Monday, December 16, 2013

क्रिकेट खेलाडी अनिल मण्डललाई सम्मान


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालको टिमले क्रिकेट विश्वकप खेल्न सक्छ भन्ने कुरा नेपाली क्रिकेट प्रेमीहरुको लागि एउटा सपना नै थियो । त्यसमा पनि विश्वकप छनौट हुने र उक्त छनौटमा जनकपुरका क्रिकेटरको पनि महत्वपुर्ण योगदान हुन सक्ने जनकपुरबासीले यस अघि कहिल्यै नसोचेको भएपनि जनकपुरका क्रिकेटर अनिल मण्डलले जनकपुरबासीको उक्त सपना पुरा गरिदिएका छन ।
    विश्वमा क्रिकेट अत्यन्त लोकप्रिय खेल बन्दै गएको अवस्थामा जनकपुरका मण्डल विश्वकप खेल्ने भएका छन । टी(ट्वान्टी विश्वकप छनौट खेलका लागि जनकपुरका मण्डलले क्रिकेट मैदानमा अह्म योगदान निर्वाह गरेका छन । त्यसैले जनकपुरको गौरवका रुपमा रहेका इतिहास रच्ने नेपाली क्रिकेट टोलीको अहंम सदस्य धनुषाका अनिल मण्डललाई २६ मंसिर बुधबार जनकपुरमा जनकपुरवासीले भव्य स्वागत गरेको छ ।
    महाबीर युवा कमिटी जनकपुरले खेलाडी मण्डललाई विशेष कार्यक्रम आयोजनगरि भव्य स्वागत र सम्मान गरेको हो । विश्व कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सहभागि हुने महत्वपूर्ण अवसर प्राप्त गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीहरु मध्ये मण्डल चर्चति नाम नाम हो । प्रशिक्षणको क्रममा रहेका खेलाडी मण्डल दुई दिने विदाको क्रममा मातापिता भेटन पैतृक गाउँ धनुषाको मिथिलेश्वर मौवाही आएका थिए । कुनै बेला क्रिकेट टोली बनाएर प्रतियोगिताहरुमा सहभागिता जनाउने महाबीर युवा कमिटीले युवा क्रिकेटर मण्डललाई सम्मान गरेकोछ ।कमिटीका अध्यक्ष विश्वनाथ साहको अध्यक्षतामा भएको सम्मान समारोहमा बिभिन्न खेलका प्रशिक्षक, खेलाडी, क्लवका वर्तमान,पूर्ब पदाधिकारीहरुको सहभागिता थियो ।
    कार्यक्रममा जनकपुर क्रिकेट एशोसिएशनका अध्यक्ष हिरा भगतले ११ हजार नगद र क्षेत्रिय क्रिकेट समिति क्षेत्र नम्बर ७ ले २१ हजार नगद दिने घोषणा गरे । खेलाडी मण्डललाई नगर परिक्रमापनि गराइएको थियो ।नेपाली क्रिकेट क्षेत्रमा जनकपुरको नाम अग्रस्थानमा रहँदै आएकोछ । जनकपुरका उत्तम कर्माचार्यदेखि अनिल मण्डल सम्मले यस भेगको गौरवपूर्ण प्रदर्शन गरेकाछन । राष्टिूय क्रिकेट टोलीमा जनकपुरका कयौं खेलाडीहरु परेका थिए ।तर राज्य पक्षबाट खेलाडीहरुलाई गर्नुपर्ने भरणपोषण हुन नसक्दा अत्यन्त क्षमतावान खेलाडीहरु विस्थापित भएका छन् ।

