Wednesday, November 22, 2017

प्रदेश सभाका लागि संघर्ष गर्दै रामबरण पुत्र

अजय अनुरागी
जनकपुरधाम............
देशका पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा संघर्ष गरिरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र नं.४ को (१) मा नेपाली कांग्रेसबाट यादवले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट ज्ञानेन्द्र कुमार यादव र बाम एकताबाट बाबुसाहेव यादवले उनलाई चुनौति दिईरहेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं.५ बाट यसअघि निवर्तमान सांसद समेत रहेका यादव प्रदेश सभामा मत दिन भन्दै क्षेत्रमा घर दैलो गरिरहेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट डा.रामबरण यादव निर्वाचित भएका थिए । त्यसपछि डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो राष्टूपति पदमा निर्वाचित भएका थिए । त्यसपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामबरण यादवका छोरा चन्द्रमोहन यादवले टिकट पाएका थिए । तर, उपनिर्वाचनमा नेकपा एमालेका नेता रघुविर महासेठले चन्द्रमोहन यादवलाई पराजित गरेका थिए । चन्द्रमोहन अचानक चुनावी मैदानमा हाम फालेका थिए । त्यसकारण उनलाई पराजय भोग्नु परेको थियो । पछि २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा भने सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट पुनः टिकट पाएपछि संविधानसभामा निर्वाचित भएका थिए । नेकपा एमालेका नेता रघुविर महासेठलाई पराजित गर्दै यादव निर्वाचित भएका थिए ।
संविधान निर्माणको काम संगसँगै विकास निर्माणको एजेण्डा लिएर सभाषदमा निर्वाचित भएपछि संविधान निर्माणको कार्यमा आफुले सक्रिय योगदान निर्वाह गरेको यादव बताउँछन् । मधेस आन्दोलनबाट उठेका असंतुष्टिहरु तथा अधिकार प्राप्तिका लागि उठेका आवाजहरुको सम्बोधन गरिनुपर्छ भन्दै पार्टी भित्र पनि संघर्ष गरेको तथा संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई सहमत गराउन आफ्नो भुमिका पनि महत्वपुर्ण रहेको यादव दावी गर्छन् ।
संविधान सभाको निर्वाचनमा मत माग्न जाँदा सबैभन्दा पहिले जितेर गएपछि आफ्नो संसदीय क्षेत्रका प्रत्येक घरधुरीलाई मच्छरझुल प्रदान गर्ने भनेर प्रतिबद्धता गर्दा धेरैले पत्याएका थिएनन् । तर, सभाषदमा जितेको दुई महिना लगत्तै आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक घरका लागि झुल वितरण गरेको भन्दै यादव भन्छन,“ करिब २ हजार देखि २ हजार २ सय रुपैयाँ सम्म पर्ने प्रतिझुल क्षेत्रका ६१ हजार घरधुरीलाई मच्छरझुल वितरण गरें । नेपाल सरकारको आयोजनाबाट आफुले पहलकदमी गरेर करिब १२ करोड २० लाख रुपैयाँको झुल एउटा गैरसरकारी संस्था मार्फत वितरण गराएको थिएँ ।”
त्यसपछि सडक निर्माण देखि पुल निर्माण, विद्यालयको भवन निर्माण लगायत पुर्वाधारको विकासमा योगदान पुर्याएको उनको दावी छ । क्षिरेश्वरनाथ नगरपालिकाको एभरेष्ट पेपरमिल देखि शान्तिपुरसम्मको १ सय ५० मिटरको पुल निर्माण गराएको, रमदैयाको जानकी मेडिकल कलेज देखि सबैलासम्मको एसएनआरटिपी परियोजना अन्तरगत सडक निर्माण, ननुपट्टी देखि दोहैरसम्मको ५ करोडको सडक निर्माण लगायत विभिन्न ससाना परियोजनाको सडक निर्माण गराएको यादव दावी गर्छन् ।
