Monday, August 4, 2014

जनकपुरमा फस्टाउँदैछ अबैध प्याथोलोजी साह प्याथोलोजिकल क्लिनिकमा गोरखधन्दा

भानु चौक स्थित  संचालित
 साह प्याथोलोजिकल क्लिनिक ।
 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

के तपाई जनकपुरको भानुचौक स्थित साह प्याथोलोजीकल क्लिनिकमा विरामी पत्ता लगाउनका लागि स्वास्थ्य परीक्षण गराउन जाँदै हुनुहुन्छ ? यदि गईरहनु भएको छ वा जाने सोंच बनाउनु भएको छ भने सावधान ! किनभने उक्त प्याथोलोजीले तपाईलाई नभएको रोग ठहर गर्दै रिपोर्ट दिन सक्लान् । किनभने उनले एक जना व्यक्तिलाई हुँदै नभएको एचआइभी रोग रहेको रिपोर्ट दिएर मान्छेको ज्यानै जान सक्ने बनाई दिएका छन् । ११ साउन २०७१ मा जनकपुरका मनोज साह र उनको श्रीमतिले उक्त प्याथोलोजीमा रगतको परीक्षण गराउँदा मनोज साहलाई एचआइभी पोजेटिभ र उनको श्रीमतिलाई एचआइभी निगेटिभ रहेको रिपोर्ट दिईयो । सुर्यनारायण साहले संचालन गरेको उक्त प्याथोलोजीको रिपोर्ट हेर्ने वित्तिकै मनोजलाई छाङ्गाबाट खसे जस्तै भयो । नचिताएको, नसोचेको प्राणघातक रोग लागेको रिपोर्टले उनी मानसिक रुपले चिन्तित भए । एकातर्फ आफु अब बाँच्न नसकिने चिन्ताले चिन्तित थिए भने अर्को तर्फ उनको श्रीमतिले कुन परमहिलासँग अबैध सम्बन्ध राखेको भन्दै प्रश्न मात्र होइन झगडा समेत गर्न थाले । भरोसा र विश्वासमा टिकेको ती दम्पतिको बैवाहिक सम्बन्ध पनि साहको रिपोर्टका कारण खतरामा प¥यो । 
राम चौक  स्थित  संचालित
साह प्याथोलोजिकल क्लिनिक ।
दिनरात अविश्वास वढ्नुका साथै सम्बन्ध विच्छेदसम्मको खतरा अग्रसर भइरहेकै बेला पुनः परीक्षण तथा उपचारका लागि १२ साउन जनकपुर अञ्चल अस्पताल पुग्दा ती दुवै दम्पतिको रिपोर्टमा एचआईभी निगेटिभ पाइयो । मनोजलाई विश्वास लागिरहेको थिएन । उनी पुनः पटक पटक परीक्षण गर्न लगाउँदा निगेटिभ नै पाइयो । बल्ल आएर मनोजले राहतको लामो श्वास फेर्न पाए । अब नमर्ने रहेछु र श्रीमति समक्ष अविश्वासको वढ्दो संकटलाई पनि जित्न सफल भएको भन्दै बल्ल उनको ज्यानमा ज्यान आयो । यसरी एक प्याथोलोजीमा कार्यरत सुर्यनारायण साहका कारण एक दम्पतिलाई अनाहकमा  मानसिक र शारीरिक रुपमा क्षति बेहोर्नु प¥यो ।
 को हुन सुर्यनारायण साह ?
साह प्याथोलोजि क्लिनिकका 
संचालक सुर्यनारायण साह
सुर्यनारायण साह जनकपुर चुरोट कारखानाका अवकास प्राप्त कर्मचारी हुन् । उनले जनकपुरको भानुचौक र रामचौक स्थित साह प्याथोलोजिको नाउँमा दुईवटा छुटा छुट्टै प्याथोलोजी संचालन गर्दै आएका छन् । उनी आफ्नो इन्सटीच्युटबाट मेडिकल ल्याव टेक्निसियन, टिचिङ हस्पिटल महराजगंज काठमाण्डौबाट उत्तिर्ण गरेको, थाइलेण्डको बैंककबाट तालिम लिएको, एनटिसीबाट क्षयरोगको तालिम लिएको र आफुलाई मेडिकल टेक्नोलोजिस्ट अफिसरको रुपमा परिचय दिएका छन् । नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता गरिएको र दर्ता नम्बर बि(१४० रहेको बताएका छन् । उनले संचालन गरेको प्याथोलोजी जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गराएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषामा पनि दर्ता गराएका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयबाट पनि इजाजत लिएका छैनन् । आन्तरिक राजश्व कार्यालयमा समेत हालसम्म कुनै पनि किसिमको स्वास्थ्य सेवा कर तिरेका छैनन् । जनकपुर नगरपालिकाको कार्यालयलाई समेत व्यवसाय कर तिरेका छैनन् । यसरी जनताको ज्यानै लिने गरी साह प्याथोलोजीले जाँच अनुसन्धान नै नगरी रिपोर्ट लेखेर जनस्वास्थ्य माथि खेलवाड गरेको तथ्य फेला परेको छ ।
साह प्याथोलोजिकल क्लिनिक त एक उदाहरण मात्र हुन । धनुषामा करिब १ सय भन्दा वढी प्याथोलोजिकल ल्यावहरु खुलेका छन् । जसको कहिँ पनि दर्ता गरिएको छैन । प्रयोगशाला संचालन तथा दर्ता सम्बन्धि न्युनतम मापदण्ड तयार भइरहेको अवस्थामा स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्ती मापदण्ड सम्बन्धि निर्देशिका २०७० जारी भइसकेको छ । तर, उक्त निर्देशिका अनुसार सुर्यनारायण साहको प्याथोलोजी जस्तै कुनै पनि प्याथोलोजीहरुले मापदण्ड पुरा गरेका छैनन् । 
   
