Tuesday, April 21, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


म आफै विरामी पर्या बेलामा देशै विरामी भो भनेर के कराई बस्याँ ! म यूवा नेता पो हुँ त । यति चाँडै कहाँ छोड्छु त । माया पो लाग्छ स्ट्रेचरको !

२०७२ बैशाख ०६ गते आईतबार

धनुषा कांग्रेसमा विमलेन्द्र निधिको दबदबा

अजय अनुरागी
जनकपुरधाम............
चुनावमा उम्मेदवार खडा गर्नमा हाम्रो एउटा संसदीय समिति बनेको थियो, तर मुख्यतः म नै थिएँ त्यसमा । अरु मान्छेहरुलाई थाहा पनि थिएन, सुवर्णजीलाई सम्म थाहा थिएन को मान्छे के हुने हो भनेर । त्यसभन्दा पनि जिताउने प्रचारक त म नै थिएँ ।
त्यसबेला दुई तीनवटा निर्वाचन क्षेत्रहरुका घतलाग्दा कुराहरु छन् । राष्टिूयताको भावनाको मलाई बडो घत लागेको छ । एउटा अनुभव सरोज कोइरालाको निर्वाचन क्षेत्रको थियो । चुनावको टिकट कसलाई दिने भन्ने कुरा थियो । सरोजकै घरमा पार्टीका कार्यकर्ताहरुको मिटिंग मैले बोलाएँ । म सोच्दछु, पहिलेका पार्टीका कार्यकर्ताहरुसँग अहिलेकाहरुको धेरै फरक छ जस्तो लाग्छ । अहिले त सबैको धोको आफै हुँ भन्ने जस्तो लाग्छ । त्यस मिटिंगमा करिब ५०÷६० जना मानिसहरु थिए त्यस निर्वाचन क्षेत्र भरिका । अनि मैले भने,“ कसलाई टिकट दिने ?”
त्यसमा रामनारायण मिश्र पनि छन् । सामन्तहरुले एउटा बडो प्रभावशाली राजपुतलाई उठाएका छन् । त्यसलाई गिरीका परिवारहरु तुलसी गिरी होइन, र रामनारायणका परिवारहरु  रामनारायण होइन, त्यसलाई समर्थन गर्दै थिए । सबै सामन्तहरुको उसलाई समर्थन छ र ऊ बडो शक्तिशाली छ । निर्वाचन क्षेत्रमा जनसंख्याको दृष्टिबाट यादवहरुको संख्या बेसी छ । त्यो मलाई लाग्थ्यो र त्यसबेला त्यो मलाई थाहा पनि भयो । रामनारायण मिश्रले के भन्यो भने,“धेरै बलियो विरोधीसँग मुकाबिला गर्नुपरेकोले हामीले यहाँ तराईका मान्छेलाई उठाउनुपर्छ ।”
भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधि ।
त्यो भन्ने वित्तिकै ग्वालाको प्रश्न उठ्यो । यही सब चलिरहेको थियो । एक जना निर्गुण यादव थियो, हाम्रो बडो सक्रिय साथी । उसले भन्यो,“सरोज बाबुको टिकट मिलना चाहिए ।” सरोजले टिकट नपाएको भए निर्गुणले नै पाउने थियो । उसले भन्यो,“सरोज बाबुको टिकट मिल्ना चाहिए, क्यो कि हमलोग जितने कार्यकर्ता है, उन्ही के बनाए है हमलोग । अगर जाति के आधार मे टिकट मिलना है तो नेपाली कांग्रेस क्यों बनाया आपने ?”
त्यस्तो तर्क दियो त्यसले ! अहिले त्यो ३८ समुहमा गएको छ । अर्को एउटा झाले उठेर भन्यो, जो मलाई लाग्दथ्यो गरिब झा हो । मैले सोधे त्यसको बारेमा, त्यो अहिले पनि छ तर दुःख पाएको छ । त्यसले पनि भन्यो,“सरोज बाबुले पाउनुपर्छ ।”
रामनारायणले विरोध गरिरहेको थियो । “हार्छाैं हामीहरु” भनिरहेको छ । अनि त्यसपछि अर्को एउटा यादव भकभकाएर बोल्ने हाम्रै साथ लागेको, तर उस्तो सक्रिय थिएन, उसले भन्यो,“हम खडे होंगे ।” तर मलाई लाग्यो, यो विचार गर्दा सरोजले नै पाउनुपर्छ । यो एउटा न्यायको कुरा पनि हुन्छ र मलाई लाग्छ, सरोजले जित्छ । र, हाम्रो एउटा राष्टिूय स्वरुप पनि प्रकट हुन्छ ।”
रामनारायण मलाई पछिसम्म भन्थ्यो, त्यो एउटा ठुलो गल्ती भयो । हामी हार्छौं त्यस निर्वाचन क्षेत्रमा, जित्ने क्षेत्रमा हामी हार्ने भयौं । तर हामीले जित्यौं ।
