Monday, June 27, 2016

महोत्तरीमा खुल्ला घरेलु मदिरा सेवन गरी एकै परिवारका पाँच जनाको मृत्यू अवैध मदिरा उत्पादन, विक्री वितरण र सेवनमा प्रहरीद्वारा प्रतिबन्ध

अजय अनुरागी
जनकपुरधाम............
घरेलु खुल्ला मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा अबैध खुल्ला मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादक जिल्लाको हात्तीलेट गाविस(४ बस्ने जगतबहादुर बुलन र बिक्री वितरण गर्ने सहसौला गाविस(६ बस्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् ।
गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला(६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लि, उनका छोरा ३५ वर्षीय रामप्रगास मल्लि, ज्वाइँ गौशाला नगरपालिका(७ बस्ने ४५ वर्षीय पञ्चा मल्लि, छोरी (पञ्चाकी श्रीमती) ४० वर्षीया कलावती देवी र सम्धी औरही गाविस( ३ बस्ने ६० वर्षीय बद्री मल्लिको मृत्यु भएको थियो ।
पाँच जनाको एकै साथ मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा विनोद महराले बेचेको मदिरा विषाक्त रहेको आशंका गर्दै र उनले सो मदिरा जगतबहादुर बुलनले उत्पादन गरेको खुलेकोमा उनी दुवै जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताएका छन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पाँच जना मरेको घटना भएको दिन घटना स्थलमा पुगेका प्रहरीले विनोद महराको पसलबाट विक्री गरिएको मदिराहरु र मृतकका भिसेरालाई थप जाँच तथा परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । महोत्तरी प्रहरी उपरीक्षक भट्टराई भन्छन,“ ती पाँच जना व्यक्तिको मृत्यु खुल्ला मदिरा सेवनबाट वा फुड प्वाइजनिङबाट भएको हो भन्ने कुरा यकिन नभएपनि अबैध घरेलु मदिरा विषाक्त भई ती विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने हाम्रो आशंका छ । यकिन काठमाण्डौबाट मदिरा र भिसेराको परीक्षण प्रतिवेदन आएपछि मात्र खुल्ने छ ।”
पीडा र शोकमा परिवार
एकै परिवारका पाँच जनाको मदिरा सेवनका कारण मृत्यु भएपछि उक्त डोम समुदायको सिंगो परिवार नै विचल्लीमा परेको छ । सुकुम्बासी समेत रहेका उक्त परिवार सडकको जमिनमा नै फुसको टहरा बनाई बास बस्दै आएका थिए । गाउँमा मागेर तथा बाँसका बस्तुहरु निर्माण गरी बेचेर गुजारा गर्दै आएका उक्त परिवार पहिले नै दिन खाँदा रातको लागि समस्या पर्ने र रात खाँदा दिनको लागि समस्या पर्ने गरेको अवस्थामा अब उक्त परिवारका अगुवा पुरुषहरुको नै मृत्यू भएपछि उक्त परिवार विजोगमा परेका छन् । रक्सी उत्पादन भएपछि सेवन गरिन्छ तर उत्पादन नै नभएपछि सेवन नै नगर्ने भएकाले पनि प्रहरी प्रशासनले त्यस्तो रक्सी उत्पादन तथा विक्री वितरणमा रोक लगाइदिएको भए आफ्ना परिवारले रक्सी खाएर यसरी मर्नुपर्ने थिएन भन्दै आफ्न्तहरुले गुनासो गरेका छन् । अत्यन्तै गरिब तथा अशिक्षामा बाँचिरहेका उक्त परिवारलाई अहिले तत्काल क्रियाकरम गर्न पनि धौ धौ परेको छ । मृतक प्रकाश मल्लिकी श्रीमति इन्दुदेवी भक्कानिँदै भन्छिन,“त्यो रक्सीमा विष छ भन्ने कुरा थाहा भएको भए कसैले पनि रक्सी सेवन गर्ने थिएनन् । त्यो विष मिलाएर रक्सी बेच्नेलाई कारवाही हुनुपर्दछ । अब आफ्नो परिवारको गुजारा गर्ने मानिसहरु नै वितेपछि परिवारलाई कसरी लालनपालन गर्ने भन्ने चिन्ता थपिएको छ ।” दलितको नाउँमा सबै नेताहरु राजनीति गर्छन तर अहिले परेको बेला कुनै पनि नेता होस वा गाउँले नै होस कसैले पनि कुनै किसिमको मद्दत गरेको छैन । कफन समेत ऋण काढेर किनेको इन्दु देवीले गुनासो गरिन । कमसेकम जातिय परम्परा अनुसार किरिया करम र भोज भतेर गर्नुपर्ने बाध्यता छ । तर, पैसा नभएपछि कुनै पनि मालिकले ऋण कर्जा समेत नदिईरहेको अवस्थामा भोलीको भन्दा पनि अहिले किरिया गर्न नै अप्ठ्यारो परेको हुनाले नेपाल सरकारले त्यो व्यवस्था मिलाई दिए राम्रो हुने थियो, इन्दु देवी सरकारसँग गुहार लगाएकी छिन् । अब पुरुषहरुले रक्सी नखाने बताईरहेका छन् ।
