Wednesday, November 22, 2017

खानेपानी मन्त्रीको संसदीय क्षेत्रमा खानेपानीको हाहाकार मतदाता भन्छन ः खानेपानी व्यवस्थापन गर्नेलाई मतदान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले मतदाता समक्ष विभिन्न किसिमका प्रतिबद्धताहरु जनाईरहेका छन् । खासगरेर आफुले जितेर गए सडक बनाईदिने, ढल बनाईदिने, मन्दिर बनाईदिने, सामुदायिक भवनहरु बनाईदिने, दलित दलान बनाईदिने, अस्पताल बनाईदिने लगायत थुप्रै प्रतिबद्धताहरु जनाईरहेका छन् । प्रत्येक राजनीतिक दलका उम्मेदवारहरु मतदाता कहाँ पुगेर सपना बाँडिरहेका छन् । तर, धनुषा निर्वाचन क्षेत्र नं. ४ को नकटाझिज ९ का मतदाताहरु भने जसले खानेपानीको व्यवस्थापन गरिदिन्छ त्यसलाई नै भोट दिने बताईरहेका छन् ।
नकटाझिज ९ श्रीपुरका ६० बर्षिय महिला रामपरि देवी भन्छन,“ खानेपानीको प्रतिक्षामा आफ्नो सासु ससुराको समेत निधन भईसक्यो । हाम्रो पनि अब निधन हुने बेला आईसकेको छ । तर, यो गाउँमा कुनै पनि नेताले हालसम्म पिउनका लागि खानेपानीको व्यवस्थापन गरिदिएका छैनन् ।” पछिल्लो दुई पटकको चुनावमा खानेपानीको व्यवस्था गरिदिन्छु, गाउँमा इनार बनाईदिन्छु, बोडिङ्गको व्यवस्था गरिदिन्छु भनेर भोट माग्ने बेलामा शत्रुधन महतोले प्रतिबद्धता जनाए । तर, जितेर गएपनि महतोले इनार बनाइदिएनन्, श्रीपुर निवासी ३० बर्षिय अम्रिका देवी महतोले बताईन् ।
नेकपा एमालेका नेता शत्रुधन महतो पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा त्यो गाउँबाट मत माग्दा आफुले जितेर गए सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने भनेर भने तर उनले कुनै पनि ध्यान दिएनन्, श्रीपुर ८ का किशुनदेव महतो गुनासो गर्छन् । धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट नेकपा एमालेका नेता शत्रधन महतो पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री समेत बने तर आफ्नो गाउँको खानेपानीको समस्या समाधान गर्न चासो देखाएनन्, श्रीपुर निवासी संजय कुमार महतो भन्छन,“ सांसद महतोले खानेपानी समस्या समाधान गर्न अन्य वडाहरुमा चासो त लिए तर हाम्रो वडामा ध्यान दिएनन् ।” २ पटक लगातार सांसदमा निर्वाचित महतो  अहिले फेरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ मा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाटै रघुविर महासेठले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । तर, त्यहाँका हजारौं घरपरिवारहरुलाई खानेपानीको अभाव छ ।
संजय कुमार महतोका अनुसार गाउँमा एउटा मात्रै इनार छ , त्यसबाट सबै ५० घरधुरीका मानिसहरुले पानी पिउनुपर्ने हुन्छ । १ सय लिटर पानी बाल्टीबाट तान्न २ घण्टा जति लाग्छ । एक परिवारमा कम्तिमा पनि २ सय देखि ३ सय लिटर खानेपानीको प्रतिदिन आवश्यकता हुन्छ । घरका सबै जना ५ देखि ६ घण्टासम्म इनारबाट पानी तान्न र घरसम्म ओसारपसार गर्न समय लाग्छ । कतिपयले इनारमा मोटर सेट गरेका छन् । मोटर चलेको बेला मोटर नभएका मानिसहरुले बाल्टीबाट पानी तान्न पाउँदैनन् । त्यसकारण गरिब जनताका लागि त्यहाँ सबैभन्दा ठुलो समस्या नै खानेपानी हो ।
