Tuesday, August 18, 2015

सबैला गोली काण्डको सुल्झियो गाँठो ‘काउन्टर व्यालेन्स’का लागि गरियो रामप्रगासको हत्या


हथकडीमा बायाँबाट चुरिबाला भनिने भगवानबाबु साह कलवार र दायाँ राजु गुप्ता ।
अजय अनुरागी
जनकपुरधाम............ 
सबैलामा भएको दुईवटा छुट्टा छुट्टै घटनामा नेकपा एमाले नेता योगनारायण यादव प्रमुख अभियुक्तको रुपमा रहेको पाइएको छ । कुटपिटबाट मृत्यु भएका राम सेवक राउत गडेरी तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा कुराहरु बाहिर आईसकेको भएपनि राम प्रगास यादवको हत्या रहस्यमय बनेको थियो । तर, राम प्रगासको हत्या पनि घटनालाई डाईभर्ट गर्न तथा काउन्टर व्यालेन्स गर्न योगनारायण यादवकै समुहले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उक्त घटनाका एक जना अभियुक्त भगवानबाबु साहलाई धनुषा जिल्ला अदालतले २८ साउनमा गरेको आदेशले थुनामा गएका छन् । यस अघिसम्म मोर्चा पक्ष वा योगनारायण पक्ष मध्ये कसले हत्या गरेको भन्ने रहस्य बनेको थियो ।
 
सबैला घटनाका प्रमुख अभियूक्त भनिएका योगनारायण यादव अझै सम्म फरार रहेका छन् ।

सबैलाका राम प्रगास यादवलाई गोली प्रहार गरी हत्या गरिएको घटनाको गुथ्थी प्रहरीले सुल्झाएको छ । यादवलाई काउन्टर व्यालेन्सका लागि हत्या गरिएको धनुषा प्रहरीको ठहर रहेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा प्रहरी निरीक्षकहरु निरंजन थापा, गणेश बहादुर बराल, भगिरथ रेग्मी, प्रहरी नायव निरीक्षक गगन बहादुर साही, प्रहरी सहायक निरीक्षक जयलाल प्रसाद यादव र प्रहरी सहायक निरीक्षक संतोष झा सहितको बोर्डले प्रस्तुत गरेको प्रतिवेदनमा योगनारायण यादव लगायतका समुहले एउटा हत्याको काउन्टर व्यालेन्सका लागि हत्या गरिएको निष्कर्ष निकालिएको छ ।
 ८ चैत्र २०७१ मा अन्दाजी राति करिब साढे ८ बजे तिर मोर्चा निकट स्थानीयहरु छलफलमा बसीरहेको स्थानमा योगनारायण यादव पक्षका योगनारायण यादव, लाल विहारी यादव लगायतका २०÷२५ जनाको समुहद्वारा लाठी, चिरपट र ढुङ्गा समेतले गरेको आक्रमणबाट गम्भीर घाइते भएका मोर्चा पक्षका राम सागर साह र राम सेवक राउत गडेरीको अवस्था अति चिन्ताजनक छ र निज घाइतेहरुको मृत्यु हुने सम्भावना प्रवल छ भन्ने सूचना पाई घटनालाई मोड्न र सामानन्तर गर्न आफ्नै पक्षका  राम प्रगास यादवको हत्या गर्ने र मोर्चा पक्षमाथि आरोप लगाउनका लागि, घटनाको काउन्टर व्यालेन्सका लागि योगनारायण यादव पक्षका योगनारायण यादव, सिताशरण यादव, भगवानबाबु कलवार, प्रदिप यादव, लालविहारी यादव, जगदीश यादव र बुधेश्वर यादव लगायतका व्यक्तिहरुले योजना बनाई षडयन्त्र गरी हत्या गरेको उक्त बोर्डको ठहर रहेको छ ।
 ती व्यक्तिहरुले ८ चैत्र २०७१ मा योगनारायण यादवको घरमा उनी आफै समेत बसी योजना बनाई मृतक राम प्रगास यादव कै मन मिल्ने भगवान बाबु कलवार र जगदीश यादवले नै छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि बोलाएर लगि आफ्नै पक्षको प्यारालाईसिसका विमारी ४५ बर्षिय राम प्रगास यादवलाई बोलाएर ल्याई चारनाथ खोलाको डिलमा पुर्व योजना बमोजिक ती व्यक्तिहरुको उपस्थितिमा खुनिया भनिने रामबाबु यादवले गोली हानी राम प्रगास यादवको हत्या गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।  विहान करिब १ बजे गोली हानी हत्या गरेको उक्त प्रहरी बोर्डको ठहर रहेको छ ।
मृतक बोलाउने भगवान बाबु थुनामा
हत्या गरिएका राम प्रगास यादवलाई घरबाट बोलाउन लगेका भनिएका सोही गाउँका चुरीवाला भनिने भगवान बाबु साह कलवारलाई धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २८ साउन २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक खनालको इजलासले भगवान बाबु साहलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो । उक्त आदेश पश्चात साहलाई जलेश्वर कारागारमा थुनाको लागि पठाइएको छ ।
चुरीवाला उपनामले चिनिने भगवानबाबु साहलाई धनुषा प्रहरीले २८ अषाढ २०७२ मा राम प्रगास यादवको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो । घटना भएको करिब ३ महिना पछि उक्त घटनामा पहिलो व्यक्तिको रुपमा धनुषा प्रहरीले पक्राउ गरेको थियो । सबैला बजारमा चुडी लहठीको पसल खोली व्यापार व्यवसाय गर्दै आएका साह गत बर्षको सबैला उद्योग बाणिज्य संघको चुनावमा योगनारायण यादव पक्षबाट अध्यक्षका लागि उम्मेदवार भएका थिए । तर, उक्त चुनावमा मोर्चा पक्षका उम्मेदवार श्रीप्रसाद नायक विजयी भएका थिए । मृतक  राम प्रगास यादव सँग उनको पहिले देखि नै राम्रो चिनजान तथा सम्बन्ध रहेको थियो । मिल्ने साथी भएकाले उनीहरु एक अर्कौको घरमा गई खानपिन समेत गर्दै आएका थिए ।  भगवानबाबु, मृतक राम प्रगास यादव दुवै जना योगनारायण यादवका नजिकका मानिस थिए ।
सबैला घटनाका अर्को अभियुक्त लक्ष्मीनारायण यादव धनुषा जिल्ला अदालतको आदेशबाट तारेखमा रिहा 
भएपनि उक्त आदेश विरुद्ध पुनरावेदन अदालत 
जनकपुरमा मुद्दा परेको छ ।

