Sunday, February 12, 2017

सत्याग्रहका सात एजेण्डा

सत्याग्रहमा बसेका रामकुमार शर्मा र कलामुद्धिन राईन ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति नेपालको प्रस्तावित २ नम्बर प्रदेशका सहसंयोजक कलामुद्दिन राईन ७ सुत्रिय माग राख्दै २० माघ देखि आमरण अनशनमा बसेका छन् । समाचार लेखिरहँदा २९ माघमा उनी आमरण अनशन बसेको १० औं दिन भईसक्दा पनि उनको ज्यान रक्षाका लागि नेपाल सरकारले कुनै चासो लिएको छैन । जनताको साझा सवालमा एकता गरौं, आधुनिक जनकपुर निर्माणमा सहभागी बनौं भन्दै नाराका साथ नेपाल सरकारका प्रधानमन्त्रीलाई ७ बुँदे मागहरु बुझाएर आमरण अनशनमा बसेका हुन ।
भ्रष्टलाई कारवाहीको माग
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यकारणी समितिको बैठकबाट भ्रष्टाचार गरेको आरोपमा कारवाहीमा रहेको र आफु खुशी कार्यकारिणी समिति समक्ष राजिनामा दिएर पुनः षड्यन्त्र मुलक ढंगले अदालतमा करकाप गरी बल पुर्वक राजिनामा गराएको झुठो मुद्दा हालेर सम्पुर्ण कर्मचारीहरु परिषद र विकास समितिको कार्यलाई धारासाही बनाउने उमेश कुमार यादवलाई बल पुग्ने गरी आफ्नो पदिय जिम्मेवारी र मर्यादा विपरित गैरजिम्मेवारी पुर्वक परिषदको सर्बोच्च निकाय संचालक परिषद तथा कार्यकारिणी  समितिको दुवै वैठकमा अनुपस्थित भई परिषदलाई धारासाही बनाई परिषदद्वारा संचालित विकास निर्माणको कार्यलाई असफल बनाउन मुख्य भुमिका खेल्ने महोत्तरी र धनुषाको प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायत नगरपालिकाका कार्यकारी अधिकृतहरुको सरुवाका साथै मन्त्रालयबाट आवश्यक कडा कारवाही गरिनुपर्ने पहिलो माग रहेको छ ।
त्यसैगरी आधुनिक जनकपुर निर्माणको लागि गुठी मातहतमा रहेका हजारौं विघा जमिनहरु, विभिन्न मन्दिरका महन्थहरुसँग रहेका जमिनहरु, भुमाफिया, प्रशासक र नेताहरुको नक्कली प्रमाण बनाई कब्जा गरेका अर्बौं मुल्यका जमिनहरुको संरक्षण र व्यवस्थापनको साथै बार्षिक करोडौं रुपैयाँ आम्दानी हुने जानकी मन्दिर लगायत प्रमुख मन्दिरहरुलाई टूस्टको रुपमा व्यवस्थि तगर्नका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको ऐनमा आवश्यक संशोधन गर्ने तथा जानकी मन्दिर लगायत ऐतिहासिक तथा पुरातात्विक महत्वका मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने दोस्रो मागको रुपमा रहेको छ ।
यी दुईवटा बुँदाहरु जनकपुरको खर्बौ मुल्य बराबरको सार्वजनिक सम्पतिको भईरहेको अतिक्रमण तथा बेचविखन विरुद्धको हो । किनभने ती जग्गाहरु साविकमा कति थिए र अहिले कुन अवस्थामा आईपुगेको छ भन्नका लागि नगरवासी अनभिज्ञ छैनन् । सर्बोच्च अदालतको बहालबाला वा अवकाश प्राप्त न्यायाधीशको संयोजकत्वमा गुठीको साविकको जग्गा देखि लिएर हालसम्मको अवस्थाका बारेमा छानविन गर्न एउटा उच्च स्तरीय न्यायीक छानविक आयोग बनाउनु पर्दछ । उक्त आयोगले दिने प्रतिवेदनको आधारमा नेपाल सरकारले ती बहुमुल्य सम्पदाको रुपमा रहेको जग्गाहरुको संरक्षण तथा प्रवद्र्धनका निम्ति एउटा प्राधिकरणको मोडेलमा जानुपर्ने देखिन्छ ।
शिक्षण अस्पतालको मुद्दा
त्यसैगरी पाँच सय सैयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई दरबन्दी अनुसारको जनशक्ति एवम आवश्यक भौतिक पुर्वाधार उपलब्ध नगराएर सरकारले रेफर हस्पिटलको रुपमा परिणत गराएकोमा दुख व्यक्त गर्दै प्रस्ताविक मधेस प्रदेशको राजधानीको रुपमा रहेको जनकपुरको उक्त अस्पताललाई टिचिङ अस्पताल बनाउनुपर्ने तेस्रो माग रहेको छ । राजेन्द्र महतो स्वास्थ्य मन्त्री भएको बेलामा जनकपुर अञ्चल अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकास गर्नका लागि उक्त अस्पताललाई पाँच सय सैया सम्म पुर्याउने तत्कालिन मन्त्री महतोले बताएपनि मन्त्रीपरिषदबाट निर्णय हुन सकेन ।जनकपुर अञ्चल अस्पतालका तत्कालिन विकास समितिका अध्यक्ष कामेश्वर झाका अनुसार जनकपुर अञ्चल अस्पताललाई ५ सय सैयामा लग्ने भनेर मन्त्रीस्तरीय र सचिव स्तरीय निर्णय स्वास्थ्य मन्त्रालयमा भईसकेको थियो । निर्णय अनुसार ओएन सर्बेका लागि पुर्वाधारको निरीक्षण गर्नका लागि सामान्य प्रशासन मन्त्रालय, अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिवहरुको तीन सदस्यीय टोली पनि बनेको थियो । उक्त टोलीले कर्मचारी दरबन्दी तथा जग्गाको पुर्वाधारबारे सर्बेक्षण गरी प्रतिवेदन बुझाउनुपर्ने थियो । ५ सय सैयाको अस्पतालका लागि २ विघा १० कठ्ठा जग्गा आवश्यक पर्दछ । तर, जनकपुर अञ्चल अस्पतालसँग ४ विघा १५ कठ्ठा १३ धुर जग्गा छ । जग्गाको अभाव छैन । तर, भुकम्प आएपछि उक्त टोली जनकपुर आउन सकेनन् । अहिले पनि उक्त टोलीले सर्बेक्षण गरी प्रतिवेदन बुझाईसकेपछि सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी जनशक्तिको मिलान गर्नेहो भने ५ सय सैयाको अस्पताल बन्न सक्छ ।