    माथिका यी सबै भनाईहरु नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’ नामक पुस्तकमा तत्कालिन धनुषा महोत्तरीका विषयमा उल्लेख गरिएका शव्दहरु पृष्ठ संख्या १९९ मा अहिले पनि हेर्न सकिन्छ । निरगुन यादव ती व्यक्ति हुन जसले नेपालमा १०४ वर्षसम्म शासन गरेको जहानियाँ राणा शासन विरुद्धको २००७ सालको आन्दोलन, तत्कालिन राजा महेन्द्रको निरंकुश कदमका विरुद्ध चालिएको आन्दोलन र २०४६ सालमा गरिएको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा आफ्नो ज्यानको बाजी लगाएर सक्रिय सहभागिता जनाउनुका साथै जेलनेल समेत भोगेका व्यक्ति हुन । उनको २ वर्ष अघि मात्र निधन भएको छ । विपीले निरगुनलाई चुनावमा उठाउन लगाउँदा निरगुनले सरोज कोइरालालाई नै टिकट दिनु पर्छ, जातपातको लागि कांग्रेस बनाएको होइन भनेर भन्नुको आसयले पनि तत्कालिन कांग्रेस र अहिलेको कांग्रेस आकाश र पातालको फरक आईसकेको प्रतित हुन्छ । त्यतिबेला देशमा प्रजातन्त्र र लोकतन्त्रका लागि कांग्रेसले लडाई लडेका थिए । त्यतिबेला जातपात ठुलो कुरा थिएन । तर, अहिले कांग्रेस भित्र जातीको राजनीति, आफन्त नातागोता सम्मको राजनीति यतिसम्म हावी भईसकेको छ कि नेताको इर्दगिर्द, चाकरी, चाप्लुसी गर्ने येसम्यानहरु पावरमा पुगेर अवसर लिईरहेका छन् भने त्याग बलिदान गरेका तर चाकरी चाप्लुसीमा विश्वास नगर्नेहरु, आफ्नो स्वाभिमान जोगाएर राख्नेहरु पार्टी भित्र अटाउन समेत सकिरहेका छैनन् । त्यसको ज्वलन्त उदाहरण के हो भने तिनै निरगुन यादवका छोराहरु अहिले कांग्रेसमा नभएर अन्य पार्टीमा लागेका छन् । कांग्रेसका लागि ज्यानको आहुती दिएका सहिद दुर्गानन्द झाकी श्रीमति काशी देवी झालाई कांग्रेसले सम्मान गर्न नसकेपछि उनी तमलोपामा छिन् । तमलोपाले उनलाई पछिल्लो संविधानसभामा सभाषद बनाउनुका साथै राज्य मन्त्रिसम्म बनाए । २०४६ सालको आन्दोलनका नायक ललन चौधरी अहिले कांग्रेस भित्र रहिरहेपनि भुमिका र जिम्मेवारी विहिन बनाइएका छन् । २०३६ सालका नायक यूवराज खाँती ओझेलमा परेका छन् भने थुप्रै सहिदहरुका परिवारहरु प्रति कांग्रेसले उदासिन चरित्र देखाएको पाइन्छ ।
क्रियाशिल सदस्यता नविकरण र विवाद
नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय ।
२४ देखि २८ भाद्र २०७२ मा नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सरगर्मी चलिरहेकै बेला कांग्रेस अहिले देशैभरी अधिवेशनमा जुटेको छ । कांग्रेसले गरेको निर्णय अनुसार १४ साउन २०७२ मा नगर वडा, गाउँ र नगर अधिवेशन, २२ साउन २०७२ मा क्षेत्रिय अधिवेशन र २६ साउन २०७२ मा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ ।  उक्त अधिवेशन हुनु भन्दा अगाडी २०७१ फागुन मसान्त भित्र शुल्क सहित क्रियाशिल सदस्यता नविकरण र थप नयाँ नविकरण आवेदन फारम केन्द्रमा बुझाईसक्नु पर्ने छ । यदि उक्त सदस्यता नविकरणमा कहिँ विवाद देखा प¥यो भने २०७२ बैशाख मसान्त भित्र सम्पुर्ण विवाद टुङ्गयाई क्रियाशिल सदस्यता छानविन समितिले केन्द्रिय कार्य समितिमा पेश गरिसक्नुपर्ने कांग्रेसले परिपत्र जारी गरेको छ । ६ फागुन २०६१ मा बसेको कांग्रेसको केन्द्रिय कार्य समितिको बैठकले नरहरी आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव तीन सदस्यीय क्रियाशिल सदस्यता छानविन समिति गठन गरेको छ ।
    कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको व्यक्तिले निरन्तर रुपले २ घण्टा अनिवार्य रुपले पार्टीको क्रियाकलापमा सहभागि भएको व्यक्तिलाई तल्लो निकायका कार्य समितिले उसको क्रियाकलाप हेरी क्रियाशिल सदस्यता प्रदान गर्ने प्रावधान छ । तर, अहिले भएको के हो भने साधारण सदस्यता समेत प्राप्त नगरेका, विगतमा पार्टीका गतिविधि, पार्टीको हित विपरित क्रियाकलापमा लागेका व्यक्तिहरु, अन्य पार्टीमा समेत आवद्ध भएका व्यक्तिहरुलाई आ(आफ्नो वर्चश्व कायम राख्नका लागि अगुवा नेताहरुले एकातर्फ क्रियाशिल सदस्यता वितरण गरेका छन् भने अर्को तर्फ आफ्ना पक्षमा नभएका जेन्यून कार्यकर्ताहरुलाई समेत सदस्यता दिलाउनबाट बञ्चित गरिएका छन् ।
एउटै परिवारबाट आमा, बुवा, दाजु, भाई, भाउजु, बुहारी, काका, काकी, भतिजा, भतिजी, नाता, गोता, त्यसपछि आफ्नो जाति, नजिकका जातिलाई क्रियाशिल सदस्यता प्रदान गर्ने कतिसम्मको होडवाजी चलेको छ भने धनुषामा भरिएका क्रियाशिल सदस्यता फारमको सुचि हेरेमा नै पुष्टि हुन्छ ।
