Wednesday, July 19, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

आत्तिनु पर्दैन । सरस्वती मुखि कागजातका लागि हैन यसो लक्ष्मीमुखि कागजातको दर्शन गर्नका लागि मात्र आको हो ।

२०७४ श्रावण ०१ गते आईतबार

मधेसका जिल्लाहरुमा बलात्कारको बढ्दो घटना कतिपय बास्तविक बलात्कार देखि फसाउने सम्मका मुद्दा

महोत्तरीको औरहीमा २८ जेष्ठ २०७४ मा एक यूवतिलाई सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका
४ जना प्रतिवादीलाई जलेश्वर कारागार थुनामा पठाइएको छ ।
अजय अनुरागी
जनकपुरधाम............
घटना १
सामुहिक बलात्कार

महोत्तरीको औरहीमा व्यूटीपार्लरको सानो व्यवसाय संचालन गरि वसेकि २० वर्षिया एक यूवतिलाई ४ जना यूवाको समुहले मिलेर २८ जेष्ठ २०७४ मा सामुहिक बलात्कार गरे । व्यवसाय बन्द गरी साँझ आफ्नो घर तर्फ गईरहेको वेला हालको औरही गाउपालिका २ स्थित औरही देखि फुलवरीया गाऊँ तर्फ जाने बाटो सडकसंग जोडिएको जोतेको खेतमा ती यूवाहरुको समुहले यूवतिलाई लडाई दिए । पीडित महिला रोई कराई गर्दा पनि जवरजस्ती कुटपिट गरि पालै पालो सामुहिक रुपमा बलात्कार गरेको महोत्तरी प्रहरीको दावी छ ।
घटना भएकै दिन घटना स्थलमै प्रतिवादीहरु मध्येका एक सुनिल साहलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिए । पक्राउ परेका प्रतिवादीलाई प्रहरीको नियन्त्रणबाट मुक्त गराउन स्थानियहरुले घटना स्थलमा खटिएका प्रहरीलाई घेराउ गरि ढुंगा मुढा समेत गरे ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाइ फायर समेत गर्नु पर्यो । स्थानियहरुले ती आरोपित व्यक्तिलाई आफ्नो जिम्मा लिई आफैे भौतिक कारवाही गर्न खोजेका थिए ।
पीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न भन्दै सौन्दर्य कला व्यवसायी संघ धनुषा तथा अन्य जिल्लाले समेत कारवाही गर्न विभिन्न विरोधका कार्यक्रम  तथा र्यालीहरु निकालेका थिए । त्यस्तै सौन्दर्यकला व्यवसायी संघ महोत्तरीले पीडितलाई रु.१४ हजार ७ सय  आर्थिक सहयोग समेत गरेको थियो । घटना भएको बारहौं दिनमा महोत्तरी प्रहरीले आरोपित चारै जना प्रतिवादीहरुलाई पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो ।
महोत्तरी जिल्ला अदालतको न्यायाधीश दिपक राज पन्थको एकल ईजलाशले २५ अषाढ २०७४ मा जवरजस्ती करणी गरेको घटनामा संलग्न चारै जना प्रतिवादीहरुलाई पुर्पक्षको लागी जलेश्वर कारागार चलान गर्न आदेश गरे । अदालतको आदेश पश्चात प्रतिवादीहरु औरही गाउपालिका (२ का सुनिल कुमार साह, सुरेश प्रसाद यादव, रमेश पंजियार र अनिकेत कुमार यादव जलेश्वर चलान गरिएका छन् ।
घटना २
बालिका बलात्कृत

२२ अषाढ २०७४ मा एक ९ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला १२ लक्ष्मिनियाका ४० वर्षिय राम नरेश शर्मालाई प्रहरीले गिरफ्तार गर्यो ।
पीडित वालिकालाई फकाइ बर्दिवास स्थित खहरे खोलाको खोल्सीमा लगेर बलात्कार गर्दै गरेको वेला स्थानिय केहि बालबालिकाहरुले देखेर ढुंगा हान्दा आरोपी भागेको र घटनाको दुई दिन पछि मात्र ति वालवालिकाले अभिभावकलाई घटना वारे भनेपछि अभिभावकको उजुरीको आधारमा  आरोपीलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले बताए । आरोपीलाई नियन्त्रणमा लिई पिडित र पिडक दुवैको मेडिकल जाँच गराई मुद्दा समेत दर्ता भई अनुसन्धान सुरु भईसकेको महोत्तरी प्रहरीको भनाई छ ।  हाल पीडित वालिकाको अवस्था सामान्य रहेको छ ।
घटना ३
पीडित महिला नै अदालतमा ‘होस्टाईल’
बलात्कृत भई किटानीसाथ जाहेरी दिने पीडित महिलाले नै अदालतमा आएर आफु
बलात्कृत नभएको तथा प्रतिवादीलाई
जोगाउन पल्टिएको बयान ।
१६ मंसिर २०७३ मा जनकपुरको आदर्श होटेलमा काम गर्ने एक जना ३५ बर्षिया महिलालाई भारतीय नागरिकले बलात्कार गरे । उक्त होटेलमा विगत २ बर्ष देखि सरसफाईको काम गर्दै आएकी ती महिलालाई होटेलको तेस्रो तल्लामा रहेको कोठा नं. ३०७ मा कोठा सफाई गर्न पुगेको अवस्थामा प्रतिवादी भारतीय नागरिक साविर खानले होटेलको कोठा बन्द गरी बलात्कार गरेका थिए ।
पक्राउ प्रतिवादी साविर खानले बयान गर्दा जनकपुरको होटेल आदर्शमा निजले काम गर्ने कम्पनी मुस्कान गोल्डेन वर्कले लगाएको सेल मेलामा सामानहरु मिलाई सेल लगाएको अवस्थामा सोही होटेलमा सरसफाईको काम गर्ने ती महिलासँग चिनजान भई जिस्काउँदा ती महिला हाँस्ने गरेको थियो । घटना वारदात भएको दिन प्रतिवादीको मनमा यौन इच्छा जागेपछि होटेलको कोठा बन्द गरेर ती महिलालाई बलात्कार गरेको कुरा प्रहरीसँगको बयानमा प्रतिवादी साविर खानले स्वीकार पनि गर्यो ।