अनशनको समर्थनमा स्थानीयहरुद्वारा प्रदर्शन ।
नेशनल एकेडमी मेडिकल साइन्स (नाम्स) र जनकपुर अञ्चल अस्पताल बीच चिकित्सा शास्त्रको पोष्ट ग्राजुएट विद्यार्थीहरुलाई मेडिकल टेूनिङ्ग गराउन तथा त्यसका लागि नाम्सले दक्ष फ्याकेल्टी मेम्बर समेत उपलब्ध गराउने र एमडीका विद्यार्थीहरुलाई पढाईने भनेर १६ साउन २०७० मा जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्र र नाम्सका भाईन्स चान्सलर प्राध्यापक डा.दामोदर प्रसाद पोखरेल बीच ४ बर्षको लागि सम्झौता भएको थियो । सम्झौता भएको ३ बर्ष भन्दा वढी हुन थालेपनि उक्त सम्झौता कार्यान्वयनमा आउन सकेनन् । त्यसैगरी ४ फागुन २०७० मै मेसु मिश्र र विपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर चितवनका कार्यकारी निर्देशक डा.लक्ष्मिनारायण सिंह बीच एउटा सम्झौता भएको थियो । जनकपुर अञ्चल अस्पतालमा सो अस्पतालको जनशक्तिलाई क्यान्सर रोगको निदान तथा उपचारका लागि जनशक्तिको आवश्यक तालिमका लागि क्यानसर अस्पताल भरतपुरले अस्पतालमा नै तालिमको विषयमा आवश्यक सहयोग गर्ने र सो तालिम पश्चात क्यानसर रोगको निदान तथा उपचारमा जनकपुर अञ्चल अस्पतालमा स्याटेलाईट क्लिनिकका रुपमा दायित्व बहन गर्न जनकपुर अञ्चल अस्पताल तयार रहेको  भन्दै पाँच बर्षको लागि सम्झौता गरिएको थियो । उक्त सम्झौता भएको ४ बर्ष पुग्न लाग्दा पनि कुनै प्रगति भएको छैन ।
अर्को तर्फ प्रत्येक प्रदेशमा नेपाल सरकारले एउटा शिक्षण अस्पताल बनाउने रणनीति अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले बर्दिवासमा शिक्षण अस्पताल बनाउने निर्णय गराए । जबकी त्यसको पुर्वाधार र तयारी जनकपुरमा थियो । त्यसैले पनि शिक्षण अस्पताल जनकपुरमै हुनुपर्छ भन्ने आवश्यकता पुष्टि हुन्छ ।
क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थलको मुद्दा
अनशनको समर्थनमा स्थानीयवासीहरु ।
त्यसैगरी राजर्षी जनकको राजधानी तथा जगतजननी जानकीको पवित्र भुमि, विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न हालको जनकपुर विमान स्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्टिूय विमान स्थल बनाउनुपर्ने चौथो माग रहेको छ । आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा नै जनकपुर विमान स्थलको क्षमता विस्तार गरी क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गरिने भनेर उल्लेख गरिएपनि नेपाल सरकारले हालसम्म त्यस योजनालाई साकार पार्न कुनै पहल गरेको देखिँदैन । आर्थिक बर्ष २०७३÷०७४ को बजेट बक्तब्यमा नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले जनकपुर विमान स्थललाई क्षेत्रिय अन्तर्राष्टिूय विमानस्थल बनाउनुपर्ने कुरामा केही पनि बोलेनन् । जनकपुर विमान स्थलका विषयमा यस बजेटमा केही न केही कुराहरु समेटिनेमा जनकपुरबासी आशाबादी थिए । तर, बजेटमा जनकपुर विमानस्थलको बिषयले प्रवेश नै गर्न सकेको छैन ।
गौतम बुद्ध अन्तर्राष्टिूय विमान स्थललाई २०७४ माघ देखि संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तिब्रता दिइने तथा त्यसका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन सरकारले गरेको छ । पोखरी क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थल निर्माण कार्य आगामी  ४ बर्ष भित्रमा सम्पन्न गरिने भन्दै त्यसका लागि रु.५ अर्ब नेपाल सरकारले बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षमा निजगढमा अन्तर्राष्टिूय विमान स्थल निर्माणका लागि जग्गा प्राप्ति र सिमाङ्कनको कार्य सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन र कार्यान्वयनको ढाँचा तयार गरी स्रोत व्यवस्थापनको लागि पहल गरिने सरकारले बजेट बक्तव्यमा भनेको छ ।
त्यसैगरि विगतमा संचालन भई बन्द रहेका दोलखाको जिरी, बैतडीको पाटन, अछामको साँफेबगर, दार्चुलाको गोकुलेश्वर, सप्तरीको राजविराज र कंचनपुरको कंचनपुर विमानस्थलको मर्मत गरी संचालनमा ल्याईने तथा धनगढी, दाङ्ग, विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने अर्थ मन्त्री पौडेलले आफ्नो बजेट बक्तव्यमा उल्लेख गरेका छन् । तर, आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा नै जनकपुर विमान स्थलको क्षमता विस्तार गरी क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गरिने भनेर उल्लेख गरिएपनि नेपाल सरकारले हालसम्म त्यस योजनालाई साकार पार्न कुनै पहल गरेको देखिँदैन । यस बर्षको बजेट भाषणमा पनि अर्थ मन्त्री पौडेलले जनकपुर विमान स्थल विषयमा बजेट छुट्याएनन् ।
