Wednesday, May 11, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


नयाँ नेपाल निर्माणमा हामी अडिग छौं । यो त समय रथले यताउता हल्लाएर सन्तुलन विग्रेको मात्र हो !

२०७३ बैशाख २६ गते आईतबार

सिंघानिया हत्या देखि अदालतको आदेश सम्म धनुषा प्रहरीको अनुसन्धानको श्रृङ्खलाबद्ध चरण

मृतक अरुण कुमार सिंघानिया ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुरको सबैभन्दा हाइप्रोफाइल मर्डर भनिएको अरुण कुमार सिंघानियाको हत्याको अनुसन्धान गरी धनुषा जिल्ला अदालतमा मुद्दा पुग्न ६ बर्ष भन्दा वढी समय लागेको छ । धनुषामा जुनसुकै प्रहरी उपरीक्षक आउँदा सिंघानिया हत्या काण्ड आफ्नो प्रमुख प्राथमिकतामा रहेको तथा सत्य तथ्य अगाडी ल्याउने प्रतिवद्धता गर्ने गरेपनि उक्त मुद्दाको सत्य तथ्य कसैले पनि बाहिर ल्याउन सकिरहेका थिएनन् । श्याम खड्का प्रहरी उपरीक्षक रहेको बेला सिंघानियाको हत्या भएको थियो । र, उनी पछि दशौं प्रहरी उपरीक्षकको रुपमा रामदत्त जोशी आएपछि मात्र मुद्दा अदालतसम्म पुगेको हो । यद्यपि उक्त मुद्दा अदालतमा पुगेपनि प्रहरीले गरेको अनुसन्धानबाट स्थानीय योजनाकारको रुपमा अन्य ठुलो चर्चित व्यक्तिहरु पनि हुन सक्ने कुरालाई प्रहरीले अनुसन्धानमा ल्याउन सकेको पाइँदैन । अनुसन्धानको प्रारम्भिक रुपरेखामा अर्जुन सिंह भन्ने मुकेश कुमार चौधरीले आफ्नै नेतृत्वमा आएको टोलीले हत्या गराएको भन्ने निष्कर्षमा पुगेको प्रहरी उत्तम राज सुवेदी एसपी भएको बेला मात्र उक्त निष्कर्षलाई अर्को दिशातर्फ लगेको पाइन्छ ।
प्रतिवादीहरु चनरदिप यादव र मुकेश चौधरी ।
मुकेश चौधरी पक्राउ परेपछि अनुसन्धान अधिकृतले अनुसन्धानको रुपरेखा नै परिवर्तन गर्नुपर्ने स्थितिमा पुगेको देखिन्छ । सिंघानियालाई गोली हानी हत्या गरेको भन्दै जिम्मा लिएका मुकेश चौधरीको तथ्यलाई अदालतले समेत स्वीकार गर्नुपर्ने अवस्था देखिएको भन्दै मुकेशले सो घटनाको जिम्मेवारी लिएको भनि निजले अनुसन्धानको क्रममा लेखाएको पाइएका हुनाले प्रस्तुत तथ्य अन्यथा नभएसम्म प्रस्तुत आदेश गर्दाको समयमा साँचो मान्नुपर्ने हुन आयो, यसबाट घटनाको अनुसन्धानलाई दिसान्तर गर्न खोजिएको भन्ने देखा परेको छ र सुरु सुरुको अवस्थामा अनुसन्धान गर्ने निकाय निज मुकेश चौधरीकै वरिपरी घुमि राखेको अदालतले समेत आफ्नो आदेशमा उल्लेख गरेको छ ।
सुरुमा मुकेश चौधरीको वरपर अनुसन्धान केन्द्रित रहेपनि मृतकको मुत्युको कारणमा जिवनाथ चौधरीको घरमा भएको डाकाको समाचार जनकपुर टुडेले प्रकाशन गरेको र संजय साहको नाउँ उक्त डाका मुद्दासँग जोडिएर मुछिएपछि संजय साहले अरुण सिंघानियालाई विभिन्न तहको व्यवस्थापन गर्दै हत्या गराएको प्रहरीको अनुसन्धानको अन्तिम निष्कर्ष रहेको देखिन्छ ।
सिंघानिया हत्या देखि अदालतको आदेशसम्म प्रहरीले गरेका अनुसन्धानको श्रृङ्खलाबद्ध विवरण ः
१७ फागुन २०६६ मा जनकपुरका व्यवसायी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरिएको थियो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सोम बहादुर थापा, प्रहरी हवलदार श्रीराम यादव, प्रहरी जवान महेश कुमार यादव र निरज साह सहितको टोली पुगेर घटना स्थिति मुचुल्का र साक्षीहरुको सहि छाप गराएका थिए ।
प्रतिवादीहरु एकलाल सहनी र ओम प्रकाश यादव ।
 १८ फागुन २०६६ मा अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक ढक बहादुर कार्कीद्वारा सिंघानियालाई गोली हानी हत्या गरेको घटना सम्बन्धमा प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको अध्यक्षतामा अनुसन्धान टोली गठन गरी दैनिक रुपमा भय गरेको अनुसन्धान प्रगति विवरण यस कार्यालयमा अनिवार्य रुपमा पठाउन भन्दै नतिजा जाहेरी गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन । सोही दिन प्रहरी उपरीक्षक श्याम खड्काद्वारा डिएसपी रुपकुमार न्यौपानेको अध्यक्षतामा प्रहरी निरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक विनय सिंह, प्रहरी सहायक निरीक्षक रामबाबु सिंह, प्रहरी हवलदार लिला राज ढकाल, प्रहरी जवान राधवेन्द्र उपाध्याय सहितको ६ सदस्यीय अनुसन्धान टोली गठन सिंघानियाको हत्या सम्बन्धमा गहिरिएर अनुसन्धान गरी उक्त घटना कहाँ बस्ने कसले के कसरी गरे गराएको हो, घटनामा संलग्न रहेको अभियूक्तहरुको एकिन पहिचान गरी खोज तलास गरी घटनाको सम्पुर्ण विवरण खोलाई प्रतिवेदन साथ पेश गर्न प्रहरी उपरीक्षक खड्काद्वारा अनुसन्धान टोलीलाई निर्देशन ।
    १९ फागुन २०६६ मा अनुसन्धान अधिकृत डिएसपी न्यौपानेद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रारम्भिक प्रतिवेदन पेश । प्रहरी प्रतिवेदनको जाहेरीले बादी नेपाल सरकार, प्रतिवादी नखुलेको कर्तव्य ज्यान मुद्दाको जाहेरी दरखास्त पर्न आएको हुँदा उक्त मुद्दा १० नम्बर डायरीमा १९ फागुनमा २०६६ मा दर्ता भई मुद्दा नम्बर २६९ मा दर्ता गरिएको व्यहोरा सहितको प्रारम्भिक प्रतिवेदन पेश ।
