Monday, August 4, 2014

अजब–गजब छ बा ! सुदर्शन सिंह





म ठुलो कि एकिकृत सहरी विकास परियोजना ठुलो ? 
लु खा.....व्याक हुक ! अव हेरौं तँलाई कसले बचाउँछ ?

२०७१ साउन १८ गते आईतबार

मोदीको जनकपुर भ्रमण स्थगित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 
जनकपुर भ्रमणलाई लिएर भारतीय टेलिभिजन
 च्यानल इन्डिया टिभीले प्रसारण गरेको समाचार ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 भारतका प्रधानमन्त्रि नरेन्द्र मोदी आइतबार देखि दुई दिने भ्रमणमा नेपाल आउँदैछन् ।  मोदीको उक्त भ्रमण क्रममा जनकपुरको जानकी मन्दिरमा जगत जननी जानकीको समेत दर्शन गर्ने चर्चा चलेको थियो । तर विभिन्न कारणहरुले मोदीको जनकपुर भ्रमण रद्द गरिएको बताइएको छ । यससँगै जनकपुरमा मोदी नआउनु पछाडी विभिन्न कारणहरु हुनसक्ने स्थानीयवासीहरुमा चर्चाको विषय बनेको छ । कतिपयले मोदी सुरक्षा खतराका कारण जनकपुर आउन नसक्ने, केहीले काठमाण्डौका शासकवर्गले मोदीलाई जनकपुर नजानदिनका लागि सुरक्षा खतरा देखाएको हुनसक्ने, जनकपुरको विकासका लागि भारतीय दुतावासको लगानीमा आएको बजेटमा भएको भ्रष्टाचारको पर्दाफास हुनसक्ने भएकाले केही उच्च तहका व्यक्तिहरुले मोदीलाई आउन नदिएको चर्चाहरु चल्न थालेको छ । आधिकारीक रुपमा यस सम्बन्धमा राज्य पक्षद्वारा शनिबारसम्म कुनै औपचारिक जानकारी प्रदान गरिएको छैन । काठमाण्डौको लैनचौर स्थित भारतीय दुतावासबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई समेत भारतका प्रधानमन्त्रि मोदीको जानकी मन्दिर दर्शन गर्ने इच्छा रहेको र त्यसका लागि तयारी गर्न समेत निर्देशन दिइएको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवले बताए । तर, सुरक्षा खतराको कारण मोदीको जनकपुरको भ्रमण स्थगित गरिएको र मोदीलाई स्वागत गर्न काठमाण्डौमै आउन जानकी मन्दिरलाई भारतीय दुतावासले अनुरोध गरेपछि भ्रमण औपचारिक रुपमै स्थागित भईसकेको जनाउ दिन्छ । शनिबार राम रोशन दास वैष्णव काठमाण्डौका लागि प्रस्थान समेत गरिसकेका छन् । राम रोशन दास वैष्णव भन्छन,“त्यहाँ पुगेर जानकी माताको दर्शन गर्नाले हुने लाभ र पुण्यका बारेमा जानकारी गराउने र उहाँलाई जनकपुरमा स्वागत गर्न जनकपुरवासी आतुर रहेको हुनाले अर्को पटक जसरी पनि जनकपुर भ्रमण गर्न मोदीलाई अनुरोध गर्नेछु ।” तर, द एक्सक्लुसिभले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीसँग मोदी सुरक्षा खतराकै कारण जनकपुर आउन नसकेको हो त भन्ने प्रश्न गर्दा उनले उक्त कुरालाई पुर्ण रुपमा इन्कार गरे । एसपी सुवेदी भन्छन,“मोदी जनकपुर आउने भन्ने कुरा मोदीको औपचारिक राजकिय भ्रमणको सेड्युलमै थिएन । यो मिडियाहरुमा आएको प्रोपगाण्डा मात्र हो । जनकपुरका केही नेताहरुले दुतावास मार्फत मोदीलाई जानकी दर्शन गराउन प्रयास चाहिँ गरेको हो तर, उक्त प्रयास भने विफल भएको छ ।”
भारतीय जनता दलका नेता अटल विहारी बाजपेयी
 जनकपुर आउँदा उनलाई लोक सिल्प उपहार 
दिएर सम्मान गरिएको थियो । 
उनीसँगै पत्रकार राम भरोस कापडी ।
मोदीलाई जनकपुरमा पनि राजकिय भ्रमण जस्तै जेड प्लसको सुरक्षा व्यवस्था उपलब्ध गराउन नेपाल सरकार सक्षम रहेको दावी गर्दै सुवेदी भन्छन,“बाबुराम भट्टराई नेतृत्वको सरकारमा चीनका प्रधानमन्त्रि बेन जिया बाओ आउँदा उक्त सुरक्षा टोलीमा आफुपनि रहेको हुनाले सुरक्षा प्रदान गर्न कठिनाई हुने थिएन ।”