धनुषामा कांग्रेसका कार्यालय सचिव मिथिला प्रसाद ठाकुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनुषाको क्षेत्र नं.२मा १ हजार ६ सय ६९ नविकरण र ७ सय ६६ थप सदस्यता, क्षेत्र नं.३ मा १ हजार २ सय ३४ नविकरण र ८ सय १३ थप नयाँ सदस्यता, क्षेत्र नं. ४ मा १ हजार २ सय ५४ नविकरण, क्षेत्र नं.५ मा १ हजार २ सय ६४ नबिकरण र ७ सय ८० नयाँ सदस्यता, क्षेत्र नं.६ मा ९ सय ४१ नविकरण र ७ सय ४१ थप सदस्यता र क्षेत्र नं. ७ मा १ हजार १ सय ९ नबिकरण र ७ सय ३३ थप नयाँ क्रियाशिल सदस्यता प्रदान गरिएको फारम प्राप्त भईसकेको छ । क्षेत्र नं.१ बाट फारम अहिलेसम्म बुझाइएको छैन । यसरी हेर्ने हो भने ७ वटै निर्वाचन क्षेत्रलाई जोड्ने हो भने ९ हजार नविकरण र ६ हजार थप नयाँ सदस्यता गरि कुल १५ हजार क्रियाशिल सदस्यता यसपटक वितरण गरिएको छ । यसअघिसम्म धनुषामा करिब १० हजार जति क्रियाशिल सदस्य रहेका थिए । जसमध्ये केही मानिसहरुको मृत्यु भएको छ ।
सदस्यता वितरणमा विवाद देखिएको छ । सचिव सन्तोष यादवका अनुसार सभापति रामसरोज यादवले आफ्नो मत सुरक्षित पार्न आफु खुशी सदस्यता वितरण गरेका छन् । क्षेत्र र गाउँ इकाई कमिटिलाई बाईपास गरी सदस्यता वितरण गरेको उनको आरोप छ । तर, सभापति यादव त्यसलाई अस्वीकार गर्दै भन्छन,“आनन्द ढुङ्गानाले केन्द्रबाटै ७ नम्बर क्षेत्रमा ४ वटा गाविसमा, ५ नम्बर क्षेत्रमा चन्द्रमोहन यादवले ३ वटा गाविसमा प्रक्रिया मिचेर जिल्ला कार्य समितिलाई बाईपास गरेर सदस्यता फारम वितरण गरेका छन् ।”
सदस्यता वितरणमा यसकारण हानाथाप

क्रियाशिल सदस्यता नविकरण फारमको 
अभिलेख राख्दै कांग्रेसको कार्यालय
 सचिव मिथिला प्रसाद ठाकुर ।
नेपाली कांग्रेसका विधान अनुसार गाउँमा ११ जना डेलिगेटमा एक जना सभापति, एक÷एक जना अल्पसंख्यक, दलित, जनजाति र महिला रहन्छन् भने नगरको वडाहरुबाट एकजना सभापति, महिला लगायत ३ जना प्रतिनिधिहरु छनौट हुने प्रावधान छ । यदि १ सय जना वढी क्रियाशिल सदस्य भएमा १ जना थप प्रतिनिधि, २५ जना महिलामा १ जना थप प्रतिनिधि हुने प्रावधान छ । त्यसैगरी उपमहानगरपालिकामा १ जना सभापति, १ महिला गरी ४ जना प्रतिनिधि छनौट हुने प्रावधान छ । तर, १ सय भन्दा क्रियाशिल सदस्य भएमा १ जना थप र २५ महिला भन्दा वढी भएमा १ जना थप महिला प्रतिनिधि छनौट हुने व्यवस्था छ । यिनै प्रतिनिधिहरु छनौट भईसकेपछि क्षेत्रिय अधिवेशनमा र जिल्ला अधिवेशनमा समेत भाग लिन्छन् । तर, जिल्ला सभापतिको उम्मेदवार हुनका लागि महाधिवेशन प्रतिनिधिले मात्र उम्मेदवारी दिने प्रावधान छ भने बाँकी पदहरुका लागि क्षेत्रिय प्रतिनिधि हुनु पर्दछ । त्यसैगरी पार्टीका केन्द्रिय सदस्यहरु, जितेका सभाषदहरु, समानुपातिक सभाषदहरु, सभाषदमा हारेका उम्मेदारहरु स्वतः क्षेत्रिय प्रतिनिधि बन्न पाउने प्रावधान छ ।
क्षेत्रिय सभापति बन्नका लागि अहिले ठुलै चलखेल भएको छ । क्षेत्रिय सभापति भएपछि क्षेत्र क्याप्चर हुने, स्थानीय निकाय देखि प्रतिनिधि सभासम्मको चुनावमा उम्मेदवारको उम्मेदवारीका लागि सिफारिस गर्ने अधिकार, क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि जो केन्द्रिय महाधिवेशनका लागि भोटर समेत हुन्छन्, ती सबैका लागि सदस्यता महत्वपुर्ण भएकाले हानाथाप भएको हो ।