    युएइमा १५ वर्ष मुनि उमेर समुहको एलाइट कप प्रतियागितामा नेपालको तर्फवाट सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि उचालेका जनकपुरका क्रिकेटर मण्डलले अन्तराष्टिूय क्रिकेटको पिचमा मण्डलले शतक समेत लगाइसकेका बल्लेबाज हुन । डिभिजन थ्रीमा अनिल मण्डलको शतकको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । म्यान अफ दि म्याच मण्डलले १ सय ३४ बलमा ४ छक्का र ८ चौकाको मदतले १ सय १३ रन बनाए ।  काठमाण्डौमा सम्पन्न डिभिजन(५ को प्रतियोगिताका लागि नेपाली टोलीमा उनी छनौट त गरिए तर प्रतियोगिताको अन्तिम खेलमा अमेरिका विरुद्ध खेल्ने मौका मात्र पाए । उक्त प्रतियोगितामा पनि मण्डलले ३२ रनको  योगदान गरेका थिए । प्रतिभा हृुदाँ हुदै सेलेक्सन कमिटीको विभेद, प्रशिक्षक, कप्तानको विभेदपुर्ण सोचका शिकार बन्न पुगेका मण्डलले डेढ वर्ष अघि भारतको मुम्बईमा खेलिएको अभ्यास म्याचमा शतक लगाएर प्रशिक्षक पुबुदु दासनायकेको विश्वास जित्न सफल भएका थिए ।
    टी–टवेन्टी क्वालिफायर खेलमा सुरुको खेलमा उनले ब्रेक पाएन तर अफगानिस्तान बिरुद्ध उनलाई टीममा खेल्ने मौका प्रदान गरेपछि उनले अर्धशतक लगाएर टीमको विश्वास जीतेका थिए । नेपालको तर्फबाट आक्रामक बल्लेवाजको रुपमा खेल्ने गरेका मण्डललाई, उनीसँगै खेल्ने जनकपुरका क्रिकेटरहरु त्यारले अनिल मेण्डुलकर भन्ने गर्छन । क्रिकेटकै दुनियामा महान भारतीय खेलाडी सचिन तेन्दुलकरले मैदानमा लगाउने शटहरु जस्तै मण्डलको सट्स हुन्छन, उनी जस्तै कुल टेम्परामेन्ट हुनु, अनुशासित खेलाडी भएका कारण पनि उनलाई सवैले मेण्डुलकर भन्ने गर्छन् । मेण्डुलकरले आगामी दिनमा यसरी शतक, अर्धशतक लगाई नेपाली टोलीलाई डिभिजन(३,–२ हुदै विश्वकप सम्मको यात्रा पुरा गराउन सफल रहोस भनेर जनकपुरवासी शुभकामना समेत दिन चाहन्छन् ।
नेपालको क्रिकेट र क्रिकेटरको योगदान
नेपालले अहिले २(३ वर्ष देखि क्रिकेटमा पाएको उपलब्धीहरु हेर्दा शायद हरेक नेपालीलाई गर्व लाग्छ होला । नेपालको घरेलु क्रिकेट तर्फ हेर्दा त यि उपलब्धीहरु निकै नै रोचक हुन जान्छ । जुन देशमा क्रिकेटको लागि एउटा अन्तराष्टिूय स्तरको मैदान छैन, खेलाडीलाई सुविधा छैन, खेलाडी पढांै कि खेलौं भन्ने दोधारमा छन र माथि क्रिकेट संघसँग जोडिएका पदाधिकारीहरुको क्रिकेट विकासको सोच छैन त्यहाँका खेलाडीहरु दिन रात एक गरेर प्रशिक्षन गरी नेपालीलाई विश्वमा चिनाउनु निकै अविश्मरणिय छ । नेपाली खेलाडी आफ्ना परिश्रमले आज नेपालीलाई ट्वान्टी(ट्वान्टी विश्वकप प्रतियोगितामा पु¥याएको छ भने एक दिवसिय विश्वकप प्रतियोगिताबाट मात्र एक पाइला पछाडी छ ।
नेपालको क्रिकेटको विकास कसरी हुन्छ  त ? यो कुरा अहिलेको मुख्य विषय हो । नेपाल क्रिकेट संघले सकारात्मक सोचका मानिसहरु खोजेर यसमा पहल गर्नु पर्ने हुन्छ । जनकपुरका पुर्व कप्तान कुमार प्रसुन भन्छन,“नेपाली खेलाडीलाई ‘नगद’ भन्दा ‘प्रोफेस्नालिज्म’ को खाँचो छ । हाम्रो संघले ठुला ठुला संस्था, बैंकहरुमा गएर  हरेक संस्थामा खेलाडीको स्थायी जागिरका लागि पहल गर्नुपर्यो । एउटा संस्थाले कम्तीमा दुई वटा राष्टिूय खेलाडीलाई जागिर दिएर  रोजगारी सुनिश्चत ग¥यो भने हाम्रा राष्टिूय खेलाडीहरु प्रोफेस्नली स्टूोङ्ग भएर अझै परिश्रम गर्न सक्छन । ”
    घरेलु क्रिकेटको कुरा गर्दा हरेक क्षेत्रमा एउटा एउटा मैदान बनाउनु पर्यो । हरेक जिल्लामा प्रत्येक वर्ष एक महिना वा पन्द्र दिने प्रशिक्षन कार्यक्रम राख्नुपर्यो । हरेक क्षेत्रिय टोलीहरुलाई भारतमा अभ्यास म्याचहरुको व्यवस्था मिलाउनु पर्यो । नेपालमा हुने राष्टिूय प्रतियोगिताको नम्बर अफ म्याचेज बढाउनु पर्यो । पुर्व कप्तान प्रसुन भन्छन,“ एउटा टिमले ३ वटा म्याच खेल्ने गर्छ त्यसमा एउटा खेल पानीले खान्छ भने अर्को खेलमा राष्टिूय टोलीले सुसज्जित शसस्त्र प्रहरीबलको टोलीसंग भेटनु पर्छ भने बाँकी रहेको तेस्रोमा खेलाडीको किस्मत । कम से कम हामीले एउटा क्षेत्रलाई १० देखि १२ वटा म्याच दिनु पर्छ  अनि गएर खेलाडीको सहि क्वालिटी थाहा पाउन सकिन्छ ।
    जनकपुरका अनिल मण्डलको क्रिकेट करियर सुनिश्चित हुँदै गएपछि अब जनकपुरका जुनियर खेलाडीहरुपनि क्रिकेट प्रति सचेत भएका छन । क्षेत्र नं.७ जनकपुरका जुनियर क्रिकेटर कैलाश मण्डल भन्छन,“हिजो क्रिकेट खेल्न जाँदा घरमा अभिभावकहरुले कुट्नु हुन्थ्यो तर आज अब क्रिकेट खेलेर पनि नेपालमा स्थापित हुन सकिन्छ र त्यो काम जनकपुरका अनिल दाईले बखुवि देखाइसकेपछि मेरो आमा बुबा पनि मलाई नेपालको क्रिकेटर भएको सपना मात्र हेर्न लागेका छैनन, क्रिकेटका लागि सहयोग पनि गरिराखेका छन ।”
    अनिल मण्डलका प्रशिक्षक नविन सिंह भन्छन,“ नविन आज विश्वकप टिमका सदस्य त्यसै भएका होइनन । १५, १७, १९ वर्ष मुनिको उमेर समुहका प्रतियोगिताहरु खेल्दै राष्टिूय टिममा छनौट भएको हो । त्यसकोलागि उसले कडा मिहिनेत गरेका छन ।”
जनकपुरका क्रिकेटरहरुको पलायन
जनकपुरका विगतका स्टार क्रिकेटरहरु क्रिकेटमा आफ्नो भविष्य सुनिश्चित नदेखेपछि खेल क्षेत्रबाट पलायन भएर जीविकोपार्जनका लागि अन्य क्षेत्र रोज्न बाध्य पनि नभएका होईन । जनकपुरका राष्टिूय खेलाडीहरु सँजय लामा जिविकोपार्जनको लागि बुद्ध एयरमा धाएका छन भने विकास कर्ण र विमल भट्टराई काठमाडौँमा अन्य पेशामा काम गरिरहेका छन् । रितेश बराल क्रिकेट त्यागेर विराटनगरमा हार्डवेयर पसल सञ्चालन गरिरहेका छन् । डिजर्भ गर्ने खेलाडीले समयमा अवसर नपाउँदा क्रिकेटमा आर्य(आर्जन गर्न नसकिने भएकाले गार्जीयनहरुबाट दबाब पर्न थालेपछि अन्य पेशा रोज्न बाध्य भएको जनकपुरका सिनियर राष्टिूय क्रिकेटर राज मोहम्दको भनाई छ । यसअघि नेपालका प्रभावशाली तिब्र गतिका गेन्दवाजका रुपमा ख्याति कमाएका संजोग कर्ण बैदेशिक रोजगारीमा केही वर्ष कतारमा काम गरेर फर्केपछि फेरी पनि कमव्याक गरेर क्यानको ध्यान आकर्षण गर्न सफल भएका छन ।
    विगतमा जनकपुर चुरोट कारखानाले इनडोर, आउटडोर, फुटबल, क्रिकेट, हकी, टेबल टेनिस, ब्याडमिन्टन सहितका खेलाडीहरुलाई जागिर प्रदान गरेर भविष्य सुनिश्चित गरेकै कारण राष्टिूय तथा अन्तराष्टिूय खेलकुदमा जनकपुरको अब्बल स्थान थियो ।  तर मुलुकमा बहुदल आएपश्चात वि.स. २०५२ पछि कारखाना पनि घाटामा जान लागेपछि करार भएपछि पदमा कार्यरत खेलाडी कर्मचारीहरुलाई हटाउन थालेपछि जनकपुरमा खेलकुदको विकास हुन नसकेको सिनियर क्रिकेटर प्रदिप शर्माको तर्क छ ।
वि.स. २०५३ मा जचुकालिबाट राजिनामा गरेर जिल्ला खेलकुद विकास समिति धनुषामा सचिव पदमा कार्यरत शर्मा भन्छन, “पहिले पहिले हामी विहान ४ बजे जनकपुरको बाह्रविग्हा मैदानमा फिल्ड पै्रक्टीस, फिटनेश प्रैक्टीश गथर््यौ, १० बजे कारखाना पुगेर हाजिरी बनाएर फेरी मध्यान्ह १ बजे ग्राउण्ड फर्किएर खेलको अभ्यासमा लाग्थ्यौँ । खेल सामग्रीको पनि कुनै अभाव हूँदैनथ्यो, नेपाल भरि मध्ये सबैभन्दा आधुनिक सामग्रीहरु कारखानाले प्रदान गर्दथ्यो ।” तर अहिले क्रिकेट खेल्नका लागि मैदानको अभाव, आवश्यक इक्विपेन्ट कैचिङ्ग ब्याट, रयाकेट , बल, कोन, नेट सहितका अभ्यास सामग्रीको अभाव रहेको प्रशिक्षक नविन सिंहको भनाई छ ।
जनकपुरमा क्रिकेट क्रेज
करिब एक दशक अन्तराल पछि गत वर्ष जनकपुरमा पुर्व दिवङगत क्रिकेटर दिपक गुप्ताको स्मरणमा  भएको राष्टिूय स्तरको क्रिकेटको टुर्नामेन्ट आयोजनामा स्थानिय क्रिकेटप्रेमीहरुको उल्लेखीय सहभागीताले पनि जनकपुरमा क्रिकेटको क्रेज कुन हद सम्मको  छ, सावित गरिसकेको छ । पहिलो र दोस्रो दिनको खेलमा तिन देखि चार हजार सम्मको संख्यामा दर्शकको उपस्थितिले जनकपुरवासीको क्रिकेट प्रति क्रेजलाई सहजै दर्शाउँछ । क्रिकेट म्याच चलिरहेको बेला प्रति चौक्का, प्रति छक्का, अर्धशतक, शतक , ह्याटिूक सबैमा व्यक्ति व्यक्तिले उपहारको घोषणा गर्नुले पनि क्रिकेट प्रतिको स्थानिय वासीको लगावलाई थप पुष्टि गर्छ ।
     प्रतियोगिताको विजेता टिमको लागि चौधरीको कन्स्टूक्सनका दिपेन्द्र ठाकुरद्धारा ४१ हजार नगद र ५ हजारको टूफी , उपविजेता टिमको लागि २१ हजार नगद र तिन हजारको टूफी जिल्ला क्रिकेट संघका धनुषाका उपाध्यक्ष राजु चौधरीद्धारा प्रायोजन गर्नु , म्यान अफ दि सिरिजका लागि ५ हजार १ सय नगद र ७ म्याचका म्यान अफ दि म्याचका लागि १ हजार १ रुपैयाँ नगद नेपाल बंग्लादेश बैकले प्रायोजन गर्नुले जनकपुरमा क्रिकेट टुर्नामेन्टका लागि प्रायोजकको अभाव नरहेको पुष्टि हुन्छ ।
     क्रिकेटको विकासको लागि प्रतियोगिता हुनु सवैभन्दा वढी आवश्यक हुन्छ । र त्यसका लागि हुने पर्ने तत्व मध्ये खेलाडी र मैदान हुनु आवश्यक छ । प्रशिक्षक नविन सिंह भन्छन, अब अण्डर –१५, अण्डर–१९ टीमलाई स्टूोन्ग बनाउँदै सिनियर टीम पनि स्टूङ बनाउन लाग्नु पर्छ । त्यसको लागि जनकपुरमा मैदानको अभाव छ । मैदान अभावमा क्रिकेटरलाई अभ्यास गराउन पनि गाह्रो भइरहेको छ ।”

