Wednesday, September 13, 2017

कांग्रेस धनुषाबाट सबै स्थानीय निकायमा बागी उम्मेदवारीको बाढी जनकपुर उपमहानगरपालिकाको अधिकांश वडाअध्यक्षमा कांग्रेसको बागी उम्मेदवार जनकपुरको मेयरमा कांग्रेसको बागी जित्ने गरेको इतिहास

नेपाली कांग्रेसका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
अजय अनुरागी
जनकपुरधाम............
नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधिले असोज २ गते हुन लागेको प्रदेश नम्बर २ को १ सय ३६ वटा स्थानीय तहको निर्वाचनमा १ सय भन्दा वढी सिट नेपाली कांग्रेसले जित्ने दावी गरेका थिए । नेपाली कांग्रेसका पार्टी सभापति देखि पदाधिकारीहरु तथा प्रदेश नम्बर २ का सबै नेता, सांसद समेतको जनकपुरमा गरिएको वृहत भेलामा नेता निधिले उक्त घोषणा गरेका थिए । तर, धनुषाको १८ वटा स्थानीय तहको निर्वाचन भईरहेको बेला अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । जनकपुर उपमहानगरपालिकामै मेयर र उपमेयर पदमा बागी उम्मेदवारी औपचारिक रुपले नभएपनि उपमहानगरपालिकाका प्रायः जसो सबै वडाहरुमा कांग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा मनोज कुमार साह र उपमेयर पदमा निलम कर्णलाई टिकट दिएपछि असंतुष्ट बनेका अन्य आकांक्षीहरुले ती दुवै पदमा बागी उम्मेदवारी नदिएपनि कांग्रेसको आधिकारिक उम्मेदवारहरुलाई नै भने सहयोग नगर्ने परिस्थिति देखिएको छ । राजपा नेपालका मेयरका उम्मेदवार लालकिशोर साहलाई असंतुष्टहरुले मतदान गर्न सक्ने आंकलन गरिएको छ । किनभने कांग्रेसका आधिकारिक मेयरका उम्मेदवार संस्थापन पक्ष देउवा गुटका हुन भने लालकिशोर साह विगतमा नेपाली कांग्रेसमा रहँदा कोइराला गुटमा आबद्ध थिए ।
प्रायः जसो वडामा कांग्रेसका बागी उम्मेदवार
जनकपुर उपमहानगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत नरहेका देवु यादवलाई टिकट दिइएपछि कांग्रेसका सहिद विष्णुदेव महतोका भाई धर्मदेव महतो बागी भई स्वतन्त्र रुपमा मनोनयन भई उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यसैगरी उपमहानगरपालिका वडा नं. २ मा वडा अध्यक्ष पदमा गणेश झालाई टिकट दिएपछि नेपाली कांग्रेसका वडा सभापति जगदीश पोदारले वडा सभापतिबाट राजिनामा दिएका छन् । पोदार असंतुष्ट भएका छन् । त्यसैगरी वडा नं. ३ मा अनिरुद्ध साहलाई वडा अध्यक्षमा टिकट दिएपछि विगतमा दुई पटक पार्टीका वडा अध्यक्ष भएका श्रीकान्त झाका छोरा दिपेन्द्र झा असंतुष्ट भएका छन् ।
त्यसैगरी वडा नं. ४ मा आधिकारिक रुपमा नेपाली कांग्रेसले संतोष साहलाई टिकट दिएपछि पुर्व वडा अध्यक्ष समेत रहेका सुरेश झा बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी ५ वडा नं.मा मनोज साहलाई वडा अध्यक्षको लागि टिकट दिएपछि बेचन बाबा भन्ने बेचन साह जो (उक्त वडाका बरिष्ठ नेता पनि हुन) ले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी वडा नं. ६ मा शिवजी रायलाई टिकट दिएपछि कांग्रेसका बरिष्ठ नेता तथा पार्टीका पुर्व वडा अध्यक्ष जगरनाथ साहले पार्टी परित्याग गरी राजपा नेपालबाट वडाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी वडा नं. ७ मा रामनारायण पाठकलाई नेपाली कांग्रेसले वडा अध्यक्षमा टिकट दिएपनि नेपाली कांग्रेसका नेता तथा जनकपुर नगरपालिकाका पुर्व वडा अध्यक्ष असंतुष्ट बनेका छन् । त्यसैगरी वडा नं. ८ मा सुकचन्द्र मिश्रलाई वडा अध्यक्षमा टिकट दिएपछि आकांक्षीहरु तरुण दलका नगर अध्यक्ष प्रकाश मिश्र असंतुष्ट बनेका छन् । सोही वडाका अर्का आकांक्षी रमेश ठाकुरले पार्टी परित्याग गरी वडाअध्यक्षमा राजपा नेपालबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रकाश मिश्र र रमेश ठाकुर उक्त वडामा प्रभाव राख्ने रामानन्द क्लवका पुर्व अध्यक्ष पनि हुन । असंतुष्ट भएका प्रकाश मिश्र राजपाका उम्मेदवार राजपाका उम्मेदवार रमेश ठाकुरका प्रचार प्रसारमा देखिएका छन् ।
त्यसैगरी वडा नं. ९ मा सर्वसम्मतीमै टिकट दिएका कारण असंतुष्टिका स्वरहरु सुनिएका छैनन् । त्यसैगरी वडा नं. १० मा मिथिलेश कर्णलाई नेपाली कांग्रेसले वडा अध्यक्षमा टिकट दिएपछि असंतुष्ट बनेका पार्टीका वडा समिति मोती लाल साह बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी वडा नं. ११ मा जानकी साहलाई वडा अध्यक्षमा टिकट दिइएपछि नेपाली कांग्रेसकै क्षेत्रिय प्रतिनिधि तथा उक्त वडाका पुर्व वडा अध्यक्ष गौरी साहले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उक्त वडा अध्यक्षका अर्का आकांक्षी अर्जुन चौधरी पनि असंतुष्ट बनेका छन् । १२ नम्बर वडामा शत्रुधन यादवलाई टिकट दिएपछि तरुण दलका नेता समेत रहेका दिलिप मण्डल बागी भई स्वतन्त्रमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिकाका १३ नम्बर वडामा जितबहादुर राउतलाई वडा अध्यक्ष पदमा टिकट दिइएपछि आकांक्षी पृथ्वी साह लगायतका व्यक्तीहरु असंतुष्ट बनेका छन् ।
उपमहानगरपालिकाको १४ नम्बर वडामा रामबरण पासवानलाई टिकट दिएपछि पार्टीकै पुर्व नगरअध्यक्ष श्रीराम साह तथा आकांक्षी मोहन यादव लगायतका समुह असंतुष्ट देखिएका छन् । १५ नम्बर वडामा अशोक चौधरीलाई टिकट दिइएपछि नगरपालिकाका दुई पटक सम्म वडा अध्यक्ष बनेका रामचन्द्र साह असंतुष्ट बनेका छन् । १६ नम्बर वडा कपिलेश्वरमा रामचन्द्र पजियारलाई सहमतिको आधारमा टिकट दिइएको छ । वडा नं. १७ कनकपट्टीमा क्रियाशिल सदस्य समेत नरहेका धर्मेन्द्र यादवलाई टिकट दिएपछि आकांक्षीहरु बालबोध यादव र उतिम लाल मण्डल असंतुष्ट देखिएको छ । वडा नं. १८ महुवामा सहमतिको आधारमा जासिम नदाफलाई टिकट दिइएको छ ।
