Wednesday, August 23, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

नआत्तिनुस्, हामी अनुगमन गर्न आको आ–आफ्नो नागरिकता क्षति भाको सम्पति क्षति हुने सम्भावना भन्नुस् हामी छलफल गरि हेरौंला के गर्न सकिन्छ ।


२०७४ भाद्र ०४ गते आईतबार

बाढीले जलमग्न भएपछि आँगनमै दाहसंस्कार

अजय अनुरागी
जनकपुरधाम............
हृदयघातबाट मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिका ९ का रामेश्वर चौधरीको बाढीका कारण परिवारले आँगनमै दाहसंस्कार गरेका छन् । अबिरल बर्षाका कारण जलेश्वर क्षेत्र जलमग्न भएका कारण मृतक चौधरीलाई परिवारले घातसम्म पु(याउन नसकेपछि परिवारले आँगनमै दाहसंस्कार गरेका हुन् । २८ साउनमा नातिनीसँगै बसिरहेकै बेला ५४ बर्षीय चौधरीको ह्रदयघाटबाट मृत्यु भएको थियो ।  मृतक चौधरीका तीन छोरा छन् । जसमध्ये जेठो छोरा बिनोद चौधरी अछाममा, माइलो छोरो दिनेश चौधरी मलेसियामा काम गर्दै आएका थिए ।  कान्छो छोरा उमेश चौधरी भने घरमै थिए । अबिरल बर्षाका कारण जेठो छोरा बस्ने अछाममा पनि पहिरो गइरहेका कारण घर फर्कन सक्ने स्थिति थिएन भने माइलो छोरो मलेसियामा कार्यरत थिए । त्यसैले बुबाको दाहसंस्कार गर्दा कान्छो छोरो उमेशले दागबत्ति दिएका दिए ।


२०७४ भाद्र ०४ गते आईतबार



वाढीको कहर ः महोत्तरीमा वाढी पीडितहरुलाई खान, लाउन र बस्न समस्या

अजय अनुरागी
जनकपुरधाम............
महोत्तरीको पिपरा गाउँपालिका ३ बनटोलवाका सिङ्गो दलित बस्ती नै वाढीका कारण विस्थापित हुनु परेको छ । अविरल बर्षाका कारण आएको वाढीले गर्दा पिपरा गाउँपालिका ३ का दास टोल (तत्मा) समुदाय र वडा नं. ४ का पासमान टोल (दुसाद टोल) का मात्रै सयौं घर परिवार अहिले घरवार विहिन भएका छन् ।
एक त आर्थिक रुपले त्यसै पनि विपन्न ती दलित बस्ती माथि प्रकृतिले पनि वाढीको रुपमा घर नै क्षतिग्रस्त बनाई सडकमा आउनु पर्ला भनेर सपनामा पनि कहिल्यै सोचेका थिएनन, पिपरा ३ का ५५ बर्षिय खट्टर दासले । पशु चौपाया सहित जनकपुर(जलेश्वर(भिठ्ठामोड सडकमा त्रिपाल झुण्ड्याई जसो तसो दिन र रात काट्न बाध्य ५३ बर्षिय विल्टु दास भन्छन,“ ३० साउन सोमबारको दिन विहान ३ बजे अचानक सिङ्गो बस्ती नै डुवानमा पर्यो । फुसको कच्ची घर भित्र पानी पस्न थाले पछि सिङ्गो वस्ती नै आतङ्कित भयो । अनि वाल बच्चा, आईमाई सबै चौपाया सहित सडकमा आयौं । र, बल्ल ज्यान जोगियो ।” पिपरा वनटोलवाका सोभित दास भन्छन,“ विहानको समय भएकाले सडकमा आए पनि सडकमा पनि ३ फिट पानी आए पछि सयौं मानिसहरुको ज्यान जोगाउन पुल नै कटान गर्नु पर्यो ।” हामीले आफ्नो ज्यान जोगाउन पुल छेउको सडक काटेर भत्कायौं, नत्र कसैको पनि ज्यान जोगिने थिएन ।
 विनोद दास भन्छन,“ संयोगले हाम्रो बस्तीमा कुनै पनि किसिमको मानवीय क्षति त भएन तर एक छाक खानको लागि पनि खाद्यान्न सामग्री बचाउन सकिएन ।” लत्ता कपडा , खाने सामग्रीहरु धान, चामल, गहुँ, दाल सबै वाढीले बगाएर लगे पछि ती दलित बस्तीका सयौं घर परिवारहरुलाई खान, पिउन, लाउन र सुत्न समेत समस्या भएको छ ।
यस अघि २०४४ साल तिर वाढी आएको थियो, तर यसरी घरवार विहिन नै हुनु परेको थिएन । ५५बर्षिय खट्टर दास भन्छन,“ खानेकुरा समेत वगे पछि अब के खाने, कसरी सबैले आआफ्नो परिवारलाई पाल्ने भन्ने चिन्ता वढेको छ ।” बर्षातको मौसममा यसरी सडकमा त्रिपालमुनि रात र दिन विताउनाले बच्चाहरु समेत विरामी पर्न थालेका छन् । राहतको नाममा राष्टिूय जनता पार्टी नेपालका स्थानीय नेता ब्रजेन्द्र मिश्रको पहलमा स्थानीयस्तरमा केही खाद्यान्न सामग्री वितरण गरिए पनि अब त्यो पनि सकिएकोले के खाने भन्ने चिन्ताले वाढी पीडितहरु ग्रस्त देखिएका छन् ।
२÷३ दिन पिपरा गाउँपालिकाका दुसाद टोलीका पासवान समुदायका वाढी पीडितहरुले उच्च मावि पिपरामा आश्रय लिएका थिए । कतिपय त वाढीको पानीले सडे, गलेको कुहिएको खाद्यान्न सामग्रीलाई चलाईरहेको पाइन्छ । माटोको भकारी (कोही) मा संग्रह गरेर राखिएको चामल, धान, गहुँ, दाल सबैमा पानी पसेर कुहिनुका साथै फुलेका अवस्थामा बर्ष भरीको खाद्यान्न सामग्री नष्ट भएका छन् ।
यी त उदाहरण मात्र हुन । अहिले महोत्तरीमा यस्ता समस्या भोग्न हजारौं मानिसहरु बाध्य छन् । वाढी आएको ५ दिन वितिसक्दा पनि हालसम्म ती वाढी पीडितहरुको घरमा चुलो बल्न सकेको छैन । कतिपय व्यक्तिका घर पुर्ण रुपले क्षतिग्रस्त नभएपनि आंशिक रुपले क्षतिग्रस्त भएको छ । तर, त्यो घर कुन बेला भत्किने हो भन्ने डरले घरमा सुत्न सकिरहेका छैनन्, बाढी पीडितहरु ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले उपलब्ध गराएको जानकारी अनुसार ३१ साउन सम्ममा महोत्तरी जिल्लामा वाढीले गर्दा २ लाख जनसंख्या प्रभावित भएको छ । ४० हजार घर परिवार बाढीबाट पीडित भएका छन् भने ७ हजार ७ सय ६२ जना मानिसहरु बाढीका कारण विस्थापित हुन पुगेका छन् । ४ जना मानिसको बाढीका कारणले मृत्यु भएको छ भने महोत्तरी प्रहरी र नेपाली सेनाले वाढी बारे पहिले देखि गराएको अलर्टका कारण करिब ४ हजार मानिसहरुलाई उद्धार गर्न सकिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत हेम प्रसाद कार्की बताउँछन् । कार्कीका अनुसार महोत्तरी जिल्लाको ७० प्रतिशत भुभाग जलमग्न भएको छ भने ३ सय ४७ वटा घरहरु पुर्णरुपले क्षतिग्रस्त भएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका, लोहारपट्टी र भंगहा बाढीबाट अति प्रभावित छन् भने रामगोपालपुर, गौशाला, मटिहानी, पिपरा, एकडारा, महोत्तरी र बल्वा प्रभावित क्षेत्रहरु हुन । त्यसैगरी बर्दिवास, मनरा, सोनमा, सम्सी लगायतका गाउँहरु कम प्रभावित क्षेत्र हुन । जिल्लाको रातो, भंगहा, जंगहा, बाँके, विग्ही र गेरुका नदिहरुमा बाँध कटान भएपछि जिल्ला डुवानमा परेको हो ।
वाढीले घर पुर्णरुपले र आंशिक रुपले क्षतिग्रस्त बनाएपछि जिल्लाका विभिन्न गाउँहरुमा ३१ साउनसम्ममा १ हजार ४ सय ५८ जना विस्थापित बाढी पीडितहरु शिविरमा आश्रय लिईरहेको महोत्तरी प्रशासनको दावी छ । एकडारामा ९५ जना, लोहारपट्टीमा १२ सय जना, जलेश्वरको कन्या माविमा १ सय ७ जना, बर्दिवासमा २५ जना र पिपरामा ३१ जना आश्रय स्थलमा आश्रय लिईरहेको महोत्तरीका प्रशासकिय अधिकृत कार्की बताउँछन् ।
अहिले जिल्लामा बाढी पीडितहरुलाई खास गरेर बस्ने घर नभएपछि घरको र बाढीले खाने कुरा र कपडा सबै ध्वस्त भएपछि खाने कुराको आवश्यकता वढी देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायत बताउँछन् । उनका अनुसार राज्य र नीजि स्तरबाट समेत विभिन्न ठाउँमा केही राहत सामग्रीहरु पठाइएको भएपनि त्यो पर्याप्त नभएका कारण विभिन्न आश्रय स्थलमा बसिरहेका बाढी पीडितको खाने समस्या देखि लिएर महामारी समेत फैल्न सक्ने जस्ता खतराहरु रहेको छ । पीउनका लागि खानेपानी समेतको व्यवस्था नहुँदा वाढी पीडितहरुमा मानवीय समस्या देखिनुका साथै वाढी पीडितका साथसाथै बच्चाहरु विरामी पर्न थालेका छन् ।