२० फागुन २०६६ मा जनकपुर अञ्चल अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा.गोराङ्क मिश्राद्वारा मृतक अरुण सिंघानियाको लाश जाँच परीक्षण प्रतिवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा पेश । उक्त प्रतिवेदनमा मेडिकल अधिकृत डा.नागेन्द्र प्रसाद यादवको राय अनुसार मृत्युको कारण मस्तिक्समा गोली लागि घाइते भई रक्तश्राव रहेको भन्दै १८ फागुनमा अञ्चल अस्पतालद्वारा शव परीक्षण प्रतिवेदन तयार ।
६ चैत्र २०६६ मा मृतक सिंघानियाका छोरा राहुल सिंघानियाद्वारा पोष्टमार्टम र मुचुल्काको नक्कल माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता ।
१२ चैत्र २०६६ मा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागलाई पत्राचार । सिंघानिया घटनाको अनुसन्धान गर्नका लागि डिएसपी न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय अनुसन्धान टोली गठन गरिएको, अरुण सिंघानियालाई तराई जनतान्त्रिक पार्टी मधेस (अर्जुन सिंह समुहले) हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको, निज अर्जुन सिंह समेत घटनामा संलग्न रहेको अभियूक्तहरु भारतमा लुकिछिपी बस्ने गरेको, निजहरु बस्ने गरेको स्थानको पहिचान भईसकेको, निजहरुलाई पक्राउ गरी ल्याउन भारतीय प्रहरीसँग समन्वय गरी पहल भईरहेको कुरा पत्र मार्फत प्रहरी प्रधान कार्यालयलाई जानकारी ।
१२ चैत्र २०६६ मा प्रहरी नायव निरीक्षक बाबु राम झालाई निलम्बन गरी हिरासतमा लिई अनुसन्धान अगाडी वढाएको भन्ने जिल्ला प्रहरीद्वारा प्रहरी प्रधान कार्यालयलाई जानकारी । ६ चैत्र २०६६ राति ११ बजेको समयमा भारत विहारको मधुवनी लहरियागञ्ज टोल बस्ने सन्तोष कुमार साह र निजको श्रीमति बर्ष १८ कि सफिना खातुन भन्ने सफिना देवी साह जनकपुर ११ स्थित मनकामना लजमा सुतिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट रेल्वेका प्रहरी कर्मचारीहरु मिली निजहरुलाई पक्राउ गरी अस्थायी प्रहरी पोस्ट रेल्वेमा लगेकोमा सन्तोष कुमार साहलाई छुट्टै कोठामा थुनी निजको श्रीमति सफिना खातुन भन्ने सफिना देवी साहलाई प्रहरी नायव निरीक्षक बाबुराम झाले करनी गरेको घटना सम्बन्धमा निज प्रनानी बाबुराम झाको निलम्बन भएको, पीडित पक्षबाट निज प्रनानीको विरुद्धमा जवरजस्ती करनीको मुद्दा यस कार्यालयमा पेश हुन आएकोले सो मुद्दा यस कार्यालयको अपराध दर्ता कितावमा दर्ता गरी प्रनानी बाबुराम झालाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा प्रहरी प्रधान कार्यालयलाई लिखित जवाफ पेश ।
१७ चैत्र २०६६ मा अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक रुप कुमार न्यौपानेद्वारा सिंघानियालाई अपरिचित व्यक्तिहरु मिलि गोली प्रहार गर्दा घाइते भई उपचारको लागि केयर मेडिलक सेन्टर जनकपुरमा उपचार गराउँदा केही समय पश्चात मृत्यु भएको प्रमाणित गरिएको पत्र ।
न्यायिक छानविन आयोगको गठन, सहिदको घोषणा तथा क्षतिपुर्ती, धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको निलम्बन, सुरक्षा व्यवस्थाको पुर्णरुपेण ग्यारेन्टी, उक्त मागहरु २७ फागुन २०६६ भित्र पुरा नभएमा संघर्षका थप कार्यक्रमहरु संचालन गरिने चेतावनी सहित २० फागुन २०६६ मा जनकपुर उद्योग बाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन प्रस्तुत । बाणिज्य संघका अध्यक्ष श्याम प्रसाद साह र महासचिव अनिरुद्ध साह लगायत बाणिज्य संघ परिवारद्वारा जारी ज्ञापन पत्र गृहमन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघलाई समेत बोदार्थ जानकारी ।
जनकपुर शिव चौक ११ बस्ने चन्दन प्रताप महत्तोले १८ चैत्र २०६६ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको गुनासो सुनुवाईको टोल फ्रि लाईन मार्फत पत्रकार अरुण सिंघानियाको घटनाको सम्बन्धमा चाँडो भन्दा चाँडो अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेपछि २२ चैत्र २०६६ मा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले २२ चैत्र २०६६ मा गरेको आदेश अनुसार २४ चैत्र २०६६ मा गुनासो कार्यान्वयनका लागि प्रहरी नायव उपरीक्षक राजेश नाथ वास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन ।
१८ चैत्र २०६६ मा अञ्चल प्रहरी कार्यालय जनकपुरबाट सिंघानिया हत्यालाई दृष्टिगत गर्दै अब उपरान्त यस्ता प्रकारका घटनाहरु हुन गर्न नपाउने गरी विशेष किसिमबाट सुरक्षाको व्यवस्था मिलाउन र सवल सुरक्षा सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा धनुषालाई निर्देशन ।