मिति ः २०७०÷८÷३०

कहिल्यै खुल्दैनन सहरी स्वास्थ्य क्लिनिक

जनकपुर–१५, रामपुर स्थित सहरी स्वास्थ्य क्लिनिक कहिल्यै खुलेको छैन ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


जनकपुर नगरपालिका १५ स्थित रामपुर गाउँमा ग्रामिण वासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिक संचालनमा नआउँदा स्थानियवासीहरु मर्कामा परेका छन् । जनकपुर नगरपालिका १५ का वडा सचिव सुरेन्द्रलाल कर्ण भन्छन,“स्थापना भएको १५दिनसम्म स्वास्थ्यकर्मीहरु उपस्थित भए तर त्यसभन्दा यता कहिल्यै क्लिनिक खुलेको छैन । उक्त समस्याबारे यसभन्दा अगाडीका जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत बद्री कृष्ण शंखदेव र हालका अधिकृत जगन्नाथ लामिछानेलाई मैले पटक पटक अवगत गराईसकेको छु ।” उक्त वडाका भुतपुर्व वडा अध्यक्ष रामचन्द्र साह भन्छन,“सरकारको तलब खाने ती कर्मचारीहरुले यस वडामा १ दिन पनि काम गरेका छैनन् । नगरपालिका कार्यालयमा हामी स्थानियवासीहरु पटक पटक डेलिगेशन गईसक्यौ, तर नगरपालिकाले कुनै सुनवाई गरेको छैन ।” उक्त गाउँका सामाजिक परिचालक गुरु दयाल दास भन्छन,“ स्वास्थ्य सेवा वाट वञ्चित भएका स्थानियवासीहरु सामान्य देखि गम्भीर किसिमको विरामी भए नीजि क्लिनिक र अस्पताल नै धाउनु परेको र उक्त गाउँमा यातायातको नाउँमा एउटा रिक्सा पनि उपलब्ध नहुने गरेको अवस्थामा सरकारद्वारा संचालित सहरी स्वास्थ्य क्लिनिकमा कहिल्यै नआउने कर्मचारीहरुलाई कारवाही गरिनुपर्दछ ।” त्यसैगरी जनकपुर १२ मा संचालित सहरी स्वास्थ्य क्लिनिकमा ४ जना कर्मचारी कार्यरत रहेपनि महिला कर्मचारी कहिल्यै देखा नपर्ने त्यहाँका सामाजिक परिचालिका सुनिता श्रेष्ठ बताउँछन ।
स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरे पनि जनकपुरवासीले सरकारले प्रदान गर्दै आएको न्यूनतम स्वास्थ्य सुविधासमेत उपभोग गर्न पाएका छैनन् । गाविस क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमार्फत सेवा दिइए पनि नगर क्षेत्रका बासिन्दा त्यस तहको सुविधाबाट वञ्चित छन् । सरकारी कार्यक्रममध्ये अधिकांश ग्रामीणक्षेत्र लक्षित हुनाले सहरवासीले सुविधा नपाएको जनकपुरका स्थानीय वासीहरु गुनासो गर्छन । रोगीहरुको सामान्य उपचार, खोपसम्बन्धि जानकारी, गर्भवत्ती महिलालाई कहाँ र कसरी सुत्केरी गराउने भन्ने जानकारी सरसफाई सम्बन्धि जानकारी तथा स्वास्थ्य शिक्षा सम्बन्धि जानकारी दिनुपर्ने सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरुले कामै नगरेका कारण प्रभावकारी हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगत पनि स्वीकार्छन ।
२८ जेष्ठ २०६९ देखि जनकपुर नगरपालिका अन्तरगत वडा नं. १२,१४,१५ र १६ गरी कुल ४ वटा वडामा १५ जना स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले करारमा नियूक्ति गरेको हो । उक्त ४ वटै सहरी स्वास्थ्य क्लिनिकमा कर्मचारीहरु कामै नगरी तलब खाने गरेको स्थानियवासीहरु गुनासो गर्छन । यद्यपि जनस्वास्थ्य कार्यालयले जनकपुरमा दुई वटा क्लिनिक मात्र संचालन गर्ने निर्णय गरेको भएपनि ती कामदारहरुले आफ्नो जागिरलाई बचाउन र वैधता पाउने योजनाका साथ ४ वटा क्लिनिक संचालन गराइएको एक जना कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । जनकपुर १२ मा प्रमोद कुमार साह, राजकुमार साह, निलम कुमारी यादव र अमर साह, जनकपुर १४ मा विजय कुमार नायक, नन्दकिशोर साह, चन्दाकुमारी पाठक र अम्बिका पाठक, जनकपुर १५ मा संजय कुमार यादव, प्रेमकला कुमारी साह र ललन लाल कर्ण, जनकपुर १६मा अक्षय कुमार यादव, संतोष कुमार यादव, पिंकी कुमारी चौधरी र रामप्रसाद साह गरी कुल १५ जना कर्मचारी नियूक्त भएका छन । कार्यालय सहयोगी लाई रु. ८ हजार, अहेबलाई रु.१० हजार र एचएलाई रु. १२ हजार प्रति महिना तलब दिने करारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले नियूक्ती दिएपनि तलब जनकपुर नगरपालिका कार्यालयले प्रदान गर्दै आएको छ । जनकपुर नगरपालिकाका लेखा अधिकृत जयचन्द्र मिश्रका अनुसार जिल्ला जनस्वास्थ्यले पठाएको रु. १ लाख ४५ हजारको हाराहारीमा ती १५ कर्मचारीहरुको मासिक तलब हामीले वितरण गर्छौं ।
जनकपुर–१२ कुवामा रहेको स्वास्थ्य क्लिनिक खुल्नेगरे पनि कर्मचारी प्रायः अनुपस्थित रहन्छन ।