घटना भएका दिन प्रतिवादी भगवान साहले आफ्नो मोवाइल नम्बर ९८४४०५३७११ बाट मृतक यादवको मोवाइल नम्बर ९८१७८५५३२० मा साँझ ८ बजेर ५४ मिनेट र ९ बजेर ४ मिनेटमा दुई पटक फोन समेत गरेका छन् । प्रहरीले सोही कल डिटेल्सको आधारमा पनि उनलाई उक्त घटनाको अभियूक्त बनाएको देखिन्छ । उनलाई प्रहरीले पोलिग्राफ टेस्ट समेत गरेको छ । १६ जुलाई २०१५ का दिन मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडामा उनको पोलिग्राफ टेस्ट गरिएको थियो । मानिसले बोलेको कुरा सहि हो वा गलत हो भन्ने छुट्याउनका लागि पोलिग्राफ टेस्ट गरिन्छ ।
प्रहरीले उनलाई सोधेको प्रश्नहरुको जवाफ छलछाम पुर्ण (डिसेप्सन इन्डिकेटेड) रहेको पोलिग्राफ परीक्षण प्रतिवेदनमा उल्लेख छ । तपाईले राम प्रगास यादवलाई गोली हान्नु भएको हो कि होइन भन्ने सम्बन्धमा सोधिएका प्रत्येक प्रश्नको साँचो जवाफ दिनु हुन्छ भनि प्रश्न गर्दा दिन्छु भनि भगवान बाबुले जवाफ दिएका थिए । त्यसैगरी तपाईले उसलाई गोली हान्नु भएको हो, तपाईले उसलाई पिठ्यु लगायत अन्य भागमा गोली हान्नु भएको हो, तपाईले उसलाई रातको समयमा चारनाथ खोला छेउमा गोली हान्नु भएको हो लगायतका प्रश्नहरुको जवाफमा उनले होइन भनेका छन् । तर, ती प्रश्नहरुका जवाफमा अझ बढी सुचनाहरु प्रदान गर्न भन्ने सवाल सोध्दा केही पनि अतिरिक्त जवाफ वा सूचना नदिएका कारण उनले दिएका जवाफको सत्यता ०.१ प्रतिशत भन्दा पनि कम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
भगवानलाई छोडाउन मृतककी पत्नीको पहल
आफ्नो श्रीमानको हत्याको अभियोगमा पक्राउ पर्नेलाई हदैसम्मको कानुनी कारवाही हुनुपर्छ भनेर कुनै पनि पीडित महिलाले आवाज उठाउँछन् । जो कोहीले पनि सायद त्यसै गर्छन होला । तर, राम प्रगास यादवको हत्याको अभियोगमा पक्राउ परेका भगवान बाबु साह कलवारलाई रिहा गराउन मृतक यादवकी पत्नी जानकी देवी यादवले गरेको पहललाई लिएर स्थानीयवासीहरु आश्चर्य चकित भएका छन् । भगवानबाबु पक्राउ परेको दुई दिन पछि प्रदिप कुमार यादव, रामबली साह, कारीराम यादव, तेजनारायण यादव, लख्खीचन साह, श्याम किशोर साह लगायतका १० जना स्थानीयवासीहरु घटनाका बारेमा सोध पुछ गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए ।
प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको कार्यकक्षमा उनकै उपस्थितिमा जानकी देवी यादवले प्रदिप यादवको मोवाईल नम्बर ९८४४०२४५०४ मा फोन गरे । तर, प्रदिपको मोवाईलमा लाउड स्पीकर अन गर्न नसकिने कारण प्रदिपले रामबली साहको ९८४४०२४५०४ नम्बरबाट जानकीलाई फोन गरे । लाउड स्पीकरमा जानकीसँग गरिएको कुराकानीमा जानकीले अरु फसे पनि फसोस तर भगवानबाबुलाई बचाईदिनुस भनेर गुहार गरिरहेकी थिईन । फेरी यताबाट तिम्रो श्रीमानलाई घरबाट बोलाउन आएको मानिस भगवान बाबु नै होइन र भनेर सोध्दा उनी आएको कुरा स्वीकार गरेपनि जानकीले योगनारायण जेल जाओस तर भगवानबाबुलाई रिहा गराईदिनुस भनेर भनेका थिए । जबकी एकातर्फ जानकी देवीले गरेको जाहेरीमा समेत उनलाई अभियुक्त बनाइएको छ ।
अदालत अगाडी नाराबाजी
उक्त दुईवटा घटनासँग जोडिएका भगवान बाबु साह कलवार र राजु गुप्तालाई धनुषा प्रहरीले धनुषा जिल्ला अदालतमा पेश गरेका दिन सबैलाका मोर्चा पक्षका नेता तथा कार्यकर्ताहरुले नारावाजी गरेका थिए । २७ साउनमा नेकपा माओवादीका केन्द्रिय अध्यक्ष मात्रिका यादव सहितको उपस्थितिमा सबैला गाउँबाट करिब ४ दर्जनको संख्यामा आएका मोर्चा पक्षका नेता तथा कार्यकर्ताहरुले अदालतको अगाडी नाराबाजी गरेका थिए । न्याय बेच्न पाइँदैन, सामाजिक एकता जिन्दावाद, दोषीलाई कारवाही गर लगायतका नाराहरु लगाई उनीहरु करिब १ घण्टा भन्दा वढी समयसम्म नाराबाजी गरेका थिए । नाराबाजी गरिरहेको कुरा बुझेपछि १ नम्बर इजलासका न्यायाधीशले मात्रिका यादव लगायतका ५ जना प्रदर्शनकारीहरुलाई बोलाएका थिए । किन नारावाजी गरेको भनेर न्यायाधीशले सोध्दा विगतमा पक्राउ परेका लक्ष्मीनारायण यादवलाई अदालतले तारेखमा रिहा गरेपछि आफुहरु न्यायका लागि नाराबाजी गरेको उनीहरुले भनेका थिए । उक्त वार्तालापमा सहभागी भएका स्थानीयवासी प्रदिप यादवका अनुसार, विगतमा कुन न्यायाधीशले के गरे भन्ने कुरा मलाई थाहा भएन, तर अब अदालतमा प्रस्तुत गरिएको कागज र प्रमाणका आधारमा न्याय दिइनेछ भनेर न्यायाधीशले आश्वासन दिएपछि उनीहरु प्रदर्शन रोकेका थिए ।
राजु गुप्ता पनि पक्राउ
राम सेवक राउत गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई ज्यान लिने प्रयास गरेको अभियोगमा फरार रहेका राजु गुप्तालाई स्थानीय मानिसहरुले २६ साउनका दिन पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाका जिम्मा लगाएका थिए । भगवान साह कलवारको बहस सुन्न जनकपुर आएका मोर्चाका मानिसहरु साँझ साँढे ५ बजे तिर कदम चौक तर्फ गईरहेका बेला गुप्तालाई उनीहरुले लखेटेर समातेका थिए । सबैलाका कारीराम यादव, राम देव यादव, लक्कीचन साह, दिनेश साह, श्याम किशोर साह, तेजनारायण यादव लगायतका समुहले लखेटेर गुप्तालाई पक्राउ गरेका थिए ।
गुप्तालाई थुनामा राखेर वा तारेखमा राखेर अनुसन्धान अगाडी वढाउने भन्ने सवालमा धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । २९ साउन शुक्रबार सम्म पनि बहसको क्रम नटुङ्गिएकोले ३१ साउन आईतबार आदेश आउने बताइएको छ ।
किन भयो घटना ?
सबैला नगरपालिका वडा नं.३ स्थित सबैला बजारले ओगटेको रुद्रेस्वरानन्द प्रधानाङ्गको करिब ३ विघा जग्गा साविक देखि नै पर्ति र गौ चरण रहि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको थियो । २०४६ साल तिर प्रधानाङ्ग उक्त गाउँबाट बसाई सरी काठमाण्डौका बासी बने । यता उक्त जग्गा एमाले नेता योगनारायण यादवले किनेको हल्ला फैलियो । त्यसपछि २०७० सालको चैत्र महिनामा उक्त जग्गा प्लटिङ्ग पनि गरियो । उक्त कुरा स्थानीयवासीहरुले थाहा पाएपछि प्रतिकारका लागि एकगठमेल भएका थिए । त्यसपछि उक्त जग्गाकै लागि गाउँमा एमाले नेता योगनारायण यादव एकातर्फ र अन्य राजनीतिक दल तथा स्थानीयवासीहरुको अर्को मोर्चा बनेको थियो । मोर्चामा रहेका व्यक्तिहरुले उक्त जग्गामा गई पिलरहरु उखालेर फालिएको थियो । मोर्चा पक्षले अदालतमा मुद्दा गरी जग्गा समेत रोक्का गरेका थिए ।     तर, योगनारायण यादवले पुनरावेदन गरी पुनरावेदन अदालत जनकपुरबाट जग्गा फुकुवा गराएका थिए । त्यसकारण योगनारायण यादव र मोर्चा पक्ष बीचमा आन्तरिक द्वन्द्व र बैचारिक मतभेद बढेको थियो । गाउँका कुनै पनि विकास निर्माणको कार्य होस वा सार्वजनिक सरोकारको विषय, उक्त द्वन्द्वको  छायाँ पर्ने गथर््यो ।
सोही क्रममा उक्त गाउँको मदन आश्रीत निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि ८ चैत्र २०७१ का दिन उक्त विद्यालयमा अभिभावकहरुको भेला आयोजन गरिएको थियो । योगनारायण यादव पक्षबाट एक जना अध्यक्षका लागि उम्मेदवार भएपनि मोर्चाको पक्षबाट १२÷१३ जना उम्मेदवार भएपछि कुरा मिलिरहेको थिएन । त्यसपछि अध्यक्ष पदका उम्मेदवारले २५ हजार रुपैयाँ र सदस्यका उम्मेदवारले  विद्यालयको खातामा जम्मा गरेको भौचर ९ चैत्रमा विद्यालयमा पेश गरेमा मात्र उम्मेदवार दर्ता हुने र चैत्र २५ गते चुनाव हुने निर्णय गरि उक्त अभिभावक भेला त्यस दिन सम्पन्न भएको थियो । सोही दिन साँझ करिब ८ बजे रामदेव ठाकुरको घरमा आगामी रणनीति तय गर्न मोर्चा पक्षका मानिसहरु स्थानीय रामदेव ठाकुरको घरमा छलफल गरिरहेका थिए ।
     त्यही बेला योगनारायण यादवको नेतृत्वमा आएका समुहले मोर्चाका पक्षका नेता तथा कार्यकर्ताहरु माथि आक्रमण गरेको भनेर उक्त घटनामा घाइते भएका व्यक्तिहरुले प्रहरी समक्ष बयान कागज गरेका छन् । उक्त घटनामा परी घाइते भएका रामसेवक राउतको मृत्यु भएको थियो ।
को–को पक्राउ परे,को–को फरार छन् ?
सबैला घटनाका अभियुक्तहरु लाल विहारी यादव, महेश यादव र महेन्द्र यादव अहिले कारागारमा थुनामा छन् ।
८ चैत्र २०७१ मा अन्दाजी राति १० बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं.१ स्थित मुसहरी टोल बस्ने राम सेवक राउतलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तहरुको खोज तलासका क्रममा फरार मध्येका प्रतिवादी लक्ष्मीनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विषेश टोलीले १९ जेष्ठ २०७२ मा पक्राउ गरेको थियो । जिल्लाको पुर्वी क्षेत्र प्रखे महुवा वडा नं.४ स्थित हनुमान चौकबाट सादा पोशाकमा गएको प्रहरीको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि २० जेष्ठ २०७२ मा धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोही दिन कजरा रमौल वडा नं.१ कोल रमौल बस्ने ४२ बर्षिय प्रतिवादी लक्ष्मीनारायण यादव सँग धनुषा जिल्ला अदालतले बयान लिई आदेश समेत गरेको थियो । अदालतको ६ नम्बर इजलासका न्यायाधिश मुकेश उपाध्यायले गरेको आदेश अनुसार २७ हजार रुपैयाँ धरौटी लिई रिहा गरिएको थियो । तत्काल प्राप्त प्रमाणबाट घटना स्थलमा प्रतिवादी लक्ष्मीनारायण यादव मौजुदै रहेको भन्न नमिली मुलुकी ऐन अदालती बन्दोवस्त ११८ को देहाय ५, १० को अवस्थाको विद्यमानता देखिँदा पछि ठहरे बमोजिम हुने गरी यी प्रतिवादीबाट नगद रु.२७ हजार वा सो बराबरको जेथा जमानत लिए लिई तारेखमा राख्नु अन्यथा सिरहा कारागारमा थुनामा पठाउनु उल्लेख छ । सोही दिन यादवले धरौटी रकम बुझाएर तारेखमा रिहा भए ।
    यस अघि ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेश गरेको थियो । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको थियो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । 
कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।”
    उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ ।
    मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
 जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ । उनीहरु सबै अहिले फरार रहेका छन् ।







