Wednesday, May 21, 2014

एमाले धनुषामा विवाद चर्किदै



नेकपा एमाले धनुषाको जिल्ला कमिटिमा दुईवटा समानान्तर कमिटि गठन भएपछि उत्पन्न भएको विवाद अझै सम्म यथावत रहेको छ । एक पक्षले अहिलेको जिल्ला कमिटि विघटन भईसकेको भन्दै निर्वाचित कमिटिलाई मानिराखेका छैनन भने अर्को पक्षले निर्वाचित कमिटि नै बैधानिक रहेको दावी गरिरहेका कारण विवाद झन बढ्दै गएको छ ।
गत माघ ५ गतेको जनकपुर अञ्चल कमिटिको वैठकबाट एमाले विधान नियमावली अनुसार अनुशासनको कारवाही अन्तरगत एक तह माथिको निकायले एक तह तलको निकायलाई कारवाही गर्न सक्ने आधारमा जिल्ला कार्यसमिति धनुषालाई कारवाही स्वरुप विघटन गरेको थियो । जनकपुर अञ्चल कमिटिका इन्चार्ज केशव देवकोटाको अध्यक्षतामा बसेको अञ्चल कमिटिको पुर्ण वैठकले माघ ५ गते धनुषा जिल्ला कमिटि विघटन गरेको थियो ।
जिल्ला कार्यसमिति अत्यन्त अराजक भएको, उदण्ड भएको, पार्टीको नीति निर्देशन नमानेको, जनवादी केन्द्रियता संगठनात्मक सिद्धान्तको विपरित चलेको, अञ्चल कमिटिले पटक पटक सचेत गराउँदा पनि जिल्ला कार्यसमितिले अञ्चल कमिटिको निर्देशनलाई अटेरी गरेको, संविधानसभाको चुनावमा पार्टीका उम्मेदवार विरुद्ध जिल्ला अध्यक्ष हरिनारायण महत्तो खुल्लमखुल्ला लागेको भन्दै जिल्ला कार्यसमितिलाई विघटन  गरिएको थियो ।
 अञ्चल कमिटिले तदर्थ समिति गठन गर्न अञ्चल सचिवालयलाई दिएको अभिभारा अनुसार गत माघ १० गते राजकिशोर यादवको संयोजकत्वमा ८९ सदस्यीय तदर्थ कमिटि गठन गरिएको थियो । अञ्चल सचिवालयले गठन गरेको उक्त तदर्थ समितिलाई एमालेको केन्द्रिय समितिद्वारा अनुमोदन गराई कार्यान्वयनका लागि फागुन ८ गतेको पार्टीको स्थायी कमिटिद्वारा अनुमोदन समेत गराईसकिएको एमालेका बैकल्पिक केन्द्रिय सदस्य श्री प्रसाद साहले बताएका छन् । तर, केन्द्रिय सदस्य रघुवीर महासेठले केन्द्रका केही नेताहरुमाथि आफ्नो प्रभाव जमाई उक्त निर्णयलाई पुनः विचार गर्न अञ्चल कमिटिलाई निर्देशन दिलाएको साहले बताए ।
जिल्ला कमिटिका अध्यक्ष अञ्चल कमिटीमा पदेन सदस्य हुन्छन् तर जिल्ला कमिटि नै विघटन भएपछि महत्तोको पदेन सदस्य समेत खारेजी भएको अवस्थामा गठन गरिएको तदर्थ समितिमा महत्तोलाई पुनः अञ्चल कमिटि सदस्य मनोनयन गरिएको थियो । पार्टी केन्द्रको पुनः विचार गर्न दिइएको निर्देशन पश्चात अञ्चल कमिटिको चैत्र १० गते बसेको दोस्रो वैठकले पनि राजकिशोर यादवकै अध्यक्षतामा गठित तदर्थ समितिलाई बैधानिक बनाई अनुमोदन गराउन केन्द्रमा पठाइएको साहले बताएका छन् । यता ३० बैशाखमा हरिनारायण साहको अध्यक्षतामा जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य रघुवीर महासेठले निर्वाचित कमिटि नै वैधानिक रहेको भन्दै अञ्चल कमिटिलाई निर्वाचित कमिटि विघटन गर्ने अधिकार नै नरहेको भन्दै अञ्चल कमिटिलाई उनले चुनौति दिए । मनोनित कमिटि भएको भए विघटन गर्न पनि सक्थ्यो तर अधिवेशनबाट निर्वाचित कमिटि भएका कारण विघटन गर्ने अधिकार नै अञ्चल कमिटिलाई नरहेको महासेठले बताए ।
