Monday, December 26, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


कार्टुनिष्ट पनि काँही पत्रकार हुन्छन् ? पत्रकारले पो नेपाल पत्रकार महासंघको सदस्यता पाउने हो ।
२०७३ पौष १० गते आईतबार

जनकपुरको स्वास्थ्य क्षेत्रमा बढ्दो अराजकता ९० प्रतिशत स्वास्थ्य संस्थाहरु अवैधानिक, सम्बन्धित निकाय मौन

जनकपुर अञ्चल अस्पताल रोडमा रहेका अवैधानिक
 स्वास्थ्य संस्था तथा स्वास्थ्य क्लिनिकहरु ।
अजय अनुरागी
जनकपुरधाम...........
धनुषामा अवैधानिक रुपले निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक तथा प्याथोलोजीहरु संचालित रहेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले कारवाही गरेको छैन । बर्षौं देखि त्यस्ता गैरकानुनी तथा अवैधानिक स्वास्थ्य संस्थाहरु जनकपुरमा संचालनमा रहेका छन् । मानवको जनस्वास्थ्यसँग खेलवाड गर्दै आएका ती स्वास्थ्य संस्थाहरुलाई कारवाही गरी सिज नगरेको कारण नै आज यस्तो अवस्था आएको छ कि जनकपुरका ९० प्रतिशत भन्दा वढी स्वास्थ्य संस्थाहरु अवैधानिक पाईएको छ । यसरी कारवाही नगरिँदा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देव र दर्ता तथा अनुगमन गर्ने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले ती अवैधानिक स्वास्थ्य संस्था संचालकहरुबाट मोटो रकम मासिक कमिशन खाने गरेको हो कि भन्ने आशंका पनि स्थानीयवासीहरुले गर्न थालेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको अभिलेख अनुसार जिल्लामा १० वटा स्वास्थ्य क्लिनिक, १० वटा पोलिक्लिनिक, ५ वटा डेन्टल क्लिनिक, ३ वटा अल्टूासाउण्ड तथा इमेजिङ सेन्टर र १० वटा स्वास्थ्य क्लिनिक मात्र दर्ता भएको पाइन्छ । जब कि जनकपुरमा त्यस्ता स्वास्थ्य संस्थाहरु दिन प्रति दिन खुलिरहेका छन् । जनकपुर सिटी हस्पिटल, जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर, राम जानकी अस्पताल, जनकपुर अर्थोपेडिक अस्पताल, मिथिलाञ्चल सिटी अस्पताल, केयर मेडिकल सेन्टर प्रा.लि., गोदावरी मोर्डन हस्पिटल, धनुषा हस्पिटल र बछार प्रसुति केन्द्र गरी कुल १० वटा अस्पताल तथा नर्सिङ होम मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाबाट दर्ता गराई अनुमति लिई व्यवसाय संचालन गरेको पाइन्छ । तर, जनकपुरमा डा.किरण यादवले संचालन गरेको समर हस्पिटल, डा.प्रिया रंजनले संचालन गरेको आर्या एण्ड कियोर अस्पताल, डा.राघवेन्द्र झाले संचालन गरेको ओम दिघायू हस्पिटल, डा.निलम चौधरीले संचालन गरेको आस्था हस्पिटल, डा.नागेन्द्र प्रसाद यादवले संचालन गरेको आराध्या हस्पिटल लगायत दर्जनौं निजी क्षेत्रका अस्पताल तथा नर्सिङ होमहरु विना दर्ता अवैधानिक तरिकाले संचालनमा रहेको पाइन्छ ।
त्यसैगरी डेन्टल क्लिनिक तर्फ डा.अजय साहले संचालन गरेको अप्पन डेन्टल चेम्बर्स, डा.संजन ठाकुरले संचालन गरेको द डेन्टल होम, डा.विजय प्रसाद साहले संचालन गरेको सिता डेन्टल क्लिनिक, डा.उमेश कुमार यादवले संचालन गरेको धनुषा डेन्टल क्लिनिक र डा. सोनम गुप्ताले संचालन गरेको साँई अर्थोडेन्टिक एण्ड कस्मेटिक डेन्टल क्लिनिक गरी मात्र कुल ५ वटा डेन्टल क्लिनिकहरु दर्ता भई संचालन भएको पाइएको छ । यसका अतिरिक्त करिब ४ दर्जन भन्दा वढी डेन्टल क्लिनिकहरु तथा अस्पतालहरु अवैधानिक रहेका छन् ।
राम जानकी डेन्टल हस्पिटल, नेपाल डेन्टल हस्पिटल, नेपाल एण्ड फिजियो डेन्टल अस्पताल, माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर जस्ता डेन्टल अस्पतालहरु दर्ता नै नगरी संचालित छन् । त्यस्तै डेन्टल तर्फ मात्रै थुप्रै चिकित्सकहरुले संचालन गरेको स्वास्थ्य क्लिनिक पनि अवैधानिक रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत सबैभन्दा सिनियर चिकित्सक डा. शशी ठाकुर, नेपाल डेन्टल एसोशिएशन धनुषाका अध्यक्ष डा.रविन्द्र कुमार पाण्डे, डा.कुन्दन मिश्रा, जानकी डेन्टलका संचालक डा. अनिता राय, जनकपुर डेन्टलका संचालक डा. कपिलदेव यादव, राजदेवी डेन्टल क्लिनिकका संचालक डा.राजिव शर्मा, पोलियन डेन्टलका संचालक डा.मुकेश पाण्डे, नर्सिङ डेन्टल केयरका संचालक डा. ऋषिकेश प्रताप साह, संजिवनी डेन्टलका संचालक डा.संजय गुप्ता लगायतले संचालन गरेको डेन्टल क्लिनिकहरु पनि जनस्वास्थ्यमा दर्ता नै नगराई  गैरकानुनी ढंगले संचालनमा रहेको पाइन्छ । त्यसैगरी लक्की डेन्टल, जनसेवा डेन्टल क्लिनिक, प्रियासी डेन्टल क्लिनिक, नेपाल डेन्टल हाउस, मिथिला डेन्टल केयर सेन्टर, बजरंग डेन्टल, सुयोग पोलिक्लिनिक एण्ड डेन्टल क्लिनिक, डा.विरेन्द्र कुमार साहद्वारा संचालित विरेन्द्र डेन्टल केयर सेन्टर, डा.संजिव कुमार यादवद्वारा संचालित अन्नपुर्ण डेन्टल क्लिनिक, डा. निमु यादवद्वारा संचालित मुस्कान डेन्टल क्लिनिक पनि अवैधानिक छ । जिल्लाको ग्रामिण क्षेत्र अन्तरगत तारापट्टीमा सोनाक्षी डेन्टल, विरेन्द्र बजारमा स्माईल डेन्टल, ढल्केवरमा ढल्केवर डेन्टल, महेन्द्र नगरमा क्षिरेश्वर डेन्टल, चिरायू डेन्टल, प्रभात डेन्टल गरी  ४ वटा डेन्टल क्लिनिक, सपहीमा श्रीराम डेन्टल, धनुषाधाममा दुईवटा डेन्टल क्लिनिकहरु दर्ता नगरी अवैधानिक रुपले संचालनमा रहेको छ । राजदेवी डेन्टल केयरका संचालक डा.शैलेन्द्र कुमार महतो अहिले नक्कली सर्टिफिकेट रहेको आरोपमा निलम्बित भएको पाइन्छ । त्यसैगरी स्रोतका अनुसार डेन्टल तर्फ डा.संजिव कुमार यादव, डा.दिपेन्द्र साह, डा.विरेन्द्र कुमार साहको एनएमसी नम्बर पनि रहेको छैन । स्रोतका अनुसार उनीहरु चिकित्सकका लागि आवश्यक प्रमाण पत्र नरहेको तथा डाक्टरको अध्ययन कोर्षको परीक्षा नै पास नभएकाले एनएमसी प्राप्त नगरेको भएपनि उनीहरु जनकपुरमा उपचार गरिरहेको पाइन्छ । डा. प्रविन मिश्रको डेन्टल क्लिनिक जनकपुरमा संचालित छ । तर, उनी काठमाण्डौमा मात्र उपचार गर्छन् । तै पनि उनको क्लिनिकमा डा.रामस्नेही साहले उपचार गरिरहेको बताइन्छ ।
पोलिक्लिनिक तर्फ हेर्ने हो भने जनकपुर १२ मा डा.रुद्रनारायण झाद्वारा संचालित संजिवनी मेडिकल एण्ड सेफ मदरहुड सेन्टर प्रा.लि., धनुषाधाम ३ मा निराजन कुमार यादवद्वारा संचालित राजाराम यादव मेमोरियल पोलिक्लिनिक प्रा.लि., क्षिरेश्वरनाथ ६ मा रघुनाथ साहद्वारा संचालित एएसआरबि हेल्थ केयर एण्ड डायगनेस्टिक सेन्टर प्रा.लि., विरेन्द्र बजार ४ मा डा.मुन्द्रिका पटेलद्वारा संचालित उत्तम पोलिक्लिनिक, जनकपुर ब्रम्हपुरीमा डा.महेश महासेठद्वारा संचालित नवजीवन हेल्थ केयर प्रा.लि., जनकपुर १० मा डा.पियूश कुमारद्वारा संचालित प्रिसा पोलिक्लिनिक, जनकपुर ८ मा रामकृपाल सिंहद्वारा संचालित राजदेवी पोलिक्लिनिक, जनकपुर ८ मा निता जयसवालद्वारा संचालित मिहिलाल सिटी स्कयान पोलिक्लिनिक, डा.जितेन्द्र कुमार यादवद्वारा लक्ष्मिनिया बजारमा संचालित देव पोलिक्लिनिक र जनकपुर रामानन्द चौकमा जयन्ती कुमारी साहद्वारा संचालित शिवगुरु प्राथमिक उपचार पोलिक्लिनिक गरी कुल १० वटा पोलिक्लिनिकहरु मात्र जिल्लामा दर्ता भएको पाइन्छ । यसका अतिरिक्त संचालित रहेका दर्जनौं पोलिक्लिनिकहरु अवैध छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार अहिले रहेको १० वटा पोलिक्लिनिकहरु मध्ये डा.रुद्रनारायण झाले पहिले १५ बेडको अस्पताल र डा.महेश महासेठले २५ बेडको अस्पताल दर्ता गराएका थिए । तर, ती अस्पतालहरुको भवन भुकम्प प्रतिरोधात्मक नरहेकाले अस्पतालबाट पोलिक्लिनिकमा झारिएको हो । मुख्य कुरा के हो भने अस्पतालमा बेड सिट, बेड संख्या आदि तय गरी विरामीलाई भर्ना गरी चौविसै घण्टा उपचार प्रदान गरिन्छ । तर,पोलिक्लिनिकहरुमा एक ठाउँबाट ओपिडी सेवा, ल्याव सेवा, एक्स रे सेवा, अल्टूासाउन्ड, इन्डोस्कोपी, खोप सेवा, परिवार नियोजन सेवा, प्रसुति सेवा लगायतका सेवाहरु मध्ये कम्तिमा ५ वटा सेवाहरु प्रदान गरिनुपर्ने हुन्छ । र, पोलिक्लिनिकमा विरामीलाई भर्ना गरी उपचार गराउन पाइन्न । तर, जनकपुरमा संचालित कतिपय पोलिक्लिनिकमा मापदण्ड विपरित विरामीहरुलाई भर्ना  गरी उपचार समेत गर्ने गरिएको छ । त्यसको अनुगमन समेत हुन सकेको छैन ।