सहरी क्षेत्रमा आर्थिक अवस्था न्यून भएकाको संख्या बढे पनि सरकारको ध्यान पुग्न सकेको छैन । सहरी क्षेत्रमा आर्थिक रूपमा सम्पन्न मानिस मात्र बस्छन भन्ने मान्यताका कारण न्यून आर्थिक अवस्थाका स्वास्थ्य सेवाबाट वञ्चित छन । ज्याला मजदुरी गरी निर्वाह गर्ने पनि निजीमा उपचार गराउनु वा उपचारै नगर्नुको विकल्प नभएको नगरमा बसोवास गर्ने सर्वहारा वर्गहरु बताउँछन । महँगा क्लिनिकले सहरी क्षेत्रको सीमित वर्गबाहेक अन्यलाई सेवा दिन सकेको देखिँदैन । नगरपालिकाले चारओटा वडामा मात्र सहरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको छ ।
सरकारले सन २०१७ सम्ममा सबैको पहुँचमा स्वास्थ्य सेवा र्पुयाउने कार्ययोजना बनाएको छ । बत्तीमुनि अँध्यारो भनेजस्तै सुविधासम्पन्न सहरमा बसेर पनि स्वास्थ्यमा पहुँच नपुगेका विपन्न नागरिकका लागि राज्यले गत वर्षदेखि सहरी स्वास्थ्य केन्द्र (क्लििनिक) खोलेर निःशुल्क सेवा थालेको छ । विपन्नताका कारण गास, बास जुटाउन विपन्नहरू पैसा तिरेर उपचार गर्न निजी अस्पतालहरूमा जान नसक्दा स्वास्थ्य सेवा दिनबाटै वञ्चित भएकालाई लक्षित गरी केन्द्र चलाइएको हो ।
गाउँमा जस्तो निःशुल्क स्वास्थ्य संस्थामार्फत औषधि र उपचार सेवा नपाएकै कारण सहरी गरिबको पहुँच स्वास्थ्य सेवामा नपुगेपछि निःशुल्क स्वास्थ्य औषधोपचार गर्न थालेको जिल्ला जनस्वास्थ्य धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगतले बताए । जसमा स्थानीय निकायले पूर्वाधार बनाइदिने र जिल्ला जनस्वास्थ्यले प्राविधिक सहयोग गर्ने व्यवस्था छ ।
स्वास्थ्यचौकीको संरचनामा चलाइएको सहरी स्वास्थ्य केन्द्रले अस्पतालमा आउने बिरामीलाई निःशुल्क उपचार र ३२ प्रकारका औषधि निःशुल्क रूपमा दिने गरेका छन । त्यस क्षेत्रमा राज्यद्वारा सञ्चालित खोप सञ्चालन गर्ने र स्वास्थ्य स्वयंसेविकाहरूलाई नियमित तालिम र परामर्श गर्ने जिम्मेवारी पनि केन्द्रलाई छ ।
म्याद थप्न भन्दै कार्यकारी अधिकृत माथि आक्रमण
कामै नगरी तलब खान पल्केका १५ जना कर्मचारीहरुको टोलीले जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलाई २५ मंसिर मंगलबार साँझ कुटपिट गरेका छन । बैठकबाट बाहिरिने क्रममा केहि कर्मचारीहरुले उनको आफ्नै कार्यकक्षमा थुनेर हातपातगरि जबरजस्ती सहीछाप गराएको बताइएकोछ  । सहरी स्वास्थ्य सेवा तर्फ कार्यरत्त करार कर्मचारीहरुको म्याद थप गर्न अस्विकार गरेपछि कर्मचारीहरुले जबरजस्ती सहीछाप गराई म्याद थप गराउने प्रयास गरेको अधिकृत लामिछानेले जनाए । उनले कार्यालय कोठा थुनेर केहि बेर नियन्त्रणमा लिएको र दुईवटा कागजमा तोकआदेश गराएको जनाए । बैठकबाट बाहिरिन लागेका अधिकृत लामिछानेलाई तत्काल नियन्त्रणमा लिएर कोठामा थुनिए लगतै होहल्ला भएको प्रत्यक्षदर्शीहरुले जनाएकाछन । अधिकृत थुनिएपछि तत्कालै प्रहरी र कर्मचारीहरुले ढोका खोल्न लगाएर उनको उद्धार गरेका थिए । प्रहरीका अनुसार रंजित कुमार शर्मा, सञ्जय कुमार यादव, प्रमोद कुमार साह, अक्षय कुमार यादव, सन्तोष यादव, नन्दकिसोर साह, विजय कुमार नायक, अमर साह र राममिलन यादवलाई पक्राउ गरिएकोछ । पक्राउ परेका ९ वटै व्यक्तिमाथि सार्वजनिक अपराधको मुद्दा चलाईएको प्रहरीले बताएका छन । घटना पश्चात नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति जनकपुर नगरपालिकाले नगरपालिकाका कर्मचारीहरुलाई सहरी स्वास्थ्य क्लिनिकका कर्मचारी विजय कुमार नायकको नेतृत्वमा आएका टोलीले हातपात, हुलहुज्जत एवम कार्यालयमा तोडफोड गरी शान्ति भंग गरेको कार्यलाई भत्र्सना गरेको छ । इकाई समिति जनकपुरका अध्यक्ष कृष्ण कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्यालय प्रमुख लामिछाने लगायत केही कर्मचारीलाई कुटपिट गर्ने अपराधिहरुलाई कानुनी कारवाही गरी हदैसम्मको सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका थिए । घटनाको विरोधमा आकस्मिक सेवा बाहेक २६ मंसिरमा सम्पुर्ण कामकाज ठप्प पारेका थिए । उक्त घटनाको सन्दर्भमा एसोसिएशनले दुईवटा विज्ञप्ती जारी गरेको थियो । पहिलो कृष्ण कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनस्वास्थ्य कार्यालयका करार सेवाका कर्मचारीहरु र नगरपालिकाका कर्मचारी सुनिता कुमारी यादवको नेतृत्वमा वाहिरबाट अपराधिहरु मगाई कार्यालय समयमै कार्यालय प्रमुख लामिछाने माथि हातपात गरेको र गराएको उल्लेख छ ।
जनस्वास्थ्य र नगरपालिका बीच द्वन्द
जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेका अनुसार जनस्वास्थ्यमा नियूक्ती पाई गत वर्ष देखि कार्यरत रहेका सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरुको म्याद कार्तिक मसान्तसम्म मात्र रहेको थियो ।  म्याद थप गर्ने काम जनस्वास्थ्यको हो तर नगरपालिकामा जवर्जस्ती म्याद थप गराउने प्रयत्न गरिएको मात्र छैन आफुलाई कोठामा थुनेर घेराउ गरी कुटपिट गर्नुका साथै जवर्जस्ती हस्ताक्षर समेत गर्न लगाईएको लामिछानेले बताए । उनीहरु नगरपालिकाको कर्मचारी हुँदै होइन, नियूक्ती र दरबन्दी पनि यहाँ छैन सबै फाइल जनस्वास्थ्यमा रहेको उनले बताए । दुईवटा क्लिनिकको बजेट मात्र आउने गरेको छ त्यसमा पनि वढी कर्मचारी नियूक्ति गरिएको कारण तलब अपुग हुने गरेको लामिछानेले बताए । यता जनस्वास्थ्य प्रमुख भगत भन्छन,“ केन्द्रबाटै तलब कटौति गरेको हो,हामीले नगरपालिकालाई तलब दिन बाध्य पार्न सक्दैनौं । हामीले स्वास्थ्य मन्त्रालयसँग पैसा माग गरेका छौ तर निकासा नभइराखेको अवस्थामा अन्तिममा काम गर्ने ती सम्पुर्ण कर्मचारीलाई धन्यवाद दिएर विदाई गर्ने हो ।” आवेशमा आएर उनीहरुले नगरपालिकाका अधिकृत लामिछानेलाई कुटपिट गर्नु अत्यन्त दुखद रहेको भगतले बताए ।
