडिएको अवस्थामा भेटिएको थियो । यादवको शव बोरामा कोचेर गाडिएको थियो । उनलाई घरमै बोलाई परिवार मिलेर धारिलो हतियारले वीभत्स हत्या गरिएको थियो । घटना आरोपमा एक जना पक्राउ परेका छन, अरू भने परिवार छाडेर फरार छन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धले दुवै घटना भएको खुलेको छ । एसपी नरेन्द्र उप्रेतीले दुवै घटनाको मुख्य कारण प्रेम सम्बन्ध नै भएको बताए । भन्छन, ‘केटी पक्षले गोप्य उजुरी दिएको भए न कोही मर्नुपथ्र्यो न कोही घरबार छाडेर भाग्नुपथ्र्यो । कानुनअनुसार कारबाही हुँदा मर्नेको ज्यान जोगिन्थ्यो भने मार्नेको बेहाल हुँदैनथ्यो । त्यसैले चेतना अभावकै कारणले हत्या भएको देखिन्छ ।’ जिल्लाका अर्का एक सुरक्षा अधिकारी भन्छन, ‘अपराध बढ्नुको मनोविज्ञान हेर्दा मदिरा, मोटरसाइकल र मोबाइल कारक छन् । कि त त्यो अपराध प्रेमसित जोडिएको होस् वा अन्य रिसइबी वा आर्थिक लाभ ।’ मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी पशुपति उपाध्यायले मधेसमा बढ्दो अपराधविरुद्ध प्रहरीले सचेतना, निषेधात्मक र अनुसन्धानात्मक गरी यी तीनवटै अलगअलग प्रकृतिका गतिविधि सशक्त ढंगले सुरु गरिएको बताए । यसले अपराध घट्ने उनले बताए । भन्छन, ‘त्यसविरुद्ध समुदायमा चेतना फैलाउनुसँगै हुनसक्ने अपराधबारे सूचना संकलन गरी सम्भावित अपराधलाई निषेधसमेत गरेका छौं र घटित घटनाबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा समेत ल्याइरहेका छौं ।’ यस क्रममा बारा, पर्सा, धनुषा, महोत्तरी लगायतका जिल्लामा धमाधम अभियुक्त पक्राउ परिरहेका छन् । दिनदिनै अपराध शैली फेरिनुले पनि सुरक्षा योजना बनाउन समस्या भइरहेको उनको भनाइ छ । तर पनि यसको रोकथाम र अपराधमा कमी ल्याउन सशक्त ढंगले लाग्ने बताए । भन्छन, ‘पहिले भरुवा बन्दुकको भरमा अपराध हुन्थ्यो भने अहिले त्यो घटेको छ ।’
अस्थिरताले चिन्ता
पहिलो संविधानसभायता मधेस(तराईमा राजनीतिक अस्थिरता बढेपछि सर्वसाधारणमा सुरक्षा चिन्ता बढेको पाइन्छ । दिनहुँजसो हत्या, अपहरण र जबर्जस्ती चन्दा आतंकका घटना हुँदा उनीहरूमा चिन्ता थपिएको हो । असहज अवस्थामा सुरक्षाको उच्च जोखिम मोल्दै आएका सर्वसाधारण त्रासमय दिनचर्या बिताउन बाध्य छन् । मधेसका यी सीमावर्ती जिल्लामा सुरक्षा जोखिम बढ्दै जाँदा चिन्ता थपिएको सर्वसाधारण बताउँछन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता भन्छन, ‘शृङ्खलाबद्ध भइरहेका जघन्य अपराधलाई घटाउन तथा असुरक्षाको सिकारबाट टाढा रहन शिक्षा र रोजगारमा सरकारले विशेष ध्यान दिनुपर्छ । साथसाथै अपराधलाई संस्थागत हुन नदिन सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भारतीय सुरक्षा निकायसित मिलेर लगातार ‘काउन्टर पार्ट मिटिङ’ मार्फत अपराधको समीक्षा गर्नुपर्छ ।’ उनी थप्छन, ‘यो क्षेत्रलाई अपराधीहरूको अखडा बन्न नदिनलाई अपराधलाई राजनीतिक संरक्षण नदिनतर्फ सबै सजग रहनुपर्छ । राजनीतिक खोल ओढेर आपराधिक क्रियाकलापमा संलग्न रहनेलाई समाजले निस्तेज पार्नुपर्छ । साधनस्रोत र जनशक्ति अभाव देखाउँदै सुरक्षा अधिकारीहरू पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’
फाइल कतै खुल्छन, कतै खुल्दैनन
धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा दुई वर्षपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता चन्द्रदीप यादव चैत १६ मा पक्राउ परे । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको हत्या आरोपमा प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई घटना भएको एक वर्षपछि काठमाडौंबाट पक्राउ गरेको छ । मधेसका प्रस्तावित २ नम्बर प्रदेश अर्थात् आठ जिल्लामा त्यस्ता जघन्य अपराधको अनुसन्धान हुन बाँकी र अनुसन्धान भएका थुप्रै पुराना फाइल छन, जुन कतै खुल्छन् कतै खुल्दैनन् । खोल्ने क्रममै जनकपुरमा सिंघानियाँ र थप दुई सर्वसाधारणको हत्या भएको लामो समयदेखि फाइल खुलेको छ । प्रहरी स्रोत भन्छ, ‘फाइलअनुसार अपराधको आरोप लागेका अभियुक्त वा आरोपी केलाउने हो भने सयौं पक्राउको सूचीमा भेटिन्छन् तर न फाइल खुल्छन् न त फरारहरू पक्राउ पर्छन् ।’ भन्छन, ‘प्रहरीले चासो राखेर अनुुसन्धान नगरेकाले यी जिल्लामा अपराधका शृङ्खला घटेका छैनन् । अधिकांश हत्या र अपहरणका आरोपी तथा अभियुक्त वर्षांैदेखि फरार छन् ।’ बारा प्रहरी स्रोतका अनुसार झन्डै पाँच सय पुराना फाइलमध्ये आधाको हाराहारीमा गम्भीर अपराध हत्या, अपहरण, बलात्कारलगायतका छन् । जसमध्ये करिब तीन सय ठहर भएका अभियुक्त फरार छन् । रौतहटलगायतका अन्य मधेसका जिल्लाको अवस्था पनि उस्तै छ । सरकारले अदालतबाट दोषी ठहर भएका अपराधीलाई समात्दा त्यसको जरिवानाको रकम असुलबाट आकर्षक आर्थिक लाभ दिने कानुनी व्यवस्था गरे पनि प्रहरीले त्यसतर्फ खासै चासो दिएको पाइँदैन ।