त्यसैगरी वडा नं. १९ बेंगाशिवपुरमा बुलन यादवलाई वडाअध्यक्षमा टिकट दिएपछि सुरेश यादव बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । बागी सुरेश यादवलाई पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा तथा धनुषाका सांसद चन्द्रमोहन यादवको समेत समर्थन रहने बताइन्छ । वडा नं. २० देवपुरा रुपैठामा उम्मेदवारी मनोनयन दर्ताका क्रममा रोचन दृष्य नै देखियो । देवपुरा रुपैठाबाट सुरेन्द्र साह उम्मेदवारी मनोनयन दर्ताका लागि जुलुस लिएर आएका थिए तर टिकट जोगेन्द्र साहले पाए । सुरेन्द्र साह असंतुष्ट बनेका छन् । २१ नम्बर वडा कुर्थामा राजनारायण साहलाई टिकट दिइएको छ । यहाँ पनि सानातिना असंतुष्टिहरु देखिएका छन् । आकांक्षी वृजलाल महासेठ असंतुष्ट बनेका छन् । त्यसैगरी वडा नं. २२ बसविट्टीमा  लालबाबु मिश्रलाई टिकट दिइएपछि वडा अध्यक्षका अर्का आकांक्षी नेपाली कांग्रेसका वडा सभापति विलट मण्डल असंतुष्ट बनेका छन् ।
त्यसैगरी २३ नम्बर वडा विन्धीमा शत्रुधन पाण्डेलाई वडा अध्यक्षमा टिकट दिइएपछि क्षेत्रिय प्रतिनिधि समेत रहेका केवल शर्मा बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । र, कांग्रेसका पार्टीका वडा सभापति नसरुल राईनले बागी भएर स्वतन्त्र रुपमा वडा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वडा नं. २४ बसहियामा विशेश्वर शर्मालाई टिकट दिइएपछि यहाँका प्रभावशाली नेता समेत रहेका आकांक्षी चन्द्रभुषण सहनी असंतुष्ट बनेका छन् । २५ नम्बर वडा लोहनामा उमेश यादवलाई टिकट दिइएपछि कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका निवर्तमान गाविस अध्यक्ष चन्देश्वर साह बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
धनुषाका विभिन्न तहमा बागी
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयरमा क्षेत्र नं. ५का क्षेत्रिय सभापति योगेन्द्र पजियारलाई टिकट दिइएको छ । तर, आकांक्षी सुखदेव यादव अन्तिम समयमा आएर पार्टी परित्याग गरी संघीय समाजवादी फोरमबाट मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहाँका सांसद चन्द्रमोहन यादव पनि आन्तिक रुपमा सुखदेव यादवले समर्थन गरिएको बताइएको छ ।
त्यसैगरी लक्ष्मिनियाँ गाउँपालिकामा नेपाली कांग्रेसका कोमलकान्त झालाई टिकट दिइएपछि  महोत्तरीबाट कांग्रेसका सांसद रहेकी केन्द्रिय सदस्य किरण यादवका साखै भाई बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । किरण यादव पुर्व राष्टूपति रामबरण यादवको भतिजी हुन भने हालका राष्टूपति विद्यादेवी मण्डारीका सम्धिनी हुन ।
हंसपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रदिप यादवलाई मेयरको टिकट दिएपछि कांग्रेसका अर्का आकांक्षी भरोसी मण्डलले बागी भई स्वतन्त्र भई उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । गणेशमान चारनाथ नगरपालिकामा संजय महतोलाई नेपाली कांग्रेसले मेयरको टिकट दिएपछि पार्टीका नेता चरित्रर यादव बागी भई स्वतन्त्र भई मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बागी पनि आधिकारिक उम्मेदवार ः लिला कोइराला
धनुषामा कांग्रेसको राजनीतिमा दुईवटा गुटहरु प्रष्ट रुपमा देखिन्छन् । एउटा गुटको नेतृत्व विमलेन्द्र निधिले गरिरहेका छन् भने रामचन्द्र पौडेलको गुटका तर्फबाट जनकपुरमा लिला कोइरालाले गरिरहेका छन् । कांग्रेसको तर्फबाट बागी भई स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्तिहरु पनि कांग्रेसको आधिकारिक उम्मेदवार नै रहेको भनेर २४ भदौमा जनकपुरको एक स्थानीय पत्रिकामा लिला कोइरालाले बयान दिएका छन् । पार्टीका थुप्रै असंतुष्ट नेता, कार्यकर्ताहरु चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनु अस्वाभाविक नभएको, टिकट वितरणमा विमलेन्द्र निधिले एकलौटी रुपमा आफ्नै गुटका मानिसहरु लडाउँदा पार्टीका पुराना र इमान्दार कार्यकर्ताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिन बाध्य भएको नेपाली कांग्रेसकी नेत्री कोइरालाले बताएकी छिन् । कांग्रेसका कतिपय नेताहरु खुलेर नै कांग्रेसका बागी भई स्वतन्त्र लडेका उम्मेदवारहरुको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
बागी उम्मेदवारलाई कारवाही हुने ः सभापति यादव
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव संस्थापन पक्ष देउवा गुटका नेता हुन । नेता विमलेन्द्र निधि निकट रहेका सभापति यादव भन्छन,“ पार्टीको निर्णय, विधान विपरित बागी भएर उठेका सम्पुर्ण उम्मेदवारहरु, ती उम्मेदवारका प्रस्तावक र समर्थक सहित प्रचार प्रसारमा लाग्ने सबै कार्यकर्ताहरुलाई पार्टीले कारवाही गर्नेछ ।” लिला कोइरालाले बागीका उम्मेदवार पनि कांग्रेसकै स्वतन्त्र उम्मेदवार रहेको भनेर भन्नु गलत रहेको यादवले बताए ।
जनकपुरको मेयरमा कांग्रेसको बागी नै  निर्वाचित हुने गरेको इतिहास
अहिलेको जनकपुर उपमहानगरपालिका र विगतको जनकपुर नगरपालिकामा मेयर तथा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारहरु नै निर्वाचित हुने गरेको इतिहास रहेको छ । राजनीतिक दलहरुले प्रमुख पदमा जित हासिल गर्न सकेको देखिँदैन । त्यसो त उक्त नगरपालिका नेपाली कांग्रेसको गढ हो । तर, कांग्रेसले उठाएका आधिकारिक उम्मेदवारको विरुद्ध उठ्ने कांग्रेस कै बागी उम्मेदवार स्वतन्त्रबाट निर्वाचित हुने गरेका छन् ।
२०४६ सालमा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि पनि सम्पन्न स्थानीय निकायका चुनावहरुमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरु जित्ने गरेका छन् । २०४९ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए । लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए । साहले कांग्रेसको आधिकारिक उम्मेदवार किशोरी साहलाई पराजित गरेका थिए । २०५४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंग प्रसाद साह स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए । साहले कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर उपाध्यायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह उपमेयरमा निर्वाचित भएका थिए ।
२०५४ सालमा जनकपुरको निर्वाचन परिणाम
२०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा जनकपुर नगरपालिका भित्र १६ वटा वडाहरु थिए । ३८ हजार ४ सय ३४ मतदाता रहेको जनकपुर नगरपालिकामा त्यो चुनावमा २१ हजार ३ सय ९३ मत खसेको थियो । प्रतिशतको आधारमा ५५.६६ प्रतिशत खसेको थियो । २०५४ सालमा जनकपुर नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य र महिला सदस्यहरु गरी कुल ८२ वटा पदहरुका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले २४, नेकपा एमालेले २२, राष्टिूय प्रजातन्त्र पार्टीले २० र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानमा जित हात पारेका थिए ।