६० बर्षिय रामपरि देवी भन्छन,“विहान सुतेर उठ्ने वितिकै घरपरिवारका सवै जना टायरमा बाल्टी, डूाम लगायतका भाडाकुरा लिएर इनार पुग्नुपर्ने हुन्छ । ४÷५ घण्टा पानी ओसार्नमै जान्छ ।” खानेपानी तान्दा ताकत समेत लाग्ने हुनाले मानिस विरामी समेत पर्ने गरेको स्थानीय वासीहरु बताउँछन् । पानीको कुनै अन्य स्रोत नभएकोले करिब १ हजार जति जनसंख्या भएको त्यो गाउँका मानिस एउटा मात्र इनारको भरपर्नु परेको छ ।
एउटा इनार बनाउन करिब ५ देखि ६ लाख रुपैयाँ सम्म लाग्ने हुनाले निजि स्तरमा स्थानीय वासी इनार बनाउन असक्षम छन् । गाउँमा इनार नभएको पनि होईन । तर, बनाइएका इनारहरुमा पानी आउँदैनन् । दैनिक जिवनयापन गर्न देखि गाईबस्तु चौपाया सम्मका लागि त्यहाँ पानीको अभाव छ । तर, कसैले पनि त्यस तर्फ ध्यान नदिएको स्थानीयवासीहरुको गुनासो छ । चुनावका बेला जुनसुकै उम्मेदवारहरुले आफुले जितेर गए खानेपानीका लागि बोर्डिङ्ग सहितको इनार बनाईदिने भनेर आश्वासन त दिन्छन् तर जितेपछि उम्मेदवार कहिल्यै फर्केर गाउँमा नआउने गरेको स्थानीयवासीहरुको गुनासो छ ।
सबै काम छोडेर खानेपानीको प्रवन्धन गर्नमै स्थानीयवासीहरुको जीवनको अधिकतम समय वित्ने दैनिकीका कारण अन्य व्यवसाय समेत प्रभावित हुने गरेको छ । बालबालिकाहरु समेत खानेपानीको व्यवस्थापनमा जुटिरहँदा तिनीहरुका पढाईलेखाई समेत प्रभावित हुने गरेको छ । खेतीपाती नै त्यस गाउँका स्थानीयवासीहरुको प्रमुख पेसा भएपनि खेतीका लागि उचित सिंचाईको व्यवस्थापन नभएका कारण खेती पनि आकासेपानीकै भरमा हुने गरेको छ । त्यहाँका स्थानीयवासीहरु मुख्यतया उखु खेत ीगर्ने गर्छन् । मुख्य कुरा के हो भने अहिले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव पनि त्यही क्षेत्र धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । स्थानीयवासीहरुको गुनासो के छ भने आफ्नै क्षेत्रका नेता खानेपानी मन्त्री हुँदाहुँदै पनि आफुहरु खानेपानी वेगर बाँच्नुपर्ने अवस्था निर्माण भएको छ । मन्त्री यादवले पनि कुनै समाधान नगरिदिएकोमा स्थानीयवासीहरु थप निराश भएका छन् ।
त्यो खानेपानीको समस्या श्रीपुर गाउँको मात्र नभएर राजमार्ग छेउछाउका कतिपय गाउँहरुमा देखिन्छ । लक्ष्मिनिवास, मिथिला नगरपालिकाको केही गाउँहरुमा खानेपानीको समस्या देखिएको छ । ती गाउँहरु पहिले धनुषाको निर्वाचन क्षेत्र नं. ७ थियो । त्यहाँबाट नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, नेकपा एमालेका नेता शत्रुधन महतो लगायत पटक पटक चुनाव जितेर गए । तर, कसैले पनि समस्या समाधान नगरिदिएको स्थानीयवासीहरु बताउँछन् । अहिले त्यो क्षेत्र धनषाको निर्वाचन क्षेत्र नं. ४ बनेको छ । त्यहाँबाट नेपाली कांग्रेसका नेता तथा खानेपानी मन्त्री महेन्द्र यादव, नेकपा एमालेका नेता रघुविर महासेठ र संघीय समाजवादी फोरमका नेता महाजन यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।



२०७४ मंसिर ०३ गते आईतबार

No comments:

Post a Comment