Wednesday, September 2, 2015

सक्रिय हुँदै अज्ञात समुह

अज्ञात समुहले बर्दिवासमा पार्क गरिएको बसमा गरेको आगजनी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जब जब मुलुकमा हिंसा हत्या वा अपराध बढ्दछ तब तब यो देशमा अज्ञात समुहको नाउँले अपराधका घटनाहरु हुने गरेको छ । अहिले फेरी मधेसमा आन्दोलन उचाई लिँदै गएको अवस्थामा मौका छोपी अज्ञात समुह फेरी पनि सक्रिय भई आपराधिक क्रियाकलापहरु गर्न थालेको देखिन्छ । 

विगतमा देशमा भएको माओवादी सशस्त्र द्वन्द्व, मधेसमा हतियारधारीहरुले गरेको सशस्त्र विद्रोह, मधेस आन्दोलन लगायतका समयमा अज्ञात समुह नाउँले विभिन्न हिंसात्मक घटनाहरु भएको थियो । अहिले मधेसका कतिपय जिल्लामा अज्ञात समुहले तोडफोड तथा आगजनी गर्न थाल्दा सर्बसाधारणहरु त्रसित भएका छन् । एकातर्फ मधेसमा सुरक्षा चौकीहरु हटाईएको छ भने अर्को तर्फ अज्ञात समुह सक्रिय भएपछि मधेसमा अराजक स्थिति र दण्डहिनता बढ्दै जाने हो कि भन्ने आशंका पनि बढ्न थालेको छ ।

 अज्ञात समूहले महोत्तरीको बर्दिबासमा बिहीबार राति ३ वटा नाईट बसमा आगो लगाएका छन् ।  बर्दिबास नगरपालिका १ मा पार्किङ्ग गरी राखिएको ना.५ख.४९९४, ना.५ख.२६९४ नम्बरको बस र एउटा अनटेस्ट सहित ३ वटा नाईट बसमा अज्ञात समूहले आगजनी जलाएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।  बस धनी जिल्लाको औरही गाविस बस्ने मुकेश चौधरीले बर्दिबासमा बस्दै आएका आफ्ना डेरा अगाडि नै पार्किङ्ग गरी राखेका तीनवटै गाडिमा राति १२ बजेपछि अज्ञात समूहले आगजनी गरेका थिए। आगजनी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

घटना बर्दिबासको भोला बसन्त चौकदेखि भन्दा ३ सय मिटर उत्तरमा भएको हो भने सो घटनामा ना.५ख.४९९४ र अनटेस्ट बस पूर्ण रुपेन क्षतिग्रस्त भएको छ भने ना.५ख.२६९४ नम्बरको बसमा आंशीक क्षति भएको प्रहरी नायब उपरिक्षक पण्डितले बताए । ईलाका प्रहरी कार्यालय बर्दिबासले आगजनी गरी बस जलाउने समूहको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरेको जनाइएको छ।  आगजानीबाट  जलेश्वर(जनकपुर(काठमाँडौ चल्ने ना ५ ख ४९९४ र भरखरै खरिद गरेर ल्याइएको वन टेस्ट बस पूर्ण रुपमा नष्ट भएको छ भने, महोत्तरीको सम्सि(गौशला(काठमाँडौं चल्ने बसमा आगलागीबाट आंशीक क्षति पुगेको प्रहरीले जनाएको छ । वनटेस्ट बस सडकमा गुडन नपाउँदै आगजानी भएको हो । यसअघि बुधबार साँझ पूर्व(पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको लक्ष्मिनियाँ ५ स्थित बीच जंगलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्दमा सवारी चलाएको भन्दौ एक बस र एक टूकमा आगो लगाएर जलाएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो ।

२०७२ भाद्र १३ गते आईतबार

संविधानसभा परित्यागको माग गर्दै दुई जना आमरण अनशनमा

अनशनकारीलाई भेट्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेस केन्द्रित राजनीति गर्ने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले संविधानसभाबाट राजीनामा गर्नुपर्ने र मधेसीको हक अधिकार संविधानमा सुनिश्चित गरिनुपर्ने माग राख्दै जनकपुरमा दुई जना आमरण अनशनमा बसेका छन् । जनकपुरका यूवाहरुको संगठन मधेस अधिकार संघर्ष समिति जनकपुरका सल्लाहकार इन्द्रकुमार झा ‘मधेशानन्द’ ८ भदौ देखि र एक जना शिक्षक नरेन्द्र मिश्र १० भदौ देखि आमरण अनशनमा बसेका छन् ।