स्वास्थ्य क्लिनिक तर्फ हेर्ने हो भने रामानन्द चौकमा शम्भु प्रसाद यादवद्वारा संचालित शान हेल्थ केयर, अस्पताल रोडमा डा. जामुन प्रसाद सिंहद्वारा संचालित संकट मोचन बाल क्लिनिक, अस्पताल रोडमै डा.राजेश कुमार साहद्वारा संचालित मिथिला हार्ड एण्ड डायनोस्टिक सेन्टर, ब्रम्हपुरीमा डा. रामकिशोर साहद्वारा संचालित पार्वती हार्ड सेन्टर, जनकपुर २ डा.कल्पना बछारद्वारा संचालित बछार प्रसुति सेवा केन्द्र, अस्पताल रोडमा डा. अरुण कुमार गुप्ताद्वारा संचालित अमृत क्लिनिक, डा.सुरेन्द्र कुमार सिंहद्वारा संचालित काव्य क्लिनिक, डा.दिपक गुप्ताद्वारा संचालित सिता बाल क्लिनिक, डा.रामविनय चौधरीद्वारा संचालित आरबि अर्थोक्लिनिक र डा. अनिल कुमार ठाकुरद्वारा संचालित अर्थोपेडिक तथा टूमा सेन्टर मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता भएको पाइन्छ ।
नेपाल चिकित्सक संघ धनुषामा मात्रै डेढसय भन्दा वढी चिकित्सकहरु सदस्य छन् । त्यसैगरी नेपाल डेन्टल संघ धनुषामा २३ जना भन्दा बढी चिकित्सकहरु सदस्य छन् । यसरी हेर्ने हो भने प्रत्येक बर्ष २० देखि २५ जनाको संख्यामा जनकपुरमा नब चिकित्सकहरुको प्रवेश हुने गरेको छ । समग्रमा भन्ने हो भने करिब ३ सयको हाराहारीमा जनकपुरमा चिकित्सकहरुले स्वास्थ्य क्लिनिक संचालन गरेका छन् । तर, ती सबै स्वास्थ्य क्लिनिकहरु दर्ता नै नगरी संचालित छन् ।
त्यसैगरी जनकपुरको अस्पताल रोडमा डा.जितेन्द्र कुमार मण्डलद्वारा संचालित लक्की अल्टूासाउन्ड एण्ड इमेजिङ सेन्टर, डा.महेश महासेठद्वारा संचालित ग्यास्टूो केयर एण्ड इन्डोस्कोपी सेन्टर र कृष्ण कुमार महतोद्वारा संचालित डायमण्ड अल्टूासाउन्ड इमेजिङ सेन्टर मात्र दर्ता भएको छ । यसका अतिरिक्त जनकपुरमा संचालित अल्टूासाउन्ड तथा इमेजिङ सेन्टरहरु विना दर्ता कै संचालित छन् । कतिपय अल्टूा साउन्डका संचालकहरुले मोटो रकम लिएर प्रसुतिहरुको गर्भमा रहेको भ्रुणको पहिचान गरेर बताउने गरेका छन् । जो कि कानुन विपरित हो ।
जनकपुरमा ३ सय भन्दा वढी प्याथोलोजीहरु संचालित छन् । चिकित्सकहरुले लेखेको जाँच परीक्षणका लागि ती ल्यावहरु संचालित छन् । तर, विडम्बना कस्तो छ भने जनकपुरको अस्पताल रोडमा सुनिल कुमार मण्डलद्वारा संचालित सुनैना प्याथोलोजी मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरिएको छ । अरु सबै प्याथोलोजीहरु अवैधानिक हुन । चिकित्सकहरुले पनि मोटो रकम कमिशन लिने गरेका छन् । एक्स रे जाँचका लागि जनकपुरमा थुप्रै एक्स रे सेन्टरहरु संचालित रहेपनि एउटा पनि दर्ता गरिएको छैन ।
विना दर्ताको औषधि पसल
नेपाल औषधि व्यवस्था विभागको तथ्याङक अनुसार हाल उक्त विभागमा दर्ता भई नियमनको दायरामा लगभग १७ हजार औषधि दर्तामा रहेको, २१ हजार औषधि विक्रेता तथा वितरक, १२४ स्वदेशी औषधि उत्पादक तथा ३ सय विदेशी उत्पादक स्वीकृत रहेका छन् । जनकपुर अञ्चल औषधि व्यवसायी संघ धनुषाका अनुसार यस अञ्चल अन्तरगत करिब ४ सय ३७ औषधि विक्रेताहरु दर्ता गरी संचालित छन् । जसमध्ये ७० वटा विक्रेताहरु थोक विक्रेताको रुपमा रहेको तथा बाँकी खुद्रा विक्रेताको रुपमा रहेका छन् । नेपाल औषधि व्यवसायी संघ धनुषाका पुर्व अध्यक्ष तथा बर्तमान केन्द्रिय सदस्य गणेश प्रसाद साहका अनुसार यस अञ्चल भरी करिब २ हजार औषधि विक्रेताहरु छन् । ती विक्रेताहरु दर्ता नै नगरिकन वा अनुमति नै नलिईकन संचालित छन् । त्यसमा पनि जनकपुरमा के पाइएको छन् भने डि फामेर्सी बि फार्मेसी गरेका विक्रेताहरुले आफ्नो नाउँमा औषधि विक्रेताको अनुमति लिए पनि त्यो अनुमति पत्रलाई भाडामा लगाउने गरेका छन् । यति मात्र होइन, जनकपुरमा संचालित कतिपय औषधि पसलहरुमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका औषधिहरु, प्रतिबन्ध लगाइएका औषधिहरु, औषधि उत्पादकहरुद्वारा नमुनाका लागि वितरण गरिएका औषधिहरु पनि गैरकानुनी तरिकाले बेच्ने गरेका छन् । औषधि पसलहरुको बेथिती कतिसम्मको छ भने जुन व्यक्तिले अनुमति पाए ती व्यक्ति मरिसकेको भएपनि तीनको नाममा तिनका पारिवारिक सदस्यहरुले पसल चलाईरहेका छन् । प्रशिक्षण प्राप्त गर्नेले मात्र वा अनुमति प्राप्त गरेको व्यक्तिले मात्र औषधि बेच्नुपर्ने हो । तर, तिनका श्रीमति, छोरा, छोरी वा अन्य पारिवारिक सदस्यहरुले औषधि पसलमा औषधि बेचिरहेको पाइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदा नन्द देवका अनुसार जनकपुरमा स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै अराजक छ । पटक पटक दर्ता गराई अनुमति लिई स्वास्थ्य संस्था संचालन गर्न भनेपनि गरिएको छैन । अब केही दिन भित्रै स्थानीय प्रशासनको मद्दत लिई  अनुगमनको संयूक्त टोली बनाई अनुगमन गरिनेछ र दर्ता वा अनुमति विना संचालनमा रहेको स्वास्थ्य संस्थाहरुलाई कारवाही गरिनेछ ।
स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
स्वास्थ्य मन्त्री गगन थापा जनकपुर भ्रमणमा आएको बेला विना दर्ता संचालित सबै खाले स्वास्थ्य संस्था माघ ३० भित्रमा दर्ता गरी अनुमति लिन निर्देशन दिएका छन् । त्यस भन्दा बाहेक विना दर्ता संचालित हुने त्यस्ता स्वास्थ्य संस्थाहरुलाई बन्द गरिने मन्त्री थापाले प्रष्ट रुपमा चेतावनी समेत दिएका छन् ।
सुशासन(व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका, २०७० को दफा ३ मा कसैले पनि यस निर्देशिका बमोजिम अनुमति नलिई स्वास्थ्य सेवा संचालन गर्न नपाइने व्यवस्था गरेको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयूर्वेद विभाग, राष्टिूय जनस्वास्थ्य प्रयोगशाला, क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरु धनकुटा, हेटौडा, पोखरा, सुर्खेत, डोटी र सबै जिल्लाका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरुलाई गरिएको परिपत्रमा कडा रुपमा निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई गैरकानुनी रुपमा स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएकोले यसका नियमन गर्ने शिलशिलामा ‘स्वास्थ्य संस्थाहरुले संचालन अनुमति लिए नलिएको सम्बन्धमा अनुगमन टोलीद्वारा स्थलगत रुपमा अनुगमन गर्ने कार्य गरिरहेको हुँदा यो आदेश जारी हुनुभन्दा अघिकै मितिमा निवेदन दर्ता भई प्रक्रियामा रहेका स्वास्थ्य संस्थाहरुका बाहेक अर्को आदेश वा निर्देशन जारी नहुँदासम्म अन्यनयाँ स्वास्थ्य संस्था दर्ताको लागि निवेदन नलिने र संचालन अनुमति पनि नदिने’ भन्ने नेपाल सरकार स्वास्थ्य मन्त्री स्तरको मिति ७ मंसिर २०७३ मा निर्णय भएकोले सबै मातहतका निकायबाट उल्लेखित निर्देशनको कडाई साथ पालना गर्न गराउन भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा क्लिनिकल अभ्यास रोक लगाउने सम्बन्धमा नेपाल मेडिकल परिषद, नेपाल नर्सिङ परिषद, नेपाल आयूर्वेद परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी परिषदलाई परिपत्र मार्फत निर्देशन गरिएको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा बाट जारी गरिएको उक्त परिपत्रमा के भनिएको छ भने यस मन्त्रालयले गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएको छ । त्यस्ता अनुमति नलिई वा अनुमति नविकरण नभएका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेतले क्लिनिकल अभ्यास गर्ने गरेको पाइएकोेले त्यस्ता गैरकानुनी रुपमा संचालन गरिएका स्वास्थ्य संस्थाहरुमा त्यस परिषद अन्तरगत दर्ता भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्लिनिकल अभ्यास नगर्न र नगराउन स्वास्थ्य मन्त्री स्तरको ७ मंसिरमा निर्णय भएको छ ।
निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम आदि स्थापना तथा संचालन नीति मापदण्ड एवम पुर्वाधारका निर्देशिका बमोजिम पुर्वाधारहरु पुरा गरेर जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गराई अनुमति प्राप्त गरी संचालन गर्नुपर्ने कानुनी प्रावधान छ ।
यसका अतिरिक्त उक्त संस्थाको काम गर्ने आयकर कट्टी गर्न योग्य जनशक्तिको आय कर स्वयम त्यस संस्थाले कट्टा गरी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गरिनुपर्ने, प्रत्येक महिनाको मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाउनुपर्ने, स्वास्थ्य मन्त्रालयको नीति, नियम तथा निर्धारित मापदण्ड अनुसार ती सेवा संचालन नभएको पाइएमा जुनसुकै समयमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले स्वीकृति रद्द गर्न सक्ने कानुनी प्रावधान छ ।

