Tuesday, January 24, 2017

प्रजिअ चापागाई र सहायक प्रजिअ गिरी बीच टकराव

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको सुनसरीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भईसकेपछि प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई चाँडो भन्दा चाँडो रवाना लिएर जाउन भन्ने एक्शनमा अगाडी वढेका छन् भने अर्को तर्फ यहाँ अर्को सहायक प्रमुख जिल्ला अधिकारी नरहेको र सुनसरीमा पनि सिडिओले चाँडो भन्दा चाँडो आईहाल भनेर नभनेकोले गिरी काठमाण्डौमै गृहमन्त्रालयमा पुगेर भएपनि काज सरुवा थमौटि गर्ने कसरतमा लागेपछि दुवै जनाको टकरावले धनुषाको जिल्ला प्रशासन कार्यालय अस्त व्यस्त बन्ने देखिन्छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल सरकारले काज सरुवा गरेको छ । ५ माघ २०७३ मा गृहमन्त्रालयका कर्मचारी प्रशासन शाखाको उपसचिव शिवराज जोशीद्वारा गरिएको परिपत्रमा ४ माघ २०७३ को गृहमन्त्रालयको निर्णयानुसार काज खटिएकै कार्यालयबाट तलब भत्ता भुक्तान हुने गरी काज खटाइएको तथा काज खटिएको कार्यालयमा नियमानुसार हाजिर हुन भनि सरुवा गरिएको हो । उनी गृहमन्त्रालयको ३ भदौ २०७३ को निर्णयानुसार धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयबाट सरुवा भई आएका थिए । गिरी दुतिय श्रेणीका कर्मचारी भई धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् । तर, उनले आफ्नो सरुवा नियोजित भएको बताएका छन् । उनी रवाना लिन पनि इन्कार गरिरहेका छन् । उनको सरुवा भएपछि जिल्लामा व्यापक विरोध सुरु भएको छ । खासगरी सामाजिक संजालहरुमा पनि जनकपुरका यूवाहरुले उनको सरुवा प्रति आपत्ति जनाएको पाइन्छ । हुन त गृहमन्त्रालयमा उनी एकलै उपसचिवको सरुवा भएको होइन । २१ जना उपसचिवहरु सरुवा भएका छन् । जसमध्ये ७ जना उपसचिवलाई सिडिओ नै बनाइएको छ ।  जिल्ला प्रशासनमा काम गर्ने कतिपय कर्मचारीहरुका अनुसार गिरीको सरुवा नियमित सरुवा नै रहेको बताइन्छ भने अर्को कतिपय कर्मचारीहरुका अनुसार उनलाई दण्डित गर्नेगरि हटाइएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी गिरीको के तर्क छ भने आफु यहाँ दुई बर्षका लागि आएको हो, धनुषामा मेरो दरबन्दी नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा छ, त्यसमा पनि मलाई सुनसरीमा काज सरुवा गरिएको छ । अर्को तर्फ धनुषामा एउटा पनि सहायक जिल्ला अधिकारी नरहेको अवस्थामा तत्कालै सुनसरी गईहाल्नु भन्दा पनि काठमाण्डौमा गएर गृहमन्त्रालयमा सहसचिव तथा सचिवसँग भेटेर काज सरुवा थमौति गर्ने प्रयास गर्नेछु । बरु बाजुरा, दोलखा, खोटाङ्ग जस्ता जिल्लामा सिडिओको रुपमा सरुवा भए हुन्थ्यो, गिरीको चाहना पनि प्रकट भएको देखिन्छ । उनलाई सुनसरीमा पठाइएपछि त्यहाँ काम गर्न अप्ठयारो हुने बताइन्छ । किनभने सुनसरीमा उनकै व्याचका लोकमान पौडेल सिडिओ छन् ।