अनुसन्धानको क्रममा पप्पु यादव र राजेश्वर प्रसाद साहले कागज गर्दा वारदात मिति र समयमा होटेल आदर्शमा काम गर्ने ती पीडित महिला रुँदै कराउँदै तल काउन्टरमा आएकी तथा ती पीडित महिलाले लगाएकी कुर्ता समेत च्यातिएको देखिएको बताएका थिए । यति मात्र होइन विजय कुमार भगत, जयकुमार यादव र मनोज कुमार यादव समेतले बयान कागज गर्दा ती महिलालाई बलात्कार गरेको बताइएको छ । यति हुँदा हुँदै जनकपुर अञ्चल अस्पतालबाट पीडित महिलाको गराइएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निगेटिव आएको थियो । बलात्कार भएको भन्ने कुरा ती मेडिकल रिपोर्टबाट पुष्टि हुन सकेन ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट कुनै घाउ खत वा संवेदनशिल अंगमा कुनै प्रकारको चिन्ह नदेखिएको भन्ने भएपनि पीडित बर्ष ३५ कि विवाहित महिला हुन भन्ने देखिँदा सो परीक्षणको सम्बन्धमा अदालतले थप विवेचना गरेन । किटानी जाहेरी दरखास्त, प्रतिवादीको मौकाको बयान र मौकामा कागज गर्ने व्यक्तिहरुको भनाई लगायतका मिसिल संलग्न कागज प्रमाणहरुको आधारमा ती प्रमाणहरुको अध्ययन तथा मुल्याङ्कनबाट यी प्रतिवादी निर्दोष छन् भन्न मिल्ने नभई कसुरदार हुन भन्ने विश्वास गर्ने पर्याप्त र मनासिव आधार प्रमाण रहे भएको पाइयो भन्दै धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायको इजलासले ६ पुष २०७३ मा गरेको आदेशबाट प्रतिवादी भारतीय नागरिक खानलाई जलेश्वर  कारागारमा थुनामा पठाइयो ।
उक्त घटनामा टर्निङ्ग प्वाईन्ट के थियो भने जनकपुर अञ्चल अस्पतालबाट गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार नभएको पाइएको थियो । तर, नेपाल प्रहरीको केन्द्रिय प्रहरी फोरेन्सिक विज्ञान प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट बलात्कार गरिएको सन्दर्भमा पोजिटिभ रिपोर्ट आएको थियो । अर्थात ती पीडित महिला बलात्कृत भएको काठमाण्डौको नेपाल प्रहरीको फोरेन्सिक रिपोर्टले पुष्टि गरेको पाइयो ।
पीडित महिलाको जाहेरी, तत्काल प्राप्त प्रमाणहरु, बयान कागज आदिका आधारमा प्रतिवादी भारतीय नागरिक साविर खानले बलात्कार गरेको होईन वा निर्दोष छन् भन्न मिल्ने नभई कसुरदार हुन भन्ने विश्वास गर्ने पर्याप्त र मनासिव आधार रहेको भन्दै अदालतले थुनामा कारागार पठाएको अवस्था छ । तर, उक्त घटनामा सबैभन्दा आश्चर्यको कुरा के थियो भने अदालतमा पछि आएर पीडित महिलाले नै बयान गर्दा ती प्रतिवादीले आफुलाई बलात्कार गरेकै होईन भनेर बयान दिएका छन् ।
१२ पुष २०७३ मा धनुषा जिल्ला अदालतको न्यायाधीश ओमकार उपाध्यायको बन्द इजलासमा गरिएको बकपत्रमा ती पीडित महिलाले नै प्रतिवादीलाई जोगाएका छन् । प्रतिवादी साविर खानले आफुलाई जवरजस्ती करणी गरेकै छैन, ती प्रतिवादीले आफुसँग हँसी मजाक मात्र गर्ने गरेको, रिसले प्रतिवादी विरुद्ध जाहेरी दिएको, आफुले लगाएको कुर्ता पहिले देखि नै च्यातिएको भन्दै पीडित महिलाले नै बयान पल्टिएको देखिन्छ । ‘प्रतिवादीले प्रहरीमा स्वीकार गरेको कसुर समेत झुठा हो, प्रहरीसँग डराएर प्रतिवादीले कागज गरेको हो, र आफुले पनि प्रहरीले भने अनुसार नै जाहेरी दिएको हो ’भन्दै पीडित महिलाले अदालतमा बयान पल्टेका छन् ।
यसरी हेर्ने हो भने बलात्कारका मुद्दामा जाहेरी दिने पीडित महिला पनि अदालतमा पछि गएर पल्टिने गरेका छन् । एक जना कानुन व्यवसायीका अनुसार त्यस्ता घटनाहरुमा पीडित महिलालाई प्रतिवादीको तर्फबाट ठुलो रकमको प्रस्ताव गरिएको हुनुपर्दछ, र सोही प्रस्ताव अनुसार रकम समेत पाएको हुनुपर्दछ । नत्र भने बलात्कार जस्तो घटनाको पीडित महिलाले कसरी अदालतमा आएर पल्टिन सक्छ ? यद्यपि उक्त मुद्दाको निरन्तर सुनुवाई अदालतमा जारी नै रहेको अवस्थामा प्रतिवादी निर्दोष सावित भई रिहा हुने हो वा बयान पल्टिने पीडित महिला र प्रतिवादी दुवै दोषी ठहर हुने हो त्यो भने हेर्न बाँकी छ ।
घटना ४
बलात्कार गरी एक महिलाको हत्या प्रयास
जनकपुर अञ्चल अस्पतालबाट बलात्कारबाट पीडित महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ९० प्रतिशत भन्दा
वढी यसरी नै निगेटिव प्रतिवेदन आउने गर्छ ।
१० पुष २०७३ मा राति १ बजेको समयमा म आफ्नो घरमा छोरा छोरीहरुसँग सुतिरहेको थिएँ । सोही समयमा धनुषाधाम नगरपालिका वडा नं. २ बस्ने शंकर भण्डारी मेरो घरको पछाडी पट्टीको ढोकामा आई मेरो नाम लिई कराउँदै मलाई बोलाउँदा म सुतेको कोठाबाट बाहिर निस्की के भएको छ ? किन यति रातिको समयमा बोलाएको हो भनि घर पछाडीको ढोका खोली बाहिर निस्किदा साथ निज शंकर भण्डारीले एक्कासी मेरो मुखमा गम्छाले च्यापी मेरो घरको पछाडी रहेको फुलगेन साहको खेतमा लगि मलाई जवरजस्ती गरी मेरो टाउको लगायत शरीरको विभिन्न भागहरुमा धारिलो हतियार र लाठीले प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गरी मर्यो भने सोही खेतमा छाडी भागी फरार भएको हुँदा प्रतिवादी शंकर भण्डारीलाई आवश्यक कारवाही गरि पाऊँ भन्दै ती पीडित महिलाले जवरजस्ती करणी तथा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गराएका छन् ।
