Saturday, May 28, 2016

अनाथ बाल आश्रममा पुन ः थपिए एक शिशु बालबालिको संख्या १० पुग्यो

थपिएको शिशु धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई,
 नागरिक समाजका अमर चन्द्र अनिल समक्ष सार्वजनिक गर्दै
 आश्रमका संचालक आलोक र मिरा ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
जनकपुर स्थिति कविर अनाथ बाल आश्रममा पुनः छोरा जातको एक शिशु थपिएको छ । आश्रमका सञ्चालक सत्यनारायण आलोकका अनुसार गएको बैशाख २७ गते एक अपरिचित व्यक्तिले साँझको समयमा नवजात शिशु ल्याएर जिम्मा लगाएका थिए । 
मंगलबार सार्वजनिक गर्दै उनले भने, ‘ करिब १ किलो ५ सय ग्राम मात्र तौल भएको शिशुको स्वास्थ्य अवस्था ज्यादै नै विग्रेको कारण तत्काल सार्वजनिक नगरी जनकपुरको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि भर्ना गराएको थिएँ ।’ स्वास्थ्य अवस्थामा सुधार भएपछि सार्वजनिक गरेको आलोकको भनाई छ ।
धनुषाका टूाफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले पुत्री लाभ भएको अवसरमा मंगलबार आश्रममा गरेको आफ्नो एक महिनाको तलबभत्ता बराबरको खाद्यान्न एवं लत्ताकपडा आश्रमलाई प्रदान गर्न आयोजित एक कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीपकुमार चापागाई , धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरले लगायत बुद्धजिवी नागरिक समाज, पत्रकारको उपस्थितिमा शिशु सार्वजनिक गरिएको हो ।
आश्रममा थपिएको उक्त शिशु छोरा जातका छन् । शिशु जन्मिने वितिकै आमाको मृत्यु भएको बताउँदै सो अपरिचित व्यक्तिले आफुलाई शिशु जिम्मा लगाएर गएको आलोकले बताए । यदि आफुले ती शिशुलाई जिम्मा नलिए कतै फालिदेलाकी भन्ने शंका लागेर आपुले शिशु जिम्मा लिएको उनको भनाई छ । 
यस अघि झण्डै एक वर्ष अघि महोत्तरीको लठियानी गाउँ नजिकैको खोलामा जन्मिेने वितिकै कार्टुनमा राखेर फालिएको अवस्थामा छोरी जातकी नवजात शिशु फेला परेपछि स्थानीयले आश्रमलाई बुझाएका थिए । 
आश्रममा बालबालिको संख्या १० पुग्यो
अनाथ बाल आश्रमका बालबालिकाहरु ।
छोरा जातको नवजात शिशु थपिएसंगै हालसम्म आश्रममा सात छोरी र तीन छोरा गरी बालबालिकाको संख्या १० पुगेको छ । बालिकाहरुको नाम क्रमसः देशना , साधना ,आराधना ,बन्दना , प्र्रविना र निवना छन् भने बालकहरुको नाम कृष्णा र चिराग छन् । पछिल्लो पटक कार्टुनमा फेला परेकी एक छोरी जातकी शिशु र छोरा जातको शिशुको अव एक कार्यक्रम गरी नामांकन गर्ने आश्रमका संचालक आलोकले जानकारी दिए । अहिले आश्रमका चारजनाबालबालिका विद्यालयसमेत जानथालेका छन् । बालबालिकाको पालनपोसन आश्रमका सञ्चालक आलोक र आमा मिराले गर्दै आएकी छन् । आश्रममा रहेका सबै बालबालिकाहरुले आलोकलाई बुवा भनेर बोलाउने गरेका छन् भने आलोककी दिदी मिरालाई आमा भन्ने गर्छन् । सबै बच्चाहरु निकै चञ्चल र हँसिला स्वभावका छन् ।
सामाजिक संघसंस्थाको सहयोगकै भरमा चल्छ आश्रम