२०७४ भाद्र ०४ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह

पहिला घुँघटोमा बस्ने अहिले तिघ्रा हेराएको । अनि मधेसीले भन्छ विकास भएन्, मुर्ख मधेसी । आज झुठो भाषणले स्टेज हल्लाउनुपर्छ कमरेड ।

२०७४ श्रावण २९ गते आईतबार

मधेसीलाई अझै पनि शंकाकै दृष्टिकोणले हेर्ने गरिएको छ ः प्रदिप गिरी

नेपाली कांग्रेसका नेता प्रदिप गिरीले नेपाली कांग्रेस अझै पनि मधेसको पक्षमा पुर्णतः इमान्दार भईनसकेको बताउनु भएको छ । मधेसलाई शंकाको दृष्टिकोणले हेर्ने कुराको सुरुवात राजा महेन्द्रले गरेपनि नेपाली कांग्रेसले मधेसलाई आत्मसात गरिहालेको भने छैन । नेपाली कांग्रेसका नेता प्रदिप गिरीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको बार्तालापको सम्पादित अंश प्रस्तुत छ ः

जब जब मधेसले नेपाली कांग्रेसलाई मत दिएको छ, नेपाली कांग्रेस यो देशको ठुलो पार्टी भएर सरकारको नेतृत्व नै गरेको छ । मधेसी जनताले कांग्रेसलाई सँधै सत्तामा पुर्याएको छ । तर, नेपाली कांग्रेसले मधेसलाई के दियो त ?
तपाईले ठीक भन्नु भयो । म इन्कार गर्न सक्दिन । मधेसको मत पाए पछि नै नेपाली कांग्रेस सरकारमा जान सफल भएको छ । कांग्रेसको जन्मकाल देखि नै प्रजातन्त्रको लागि थालिएको आन्दोलनमा मधेस मेरुदण्ड नै थियो । त्यो आन्दोलन पहाड र काठमाण्डौमा त पुग्नै सकिएको थिएन । बिरगञ्ज कब्जा, जनकपुर संघर्ष, विराटनगरको मजदुर आन्दोलन तथा हडताल यी सबै मधेसमै भए । यति मात्र होइन परिवारहरु पनि कोइराला परिवार, निधि परिवार, गिरी परिवार, महोत्तरीको मिश्रा परिवार, सप्तरीको रामेश्वर सिंह परिवार आदिको स्पेश पाईन्छ ती आन्दोलनहरुमा ।
कालान्तरमा आएर समस्या बढ्न थाले पछि बेला बखतमा आएर नेपाली कांग्रेसमा विचलन पनि देखियो । सात सालको क्रान्ति लगत्तै पछि समस्या थिएन । २००७ सालको परिवर्तन लगत्तै देशमा नागरिकता ऐन बन्यो । त्यो नागरिकता ऐन मधेस प्रति काफी सकारात्मक छ । तर त्यसको ठीक १० बर्ष पछि २०१९ सालमा राजा महेन्द्रले तानाशाही गरेर जब शासन गरे, त्यो नागरिकता ऐनलाई संशोधन गरेर अवैज्ञानिक र अप्रजातान्त्रिक नागरिकता ऐन आयो । यो दुईटै ऐनको अध्ययन गर्नुस् । तपाई भन्न सक्नुहुन्छ कि २००७ सालको क्रान्तिको उपलब्धि, जनसन्देश र जनादेश जे थियो, २०१९ पछि एक तरिकाले अपहरण नै गरियो भनेर पनि भन्न सकिन्छ । २०१५ साल पछि केही प्रजातान्त्रिक लहर आएको थियो ।
केही मधेसीको प्रतिनिधित्व क्याविनेटमा पनि भएको थियो । पदहरु पनि राम्रै पाएको थियो । ती सबै १९ सालमा बदलियो । २०१९ सालमा कांग्रेस राजा महेन्द्रसँग संघर्षरत थियो । राजा महेन्द्र स्पष्ट रुपले मधेस प्रति गहिरो अविश्वास राखेर आफ्नो नीति नियम अगाडी वढाए । त्यसमा दुई तीनवटा कारण थियो । एक त तत्कालिन समयमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस वोर्डर वेस्ड थियो । भारत वेस्ड थियो । धेरै कामहरु मधेसमै हुन्थ्यो । सबै भन्दा ऐतिहासिक घटना चर्चित घटना जनकपुरमा दुर्गानन्द झाले राजा महेन्द्र माथि फालेको ‘बम काण्ड’ नै हो । राजा महेन्द्रको  प्रतिरोध मधेसले गर्यो । त्यसैले राजा महेन्द्र्र पनि मधेस र मधेसीको विरोधी भएर निस्किए ।
मधेस भुगोल र मधेसी समुदाय दुवै प्रति राजा महेन्द्र अनुदार थिए । भुगोल केही हदसम्म किन भने यो भुगोल भारतको बोर्डर सँग टाँसिएको छ, सारा अखबार पत्रपत्रिका भारतको मान्छेले पढ्थे । भारत एउटा सवल प्रजातान्त्रिक देश थियो । त्यो समयमा जवाहर लाल नेहरु भारतमा प्रधानमन्त्री थिए । र, नेहरुले प्रष्ट रुपमा भनेका थिए कि राजा महेन्द्रले प्रतिगामी कदम चालेका छन् । त्यसकारण हिन्दुस्तानसँगको निकटताका कारणले पनि खुल्ला सीमानाको कारणले मधेसमा भारतको प्रेरणा र प्रभाव परेको थियो ।
जहाँसम्म बसोवासको कुरा छ, भुगोलको कारण मधेसमा आन्दोलन गर्न पनि सजिलो थियो । बाटोघाटो नभएको अन्कन्टार ठाउँ, पहाडहरुमा आन्दोलन गर्न कठिन हुन्छ । दश जनाले पनि जुलुस निकाल्न पहाडमा गाह्रो हुन्थ्यो । जनकपुरै थियो कि महेन्द्र नारायण निधिको नेतृत्वमा २०१८ सालमा जुलुस निकालियो । त्यसैले म मधेसी समुदायलाई अबमुल्यन नागरिकन के भन्न चाहन्छु कि भुगोल र समुदाय दुवैको योगदान थियो ।
त्यही कारणले राजा महेन्द्र मधेससँग चिडचिढिए । मधेस प्रति अविश्वास वढ्यो । उनको पुरै शासनकाल ३० बर्ष जति मधेस विरुद्धको उदाहरणको एउटा श्रृङ्खला थियो । मधेसी पनि डराए । केही समुदाय, केही जाती लामो समय सम्म यदि उत्पीडित रहन्छ भने त्यसको आत्मविश्वासमा कमि आउँछ । कोई राजा महेन्द्रको चाकडी स्तुती गर्ने पनि निस्किए जनकपुरमै । तपाईले चिन्न सक्नु हुन्छ ।
त्यसैले म के भन्छु भने राजा महेन्द्रसँग नेपाली कांग्रेसले लड्यो । तर लड्दा लड्दै शक्तिशाली विरोधीको केही गुण र केही दुर्गुण कांग्रेसमा पनि आयो । राजा महेन्द्रले राष्टूवादको नाममा  काम गरेको थियो । यो कस्तो विड्म्वना छ भने वीपी कोइराला लामो इन्डिया प्रवास पछि नेपाल फर्किदा उनलाई पनि राष्टूवादको सहारा लिनु परेको थियो । वीपीले भन्नु भयो, म राष्टिूय मेलमिलापका लागि नेपाल फर्किदै छु । उहाँले भन्नु भयो, नेपालको राष्टिूयतालाई खतरा छ । यहाँ सम्मकी खतरा दक्षिणबाट छ । त वीपी जस्तो त्यत्रो उचाई भएको नेताले पनि त्यसरी राष्टिूयता बारे अभिव्यक्ति दिनु भनेको मेरो विचारमा त वीपीले सरेण्डर नै गर्नु भएको हो ।
अहिले त्यो राष्टिूयता र राष्टूवाद मधेससँग जुटेको छ । जनकपुरमा दुर्गानन्द झाको सहादत, महोत्तरीको सम्सी कन्मामा शिवचन्द्र मिश्रको सहादत, नेपाल छात्र यूवक संघ बनाएर डाम्ही मडैका सिंह परिवार अर्थात यहाँ त शहिदको लामो फेहरिस्त नै छ । ती सबै परोक्षमा परे । नेपाली कांग्रेसको इतिहास पनि परोक्षमा पर्यो । र, नेपाली कांग्रेसको मुल नेतृत्व जो थियो, त्यसमा सुरु देखि नै एउटा खास वर्गको प्रभुत्व थियो । राजनीतिमा के हुन्छ भने जुन वर्गको नेतृत्व हुन्छ आफ्नो वर्गको विरुद्धमा कुरै सुन्दैन । त्यो त्यसको दिमागमै पनि आईरहेको हुँदैन । त्यसकारण २०४७ सालमा जब नेपाली कांग्रेस सत्तामा आयो, मधेस र मधेसीलाई धेरै ठुलो आश थियो ।
तर, किशुनजी (कृष्ण प्रसाद भट्टराई) जस्तो त्यागी नेता , विद्धान र बुद्धिजिवी नेता भारतको दिल्लीमा जाँदा त्यहाँका पत्रकारहरुले जब प्रश्न गरे कि तपाईहरु मधेसीलाई सेनामा किन लिनु हुन्न, किशुनजीले के जवाफ दिनु भयो कि तपाईहरु किन लिनु हुन्न । एक प्रकारले किशुनजीको त्यो जवाफ अत्यन्तै गैरजिम्मेवार थियो । तर मधेसको राजनैतिक विकास क्रममा त्यतिबेला किशुनजीलाई त्यही लागेको थियो ।