प्रहरीले गरेको घटनास्थल मुचुल्कामा समेत घटनास्थलमा जमिनमा रातो रंगको शिशाका चुराहरु फुटेर छरिएको अवस्थामा रहि भुँई जमिनमा संघर्षका चिन्हहरु जस्तो रहेको, महिलाको कपालमा लगाउने सुन्तला रंगको जुरा उक्त स्थानमा पाइएको थियो ।  उक्त घटनाका प्रतिवादी शंकर भण्डारी हालसम्म फरार छन् । प्रहरी सहायक निरीक्षक सुरेश बहादुर बोहराले ४ अषाढ २०७४ मा इलाका प्रहरी कार्यालय धनुषाधामलाई बुझाइएको पत्रमा समेत ती प्रतिवादीको घर ठेगानामा गई खोज तलास गर्दा हालसम्म फेला नपरेको बताइएको छ ।
घटना ५
प्रतिवादी फरार

१२ पुष २०७३ मा मेरो माईली छोरी घाँस लिन गएकोमा घाँस काटी छोरी बेलुका अबेरसम्म पनि घरमा फर्की नआएपछि छोरी खोज तलास गर्दै जाने क्रममा धनुषा सिनुरजोडा गाविस वार्ड नं. ८ स्थित रहेको सरसा चौरीको आँपको बगैचामा बेहोस अवस्थामा फेला पर्यो ।  प्राथमिक उपचार गराउँदा होसमा आएपछि निज छोरीलाई सोध्दा सिनुरजोडा ८ बस्ने नुरे राईनले नम्बर थाहा नभएको मोटरसाईकलमा चढी मेरो छोरी घाँस काटिरहेको ठाउँमा आई डर, धाक, धम्की देखाई छोरीले लगाएको सलले मुख थुनी हाथ बाँधी आँपको बगैचामा बोकी लगि बलात्कार गरेको भन्दै प्रहरीमा ती पीडित छोरीका बुवाले जाहेरी दर्ता गरे । ती पीडित महिलाको जनकपुर अञ्चल अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएन । उक्त घटनाका प्रतिवादी नुरे आलम राईन अहिले पनि फरार रहेका छन् ।
घटना ६
नावालकद्वारा नावालिकालाई बलात्कार

मेरो करिब १४ बर्ष अगाडी एक जना व्यक्तिसँग प्रेम विवाह भई १ छोरा र १ छोरीको जन्म भएको छ । हामीहरुको आर्थिक अवस्था कमजोर रहेको र श्रीमान्ले समेत हेरचाह छोडेकोमा म गाउँ टोलको घर घरमा गएर गृहिणीको काम गर्दै आएकी छु । काम गर्न जाने क्रममा ३१ बैशाख २०७४ का दिन विहान ६ बजेको समयमा म आफ्नो छोरीलाई डेरा कोठामा राखि कामको लागि बाहिर गएकोमा छोरी कोठामा बसी टिभी हेरिरहेको अवस्थामा अन्दाजी ११ बजेको समयमा जनकपुर उपमहानगरपालिका वडा नं. १ मा बस्ने १६ बर्षिय रमेश कुमार साहले मेरो कोठामा गई मेरो छोरीलाई बलात्कार गरेको हुनाले प्रतिवादी साहलाई खोज तलास गरी कानुन बमोजिम कारवाही गरी पाऊँ भन्दै ती पीडित महिलाले जाहेरी दिएकी छिन् । जनकपुर अञ्चल अस्पतालबाट बलात्कृत भनिएका महिलाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कारको पुष्टि हुन सकेन । पक्राउ परेका प्रतिवादी रमेश कुमार साहले अनुसन्धानका क्रममा प्रहरी समक्ष गरेको बयानमा कसुर स्वीकार गरेका छन् ।
धनुषा जिल्ला अदालतका न्यायाधीश दीपक खनालले उक्त मुद्दाको निरन्तर सुनुवाई गर्दैै ११ अषाढ २०७४ मा गरेको फैसलाबाट प्रतिवादी रमेश कुमार साहलाई कसुरवार ठहर गर्दै ५ बर्ष कैद सजाय तोकेको छ । जनकपुर अञ्चल अस्पतालबाट निज प्रतिवादी साहको उमेर परीक्षण भई आएको प्रतिवेदन समेतको आधारमा निजको उमेर १५ बर्ष कायम हुन आएको हुँदा प्रतिवादीलाई ५ बर्ष कैद र पीडितलाई प्रतिवादीबाट ५० हजार रुपैयाँ क्षतिपुर्ती भराई दिन अदालतले फैसला सुनायो । अञ्चल अस्पतालबाट प्राप्त परीक्षण प्रतिवेदन समेतका आधारमा प्रतिवादीको उमेर १५ बर्ष यकिन भई सोही बमोजिम बालबालिका सम्बन्धि ऐन २०४८ बमोजिम सजाय ठहर भएको हुँदा निजलाई निज पक्राउ परेको मिति देखि १ बर्षसम्म बाल सुधार गृह सानोठिमी भक्तपुर पठाउनु र सो पश्चात बाँकी कैद अवधिमा महोत्तरीको जलेश्वर कारागार कार्यालयमा थुनामा पठाउनु भनेर फैसला गरिएको छ ।
घटना ७
नाबालक समेत बलात्कृत

१४ बैशाख २०७४ मा जनकपुरको लोहनामा एक जना नावालकलाई भारत विहार सितामढी हरलाखी ८ बस्ने सहवाज राजाले अप्राकृतिक मैथुन तथा जवरजस्ती करणी गरेका थिए । खेलीरहेको अवस्थामा धारामा पानी खान जाँदा ती प्रतिवादी भारतीय नागरिकले पीडित ६ बर्षको बालकलाई समातेर चौरीमा लगेर बलात्कार गरेका थिए । पीडितको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा अप्राकृतिक मैथुन गरी बलात्कार भएको पुष्टि भयो । धनुषा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजलासले ७ अषाढ २०७४ मा प्रतिवादी सहवाज राजालाई ६ बर्ष कैद सजाय र पीडित बालकलाई ५० हजार रुपैयाँ क्षतिपुर्ती दिलाउने फैसला सुनायो । उक्त घटनामा पीडित बालक हुनुका साथै पीडक भारतीय नागरिक पनि १५ बर्ष उमेरकै भएका कारण १ बर्षका लागि बाल सुधारगृह भक्तपुर पठाउने र १ बर्षबाट बाँकी कैद अवधि ५ बर्ष जलेश्वर कारागारमा थुनामा पठाउने भनि फैसला सुनाएको थियो ।
घटना ८
पटक पटक बलात्कृत