१८ माघ २०६७ मा नेपाल उड्ययन प्राधिकरणले एउटा प्रेस विज्ञप्ती जारी गरी जनकपुर विमान स्थल समेतलाई अन्तर्राष्टिूय स्तरका उडान संचालन हुन सक्ने गरी पुर्वाधार विकास गर्ने आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा उल्लेख भए अनुसार विमान स्थलको धावनमार्ग विस्तार गर्नका लागि अधिग्रहण ऐन अनुसार जग्गा अधिग्रहण गर्न प्रारम्भिक अधिकारीको रुपमा प्राधिकरणका एक जना बरिष्ठ उपनिर्देशकको रुपमा मनोनयन गरिएको जानकारी प्रदान गरेको थियो । नेपाल र भारत बीच पुनरावलोकन भएको समझदारीपत्र तथा सहमतिपत्र अनुसार जनकपुरबाट सिमा पार उडान गर्न भारतसँग अन्तिम चरणको छलफल समेत भई भारतसरकारले त्यसका लागि ग्रिन सिग्नल लगभग दिईसकेको जनकपुर विमान स्थलका प्रमुख इन्दुराज अधिकारी बताउँछन् । यति भईसक्दा पनि नेपाल सरकारको प्राथमिकतामा जनकपुर विमान स्थल पर्न नसक्नु अत्यन्त दुखद कुरा रहेको जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा बताउँछन् ।
१७ चैत्र २०६६ मा नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको सचिवालयमा बसेको बैठकबाट जनकपुरमा क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थल निर्माणका लागि सरोकार समिति गठन गर्ने निर्णय भएको थियो । नेपालबाट र मध्य तथा पुर्वी तराई मधेसबाट नागरिकहरु बैदेशिक रोजगारीका लागि खाडी मुलुक अरब, मलेशिया, दुबई, कतार जस्ता मुलुकहरुमा जनकपुरबाट डायरेक्ट उडान गर्न सकिने र भारतको पटना तथा कोलकताबाट जनकपुरको उडान गर्न सकिने उद्देश्यले त्यस्तो निर्णय गरिएको जनकपुर विमान स्थलका प्रमुख अधिकारी बताउँछन् । खास गरेर जनकपुर एउटा धार्मिक पर्यटकिय स्थल रहेको हुनाले हिन्दु धर्माबलम्बीहरुलाई भारतबाट जनकपुर आउँदा प्रत्यक्ष उडान गर्न सकिने उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम सरकारका पर्यटन तथा उड्डयन मन्त्री शरत सिंह भण्डारीले त्यसको पहल कदमी लिएका थिए ।
जनकपुर विमान स्थलको धावन मार्ग हाल १३ सय मिटर रहेकोमा क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थलको रुपमा विकास गर्नका लागि कम्तीमा पनि २ हजार मिटरको धावन मार्ग आवश्यक पर्ने निर्णय गरिएको थियो । त्यसका लागि जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विमान स्थलको पश्चिम तर्फको जग्गाहरु अधिग्रहण गर्ने निर्णय समेत गरिएको थियो ।
१४ अषाढ २०६९ मा धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमको अध्यक्षतामा बसेको जग्गा अधिग्रहण सम्बन्धि बैठकबाट जनकपुर विमान स्थलको उत्तर र पुर्व तर्फ गठी संस्थान शाखा कार्यालय जनकपुरको नाममा तैनाथी दर्ता रहेको ५ विघा ७ कठ्ठा ४ धुर जग्गा समेत पर्ने भएकाले उक्त जग्गा रोक्का राख्न गुठी संस्थानलाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।
२८ फागुन २०७१ मा मुआब्जा निर्धारण समितिको बैठकको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर, नागरिक उड्डयन कार्यालय अन्तरगत जनकपुर विमान स्थलको विकास, विस्तार र स्तरोन्नती गर्नका लागि तत्कालिन बसहिया गाविस वडा नं. १ तथा हाल जनकपुर उपमहानगरपालिका २४ स्थित किता नम्बर ८८ को १ विघा ११ कठ्ठा २ धुर जग्गालाई अधिग्रहण गर्नका लागि करिब ९६ लाख ४६ हजार २ सय ५० रुपैयाँ नेपाल सरकारले दिनुपर्ने निर्णय गरिएको थियो ।  अधिग्रहण गरिने जग्गामा उच्च मावि बसहिया मातहतको उक्त जग्गा शिक्षा मन्त्रालयबाट प्राप्ति गर्नका लागि शिक्षा मन्त्रालयले अनुमति दिनुपर्ने तथा सरकारी पर्तीको रुपमा रहेको ४ कठ्ठा १४ धुर जग्गा गृहमन्त्रालयबाट प्राप्ति गर्नुपर्ने निर्णय भएको थियो । त्यसका लागि ५ जेष्ठ २०७२ मा जिल्ला शिक्षा कार्यालय धनुषाले बसहिया विद्यालय मातहतको जग्गा जनकपुर नागरिक उड्डयन कार्यालयको नाउँमा हक हस्तान्तरण गरी लगत कट्टा गरिदिनका लागि पत्रसमेत लेखिसकेको छ । तर, ती सरकारी जग्गाहरु हालसम्म पनि विमान स्थलको नाउँमा हक हस्तान्तरण हुन सकेको छैन ।
२०५७ सालको रेकर्ड अनुसार जनकपुर विमान स्थलको हालको क्षेत्रफल ६५ विघा १९ कठ्ठा ११ धुर १ कनमा रहेको छ । अधिग्रहण हुने सरकारी तवरबाट जनकपुर विमान स्थलको कार्यालयमा प्राप्त हुनुपर्ने ३ विघा १० कठ्ठा १६ धुर ५ कनमा जग्गामा १ विघा १४ कठ्ठा ६ धुर १५ कनमा जग्गा मात्र प्राप्ति हुन सकेको छ ।