अहिले पनि दुनियाँमा के चिन्तन छ भने केही व्यक्तिलाई मार्शल रेस भनिन्छ । अंग्रेजहरुले गोर्खा, शिख आदि जातीलाई लडाकु जाती भनेर भनेको छ । विहार र उत्तर प्रदेशका मानिसहरु जो मधेससँग समानता छ तीनलाई लडाकु मानिँदैन । यो अंग्रेजले सृजना गरेको धारणा हो । अंग्रेजसँग त्यतिबेलाको लडाईमा विहारले पनि टक्कर दिएको थियो । सन् १८५६ को विद्रोहमा विहारको आरणी कुँवर, उत्तर प्रदेशमा मंगल पाण्डे जति पनि लडाई थियो त्यतिबेला विहार र यूपीसँग मात्र थियो । साउथ इन्डियामा आन्दोलन नै थिएन । शीखहरु दास बनिसकेका थिए । ती सबै कुराहरु इतिहासमा रहिरहन्छ । त्यसैले मधेसी मार्शल रेस लडाकु जाती होइन भनेर भनियो । त्यसैले मैले अत्यन्तै श्रद्धा गर्ने किशुनजीको त्यो धारणा गलत थियो ।
नेपालमा पृथ्वीनारायण साहले गरेको स्थापनाकाल देखि नै एउटा खास वर्ग, खास समुदाय, खास जाती नेपालमा एउटा डिस्कोर्स विमर्श नै चल्यो् कि नेपाल राज्य पृथ्वीनारायण शाहले बनाए । हामीहरुले राष्टिूयताको रक्षा गर्यौं । भारत विरुद्ध राष्टिूयताको रक्षा गर्यौं । कुन भारत भने पछि मुस्लमानद्वारा शासित मुगलान र व्रिटिशद्वारा शासित भारत विरुद्ध हामीले राष्टिूयताको रक्षा गर्यौं भनेर भनियो । सुन्नमा त धेरै राम्रो लाग्छ की हामीले राष्टिूयताको रक्षा गर्यौं , हो हामीले रक्षा गर्यौं । बाँकी सबै देशहरु गुलाम भए तर हामीले जोगायौं । तर यसको भित्र लुकेको एउटा कुरा के हो भने राष्टिूयताको नाममा एउटा वर्ग, समुदाय, समुह नेपालका बाँकी वर्ग, समुदाय र समुह माथि शासन गर्न चाहन्छ ।  तपाईले अलिकति पनि अधिकारको कुरा गर्नुस कि तपाईलाई राष्टिूयता   विरोधीको रुपमा हेर्न थालिन्छ ।
पञ्चायतकालमा पनि त्यो कुरा थियो, त्यसकै मार्कामा मधेस परेको हो । र, मधेस जुन प्रकारले आत्मविश्वासी भए । आफ्नो संस्कृति, मान्यता, चिन्तन प्रति उदासीन भए । सिमरौनगढको भव्य इतिहास, मिथिलाको भव्य इतिहास विद्यापतिको योगदान, उनको काव्यको उपलब्धिमा मैथिली सभ्यताको उत्कर्ष  आदिको लागि मधेस वेगाना भए । मधेस पराया भए । सारा भारतको दलित जातीलाई के लाग्छ भने अंग्रेजी बोल्नुमा नै गौरव छ । अंग्रेजीको कितावको दुईवटा नाम सुझाईदियो भने धेरै ठुलो विद्वान कहलिन्छ । त्यस्तै मैथिली जाती, भाषा, संस्कृति, सभ्यतालाई नेपाली राज्यले जे सम्मान गर्नु पथर््यो, त्यो गरेन । वा भनांै मैथिलहरु आफै पनि आफ्नो पुर्वजको महान योगदान प्रति उदासीन छ । खुशीको कुरा के छ भने आन्दोलन गरेर त आईरहेको छ तर आन्दोलनको खरावी के छ भने यसमा राजनीतिक पक्षलाई वढी जोड त दिइएको छ, सांस्कृतिक पक्षलाई बेवास्ता गरिएको छ ।
नेपाली कांग्रेसको स्थापनाकालका संस्थापक नेताहरु जो मधेससँग वढी परिचित थिए, र अहिलेका शिर्ष नेताहरु जो मधेससँग कम परिचित छन्, त्यसले पनि मधेसको विकासमा असर गरेको छ कि ? मधेस प्रति अनुदार त्यसैकारणले वढी छन् कि ?
नेपालीमा एउटा भनाई के छ भने ‘उम्केको माछा ठुलो’ । पुरानो नेताहरुको हामी गौरव मण्डित गर्छाैं । तर, त्यो ठीक होइन, गणेशमानजीले भन्नु भएको थियो, लोकतन्त्र आएको चाँहि बाहुन र क्षेत्रीको लागि मात्र हो । लोकतन्त्र आएको काठमाण्डौको मान्छेको लागि मात्र हो । जनजाती, मधेसीको लागि लोकतन्त्र आएकै होइन । यसको लागि मैले नेताहरुलाई दोष दिन्न । ऐतिहासिक विकास क्रममा यस्तै हुन्छ । हजारौं बर्षको पराधिनता रहे पछि यो हुन्छ नै ।
अहिलेको नेपाली कांग्रेसको नेतृत्व जो छ, नामै भन्नु पर्दा शेरबहादुर देउवाजी, रामचन्द्र जी उहाँहरुलाई मधेस आन्दोलनको स्प्रिट बुझ्नमा कम से कम संविधानको पहिलो मस्यौदा गर्ने बेला कठिनाई थियो । अहिले पनि कठिनाई छ । उहाँहरुसँग मेरो राम्रै गरी कुरा भईरहन्छ । त म के देख्छु भने उहाँहरुको राष्टिूयताको जे परिभाषा छ, राष्टिूयता उहाँहरुकै ठेकेदारी हो । उहाँहरुले नै राष्टिूयतालाई जोगाउनु हुन्छ । यसरी राजा महेन्द्रलाई लाग्ने गथर््यो । यहि हो समस्या । यसको प्रतिरोधमा अर्को धु्रव के आयो भने मधेसलाई अलग गरेरै छाड्छौं । सप्तरीका जयकृष्ण गोइतजी, सिके राउतजी सम्म अर्को अतिवादको कुरा गरिरहेका छन् । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । श्रीलंकामा त्यत्रो ठुलो हिंसक शक्तिशाली संघर्ष कसरी तुहियो, त्यो बुझ्नु पर्छ । त्यसैले यो मुख्यतः नयाँ राष्टूको निर्माण कम से कम १ सय बर्ष सम्म त हुँदैन । किनभने भारत तल माथि गर्न चाहदैन । भारत आफै भौगोलिक सुरक्षाका लागि चिन्तित छ । त्यसैले नेपालमा केपी ओलीको पनि वढावा हुन जान्छ । यो देशलाई बचाउने जिम्मेवारी आलीकै हो कि कतिलाई लागेको छ । यो देशमा राष्टिूयता विषयको विमर्शको अनुपस्थितिमा अभावमा भईरहेको हुनाले हाम्रो पार्टीको कतिपय नेताहरु पनि शिकार बनेका छन् ।
तपाईले बेला बखत वीपी कोइरालाको राष्टिूयता माथि पनि किन सवाल उठाउनु हुन्छ ?
अब्राहम लिङ्कनलाई त जान्नु भएको छ । उहाँलाई मानिसहरुले दास मुक्ति, कालाहरुलाई अधिकार दिलाउने नेताको रुपमा चिन्छन् । इतिहासको के कुरा सत्य पनि हो भने अमेरिकामा गृहयूद्ध कालमा कालाको पक्षमा उनको भाषण छ । तर गृहयूद्ध भन्दा अघि अव्राहम लिङ्कन दास प्रथा आपत्तिजनक कुरा हो भनेर मानेका थिएनन् । अमेरिकाको सुप्रिम कोर्टले एउटा फैसला सुनायो कि दासलाई, कालालाई मतदानको अधिकार दिईने छैन । किनभने काला या दास त मार्केटमा विक्री हुन्छ । जसरी घोडा, गाई, गोरु विक्री हुन्छ । त, जुन बस्तु बजारमा विक्री योग्य छन् त्यसलाई यदि मतदान गर्ने अधिकार दियो भने धनीहरुले त उसैलाई किनेर पावरमा पुग्न सक्छन् । यस्तो किसिमको तर्क अमेरिकाको तत्कालिन सर्बोच्च अदालतले गरेको थियो । अव्राहम लिङ्कन त्यतिबेला सक्रिय थिए । त्यसको प्रतिवाद लिङ्कनले गरेनन् । घुमाउरो पारामा उनले सर्बोच्चलाई सपोर्ट नै गरे । तर  गृहयूद्ध जब वढ्यो, कालालाई उनको समर्थनको जब आवश्यकता पर्यो, फेरी लिङ्कनले आफ्नो लाईन परिवर्तन गरी कालाहरुको पक्षमा जानु भयो ।
यसरी हेर्ने हो भने आन्दोलन दौरान धेरै कुराहरु हुन्छन् । भोटको राजनीतिले धेरै असर पार्छ । विपीले पनि राष्टिूयताको परिचय सुरुमा एक किसिमले दिएका थिए । राजा महेन्द्रसँगको लडाईका समयमा उनी पछि हटेका थिए । प्राचीन राष्टिूयताको परिभाषालाई विपीले ठीक भनेका थिए । सुरुमा उनले शुत्रपात गरेको परिभाषा अत्यन्तै ठीक थियो । तर, राजा महेन्द्रसँग एडजेस्ट गर्न उनी पछि हटे ।