अपराधसित जोडिएका राजनीतिक अनुहार
एमालेका पूर्वसभासद बाराका रामचन्द्र प्यासी दोस्रो संविधानसभामा एमालेबाट उम्मेदावारी दिएका केन्द्रीय सदस्य महम्मुद आलमको हत्या आरोपमा पुर्पक्षका लागि जेलमा छन् । यसैगरी सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष सञ्जय साह (टकला) पनि जेलमा छन् । जनकपुरका उनी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वा्चित भएका थिए । मिथिला राज्यको माग गर्दै जनकपुरमा भएको अनशनको क्रममा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको घटनामा संलग्न आरोपमा उनी जेलमा छन् ।  धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा भर्खरै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका चन्द्रदीप यादव पक्राउ परेका छन् । सोही घटनाका आरोपित सद्भावनाका केन्द्रीय सदस्य रामविनोद यादव भने फरार छन् । रामविनोद उक्त पार्टीका समानुपातिक उम्मेदवार थिए । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रियामा विवादका क्रममा झडप हुँदा मृत्यु भएपछि प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनी अहिले हिरासतमै छन् । वीरगन्जका हिन्दु महासंघका अध्यक्ष काशी तिवारीको हत्या प्रकरणमा एमाओवादी नेता प्रभु साह मुछिए तर घटनामा संलग्नता पुष्टि नभएपछि उनले सफाइ पाइसकेका छन् । यसैगरी नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का तत्कालीन अध्यक्ष श्यामसुन्दर गुप्ता (भैरहवा) पनि अपहरण मुद्दामा जेलमा छन् । यस्तै रौतहटका नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद अफताब आलम विस्फोटका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा छानबिनको दायरामा परेका छन् । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउँदै गर्दा विस्फोट भएपछि पोल खुल्ने डरले घाइतेलाई इँटाभट्टामा जलाएको उनीमाथि आरोप छ । प्रहरीले यो मुद्दा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्दा त्यहाँबाट मुद्दा चलेन । तर सर्वोच्चमा रिट परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा छानबिन गर्न गत वर्ष प्रहरीको नाममा आदेश जारी गर्याे ।
निगरानी अभाव
पछिल्ला केही वर्षयता भारतीय सीमावारि र पारिका आपराधिक ‘सेल्टर’ हरूमा सुरक्षा निगरानीको अभावमा भारतीय अपराधीहरूले अपराध गर्न पल्केको पाइएको छ । २०७० को दोस्रो संविधनसभाताका असोज १८ मा हत्या गरिएका एमालेका महम्मुद आलमको हत्यामा संलग्न भारतीय सुटरहरू वीरगन्जमा लामो समयदेखि योजना बनाएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तर घटना हुनुअघि तिनको नेपाली सुरक्षाले सुइँकोसमेत पाएन । गुप्चर निकायको समेत खासै भूमिका देखिँदैन । उनीहरूले नेपाली नम्बरकै मोटरसाइकलसमेत प्रयोग गरी घुमफिर गरेका थिए । यसैगरी २०७० पुस १७ मा जितपुरमा भारतीय सुटरहरूबाट मारिएका अफताब आलम अन्सारीको हत्यामा भारत उत्तर प्रदेश कोतवाली थाना जामे मस्जिद अलिगढ घर भई भारत उत्तर प्रदेश सपना कलोनी सेक्टर सी लखनउ बस्ने २९ वर्षीय विपिन यादव भन्ने महमद फहद र भारत उत्तर प्रदेश पिलिभित जिल्ला कोतवाली थाना स्टेसन रोड सिभिल लाइन घर भई भारत उत्तर प्रदेश किरातन भिलेज जोनपुर बस्ने ३५ वर्षीय मनोज तथा रवि पाण्डे भन्ने राजेश मिश्र लामो समयदेखि वीरगन्जमै बसेको अनुसन्धानबाट खुलेको थियो । आलमको हत्यादेखि काठमाडौंको फैजान अहमदको हत्यासम्म यिनीहरूको हात रहेको खुलेको थियो । कहिलेकाहीँ उनीहरूको बसाइ रक्सौलको नमस्कार होटेलमा समेत थियो । भारतको मस्ट वान्टेड सूचीमा रहेका भारतीय एक अपराधी केही महिनाअघि कलैयामा बसेको सूचना पाएर भारतीय प्रहरी पक्राउ गर्न सीधै आएको घटनाले सेल्टर भएको पुष्टि हुन्छ । अपराध नियन्त्रणका लागि केही महिनादेखि रोकिएको नेपाल(भारतबीचको काउन्टर पार्टको मिटिङ दुई साताअघि भएकोमा त्यसमा छलफल भएको बाराका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।
                                                                                                         सौजन्यः इकान्तिपुर डट कम

२०७३ बैशाख १२ गते आईतबार