२९ चैत्र २०६६ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैठकबाट जनकपुर विमान स्थललाई क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गर्नका लागि प्राधिकरणका एक जना बरिष्ठ उपनिर्देशकलाई सदस्य तोकिएको थियो । त्यसैगरी तत्कालिन सभाषद संजय कुमार साहको संयोजकत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सांसदहरुको टोली सहित उच्च स्तरीय सरोकार समिति समेत गठन गरिएको थियो । उक्त सरोकार समितिले जनकपुर विमान स्थलमा आएर अध्ययन अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । त्यसैलाई दृष्टिगत गर्दै जनकपुर विमान स्थलको टर्मिनल भवन नयाँ बनाउनुपर्ने भन्दै बजेट विनियोजन गरी ठेक्का लगाई निर्माण कार्य समेत भईरहेको भएपनि म्याद सकिसकेको अवस्थामा उक्त भवन पुर्ण रुपले निर्माण हुन नसक्दा एक बर्ष थप २०७३÷०७४सम्मको लागि म्याद बढाइएको छ ।
२५ जेष्ठ २०७३ मा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य जनकपुरमा आएर जनकपुर विमान स्थलको बर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धमा जनकपुर उद्योग बाणिज्य संघमा सरोकारबालाहरु बीच अन्तरक्रिया गरी यहाँका जनप्रतिनिधिहरुले नेपाल सरकारलाई विमान स्थलको विषयमा घचघच्याउनु पर्ने बताउँदै आफु फर्केर गएपछि क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थलको विषयलाई उठाउने बताएका थिए ।
आश्चर्य त के छ भने जनकपुर विमान स्थलभन्दा पछि परेको पोखरा, लुम्बनी, निजगढ विमान स्थललाई अन्तर्राष्टिूय विमान स्थलको रुपमा विकसित गर्न नेपाल सरकारले बजेट लगानी गरी काम पनि सुरु गराईसकेको छ । तर, धेरै पहिले देखि उठदै आएको जनकपुर विमान स्थलका विषयलाई नेपाल सरकारले प्राथमिकतामा नराख्नु दुखद भएको जनकपुरबासीहरु बताउँछन् ।
विक्रम सम्बत २०२२÷०२३ सालमा तत्कालनि श्री ५ को सरकार र भारतीय सहयोग मिशनबाट शिलान्यास गरिएको उक्त जनकपुर विमान स्थलको ८ असोज २०२४ मा तत्कालिन महाराजाधिराज महेन्द्र बीर विक्रम शाहदेवले उदघाटन गरेका थिए ।
राजर्षी जनक विश्व विद्यालयको मुद्दा
विसौं बर्ष देखि अलपत्र रहेको बहुचर्चित राजर्षी जनक विश्व विद्यालय संचालनको लागि ऐन पारित गरी तुरुन्त आवश्यक निर्माण कार्य अगाडी वढाउनुपर्ने पाँचौ माग रहेको छ । करिब २० बर्ष अघि नेपाली कांग्रेसका नेता तथा तत्कालिन जिल्ला विकास समिति धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा बसेको बैठकबाट धनुषाका १ सय १ गाविसले १०÷१० लाखका दरले विश्व विद्यालयका लागि बजेट छुट्याएका थिए । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको डिूम प्रोजेक्टकै रुपमा राजर्षी जनक विश्व विद्यालय रहेको छ । बल्ल आएर उक्त विद्यालय स्थापना सम्बन्धि विधेयक व्यवस्थापिका संसदमा प्रवेश गरेको छ । अब उक्त विश्व विद्यालय स्थापनाको कार्य अन्तिम चरणमा रहेको बताइन्छ ।
 त्यसैगरी विसौं बर्ष देखि धनुषा र महोत्तरीमा मणिपाल कलेजको नाममा रहेको करिब १०० विघा जमिन कौडीको मुल्यमा लिएर अन्यत्रै कलेज बनाउने मणिपाल कलेजका संचालकलाई कारवाही गरिनुपर्ने तथा उक्त कलेज संचालकले अबिलम्ब कलेज संचालन गर्नुपर्ने वा जमिन सम्बन्धित व्यक्ति वा निकायलाई फिर्ता गर्नुपर्ने छैठौं माग रहेको छ । त्यसैगरी सातौं मागको रुपमा जनकपुर उपमहानगरपालिकालाई समेटने गरी छ लेनको बाह्य चक्रपथ बनाउनुपर्ने माग रहेको छ ।
हुन त जनकपुरमा भौतिक पुर्वाधार विकासका लागि अहिले एसियाली विकास बैंकको ऋण सहयोग तथा लगानी र नेपाल सरकार तथा जनकपुर उपमहानगरपालिकाको लगानीमा २९ किलोमिटर ढल निर्माण र ९ किलोमिटर सडक निर्माणको काम भईरहेको छ । त्यसैगरी जनकपुर जयनगर बर्दिवास रेल्वे निर्माण पनि भईरहेको छ । जनकपुर जलेश्वर भिठ्ठामोड सडक खण्ड, हुलाकी सडकहरु निर्माण भईरहेका छन् । तर, जनकपुर उपमहानगरपालिकामा बढ्दो जनसंख्या र सवारी चापका कारण सडकहरु फराकिलो पार्नुपर्ने आवश्यकता देखिएको छ । विगतमा जनकपुर नगरपालिका १६ वटा वडामा मात्र सिमित थियो । तर, अहिले २७ वटा वडामा उपमहानगरपालिका बनेपछि बढ्दो सवारी चाप, जनघनत्वका आधारमा पनि सबैलाई जोड्ने गरी ६ लेनको बाह्य चक्रपथ निर्माणको आवश्यकता देखिन्छ । बैकल्पिक सडक बनाउन यसकारण पनि आवश्यक छ किनभने भोलीको दिनमा जनकपुर एउटा प्रदेशको राजधानी हुन गईरहेको छ । यति मात्र होइन, जनकपुर एउटा धार्मिक पर्यटकिय स्थलको रुपमा विकसित हुने हुँदा जनकपुरका सडकहरु फराकिलो पार्नु आवश्यक देखिन्छ । हुन त मिथिला माध्यमिकी परिक्रमा सडक पनि निर्माणाधिन अवस्थामा छन् । धनुषाको क्षेत्र नं. ३ अन्तरगतका विभिन्न गाउँहरु र सडकहरु कालोपत्रे भईरहेको अवस्थामा अहिलेको जनकपुरलाई आधुनिक जनकपुरको रुपमा विकास गर्नका निम्ति पनि सडक संजालहरुको विकास हुनु आवश्यक छ ।