त्यसैगरी सपहीको गजरियामा ४० करोडको लागतमा सिटीईभिटी अन्तरगत पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गराई पठनपाठन सुचारु गराएको, लक्ष्मिपुर बगेवामा भारतसरकारको सहयोगमा ५ करोड रुपैयाँको विद्यालयको भवन निर्माण गराएको, सपहीमा भारत सरकारको सहयोगमा ३ करोड रुपैयाँको विद्यालय भवन  निर्माण गराएको यादव दावी गर्छन् । यसका अतिरिक्त २ लाख, ३ लाख, ५ लाख देखि १५ लाख रुपैयाँ सम्मको कतिपय योजनाहरु अन्तरगत क्षेत्रका विभिन्न गाउँहरुमा संसदीय विकास कोष देखि अन्य योजनाहरु मार्फत विकास निर्माणको काम गराउन सफल भएको यादवको भनाई छ ।
निवर्तमान सांसदको हैसियतले धनुषा निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभा सदस्यमै उम्मेदवारी दिने आफ्नो चाहना र इच्छा रहेको भएपनि पार्टीले प्रदेश नं.२ को प्रदेश सभामा जानका लागि अर्हाएपछि प्रदेशसभामा उम्मेदवारी दिएको यादव बताउँछन् । अहिले देशका पुर्व राष्टूपति तथा पहिलो राष्टूपति डा.रामबरण यादवलाई राज्यले सम्मान गर्न नसक्दा उनी दुःखि भएका छन् । राष्टूपति भनेको देशको एउटा संस्था हो, तर उक्त संस्थालाई राज्यले अपमान गर्दा एउटा व्यक्ति भन्दा पनि देशकै सर्बोच्चत्तम संस्थाको अपमान हुने हुँदा राज्यले सम्मान गर्न सक्नुपर्ने उनको भनाई छ । पुर्व राष्टूपति डा.रामबरण यादवका लागि दिइएको घर बहाल तथा घरबेटीद्वारा पटक पटक घर खाली गर्न पत्र पत्रिकामा सूचना प्रकाशित गरिरहेको परिपे्रक्ष्यमा उनको त्यो भनाई छ ।
आफुले प्रदेश सभामा जितेर गएको खण्डमा आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विकास गर्न ठुलो पहल गर्ने आश्वासन उनले दिईरहेका छन् । उनी भन्छन,“ यस क्षेत्रमा सबैभन्दा पहिले शिक्षामा ध्यान दिनु जरुरी छ । सरकारी विद्यालयहरुमा शिक्षाको स्तर अत्यन्तै खसेको कारण सबैभन्दा पहिले सरकारी स्कुलहरुमा राम्रो पढाईको बातावरण बनाउने तर्फ केन्द्रित हुनेछु ।”मान्छे शिक्षित भयो भने चेतना स्तरमा वृद्धि हुनुका साथसाथै सबै कुरा आपसेआप विकसित हुँदै जाने हुनाले शिक्षा पहिलो प्राथमिकता भएको यादव बताउँछन् । २०३६ सालमा जनमत संग्रह हुँदा विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहेको भन्दै चन्द्रमोहन यादव भन्छन,“ २०४६ साल देखि २०६२÷०६३ सालसम्मको जनआन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले भुमिका निर्वाह गर्दै आएको छु ।” २०४६ सालको जनआन्दोलन हुँदा यादव भारतको कोलकतामा एमविविएस अध्ययन गर्दै थिए । त्यतिबेला पनि जेनरल कन्सुलेटको अफिसमा गएर आफुले धर्ना दिएको यादव सम्झन्छन् ।
प्राथमिक शिक्षा गाउँकै सपही र बनिनियाँ स्कुलबाट प्राप्त गरेका यादव जनकपुरको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि जनकपुरकै राराब क्याम्पसबाट आइएससी उत्तीर्ण गरी भारतको कलकताबाट एमविविएस र चन्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । चिकित्साको पढाई सकिएपछि लोकसेवा आयोगको जाँचबाट विर अस्पतालमा प्राध्यापकको रुपमा जागिर गरेका थिए । चिकित्सा पेशा पनि सेवा मुलक पेशा नै भएको तर राजनीतिमा प्रायः पढेलेखेका मानिसहरुको उपस्थिति न्यून देखिएपछि राजनीतिलाई थप विकृत हुन नदिन र वृहत रुपमा समाजसेव ागर्ने उद्देश्यले राजनीतिमा पसेको यादव बताउँछन् । पार्टीले यदि प्रदेश नं.२ मा मुख्य मन्त्रीको रुपमा अवसर दिए त्यसको लागि तयार रहेको यादव बताउँछन् ।