२०७३ पौष १० गते आईतबार

स्वास्थ्य क्षेत्रको ‘बजार फस्टाउँदै, राजश्व छल्दै’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा उद्योग धन्दा तथा कलकारखानाहरु फस्टाउन नसकेपनि दिन प्रति दिन स्वास्थ्य क्षेत्रको बजार तथा कारोबार फस्टाउँदै गएको छ । जनकपुरमा सरकारी अस्पतालको रुपमा अञ्चल अस्पताल रहेपनि नीजि क्षेत्रमा अस्पताल तथा क्लिनिकहरुको संख्या वढ्दै गएको पाइन्छ । अहिले खास गरी अञ्चल अस्पताल रोडमा ठुला ठुला भवनहरु बन्नु र ती भवनहरुमा नीजि अस्पताल तथा नर्सिङ होमहरु संचालन हुनुले पनि जनकपुरमा स्वास्थ्य क्षेत्रको व्यापार दिन दुगुन्ना रात चौगुन्नाको दरले वढ्दै गएको पाइन्छ । खास गरेर धनुषाको रमदैयामा जानकी मेडिकल कलेजको स्थापना भएपछि  नीजि क्षेत्रका चिकित्सकहरु उक्त कलेजमा एशोसिएट प्रोफेसरको रुपमा कार्य गर्न थालेपछि जनकपुरमा चिकित्सकहरुको संख्यामा समेत वृद्धि हुँदै गएको पाइन्छ । तराई क्षेत्रको केन्द्र विन्दुको रुपमा रहेको जनकपुर आसपासका जिल्लाहरु तथा छिमेकी मुलुक भारत विहारको समेत विरामीहरु उपचार गराउन जनकपुर आउने भएपछि चिकित्सकहरुको ध्यान जनकपुर तर्फ केन्द्रित भएको देखिन्छ । जानकी मेडिकल कलेजबाट उत्पादित जनशक्ति र देश तथा विदेशबाट पढेर आउने चिकित्सकहरुको लागि जनकपुर राम्रो आम्दानीको तथा करियर स्थापित गराउने स्थलको रुपमा समेत देखिएपछि अहिले घर बेटिहरु पुरानो भवनलाई भत्काएर ठुला ठुला भवन बनाएर नर्सिंङ होमहरुलाई बहालमा दिन थालेका छन् । जनकपुरको अरगज्जा सागर देखि रामानन्द चौकसम्म, ऐतिहासिक रंगभुमि बारहविघा मैदानको पहिलो गेट देखि पेठिया बजार जाने महाराज सागरको डिलसम्म ठुला ठुला भवनहरु निर्माण गरि स्वास्थ्य बजारलाई बहालमा दिइएको पाइन्छ ।     ती घर बेटीहरुले औषधि पसल, प्याथोलोजी वा क्लिनिकहरुलाई प्रति सटर ४० हजार देखि ६० हजार रुपैयाँ सम्म मासिक लिनुका साथै ५ लाख देखि १० लाख रुपैयाँ सम्म धरौटी लिने गरेको छ । तर, ती घर बेटीहरुले पनि घर बहाल कर तिर्दैनन् । यति मात्र होइन अस्पताल रोडमै पहिले देखि रहेको पुरानो भवनलाई भत्काएर ठुला भवन निर्माण गरिरहेको अवस्थाले पनि यहाँ स्वास्थ्य क्षेत्र सबैभन्दा ठुलो उद्योगको रुपमा देखिँदैछ । हुन त जनकपुर प्रवेश गर्ने सबै नाकाहरुको प्रवेश मार्गमै पनि नर्सिङ होमहरु संचालित छन् । जटही नाकाबाट प्रवेश गर्दा जनकपुरको मुखमै सञ्जिवनी अस्पताल, पुर्व पश्चिम राजमार्गबाट जनकपुर प्रवेश गर्ने बाटोमा रमदैयामै जानकी मेडिकल कलेज र उत्तरबाट आउने विरामीहरुका लागि सिटी अस्पताल, नवजिवन अस्पताल त्यसैगरी पुर्वी तथा उत्तरी बेल्टबाट आउने मार्गमा धनुषा अस्पताल, सिटी होस्पिटल, केयर नर्सिङ होमहरु संचालित छन् । जनकपुरमा अनगिन्ती प्याथोलोजी छन् । डिजिटल देखि जेनरल एक्सरेसम्म, अल्टूासाउण्ड सहितका चेक जाँच गर्ने सेन्टरहरु पनि उल्लेख्य संख्यामा पाइन्छ । यसको अर्थ स्वास्थ्य बजार सबैभन्दा वढी मालामाल हुने बजारको रुपमा देखिन्छ ।
जनकपुरका चिकित्सकहरु सुरुमा जनकपुर अञ्चल अस्पतालमा काम गरि आफ्नो पहिचान बनाउने र त्यसपछि बाहिर नीजि क्लिनिकहरुमा काम गरेर लाखौं करोडौं रुपैयाँ आर्जन गर्ने र त्यसपछि आफ्नै लगानीमा नर्सिङ होमहरु खोल्ने प्रवृति वढेको देखिन्छ । तर, लाखौं करोडौं रुपैयाँ कमाउने जनकपुरका अधिकांश चिकित्सकहरु राजश्व चोरी गर्ने गरेका छन् । जनकपुरमा ३ सय भन्दा वढी चिकित्सकहरु नीजि क्लिनिक, नर्सिङ होम तथा अस्पतालहरुमा कार्यरत रहेको भएपनि केही चिकित्सकहरु मात्र करको दायरामा आउन सकेका छन् । आन्तरिक राजश्व कार्यालय जनकपुरले उपलब्ध गराएको स्वास्थ्य सेवा प्रदान गर्ने कर दाताहरुको विवरण अनुसार करिब ७० प्रतिशत भन्दा वढी चिकित्सकहरु करको दायरामा नआएको देखिन्छ ।
कर दायरामा आएपनि कर चोरी
आन्तरिक राजश्व कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यही चिकित्सकहरुले प्यानमा दर्ता गराएपनि विवरण सहि नपठाएर करको चोरी गर्ने गरेको पाइन्छ । डा.विजय कुमार सिंह, डा.शशि कुमार ठाकुर, डा.बलराम मिश्र, डा.दिपक कुमार गुप्ता, डा.रामपरिक्षण यादव, डा.रामकेवल साह, डा.विनय कुमार चौधरी, डा.रुद्रनारायण झा, डा.लक्ष्मीश्वर प्रसाद, डा.जयकुमार मण्डल, डा.मिथिला शर्मा, डा.श्यामसुन्दर यादव, डा. गौराङ्ग मिश्र, डा.राजेश चन्द्र यादव, डा.दिपेन्द्र कुमार साह, डा.अमरेन्द्र झा, डा.अन्जु ठाकुर झा, डा.दामोदर प्रधान, डा.निलम चौधरी, डा.कुलदीप पंडित, डा.आनन्द कुमार मिश्र आदि चिकित्सकहरुको प्यानमा दर्ता भएको पाइन्छ । त्यसैगरी अभिय कुमार मुखर्जी, रामनरेश पण्डित, डा.नागेन्द्र प्रसाद यादव, डा.सिद्धीदात्री झा, डा.रामबाबु रमन जयशवाल, डा.राजकुमार महत्तो, डा. मुकेश प्रसाद चौरसिया, डा. ऐलेना लेबोनिदोभना मण्डल, डा.सुरेन्द्र कुमार यादव, डा.लखनलाल साह, डा.अंकुर साह, डा.राघवेन्द्र झा, डा.कल्पना बछाड, डा.रतिश चन्द्र झा, डा.उदय कान्त झा, डा.दिपक गुप्ता आदिको नाम प्यानमा दर्ता भएको देखिन्छ । एक जना चिकित्सकका अनुसार जनकपुरमा एक दिनमा मात्रै १ लाख रुपैयाँ भन्दा वढी आम्दानी गर्ने चिकित्सकहरुको संख्या २ दर्जन जति छ । तर, तिनीहरुले उक्त आम्दानी सरह कर तिरिरहेका छैनन् । एउटा चिकित्सकको जनकपुरमा मात्रै ४÷५ ठाउँमा क्लिनिक हुन्छ । चिकित्सकले प्रत्येक क्लिनिकबाट प्यासेन्ट जाँच गरेबापत शुल्क असुली गर्छन् । यसका अतिरिक्त चिकित्सकहरुले एउटा जाँचबाट ६० प्रतिशत कमिशन लिने गर्छन् । प्याथोलोजि, एक्सरे जाँच र अल्टूासाउण्ड जाँचबाट मोटो रकम कमिशन बापत पाईरहेका हुन्छन् । त्यसैगरी उक्त चिकित्सक सरकारी अस्पताल, विभिन्न नीजि नर्सिङ्ग होम तथा अस्पतालहरुमा पनि काम गर्छन् । यदि चिकित्सक स्त्री तथा प्रसुति रोग विशेषज्ञ हो भने दिनमा २ देखि ३ वटा अप्रेशन गरेर पनि मोटो रकम आर्जन गर्छन । यसका अतिरिक्त औषधि विक्रेताहरुले चिकित्सकहरुलाई औषधि लेखिदिने नाउँमा समेत कमिशन दिने गरेको हुन्छ ।