मदिरा भट्टीहरुबाट उत्पादित विषाक्त मदिराबाट २०६५ यता महोत्तरीमा दुई दर्जन भन्दा बढीको ज्यान गएको तथ्यांक छ । अहिले पनि सो भट्टिहरुबाट उत्पादित मदिरा सेवन गरेको कारण महिनामा सरदर १५÷२० जना विरामी  भएर जिल्ला अस्पताल जलेश्वरमा आउने गरेका छन् । जिल्ला अस्पताल जलेश्वरका  डा. सतिस कुमार साह  अखाद्य तथा अनियन्त्रित केमिकल प्रयोगका कारण रक्सी विषाक्त हुने गरेको बताए । रक्सी तयार भएपछि यसको वैज्ञानिक परीक्षण हुनुपर्ने हो यो स्थानीयस्तरमा सम्भव हँदैन । डा. साहका अनुसार गुणस्तरहीन रक्सीको सेवनबाट लिभरमा प्रत्यक्ष असर गर्छ । रगत र मस्तिष्कमा क्लुकोज आभाव हुन्छ अनि सेवनकर्ताको तत्काल मृत्यु पनि हुन सक्छ । रक्सी सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, त्यसपछि दृष्टि गुम्ने अनि अचेत भएको ज्यान जाने लक्ष्यण देखिएको स्वास्थ्यका उनले बताए । त्यस्ता बिरामीमा उच्च रक्तचापसमेत देखिएको थियो ।  घरेलु मदिरा सेवनबाट बर्सेनी धेरैको ज्यान जाने गरेका कारण देखाउदै महोतरी प्रहरीले अवैध रुपमा संचालनमा रहेका अवैध घरेलु मदिरा भट्टीहरु नष्ट गर्ने कार्यलाई तीव्र बनाएको छ।जिल्लाको विभिन्न स्थानमा छापामारी मदिरा उत्पादन गर्ने लाखौंको सामानसमेत प्रहरीले जफत गरेको छ ।
     हुन त महोत्तरी प्रहरीले गत चैत्र महिना देखि नै अबैध तरिकाले घरेलु खुल्ला मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउन अभियान नै चलाएको थियो । प्रत्येक महिना जिल्लाका विभिन्न गाउँहरुमा गएर अवैध मदिरा भठ्ठी भत्काउने तथा तयारी रक्सी र कच्चा पदार्थ समेत बरामद गरी नष्ट गर्ने गरेका थिए । तै पनि उक्त कार्य पुर्ण रुपमा रोक्न सकिएको थिएन । प्रहरीको उक्त प्रयास जारी रहँदा पनि पाँच जनाको मृत्यु भएपछि अब महोत्तरी प्रहरीले जिल्ला भरीमा अवैध घरेलु खुल्ला मदिरा उत्पादन, विक्री, वितरणमा मात्र रोक लगाएको छैन, ती अवैध खुल्ला मदिरा सेवनमा पनि रोक लगाइएको महोत्तरीका एसपी भट्टराईले द एक्सक्लुसिभलाई बताएका छन् । एसपी भट्टराईका अनुसार महोत्तरीमा आफुहरुले उक्त अभियानलाई अगाडी बढाएको भएपनि पुर्णरुपले सेवन प्रतिवन्धित गर्न स्थानीय नागरिक समाज, मिडिया र राजनीतिक दलको समेत सहयोगको आवश्यकता छ ।
मान्छे पक्राउ पर्दैनन्
अबैध खुल्ला मदिरा विक्री वितरण कहाँ भईरहेको छ भन्ने कुरा महोत्तरी प्रहरीलाई थाहा नभएको होइन । भठ्ठी संचालन हुने स्थान र संचालक समेतको पहिचान महोत्तरी प्रहरीले गरिसक्दा पनि ती मदिरा उत्पादन गर्ने संचालकहरुलाई प्रहरीले पक्राउ गरी कानुनको दायरा भित्र ल्याउन सकिरहेको छैन । गत ६ चैत्र २०७२ देखि ८ आषाढ २०७३ सम्ममा महोत्तरी प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा संचालित अवैध ४१ वटा भठ्ठी नष्ट गर्नाका साथै ४ हजार ७ सय ६५ लिटर तयारी मदिरा र २१ हजार ५ सय ३५ लिटर कच्चा पदार्थ नष्ट गरेको छ । महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका वडा नम्बर ४ मा बैद्यनाथ चौधरी र लालु महत्तो, जलेश्वर वडा नम्बर १७ परकौलीमा तिलबहादुर दराई, परौल २ मा जामुन चौधरी, ३ मा विनोद साह, भ्रमरपुरा ५ मा रामचन्द्र चौधरी, जलेश्वर वडा नम्बर १२ मा फुलगेन चौधरी र लक्ष्मी चौधरी, सितापुर