४ बैशाख २०६७ मा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट जिल्ला प्रहरी कार्यालय धनुषालाई सिंघानिया हत्याको घटनाको सम्बन्धमा वारदात भएको लामो समय वितिसक्दा समेत अपराधी पक्राउ गरेको नपाइएकोले प्रहरीको अनुसन्धान पद्धतिमा नै प्रश्न चिन्ह खडा हुन गई प्रहरी संगठन प्रति जनताको विश्वास समेतमा आँच आउन देखिने हुनाले उक्त घटनाको सम्बन्धमा अपराधि पक्राउ गर्ने तर्फ कार्यालय प्रमुख स्वयम खटिई विशेष कदम चाली अबिलम्ब पक्राउ गरी कानुन बमोजिम गरी नतिजा जाहेर गर्ने डिआईजीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन । साथै उक्त मुद्दाको अनुसन्धानलाई विशेष चासो दिई अपराधि पक्राउ गर्ने तर्फ जिल्ला प्रहरी कार्यालय धनुषालाई विशेष सपोर्ट गरी तदारुकताका साथ अपराधिको खोज तलास कार्यमा लाग्न अञ्चल प्रहरी कार्यालय जनकपुरलाई समेत प्रहरी नायव महानिरीक्षकद्वारा निर्देशन ।
१४ बैशाख २०६७ मा जिल्ला प्रहरी धनुषाद्वारा सिंघानिया हत्याको मुद्दा दर्ता भई डिएसपी रुपकुमार न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय अनुसन्धान टोली गठन गरिएको, उक्त घटनाको तराई जनतान्त्रिक पार्टी मधेसका अर्जुन सिंह समुहले हत्या गरेको तथा अर्जुन सिंह लगायतका अभियूक्तहरु भारतमा लुकिछिपी बस्ने गरेको, निजहरु बस्ने गरेको स्थानको पहिचान भईसकेको तथा निजहरुलाई पक्राउ गरि ल्याउन भारतीय प्रहरीसँग समन्वयन गरी पहल भईरहेको भन्ने व्यहोरा सहित प्रहरी प्रधान कार्यालयलाई जवाफ ।
१ असोज २०६९ मा नेपाल राष्टिूय मारवाडी परिषदका केन्द्रिय अध्यक्ष पवन मित्तलद्वारा उपप्रधान तथा गृह मन्त्री विजय कुमार गच्छदारलाई मारवाडी सेवा समिति धनुषाका तत्कालिन अध्यक्ष अरुण कुमार सिंघानियालाई गोली हानी हत्या गरेको कारण निज सिंघानियालाई सहिद घोषणा गर्न ज्ञापन पत्र प्रस्तुत ।
२३ असोज २०६९ मा गृह मन्त्रालयका शाखा अधिकृत धु्रव बहादुर साहद्वारा सिंघानिया हत्यालाई सिंघानिया हत्याको घटनाको सन्दर्भलाई सिंघानियालाई सहिद घोषणा गर्न माग भएको हुँदा उक्त घटनाबारे सत्य तथ्य विवरण र तहाको राय सहित विवरण र आवश्यक कागजात उपलब्ध गराई दिन जिल्ला प्रशासन कार्यालय धनुषालाई निर्देशन ।
१६ कार्तिक २०६९ मा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा सिंघानिया हत्याको सन्दर्भमा सत्य विवरण तथा आवश्यक कागजात जिल्ला प्रशासन कार्यालय धनुषामा उपलब्ध गराई दिन जिल्ला प्रहरी कार्यालय धनुषामा निर्देशन ।
२२ कार्तिक २०६९ मा अरुण कुमार सिंघानियालाई महोत्तरी जलेश्वर ११ बस्ने अर्जुन सिंह भन्ने मुकेश चौधरीको नेतृत्वमा आएको समुहले सिंघानियालाई गोली हानी मारेको खुल्न आएको भन्दै प्रहरी निरीक्षक अभय जोशीद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा लाई जानकारी ।
१७ कार्तिक २०७० मा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा अर्को अनुसन्धान टोली गठन । सिंघानिया हत्याको घटनालाई अनुसन्धान गर्नका लागि प्रहरी निरीक्षक गोविन्द पुरीको अध्यक्षतामा प्रहरी नायव निरीक्षक रवि घिमिरे, प्रहरी सहायक निरीक्षकद्वय जयलाल यादव र किस्मत भण्डारी, प्रहरी हवलदार संजय पासवान सहित ५ सदस्यीय अनुसन्धान टोली प्रहरी उपरीक्षक उत्तम राज सुवेदीद्वारा गठन ।
२१ चैत्र २०७० मा जनकपुर बम काण्डका अभियूक्तहरु संजय टक्ला भन्ने संजय साह समेत भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा २७ चैत्र २०७० को आदेश अनुसार प्रतिवादीहरु मुकेश कुमार चौधरी र ओम प्रकाश यादवलाई थुनामा राखि मुद्दाको अनुसन्धान गर्न धनुषा जिल्ला अदालतको आदेश ।
३० चैत्र २०७० मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिनन्दन चौधरीद्वारा बैंक स्टेटमेन्ट उपलब्ध गराईदिन भन्दै नेपाल बंगलादेश बैंक जनकपुरलाई पत्राचार । अनुसन्धानको क्रममा खुलाउनुपर्ने भएकोले अरुण सिंघानियाको तहाँ संस्थामा के कति खाताहरु रहेका थिए, सो खातामा के कति रकम रहेको छ, उक्त खाता संचालन भएबाट हालसम्मको बैंक स्टेटमेन्ट र उक्त रकम को कसले निकाले  अभिलेखबाट देखिन्छ सो समेतको विवरण यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक रवि घिमिरेको जिम्मा लगाई पठाई दिन जिल्ला प्रहरी कार्यालयद्वारा नेपाल बंगलादेश बैंकलाई अनुरोध ।
नेपाल बंगलादेश बैंकद्वारा सन् १ मार्च २०१० देखि संचालित सिंघानियाको खाताको २४ पृष्ठको बैंक स्टेटमेन्ट जिल्ला प्रहरी कार्यालय धनुषालाई वितरण ।
१६ बैशाख २०७१ मा  प्रहरी निरीक्षक गोविन्द पुरीको अध्यक्षतामा गठित अनुसन्धान टोलीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कानुनी कारवाही गरि पाऊ भन्दै प्रतिवेदन पेश । राम विनोद यादव आदेश कर्ता भई विजय कुसियैत र चन्दरदिप यादव को योजनामा अन्सी राइन, पवन लामा, योगेन्द्र सहनी र मनक लामा समेतको सिंघानिया हत्यामा संलग्नता रहेको र ती व्यक्तिहरुबाट नै सिंघानियाको हत्या गरेको प्रमाणित हुन आएको हुँदा संलग्न रहेका अपराधिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम तहकिकात गरी थप अन्य अपराधिहरु समेत खुलाई कानुन बमोजिम कारवाही गरि पाऊ भन्दै उक्त अनुसन्धान टोलीद्वारा प्रतिवेदन पेश ।