अनाथ आश्रममा बालबालिकाको संख्या बढ्दै गएपछि आश्रम सञ्चालनमा समस्या उत्पन्न हुँदै  गएको छ । सरकारी सेवासुविधा वेगर अहिले सम्म आश्रम संचालन भएपनि यसलाई  व्यवस्थित गर्न सम्बन्धीत निकायले खासै चाँसो देखाएको छैन । सरकारले ध्यान नदिदाँ जसोतासो समस्या झेल्दै समाजको सहयोगमा आश्रम चलाउँदै आएको आलोकको गुनासो छ । विभिन्न समाजिक संघसंस्थाले विभिन्न अवसरमा गर्ने खाद्यान्न तथा लताकपडा वितरणको  भरमा आश्रम चल्ने गरको आलोकले बताए ।
वैदेशिक रोजगारीले निम्त्याएको समस्या
वैदेशिक रोजगारीले यस्तो भयानक समस्या सृजना भएको आश्रमका सञ्चालक आलोकको कथन छ । वैदेशिक रोजगारको शीलशीलामा विभिन्न देश गएका केहि पुरुषका केहि महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध गाँस्ने गरेकोले त्यस्तै सम्बन्धबाट जन्मेका शिशु फाल्ने वा भ्रुण हत्या गर्ने गरेको आलोकले बताए । पछिल्लो समय अवैध सम्बन्धबाट बच्चा जन्माएर फाल्ने प्रवृति बढेकोले त्यस्ता अपराधीहरुलाई समाज वा प्रहरी प्रशासनले पत्ता लगाएर दण्डित एवं समाजिक बहिस्कार नगरेसम्म यस्तो प्रवृति कम नहुने आलोकको भनाई छ ।


२०७३ जेष्ठ १६ गते आईतबार

गरगहना र रुपैयाँ पैसा लिएर श्रीमती फरार भएपछि विदेशबाट फर्केका सुरेश तनावमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रायः कुनै पनि व्यक्ति आफ्ना घरपरिवारको खुसीको लागि स्वदेशमा रोजगार नपाएर रुपैंयापैसा कमाउन अर्काको देशमा गएर कुनै पनि दुःख कष्ट झेल्न पछि पर्दैनन् । तर घरपरिवारले विदेशमा रहेका आफन्तको पीडा नबुझिदिदा केहि व्यक्तिहरुको जीवन ज्यादैँ नै तनावमय हुन्छ ।  
महोत्तरीको डाम्हीमडै ९ बस्ने सुरेश मुखिया अचेल यस्तै तनावमा छन् । चार वर्ष अघि वि.स. २०६९ बैशाखमा सिरहाको मिर्चैया नगरपालिका १२ की १७ वर्षकी तेतरी मुखियासंग सामाजिक परम्परा अनुसार सुरेशको विवाह सम्पन्न भएको थियो । विवाह पश्चात १ वर्षपछि श्रीमती लागयत घरपरिवारलाई खुसी राख्न र एक मात्र बहिनीलाई विहेवारी गर्न सुरेशलाई रुपैंया पैसा कमाउन विदेशिनु पर्याे । विवाह भएको एक वर्ष पश्चात वैदेशिक रोजगारीको शिलशिलामा सुरेश मलेसिया पुगे । विदेशमा धेरै कमाई त भएन तर थोरै कमाई भएपनि बेलाबखत घरमा पैसा पठाएर घरपरिवारका जाहो गर्नु पर्याे । 
घर जाँदा श्रीमती र घरपरिवारले झनै माया गर्लान सपना बुनेको सुरेशको घरफर्किदा त सारा सपना चक्नाचुर नै भयो । जव सुरेश तीन वर्षको वैदेशिक रोजगारीबाट घर फर्किए, उनको श्रीमतिको व्यवहार उनले बेग्लै पाए । श्रीमती तेतरी मुखभरी पनि बोल्न छाडिन् । लामो विदेश बसाईपछि घर जान्छु र श्रीमतीले धेरै माया गर्छन् भन्ने धोको राखेका सुरेशलाई जव श्रीमतीले मुखभरी पनि बोलाउन छाडिन तव कस्तो पिडा भो त्यो अफुलाई थाहा भएको सुरेशको भनाई छ ।  यति मात्र कहाँ भयो र ? एक महिना पश्चात श्रीमती परपरुषसंग घरमा  भएभरको गरगहना र एक लाख रुपैँयासमेत लिएर कुलेलाम ठोके पछि अहिले सुरेशको दिनचर्या झनै तवामय भएको छ । गएको बैशाख १३ गते घरमा कोहि नभएको मौका छोपी आफ्नी श्रीमती तेतरी फरार भएको सुरेशको गुनासो छ । आफु विदेशमा छँदा पनि श्रीमतीलाई फोन गर्दा राम्रोसंग नबोल्ने गरेको र कुनै अपरिचित पुरुषसंग पहिलादेखि नै  उसको अनैतिक सम्बन्ध भएको हुन सक्ने उनको कथन छ ।   
