Monday, December 1, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह



ओहो कस्तो छप्पन व्यन्जन अरुको लागि विवाह पञ्चमी भा पनि हाम्रो लागि दशैं नै भो बा ! सर–सफाई नगरेकोमा जनपालाई धन्यबाद नै दिनु पर्ने भो ! अब बल्ल आइटम आइटम खाना पाइयो ।

२०७१ मंसिर १४ गते आईतबार

प्रहरी संगठन भित्र ‘सेक्स स्कयान्डल’

प्रहरीको उक्त नारा ‘सत्य सेवा सुरक्षणम’ 
पुर्णतः व्यवहारमा हालसम्म लागु हुन सकेको छैन ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रहरीमा सबै प्रहरीहरु राम्रा नै छन् भन्ने कुरा छैन । जनताको रखबाला तथा पहरेदारको भुमिका निर्वाह गर्ने भएकै हुनाले प्रहरीलाई मानिसले आफ्नो रक्षक ठान्छन् । तर, रक्षक नै भक्षक भई दियो भने जनता जाउन त कहाँ जाउन । यदि पुरुष प्रहरीबाट महिला प्रहरी नै असुरक्षित महसुस गर्न थाल्यो भने के हुन्छ ? विगतमा पनि देशका विभिन्न ठाउँहरुमा महिला प्रहरीहरु पुरुष प्रहरीबाटै असुरक्षित रहेको, यौन शोषणमा पर्ने गरेको र बलात्कृत समेत हुनु परेको घटनाहरु पनि संचार माध्यममा नआएको होइन ।
धनुषामा पनि केही पुरुष प्रहरीहरुले महिला प्रहरीहरुलाई शारिरीक शोषण गर्ने गरेको कुरा पनि नचलेको होइन । प्रहरी स्रोतका अनुसार धनुषामा पनि केही पुरुष प्रहरी महिला प्रहरीलाई विभिन्न प्रलोभन दिएर यौन शोषण गर्ने गरेका छन् भने केही महिला प्रहरीहरु बाहिर यौन धन्दा समेत गर्ने गरेका छन् । 
प्रहरी संगठन भित्र ‘सेक्स स्कयान्डल’
प्रहरी संगठन भित्र ‘सेक्स स्कयान्डल’ को घटनाको द एक्सक्लुसिभले तपाईहरु समक्ष पर्दाफास गर्दैछ । इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत एक जना महिला प्रहरी बाहिरका एक जना महिलासँग यौन सम्बन्ध राखेको खुलासा भएको छ । ३ कार्तिक २०७१ मा ती दुवै जना महिलाले रक्सी खाएर यौन सम्बन्ध राखि रहेको बेला दुवै महिला बीच झगडा, विवाद र कुटाकुट भएपछि मात्र उक्त कुरा सार्वजनिक भएको हो । महिला समलिङ्गी रहेकी ती महिला प्रहरी र अर्को महिला बीच प्रेम पत्र आदान प्रदान हुनुका साथ साथै एक अर्को बीच नगद र जिन्सी सामानहरु जसरी प्रेमी र प्रेमिका बीच आदान प्रदान गरिन्छ त्यसरी नै आदान प्रदान गर्ने गरेको थियो । नगद, जिन्सी सामान र सुन चाँदी समेत आदान प्रदान गरिएको थियो । लामो समय देखि यौन सम्बन्ध राखेकी ती दुवै महिला बीच झगडा भएपछि बाहिरकी महिलाले आफुले दिएको सामानहरु फिर्ता गर्न वा फिर्ता नगरे त्यसको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएकी थिइन । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त महिला प्रहरीलाई जिल्लामा तानेको थियो । अहिले ती महिला जिल्ला प्रहरीमै कार्यरत छिन् । केही महिला प्रहरीहरु अहिले पनि ‘कलगर्ल’को रुपमा कार्यरत रहेको केही प्रहरीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा मेजर हवलदारको भुमिका यम सापकोटा धेरै वर्ष देखि काम गरिरहेका छन् । मेजर हवलदारको काम के हो भने सिपाहीहरुको ड्यूटी मिलाउनु र परिचालन गर्नु । अहिले उनी मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडा तानिएका छन् । प्रहरी स्रोत कै अनुसार यम सापकोटा महिला प्रहरीहरुलाई राम्रो ठाउँमा ड्यूटी मिलाइ दिन्छु वा ड्यूटी नै गर्न दिन्न बरु त्यसको साटो यौन सम्बन्ध स्थापित गर्नु पर्छ भनेर महिला प्रहरीहरुलाई भन्ने गर्थे । हुन त केही प्रहरी के पनि भन्छन, भने यम सापकोटाका श्रीमति पनि आफ्नो श्रीमानको सेक्सको वफादारी प्रति सशंकित नभएको पनि होइन । सापकोटाको सवालमा पहिले पनि काठमाण्डौबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरुमा सापकोटाले आफ्नो अफिसरहरुलाई महिला सप्लाई  गर्ने गरेको भनेर समाचारहरु समेत प्रकाशित भईसकेका छन् ।
केही पुरुष प्रहरीका अनुसार ड्यूटी खटाउनका लागि सापकोटाले पुरुष प्रहरीसँग पनि घुस माग्ने गर्थे । त्यसैगरी डिआइजीको कार्यालय हेटौडाले धनुषाका प्रहरी जवान महेन्द्र महत्तो र प्रहरी उपरीक्षक गणेश बहादुर थापा क्षेत्रीका पिएसओ रहेका प्रहरी हवलदार बडाबाबु यादवलाई समेत झिकाएको छ । प्रहरी स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने भनिएपछि सुरक्षा अनुगमनको क्रममा डिआइजी प्रकाश अर्यालको गाडीलाई राति १२ बजे सफा गरेर ल्याउन भनेपछि भोली विहान गरिदिन्छु भनेका कारण अटेरी गर्यो, एसपीको पिएसओ वस्ने लायकै मान्छे होइन भनेर उनलाई विभागिय कारवाहीका लागि तानिएको हो । 
त्यसैगरी प्रहरी जवान महेन्द्र महत्तो बाहिर आफु असई हो, सइ हो भन्दै मान्छेसँग पैसा उठाउने गरेको आरोपमा उनलाई डिआइजी अर्यालले तानेको हो । यस सबालमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेको डिएसपी कृष्ण प्रसाईलाई द एक्सक्लुसिभले ती तिनजनालाई के आरोपमा हेटौडा झिकाइएको हो, भन्ने सबालमा आरोप के हो भन्ने कुरा आफुलाई थाहा नरहेको र ती तिन जनालाई हेटौडा पठाईदिन पत्र आएपछि पठाइएको हो भनेर प्रसाईले जवाफ दिएका थिए ।
यहि सबाल डिआइजी प्रकाश अर्याललाई द एक्सक्लुसिभले सोध्दा तपाईलाई किन मैले रिपोर्टिङ गर्नु पर्यो, अनुसन्धानको प्रतिवेदन तपाईलाई नै दिनु पर्यो कि भनेर रिसाएका थिए । अनुसन्धान नसकिँदै किन तपाईलाई भन्नु पर्यो, बरु तपाईसँग कुनै सुचना छ भने भन्नुस म अनुसन्धान गर्छु भनेर रिसाएका थिए । के आरोपमा विभागिय कारवाही गर्न लागिएको हो भनेर द एक्सक्लुसिभले पटक पटक जिज्ञासा राख्दा कुनै कारणवश झिकाइएको हो, निश्कर्ष निस्केपछि मात्र गलत वा सही हो भन्ने कुरा स्पस्ट हुन्छ र कन्कलुसिभ रिपोर्ट आउन सक्ने भनेर डिआइजी अर्यालले टेलिफोनमा जवाफ दिएका थिए ।
प्रहरीको ‘अपराध आचरण’
सर्लाही डुमरिया(४ का ३५ वर्षिय संजय झा पेशाले नेपाल प्रहरीका प्रहरी हवलदार हुन । २२ जेष्ठ २०६९ मा अञ्चल सशस्त्र प्रहरी गुल्म, जनकपुरमा उनको पोष्टीङ भएको थियो । अपराधिहरुलाई पक्राउ गरी शान्ति र व्यवस्थालाई कायम राख्नु, राख्न लगाउनु, कानुन बमोजिम पक्रन पर्ने व्यक्तिहरुलाई र पक्रनुपर्ने पर्याप्त कारण भएका व्यक्तिहरुलाई पक्रनु उनको कर्तव्य हो ।  उनले गरेको कार्य सम्पादनको मुल्याङ्कनकै परिणाम हुनुपर्दछ, १ कार्तिक २०७१ का दिन नेपाल प्रहरी संगठनले अञ्चल प्रहरी कार्यालय जनकपुरमा प्रहरी दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरेको थियो । तर, कस्तो संजोग पनि पर्यो भने विहान आफ्ना प्रहरी अधिकारीहरुको समक्ष उनी न्यायाधिशको हातबाट पुरस्कार थापेका थिए भने सोही दिन बेलुका उनलाई धनुषा प्रहरीले गिरफ्तार ग¥यो । उनीसँगै सोही कार्यालयमा कार्यरत महोत्तरी पुल्टा पड्कौली(९ का २५ वर्षिय प्रहरी जवान राजेश कुमार सिंह पनि पक्राउ परे । पक्राउ परेका ती दुवै जना प्रहरी कर्मचारीलाई धनुषा प्रहरीले ठगी र डाँका मुद्दाको अभियोग लगाएर धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