१६ बैशाख २०७१ मा सिंघानियाका छोरा राहुल सिंघानियाद्वारा चनरदिप यादव, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैत यादव, राम विनोद यादव, पवन लामा, मनक लामा, योगेन्द्र सहनी, अन्सी राइन र एकिन नाम नखुलेको ४÷५ जना समेत विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता ।
१६ बैशाख २०७१ मै ती प्रतिवादीहरुलाई खोज तलास गरी फेला परेमा भाग्न उम्कन नपाउने गरी यस कार्यालयमा उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीद्वारा प्रहरी निरीक्षक गोविन्द पुरीलाई निर्देशन ।
१६ बैशाख २०७१ मा सिंघानिया हत्याको सन्दर्भमा साक्षीहरु राजेश अग्रवाल, गौतम अग्रवाल र संदिप अग्रवाललाई उपस्थित गराउन प्रहरी चौकी जनकपुरधामलाई प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा निर्देशन ।
१६ बैशाख २०७१ मा अनुसन्धानका लागि एनटिसीका नम्बरहरु ९८४४०००६५१,९७४४००३४३१, ९८५४०२६०४८, ९८५४०२५०१९, ९८४४११११२५, ९८४४२२१३७२,९८४१७५०३९३, ९८४४१२३१८५, ९८५४०२६८५५ सहित ९ वटा टेलिफोनहरुको एक्टिभेसन डेट खुलाई पठाईदिन भन्दै प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा नेपाल टेलिकम दुरसंचार कार्यालय जनकपुरलाई पत्राचार ।
१९ बैशाख २०७१ मा प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा प्रतिवादी अन्सी राइन समेत भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानकोक्रममा खुलाउनु पर्ने भएकाले कारोवार भएको नम्बर २११५०४५२१०९१ बाट रकम सेन्डर तथा रिसिभरको विवरण सहितका कागजातहरु र रकम पठाएका स्थानका समेतको विवरण पठाईदिन प्रभु विकास बैंक जनकपुरधामलाई पत्राचार ।
२२ बैशाख २०७१ मा प्रभु विकास बैंक जनकपुर शाखाका शाखा प्रवन्धक अशोक प्रताप साहद्वारा कन्टूोल नम्बर २११५०४५२१०९१ बाट रेमिटेन्स भुक्तानीको सेन्डर र रिसिभर सहितको विवरण जिल्ला प्रहरी कार्यालय धनुषालाई प्रदान ।
२८ बैशाख २०७१ मा अनुसन्धानको क्रममा खुलाउनै पर्ने भएकोमा ज १ प लेखिएको यकिन नम्बर नखुलेको इन्जिन नम्बर ०४ एफ १५ ई ०२२०३ र च्यासिस नम्बर ०४ एफ १६ एफ ०३०३३ रहेको हिरोहोण्डा कम्पनीको रातो रंगको मोटरसाइकल को कसको नाउमा दर्ता रहेको छ, सो मोटरसाइकलको सवारी साधन र सवारी धनीको विवरण पत्र साथ खटिएका प्रहरी कर्मचारीको जिम्मा लगाई पठाईदिन भन्ने जनकपुर यातायात व्यवस्था कार्यालय जनकपुरलाई पत्राचार ।
२९ बैशाख २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा केन्द्रिय अनुसन्धान व्युरोलाई ९८०६८१०२३२ नम्बरको कल डिटेल्स र यूजर डिटेल्स तथा हालको लोकेशन समेत पठाईदिन अनुरोध ।
३ जेष्ठ २०७१ मा सिंघानिया हत्याको अनुसन्धानको शिलशिलामा ९८०७२७१३३५, ९८०७८७२७५४, ९८४५३२९०६३, ९८०७१०१२७८, ९८०४२२३४४७, ९८०४२७३६१५, ९८०८४९६०८९, ९८०७१६२७५४ नम्बरहरुको यूजर डिटेल्स र लास्ट लोकेशन समेत पठाईदिन जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा केन्द्रिय अनुसन्धान व्यूरो काठमाण्डौलाई पत्राचार ।
२२ जेष्ठ २०७१ मा केन्द्रिय अनुसन्धान व्यूरोले नेपाल टेलिकम केन्द्रिय कार्यालयलाई पत्र लेखेर सिंघानिया हत्याको मुद्दाको अनुसन्धानको शिलशिलामा ९८५४०२०९४७,९८५४०२००२५, ९८५४०२००१७, ९८५४०२५०१९  र ९८४४०९८९९६ नम्बरमा २५ फब्रुवरी २०१० देखि ५ मार्च २०१० सम्मको सिडिआर विवरण उपलब्ध गराईदिन व्यूरोका डिएसपी नरेश बहादुर मल्लद्वारा पत्राचार ।
२२ जेष्ठ २०७१ मै नेपाल टेलिकमका प्रवन्धक विजय कुमार ठाकुरद्वारा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महराजगञ्जलाई जवाफ पेश । तर माग गरिएका सिडिआर नेपाल टेलिकमको सिस्टममा जिएसएम पोस्ट पेडमा ८महिना र प्रिपेडमा ३ महिना मात्र सिस्टममा सिडिआर रह्ने हुँदा पत्रमा उल्लेखित अवधिको सिडिआर विवरण उपलब्ध गराउन नसकिने टेलिकमद्वारा केन्द्रिय अनुसन्धान व्यूरोलाई जानकारी ।
१६ अषाढ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निरंजन थापाद्वारा हिरोहोण्डा कम्पनीको रातो रंगको मोटरसाइकलबारे यस अधि नै विवरण माग गरिएकोमा हालसम्म विवरण प्राप्त नभएकोले अबिलम्ब विवरण पठाउने व्यवस्था जनकपुर यातायात व्यवस्था कार्यालयलाई पुनः पत्राचार ।
२७ अषाढ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निरंजन थापाद्वारा केन्द्रिय कारागार सुनधारा काठमाण्डौलाई सिंघानिया हत्याको अनुसन्धानको शिलशिलामा धनुषा जिल्ला अदालतको आदेशले कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहि पुर्पक्षको लागि थुनामा रहेका धनुषा यज्ञभुमि ५ का एकलाल भन्ने योगेन्द्र सहनीले कारागार कार्यालयमा रहेको टेलिफोनबाट को को व्यक्तिहरुलाई के कुन नम्बरमा सम्पर्क गरेको देखिन्छ भन्ने विवरण संकलन गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाईदिन पत्राचार ।