अनुगमनबाट चम्केका गिरी
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी ।
२६ पुष २०७३ का दिन सहायक प्रजिअ गिरीको संयोजकत्वमा गठित संयूक्त अनुगमन समितिले जनकपुर सहर भित्र रहेका स्वास्थ्य क्षेत्रका औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतको अनुगमन गर्दा अनुगमनका क्रममा विना दर्ता संचालित रहेका अस्पताल, नर्सिङ होम, क्लिनिक तथा औषधि पसलहरुमा तालाबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाएको थियो । अनुगमनको क्रममा केह ीऔषधि पसलहरुमा छापामारी रहँदा सबै औषधि व्यवसायीहरुले धमाधम आफ्नो औषधि पसल बन्द गर्दै भागाभाग भए । त्यसपछि राजेश गिरी मुर्दाबाद, जिल्ला प्रशासन कार्यालय मुर्दाबाद सहितको नाराबाजी पनि भयो । अनुगमनकै क्रममा दर्ता भएको औषधि पसलहरुमा केही त्रुटि देखिएपछि अनुगमन समितिले ४÷५ वटा दर्ता भएका औषधि पसलमा पनि तालाबन्दी गर्यो । अनुगमनमा तालाबन्दी गरिसकेपछि अबैध तरिकाले संचालित व्यवसायीहरुलाई कारवाही गर्ने कुनै पनि हालतमाा पछि नहटने अभिव्यक्ति दिएर जनकपुरबासी सामु गिरी लोकप्रिय बनेका थिए । त्यही इस्यूलाई लिएर औषधि व्यवसायीहरुलाई बदनाम गराउने, आतंकित पार्ने, अनुगमनका क्रममा औषधि व्यवसायीलाई प्रतिनिधित्व नगराएको भन्दै गिरीको निलम्बन सहित औषधि व्यवसायीहरु आन्दोलित भएका थिए । अनुगमन टोलीले कारवाही गर्दा नेपाल औषधि व्यवसायी संघ जनकपुर अञ्चल शाखाले ४ सुत्रिय माग राख्दै २७ गते देखि जनकपुरका सम्पुर्ण औषधि पसलहरु बन्द गरी अनुगमनको विरोध जनाएका थिए ।
सहायक प्रजिअ राजेश गिरीको निलम्बन, ओरिएनटेशन कोर्षको तालिमको पुनःसंचालन, अनुगमनको नाममा गरिएको तालाबन्दीको पुनारावृति नहोस भन्दै औषधि व्यवसायीहरुले औषधि पसलहरु बन्द गरी विरोध जनाईरहेका थिए । औषधि व्यवसायीहरु संघर्षमा ओर्लिएको भोली पल्टै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई र सहायक प्रमुख जिल्ला अधिकारी पछि हटेका थिए । दर्ता भएको औषधि पसलहरुमा अनुगमन टोलीले लगाएको ताला प्रहरीलाई पठाएर जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको रोहवरमा ताला खोलाइएको थियो । तर, त्यहाँ अनुगमन समितिले थाहा नै नपाउने गरी विना दर्ता अस्पताल रोडमा संचालित रहेका आर्या होस्पिटलमा लगाइएको ताला पनि खोलिएको थियो । अनुगमन टोलीका संयोजक राजेश गिरीका अनुसार अनुगमन टोलीका कुनै पनि सदस्यलाई जानकारी नै नदिई त्यो आर्या हस्पिटल कसरी खोलियो, कसको निर्देशनमा खोलियो भनेर प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईसँग प्रश्न गर्दा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देवको आदेशमा खोलिएको कुरा बाहिर आएको थियो । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म दर्ता गर्न परिपत्र गरे अनुसार आफुले आर्या होस्पिटल तथा डा.रामनरेश पंडित लगायतको क्लिनिकको ताला खोलाएको देवले अनुगमन समितिको बैठकमा बोलेको गिरीले बताए ।