२५ माघ २०५७ मा प्रहरी सेवामा प्रहरी जवान पदमा नियूक्त भई नोकरी गर्दै आएको संजय झा नोकरीको सिलसिलामा पहिलो पटक काभ्रेपलाञ्चोक, दोस्रो पटक धनुषा र तेस्रो पटक हेटौडामा दरबन्दी परेको अनुसार उनी सबै स्थानमा काम गरे । करिब १८ महिना पहिले हेटौडाबाट अञ्चल सशस्त्र प्रहरी गुल्म जनकपुरमा उनी सरुवा भएर आएका थिए । उनी आफ्नो गाउँकै ओम प्रकाश सिंह भनिने मृत्युन्जय कुमार सिंह समेतको गिरोहमा आवद्ध भई मान्छेलाई लुटने आरोपमा अहिले पक्राउ परेका छन् ।
यसरी अपराधमा प्रहरी नै संलग्न रहेको भन्ने घटना नौलो होइन । यसअघि नेपाल प्रहरीमा कार्यरत हरेशिव यादव अपराधमा संलग्न भएपछि प्रहरीकै इन्काउन्टरमा मारिएको थियो । इलाका प्रहरी कार्यालय धोविडाडा, रामेछाप दरबन्दी भई सशस्त्र प्रहरी गुल्म जनकपुरमै कार्यरत रहेका धनुषाको तारापट्टी सिरसिया घर भएका प्रहरी जवान हरेशिव यादव रहजनी चोरी मुद्दामा अभियुक्त देखिएपछि १९ मंसिर २०६३ मा निलम्बन भएका थिए । ६ अषाढ २०६८ मा उनले पुनरावेदन अदालत जनकपुरबाट सफाई पाएर पनि हाजिर नभएका कारण  १६ जेष्ठ २०६९ मा उनलाई जागिरबाट हटाइएको थियो । त्यसपछि आफ्नै गाउँका सुरेश यादवको हत्या गरी सशस्त्र समुह संचालन गरिरहेका हरेशिव यादवलाई ६ साउन २०६९ मा प्रहरी इन्काउन्टरमा उनी मारिएका थिए । 
यसरी हेर्ने हो भने धनुषामा कार्यरत कतिपय प्रहरी कर्मचारीहरु आपराधिक गतिविधिमा   संलग्न भएको पाइन्छ ।
विभागिय कारवाहीमा परेको विवरण
जिल्ला प्रहरी कार्यालय धनुषाले २०६८ देखि २०७० सालसम्म तीन वर्षमा मात्र १ सय २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने ६३ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी ३ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी ९ जना प्रहरी जवानलाई तल्लो टाइम स्केलमा कारवाही, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ३ जना प्रहरी जवान गरी ६ जनालाई निलम्बन नै गरेको छ । त्यसैगरी १ जना प्रहरी हवलदारको ग्रेड रोक्का, ३ जना प्रहरी जवानको वढुवा रोक्का, १ जना प्रहरी निरीक्षक, ९ जना प्रहरी हवलदार र ३१ जना प्रहरी जवान गरी कुल ४१ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद दिइएको छ ।
त्यसैगरी अञ्चल प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७०÷०७१ मा मात्र २ सय ७४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने १ सय ६५ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी सहायक निरीक्षक, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १६ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी  १ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी हवलदार र १६ जना प्रहरी जवान गरी १९ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ । त्यसैगरी १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी हवलदार र १२ जना प्रहरी जवान गरी कुल १५ जनालाई निलम्बन गरेको छ । त्यसैगरी १ जना प्रहरी निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र २ जना प्रहरी जवान गरी कुल ६ जनाको ग्रेड रोक्का, १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ४ जना प्रहरी जवान गरी कुल ६ जनाको वढुवा रोक्का गरेको छ । त्यसैगरी  १ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक, १५ प्रहरी सहायक निरीक्षक, २५ जना प्रहरी हवलदार र ५४ जना प्रहरी जवान गरी कुल १ सय २ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद  दिइएको छ ।
त्यसैगरी १ जना प्रहरी हवलदारलाई तल्लो दर्जामा घटुवा समेत गरिएको छ । यसरी हेर्ने हो भने अञ्चल प्रहरी कार्यालय जनकपुरले २ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, २० जना प्रहरी सहायक निरीक्षक, ३१ जना प्रहरी हवलदार, १ सय २ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी गरी कुल १ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई १ वर्षमा मात्र विभागिय कारवाही गरिनुले पनि प्रहरीको आचरण कति हदसम्म गलत रहेको बुझ्न सकिन्छ ।
निश्प्रभावी ‘आचरण तालिम’
नेपाल प्रहरी संगठनमा नियमित रुपमा प्रहरी आचरणका लागि तालिम दिने गरिएको हुन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले बार्षिक क्यालेन्डर अनुसार मानव अधिकार, अपराध अनुसन्धान, सामुदायिक प्रहरी सेवा अनुशिक्षण, महिला तथा बालबालिका विरुद्धका अपराध अनुसन्धान प्रशिक्षण, मानव वेच विखन तथा ओसार पोसार र यौन शोषण विरुद्धका अनुसन्धान अनुशिक्षण लगायतका तालिमहरु नियमित रुपमा दिने गरेको छ । १ वर्षमा करिब २३ वटा तालिमहरु दिने गरिएको अञ्चल प्रहरी कार्यालय जनकपुरका तालिम शाखाका असई रामकुमार शर्माले जानकारी दिए ।
आचरण र व्यवहार तर्फ मातहतका जिल्ला भरिका सम्पुर्ण यूनिट इन्चार्जहरुलाई बोलाएर प्रत्येक महिनाको आइतवार अनुशासन, आचरण सुधार लगायतका विभागिय नीति निर्देशन अनुसार प्रहरी वरिष्ठ उपरीक्षकले तालिम दिने गरेका छन् । असई शर्माका अनुसार बेला बेलामा एसएसपी आफैले छडके जाँच समेत गर्छन् । प्रहरीको आचरण र व्यवहार सुधारका लागि प्रत्येक प्रहरी कार्यालयको मुलद्वारमा टोल फ्रि नम्बर समेत सार्वजनिक गरिएको हुन्छ । यति मात्र होइन, गुनासोको लागि उजुरी पेटिका साथै कार्यालय प्रमुखको नम्बर समेत राखेको हुन्छ । त्यसैगरी अहिले देशैभरीमा प्रहरीको आचरण कस्तो छ भन्ने अनुगमन गर्नका लागि केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले सादा पोशाकमा प्रहरी कर्मचारी सूचना संकलनको लागि खटाएको हुन्छ ।
यस अघि कुबेर सिंह राणा प्रहरी महानिरीक्षक भएका बेला डिआईजी समेतलाई कारवाही गर्न सकिने अख्तियारी दिएर पाँच वटै मध्यमाञ्चल क्षेत्रका लागि एसएसपीको कमाण्डमा छुट्टा छुट्टै टोली खटाएको थियो । उक्त समयमा जनकपुरमा एसएसपी रमेश खरेलको कमाण्डमा आएको टोलीले जनकपुरका विभिन्न पक्षहरुसँग अन्तरक्रिया गरी प्रहरीको आचरणबारे अनुगमन गरेको थियो । 