मधेसी मोर्चाका नेताहरुले संविधानसभा परित्याग नगरुनजेलसम्म मधेसी जनताले मधेसको हक अधिकार संविधानमा सुनिश्चित गर्न नसक्ने हुनाले तिनीहरुको विद्रोह एक मात्र विकल्प ठानेर अनशनमा बसेका मधेशानन्द भन्छन,“ एकातर्फ मधेसको नाउँमा राजनीति गरेर मधेसी जनतालाई बलिदानी दिन पनि लगाउने, अर्को तर्फ पद र भत्ताको लागि संविधानसभा परित्याग नगर्नु मधेसी जनतालाई भ्रमित पार्नु हो ।”
 गत भदौ १ गते संविधानसभाबाट सदभावना पार्टीले विद्रोह गर्दै राजीनामा गरिसकेका छन् । ६ जना सभाषद रहेको उक्त पार्टीको ४ जना सदस्यले राजीनामा बुझाईसकेपनि एक जना निलम्बित भई ज्यान मुद्दामा जेलमा थुनामा छन् भने अर्को एक जना सभाषद बेपत्ता भएका छन् । समानुपातिक कोटाबाट सभाषद भएकी जनकपुरकी माधवी रानी साहले राजीनामा दिएका छैनन् । उनी अहिले सम्पर्क बाहिर रहेको पार्टी अध्यक्ष राजेन्द्र महत्तोले बताएका छन् । यद्यपि उनी सम्पर्कमा आए लगत्तै राजीनामा दिने महत्तोले बताई रहँदा पनि रुपैयाँको लेनदेनमा सभाषद भएकी साह राजीनामा दिन तयार नरहेको र उम्किन जनकपुर बाहिर इण्डिया तर्फ गएको सर्बसाधारणहरु आँकलन गरिरहेका छन् ।

अनशनको दवावका कारण मधेसी मोर्चाका अन्य घटक दलहरुलाई नैतिक दवाव पर्न थालेको छ । हुन त अनशनकारीलाई अनशन स्थलमै गएर संविधानसभा परित्याग गरिसकेका सदभावना अध्यक्ष महत्तोले भेट गरेका छन् । आफुले त मधेसी जनताको चाहना अनुसार पहिले नै राजीनामा गरेको भएपनि अन्य मोर्चाका नेताहरुले पनि राजीनामा गर्नुपर्ने महत्तोले बताएका थिए ।

मधेसी मोर्चाका घटक दल तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले संविधानसभा अहिले नै परित्याग गर्नुपर्ने बेला नआएकोले समय आए संविधान सभा के ज्यान नै बलिदान गर्नुपरे तयार छौं, जनकपुरमा पत्रकार सम्मेलनमा बताएका थिए । त्यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सदभावनाले राजीनामा दिनु उक्त पार्टीको स्वतन्त्र निर्णय भएकाले हामीले पनि राजीनामा गर्नै पर्छ भनेर अहिलेसम्म मधेसी मोर्चाको त्यस्तो कुनै निर्णय नभएको बताएका थिए । जनकपुरमा भएको पत्रकार सम्मेलनमा यादवले मोर्चाको निर्णय अनुसार संविधानसभाको सदन र सडक दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने निर्णय मात्र भएको उनले बताएका थिए ।

यसरी हेर्ने हो भने अनशनकारीहरुले गरेको आमरण अनशनको मुद्दा तत्कालै सम्बोधन हुने कुनै छाँटकाँट देखिँदैन । यता अनशनकारीलाई भेट्न धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल ११ भदौमा पुगेका थिए । तपाईहरुको माग राज्य समक्ष पु¥याईदिएको छु, अब अनशन तोडिदिनुस भनेर प्रजिअ रिजालले अनशनकारीहरुलाई आग्रह गरेका थिए । तर, राज्य पक्षले बताउँदैमा अनशन नतोडिने संघर्ष समितिका संयोजक सरोज मिश्रले द एक्सक्लुसिभलाई बताएका छन् । यसैबिच १२ भदौ शनिबारसम्म अनशनकारी मधेशानन्दको स्वास्थ्य स्थिति विग्रदै गएको, उनको ब्लडप्रेसर ६५÷१०० रहेको मिश्रले बताए । अब अनशनकारीको माग सुनेर मधेसी मोर्चाहरुले संविधानसभाबाट विद्रोह गरी परित्याग गर्नेछन् वा अनशनकारीहरुको अनशनमै मृत्यु हुने हो भन्ने दुविधा देखिएको छ ।