अब कारण जे भएपनि मोदी जनकपुर नआउने भने पक्का पक्की भएको छ । मोदी जनकपुर आउँदा जनकपुरको राष्टिूय अन्तराष्टिूय स्तरमा पहिचान बढ्नुका साथै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा पार्न एक किसिमको माहौल बन्ने थियो । यसका अतिरिक्त जनकपुरको सर्बाङ्गिन विकासका लागि समेत भारत सरकार प्रमुखको हैसियतले ठुलो रकम सहितको अनुदानको घोषणा हुन सक्ने थियो । जसले जनकपुरको कायापलट गर्ने थियो । तर, ती सबै सपना र अवसरहरु गुमेको छ । यद्यपि काठमाण्डौमा रहेका जनकपुरका शिर्ष स्तरका नेताहरुले भने जनकपुरलाई केन्द्रित गरेर लगानीका लागि मोदीलाई आग्रह गर्न सक्नुपर्ने जनकपुरका वरिष्ठ पत्रकार वि.एम. खनालको भनाई छ । खनालका अनुसार अहिले नै मोदी नआउँलान भनेर ठयाक्कै भन्न त सकिन्न किन भने सुरक्षा व्यवस्थामा कमजोरी नदेखिन तथा अचानक सुरक्षा व्यवस्था समेत प्रवन्ध गरी आउन पनि सक्लान् । 
जानकी दर्शन गर्ने भारतीय भिआईपीहरुको इतिहास
जानकी मन्दिर दर्शन गर्ने
भारतका पुर्व राष्ट्रपतिद्वय
 निलम संजिवा रेड्डी ।
मोदीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कुराले व्यापक चर्चा लिएको भएपनि भारतका पुर्व राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी माताको दर्शन गरिसकेका छन् । यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए ।
२५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्टूपति रहेका निलम संजिवा रेड्डी राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गरेका थिए ।
जानकी मन्दिर दर्शन गर्ने
भारतका पुर्व राष्ट्रपतिद्वय
 ज्ञानी जेल सिंह 
जनकपुर विमान स्थलमा ओर्लने वित्तिकै खुट्टाको जुत्ता खोली जनकपुरको माटो उठाई टाउकोमा टिका लगाएका थिए । उनलाई स्वागत गर्न जनकपुरबाट हजारौं मानिसहरु विमान स्थल पुगेका थिए । विमान स्थल देखि जानकी मन्दिरसम्म स्थानीयवासीहरुले लाईन लागेर उनलाई स्वागत अभिनन्दन गरेका थिए । स्वागतका लागि हजारौं व्यक्तिहरुको भिडलाई देखेपछि उनी केही दुरीसम्म पैदल नै हिंडेका थिए । जानकी मन्दिरको दर्शन गरेपछि उपस्थित हजारौं व्यक्तिहरुको सामु जानकी मन्दिरमा आउने तिर्थालुहरुको लागि एउटा धर्मशाला निर्माणका लागि भारत सरकारले अनुदान दिने घोषणा गरेका थिए । तर, भारत एउटा धर्म निरपेक्ष राष्टू रहेका कारण कुनै खास धर्मका लागि अनुदान दिन गाह्रो भएपछि तत्कालिन प्रधानमन्त्रि पिभी नरसिंहा रावलाई जसरी पनि व्यवस्थ ागर्न उनले आग्रह गरेका थिए । रेड्डी आन्ध्रप्रदेशको पहिलो मुख्य मन्त्रि समेत भएका कारण प्रधानमन्त्रि राउलाई आन्ध्रप्रदेशको तिरुमल तिरुपति देवस्थानम टूस्ट मार्फत रकम दिलाइएको राराब क्याम्पस जनकपुरका तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक डा. महेन्द्र नारायण मिश्रले बताएका छन् । उक्त धर्मशाला अहिले बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको मातहतमा यात्री निवासको नाउँले परिचित छ । त्यसैगरी रेड्डीको कार्यकाल समाप्त भएपछि २५ जुलाई १९८२ देखि २५ जुलाई १९८७ सम् मभारतको राष्टूपति रहेका ज्ञानी जेल सिंह पनि राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए ।
विक्रम सम्बत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आई जानकी मन्दिरको दर्शन गरेका थिए ।
जानकी मन्दिर दर्शन गर्ने
विश्व हिन्दु परिषदका 