यस अघि पनि ती कर्मचारीहरुको म्याद सकिएपछि प्रभावमा लिएर अहिलेको घटना जस्तै जोरजवर्जस्ती गरी नगरपालिकामा वैठक चलिरहेको तत्कालिन जनस्वास्थ्य प्रमुख हरिशचन्द्र साहलाई समेत हातपात गरेपछि  पुर्वकार्यकारी अधिकृत वद्रीकृष्ण शंखदेवले ४ महिनाको लागि म्याद थप गरेको स्रोतको दावी छ । नगरपालिकाका एक जना कर्मचारीका अनुसार विगतकै आधारमा यसपटक पनि ती कर्मचारीहरु म्याद थप गर्न लगाई नगरपालिकाको कर्मचारी बन्न चाहेको उनीहरुको दाउ थियो । यहाँसम्म की ती कर्मचारीहरुलाई नगरपालिकाकै कर्मचारी रहेको भनेर एक जना अधिकृत गणेश यादवले कर्मचारी परिचय पत्र समेत बनाईदिएको थियो । उनीहरुको म्याद थप गर्न यस क्षेत्रका सभासदहरुको पनि टेलिफोन आउने गरेको ती कर्मचारीले बताए । जनस्वास्थ्यका ती कामदारहरुले पटक पटक यस्तो दुशसाहस गर्नु पछाडि नगरपालिकाका उच्च पदस्थ केही कर्मचारीहरुकै योजना अनुसार नै आक्रमण गराइएको कार्यकारी अधिकृत लामिछानेले बताएका छन । लामिछाने पिटिएपछि डरले सरुवा गराउने र त्यहाँ प्रमुखलाई पनि आक्रमण हुन्छ भन्ने डरले काठमाण्डौबाट अन्य अधिकृत सरुवा गराइ आउन नचाहने अवस्था बनाउन तथा नगरपालिकाको निमित्त प्रमुख भएर काम गर्ने दाउमा केही उच्च पदस्थ कर्मचारीहरुले समेत त्यस्ता कार्यलाई मुर्त रुप दिन पर्दा पछाडिबाट भुमिका निर्वाह गर्दै आएको एक जना कर्मचारीले बताए ।
सहरमा निःशुल्क स्वास्थ्य सेवाको जिम्मा स्थानीय निकायलाई
सरकारले नगर क्षेत्रमा रहेका विपन्न, महिला तथा सीमान्तकृत नागरिकको प्राथमिक स्वास्थ्य सेवाका लागि स्थानीय निकायको रुपमा रहेको नगरपालिकालाई क्रियाशील गराउने उद्देश्यले जिम्मेवारी थपेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सहरी स्वास्थ्य नीति(२०६९ अनुसार नगर क्षेत्रमा रहेका विपन्न तथा सीमान्तकृत नागरिकको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय निकाय क्रियाशील रूपमा सहभागी हुनुपर्ने उल्लेख छ ।  स्थानीय स्वायत्त शासन ऐन(०५५ र नियमावली(०५६ अनुसार स्थानीय विकास मन्त्रालयलाई अपनत्व हुने गरी मुख्य जिम्मेवारी नगरपालिकालाई दिईएको हो । नगरपालिकाका लागि स्थानीय विकास मन्त्रालयबाट जाने कुल बजेटको झन्डै १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा र्पुयाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
राष्टिूय स्वास्थ्य नीति(०४८ ले ग्रामीण क्षेत्रलाई मात्रै समेटेको भन्दै सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्यका लागि नगरपालिकाले छुट्टै स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने र त्यसको अपनत्व स्थानीय निकायले लिनुपर्ने उल्लेख छ । नगर क्षेत्रमा रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न सरकारले दुई वर्षयता देशका ५८ नगरपालिकामा एक सय २९ वटा नगर स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ । तर, ती केन्द्रको सञ्चालन तथा समन्वयको मुख्य जिम्मा अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगतका अनुसार सहरमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने नागरिकको प्राथमिक स्वास्थ्यप्रति लक्षित गरी सरकारले ल्याएको नयाँ नीति अनुसार ग्रामीण क्षेत्रका विपन्न नागरिकले गाविसमा रहेका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमार्फत निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य सेवा पाएका छन । तर, नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरूले सो सेवा पाएका थिएनन, त्यसैले सरकारले सीमान्तकृत जनताको प्राथमिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न खोजेको हो ।
उनले विगत दुई वर्षदेखि सञ्चालनमा आएका स्वास्थ्य केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहरी स्वास्थ्य नीति ल्याइएको जानकारी दिए । ‘गाँउका उपस्वास्थ्यमा निःशुल्क सिटामोल पाइन्छ । तर, नगरपालिकामा बसेको गरिबले सामान्य ज्वरो आए पनि मेडिकल वा अस्पताल नै धाउनुपर्छ । त्यसैले हामीले नयाँ नीतिमार्फत उपचारलाई व्यवस्थित गर्न खोजेका हौँ,’ उनले भने ।
    राष्टिूय जनगणना ०६८ अनुसार नेपालको कुल जनसंख्याको झन्डै १७ प्रतिशत जनसंख्या ५८ वटा नगरपालिका बस्ने गर्छन । तर, झन्डै ८१ प्रतिशत नगरपालिकाहरूमा स्वास्थ्यसम्बन्धी छुट्टै निकाय छैनन । नगरपालिकाहरूले जनताको स्वास्थ्यका लागि अहिले पनि कुल बजेटको एक प्रतिशतभन्दा कम छुट्याउने गरेका छन । राष्टिूय जनगणना ०६८ अनुसार जनकपुर नगरपालिकामा कुल १७ हजार २ सय १० घर संख्या अन्तरगत कुल २२ हजार ६ सय ७९ परिवार संख्या रहेकोमा कुल ४६ हजार ९ सय ७८ महिला र कुल ५६ हजार १ सय ५ पुरुष गरी कुल १ लाख ३ हजार ८३ जनसंख्या रहेको छ ।
    उक्त नीति अनुसार अब हरेक नगरपालिकाले कुल बजेटको कम्तीमा १० प्रतिशत रकम स्वास्थ्य सेवाका लागि छुट्याउनुपर्ने उल्लेख छ । त्यसैगरी, आवश्यक सहयोग सरोकारवाला मन्त्रालय तथा निकायबाट एकीकृत गरी प्रयोग गर्ने बताइएको छ । सहरमा रहेका गरिबको अवस्था ग्रामीण क्षेत्रका भन्दा पनि विकराल छ । नगरपालिकाभित्र स्थायी र अस्थायी रूपमा बसोबास गर्नेका लागि प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी देखिएको छैन ।  नगर स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मासमेत स्थानीय विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलेर गर्ने प्रावधान छ ।