३ पुष २०७२ मा सिंघानिया हत्याको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बृज किशोर चौधरीको अध्यक्षतामा प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुर, प्रहरी सहायक निरीक्षक राम आषिश महत्तो, प्रहरी हवलदार रंजित पाण्डे, प्रहरी जवान सुरेश भण्डारी सहित ५ सदस्यीय अनुसन्धान टोली प्रहरी उपरीक्षक रामदत्त जोशीद्वारा पुनः अनुसन्धान टोली गठन ।
३ पुष २०७२ मा चनरदिप यादव, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैत, पवन लामा, मनक लामा र राम विनोद यादवलाई तदारुकताका साथ खोज तलास एवम पक्राउ गरी दाखिला गर्न जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा सम्बन्धित प्रहरी चौकीहरुलाई पत्राचार ।
१७ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक संतोष कुमार झाद्वारा धर्ती सिंह भनिने चनरदिप यादवलाई पक्राउ पुर्जी दिएको विवरण पेश ।
१७ चैत्र २०७२ मा चनरदिप यादवलाई शारिरीक जाँचका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना । अस्पतालका चिकित्सक डा. के.डि. दासद्वारा कुनै पनि चोट पटक तथा निलडाम नरहेको प्रतिवेदन पेश ।
१८ चैत्र २०७२ मा अनुसन्धानको शिलशिलामा केही सार्वजनिक अपराध कसुरको अनुसन्धानको शिलशिलामा गणेशमान चारनाथ ११ का रामकरण यादवलाई पक्राउ पुर्जी प्रदान ।
१९ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलको अध्यक्षतामा प्रहरी निरीक्षक बृज किशोर चौधरी, प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुर र प्रहरी हवलदार लालकाजी तामाङ सहित ४ सदस्यीय पुनः अनुसन्धान टोली गठन ।
२१ चैत्र २०७२ मा सिंघानिया हत्याको सन्दर्भमा पक्राउ परेका प्रतिवादी चनरदिप यादवले अधिकार प्राप्त अधिकारी समक्ष बयान गराउँदा  उक्त घटनामा संजय टकला भन्ने संजय साह, ओम प्रकाश यादव, एकलाल भन्ने योगेन्द्र सहनी र मुकेश चौधरी समेतको संलग्नता रहेको भनि बयान गरेको तथा निज प्रतिवादीहरु अदालतको आदेश पुर्पक्षको लागि कारागारमा थुनामा रहेको हुँदा निजहरुको बयान तथा ततिम्बा बयान प्रयोजनको लागि उपस्थित गराउन अनुमति प्रदानका लागि प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा धनुषा जिल्ला अदालतलाई पत्राचार ।
२२ चैत्र २०७२ मा संजय टकला भन्ने संजय साहलाई डिल्ली बजार कारागार कार्यालय काठमाण्डौ कारागार कार्यालय महोत्तरी जलेश्वरबाट ओम प्रकाश यादव र केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट मुकेश चौधरी र कारागार कार्यालय काठमाण्डौबाट एकलाल सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थिति गराईदिन कारागारहरुलाई पत्राचार ।
२२ चैत्र २०७२ मा संबन्धित कारागारहरुबाट सुरक्षाकर्मीको जिम्मा लगाई ती प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थिति ।
२३ चैत्र २०७२ मा ती प्रतिवादीसँग अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा धनुषा जिल्ला अदालतसँग अनुमति माग ।
२५ चैत्र २०७२ मा मोवाइल नम्बर ९८५१०९४१८३, ९८५४०२०२०७ र ९८५१०२८२१८ नम्बरको सिडिआर यूजर डिटेल्स र कल डिटेल्स फब्रुअरी २५ मार्च २०१० सम्मको विवरण उपलब्ध गराईदिन भन्दै अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरोलाई पत्राचार ।
२६ चैत्र २०७२ मा अनुसन्धान अधिकृत नकुल पोखरेलद्वारा अनुसन्धानको क्रममा केही कुरा बुझ्नुपर्ने हुनाले जनकपुर उपमहानगरपालिका वडा नम्बर २ मा २०६६ साल फागुन महिनामा संचालनमा रहेको सारस मनि चेन्जर र मिथिला मनि टून्सफर के कसको नाममा दर्ता रहेको, साथै दर्ता प्रक्रियाका लागि त्यहाँ कार्यालयहरुमा के कस्ता प्रक्रियाहरु अपनाईएको छ अबिलम्ब खुलाई पठाईदिन भन्दै आन्तरिक राजश्व कार्यालय जनकपुर, घरेलु तथा साना उद्योग र जनकपुर उद्योग बाणिज्य संघलाई पत्राचार ।
२६ चैत्र २०७२ मा सिंघानिया हत्याको सन्दर्भमा जनकपुर टुडे, सिमाञ्चल दैनिक र मिथिला डट कम पत्रिकाका समाचारहरुको संकलित कटिङ १० थान प्रहरी निरीक्षक बृज किशोर चौधरीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा पेश ।
२६ चैत्र २०७२ मा साक्षीहरु जनकपुर उपमहानगरपालिका १ बस्ने संदिप अग्रवाल र गौतम अग्रवाल काम विशेषले बाहिर गएको र दिपेन्द्र कुसियैत यादव, राम विनोद यादव, मनक लामा र पवन लामा लुकिछिपी बस्न सक्ने संभावित स्थानहरुमा समेतमा गई खोज तलास गर्दा फेला नपरेको भन्दै प्रहरी नायव निरीक्षक संतोष झाद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन पेश ।
२६ चैत्र २०७२ मा प्रतिवादीहरु संजय साह, ओम प्रकाश यादव, एकै गठमेल भएका व्यक्तिहरु रहेको पुष्टि भएको पत्रिका कटिङ रंगिन पोटोहरु र प्रतिवादी संजय साह र चनरदिप यादवको भिडियो रेकर्ड सिडी समेत संकलन गरी प्रहरी निरीक्षक वृज किशोर चौधरीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा पेश ।