२०७२ श्रावण ३१ गते आईतबार

मधेसी मोर्चाद्वारा दुई दिने मधेस बन्दको आह्वान

३० देखि ३२ साउन सम्म ३ दिने बन्दको पुर्व सन्धयामा नेपाल सदभावना पार्टी धनुषाले २९ साउनमा बन्द 
सफल गराउन जनकपुरमा गरेको मसाल प्रदर्शन ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ६ प्रदेशको प्रस्तावित सिमाङ्कनको विरुद्धमा ३१ र ३२ गते गरी २ दिन मधेस बन्द आह्वान गरेको छ । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी गरी मधेस केन्द्रित ४ दलहरु सम्मिलित मधेसी मोर्चाले उक्त बन्द आह्वान गरेको हो ।
सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह भन्छन,“ अहिले दुई दिनको लागि मात्र बन्द आह्वान गरिएपनि यो आन्दोलन निर्णायक आन्दोलन हुने हुनाले बन्द अनिश्चितकालिन पनि हुन सक्ने सम्भावना छ । दुई दिनको बन्दमा के कस्तो अवस्था हुने हो, राज्यले मागलाई सम्बोधन गर्ने हो कि होइन भन्ने अवस्था अनुसार संघर्षको कार्यक्रम अगाडी वढ्दै जानेछ ।”
पुर्वमा मेचीको झापा देखि पश्चिममा महाकालीको कञ्चनपुरसम्मका २० जिल्लाहरुलाई तराई मधेस भन्ने गरिन्छ । झापा, मोरंग, सुन्सरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नबलपरासी, रुपनदेही, कपिलबस्तु, दांग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका भु भागहरु भौगोलिक दृष्टिकोणले समथर तराई मधेसका जिल्लाहरु हुन ।  उदयपुर र मकवानपुर गरी दुई जिल्ला समेतलाई जोडेर मधेस केन्द्रित राजनीतिक दलहरुले मधेसमा २२ जिल्लाहरुको दावी गर्दै आएका छन् ।
दुईपटक भएको मधेस विद्रोहको ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ प्रमुख नाराको रुपमा मुखरित भएको थियो । अन्तरिम संविधानमा संघीयता समावेश नगरिएपछि भएको मधेस विद्रोहबाट मात्र अन्तरिम संविधानमा संघीयता शव्दलाई समेटिएको थियो । त्यसका लागि मधेसीले सानो किमत होइन ५४ जना मधेसी बीर सपुतहरुले आफ्नो ज्यानको आहुति नै दिनुपर्यो । २०६४ साल फागुन १६ गते तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटकहरु मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो बीच ८ बुँदे ऐतिहासिक सम्झौता भएको थियो । यी ४ जना नेताहरु उक्त सम्झौताका हस्ताक्षर कर्ता थिए भने, प्रधानमन्त्री निवास बालुवाटारमा सम्झौता भईरहँदा तत्कालिन प्रधानमन्त्री कोइरालाका दायाँ र बायाँ छेउमा नेकपा एमालेका तत्कालिन महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित थिए । अझ भन्ने हो भने उक्त बार्ताका लागि भारतका तत्कालिन राजदुत शिवशंकर मुखर्जीले मध्यस्थता गरेका थिए ।
उक्त सम्झौताको दोस्रो बुँदामा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेश सहितको संघीय संरचनाको आकाक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिनेछ । प्रदेशहरु पुर्ण रुपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरुको संरचना, केन्द्र र प्रदेशका सूचिहरुको पुर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।’, उल्लेख गरिएको छ । सोही कुरालाई उल्लेख गर्दै अन्तरिम संविधानको धारा १३८ को उपधारा १ मा उल्लेख समेत गरिएको छ ।
अहिले दोस्रो संविधानसभाबाट प्रस्तुत गरिएको संघीयताको खाकामा मधेस प्रदेश जनाउनका लागि पुर्वमा सप्तरी देखि पश्चिममा पर्सा सम्मको ८ जिल्लालाई प्रदेश नम्बर २ मा राखिएको छ । जब की मधेसका अन्य जिल्लाहरुलाई पहाडमा जोडेर ६ टुक्रामा विभाजन गरिएको छ । हरेक राजनीतिक परिवर्तनमा जनकपुरले अग्रस्थानमा रहेर आफ्नो भुमिका निर्वाह गर्दै आएको पाइन्छ । त्यसैले २४ गते मध्य रातिमा प्रमुख ४ राजनीतिक दलले कोरेको ६ प्रदेशको सिमाङ्कनका विरुद्धमा साउन २५ गते संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला स्तरमा विरोध स्वरुप धनुषा बन्द गरेको थियो ।
    हुन त उक्त दिन जनताले पनि विरोध स्वरुप बन्दीलाई पुर्ण रुपमा समर्थन गरेका थिए । तर, केन्द्रबाट कार्यक्रम निर्धारण गरिने हुनाले बन्द स्थगित गरिएको सदभावना पार्टीका धनुषा संयोजक संजय सिंहले बताएका थिए । ६ प्रदेशको खाका आईसकेपछि तत्काल कुनै कार्यक्रम नराखेका मधेसी मोर्चाले बल्ल आएर साउन ३१ र ३२ गते दुई दिन मधेस बन्द आह्वान गरेका छन् । मोर्चाबाट अलग  रहेका नेपाल सदभावना पार्टीले त झन् ३० देखि ३२ गतेसम्म मधेस बन्द आह्वान गरेका छन् ।
एकातर्फ थारुहरु पनि थरुहट प्रदेशको माग  गर्दै बन्द र हडताल गर्दै आईरहेका छन् भने अर्को तर्फ मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दले कस्तो असर पार्ने हो त्यो भने हेर्न बाँकी नै छ । तर, अझै पनि मधेसी मोर्चामा अन्य मधेसी दलहरु सहभागी नहुनु, अझै पनि संविधानसभा परित्याग नगर्नुले जनता मधेसी नेतृत्व प्रति सशंकित देखिएका छन् ।


२०७२ श्रावण ३१ गते आईतबार

अन्तरबार्ता ः थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ ः हृदयेष त्रिपाठी