जनकपुर विकासको मुद्दा
आधुनिक जनकपुर निर्माण विकास समितिको व्यानरमा अनशन बसेका छन् । ८ माघ २०७३ मा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकबाट आधुनिक जनकपुर निर्माणका लागि रामकुमार शर्माको संयोजकत्वमा विभिन्न राजनीतिक दल, उद्योग बाणिज्य संघ, यूवा संघर्ष समिति, नागरिक समाज, राष्टिूय मुस्लिम गठबन्धन लगायत विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु रहने गरी १ सय १ सदस्यीय आधुनिक जनकपुर निर्माण विकास समिति गठन गरिएको संयोजक रामकुमार शर्माले बताएका छन् । उक्त समितिले माघ ११ गते देखि महोत्तरी र धनुषाबाट उक्त मागहरुको सम्बन्धमा २५ हजार मानिसहरुबाट हस्ताक्षर गराई १९ माघमा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको छ । उक्त हस्ताक्षरको संख्या १ लाख  पुर्याउने समेत बताइएको छ । अहिले उक्त आमरण अनशनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, समाजसेवी, यूवा क्लवहरु, संघसंस्थाहरुले एक्यवद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आमरण अनशनको मागलाई सम्बोधन गर्न अनुरोध गरेका छन् । यता आईतबार भट्टराई जनकपुर आई आधुनिक जनकपुर निर्माणको लागि गरिएको सत्याग्रह तथा आमरण अनशन प्रति एक्यबद्धता जनाउने बताइएको छ ।


२०७३ फाल्गुन ०१ गते आईतबार

७ बुँदे सहमति पछि मधेसका वकिलहरुको आन्दोलन फिर्ता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सप्तरीदेखि पर्सासम्मका ८ जिल्लामा उच्च अदालत र जिल्ला अदालतमा हुँदै आएको इजलास बहिस्कार कार्यक्रम फिर्ता भएको छ । साथै मधेसका दुईसय भन्दा बढी वकिलहरुले नेपाल बारमा बुझाएको सामुहिक राजीनामा पनि फिर्ता लिएका छन् । यो दुबै निर्णयसँगै अब मधेसमा अवरुद्ध हुँदै आएको अदालती कारवाही सुचारु हुने भएको छ । राजधानीमा शुक्रबार लगभग मध्यरातमा नेपाल बार एशोसिएसनसँग मधेस प्रदेशका वकिलहरुले गरेको सहमति अनुसार मधेसका अदालतमा भएको अवरोध फिर्ता भएको हो । साथै सोही सहमति अनुसार वकिलहरुले आफ्नो सामुहिक राजीनामा फिर्ता दिएका हुन् ।
दुई नम्बर प्रदेशका वकिलहरुले विहीबार नाइट बस रिजर्भ गरेर काठमाडौं पुगी बारका अध्यक्ष शेरबहादुर केसी समक्ष सामुहिक राजीनामा बुझाएका थिए । त्यसपछि असन्तुष्ट वकिलहरुको मागलाई सम्बोधन गर्नका लागि बार र दुई बम्बर प्रदेशका वकिलवीच वार्ता भएको थियो । बार्तापछि शुक्रबार राति नै सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । बारका तर्फबाट वार्ता समिति संयोजक बरिष्ठ अधिवक्ता कमलनारयण दास र असन्तुष्ट कानून व्यवसायी समन्वय समितिका संयोजक अधिवक्ता सुधीरकुमार कर्णले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
के के भयो सहमति ?
सहमतिपत्रको छैठौं बुँदामा पर्सादेखि सप्तरीसम्म जिल्ला र उच्च अदालतमा हुँदै आएको इजलास बहिस्कार आजैका मितिबाट स्थगित गर्ने कुरामा सहमति भयो भनिएको छ । त्यसैगरी सातौं बुँदामा बार इकाइका सम्पूर्ण सदस्यले दिएको सामुहिक राजीनामा आजैका मितिबाट फिर्ता लिन सहमति गरियो भनिएको छ । न्याय परिषदले गरेको ८० न्यायाधीश नियुक्तिको विरोधमा मधेसका ८ जिल्लाका वकिलहरुले इजलास बहिस्कार गर्दै आएका थिए । यही क्रममा नेपाल बारले सर्वोच्च अदालतसँग माघ १८ गते सहमति गरेपछि मधेसका वकिलहरु बारसँग रिसाएर सामुहिक राजीनामा दिने निर्णयमा पुगेका थिए ।
शुक्रबार नेपाल बारसँग असन्तुष्ट वकिलवीच भएको सहमतिको पहिलो बुँदामा सर्वोच्च अदालतसँग भएको माघ १८ को सहमति सच्याउने सहमति भएको छ । सर्वोच्चसँग गरिएको सहमतिमा ‘समानुपातिक’ शब्द थप्ने ७ बूँदे सहमतिको पहिलो बुँदामा उल्लेख छ । त्यसैगरी वीरगञ्ज घोषणापत्रलाई समेत ध्यान दिँदै प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग लगाउनेबारे बारले देशभरिका आफ्ना इकाइहरुसँग ३० दिनभित्र राय लिने सहमति पनि गरिएको छ । यद्यपि सात बुँदे सहमतिपत्रको दोस्रो नम्बर बुँदामा यसलाई सांकेतिक भाषामा मात्रै उल्लेख गरिएको छ । शुक्रबारको वार्तामा सहभागी एक वकिलका अनुसार यो बुँदाको तात्पर्य प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे राय संकलन गर्ने भन्ने नै हो ।