२४ चैत्र २०७२ मा प्रहरी प्रधान कार्यालयद्वारा सिंघानिया हत्याको घटनामा संलग्न अभियूक्तहरुको पोलिग्राफ परीक्षणको लागि पोलिग्राफ शाखामा कार्यरत प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई खटाई पठाइएको भन्दै प्रहरी नायव उपरीक्षक अंगुर जिसीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार ।
२६ चैत्र २०७२ मा प्रतिवादी संजय कुमार साहको पोलिग्राफ परीक्षण ग री सो को रिपोर्ट समेत उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग गर्न अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई आदेश ।
२७ चैत्र २०७२ मा प्रतिवादी संजय कुमार साहको पोलिग्राफ परीक्षण कार्य सम्पन्न गरिसकेको हुँदा प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट फिर्ता रवाना गरी पठाइएको अनुसन्धान अधिकृत पोखरेलद्वारा प्रहरी प्रधान कार्यालयलाई पत्राचार ।
२८ चैत्र २०७२ मा संजय कुमार साह, चनरदिप यादव, मुकेश चौधरी, रामकरण यादव, ओम प्रकाश यादव, योगेन्द्र प्रसाद सहनी, अन्सी राइन, दिपेन्द्र कुमार कुसियैत यादव, राम विनोद यादव, पवन लामा र मनक लामा विरुद्ध राहुल सिंघानियाको जाहेरीले नेपाल सरकार बादी भई धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता ।
१४ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतमा प्रस्तुत अभियोग अन्तरगत थुनछेक मुद्दामा नयायाधीश डा. राजेन्द्र कुमार आचार्यद्वारा आदेश । चन्द्रदिप भनिने चनरदिप यादवलाई र एकलाल भन्ने योगेन्द्र सहनीलाई मुद्दा पुर्पक्षको लागि हाल थुनामा राख्ने आदेश । यसैगरी अर्जुन सिंह भनिने मुकेश चौधरीलाई २० रुपैयाँ नगद धरौटी, रामकरण लाई रुं ५० हजार नगद धरौटी, ओम प्रकाश यादवको हकमा रु. २ लाख  धरौटी तारेखमा राख्न आदेश । फरार रहेका अन्य प्रतिवादीहरु राम विनोद यादव, पवन लामा, मनक लामा, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैतको हकमा कानुन बमोजिम वारेन्ट सहितको पुर्जी जारी गर्न आदेश । प्रतिवादी अन्सी राइन हाल कारागार कार्यालय सिन्धुलीमा रहेको भन्ने देखिँदा निजलाई कारागारबाट झिकाई बयान तथा थुनछेकका लागि पेश गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेश । प्रतिवादी योगेन्द्र प्रसाद सहनीले आफुलाई करेन्ट लगाएको प्रतिवादी अर्जुन सिंह भन्ने मुकेश कुमार चौधरीले देब्रे हाथमा आगोले पोलिदिएको भनि भनेकाले निजहरुको घा जाँच केश फारम गराउन आदेश । मृतकको मुत्युको कारण मानिएको संजय साहसँग सम्बन्धित समाचार जनकपुर टुडेले प्रकाशन गरेको भन्ने प्रस्तुत मिसिलमा देखिँदा सो पत्रिकासँग समन्वय गरी तत्काल प्रकाशित समाचारहरुको शिलशिलेबारमा इलेक्टूोनिक प्रति तयार गरी गराई सो को प्रिन्ट प्रति सहितको छुट्टै फाईल तयार गरी पठाउन जिल्ला सरकारी वकिल कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई आदेश ।
प्रतिवादी संजय साहको हकमा ९ बैशाख २०७३ मा भएको आदेश अनुसार उनको स्वास्थ्य स्थिति विग्रदै गएपछि बयान गर्न असमर्थ भएकाले उपचार गर्न जनकपुर अञ्चल अस्पताल हुँदै काठमाण्डौ पठाइएकाले स्वास्थ्य स्थितिको परीक्षण प्रतिवेदन १५÷१५ दिनमा   पेश गर्नु भनि आदेश ।




२०७३ बैशाख २६ गते आईतबार

प्रधानमन्त्रीको प्रतिवद्धता पछि संजय साहले तोडे अनसन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रधानमन्त्री केपी शर्मा ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर चारका निलम्बित सांसद संजय साहले २१ बैशाखमा आमरण अनसन तोडेका छन् । गत मंगलबार प्रधानमन्त्री ओली र नेता साहबीच भएको टेलिफोन संवादमा प्रधामन्त्रीले साहमाथि लगाइएका मुद्दाहरुमा निश्पक्ष छानविन गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रधामन्त्री ओलीले टेलिफोन संवादमा भने ‘हामीले पछिल्लो समय तपाईका बारे धेरै कुराको जानकारी लिएका छौं । तपाईमाथि अन्याय भएको हाम्रो निश्कर्ष छ । निश्पक्ष छानविनबाट तपाईले न्याय पाउनु हुनेछ भन्ने मेरो प्रतिवद्धता छ ।’(प्रधामन्त्रीको भनाईलाई उदृत गर्दै कारागारमा रहेका निलम्बित सांसद साहका भाई राम कुमार साहले द एक्सक्लुसिभलाई बताएका छन् । नेता साहले सम्पूर्ण समर्थकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।
विगत एक महिनादेखि आमरण अनसनमा बसेका नेता साहलाई डिल्लीबजार कारागार मै पुगेर सरकारका तर्फबाट विज्ञान मन्त्री विश्वेन्द्र पासवान, प्रधामन्त्रीको प्रतिनिधिका रुपमा स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका नेता राप्रताप साहले अनसन तोडाएका थिए । मन्त्री पासवानले जुस खुवाएर अनसन तोडाएका थिए । नेता साहमाथि जनकपुर बंम काण्ड तथा व्यापारी अरुण सिंघानिया हत्याको आरोप रहेको छ । उक्त आरोपहरुमा आफुमाथि न्यायिक छानविन हुनु पर्ने माग राख्दै उनी विगत एक महिनादेखि आमरण अनसनमा बसेका थिए । संजय साहका भाई राम कुमार साहका अनुसार मुद्दा अदालतमा पुगिसकेका हुनाले अर्को न्यायिक छानविन समिति गठन गर्न नमिल्ने हुनाले संजय माथि लगाइएका अन्य मुद्दाहरु समेतको बारेमा एउटा बार्ता समिति बनाउन सकिने भनेर प्रधानमन्त्री ओलीले टेलिफोन संवादमा प्रतिवद्धता जनाउनुका साथै अनुसन्धानको मिसिलमा पोलिग्राफ परीक्षणको प्रतिवेदन राख्न लगाउनुका साथै संजयले माग गरेका अन्य टेस्टहरु पनि गराई उनी माथि कुनै पनि किसिमको अन्याय हुन नदिने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
