Tuesday, November 11, 2014

सर्प तथा बन्यजन्तुका संरक्षक

अजय अनुरागी
जनकपुरधाम............
यदि तपाईको घरमा वा कतै विषालु सर्प छ भने त्यसलाई नमार्नुस । नआतिनुस । बरु सर्पलाई उद्दार गर्नका लागि उद्दारकर्ता देवनारायण मण्डललाई ९८१७६२९२२९ मा फोन गरेर बोलाउनुस । रात होस वा दिन होस सर्पलाई उद्दार गर्न र पुनर्वास गराउन उनी तुरुन्तै आउने छन् । त्यसको लागि उनले कुनै शुल्क पनि लिने छैनन् । हुन त सर्पलाई देख्ने वित्तिकै मार्ने प्रवृति यहाँको समाजमा रहेको छ । तर, मिथिलेश्वर मौवाही ७ का २६ वर्षिय देवनारायण मण्डल सर्पलाई संरक्षण गर्नका लागि लागि परेका छन् । सर्पलाई मार्ने व्यक्तिलाई सम्झाउँदै उनी सर्पको महत्व के हो भनेर समुदायमा जनचेतना मात्र जगाउँदै हिँडेका छैनन्, जिवित्तै सर्पलाई उद्दार गरी धनुषाधामको जंगलमा लगेर मुक्त गर्ने गरेका छन् । 
धनुषाको भोइल गाउँमा घोरकरैत सर्पलाई 
उद्दार गर्दै देवनारायण मण्डल । 
साथमा स्थानीयवासी र 
सहायक वन अधिकृत सुरेश शर्मा ।
मण्डलले हालसम्म २ वर्षको अवधिमा मात्रै धनुषा जिल्लाबाट करिब १ हजार भन्दा वढी सर्पहरुलाई उद्दार गरी जंगलमा पुनर्वास गराएका छन् । जसमध्ये उनले केही लोपोन्मुख जातिका सर्पहरुलाई समेत उद्दार गरेको उनको दावी छ । मण्डलका अनुसार २०७१ सालमा भारतमा तक्षक नाग भनेर चिनिने सूर्यनाग (मोनोकल्ड जाति) को सर्पलाई जिउँदै उद्दार गरी धनुषाधामको जंगलमा सुरक्षित पुनर्वास गराएका छन् । त्यसैगरी ४ महिना अघि मात्र धनुषाको लोहना गाविसबाट ७ फिट लामो घोरकरैत भनिने व्यान्डेड करैतलाई उद्दार गरेका छन् । जिल्ला वन कार्यालय धनुषाका सहायक अधिकृत सुरेश शर्माले लोहनामा एउटा सर्पलाई उद्दार गर्न फोन गरेपछि मण्डलले उक्त सर्पलाई उद्दार गरेका छन् । मण्डलका अनुसार उक्त घोर करैत सर्पलाई उद्दार गर्न धेरै कठिनाई भएको थियो । किनभने उनीसँग रहेको रेस्क्यु वक्स सर्पको लम्बाई भन्दा सानो थियो । तर, पनि उनले उक्त सर्पलाई धनुषाधामको जंगलमा राखेका छन् । त्यसैगरी उनले फोर्सटेन्स क्याट स्नेक, कमन टूी स्नेक र वाइन स्नेकको दुईवटा प्रजाति व्राउन र ग्रिन स्नेक (जसलाई तराईमा सुगवा साप भनेर चिनिन्छ) लाई उद्दार गरेका छन् । 
धनुषाको मिथिलेश्वर मौवाहीबाट 
नेपालमै दुर्लभ मानिने तक्षक नाग उद्दार गर्दै ।
 उद्दार कर्ता मण्डलले उक्त सर्पलाई 
धनुषाधामको बन कार्यालयमा सुरक्षित राखेका छन् ।
 मण्डलका अनुसार उक्त तक्षक नाग बच्चा 
भएका कारण यस क्षेत्रमा उसको 
आमा, बुवा र ७ देखि ९ वटा संख्यामा
 भाई वहिनीहरु समेत हुन सक्ने छ ।