अन्य पार्टीका प्रतिस्पर्धीहरुको समाजमा ठुलो पहिचान वा योगदान समेत नरहेकाले प्रदेश सभामा मतदाताहरुले अवश्य नै जिताउने छन् किनभने विगतमा सभाषद भएर जनतालाई दिएको प्रतिबद्धता पुरा पनि गरेकाले आफु जित्नेमा ढुक्क रहेको यादवले बताए । प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भए समृद्ध प्रदेश निर्माण गर्न भुमिका खेल्नुका साथसाथै केन्द्रमा संविधान संशोधनका लागि प्रदेशबाट शक्तिको आवश्यकता परे त्यसका लागि पनि सबैभन्दा अगाडी रहने यादव बताउँछन् ।



२०७४ मंसिर ०३ गते आईतबार

खानेपानी मन्त्रीको संसदीय क्षेत्रमा खानेपानीको हाहाकार मतदाता भन्छन ः खानेपानी व्यवस्थापन गर्नेलाई मतदान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले मतदाता समक्ष विभिन्न किसिमका प्रतिबद्धताहरु जनाईरहेका छन् । खासगरेर आफुले जितेर गए सडक बनाईदिने, ढल बनाईदिने, मन्दिर बनाईदिने, सामुदायिक भवनहरु बनाईदिने, दलित दलान बनाईदिने, अस्पताल बनाईदिने लगायत थुप्रै प्रतिबद्धताहरु जनाईरहेका छन् । प्रत्येक राजनीतिक दलका उम्मेदवारहरु मतदाता कहाँ पुगेर सपना बाँडिरहेका छन् । तर, धनुषा निर्वाचन क्षेत्र नं. ४ को नकटाझिज ९ का मतदाताहरु भने जसले खानेपानीको व्यवस्थापन गरिदिन्छ त्यसलाई नै भोट दिने बताईरहेका छन् ।
नकटाझिज ९ श्रीपुरका ६० बर्षिय महिला रामपरि देवी भन्छन,“ खानेपानीको प्रतिक्षामा आफ्नो सासु ससुराको समेत निधन भईसक्यो । हाम्रो पनि अब निधन हुने बेला आईसकेको छ । तर, यो गाउँमा कुनै पनि नेताले हालसम्म पिउनका लागि खानेपानीको व्यवस्थापन गरिदिएका छैनन् ।” पछिल्लो दुई पटकको चुनावमा खानेपानीको व्यवस्था गरिदिन्छु, गाउँमा इनार बनाईदिन्छु, बोडिङ्गको व्यवस्था गरिदिन्छु भनेर भोट माग्ने बेलामा शत्रुधन महतोले प्रतिबद्धता जनाए । तर, जितेर गएपनि महतोले इनार बनाइदिएनन्, श्रीपुर निवासी ३० बर्षिय अम्रिका देवी महतोले बताईन् ।
नेकपा एमालेका नेता शत्रुधन महतो पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा त्यो गाउँबाट मत माग्दा आफुले जितेर गए सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने भनेर भने तर उनले कुनै पनि ध्यान दिएनन्, श्रीपुर ८ का किशुनदेव महतो गुनासो गर्छन् । धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट नेकपा एमालेका नेता शत्रधन महतो पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री समेत बने तर आफ्नो गाउँको खानेपानीको समस्या समाधान गर्न चासो देखाएनन्, श्रीपुर निवासी संजय कुमार महतो भन्छन,“ सांसद महतोले खानेपानी समस्या समाधान गर्न अन्य वडाहरुमा चासो त लिए तर हाम्रो वडामा ध्यान दिएनन् ।” २ पटक लगातार सांसदमा निर्वाचित महतो  अहिले फेरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ मा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाटै रघुविर महासेठले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । तर, त्यहाँका हजारौं घरपरिवारहरुलाई खानेपानीको अभाव छ ।
