Wednesday, November 22, 2017

महोत्तरी २ मा किरण यादव र शरतसिंह भण्डारी बीच रोचक प्रतिस्पर्धा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेस र राष्टिूय जनता पार्टी नेपालका दुई जना चर्चित उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसबाट पुर्व राष्टूपति डा.रामबरण यादवका भतिजी तथा बहालबाला राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी किरण यादवले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्को तर्फ राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् । अहिले त्यस क्षेत्रमा यादव र भण्डारी बीच चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
आफु प्रथम संविधान सभामा समानुपातिक र दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नं.२ बाट प्रत्यक्षमा निर्वाचित भएपछि जनताका सुखदुखमा साथ दिनुका साथै विकास निर्माणमा समेत महत्वपुर्ण योगदान निर्वाह गर्दै आएकोले आफ्नो जित सुनिश्चित रहेको नेपाली कांग्रेसका प्रत्यासी किरण यादव बताउँछन् । राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी विगतमा पनि महोत्तरी जिल्लाको अलग अलग क्षेत्रबाट लड्दै जनतासँग भोट मागेर जनतालाई ठगि गर्दै आएको हुनाले क्षेत्र नं.२ मा यसपटक कुनै पनि बाहिरिया वा भगौरा उम्मेदवारलाई जनताले मत नदिने भन्दै यादव भन्छन,“ भण्डारीको घर महोत्तरीको औरही हो । औरही महोत्तरीको ४ नं. क्षेत्रमा पर्छ । तर, उनी ४ नम्बर क्षेत्रबाट किन लडेनन् ? २ नम्बर क्षेत्र त मेरो पहिले देखि नै आफ्नो घर रहेको संसदीय क्षेत्र हो ।” शरतसिंह भण्डारीलाई अब महोत्तरी जनताले विश्वास गर्दैनन् त्यसको पछिल्लो उदाहरण के पनि हो भने भण्डारी दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं.१ र क्षेत्र नं. ६ गरी कुल दुई वटा क्षेत्रबाट लड्दा पनि जनताले उनलाई परास्त गरिसकेको हुनाले अब दुई नम्बर क्षेत्र मा पनि उनको हार निश्चित रहेको यादव बताउँछन् ।
उता राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी भने आफु आफ्नै क्षेत्रबाट लडेको दावी गर्छन । नेपाली कांग्रेसको सत्ता रहेको बेला नै क्षेत्रहरुको सीमाना निर्धारण गर्दा किरण यादवले बडो चलाखी पुर्ण तरिकाले मेरो जन्म स्थान रहेको पैत्रिक गाउँ औरही नगरपालिकालाई दुई वटा निर्वाचन क्षेत्रमा विभाजन गरेकाले अहिले औरही क्षेत्र नं. २ र ४ मा विभाजन भएको भन्दै भण्डारी भन्छन,“ औरही नगरपालिका दुई नम्बर क्षेत्रमा परेकाले म कुनै बाहिरिया वा भगौडा उम्मेदवार होईन । फेरी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच भएको चुनावी तालमेलका आधारमा राजपा नेपालले दुई नम्बर क्षेत्र पाएको हो ।”
राष्टूपति विद्या देवी भण्डारीको जनकपुर भ्रमण हुँदा जानकी मन्दिर दर्शन गर्ने क्रममा राष्टूपति भण्डारीसँगै सांसद यादव पनि आउँदा जनकपुरवासीले विरोध गर्दा मधेसी जनताको त दिमागै हुँदैन भनेर अभिव्यक्ति दिएकी सांसद यादवले अहिले कुन मुखले मधेसी जनतासँग मत मागिरहेका छन्, भण्डारीले प्रश्न गरे ।
अर्को तर्फ संसदीय क्षेत्र निर्धारण गर्दा अधिकार सम्पन्न स्वतन्त्र आयोगले क्षेत्र निर्धारण गरेका कारण औरही नगरपालिकालाई दुई टुक्रामा विभाजन गर्न आफ्नो कुनै भुमिका नरहेको भन्दै निवर्तमान सांसद किरण यादव भन्छन,“ मेरो संसदीय निर्वाचन क्षेत्रमा पर्ने दुईवटा नगरपालिका बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकालाई विभाजन नगरियोस भनेर आफ्नो पार्टी मार्फत कुरा राख्न लगाएर ती दुईवटै नगरपालिकालाई अखण्ड राख्न भने भुमिका खेलेको चाहि अवश्य नै हो ।”
यसरी हेर्ने हो भने अहिले चुनावी मैदानमा भण्डारी र यादव बीच रोचक प्रतिस्पर्धा भईरहेको छ ।
को हुन किरण यादव ?