मनोज साहलाई एचआइभी
नभएपनि पोजिटिभ रहेको भनी 
साह क्लिनिकले दिएको गलत रिपोर्ट ।
सम्बन्धित चिकित्सकको अभावमा खुलेका यस्ता ल्याबहरूको रिपोर्ट भरपर्दाे भने छैन । भरपर्दाे नहुनुमा दक्ष जनशक्ति नहुनु हो भने पर्याप्त मात्रामा केमिकल प्रयोग नहुनु रहेको छ । प्याथोलोजिस्टको अभावमा ल्याब टेक्निसियनले रिपोर्ट बनाउँदा बेला(बेलामा जनकपुरका ल्याबहरु विवादमा आउने गरेको छ । रगत, दिसा, पिसाब, खकार आदि परीक्षणका लागि रेफर गर्ने चिकित्सकले कम्तिमा ६० र बढीमा ७० प्रतिशतसम्म कमिशन लिने गरेको कारण ल्याब सञ्चालकले उचित मात्रामा केमिकल प्रयोग नगरेको एक जना प्याथोलोजी संचालकले बताए । चिकित्सकलाई कमिशन दिनुपर्दा घरभाडा, बिजुली बत्ती, कर्मचारी, स्टेशनरी, केमिकल्स आदिको खर्च निकाल्न धौं(धौ पर्ने उनले बताए । जनकपुरमा खुलेका ल्याबहरूबाट अहिले गलत रिपोर्ट आउनुको कारण पनि यही हो । ल्याबबाट आउने रिपोर्टका कारण चिकित्सकले रोग पत्ता लगाएर सोही अनुसार उपचार गर्ने हो तर कमिशनमा आँखा गडाउँदा गलत रिपोर्टका आधारमा गरिने उपचार प्रभावकारी नहुने, रोग अर्कै छ उपचार अरू नै हुने गर्दा रोगीलाई सास्ती मात्र छ ।
ल्याबहरूमा म्यानुयल परीक्षण अन्तर्गत टिसी, डिसी, इएसआर, हेमोग्लोबिन, पिसाब रूटिन  र बायोकेमिकल्स परीक्षण अन्तर्गत मधुमेह, पिसाबमा युरिया, जन्डीसमा बिलुरुबिन, मृगौलामा क्रिप्टनिन अनि युरिक एसिड आदिको परीक्षण गरिन्छ । यस्तो परीक्षणका लागि दक्ष व्यक्तिको आवश्यकता पर्दछ तर नेपाल हेल्थ प्रोफेसनल काउन्सिलबाट एकपटक सीमित परीक्षणको इजाजत लिएर यहाँका ल्याबहरूले असीमित परीक्षण गर्दै आएका छन् । 
    यस्ता परीक्षणहरूबारे सेवाग्राहीमा अज्ञानता र उजुरी लिने र कार्यवाही गर्ने निकायको अभावमा गैरकानुनी प्याथोलोजी निर्धक्क सञ्चालित छ । सही परीक्षण रिपोर्टका लागि रकम तिरेका बिरामीहरूको त्यो अधिकार पनि हो । सेवाग्राहीलाई त्यस अधिकारबाट वञ्चित गर्ने काम भइरहेकामा कसैले सरोकार नराख्नु दुःखद हो । 
राम चौक स्थित साह प्याथोलोजिकल क्लिनिकमा
केही केमिकलका शिशिहरु र स्लाइडहरु देखिएपनि 
परीक्षण गर्नका लागि आवश्यक पर्ने कुनै पनि उपकरणहरु देखिएनन् ।
मेडिकल ल्याबोरेटरी एसोशिएशन अफ नेपाल मेलानका केन्द्रिय उपाध्यक्ष युगल किशोर यादव भन्छन,“ जनकपुरका कतिपय प्याथोलोजीहरुमा गुणस्तरीय सेवा प्रदान भईरहेको छैन । यसलाई अनुगमन गर्नु जरुरी छ । प्याथोलोजी भित्र धेरै विकृतिहरु छन् जसले गर्दा जनस्वास्थ्यमा सिधा असर परिरहेको कुरा सत्य हो । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी मापदण्ड विपरित संचालन भएका प्रयोगशालाहरुलाई बन्द गर्नुपर्दछ ।” जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना भन्छन,“ जनकपुरमा स्वास्थ्य क्षेत्रमा थुप्रै विकृतिहरु तथा मापदण्ड विपरित संचालनमा रहेको जनगुनासो आएको छ । अहिले हामीले औषधि पसलहरुमा अनुगमन कार्य जारी राखेका छौं । अनुगमनको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने छौं । र, प्रयोगशालाहरुमा अनुगमन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जनकपुर अञ्चल अस्पतालसँग समन्वय गरी विशेषज्ञहरुको टोली गठन गरी छिट्टै अनुगमन गर्ने छौं । मापदण्ड विपरित संचालित उक्त प्रयोगशालाहरुलाई कानुन बमोजिम कारवाही गरिने तपाईको पत्रिका मार्फत प्रतिवद्धता पनि जनाउँदछु ।” अब प्रजिअ ढुङ्गानाले गरेको प्रतिवद्धता कार्यान्वयन हुने हो वा होइन त्यो भने हेर्न बाँकी छ ।


२०७१ साउन १८ गते आईतबार

No comments:

Post a Comment