 ३ दिनसम्म औषधि पसलहरु बन्द रहेपछि प्रशासनले विना कारवाही ५ सुत्रिय सम्झौता गरेपछि औषधि व्यवसायीहरुले औषधि पसल खोलेका थिए । २ माघ २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईको अध्यक्षतामा धनुषाका एसपी लालमनि आचार्य, सहायक प्रजिअ राजेश गिरी, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका कार्यालय प्रमुख सच्चिदानन्द देव, आन्तरिक राजश्व कार्यालय जनकपुरका सुवर्ण कोइराला, नापतौल कार्यालयका विरेन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल खाद्य संस्थानका संजु रानी, उपभोक्ता मञ्चका रेणु झा, नापतौल कार्यालयका मुकुन्द चौधरी, औषधि व्यवसायी धनुषाका अध्यक्ष सत्यनारायण साह, महासचिव प्रमोद अग्रवाल सहित करिब ३० जनाको उपस्थितिमा ५ सुत्रिय सम्झौता भएको थियो ।
सम्झौता पहिलो बुँदामा अनुगमनको क्रममा केह ीऔषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतका व्यवसायीहरु विधिवत रुपमा दर्ता भएता पनि नविकरण नभएका, सम्बन्धित आधिकारिक व्यक्ति पसलमा नबसेका, खरिद तथा बिल नराखेका जस्ता त्रुटिहरु देखिएकाले सो त्रुटिहरुलाई यथासम्भव छिट्टै कानुनी व्यवस्था अनुसार नेपाल औषधि व्यवसायी संघ धनुषा, औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगञ्ज तथा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले नियमित गराउने र सो को जानकारी सम्बन्धित निकाय र जिल्ला प्रशासन बजार अनुगमन समितिमा गराउने निर्णय गरियो ।
त्यस्तै दोस्रो बुँदामा औषधि व्यवस्था विभागबाट प्रमाण पत्र नलिई व्यवसाय संचालन गरिरहेका स्वास्थ्य सम्बन्धि व्यवसायीहरुको ओरिएनटेशन तालिमको व्यवस्थाको लागि औषधि व्यवसायी संघको माग अनुसार जिलला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो । त्यसैगरी तेस्रो बुँदामा अनुगमनको क्रममा रितपुर्वक संचालन नभई बन्द गरिएका तथा आफै बन्द गरेका व्यवसायीका लागि ३ महिनाको अवधि दिई रितपुर्वक संचालनको व्यवस्था औषधि व्यवस्था विभागले गर्ने र त्यसका लागि अञ्चल औषधि व्यवसायी संघको समन्वय र सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने निर्णय गरियो ।
चौथो बुँदामा औषधि व्यवस्थापन सम्बन्धि काम कारवाही गर्न गराउन औषधि व्यवस्था विभागको शाखा कार्यालय विरगञ्जमा रहि कार्य हुन व्यवसायीहरुलाई असुविधा भएकाले सो निकायलाई कम्तिमा व्यवसाय दर्ता, नविकरण लगायतको कार्य गर्न जनकपुरमा तत्काल घुम्ती शिविरको व्यवस्था मिलाई दिन जिल्ला प्रशासन कार्यालय मार्फत औषधि व्यवस्था विभागमा पत्राचार गर्ने निर्णय गरियो । पाँचौं बुँदामा अनुगमन गर्दा सबै पक्षको मानमर्यादाको सम्मान गर्दै अनुगमन आचारसंहिता बनाई यो अनुगमनको क्रमलाई निरन्तरता दिने निर्णय गरियो ।