२०७१ मंसिर १४ गते आईतबार

रसायनिक मल र गहुँ विउको कालोबजारी किसान मर्कामा, सम्बन्धित निकाय मौन


राष्ट्रिय विउ विजन कम्पनी लि. जनकपुरमा 
गहुँको विउ किन्नको लागि लाइनमा
 महिला पुरुष किसानहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका किसानहरु अहिले मल खाद्य तथा गहुँको उन्नत विउ नपाएर मर्कामा परेका छन् । डिलर, कृषि सामग्री कम्पनी, साल्ट टेूडिङ कन्सर्न, राष्टिूय विउ विजन कम्पनीको मिलेमत्तोमा मल र गहुँको विउको कालोबजारी हुने गरेपछि किसानहरुले मल र विउ पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनीले किसानलाई सिधै रसायनिक मल विक्री वितरण नगरी सहकारी संस्था, डिलर र साल्ट टेूडिङ मार्फत विक्री वितरण गर्ने हुनाले किसानहरुले मल सहज रुपमा पाउन सकिरहेको छैन । मलको कालोबजारी पहिलो पटक भएको होइन । प्रत्येक वर्ष सरोकारबाला निकायहरुको मिलेमत्तोमै कालोबजारी हुने भएपछि किसानहरु महँगो शुल्क तिरेर मल किन्न बाध्य छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले रसायनिक मल वितरण गर्नका लागि धनुषामा २ सय र महोत्तरीमा १ सय डिलर निर्धारण गरेका छन् । प्रत्येक डिलरका लागि युरिया ९ सय ५२ रुपैयाँ प्रति बोरा, डिएपी २ हजार ३ सय १ रुपैयाँ प्रति बोरा, पोटास १ हजार ६ सय १ रुपैयाँ प्रति बोरा र भर्मि कम्पोस्ट १ सय ५१ रुपैयाँ प्रति बोरा मुल्य निर्धारण गरिएको छ । यातायात खर्च र लोड अनलोडको श्रमिक खर्च मात्र जोडेर सहज रुपमा र सुपथ मुल्यमा मल विक्री वितरण गर्न रसायनिक मल आपुर्ति समितिले निर्धारण गरेको छ । तर, मोटो रकम कमाउनका लागि प्रायः जसो डिलरहरुले गाउँमा मल लगेर विक्री वितरण नगरी सहरमै वढी मुल्यमा ती डिलरहरुले मल विक्री वितरण गर्ने गरेको किसानहरुको गुनासो छ ।