संजयले २१ बैशाखमा दिनको ११ बजे अनशन तोडेपछि सोही दिन बेलुका ५ बजे तिर अनशनमा बसेकी संजयकी श्रीमति रंगिला देवी साहलाई धनुषाका सिडिओ दिलिप कुमार चापागाई र एसपी राम दत्त जोशीले अस्पतालबाट अनशन स्थल जनक चौकमा पुर्याएपछि अनशनरत जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले समेत आमरण अनशन तोडेका थिए । रंगिला देवी साहलाई प्रहरीले अपहरणको शैलीमा रंगिलाको इच्छा विपरीत अस्पतालमा लगेको विरोधमा हिराले रंगिला देवीलाई सम्मान पुर्वक अनशन स्थल जनक चौकमा फर्काउनुपर्ने भन्दै आमरण अनशनमा बसेका थिए । अर्को तर्फ आफ्नो श्रीमानको माग पुरा हुनुपर्ने भन्दै आमरण अनशनमा बसेकी रंगिला देवीले पनि अनशन तोडेकी थिइन ।



२०७३ बैशाख २६ गते आईतबार

फोहोरको थुप्रोमा सिंघानियाले यसरी बनाए स्वर्गद्धारस्वर्गद्धार बन्दैछ जनकपुरको सबैभन्दा अकर्षक स्थल

शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
हुन त जनकपुर प्राचीन मिथिलाको राजधानी हो । यस भूमिलाई पवित्र भूमिको  रुपमा मानिन्छ । तर जनकपुरलाई विकासको दृष्टिकोणले नियाल्दा यहाँको अवस्था भद्रगोल र लथालिंग छ ।
धार्मिक तथा ऐतिहासिक सम्पदासहरुकोसमेत राम्ररी संरक्षण एवं सम्बर्धन हुन सकेको छैन । धार्मिक तथा ऐतिहासिक सरोवरहरु सरसफाईको अभावमा प्रदुषित छन् । सामाजिक संघ संस्था एवं क्लबहरु धेरैको संख्यामा भए पनि जनकपुरको विकासको लागि खासै कसैले पनि चासो देखाएका छैनन् । चाडपर्व एवं पूजा प्रतिष्ठाको बेला चन्दा अशुली गरी टेन्ट पण्डाल लगाएर दुई दिने तामझाममा करोडौ उडाउने जनकपुरका क्लब एवं संघसंस्थाहरु  सरसफाईको मामलामा त्यति तदारुक्ता देखाएका छैनन् ।
विकास निर्माणको लागि आएको बजेटहरुको पनि सही सदुपयोग छैन । प्रायः कामहरु कागजमै हुन्छन् र बजेट भ्रष्ट कर्मचारी एवं राजनितीका प्रतिनिधीहरुको पेटमा जान्छन् । जनकपुरमा सबै खराब छन्  भन्न पनि सकिन्न र सबै राम्रा मात्रै छन् पनि भन्न सकिँदैन । यहिँका केहि व्यक्तिहरुले  केहि उदाहरणीय कार्यहरु गरेर यहाँका कथित समाजसेवी संस्था, व्यक्ति र भ्रष्ट सरकारी निकायकालाई खुल्ला चुनौती दिएका छन् । प्रश्न चिन्ह खडा गरेका छन् । जुन धरोहर निर्माणकर्ताहरुको आज चौतर्फी प्रसंसा छ ।
जकपुरका एक पूर्व व्यापारीले फोहोरको थुप्रोमा निर्माण गरेको स्वर्गद्धार एवं स्मशानघाट आज सबैको लागि अकार्षक स्थल बनेको छ । पर्यटकीय स्थलको रुपमा स्थापित हुँदै गएको छ । जुन स्वर्गद्धार जनकपुरका एक सम्पन्न मारबाडी परिवारका बुबा हरद्धारीलल सिंघानिया एवं माता जग्दम्बा देवीका माहिलो छोरा पवन सिंघानियाले निर्माण गरेका हुन् । जनकपुरको धार्मिक तथा एैतिहासिक सरोबर गंगासागरको दक्षिण छेउमा निर्माण गरिएको स्वर्गद्धार आज साँच्चै जनकपृुरबासीको लागि मात्र हैन बाहिरबाट आउने श्रद्धालु एवं पर्यटकहरुका लागि पनि साँच्चिकै स्वर्ग नै भएको अनुभूति हुन्छ । जनकपुरको जानकी मिन्दर , स्वर्गद्धार एवं स्मसानघाट , गांगासागर एवं महा गंगा आरती र रामानन्द प्रवेश्वद्धार जनकपुरको मुख्य अवलोकन स्थलहरु छन् । तर सबैभन्दा सफा एवं स्वच्छ एवं मनमोहक स्थलको रुपमा मानिसले स्वर्गद्धार एवं स्मसानघाटलाई नै मन पराउँछन् । 
जुन स्थल आज भन्दा  १४ वर्ष पूर्व जनकपुरको सबै भन्दा फोहर, दुर्गन्धित एव कुरुप स्थल थियो । जनकपुृुरका फोहर थुपार्ने एव मान्छेको दाहसंस्कार गर्ने स्मसान ठाउँ  । जहाँ राति त राति दिउँसो पनि मान्छेहरु जान डराउँथे । त्यो स्थलमा आज मानिसहरु शान्ति एवं आनन्द लिनको लागि घुमफिर र आराम गर्न जान्छन् । त्यहाँ पुगेपछि जस्ता सुकै व्यक्तिहरुको मन प्रफुल्ल हुन्छ । स्वर्गद्धारीको प्रांगण भित्रको भुतनाथको मन्दिर , फुलबारी बगैँचाको रंगीचंगी फुल एवं स्वच्छ एवं शान्त वातावरणको दृश्यले जो कोहिलाई पनि मनमहोहित तुल्याउँछ । त्यसैगरी स्वर्गद्धारको वालको भित्ताहरुमा महान विद्धानहरुको जीवनको विषयमा लेखिएका अति यथार्थ पंक्तिहरुले झनै आकर्षित बनाउँछ ।  