सम्झौता भएको केही दिन पछि जनकपुरमा सुनचाँदी व्यवसाय, होटेल व्यवसाय तथा पानीको जार वितरण गर्ने कम्पनी लगायत थुप्रै क्षेत्रमा अनुगमन गर्ने तयारी गरिरहेकै बेल ागिरीको काज सरुवाले जनकपुरवासी पनि आश्चर्य चकित भएका छन् । कतिपय व्यक्तिका अनुसार उनलाई अनुगमनबाट हटाउनका लागि नै काज सरुवा गराइएको भन्ने आशंका पनि रहेको छ । खास गरेर नाम चलेका प्रतिष्ठित डाक्टरहरुको क्लिनिक तथा औषधि पसलहरुमा छापा मारेपछि ठुलै आर्थिक चलखेल गरेर उनलाई हटाइएको हुन सक्ने आशंका पनि गरिएको छ । तर, भित्री कुरो के हो भन्ने कुरा बाहिर आउन सकेको छैन ।
प्रजिअ र सहायक प्रजिअ बीचको टकराव र मनमुटाव
जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई र सेकेन्ड मेनका रुपमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी बीच पछिल्लो समयमा इगोको टकराव उत्पन्न भएको बताइन्छ । खास गरेर प्रजिअ चापागाईले सहायक प्रजिअ गिरीलाई बैठकमै, कर्मचारीहरुको सामुन्ने नै हप्काउने गरेकोले पनि इगो उत्पन्न भएको बताइन्छ । जस्तो अनुगमन पछि भएको अनुगमन समितिको बैठक तथा औषधि व्यवसायी समेत सहभागी रहेको बार्ताका क्रममा औषधि व्यवसायीहरुलाई प्रजिअ चापागाईले ३ महिनाको अवधि दिन लाग्दा गिरी मानिरहेका थिएनन् । गिरीको तर्क के थियो भने यस अघि पनि भदौ महिनामा औषधि पसलहरुमा छापामारी गरी तालाबन्द गरेपछि औषधि व्यवसायी संघका महासचिव प्रमोद अग्रवालले डेढ महिनाको समय लिएर दर्ता प्रक्रिया अगाडी वढाउने लिखित सम्झौता गरेपनि अवस्था त्यस्तै रहेकाले ३ महिनाको समय दिनुहुन्न । बरु एक डेढ महिना थपेपछि हुन्थ्यो वा कारवाही नै गर्नुपर्छ, मुद्दा नै चलाउनु पर्छ भन्ने अडान राखिरहँदा प्रजिअ दिलिप चापागाई गिरी माथि पडकिएका थिए । तपाई तुरुन्त यहाँबाट बाहिर गईहाल्नुस भनेर प्रजिअ चापागाईले सबैको सामु गिरीलाई हप्काएका थिए । जवाफमा गिरीले पनि बरु म गृहमन्त्रालयमै जान्छु, तपाई जस्तो सिडिओ सँग बसेर काम गर्न पनि मन लाग्दैन भनेर जवाफ फर्काएका थिए ।
गाडीलाई लिएर टकराव
प्रमुख जिल्ला अधिकारी चढ्ने गाडीलाई १ नम्बरको गाडी भनिन्छ भने सहायक प्रमुख जिल्ला अधिकारी चढ्ने गाडीलाई २ नम्बर भन्ने गरिन्छ । यस अघिका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र गिरी दुवै जना दुई नम्बरको गाडी पालैपालो चढ्ने गर्थे । तर, एक दिन गाडीलाई लिएर प्रजिअले गाडीको जथाभावी दुरुपयोग नगर्न भनेर लामिछानेलाई प्रजिअ चापागाईले हप्काएपछि लामिछानेले उक्त गाडी चढ्न इन्कार गरेका थिए । त्यस पछि लामिछाने पुस्कार स्वरुप प्रजिअ भई सरुवा भए । यता उक्त गाडी गिरीले चढ्न थाले ।  