स्वास्थ्य संस्थाहरुले विरामीलाई दिएको सेवाको ५ प्रतिशत रकम सेवा करबाट असुली गर्ने जिम्मेवारी र प्रत्येक चौमासिक विवरण बुझाउने जिम्मेवारी पनि ती स्वास्थ्य संस्थाको नै हुन्छ । प्रत्येक चौमासिकको म्याद भित्र कर दाखिला नगरेमा ती स्वास्थ्य संस्थाहरुले १५ प्रतिशत ब्याज तिर्नुपर्ने र विवरण नबुझाएमा प्रत्येक विवरणको १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।
कुनै पनि व्यक्तिले जुनसुकै कारोबार गर्दा पनि प्यान लिनुपर्ने हुन्छ । स्थायी लेखा नम्बर (प्यान) लिने स्वास्थ्य संस्थाको संख्या बढे पनि कर तिर्नेको संख्या भने बढेको छैन । सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाहेक सबैले अनिवार्य प्यान नम्बर लिनुपर्ने र प्यान लिएपछि स्वतः आयकरमा समाहित हुने भएकोले त्यसकै आधारमा कर तिरे र नतिरेको विवरण संकलन गरिन्छ ।
करको दरमै समस्या
आन्तरिक राजस्व विभागले व्यक्ति, संस्था वा निकायहरूले प्रदान गरेको स्वास्थ्य सेवामा जारी बिजक मूल्यको पाँच प्रतिशत स्वास्थ्य सेवा कर उठाउँछ । यसबाहेक अन्य व्यवसायमा झैं आयकर, व्यवसाय अनुसार अन्तःशुल्क, भ्याट, भन्सार शुल्क समेत तिर्नुपर्छ । म्यादभित्र कर दाखिला नगरे वार्षिक १५ प्रतिशत ब्याज र विवरण दाखिला नगरे प्रति विवरण रु.१ हजार जरिवाना तिर्नुपर्छ । विभागले स्वास्थ्य कर र सेवा शुल्क नबुझाउने संस्था बन्द गराउन सक्छ ।
शुल्क असुली गरेपनि प्यासेन्टलाई विल दिँइदैन
सरकारले चिकित्सकहरूले लिन पाउने अधिकतम परामर्श शुल्कसमेत तोकेको छ । गत असोज १ देखि लागू भएको उक्त मापदण्ड उल्लंघन गर्ने डाक्टरलाई कालो बजारी ऐन अन्तर्गत मुद्दा चल्न सक्छ, जसअनुसार तीन वर्ष जेल र ५० हजार जरिवानासमेत हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको उक्त मापदण्ड अनुसार उनीहरूले अधिकतम परामर्श शुल्क ४ सय ७५ रुपैयाँ लिन पाउनेछन् ।
सुशासन ऐन २०६३ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका अन्तर्गतको अनुगमन समितिको सिफारिसमा चिकित्सकहरूको परामर्श शुल्क निर्धारण गरेको हो । सरकारले कुनै सेवा र वस्तुमा अधिकतम भाउ तोकेको छ भने त्यो भन्दा बढी लिनेलाई कालोबजारी ऐन अनुसार कारबाही हुन्छ । उक्त कारबाही अन्तर्गत एक देखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सरकारद्वारा निर्धारित शुल्कभन्दा बढी लिने डाक्टरलाई कानुनी कारबाहीको दायरामा ल्याउन पीडित उपभोक्ताले प्रहरीमा उजुरी गर्नुपर्ने छ । निर्देशिका अनुसार यससम्बन्धी मुद्दा हेर्ने अधिकार स्थानीय प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । सबै अस्पताल तथा क्लिनिकहरूले सबैले देख्ने गरी सरकारद्वारा निर्धारित सेवा शुल्कसम्बन्धी विवरण टाँस्नुपर्नेछ । सरकारले नै तोकेको करबाहेक त्यसमा अन्य कुनै आर्थिक भार थप्न पाइने छैन । सेवा शुल्क लिन पाइने छैन । तर, जनकपुरमा कुनै पनि चिकित्सकहरुले हालसम्म पनि आफ्नो शुल्कको सूचि टाँसेको पाइँदैन । सामान्य एमबीबीएस वा सो सरहका डाक्टरले सेवा सुरु गरेदेखि पाँच वर्षसम्म दुई सय ५० रुपैयाँमात्र शुल्क लिन पाउनेछन् । पाँच वर्ष वा सोभन्दा बढी अनुभवी एमबीबीएस डाक्टरले तीन सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।
पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका चिकित्सकहरूले पाँच वर्षसम्म तीन सय ५० र त्यसभन्दा बढी अनुभवीहरूले ४ सय रुपैयाँसम्म सेवा शुल्क लिन सक्छन् । एमडी र एमएस गरेका चिकित्सकहरूले पाँच वर्षसम्म सेवा शुल्क चार सय ५० लिन सक्छन् भने पाँच वर्ष नाघिसकेका विशेषज्ञ चिकित्सकहरूले ४ सय ७५ भन्दा बढी शुल्क लिन पाउने छैनन् । मापदण्डअनुसार डाक्टरहरूले फलोअपमा आउँदा सात दिनसम्म र पहिलो पटक फलोअप गर्दा निःशुल्क सेवा दिनुपर्नेछ । हाल डाक्टरसँग जचाउँदा सात दिनको औषधि दिएर आठौं दिन पुनः फलोअपमा आउन भन्ने गरिन्छ । यसअघिको नियम अनुसार एक सातासम्म फलोअपमा आउँदा परामर्श शुल्क नलाग्ने व्यवस्था भएकाले आठौं दिन डाक्टरले बोलाउने प्रवृत्ति थियो । तर अब एक सातासम्म वा पहिलोपटक फलोअपमा आउँदा चिकित्सकले शुल्क लिन पाउने छैनन् । उक्त शुल्क निर्धारण भएपनि जनकपुरका कुनै पनि चिकित्सकहरुले विरामीहरुलाई बिल दिँदैनन् । राज्यलाई तिर्नुपर्ने कर छली गर्नका लागि नाम चलेका अधिकांश चिकित्सकले यस्तै शैली अपनाइरहेका छन् । सोही कारण जनकपुरमा  खुलेका निजी क्लिनिक, नर्सिङ होम तथा फार्मेसीहरूमा बिरामी जाँच गर्ने चिकित्सकहरूले बिरामीसँग महँगो शुल्क लिने तर बिल भने नदिने गरेका हुन् । राजस्व कार्यालयहरूले अनुगमन तथा नियमन नै नगरेका कारण पनि निजी क्लिनिक तथा नर्सिङ होमहरूले बिल नै नदिई बिरामीसँग शुल्क लिइरहेका छन् ।
सामान्यतयाः चिकित्सकहरूले बिरामी जाँचका क्रममा लिएको शुल्कको कम्तीमा १ दशमलव ५ प्रतिशत सेवा शुल्क सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । तर, निजी क्लिनिक, औषधि पसल तथा मेडिकलहरूमा केही नाम चलेका चिकित्सकहरूले विलबिना नै बिरामीसँग रकम असुल गरिरहेका हुन् । आन्तरिक राजस्व विभागका अनुसार स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा शुल्कबापत ५ प्रतिशत, आयकर २५ प्रतिशत र भ्याट १३ प्रतिशत बुझाउनुपर्छ । सामान्यतः २० लाखभन्दा बढी कारोबार गर्ने संस्था तथा फर्म भ्याटमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ । कतिपय चिकित्सकहरूले टीडीएस बुझाउने गरेको भए तापनि प्राइभेट क्लिनिक तथा अस्पतालहरूले रेकर्ड राख्ने नगरेका कारण राजस्व असुलीमा समस्या परेको हो । कतिपय क्लिनिक तथा प्राइभेट अस्पताल सञ्चालकहरूले डाक्टरबाट लिने गरेको स्वास्थ्य सेवाबापतको शुल्कसमेत दाखिला नगर्ने गरेको राजस्व अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ ।



