Saturday, June 8, 2013

घुसको अड्डा ‘जनकपुर यातायात कार्यालय’ निर्देशन विपरित जनकपुरमा चैत्र र बैशाखमा लाईसेन्स परीक्ष्ाँ


अजय अनुरागी



सवारी चालक अनुमति पत्र वितरणको लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न यातायात व्यवस्था विभागले १७ माघ २०६९ मा नयाँ निर्देशिका जारी गरेको छ । प्रयोगात्मक परीक्षालाई आधुनिक र बैज्ञानिक बनाउन आवश्यक ठहर गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम(६३)ले दिएको अधिकार प्रयोग गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा(४९)को उपदफा(१) को प्रयोजनको लागि विभागले निर्देशिका जारी गरेको हो । उक्त निर्देशिका अनुसार नयाँ टूायल स्थल बनाई परीक्षाको व्यवस्थापन गर्नुपर्ने भन्दै नयाँ टूायल स्थल नबनुन्जेलसम्म परीक्षा नलिन विभागले सम्बन्धित सबै कार्यालयहरुमा फागुनको मसान्तमा परिपत्र नै जारी गरेको थियो ।  तर विभागको उक्त परिपत्रलाई वेवास्ता गर्दै जनकपुर स्थित यातायात कार्यालयले चैत्र र बैशाख महिनामा प्रत्येक परीक्षार्थीबाट घुस वापत मोटो रकम असुल गर्दै सबारी चालक अनुमति पत्र वितरण गरेको पाइएको छ । फागुनमै नयाँ स्लेबस लागु गरिने कार्यालयमा चिठी आयो तर जनकपुरको यातायात कार्यालयले लिखित परीक्षा नयाँ सिलेबस अनुसार लिएपनि प्रयोगात्मक परीक्षा पुरानै सिलेबस अनुसार लिएको छ । यतिसम्मकी एक दिनमै विहान लिखित परीक्षा, दिउँसो प्रयोगात्मक परीक्षा र त्यसको भोली पल्ट सबारी चालक अनुमतिपत्र नै वितरण गरेकोले पनि व्यापक अनियमितता भएको पुष्टि हुन्छ । वढी विद्यार्थी संख्या भएपछि सरस्वती उच्च माबिमा लिईएको लिखित परीक्षामा यातायात कार्यालयका कर्मचारी तेजेन्द्र गिरीले प्रश्नको उत्तर कालो पाटीमा लेखाएर पास गराउन प्रत्यक्ष रुपमा मद्दत गरेको एक जना परीक्षार्थीले नाउँ न खुलाउने सर्तमा बताएका छन । कम विद्यार्थी संख्या भएको अवस्थामा गिरीले यातायात कार्यालयकै कम्पयुटर कोठामा ढोका बन्द गरेर पालै पालो परीक्षा लिएका थिए ।  कार्यालयका इन्जिनियर खुशिलाल साहलाई एउटा विद्यार्थीले ५ सय रुपैयाँ दिएपछि टूायल पनि नदिई लाईसेन्स प्राप्त गरेको कतिपय विद्यार्थीहरुको भनाई छ । परीक्षाका लागि गेटमा आवेदन फारम दर्ता गर्न सूचनाबाट निकालेको सप्ताहको मंगलबार टूायल हुने त्यहाँको प्रचलन रहेपनि ५ हजार २ सय रुपैयाँ एक मुस्ठ तिर्दा फारम पनि दर्ता भयो तर मैले पास गर्छु भनेर भन्दा पनि मेरो फारम नै दर्ता भएन  पिडित एक विद्यार्थीले बताए । यी सम्पुर्ण विषयका बारेमा द एक्सक्लुसिभले यातायात कार्यालयका कार्यालय प्रमुख सुनिल झासँग जिज्ञासा राख्दा चैत्रमा परीक्षा लिइएको स्वीकार गरेपनि बैशाखमा परीक्षा नलिएको तथा घुस लिएको वा परीक्षामा कर्मचारीले प्रश्न पत्रको उत्तर कालोपाटीमा लेखाएको सबालमा इन्कार गरे । उक्त २ महिनामा कति जनालाई लाईसेन्स दिइयो रेकर्ड माग्दा झाले दिन इन्कार गरे । यसका अतिरिक्त विभागबाट आएको परिपत्र देखाउन भन्दा पनि झाले दिएनन । यी सबै कुरालाई विचार गर्ने हो भनेपनि यातायात कार्यालयले व्यापक अनियमितता गरेको पुष्टि हुन्छ । स्रोतका अनुसार देशैभरी बन्द रहेको लाईसेन्सको परीक्षा जनकपुरमा सञ्चालन भएको कारणले पनि अन्य ठाउँहरुबाट पनि विद्यार्थीहरु आएर लाईसेन्स लिएका थिए । उक्त दुई महिनामा कम्तिमा पनि ५ हजार जति लाईसेन्स वितरण गरी लाखौ रकम कार्यालयका कर्मचारीहरुले घुस वापत आर्जन गरेको स्रोतको दावी भएपनि कार्यालय प्रमुख झाले मोटा मोटी दुई सय लाईसेन्स मात्र वितरण भएको बताए ।
यातायात व्यवस्था कार्यालय जनकपुर  प्रमुख सुनिल कुमार झा 


