मधेसी समुदायको मागबमोजिम मधेसको भूमीमात्रै समेटिएको प्रदेश बन्दैछ, तर तपाईहरु असन्तुष्ट हुनुहुन्छ, किन ?
पहिलो कुरा त, मधेस प्रदेश मधेसी समुदायको माग होइन । यो केही मधेसवादी भन्ने पार्टीका नेताहरुले राजनीतिको रोटी सेकाउन ल्याएको नारा हो । त्यही नारा उनीहरुलाई अहिले घाँडो भएको छ । साँच्चिकै मधेसमात्रको प्रदेश बन्ने भएपछि उनीहरु मुख लुकाएर बस्नुपर्ने अवस्था छ भने ती पार्टीका कार्यकर्ताहरुले पहाडबाट अलग भएर बस्न सकिँदैन भन्दै हामीलाई तपाईहरु यो आवाज उठाउनुस भनिरहेका छन् ।
जहाँसम्म हामी किन असन्तुष्ट भयौं भन्ने कुरा छ, हाम्रो पार्टी नेकपा एमालेले शुरुदेखि नै सामथ्र्य र पहिचानमा आधारित प्रदेश बनाउने भनेको हो । हिमाल, पहाड र तराई मिसिएका प्रदेश बनाउने भएको हो । तर, अहिले आएर सप्तरीदेखि पर्सासम्मको भूभाग जोडेर जुन मधेस प्रदेश बनाउन खोजियो, यो हाम्रो पार्टीको नीति विपरीत पनि हो र मधेसी जनताको चाहना विपरीत पनि हो ।
मधेसी जनताको चाहना चाहिँ के हो त ?
पर्सादेखि सप्तरीसम्मको प्रदेशले पहिचान त बोक्यो, तर सामथ्र्य शून्य भयो । यही भूगोलमात्रै रहने हो भने मुलुककै सबैभन्दा कंगाल प्रदेश यही हुनेछ । पहिचानकै सवालमा पनि मधेसमा धेरै जाति र समुदायका मान्छे बस्छन् । त्यहाँ जातीय सन्तुलन कायम गर्न पनि पहाडका केही जिल्ला मिलाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । हिमाल, पहाड र तराई मिसिएको प्रदेश हाम्रो अडान हो । मधेसी जनता पहाडबाट अलग भएर रहन सक्दैन् । दोस्रो कुरा, भोलि यो प्रदेश पहाडबाट अलग पारियो भने परनर्भिर बन्ने र बिभिन्न चलखेलहरुको अखडा बन्ने खतरा पनि छ ।
त्यसो भए पहाडका कुन(कुन जिल्ला मिलाउनुपर्छ भन्ने तपाईहरुको माग हो ?
सामथ्र्यका लागि त हामी पहाडबाट अलग भएर बाँच्नै सक्दैनौं । कम्तिमा उदयपुर, सिन्धुली र मकवानपुरका पायक पर्ने भागहरु मिलाउने एउटा उपाय छ । सिन्धुलीका साथीहरुको गुनासो पनि आएको छ, उहाँहरुले दोलखा रामेछाप पनि समेटिन्छन् भने ठीकै छ भन्नुभएको छ । हामी पनि चाहान्छौं दोलखा र रामेछापका हिमाली जडिबुटीदेखि त्यहाँको जल र महाभारतको जंगल एवं मधेसको जमिन मिलेको सम्बृद्ध प्रदेश बनोस् । कुन(कुन जिल्ला कसरी मिलाउने भन्ने हामी अहिले नै जनताको तहमा विवाद आउने गरी बोल्न चाहान्नौं । तर, पहाड(तराई मिलेको प्रदेश हुनुपर्छ भन्ने कुरा हो ।
तर, पहाडसँग जोडियो भने आगो बाल्छौं भन्ने मधेसका नेताहरुको चेतावनीपछि यो मधेस प्रदेश बनाइएको कुरा आएको छ नि ?
आगो त पहाडसँगबाट अलग गर्न खोजियो भने बल्न सक्छ । अहिले मधेसका जनता आगो बाल्ने पक्षमा छैनन् । मधेसवादी दलहरु लाजले हिँडेका छन् । तिनका कार्यकर्ताले पहाडबिनाको प्रदेश चल्दैन, तपाईहरु आ(आफ्नो पार्टीबाट दबाव दिनुस भनेर हामीलाई आग्रह गरिरहेका छन् । पहिले मधेसवादी दलले तराई एक प्रदेश भने । त्यो कुनै हालतमा सम्भव थिएन् । पछि दुई प्रदेशमा झरे । अहिले मधेस प्रदेश त पाइयो, तर यो कसरी चल्छ ? भनेर उनीहरु नै भन्दैछन् । हिजो उनीहरुले राजनीतिक नाराका लागि मधेस प्रदेश भनेका थिए, खासमा त्यो मधेसी जनताको माग थिएन । अहिले उनीहरु पनि पहाड माग्दैछन् । वास्तवमा हाम्रा नेताहरुले मधेसमा आन्दोलन हुन्छ कि भनेर शंकाकै भरमा मधेस प्रदेश छुट्याए, तर मधेसमा आन्दोलन उठ्दैन ।
अहिले तपाईहरुले पहाड मागिरहनु भएको छ, त्यो माग पूरा भयो भने आन्दोलन गर्लान् नि त ?