सन् १९७१ मा विपीले राष्टिूयताका बारेमा लेखेका छन् जनता नै हो राष्टिूयताको मुल, भुगोल होईन । जनता नै हो राष्टिूयताको मुल, राजा होईन । तर पछि उनले नै भनन थाले कि राजा नरहे देश रहँदैन । राजाको स्तुती गान गाउन थाले । त्यो कुरा अहिले आएर त्यसै पनि गलत सावित भएको छ । राजा त अहिले छैन । के देश छैन त ? राष्टिूयता खत्म भयो त ? दुनियाँमा राजतन्त्र रहेको देश धेरै कम छ ।    के त्यहाँ राष्टिूयता छैन ।
मधेसको सवालमा विपीको राष्टिूयता पनि फेरिएको थियो त ?
म यो सिके राउत र जयकृष्ण गोईतजीलाई सुनाउन चाहन्छु कि सैकडौं बर्षको आन्दोलनको क्रममा लड्दै, भिड्दै पर्खिदै, हतारिँदै अगाडी वढ्नु पर्छ । विपी कोइराला सायद केही दिन बाँचेको भए वहाँको दृष्टिकोण परिवर्तन हुन सक्थ्यो । जसरी विपीले वा किशुनजीले मधेसीलाई सकारात्मक रुपमा लिनु पथर््यो वा भन्नु पथर््यो कि हो मधेसीलाई ज्यादै अन्याय परेको छ, त्यो अन्याय र विभेदको एउटा अभिव्यक्ति हाम्रो सैन्य संरचनामा पनि हो । निजामती सेवामा पनि विभेद भएको छ । अन्य कानुनी संस्थामा पनि विभेद भएको छ । यो साँच्चै नै अन्याय भएको हो । यसलाई म चाँडो भन्दा चाँडो परिमार्जन गर्छु भन्नुको साटो विभेद भएकै छैन भन्नु गलत थियो । मधेसको सवाल किशुनजीमा रहेको मानसिकता र दृष्टिकोण कता न कता विपीमा पनि पाइन्छ ।
१० बर्ष माओवादी आन्दोलनका क्रममा पनि मधेसीको स्वायत्तता, आत्म निर्णयको अधिकार लगायत विभिन्न पहिचान र अधिकारको कुरा उठ्यो । तर, अन्ततः माओवादी पनि चुक्यो । त्यो किन भएको होला ?
माओवादी आन्दोलन नेपाल राज्यको पुनर्संरचनामा ठुलो योगदान गर्यो । गणतन्त्रका लागि पनि उसको ठुलो भुमिका छ । संघीय राज्यको अवधारणालाई पनि माओवादीले एउटा निर्णायक मोडमा ल्यायो । संघीय राज्यको कुरो अहिले मात्र उठेको छैन । जहाँसम्म मलाई थाहा छ सात सालको क्रान्ति पछि बेदानन्द झाले स्थापना गरेको तराई कांग्रेस त्यसपछि गजेन्द्र नारायण सिंहले सदभावना पार्टीमा उठाउनु भयो । र, यो मुलधारको पार्टीहरु मध्ये नेपाली कांग्रेसमा हामीहरुले उठायौं ।
हाम्रो नेपाली कांग्रेस प्रजातान्त्रिक भएको बेलामा दमजम भनेर मधेसीलाई आरक्षण सँगै संघीयताको कुरा हाम्रो पार्टी भित्र एउटा प्रस्ताव विमलेन्द्रले राख्यो र अर्को प्रस्ताव मैले राखेको थिएँ । तर के हुन्छ भने जब राजनीतिक दलमा एउटा समाज, वर्ग र जाती विशेषको बर्चस्व रहन्छ, त्यस जाती वा वर्गको बाहेकको कुरा सुन्दैन । भावना त हामीले व्यक्त गर्यौं । तर ती भावनालाई बोक्ने वर्ग नै तयार भईरहेको छैन । भावना मात्र बोकेर फेरी हुँदैन । समाजवादी क्रान्ति गर्नको लागि मजदुर वर्गले नै गर्नुपर्छ भनेर मार्क्सले भनेका छन् । त्यसैले के एउटा भ्रम भयो दुनियामा की संसदीय लोकतन्त्र आयो भने, वान म्यान वान भोट आयो भने सबै समस्याको समाधान हुन्छ । अघि राजाको तानाशाहीले गर्दा समस्या उत्पन्न भएको छ, वान म्यान वान भोटले समाधान गर्छ भन्ने भयो । वान म्यान वान भोट निश्चय चाहिएको थियो, त्यो आवश्यक पनि थियो  । उत्तर प्रदेश र विहारमा त्यो नभएको भए दलितकी छोरी मुख्यमन्त्री बन्न पाउने थिईनन् । पिछडा वर्गको त्यत्रो ठुलो विद्रोह सम्भव थिएन । त्यसैले वान म्यान वान भोट आधार त हो तर पर्याप्त भने होइन । यो कुरा त्यति बेला जवाहर लाल नेहरुलाई, विपी कोइरालालाई पनि थाहा थिएन । किशुनजीलाई थाहा थिएन ।
हामीले के बुझ्न पर्छ भने राजनीतिक विकासको शिलशिलामा वहाँहरुले जे पढ्नु भयो, त्यही बुझ्नु भयो । अब हामीले के बुझ्नुपर्छ की हामी पहिचानको संकट देखिरहेका छौं । वान म्यान वान भोटको आधारमा कहिल्यै पनि दलितको बहुमत आउँदैन । अल्पसंख्यकले कहिल्यै पनि भोट पाउँदैन । वान म्यान वान भोट हुँदा हुँदै पनि राज्यले लगातार बहिष्कारणमा राखेको बहिष्कृत व्यक्तिले त अधिकार पाउँदैन ।
माओवादी आन्दोलनले पनि मधेसी, थारु आदि समुदायलाई सम्बोधन गरेन त ?
सुरुमा गर्यो, सैद्धान्तिक रुपले । तर, व्यवहारमा त्यो देखिएन । माओवादीमा मात्रै होइन, कांग्रेसमा पनि प्रजातन्त्र आएपछि तिनीहरुको भलाई हुन्छ भनेर भनियो । प्रजातन्त्र पनि आयो । जे जस्तो आयो । तर त्यहाँ पनि मधेसी, थारुहरु उपेक्षित भए । निजामती सेवा, सेना, पुलिस आदिमा जान सकेनन् । ए, तिमीहरुले पढ्ेका छैनौं भन्ने कुरा उठ्यो, अनि यहाँका मान्छेमा चेतना आयो । ए कसरी पढ्ने त ? कहिले पालो आउँछ त ? भन्ने चेतना आए पछि मधेस आन्दोलन भयो । मधेस आन्दोलनको कुरा त मान्छेले धेरै पहिले देखि गरि नै रहेका थिए नि । तपाईलाई थाहा छ, रघुनाथ ठाकुर, बेदानन्द झा सम्मले मधेस आन्दोलनका कुरा गरेकै थिए । तर अहिले नै आएर किन भयो त भने मेले के भन्ने गरेको छु कि आन्दोलनको एउटा उद्देश्यलाई लिएर बोकेर अगाडी हिड्नका लागि एउटा वाहन चाहिन्छ । त्या वाहन त्यति बेला रेडी थिएन । पढेलेखेका यूवाहरु वाहेक अहिले ठुलो संख्यामा मानिसहरु चेतनशील भएपछि आन्दोलन भएको हो ।
विपी , गणेशमान, पुष्पलाल समयमा यी कुराहरु भएन । प्रचण्डको समयमा यी कुराहरु अलि अलि भए । तर प्रचण्ड यति न नराम्ररी सत्ताको राजनीतिमा फसे कि उनले कुरा बुझ्नै सकेनन् । त्यो भन्दा पनि प्रचण्डमा अरु कमजोरी के थियो भने प्रचण्डले बुझेको मार्क्सवाद, लेलिनवाद, जे जति उनले बुझेका छन् त्यसमा पनि विमर्श छैन । पहिचानको विमर्श नै भएको छैन । वहाँलाई पनि के लागेको छ भने क्रान्ति त वर्गले गर्ने हो । वर्गले सिद्धयाउँछ भन्ने लाग्छ । अहिले तपाई जति अग्रगमन विचार राख्नु हुन्छ, शायद तपाईको हजुरआमाले राख्नु हुन्न होला । अहिले पनि उहाँले छुवाछुत, वाल विवाह जस्ता कुरालाई स्वीकार्य होलान् ।
मधेस अस्मिताको खोजीमा भनेर मधेस आन्दोलन ताका तपाईले लेख्नु भएको थियो । मधेसले पायो त अस्मिता ? बच्यो त, अस्मिता ?
त्यो पनि एउटा सापेक्ष कुरा हुन्छ । के सँग तुलना गर्ने ? सात साल, १५ साल, १७ सालसँग तुलना गर्ने । पञ्चायतकालमा नेताहरुले के भाषण गर्थे कि राजाले हुकुम दियो भने ‘वाउलाई काटछु आमालाई बाँड्छु’ त्यस किसिमको चाकरीवाज, त्यस किसिमको शोषण, मस्करी सिद्धान्त चल्थ्यो । अब त्यो कहाँबाट कहाँ गई सक्यो । अहिले पनि पार्टीहरुमा नेता तन्त्र हावी छ । राजतन्त्रको ठाउँमा नेतातन्त्र आएको छ । त्यो सँग म सन्तुष्ट हुँईन ।