कहाँ कहाँ कसरी लिइन्छ घुस ?

मोटरसाइकलको लाईसेन्स वापत रु.७ हजार, जिपकारको लाइसेन्स वापत रु. ८ हजार ५ सय, ट्याक्टरको लाइसेन्स वापत रु.९ हजार, बस टूकको लाईसेन्स वापत रु. १० हजार यातायात कार्यालयका कर्मचारीले लिने गरेका छन । कार्यालयमा मेसु (इन्जिनियर) खुशीलाल साहले गाडी चेक जाँच गर्दा रु.५० लिने गर्दछ, रुपैयाँ नदिएँ गाडी चेक नै गर्दैनन भन्दै कार्यालयमा लेखनदासको काम गर्ने एक जनाले नाउँ नखुलाउने सर्तमा बताए । गाडीको नामसारी गर्न जाँदा लेखनदासले ५ सय रुपैयाँ नामसारी खर्च बापत लिन्छन जसबाट १ सय रुपैयाँ फाँटमा, ५० रुपैयाँ मेसुलाई र ५० रुपैयाँ लेखाफाँटमा बुझाउनु पर्दछ, लेखनदासले बताए । नामसारी गर्दा खेरी गाडी इन्जन चेकजाँच गर्नुपर्दछ । गाडी आफै ल्याएको खण्डमा मोटरसाइकलको रु.५० देखि १ सय, जिपट्याक्टरको लागि रु.३ सय देखि ६ सय, बसटूकको लागि रु.१ हजार देखि रु.३ हजारसम्म घुस लिने गर्दछन । त्यसै गरी गाडी आफै नल्याएको अवस्थामा मोटरसाइकल बापत रु.५ सय देखि १ हजार, जिपट्याक्टर वापत रु.३ हजार देखि ५ हजार, बसटूक बापत रु.३ हजार देखि १० हजार सम्मको मोलमोलाईमा सबारी साधनको नामसारी गर्ने गरिन्छ, स्रोतको दाबी छ । यसरी लिइने घुसको रकम कार्यालयका सम्पुर्ण कर्मचारीहरु बीच भागबन्डा गरिनुका साथै टूाफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रसाशनमा समेत पुरयाउने गरिएको स्रोतको भनाई छ । विद्यार्थीहरुका अनुसार परीक्षा फारम भर्दा बुझाइएको २ सय रुपैयाँ शुल्कका अतिरिक्त पनि टूायल सेन्टर रहेको ठाउँमा ३ सय ३० रुपैयाँ प्रति विद्यार्थी अनैतिक तरिकाले थप लिएपछि विद्यार्थीहरु दोहोरो मारमा परेका छन । जव की विद्यार्थीले बुझाएको २ सय रुपैयाँ बाहेक अन्य कही पनि रकम तिर्नु नपर्ने व्यवस्था छ । तर ३ सय रुपैयाँ जनकपुर अञ्चल डूाइभिङ स्कुल संघ नेपालले गाडीको भाडा वापत लिने गरेको पाइएको छ । तर गाडी पनि यातायात कार्यालयले नै २ सय रुपैयाँबाट व्यवस्था गर्नुपर्ने नियम नै छ ।