(सामथ्र्य चाहियो भन्दा कुन मधेसी जनता आन्दोलनमा जान्छ ? अरुको भरमा पर्नुपर्ने कंगाल प्रदेशमा बस्न कोही चाहँदैन । पहाडका जिल्ला मिलाउँदा उर्जा, वन र अन्य सामथ्र्य प्राप्त हुन्छ । जहाँसम्म आन्दोलनको कुरा छ,उनीहरुलाई कसैले साथ दिँदैनन् । हिजो उनीहरुले मधेसमात्र किन भनेका थिए भने, उनीहरुको पार्टीको संगठन पहाडमा त छैन । त्यसमा व्यक्तिगत र पार्टीगत स्वार्थ गाँसिएको छ । तर, साँच्चिकै प्रदेश बन्ने बेलामा त भावनामा बगेर होइन, तथ्यका आधारमा जानुपर्छ ।
सामथ्र्यबिनाको मधेस प्रदेश एक प्रकारले बिहारीकरण हो । आजको बिहार होइन हिजोको बिहार जस्तो । मलाई कुनै मधेसवादी नेताले भनोस, यी मधेस प्रदेशका आठ जिल्लामा के छ, जसले यो प्रदेश चलोस् ?
होइन, मधेस प्रदेश हुँदा कम्तिमा मधेसी नै मुख्यमन्त्री हुने कुरा त सुनिश्चित भयो नि हैन र ?
(यो त एउटा उखान छ, दृष्टिविहीनको देशमा कान नसुन्ने राजा भनेजस्तै कुरा भयो यो त । एउटा कंगाल प्रदेशको मुख्यमन्त्री हुनुभन्दा त सम्बृद्ध प्रदेशको जनता हुन स्वीकार्य छ मलाई ।
मधेसी जनताले संघीयता चाहेको कुनै मधेसी नेतालाई मुख्यमन्त्री बनाउन होइन, आफ्नो क्षेत्रको विकास र जनजीवनमा सम्बृद्धिका लागि हो । मुख्यमन्त्री त भोलि जो सुकै होस, त्यसमा किन जाने ? अहिले पनि हामी चुनाव जितेर सभासद भएका छौं । जनताले जुन पार्टीलाई जिताउँछन्, त्यही पार्टीबाट मधेसी नेता मुख्यमन्त्री बन्न सक्छन, पहाडे पनि बन्न सक्छन् । मुख्य कुरा प्रदेशको सम्बृद्धि हो ।
पहाड–मधेस जोड्ने कुरा एमालेको मात्रै जस्तो देखियो, अरुलाई किन मिलाउन सक्नुभएन ?
कांग्रेसका विमलेन्द्र निधी र अमरेशकुमार सिंहले पहाड जोडिनुपर्छ भन्न बाध्य भइसके । निधीजीले उदयपुर, सिन्धुली र मकवानपुर जोडिनुपर्छ भनेका छन् । मधेसवादी नेताहरुले बोल्न नसके पनि कार्यकर्ताले बोलिसके । एमाओवादीका रामचन्द्र झा पनि एमालेले बोले हुन्थ्यो भन्छन् । हामीले त हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई भनिसकेका छौं ।
पहाड जोडिनुपर्छ भन्ने सन्दर्भमा बरु सिराहा सप्तरी तल जाओस् भन्ने कुरा पनि आएका हुन् ?
त्यो माग आत्मघाती हो । अहिले मधेस शान्त छ, यदि सिराहा सप्तरी अलग गरियो भनेचाहिँ मधेसमा आगो बल्छ । त्यसैले यो कुरै गर्न हुँदैन । बिजय गच्छदारले सप्तरी माग्नु स्वभाविक हो, तर त्यो सम्भव छैन ।
भोलि जनकपुर प्रादेशिक राजधानी बन्न सक्छ भनेर पनि सिराहा सप्तरी हुत्याइदिउँ भन्ने कुरा पर्सातिरबाट आएको हो कि ?
(त्यस्तो संकीर्ण स्वार्थ लिन हुँदैन । हामीले जनकपुर राजधानी हुनुपर्छ भनेका छैनौं । प्रदेशको राजधानी कहाँ बनाउने, नाम के राख्ने भन्ने कुरा अहिले बहसको विषय नै होइन । हामी अहिले त्यो लफडामा जानै चाहँदैनौं ।
झापा, मोरङ सुनसरी मिसाएदेखि पहाड चाहिँदैन भन्ने कुरा हो ?
अब त्यो कोर्स नै अलग भइसक्यो । एउटा कोणबाट त्यो कुरा आएको हो, तर त्यता हामी गएका छैनौं । अरुले के भन्छन, हामीलाई थाहा छैन ।
मधेसमात्रको प्रदेश हुँदा एमाले कमजोर बन्छ, भोलि चुनाव जित्न सकिँदैन भनेर तपाईहरुले पहाड मिसाउन लबिङ गरेको आरोप पनि छ नि ?
यो त अत्यन्त गलत आरोप हो । अहिले सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको निर्वाचन परिणाम हेरौं, एमाले समानुपातिक मततर्फ लगभग पहिलो पार्टी छ । प्रत्यक्षमा हामी केही सिटले गर्दा कांंग्रेसपछि दोस्रो स्थानमा छौं । धनुषा, सप्तरी, सर्लाही, रौतहट र बाराका केही निर्वाचन क्षेत्रमा हामी अत्यन्त झिनो मतले पराजित भएका छौं । अहिले मधेसवादी भन्ने दलहरुको हैसियत कोर मधेसका यी ८ जिल्लामा कस्तो छ भन्ने सबैलाई थाहा छ । अधिकांश ठाउँमा यिनीहरुको जमानत जफत भएको छ । मधेस प्रदेशमा एमाले अहिले पनि पहिलो पार्टी हो । हामीलाई मुख्यमन्त्री बन्न पहाड मिसाउनु जरुरी छैन । हामीले प्रदेश चलाउन पहाड मागेको हो । (सौजन्यः अनलाईन खबर डट कम)
२०७२ श्रावण ३१ गते आईतबार
No comments:
Post a Comment