म जाहेरवाली सामान्य परिवारको महिला हुँ । पति बैदेशिक रोजगारको शिलशिलामा विदेशमा छ । १ चैत्र २०७३ मा विहान १० बजेको समयमा मेरो छोरीलाई दिशा लागेकोले आफ्नो साथीहरुसँग दिशा गर्न गएको बेला प्रतिवादी मध्येका धनुषाको साविक लोहनाका सहदेव मण्डलले मेरो छोरीलाई प्रसादी दिन्छु भनि प्रलोभनमा पारी शिवधर मण्डलको फुसको घरमा लगि हाथमुख बाँधी जवरजस्ती करणी गरेको र ६ चैत्र २०७३ का दिन प्रतिवादी मध्येका चलित्रा भन्ने रामचलितर मण्डलले मेरो छोरीलाई सोही स्थानमा लगि जवरजस्ती करणी गरिरहेको अवस्थामा मेरो साथीहरुले देखि होहल्ला गर्दा प्रतिवादी त्यहाँबाट भागी फरार रहेको हुँदा निज दुवै जना प्रतिवादीहरुलाई पक्राउ गरी पीडितलाई क्षतिपुर्ती समेत दिलाई भराई जवरजस्ती करणी महल अन्तरगत हदैसम्मको कारवाही गरि पाऊँ भन्ने व्यहोराको ती पीडित छोरीका आमाले धनुषा प्रहरीमा जाहेरी दर्ता गराए ।
उक्त घटनामा प्रतिवादीहरु मध्येका सहदेव मण्डल पक्राउ पर्यो भने अर्को प्रतिवादी रामचलितर मण्डल फरार छन् । अनुसन्धानको क्रममा पक्राउ प्रतिवादी सहदेव मण्डलले जाहेरवालीले बादविवाद र रिसईवीको कारण झुठो व्यहोराको जाहेरी दिएको भन्दै कसुर इन्कार गरेको पाइन्छ । पीडित महिलाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बलात्कारको लक्षण पाइएन । अहिले उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
घटना ९
नावालिक बलात्कृत, प्रतिवादी फरार
२९ कार्तिक २०७३ का दिन मेरो बुवा, आमा र श्रीमति पुर्णिमा नुहाउन कमला नदी गएका थिए । म काम विशेषले गाउँमा गएको थिएँ । मेरो घरमा मेरी नावालिका १४ बर्षिय बहिनी मात्र थिईन । सोही अवस्थामा धनुषाधाम नगरपालिका ३ बस्ने २२ बर्षिय कृष्ण मुखिया विन के कहाँबाट एक्कासी मेरो घरमा आई मेरो नावालिका बहिनीलाई ललाईफकाई गरी घर पछाडीको कल भन्दा केही पर बालुवा खोला किनारमा रहेको खेतमा लगि जवरजस्ती करणी गरी भागी फरार भएको हुँदा आवश्यक कारवाही गरि पाऊँ भन्ने व्यहोराको जाहेरी दर्ता भयो । पीडित नाबालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा पीडितको शरीरमा कुनै प्रकारको निलडाम, चोटपटक नरहेको तथा ‘हाईमन ओल्ड टियर’ सहितको व्यहोरा पाइयो । पीडितले लगाएको कपडा सुरुवाल परीक्षणको लागि केन्द्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौमा पठाइएकोमा सोको परीक्षण रिपोर्ट हालसम्म प्राप्त भएको छैन । प्रतिवादी फरार रहेका कारण मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
घटना १०
रक्षाबन्धनमा नावालिक बलात्कृत
म जाहेरवालाको बुवा १ बर्ष अगाडी नै कालगतिले मृत्यु भईसकेको छ । हामी ४ सन्तान छांै । जेठी दिदीको विवाह भई आफ्नो घरमा जानु भएको छ । म माहिली हुँ । म भन्दा मुनि १ बहिनी र एक भाई हुन । घरमा आमा, म र भाईबहिनी बस्दै आएका छौं । ज्यालावनि र खेती किसानी गरी जिवीका चलाउँदै आएका छौं । २ भदौ २०७३, रक्षाबन्धनको दिन थियो । सो दिन मेरो आमाले भाईबहिनीलाई लिई माईती जानु भयो । घरमा म एक्लै बसेको थिएँ । प्रतिवादी मेरो घरमा अम्बा खाने बहाना बनाई आई विभिन्न किसिमको कुरा गरी मेरो घरमा पसे । त्यसपछि ढोका लगायो । मैले निजलाई किन ढोका लगाएको भनि होहल्ला गर्न खोज्दा निजले मलाई समाती ओछ्यानमा लडाई मैले लगाएको सलले मेरो मुख बाँधिदियो । त्यसपछि पलास्टिकको डोरीले मेरो दुवै हाथ पछाडी पट्टी बाँधी दियो । निजले मलाई पटक पटक गरी ३ चोटी जवरजस्ती करणी गरेको हो । घटना सम्बन्धमा कसैलाई भनिस भने ठिक हुने छैन भनि मलाई धम्की दिने गथर््यो । यसरी जनकपुर उपमहानगरपालिका १४ मा एक जना पीडित महिलाले निज प्रतिवादीलाई खोज तलास गरी पक्राउ गरी कानुन बमोजिम सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाऊँ भन्ने व्यहोराको जाहेरी प्रहरीमा दर्ता गर्यो । पक्राउ परेका प्रतिवादीले धनुषा जिल्ला अदालतमा बयान गर्दा कसुरबाट इन्कार गरेको पाइन्छ । निजको घर कोठामा गई ३÷४ थप्पड हिँकाएको मात्र हुँ जवरजस्ती करणी गरेको छैन भनि प्रतिवादी अदालतमा इन्कार बयान गरेको पाइन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत जवरजस्ती करणी गरेको चिन्न पाइएको छैन । तर, प्रतिवादीले प्रहरी अनुसन्धानमा स्वीकार गरि बयान गरेको पाइन्छ । ३० भदौ २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीले थुनछेक तर्फ आदेश गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी नावालक रहेको देखिँदा बालबालिका सम्बन्धि ऐन, २०४८ को दफा ११(३) बमोजिम संरक्षक अभिभावकको जिम्मा लगाई तारेखमा राख्नु भनि आदेश गरिएको छ ।
५ बर्षमा ३ जिल्लामा ९५ थान बलात्कारको मुद्दा दर्ता