कृषि सामग्री कम्पनी लि. जनकपुरमा 
रसायनिक मल ट्रकबाट अनलोड गरिदै ।
शुक्रबार मल र गहुँको विउ किन्न सामग्री कम्पनी र विउ विजन कम्पनीमा पुगेका किसानहरुको के आरोप थियो भने गाउँमा रहेका डिलरहरु आफ्नो पसल कहिल्यै खोल्दैनन्, खोल्यो भनेपनि मल वा गहुँको विउ नै छैन, छ भनेपनि यति न विक्री मुल्य बताउँछन् कि किन्नै सकिन्न । हुन त यस आर्थिक वर्ष २०७१÷०७२ को प्रथम चौमासिक लक्ष्य अनुसार कृषि सामग्री कम्पनीले रसायनिक मल डिलरहरुलाई विक्री वितरण गरिसकेको छ । तर, किसानको हातमा उक्त मल पुग्न सकेको छैन । लक्ष्य अनुसार २२ सय मेटिूक टन यूरिया मध्ये २२ सय २२.६ मेटिूक टन पुर्ती, १२ सय  मेटिूक टन लक्ष्य रहेको डिएपी मध्ये १३ सय ८५ मेटिूक टन आपुर्ति र ६० मेटिूक टन लक्ष्य रहेको पोटासमध्ये  ९७ मेटिूक टन आपुर्ति गरिसकिएको कृषि सामग्री कम्पनीका निमित्त कार्यालय प्रमुख नारायण टुँडुको दावी छ ।
गहुँको विउमा पनि कालोबजारी
राष्टिूय विउ विजन कम्पनी लिमिटेड जनकपुरले धनुषा, महोत्तरी र सर्लाहीका किसानहरुका लागि उन्नत जातिका गहुँको विउ विक्री वितरण गर्ने जिम्मेवारी पाएको छ । त्यसका लागि धनुषामा २३, महोत्तरीमा १८ र सर्लाहीमा ९ गरि कुल ५० वटा डिलरहरुलाई गहुँको विउ विक्री वितरण गर्न कम्पनीले जिम्मेवारी दिएको हो । एनएल, गौतम, विजय र भृकुटी गरी चार जातीका गहुँको विउ १ हजार ६ सय १२ रुपैयाँ प्रति बोरा कम्पनीले डिलरहरुलाई विक्री वितरण गर्ने गरेको छ । १ बोरामा ४० किलो गहुँ हुन्छ । ११ मंसिरसम्म धनुषामा २ सय ८ मेटिूक टन, महोत्तरीमा १ सय १४ मेटिूक टन र सर्लाहीमा १ सय ५० मेटिूक टन गहुँ वितरण गरिसकिएको कम्पनीका निमित्त कार्यालय प्रमुख रामबाबु महत्तोको भनाई छ ।
धनुषामा २ सय ७५ टन, महोत्तरी र सर्लाहीका लागि क्रमशः २ सय २५ टन गहुँको विउ डिलरहरुका लागि कोटा छुट्याइएको छ । धनुषाको लागि कोटामा आधा आधा डिलर र कम्पनीले छुट्याएको छ । धनुषामा कम्पनीमा गएर एउटा किसानले १ देखि २ बोरा सम्म गहुँको विउ किन्न सक्ने व्यवस्था मिलाइएको छ । तर, महोत्तरी र सर्लाही जिल्लाको लागि किसानले डिलर मार्फत नै विउ किन्नु पर्ने बाध्यताका कारण किसानहरु चर्को मुल्य तिरेर मल किन्नु परेको छ । कम्पनीका निमित्त कार्यालय प्रमुख महत्तो भन्छन,“किसानहरुको गुनासो आफ्नो ठाउँमा हुनु स्वाभाविक हो । हामीले पनि अनुसन्धान गर्दै छौं । यदि कुनै किसानले डिलरले कालो बजारी गरेको प्रमाण ल्यायो भने उक्त डिलरको डिलर सिप खारेजी गर्ने छौं ।”
जिल्ला कृषि विकास शाखा कार्यालय धनुषाका कार्यालय प्रमुख रामप्रकाश साह भन्छन,“ मल तथा विउको कालोबजारी भएको समाचारहरु प्रकाशित भएपछि विभागले पनि हामीलाई सोधेको छ । कतिपय ठाउँमा डिलर नै छैनन्, त्यहाँ किसानको पहुँच नभएपछि कालोबजारी भएको भन्नु स्वाभाविक हो । तर, हामीले अनुसन्धान जारी राखेका छौं, दोषी पाइए कारवाही हुनेछ ।”
सम्वन्धित निकायले जे जस्तो भनेपनि यो समस्या यस पटक मात्र देखिएको होइन । बर्षेनी डिलरहरु कालोबजारी गरेर मालामाल हुने र किसानहरु मर्कामा पर्ने गरेका छन् । सरोकारबाला निकायले प्रत्येक वर्ष यसरी नै आलटाल गरी घटनाको ढाक छोप गर्ने गर्छन तर कुनै पनि कालोबजारी गर्ने डिलरलाई हालसम्म कुनै पनि किसिमको कारवाही हुन सकेको छैन । ती निकायका अधिकारीहरुले प्रतिबद्धता गरे अनुसार कारवाही हुन्छ की हुँदैन भन्ने कुरा हेर्न बाँकी नै छ ।


२०७१ मंसिर १४ गते आईतबार

मन्त्री निधिलाई थप चुनौति ‘जनक दरबार’