संजय कुमार महतोका अनुसार गाउँमा एउटा मात्रै इनार छ , त्यसबाट सबै ५० घरधुरीका मानिसहरुले पानी पिउनुपर्ने हुन्छ । १ सय लिटर पानी बाल्टीबाट तान्न २ घण्टा जति लाग्छ । एक परिवारमा कम्तिमा पनि २ सय देखि ३ सय लिटर खानेपानीको प्रतिदिन आवश्यकता हुन्छ । घरका सबै जना ५ देखि ६ घण्टासम्म इनारबाट पानी तान्न र घरसम्म ओसारपसार गर्न समय लाग्छ । कतिपयले इनारमा मोटर सेट गरेका छन् । मोटर चलेको बेला मोटर नभएका मानिसहरुले बाल्टीबाट पानी तान्न पाउँदैनन् । त्यसकारण गरिब जनताका लागि त्यहाँ सबैभन्दा ठुलो समस्या नै खानेपानी हो ।
६० बर्षिय रामपरि देवी भन्छन,“विहान सुतेर उठ्ने वितिकै घरपरिवारका सवै जना टायरमा बाल्टी, डूाम लगायतका भाडाकुरा लिएर इनार पुग्नुपर्ने हुन्छ । ४÷५ घण्टा पानी ओसार्नमै जान्छ ।” खानेपानी तान्दा ताकत समेत लाग्ने हुनाले मानिस विरामी समेत पर्ने गरेको स्थानीय वासीहरु बताउँछन् । पानीको कुनै अन्य स्रोत नभएकोले करिब १ हजार जति जनसंख्या भएको त्यो गाउँका मानिस एउटा मात्र इनारको भरपर्नु परेको छ ।
एउटा इनार बनाउन करिब ५ देखि ६ लाख रुपैयाँ सम्म लाग्ने हुनाले निजि स्तरमा स्थानीय वासी इनार बनाउन असक्षम छन् । गाउँमा इनार नभएको पनि होईन । तर, बनाइएका इनारहरुमा पानी आउँदैनन् । दैनिक जिवनयापन गर्न देखि गाईबस्तु चौपाया सम्मका लागि त्यहाँ पानीको अभाव छ । तर, कसैले पनि त्यस तर्फ ध्यान नदिएको स्थानीयवासीहरुको गुनासो छ । चुनावका बेला जुनसुकै उम्मेदवारहरुले आफुले जितेर गए खानेपानीका लागि बोर्डिङ्ग सहितको इनार बनाईदिने भनेर आश्वासन त दिन्छन् तर जितेपछि उम्मेदवार कहिल्यै फर्केर गाउँमा नआउने गरेको स्थानीयवासीहरुको गुनासो छ ।
सबै काम छोडेर खानेपानीको प्रवन्धन गर्नमै स्थानीयवासीहरुको जीवनको अधिकतम समय वित्ने दैनिकीका कारण अन्य व्यवसाय समेत प्रभावित हुने गरेको छ । बालबालिकाहरु समेत खानेपानीको व्यवस्थापनमा जुटिरहँदा तिनीहरुका पढाईलेखाई समेत प्रभावित हुने गरेको छ । खेतीपाती नै त्यस गाउँका स्थानीयवासीहरुको प्रमुख पेसा भएपनि खेतीका लागि उचित सिंचाईको व्यवस्थापन नभएका कारण खेती पनि आकासेपानीकै भरमा हुने गरेको छ । त्यहाँका स्थानीयवासीहरु मुख्यतया उखु खेत ीगर्ने गर्छन् । मुख्य कुरा के हो भने अहिले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव पनि त्यही क्षेत्र धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । स्थानीयवासीहरुको गुनासो के छ भने आफ्नै क्षेत्रका नेता खानेपानी मन्त्री हुँदाहुँदै पनि आफुहरु खानेपानी वेगर बाँच्नुपर्ने अवस्था निर्माण भएको छ । मन्त्री यादवले पनि कुनै समाधान नगरिदिएकोमा स्थानीयवासीहरु थप निराश भएका छन् ।
त्यो खानेपानीको समस्या श्रीपुर गाउँको मात्र नभएर राजमार्ग छेउछाउका कतिपय गाउँहरुमा देखिन्छ । लक्ष्मिनिवास, मिथिला नगरपालिकाको केही गाउँहरुमा खानेपानीको समस्या देखिएको छ । ती गाउँहरु पहिले धनुषाको निर्वाचन क्षेत्र नं. ७ थियो । त्यहाँबाट नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, नेकपा एमालेका नेता शत्रुधन महतो लगायत पटक पटक चुनाव जितेर गए । तर, कसैले पनि समस्या समाधान नगरिदिएको स्थानीयवासीहरु बताउँछन् । अहिले त्यो क्षेत्र धनषाको निर्वाचन क्षेत्र नं. ४ बनेको छ । त्यहाँबाट नेपाली कांग्रेसका नेता तथा खानेपानी मन्त्री महेन्द्र यादव, नेकपा एमालेका नेता रघुविर महासेठ र संघीय समाजवादी फोरमका नेता महाजन यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।