पहिलो मस्यौदा आएपछि तपाईहरुले संघीयता नै नल्याउने षड्यन्त्र भयो भन्नुहुन्थ्यो  । तर, चारदलले तपाईहरुलाई गलत सावित गरे, होइन ?
कुन ठूलो कुरा भो ? सीमांकन गरेका थिएनन् र हामीले गरेनन् भन्यौं  । सर्वोच्चले पनि भनेको हो  । ३० दलमा हुँदा प्रचण्डले पनि भनेकै हो  । ३० मा हुँदा एउटा सत्य हुने, ३० दल छाडेपछि अर्कै सत्य हुने हुन्छ र ? सत्य भनेको सत्य हुन्छ  ।
पहिले सीमांकन नभई हुँदैन भन्नुभो  । अहिले भएपछि मान्दैनौं भन्नु भो नि ?
अहिले गलत सीमांकन भएको छ, हामी गलत सीमांकन भन्दैछौं  । संघीयताको आवश्यकता किनर्पयो भने सबैको राज्य हुन सकेन  । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने धेरै समुदाय, जाति, धर्म र क्षेत्रका मानिसहरुले भने  । त्यसले हामीले संघीयता अपनाउन खोजेका हौं  ।  एउटा प्रस्ताव उहाँहरुले त्याउनुभयो आकाशे कित्तासहितको संघीयता  । प्रदेशहरु जुन आधारमा बन्छन् भनिएको थियो, त्यो आधारमा भएको छ त ? अब त्यहाँ केलाउनुपर्छ  । पहिचानका पाँच र सामथ्र्यका चारका आधारमा प्रदेशहरु निर्माण गर्ने भन्ने सहमति भएको थियो  । त्यसमा हाम्रो पनि विमति छैन  ।
तर, सीमांकन गर्दा एउटा बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो हिसावले सीमांकन गरिएको छ  । कुनै मापदण्ड छैन  । म उदाहरण दिएर भन्छु, १८६० मा नयाँ मुलुकका रुपमा आएको कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य बढी हो कि पछिल्ला दिनको सहकार्य बढी हो ? जुन भीम रावल र शेरबहादुरले भन्नुहुन्छ, त्यो सही हो कि कमैयाका लागि थारु चाहिएको हो ?
पश्चिम पहाडका जमिनदार ठकुरी बाबुसाहेबहरुका लागि हली र कमैया चाहिएकाले छोड्न नखोज्नु भएको हो  । तर, कहिल्यै पनि माथिका जिल्लाहरुसँग कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य भएन  ।
त्यसमा त एमाओवादी र फोरम लोकतान्त्रिकको फरक मत छ र सच्याउनुपर्छ भन्ने आवाज पनि हस्ताक्षरकर्ता दलहरुबाटै आइसकेको छ नि ?
म पार्टी पार्टीमा जान्न, जे छ त्यसमा भन्दैछु  । रियलाइज गर्नुभएको छ भने कुनै उपकार पनि गरिरहनु भएको छैन  । मापदण्ड के त त्यसो भए ? त्यस्तै तराई मधेसको भूगोल कुनै बिजित प्रदेश होइन  । यसलाई म अण्डरलाइन गरेर भन्दैछु, कुनै शाह राजाहरु, राणाजीहरु वा नेपाली सेनाले विजय प्राप्त गरेको भूमि होइन  । सम्झौताको भूमि हो र सम्झौता हुँदा त्यहाँ मानिसहरु थिए  । बरु औलो उन्मूलन भएपछि बसाइँ सराइँ बढेको हो  । त्यो भूगोल एउटा प्रदेशका रुपमा रहनुपर्छ, किनभने त्यो भौगोलिक रुपमा नै भेदभाव भएको क्षेत्र हो  ।
झापाको जनसंख्या र मतदाता ०१५ सालको निर्वाचनमा कस्ता थिए ? ८९ प्रतिशत गनगाई, राजवंशी, ताजपुरिया थिए  । त्यसलाई केही स्वीकार नगर्ने अनि महेन्द्रकालीन जिल्ला, अञ्चल र कथित विकास क्षेत्रको विभाजनलाई सीमानाका रुपमा लिइएको छ  । त्यसकारण अहिलेको सीमांकन कुनै पनि बैज्ञानिक, आर्थिक वा पहिचान र सामर्थका आधारमा गरिएको छैन  । केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई सुरिक्षत गर्न गरिएको ऐतिहासिक गद्दारी हो  । हाम्रो अझै पनि भनाइ के हो भने कुनै मापदण्ड बेगर सीमांकन भएको छ  । यसको एक मात्र उद्देश्य परम्परागत कालदेखि खस आर्यको शासनलाई सुरक्षित गर्न यो प्रदेशहरु बनाइएको हो  ।
तर, हस्ताक्षरकर्ताहरु संयुक्त पहिचानको प्रदेशहरु बनेको छ  । र, मधेसमा त एकल पहिचानकै आधारमा प्रदेश बनेको छ भन्छन् नि ? त्यस्तोमा तपाईहरु पनि खुसी हुनुपर्ने होइन ?
अज्ञानीहरुलाई मैले केही भन्दैन  । ज्ञानीले अज्ञानीको नाटक र्गयो भने नाटक ठहरिन्छ  । त्यो प्रदेशमा खाली मधेसी मात्र छन् ? पहाडे मुलका पनि छन्  । उहाँहरुले जे भन्न खोज्नुभएको छ, त्यो गलत छ, त्यो भूभागमा सबै छन्  ।
अर्को, हरेक प्रदेशलाई भारतको सीमासँग जोड्ने नाटक गरिएको छ  । प्रदेश नम्बर ४ लाई नवलरासीको सुस्ता, बरघाटसम्म ल्याएर के खोजिएको हो भने बाबुराम भट्टराई र रामचन्द्र पौडेलले आफ्नो हालिमुहाली हुने प्रदेशलाई भारतसँग जोड्न खोज्नु भएको मात्र हो  । कुनै मापदण्ड छैन  । आफ्नै देशका जनतामाथि विश्वास नगर्ने अनि भारतमाथि अगाध विश्वास छ  । अनि राष्टिूयताको कुरा हामीसँग गर्ने ?
कम्मल ओढेर घिउ पिउने अनि हामीलाई राष्टिूयताको कुरा सिकाउने ? यस्ता छद्म राष्टूवादीहरु महेन्द्रका अवतारहरु हुन्  । र, नेपालले त्यही दुःख पाउनेछ, जुन महेन्द्रको कथित राष्टूवादले दुःख पाएको थियो  । मगरातलाई तीन टुक्रामा बाँडिएको छ  । किनभने खस आर्यको बाहुल्यता रहोस् भनेर  ।
तर, बढी जनसंख्या भएका जाति, भाषा वा समुदायको बाहुल्यताका आधारमा त प्रदेश नम्बर २ एकल पहिचान नै हुन्छ होइन र ?
६ वटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा खस आर्यहरुकै बाहुल्यताको प्रदेश बनाइएको छ  ।  एउटाको बाहुल्यता भएको स्वीकार नगर्ने अनि अर्कोलाई खाली मधेसीहरुका लागि मात्र दिएको भनेर आडम्बरी र झुटको कुरा गर्ने ? यो तर्क काम लाग्दैैन  । पहिले अध्ययन गर्नुस्  ।
जसले सीमांकन गरे, उनीहरुले अध्ययन नै गरेका छैनन् त ?