अहिले श्रीमती भागेको तनाव त छँदै छ ससुराले विभिन्न आरोप लगाएर झनै तनाव दिने गरेको  सुरेशको दुःखेसो छ । आफ्नी छोरीलाई वेपत्ता बनाएको भन्दै ससुरा पक्षले प्रहरी प्रशासनमार्फत दवाव र तनाव दिलाउने गरेका उनको आरोप छ । 
सुरेशले भन्छन, ‘नत मैले तीन वर्ष विदेशको भूमिमा बगाएको रगत पसिनाले अहिले सुख पाएँ, नत घरमा आएर श्रीमतीबाट पाएँ ।’ गएको बैशाख १३ गते घरबाट श्रीमती भागेपछि उनलाई आफन्त नातागोता सबै ठाउँमा खोजे तर कतै फेला नपरेपछि गएको बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएको सुरेशले बताएका छन् । खोजतलासको लागि विभिन्न पत्रपत्रिकामासमेत सूचना दिएको उनको भनाई छ ।
यस्तै ससुराली पक्षबाट पाएको मानसिक यातना विरुद्ध राष्टिूय मानवअधिकार आयोगको क्षेत्रिय कार्यालय जनकपुरमा उजुरीसमेत दिएको सुरेशले बताएका छन् । सुरेशले आफु माथि अन्याय भएको बताउँदै भागेकी श्रीमतीलाई खोजविन गरदिन र, ससुरा पक्षले दिएको मानसिक तनाव विरुद्ध न्याय दिलाई दिन सबैसंग आग्रह  गरेका छन् । 
विगतमा पुरुषहरुले घरेलु महिला हिंसा गर्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेको बेलामा आजकल बैदेशिक रोजगारीमा गएका पुरुषहरु आफ्ना श्रीमतिबाट पीडित हुने गरेको घटनामा वृद्धि भएको पाइन्छ ।

२०७३ जेष्ठ १६ गते आईतबार

नर्सिङ छात्राहरुसँग ५४ लाख ५९ हजार रुपैयाँको ठगि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.का निर्देशक संजिव कुमार यादवले विभिन्न विद्यार्थीहरुबाट भर्ना शुल्क बापत लिएको ५४ लाख ५९ हजार रकम मध्ये ४७ लाख ५२ हजार ६ सय रुपैयाँ ठगि गरेका छन् । आर्थिक बर्ष २०७०÷०७१ का लागि प्रति विद्यार्थीहरुबाट डेढ लाख देखि साढे ३ लाख रुपैयाँ सम्म भर्ना शुल्क असुल गरेपनि असुल गरिएको रकम कलेजमा नपठाएपछि २६ जना विद्यार्थीहरुको पठन पाठन अवरोध भई भविष्य नै अन्धकारमय भएको थियो । नर्सिङ कलेजका छात्राहरु निता गौतमसँग रु. २ लाख ११ हजार ६ सय, संगिता गहतराम सँग रु. २ लाख ११ हजार ६ सय, इन्दु थापासँग रु. २ लाख ११ हजार ६ सय, पुजा विकसँग रु. १ लाख ५० हजार, मोना थापासँग रु. २ लाख ११ हजार ६ सय, अस्मिता कुनालसँग रु. १ लाख ५० हजार, बन्दना गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, सुपिता बरालसँग रु. १ लाख ५० हजार, गायत्री शर्मासँग रु. २ लाख ११ हजार ६ सय, कल्पणा गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, रंजना राणासँग रु.२ लाख १६ हजार, समसिला सुनारसँग रु. २ लाख ११ हजार ६ सय, पुजा पुलामीसँग रु. २ लाख ११ हजार ६ सय, सुशिला पुजा मगरसँग रु. २ लाख ११ हजार ६ सय, फुलमाया दुरासँग रु. २ लाख १६ हजार, गौतमी थापासँग रु. २ लाख ११ हजार ६ सय, महारानी धामीसँग रु. १ लाख ५० हजार, गोमा आचार्यसँग रु. १ लाख ५ हजार, सुस्मिता खड्का सँग रु. २ लाख २५ हजार, दुर्गा तमाङसँग रु. ४ लाख १९ हजार, रिता कट्वालसँग रु. २ लाख २५ हजार, पपिता ढकालसँग रु. ४ लाख १९ हजार, संगिता गैहेसँग रु. १ लाख ६० हजार, पुनम मण्डलसँग रु. ३ लाख ९७ हजार, सपना महत्तसँग रु. १ लाख र सृजना कुमार गाउलेसँग रु. ५० हजार गरी कुल २६ जना छात्राहरुबाट आर्थिक बर्ष २०६६÷०६७ देखि २०६९÷०७० सम्मको शैक्षिक सत्रमा