२०७४ मंसिर ०३ गते आईतबार

मन्त्री रामकृष्णले लगाउँलान् त ह्याट्रिक ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा कृषि मन्त्री रामकृष्ण यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा लगातार दुई पटक सभाषदमा निर्वाचित भएका मन्त्री यादव तेस्रो पटक ह्याटिूक लगाउन चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरियाले चुनौति दिईरहेका छन् ।
 विगतमा दुई पटक लगातार चुनाव जित्न सफल भएका यादव तेस्रो पटक पनि चुनाव जित्ने दावी गर्दै क्षेत्रमा मतदाताहरुका बीच घर दैलो कार्यक्रम गर्न व्यस्त देखिएका छन् । विगतमा रहेको संसदीय क्षेत्र भन्दा यस पटकको संसदीय क्षेत्र ठुलो भएको तथा प्रतिद्वन्द्वी पनि हेभीवेटकै रहेका कारण यादवलाई यसपटक वढी नै मिहिनेत गर्नु परेको छ । खासमा बर्तमानमा मन्त्री भएका कारण उनलाई मतदाताहरुले बढी नै प्रश्न गरिरहेका छन् ।
आफु सांसद भएपछि सुगा निकासमा इलाका प्रहरी कार्यालय बनाएँ, बैदेहि चौकीमा प्रहरी भवन निर्माण, इलाका प्रहरी कार्यालय औरहीमा भवन निर्माण, महुलियामा १७ करोड रुपैयाँको सिंचाई परियोजना, दुहवी गोवराही र कर्माहीमा २५ करोड रुपैयाँको सिंचाई परियोजना, महुलिया ननुपट्टीको बीचमा पुल निर्माण, जनकपुर यदुकुहा सडक निर्माण लगायत विभिन्न सडक निर्माण परियोजनाहरु ल्याएको कारण जनताले आफुलाई नै जिताउने भन्ने कुरामा यादव ढुक्क छन् । नेपाली कांग्रेसको संगठन बलियो हुनुका साथसाथै कतिपय स्थानीय तहमा समेत नेपाली कांग्रेस नै निर्वाचित भएका कारण र विगतमा अधिकार प्राप्तिको आन्दोलनमा समेत आफ्नो सक्रिय भुमिका रहेका कारण जनताले आफुलाई नै निर्वाचित गर्ने यादव बताउँछन् ।
यादवको राजनीति यात्रा
रामकृष्ण यादव कक्षा आठमै पढिरहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भए । विशुद्ध अराजनीतिक परिवार, एउटा किसानको परिवारमा जन्मिएका रामकृष्णको उद्देश्य भने राजनीतिमा जाने थिएन । तर, विद्यार्थी भएर पढ्दै जाँदा उनी राजनीति तर्फ आकर्षित भएका थिए । धनुषाको वभनगामा स्थित कन्टिर झा माविमा अध्यनरत रहेको बेला नेविसंघमा आवद्ध भएका बेला देखि नै राजनीतिमा रुचि लिएका थिए । उक्त विद्यालयमा नेविसंघका नेताहरुले विभिन्न कार्यक्रमहरु आयोजन गर्दा नेविसंघको विचारबाट प्रभावित भएका थिए ।
देशमा प्रजातन्त्र स्थापनाको लागि नेविसंघको गठन भएको भन्ने कुरा बुझेपछि रामकृष्ण नेविसंघमा लागे । कक्षा १० मा पुग्दा नेविसंघको उक्त विद्यालयको ईकाई कमिटीको अध्यक्ष नै बने । पञ्चायति व्यवस्थामा त्यतिबेला उनलाई लाग्यो कि देशमा बोल्ने स्वतन्त्रता छैन, संगठन गर्ने स्वतन्त्रता छैन, सत्य कुरा बोल्ने व्यक्तिहरुलाई थुनामा लगिन्थ्यो । २०३५ सालमा एसएलसी दिँदा उनको विद्यालयबाट ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जसमध्ये रामकृष्ण पनि एक थिए । २०३६ सालमा जनकपुरको राराब क्याम्पसमा आईएमा भर्ना लिए । क्याम्पसमा पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा उनी लागे । २०३९ सालमा त्यही क्याम्पसमा नेविसंघको टिकटबाट स्वतन्त्र विद्यार्थी यूनियनका उपसभापति समेत बन्न सफल भए । त्यसपछि २०४० सालमा नेविसंघको जिल्ला सभापति समेत बने । २०४७ सालसम्म उनीे नेविसंघ सभापति भएर काम गरेका थिए ।