अध्ययन किन गर्नु हुन्न भने नियत सफा छैन  । नियत के हो भने खस आर्यको प्रभुत्वलाई केन्द्र र प्रदेशमा कायम गर्ने  । यसको उदाहरण नै दिन्छु  । मस्यौदामा खस आर्यको मात्र परिभाषा गरिएको छ  । दलितको परिभाषा हुँदैन ? आदिवासी जनजाति, मधेसीको परिभाषा हुँदैन ? तर, खस आर्यको मात्र परिभाषा गर्नुको नियत के हो भने समानुपातिक सीट सुरक्षित गर्नु हो  । र, प्रभुत्वलाई निरन्तरता दिन संवैधानिक आवरणले छोप्न खोजिएको हो  । यो समग्र मस्यौदा र प्रदेश विभाजनको एक मात्र उद्देश्य के हो भने एउटै समुदायको केही जाति विषेशको कब्जामा राज्यलाई राखिराख्नु  । जो स्थायी सत्ता सेना, प्रहरी, अदालत, प्रशासनमा जसको बहुल्यता छ, उनीहरुकै सत्तालाई निरन्तरता दिन र सुरक्षित गर्न प्रयोगहरुको विभाजन भएको हो  । हाम्रो लागि यो अस्तित्वको लडाइ हो  ।
यदि साम्प्रदायिकताको कुरा गर्ने हो भने कांग्रेस, एमाले, एमाओवादी राप्रपाले एकजना मधेसीलाई पहाडबाट जिताएर देखाएका छन् ? मधेसले कृष्णप्रसाद भट्टराई बारम्बार काठमाडौंमा पराजित भएपछि वीरगञ्जले जिताएर देखाएको थियो  । स्वयं प्रचण्ड काठमाडौंमा पराजित हुँदा सिराहाले जिताएर देखाएको छ  । माधवकुमार नेपाल यहाँँ सुकुम्बासी भए, रौतहटले जिताएको छ  । मधेसीहरु साम्प्रदायिकता होइन, समिश्रण हुन चाहिरहेका छन्  । हामीलाई सेनामा लेऊ, प्रशासनमा लेऊ, हरेक राज्यको निकायमा लेऊ भनिरहेका छन्  ।
समिश्रण त राज्य पुनःसंरचना अर्थात प्रदेशहरु पनि पनि चाहिएको होला नि ? मधेस र पहाडका जिल्लाहरु मिलाएर प्रदेश बनाउँदा किन आपत्ति ?
राज्यको अंगमा खोजेको हो  । अञ्चल, जिल्ला र प्रदेशमा होइन, राज्यमा समिश्रण खोजेको हो किनकि एकमुष्ट भएको बेलामात्र प्रतिनिधित्व हुन्छ  । अहिले पनि अर्को नाटक के हुँदैछ भने १ सय ६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्येक जिल्लालाई एउटा सिट दिइनेछ  । ७५ मध्ये ५५ अन्यत्र गयो, मधेसले २० वटा पायो  । बाँकी ९० आधा आधा हुनेछ  । जबकि अहिले मधेसको जनसंख्या देशको कुल जनसंख्याको ५१ प्रतिशत बढी छ  । अन्तरिम संविधानको व्यवस्थाअनुसार बरु २ सय ४० मध्ये १ सय १६ वटा सीट मधेसले पाइसकेको छ  ।
तर, प्रचण्डले संसदमा बिहीबार तपाईहरुमाथि नै प्रश्न गर्नुभएको छ  । पहिले ११ प्रदेश मान्नुभएन  । अहिले ६ प्रदेशको विरोध पनि तपाईहरु नै गर्दै हुनुहुन्छ ?
त्यसबेला लिखित केही भएको होइन  । कुरो चल्ला चल्दै एमाओवादीका साथीहरुले स्वीकार नगरेपछि कुरा बिग्रिएको हो  ।
सहमति भाँडिएको तपाईहरुको कारण होइन ?
होइन  । उहाँहरुले दोष त हामीलाई लगाउनुहुन्छ  । मधेसी भनेको त डम्पिङ साइज हो  । हिजै पनि संसदमा प्रचण्ड, सुशील कोइराला र केपी ओलीले मध्य पश्चिमको आन्दोलन स्वस्फुर्त र थारु मधेसीको आन्दोलन प्रयोजित भने  । नियत  । हामीले  केही भन्यो भने देशभक्तिमाथि प्रश्न उठाउँछन्  । त्यो बुंगाहरुले पनि अधिकार पाउँछन्, जो आफैं बुंगा छन्  । इनफ इज इनफ  । अब कति भयो ? यो अतिले धेरै क्षति नगरोस्  ।
म राष्टिूय हिसाबले भन्दैछु, जुन ढंगले दुरी बढाइएको छ, एउटा समुदाय विशेषमाथि लक्षित गरेर प्रहार गरिँदैछ  । यसले यो देशको राष्टिूय एकता भौगोलिक एकता भएको छ तर, मनोवैज्ञानिक र भावनात्मक एकतालाई टाढा गरेको छ  । आपसमा फाटो लगाउन खोजिँदैछ  । उहाँहरु भूलचुकले नेता हुनु भो  । त्यसले गर्दा दुःख पाउने भो  ।
तर, हिजो त तपाईकै शब्दमा भूलचुकले नेता भएका प्रचण्डलाई नै नेता मानेर हिँड्नु भएको थियो ?
चिन्न सकिएन  । धोका भयो  । जस्तो कांग्रेसले टाउकोको मूल्य तोकेकै हो, ओलीले अतंककारीहरुको झुण्डै भनेकै हो  । अहिले कस्तो मीठो सहकार्य भइरहेको छ  । स्वार्थ हो  । हिजोसम्म प्रचण्डजी कुर्लिएर भुक्नुहुन्थ्यो तर, आज आफ्नो लडाइँ आफैं लड्नपर्छ भन्ने प्रष्ट भएको छ  ।
आन्दोलनबाहेकको कुनै समाधान त होला नि ?
इमान्दारी  । सबैले हेर्ने दृष्टिकोण समान  । भेदभाव अहिले भएकै हो  । सबैलाई ज्ञान छ, त्यसका लागि एउटा स्वेत पत्र जारी गरे हुन्छ  । मेरो भनाइ पनि मान्नुहुन्न, म अतिरन्जित होऔंला  । तर, सेना, प्रशासनमा कसको कति छुट्याउँ न  । त्यहाँबाटै प्रष्ट भइहाल्छ भेदभाव कति छ भनेर  ।
हामीलाई पनि लेउ भन्दा हाम्रो भाग खान आए भन्ने ब्यूरोक्रेट्सको मनोविज्ञान नेताहरुमा पनि सरेको छ  । आलीले नै बाली खाएपछि कसले बताउने ? अब अहिलेको अवस्था दुर्भाग्यबस सुशील कोइराला एउटा पार्टीको सभापति र प्रधानमन्त्री दुबै हुनुहुन्छ  । प्रचण्ड जी पराजित हुँदाहुँदा आत्मसमर्पणको अन्तिम विन्दुमा पुग्नु भएको छ  । एनजीओरआइएनजीओको सरदार केपी ओली एउटा पार्टीको अध्यक्ष बन्न पुग्नुभएको छ  । जसमा विशेष गरेर तराई मधेसको जनताप्रति घृणा छ  । मलाई लाग्छ, कुनै राजवंशीले उहाँको परिवारलाई दुःख दिएको हुनुपर्छ  । यसरी तिरस्कृत हुँदै जाँदा उनले आफ्नो अन्तिम बाटो लिन थाल्यो भने मलाई लाग्छ, देशका लागि दुःखको दिन आउँछ  ।
मूर्त रुपमा भन्नुस् न, संघीयतामा के भयो भने मधेसको सहमति हुन्छ ?
संघीयता मधेसले लडेर ल्याएको हो  । संघीयताको सैद्धान्तिक ढाँचा मधेस आन्दोलनले लिएर आएको हो  । यसलाई मधेस आन्दोलनले जोगाउँछ  । अब अलिकति दुःख हामीले पनि पाउँछ, देशले पनि पाउँछ  ।
भनेको आन्दोलनबाटै सबै टुङ्गिन्छ ?