यसरी उनले गाउँ गाउँमा गएर जिउँदो सर्पलाई उद्दार गर्ने गरेका छन् । कसैको घरमा सर्प छ भने उनलाई फोन गर्दा उनी तुरुन्त त्यहाँ पुगेर सर्पको उद्दार गर्न थाल्छन् । मण्डल भन्छन,“ हाम्रो तराईमा चाहे विषालु वा गैर विषालु सर्प नै किन नहोस देख्ने वित्तिकै मारिदिने चलन छ । कतिपय अवस्थामा सर्पलाई उद्दार गर्न गईरहेको बेला अलिकति पनि ढिलाई भयो भने मान्छेले सर्पलाई मारिसकेका हुन्छन् । मान्छे डराएर अलि समय पनि कुर्न चाहँदैनन् ।” जनकपुरको छेउमै रहेको बसहिया गाउँबाट मण्डलका टिमले लाइकोडोन जारा प्रजातिका २ वटा सर्प गरी कुल ८ वटा उक्त प्रजातिको सर्पलाई उनले उद्दार गरेका छन् । त्यसैगरी मिथिलेश्वरको सिरसिया चौकबाट व्यान्डेड कुकरी प्रजातिका र अन्य ठाउँहरुबाट गरी कुल २५ वटा सर्पहरुको उनले उद्दार गरेका छन् ।
त्यसैगरी उनले सर्पलाई मात्र होइन घाइते पशुपक्षीहरुलाई समेत उपचार गर्ने गरेका छन् । धनुषाको ठेरामा घाइते अवस्थामा फेला परेको पक्षी गरुडलाई उनले उपचार गरेका थिए । उक्त कार्यमा भारतबाट धनुषाधाम जंगलको अनुसन्धान गर्न आएका मविस कुमार एमभी र उनको टिमकै एक जना भोलन्टियर भेटेनरी चिकित्सक शैलेन्द्र मण्डलले सघाएका थिए । घाइते उल्लु(लाटोकोसेरो)लाई समेत उपचार गरी उनले जीवन प्रदान गरेका थिए । त्यसैगरी मिथिलेश्वर निकासको पुरन्दाहा टोलबाट उनले एउटा कछुवालाई समेत उद्दार गरेका छन् । मण्डल भन्छन,“कछुवालाई मारेर खाने हाम्रो समाजमा प्रवृति छ । कछुवाको संख्या दिनानुदिन कम भईरहेको छ । कछुवालाई संरक्षण नगर्ने हो भने जसरी गिद्द लोप हुँदै गए केही दिनमै कछुवा पनि लोप हुने छ । त्यसकारण कछुवालाई उद्दार गरिएको हो ।” उनी भन्छन,“ निकट भविष्यमै धनुषाधामको जंगलमा टरटल कन्जरभेसन सेन्टर संचालन गरी कछुवाहरुलाई संरक्षण गरिने छ । त्यसैगरी उनले धनुषाको किशानपुरबाट एउटा निल गाईको बच्चा (घोडगद्दर)लाई उद्दार गरी जंगलमा पुनर्वास गराएका छन् । उनका अनुसार धनुषाधामको जंगलमा करिब ४० वटाको संख्यामा निल गाई पहिले देखि नै रहेको छ । जुन कि नेपालको संरक्षित वनहरुमध्ये सबैभन्दा वढी निल गाई धनुषाधामको संरक्षित वनमै रहेको छ ।
कसरी भयो मण्डलको जनावरसँगको संगत
धनुषाको किसानपुरबाट निलगाईको 
बच्चालाई दुध खुवाउँदै ज्ञानकुमार यादव, 
देवनारायण मण्डल र शिवशंकर यादव ।
 उक्त बच्चालाई उद्दार गरी धनुषाधामको
 जंगलमा पुनर्वास गराइएको थियो ।