भंगहा २ मा जितेन्द्र यादव र जगत मण्डल, लोहारपट्टी महदैया तपनपुर ३ मा किशुन यादव, मटिहानीमा उपेन्द्र चौधरी, अशोक साह, संतोष साह, बफैली यादव, रामगोपालपुरमा शत्रुधन चौधरी र सत्ते यादव, शिसवा कटैया ४ मा राजकिशोर कायश्थ, धिरापुर मझौडा विशनपुर ९ मा लालविहारी साह, बगरा ५ लोहरपट्टीमा नबल यादव, धर्मपुर ४ मा प्रदिप राउत र गणेश गुप्ता, सुन्दरपुर ३ मा नाम नखुलेको, सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव, जगत मण्डल, गोनरपुरा ७ मा दिपलाल साह आदि संचालक रहेको भठ्ठीहरुमा महोत्तरी प्रहरीले विगत ४ महिनामा छापा मारी मदिरा बरामद गर्दै भठ्ठी समेत नष्ट गरेको छ । तर, ती संचालकहरुलाई पक्राउ गरी कानुनी दायरा भित्र ल्याउन सकिएको छैन ।
कतिपय अवस्थामा त के देखिएको छ भने एक पटक एउटा व्यक्तिद्वारा संचालित भठ्ठीमा प्रहरीले छापा मारी भठ्ठी नष्ट गरेपनि केही दिन नवित्दै त्यहाँ फेरी मदिरा भठ्ठी संचालन भएको र फेरीपनि प्रहरीले छापा मारी नष्ट गरेको देखिन्छ । जस्तै १० चैत्र २०७२ मा महोत्तरीको सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव र जगत मण्डलले संचालन गरेको दुईवटा भठ्ठीमा प्रहरी नायव निरीक्षक मो.नुरुलको कमाण्डमा गएको प्रहरी टोलीले १ सय लिटर तयारी मदिरा, २ सय लिटर कच्चा मदिरा नष्ट गर्नुका साथै ठुलो डूम ८ थान र १६ वटा गैलन बरामद गर्नुका साथै भठ्ठी नष्ट गरेको थियो । तर, फेरी ३० जेष्ठ २०७३ मा सितापुर भंगहा मै प्रहरी नायव निरीक्षक मेघराज चौरसियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही भठ्ठीबाट ४ सय ९० लिटर तयारी मदिरा र ६सय लिटर कच्चा मदिरा, ३२ जेष्ठ २०७३ मा सोही टोलीले जगत मण्डलको अवैध भठ्ठीबाट १ हजार ६० लिटर अवैध तयारी मदिरा र ८ सय लिटर कच्चा मदिरा नष्ट गरेको थियो । यसले के देखाउँछ भने प्रहरीले एक पटक भठ्ठी नष्ट गर्दा पनि ती भठ्ठी संचालकले फेरी उत्पादन गर्ने काम थालिहाल्दछन् । महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार प्रहरीले भठ्ठीमा छापा मार्न गएको बेला भठ्ठी संचालकहरु फेला नपर्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न सकिएको छैन ।
नियमन गर्ने निकाय बेखबर
अबैध मदिरा भठ्ठी उत्पादन तथा विक्री वितरण भईरहेको अवस्थामा कारवाही गर्ने निकाय भनेको आन्तरिक  राजश्व कार्यालय जनकपुर हो । तर, उक्त कार्यालयले त्यस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न विगतका बर्षहरुमा कुनै चासो नै नलिएपछि अवैध रक्सी उत्पादनको कार्य दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । खास गरेर धनुषा, महोत्तरी र सर्लाहीमा प्रत्येक गाउँ, टोल टोलमा अवैध मदिरा उत्पादन गर्ने गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ अनुसार धनुषामा छिरेश्वर डिस्टिलरी प्रा.लि., सांग्रिला डिस्टिलरी प्रा.लि., छिन्नमस्ता डिस्टिलरी प्रा.लि. र धनुषा डिस्टिलरी प्रा.लि. ले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रा.लि.ले हरिवनमा रक्सीको कच्चा पदार्थ स्प्रिीट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसका बाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन ।

महोत्तरीको सहसौला गाउँमा अवैध घरेलु मदिरा सेवनका कारण दलित डोम समुदायका एकै परिवारका पाँच जनाको मृत्यु भएपछि शोक सन्तप्त परिवार (बायाँ) र सडकमै घर टहरा बनाएका ती पीडित डोम समुदायको घर (दायाँ) ।
किरियामा बसेका विनोद मल्लि र उदय मल्लि ।
महोत्तरी प्रहरीले अवैध मदिरा भठ्ठी र अवैध मदिरा नष्ट गर्दै ।
२०७३ आषाढ १२ गते आईतबार