विधान अनुसार सदस्यता नविकरण गर्दा तहगत समितिको वैठक वसेर कसको नविकरण गर्ने नगर्ने अधिकार भएपनि विरोधीको प्रस्तावक र समर्थक बाहेक सबै जनालाई क्रियाशिल सदस्यता नविकरण गर्ने केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका कारण पछिल्लो चुनावमा कांग्रेसका बागी उम्मेदवारी दिएका प्रस्तावक समर्थक बसेका बाहेक गाउँ सहरका कुनै पनि तप्काले नविकरण गर्नुपर्ने हुन्छ । तर, त्यसो नगरी आ(आफ्ना मान्छेलाइ क्षेत्रिय अधिवेशन आफ्नो पक्षमा पार्न सदस्यता नविकरण गरिएको पाइएको छ । त्यसैगरी नयाँ क्रियाशिल सदस्यता वितरणका लागि तल्लो इकाईका कमिटिले कार्यसमितिको वैठक बुलाई छलफल गरी संगठनको लागि कसलाई दिँदा संगठन बलियो हुन्छ भन्ने छलफल गरी माइनुट गराई पास गराई मात्र दिनुपर्ने प्रावधान रहेपनि एकले अर्कोलाई बहुमतको आधारमा पेलेर आ(आफ्ना पोकेटको मान्छेलाई सदस्यता वितरण गरिएको पाइन्छ ।
कांग्रेस धनुषामा पनि अहिले सदस्यता नविकरण प्रक्रिया जारी रहँदा विवाद देखिएको छ । कांग्रेस धनुषाका सभापति रामसरोज यादवका अनुसार अहिलेसम्ममा १० हजार जति पुरानो सदस्यता र साढे ६ देखि ७ हजारसम्म नयाँ सदस्यता गरी कुल १६ देखि १७ हजारसम्मको हाराहारीमा सदस्यता नविकरण गरिएको छ ।
विमलेन्द्र निधि र रामसरोज यादवको धनुषामा एकछत्र राज

कांग्रेस धनुषाका सभापति
रामसरोज यादव ।
४ भदौ २०६७ मा कांग्रेस धनुषाको बागडोर सम्हालेका रामसरोज यादवको कार्यकाल आउँदो २६ साउन २०७२ मा सकिँदैछ । २६ साउनमा हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि अहिले देखि नै कांग्रेस भित्र दौडधुप तथा कोठे वैठकहरु संचालन हुन लागेको छ । अहिलेसम्म संस्थापन पक्षबाट वर्तमान सचिव सन्तोष यादव,  राष्टूपति डा.रामबरण यादवका पुत्र तथा सभाषद प्राध्यापक डा.चन्द्रमोहन यादव र क्षेत्र नं. १ का क्षेत्रिय सभापति तथा सभासद दिनेश परसैला यादवको नाउँ चर्चामा छ भने अर्को खेमाबाट पुर्व सचिव राजकिशोर सिंह, महेश शंकर गिरी, प्रफुल्ल घिमिरे, रामपल्टन साह, कोमलकान्त झा र कुमरकान्त झाको नाउँ चर्चामा छ । सभापति यादवले फेरी निरन्तरता दिने हो कि भन्ने सवालमा यादवले आफु अब जिल्ला सभापतिमा नलड्ने द एक्सक्लुसिभसँगको कुराकानीमा प्रष्ट रुपले जनाउ दिईसकेका छन् । तर, बिमलेन्द्र निधिको विश्वासपात्रका रुपमा चिनिएका यादवको विकल्पमा अन्य व्यक्ति नदेखिएकाले  पनि अन्तिम अवस्थामा उनलाई नै फेरी चुनाव लडाउने निधि खेमाको तयारी रहेको बताइन्छ ।
हुन त करिब ३ कार्यकाल देखि सभापति बनेका रामसरोज यादवको कार्यकालको उपलब्धी के हो भनेर यादवसँगै प्रश्न गर्दा उनी भन्छन,“ सभापतिको मुख्य काम भनेको संगठन निर्माण हो । पहिलो संविधानसभाको चुनावमा मेरो नेतृत्वमा ३ वटा सिट र दोस्रो संविधानसभाको चुनावमा मेरो नेतृत्वमा ७ मध्ये ६ वटा सिट जित्नु नै सबैभन्दा ठुलो उपलब्धी हो । यति मात्र होइन सिंगो तराईमै सबैभन्दा राम्रो र बलियो संगठन धनुषामा नै रहनु पनि मुख्य उपलब्धी हो जस्तो लाग्छ ।” हुन त अहिले पार्टी कार्यालयको भवन निर्माण गर्नु पनि अर्को उपलब्धीको रुपमा लिँदै यादव भन्छन,“ १८ वर्ष अघि स्मृतिनारायण चौधरी सभापति भएको बेलामा पार्टीका तत्कालिन केन्द्रिय सभापति गिरिजा प्रसाद कोइरालाले सिलान्यास गरेको जग्गामा भवन निर्माण संगै कम्पाउन्ड वाल बनाउनका लागि आफुले ठुलै मिहिनेत गरेको छु ।” सोही जग्गामा करिब ७÷८ करोडको लागतमा चार तल्ले भवन निर्माणका लागि नक्सा बनिसकेको र बैशाखसम्ममा सुरुवात गरी एक तल्ले घर आफ्नै कार्यकालमा बनाईसक्ने छु भन्दै यादव भन्छन,“ उक्त भवन आधुनिक किसिमको हुनेछन् र सुविधा सम्पन्न पनि हुनेछन् । तराईमै नरहेको भवन नमुना भवन बन्ने छ ।”