निर्माणकर्ता पवन सिंघानिया अहिले स्वर्गद्धारको कारण जनकपुरको एक ठुलै समाजसेवीको रुपमा चिनिन्छ । उनी १४ वर्ष अघि एक क्रिमनलको रुपम चिनिन्थे । त्यो स्थल जनकपुरको मान्छेहरुको मृत्यु हुँदा पहिला त्यही लगेर दाहसंस्कार गरिन्थ्यो । फोहर प्रदुषणको कारण पहिला सिंघानियालाई त्यहाँ जान पनि चित मान्दैन्थ्यो ।  एक दिन आफ्नै एक जना शुभचिन्तकको मृत्यु हुँदा बुबा विरामी भएकोले सिंघानिया स्वयम् पहिलो पटक स्मसानघाटमा मलामी गएका थिए । त्यहाँको दुरदशा हेरेर मनमा धेरै कुराहरु खेल्न थाल्यो । यस ठाउँलाई सुन्दर बनउनु पर्ने मनमा भावना जागृत भयो । मलामीहरु बीच यस विषयमा त्यही सिंघानियाले कुरा पनि चलाए । तर यो कुरा चलाउँदा अरुले हाँसो ठट्टामा कुरा उडाए । तर त्यहि दिन त्यँही स्थलको माटो लिई सिंघानियाले संकल्प गरे की आजदेखि यो व्यापार व्यावसायबाट शन्यास लिएर जसरी पनि  स्वर्गद्धार बनाएरै छाड्छु । त्यसै दिनदेखि सिंघानिया आफ्ना संकल्प पुरा गर्न र सहयोग जुटाउने पथमा लागिपरे । वास्तवमा ईच्छाशक्ति हुँदा यो संसारमा असम्भव भन्ने कुरा धेरै कम छ । स्वर्गद्धारलाई मुर्त रुप दिन फोहरको थुप्रोमा वि.स. २०५८ साल फागुन १७ गते आफ्ना प्रेरणाको श्रोत गुरु केशव प्रसाद उपाध्यायको हातबाट स्वर्गद्धार निर्माणको लागि शिलान्यास  गराए । सो अवसरमा केहि आफन्त एवं समाजका बुद्धिजिवीहरुकोसमेत उपस्थिति थियो । त्यति बेला पनि धरैलाई स्वर्गद्धार बन्छ भन्ने कुरा हावा एवं अपत्यारिलो गफ झैं लागेको थियो । एक व्यावसाय गर्ने मारबाडी त्यसमा पनि स्वर्गद्धार निर्माण गर्ने कुरालाई धेरैले ख्याल ठट्टामा उडाउँथ्यो र टिका टिप्पणी गर्दथे मानिसहरु । 
 तर अनेक बाधा अवरोध र चुनौतीलाई पार गरी समाजसेवी पवन सिंघानियाले स्वर्गद्धारीलाई मुर्त रुप दिन सफल भए । हालसम्म स्वर्गद्धार निर्माणमा विभिन्न संस्था, सरकारी निकाय एवं विभिन्न व्यक्तित्वहरुबाट १ करोड ७० लाख रुपैया सहयोग संकलन गरी खर्च भएको सिघानियाको भनाई छ । आफ्नो मिहिनतले चन्दासंकलन गरी त्यतिको रकम हालसम्म स्वर्गद्धार निर्माणमा खर्च भएको सिंघानियाले बताए । पुरा समाजको सहयोगमा नै स्वर्गद्धार निर्माण भएको सिंघानियाले बताए । माता जानकीको आर्शिवाद विना कुनै पनि शुभ कार्य सम्भव नहुने आस्था एवं विश्वाससहित सबैभन्दा पहिला जानकी मन्दिरको महन्थ रामतपेश्वर दास बैष्णवबाट एक लाख एक रुपैँया प्राप्त भएको सिंघानिया बताउँछन् । आफ्नो पिताबाट पनि सहयोग लिएको उनको भनाई छ । त्यसैगरी थाईलेण्ड एम्बेसीबाट सबैभन्दा बढी ३० लाखसहयोग प्राप्त भएको छ । नेपाली काँग्रेसकी नेतृ लिला कोईरालाको पहिलमा काँग्रेसका नेता तथा स्वर्गीय प्रधानमन्त्री  गिरीजा प्रसाद कोइरालाबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए । जनकपुर वृहत्तर क्षेत्र विकास परिषदबाट ६ लाख ५० हजार , जनकपुर उपमहानगरपालिकाबाट हालसम्म १ लाख र जिल्ला विकास समितिबाट ५० हजार सहयोग प्राप्त भएको, बाँकी अन्य सबै सहयोग जनकपुरका व्यापारी , बुद्धिजिवी, समाजसेवीसबैको सहयोग प्राप्त भएको सिंघानियाले बताउँछन् ।
अहिले मासिक स्वर्गद्धार व्यवस्थित गरेर सञ्चालन गर्न ५६ हजार रुपैँया लाग्ने गरेको सिंघानियाको भनाई छ । सरसफाई गर्ने स्वीपर , पुजारी , प्रसादी एवं अन्य मेन्टिनेन्स खर्च गरी जम्मा ५६ हजार मासिक खर्च हुने गरेको छ । त्यसको लागि व्यवस्थित गर्न १ सय ८ जना सहयोग गर्नेको एउटा समुह बनाएको र उनीहरुबाट ५ सयदेखि ११ सय सम्म मासिक निरन्तर सहयोग प्राप्त हुने गरेको सिंघानियाले बताए । उनीहरुबाट महिनाको जम्मा ८० हजार सम्म मासिक प्राप्त हुने गरेको छ । केहि जनाले मासिक , केहिले छ मासिक र केहिबाट बार्षिक एक मुस्ठ सहयोग प्राप्त हुन्छ, सिंघानिया बताउँछन् ।
स्वर्गद्धारको छेउमा सिंहानियाले बालबालिकाको शव व्यवस्थापनका लागि बाल शव व्यवस्थापन स्थलसमेत बनाउन शरु गरेका छन् । स्वर्गद्धारको पछडीमा बालबच्चाको शव गाड्दा कुकुर सुंगुरले उखेलेर खन्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न उनले स्वर्गद्धार पार्ट २ बनाउन लागेका हुन् । स्वर्गद्धारको पछडी खाल्डा खुल्डीमा माटो पुरेर त्यो काम पनि शुरु भईसकेको छ ।
सिंघानियाले जीवनमा अहिलेसम्म यति लगनशील र प्रेमले स्वर्गद्धार नै निर्माण गरेको बताउँछन् ।  एक न एक दिन सबैले मर्नु पर्ने र स्मशानघाटमै अन्त्येष्टि हुनु पर्ने भएकाले  स्वर्गद्धार एवं स्मसानघाट जीवनको एउटै मकसद भएको उनको भनाई छ ।  स्वर्गद्धार निर्माणको क्रममा समाजसेवी सिंघानियाले भोगेका दुःख , चुनौती, बाधा अवरोधहरुको भाव समेटेर सात वटा अति मार्मिक हिन्दी भाषाका कवितासमेत लेखेका छन् । निर्माणको क्रममा धेरै चुनौतहरु पनि झेल्नु परेको तर अहिले निर्माण हुँदा चुनौतीहरुले पनि आत्मबल मजवुत बनाएको कथन छ सिंघानियाको । अहिले आफ्नो चौतर्फी प्रंससा सुन्दा समाजसेवी सिंघानिया अत्यन्तै खुसी एवं हर्षित छन् । आज उनी जनकपुरबासीका लागि एक उदाहरणीय समाजसेवी एव प्रेरणाका श्रोत बनेका छन् । वास्तमा जति नै कठोर कार्य भएपनि यदि मान्छेमा ईच्छा, आत्मबल एवं ईमान्दारिता छ भने अवश्य पुरा हुन सक्छ भन्ने सिंहानियाको यो महान कार्यबाट पुष्टि हुन्छ ।


२०७३ बैशाख २६ गते आईतबार