मण्डल गरिब परिवारबाट भएका कारण जसो तसो एसएलसी उत्तिर्ण गरी जनकपुरकै नेशनल एकेडमी क्याम्पसमा आइकम पढ्नका लागि नामाङ्कन गराएका थिए । तर, पहिलो त्रैमासिक परीक्षा दिएर उनी कामको खोजीमा पढाईलाई त्यागेर भारतको दिल्ली पुगे । त्यहाँ पुगेर इन्कम टेक्स अफिसमा काम गर्ने एक जना वकिलको कार्यालयमा कार्यालय सहयोगीको रुपमा उनी काम गर्न थाले । सोही दौरान उनले त्यहाँबाट पढाईलाई पनि निरन्तरता दिँदै आइकम उत्तिर्ण गरे र विकममा समेत नामाङ्कन गराए । इन्कम टेक्स र सेल्स टेक्स अफिसमा काम गर्दै जाँदा उनलाई एक जना चार्टर्ड एकाउन्टेन्टसँग उनको  सम्पर्क भयो । उक्त सि.ए.ले दिल्लीलाई आधार इलाका बनाएर वाइल्ड लाइफ एसओएस ‘सेभ आवर सोल’ नाउँको संस्था चलाईरहेका थिए । त्यसपछि मण्डल पनि उक्त संस्थामा काम गर्न थाले । सन् २००६ देखि मण्डल आगरा स्थित उक्त संस्थामा २४ घण्टै काम गर्न थाले । करिब १ हजार जंगली जनावरको बीचमा बसोवास गर्ने, खाना खाने, जनावरसँगको एटेचमेन्ट तथा हेन्ड प्राक्टिस समेत हुन थाल्यो । मुख्यरुपमा भालु, निल गाई, हरिण, बाँदर, लंगुर, खरायो, हाती, विभिन्न प्रजातिका सर्पहरुका बीचमा उनी बस्न थालेपछि जंगली जनावरहरुसँग उनको उठवस हुन थाल्यो । यसरी त्यहाँ काम गर्दा उनलाई जंगली जनावरहरुको गतिविधिबारे राम्रो ज्ञान हासिल भयो । सन् २००६ देखि सन् २०१२ सम्म उनी आगरामै काम गरे । त्यहाँ थुप्रै पशुपक्षीहरु घाइते हुँदा उपचार गराई पुनरवास गराउने तथा विभिन्न प्रजातिका सर्पहरुलाई उद्दार गर्ने कला उनले सिके । हुन त जंगलमा घुम्ने उनको लगाव बाल्यकाल देखि नै रहेको थियो । विद्यालय पढ्दा १० कक्षासम्म कतिपटक विद्यालय नगई विद्यालयबाट सिधा धनुषाधामको जंगलमा घुम्न जाने गर्थे । साथीहरुको टिम बनाएर उक्त जंगलमा घुम्ने उनको सौखले पनि उनलाई जंगली जनावरहरुको बीचमा जान उत्पे्ररित गरेको मण्डल आफै बताउँछन् । आगरामा हुँदा प्रत्येक वर्षमा २८ दिनको लागि छुट्टी मनाउन उनी आफ्नो गाउँ मिथिलेश्वर मौवाही फर्किन्थे । सन् २०१२ मा जव उनी छुट्टीमा घर आएका थिए, धनुषाधामको जंगल हेर्न गए । तर, उक्त जंगलको दुर्दशा हेरेर उनी आश्चर्य चकित भए । किनभने सन् २००३ मा विद्यालयका ५ जना साथीसँगै उक्त जंगलमा जाँदा जंगल यति घना थियो कि कसैमा छिर्ने हिम्मत समेत भइरहेको थिएन तर सन् २०१२ मा हेर्दा उक्त जंगल पुरा खाली थियो । अनि भारतमा गएर भारतको लागि काम गर्नुभन्दा आफ्नै जिल्लाको धनुषाधाम जंगल र जनावरहरुका लागि काम गर्नुपर्छ भनेर उनी उत्प्रेरित हुँदै यहिँ काम गर्ने निधो गरे । सोही बेला संयोगले धनुषाकै यदुवंश झा वन मन्त्रि र धनुषा सबैलाका वज्र किशोर यादव वन विभागका निर्देशक थिए । मण्डलले ती दुवै जनासँग भेटेर धनुषाधामको जंगलबारे छलफल गर्दा जंगललाई संरक्षित गर्नका लागि मन्त्रि पनि तयार भएपछि उनी झनै उत्प्रेरित भए । पछि