 उक्त निर्वाचनमा जनकपुर नगरपालिकामा मेयर पदका लागि १४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका दामोदर प्रसाद उपाध्याय, नेकपा एमालेका मदन मोहन थापा, राष्टिूय प्रजातन्त्र पार्टीका श्रवण कुमार साह, नेपाल सदभावना पार्टीका कामेश्वर भुमिहारले मेयर पदमा उम्मेदवारी दिएका थिए । यसका अतिरिक्त अशोक लाल दास, उमाकान्त पाण्डे, गंगाप्रसाद साह कलवार, देवचन्द्र झा, बजरंग प्रसाद साह, भृगुनाथ ठाकुर, मनोज कुमार साह, मनोज कुमार साह तेली, लालकिशोर साह, विजय कुमार साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेसको पकड मानिने जनकपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बजरंग प्रसाद साहले ५ हजार ९ सय ८७ मत ल्याई मेयरमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका टिकट नपाएपछि कांग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्र भई मेयरमा निर्वाचित भएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर प्रसाद उपाध्यायले ५ हजार ७९ मत ल्याई दोस्रो र एमालेका मदन मोहन थापा ४ हजार १ सय ९३ मत ल्याई तेस्रो भएका थिए । राप्रपाका श्रवण कुमार साहले ४ हजार ७ मत ल्याई चौथो भएका थिए भने कांग्रेसकै अर्को बागी उम्मेदवार लालकिशोर साह १ हजार ६ सय ३५ मत ल्याई पाँचौं भएका थिए ।
त्यसैगरी जनकपुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह ७ हजार ८ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मोहम्मद असगर अलि मुसलमान ५ हजार ७ सय ३६ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । नेकपा एमालेका विजयलाल दासले ४ हजार १ सय ४२ मत ल्याई तेस्रो स्थानमा सिमिति हुनु पुगेको थियो । उपप्रमुखमा नेपाल सदभावना पार्टीका उपेन्द्र प्रसाद उपाध्याय र अन्य स्वतन्त्र उम्मेदवारहरु इस्माईल अनसारी, पशुपतिनाथ झा, मनोहर खाँती, रमेश कुमार कोइराला, राजदेव मिश्र र रामपुकार रायले पनि उम्मेदवारी दिएका थिए ।
जनकपुरको वडा नं. १ मा नेकपा एमालेका माधव बहादुर थापा ३ सय २२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विष्णुदेव महतोले ३ सय १६ मत ल्याई दोस्रो र स्वतन्त्र उम्मेदवार उमेश प्रसाद सिंह राजपुत २ सय ४९ मत ल्याई तेस्रो भएका थिए । उक्त वडामा वडा सदस्यको रुपमा नेकपा एमालेका कुलदिप सदा, नेकपा एमालेका बद्रीरवि दास, नेकपा एमालेका श्याम कुमार साह सुडी निर्वाचित भएका थिए । त्यसैगरी महिला सदस्यमा स्वतन्त्रबाट सुधा गिरी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका केशव प्रसाद ढुङ्गेल ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका मनोज कुमार शर्मा ३ सय ६० मत ल्याई पराजित भएका थिए । राप्रपाका विक्रम साह तेलीले १ सय ९० मत ल्याई तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । उक्त वडामा वडा सदस्यमा स्वतन्त्रबाट अरुण भट्टराई, स्वतन्त्रबाटै गणेश झा र महिला सदस्यमा स्वतन्त्रबाट रेणु झा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ३ मा वडा अध्यक्षमा स्वतन्त्रबाट इश्वर कुमार ढुङ्गानाले १ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जोगेन्द्र साह तेली १ सय २६ मत ल्याई दोस्रो र स्वतन्त्रबाट जयविर राय कुर्मीले १ सय ४ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यमा नेपाली कांग्रेसका बैद्यनाथ साह तेली, राप्रपाका रामनारायण लोहार र हरिनन्दन झा मैथिल, महिला सदस्यमा राप्रपाका शशिदेवी ढुङ्गाना निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार राघोसिंह राजपुत ५ सय ९० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेकपा एमालेका भरत साह ५ सय ५४ मत ल्याई दोस्रो र नेपाली कांग्रेसका हेमचन्द्र चौधरीले २ सय ७७ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका अशोक श्रेष्ठ, जिवन कुमार यादव, नेपाली कांग्रेसका मिश्री ठाकुर सोनार र महिला सदस्यमा नेकपा एमालेका दिपा महर्जन निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेका हफिज अनसारीले २ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रमोद कुमार चौधरीले २ सय ६ मत र राप्रपाका उमेश चौधरीले १ सय ४५ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । वडा सदस्यहरुमा स्वतन्त्रबाट व्रिजनन्दन प्रसाद साह कलवार, नेकपा एमालेका श्याम प्रसाद साह कलवार, राप्रपाका श्रवण मण्डल धानुक र महिला सदस्यमा राप्रपाका आशा देवी साह हलुवाई निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ६ मा राप्रपाका इद्रीश कवाडी ४ सय ६६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने स्वतन्त्रबाट जगरनाथ साहले ४ सय ५९ मत ल्याई पराजितभएका थिए । वडा सदस्यहरुमा राप्रपाका रामकुमार मण्डल, राप्रपाका लखन राय, राप्रपाका लालबाबु अन्सारी र महिला सदस्यमा स्वतन्त्रबाट प्रमिला देवी साह निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ७ मा राप्रपाका जिवछ साह तेली ३ सय ९१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामएकवाल साह तेली २ सय ६४ मत र नेकपा एमालेका जगदीश साह तेली २ सय ५१ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरुमा राप्रपाका अहमद रेजा राईन, राप्रपाका नथुनि साह तेली, राप्रपाका विश्वनाथ दास तत्मा, र महिला सदस्यमा नेपाली कांग्रेसका सुमित्रा देवी श्रीवास्तव निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ८ मा स्वतन्त्रबाट अवधेश कुमार पोखरेल ३ सय ९८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेका कामेश्वर प्रसाद महतो सुडीले २ सय १५ र नेपाली कांग्रेसका अवधेश कुमार ठाकुरले १ सय ३३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका प्रमोद प्रसाद पोखरेल, नेकपा एमालेका