माथि उल्लेख गरिएका १० बलात्कारका फरक फरक घटनाहरुले यस क्षेत्रमा बलात्कारको घटना भयावह स्थितिमा रहेको पाइन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ५ बर्षमा धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा कुल बलात्कारको १ सय ८०थान र बलात्कारको प्रयासका ९५ थान मुद्दा दर्ता भएका छन् ।
धनुषामा आर्थिक बर्ष २०६९÷०७० मा ६ थान, २०७०÷०७१ मा १३ थान, २०७१÷०७२ मा २१ थान, २०७२÷०७३ मा २१ थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा १६ थान गरी कुल ७७ थान बलात्कारका मुद्दा दर्ता भएका छन् । त्यसैगरी महोत्तरीमा आर्थिक बर्ष २०६९÷०७० मा ६ थान, २०७०÷०७१ मा १६ थान, २०७१÷०७२ मा ७ थान, २०७२÷०७३ मा १० थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा ८ थान गरी कुल ४७ थान बलात्कारका मुद्दा दर्ता भएका छन् । त्यसैगरी सर्लाहीमा आर्थिक बर्ष २०६९÷०७० मा ४ थान, २०७०÷०७१ मा १६ थान, २०७१÷०७२ मा ८ थान, २०७२÷०७३ मा १५ थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा १२ थान गरी कुल ५६ थान बलात्कारका मुद्दा दर्ता भएका छन् ।
धनुषामा आर्थिक बर्ष २०६९÷०७० मा ४ थान, २०७०÷०७१ मा ७ थान, २०७१÷०७२ मा ८ थान, २०७२÷०७३ मा ३ थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा ८ थान गरी कुल ३० थान बलात्कारको प्रयासका मुद्दा दर्ता भएका छन् । त्यसैगरी महोत्तरीमा आर्थिक बर्ष २०६९÷०७० मा ७ थान, २०७०÷०७१ मा १० थान, २०७१÷०७२ मा ६ थान, २०७२÷०७३ मा ५ थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा ५ थान गरी कुल ३३ थान बलात्कारको प्रयासका मुद्दा दर्ता भएका छन् । त्यसैगरी सर्लाहीमा आर्थिक बर्ष २०६९÷०७० मा ३ थान, २०७०÷०७१ मा ५ थान, २०७१÷०७२ मा ५ थान, २०७२÷०७३ मा ६ थान र आर्थिक बर्ष २०७३÷०७४ को जेष्ठ मसान्तसम्ममा १३ थान गरी कुल ३२ थान बलात्कारका मुद्दा दर्ता भएका छन् ।
बलात्कारीलाई १० हजार जरिवानाको प्रवृति
बलात्कारका घटनाहरु समाजमा हुँदै गरेको भएपनि अधिकांश घटनाहरु बाहिर आउँदैनन् । अहिले पनि मधेसका ग्रामीण क्षेत्रहरुमा लोक लाज, इज्जत प्रतिष्ठाका कारण पीडित हुने पक्षले घटनालाई लुकाईदिन्छन् । घटना बाहिर सार्वजनिक भए ठुलो बदनामी हुने मान्यता गाउँका मानिसहरुमा विद्यमान छन् । पीडित यदि कुँवारी महिला हो भने घटना सार्वजनिक हुँदा भोली त्यसको विहे हुन धेरै कठिनाई हुने वा विहे नै नहुने डरका कारण पीडित महिलाका परिवारजनले घटनालाई लुकाउने गर्छन् । परिणाम स्वरुप बलात्कार घटनाका अपराधिहरु कानुनको दायरामा आउन सकिरहेको हुँदैन । यदि घटना सार्वजनिक भएपनि गाउँ समाजका मानिसहरुले त्यसलाई दवाउने गर्छन् । गाउँका अगुवाहरु मिलेर बढी भन्दा वढी पीडकलाई १० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ जरिवानासम्म गरेर पीडकलाई उन्मुक्ति दिने गर्छन् । पीडित पक्ष कमजोर हुने र पीडक पक्ष समाजमा बर्चस्वशाली हुने अवस्थामा गाउँका पञ्चहरुले पञ्चायत गरेर जरिवाना गर्ने गर्छन् । ती अपराधिहरु कानुनको दायरामा आउन सकिरहेको हुँदैनन् । कतिपय अवस्थामा त्यसरी छलफल स्थानीय प्रहरी चौकीमा प्रहरीको उपस्थितिमै हुनेगर्छन् । र, उठेको जरिवानाबाट पञ्च, प्रहरी सबैले भोजभतेर गर्ने गरेको कतिपय उदाहरणहरु बेला बखत आउने गर्छन् ।
बलात्कार हुन्छ पुष्टि हुँदैन
प्रहरीमा बलात्कारको मुद्दा दर्ता हुने गरेपनि अधिकांश मुद्दाहरुमा बलात्कार पुष्टि हुँदैन । प्रहरी कहाँ पीडित महिला घटना भएको २÷३ दिन पछि मात्र पुग्ने गरेका हुन्छन् । अनि त्यसपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि सरकारी अस्पतालको रुपमा रहेको जनकपुर अञ्चल अस्पतालमा पठाउँदा स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार भएको सन्दर्भमा कुनै पनि लक्षण वा चिन्हहरु रहेको हुँदैन । अदालतले प्रायःजसो मेडिकल रिपोर्टलाई नै मुख्य आधार बनाउने गरेका कारण कतिपय घटनाहरुमा बलात्कार भएपनि मेडिकल रिपोर्टका कारण अदालतमा बलात्कार पुष्टि नभई प्रतिवादीहरुले सफाई पाउने गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायधिवक्ता टेक बहादुर कार्की भन्छन,“ जनकपुर अञ्चल अस्पतालका कतिपय रिपोर्टहरु पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दै गर्दा नलेखि ४÷५ दिन पछि लेख्ने गरिएको कारण पनि सहि रिपोर्ट आईरहेको हुँदैन ।” अञ्चल अस्पतालका डाक्टरहरुले कतिपय घटनामा प्रतिवादीकै पक्षबाट लेनदेन गरी रिपोर्ट प्रतिकुल बनाईदिने गरेको आशंका किन पनि पुष्टि हुन्छ भने अञ्चल अस्पतालबाट बुझाउने गरिएको प्रतिवेदनमा बलात्कारको लक्षण नपाइएको भनेर आउने गरेपनि  त्यही केशको पीडित र पीडकको कपडा लगायत अन्य सामग्रीहरु विधि विज्ञान प्रयोगशाला काठमाण्डौ पठाउँदा बलात्कारका लक्षण प्रमाणित भएर प्रतिवेदन आउने गरेको हुन्छ ।
के साँच्चै बलात्कार हुन्छ नै ?