कुरो के हो भने एकैचोटी सम्पुर्ण क्रान्ति गर्न खोज्दा खेरी प्रचण्डको जस्तै क्रान्ति हुन्छ । बीसौं हजार मानिसहरु मर्छन र अन्त्य घुमिफिरी रुम्जाटार वा हिन्दीमा ढाकके तीन पात भने जस्तै ठाउँमा आईपुग्छ ।
श्रीलंकामा त्यत्रो ठुलो हिंसक रक्तपात भयो, तर उपलब्धि भएन । त्यसैले कुनै पनि आन्दोलनले सम्झौता गर्ने घडी बुझ्नु पर्छ । सम्झौता गर्दा आन्दोलनको लक्ष्य छोड्ने होइन, कायम राख्ने, बरकरार राख्ने तर आजको परिस्थितिमा एउटा ऐतिहासिक सम्झौता गर्न सक्नु पर्दछ । जस्तो अहिले मधेसवादी पार्टीले संविधान संशोधनको माग गर्दैछ । तर, माग कहिल्यै छोड्नु हुँदैन ।
हमेशा नयाँ चिन्तन, नयाँ प्रस्तावहरु ल्याई राख्नु पर्छ । अस्तिको संविधानसभाले जसरी राज्यको सीमाङ्कन गरेको छ, त्यो वैज्ञानिक छैन । संघीय राज्य त समुदाय विशेष, जाती विशेष, क्षेत्र विशेषलाई सम्पन्न गर्ने चिज हो । घुमाई फिराई पुरानै वर्गको बहुमत हुने गरी राखेर हुँदैन नि त । तर, अब अहिले यति नै भयो, आजका मितिमा चुनावमा भाग लिनु पर्छ । कसरी लिनुपर्छ भने आफ्नो कुरा भन्दै चित्त नबुझे पनि चुनावमा भाग लिनु परेको छ भनेर जनता समक्ष भन्दै जाने हो । यही राजनीतिको नियम हो । यही राजनीतिको खेल हो ।
तपाईलाई थाहा छ, माओवादीहरुले पहिले पार्लियामेन्टलाई मुद्दाको रुपमा उठाए । हामी मान्दैनौं भने । एमालेले पनि मान्दैनौं भने । अम्वेडकर जसले भारतमा संविधान लेख्नु भयो, संविधान पेश गर्ने बेलामा भन्नु भयो कि यो संविधानमा मेरा चित्त नबुझेको धेरै कुरा छ । तर, पनि यो संविधान पेश गर्दैछु देशको लागि । अनि १९५५, १९५६ तिर आफ्नै संविधानको आलोचना गर्दै के भनेका थिए भने मलाई त संविधानको लेखक भनेर भन्छन तर म त संविधानको किरानी थिएँ । उनीहरुले बोल्दै गए, मैले लेख्दै गएँ, भनेर भन्नु भएको थियो । त्यसैले अहिले जे जति उपलब्धि आएको छ, मधेस आन्दोलनको त्यसलाई संस्थागत गर्ने हो । एउटा उपलब्धि त आन्दोलनले गर्दा नै आएको छ, अर्को उपलब्धि समाजमा भईरहेको स्वाभाविक परिवर्तनले गर्दा पनि आएको छ ।
त्यसैले हाम्रो जे दीर्घकालिन लक्ष्य हो, समाजको पुर्ण क्रान्तिकरण, समाजमा सबैलाई समानता कायम गर्ने, त्यो छोड्नु हुँदैन । र, मधेसको राजनीतिमा जे कमजोरी छ त्यो त छँदैछ, अर्को सांस्कृतिक कमजोरी पनि छ । वाल विवाह, केटीलाई शिक्षा दिईदैन, अहिले पनि पुरुष बर्चस्व छ । अहिले पनि छुवाछुत कायम छ । जात पात छ । यसको लागि पनि राजनीति आन्दोलनको समानान्तर सुधार आन्दोलन चलाउनु पर्यो । तपाई यदि अर्को समुदायसँग लड्न चाहनु  हुन्छ भने अर्को समुदाय कसरी अगाडी वढ्यो त्यसको इतिहास पनि त लिनु पर्यो नि । त्यसैले मलाई के लाग्छ भने हामी धेरै निराश हुनु पर्ने कुरा छैन तर यसको अर्थ मधेसीलाई सम्पन्न सबल बन्नबाट बञ्चित पनि गरिनु हुन्न ।
मधेसवादीहरुले के उपयूक्त घडीमा सम्झौता गरेनन् त ? विगतका २२ बुँदे, ८ बुँदे आदि उपयूक्त घडी थिएनन् त ?
मधेसी नेतृत्वहरु पनि पटक पटक किन फस्ने गर्छन, त्यो मलाई थाहा भएन । कहिले काँही उहाँहरुले आफ्नो बुद्धि विवेकको प्रयोग गर्नु भन्दा पनि आई एम सरी टु से उहाँहरु भारतीय दुतावासको वढी भर पर्नुहुन्छ । कहिल्यै दिल्लीका सानातिना राजनीतिक मानिसका कुरा सुनेर त कहिले काँही दुतावासका साना कर्मचारीको कुरा सुन्नु हुन्छ । एमालेले नमानुन्जेल संविधान संशोधन हुँदैन । नेपालीमा एउटा उखान छ, घ्यू बेचेर तरवार बेच्ने उनीहरुलाई प्रधानमन्त्री बन्न भोट चाहिन्छ, यिनीहरुले पनि संशोधन गर्छु गर्छु भन्छन् तर मधेसी नेतृत्वलाई झुक्याउने, मधेसी नेतृत्वले मधेसी जनतालाई झुक्याउने । आखिर दुवै पक्षले जनालाई झुक्याईरहेका छन् ।
सम्झौताको घडी मैले कहाँ भनेको छु भने जब संविधान बन्यो, संविधान भन्दा मधेसको जुन आक्रोश थियो, आक्रोश पछि सडकमा आएर असंतुष्टि प्रकट गर्यो, त्यो आन्दोलन कहाँ गएर सिद्धियो वा तुहियो त ? भन्ने प्रश्न हो । कहाँ गएर सेफलैण्डिङ्ग भयो त ? त्यसैले मधेसका नाममा राजनीति गर्ने वर्तमान नेतृत्वले जानेकै छैनन् कि आन्दोलन कसरी चलाइन्छ । गान्धीजीले भारतमा ५० बर्ष सम्म त्यत्रो ठुलो ठुलो आन्दोलन चलाउनु भयो । कति पटक आन्दोलन रोक्नु भयो बीचैमा ।
प्रभाकरणलाई जब भारतले हस्तक्षेप गर्यो, अधिकार सम्पन्न बनाउने कुरा गरिएको बेला नै प्रभाकरणले मानेको भए मारिने त थिएनन् नि ।  ६ महिना साल भर राज्य कब्जा गरेर अगाडी बढ्न सक्थ्यो । त्यस अर्थमा भन्न खोजेको हो कि ८÷१० बर्ष सम्म जुन मधेस आन्दोलन चलेको छ, त्यस आन्दोलनबाट काफी उपलब्धि पनि भएको छ । यो अर्को कुरा हो कि आन्दोलनमा काफी बलिदानी भएको छ, त्यसको अनुपातमा उपलब्धि भएको छैन होला । त्यसको लागि आन्दोलनकारी नेतृत्वमा विभाजन पारस्परिक विश्वासको कमी र पृष्ठभुमि महत्वपुर्ण कारण छन् ।
मधेसको भोट लिएर कांग्रेस प्रायः जसो निरन्तर सत्तामा छ । यस क्षेत्रका मानिसहरु पनि प्रायः जसो क्याविनेटमा प्रतिनिधित्व गरेकै पाइन्छन् । तर पनि पुर्वाधार विकास किन भएन, मधेसमा ?
राज्यको संरचना र अर्थतन्त्रको संरचना जुन छ त्यो नै जटिल छ । तपाईलाई एउटा सानो प्रश्न घुमाएर म गर्छु । मधेसमा अब खेतीपाती पनि छैन । किसान छ, मजदुर छैन । सबै केटाहरु बाहिर गईसक्यो । कल्पना गर्नुस, तपाईसँग १० विघा जमिन छ । गाउँघरमा अहिले सरदर २ लाख रुपैयाँ प्रति कठ्ठा हुन्छ । विघाको ४० लाख भएपनि १० विघाको ४ करोड जति मुल्य मार्केटमा हुन्छ । ४ करोडको लागि किसान लड्दै छ । त्यसले मरिमरी काम गर्छ । ज्याला लगाउँछ । हलो जोत्छ । म्यानेज पनि गर्छ । त्यसको बर्षको अन्तयमा बचत कति हुन्छ ? खर्च काटेर ४÷५ लाख रुपैयाँ हुन्छ होला । त्यत्रो परिश्रम गरेर किसानको हातमा ५ लाख रुपैयाँ आउन सक्छ । त्यो पनि १० विघा खेत भयो भने मात्रै । अब तपाई बताउनुस् नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादीका कुन नेता छन् जसको महिनामा ४÷५ लाख रुपैयाँ खर्च हुँदैन । त्यसैले जुन राज्यको भेस्टेड इन्टूेस्ट छैन, गाउँमा सिचाईको व्यवस्था गर्नको लागि मन्त्रीलाई त्यसको सिधा फाईदा हुनुपर्यो । यदि त्यो मन्त्रीलाई फाईदा पुग्दैन भने मन्त्रीले जति सुकै भाषण गरेपनि त्यो बोलीमै सिमित हुन्छ । बेला बखतमा मधेसका नेताहरु मन्त्री बनेकै हो । नेताहरुको कृपामा मात्र मन्त्री बन्न पाउँछन् । त्यस्तो अवस्थामा के गर्ने ?  उदाहरणको लागि जनकपुरबाट अहिले कांग्रेस पार्टीका दुई जना नेताहरु मन्त्री छन् । उनीहरुले केही गरौं भनेर खोज्यो भनेपनि सचिवले मान्दैन । डिजीले मान्दैन । सेक्सन अफिसरले मान्दैन । पछि नेताले संकेत गरिदियो भने मात्र त्यो काम हुन्छ । त्यस्तो अवस्थामा कि त मन्त्रीले राजिनामा गर्छन् कि त चुप लागेर पद जोगाउँछन् । अब सैद्धान्तिक सवालमा कति मन्त्रीहरुले राजिनामा गरेका छन् त ? खास गरी भुमि सुधारको लागि जगरनाथ आचार्यले राजिनामा गरेका थिए । भ्रष्टाचारको सवालमा सैलेजा आचार्यले गरे । गिरिजाबाबुले दुईटैलाई चित्त नबुझेर राजिनामा गराए । पछिल्लो समयमा विमलेन्द्र निधिले गरेपनि त्यसको बारेमा चर्चा गर्नुनै बेकार छ । त्यसकारण मधेसको विकास यहाँ संघीय राज्य नहुन्जेल हुनसक्दैन । संघीय राज्यमा पर्याप्त अधिकार नपाउन्जेल मधेसको विकास सजिलो छैन ।