मोहन प्रसाद उपाध्याय, नेकपा एमालेका रामसेवक यादव र महिला सदस्यमा देवता देवी चौधरी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेका आनन्द राज ढकालले ५ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रेमचन्द्र कायस्थले ५ सय ३ र स्वतन्त्रबाट नारायण प्रसाद साह तेलीले ७३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका परमेश्वर साह, नेकपा एमालेका भक्त राज रेग्मी, नेकपा एमालेका राजकुमार प्रसाद गुप्ता र महिला सदस्यमा राप्रपाका इन्दिरा देवी झा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका रामेश्वर ठाकुर हजाम ४ सय ६३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका टेकनारायण यादव ४ सय ४५ मत ल्याई दोस्रो र स्वतन्त्रका भोला प्रसाद साह कलवार १ सय मत ल्याई तेस्रो भएका थिए । वडा सदस्यहरुमा राप्रपाका हृदयकान्त ठाकुर, नेपाली कांग्रेसका मोती लाल साह हलुवाई, नेपाली कांग्रेसका मिथिलेश कुमार कायस्थ र महिला सदस्यमा नेपाली कांग्रेसका चिन्तु पाठक निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ११ मा स्वतन्त्रबाट जानकी प्रसाद साह तेलीले २ सय ४७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका अर्जुन कुमार चौधरी २ सय २९ र स्वतन्त्रबाट किशोरी साह सुडी १ सय १७ मत ल्याई क्रमशः दोस्रो र तेस्रो भएका थिए । वडा सदस्यहरुमा स्वतन्त्रबाट दिपेन्द्र कुमार साह, स्वतन्त्रबाट फेकन दास तत्मा, नेपाली कांग्रेसबाट लक्ष्मण महासेठ र महिला सदस्यमा नेकपा एमालेका निलम देवी साह कानु निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १२ मा राप्रपाका महेन्द्र साहले ७ सय ५ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शत्रुधन यादव ५ सय ६ मत र नेकपा एमालेका रामजुलम राउतले २ सय ८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरुमा राप्रपाका इश्वर मण्डल, राप्रपाका बेचन मुखिया, राप्रपाका विश्वनाथ महतो र महिला सदस्यमा राप्रपाका सरस्वती सिंह निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १३ मा नेकपा एमालेका सत्यनारायण यादवले ५ सय ५८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका विलट साह तेलीले २ सय ६५ र स्वतन्त्रका राम दयाल राउत कुर्मीले ७९ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका फुलगेन साह तेली, नेकपा एमालेका रामचलितर साह सुडी, नेकपा एमालेका रामप्रबोध राउत कुर्मी र महिला सदस्यमा नेकपा एमालेका रामकुमारी देवी साह सुडी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १४ मा स्वतन्त्रबाट रामबरण पासमान ३ सय २९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाटै राजदेव ब्राम्हणले २ सय ३४ र स्वतन्त्रबाट श्रीप्रसाद यादव ग्वालाले ३ सय २६ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका विल्टु राउत कुर्मी, राप्रपाका मुकुन्द घिमिरे, नेकपा एमालेका शंकर ठाकुर र महिला सदस्यमा नेकपा एमालेका राजकुमारी ठाकुर हजाम निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १५ मा नेपाली कांग्रेसका रामचन्द्र साह तेलीले ५ सय ५० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका कृष्णदेव चौधरी सुडीले ४ सय ६९ र नेकपा एमालेका रामदयाल चौधरी सुडीले ४२ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका जगदेव दास तत्मा, नेपाली कांग्रेसका जोगिन्दर साह सुडी, नेपाली कांग्रेसका राजकिशोर मण्डल केवट र महिला सदस्यमा नेपाली कांग्रेसका जमुनि देवी दास तत्मा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १६ मा नेपाली कांग्रेसका रामचन्द्र पजियार सुडीले १ हजार १ सय ९९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका विक्रम पजियार सुडीले ७ सय ८० र नेकपा एमालेका गंगाधर मण्डलले ४८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका गनौर मण्डल धानुक, नेपाली कांग्रेसका बेचु भगत तमोली, नेपाली कांग्रेसका मोहन लाल कर्ण र महिला सदस्यमा नेपाली कांग्रेसका लालो देवी यादव निर्वाचित भएका थिए ।


२०७४ भाद्र २५ गते आईतबार

निर्वाचन प्रचारका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरुद्वारा निर्वाचन आचार संहिताको व्यापक उल्लंघन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्थानीय तहको निर्वाचनका क्रममा विभिन्न राजनीतिक दलहरु तथा उम्मेदवारहरुद्वारा निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ । धनुषाका प्रायः जसो राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार, घरदैलो कार्यक्रम तथा जुलुसहरुमा बालबालिकाहरुलाई प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई विभिन्न पार्टीहरुले आआफ्नो चुनाव चिन्ह अंकित टिसर्टहरु वितरण गरेर हातमा झण्डा सहितको सामग्रीहरु प्रदान गरेर आचार संहिता उल्लंघन गर्ने गरिएको छ ।
यसका अतिरिक्त विभिन्न उम्मेदवार तथा राजनीतिक दलहरुले सवारी साधनमा निर्धारित व्यानरको साईज ३ फिट÷५ फिट भन्दा ठूलो आकारको व्यानर, झण्डा तथा प्रचार सामग्रीहरु प्रयोग गरेको पाइएको छ । निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाईकल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साईकल, रिक्सा, टाँङ्गा, एक्का तथा गोरुगाडा जस्ता सवारी साधनको ¥याली गर्न वा गराउन निर्वाचन आयोगले प्रतिबन्ध लगाएपनि धनुषामा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले प्रयोग गर्ने पाइएको छ ।
नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादव भन्छन,“ हामीहरुले बालबालिकालाई प्रयोग गरेका छैनौं । निर्वाचन आचार संहिताको किताव नै राखेका छौं । सबै उम्मेदवारहरुलाई आचार संहिता उल्लंघन नगर्न प्रष्ट रुपमा निर्देशन दिईसकेका छौं ।” यद्यपि अन्य राजनीतिक दल र उम्मेदवारहरुले आचार संहिता उल्लंघन गरिरहेको छ भन्दै कांग्रेस सभापति यादव भन्छन,“ आचार संहिता उल्लंघनको सिकायत निर्वाचन आयोगमा कसैले गरिरहेको छैन । अर्को तर्फ निर्वाचन आयोगले आफै पनि अनुगमन गरेर उल्लंघन गर्ने उम्मेदवार तथा दलहरुलाई कारवाही गर्नुपर्दछ ।” त्यसैगरी नेकपा एमाले धनुषाका प्रबक्ता राजकुमार यादव भन्छन,“ एमाले एउटा संयमित पार्टी हो । हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म कहिँ कतै आचार संहिता उल्लंघन गरिएको छैन । यद्यपि अन्य पार्टीहरुले आचार संहिता उल्लंघन गरिरहेका छन् । निर्वाचन आयोगले तिनीहरुलाई कारवाही गर्नुपर्दछ ।” त्यसैगरी नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष झल्खु यादव भन्छन,“ हो, सबै पार्टीहरुले तथा उम्मेदवारहरुले सहर देखि गाउँघरसम्म आचार संहिता उल्लंघन गरिरहेका छन् । हामी त्यस्ता कार्यलाई क मगर्न चाहन्छौं । तर, त्यसको लागि अन्य राजनीतिक दलहरु पनि पुर्णतः प्रतिबद्ध हुनुपर्दछ ।” निर्वाचन आचार संहिता उल्लंघन गर्ने जुन सुकै पार्टी वा उम्मेदवारहरुलाई निर्वाचन आयोगले कारवाही गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको मान्यता हो भन्दै यादव भन्छन,“ निर्वाचन आयोगले कारवाही गर्दा काखा पाखा तथा भेदभाव नगरी सबै राजनीतिक दल तथा उम्मेदवारहरुसँग समान रुपले व्यवहार गर्नु पर्दछ ।”
राष्टिूय जनता पार्टी नेपालका धनुषा संयोजक संजय सिंह भन्छन,“निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने हो । त्यसका लागि राजपा नेपाल पुर्णतः प्रतिबद्ध छ । हामीले कुनै पनि किसिमले उल्लंघन गरेका छैनौं । तर, अन्य राजनीतिक दलहरुले भने आचार संहिता उल्लंघन गरिरहेका छन् ।” आचार संहिता उल्लंघन गर्ने उम्मेदवार वा राजनीतिक दलहरुलाई निर्वाचन आयोगले कारवाही गर्नुपर्ने सिंहको धारणा छ ।
संघीय समाजवादी धनुषाका अध्यक्ष चन्देश्वर महतो भन्छन,“ हाम्रो पार्टीले अहिलेसम्म कुनै बालबालिकाहरुलाई प्रयोग गरेको छैन जबकी अन्य दलका उम्मेदवारहरुले आचार संहिताको त धज्जी नै उडाएका छन् ।” उम्मेदवारहरुलाई धम्की दिने, मदिरा सेवन गरी होहल्ला गर्ने, मतदाताहरुमा भयत्रासको माहौल पैदा गर्ने लगायतका कामहरु अन्य राजनीतिक दलहरुद्वारा भईरहेको तर्फ इङ्गित गर्दै फोरम अध्यक्ष महतो भन्छन,“ हामी आचार संहिताको मापदण्ड भित्र रहेर काम गरिरहेका छौं । तर, उल्लंघन गर्ने अन्य दल तथा उम्मेदवारहरुलाई निर्वाचन आयोगले कारवाही गरिरहेको छैन ।”
नयाँ शक्ति पार्टी नेपाल धनुषाका कार्यबाहक अध्यक्ष महाशंकर ठाकुर भन्छन,“ निर्वाचन आयोगले  आचार संहिताको जे मापदण्ड कायम गरेको छ त्यस भित्र रहेर नै आफ्ना उम्मेदवारहरुले प्रचार प्रसार गरिरहेका छन् । यदि हाम्रै पार्टीबाट आचार संहिताको बरखिलाफमा कुनै गतिविधि भईरहेको छ भने निर्वाचन आयोगले हामीलाई पनि कारवाही गर्न सक्दछ । तर, एउटा कुरा के ध्यान राख्नुपर्दछ भने कारवाही सबैलाई बराबर ढंगले गर्नुपर्दछ ।” नेपाल लोकतान्त्रिक फोरम धनुषाका अध्यक्ष नरेश यादव भन्छन,“ हाम्रो पार्टीबाट वा उम्मेदवारहरुबाट कुनै पनि किसिमको आचार संहिता उल्लंघन गरिएको छैन । यदि त्यस्तो छ भने आयोगले कारवाही गर्न सक्छ ।”
यसरी हरेक राजनीतिक दलहरुले आचार संहिता उल्लंघन गरेपनि आफ्नो पार्टी तथा उम्मेदवारहरुले आचार संहिता उल्लंघन नगरेको तर अन्य राजनीतिक दल र उम्मेदवारहरुले भने आचार संहिता उल्लंघन गरेको भन्दै एक दलले अर्को दलमाथि आरोप लगाईरहेका छन् । आचार संहिता उल्लंघन गरेको प्रष्ट प्रमाणहरु हुँदा हुँदै पनि ती दल तथा नेताहरुले स्वीकार गरिरहेका छैनन् ।
उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन देखि  अहिले निर्वाचन प्रचार प्रसारको क्रमसम्म आईसक्दा राजनीतिक दल तथा उम्मेदवारहरुले खुलेयाम निर्वाचन आचार संहिता उल्लंघन गरिरहँदा पनि निर्वाचन अधिकृतको कार्यालयहरुले कुनै पनि किसिमको कारवाहीको प्रक्रिया अगाडी वढाएको छैन । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती भन्छन,“ विभिन्न राजनीतिक दल र उम्मेदवारहरुद्वारा निर्वाचन आचार संहिता विरुद्ध बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारी मनोनयन दर्ताको क्रम देखि नै त्यो कुरा देखिएको छ । अब सबै दलहरुलाई र उम्मेदवारहरुलाई बोलाएर निर्वाचन आचार संहिता उल्लंघन नगर्न भनेर अन्तिम पटक निर्देशन दिनेछु । त्यसका बाबजुद पनि आचार संहिता उल्लंघन भयो भने निर्वाचन आयोगसँग कुरा राखि छलफल गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडी वढाउने छौं ।”

२०७४ भाद्र २५ गते आईतबार

बुवा र छोराबीच प्रतिस्पर्धा एकले अर्कालाई भोट नदिने

छोरा ईद मोहम्मद साफी (जानी खान) ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकामा भईरहेको स्थानीय तहको निर्वाचनमा बुवा र छोरा नै भिड्ने भएका छन् । दुई अलग अलग पार्टीबाट एक्कै परिवारका बुवा र छोराले उम्मेदवारी मनोनयन दर्ता गराएपछि बुवा र छोरा आमने सामने आएका हुन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ५ का ६४ वर्षीय ईसुफ धोबीले राष्टूीय प्रजातन्त्र पार्टीबाट उपमेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने उनका छोरा २८ वर्षीय ईद मोहम्मद साफीले राष्टिूय जनता पार्टी (राजपा) नेपालबाट जनकपुरउपमहानगरपालिकाको वडा नम्बर ५ बाट वडाअध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बुवा भन्छन्, ‘‘म आफ्नो पार्टी राप्रपाका लागि भोट माग्छु, छोरालाई भोट दिन्न ।’’ अर्कोतर्फ छोरा साफी पनि भन्छन्, ‘‘ म मधेश आन्दोलनको सिपाही हो, राप्रपाबाट उठ्नु भएका आफ्ना बुवालाई भोट नदिई राजपाका उपमेयरका उम्मेदवारलाई भोट दिन्छु ।’’ ‘ अब मेरो त भविष्य छैन, तर पनि चुनावमा नउठ्ने  ईच्छा हुँदा हुँदै पनि पार्टीका केन्द्रीय नेताले जसरी पनि उपमेयरमा टिकट दिएपछि मेरो पनि फर्ज हो की पार्टीप्रति प्रतिवद्ध हुने, न की छोराप्रति ।’ बुवा धोबी भन्छन् ‘ प्रजातन्त्र हो, कसैले कसैलाई रोक्न सक्दैन । मैले पनि छोरालाई रोक्ने कुरा भएन ।’
बुवा ईसुफ धोबी ।
अर्कोतर्फ छोरा साफी पनि भन्छन्, ‘मेरो बुवा आज होईन पञ्चायतकाल देखि नै राप्रपामा आवद्ध हुनुहुन्छ । हेमबहादुर मल्लको निकट भएर काम गर्नुभएको छ । नलड्नुस् भनेर बुवालाई पनि कसरी रोक्ने ?’