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान फाँटका प्रहरी कर्मचारीहरुका अनुसार अधिकांश दर्ता हुने बलात्कारको मुद्दामा बास्तवमा बलात्कार भएको हुँदैन । सहमति अनुसार सम्बन्ध स्थापित गर्ने र सो समयमा अन्य पक्षले देखेपछि महिला पक्षले आफ्नो इज्जत जोगाउनका निम्ति हल्ला गरी आफुलाई बलात्कार गर्यो भनेर भन्ने, मुद्दा दर्ता गर्ने प्रवृति पनि बढेको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु बताउँछन् । मधेसमा अहिले गाउँ घरमा केटा केटीहरु बीच कलिलै उमेरमा प्रेम हुने, आपसी सहमतिमा शारिरीक सम्बन्ध बनाउने र केटी पक्षका अभिभावकले थाहा पाएपछि केटालाई फसाउने उद्देश्यले बलात्कारका मुद्दाहरु दर्ता गराउने प्रवृति पनि बढेको कुरामा सरकारी वकिल कार्की पनि सहमत छन् । तर, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सहन्यायधिवक्ता रामइश्वर राय यादव असहमति राख्दै भन्छन,“ कुनै पनि महिलाले आफ्नो इज्जत प्रतिष्ठामा आँच आउने कुरामा सम्झौत ागर्न सक्दैन । दर्ता हुने बलात्कारका मुद्दाहरुमा महिलाहरुको बास्तवमा नै बलात्कार गरिएको हुन्छ ।”
सरकारी वकिल टेक बहादुर कार्कीले विभिन्न अनुभवहरु सुनाए । धनुषामा एक जना १४ बर्षिय मुसलमान केटी र १८ बर्षिय मण्डल समुदायका केटा बीच प्रेम परेको थियो । केटा र केटी बीच गाउँकै चौरीमा परालको कुन्यूमा स्वेच्छाले सम्बन्ध स्थापित गरिरहेका थिए । सोही क्रममा तेस्रो पक्षका एक जना केटाले आफ्नो मोवाईलमा सम्बन्ध राख्दै गरेको भिजुवल रेकर्ड गरे । अनि त्यो केटाले गाउँका अन्य केटा हुँदै प्रायः केटाहरुको मोवाईलमा भाइरल बन्यो । केटी पक्षका परिवारजनले त्यो कुरा थाहा पाएपछि केटीका आमाले केटालाई प्रतिवादी बनाई बलात्कारको मुद्दा दर्ता गरायो । अदालतमा दुवै पक्षको सहमतिले नै सम्बन्ध स्थापित भएको कुरा पुष्टि भएपनि केटालाई अदालतले कैदको सजाय गर्दै जेल पठायो । सरकारी वकिल कार्कीका अनुसार त्यो घटनामा बलात्कार पुष्टि नभएपनि केटालाई अदालतले किन सजाय गर्यो भने उमेर नपुगि नावालिक रहेको बालिकालाई सहमतिले पनि करणी गर्न कानुनले अनुमति दिएको छैन ।
मधेसमा दर्ता हुने कतिपय घटनामा के पाइएको छ भने पीडित भनिएको श्रीमान बैदेशिक रोजगारीमा गएको हुन्छ । ती महिलासँग अन्य पुरुषको अवैध सम्बन्ध स्थापित भईरहेको हुन्छ । अनि सासु वा ससुरा मध्ये कसैले देखेपछि ती पुरुषलाई बलात्कारको मुद्दामा प्रतिवादी बनाइएको हुन्छ । यसरी हेर्ने हो भने दुवै पक्षले मिलेमतोमा अबैध सम्बन्ध स्थापित गर्ने र कोईकसैले हेरेपछि हल्ला गर्ने र बलात्कार भयो भन्ने प्रचलन पनि बढेको सरकारी वकिल कार्की बताउँछन् ।
त्यस्तै अर्को अनुभव सरकारी वकिल कार्कीले  सुनाए । एक जना महिलाको श्रीमान विदेश गएको थियो । भिनाजु नातामा (दिदीको देवर) पर्ने  एक जना विदेशबाट फर्केर घर आएका थिए । बारिको डिलमा बसेर ती महिला भिनाजु नातामा पर्ने ती व्यक्तिसँग दिउँसो कुराकानी र हँसी मजाक गरिरहेका थिए ।
 ती आईमाईको ससुराले देखेपछि चोर चोर भन्दै दिउँसै हल्ला गरे । ससुराले बुहारीलाई फर्काएर नाङ्गोपारी समेत हेरे । बुहारीलाई रेप गर्यो भनेर मुद्दा गर्नुपर्छ भन्दै त्यो भिनाजुलाई विपक्षी बनाई मुद्दा दर्ता गराइयो । गाउँमा पनि हल्ला खल्ला भयो । मान्छे पक्राउ पर्यो । अनि त्यसपछि ती बुहारीलाई ससुराले व्लयाकमेलिङ्ग गर्दै अबैध सम्बन्ध राख्ने दवाव दिन थाल्यो । त्यसपछि बुहारीले ससुराको कर्तुतका बारे प्रहरीमा जानकारी गराएपछि ससुरालाई समेत पक्राउ गरी केही सार्वजनिक अपराधको मुद्दा दर्ता गराइयो । त्यसपछि ससुराले बुहारीलाई घरमा राख्ने बातावरण भएन । अनि गाउँ समाजका मानिसहरुले बैठक बसेर त्यही भिनाजु नातामा पर्ने दिदीको देवरसँग त्यो  बुहारीलाई विहे गराइयो ।
यसरी हेर्ने हो भने धनुषा, महोत्तरी लगायतका कतिपय जिल्लाहरुमा बलात्कार नभएपनि बलात्कारको मुद्दा दर्ता गर्ने प्रवृति पनि बढेको छ । विद्यार्थी उमेरमै केटा केटीहरु आमा बुवाको मर्जी बेगर भागेर अन्तरजातिय विहे गर्ने प्रवृति बढेको छ । केटी पक्षले त्यस्तो अवस्थामा आफ्नो छोरीलाई अपहरण गर्ने, बलात्कार गरेको भन्दै केटा पक्षलाई विपक्षी बनाई मुद्दा दर्ता गर्ने प्रवृति बढ्दै गएपछि बास्तविक रुपमा बलात्कारबाट पीडित भएका महिलाहरुले समेत न्याय नपाईरहेको अवस्था देखिन्छ ।

२०७४ श्रावण ०१ गते आईतबार