किरण यादव अहिले नेपाली कांग्रेसमा केन्द्रिय सदस्य छन् । धनुषाको सपही माईत भएकी यादवको विवाह महोत्तरीको बलवा गाउँमा भएको हो । देशको प्रथम राष्टूपति डा.रामबरण यादवकी साखै भतिजी समेत रहेकी यादव अहिलेको राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी पनि हुन । यादवको छोराको विहे राष्टूपति भण्डारीकी छोरीसँग भएको छ ।
२०६४ सालको प्रथम संविधानसभाको चुनावमा महोत्तरीको क्षेत्र नं.२ को १३ गाविसहरु मध्ये ११ गाविसहरुबाट  समानुपातिक कोटामा सिफारिस गरिएपछि समानुपातिक तर्फबाट सभाषद भएकी थिईन । त्यो क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि समानुपातिक सांसद भएर पनि विभिन्न विकासका परियोजनाहरु लगेर जनताको मन जितेकै कारण २०७० सालको संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षबाट निर्वाचित भएर सभाषद बन्न सफल भएकी यादव बताउँछन् । २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको संगठन पनि बलियो हुनुका साथसाथै आफुले आफ्नो क्षेत्रका गाउँ गाउँमा विद्यालय भवन निर्माण, सडक निर्माण, सिंचाईका परियोजनाहरु निर्माण गर्नुका साथै धार्मिक स्थलहरु कारिक स्थान, रौजा मजारको विकासका लागि योगदान दिएका कारण आफुलाई नै पुनः तेस्रो पटक जनताले सांसद बनाएर पठाउने यादव बताउँछन् ।
संविधान निर्माण हुँदा मधेसी जनताको अधिकार समेट्ने गरी संविधान जारी गर्न पार्टी भित्र आफुहरुले सक्रिय भुमिका निर्वाह गरेपनि तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले संविधान तत्कालै संशोधन गरिदिने आस्वाशन दिएपछि आफुहरु पछि हटेको यादवको भनाई छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व लगायतको संशोधन तत्कालै संविधानमा गरिएको र बाँकी विषयहरुको संशोधन गराउन नेपाली कांग्रेस नै सक्षम रहेकाले महोत्तरीका जनताले आफुलाई जिताउने यादवको विश्वास छ ।
आफुले जितेर गए संविधान संशोधन गराउनुका साथसाथै विकास निर्माणका अधुरो रहेको बहुबर्षिय योजनाहरु लागु गर्नुका साथसाथै धार्मिक स्थलको व्यवस्थापन गर्ने, सिंचाई परियोजनाहरु पुरा गर्ने, बहुबर्षिय सडकहरु निर्माण कार्यलाई पुरा गर्ने, क्षेत्रमा थपिएका गाउँहरुमा सडकको संजाल विस्तार गर्ने लगायतका प्रतिबद्धताहरु मतदाता समक्ष यादवले गरिरहेका छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी यादव २०६२÷०६३ मा नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी थिईन । अहिले उनी पार्टीमा पनि केन्द्रिय सदस्यमा पनि निर्वाचित भएकी छिन् ।
को हो शरत सिंह भण्डारी ?
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरत सिंह भण्डारी नेपाली कांग्रेसमा आवद्ध भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिले सम्म पटक पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका छन् । २०६२÷०६३ सालको आन्दोलन पछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै बेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षा मन्त्री भएको बेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको ८ बुँदे सम्झौता अनुसार नेपाली सेनामा मधेसी समुदायको समुहगत प्रवेशको विषय उठाउँदा विभेद अन्तय नभए देश समेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि उनले छुट्टै राष्टिूय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका भण्डारी अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन् । आफुले मधेसी जनताको हक अधिकारका लागि लामो लडाई लडेका कारण संविधान संशोधन गराउन र प्रदेश नं.२ मा मधेस सरकारको स्थापना गर्न जनताले आफुलाई नै जिताउने भण्डारी बताउँछन् । भण्डारी पटक पटक मन्त्री समेत भईसकेका छन् ।

२०७४ मंसिर ०३ गते आईतबार

No comments:

Post a Comment