एकदमै  । अरु विकल्प छैन  । पश्चिम तराई पुरै बलिरहेको छ र यो झन बढ्छ  । किनभने यो अस्तित्वको लडाइ हो  । अन्तिम लडाइ जस्तो ठानेका छन् त्यसका जनताले  । तपाईलाई थाहा छ, कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले आफ्नै नेताको पुत्ला जलाइरहनुभएको छ  ।
तर, तपाईहरुले मधेसमा हुनुपर्छ भन्ने दाबी गर्दै आएको झापा, मोरङ र सुनसरीले त सीमांकनलाई स्वीकार गरिसक्यो ?
जनताले स्वीकार गर्छ भने राखे भइगो  । तर, पश्चिम तराईले त स्वीकार गरेन  । जनताले चाहेनन् र त हामीले साथ दिइरहेका छौं  । मैले सुने अनुसार सुनसरी र मोरङमा आन्दोलन उठिरहेको छ  ।
हिजो तपाईहरुले एक मधेस प्रदेश भनेर थारुहरुको अस्वित्व स्वीकार गर्नुभएन  । उनीहरुले लडेर लिए  । तर, प्रचण्डकै शब्दमा भन्ने हो भने अहिले तपाईहरुलाई माया लागेको हो ?
थारु र मधेसी किन मिले भनेर तीनै नेतालाई मनैदेखि पीडा भएको छ  । थारु मधेसी मिलेपछि के हतिगत हुन्छ भनेर थाहा छ साथीहरुलाई  । मिलेर लड्छौं  ।
अर्को कुरा, प्रचण्डले यो शक्ति शन्तुलनको अधिकतम दस्ताबेज हो भनेका छन्  । त्यही हो ?
खस आर्यको एकता हो, शक्ति सन्तुलनको कुनै बाध्यता होइन  । म पुरै होस हवासमा भन्दैछु, यो खस आर्यहरुको एकता हो  । पहाडी बाहुनहरुको एकता हो  । हिजोे ३० दलमा हुँदा शक्ति सन्तुलन अर्कै थियो ? त्यसबेला ज्ञान थिएन ?
तर, उहाँले यो आठ वर्षमा हामी बीचमा जंगलमा अल्मलिएका थियौं  । अहिले फेरि पुरानै ठाउँबाट यात्रा सुरु गरेँ भन्नुभएको छ नि ? 
ठीक छ  । यदि उहाँले आफ्नो समग्र जीवन नै भूल गर्नुभएको रहेछ भने हाम्रो सहानूभूति छ  । अरु केही गर्न सक्दैनौं  ।
भनेको तपाईहरु लडेरै एकल पहिचानका आधारमा प्रदेश बनाउन सक्नुहुन्छ ?
एकल पहिचान हामीले भनको छैनौं  । मिडियाले भनेको हो, उसले जवाफ देओस्  । हामी तराई मधेसको भूभाग अर्को प्रदेशमा मिसिनु हुन्न  । किनभने तराई मधेससँगै एउटै भूगोल भएवापत एक किसिमको भेदभाव र दुव्र्यवहार गरिएको छ र त्यसको अन्त्यको बाटो भनेको त्यो भूगोल अर्कोमा मिसिनु हुन्न  । हामीले एकल, दुकल भनेका छैनौं  । तराई मधेसमा बस्ने पहाडी समुदायसँग हामीले नागरिकताबाहेक सबै भोगाइसँगै भोग्छौं  ।
तर, सप्तरीदेखि पर्सासम्मको प्रदेश नम्बर २ मा पहाड चाहियो भनेर आन्दोलन भइरहेको छ ?
मैले त सुनिँन  । कसले भन्यो  । उनीहरुले यो मान्य हुँदैन भनेका छन्  । झापा, मोरङ र सुनसरीलाई छाड्नु हुँदैन भनेका छन्  । सीमांकनमा ठूलो षड्यन्त्र के भएको छ भने मधेसको कुनै पनि प्रदेशमा नारायणी, कोशी, कर्णाली र महाकाली चार ठूला नदीहरु छैनन्  ।
संविधानमा सहमतिका लागि तपाईहरुको बटमलाइन के ?
उहाँहरुको नियत सफा हुनुर्पयो  । तराई मधेसको भूभाग त्यहाँको प्रदेशमा रहनुर्पयो  । बटमलाइन त्यही हो  । संख्या बसेर छलफल गर्न सकिन्छ  ।
सौजन्यः अनलाईन खबर डट कम
 