धनुष महोत्सवमा बनाइएको 
जनक दरबारको मुर्ति सहितको प्रतिमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर सहरसँग नजिकै टाँसिएर रहेको बेंगा शिवपुर गाविस वडा नं. ७ स्थित जानकी मन्दिरको अधिनस्थ रहेको ५२ विघा जग्गामा अहिले शिव धनुष महोत्सवको अवसर पारी ठुलो मेला लगाइएको छ । बर्षौ देखि अतिक्रमण र बेवास्ताको शिकार बनेको उक्त जग्गामा अहिले धनुष महोत्सव आयोजन गरी जनक दरबार बनाउने कुराले जो कोही पनि आश्चर्य चकित छ ।
शिवगढी ५२ विगहा क्षेत्र संरक्षण समितिको आयोजनामा ७ मंसिरबाट सुरु भएको उक्त मेला १३ मंसिरमा सम्पन्न भयो । उक्त मेलामा १ सय ५५ फिट लामो धनुषको मुर्ती, राजर्षी जनकले हलो जोत्दा सीताको उत्पति भएको मुर्ति, सीताको जन्मदेखि स्वयम्वर सम्मको माटोको कुल ५२ वटा मुर्तीको प्रतिमा बनाईएको थियो । भारतको दरभंगाबाट मँगाइएका १३ जना मुर्तीकारहरुको टोलीले करिब १५ दिनमा उक्त मुर्तीहरु बनाए वापत रु. १० लाख लिएको संरक्षण समितिका प्रवक्ता संजीव झा सुरजको भनाई छ ।
द्वन्द्वको सकारात्मक रुपान्तरण
धनुष महोत्सवमा
१ सय ५५ फिटको शिव धनुष ।
नेपाल सरकारका एक जना प्रभावशाली मन्त्रि भौतिक, पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर सहरको एकिकृत सहरी विकास परियोजनाका लागि आवश्यक पर्ने ल्याण्ड फिल साइटका लागि धनुषाको बेंगा शिवपुर ७ स्थित ५२ विघा जग्गा प्रस्ताव गरे पछि गैर कांग्रेस दलहरु सम्मिलित मोर्चा विरोधमा उत्रिएको थियो ।
एकिकृत सहरी विकास परियोजनाको लागि प्राविधिक टोलीले धनुषाको फुलगामा स्थित मनियारी चौटीमा रहेको जग्गालाई स्वीकृत गरी गठी संस्थान सँग जनकपुर नगरपालिकाको कार्यालयले सम्झौता गरिसकेको अवस्थामा मन्त्री निधिले कुनै पनि हालतमा उक्त स्थानमा ल्याण्ड फिल साइट बन्न नदिने चेतावनी दिएपछि जनकपुरमा राजनीतिक दलहरु दुई धु्रवमा विभाजित भएका थिए । अनि खेल सुरु भयो विरोध र समर्थनको ।
मधेस केन्द्रित राजनीतिक दलहरुका जनकपुर नगर समिति स्तरीय संयन्त्रले मन्त्री निधिको प्रस्ताव विपरित सुरु गरेको आन्दोलनले मुर्त रुप लिन नसकिरहेको अवस्थामा नेपाली कांग्रेसकै संस्थापन पक्ष र पुर्व मेयर वजरंग साह समेत मन्त्रि निधि विरुद्ध ओलिए । यति मात्र होइन, सत्ता साझेदारी गर्ने नेकपा एमालेका केही केन्द्रिय र जिल्ला स्तरीय नेताहरु समेत सहभागी भए पछि मन्त्री निधिलाई थप चुनौती वढ्दै गयो । त्यसपछि एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य समेत रहेका नेता रामचन्द्र झाले उक्त मोर्चाको नेतृत्व गर्न थालेपछि मन्त्रि निधिको प्रस्ताव विरुद्धको उक्त आन्दोलनले झन उचाई लियो ।
राजर्षी जनकले हल चलाउँदा 
सिताको उत्पति भएको मुर्तिको प्रतिमा ।
त्यसपछि २३ साउनमा औपचारिक रुपमै तिनीहरु वैठक राखी उक्त स्थानमा ल्याण्ड फिल साइट हुनु भएन, धार्मिक स्थान भएकाले धार्मिक कार्य मात्र हुनु पर्ने भनेर निर्णय नै गरे । २७ साउनमा तिनीहरुको वसेको वैठकले उमेश यादवको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरियो । उपाध्यक्षहरुमा  रामबाबु यादव, विनोद साह, शिवशंकर यादव, नबल यादव, भगवान दत्त साह, सचिवमा नरेश यादव, सह सचिवमा महेश साह, सुरेन्द्र दास, कोषाध्यक्षमा रामबरण यादव, प्रवक्तामा संजीव कुमार झा सुरज, सदस्यहरुमा वैद्यनाथ यादव, दिपेन्द्र यादव, पाण्डव यादव, नविन यादव, जयनारायण यादव, विनोद गामी, वृजु दास, श्याम पुर्वे, सहदेव मुखिया, महन्थी साह, लक्ष्मेश्वर यादव, सुरेन्द्र प्रसाद साह, शिवकुमार यादव सहित २५ सदस्यीय समिति गठन गरियो । सोही दिन एउटा संस्था दर्ता गरी जनताद्वारा संस्थागत रुपमै संरक्षण गर्ने निर्णय समेत गरियो ।
त्यसपछि ६ भदौमा संस्थाको विधान बनाई दर्ता गर्ने र १६ सदस्यीय सल्लाहकार समिति बनाउने उक्त संरक्षण समितिले निर्णय गर्यो । निर्णयानुसार सल्लाहकारहरुमा एमाले नेता श्रीप्रसाद साह, फोरम लोकतान्त्रिकका नेता रामगोविन्द यादव, विक्रम पजियार, श्रीराम साह, प्रा.रामचन्द्र यादव, विजय कुमार चौधरी, रामस्वार्थ यादव, रामानन्द पजियार, विन्देश्वर साह, चन्द्रेशेखर प्रसाद साह, देवेन्द्र यादव, कैलाश जैन, पञ्चलाल दास, गंगाराम यादव  चयन गरियो ।
त्यसपछि १८ भदौमा बसेको संरक्षण समितिको वैठकबाट शिवपुर गढीमा हजारौं वर्ष पुरानो शिलापत्र, भाँडा कुडा लगायत पुरातात्विक महत्वका सामग्रीहरु इँट्टा, खपरा तथा माटोका भाँडाकुडाहरु पटक पटक विगतमा पनि प्राप्त भएकाले पुरातात्विक उत्खन्नका लागि पुरातत्व विभाग र गठी संस्थानको केन्द्रित कार्यालयमा डेलिगेशन जाने टोलीको नामावली समेत चयन गरियो । साथै २० असोजमा विरोध जुलुस र विरोध सभा गर्ने समेत निर्णय गरे ।