अहिले संघीय राज्यमा प्रदेशलाई फेरी त्यत्रो अधिकार पनि दिएको छैन भनेर भनि रहँदा कसरी विकास हुने हो ?
पाएका अधिकारलाई लिएर हिँड्नु पर्छ । बाँकीका लागि संघर्ष गरिरहनु पर्छ । विहारमा पहिले राज्यपालले जतिबेला चाहन्थे त्यति बेला केन्द्रले परिवर्तन गथर््यो । तर, अब त सक्दैन । किनभने अदालतले रोक्छ । यो एउटा प्रक्रिया हो । म आफुलाई गान्धीबादी मान्दछु । यदि कसैले लडाई गर्छ भने म यति मात्र भन्छु तिम्रो लडाईसँग म सहमत छु । तर, तिम्रो लडाईको तरिका मलाई चित्त बुझेको छैन । म त विप्लवले सम्बोधन गरेको सभामा पनि जान्छु । सिके राउतले गरेको सभामा पनि जान्छु । आफ्नो कुरा भन्छु । त्यसैले त्यो लडाकु तत्वलाई, ज्यादा अधिकार माग गर्ने तत्वलाई म समर्थन गर्छु । व्लुडाईमण्ड सोसाईटीको कार्यक्रममा म चिफ गेस्ट बनेर उनीहरुको गे राईटको आन्दोलनलाई समर्थन गरेको छु । किनभने मलाई के लाग्छ भने गे हरु पनि उत्पीडित बर्ग हुन । र, उनीहरुले ल्याएको कुरा पनि मलाई ठिक लागेन भने म भन्छु कि यो कुरा ठिक भएन ।
त्यसो हो भने मधेसमा आन्दोलन गर्ने नेतृत्वमा नै कमि कमजोरी छ त ? कि दिने पक्ष राज्यको पनि कमजोरी हो ?
दिने पक्षको त कुरै नगर्नुस । उसको कमजोरी त स्वाभाविक रुपले नै भईहाल्छ । दिन कसलाई पसन्द हुन्छ । खाईपाई आएको अधिकारबाट अरुलाई दिन कसले तयार हुन्छ ? तर, मधेस आन्दोलन गर्ने नेताहरुको रणनीति, कार्यनीति पनि सन्तोषजनक छैन ।
नेपाली कांग्रेस प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा १ सय २७ सिट मध्ये १ सय सिट जित्ने दावी गरिरहेको छ । के जित्न सक्ला ?
म त छक्कै परेको छु । हाम्रो नेताहरुले किन १ सय सिट मात्रै भनेको हो । १ सय २५ सिट भनेपनि हुन्छ । कसले रोकेको छ । नेपाली कांग्रेस मुख्यतः के चाहन्छ भने प्रदेश नम्बर २ मा एक नम्बर पार्टीको रुपमा स्थापित हुन सकोस् । प्रचारको क्रममा ओलीजीले पनि, प्रचण्डजीले पनि १ सय सिट भन्लान् ।
कांग्रेसले यो चुनावमा एमालेलाई मात्र टार्गेट गरेको देखियो । किन एमाले मात्रै टार्गेटमा परेको हो ?
लडाई नै एमालेसँग छ । सत्ता संघर्षको लडाई एमालेसँग भएका कारणले एमाले टार्गेटमा परेको हो । एमालेको विगतको दुई चरणको विजयका कारण पनि लडाई एमाले सँग परेको हो ।
राजपा यो चुनावमा सहभागी नहोस भन्ने कांग्रेसको रणनीति रहेको बताइन्छ । राजपा नआए त्यसको लाभ कांग्रेसलाई हुने हुनाले कांग्रेस नै राजपालाई चुनावमा आउनबाट रोकिरहेको भनेर बताइन्छ । के यो सत्य हो ?
राजपा चुनावमा आउने नआउने सवाल स्वयम आफैमा अप्ठ्यारो सवाल हो । उपेन्द्र यादव, विजय गच्छदार लगायत आईसके । राजपा आए कांग्रेसलाई असर पर्छ भन्नु गलत हो । बुनियादी कुरा के हो भने जसरी बारम्बार संविधान संशोधन गरिदिन्छु भनेर भनिएको छ त्यसलाई म धेरै इमान्दार बक्तव्य मान्दिन । उनीहरुले प्रष्ट रुपमा भन्न सक्नुपर्यो कि हामी अहिले संशोधन गर्न सक्दैनौं । अहिले त्यो अवस्था छैन । त्यसैले एउटा मात्र उपाय के छ भने हामीले संघीय संसदको चुनाव गरेर नयाँ समिकरणको आधारमा संशोधन गरौंला । तर, राज्यले गर्न सक्ने कतिपय कुराहरु थिए । जस्तै स्थानीय तहको संख्या बढाउने कुरा, राष्टिूय सभाको चुनावको प्रतिनिधित्वको कुरा आदि गर्न सकिन्थ्यो । तर, विभिन्न पार्टीहरुका बीच बर्गिय र जातिय सवालमा झगडा छ । मधेसलाई शंकाको नजरले हेर्ने सुरुवात राजा महेन्द्रले गर्यो । त्यो निर्मुल भएको छ, निमिट्यान्न भएको छ, समाप्त भएको छ, अब कांग्रेसले आत्मसात गर्न तयार छ भनेर म मान्दिन । चुनावको मुखमा यो भन्दा वढी कुरा भन्न सक्दिन । तर, मेन स्टूीममा भएका पार्टीहरु मध्ये कांग्रेस म, विमलेन्द्र जस्ताका कारणले अलि बढी खुला छ । कांग्रेस भित्र हामी धेरै मानिसहरु छौं जो मधेसका सवालमा आवाज उठाईरहेका छौं । मैले त संविधानमै पनि दस्तखत गर्न मानिन् । अहिले पनि हामीले मानसिक स्तरमा धेरै काम गर्न बाँकी छ । त्यो कांग्रेसले मात्र गर्ने होईन । मधेसले पनि गर्ने हो । आन्दोलनकारीहरुले के बुझ्नु पर्यो भने यसो बीचमा केही दिन रोकेर रचनात्मक आन्दोलनहरु, सामाजिक समस्या र कुरितीहरु विरुद्धको सामाजिक आन्दोलन पनि चलाउनु पर्छ । त्यो सामाजिक आन्दोलनले मात्रै राजनीतिक आन्दोलनलाई बल पुग्छ । यो आन्दोलनमा जुन बल हुनुपर्ने हो त्यो किन छैन भने मन्त्री हुनका लागि आन्दोलन भएको हो भनेर देखिएको छ अनेकौं पटक । मन्त्री पदकै लागि झगडा पनि गरिएको छ । पार्टी पनि विभाजन गरिएको छ ।
राजपाले सांकेतिक रुपमा आफ्नो मुद्दालाई जिवित राख्नका लागि चुनावमा नआएपनि ठिकै हुन्थ्यो भन्ने धारणालाई तपाईले कसरी लिनु भएको छ ?
त्यो भएपनि एउटा कुरा हुन्थ्यो । तर, त्यो पनि छैन । राजपा विभक्त मानसिकतामा छ । चुनावमा भाग नलिँदा पहिचान र मुद्दा जिवित रहने कुरा पनि छ भने अर्को तर्फ चुनावमा नजाँदा पार्टीमा भगदड मचिने सम्भावना पनि छ । नेतृत्व पनि एकिकृत छैन । नेता धेरै भएको पार्टी बनेको छ राजपा । राजनीतिमा यस्तो विभाजित मनस्थिति हुनुहुन्न ।
महन्थ ठाकुरको नेतृत्वमा भईरहेको आन्दोलन प्रति कति विश्वस्त हुनुहुन्छ ?
व्यक्तिगत रुपले उहाँको इमान्दारी माथि पुरा विश्वास छ । उहाँको प्रतिबद्धता, समर्पण माथि विश्वास छ । तर, सवाल के छ भने आन्दोलनको जटिलतालाई बुझ्नका लागि जुन तत्परता हुनुपर्ने हो उहाँको उमेरका कारणले म देख्दिन । जसरी उहाँले पुरै पार्टीलाई नियन्त्रण गर्न सक्नु पर्ने हो त्यो गर्न बेला बेलामा  म उहाँलाई सक्षम देख्दिन ।