त्यसैगरी बार र असन्तुष्ट वकिलवीच भएको सहमतिपत्रमा न्यायाधीश नियुक्तिबारे सर्वोच्च अदालतमा विभिन्न रिटहरु परेको हुनाले ती रिटमाथिको निर्णय पर्खने र त्यसमा प्रमाण जुटाउनका लागि न्याय परिषदले रिट निवेदकलाई प्रमाणका लागि न्यया परिषदको माइन्युट उपलब्ध गराउने लगायतका विषयहरु उल्लेख छन् । त्यसैगरी नयाँ संविधान अनुसार न्यया परिषदको संरचना निर्माणको सिफारिससहितको प्रतिवेदन ३ महिनाभित्र तयार पार्न कार्यदल बनाउने सहमतिसमेत भएको छ ।
उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष विनय सिंह, दुई नम्बर प्रदेशअन्तर्गत मधेसका आठवटा जिल्ला बार र तीनवटा उच्च अदालत बारका पदाधिकारीसहित ३ सय ३८ कानुन व्यवसायीले बिहीबार नेपाल बारको साधारण सदस्यता त्यागेका छन् । पद र सदस्यता त्यागसँगै ती बार खाली भएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्षतामा रहेको न्यायपरिषद्ले बहुमतका आधारमा गरेको न्यायाधीश नियुक्ति प्रकरणमा बारको अस्तित्वलाई अस्वीकार गरेर संविधानअनुरूपको समानुपातिक एवं समावेशी सिद्धान्तविरुद्ध निर्णय भएको भन्दै बारको साधारण सदस्यसमेत नरहने गरी ती कानुन व्यवसायीहरूले बार अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् । सदस्यता त्याग गर्नुअघि तराईबाट काठमाडौं आएका सयौं कानुन व्यवसायीले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध चर्का नाराबाजीसहित रामशाहपथस्थित बारको केन्द्रीय कार्यालय घेराउ गरेका थिए ।
बार सदस्यताबाट राजीनामा दिनेमा मध्यमाञ्चल बार उपाध्यक्ष सिंह, पर्सा बारका अध्यक्ष रामाशीषप्रसाद यादव, बारा बारका अध्यक्ष योगेन्द्र मण्डल, रौतहट बारका अध्यक्ष अनन्त अधिकारी, सर्लाही बारका अध्यक्ष मोहनराय यादव, महोत्तरी बारका अध्यक्ष सुनिल पंकज, सिराहा बारका अध्यक्ष रामस्वरूप चौधरी, सप्तरी बारका अध्यक्ष रामप्रसाद चौधरी, राजविराज उच्च अदालत बारका अध्यक्ष विजयकुमार यादव, जनकपुर बारकी अध्यक्ष विजया पाण्डे र वीरगन्ज उच्च अदालत बारका अध्यक्ष सुधीर कर्णसहित तीन सय ३८ जना कानुन व्यवसायी छन् ।
‘साधारण सदस्यबाट समेत राजीनामा दिएपछि तीनवटा उच्च अदालत बार र आठवटा जिल्ला बार खाली भएका छन’, आन्दोलनरत कानुन व्यवसायीका संयोजक सुधीर कर्णले भने, ‘दुई नम्बर प्रदेशअन्तर्गतका सबै बार एकाइ खाली भएपछि बारमा राजीनामा बुझाइएको हो । माग सम्बोधन नभएसम्म त्यहाँका अदालतमा इजलास बहिष्कार आन्दोलन रोकिँदैन ।’
उच्च अदालतमा न्यायाधीश सिफारिसपछि गत पुस २९ गतेयता मधेसका आठ जिल्लाका अदालतमा बहसपैरवी ठप्प छ । न्यायका याचक अदालत आउँदै फर्कंदै गरेका छन् । बार परिसरमा आन्दोलनकारी कानुन व्यवसायीलाई सम्बोधन गर्दै संयोजक कर्णले न्यायाधीश नियुक्तिमा मधेसी कानुन व्यवसायीको अपमान भएकाले निर्णय नसच्याइए त्यसपछि उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार न्यायपालिका प्रमुख र नेपाल बार हुनुपर्ने चेतावनी दिए ।
आन्दोलनकारीले बिहीबार साँझ बार पदाधिकारीसँग छलफल गरे पनि निष्कर्षमा पुग्न सकेन । नेपाल बारले आन्दोलनकारीका मागलाई लिएर वार्ता गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । ‘शुक्रबार ११ बजेलाई वार्ता तय भएको छ । त्यसको निष्कर्षपछि कुनै परिणाम आउला’, बारको वार्ता समिति सदस्य अधिवक्ता डा. दीनमणि पोखरेलले भने । वार्ताका लागि आन्दोलनरत मधेसवादी कानुन व्यवसायीका तर्फबाट कर्णको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।
प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले उच्च अदालतका लागि ८० जना न्यायाधीशहरु नियूक्त गर्दा संविधान र न्यायपरिषद ऐनको विरुद्ध गएर मनोनयन गरिएको भन्दै प्रदेश नं. २ का कानुन व्यवसायीहरु आन्दोलित भएका थिए । २८ पुष २०७३ को मध्य रातमा प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेका उच्च अदालतका न्यायाधीशमा जिल्ला न्यायाधीशहरुबाट ३४ जना, कानुन व्यवसायीबाट २५ जना, यस अघि नै पुनरावेदन अदालतबाट अवकास पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सह सचिव सरहका सहरजिष्टूार र कानुन सह सचिवबाट ६ जना तथा कानुन, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेका मध्येबाट ५ जना छन् । सिफारिस गरिएका ८० जना व्यक्तिहरुले न्यायाधीशको सपथ ग्रहण समेत गरिसकेका छन् ।


२०७३ फाल्गुन ०१ गते आईतबार

डिआईजी नवराज सिलवालले राजिनामा देलान त ?