मिति ः २०७०÷८÷३०

घटेन धनुषामा महिला हिंसा


अजय अनुरागी
जनकपुरधाम............

अधिकांश पिडित महिलाको अध्ययनबाट उनीहरु घरैभित्र वा आफन्तबाट नै हिंसाको सिकार भएका छन र ज्यानै समेत गुमाउनु परेको यथार्थ छ । २६ मंसिर २०७० मा धनुषाको वटेश्वर(८ कोइरी टोल स्थित जोगेन्द्र यादवको छोरा विश्वनाथ यादव (२२) ले आफ्नो श्रीमति वविता देवी यादवलाई घरमा रहेको बञ्चरोले टाउको र घाँटीमा प्रहार गरी विभत्स हत्या गरे । विगतमा पनि ती दुई दम्पत्ति विच पटक पटक झै झगडा भैरहने तथा यादवले श्रीमति बविता माथि घरेलु हिंसा गर्ने गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन । अचम्म त के छ भने श्रीमतिको हत्या गरेपनि घरमा पेस्तोल सहित मुखमा पट्टी बाँधेर आएका १०÷१२ जनाको डाँकाको समुहले लुटपाट गर्नुका साथै श्रीमतिको हत्या गरेर भागेको बताई यादवले अपराध लुकाउन कोशिस गरेपनि प्रहरीले सत्य तथ्य पत्ता लगाई छाडे । प्रहरी उपरीक्षक सुवेदी भन्छन,“ घटनालाई विभिन्न एन्गलबाट अनुसन्धान नगरेको भए हामी कथित फरार डाँकाहरुको खोजिमै रहन्थ्यौं होला । तर घटना स्थलमा डाँका गरेको कुनै प्रमाण नदेखिएपछि मृतकका श्रीमान यादव माथि अनुसन्धान गर्दै जाँदा निजको पाइन्टको गोजिमा रुमालमा प्याक गरेर राखेको मंगलसुत्र बरामद भएपछि घटनाको तथ्य पत्ता लाग्यो ।” श्रीमान र श्रीमति बीच भएको विवादका कारण श्रीमानले श्रीमतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखा परेको प्रहरीले बताएपनि प्रहरी स्रोतकै अनुसार सम्भोग गर्न श्रीमतिले नदिएपछि आवेशमा आएर श्रीमानले श्रीमतिको हत्या गरेको बताइएको छ । जे कारण भएपनि महिलाको हत्या भएको छ र त्यो महिला हिंसा हो । अझ विगतमा पनि श्रीमतिलाई कुटपिट गरी श्रीमानले घरेलु हिंसा गर्दै आएको प्रहरीले बताएकै छ । पुरुषद्वारा महिलाको हत्या धनुषामा नौलो होइन । आर्थिक वर्ष २०६७÷०६८ देखि २०६९÷०७० सम्म क्रमशः ३ वर्षमा धनुषामा ८, ७ र ८ गरी कुल २३ जना महिलाको हत्या नै भइसकेको छ भने ५ जना महिलालाई हत्या गर्ने प्रयास गरिएको छ ।
६ वर्ष देखि एक बालिका बलात्कृत हुदै