जिल्ला वन कार्यालयले पनि संरक्षण गर्नुपर्छ भन्ने कार्यका लागि सहयोग गर्न थाले । यता मण्डलले २० फागुन २०६९ मा वातावरण तथा बन्यजन्तु संरक्षणका लागि मिथिला वाइल्ड लाइफ टूस्ट जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराई टूस्टका मार्फत काम गर्न थाले । वातावरण र वन्यजन्तु सम्बन्धि जनचेतना कार्यक्रम,२४ घण्टै वन्यजन्तु उद्दार र पुनर्वासको कार्यक्रम, धनुषाधाम संरक्षित वनको दिगो विकास र दिगो कृषि कार्यक्रम गरी ४ वटा कार्यक्रमहरु उक्त टूस्ट मार्फत संचालन हुन थालेको छ ।
धनुषाको वसहियाबाट ११ फिट लामो 
धामन सर्पलाई उद्दार गर्दै 
रामखेलावन मण्डल 
६ महिना अघि मात्र उक्त धनुषाधाम जंगलमा प्रत्येक महिना कम्तिमा पनि दुई तिनवटा रुख काटेर चोरी हुन्थ्यो, महिनामा स्थानीयवासीहरुले दुई तीन पटक जानी जानी आगो लगाएर सानो विरुवा जलेपछि दाउराका लागि काठ लग्ने गर्थे । यति मात्र होइन जंगलमा जथाभावी चरिचरण त हुन्थ्यो नै दाउरा संगै पातको बहानामा रुखका हाँगाहरु काटेर लग्नु सामान्य भईसकेको थियो । संरक्षणको अभावमा उक्त जंगलको दुरावस्था यतिसम्म भईसकेको थियो कि जंगलमा रहेका करिब ४० वटा निल गाई जंगलभित्र चर्न नपाउँदा जंगलको छेउमा रहेको नदिमा रहेको स्थानमा वास वस्न बाध्य भएका थिए । जंगलको गहिरो अनुसन्धान समेत गरेका मण्डल भन्छन,“जंगलभित्र १५ वटा निल गाई मात्र रहेको थियो । जंगल बाहिर गएका निल गाईहरु राति छेउछाउको खेतमा चर्न जाने र जसले गर्दा किसानले लगाएका खेतीपातीमा समेत ठुलो क्षति हुन्थ्यो । निल गाईहरु जंगलमा फर्किदैन्थे ।” तर अहिले उक्त जंगल संरक्षित क्षेत्र भईसकेपछि र वाइल्ड लाइफ टूस्टले समेत सक्रिय रुपमा काम गर्न थालेपछि ती सबै विकृतिहरु रोकिनुका साथै निल गाईहरु फेरी सुरक्षित बासस्थानका लागि जंगलमा फर्किएका छन् । इलाका वन कार्यालय धनुषाका सहायक वन अधिकृत शंकर नारायण झा र उक्त टूस्टका टोलीहरुले धनुषाधाम, धनुषा गोविन्दपुर, यज्ञभुमि, उमाप्रेमपुर आदि गाउँहरुमा गएर जनचेतना जगाउन सक्रिय भएपछि स्थानीयवासीहरु पनि जंगल र जंगलका वन्यजन्तुलाई संरक्षण गर्न तदारुकता देखाएका छन् । हुन त उक्त जंगललाई जैविक केन्द्रको रुपमा विकास गर्नका लागि बनाइएको कार्य योजना जिल्ला वन कार्यालय धनुषा मार्फत प्रस्ताव गरिएको मात्र छैन उक्त योजना नेपाल सरकारले स्वीकृत समेत गरिसकेको छ । उक्त कार्ययोजना तर्जुमा प्रक्रियामा समेत सहभागी भएका मण्डल भन्छन,“धनुषा धामको जंगललाई इकोटुरिज्मको अवधारणा अनुसार बनाइएको कार्ययोजनामा बोटानिकल गार्डन, पिक्निक स्पोर्ट, बोटिङ पोन्ड, चिल्डूेन पार्क, हर्वल