Tuesday, November 11, 2014

संघीयता पक्षधर २२ दलको जनकपुरमा गर्जन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेस र एमालेले संयुक्त रुपमा प्रस्तुत गरेको ७ प्रदेशको भौगोलिक विभाजन राजनीतिक र संवैधानिक आधारको समेत विपरित रहेको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् । २२ कार्तिकमा जनकपुरको रंगभुमि मैदानमा संघीयता पक्षधर २२ दलिय संघीय गणतान्त्रिक मोर्चाले आयोजन गरेको वृहत जनसभामा प्रचण्डले उक्त आरोप लगाएका हुन् । माओवादीसँग विगतमा गरिएको १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, मधेससँग गरिएको स्वायत्त मधेस प्रदेशको सम्झौता, दलित, जनजाति, आदिवासी लगायतसँग गरिएको सबै सम्झौताहरु राजनीतिक आधार हुन् भन्दै प्रचण्डले राजनीतिक आधारलाई मिचेपछि वर्गिय, जातिय, क्षेत्रिय उत्पीडन, समानुपातिक समावेशी लगायतको सिद्धान्तलाई तोडेर धोखाधडी र विश्वासघात गर्ने कांग्रेस र एमालेले गल्ती सच्याउँदैन भने तिनीहरुलाई सरकारमा बस्ने अधिकार समेत नरहेको बताएका थिए । त्यसैगरी अन्तरिम संविधानमा नै स्वायत्त मधेस प्रदेश हुने भनेर लेखिसकिएको अवस्थामा कांग्रेस र एमालेले ल्याएको साझा ७ प्रदेशको अवधारणा अन्तरिम संविधानको मुल मर्म र भावनालाई पनि च्यातेको प्रचण्डले टिप्पणी गरे । यी दुई वटा मुख्य आधारलाई नमान्ने हो भने संवैधानिक रुपले पनि उनीहरुलाई राज्य संचालन गर्ने अधिकार नरहेको तथा पछि नसच्चिँदा जनताले आफ्नो अधिकार आफ्नो हातमा लिएर सरकार आफै चलाउने प्रचण्डले चेतावनी दिए ।
शान्ति सम्झौतामा दृढता पुर्वक उभिने शक्तिलाई संयुक्त राष्टू संघ, छिमेकी मुलुक भारत, चीन, मित्र राष्टूहरु यूरोप अमेरिकाले पनि समर्थन गर्ने हुनाले २२ दलिय गठबन्धनको साथ र एकता आवश्यक रहेको भन्दै प्रचण्डले सहमतिको प्रक्रियालाई छोडेर अलग बाटो गएर जनताको भावना विपरित जवर्जस्ती संविधान बनाए पनि त्यो लागु नहुने उनले चेतावनी दिए । अहिले कांग्रेसकै ५० जना मधेसी सभाषदहरुले ७ प्रदेशको प्रस्तावलाई अस्वीकार गरी उनीहरुले आफ्नै पार्टी सभापति सुशिल कोइरालाका विरुद्ध हस्ताक्षर अभियान चलाईरहेको आफुलाई जानकारी प्राप्त भएको भन्दै एमालेका मधेसी सभाषदहरुलाई पनि मधेस विरोधी संविधान ल्याउन छुट नरहेको उनले बताए ।
त्यसैगरी आफु विस्तृत शान्ति सम्झौता पश्चात शान्तिपुर्ण राजनीतिमा आएको हुनाले अब हिंसा वा छापामार यूद्ध नगरी लोकतान्त्रिक प्रक्रिया र विधिबाटै शान्तिपुर्ण आन्दोलन र क्रान्तिको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने एमाओवादी अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गरे । आफुलाई मधेसको साथ नदिन नेपाली कांग्रेस र नेकपा एमालेले २२ दलिय गठबन्धन वा तीन दलिय गठबन्धन, राजनीतिक समितिको संयोजक वा मधेसी जनताको साथ मध्ये कुनै एक रोज्न भन्दा आफुले बरु संयोजक नदिए नदेउ, २२ दलिय गठबन्धन र मधेसी जनताको साथ नै रोजेको भन्दै दाहालले के पनि भने भने बरु म जबसम्म मधेसीको अधिकार सुनिश्चित गराउँदिन तव सम्म मधेसी जनताको साथ छोडदिन तर, मधेसी नेताहरुले पनि मलाई अन्तिम समयसम्म साथ दिनुपर्छ भनेर भनेका थिए ।
हजारौं वर्ष देखि नेपाल बनाउन मधेसी जनताको योगदान, बलिदान र भुमिका रहेको भन्दै देशमा सामन्ती, अति हिन्दुवादीहरुको टाउको भनिएको राजतन्त्र रुपी कालो सर्प जसले जनतालाई सधै डस्ने काम ग¥यो उक्त सर्पको टाउकोलाई १० वर्षे जनयूद्धले ढालिसकेको भएपनि पुरानै व्यवस्थाका पुच्छर कांग्रेस र एमाले अहिले पनि हल्लिरहेको हुनाले उक्त पुच्छरलाई नमार्दा कहिले कांही टाउकोमा पुच्छर जोडियो भने सर्प पनि व्युँतिने खतरा रहेको उनले भने ।