महिलामाथि हुने गरिएको हिंसाको विरुद्धमा चारै तिर आवाज उठिरहेको अवस्थामा धनुषामा एक १२ वर्षयि बालिका करिब ६ वर्ष देखि आफनै गाउका एक ठालुको बलात्करको सिकार बन्दै आएका छन । गरिबीका कारणले धनुषाको ढल्केवर एरियामा साहुको घरमा काम गरेर बस्दै आएकी ति बालिकालाई तिन जनाले ६ वर्ष देखि बलात्कार गर्दै आएको रहस्य सार्वजनिक भएको छ । घटना सार्वजनिक भए पछि इलाका प्रहरी कार्यालय ढल्केवरले तिनै जानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका छन । जस मध्ये एक जना ६० वर्ष उमेरका समेत रहेका छन । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक मिलन केसीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा पुष्पवलपुर ८ का चन्द्रबहादुर हेमजन,सोही गाविसका गोविन्द बल र ज्ञानबहादुर घिसिंग रहेका छन । उनीहरुको विषयमा अदालतमा मुद्दा दायर भईसकेको केसीले जानकारी दिनु भयो । गरिबी र विपन्नताको कारणले गर्दा महिलामाथि बलात्कार जस्तो घटनाहरु दिनप्रतिदिनबढदो रहेको छ । कस्तो अचम्म मुलुकमा जमिन्दारी प्रथा अन्त भइसक्यो तर काम गर्ने बालिका कामदार माथि यौन शोषण र बलात्कार त्यो पनि ६ वर्ष उमेरकी एक गरिवकी छोरीलाई लगातार ६ वर्षसम्म बलात्कार गर्ने राक्षसहरु समाजमा हावी भइरहेको अवस्था छ । धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा ४ जना, २०६८÷०६९ मा ६ जना र २०६९÷०७० मा ६ जना गरी तीन वर्षमा कुल १६ जना महिलालाई बलात्कार गरेको प्रहरीमा मुद्दा दर्ता भएको छ । यस वर्ष २०७० को  श्रावण देखि मंसिरसम्म कुल ६ वटा बलात्कारको मुद्दा दर्ता भइसकेको छ । बलात्कारको अभियोगमा पिडित महिलाले उजुरी गरेपनि अदालतमा गएर बलात्कार पुष्टि हुन नसक्दा अभियुक्त छुट्ने गरेका छन ।
पितृसत्तात्मक सामाजिक संरचना, सोच, व्यवहार, परम्परागत मुल्यमान्यताको कारणले महिला र पुरुष विच रहेको असंतुलित शक्ति सम्बन्ध छ । सामाजिक क्षेत्र महिलाको न्युन स्थान, राज्यद्वारा नै निर्मित भेदभाव पुर्ण कानुन, विभेदकारी रीतिरिवाज र वैवाहिक परम्परा, अशिक्षा र कम शिक्षाका कारणले महिला भएकै कारणले लैङ्गिक हिंसा हुने वढी खतरा देखिएको छ । लिङगमा आधारित महिला विरुद्धको हिंसा लैङ्गिक भेदभावको प्रमुख एउटा रुप हो । लैङ्गिक हिंसा भन्नाले कुनै पनि व्यक्ति उपर उसको लिङगको आधारमा भेदभाव गरी गरिने सम्पुर्ण व्यवहार र कामहरु हुन, जसले उक्त व्यक्तिलाई पिडा हुन्छ । शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना आदि जस्ता पिडा पु¥याउने काम र व्यवहारहरु हिंसा भित्र पर्दछन । साथै अन्य प्रकारका दुरव्यवहार, शारीरिक चोटपटक, धाक धम्कीको प्रयोग, भय, त्रास र डर देखाउनु, बल प्रयोग गर्नु, जवरजस्ती गर्नु, अपहरण गर्नु, सताउनु, वा कुनै पनि प्रकारबाट दुःख दिनु, चाहे त्यो बोलेर होस् वा जिस्काएर अपमानित गरिन्छ भने त्यो हिंसाको दायरा भित्र पर्दछ ।
    धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा १ सय ३८, २०६८÷०६९ मा २ सय ३ र २०६९÷०७० मा २ सय ८९ थान महिला हिंसाको मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालय सम्म पुगेको तथ्याङक मात्र त्यति हो । कतिपय घटनाहरु लोकलाज र प्रतिष्ठाका कारण प्रहरीसम्म पुग्दैन । समाजमै घटनालाई दवाइन्छ । आर्थिक वर्ष २०७०÷०७१ को श्रावण देखि मंसिर मसान्त सम्मका  घरेलु हिंसाको १ सय ५३ थान मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको छ । आर्थिक वर्ष सकिएपछि उजुरी विगतको वर्षभन्दा दुई गुणा वढी हुन सक्ने देखिन्छ । घरेलु हिंसाकै कारण समाजमा महिलाहरुले प्रतिवाद गर्नुको सट्टा शोषण सहन नसकेर आत्म हत्या गरी आफ्नो जीवन नै उत्सर्ग गर्ने प्रवृति धनुषामा व्यापक देखिन्छ । महिला विरुद्ध हिंसा हुने र उक्त हिंसा गर्ने विरुद्ध कारवाही नहुँदा महिलाहरुको आत्महत्या गर्ने डर दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०६७÷०६८ मा विष सेवन गरेर २३, झुण्डीएर १० र डुवेर १ गरी कुल ३४ जना महिलाले धनुषामा आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा झुण्डीएर १५ जना र २०६९÷०७० मा ६ जना महिलाले आत्महत्या गरेको देखिन्छ ।
देशै भरी महिला हिंसाविरुद्ध उजुरी बढ्दै, पाँच वर्षमा दोब्बर