गार्डेन, वाइल्ड लाइफ रेस्क्यू सेन्टर, मिनि जु, वाइल्ड लाइफ सफारी समेतको परियोजनाहरु बनाइएको छ । उक्त ठाउँ धार्मिक दृष्टिकोणले पहिले देखि नै पर्यटकिय स्थलको रुपमा देश विदेशमा प्रख्यात रहेको हुँदा अहिले औषत एक दिनमा कम्तिमा पनि धनुषाधाम मन्दिरको दर्शन गर्नको लागि न्युन्तम  १ सय २५ जना पर्यटकहरु आउने गरेका छन् । तर, उक्त परियोजना लागु भईदियो भने एक दिनमा आएका पर्यटकलाई त्यहाँ दुई रात र तीन दिन रोक्न सकिन्छ । पर्यटकको संख्या पनि उल्लेखिय रुपमा वृद्धि गर्न सकिन्छ । धनुषाधामको उक्त बन ३६० हेक्टर अर्थात ५५० विघा जग्गामा रहेको छ । अहिले पनि उक्त जंगलमा निल गाई, काठे बाघ, जंगली खरायो र विभिन्न प्रजातिका सर्पहरु पाइन्छ । त्यसैगरी रुखको रुपमा मुख्यतया सालका रुखहरु छन् । मुख्य कुरा के हो भने उनले यी सबै कामहरु गर्दा राज्य पक्षबाट पाउनुपर्ने सहयोग पाएका छैनन् । बरु आफ्नै गोजीबाट विगतमा कमाएको रुपैयाँ खर्च गरिरहेका छन् ।
घाइते गरुडलाई उपचार गर्दै 
मिथिला वाइल्ड लाइफ ट्रस्टका 
मुकेश रजक र संतोष रजक ।
धनुषाधामको जंगलका लागि स्वीकृत गरिएको कार्ययोजना अनुसार करिब ५४ करोड रुपैयाँ लाग्ने छ । तर, नेपाल सरकारले प्राथमिकता नदिएका कारण उक्त परियोजनाले कुनै मुर्त रुप लिन सकेको छैन । यति मात्र होइन मण्डल त धनुषाबासी समेत रहेका राष्टूपति डा.रामबरण यादव, धनुषाका प्रायः जसो सभाषदहरु र नेपाल सरकारका अहिलेको मन्त्रि विमलेन्द्र निधि लगायत विभिन्न राजनीतिक दलका नेताहरु समेतलाई उक्त परियोजना सुचारु गराउन तथा बजेट विनियोजन गराउन भेटेरै अनुरोध गरिसकेका छन् । तर, सबै ठाउँबाट उनले आश्वासन मात्र पाएका छन् ।
सार्क शिखर सम्मेलनका लागि नेपाल आउने बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम हुँदै काठमाण्डौ जाने कार्यक्रम छ । मण्डल चाहन्छन् भारतीय प्रधानमन्त्री मोदीले उक्त धनुषाधाम जंगलको परियोजनाको लागि प्राथमिकताका साथ फन्डिङग गरिदिए भने जनकपुरको साथ साथै विश्वकै जलवायु परिवर्तन र त्यसबाट भएका विनाशहरुबाट जोगाउन केही योगदान हुने थियो । 
नेपालमा बन्यजन्तुको संरक्षणको लागि ठुलो बजेट खर्चेर ठुलठुला तारे होटेलहरुमा गरिएको राष्टिूय अन्र्तराष्टिूय कन्फ्रेन्सहरुमा मात्र कुरा हुने गर्छ । तर, ग्रास रुट लेभेलमा कार्यान्वयन भईरहेको हुँदैन । यस्तो अवस्थामा एक जना व्यक्तिको प्रयास निश्चय नै सराहनिय मात्र छैन, बन्यजन्तु तथा बातावरणमा काम गर्नेहरुको समेत ध्यानाकर्षण हुनु जरुरी छ ।


२०७१ कार्तिक २३ गते आईतबार