बैदेशिक रोजगारीको नाममा अबैध एजेन्टहरुबाट ठगिदै सर्वसाधारण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा माची झिटकहिया ४ पर्सा टोलका विमल कुमार यादवले बैदेशिक रोजगारीको लागि आफ्नै गाउँका एजेन्ट नरेश यादवलाई राहदानी र ६० हजार रुपैयाँ दिए । इजराईल पठाईदिने भनेर ती एजेन्टले भनेपछि सोही गाउँका विमल कुमार यादवसँगै रामकुमार साह र रामकुमार यादवले पनि ती एजेन्ट यादवलाई राहदानी र ६० हजार रुपैयाँ दिए । इजराईल जानका लागि ५ लाख ७५ हजार रुपैयाँ एजेन्ट यादवले मागेपनि सुरुको किस्तामा हामी तिनै जनाले ६०÷६० हजार रुपैयाँका दरले आईएमई मार्फत दियौं, त्यसको बैंक भाउचर पनि छ भन्दै विमल कुमार यादव भन्छन,“ रकम र राहदानी दिएको १ बर्ष भन्दा वढी भईसक्यो । एजेन्टले हामीलाई न त इजराईल पठाएको छ, न त रकम र राहदानी नै फिर्ता गरिरहेको छ ।” एजेन्टसँग सम्पर्क गर्दा भोली दिन्छु, पर्सी दिन्छु भन्दै आलटाल गरिरहेको यादव बताउँछन् ।
काठमाण्डौको कपन निवासी अर्जुन राज गिरीले धनुषा नगराईनका एजेन्ट इसराफिल साहलाई बैदेशिक रोजगारीका लागि राहदानी र रकम दिए । यिनीसँग अन्य दुई जना गरी कुल ४ लाख ५० हजार रुपैयाँ र राहदानी ती एजेन्ट साहलाई १० जनवरी २०१७ मा दिए । एजेन्ट साह नेपालमा नबसि यूएईमा बस्दै आएको छ । अर्जुन राज गिरीले जनकपुरको जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्रमा उजुरी गरेपछि अनुसन्धान गर्दै जाँदा एजेन्ट साह नेपालको मुल निवासी नभई भारतमा बसोवास गर्दै आएको पाइयो ।भारतमा अपराध गरी फरार भई नेपाल आएको र नेपालमा आएर धनुषाको नगराईन बासी भई नेपाली नागरिकता प्रमाण पत्र लिएको भनेर बुझ्नमा आएको सूचना केन्द्रका परामर्शकर्ता प्रभात कुमार मिश्रले बताए । प्रवासी नेपाल समन्वय समिति काठमाण्डौमा उक्त केशको बारेमा जानकारी गराईएको छ, निवेदकलाई अपराध अनुसन्धान महाशाखामा उजुरी गर्नका लागि सुझाव दिइएको परामर्शकर्ता मिश्र बताउँछन् ।
धनुषाको मुखियापट्टी मुसहरनिया १ का २८ बर्षिय लक्ष्मेश्वर यादवले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेपछि धनुषाको हंसपुर कठ्पुल्ला ८ का एजेन्ट दशरथ मण्डललाई १ लाख ८५ हजार रुपैयाँ र राहदानी दिए । साउदी अरब पठाईदिन्छु भनेर ती एजेन्टले भनेपछि यादवले दुई पटक गरी आईएमई मार्फत १ लाख ८५ हजार रुपैयाँ दिएका थिए । विदेश पठाउँछु भनेर गाउँबाट विदा भई काठमाण्डौ पनि लगियो । १ महिना काठमाण्डौमा बसायो तर त्यो एजेन्ट मण्डलले विदेश भने पठाएनन् । पीडित यादव भन्छन,“ धेरै पटक एजेन्टसँग पैसा फिर्ता माँगे । पटक पटक छलफल पनि भयो । केही रकम एजेन्टले फिर्ता त गर्यो तर अहिले पनि ५५ हजार रुपैयाँ बाँकी नै छ ।”
महोत्तरी औरही विक्रमपुर ५ का विजय यादवले काठमाण्डौका एजेन्ट गणेश लिम्बु र सहायक एजेन्ट राजकिशोर साहलाई बैदेशिक रोजगारीका लागि ३ लाख ५० हजार रुपैयाँ दिए । दुवैको बाटो हुँदै टुरिस्ट भिजामा इराक पुर्याइयो । इराकमा पुगेपछि भिजा लागेन । यादव इराकमा अलपत्र परे । त्यहाँ जसो तसो सहयोग जुटाएर २५ दिन पछि नेपाल फर्के । नेपाल फर्केपछि त्यो एजेन्टसँग पैसा माग गर्दा दिईरहेको छैन । यादव भन्छन,“ मानव तस्करी जस्तै मलाई विदेश पठाएर अलपत्र पारियो । अहिले नेपाल आउँदा पनि त्यो एजेन्टले रकम फिर्ता गरिरहेको छैन ।”
महोत्तरी भ्रमरपुरा ९ का धिरेन्द्र ठाकुर आफ्नै गाउँका एजेन्ट अशोक यादव मार्फत बैदेशिक रोजगारीका लागि मलेशिया पुगे । मलेशियाको ग्लोव फ्याक्टूीमा प्याकेजिङ्गको काम हुन्छ भनि २ लाख रुपैयाँ एजेन्ट यादवले लिए । ठाकुरले १ लाख नगद दिएका थिए भने १ लाख रुपैयाँको कपाली तमसुक एजेन्ट यादवको नाउँमा बनाईदिएका थिए । २०७२ मंसिरमा मलेशिया पुगेपछि भने अनुसारको ठाकुरलाई काम दिइएन । भनिएको तलब भन्दा ४ सय रिङ्गिट कम दियो । एग्रिमेन्ट पेपरमा ९ सय रिङ्गिटमा श्रम स्वीकृति गराईनुका साथै ओभरटाईम जोडेर १४ सय रिङ्गिट तलब दिने सम्झौता भएको थियो । तर मलेशियामा त्यसो नभएपछि ४ महिना काम गरेर फर्किन बाध्य भए ठाकुर ।
धनुषा झोझी कटैयाका ३३ बर्षिय सुजित कुमार ठाकुरले गाउँकै एजेन्ट निर्मला देवी सिंहलाई १ लाख रुपैयाँ तिरेर यूएई गए । म्याकेनिकल हेल्परको रुपमा काममा पठाएपनि १७ दिनको स्यालरी ठाकुरलाई दिइएन । अचानक एक दिन तिमी फर्किनुपर्छ भनि जवरजस्ती राजिनामा गर्न लगाईयो । १ महिनासम्म काम पनि दिइएन । ८ घण्टाको ठाउँमा १० घण्टाको काम गराउँथ्यो । तर, तलब ८ घण्टाकै दिन्थ्यो । बाध्य भई उनी नेपाल फर्र्किए ।