पार्टीको विधानमा उल्लेख भए अनुसार जिल्ला सभापतिले महिनामा कम्तिमा पनि एक पटक अनिवार्य रुपले बैठक डाक्नुपर्ने हुन्छ तर सभापति यादवले कार्यसमितिको बैठक डाकेको भएपनि कर्मकाण्डी रुपले मात्र बैठक डाकेको आरोप लगाउँदै संस्थापन खेमाबाट सचिवमा निर्वाचित भएका सन्तोष यादव भन्छन,“ पार्टीको विधान अनुसार प्रत्येक वर्ष अनिवार्य रुपले एक पटक जिल्ला सम्मेलन गर्नुपर्छ । तर, सभापति यादवले पाँचौं वर्षमा पुगिसक्दा पनि एउटा पनि जिल्ला सम्मेलन गराउन नसक्नुले उनको विफलता प्रष्ट हुन्छ ।” यसको जवाफमा सभापति यादव भन्छन,“ सबै क्षेत्रको क्षेत्रिय सम्मेलन सकेपछि मात्र जिल्लाले जिल्ला सम्मेलन गर्ने प्रावधान रहेको छ । तर, क्षेत्र नं. १ मा र क्षेत्र नं. ६ मा क्षेत्रिय सम्मेलन नै नभएका कारण प्राविधिक कारणले जिल्ला सम्मेलन गराउन सकिएन । हुन त केन्द्रले पनि पाँच वर्षमा पाँच वटा महासमितिको वैठक गर्नुपर्ने हो तर केन्द्रले पनि एउटा मात्र महासमितिको बैठक गर्नुले पनि कांग्रेस भित्र यो रोग तल देखि माथिसम्म रहेको छ ।”
उनको कार्यकालमा जिल्ला कार्य समितिको बैठकमा दुई पटक नोट अफ डिसेन्ट लेखिएको छ । २१ अषाढ २०७० मा पदाधिकारी चयन गर्ने सन्दर्भमा सभापति यादवले सह सचिवमा राजकुमार मण्डललाई प्रस्ताव गर्दा कोषाध्यक्ष हरिनारायण साहले सहमति र समावेशीका अनुसार नभई एक पक्षिय प्रस्ताव भएकोले उक्त प्रस्ताव र निर्णय प्रति असहमति रहेको भन्दै विरोध गरेको पाइन्छ । त्यसैगरी १२ फागुन २०६७ मा पदाधिकारी चयन गर्ने सन्दर्भमा उपसभापतिमा विजय कुमार साह र सचिवमा कोमलकान्त झालाई चयन गर्न बहुमतद्वारा पारित भएपछि सचिव सन्तोष कुमार यादव र सदस्य अर्जुन यादवले उपसभापति, सचिव, सहसचिव र विभागहरु गठन नभएको कारणले उक्त निर्णय प्रति आफुहरुको असहमति रहेको भन्दै नोट अफ डिसेन्ट लेखेका छन् । हो पनि २०६७ मा निर्वाचित सभापति यादवले १० जेष्ठ २०७१ मा आएर लेखा समिति संयोजकमा प्रेमचन्द्र झा र अनुशासन समितिको संयोजकमा चयन गर्नुले पनि विभाग गठन गर्नमा लागेको ढिलाईले उनको विफलतालाई झल्काउँछ । यति मात्र होइन नेपाली कांग्रेसको केन्द्रिय समितिको वैठकले महासमितिको बैठक जनकपुरमा गर्ने निर्णय गरेपनि यादवले विभिन्न प्राविधिक कारणहरु देखाई महासमितिको बैठक जनकपुरमा गर्न नसकिने बताएपछि उक्त बैठक नबलपरासीको त्रिबेणीमा सर्नुले पनि उनको कार्यकालको अर्को विफलता झल्किन्छ ।
सभापति यादवले एक पक्षिय ढंगले तानाशाही प्रवृतिबाट पार्टी संचालन गरेको भन्दै सचिव यादव भन्छन,“ म निर्वाचित सचिव हुँ । तर, कोमलकान्त झा सचिवमा मनोनित नहँुदासम्म पुर्व सचिव राजकिशोर सिंहलाई १० महिनासम्म उनले जिम्मेवारी दिए । पछि मनोनित सचिव झालाई जिम्मेवारी दिए । त्यसैगरी निर्वाचित कोषाध्यक्ष हरिनारायण साहलाई कुनै किसिमको आर्थिक कारोबार गर्ने अधिकार नदिएर अहिलेसम्म पनि पुर्व कोषाध्यक्ष राजकिशोर साहलाई नै सभापतिले जिम्मेवारी दिएका छन् । यो सबै पार्टीको विधान विपरित हो ।”
उक्त आरोपका सन्दर्भमा सभापति यादव भन्छन,“सचिवको जिम्मेवारी दिँदा सन्तोष यादवले मेरो निर्देशन विपरितको काम गर्ने, उदघोषणको जिम्मेवारी दिँदा प्रोटोकललाई मिचेर लविगत राजनीति गर्ने, कार्यालयमा समय नदिने जस्ता कारणहरुले उनलाई अधिकार नदिएको हो । अर्को तर्फ कोमलकान्त झा दिनरात पार्टीको काममा सक्रिय हुने र सभापतिको निर्देशन अनुसार चल्ने भएपछि उनलाई अधिकार दिइएको हो ।”
यति मात्र होइन उनले जिल्ला सदस्यहरुमा एकलौटी ढंगले १४ जनालाई मनोनित गर्नु, एकलौटी ढंगले कार्यसम्पादन समिति गठन गर्नु र विभागहरुको संयोजक पनि एकलौटी ढंगले  चयन गरेर पार्टी भित्र तानाशाही लादेको सचिव यादवको आरोप छ । पछिल्लो संविधानसभाको निर्वाचनमा पार्टीको हित विपरित काम गर्नेहरुलाई केन्द्रिय अनुशासन समितिले धनुषामा ४३ जनालाई कारवाही गरेको थियो । जसमध्ये जिल्ला समिति सदस्यहरु उमेश साह, लक्ष्मीनारायण मण्डल लगायत पनि परेका थिए । तर, सभापति यादवले एकातर्फ कारवाहीमा परेका ती व्यक्तिहरुलाई कारवाही विपरित जिल्ला कमिटिको वैठकमा उपस्थित गराए भने अर्को तर्फ ४ नम्बर क्षेत्रबाट कारवाहीका लागि सिफारिस गरिएको उजुरी नै केन्द्रले खारेजी गरेपनि सभापति यादवले त्यस्ता व्यक्तिहरुलाई सदस्यता नविकरण गर्नबाट बञ्चित गराएको सचिव यादवको आरोप छ ।