२०७२ भाद्र १३ गते आईतबार

एमाओवादीका मधेसी नेता पनि आन्दोलनमा

एमाओवादी भट्टराई पक्षका मधेसी नेताहरु 
पत्रकार सम्मेलन गरी आन्दोलनमा जाने घोषणा गर्दै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
तराई–मधेसमा दुई प्रदेशको माग गर्दै एमाओवादीको मधेसी नेताहरुले आन्दोलनको घोषणा गरेका छन् । नेता रामचन्द्र झा, विश्वनाथ साह, मधेसी राष्टिू मुक्ति मोर्चाका संयोजक रामकुमार शर्मा, महासचिव रामरिझन यादव, सभासद महेन्द्र पासवान लगायतले पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई जानकारी गराएर आन्दोलनको घोषणा  गरेका हुन् ।
    माओवादीका मधेसी नेताहरुले आन्दोलनका क्रममा कांग्रेस र एमालेलाई दबाव दिने तथा मधेसी मोर्चाका नेताहरुले पार्टी्विरुद्ध गरेको प्रचारको भण्डाफोर गर्ने बताएका छन् । ‘माओवादीले एजेण्डा छाड्यो भन्ने प्रचार भएको छ । भ्रम चिर्न र पार्टीले राखेको फरक मतलाई जनतासम्म र्पुयाउन आन्दोलनमा जान लागिएको हो’ नेता साहले भने । मोर्चाले १० बुँदे माग अघि सारेको छ । जसमा सेना परिचालन फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, घाइतेको उपचार गर्नु पर्ने, थारु मधेसी लगायतको माग सम्बोधन गर्दै पहिचानमा आधारित दुई प्रदेश मधेसमा बनाउने लगायत छन् । 

    माओवादीको मधेसी मोर्चाले १७ गते सदरमुकाममा विरोध प्रदर्शन र गाउँमा मसाल जुलुस निकाल्ने बताएको छ । एमाओवादी नेता रामचन्द्र झाले पार्टी हेडक्वाटरको निर्देशन र सल्लाहमै आन्दोलनमा जान लागेको बताएका छन् । माओवादीका मधेसी नेताहरुले मधेसमा दुई प्रदेश बनाउनु पर्नेसहितका १० बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । एमाओवादी नेता झाले वार्तामा बसेका नेताहरुलाई बल र्पुयाउन र जनमतलाई सडकमा उतार्न आन्दोलनको घोषणा गरेको बताए ।  नेता झाले भने(‘पार्टी हेडक्वाटरको निर्देशन र सल्लाहमा नै आन्दोलनमा अघि बढाउन लागिएको हो ।’ मधेसका कतिपय ठाउँमा आन्दोलन हिंसात्मक भएकाले पनि सामाजिक सद्भाव खलबलिन नदिन आफूहरु आन्दोलनमा जान लागेको मधेसी राष्टिूय मुक्ति मोर्चाको दाबी छ । आन्दोलनमा जानुको कारण बताउँदै नेता झाले भने(सामाजिक सद्भाव खलबलिन र हिंसा भड्किने अवस्था आउँदा हामी चुपचाप बस्न सक्दैनौं ।’ 

माओवादी नेता झाले आफूहरु मधेसी राष्टिूय मुक्ति मोर्चाको व्यानरमा आन्दोलनमा जाने बताए । ‘कतिपय मुद्दामा हाम्रो नैतिक समर्थन रहन्छ’ उनले भने(तर, हाम्रो आफ्नै अस्तित्व छ । सबैसँग मिसिएर आन्दोलन गर्दैनौं ।’ नयाँ संविधान निर्माणका क्रममा पार्टीले राखेका फरक मतहरु जनतासम्म लैजान पनि आन्दोलनमा जानु परेको माओवादीका मधेसी नेताहरुको दाबी छ । तर, आफूहरुको आन्दोलन संविधान निर्माणलाई अवरोध गर्न नभएको नेता झाले बताए । एमाओवादीको मधेसी मोर्चाले अघि सारेको १० बुँदे मागको पहिलो नम्बरमा नै आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको उपचार सरकारले गर्नु पर्ने उल्लेख छ ।
तपाईहरु सहभागी नै नभएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न माग गर्नु भएछ नि भन्ने प्रश्नमा झाले भने(आन्दोलनमा जनताले सहादत दिएका छन् भने राज्यले सहिद घोषणा गर्नुपर्छ ।’