२०७३ पौष १० गते आईतबार

भवन निर्माण तथा विकासका लागि अर्बौंको बजेट प्रक्रिया सुस्त गतिमा अगाडी बढ्दा बजेट फ्रिज हुने डर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले चालु आर्थिक बर्षमा विकास निर्माणका लागि २ अर्ब ४ करोड ४२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएका छन् । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत भवन निर्माण, सार्वजनिक निर्माणका लागि २ करोड ८७ लाख ६९ हजार ४ सय, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणका लागि ६३ लाख ५२ हजार, आवास व्यवस्था कार्यक्रम अन्तरगत १६ करोड ९२ लाख ८९ हजार ९ सय ६०, सघन सहरी विकास कार्यक्रम अन्तरगत १ अर्ब ६१ करोड ५१ लाख ८५ हजार, भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्तरगत  १ करोड ६३ लाख ३५ हजार, नमुना एकिकृत बस्ती विकास कार्यक्रम (तराई(मधेस(पहाड(हिमाल) अन्तरगत सार्वजनिक निर्माणका लागि ५ करोड ५९ लाख ३५ हजार, एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १३ करोड २७ लाख ५० हजार, अयूर्वेद सेवा कार्यक्रम अन्तरगत भवन निर्माणका लागि २९ लाख ५० हजार, पुनर्निमाण तथा पुनस्र्थापन कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १ करोड ६६ लाख ८१ हजार ५ सय गरी कुल २ अर्ब ४ करोड ८२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएको छ । डिभिजन कार्यालय धनुषाले उक्त रकम धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा खर्च गर्नेछन् ।

विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना
विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत जिल्लामा सामुदायिक भवन निर्माण, मन्दिर निर्माण, मन्दिर परिसर सुधार, सडक स्तरोन्नति, पुस्तकालय निर्माण, पिसिसी सडक र नाला निर्माण, समशान घाट निर्माण, महजिद निर्माण लगायतका कार्यक्रमहरु रहेको छ । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत धनुषाको क्षिरेश्वर नगरपालिका वडा नं. १ स्थित सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका वडा नं. ४ कुमरौलमा सामुदायिक भवन निर्माण, सुगा मधुकरही ५ मा सामुदायिक भवन निर्माण, तुल्सीयाही निकास वडा नं. ८ मा संगम सामुदायिक भवन निर्माण, दुहवी ६ मा क्रियापुत्री भवन निर्माण, क्षिरेश्वर नगरपालिका १० मा औरहा सामुदायिक भवन निर्माण, मंगलपुर ३ मा सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका  ६ स्थित कबिर कुट्टी भवन निर्माण, लक्ष्मिनिया बजारमा कबिर कुट्टी भवन निर्माण, अन्दुपट्टी ९ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ मुजेलिया पश्चिम टोलमा सामुदायिक भवन निर्माण, तुल्सीयाही जब्दी ६ मा सामुदायिक भवन निर्माण, धनौजी गाविस ६ मा सामुदायिक भवन निर्माण, लक्ष्मीनिया बजारमा सहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण, बनिनियामा सामुदायिक भवन निर्माण, सिनुरजोडा ६मा पुस्तकालय भवन निर्माण, मिथिलानगरपालिका ढल्केवर ६ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ स्थित ओम शान्ति मिथिला बाटिका भवन निर्माण, दुहवी १ स्थित सहिद सरोज प्रसाद कोइराला अतिथिगृह निर्माण, अन्दुपट्टी ८ कटरैत बडकाटोलमा सामुदायिक भवन निर्माण, बहेडाबेला ६ मा सामुदायिक भवन निर्माण, मिथिलेश्वर निकास गाविस ललियाटोल स्थित सरस्वती यूवा क्लवको अधुरो भवन निर्माण, जनकपुर ९ स्थित हनुमान मन्दिर परिसर निर्माण सुधार कार्य, सपही ८ स्थित विपी सामाजिक सेवा केन्द्रको भवनमा पुस्तकालय तथा सभा हलको तल्ला थप गर्ने कार्य, जनकपुर उपमहानगरपालिका स्थित महाराज सागर पगलाबाबा धर्मशाला निर्माण, तुल्सीयाही निकास ९ स्थित प्राचिन दुर्गा मन्दिर र ठाकुर पोखरी परिसर मर्मत सुधार, क्षिरेश्वर नगरपालिका अवस्थित प्रहरी कार्यालयको सामुने देखि क्षिरेश्वर मावि चन्द्रपुर, रमदैया, सपही हुँदै निकाल गाउँसम्मको सडक स्तरोन्नति, गोपालपुर गाविसको प्रस्टोकी गाउँ देखि चौहर्वा गाउँ हुँदै ठेरा गाउँको पश्चिम छेउ हुँदै जमुनिया गाउँ हुँदै बेंगा गाउँसम्मको सडक स्तरोन्नति, सपही र अगिलेशवा गाउँहरुको बीच हुँदै गएको हाईवे बाट अगिलेशवा गाउँ हुँदै सिटीइभिटीद्वारा निर्माणाधिन पोलिटेक्निक इन्स्टिच्यूट हुँदै गजरिया गाउँ सम्मको सडक स्तरोन्नति, जनकपुर उपमहानगरपालिका १ रेल्वे लाईन शिवपथ रोड देखि पुलचौक सम्म पिसिसी र नाला निर्माण, मिथिला नगरपालिका वडा नं. ३ स्थित जम्काभेट पुस्तकालय निर्माण गर्ने योजना रहेको छ ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर स्थित डिहवार स्थान मन्दिर परिसर मर्मत सुधार, जनकपुर १० स्थित चित्रगुप्त सेवा समिति अन्तरगतको सभाहल निर्माण, शान्तिपुरमा धर्म मन्दिरमा धर्मशाला निर्माण, क्षिरेश्वर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, जनकपुर ९ डिहवार स्थान स्थित रामजानकी मन्दिर परिसरमा धर्मशाला निर्माण सुधार कार्य, जनकपुर७ स्थित दुधमती समशान घाट निर्माण, शान्तिपुर ९ स्थित दुर्गामन्दिर परिसर सुधार, मिथिलेश्वर निकास ६ स्थित ललियामा शिव मन्दिर परिसर मर्मत सुधार, मिथिलेश्वर निकास ४ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, मानसिंहपट्टी ७ स्थित रामजानकी मन्दिर परिसर मर्मत सुधार, बनिनिया २ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, जनकपुर २५ मा तारा स्वर्गद्वारी (मसान घाट)मा पुर्वाधार विकास, लगमा गाडागुठी ९ स्थित हनुमान मन्दिर परिसर मर्मत सुधार, सोही गाउँमा दुर्गा मन्दिर परिसर मर्मत सुधार, पौडेश्वर ५ स्थित पुणेश्वरनाथ मन्दिर मर्मत सुधार, जनकपुर १४ प्रगति नगरमा मन्दिर परिसरमा मर्मत सुधार, तुल्सीयाही १ स्थित महारानी थान परिसर मर्मत सुधार, नगराईन ४ स्थित राघोबाबा मन्दिर परिसर मर्मत सुधार, घोडघास २ स्थित भुईया बाबा मन्दिर परिसर मर्मत सुधार, नगराईन १ स्थित भैरव बाबा मन्दिर परिसर मर्मत सुधार, बहेडाबेला २ स्थित डिहवार थान परिसर मर्मत सुधार, तुल्सीयाही ५ स्थित महजिद परिसर मर्मत सुधार, जनकपुर १६ हर्दिनाथ मन्दिर देखि रेल्वे लाईन सम्म पिसिसी र नाला निर्माण, जटही ८ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, हंसपुर कठपुल्ला स्थित जमुनामाई मन्दिर परिसर मर्मत सुधार, जनकपुर १२ कुवामा भुतही पोखरी मर्मत सुधार, जनकपुर ८ बालमिकीसर पोखरीको उत्तरी डिलमा अधुरो पक्की घाट निर्माणको योजना रहेको छ ।