२०४६ सालमा पञ्चायति व्यवस्था विरुद्ध भएको आन्दोलनमा विद्यार्थी सभापतिको हैसियतले उनले भारतको पटना, दरभंगा, सितामढी, जयनगर, मधुवनीमा गएर नेपाली विद्यार्थीहरुका बीच संगठन बनाउने काम गरे । किनभने त्यतिबेला बहुसंख्यक नेपाली विद्यार्थीहरु भारतमै गएर पढ्ने गर्थे । २०३६ सालमा भएको जनमत संग्रहमा पनि बहुदलिय व्यवस्थाको पक्षमा उनले सक्रिय भुमिका निर्वाह गरेका थिए । २०४२ सालमा सत्याग्रह हुँदा नेविसंघका सभापतिको हैसियतले राराब क्याम्पसमा आन्दोलनको पक्षमा माहौल बनाउन उनले काम गरे । क्याम्पसमा हडताल गरेपछि ८ महिना जति उनलाई सिन्धुली कारावासमा राखिएको थियो । उनी पक्राउ परेको १ महिना सम्म त घरपरिवारमा कसैलाई जानकारी नै हुन सकेको थिएन । संचार साधनको सुविधा समेत नभएकाले परिवारले केही अतोपतो पाउन सकेका थिएनन् । सिन्धुलीसम्म जाने बाटो पनि बनिसकेको थिएन । जंगल हुँदै कच्चीबाटो बाट सिन्धुली लगिन्थ्यो । यसका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजन हुँदा उनी पक्राउ पर्थे । कि त जिल्ला प्रहरी कार्यालयको थुनामा राखिन्थ्यो कि कारावास पठाईन्थ्यो । यस्तो कुनै महिना हुँदैन्थ्यो कि उनी पक्राउ पर्दैन्थे । २०४६ सालमा भारतको दरभंगामा विद्यार्थी संगठन गरेर फर्केको बेला उनलाई पक्राउ गरी जलेश्वर जेलमा राखिएको थियो । बहुदल आएपछि उनलाई रिहा गरिएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसको मुलधारको राजनीतिमा आए । २०४८ सालमा जिल्ला अधिवेशनबाट धनुषाको क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा उनी निर्वाचित भए । त्यतिबेला उनी काठमाण्डौमा स्नातकोत्तरको अध्ययन गरिरहेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनको पढाई कमजोर भयो । दोस्रो जिल्ला अधिवेशनबाट उनी कांग्रेस धनुषाको सचिव र तेस्रो जिल्ला अधिवेशनबाट कांग्रेस धनुषाको सभापति बने । चौथो अधिवेशनमा पुनः उनी दोस्रो पटक सभापति बन्न सफल भए । जिल्ला सुकुम्वासी आयोगको अध्यक्षमा समेत उनी मनोनित भएका थिए ।
२०६४ सालको संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सभाषद निर्वाचित भएका थिए । त्यसपछि उनलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति बनाइएको थियो । २०७० सालमा समेत दोस्रो पटक लगातार सोही क्षेत्रबाट सभाषदमा निर्वाचित भएका थिए । अहिले आएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बन्न सफल भएका छन् ।


२०७४ मंसिर ०३ गते आईतबार

महोत्तरी २ मा किरण यादव र शरतसिंह भण्डारी बीच रोचक प्रतिस्पर्धा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेस र राष्टिूय जनता पार्टी नेपालका दुई जना चर्चित उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसबाट पुर्व राष्टूपति डा.रामबरण यादवका भतिजी तथा बहालबाला राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी किरण यादवले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्को तर्फ राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् । अहिले त्यस क्षेत्रमा यादव र भण्डारी बीच चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