२०७२ श्रावण ३१ गते आईतबार

अन्तरबार्ता : मधेसमा आन्दोलन उठ्दैन ः शत्रुधन महतो, सभासद एवं एमाले नेता


मधेसी समुदायको मागबमोजिम मधेसको भूमीमात्रै समेटिएको प्रदेश बन्दैछ, तर तपाईहरु असन्तुष्ट हुनुहुन्छ, किन ?
पहिलो कुरा त, मधेस प्रदेश मधेसी समुदायको माग होइन  । यो केही मधेसवादी भन्ने पार्टीका नेताहरुले राजनीतिको रोटी सेकाउन ल्याएको नारा हो  । त्यही नारा उनीहरुलाई अहिले घाँडो भएको छ  । साँच्चिकै मधेसमात्रको प्रदेश बन्ने भएपछि उनीहरु मुख लुकाएर बस्नुपर्ने अवस्था छ भने ती पार्टीका कार्यकर्ताहरुले पहाडबाट अलग भएर बस्न सकिँदैन भन्दै हामीलाई तपाईहरु यो आवाज उठाउनुस भनिरहेका छन्  ।

जहाँसम्म हामी किन असन्तुष्ट भयौं भन्ने कुरा छ, हाम्रो पार्टी नेकपा एमालेले शुरुदेखि नै सामथ्र्य र पहिचानमा आधारित प्रदेश बनाउने भनेको हो  । हिमाल, पहाड र तराई मिसिएका प्रदेश बनाउने भएको हो  । तर, अहिले आएर सप्तरीदेखि पर्सासम्मको भूभाग जोडेर जुन मधेस प्रदेश बनाउन खोजियो, यो हाम्रो पार्टीको नीति विपरीत पनि हो र मधेसी जनताको चाहना विपरीत पनि हो  ।

मधेसी जनताको चाहना चाहिँ के हो त ?
पर्सादेखि सप्तरीसम्मको प्रदेशले पहिचान त बोक्यो, तर सामथ्र्य शून्य भयो  । यही भूगोलमात्रै रहने हो भने मुलुककै सबैभन्दा कंगाल प्रदेश यही हुनेछ  । पहिचानकै सवालमा पनि मधेसमा धेरै जाति र समुदायका मान्छे बस्छन्  । त्यहाँ जातीय सन्तुलन कायम गर्न पनि पहाडका केही जिल्ला मिलाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ  । हिमाल, पहाड र तराई मिसिएको प्रदेश हाम्रो अडान हो  । मधेसी जनता पहाडबाट अलग भएर रहन सक्दैन्  । दोस्रो कुरा, भोलि यो प्रदेश पहाडबाट अलग पारियो भने परनर्भिर बन्ने र बिभिन्न चलखेलहरुको अखडा बन्ने खतरा पनि छ  ।

त्यसो भए पहाडका कुन(कुन जिल्ला मिलाउनुपर्छ भन्ने तपाईहरुको माग हो ?
सामथ्र्यका लागि त हामी पहाडबाट अलग भएर बाँच्नै सक्दैनौं  । कम्तिमा उदयपुर, सिन्धुली र मकवानपुरका पायक पर्ने भागहरु मिलाउने एउटा उपाय छ  । सिन्धुलीका साथीहरुको गुनासो पनि आएको छ, उहाँहरुले दोलखा रामेछाप पनि समेटिन्छन् भने ठीकै छ भन्नुभएको छ  । हामी पनि चाहान्छौं दोलखा र रामेछापका हिमाली जडिबुटीदेखि त्यहाँको जल र महाभारतको जंगल एवं मधेसको जमिन मिलेको सम्बृद्ध प्रदेश बनोस्  । कुन(कुन जिल्ला कसरी मिलाउने भन्ने हामी अहिले नै जनताको तहमा विवाद आउने गरी बोल्न चाहान्नौं  । तर, पहाड(तराई मिलेको प्रदेश हुनुपर्छ भन्ने कुरा हो  ।

तर, पहाडसँग जोडियो भने आगो बाल्छौं भन्ने मधेसका नेताहरुको चेतावनीपछि यो मधेस प्रदेश बनाइएको कुरा आएको छ नि ?
आगो त पहाडसँगबाट अलग गर्न खोजियो भने बल्न सक्छ  । अहिले मधेसका जनता आगो बाल्ने पक्षमा छैनन्  । मधेसवादी दलहरु लाजले हिँडेका छन्  । तिनका कार्यकर्ताले पहाडबिनाको प्रदेश चल्दैन, तपाईहरु आ(आफ्नो पार्टीबाट दबाव दिनुस भनेर हामीलाई आग्रह गरिरहेका छन्  । पहिले मधेसवादी दलले तराई एक प्रदेश भने  । त्यो कुनै हालतमा सम्भव थिएन्  । पछि दुई प्रदेशमा झरे  । अहिले मधेस प्रदेश त पाइयो, तर यो कसरी चल्छ ? भनेर उनीहरु नै भन्दैछन्  ।  हिजो उनीहरुले राजनीतिक नाराका लागि मधेस प्रदेश भनेका थिए, खासमा त्यो मधेसी जनताको माग थिएन  । अहिले उनीहरु पनि पहाड माग्दैछन्  । वास्तवमा हाम्रा नेताहरुले मधेसमा आन्दोलन हुन्छ कि भनेर शंकाकै भरमा मधेस प्रदेश छुट्याए, तर मधेसमा आन्दोलन उठ्दैन  ।
अहिले तपाईहरुले पहाड मागिरहनु भएको छ, त्यो माग पूरा भयो भने आन्दोलन गर्लान् नि त ?