जनता आवास व्यवस्था कार्यक्रम
आवास व्यवस्था कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषा मार्फत जनता आवास कार्यक्रमका लागि प्रदेश नं. २ को धनुषा, महोत्तरी र सर्लाही गरी कुल ३ वटा जिल्लाका लागि प्रत्येक जिल्लामा १ हजार घर गरी कुल ३ हजार घर निर्माण गरिनेछ । यसका लागि केन्द्रबाट नेपाली कांग्रेसका नेता तथा सांसद आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा नेकपा एमालेका नेता तथा सांसद शत्रुधन महतो र सदभावनाका सांसद माधवी रानी साह सदस्य रहने गरी समिति समेत बनाइएको छ । ३ वटै जिल्लामा दलित, अपाङ्ग तथा पिछडिएको समुदायका लागि उक्त कार्यक्रम अन्तरगत घर निर्माण गरिनेछ । २ लाख ५० हजारको लागतमा दुई वटा कोठा, शौचालय सहितको पक्की घर निर्माण गरिनेछ । जग्गा नभएका व्यक्तिका लागि गाविसको सार्वजनिक जग्गामा पक्की घर निर्माण गरिनेछ ।

नेपालको संविधानको धारा ४२ उपधारा (२) मा आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्टिूय दलित आयोगको सूचिमा सूचिकृत भएका दलित, विपन्न मुसलमान तथा सालवसाली रुपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेटने लोपोन्मुख र अतिसिमान्कृत जाती तथा समुदायका विपन्न वर्गहरुलाई आवासको व्यवस्थाको लागि आर्थिक बर्ष २०६६÷०६७ देखि व्यवस्था गरिएको छ ।

जनता आवास अन्तरगत लक्षित वर्गको पहिचान गर्नका लागि विगत देखि सो स्थानमा स्थायी बसोवास गर्दै आएको प्रमाण, जग्गा धनी प्रमाण पुर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको भए सो सम्बन्धी कागजात वा आफु विगत देखि सो स्थानमा बसोवास गरि आएको भन्ने स्थानीय निकायको सिफारिस, विजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको कागज, लाभग्राही बसोवास गर्दै आएको घरको भौतिक अवस्था रहेको छ ।
त्यसैगरी लाभग्राहीको छनौटका लागि लाभग्राहीले हाल प्रयोग गरिरहेको घरको क्षेत्रफल, भुई, गारो तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा प्रदान गरिने बताएको छ । लाभग्राहीको छनौट जिल्ला समन्वय समितिले गर्ने तथा छनौट गर्दा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घर मुलीलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ । त्यसैगरी सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने छन् । उक्त कार्यक्रम साधारणतया १० लाभग्राही परिवार बसोवास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिने छ । तर, छरिएर बसोवास गरेको डोम, अतिसिमान्तकृत तथा लोपोन्मुख जातीको बस्तीको हकमा यो बन्देज लागु हुने छैन । 

कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लक्षित वर्गको घर यथा स्थानमा पुर्ननिर्माण हुनेगरी गरिनेछ । तर, प्राकृतिक प्रकोपको जोखिममा रहेको, बन, सिमाक्षेत्रमा परेको वा कुनै कारणबाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन गरिने छैन । लाभग्राहीले कुल अनुदानको १० प्रतिशत लागत सहभागिता बापत बेहोर्नुपर्ने हुन्छ । यसका अतिरिक्त आवास एकाई निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामग्रीहरु निर्माण समितिले र सो समिति गठन नभएकोमा लाभग्राही आफैले खरिद गर्नुपर्ने हुन्छ ।

कार्यालयको लापरवाही र फ्रिज हुने डर
मुख्य कुरा के हो भने ती सबै योजनाहरुका लागि केन्द्रबाट बजेट समेत स्वीकृत भईसकेको भएपनि डिभिजन सडक कार्यालय धनुषाको लापरवाहीका कारण हालसम्म टेन्डर समेत आह्वान गरिएको छैन । अन्तिममा आएर हतार हतारमा मात्र काम गर्ने र काम गर्दा गुणस्तरहीन हुने तथा बजेट समेत फ्रिज हुने अवस्था हुँदा हुँदै हालसम्म टेन्डर आह्वान नगरिनुले शंका उत्पन्न भएको छ ।

गत बर्ष २०७२÷०७३ मा मात्रै डिभिजन सडक कार्यालय धनुषाको १० करोड २६ लाख रुपैयाँ फ्रिज भएको थियो । विशेष भौतिक पुर्वाधार तर्फ भवन निर्माण सुधारको २ लाख २८ हजार ८ सय २२ र सार्वजनिक निर्माण सुधारको ७१ लाख ९० हजार ४६  गरी कुल ७४ लाख १८ हजार ८ सय ६८ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी पूजीगत सुधार तर्फको ४२ हजार ९ सय ९० रुपैयाँ, पुनः निर्माण अन्तरगत भवन निर्माणको ६१ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणको १ करोड ४९ लाख र सार्वजनिक निर्माणको ३७ लाख ४८ हजार १ सय ९६ गरी कुल १ करोड ८६ लाख ४८ हजार १ सय ९६ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी अन्य योजना अन्तरगत २८ लाख ६५ हजार ४ सय २८, आयूर्वेद सेवा अन्तरगत २८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ, अन्य योजना अन्तरगत ७२ लाख ६८ हजार ८ सय १९ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी सघन सहरी कार्यक्रम अन्तरगत सार्वजनिक निर्माणको लागि १ करोड १९ लाख २५ हजार ९ सय ८४ रुपैयाँ फ्रिज भएको थियो ।

विगतमा रकमहरु फ्रिज भएझैं यस बर्ष स्वीकृत भएको बजेट तथा योजनाहरु पनि समयमै सम्पन्न हुने वा फेरी पनि विकास निर्माणका लागि आएको रकम खर्च गर्न नसकि फ्रिज त हुने होइन भन्ने जिल्लाबासीमा चिन्ता वढेको छ ।