त्यो गाडीको दुरुपयोग भईरहेको छ भन्ने कुरा प्रजिअ चापागाईसम्म पुग्यो । गिरीले साइरन भएको उक्त गाडीमा केही आईमाईहरुलाई चढाएर जटही भन्सार हुँदै भारतको जयनगर लगेको कुरा उनी कहाँ पुग्यो । सिडिओको अनुमति लिइएको थिएन । त्यसपछि उक्त गाडीका चालकलाई गाडी जिल्ला प्रशासन कार्यालयमै साँझका साँझ राख्न भनेर निर्देशन दिँदै प्रजिअ चापागाईले चालकलाई हप्काएका थिए । त्यो घटना वितेको केही दिन पछि प्रजिअ चापागाई काठमाण्डौ रहेको बेला प्रजिअको अनुमति बेगर गिरीले दुई नम्बरको गाडी ३ दिनका लागि विराटनगर लगे । विराटनगरबाट धरान जानका लागि भन्दा डूाईभरले नमानेपछि गिरी आफैले हाँकेर उक्त गाडी धरान लगे । पछि चापागाईले डूाईभर सुनिल मिश्रलाई गिरीको सामुन्ने हप्काएका थिए । सिडिओको शंका के हुन्थ्यो भने गिरीले सरकारी गाडीको दुरुपयोग गरेका छन् । अर्को तर्फ कुरा कुरामा सिडिओ र सहायक सिडिओको टकराव हुन्थ्यो । सहायक सिडिओ आफु ६ बिषयमा स्नात्तकोतर रहेको भन्दै जति बेला पनि आत्म प्रशंसा गर्थे ।
बाहिर आफु अत्यन्तै इमान्दार रहेको भनेर भाषणबाजी गर्दै हिड्ने सहायक प्रमुख जिल्ला अधिकारीको प्रशासनिक काम गर्न अधिकृतहरुसँग पनि कुरा मिल्दैन्थ्यो । धनुषामा विपिन ठाकुर, दिपक कर्ण, कन्हैया मिश्र र नवराज दाहाल गरी ४ जना प्रशासकिय अधिकृतहरु छन् । कन्हैया मिश्र भर्खरै आएका छन् । फाँटका कर्मचारीहरुलाई गिरी जतिबेला पनि पासपोर्ट तथा नागरिकताहरुबाट कमिशन उठाएर देउ भनेर भन्ने गरेको स्रोतको दावी छ । यहाँसम्म कि फाँटका खरिदार तथा सुब्बा बाहेक पिउन सम्मलाई फाँटमै आएर तिमीहरु मात्र कमाउने हो, मेरो हिस्सा खोई, प्रति पासपोर्ट २ सय रुपैयाँ बुझाउ भनेर निर्देशन दिने गरेको उक्त स्रोतको भनाई रहेको छ । अर्को तर्फ उक्त आरोप विलकुल निराधार रहेको गिरी बताउँछन् । एक पटक एक जना नायव सुब्बा किशोरी यादवले सेवाग्राहीबाट २ हजार रुपैयाँ घुस मागिरहेको कुरा बाहिर आएपछि उनलाई सिडिओ साहेवकोमा लगेर कान समात्न लगाई दण्डित गरिएको तथा उक्त सेवा ग्राहीको काम गराइएको बताए । यति मात्र होइन बदनाम भएका अर्को नासु रामप्रबोध ठाकुरलाई कारवाही स्वरुप इलाका प्रहरी कार्यालय यदुकुहामा पठाएको हो । आफ्नो इमान्दारिताको सवालमा सुनसरीमा घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख रहेको बेलामा त्यहाँ पनि अनुगमन गरी बजारमा सुशासन स्थापित गराएकैले तत्कालिन मन्त्री विजय गच्छदारबाट पुरस्कृत भएको उनी बताउँछन् ।
विभिन्न किसिमको आशंका
सहायक प्रमुख जिल्ला अधिकारी गिरीको सरुवालाई लिएर विभिन्न खाले धारणाहरु बाहिर आईरहेका छन् । गृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला धनुषा नै भएकाले गृहमन्त्री आफैले पनि सरुवा गरेको हुन सक्ने आशंका गरिएको छ । अर्को तर्फ प्रमुख जिल्ला अधिकारीसँग टकरावको स्थिति उत्पन्न हुने हुनाले प्रजिअ चापागाईले पनि सरुवा गराएको हुन सक्ने आशंका गरिएको छ । अर्को कुरा के हो भने औषधि व्यवसायीहरुले प्रतिसोध लिन नेपाली कांग्रेसका नेताहरु मार्फत सरुवा गराएको हुन सक्ने आशंका पनि गरिएको छ । 


 २०७३ माघ ०९ गते आईतबार