महिलाहरूमा आफूमाथि भइरहेको हिंसाविरुद्ध आवाज उठाउँदै              न्यायका लागि सरोकारवाला निकायको ढोका ढक्ढक्याउने क्षमता विगतभन्दा बढेको छ । विभिन्न सरोकारवाला निकायमा महिलाले दायर गरेका उजुरीको बढ्दो संख्याले यस्तो स्थिति देखाएको हो । खासगरी नेपाल प्रहरी, जिल्ला अदालत र राष्टिूय महिला आयोगमा पाँच वर्षयता दर्ता भएका उजुरी र मुद्दा झन्डै दोब्बर बढ्नुले महिलाहरूमा न्याय खोज्ने क्षमता वृद्धि भएको देखिन्छ ।
महिला प्रहरी केन्द्रीय विभाग नक्सालमा पाँच वर्षयता उजुरी संख्या दोब्बर पुगेको छ । आर्थिक वर्ष २०६४ र ०६५ मा घरेलु हिंसासम्बन्धी ८ सय ८१ उजुरी परेकामा २०६९ र ०७० मा १ हजार ८ सय पुगेको विभागले जनाएको छ । विभागकै रेकर्डअनुसार पाँच वर्षअघि ३ सय ९ वटा बलात्कारका उजुरी परेका थिए । अहिले यो दोब्बर अर्थात ६ सय ७७ पुगेको छ । यसैगरी बहुविवाहको उजुरी १ सय २२ बाट बढेर ३ सय ५० पुगेको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलका प्रमुख सुशीला प्रधान पछिल्लो समय हिंसापीडित महिलाहरूमा उजुरी गर्ने आत्मबल बढेको बताउँछिन । घरेलु हिंसाका धेरै घटना हामीकहाँ आउने गरेका छन, उनले  भनिन, ‘श्रीमानले रक्सी सेवन गरी कुटपिट गरेको, अर्की महिलासँग अवैधानिक सम्बन्ध राखेको, खान(लाउन नदिएको जस्ता घटनामा बढी उजुरी परेका छन ।’
    प्रधानका अनुसार महिला हिंसाविरुद्ध चेतना विकास हुँदै गएकाले उजुरी आउने क्रम बढेको हो । महिलासम्बन्धी मुद्दामा सञ्चालित गैरसरकारी संघ(संस्थाका अभियान, न्याय सम्पादनमा आएको गतिशिलता लगायत कारणले पनि जागरुकता बढेको उनले बताइन्। महिला प्रहरी सेलको संख्या वृद्धिलाई उनी अर्काे मुख्य कारण मान्छिन । जिल्ला अदालत काठमाडौंमा तीन वर्षयता परेका मुद्दाको संख्याले पनि महिलामा उजुरी गर्ने क्षमता बढ्दै गएको देखिन्छ । अदालतमा २०६७र६८ मा ९ सय ७८ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका थिए ।
    २०६८ र ०६९ मा यो संख्या बढेर १ हजार ७ सय ४५ पुगेको थियो । त्यसको एक वर्षपछि २०६८र६९ मा १ हजार ८ सय २४ पुग्यो। घरेलु हिंसातर्फ २०६७र६८ मा १४ वटा मुद्दा परेकामा २०६८ र ०६९ मा १७ हुँदै २०६९ र ०७० मा २० पुगेको छ ।
राष्टिूय महिला आयोगले पनि हिंसापीडित महिला न्यायका लागि उजुरी गर्न आउने चलन बढ्दै गएको जनाएको छ । आयोगमा आर्थिक वर्ष २०६८ र ०६९ मा ४ सय ३० वटा महिला हिंसाका उजुरी परेका थिए । त्यसको अर्काे वर्ष ३ सय ६९ वटा परे । आयोगको पछिल्लो तथ्यांक अर्थात सन २०१३ मा मात्र १ सय ४३ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका छन । महिलामाथि हुने विभिन्न हिंसामध्ये घरेलु हिंसाका घटना बढी भेटिएका छन । विभिन्न सरोकारवाला निकायमा परेका उजुरी हेर्दा घरेलु हिंसा सबभन्दा बढी देखिन्छ । हालै कृपा तथा युसिएल नामक अन्तर्राष्टिूय गैरसरकारी संस्थाले गरेको अध्ययनले घरेलु हिंसाको उजुरी बढी आउने गरेको देखाएको थियो । राष्टिूय महिला आयोगकी सदस्य महना अन्सारी महिलामा हिंसा सहने धैर्य कम हुँदै गएकाले हिंसाविरुद्ध उजुरी गर्ने चलन बढेको बताउँछिन । हिंसा सहने क्षमतामा परिवर्तन आउँदैछ,्ु उनले भनिन, ‘पहिलेजस्तो अहिलेका महिला आफूमाथि हिंसा हुँदा पनि टुलुटुलु हेरेर बस्दैनन्। न्यायको निम्ति लड्न सक्षम छन ।’ उनका अनुसार महिलामा बढ्दै गएको अधिकारप्रति सचेतना, मोबाइल, टेलिभिजन, पत्रपत्रिकाजस्ता सूचनाका माध्यम, एकै ठाउँ भेला भएर छलफल गर्ने संस्कृतिको विकासजस्ता पक्षले हिंसाविरुद्ध उजुरी गर्ने चेतना बढेको हो । २०६२ र ०६३ को जनआन्दोलनपछि महिलामा अधिकार चेतना तीव्र भएको अन्सारीको ठम्याइ छ । महिलाहरूमा दमित भएर बस्ने धैर्य कम हुँदै गएको छ,्ु उनले भने, ‘महिलाहरूमा बढ्दो आत्मनिर्भरता, जनचेतनाजस्ता पक्षले उजुरी गर्ने चलन बढेको छ । तर, उजुरीको संख्या बढे पनि न्याय पाउनमा खासै सुधार हुन नसकेको सरोकारवालाहरूको अनुभव छ ।’
    गाविस तथा इलाका प्रहरीले महिला हिंसाका घटनालाई सामान्य रूपमा लिने प्रवृत्तिले उचित न्याय पाउनमा समस्या खडा गरेको आयोग सदस्य अन्सारी बताउँछिन । ‘घरेलु हिंसासम्बन्धी कडा कानुन अभावमा यस्ता घटनाले प्रश्रय पाउने गरेको छ’ उनले भनिन, ‘गाविस तथा प्रहरीले घरभित्रकै झगडा भन्दै पठाउने गर्छन, घर पुगेपछि फेरि श्रीमानले कुटपिट गर्न थाल्छ ।’ घरेलु हिंसासम्बन्धी कानुन कडा बनाउन सके यस्ता घटना कम हुँदै जाने उनको ठहर छ । महिला सेल प्रमुख प्रधान पनि घरेलु हिंसासम्बन्धी कानुन पर्याप्त नभएकैले उचित कारबाही हुन नसकेको बताउँछिन ।
    ‘पीडित महिला पीडकलाई थुनेर कारबाही अघि बढाइयोस भन्ने आशा राख्छन तर ऐनमा थुनेर कारबाही गर्ने व्यवस्था नै छैन, उनले भनिन । समाजशास्त्री नीति अर्याल उजुरी बढ्नुलाई महिलामा विकास हुँदै गएको सचेतना मान्छिन । सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी तवरबाट यस क्षेत्रमा भएका गतिविधिको प्रभावले महिला चेतना बढेको उनको विश्लेषण छ । उजुरी बढे पनि पीडितले पूर्ण न्याय पाउन नसकेको कुरा भुल्न नहुने उनी तर्क गर्छिन । कारबाहीमा हुने ढिलाइ, कानुनी प्रक्रियामै हुने ढिलाइजस्ता पक्षले उचित न्याय पाउन नसकेको स्थिति छ, अर्यालले भनिन, ‘प्रहरीको मानसिकताले पनि पीडित महिलाले न्याय पाउन सकेका छैनन ।’उनका अनुसार घरेलु हिंसालाई घरभित्रकै समस्याका रूपमा लिने पुरानै प्रवृत्ति अहिले पनि कायम छ । ‘
    सबै घटना एउटै तह र प्रकृतिका हुँदैनन, तर प्रहरीको हेर्ने नजर एउटै हुन्छ,्ु उनले थपिन, सम्बन्ध धेरै नै बिगे्रपछि उजुरी गर्न पुगेकालाई प्रहरीले मिलेमतो गरेर पठाइदिन्छ । यसरी जबर्जस्ती मिलाएर पठाउँदा थप हिंसा र अपराध बढेर जाने उनले बताइन । यौनजन्य हिंसामा समाज तथा अन्य निकायले उल्टै महिलालाई दोषी ठर्हयाउने प्रवृत्ति कायम रहनुले पनि महिलाले उचित न्याय पाउन नसकेको अर्यालको तर्क छ ।

मिति ः २०७०÷८÷३०