२०७३ पौष १० गते आईतबार

धुर्मुस सुन्तलीले बनाउने मुसहर बस्तीको कथा व्यथा

शैलेन्द्र महतो
जनकपुरधाम............
हास्य व्यंग्य कलाकार तथा  समाजसेवी धुर्मुस(सुन्तलीले बुधबार तेश्रो चरणमा एकीकृत नमुना बस्ती बनाउने घोषणा गरेका महोत्तरीको बर्दिबास मुसहर वस्तीको कथा व्यथा कम छैन । त्यस वस्तीमा रहेका पचास घरपरिवारका मुसहरहरु वर्षौदेखि अत्यन्त गरिबीमा दयनीय जीवन बाँचिरहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास, छोटो समयमै विकासको दिशाले कोल्टो फेरेको छ । तर त्यही बर्दिबास नगरपालिका २ भित्र पर्ने बर्दिबास बजारदेखि मात्र करिब दुई किलो मिटर दक्षिणको दुरीमा रहेका मुसहरहरुको दिनचर्या जस्ताको त्यस्तै छ । प्रायः गरी सबैको  माथिबाट खर र परालले छाएको सानो ओत लाग्ने झुपडी बाहेक धनसम्पतिको नाममा केहि पनि छैनन् । सानै ओत लाग्ने घरमा भान्छा , सुत उठ , गाईबस्तु बाँध्ने गोठ सबै थोक गरी जीवन व्यथित गर्ने बाध्यता छ । 
१०५ वर्षकी मरनी सदाको पीडा , एउटै सानो ओत लाग्ने छाप्रोमा बित्दै छ जिन्दगी
एक सय ५ वर्षकी एकल महिला मरनी सदा रुँदै यसरी भन्नुभयो “फोँटो मात्रै खिच्न आउछ । बुढी कसरी खान्छ,बाँच्छ, मर्छ त्योदेखि कसैलाई कुनै मतब छैन ।” उहाँको एउटै सानो ओत लाग्ने छाप्रो छ । तीन पुस्तादेखि मरनी ब्राखो बाँध्ने घरमै भूइमै कठिनाइपूर्ण जीवन विताउँदै आएकी छन् ।  सानो छाप्रोमा कठियांग्रिदो जाडोमा प्लाष्टिकको बोरा ओढेर परालको ओछ्यानमा उहाँ सुत्ने गर्नु हुन्छ । चिसो मौसममा शरीरमा च्यातिएको झुत्रो पेटीकोट र चोलो मात्र दैनिक लगाउने उहाँको लुगा हो । 
छाप्रोको बेरा भत्किएर चिसो हावासंगै चलिरहेको शितलहर उहाँको छाप्रोको आरपार हुन्छ । तर उहाँको दिन र रात त्यसमै वित्छ । उहाँ रोगले थला परेको १५ वर्षभन्दा बढी वितिसक्यो । उठ्न र हिड्न सक्नु हुन्न । मात्र हातको सहाराले घस्रेर घर भित्र र बाहिर आंगनीमा आउन सक्नु हुन्छ । श्रीमान  वितेको तीस वर्षभन्दा बढी वितिसक्यो । ३६ वर्षका कान्छा छोरा बिरबल सदा चार महिना अघि जण्डीसले च्यापिए पछि आर्थिक समस्याले उपचार गराउन नसक्दा मृत्यु भयो । कान्छा छोराको दुई लालाबला छ ।
कान्छी बुहारी मुन्नी सदा जंगलबाट दाउरा टिपेर बेचेर ल्याएको दिन घर चल्छ हैन भने भोकै सुत्नु पर्ने बाध्यता रहेको मरनी पीडा सुनाउनु हुन्छ । कयौं दिन र रात भोकै सुत्ने गरेको मरनी बताउनु हुन्छ । जेठो छोरा रामजी सदा छुट्टिएर बसेको वार्षौ भयो । जेठाछोरा बुहरारीले हेरबिचार नगर्ने गरेको उहाँको भनाई छ । मरनीको तीन जना छोरी छन् । सबैको बिहेबारी भई आ आफ्नो घर गईन् । हेरबिचार गर्ने एक मात्र बुहारी मुन्नी छिन् ।
उहाँले यस पटक आफु नगरपालिका कार्यालयमा पुग्न नसक्दा समाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभयो । वृद्धभत्ताबाट पनि लुगाफाटो किन्थे केहि राहत हुन्थ्यो तर त्यो पनि सायद आफ्नो भाग्यमा नभएको मरनीको दुखेसो छ । आफु जस्ती बुढीलाई भग्वानले पनि किन ठाउँ नदिएको भन्दै उहाँले भन्नुभयो “ अव भग्वानले मलाई लग्दा नि हुन्थ्यो ।” 
मिश्रीलालको दुःख 
मुसहर वस्तीका का ५० बर्षीय मिश्रिलाल सादाको घरपरिवारमा छोराछोरी आफै लगायत १० जना सदस्य छन् ।  वर्र्षौंदेखि उनका परिवारका  १० जना सदस्य एउटै छाप्रोमा रात काट्दै आएका छन् । उहाँले भन्नु हुन्छ ‘ बर्षाको बेला घर चुहिएर रातभरी उठेरै सबपरिवार रात काट्नु पर्छ । अहिले जाडो लाग्दा ओड्ने ओछ्याउने नहुँदा परालमै सुत्छौं । परालकै गुन्द्री ओड्छौं । घरमै चुलोमा खाना पकाउँदा आगो लागने डर हुन्छ ” । यसरी नै आफ्ना पुस्ता वर्षौदेखि जीवन काट्दै आएको मिश्रलालको भनाई छ । आफु जंगलबाट दाउरा टिपेर बेचेर र ज्यालामजदुरी गरि घरपरिवार जेनतेन चलाउँदै आएको उहाँ बताउनु हुन्छ ।
टुटेर खस्नै लागे झगरुको घर
झगरु सदाको घर खस्ने अवस्थामा छ । सानो टालीले छाएको छानो घरको बनेरी भाँचिएर अलिक अड्किएको छ । कति बेला खसेर सपरिवार चेपिने ठेगान छैन । तर पनि उनका परिवारका चार जना सदस्य त्यही जीर्ण घरमा रात विताउँछन् । खाना खान्छन् र सुख दुःखका कुरा गर्छन् । दैनिक ज्याला मजदुरी गरी झगरुको परिवार चल्छ । झगरुले भन्नुभयो“ज्याला मजदुरी नगरे साँझ चुलो पनि जल्दैन । यो घरको मर्मतसम्भार कसरी गरु ।” मरनी , मिश्रीलाल र झगरु एउटा सानो उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै केहि कम र केहि बढी सबैका दुःखका कथा व्यथा र जीवन चर्या उस्तै छ । 
मुसहर किन पछि परे ?
महोत्तरीको बर्दिबास अहिले निकै चर्चाको ठाउँ बनेको छ । मधेश आन्दोलनपछि बर्दिबास रातारात चमिकन पुग्यो । त्यपछि बर्दिबास(सिन्धुली (काठमाँडौको विपी राजमार्गलेपनि बर्दिबासको नाम पछिल्लो समय चर्चामा ल्याएको छ । बर्दिबासबाट ६ घण्टामै पूर्वी मधेशबाट  राजधानी पुग्न दु्रत मार्गको प्रवेश बार्दिबासबाटै हुने भएपछि यति खेर बर्दिबास चर्चामा छ । यति हुँदा हुदैं पनि  बर्दिबास  चोक भन्दा ढेड किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीको अवस्था कहालि लाग्दो छ । बर्दिबासको सबै स्थानमा राज्यको सुख सुविधान पुगेपनि  दलित मुसहरहरुको पहँुचमा राज्यको सुविधा पुगेको छैन । दिन भरी पसिना बगाएर मालिकको महल ठडिएपनि उनीहरुको सुत्ने घर भने पराले झुपडी छन् ।
प्रजातन्त्र प्राप्तिका पछिल्ला दिनहरुमा आन्दोलन गर्ने, संगठित हुन सक्ने र आफ्नो समुदायको हितमा जनता ओराल्न सक्नेकै कुरा राज्यले सुन्न बाध्य भएको देखिन्छ । तर, मुसहर समुदाय यस हिसाबले अघि बढ्न नसक्दा राज्यका अवसरमा उनीहरुको पहुँच हुन नसकेको जिल्लाका पाका पत्रकार गोपाल बराल बताउँछन् ।राजनीतिक जागरण, सामाजिक सचेतना, शिक्षा र नागरिकका अधिकारबारे अनभिज्ञ हुँदा मुसहरहरु राज्यको आँखामा पर्न नसकेका पत्रकार बरालको भनाई छ ।
पछिल्लो एक वर्षको अवधिमा केहि परिवर्तन
पछिल्लो एक वर्षको अवधिमा अत्यन्त दयनीय मुसहर बस्तमा केहि परिवर्तण आएको छ । समाजिक अभियन्ता तथा पत्रकार राजकरण महतोले दुई वर्ष अघिदेखि त्यस मुसहर वस्तीलाई लक्षित गर्दै समाचार लेख्दै आउनुभएको थियो । तर त्यसबाट पनि केहि सुनुवाई भएन । केहि परिवर्तण भएन । एक वर्ष अघि यहि मौसममा पूर्वपश्चिम सरसफाई अभियानको क्रममा नेपालका हाँस्य व्यंग्य कलाकार तथा वरिष्ट समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबासमा आउँदा पत्रकार महतोले नजिकै रहेको मुसहर बस्तीमा एक पटक भ्रमण गर्न अग्रह गर्नुभएको थियो । त्यस पश्चात मुसहर वस्तीमा धुर्मुस सुन्तली पुगेदेखि सरसफाई लागयतको विभिन्न अभियानहरु सञ्चालन हुँदै आएको छ । एक वर्ष अघि त्यस वस्तीमा सडकबाटो , विद्यालय, खानेपानी , शौचालय थिएन । तर पत्रकार समाजसेवी र धुर्मुस सुन्तलीको अभियानले अहिले वस्तीमा सडकबाटो बनेको छ । चार महिना अघि विद्यालय बनेको छ । त्यस बस्तीमा सामुहकि र व्यक्तिगत शौचालय निर्माण भएको छ । चार दिन अघि मात्र त्यस वस्तीमा झण्डै ६० वार्ष पश्चात पानी पुगेको छ । यसले गर्दा अहिले मुसहरह वस्तीको मुहार केहि फेरिएको छ ।  
धुर्मुस सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने घोषणाले मुसहरहरु हर्षित 
पछिल्लो एक बर्ष यता सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेपछि बर्दिबासको मुसहरहरु हर्षित भएका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर मुसहर बस्ती निर्माणमा सम्पूर्ण सहयोगी मनसँग अपिल गरे लगतै मुसहरहरुको अनुहारमा आशाको करिण पलाएको छ । 
भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरेर चर्चा कमाएका उनीहरुले मधेश र पहाडको समाजिक सद्भावको गाँठो बलियो बनाउन बर्दिबासको मुसहर बस्ती निर्माणमा गर्ने घोषणा गर्नु भएको छ । पूर्व(पश्चिम राजमार्ग  सरसफाइका क्रममा गत बर्ष धुर्मुस(सुन्तली यस मुसहर बस्तीमा पस्नु भएको थियो । तराई (मधेसमा बसोबास गरेका दलितहरु मध्य मुसहर जाति सबै भन्दा गरिव र विपन्न मुसहर समुदाय हो ।
भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । सिताराम कट्टेल धुर्मुसले उज्यालोसंग कुरा गर्दै भन्नुभयो “ एक वर्ष अघि त्यस बस्तीमा पुग्दा मुसहरहरुको अवस्था देखेर भावुक भएका थियौं । त्यहीँ बसोबास गर्ने अन्य समुदायहरुको कति सबल छन् । तर त्यहि मुसहर बस्ती कति पिछडिएका र पीडामा बाँचिरहेका छन् । त्यसैले हाम्रो रोजाईमा दुई वटा बस्ती निर्माण पश्चात तेश्रो त्यहि मुसहर वस्ती नै परेको छ ।” 
उहाँले अव १० ।१५ दिन भित्रै एकीकृत नमुना बस्ती निर्माणको काम शुरु गर्ने  र आउँदो बैशाख १ गते भित्र बनाएको घर मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । आफुहरुसमेत त्यस बस्ती निर्माणको लागि लग्ने र सम्पूर्ण सहयोगीहातहरुको सहयोगले बस्ती निर्माण हुने उहाँको भनाई छ । 
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने धुर्मुश(सुन्तली फाउण्डेशनका परियोजन संयोजक अर्जुन न्यौपानेले बताउनुभयो । जीर्ण छाप्रो फेरीने थाहा पाएका मुसहर समुदायमा कल्पनासमेत नगरेको खुसी छ । तीन पुस्तादेखि पराले झुपडी फेरीने खबरले मुसहरु निकै खुसी छन् । उनीहरुले बुधबार साँझ बस्तीमा दिपावली गर्दै खुसियाली मनाएका छन् ।
स्थानीय कारी सदाले भन्नुभयो ‘ हाम्रो घर बन्छ ,भनेर हामीले जीवनमा कहिले सोंचेकै थिएन । हामी गरिवको जीवन यस्तै हो भनेर दुःखलाई पचाएर बस्यौं । अब हाम्रो पनि अरुको भन्दा राम्रो घर बन्ने भयो ।’ हाम्रो खुसीको सिमा छैन । ”
 जंगलबाट दाउरा ल्याएर जिवीका चलाउने सुनिता सदाले आफुहरुको हाम्रो घर बन्ने खुसीले हामीमा आशाको किरण पलाएको बताउनुभयो । त्यस्तै स्थानीय मनिषा सदाले भन्नुभयो ‘हाम्रो दुःख बुझ्ने पनि कोही छन् । अब नयाँ घरमा सब परिवार खुशीले बस्छौं ।’ अहिले मुसहर वस्तीमा चर्चाको कुरै यिनै हुन् । मुसहरहरुले भन्दैछन् अरुले त के भग्वानले पनि हाम्रा दुःख बुझ्न सकेनन् । तर भग्वान भन्दा ठुला भग्वान हाम्रा लागि धुर्मुस सुन्तली नै छन् । जसले हाम्रो सुखको लागि उहाँले हाम्रा घाउमा मलहम पट्टी लगाउन उभिनुभो । सबैको मनमा उत्साह छ । कल्पना गरिहेका छन् एउटा सुन्दर बस्तीको ।
धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख
 तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्टूक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू आएको कोइरालाले बताएका छन्। उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’
उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए ।  फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन् । 
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन् ।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन् ।