२२ दलिय जनसभामा उपस्थित सहभागीहरु ।
दोस्रो संविधान सभाको चुनाव अघि आफुले मधेसी जनतासँग प्रेम पर्यो भन्दा मान्छेले पहाडलाई प्रेम नगरेको भनेर अर्थियाइयो । आफुले पहाडलाई प्रेम नगरेको भनेर पनि भनेको थिइन । तर, संयोग के भयो भने मधेसी जनताले साँच्चिकै मलाई प्रेम गरेर जनप्रतिनिधि बनाई संविधान सभामा पु¥याएर ठुलो ऋण लगाएको हुनाले पनि आफुले जवसम्म उक्त ऋण चुक्ता गर्दिन तवसम्म मधेसको साथमा रहिरहन्छु भनेर प्रचण्डले मधेस प्रतिको विश्वासलाई जित्ने प्रयास गरेका थिए । मधेसी जनता मधेसको मात्र नभएर सिंगो नेपालकै भाग्य भविष्य निर्माण गर्ने हुनाले अब मधेसले आफ्नो अधिकारको लागि ठुलो आन्दोलन गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांग्रेस र एमालेले दुई तिहाई बहुमतको आधारमा जवर्जस्ती संविधान ल्याउन खोजे मुलुकमा अशान्ति, मुठभेड र द्वन्द निम्तिने चेतावनी दिए । यो देशमा ६४ प्रतिशत जनता मधेसी समुदायको रहेको हुनाले मधेसले स्वायत मधेस प्रदेश स्थापना, थारुले थरुहट प्रदेश, लिम्बुले लिम्बान प्रदेश हुनबाट अब कसैले पनि रोक्न नसक्ने भन्दै गच्छदारले प्रचण्डलाई अब बन्दुक होइन शान्तिपुर्ण राजनीतिबाट सम्भव रहेको विश्वास दिलाएका थिए । त्यसैगरी आफुलाई कांग्रेस र एमालेले २२ दलिय गठबन्धनमा सहभागी हुन नदिन कांग्रेस र एमालेले घेराबन्दी गर्न खोजे पनि आफु उक्त घेराबाट बाहिर आएको गच्छदारले बताए । काठमाण्डौको टुडीखेलमा आयोजित विरोध सभामा करिब १५ देखि २० हजारसम्मको संख्यामा जनता उपस्थित रहेपनि कांग्रेस र एमालेले २२ दलले २२सय मानिसको संचालन गरेको भनेर टिप्पणी प्रति उनले कांग्रेस र एमालेलाई काठमाण्डौबाट दुरविन लगाएर जनकपुरको विरोध सभालाई हेर्न चेतावनी दिएका थिए । कांग्रेस र एमाले गलत बाटोमा गएर पहिचान, संघीयता, गणतन्त्रलाई समाप्त पार्ने, परिवर्तनलाई संस्थागत नगरी पुरानै व्यवस्था तर्फ पुर्नउत्थानबादी सोच तर्फ रहेको आरोप लगाए ।