भट्टराई पक्षका नेता छुट्टै आन्दोलनमा
एमाओवादीका मधेसी नेताहरुले आन्दोलनको घोषणा गरे लगत्तै श्रवण बरवरियाको नेतृत्वमा बाबुराम भट्टराई पक्षका माओवादी मधेसी नेताहरुले छुट्टै आन्दोलन गर्ने घोषणा गरेका छन् । ११ भदौमा जनकपुरको गोपाल धर्मशालामा आफुहरु समानान्तर कमिटि अन्तरगत भट्टराई पक्षको आधिकारिक नेता रहेको दावी गर्दै तिनीहरुले मधेसी राष्टिूय मुक्ति मोर्चाको धनुषाको ब्यानरमा सुरुमा जनकपुरमा आन्दोलन गर्ने र पछि मधेसको अन्य जिल्लाहरुमा पनि आन्दोलन चर्काउने बताएका थिए । 

बरबरियाले प्रचण्डले मधेसको आन्दोलनमा घुसपैठ गराएर मधेसीको हक अधिकारबाट बञ्चित गराउन, आन्दोलनलाई हाईजेक गराउन केही मधेसी नेताहरुलाई परिचालन गरेको आरोप लगाए । प्रचण्ड मधेसीको पक्षमा नभएर विपक्षमा रहेको भन्दै प्रचण्ड खस पहाडीको नेता रहेको उनले आरोप समेत लगाए ।
 

२०७२ भाद्र १३ गते आईतबार

अमरेश सिंहलाई कारवाहीको डण्डा, सिंहले दिए स्पष्टिकरणको जवाफ

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेसी र थारुहरुको अधिकार सुनिश्चित गराउन निरन्तर अभियान चलाएका नेपाली कांग्रेसका सभाषद तथा केन्द्रिय सदस्य डा.अमरेश कुमार सिंहलाई पार्टीले कारवाही गर्ने भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नै पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका भन्दै सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन् । पूर्वका कांग्रेस सभासभासद्हरुसंग ११ भदौमा संविधानसभा भवनमा भएको छलफलमा कोइरालाले अनुशासन समिति मार्फत सिंहमाथि कारवाही हुने सेतोपाटी डट कममा समाचार प्रकाशन भएको छ ।

पार्टीको अनुशासन समितिले अमरेशलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । ‘तपाईहरू ढुक्क हुनुहोस् त्यस्तोलाई कारवाही हुन्छ’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै सहभागि एक सभासद्ले भने, ‘तपाईहरुले भन्नु अघि नै मैले कारवाही प्रकृया अघि बढाईसके को छु ।’ पहाडीया र मधेशीबीचको सामाजिक सदभाव खल्बलाउने अभिव्यक्ति दिदै आएका सिंहमाथि कारवाही नभएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका थिए । छलफलमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थिए ।
तर, प्रधानमन्त्री कोइरालाले आफुलाई कारवाही गर्ने भनेर बैठकमा नबोलेको सभाषद सिंहले द एक्सक्लुसिभलाई बताएका छन् । काठमाण्डौका मिडियाहरु अमरेश सिंहलाई कारवाही हुनुपर्छ भन्ने मनोविज्ञान बनाएर भ्रामक समाचारहरु सम्प्रेषण गरिरहेको सिंहले बताए ।

सिंहले दिए स्पष्टिकरणको जवाफ
 नेपाली कांग्रेसको अनुशासन समितिले ९ भदौमा अमरेश सिंहलाई काटेको २४ घण्टे स्पष्टीकरण पत्र पार्टीले उनलाई बुझाउन सकेको थिएन ।  उनी काठमाण्डौमा नभएका कारण पत्र बुझ्न सकेका थिएनन् । तर, ११ भदौमा सिंहले पत्र बुझेको ४ घण्टा मै पार्टी कार्यालयमा गएर जवाफ दिएका थिए । 