२०७३ पौष १० गते आईतबार
 


 


जटहीमा सहिद दुर्गानन्द झा प्रसुति गृह आफ्नै कार्यकालमा निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । नेपालको गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण गरिने घोषणा गरिएको थियो । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री थापाले सहिद दुर्गानन्द झाकी अर्धाङ्गनी काशी देवी झालाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने मन्त्री थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक तथा जिउँदो सहिद ललन चौधरीले सम्मान गरेका थिए । उक्त अवसरमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले केही दिन भित्रै सहिद दुर्गानन्द झाको तस्वीर सहितको हुलाक टिकट नेपाल सरकारले जारी गर्ने बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेताहरु ललन चौधरी, प्रवेश चौधरी, रामपल्टन साह, स्थानीय रोहित चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।
मन्त्री गगन थापाको मन्तव्यको पुर्णपाठ
आज यस पवित्र भुमिमा मलाई टेक्ने अवसर प्रदान गरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा पहिले म सहिद दुर्गा नन्द झालाई यहाँ पावन भुमिमा उभिएर उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवार प्रति सम्मान  प्रकट गर्न चाहन्छु ।
 म नेपाली कांग्रेसको सदस्य हुँ । जतिखेर हामीहरु १४÷१५ बर्षको उमेरमा नेपाली कांग्रेसको सदस्यता लिँदै थियौं, त्यो बेला थाहा पाएको थोरै नामहरु मध्ये दुर्गा नन्द झा पनि हो । हामीलाई सानै देखि २०४६ सालको आन्दोलन भन्दा अगाडी १३÷१४ बर्षको उमेरमा पञ्चायतका विरुद्ध लड्नका निम्ति जति खेर हाम्रो पार्टीका अग्रजहरु हाम्रो विद्यालयहरुमा आउनु हुन्थ्यो, हामीलाई कामेश्वर कुशेश्वर, दुर्गानन्द झा, रामलक्ष्मण आदिको नाम बताउनु हुन्थ्यो, हामीलाई उत्साहित गर्नु हुन्थ्यो । हाम्रो रगत उमाल्नु हुन्थ्यो त्यसपछि दुर्गानन्द झाले जुन बाटो हिड्नु भयो त्यो बाटो हामी पनि हिड्न सक्छौ भन्ने उद्देश् यबोकेर सडकमा आउँथ्यौं । त्यही पार्टीमा काम गर्ने शिलशिलामा धेरै पछाडी जतिखेर नेपालको राजशाही विरुद्धको आन्दोलनलाई हामीले उठाउने चरणमा पुगेका थियौं, त्यो बेलामा हाम्रो पुस्ताले एउटा सपना देख्यो । नेपालमा कति पुस्ताले राजाका विरुद्धमा आन्दोलन गर्ने । अब यो  लडाईलाई हामीले अन्तिम लडाई बनाउनु पर्छ । नेपालमा गणतन्त्र सम्भव छ, अबको आन्दोलन प्रजातन्त्रको लागि होइन गणतन्त्रको लागि गर्नुपर्छ भनेर पछिल्लो पटक सम्भवतः जनआन्दोलन र शान्तिपुर्ण आन्दोलनमा लागेको मानिसहरु मध्ये त्यही गणतन्त्रको विषय उठाउँदै गर्दा दुई पटक राजद्रोहको मुद्दा खेपेको मान्छे हुँ म । तर, मैले त त्यो मुद्दा खेपेर त्यसबाट बाहिर निस्किएर तपाईहरुको बीचमा उभिने मौका पाएको छु । म जस्तो राजद्रोहीहरुका निम्ति त्यो प्रेरणापुन्ज भनेको सहिद दुर्गानन्द झा जस्तो व्यक्तिहरुले देखाउनु भएको बाटो, जसले त्यतीखेर साहास गर्नुभयो कि नेपालमा राजशाहीको अन्त सम्भव छ, भन्ने सपना धेरै बर्ष पहिला तन्नेरी भएको अवस्थामा उहाँहरुले देख्नुभएको पदचापलाई हामीले पन्छयाउने प्रयास गरेको मात्रै हो । त्यो आँट, त्यो हिम्मत, त्यो साहस त्यही बाट हामीले प्राप्त गरेको हो ।
यही पृष्ठभुमिमा अहिले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालिरहँदा स्वास्थ्य मन्त्रालयकै केही कार्यक्रममा आईरहेको बेलामा मलाई जनकपुर विमान स्थलमा मेरो केही साथीहरुले यो अस्पतालको बारेमा बताउनु भयो । त्यहाँ यसरी अस्पतालको घोषणा गरिएको थियो । तर, घोषणा गरेको बर्षौं वितेपनि अलपत्र ्परेर बसेको छ । त्यति भनेपछि मैले नै मेरो साथीहरुलाई अनुरोध गरेर भनेको हुँ कि म त्यो ठाउँमा एक पटक जान चाहन्छु, त्यो माटोमा एक पटक उभिन चाहन्छु, गएर आफै हेर्न चाहन्छु । किनकी नेपालको गणतान्त्रिक आन्दोलनको पहिलो सहिद दुर्गानन्द झा प्रति मेरो आफ्नो पनि कर्तव्य हो कि जसको बाटो मैले पछ्याएँ, आज मैले जिम्मेवारी पाएको बेलामा यो कुनै बेला डा. बाबुराम भट्टराई अर्थ मन्त्री हुनु भएको बेलामा घोषणा गरिएको छ । त्यस पछाडी यतिकै अलपत्र परेर बसेको अवस्था जुन रह्यो, अब यसलाई टुङ्गयाउने जिम्मेवारी मेरो हो । त्यो जिम्मेवारी बोधका साथ म तपाईहरुको बीचमा आएको छु ।
यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यहाँहरु सबैको परिवारको सदस्यहरुले कागजात वा विवरणहरु दिनुस । किनभने स्वास्थ्य मन्त्रालयले काम सुरु गर्नका लागि औपचारिक रुपमा यसको जग्गा हाम्रो नाउँमा आएको हुनुपर्दछ । नभए हामीले चाहेर पनि बजेट प्रयोग गर्न सक्दैनौं । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।

२०७३ पौष १० गते आईतबार