नर्सिङ पिसिएल कोर्ष अन्तरगत भर्ना गर्नका लागि रु. ५४ लाख ५९ हजार ६ सय रुपैयाँ आफुलाई कार्यकारी निर्देशक बताउने संजिव कुमार यादवले असुल गरेका थिए । असुल गरेको उक्त रकमको नक्कली बिल ती छात्राहरुलाई दिई उक्त रकम कलेजको बैंक खातामा जम्मा नगरी संजिव यादव फरार भएपछि मात्र आफुहरुलाई संजिव यादवले ठगि गरी रकम हिनामिना गर्दै फरार भएको छात्राहरुलाई महसुस भयो । त्यसपछि ती २६ सै जना छात्रा र उक्त कलेजका संचालक अध्यक्ष बारा अमान ३ कि गायत्री देवी थरुनीको जाहेरीले धनुषा बेंगा शिवपुर १ बस्ने साधुलाल यादवका छोरा बर्ष ३७ का डा.संजिव कुमार यादव विरुद्ध रकम ठगि गरेको भन्दै रकम असुल गरी क्षतिपुर्ती दिलाई दिन तथा ठगि गर्ने यादवलाई कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । त्यसपछि धनुषा प्रहरीले संजिव कुमार यादवलाई पक्राउ गरी २५ पुष २०७० मा मुद्दा दर्ता गरेको थियो । धनुषा जिल्ला अदालतका न्यायाधिश ऋषि बहादुर थापाले थुनछेक मुद्दामा ७ लाख रुपैयाँ धरौटीमा रिहा गरेका थिए । धनुषा जिल्ला अदालतको उक्त आदेश विरुद्ध संजिव कुमार यादवले पुनरावेदन अदालत जनकपुरमा मुद्दाको पुनरावलोकन गर्दा १९ अषाढ २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्धय तेज बहादुर केसी र अनिता मानन्धर जोशीको संयूक्त इजलासबाट जिल्ला अदालतबाट गरिएको धरौटीमा थप १० लाख रुपैयाँ धरौटी लिने आदेश जारी गरिएको थियो । त्यसपछि संजिवले थप १० लाख रुपैयाँ धरौटी बुझाई रिहा भएका थिए ।
मुद्दाको क्रममा २६ जना छात्राहरु मध्ये संगिता गैहे, पुनम मण्डल, सपना महत र सृजना कुमारी गाउलेले जाहेरी अनुसार अदालतमा आएर बक पत्र गर्न नसकेका कारण २९ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीको इजलासबाट प्रतिवादी संजिव कुमार यादवले उक्त कलेजका २२ जना छात्राहरुबाट विद्यार्थी भर्ना बापत लिएको कुल ५४ लाख ५९ हजार ६ सय रुपैयाँ असुल गरेपनि कलेजको बैंक खातामा जम्मा नगरी ठगि गरेको ठहर गरेको छ । धनुषा जिल्ला अदालतले ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरकोे रकम विद्यार्थीहरुलाई फिर्ता गर्न तथा त्यति नै रकम बराबरको विगो र २ बर्ष कैद सजाय ठहर गरेको छ । अहिले उनी अर्थात संजिव यादव फरार रहेका छन् ।
 नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि. र धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. बीच २०६४ साल जेष्ठ महिनामा भएको करारनामा अनुसार धनुषा नर्सिङ कलेजको संचालन सुरु देखि नै नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले गरेको थियो । कलेज संचालनका क्रममा विद्यार्थीहरुलाई धनुषा अस्पतालमा क्लिनिकल प्रायक्टिस गराए बापत बार्षिक २ लाख ७५ हजार रुपैयाँ धनुषा अस्पताललाई बुझाउने गरिएको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन शाखाले ३ अषाढ २०७० मा गरेको पत्राचार अनुसार धनुषा अस्पतालको संचालन नविकरण रोक्का हुन गएपछि हेल्थ साइन्स प्रा.लि.ले जनकपुर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग क्लिनिकल प्रायक्टिसका लागि करार गरेको थियो । सो करार अनुसार सोही अस्पताल प्रयोग गर्दै निरन्तर नर्सिङ शैक्षिक कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, स्तर निर्धारण महाशाखा र परीक्षा नियन्त्रण कार्यालयले ३ र ४ पुष २०७० मा लेखेको पत्र अनुसार शैक्षिक सत्र २०७०÷०७१ का लागि नयाँ विद्यार्थी÷परिक्षार्थी भर्ना आह्वान गरिएको थियो ।