गुटबन्दी हावी
एकता र ऐतिहासिक महाधिवेशन कांग्रेसको १२ औं महाधिवेशनको नारा रहेपनि केन्द्र देखि जिल्ला सम्म पार्टी भित्र एकता हुन सकेको छैन । केन्द्रिय महाधिवेशनमा संस्थापन पक्षबाट सुशिल कोइराला विजयी भएका थिए भने प्रजातान्त्रिक पक्षबाट शेरबहादुर देउवा पराजित भएका थिए । अहिलेसम्म पनि पार्टी भित्र उक्त दुई गुट विद्यमान छन् जसको असर धनुषामा पनि पर्नु अस्वाभाविक होइन । धनुषाको अधिवेशनमा संस्थापन पक्षबाट स्मृतिनारायण चौधरी सभापतिमा पराजित भए भने प्रजातान्त्रिक पक्षबाट रामसरोज यादव निर्वाचित भए । चौधरी पछिल्लो संविधानसभाको चुनावमा संस्थापन खेमा छोडेर निधिसँग नजिकिएका छन् ।
धनुषामा संस्थापन पक्ष तर्फ अहिले लिला कोइराला, आनन्द ढुङ्गाना शिर्षस्त नेताका रुपमा रहेका छन् भने ती दुई नेताका इर्दगिर्द सभाषदहरु रामकृष्ण यादव, डा.चन्द्रमोहन यादव, दिनेश प्रसाद परसैला, पुष्पलता लामा, मुक्ता कुमारी यादव र रश्मी ठाकुर रहेका छन् । कोइराला र ढुङ्गाना संस्थापन पक्षमै रहेपनि ती दुवै बीचको सम्बन्ध धेरै चिसिएको तथा बोलचाल समेत नरहेको बताइन्छ । अर्को तर्फ प्रजातान्त्रिक पक्षको धनुषामा विमलेन्द्र निधिले कमाण्ड सम्हालेका छन् । उक्त खेमामा सभाषदहरु महेन्द्र यादव, मिनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास, प्रेम किशोर साह रहेका छन् । त्यसैगरी जिल्ला कार्य समितिमा प्रजातान्त्रिक पक्षका सभापति रामसरोज यादव, उपसभापति विजय साह र सचिव कोमलकान्त झा छन् भने संस्थापन पक्षबाट सचिव सन्तोष यादव र कोषाध्यक्ष हरिनारायण साह छन् ।
प्रत्येक निर्वाचन क्षेत्रबाट ५÷५ जना र ३ जना मनोनित गरी कुल ३८ सदस्य सुरुमा गठन हुँदा १७ जनाका साथ संस्थापन पक्ष बहुमतमा थिए भने १६ जनाका साथ प्रजातान्त्रिक पक्ष अल्पमतमा थिए किनभने ५ जना सदस्यहरु तटस्थ थिए । तर, सभापतिले १४ जना सदस्यहरु मनोनित गर्ने विधानबाट प्राप्त अधिकारलाई सभापति यादवले दुरुपयोग गर्दै एक पक्षिय ढंगले आफ्नै खेमाका व्यक्तिहरुलाई मनोनित गरेर प्रजातान्त्रिक खेमा बहुमतमा पुगेपछि जुन सुकै निर्णय पनि पास गराउने गरेको सचिव यादवको आरोप छ ।
७ जना क्षेत्रिय सभापतिहरु मध्ये १ नम्बरका दिनेश परसैला यादव, २ नम्बरका राजकिशोर सिंह र ७ नम्बरका रामनरेश महत्तो संस्थापन पक्षका क्षेत्रिय सभापति हुन भने ३ नम्बरका परमेश्वर यादव, ४ नम्बरका हरिशंकर साह, ५ नम्बरका योगेन्द्र पञ्जियार, ६ नम्बरका रामकृष्ण मण्डल प्रजातान्त्रिक पक्षका क्षेत्रिय सभापति हुन । जसमध्ये ७ नम्बरका क्षेत्रिय सभापति रामनरेश महत्तो र नेता आनन्द ढुङ्गाना बीच विवाद भएपछि अहिले महत्तो प्रजातान्त्रिक पक्ष तिर लहसिएको बताइन्छ ।
गुट परिवर्तनको इतिहास
२०४६ साल भन्दा अघि प्रजातान्त्रिक पक्ष अर्थात विमलेन्द्र निधिको खेमामा आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, रामसरोज यादव, महेश शंकर गिरी, दिगम्बर राय, रामकृष्ण यादव, समिर घिमिरे, दिलिप सहगल, बैद्यनाथ साह, किशोरी साह, प्रफुल्ल घिमिरे, राजकिशोर सिंह, कुमर कान्त झा, महेन्द्र लेलिन यादव, राजकुमार भारती लगायतका नेताहरु थिए । अर्को तर्फ संस्थापन पक्षमा लिला कोइराला, भिष्मजंग काजी, वृषेशचन्द्र लाल, रामबरण यादव, शिवधारी यादव, महेन्द्र यादव लगायतका नेताहरु थिए । संस्थापन पक्षमा योजनाकार तथा डिजाइनरको रुपमा बृषेशचन्द्र लाल थिए भने अर्को खेमामा विमलेन्द्र निधि सोही भुमिकामा थिए ।