२४ भदौमा रामगोविन्द यादव, नरेश यादव, संजिव झा लगायतको टोली पुगेर ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सामग्रीहरु उत्खनन तथा संकलनका लागि पुरातत्व विभागमा निवेदन दर्ता गराए ।
१२ भदौमा संरक्षण समितिको बसेको बैठकबाट गरिएको निर्णयानुसार ५२ विघा जग्गाको जग्गा नाप नक्सा छुट्याउने सम्बन्धमा प्रधानमन्त्री, राष्टूपति, गुठी संस्थान केन्द्रित कार्यालय, सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, भुमि सुधार कार्यालय, एकिकृत शहरी विकास परियोजना इकाई जनकपुर तथा परियोजना प्रमुख लगायतका सरोकारबालाहरुलाई ज्ञापन पत्र बुझाइयो ।
त्यसपछि एकिकृत सहरी विकास परियोजनाको ल्याण्ड फिल साइटका लागि ‘स्वाइल टेस्ट’ गर्नका निम्ति त्यहाँ पुग्न खोजेका सहरी विकास मन्त्रालयका सचिव तथा परियोजनाका प्रमुख ५२ विघामा जान लाग्दा संरक्षण समितिले पुलचौकमा चक्काजाम गरी चौविसै घण्टे धर्ना दिएपछि उनीहरु ‘स्वाइल टेस्ट’ नगरिकन फर्किन बाध्य भए । संरक्षण समितिले तिनीहरुलाई कालो झण्डा समेत देखाएका थिए ।
अनि त्यसपछि ११ असोजमा महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु बनाइयो । अर्थ समितिमा उमेश यादव, प्रचार प्रसारमा राम गोविन्द यादव, स्वागत तथा सत्कारमा श्रीप्रसाद साह, सुरक्षा तथा स्वयमसेवक परिचालनमा देवचन्द्र यादव, कथा प्रवचनमा जयनारायण यादव, मुर्ती तथा धनुष निर्माणमा विजय कुमार चौधरी, भोजन तथा खानामा रामवरण यादव, आवासमा सहदेव मुखिया, यातायात परिचालनमा रामबाबु यादव, अनुगमनमा नरेश यादव, मेला व्यवस्थापन समितिमा वृजु दास, प्राविधिक व्यवस्थापनमा सुरेन्द्र दास, अतिरिक्त क्रियाकलापमा सुरेन्द्र दास क्रमशः संयोजक बनाइयो । त्यसैगरी कार्यालय सचिवमा शिव कुमार यादव र जिवछ यादवलाई नियूक्त गरियो ।
त्यसपछि ५ कार्तिकमा हनुमान ज्यन्तीको शुभ शाइत पारी धर्मध्वजको स्थापना तथा भुमी पुजन समेत गरियो । १६ कार्तिकमा पुरातत्व विभागबाट धनपति घिमिरेको संयोजकत्वमा मन्जु थापा भण्डारी, रमेश यादव, गीता भण्डारी सहितको ५ सदस्यीय टोली आएर उत्खनन गरी इँटा, मानवको हड्डी, भाँडा कुडा लग्यो । र, प्रतिवेदन तयार  गरी बुझाइने र उक्त क्षेत्रलाई संरक्षण गरी राख्न बताइयो ।
२३ कार्तिकमा २२ दलका केन्द्रिय नेताहरुले उक्त ठाउँमा जनक दरबार निर्माण गर्ने कार्यका लागि सिलान्यास पनि गरिसकेका छन् । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिझवान अन्सारी लगायत २२ दलका केन्द्रिय नेताहरुले जनक दरबार निर्माणका लागि सिलान्यास समेत गरिसकेका छन् ।
मिथिला महात्मयका अनुसार जनकपुरको पुर्व र उत्तर कोणलाई इष्ट देवको स्थान मानिएको हो । राजा दधिचिको हड्डीले बनेको शिव धनुष परशुरामका मार्फत राजा जनकको दरबारमा ल्याइएको थियो । उक्त धनुष राख्ने पुजा कोठा ५२ विघा नै रहेको मानिएको छ । धनुष यज्ञ हुँदा कस्तो भएको थियो होला भन्ने टेलर देखाउनका लागि उक्त धनुष महोत्सव आयोजन गरिएको संरक्षण समितिका सल्लाहकार राम गोविन्द यादवको भनाई छ । संरक्षण समितिले अब अस्ट द्रव्य (सुन, चाँदी, पितल, तामा लगायत) सबाकिलो, सवा मन, सहित हिन्दु धर्माव्लम्बीहरुबाट सहयोग मागि उक्त अष्ट द्रव्यबाट निर्मित धनुष बनाउने अठोट समेत लिई सकेका छन् । रामानन्द सागरद्वारा निर्मित भारतीय टेली श्रृङ्खला रामायणमा देखाइएको जनक दरबार जस्तै निर्माण गर्न एक जना आर्किटेक्ट इन्जिनियरसँग समेत कुराकानी भईरहेको यादवले बताए । चाँडै सर्वपक्षिय अन्तरक्रिया गरी कस्तो मोडेलको जनक दरबार निर्माण गर्ने भन्ने कुराको टुङगो लगाइने यादवले बताए । अहिले मिथिला बाटिकाको समेत कुरा चलेको छ । त्यसको लागि ५० लाख रुपैयाँ दिने दाता समेत तयार भईसकेको छ । त्यसैगरी रामदेव बाबाको एउटा टोली दरबार निर्माणका लागि हजारौं श्रमिक निशुल्क उपलब्ध गराउने प्रतिवद्धता गरेको यादवले बताए । हुन त धेरै भु माफियाहरु पनि चलखेल गर्न सुरु गरेको हुनाले केही चुनौती अवश्य नै खडा हुने भएपनि संरक्षण समिति त्यसको लागि तयार   रहेको उनले बताए ।
यसरी हेर्ने हो भने मन्त्री निधि र मन्त्री निधिका विरुद्ध जसरी धनुषामा एकिकृत सहरी विकास परियोजनाको सेनिटरी ल्याण्ड फिल साइटका लागि फुलगामामा हुन नदिएर मन्त्री निधिले जितेको देखिएपनि मन्त्री निधिले नै प्रस्ताव गरेको ५२ विघामा हुन नदिएर २२ दलको जित भएको र मन्त्री निधिको हार भएको अवस्था सहजै देखिन्छ । तर, अब उक्त ठाउँमा जनक दरबार निर्माण हुने हो कि ल्याण्ड फिल साइट निर्माण हुने हो, त्यो हेर्न बाँकी नै छ । यति मात्र होईन उक्त विवाद कहाँ गएर टुङ्गिने हो वा झन चर्किदै जाने हो भन्ने यकिन हुन सकेको छैन ।