उक्त सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले संघीयता र पछिल्लो सम्झौता विपरित हिंडिसकेको आरोप लगाए । मधेस आन्दोलन पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले दायाँमा एमाले नेता माधव कुमार नेपाल र बायाँमा पुष्पकमल दाहाललाई राखेर स्वायत मधेस प्रदेश हुने भनेर सम्झौता गरेका थिए । तर, नेपाली कांग्रेसका नेता रामशरण महत आफ्नो गुरुलाई जब भारतको दिल्लीमा भेट गर्न जान्छ तब यो देशमा मधेस नै छैन भनेर भन्छन्, एमालेका अध्यक्ष केपी ओली जब दिल्ली जान्छन तब भन्छन यो देशमा मधेस र मधेसी नै छैन भनेपछि उनीहरु मधेस र संघीयताको विरुद्ध हिडिसकेको हुनाले अब पनि यदि विगतमा गरिएका सम्झौता अनुरुप स्वायत मधेस प्रदेश सहितको संविधान आएन भने भोली मधेसी जनताले आफ्नो अलगै संविधान लेख्न बाध्य हुने र त्यसलाई कुनै पनि ताकतले रोक्न नसक्ने चेतावनी दिएका थिए ।
उक्त सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको संघर्ष उपनिवेशको विरुद्ध मुक्तिको संघर्ष हुनाले जवसम्म शासकहरुको प्रशासनबाट मुक्ति मिल्दैन तवसम्म लडाई जारि रहने बताए । माओवादीको जनयूद्ध विचारमा आधारित संघर्ष थियो तर हाम्रो संघर्ष भन्ने उपनिवेशको विरुद्ध पहिचान र अधिकारको लागि रहेको भन्दै कांग्रेस र एमालेले अन्तरिम संविधानको प्रस्तावनाको धारा १३८लाई उल्लंघन गरी आफ्नो खल्तीबाट छलफलको लागि ७ प्रदेशको प्रस्ताव दर्ता गराउनु अवैधानिक रहेको ठाकुरले टिप्पणी गरेका थिए । उक्त सभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले कांग्रेस र एमालेले बइमानी, धोकाधडी र जालझेलको समेत सिमा नाघिसकेको हुनाले मधेसलाई ५ टुक्रामा विभाजन गर्न ठुलो षडयन्त्र गरेको उनले बताए । स्वायत मधेस प्रदेश भन्दा एक इन्च पनि कम भुभाग मधेसी जनतालाई स्वीकार नरहेको भन्दै अबको आन्दोलनले तिनीहरु सकिने चेतावनी दिएका थिए ।
फोरम नेपालका हरिनारायण यादवको अध्यक्षतामा तमसपाका अध्यक्ष महेन्द्र यादव, संघीय समाजवादी पार्टीका उपाध्यक्ष रिझवान अन्सारी, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन लगायत २२ दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । उक्त सभामा करिब ५० हजारको संख्यामा मानिसहरु उपस्थित रहेको अनुमान गरिएको छ ।

२०७१ कार्तिक २३ गते आईतबार

1 comment:

  1. अभागा हुन यी मधेसी नेताहरु जसलाई मधेसीको बाटो रोक्न प्रयोग गरिएको थियो उसैको नेतृत्वमा हुल्ले हुल्ले गरिरहेका मधेसी नेताहरुलाई हेर्दा हाँस उठ्छ र यिनीहरुलाई नेता भन्दा पनि अरु केहि भन्न मन लागीरहेछ ।

    ReplyDelete