नयाँ प्रणाली अनुसार प्रयोगात्मक परीक्षा

बढ्दो दुर्घटनाको जोखिम कम गराउन बैशाख १ गतेदेखि शर्त सहित व्यवसायिक लाईसेन्स वितरणको तयारी भएको छ । सार्वजनिक गाडीका चालकहरु अहिले धेरैजसो दश कक्षा पनि उत्तीर्ण नहुँदा व्यवहारिक ज्ञान नहुने र जसका कारण दुर्घटना बढेको ठहर गरी शर्त सहित लाईसेन्स वितरणको तयारी गरिएको हो । अबको दुई वर्षपछि लाईसेन्स लिनका लागि अनिवार्य रुपमा दश कक्षा उत्तीर्ण हुनै पर्ने व्यवस्था गरिएको छ । त्यस्तै लाईसेन्स लिईसकेकाहरुलाई पनि लाईसेन्स नवीकरण गर्दा नयाँ व्यवस्था अनुसारको टूायल फेरी पास गर्न अनिवार्य गरिएको छ । अहिले कतिपय अवस्थामा टूायल नदिईकन पनि लाईसेन्स दिएको पाईएकाले नवीकरण गर्दा टूायल दिनु अनिवार्य गर्न लागिएकोे हो । यातायात व्यवस्था विभागले गएको फागुनदेखि चालक अनुमति पत्र लिनका लागि दिईने लिखित परिक्षाको स्वरुप परिवर्तन गरिसकेको छ । लिखित परिक्षामा यसअघि बस्तुगत बहुउत्तर मात्रै राखिने गरेकोमा अहिले २ वटा प्रश्नको उत्तर लेख्नुपर्ने व्यवस्था गरिएको छ ।  लाईसेन्स लिन चाहनेहरु प्रयोगात्मक रुपमा बलिया हुने भएपनि सैद्धान्तिक ज्ञान नहुँदा समस्या परेको भन्दै नयाँ व्यवस्था गरिएको हो । पुरानो व्यवस्थामा दुई पाङग्रेको पाच वटा डण्डी छलाउने र चार पाङग्रेको टी सेप कटाएपछि लाइसेन्स पाउने व्यवस्था थियो । यसमा पारदशिर्ता नहुने र अयोग्य चालकले लाइसेन्स पाउने गरेपछि विभागले अन्तराष्टिूय मापदण्ड अनुसारको प्रयोगात्मक परीक्षा सुरु गरेको थियो । नयाँ व्यवस्थामा अंग्रेजी आठ आकार पुरा गरी ठाउ ठाउमा राखिएको ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नु पर्ने हुन्छ ।
त्यस्तै उकालो र ओरालो समेत चलाउनु पर्ने हुन्छ । यसले  टूाफिक ज्ञान र सवारीको आवश्यक पार्टपुर्जा परिचालन गर्न सक्ने गरी परीक्षा हुन्थ्यो । पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले ‘टी सेप’ कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । ‘यू’ टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, टूाफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको ‘आठ’ आकारको दूरी पूरा गर्नुपर्नेछ ।
चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ ।
काठमाडांैमा नयाँ टूायल सेन्टर स्थापना भई लाईसेन्सको प्रयोगात्मक परीक्षा सुरु भएपनि जनकपुरमा कार्यालयको अक्षमताका कारण जेष्ठ महिना देखि लाईसेन्सको परीक्षा अनिश्चितकालका लागि रोकिएको छ । एका तर्फ राज्यद्धारा लाईसेन्स बन्द गरिएको छ भने अर्को तर्फ जनकपुरमा टूाफिक प्रहरीले सवारी चेक जाँचको क्रममा लाईसेन्स नरहेका सवारी चालकलाई आर्थिक कारवाही गर्ने क्रम बढेको छ । एक महिना अघि नयाँ मोटर साईकल किनेका एक नागरिकले आफु लाईसेन्सका लागि योग्य रहेपनि लाईसेन्स पाउने व्यवस्था नरहेको, अर्को तर्फ टूाफिक प्रहरीले पटक पटक कारवाही गरिसकेको हुनाले आफ्नो के दोष रहेको प्रश्न गर्छन । अन्तराष्टिूय मापदण्ड अनुसार जनकपुरमा नयाँ टूायल सेन्टर किन बनाउन नसकिएको हो भन्ने सवालमा यातायात कार्यालय प्रमुख सुनिल झा भन्छन,“ नयाँ टूायल सेन्टर बनाउनका लागि करिब डेढ विघा जग्गा आवश्यक पर्छ, जग्गा दिन काई पनि तयार भएको छैन । स्थानिय स्तरमा सहयोग माग्दा कहिबाट मद्दत पाईएन, स्रोत साधन नजुटेकै कारण अनिश्चित बनेको छ ।”