२०७४ श्रावण २९ गते आईतबार

नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा एमालेमा जाने हल्ला चलेपनि अन्ततः माओवादी केन्द्रमै फर्किने


माओवादी केन्द्रमा फर्किने विषयमा कुराकानी गर्दै नयाँ शक्ति परित्याग गरेका नेताहरु रामचन्द्र झा,
रामकुमार शर्मा र ब्रजकिशोर यादव । नेकपा माओवादी केन्द्रका
 अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निजी निवासमा भएको
उक्त भेटघाटका क्रममा माओवादी नेताहरु मात्रिका यादव,
श्रवण बरबरिया, उर्मिला अर्याल र जनार्दन शर्मा
लगायतको उपस्थिति थियो ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नयाँ शक्ति पार्टीका सह संयोजक रामचन्द्र झा  पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किने भएका छन् । झासँगै मधेसका प्रभावशाली नेता रामकुमार शर्मा र ब्रजकिशोर यादवले माओवादी पार्टी प्रवेश गर्ने निश्चित भएको छ । ३२ साउनमा जनकपुरमा आयोजना गरिने पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले नयाँ शक्ति परित्याग गरेका नेताहरु झा, शर्मा र यादवलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ ।
प्रदेश नम्बर २ मा असोज २ गते हुने भनिएको स्थानीय तहको चुनावको अगाडी नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का प्रभावशाली नेताहरुले नयाँ शक्ति छोडेर माओवादी केन्द्रमा प्रवेश गर्ने भएपछि प्रदेश नम्बर २ मा माओवादी केन्द्रको प्रभाव र बर्चस्व फेरी वढ्ने राजनीतिक वृतमा आँकलन गरिएको छ ।
किन छाडे नयाँ शक्ति ?
बैकल्पिक राजनीतिक शक्तिको रुपमा गठन गरिएको नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग पार्टी एकताको प्रक्रियालाई भंग गरेपछि नयाँ शक्ति पार्टीका सह संयोजक रामचन्द्र झाले  उक्त पार्टीसँग सम्बन्ध विच्छेद गरेका हुन । औपचारिक रुपमा पार्टीमा राजिनामा नदिएपनि पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई अब पार्टीमा नरहने कुराको जानकारी समेत झाले गराईसकेका थिए ।
२० महिनाको यात्रामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको विकल्पमा बैकल्पिक राजनीतिक शक्ति गठन गर्नका लागि माओवादी केन्द्रबाट परित्याग गर्दै डा.बाबुराम भट्टराईको संयोजकत्वमा थुप्रै नेताहरुले विद्रोह गरेका थिए । तर, पुरानो शक्तिहरुसँग प्रतिस्पर्धा गर्नका लागि पर्याप्त समय नभएको, दुई चरणको स्थानीय तहको निर्वाचनमा आशातित परिणाम समेत  हासिल नभएको अवस्थामा अन्य पार्टीहरुसँग एकता गरी ठुलो पार्टी बनाउने रणनीति अनुसार नै एजेण्डासँग निकट भएको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताको निर्णय गरिएको थियो । बार्ता गर्नका लागि रामचन्द्र झालाई नयाँ शक्तिको तर्फबाट बार्ता समितिको संयोजक समेत बनाइएको थियो । तर, झा निजी भ्रमणका क्रममा यूरोपमा रहेकै बेला पार्टीले अचानक बार्ता प्रक्रिया भंग गरेपछि स्वदेश फर्किएका झाले अब उक्त पार्टीमा रहन नसक्ने बताएका छन् । झाका अनुसार पुरानो शक्तिहरुसँग प्रतिस्पर्धा गर्नका लागि संगठन बनाउन कम्तिमा पनि १० बर्ष लाग्ने हुनाले त्यति समयमा कुर्नु भन्दा आफ्नो पार्टीसँग विचार मिल्ने विभिन्न पार्टीहरुसँग ध्रुविकरण गरी प्रतिस्पर्धा योग्य बनाउने पार्टीको रणनीति थियो । सोही अनुसार संघीय समाजवादी फोरमसँग बार्ता गर्न प्राथमिकतामा राखिएको थियो । दुवै दलका कार्यदल बनाई एकताका लागि लामो सम्वाद भई राजनीतिक दस्तावेज, एजेण्डा लगायतमा सहमति भईसकेको थियो । निर्वाचन चिन्ह, झण्डामा सहमति जुटेको थियो । नाममा पनि दुई तिनवटा विकल्प प्रस्ताव गरिएको थियो । ३५ पानाको राजनीतिक दस्तावेज र १ सय २० पानाको विधान तयार गरिएको थियो । झा भन्छन,“ पछिल्लो १ महिनामा दुवै पार्टीका बार्ता समितिको कार्यदलले १४÷१५ वटा निरन्तर बैठक गरिनुका साथै आवासिय बैठकहरु समेत गरिएको थियो । तर, अचानक पार्टीका संयोजक भट्टराईले पार्टी एकता प्रक्रियालाई भंग गरिदिएपछि अब त्यो पार्टीमा रहने कुरा भएन ।”
मधेसको सवालमा संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अत्यन्तै सकारात्मक थियो । किनभने समाजिक न्याय, संघीयता, धर्मनिरपेक्षता, उत्पीडन लगायत ५ ‘स’ को अवधारणा अनुसार फोरमसँगको एकता विकास, सुशासन, राष्टिूयता समेतको एजेण्डालाई बल पुग्नुका साथै देशको बास्तविक बैकल्पिक शक्ति समेत गठन हुने थियो । तर, संयोजक भट्टराईले केन्द्रिय परिषदको बैठक डाकेर बैठकबाट फोरमसँगको बार्ता प्रक्रिया भंग गरी काठमाण्डौका साझा पार्टी र विवेकशिल पार्टीसँग एकता गर्ने प्रस्ताव ल्याएपछि उक्त पार्टीमा बस्न आफुलाई उपयूक्त नभएकोले उक्त पार्टी परित्याग गर्नु बाहेक अन्य विकल्प थिएन । नयाँ शक्तिको गठन मात्र विकासको एजेण्डाका लागि भएको थिएन, सामाजिक न्याय महत्वपुर्ण एजेण्डा थियो । त्यसैको आधारमा पार्टीमा तीन क्लस्टरको प्रतिनिधित्व समानरुपले गराइएको थियो । यो देशमा खश आर्य, मधेसी र आदिवासी जनजाती गरी ३ क्लस्टर भएकाले पार्टीको सहसंयोजकमा तीनै क्लस्टरबाट एक एक जनालाई प्रतिनिधित्व गराई सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको ठुलो उदाहरण नयाँ शक्तिले प्रस्तुत गरेको भएपनि अहिले आएर केन्द्रिय परिषदको बैठकबाट ती क्लस्टरको अवधारणालाई लत्याउँदै ५ जना सहसंयोजकहरु बनाइएको प्रति आपत्ती व्यक्त गर्दै झा भन्छन,“ अहिले मेरो अनुपस्थितिमै मलाई प्रथम सहसंयोजक, देवेन्द्र पौडेल, दुर्गा सोव, परशुराम तामाङ्ग र परशुराम खापुङ्गलाई सह संयोजक बनाइएको छ । ३ क्लस्टरको सिद्धान्त विपरित नेपाली भाषीको बाहुल्यता राख्ने गरी संगठनमा मधेसको प्रतिनिधित्व कमजोर पारिएको कारण पनि नयाँ शक्तिसँग जानु अब राजनीतिक रुपले नै मुस्किल भएको थियो ।”