२०४७ साल पछि सत्तामा र पार्टीमा समेत संस्थापन पक्षकै जोडबल चल्ने गथर््यो । त्याग गरेका नेताहरुलाई विमलेन्द्रको गु्रपले अवसर दिन नसक्ने र दिने अवसर आउँदा पनि नदिने कारणले विमलेन्द्रका खेमाबाट आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, रामकृष्ण यादव, राजकुमार भारती लगायतका नेताहरु संस्थापन पक्ष तर्फ गए । संस्थापन पक्षमा गएकै कारण आनन्द ढुङ्गाना धनुषाको सभापति, तीन पटक सांसद, पटक पटक मन्त्रि, पार्टीको प्रमुख सचेतक र संगठन विभाग प्रमुख समेत बन्न पाएका छन् । त्यसैगरी स्मृतिनारायण चौधरी करिब १४ वर्षसम्म पार्टीको धनुषा सभापति, एक पटक सांसद, सांसद बनेपछि लेखा समितिको अध्यक्ष जस्ता अवसर पाए । रामकृष्ण यादव पार्टीको सभापति, दुई पटक सांसद, सांसद बनेर सार्वजनिक लेखा समितिको सभापति र अहिले पार्टीको क्रियाशिल सदस्यताका लागि केन्द्रमा बनेको छानविन समितिमा सदस्य पनि बन्न पाएका छन् । जब रामकृष्ण यादव संस्थापन पक्षमा गए तब महेन्द्र यादव संस्थापन पक्षबाट प्रजातान्त्रिक खेमामा आए । प्रजातान्त्रिक पक्षमा आएपछि महेन्द्र यादव तरुण दलको केन्द्रिय अध्यक्ष, दुई पटक सभाषद बने भने केन्द्रिय सदस्य पनि बन्न पाएका छन् । त्यसैगरी २०४६ सालका आन्दोलनका नाइके ललन चौधरी संस्थापन संस्थापन खेमामा भएपनि उनले कुनै अवसर प्राप्त गर्न सकेका छैनन् । यतिसम्म भयो कि पछिल्लो अधिवेशनमा उनलाई क्षेत्र नं. ४बाट महाधिवेशन प्रतिनिधि समेत बन्न दिइएन ।
अर्को तर्फ प्रजातान्त्रिक पक्षबाट धनुषामा नेतृत्व गरेका विमलेन्द्र निधिले सबै भन्दा वढी लाभ र अवसर लिएको पाइन्छ । उनी नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति, पटक पटक केन्द्रिय सदस्य, सांसद, मन्त्रि र पार्टीमा महामन्त्रि समेत भईसकेका छन् । अबको उनको दाउ देउवालाई सभापतिमा जिताएर आफै कार्यबाहक सभापति बन्ने वा बरिष्ठ उपाध्यक्षमा मनोनित हुने बताइन्छ ।
हुन त विमलेन्द्र निधिको खेमामा रहेका केही नेताहरुले अवसरै नपाएको पनि होइन । दिगम्बर राय कृष्ण प्रसाद भट्टराईको अन्तरिम सरकारमा मेयर जस्तै जनकपुर नगरपालिकाको संयोजक, जानकी मन्दिर जिर्णोधार समिति, जनकपुर अञ्चल अस्पतालमा प्रसुति निर्माण समितिमा, कृषि सम्बन्धी नार्कका संयोजक, सुकुमवासी आयोगका अध्यक्ष, जनकपुर नगरपालिकामा मेयर पदका लागि दुई पटक टिकट पाउनु र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अध्यक्ष समेत बन्न पाएका छन् ।
त्यसैगरी रामसरोज यादव तीन पटक पार्टी सभापति, जिल्ला विकास समितिको सभापति, एक पटक सभाषद र क्षेत्र नं.४ बाट सभाषदको टिकट प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी जुगेश्वर कापडीले नेपाल रेल्वेको महाप्रवन्धक, कुमरकान्त झाले जनकपुर अञ्चल अस्पताल विकास समितिको अध्यक्ष, किशोरी साह जनकपुर नगरपालिकामा एक पटक उपमेयरमा पराजित भएपछि अर्को पटक टिकट पाउँदा निर्वाचित भएका थिए । अर्को तर्फ हेर्ने हो भने २०४६ साल अघि, जेलनेल भोगेका अधिकांश नेताहरुले कुनै अवसर पाउन सकेका छैनन् । २०४६ साल पछिका नेताहरु सरस्वती चौधरी, मिनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास लगायतका नेतृहरु सभाषद भईसकेका छन् । अर्को तर्फ रोचक प्रसंग के छ भने लक्ष्मी भण्डारी ती व्यक्ति हुन जो कांग्रेसका नेताहरु पक्राउ परेपछि तत्कालिन डिएसपी अफिसमा उनी फोटो खिच्न जान्थे । जानकी चौकमा उनको स्टुडियो थियो र पक्राउ परेका व्यक्तिहरुको फोटो खिच्न उनलाई प्रहरीले बोलाउँथे । ती नै लक्ष्मी भण्डारीलाई विमलेन्द्र निधिले सभाषद बनाएपछि कांग्रेस भित्र ठुलो चर्चाको विषय बनेको थियो ।