प्रहरी डीआजीहरू क्रमशः सिलवाल, अर्याल, चन्द र भण्डारी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै डिआइजी जयबहादुर चन्दलाई आइजी बनाउन तयार भएका छन्। फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएको गृह उच्च स्रोतले सेतोपाटीलाई बतायो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआइजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हटेका हुन् ।
यसअघि नवराज सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए । स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई चेतावनी दिए। सिलवालको सट्टा चन्दलाई आइजिपी नियुक्त गर्न देउवाले अह्राए । निधिले मानेनन् । चन्दलाई नियुक्त नगर्ने हो भने गृहमन्त्रीबाटै राजीनामा दिन देउवाले भनेका थिए । देउवाको यो असहमतिपछि निधि उठेर हिँडेका थिए।त्यसपछि पनि निधि सिलवालकै पक्षमा उभिँदै आएका थिए । देउवाले यही माघ १९ गते बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा मुख्य नेताहरुको अनौपचारिक बैठकमा समेत उक्त विषय उठाएका थिए । बैठकमा देउवाले ’आइजिपी नियुक्तिमा गृहमन्त्रीले पार्टी सभापतिको निर्देशन मान्नुपर्ने’ कुरा राखेका थिए । निधि समेत उपस्थित उक्त बैठकमा कांग्रेस महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले देउवालाई साथ दिएका थिए । गृहमन्त्री निघि भने आफ्नो अडानबाट पछि हट्न मानेका थिएनन् । 
    गत बिहीबारको मन्त्रिपरिषद बैठकले आइजिपी नियुक्त गर्ने संकेत पाएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर गृहमन्त्रीले नियुक्तिको प्रस्ताव ल्याए त्यसलाई अघि नबढाउन अनुरोध गरेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच पहिल्यै नेपाल प्रहरीको आइजिपी कांग्रेसले र सशस्त्र प्रहरीको आइजिपी माओवादीले नियुक्त गर्ने सहमति भइसकेको छ। देउवाले आइजिपी नियुक्ति कांग्रेस पार्टीको निर्णयअनुसार हुनुपर्ने दाहाललाई बताएका थिए । दाहालले कांग्रेसभित्र सहमति नभई आइजिपी नियुक्ति अघि नबढाउने बचन देउवालाई दिएका थिए। स्रोतका अनुसार देउवाले दाहाललाई ’आवश्यक परे गृहमन्त्री फेर्ने, तर गृहमन्त्रीको प्रस्तावमा आइजिपी नियुक्त नगर्नू’ समेत भनेका थिए ।
कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच आइजिपीको विषयमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री दाहालले अन्य कांग्रेस नेताहरुलाई यो विवादको निकास निकाल्न सहयोग गरिदिन आग्रह गरेका थिए । ‘दुवै जनाले अयी नछाड्ने हो भने आइजिपीको तेस्रो वा चौथो दाबेदारलाई नियुक्त गर्न पनि प्रधानमन्त्रीले सुझाउनुभएको थियो,’ एक कांग्रेस नेताले भने। पछिल्लो समय दुई नेताबीच बढ्दै गएको तिक्ततालाई साँघूरो बनाउन सरकारमा रहेका देउवा पक्षमा मन्त्रीहरू बालकृष्ण खाँड र प्रकाशशरण महतलगायतका नेताहरूले दुबै नेताहरूको बिचमा समन्वयको काम गरेका थिए। पछिल्लो पटक बुधबार देउवा र निधिलाई सँगै राखेर महतहितका नेताहरू छलफलमा थिए ।
    त्यसको भोलिपल्ट बिहिबार बिहान देउवासँगको सहमति अनुसार कार्यालय पुगेलगत्तै गृहमन्त्री निधिले गृह सचिव लोकदर्शन रेग्मीलाई आइतबारको मन्त्रिपरिषद बैठकमा चन्दलाई बढुवा गर्ने प्रस्तावबारे तयारी गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो । वर्तमान आइजिपी उपेन्द्रकान्त अर्यालको पदावधि यही फागुन ३ गते सकिँदै छ । उनीसँगै सबै एआइजीहरुको पनि म्याद सकिने भएपछि बहालवाला चार डिआइजी सिलवाल, चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजिपीका दाबेदार थिए। नेपाल प्रहरीको वरियता क्रममा डिआइजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, जयबहादुर चन्द तेस्रो र बमबहादुर भण्डारी चौथो नम्बरमा छन् ।
सशस्त्रको आइजीमा  श्रेष्ठ लगभग पक्का
यसैबीच सशस्त्र प्रहरीको नयाँ आइजीपीसमेत सरकारले आइतबार नै नियुक्त गर्ने तयारी गरेको छ ।  सशस्त्रको आइजीका लागि पहिलो बरियतामा रहेका डिआएजी सिंहबहादुर श्रेष्ठको नाम प्रधानमन्त्री पुष्पकमल दाहालले सिफारिस गर्ने भएका छन्। सशस्त्रमा एआइजीहरूमध्ये सिंहबहादुर श्रेष्ठ पहिलो, प्रेम शाही दोस्रो र प्रकाश ओझा तेस्रो वरियतामा छन् ।  यसअघि नै सत्तारूढ दल नेपाली कांग्रेस र माओवादीबीच सशस्त्रको आइजीमा माओवादीले निर्णय गर्ने जनपथ प्रहरीको आइजीमा नेपाली कांग्रेस सभापति देउवाले सिफारिस गर्ने सहमति गरेका थिए । सशस्त्रको आईजी पनि आगामी फागुन २ गतेबाट अवकाश पाउँदैछन् ।
आईजीपी बन्न नसके डीआइजी सिलवालले राजीनामा देलान् ?
नेपाल प्रहरीको २५ औं आइजीपी बन्ने खेल उत्कर्षमा पुगेको छ । पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई तीन नम्बरमा रहेका जयबहादुर चन्दले पछि पार्ने सम्भावना बढेको छ । र, यससँगै एउटा प्रश्न खडा भएको छ( तेस्रो बरियताका चन्दलाई आइजीपी बनेको खण्डमा पहिलो बरियताका डीआइजी नवराज सिलवालले एआइजीमै चित्त बुझाउलान् वा प्रहरी संगठनबाट राजीनामा देलान् ?
गृहमन्त्री कसरी युटर्न भए ?