यता महासेठले गरेको पत्रकार सम्मेलन आधिकारीक नरहेको बैकल्पिक केन्द्रिय सदस्य साहले दावी गरेका छन् । गत २२ बैशाखमा एमालेको केन्द्रिय कमिटिको बैठकमा समेत केन्द्रिय सदस्यहरु केशव देवकोटा, शत्रुधन महत्तो, योगनारायण यादव र लाल गोइत समेतले महासेठको आलोचना गर्दै संजय साहको संरक्षण गरेकोमा आपत्ति जनाएका थिए । उक्त कुराको जवाफ दिँदै महासेठले जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा आफुले संजय साहको संरक्षण नगरेको र संजय साहको प्रवृतिको विरोधमा आफु रहेपनि आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको महासेठले बताएका थिए । संजय साह चुनाव जित्ने वित्तिकै धन्यवाद दिन रघुवीर महासेठको घरमा पुगेको जगजाहेर रहेको भन्दै श्री प्रसाद साहले महासेठको पोल खुलिसकेको तथा जनतामा नाङ्गो भईसकेको बताए ।
 संविधानसभाको चुनावमा महासेठले संजय साहलाई जिताउन करोडौं रुपैयाँ ऋणको रुपमा सहयोग गरेको, एलेभेन्थ आवरमा संजय साहको पक्षमा भोट कास्ट गराउनका लागि महासेठले राम चरित्र साहलाई प्रयोग गरेको श्री प्रसाद साहले आरोप लगाएका छन् । क्षेत्रिय चुनाव परिचालन कमिटि यदुवंश झाको अध्यक्षतामा बसेको बैठकद्वारा पार्टीका उम्मेदवार विरुद्ध लागेका रघुवीर महासेठ, जुली महासेठ, राम चरित्र साह र अवधेष पोखरेललाई कारवाही गर्न अनुशासन आयोग समितिमा समेत प्रतिवेदन पठाइ सकिएको र उक्त प्रतिवेदन अहिले पनि विचाराधिन अवस्थामा रहेको साहले बताएका छन् । महासेठको कार्यक्षेत्र लोकतान्त्रिक मधेसी संगठन हो र उनले जनकपुरमा गरेको पत्रकार सम्मेलन बैधानिक नरहेको तथा उनले व्यक्त गरेका विचार पार्टीको नभई व्यक्तिगत रहेको साहले बताएका छन् । जनकपुर अञ्चल कमिटिको इन्चार्ज केशव देवकोटा, धनुषाको इन्चार्ज शत्रुधन महत्तो, महोत्तरीको इन्चार्ज योगनारायण यादव र सर्लाहीको इन्चार्ज श्री प्रसाद साह रहेको हुनाले कार्यक्षेत्र भन्दा बाहिरका व्यक्तिले पार्टीको धारणा राख्नै नसक्ने साहले दावी गरेका छन् ।
जिल्ला अधिवेशनबाट हरिनारायण महत्तोको अध्यक्षतामा गठित भएको कार्यसमितिका जिल्ला सचिव राज किशोर यादव विगतमा रघुविर महासेठकै पक्षमा थिए ।
तर अहिले अञ्चल कमिटिले महासेठकै गुटका राजकिशोर यादवको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरिदिएपछि महासेठ एक्लिएका छन् । रामचन्द्र झा एमालेमा हँुँदा महत्तो र यादव महासेठ गुटमा थिए । तर एमालेबाट झाको वहिरगमन पछि प्रवेश गरेका केन्द्रिय सदस्यहरु रत्नेश्वरलाल गोइत, यदुवंश झा समेत योगनारायण यादव, शत्रुधन महत्तो र श्री प्रसाद साह एउटा गुटमा संगठित भएका छन भने महासेठ एक्लिएका छन् । महासेठ एक्लिएपनि महासेठ पक्षका नेताहरुको जिल्ला कार्यसमितिमा बहुमत रहेको दावी गर्छन् । एमालेमा यो रोग पहिले देखि नै रहँदै आएको छ । यस अघिपनि रघुविर महासेठले समानान्तर कमिटि बनाएको इतिहासलाई महासेठ बेगरका गुटले सोही प्रवृति दोहोर्याएका छन् । केन्द्रले पनि विवाद साम्यपार्नुको सट्टा दुवै गुटलाई आश्वासन बाँटेका छन् । एमालेको आसन्न केन्द्रिय महाधिवेशनलाई दृष्टिगत गर्दै भोटका लागि विवाद साम्यपार्नुको सट्टा अल्झाएर राख्नमै फाइदा देखेकाले विवाद दिन प्रतिदिन वढ्दै गएको एमालेका स्थानिय नेताहरुको भनाई छ ।