धनुषा नर्सिङ कलेजको छुट्टै प्रवन्ध पत्र र नियमावली नभएको र उक्त नर्सिङ कार्यक्रम नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले संचालन गर्दा प्रारम्भिक समय देखि नै धनुषा नर्सिङ कलेजको प्रबन्ध निर्देशक दिपेन्द्र प्रसाद चौधरी, निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट किस्ट बैंक जनकपुरमा संयूक्त खाता खोलिएको थियो । ठिक त्यसैगरी धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. स्टाफ नर्स पिसिएलको बैंक खाता निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट सिद्धार्थ बैंक जनकपुरमा संयुक्त रुपमा खाता खोली संचालन भईरहेको थियो । तर, निर्देशक संजिव कुमार यादवले कसैलाई थाहा नै नदिई गोप्य रुपमा बदनियत पुर्वक विद्यार्थीहरुबाट पैसा असुल गरी कलेजमा नबुझाई विद्यार्थीबाट ठगी रकम हिना मिना गरेपछि बैंक खाता संचालकबाट दिपेन्द्र प्रसाद चौधरी, विद्या प्रसाद चौधरीको नाउँ हटाई डा.रामबाबु रमन जैसवाल र संजिव कुमार यादवको संयुक्त दस्तखतबाट खाता संचालन गर्ने निर्णय गरी मनोमानी ढंग रकम हिनामिना गरी ठगी गरी कलेज संचालनमा बाधा र विद्यार्थीको भविष्यमा खेलवाड गरे पश्चात कलेज संचालन तथा व्यवस्थापन गर्न अध्यक्ष गायत्री देवी थरुणी र प्रवन्ध निर्देशन दिपेन्द्र प्रसाद चौधरीको संयुक्त दस्तखतमा नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.को नाउँमा गलोबल आईएमई बैंक जनकपुरमा खाता खोली आर्थिक कारोवार गर्ने गरिएको छ ।


२०७३ जेष्ठ १६ गते आईतबार

विरेन्द्र बजारको आन्दोलनमा तत्कालका लागि जनताका सामु झुके सरकार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गणेशमान चारनाथ नगरपालिकाको कार्यालय तत्काल बिरेन्द्रबजारमै यथावत राख्ने संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीबाट निर्णय भएपछि स्थानीयबासीहरुले गरेको आन्दोलन पनि तत्कालका लागि स्थगित गरेको छ । नगरपालिका कार्यालय सार्न लागेको विरोधमा स्थानीयले अवरोध सृजना गरेको कारण तत्काल कार्यालय यथावत राख्न संघीय मामिला ताथ स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको नगरपालिका योजना तथा व्यवस्थापन शाखा कार्यालयले सो निर्णयको पत्र ११ जेष्ठ २०७३ मा मन्त्रालयका शाखा अधिकृत रुद्रलाल भुसालद्वारा हस्ताक्षरित पत्र गणेशमान चारनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृतलाई पठाइएको हो । आवश्यक सहयोग र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला विकास समितिको कार्यालय धनुषालाई समेत उक्त पत्रको बोदार्थ गरिएको छ । उक्त पत्र प्राप्त भएसँगै स्थानीयबासीहरुले नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी समेत खोलेका छन् । अब उक्त नगरपालिकाको कार्यालय सुचारु भएको छ ।
किन भयो आन्दोलन ?