दुई तहमा स्थानीय तहको चुनाव सम्पन्न भईसकेपछि अब असोज २ मा प्रदेश नम्बर २ मा तेस्रो तहको स्थानीय तहको चुनाव हुनु छ । त्यस्तो अवस्थामा अब कुन चुनाव चिन्ह लिएर चुनावमा पार्टी जाने भन्ने कुराको निधो नभएका कारण आफुहरुको राजनीतिक भविष्य समेत अप्ठ्यारोमा पर्ने हुनाले अगामी स्थानीय तहको निर्वाचन देखि प्रदेश र संघको निर्वाचन समेतलाई दृष्टिगत गर्दै नयाँ शक्ति छोड्नु परेको झाले बताए । आफ्नो राजनीतिक करियरलाई जोगाउनका लागि अब अन्य पार्टीहरुसँगको विकल्पका बारे कुरा भईरहेको बताएका छन् ।
एमालेमा जाने हल्ला भएपनि नेतृत्व अनिच्छुक
नयाँ शक्ति पार्टी छोडेर आफ्नो पुरानो पार्टी नेकपा एमालेमै फर्किन जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुबाट आफुलाई दवाव आएपनि एमाले नेतृत्व त्यसप्रति एमाले शिर्ष नेतृत्व इच्छुक थिएन । एमालेको तर्फबाट बार्ता गर्नका लागि महासचिव इश्वर पोखरेललाई जिम्मेवारी दिएको भएपनि उनी इच्छुक नदेखिएपछि उल्टै झाले पोखरेललाई मोवाईलमा एसएमएस गरी आफु एमालेमा आउन तयार रहेको तर त्यसको लागि राजनीतिक रुपले समस्या समाधान    गर्नूपर्ने भनेको बताएका थिए ।
एमाले खास गरेर मधेसको समस्या समाधान गर्नका लागि १६ आना सहमत नभएपनि आठै आना पनि सम्बोधन गरिदिएको भए एमालेमा फर्किन सजिलो हुन्थ्यो । तर, एमालेले सम्वाद नै नगरेपछि माओवादीमा फर्किन बाध्य भएको झाले बताए । भावनात्मक रुपले एमालेमा जान आफ्नो इच्छा किनपनि थियो भने एमालेमा रहेको ९० प्रतिशत कार्यकर्ता आफुले मिहिनत गरेर बनाएको हुँ । एजेण्डामै विभेद भएका कारण पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको हुनाले एमालेमा फर्किन कम्तिमा पनि संविधान संशोधन गर्न एमाले राजनीतिक रुपले सहमति हुनुपथर््यो । तर, त्यसको लागि एमाले तयार नभएका कारण एमालेमा फर्किन नसकिएको झाले बताए ।
यसकारण माओवादीमा फर्किए
संविधान जारी हुनुभन्दा अगाडी पार्टीको संसदीय दलको बैठकमा मधेसका नेताहरुसँग आफु डेलिगेशन गएको स्मरण गर्दै झा भन्छन,“संविधान जारी गर्न तोकेको समयलाई कम्तिमा पनि ८ दिनको लागि बढाईदिनका लागि आग्रह गरेका थियौं । तर, त्यो पनि नमानेपछि ठिकै छ नोट अफ डिसेन्ट लेखेर जाउँ भन्ने सहमति भयो । ८४ बुँदामा नोट अफ डिसेन्ट लेख्दै संविधान जारी गरिएको थियो । तर, संविधान जारी भएपछि उत्सव मनाउन, दिपावली मनाउन पार्टीले निर्णय गरेपछि माओवादी केन्द्र परित्याग गरेका थियौं ।” झाका अनुसार नेकपा एमालेले २०४७ सालको संविधानमा पनि आलोचनात्मक समर्थन गरेकै थियो । तर, दिपावली मनाइएको थिएन । यहाँ एकातर्फ माओवादी केन्द्रले आलोचनात्मक समर्थन गर्दै संविधान जारी गर्ने निर्णय गरेपछि दिपावली मनाउनु भनेको संविधान प्रतिको असहमतिलाई लत्याउनु सरह भएपछि मधेसका नेतृत्वहरु सँगै बाबुराम भट्टराईलाई अगुवाएर नयाँ शक्ति पार्टी गठन गरिएको थियो ।
तर अब नेकपा माओवादी केन्द्रले संविधान अधुरो छ, त्यसलाई संशोधन गर्नु आवश्यक छ, अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको बेला संशोधन विधेयक समेत दर्ता गराउनुले पार्टी अब मधेसको पक्षमा राजनीतिक लाईन करेक्सन गरिसकेकाले पार्टीमा फर्किन सहज भएकोले माओवादी केन्द्रमा फर्किएको झाले बताएका छन् ।
राजनीतिक संगसँगै अराजनीतिक समस्या पनि समाधान
माओवादी केन्द्रमा जाँदा पार्टीले आफुलाई पोलिट व्युरोमा लगेपनि स्थाई कमिटिमा दुई मतले हराएको अबस्थामा त्यतिबेला प्रचण्ड पनि असंतुष्ट भएका थिए । अर्को तर्फ माओवादी केन्द्रमा केही प्रकट र केही अप्रकट, केही राजनीतिक र केही अराजनीतिक समस्या थिए । झा भन्छन,“ पद र अवसरमा कुनै समस्या थिएन । मधेस व्यूरो इन्चार्ज बनाइएकै थियो । पोलिट व्यूरोमा पुगिएकै थियो । तर, संविधान सभाको चुनावमा पार्टीमा मलाई टिकट दिइएपछि विद्रोह भयो । त्यो समस्या अब नदोहोरिने भएका कारण पनि माओवादी केन्द्रनै आफ्नो राजनीतिक करियरका लागि सशक्त विकल्प रहेकोले माओवादी केन्द्रमा फर्किएको हो ।”
दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट उम्मेदवारको लागि माओवादी केन्द्रले रामचन्द्र झालाई आधिकारिक रुपमा टिकट दिएपछि माओवादीका श्रवण बरबरिया पार्टीबाट विद्रोह गरी स्वतन्त्र रुपमा उठेका थिए । मात्रिका यादवले पनि श्रवण बरबरियालाई नै सघाएका थिए । तर अहिले पार्टी प्रवेश गराउनमा त्यतिबेलाका  प्रतिद्वन्द्वी मात्रिका यादव र श्रवण बरबरिया समेतको ठुलो भुमिका रहेकाले अब पार्टीमा कुनै समस्या नहुने भन्दै झा भन्छन,“प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई ठुलो शक्तिको रुपमा स्थापित गराउन कुनै समस्या नहुने बताएका छन् ।”

२०७४ श्रावण २९ गते आईतबार