आफु प्रथम संविधान सभामा समानुपातिक र दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नं.२ बाट प्रत्यक्षमा निर्वाचित भएपछि जनताका सुखदुखमा साथ दिनुका साथै विकास निर्माणमा समेत महत्वपुर्ण योगदान निर्वाह गर्दै आएकोले आफ्नो जित सुनिश्चित रहेको नेपाली कांग्रेसका प्रत्यासी किरण यादव बताउँछन् । राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी विगतमा पनि महोत्तरी जिल्लाको अलग अलग क्षेत्रबाट लड्दै जनतासँग भोट मागेर जनतालाई ठगि गर्दै आएको हुनाले क्षेत्र नं.२ मा यसपटक कुनै पनि बाहिरिया वा भगौरा उम्मेदवारलाई जनताले मत नदिने भन्दै यादव भन्छन,“ भण्डारीको घर महोत्तरीको औरही हो । औरही महोत्तरीको ४ नं. क्षेत्रमा पर्छ । तर, उनी ४ नम्बर क्षेत्रबाट किन लडेनन् ? २ नम्बर क्षेत्र त मेरो पहिले देखि नै आफ्नो घर रहेको संसदीय क्षेत्र हो ।” शरतसिंह भण्डारीलाई अब महोत्तरी जनताले विश्वास गर्दैनन् त्यसको पछिल्लो उदाहरण के पनि हो भने भण्डारी दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं.१ र क्षेत्र नं. ६ गरी कुल दुई वटा क्षेत्रबाट लड्दा पनि जनताले उनलाई परास्त गरिसकेको हुनाले अब दुई नम्बर क्षेत्र मा पनि उनको हार निश्चित रहेको यादव बताउँछन् ।
उता राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी भने आफु आफ्नै क्षेत्रबाट लडेको दावी गर्छन । नेपाली कांग्रेसको सत्ता रहेको बेला नै क्षेत्रहरुको सीमाना निर्धारण गर्दा किरण यादवले बडो चलाखी पुर्ण तरिकाले मेरो जन्म स्थान रहेको पैत्रिक गाउँ औरही नगरपालिकालाई दुई वटा निर्वाचन क्षेत्रमा विभाजन गरेकाले अहिले औरही क्षेत्र नं. २ र ४ मा विभाजन भएको भन्दै भण्डारी भन्छन,“ औरही नगरपालिका दुई नम्बर क्षेत्रमा परेकाले म कुनै बाहिरिया वा भगौडा उम्मेदवार होईन । फेरी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच भएको चुनावी तालमेलका आधारमा राजपा नेपालले दुई नम्बर क्षेत्र पाएको हो ।”
राष्टूपति विद्या देवी भण्डारीको जनकपुर भ्रमण हुँदा जानकी मन्दिर दर्शन गर्ने क्रममा राष्टूपति भण्डारीसँगै सांसद यादव पनि आउँदा जनकपुरवासीले विरोध गर्दा मधेसी जनताको त दिमागै हुँदैन भनेर अभिव्यक्ति दिएकी सांसद यादवले अहिले कुन मुखले मधेसी जनतासँग मत मागिरहेका छन्, भण्डारीले प्रश्न गरे ।
अर्को तर्फ संसदीय क्षेत्र निर्धारण गर्दा अधिकार सम्पन्न स्वतन्त्र आयोगले क्षेत्र निर्धारण गरेका कारण औरही नगरपालिकालाई दुई टुक्रामा विभाजन गर्न आफ्नो कुनै भुमिका नरहेको भन्दै निवर्तमान सांसद किरण यादव भन्छन,“ मेरो संसदीय निर्वाचन क्षेत्रमा पर्ने दुईवटा नगरपालिका बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकालाई विभाजन नगरियोस भनेर आफ्नो पार्टी मार्फत कुरा राख्न लगाएर ती दुईवटै नगरपालिकालाई अखण्ड राख्न भने भुमिका खेलेको चाहि अवश्य नै हो ।”
यसरी हेर्ने हो भने अहिले चुनावी मैदानमा भण्डारी र यादव बीच रोचक प्रतिस्पर्धा भईरहेको छ ।
को हुन किरण यादव ?