संघीयता पक्षधर २२ दलको जनकपुरमा गर्जन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेस र एमालेले संयुक्त रुपमा प्रस्तुत गरेको ७ प्रदेशको भौगोलिक विभाजन राजनीतिक र संवैधानिक आधारको समेत विपरित रहेको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् । २२ कार्तिकमा जनकपुरको रंगभुमि मैदानमा संघीयता पक्षधर २२ दलिय संघीय गणतान्त्रिक मोर्चाले आयोजन गरेको वृहत जनसभामा प्रचण्डले उक्त आरोप लगाएका हुन् । माओवादीसँग विगतमा गरिएको १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, मधेससँग गरिएको स्वायत्त मधेस प्रदेशको सम्झौता, दलित, जनजाति, आदिवासी लगायतसँग गरिएको सबै सम्झौताहरु राजनीतिक आधार हुन् भन्दै प्रचण्डले राजनीतिक आधारलाई मिचेपछि वर्गिय, जातिय, क्षेत्रिय उत्पीडन, समानुपातिक समावेशी लगायतको सिद्धान्तलाई तोडेर धोखाधडी र विश्वासघात गर्ने कांग्रेस र एमालेले गल्ती सच्याउँदैन भने तिनीहरुलाई सरकारमा बस्ने अधिकार समेत नरहेको बताएका थिए । त्यसैगरी अन्तरिम संविधानमा नै स्वायत्त मधेस प्रदेश हुने भनेर लेखिसकिएको अवस्थामा कांग्रेस र एमालेले ल्याएको साझा ७ प्रदेशको अवधारणा अन्तरिम संविधानको मुल मर्म र भावनालाई पनि च्यातेको प्रचण्डले टिप्पणी गरे । यी दुई वटा मुख्य आधारलाई नमान्ने हो भने संवैधानिक रुपले पनि उनीहरुलाई राज्य संचालन गर्ने अधिकार नरहेको तथा पछि नसच्चिँदा जनताले आफ्नो अधिकार आफ्नो हातमा लिएर सरकार आफै चलाउने प्रचण्डले चेतावनी दिए ।
शान्ति सम्झौतामा दृढता पुर्वक उभिने शक्तिलाई संयुक्त राष्टू संघ, छिमेकी मुलुक भारत, चीन, मित्र राष्टूहरु यूरोप अमेरिकाले पनि समर्थन गर्ने हुनाले २२ दलिय गठबन्धनको साथ र एकता आवश्यक रहेको भन्दै प्रचण्डले सहमतिको प्रक्रियालाई छोडेर अलग बाटो गएर जनताको भावना विपरित जवर्जस्ती संविधान बनाए पनि त्यो लागु नहुने उनले चेतावनी दिए । अहिले कांग्रेसकै ५० जना मधेसी सभाषदहरुले ७ प्रदेशको प्रस्तावलाई अस्वीकार गरी उनीहरुले आफ्नै पार्टी सभापति सुशिल कोइरालाका विरुद्ध हस्ताक्षर अभियान चलाईरहेको आफुलाई जानकारी प्राप्त भएको भन्दै एमालेका मधेसी सभाषदहरुलाई पनि मधेस विरोधी संविधान ल्याउन छुट नरहेको उनले बताए ।
त्यसैगरी आफु विस्तृत शान्ति सम्झौता पश्चात शान्तिपुर्ण राजनीतिमा आएको हुनाले अब हिंसा वा छापामार यूद्ध नगरी लोकतान्त्रिक प्रक्रिया र विधिबाटै शान्तिपुर्ण आन्दोलन र क्रान्तिको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने एमाओवादी अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गरे । आफुलाई मधेसको साथ नदिन नेपाली कांग्रेस र नेकपा एमालेले २२ दलिय गठबन्धन वा तीन दलिय गठबन्धन, राजनीतिक समितिको संयोजक वा मधेसी जनताको साथ मध्ये कुनै एक रोज्न भन्दा आफुले बरु संयोजक नदिए नदेउ, २२ दलिय गठबन्धन र मधेसी जनताको साथ नै रोजेको भन्दै दाहालले के पनि भने भने बरु म जबसम्म मधेसीको अधिकार सुनिश्चित गराउँदिन तव सम्म मधेसी जनताको साथ छोडदिन तर, मधेसी नेताहरुले पनि मलाई अन्तिम समयसम्म साथ दिनुपर्छ भनेर भनेका थिए ।
हजारौं वर्ष देखि नेपाल बनाउन मधेसी जनताको योगदान, बलिदान र भुमिका रहेको भन्दै देशमा सामन्ती, अति हिन्दुवादीहरुको टाउको भनिएको राजतन्त्र रुपी कालो सर्प जसले जनतालाई सधै डस्ने काम ग¥यो उक्त सर्पको टाउकोलाई १० वर्षे जनयूद्धले ढालिसकेको भएपनि पुरानै व्यवस्थाका पुच्छर कांग्रेस र एमाले अहिले पनि हल्लिरहेको हुनाले उक्त पुच्छरलाई नमार्दा कहिले कांही टाउकोमा पुच्छर जोडियो भने सर्प पनि व्युँतिने खतरा रहेको उनले भने ।

२२ दलिय जनसभामा उपस्थित सहभागीहरु ।
दोस्रो संविधान सभाको चुनाव अघि आफुले मधेसी जनतासँग प्रेम पर्यो भन्दा मान्छेले पहाडलाई प्रेम नगरेको भनेर अर्थियाइयो । आफुले पहाडलाई प्रेम नगरेको भनेर पनि भनेको थिइन । तर, संयोग के भयो भने मधेसी जनताले साँच्चिकै मलाई प्रेम गरेर जनप्रतिनिधि बनाई संविधान सभामा पु¥याएर ठुलो ऋण लगाएको हुनाले पनि आफुले जवसम्म उक्त ऋण चुक्ता गर्दिन तवसम्म मधेसको साथमा रहिरहन्छु भनेर प्रचण्डले मधेस प्रतिको विश्वासलाई जित्ने प्रयास गरेका थिए । मधेसी जनता मधेसको मात्र नभएर सिंगो नेपालकै भाग्य भविष्य निर्माण गर्ने हुनाले अब मधेसले आफ्नो अधिकारको लागि ठुलो आन्दोलन गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस र एमालेले दुई तिहाई बहुमतको आधारमा जवर्जस्ती संविधान ल्याउन खोजे मुलुकमा अशान्ति, मुठभेड र द्वन्द निम्तिने चेतावनी दिए । यो देशमा ६४ प्रतिशत जनता मधेसी समुदायको रहेको हुनाले मधेसले स्वायत मधेस प्रदेश स्थापना, थारुले थरुहट प्रदेश, लिम्बुले लिम्बान प्रदेश हुनबाट अब कसैले पनि रोक्न नसक्ने भन्दै गच्छदारले प्रचण्डलाई अब बन्दुक होइन शान्तिपुर्ण राजनीतिबाट सम्भव रहेको विश्वास दिलाएका थिए । त्यसैगरी आफुलाई कांग्रेस र एमालेले २२ दलिय गठबन्धनमा सहभागी हुन नदिन कांग्रेस र एमालेले घेराबन्दी गर्न खोजे पनि आफु उक्त घेराबाट बाहिर आएको गच्छदारले बताए । काठमाण्डौको टुडीखेलमा आयोजित विरोध सभामा करिब १५ देखि २० हजारसम्मको संख्यामा जनता उपस्थित रहेपनि कांग्रेस र एमालेले २२ दलले २२सय मानिसको संचालन गरेको भनेर टिप्पणी प्रति उनले कांग्रेस र एमालेलाई काठमाण्डौबाट दुरविन लगाएर जनकपुरको विरोध सभालाई हेर्न चेतावनी दिएका थिए । कांग्रेस र एमाले गलत बाटोमा गएर पहिचान, संघीयता, गणतन्त्रलाई समाप्त पार्ने, परिवर्तनलाई संस्थागत नगरी पुरानै व्यवस्था तर्फ पुर्नउत्थानबादी सोच तर्फ रहेको आरोप लगाए ।