सीआईबी प्रमुख डीआइजी नवराज सिलवाल गृहमन्त्री विमलेन्द्र निधीकै आडमा ३४ किलो सुनकाण्डको अनुसन्धानमा हौसिइरहेका थिए । सुन तस्करीमा संलग्न भन्सारका कर्मचारी हुँदै आफ्नै सहकर्मी एसएसपी श्याम खत्रीलाई हत्कडी लगाउने आँट पनि डीआईजी सिलवालले गृहमन्त्रीकै आड भरोसामा गरेका थिए । संसदीय समितिहरुमा सुनकाण्डको छानविन गर्न टोली बनाउनुपर्छ भन्दा पनि गृहमन्त्री निधीले सिलवाललाई नै भरोसा गरेर सीआईबी अनुसन्धानमा सक्षम रहेको जवाफ दिएका थिए । तर, यतिबेला आईजीपी नियुक्ति प्रकरणमा गृहमन्त्री निधी एकाएक चन्दको पक्षमा युटर्न भएपछि सिलवालका लागि आइजीपीको पद सकसपूर्ण बनेको छ । केही दिन अघिसम्म गृहमन्त्री निधी एक नम्बरमा रहेका सिलवाललाई नै आइजीपी बनाउनुपर्ने पक्षमा थिए । तर, कांग्रेस सभापति देउवाको चर्को दबावका कारण बिहीबारदेखि उनी एकाएक ‘युटर्न’ भएको खबरले डीआईजी सिलवाललाई तरंगित बनाएको छ । स्रोतका अनुसार बुधबार प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवावीच आईजीपी नियुक्तिबारे कुराकानी भएको थियो । तर, प्रधानमन्त्री दाहाल र देउवावीचसहमति नजुट्दा बिहीबार आईजीपी बनाउने विषयले मन्त्रिपरिषदको बैठकमा प्रवेश पाएन ।
गृहमन्त्रालय निकट स्रोतका अनुसार बुधबार विमलेन्द्र निधी र शेरबहादुर देउवालाई मिलाउन यातायात मन्त्री रमेश लेखक सक्रिय भएका थिए । देउवा र निधीवीच चर्को विवाद भएको खबर सार्वजनिक भएपछि मन्त्री लेखक सुदुरपश्चिमका जयबहादुर चन्दलाई नै आइजीपी बनाउनुपर्छ भन्दै निधिलाई मनाउन सफल भएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालयका एक डीआईजी भन्छन् ‘जयबहादुर चन्द त्यति नराम्रा मान्छे होइनन, तर उनले आफू संगठन हाँक्न सक्ने पात्रको रुपमा भन्दा पनि सुदुरपश्चिमको भएको र कांग्रेसनिकट भएको सन्देश बाहिर गएको छ, जुन संगठनको हितमा छैन र स्वयं चन्दको    हितमा पनि छैन ।’
विगतमा रोलक्रम मिच्दा के भयो ?
उपेन्द्रकान्त अर्यालभन्दा पहिले आईजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आईजीपी नियुक्तिमा यस्तै रस्साकस्सी चलेको थियो । एक नम्बरमा रहेका राना, दुई नम्बरमा रहेका नवराज ढकाल र तीन नम्बरमा रहेका भीष्म प्रसाईवीच टक्कर परेको थियो । त्यसबेला तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईलाई च्यापेपछि आईजीपी बनाउने खेल थप चोटिलो बन्दै गएको थियो । तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एक नम्बरमै रहेका रानालाई आईजीपी बनाउने अडान लिएपछि गच्छदारको घुर्की फेल खाएको थियो । त्यसबेला दुई नम्बरमा रहेका ढकालले आईजीपीको प्रतिस्पर्धामा देखिए पनि त्यतिधेरै लडाइँ गरेनन् र महानगरीय प्रहरीको नेतृत्व सम्हालेर अवकाश पाए ।
अहिले परिस्थिति लगभग उस्तै बनेको छ । प्रधानमन्त्री प्रचण्ड एक नम्बरमा रहेका नवराज सिलवालकै पक्षमा छन् भने केही दिन अघिसम्म सिलवालको पक्षमा रहेका विमलेन्द्र निधी एकाएक चन्दको पक्षमा गएका छन् । त्यसो त ०६६ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा नै एक नम्बरमा रहेका रविन्द्रप्रताप शाहलाई नबनाएर २ नम्बरका रमेश चन्द ठकुरीलाई आइजीपी बनाइएको थियो । तर, चन्दलाई अख्तियार लागेपछि शाह नै आइजीपी बने । त्यसअघि कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि ०६३ सालमा एक नम्बरमा रहेका राजेन्द्रबहादुर सिंहलाई पाखा लगाउँदै ओमविक्रम राणालाई आईजीपी बनाइएको थियो । पछि राणा पनि रमेशचन्द ठकुरीसँगै सुडान काण्डमा मुछिए ।
यदि सिलवाल आईजीपी हुनबाट रोकिए भने उनले प्रहरी संगठन नै त्याग्न सक्ने कतिपयको अनुमान छ । तर, केहीले भने सिलवालले मुखैमा आएको एआइजी पद नछाड्ने अडकल काटिरहेका छन् । एसपीबाट एसएसपी हुँदादेखि एक नम्बरमा रहेका सिलवाललाई तीन नम्बरमा रहेका चन्दले सलाम ठोक्न लगाउने सम्भावना बढेको छ । अब यो खेलमा प्रधानमन्त्रीले पनि चन्दलाई नै आईजीपीको फुली लगाउने गृहको प्रस्तावलाई सदर गरे भने सिलवालले चन्दको मातहतमा बसेर काम गर्लान् नि पद त्याग्लान् ? यो धेरैको चासोको विषय बनेको छ । आफ्नै ब्याजी एसएसपी श्याम खत्रीलाई हिरासतमा राखेर सुन तस्कर खोजिरहेका नवराज सिलवाल यदि आईजीपी भएनन् भने ३४ किलो सुनकाण्डको अनुसन्धान कसले र कसरी अघि बढाउला ?  यो पनि प्रहरीभित्र अहिले जिज्ञासाको  विषय बनेको छ ।
वरिष्ठता मिचेर प्रहरी प्रमुख नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर
बरियताक्रम अनुसार नेपाल प्रहरीको आइजीपी नियुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता कपिलदेव भट्टले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भइसकेको र आइतबार त्यसमाथि प्रारम्भिक सुनुवाई हुने सर्वोच्च अदालतका रजिष्टूार नृपध्वज निरौलाले लोकान्तरलाई जानकारी दिए । रिटमा वरिष्ठता, योग्यता र प्रचलित विधि प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्न नहुने उल्लेख छ ।
सरकारले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा तेस्रो बरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको भनिएको बेला सर्वोच्चमा रिट परेको हो । सरकारले आइतवार क्याबिनेट बैठकबाट नयाँ आइजीपी नियुक्ति गर्ने तयारी गरेको समाचारहरु सार्वजनिक भएका छन् । अहिलेका आइजीपी उपेन्द्रकान्त अर्यालले २ गतेदेखि अवकास पाउने भएसँगै अब चार डीआइजीमध्येबाट एक जना आइजीपी हुनेछन् । नेपाल प्रहरीको डिआइजीमा पहिलो नम्बरमा नवराज सिलवाल, दोस्रो नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी रहेका छन् । बरियताअनुसार एक नम्बरमा रहेका सिलवाललाई पाखा लगाएर तेस्रो बरियताका चन्दलाई देउवाको जोडबलमा आइजीपी बनाउने तयारी गरेको भनिएसँगै रिट परेको हो ।


२०७३ फाल्गुन ०१ गते आईतबार