गणेशमान चारनाथ नगरपालिका भरतपुर छघरियाका २० बर्षिय असरफ राईन सिरहा लहानका उसमान राईनलाई १ लाख ८५ हजार दिए । आजाद भिसामा कतार पठाईदिन्छु भनेर राहदानी र रकम लिएको ८ महिना भईसक्यो । राईनलाई ती एजेन्टले न त राहदानी फिर्ता गरेको छ न त रकम नै । ब्याजमा ऋण उठाएर एजेन्टलाई दिएको पैसा एजेन्टले फिर्ता नगरिदिएपछि राईन अहिले घरको न घाटको भएको छ ।
धनुषा लगमा गाडागुठी ५ का प्रमोद कुमार झाले जनकपुरका एजेन्ट राजकुमार साहलाई बैदेशिक रोजगारीमा पठाई दिन भन्दै राहदानी दिएको ४ महिना भईसक्यो । साउदी अरेविया पठाईदिन्छु भनेर ती एजेन्ट साहले राहदानी लिनुकासाथै झाको मेडिकल परीक्षण नै नगराई नक्कली भिसा समेत दिए । अहिले एजेन्ट साह झाको सम्पर्कमा आएको छैन । साहले राहदानी फिर्ता पाउन सकिरहेको छैनन् ।
यसरी हेर्ने हो भने धनुषा, महोत्तरी लगायतका जिल्लाहरुबाट अबैध एजेन्टहरु मार्फत मानिसहरु ठगिने क्रम बढेको छ । विदेश पठाईदिन्छु भनेर एजेन्टहरुले राहदानी र रकम समेत लिन्छन् तर विदेश पठाईदिँदैनन् । विदेशमा पठाएपनि भने अनुसारको काम र तलब नपाएपछि नेपाल फर्किन बाध्य छन् । एग्रिमेन्ट गरेर पठाएपनि विदेशमा पुग्दा कम्पनीले त्यहाँ न त काम दिन्छ न त तलब नै । एग्रिमेन्ट गरेर गएपनि १० महिना काम गराउँछन्, २ महिनाको तलब दिँदैनन् र घर पठाईदिन्छन् । नेपालमा मेडिकल जाँच गराई विदेश पठाउँछन् तर विदेशमा पुनः मेडिकल जाँच गराउँदा फेल भएर नेपाल फर्काउने गरिन्छ । बैदेशिक रोजगारीमा जाँदा ठगिएका व्यक्तिहरुको यस्तै विभिन्न खाले भनाईहरु रहेको छ ।
धनुषामा मात्रै कुरा गर्ने हो भने ५ सय भन्दा वढी मानिसहरु बैदेशिक रोजगारीका लागि एजेन्टको काम गर्ने गर्छन् । कुनै गाउँमा १० वटा भन्दा वढी एजेन्टहरु सक्रिय छन् । एजेन्टहरुको सहएजेन्टहरु पनि हुने गर्छन् । पासपोर्ट संकलन गर्ने, पासपोर्ट होल्ड गर्ने, रकम असुल्ने लगायतका कामहरु ती एजेन्टहरुले गर्दै आएका छन् । मुख्य कुरा के हो भने ती एजेन्टहरु अबैध हुन । कसैले पनि अनुमति पत्र प्राप्त गरेका छैनन् । जुन म्यानपावर कम्पनीका लागि काम गर्ने हो त्यो व्यक्तिलाई बैदेशिक रोजगारीको एजेन्टका रुपमा काम गर्नका लागि अनुमति पत्र बैदेशिक रोजगार विभागले प्रदान गर्दछ । आर्थिक कारोवार गर्ने र आर्थिक कारोवार नगर्ने भन्दै दुई किसिमको अनुमति पत्र प्रदान गरिन्छ । त्यसका लागि म्यानपावर कम्पनीले प्रति एजेन्ट २ लाख रुपैयाँ बैदेशिक रोजगार विभागमा धरौटी राख्नुपर्ने हुन्छ । त्यसैले कुनै पनि कम्पनीले आधिकारिक एजेन्ट नराखि अबैध तरिकाले एजेन्ट मार्फत रकम ठग्ने धन्दा बनाएपछि हजारौं मान्छेहरु ठगिन बाध्य भएका छन् ।
सबैभन्दा ठुलो कुरा के हो भने ती एजेन्टहरुले लिने राहदानी र रकमको कुनै भरपाई दिने गरेका छैनन् । जसले गर्दा ठगि भएपछि पनि रकम र राहदानी फिर्ता लिन मानिसहरुलाई धेरै समस्या भईरहेको छ । एग्रिमेन्ट पेपर पनि विदेश जाने बेलामा काठमाण्डौको त्रिभुवन अन्तर्राष्टिूय विमान स्थलमा मात्र दिने गरिएको छ । भने अनुसारको काम एग्रिमेन्ट पेपरमा नपाएपनि १ सय २०प्रतिशत सैकडाका दरले व्याजमा उठाएर लिएको ऋणका कारण मानिसहरु जानाजान ठगिन बाध्य भएका छन् ।
आर्थिक बर्ष २०६५÷०६६ मा १० हजार ९ सय ५० जना, आर्थिक बर्ष २०६६÷०६७ मा ११ हजार ९ सय ४२ जना, आर्थिक बर्ष २०६७÷०६८ मा ११ हजार ९ सय २३ जना, आर्थिक बर्ष २०६८÷०६९ मा ११ हजार ६ सय ४३ जना, आर्थिक बर्ष २०६९÷०७० मा १८ हजार ८ सय ९४, आर्थिक बर्ष २०७०÷०७१ मा २१ हजार ३ सय ५७ जना र आर्थिक २०७१÷०७२ मा २२ हजार २ सय ५९ जना गरी धनुषाबाट मात्रै पछिल्लो ७ बर्षमा १ लाख ८ हजार ९ सय ६८ जना बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् ।
धनुषाबाट जति संख्यामा मानिसहरु गईरहेका छन् सोही अनुपातमा यस क्षेत्रका अन्य जिल्लाहरुबाट पनि मानिसहरु बैदेशिक रोजगारीमा गईरहेका छन् । बैदेशिक रोजगार विभागको शाखा कार्यालय काठमाण्डौमा मात्र भएका कारण ठगिएका व्यक्तिहरु काठमाण्डौ जान हच्किन्छन् । शाखा कार्यालय मधेसमा भए तिनीहरुले सजिलै ती ठगहरुबाट ठगिएको रकम र राहदानी फिर्ता पाउन सहज हुनाले पनि बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा खुल्नु आवश्यक छ । यद्यपि यस अघिका पुष्प कमल दाहाल नेतृत्वको सरकारले बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा संचालन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

२०७४ श्रावण ०१ गते आईतबार