सुशिल कोइराला नेतृत्वको सरकारमा १६ मंसिर २०७१ मा देशमा थप ६१ वटा नयाँ नगरपालिकाहरु घोषणा गरिएको थियो । त्यतिबेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह थिए । प्रकाशमान सिंह नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहका छोरा हुन । धनुषाको गोदारमा प्रकाशमान सिंहको हालसम्म पनि जग्गा जमिन कायम रहेको छ । त्यसैले उक्त घोषणासँगै उनले आफ्नो बुवा गणेशमान सिंहको नाउँमा विरेन्द्र बजारलाई केन्द्र मानि गणेशमान चारनाथ नगरपालिका घोषणा गरेका थिए ।
 तर, २०७२ असोज १ गतेको मन्त्री परिषदको निर्णयले गणेशमान चारनाथ नगरपालिकाको कार्यालयको केन्द्र साविकको विरेन्द्रबजारमा नराखी तीन किलो मिटर पूर्व गोदारमा सार्ने निर्णय गरेको थियो । उक्त  निर्णय कार्यान्वयन त्यसबेला किन हुन सकेन भने मधेस आन्दोलन जारी रहेको थियो । उक्त नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवका अनुसार बन्द फिर्र्ता भईसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सहितको उपस्थितिमा २ पुष २०७२ मा बैठक बसी मन्त्री परिषदको निर्णय सर्बोच्च अदालतबाट बदर गराउनका लागि २६ माघ सम्मको लागि म्याद दिइयो । उक्त बैठकबाट के पनि भनियो भने २६ माघसम्म मन्त्री परिषदको निर्णय बदर गराएन भने २७ माघबाट केन्द्र गोदार सारिने छ ।
    तर, उक्त नगरपालिकाको नगर परिषद माघ महिनामा सम्पन्न नभएकाले चैत्र ७ मा परिषद सम्पन्न भईसकेपछि ३१ बैशाखसम्ममा विकास निर्माणका लागि योजनाहरु सम्झौता भएपछि मन्त्री परिषदको निर्णय लागु गर्दा राम्रो हुने भनेर कार्यकारी अधिकृत यादवले गरेको अनुरोधलाई प्रमुख जिल्ला अधिकारीले मानेका थिए । त्यसपछि ३ जेष्ठ २०७३ मा केन्द्र सारिने भनेर १ जेष्ठ २०७३ मा सुचना टाँस गरेपछि विरेन्द्र बजारका स्थानीयबासीहरु आन्दोलित हुँदै सोही दिन देखि तालाबन्दी गरी मन्त्री परिषद निर्णयको विरोध गर्दै आएका थिए ।
गएको जेठ १ गते नगरपालिका प्रमुख लक्ष्मेश्वर यादवले नगरपालिका कार्यालय सार्ने सूचना टाँस गरेपछि बिरेन्द्रबाजरका स्थानीयबासिन्दाहरु आदोलित भएका थिए । कार्यालय सार्ने विरुद्ध बिरेन्द्रबाजरबासीले जेठ २ गते कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्दै निर्णय फिर्ता लिन निरन्तर रिलेअनशन , राजमार्ग एक घण्टा चक्का जाम , सिटी जुलुस , झारु जुलुस लागयत विभिन्न दवावमुलक आन्दोलनको कार्यक्रम गर्दै आएका थिए ।
कार्यालय तत्काल बिरेन्द्रबाजरमा यथावत रहने पत्र आएपछि स्थानीयहरुले संघर्षको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको नगरपालिका बचाउँ संघर्ष समितिका संयोजक दिपेश यादवले जानकारी दिएका छन् । अहिलेको लागि विवाद अन्त्य भएपनि भावि दिनका लागि पूर्ण विवाद भने अन्त्य भएको छैन । तत्काल यथावत कार्यालय राख्ने निर्णय आएपछि बिरेन्द्रबाजारबासीहरु खुसी भएका छन् ।

२०७३ जेष्ठ १६ गते आईतबार