(सामथ्र्य चाहियो भन्दा कुन मधेसी जनता आन्दोलनमा जान्छ ? अरुको भरमा पर्नुपर्ने कंगाल प्रदेशमा बस्न कोही चाहँदैन  । पहाडका जिल्ला मिलाउँदा उर्जा, वन र अन्य सामथ्र्य प्राप्त हुन्छ  । जहाँसम्म आन्दोलनको कुरा छ,उनीहरुलाई कसैले साथ दिँदैनन्  । हिजो उनीहरुले मधेसमात्र किन भनेका थिए भने, उनीहरुको पार्टीको संगठन पहाडमा त छैन  । त्यसमा व्यक्तिगत र पार्टीगत स्वार्थ गाँसिएको छ  । तर, साँच्चिकै प्रदेश बन्ने बेलामा त भावनामा बगेर होइन, तथ्यका आधारमा जानुपर्छ  ।

सामथ्र्यबिनाको मधेस प्रदेश एक प्रकारले बिहारीकरण हो  । आजको बिहार होइन हिजोको बिहार जस्तो  । मलाई कुनै मधेसवादी नेताले भनोस, यी मधेस प्रदेशका आठ जिल्लामा के छ, जसले यो प्रदेश चलोस् ?
होइन, मधेस प्रदेश हुँदा कम्तिमा मधेसी नै मुख्यमन्त्री हुने कुरा त सुनिश्चित भयो नि हैन र ?

(यो त एउटा उखान छ, दृष्टिविहीनको देशमा कान नसुन्ने राजा भनेजस्तै कुरा भयो यो त  । एउटा कंगाल प्रदेशको मुख्यमन्त्री हुनुभन्दा त सम्बृद्ध प्रदेशको जनता हुन स्वीकार्य छ मलाई  ।
मधेसी जनताले संघीयता चाहेको कुनै मधेसी नेतालाई मुख्यमन्त्री बनाउन होइन, आफ्नो क्षेत्रको विकास र जनजीवनमा सम्बृद्धिका लागि हो  । मुख्यमन्त्री त भोलि जो सुकै होस, त्यसमा किन जाने ? अहिले पनि हामी चुनाव जितेर सभासद भएका छौं  । जनताले जुन पार्टीलाई जिताउँछन्, त्यही पार्टीबाट मधेसी नेता मुख्यमन्त्री बन्न सक्छन, पहाडे पनि बन्न सक्छन्  । मुख्य कुरा प्रदेशको सम्बृद्धि हो  ।

पहाड–मधेस जोड्ने कुरा एमालेको मात्रै जस्तो देखियो, अरुलाई किन मिलाउन सक्नुभएन ?
कांग्रेसका विमलेन्द्र निधी र अमरेशकुमार सिंहले पहाड जोडिनुपर्छ भन्न बाध्य भइसके  । निधीजीले उदयपुर, सिन्धुली र मकवानपुर जोडिनुपर्छ भनेका छन्  । मधेसवादी नेताहरुले बोल्न नसके पनि कार्यकर्ताले बोलिसके  ।  एमाओवादीका रामचन्द्र झा पनि एमालेले बोले हुन्थ्यो भन्छन्  । हामीले त हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई भनिसकेका छौं  ।

पहाड जोडिनुपर्छ भन्ने सन्दर्भमा बरु सिराहा सप्तरी तल जाओस् भन्ने कुरा पनि आएका हुन् ?
त्यो माग आत्मघाती हो  । अहिले मधेस शान्त छ, यदि सिराहा सप्तरी अलग गरियो भनेचाहिँ मधेसमा आगो बल्छ  । त्यसैले यो कुरै गर्न हुँदैन  । बिजय गच्छदारले सप्तरी माग्नु स्वभाविक हो, तर त्यो सम्भव छैन  । 

भोलि जनकपुर प्रादेशिक राजधानी बन्न सक्छ भनेर पनि सिराहा सप्तरी हुत्याइदिउँ भन्ने कुरा पर्सातिरबाट आएको हो कि ?
(त्यस्तो संकीर्ण स्वार्थ लिन हुँदैन  । हामीले जनकपुर राजधानी हुनुपर्छ भनेका छैनौं  । प्रदेशको राजधानी कहाँ बनाउने, नाम के राख्ने भन्ने कुरा अहिले बहसको विषय नै होइन  । हामी अहिले त्यो लफडामा जानै चाहँदैनौं  । 

झापा, मोरङ सुनसरी मिसाएदेखि पहाड चाहिँदैन भन्ने कुरा हो ?  
अब त्यो कोर्स नै अलग भइसक्यो  । एउटा कोणबाट त्यो कुरा आएको हो, तर त्यता हामी गएका छैनौं  । अरुले के भन्छन, हामीलाई थाहा छैन  । 

मधेसमात्रको प्रदेश हुँदा एमाले कमजोर बन्छ, भोलि चुनाव जित्न सकिँदैन भनेर तपाईहरुले पहाड मिसाउन लबिङ गरेको आरोप पनि छ नि ?
यो त अत्यन्त गलत आरोप हो  । अहिले सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको निर्वाचन परिणाम हेरौं, एमाले समानुपातिक मततर्फ लगभग पहिलो पार्टी छ  । प्रत्यक्षमा हामी केही सिटले गर्दा कांंग्रेसपछि दोस्रो स्थानमा छौं  । धनुषा, सप्तरी, सर्लाही, रौतहट र बाराका केही निर्वाचन क्षेत्रमा हामी अत्यन्त झिनो मतले पराजित भएका छौं  ।  अहिले मधेसवादी भन्ने दलहरुको हैसियत कोर मधेसका यी ८ जिल्लामा कस्तो छ भन्ने सबैलाई थाहा छ  । अधिकांश ठाउँमा यिनीहरुको जमानत जफत भएको छ  । मधेस प्रदेशमा एमाले अहिले पनि पहिलो पार्टी हो  । हामीलाई मुख्यमन्त्री बन्न पहाड मिसाउनु जरुरी छैन  । हामीले प्रदेश चलाउन पहाड मागेको हो  । (सौजन्यः अनलाईन खबर डट कम)

२०७२ श्रावण ३१ गते आईतबार