उक्त सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले संघीयता र पछिल्लो सम्झौता विपरित हिंडिसकेको आरोप लगाए । मधेस आन्दोलन पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले दायाँमा एमाले नेता माधव कुमार नेपाल र बायाँमा पुष्पकमल दाहाललाई राखेर स्वायत मधेस प्रदेश हुने भनेर सम्झौता गरेका थिए । तर, नेपाली कांग्रेसका नेता रामशरण महत आफ्नो गुरुलाई जब भारतको दिल्लीमा भेट गर्न जान्छ तब यो देशमा मधेस नै छैन भनेर भन्छन्, एमालेका अध्यक्ष केपी ओली जब दिल्ली जान्छन तब भन्छन यो देशमा मधेस र मधेसी नै छैन भनेपछि उनीहरु मधेस र संघीयताको विरुद्ध हिडिसकेको हुनाले अब पनि यदि विगतमा गरिएका सम्झौता अनुरुप स्वायत मधेस प्रदेश सहितको संविधान आएन भने भोली मधेसी जनताले आफ्नो अलगै संविधान लेख्न बाध्य हुने र त्यसलाई कुनै पनि ताकतले रोक्न नसक्ने चेतावनी दिएका थिए ।
उक्त सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको संघर्ष उपनिवेशको विरुद्ध मुक्तिको संघर्ष हुनाले जवसम्म शासकहरुको प्रशासनबाट मुक्ति मिल्दैन तवसम्म लडाई जारि रहने बताए । माओवादीको जनयूद्ध विचारमा आधारित संघर्ष थियो तर हाम्रो संघर्ष भन्ने उपनिवेशको विरुद्ध पहिचान र अधिकारको लागि रहेको भन्दै कांग्रेस र एमालेले अन्तरिम संविधानको प्रस्तावनाको धारा १३८लाई उल्लंघन गरी आफ्नो खल्तीबाट छलफलको लागि ७ प्रदेशको प्रस्ताव दर्ता गराउनु अवैधानिक रहेको ठाकुरले टिप्पणी गरेका थिए । उक्त सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले कांग्रेस र एमालेले बइमानी, धोकाधडी र जालझेलको समेत सिमा नाघिसकेको हुनाले मधेसलाई ५ टुक्रामा विभाजन गर्न ठुलो षडयन्त्र गरेको उनले बताए । स्वायत मधेस प्रदेश भन्दा एक इन्च पनि कम भुभाग मधेसी जनतालाई स्वीकार नरहेको भन्दै अबको आन्दोलनले तिनीहरु सकिने चेतावनी दिएका थिए ।
फोरम नेपालका हरिनारायण यादवको अध्यक्षतामा तमसपाका अध्यक्ष महेन्द्र यादव, संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिझवान अन्सारी, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन लगायत २२ दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । उक्त सभामा करिब ५० हजारको संख्यामा मानिसहरु उपस्थित रहेको अनुमान गरिएको छ ।

२०७१ कार्तिक २३ गते आईतबार