अध्यक्ष अशोक सिंघल ।

बाजपेयी जनकपुरमा एक रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठुलो आँधि बेहुरी र पानी पनि पर्न थालेपछि मान्छेहरु ओत लाग्न अन्यत्र जानै लाग्दा बाजपेयीले हिन्दीमा भनेका थिए कि यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ । उनको उक्त अभिव्यक्तिपछि सबै मान्छे पानीमा भिज्दै उनको कुरा सुनेका थिए ।
जानकी मन्दिर दर्शन गर्ने
योग गुरु स्वामी रामदेव ।
त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्य नारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा गई मिथिला संस्कृति बारे उनलाई जानकारी गराइएको थियो । उक्त केन्द्रका तत्कालिन सचिव रहेका राम भरोस कापडीका अनुसार बाजपेयीलाई सिक्किको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्रीहरु दिएर सम्मान गरिएको थियो । कापडीका अनुसार जनकपुरधाम धार्मिक नगरी भएका कारण सांस्कृतिक र अध्यात्मिक विकास हुनु पर्ने र त्यसका लागि भारत सरकारले समेत ध्यान दिने भनेर मिथिला सांस्कृतिक केन्द्रको माइनुटमा समेत बाजपेयीले आफ्नै हाथले लेखेका थिए । मिथिला लोकाचित्र र लोक सिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफु धेरै हर्षित भएको र त्यसलाई व्यवसायिक रुप दिनुपर्ने बाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात बसेका थिए ।


२०७१ साउन १८ गते आईतबार

जनकपुरमा फस्टाउँदैछ अबैध प्याथोलोजी साह प्याथोलोजिकल क्लिनिकमा गोरखधन्दा

भानु चौक स्थित  संचालित
 साह प्याथोलोजिकल क्लिनिक ।
 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