बढदो सबारी चाप र दुर्घटना

खराब मौसम, साँगुरो सडक, अतिक्रमित सडक, जनचेतनाको अभाव, अव्यवस्थीत बे्रकर तथा मादक पदार्थ सेवन गरी सबारी साधन चलाउँदा सडक दुर्घटना हुने गरेको भएपनि अदक्ष चालकलाई दिइएको लाइसेन्स पनि सडक दुर्घटनाको महत्वपुर्ण कारण हो । पछिल्लो ४ वर्षमा धनुषामै भएको ३ सय ४८ सडक दुर्घटनामा १ सय ३६ जनाको मृत्यु नै भएको छ भने ३ सय ४९ जना सख्त घाइते भई अपाङ्ताको जीवन यापन व्यतित गर्न वाध्य छन । त्यसैगरी ४ सय १३ जना सामान्य घाइते भई उपचार गराई निको भएको जिल्ला टूाफिक प्रहरी कार्यालयको तथ्याङकले नै देखाउँदछ । जनकपुर अञ्चल यातायात कार्यालयबाट हालसम्म दर्ता भएको मोटरसाइकलको लट ज ५ प मा करिब ५६ हजार संख्या, ट्याक्टरको लट ज १ त मा करिब ५५ सय, जिपकारको लट ज १ च र ख मा १३ सय, बसको लट ज १ ख र च मा ३ सय ५० र टूकको लट ज १ ख मा ३ सय संख्या पुगेको छ । १० वर्ष अघि मोटरसाइकलको एक लट सकिन दुई देखि तीन वर्ष सम्म लाग्द थियो तर अहिले मोटरसाइकलको एक लट पुग्न ९ महिना मात्र लाग्ने गरेको यातायातका प्रमुख सुनिल झाले बताए । केही बर्ष अघिसम्म हुने खाने परिवारका सदस्यले मात्र मोटरसाईकल उपभोग गर्दै आएको अवस्था अहिले फेरिएको छ । आज विहेमा दुलहा पक्षले दाईजोमा नगद सहित मोटरसाईकल अनिवार्य गरेका छन । यसका अतिरिक्त वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका यूवाहरु मोटरसाईकल किन्ने गरेका छन । जानकी अटो सेन्टर यामाहा सोरुमका सेल्स एजेन्ट सुजित धामिका अनुसार उक्त सोरुमबाट एक वर्षमा ५ सय सम्म मोटरसाईकल विक्री हुने गरेको छ । जनकपुरमा यामाहा जस्तै हिरो होन्डा, होन्डा, बजाज, महेन्द्रा, टिभिएस लगायतका प्रत्येक कम्पनीको सोरुमबाट वर्षमा ५ सय जति मोटरसाईकल विक्री हुने गरेको छ । हिजो सम्म विलासिताको वस्तुको रुपमा उपभोग गरिने मोटरसाईकल आज साइकल जस्तै न्यूनतम आवश्यकताको वस्तु बन्नाले पनि जनकपुरमा मोटरसाईकलको चाप बढनुको साथै दुर्घटना पनि वढदै गएको छ ।
विगत केही वर्ष देखि नेपालमा सबारी साधनको संख्यामा उल्लेखिय वृद्धि भई विषेश गरी शहरी क्षेत्रमा आवागमनका लागि निजी सबारी साधन प्रयोग गर्नेहरुको संख्या पनि महत्व रुपमा बढेको छ । नेपाली समाजमा देखा परेको आर्थिक सामाजिक गतिशिलतासँगै मानिसको आवागमन र मालबस्तुको औसारपौसारमा सार्वजनिक सबारी साधनको संख्या पनि निरन्तर वढी रहेको छ । यसरी एकातिर सबारी साधनको संख्या वढीरहेको छ भने अर्को तिर सबारी दुर्घटनाको कारण धनजनको क्षति हुने प्रवृतिमा देखिएको वढोत्तरीले सबारी सुरक्षा सार्वजनिक गतिविधिको मुख्य विषय बस्तु भएको छ ।