किरण यादव अहिले नेपाली कांग्रेसमा केन्द्रिय सदस्य छन् । धनुषाको सपही माईत भएकी यादवको विवाह महोत्तरीको बलवा गाउँमा भएको हो । देशको प्रथम राष्टूपति डा.रामबरण यादवकी साखै भतिजी समेत रहेकी यादव अहिलेको राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी पनि हुन । यादवको छोराको विहे राष्टूपति भण्डारीकी छोरीसँग भएको छ ।
२०६४ सालको प्रथम संविधानसभाको चुनावमा महोत्तरीको क्षेत्र नं.२ को १३ गाविसहरु मध्ये ११ गाविसहरुबाट  समानुपातिक कोटामा सिफारिस गरिएपछि समानुपातिक तर्फबाट सभाषद भएकी थिईन । त्यो क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि समानुपातिक सांसद भएर पनि विभिन्न विकासका परियोजनाहरु लगेर जनताको मन जितेकै कारण २०७० सालको संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षबाट निर्वाचित भएर सभाषद बन्न सफल भएकी यादव बताउँछन् । २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको संगठन पनि बलियो हुनुका साथसाथै आफुले आफ्नो क्षेत्रका गाउँ गाउँमा विद्यालय भवन निर्माण, सडक निर्माण, सिंचाईका परियोजनाहरु निर्माण गर्नुका साथै धार्मिक स्थलहरु कारिक स्थान, रौजा मजारको विकासका लागि योगदान दिएका कारण आफुलाई नै पुनः तेस्रो पटक जनताले सांसद बनाएर पठाउने यादव बताउँछन् ।
संविधान निर्माण हुँदा मधेसी जनताको अधिकार समेट्ने गरी संविधान जारी गर्न पार्टी भित्र आफुहरुले सक्रिय भुमिका निर्वाह गरेपनि तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले संविधान तत्कालै संशोधन गरिदिने आस्वाशन दिएपछि आफुहरु पछि हटेको यादवको भनाई छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व लगायतको संशोधन तत्कालै संविधानमा गरिएको र बाँकी विषयहरुको संशोधन गराउन नेपाली कांग्रेस नै सक्षम रहेकाले महोत्तरीका जनताले आफुलाई जिताउने यादवको विश्वास छ ।
आफुले जितेर गए संविधान संशोधन गराउनुका साथसाथै विकास निर्माणका अधुरो रहेको बहुबर्षिय योजनाहरु लागु गर्नुका साथसाथै धार्मिक स्थलको व्यवस्थापन गर्ने, सिंचाई परियोजनाहरु पुरा गर्ने, बहुबर्षिय सडकहरु निर्माण कार्यलाई पुरा गर्ने, क्षेत्रमा थपिएका गाउँहरुमा सडकको संजाल विस्तार गर्ने लगायतका प्रतिबद्धताहरु मतदाता समक्ष यादवले गरिरहेका छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी यादव २०६२÷०६३ मा नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी थिईन । अहिले उनी पार्टीमा पनि केन्द्रिय सदस्यमा पनि निर्वाचित भएकी छिन् ।
को हो शरत सिंह भण्डारी ?
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरत सिंह भण्डारी नेपाली कांग्रेसमा आवद्ध भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिले सम्म पटक पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका छन् । २०६२÷०६३ सालको आन्दोलन पछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै बेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षा मन्त्री भएको बेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको ८ बुँदे सम्झौता अनुसार नेपाली सेनामा मधेसी समुदायको समुहगत प्रवेशको विषय उठाउँदा विभेद अन्तय नभए देश समेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि उनले छुट्टै राष्टिूय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका भण्डारी अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन् । आफुले मधेसी जनताको हक अधिकारका लागि लामो लडाई लडेका कारण संविधान संशोधन गराउन र प्रदेश नं.२ मा मधेस सरकारको स्थापना गर्न जनताले आफुलाई नै जिताउने भण्डारी बताउँछन् । भण्डारी पटक पटक मन्त्री समेत भईसकेका छन् ।

२०७४ मंसिर ०३ गते आईतबार