उम्मेदवारी दिएसँगै एकै परिवारमा एक साथ सगोलमै बस्दै आएका बुवा र छोराबीच पारिवारिक सम्बन्धमा समेत तनाव उत्पन्न भएको छ । परिवारका सदस्यहरु पनि प्रचार प्रसारका क्रममा बाँडिएका छन् ।  एउटै परिवारका दुई जना बुवा र छोरा बेग्ला बेग्लै पार्टीबाट उम्मेदवारी दिएपछि परिवारमा पनि मानसिक तनाव बढ्नुका साथै तिनीहरु आवद्ध रहेको आ( आफ्नो पार्टीमा समेत उनीहरुलाई हेर्ने दृष्टीकोणमा शंका उत्पन्न भएको बुवा र छोरा दुबैले स्वीकार गर्छन् । 


२०७४ भाद्र २५ गते आईतबार

निर्वाचनलाई लिएर भाईबहिनी बीच प्रतिस्पर्धा एक भाई चुनावको बहिष्कारमा अर्को भाई बहिनी अलग अलग पार्टीबाट प्रतिस्पर्धामा

सरोज मिश्र ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
असोज २ गते स्थानीय तहको निर्वाचन हुन गईरहेको छ । त्यसका लागि २१ भदौमा उम्मेदवारहरुले मनोनयन दर्ता समेत गराईसकेका छन् । उम्मेदवारहरु र राजनीतिक दलहरु चुनाव प्रचार प्रसारमा जुटिसकेका छन् । उम्मेदवारहरु कोठे बैठक देखि घर दैलो सम्मका कार्यक्रमहरु संचालन गर्न थालेका छन् । तर, निर्वाचनको रोचक पक्ष के देखिएको छ भने निर्वाचनमा दिएका उम्मेदवारीका कारण कतिपय परिवारका आ आफ्नै सदस्यहरु समेत विभाजन देखिएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं.८ स्थित एक परिवारमा भाई बहिनीहरु बीच चुनावलाई लिएर तनाव उत्पन्न भएको छ । एकै परिवारका एक भाई निर्वाचन बहिष्कार भन्दै शान्तिपुर्ण आन्दोलनमा छन् भने अर्को भाई र बहिनी स्थानीय तहको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
मधेस अधिकार संघर्ष समिति (मास) गठन गरी मधेस आन्दोलनमा ऐक्यवद्ध भएका सरोज मिश्रको परिवारमा चुनावलाई लिएर भाई बहिनीहरुबीच दरार उत्पन्न भएको छ । संविधान संशोधन नभई हुन गईरहेको स्थानीय तहको चुनाव धोका हो भन्दै २१ असोजमा जनकपुरको जनक चौकमा निर्वाचनलाई बहिष्कार गरिरहेका सरोज मिश्रको आफ्नै दिदी पुनम मिश्र भने नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरिरहेका थिए । त्यसैगरी सरोज मिश्रकै आफ्नै सहोदर भाई अम्भोज मिश्र राष्टिूय जनता पार्टी (राजपा) नेपालबाट उपमहानगरपालिकाको वडा नं. ८ मा वडा सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गरिरहेका थिए । यसरी हेर्ने हो भने एकै परिवारका दुई दाजु भाई र एक दिदी निर्वाचनलाई लिएर बाँडिएका छन् ।
अम्भोज मिश्र ।
वडा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरेका अम्भोज मिश्र भन्छन,“ राजपा नेपालले निर्वाचनमा भाग लिईसकेपछि आफुले उम्मेदवारी मनोनयन दर्ता गरेको हो । मधेस आन्दोलनको नेतृत् वगर्ने राजपाबाट उम्मेदवारी दिनु एउटा आन्दोलनकारीको हैसियतले जति गौरवको विषय छ, त्यति नै दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिनु मेरो लागि दुःखद हो ।” आफुले आफ्नो पार्टी राजपाको पक्षमा रहेका उपमेयर पदका लागि मनोनयन भएका उम्मेदवारलाई भोट दिने भन्दै भाई अम्भोज भन्छन,“ सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिएपनि उनको पक्षमा मैले वकालत गर्दिन । उनलाई भोट पनि दिन्न ।” अर्को तर्फ निर्वाचन बहिष्कार गरेका मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र भन्छन,“ मधेसको अधिकार सम्पन्न नहुन्जेलसम्म कुनै पनि राजनीतिक लाभको लागि निर्वाचनमा नलाग्ने मास गठन गर्दा नै संकल्पित भएका थियौं । यस्तो अवस्थामा अहिले भईरहेको चुनावमा परिवारबाटै एक जना भाई राजपाबाट वडा सदस्यमा र दिदी नेकपा एमालेबाट उपमेयर पदमा उठ्दा दुःख लागेको छ ।”
मधेस आन्दोलनमा स्थानीय स्तरबाट गैरराजनीतिकको संगठनको तर्फबाट प्रतिनिधित्व गरेका सरोज मिश्रलाई सबै भन्दा वढी दुःख के को लागेको छ भने जुन नेताहरुका आन्दोलनका क्रममा उनले पुतला दहन गरे, नेताहरुलाई कालो झण्डा देखाए, संविधान संशोधन विधेयकको विरुद्धमा मतदान गर्ने नेकपा एमालेकै तर्फबाट दिदी पुनम मिश्रले जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नु हो । चुनाव बहिष्कारको रणनीति अख्तियार गरेका भाई सरोज मिश्र भन्छन,“ मेरो भिनाजु नविन मिश्र नेकपा एमालेको शिक्षक संगठनको नेतृत्वमा रहेका कारण आफ्नो निहित अवसरको फाईदा उठाउनका लागि भिनाजुले दिदी पुनमलाई प्रयोग गरेका हुन । मेरो दिदी उम्मेदवारी मनोनयन दर्ता गर्नु अघिसम्म एमालेको कुनै पनि स्तरको कार्यकर्ता समेत थिईनन् ।”
पुनम मिश्र ।
मधेस आन्दोलन भईरहँदा एक नीजि विद्यालयको शिक्षकको हैसियतले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाईरहेकी दिदी पुनमलाई एमालेले पार्टीमा प्रवेश समेत नगराई एकाएक उपमेयरको टिकट दिनुले पनि भिनाजुले दिदीलाई राजनीतिक रुपमा प्रयोग गरेको हो भन्दै सरोज मिश्र भन्छन,“ सामाजिक रुपले समेत मलाई तनाव उत्पन्न भएको छ । एकातर्फ चुनाव बहिष्कारको आन्दोलन मैले गरिरहेको छु भने अर्को तर्फ मेरो भाई  र दिदी चुनावमा सहभागी भएका छन् । भाई राजपाबाट उम्मेदवारी दिएकाले त्यति अप्ठयारो नभएपनि दिदीका कारण ठुलै दवाव र तनाव आएको छ ।”