के तपाई जनकपुरको भानुचौक स्थित साह प्याथोलोजीकल क्लिनिकमा विरामी पत्ता लगाउनका लागि स्वास्थ्य परीक्षण गराउन जाँदै हुनुहुन्छ ? यदि गईरहनु भएको छ वा जाने सोंच बनाउनु भएको छ भने सावधान ! किनभने उक्त प्याथोलोजीले तपाईलाई नभएको रोग ठहर गर्दै रिपोर्ट दिन सक्लान् । किनभने उनले एक जना व्यक्तिलाई हुँदै नभएको एचआइभी रोग रहेको रिपोर्ट दिएर मान्छेको ज्यानै जान सक्ने बनाई दिएका छन् । ११ साउन २०७१ मा जनकपुरका मनोज साह र उनको श्रीमतिले उक्त प्याथोलोजीमा रगतको परीक्षण गराउँदा मनोज साहलाई एचआइभी पोजेटिभ र उनको श्रीमतिलाई एचआइभी निगेटिभ रहेको रिपोर्ट दिईयो । सुर्यनारायण साहले संचालन गरेको उक्त प्याथोलोजीको रिपोर्ट हेर्ने वित्तिकै मनोजलाई छाङ्गाबाट खसे जस्तै भयो । नचिताएको, नसोचेको प्राणघातक रोग लागेको रिपोर्टले उनी मानसिक रुपले चिन्तित भए । एकातर्फ आफु अब बाँच्न नसकिने चिन्ताले चिन्तित थिए भने अर्को तर्फ उनको श्रीमतिले कुन परमहिलासँग अबैध सम्बन्ध राखेको भन्दै प्रश्न मात्र होइन झगडा समेत गर्न थाले । भरोसा र विश्वासमा टिकेको ती दम्पतिको बैवाहिक सम्बन्ध पनि साहको रिपोर्टका कारण खतरामा प¥यो । 
राम चौक  स्थित  संचालित
साह प्याथोलोजिकल क्लिनिक ।
दिनरात अविश्वास वढ्नुका साथै सम्बन्ध विच्छेदसम्मको खतरा अग्रसर भइरहेकै बेला पुनः परीक्षण तथा उपचारका लागि १२ साउन जनकपुर अञ्चल अस्पताल पुग्दा ती दुवै दम्पतिको रिपोर्टमा एचआईभी निगेटिभ पाइयो । मनोजलाई विश्वास लागिरहेको थिएन । उनी पुनः पटक पटक परीक्षण गर्न लगाउँदा निगेटिभ नै पाइयो । बल्ल आएर मनोजले राहतको लामो श्वास फेर्न पाए । अब नमर्ने रहेछु र श्रीमति समक्ष अविश्वासको वढ्दो संकटलाई पनि जित्न सफल भएको भन्दै बल्ल उनको ज्यानमा ज्यान आयो । यसरी एक प्याथोलोजीमा कार्यरत सुर्यनारायण साहका कारण एक दम्पतिलाई अनाहकमा  मानसिक र शारीरिक रुपमा क्षति बेहोर्नु प¥यो ।
 को हुन सुर्यनारायण साह ?
साह प्याथोलोजि क्लिनिकका 
संचालक सुर्यनारायण साह
सुर्यनारायण साह जनकपुर चुरोट कारखानाका अवकास प्राप्त कर्मचारी हुन् । उनले जनकपुरको भानुचौक र रामचौक स्थित साह प्याथोलोजिको नाउँमा दुईवटा छुटा छुट्टै प्याथोलोजी संचालन गर्दै आएका छन् । उनी आफ्नो इन्सटीच्युटबाट मेडिकल ल्याव टेक्निसियन, टिचिङ हस्पिटल महराजगंज काठमाण्डौबाट उत्तिर्ण गरेको, थाइलेण्डको बैंककबाट तालिम लिएको, एनटिसीबाट क्षयरोगको तालिम लिएको र आफुलाई मेडिकल टेक्नोलोजिस्ट अफिसरको रुपमा परिचय दिएका छन् । नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता गरिएको र दर्ता नम्बर बि(१४० रहेको बताएका छन् । उनले संचालन गरेको प्याथोलोजी जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गराएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा पनि दर्ता गराएका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयबाट पनि इजाजत लिएका छैनन् । आन्तरिक राजश्व कार्यालयमा समेत हालसम्म कुनै पनि किसिमको स्वास्थ्य सेवा कर तिरेका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयलाई समेत व्यवसाय कर तिरेका छैनन् । यसरी जनताको ज्यानै लिने गरी साह प्याथोलोजीले जाँच अनुसन्धान नै नगरी रिपोर्ट लेखेर जनस्वास्थ्य माथि खेलवाड गरेको तथ्य फेला परेको छ ।
साह प्याथोलोजिकल क्लिनिक त एक उदाहरण मात्र हुन । धनुषामा करिब १ सय भन्दा वढी प्याथोलोजिकल ल्यावहरु खुलेका छन् । जसको कहिँ पनि दर्ता गरिएको छैन । प्रयोगशाला संचालन तथा दर्ता सम्बन्धि न्युनतम मापदण्ड तयार भइरहेको अवस्थामा स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्ती मापदण्ड सम्बन्धि निर्देशिका २०७० जारी भइसकेको छ । तर, उक्त निर्देशिका अनुसार सुर्यनारायण साहको प्याथोलोजी जस्तै कुनै पनि प्याथोलोजीहरुले मापदण्ड पुरा गरेका छैनन् । 
   