त्यसैगरी विमलेन्द्र निधिका दाजु नबेन्द्र निधिलाई नगराईन स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदमा पराजित गर्नका लागि अहम भुमिका खेलेका विद्यालयका तत्कालिन प्रधानाध्यापक महाविर दासको सपोर्टमा लाग्ने रघुनाथ दासकी श्रीमति प्रमिला दासलाई निधिले अहिले सभाषद बनाएर पुरस्कृत गरेका छन् । रघुनाथ दास त्यतिबेला नेपाली कांग्रेस परित्याग गरी दलित जनजाति पार्टीमा लागेका थिए । प्रमिला दासले क्षेत्र नं.३ मा विमलेन्द्र निधिलाई दलितको मत तान्न भुमिका निर्वाह गरेको बताइएपछि निधिले रामसरोज यादवको सिफारिसमा दलित कोटामा उनलाई पुरस्कार स्वरुप सभाषद बनाएको भन्ने चर्चा छ ।
तर, विमल खेमामा रहेकाहरु मध्ये महेश शंकर गिरी, दिलिप सहगल, प्रफुल्ल घिमिरे लगायतले अवसर पाउन सकेनन् । समिर घिमिरेले टिकट नपाउँदा विद्रोही बनेर स्वतन्त्रबाट दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए ।
अर्को तर्फ संस्थापन पक्षबाट रामबरण यादवले पटक पटक सांसद, मन्त्रि, केन्द्रिय सदस्य, सहायक महामन्त्रि, महामन्त्री हुँदै राष्टूपति समेत बन्न सफल भएका छन् भने उनका छोरा चन्द्र मोहन यादव अहिले सभाषद बनेका छन् । त्यसैगरी शिक्षण पेशामा रहेका मुक्ता यादव र पुष्पलता लामा सभाषद बन्न सफल भएकी छिन् भने जेलनेल भोगेका तुलसा आचार्य, मोहन माथेमा लगायत पार्टी भित्र झख मारिरहेका छन् ।
 अबको समिकरण
धनुषामा संस्थापन पक्ष नाम मात्रको देखिन्छ । नेताहरु लिला कोइराला र आनन्द ढुङ्गाना जिल्ला भन्दा पनि केन्द्रमै व्यस्त भएपछि संस्थापन पक्षका नेताहरु कमजोर बनेको कारण अहिले पनि संस्थापन पक्षमा अनौपचारिक रुपले राष्टूपति रामबरण यादव नै नेता रहेको बताइन्छ । यादव आफ्नो उत्तराधिकारीको रुपमा छोरा चन्द्रमोहनलाई स्थापित गर्न हरेक कसरत गरिरहेको बताइन्छ । राष्टूपतिको कतिसम्म प्रभाव धनुषाको राजनीतिमा छ भन्ने कुरा छोरा चन्द्रमोहन कांग्रेसको क्रियाशिल सदस्य नभएता पनि पहिलो संविधानसभाको उपचुनावमा उनले टिकट दिलाउन सफल हुनुले पनि पुष्टि गर्दछ । उपचुनावमा पराजित भएपछि दोस्रो चुनावमा क्षेत्रले उनको छोरालाई सिफारिस नगरेपनि राष्टूपतिले आफ्नो दबाबमा टिकट दिलाउन मात्र सफल भएनन् विजयी गराएरै छाडे ।
    यता आनन्द ढुङ्गाना आफु समानुपातिकमा पर्ने ढुक्क भएपछि आफ्ना विश्वासपात्र बासलाल महत्तोलाई टिकट दिलाए भने अर्को तर्फ उनी बासलाललाई चुनावमा प्रचार गरी उनलाई सहयोग गर्नुको सट्टा बाँकेमा सुशिल कोइरालाको प्रचारमा सक्रिय भएर उनको निकट बने । अर्को तर्फ लिला कोइराला अस्वस्थ रह्ने, केही सिमित व्यक्तिहरुको घेराबन्दीमा मात्र रहने, जनकपुरका साहु जातिका केही नेताहरुलाई च्याप्ने कारण उनको पुरानो समर्थकहरु विस्तारै टाढिदै गएका छन् । यो प्रशंग किन उल्लेख गरिएको हो भने संस्थापन पक्षका कतिपय नेताहरुलाई भित्र भित्रै निधि खेमाले आफु तर्फ तानिसकेका छन् ।
    बाहिरबाट हेर्दा धनुषामा विमल खेमा अति नै शक्तिशाली देखिन्छ । जिल्ला अधिवेशनमा उनको खेमा बहुमतले जित्ने प्रायः निश्चित छ । तर, विमल खेमा भित्र पनि धेरै गुट उपगुट हुनु, अवसर प्रलोभन जस्ता विमलको कार्डबाट धेरै कार्यकर्ताहरु यसअघि नै ठगिनु जस्ता प्रमुख कारणहरुले निधि खेमाबाट आउने उम्मेदवारलाई फ्रस्टेूशनका कारण निगेटिभ मत जाने सम्भावनालाई पनि कम आँकन सकिन्न । किनभने संविधानसभाको चुनावमा स्मृतिनारायण चौधरीलाई प्रचार प्रसारको क्रममा क्षेत्रका सबै गाउँहरुमा लगेर चौधरीलाई समानुपातिक सभाषद पक्का बनाउने भनेर मञ्चमै भाषण गर्ने निधिले चौधरीलाई प्रयोग गरी चौधरीको प्रभावका मत ल्याएर चुनावमा जितेर मन्त्रि समेत बनिसक्दा उनलाई सभाषद नबनाउनुले पनि निधिले झुठो आश्वासन मात्र दिने गरेको निधि खेमाका कतिपय कार्यकर्ताहरुको बुझाई रहेको छ । यति मात्र होइन उनको खेमामा धेरै जना आकांक्षीहरु भएकाले टिकट नपाउने व्यक्तिले विद्रोह गरेर उम्मेदवारी दिनसक्ने सम्भावना पनि देखा परेको छ । किनभने पछिल्लो चुनावमा निधि खेमाकै महेश शंकर गिरीले जिल्ला सभापति पदमा विद्रोह गरिसकेका छन् ।


२०७२ बैशाख ०६ गते आईतबार