२०७१ मंसिर १४ गते आईतबार

रामजानकी विवाहमहोत्सव धुमधामका साथ सम्पन्न


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मर्यादा पुरुषोत्तम भगवान राम र सीताको वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम गरी जनकपुरधाममा मंगलबार रामजानकी विवाहमहोत्सव मनाइयो । जानकी मन्दिर प्राङ्गनमा मंगलबार साँझ वैदिक परम्परा अनुसार भगवान राम र सीताको  विवाह भएको छ । जानकी मन्दिर प्राङ्गनमा बनाइएको विशेष मण्डपमा भगवान राम र सीताको भूमिकामा रहेको दुवै जना बीच मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रम गरियो । वैवाहिक कार्यक्रममा मिथिलाको संस्कृति झल्किने लोक गीत, ठट्टापनि उत्तिकै देखियो । जन्ती पक्षले जानकी पक्षको महिलाहरुलाई जिस्काए भने जानकी पक्षका महिलाहरुले लोक गीतमार्पmत जन्तीलाई हदैसम्म गाली गर्न भ्याए । 
यसरी लोकगीतमार्पmत दुवै पक्षले एकअर्कालाई जिस्काएको सुनेर उल्लेख्य संख्यामा सहभागी श्रद्धालुहरु रोमाञ्चित भएका थिए । 
वैवाहिक कार्यक्रमको दौरान भएको यस्तो ठट्टाले सहभागीहरुलाई मिथिला संस्कृतिको आप्mनै पहिचान भएको महसुस गराए । 
दुवै पक्षबीच एकआपसमा भएको ठट्टा पनि हेर्न लायकको थियो । मिथिलामा वैवाहिक कार्यक्रममा जन्ती पक्षलाई बेहुली पक्षले लोकगीतमार्पmत गाली दिने चलन नै छ । सीताको अभिभावकको भूमिमा रहेका जानकी मन्दिरका महन्त बाबा रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका छन । 
कन्यादान गर्दै महन्त रामतपेश्वर दाव वैष्णवले छोरी अर्थात सीतालाई रामको जिम्मा लगाए ।  रामको अभिभावकको भूमिकामा रहेका राम मन्दिरका महन्त बाबा राम गिरी वैष्णवले सम्धी मिलन गरेर वैवाहिक कार्यक्रम समापन गरे । यस वर्षको रामजानकी विवाहमहोत्सवमा भारत अयोध्याबाट विशेष जन्ती जनकपुरधाम आएको थियो । अयोध्याबाट आएका महन्त सुरेश दास भगवान रामको वुवा अर्थात राजा दशरथको भूमिका निर्वाह गरेका थिए । यसअघि भगवान राम र सीता बीच बिहीबार दिउसो ऐतिहासिक रंगभूमी मैदान बारहविग्हामा स्वय्म्वर कार्यक्रम गरियो । राम मन्दिरबाट भगवान रामको जन्ती तामझामका साथ बारहविग्हा पुगेको थियो । जानकी मन्दिरबाट सीताका अभिभावक महन्त रामतपेश्वर दास वैष्णवको अगुवाईमा गाजावाजाका साथ गएको टोलीले भगवान राम र सीताको स्वयम्बर कार्यक्रम सम्पन्न गरेको थियो । 
भगवान रामको डोलालाई जानकीको डोलाले परिक्रमा गरेर स्वय्म्बर कार्यक्रम गरिएको थियो । सो अवसरमा दुवै मन्दिरका महन्त, भारत अयोध्याबाट आएका जन्ती, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, बुद्धिजिवि, व्यापारी, उद्योगी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, युवा क्लबका, प्रतिनिधि लगायत देश विदेशबाट आएका श्रद्धालुभक्तजनको उपस्थिति थियो । स्वय्म्वर कार्यक्रम पूरा भएपछि भगवान राम र सीताको डोलालाई नगर परिक्रमा गराइयो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र सीताको विवाह भएको दिनको सम्झना स्वरुप हरेक बर्ष विवाह पञ्चमी धुमधामका  साथ मनाउने    गरिएकोछ । 
बिहीबार बिहानैदेखि राम(जानकी मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको थियो । जनकपुरको गंगासागर, दशरथ तलाउ, धनुषसागर लगायतका तलाउहरुमा स्नानगरी पूजा(पाठ गर्नेहरुको उल्लेख्य भीड देखियो । विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामलाई विशेष रुपमा सजाइएको थियो ।
जनकपुरको मुख्यद्धारहरुमा स्वागतद्धारहरु निर्माण गरिएको छ । जनकपुरधाममा आएका श्रद्धालुभक्तजनहरुको लागि स्थानीय संघसंस्थाहरुले निःशुल्क भोजन, आवास, स्वास्थ्य शिविर, जल वितरण गरेका छन् ।
देश विदेशबाट हजारौको संख्यामा आएको श्रद्धालुभक्तजनको लागि स्थानीय प्रशासनले सुरक्षाव्यवस्था कडा पारेका छन् ।  
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका धेरै स्थान लगायत भारतका समेत विभिन्न स्थानबाट भक्तजनहरु जनकपुर आएका छन । गएको शनिवारदेखि विधिवत रुपमा सुरु भएको रामजानकी विवाहमहोत्सवको अन्तिम दिन शुक्रबार रामकलेवा अर्थात विदाई कार्यक्रम गरिने भएको छ । भगवान रामको जन्तीको शुक्रबार विदाई गरिने भएको छ ।
रामजानकी विवाहमहोत्सवमा सहभागी हुन अयोध्यााबट जन्ती गएको सोमबार जनकपुरधाम आइपुगेको थियो । जन्तीको भोजन, आवास लगायत सम्पूर्ण प्रबन्ध जानकी पक्षले गरेको छ । 


२०७१ मंसिर १४ गते आईतबार

एमालेमा कारवाही


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 नेकपा एमालेले नेतृ जुली महतोलाई पार्टीबाट निलम्बन गरेको छ । महतोले पार्टी विरोधी गतिविधी गरेको भन्दै जिल्ला कमिटि धनुषाले ६ महिनाको लागि निलम्बन गरेको हो । एमालेको जिल्ला कमिटि धनुषाले पार्टी विरोधी गतिविधी गरेको भन्दै महतो सहित २१ जनालाई निलम्बन गरेको जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य शत्रुध्न महतोले जनाएका छन् ।
महतोलाई जिल्ला कार्यसमिति निर्णय विपरित पार्टी विरोधी गतिविधीमा संलग्न रहेको भन्दै केन्द्रीय सचिवालयको निर्णय अनुसार कारबाहि गरिएको महतोले बताए । त्यसैगरी संविधानसभा निर्वाचनमा पार्टीलाई घात पु¥याएको भन्दै संगठित सदस्यता नविकरण गर्न बाँकी सदस्यहरुलाई एक वर्षको लागि निलम्बन गरिएको बताइएको छ ।
एकवर्षका लागि निलम्बन हुनेहरुमा जयप्रकास सुनरैत, सोभित महतो, शिवा पासमान, शिवुकुमार कौशल, अवधेश पोख्रेल, वचनदेव पंजियार, रामचरित्र साह, किशोरी साह, रामबली साह, डुन्डीराज दहाल, सुशीलकुमार साह, रामसागत महतो, राजकुमार महतो र मोजिबुल रहमान रहेका छन् ।
यसैगरी संगठित सदस्यता नविकरण भएका तर पार्टी गतिविधीमा संलगन सातजनालाई ६ महिनाको लागि निलम्बन गरिएको एमालेले जनाएको छ । ६ महिनाका लागि निलम्बन भएकाहरुमा कमलदेव यादव, रामचन्द्र पण्डित, जुली महतो, श्याम पुर्वे, फुलगेन साह, हरि नारयाण महतो र चन्द्रदेव राउत रहेका छन् । यसैगरी सदस्यता शुल्कको लाखौ रुपैया हिनामिना गरेको भन्दै सहदेव मुखियालाई एकवर्षको लागि संगठित सदस्यताबाट निलम्बन गरिएको एमालेले जनाएको छ ।
अगामी २४ गतेदेखि २६ गते सम्म हुने जिल्ला अधिवेशनको ८५ प्रतिशत तयारी पुरा भइसकेको अवस्थामा उनीहरुले सामान्तर गाउँ कमिटि, क्षेत्रीय कमिटिहरु गठन गरेको आरोप लगाउँदै कारबाहिको प्रक्रिया थालेको आरोप लगाइएको छ । यता अर्को पक्षले मंसिर २२ र २३ गते जिल्ला अधिवेशन गर्ने तैयारी गरेको छ । यसै बीच एमालेको अञ्चल समन्वय कमिटिको दोस्रो पुर्ण वैठकले जिल्ला कमिटिद्वारा गरिएको कारवाही सिफारिसलाइ अनुमोदन गरिएको छ । अञ्चल इन्चार्ज लक्ष्मण पौडेलद्वारा जारि विज्ञप्तिमा कारवाही अनुमोदन गर्नुका साथै धनुषा जिल्लाको अधिवेशन १८ देखि २० पुषमा सारिएको जनाइएको छ ।