मनोज साहलाई एचआइभी
नभएपनि पोजिटिभ रहेको भनी 
साह क्लिनिकले दिएको गलत रिपोर्ट ।
सम्बन्धित चिकित्सकको अभावमा खुलेका यस्ता ल्याबहरूको रिपोर्ट भरपर्दाे भने छैन । भरपर्दाे नहुनुमा दक्ष जनशक्ति नहुनु हो भने पर्याप्त मात्रामा केमिकल प्रयोग नहुनु रहेको छ । प्याथोलोजिस्टको अभावमा ल्याब टेक्निसियनले रिपोर्ट बनाउँदा बेला(बेलामा जनकपुरका ल्याबहरु विवादमा आउने गरेको छ । रगत, दिसा, पिसाब, खकार आदि परीक्षणका लागि रेफर गर्ने चिकित्सकले कम्तिमा ६० र बढीमा ७० प्रतिशतसम्म कमिशन लिने गरेको कारण ल्याब सञ्चालकले उचित मात्रामा केमिकल प्रयोग नगरेको एक जना प्याथोलोजी संचालकले बताए । चिकित्सकलाई कमिशन दिनुपर्दा घरभाडा, बिजुली बत्ती, कर्मचारी, स्टेशनरी, केमिकल्स आदिको खर्च निकाल्न धौं(धौ पर्ने उनले बताए । जनकपुरमा खुलेका ल्याबहरूबाट अहिले गलत रिपोर्ट आउनुको कारण पनि यही हो । ल्याबबाट आउने रिपोर्टका कारण चिकित्सकले रोग पत्ता लगाएर सोही अनुसार उपचार गर्ने हो तर कमिशनमा आँखा गडाउँदा गलत रिपोर्टका आधारमा गरिने उपचार प्रभावकारी नहुने, रोग अर्कै छ उपचार अरू नै हुने गर्दा रोगीलाई सास्ती मात्र छ ।
ल्याबहरूमा म्यानुयल परीक्षण अन्तर्गत टिसी, डिसी, इएसआर, हेमोग्लोबिन, पिसाब रूटिन  र बायोकेमिकल्स परीक्षण अन्तर्गत मधुमेह, पिसाबमा युरिया, जन्डीसमा बिलुरुबिन, मृगौलामा क्रिप्टनिन अनि युरिक एसिड आदिको परीक्षण गरिन्छ । यस्तो परीक्षणका लागि दक्ष व्यक्तिको आवश्यकता पर्दछ तर नेपाल हेल्थ प्रोफेसनल काउन्सिलबाट एकपटक सीमित परीक्षणको इजाजत लिएर यहाँका ल्याबहरूले असीमित परीक्षण गर्दै आएका छन् । 
    यस्ता परीक्षणहरूबारे सेवाग्राहीमा अज्ञानता र उजुरी लिने र कार्यवाही गर्ने निकायको अभावमा गैरकानुनी प्याथोलोजी निर्धक्क सञ्चालित छ । सही परीक्षण रिपोर्टका लागि रकम तिरेका बिरामीहरूको त्यो अधिकार पनि हो । सेवाग्राहीलाई त्यस अधिकारबाट वञ्चित गर्ने काम भइरहेकामा कसैले सरोकार नराख्नु दुःखद हो । 
राम चौक स्थित साह प्याथोलोजिकल क्लिनिकमा
केही केमिकलका शिशिहरु र स्लाइडहरु देखिएपनि 
परीक्षण गर्नका लागि आवश्यक पर्ने कुनै पनि उपकरणहरु देखिएनन् ।
मेडिकल ल्याबोरेटरी एसोशिएशन अफ नेपाल मेलानका केन्द्रिय उपाध्यक्ष युगल किशोर यादव भन्छन,“ जनकपुरका कतिपय प्याथोलोजीहरुमा गुणस्तरीय सेवा प्रदान भईरहेको छैन । यसलाई अनुगमन गर्नु जरुरी छ । प्याथोलोजी भित्र धेरै विकृतिहरु छन् जसले गर्दा जनस्वास्थ्यमा सिधा असर परिरहेको कुरा सत्य हो । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी मापदण्ड विपरित संचालन भएका प्रयोगशालाहरुलाई बन्द गर्नुपर्दछ ।” जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना भन्छन,“ जनकपुरमा स्वास्थ्य क्षेत्रमा थुप्रै विकृतिहरु तथा मापदण्ड विपरित संचालनमा रहेको जनगुनासो आएको छ । अहिले हामीले औषधि पसलहरुमा अनुगमन कार्य जारी राखेका छौं । अनुगमनको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने छौं । र, प्रयोगशालाहरुमा अनुगमन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जनकपुर अञ्चल अस्पतालसँग समन्वय गरी विशेषज्ञहरुको टोली गठन गरी छिट्टै अनुगमन गर्ने छौं । मापदण्ड विपरित संचालित उक्त प्रयोगशालाहरुलाई कानुन बमोजिम कारवाही गरिने तपाईको पत्रिका मार्फत प्रतिवद्धता पनि जनाउँदछु ।” अब प्रजिअ ढुङ्गानाले गरेको प्रतिवद्धता कार्यान्वयन हुने हो वा होइन त्यो भने हेर्न बाँकी छ ।


२०७१ साउन १८ गते आईतबार