अर्को तर्फ नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी पुनम मिश्र भने आफ्नै विवेकले उम्मेदवारी दिएको बताउँछन् । ‘सबैको आआफ्नो स्वतन्त्रता हुन्छ , कसैले कसैलाई हस्तक्षेप गर्ने कुरा भएन । भाईहरुलाई जे लागेको छ , तिनीहरुले गरिरहेका छन्, मलाई जे लागेको छ, मैले पनि गरिरहेको छु, ।’ पुनम मिश्र भन्छन,“ भाईहरुले मलाई मतदान गर्ने हो वा होईन त्यो तिनीहरुको सोचाई हुन सक्छ । तर, म भने भाई अम्भोजलाई कुनै पनि हालतमा मतदान गर्न सक्दिन । म आफ्नो पार्टी एमालेकै उम्मेदवारलाई मतदान गर्नेछु । ” अर्को तर्फ भाई सरोजले निर्वाचन बहिष्कार गरिरहेको सन्दर्भमा दिदी पुनम भन्छन,“ राजपा त चुनावमा गईसक्यो । मेरो आफ्नै एउटा भाई राजपाबाट उम्मेदवारी दिएका छन् । भने त्यस्तो अवस्थामा चुनाव बहिष्कारको कुनै औचित्य छैन । दुई चार जनाले बहिष्कारको नारा दिएपनि त्यसले केही फरक पर्दैन ।” मेरो भाईहरुले केवल मधेसका कुरा गरिरहेका छन् तर मैले तराई, हिमाल, पहाड गरी देशकै हितको लागि नेकपा एमालेबाट उम्मेदवारी दिएको हो भन्दै पुनम भन्छन,“ यो निर्वाचनले गर्दा भाईहरुलाई जे जस्तो समस्या परेपनि वा भाईहरुले मलाई सहयोग गरे नगरेपनि जनताले भने पक्कै सहयोग गर्नेछन् ।”
२१ भदौमा मासको अगुवाईमा सरोज मिश्र लगायत यूवाहरु जनकपुरको जनक चौकमा चुनावको
 बहिष्कार भन्दै प्रदर्शन गर्दै ।
सरोज, अम्भोज र पुनम कृष्ण चन्द्र मिश्रका सन्तान हुन । मिश्र ती व्यक्ति हुन जसले २०६२÷०६३ को मधेस आन्दोलनमा  तत्कालिन मधेस जनअधिकार फोरम धनुषाको बरिष्ठ नेताको हैसियतमा मधेस आन्दोलनको नेतृत्व गरेका थिए ।  २०६५ साल तिर उनको निधन भएको थियो । जेठो छोरा सरोज २०७२ सालमा मधेस अधिकार संघर्ष समिति (मास) गठन गरेका थिए । मासको संयोजक भएर ४ साउन २०७२ मा जनकपुरमा संविधानको मस्यौदा लिएर जनताका बीच राय सुझाव संकलन गर्न आएका सांसदहरुको टोलीलाई मासकै नेतृत्वमा विरोध गरिएको थियो । मासकै अगुवाईमा गरिएको उक्त अवरोधका कारण जनकपुरमा राय सुझाव संकलन नगरिकनै काठमाण्डौबाट आएका सांसदहरु काठमाण्डौ फर्किएका थिए ।
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलन घोषणा गर्नुभन्दा पहिले जनकपुरमा मासले नै आन्दोलनको अगुवाई गरेको थियो । त्यसको नेतृत्व पनि सरोज मिश्रले नै गरेका थिए । त्यसपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला, प्रधानमन्त्री पुष्प कमल दाहालको समेत जनकपुरको भ्रमण हुँदा भ्रमणका क्रममा मासको संयोजकको हैसियतले सरोज मिश्रले ती दुवै जना प्रधानमन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए । संविधान जारी हुनु अघि र जारी भए पछिसम्म मधेसी मोर्चाद्वारा जनकपुरमा आन्दोलन गर्दा गैर राजनीतिक संगठनको तर्फबाट मासले पनि प्रतिनिधित्व गर्ने गरेको थियो ।
अहिले त्यो मासका संयोजक सरोज भने निर्वाचन बहिष्कारको पक्षमा शान्तिपुर्ण विरोध गरिरहेका छन् भने उनका भाई र दिदी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसले गर्दा सरोज, अम्भोज र पुनम तिनै भाईबहिनी बीच अहिले तनाव उत्पन्न भएको छ । सरोज मिश्र भन्छन,“ सगोलमै बस्दै आएका हामी दुई दाजु भाई बीच तनाव उत्पन्न भएको छ । दिदीसँगको पारिवारिक सम्बन्धमा समेत असर परेको छ ।”

२०७४ भाद्र २५ गते आईतबार

धनुषामा चुनावी माहौल तात्दै बहुमत स्थानमा जित्ने सबै राजनीतिक दलहरुको दावी

राजपा नेपालका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकामा सबै राजनीतिक दलहरु तथा उम्मेदवारहरु चुनावी प्रचार प्रसारका क्रमलाई तिब्रता दिएका छन् । २४ भदौमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली तथा चुनाव चिन्ह प्रकाशित गरेपछि निर्वाचनको माहौल अत्यन्तै तातिएको छ । २१ भदौमा कुल ८ सय ५५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको थियो जसमध्ये २४ भदौसम्म आईपुग्दा कुल ८ सय १६ जना उम्मेदवारहरुले जनकपुर उपमहानगरपालिकाको विभिन्न पदहरुका लागि प्रतिस्पर्धा गरिरहेका छन् । दर्ता गरिएको मध्ये २६ जना उम्मेदवारहरुको उम्मेदवारी बदर गरिएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए अनुसार ५ जना व्यक्तिले डब्बल उम्मेदवारी मनोनयन दर्ता गरेका थिए भने एक जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ताको रसिद काटेको भएपनि फारमसँगै लिएर गएका कारण मनोनयन खारेज गरिएको हो । ७ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने २ जना उम्मेदवारहरुको उम्मेदवारी माथि दावी विरोध भएपछि खारेज गरिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
जनकपुर उपमहानगरपालिकामा १६ जना पुरुष र ३ जना महिला गरी कुल १९ जना उम्मेदवारहरुले मेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी उपमेयर पदका लागि ६ जना पुरुष र ९ जना महिला गरी कुल १५ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । २ सय २७ जना वडा अध्यक्षमा, ३ सय ५ जना सदस्यमा, १ सय ४० जना महिला सदस्यमा, १ सय १७ जना महिला सदस्यमा   प्रतिस्पर्धा  गरिरहेका छन् ।
नेकपा एमालेका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
मेयरमा प्रतिस्पर्धा
जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसबाट मनोजकुमार साह, राष्टूीय जनता पार्टी ( राजपा) नेपालबाट लालकिशोर साह, नेकपा एमालेबाट लक्ष्मीनारायण भगत, माओवादी केन्द्रबाट चन्द्रशेखर साह, राष्टूीय प्रजातन्त्र पार्टीबाट राजकुमारी साह, राष्टूीय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट रुपाकुमारी, नयाँ शक्तिबाट उमेश साह, नेपाल लोकतान्त्रिक फोरमबाट हँसराज नुनियार, संघीय समाजवादी फोरम नेपालबाट विष्णुदेव साह, नेपाली जनता दलबाट विवेक भारद्वाज, बहुजन शक्ति पार्टीबाट जीतेन्द्र दास, नेकपा मालेबाट बिमल साहले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट पनि मेयर पदमा दीपनारायण महतो, संजयकुमार ठाकुर, दिगम्बर साह, कामेश्वर पञ्जियार, तेजनारायण यादव, दीपेश साह, बलिराम मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
उपमेयरमा प्रतिस्पर्धा
नेकपा माओवादीका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा उपमेयर पदका लागि नेकपा मालेबाट मोहम्मद कमाल, नेपाल परिवार दलबाट शीला देवी, राप्रपाबाट ईसुफ धोबी, नेपाली जनता दलबाट सीताकुमारी यादव, राप्रपा प्रजातान्त्रिकबाट सुवोध ठाकुर, नेकपा संयुक्तबाट गीताकुमारी साह, संघीय समाजवादी फोरमबाट रीताकुमारी यादव, राजपा नेपालबाट रीताकुमारी मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट पुनम चौधरी, माओवादी केन्द्रबाट अम्बिका कुमारी, नेपाली कांग्रेसबाट निलमदेवी कर्ण, नेकपा एमालेबाट पुनम कुमारी मिश्रले उम्मेदवारी दर्ता मनोनयन गरेका छन् ।
त्यसैगरी स्वतन्त्रबाट राकेश विक्रम साह, आभाष लाभ, श्रवणकुमार आचार्यले समेत उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी बदर
नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
सदस्य पदमा राजपा नेपालका घुरण मण्डल केवट, महिला सदस्य पदमा राप्रपा प्रजातान्त्रिकका महिला सदस्य पदमा मुनेश्वरी देवी, नयाँ शक्ति पार्टीको महिला सदस्यमा रेश्मा देवी, स्वतन्त्रबाट महिला सदस्यमा अजलिसा खातुन, राजपा नेपालबाट महिला सदस्यमा रेणु यादव, एमालेबाट सदस्यमा लक्ष्मण ठाकुर, नेपाली जनता दलबाट वडा अध्यक्षमा पप्पु कुमार मण्डल, एमालेबाट सदस्य पदमा सतेन्द्रमान तुलाधरको उम्मेदवारी मनोनय नबदर गरिएको छ । त्यसैगरी राजपा नेपालको महिला सदस्य पदमा ज्ञानी देवी मण्डल, एमालेको दलित महिला सदस्यमा मनि देवी खत्वे, नेपाल लोकतान्त्रिक फोरमको वडा अध्यक्ष पदमा अच्छेलाल यादव, राजपा नेपालको वडा अध्यक्षमा उर्मिला देवी महतोको उम्मेदवारी मनोनय नबदर गरिएको छ । त्यसैगरी राजपा नेपालको बडा अध्यक्ष पदमा सलामत साफी, स्वतन्त्रबाट सदस्यमा रामसागर पासमान, राप्रपाबाट सदस्यमा गर्भा पासमान, माओवादी केन्द्रबाट सदस्यमा अनवर साफी धोवीको उम्मेदवारी मनोनय नबदर गरिएको छ । नेपाली जनता दलबाट सदस्यमा राजेन्द्र चौधरी कलवार, माओवादी केन्द्रबाट सदस्यमा जुमन नदाफ, स्वतन्त्रबाट सदस्यमा सुरेश साह, राप्रपाबाट सदस्यमा रामचन्द्र यादव, संघीय समाजवादी फोरमबाट सदस्यमा महेन्द्र राय कुर्मी, राजपा नेपालबाट अम्भोज कुमार मिश्र, स्वतन्त्रबाट सदस्यमा गंगवा महरा र नेपाली कांग्रेसबाट महिला सदस्यमा गिता भण्डारीको उम्मेदवारी मनोनयन दर्ता बदर गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार मनोनयन पत्र जाँच गर्दा कतिपय उम्मेदवारहरुको आईडी नमिलेको, प्रस्ताव र समर्थकमा बसेको, अर्को उम्मेदवार भएको, सहि छाप नभएको तथा पार्टीहरुले आधिकारिक उम्मेदवार नरहेको भनेर पत्राचार गरेको आधारमा रित नपुगि जनकपुर उपमहानगरपालिकामा २६ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनय नबदर गरिएको हो ।
सबै दलको आआफ्नै दावी
संघीय समाजवादी फोरमका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवका अनुसार सुरुमा कांग्रेसबाट धेरै ठाउँमा बागी उम्मेदवार उठेर परिस्थिति विग्रिएको भएपनि धेरै ठाउँमा सच्याइएको हुनाले धनुषामा रहेको १८ स्थानीय निकाय मध्ये अहिले १२ वटा निकायमा प्रमुख उपप्रमुख जितिरहेपनि निर्वाचन आउँदा सम्म १४ वटा स्थानीय निकायको प्रमुख उपप्रमुख पदमा नेपाली कांग्रेसले जित हात पार्ने छ ।
त्यसैगरी नेकपा एमालेका धनुषाका प्रवक्ता राजकुमार यादवले जिल्लाको अधिकांश स्थानीय तहमा प्रतिस्पर्धामा रहेको एमालेले पुर्ण बहुमत हासिल गर्ने दावी गरेका छन् । राजपा नेपालका धनुषा संयोजक संजय सिंहले भने धनुषाको १८ वटै स्थानीय निकायको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष झल्खु यादवले भने धनुषाको १८ तह मध्ये १२ स्थानीय तहको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष चन्देश्वर महतोले १८ मध्ये १० देखि ११ वटा स्थानहरुमा जित हासिल गर्ने दावी गरेका छन् । नयाँ शक्ति धनुषाका कार्यबाहक अध्यक्ष महाशंकर ठाकुरले जनकपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहित १२ स्थानमा जित हासिल गर्ने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका धनुषा अध्यक्ष नरेश यादवले १८ मध्ये १० स्थानमा प्रमुख उपप्रमुख जित्ने दावी गरेका छन् ।


२०७४ भाद्र २५ गते आईतबार