२०७१ मंसिर १४ गते आईतबार

फोहोरले जनकपुर दुर्गन्धित


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विवाह पञ्चमी मेला भर्न आएका भक्तजनहरुले गरेको फोहोरले जनकपुर नगर दुर्गन्धित बनेको छ । सप्तहव्यापी विवाहपञ्चमी महोत्सव जनकपुरमा सकिए लगतै दुर्गन्ध भने बढेर गएको छ । मेला भर्न टाढा टाढाबाट जनकपुर आएका लाखौ दर्शनार्थीले गरेको दिसा पिसावको कारण जनकपुर नगर दुर्गन्धीत बनेको हो । विवाह पञ्चमी मेलाको मुख्यस्थल बाह्र विगाह मैदानमा जताततै गरिएको दिसापिसावले हेरिनसक्नु  भएको छ ।
त्यस्तै जनकपुरका सडक, चौर, ढलनाला, पीढी जतासुकै दिसा पिसाव र  फालिएको प्लास्टिक, कागज लगायतका फोहरमैलाले जनकपुरबासी सहिनसक्नु भएको छ । 
 महोत्सवमा सहभागि हुन आउने लाखौ श्रद्धालु आगन्तुकहरु लागि सरकारी पक्षले ठाउँ ठाउँमा पर्याप्त शौचालयको व्यवस्थापन नगर्दा यस्तो दुरावस्था आएको हो । दिशाको दुर्गन्धको कारण अहिले जनकपुरमा बटुवालाई नाक थुनेर हिड् डुल गर्नु पर्ने अवस्थाको सृजना भएको छ । फोहोरको कारण जनकपुरनगरबासीहरु अहिले घरबाट बाहिर निस्कन गाह्रो मान्न थालेका छन् ।  
 फोहर प्रदुशनको कारण घरबाट बाहिर निस्किन समेतअफुहरुलाई गह्रो  भए तापनि नगर सरसफाईको लागि नगरपालिकाले अहिले सम्म चासो नदेखाएको स्थानीय सुशील कर्णले बताउनुभयो । हरेक वर्ष अत्यधिक संख्यामा श्रद्धालुभक्तजनहरु आए पनि त्यस अनुसारको सम्बन्धीत निकायले व्यवस्थापन नगर्नुले प्रत्येक वर्ष यस्तै समस्या नगरबासीले भोग्नु परेको उहाँको भनाई छ । अवका आउदा दिनहरुमा सम्बन्धीत निकायले उचित व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।
 यता जनकपुरनगरपालिकाका प्रमुख नुरहरि खतिवडाले विवाहमहोत्सव पूर्व नगर सरसफाई राम्ररी गरे तापनि आएका लाखौ श्रद्धालुहरुले गरेको फोहरले जनकपुर प्रदुशन भएको बताउनु भयो । महोत्सव लगतै हिजोबाटे नगरपालिकाका सम्पूर्णकर्मचारीहरु जोडतोडका साथ सरसफाईमा भिडेकोले चाडै सकिने उहाँको भनाई छ । उहाँले सरसफाई नियमित कार्य हो तर पनि महोत्सवमा बढेको फोहरले जनकपुर दुर्गन्धित भएको र आफुहरु चाडो भन्दा चाडो सरसफाई सकाउने बताउनुभयो ।
         महोत्सवमा जनकपुर नगरपालिका ,वृहत्तर क्षेत्र विकास परिषद र जानकी मन्दिर व्यवस्थापन पक्षले श्रद्धालुहरुका लागि बास, शौचालय , खाने पानीको पर्याप्त व्यवस्था गरेको दावी गरे पनि व्यबहारमा त्यो नदेखिएको स्थानियको आरोप छ । विभिन्न निकायले वाह्रविघा मैदानमा लाखौ श्रद्धालुको तीन दर्जन मात्र अस्थाई शौचालय निर्माण गरेको थियो जुन हातीको मुखमा जिरा उखान जस्तै भएको छ ।
      ऐतिहासीक विवाह पञ्चमी महोत्सवमा शौचालयको उचित व्यवस्थापन नहुँदा दर्शनार्थीले खुल्ला ठाउँमा दिशा पिसाब गरेका हुन् । देशमा मात्र नभएर अन्तर्राष्टिूय स्तरमा समेत परिचित मिथिलाको राजधानी जनकपुरमा मनाइने विवाह पञ्चमीमा आगामी वर्षहरुमा भने सम्बन्धीत निकाएले उचित व्यवस्थापन गर्नुपर्ने स्थानियबासीको माग छ ।
       हरेक वर्ष जनकपुरमा मनाइने विवाह पञ्चमीमा यसरी बढ्ने दुर्गन्धका कारण जनकपुर आउने पर्यटक र दर्शनार्थीहरुमा नकारात्मक सन्देश जाने हुनाले जनकपुरलाई स्वच्छ र शान्त नगरका रुपमा परिचित गराउनुपर्नेमा स्थानीय बासीन्दाको जोड दिएका छन् । जनकपुरमा सरसफाईको नाममा समय समयमा जिल्ला विकास समिति धनुषा, जनकपुर नगरपालिका र सरसफाई डिभिजन कार्यालय लगायतका निकायले भोजभतेर र विभिन्न कार्यक्रम गरि करोडौ रुपैयाँ खर्चिने गरेका छन् । तर अहिले सम्म जनकपुरको सरसफाई राम्ररी हुन सकेको छैन ।   

२०७१ मंसिर १४ गते आईतबार