नेपाली कांग्रेसको विधानमै अन्यायमा, विभेदमा परेको कमजोर वर्गहरुका पक्षमा बोल्ने कुरा उल्लेख भए अनुसार आफुले पनि यो देशको विभेदमा परेको मधेसी, थारु र दलितहरुको हक अधिकारका बारेमा बोल्नु आफ्नो दायित्व रहेको उनले स्पष्टीकरणको जवाफ दिएका छन् । सिंहका अनुसार कैलालीमा मासमा गरेको भाषणको आधारमा आफुलाई कारवाही गरिनुपर्ने कुराको समेत जवाफ दिएका छन् । 

हरेक शान्तिपुर्ण आन्दोलनमा दमन भएपछि आफुसँग रहेको लाठी भाला लिएर प्रतिकार गर्नु पनि नागरिकको दायित्व भएको कन्डिसनल कुरा आफुले गरेको सिंहले दिएको जवाफमा उल्लेख गरिएको उनले द एक्सक्लुसिभलाई बताए । भाषण कै आधारमा कारवाही गर्ने हो भने यो देशमा हरेक नेताले भाषणमा हरेक किसिमका अभिव्यक्तिहरु दिएका छन् । त्यसो भए सबैलाई कारवाही गर्ने त भन्ने उल्टो प्रश्न उनले गरेका छन् । मासमा जनताको मुड र चाहनाको आधारमा आफुले अभिव्यक्ति दिएको उनले बताए ।
 लोकतन्त्रमा जनताको लागि राजनीति गर्ने हो । र, त्यसो गर्नु पार्टीको विधान विपरित होइन उनले द एक्सक्लुसिभलाई बताए । पार्टीले कारवाही गर्ने वा नगर्ने भन्ने कुरा पार्टीमा निर्भर रहेको भन्दै उनले भने,‘ पार्टीले कारवाही गरेपनि लोकतन्त्रमा जनता मालिक हुन्छ र म जनताको बीचमा गएर जनताको लागि राजनीति गर्नेछु ।’

चित्तबुझ्दो जवाफ पार्टीलाई नदिए पार्टीको अनुशासन समितिले पार्टी विधान र नियमावली अनुसार, कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्न सक्ने छ ।विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्ने छ । सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निश्कासन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्ने छ। त्यस्तै पछिल्लो दल त्याग एन अनुसार संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ । समितिले गरेको निर्णय कारबाहीमा परेका सदस्यलाई चित्त नबुझेमा कारबाहीको सूचना पाएको मितिले ३५ दिनभित्र पार्टी केन्द्रीय समितिमा पुनरावेदनका लागि दिन सक्नेछन् र केन्द्रीय कार्यसम्पादन समितिले निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कैलालीको टिकापुर लगायत विभिन्न भागमा भएका कार्यक्रममा पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको र हिंशा भड्काउन सहयोगी बनेको भन्दै कांग्रेसको अनुशासन समितिले सिंहलाई पत्र काटेको हो । पछिल्लो समय राष्टू विखण्डनदेखि सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिएको भन्दै उनले दिएको अभिव्यक्तिको रेकर्ड अध्ययन गरी अनुशासन समितिले पार्टी विधान र नियमावली नियम ४१ को उपनियम १ र २ को क, ख, घ, ङ र ज अनुसार स्पष्टिकरण माग गरेको छ । यसअघि सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसँग स्पष्टिकरण माग गरेका थिए ।     सिंहले २४ घण्टे जवाफ शुक्रबार बुझाएपछि शनिबार र आइतबार सार्बजनिक विदा भएको हुनाले पार्टीले कारवाही गर्ने वा नगर्ने, गरे कस्तो कारवाही गर्ने निर्णय गर्नेछ । सिंहलाई पार्टीले कारवाही गरेपनि उनले मधेसी, थारु, दलित समुदायको पक्षमा अभिव्यक्ति दिएका कारण मधेसमा उनी लोकप्रिय नेताको रुपमा उभ्रिदै गएका छन् । यदि उनलाई कारवाही गरेपनि जनताले उनलाई स्वागत गर्ने र उनलाई आगामी चुनावमा जुनसुकै पार्टीबाट आएपनि अत्यधिक मतले जिताइने मधेसी जनताहरुको भनाई छ ।

२०७२ भाद्र १३ गते आईतबार