Monday, July 20, 2015

मधेसीको अधिकारका लागि ‘मास’ को आन्दोलन


प्रारम्भिक मस्यौदा संविधान मधेस विपरित रहेको भन्दै
शंख बजाएर आन्दोलनको शंखघोष गर्दै मासका कार्यकर्ताहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

देशमा संविधानसभाबाट जारी गरिएको प्रारम्भिक संविधानको मस्यौदा मधेस विरोधी रहेको भन्दै जनकपुरका यूवाहरु मधेसीको अधिकारका लागि संगठित भई संघर्षका कार्यक्रमहरु गरेर चर्चाका विषय बनेका छन् । मधेस अधिकार संघर्ष समिति ‘मास’ नामक संगठन स्थापना गरी केही दिनमै चर्चित भएको छ । मासले अधिकार प्राप्ति नभइन्जेलसम्म आफ्नो संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने बताएको छ ।
२० अषाढमा जनकपुरको यात्री निवासमा भेला भएका यूवा, यूवा पत्रकार, यूवा बुद्धिजीवी, यूवा नागरिक समाज, यूवा व्यवसायीहरु संगठित भई प्रारम्भिक मस्यौदा संविधान विरुद्ध नागरिक आन्दोलन गर्न सरोज मिश्रको संयोजकत्वमा मधेस अधिकार संघर्ष समिति गठन गरेको हो । उक्त समितिको छोटो नाउँको रुपमा मास राखिएको छ । ज्योति झा, इद मोहम्मद साफी, शम्भुनाथ झा निर्दोषी, जितेन्द्र साह, उमेश मण्डल, मल्लिका ठाकुर, विनोद साह, अमित ठाकुर, सुजित झा, रिन्कु कुमारी, दिपेन्द्र साह,सलामत राइन, सुशिल कर्ण, पंकज महत्तो, प्रतिभा झा, जितेन्द्र सिंह, पुजन मौवार, नेहा झा, गयात्री मिश्र, हसन साफी, रोशन सिंह राणा, आस्था कर्ण, अशोक यादव, बलदेव साह, नविन साह गरी २५ सदस्यीय कार्य समिति रहेको छ । त्यसैगरी मासमा श्याम सुन्दर शशी, आतिश मिश्र, धिरेन्द्र बहादुर सिंह, राजेश कर्ण, कृष्णा सिंह, इन्द्र कुमार झा मधेसानन्द, सदाशिव मिश्र, संजय ठाकुर, सुमनकान्त ठाकुर र राजिव झा सहितको ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । मासमा  हुन त राजनीतिक व्यक्तिहरु समेत सहभागी रहेपनि अगुवाई भने स्वतन्त्र यूवाहरुको टिमलाई दिईएको छ । यति मात्र होइन मासमा मधेस आन्दोलनताका अगुवाई गर्ने मधेस जनआन्दोन परिचालन समितिका यूवाहरु पनि आवद्ध छन् । तर, तिनीहरुले अगुवाई गर्नुको साटो सल्लाहकार समितिमा बसेर सल्लाह दिने काम गरिरहेका छन् ।

प्रारम्भिक मस्यौदा संविधान मधेस विरोधी रहेको भन्दै
भौतिक योजना तथा निर्माण मन्त्रि विमलेन्द्र निधिका
भाउजुलाई ध्यानाकर्षण पत्र बुझाउँदै मासका कार्यकर्ताहरु ।
मास गठन भए लगत्तै जनकपुरको जनक चौकमा मासका यूवाहरुले शंख धुन बजाएर मधेस विरोधी मस्यौदाको आन्दोलनको शंख घोष भएको संकेत दिएका थिए । त्यसका अतिरिक्त मासले प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार र सभाध्यक्ष सुभाष नेम्वाङको पुतला जलाएर विरोध जनाएका थिए । त्यसैगरी प्रारम्भिक मस्यौदालाई लिएर जनकपुरका वुद्धिजिवी, पत्रकार, नागरिक समाज, राजनीतिक दलहरु समेतको अन्तरकृया गरेका थिए ।
संविधानको मस्यौदामा संघियताको विषय र नागरिकता सम्बन्धिको प्रवाधानको विषयलाई लिएर संघर्षरत रहेको मधेश अधिकार संघर्ष समितिले २९ अषाढमा घर(दैलो कार्यक्रम गरी मन्त्रीसहित आधा दर्जन भन्दा बढी सभासदहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष समितिले चरणबद्ध रुपमा गर्दै आएको पहिलो चरणको दबावमूलक कार्यक्रमअन्तर्गत आन्दोलनको अन्तिम कार्यक्रम घर दैलो कार्यक्रम राखेको थियो । त्यसै कार्यक्रमअनुसार संघर्ष समितिले मन्त्री र सभासदहरुको घर(घरमा पुगेर तत्काल संविधानसभा परित्याग गर्नका लागि आग्रह गरेका थिए ।


जनकपुर संघर्ष समितिको घोषित कार्यक्रम अन्तर्गतको घर दैलो आन्दोलन कार्यक्रम समितिका संयोजक सुशील कर्णको नेतृत्वमा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीको निजी गृह निवास पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्री निधीको परिवारजन मध्येका भाउजु किरण निधीले पत्र बुझ्दै सो पत्र सम्बन्धमा तत्काल जानकारी गराउने बताईन् । उनले मधेश र जनताको सही अधिकारको विपरित जानु उचित नभएकाले कुनै किसिमको गलत कार्य संविधानसभाबाट नहोस् भन्ने कुरा बारे मन्त्रीजीलाई सचेत गराउने उनले बताईन् ।

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य डा.विजयकुमार सिंहले ज्ञापन पत्र बुझ्दै आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका थिए । उनले आफूहरु पनि आन्दोलित भएकाले संविधानसभा परित्याग गर्नका लागि तयार रहेको बताए । त्यस्तै राष्टिूय मधेश समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा मनोनित सभासद धर्मेन्द्र साहको निवासमा उनका पिता राम अनुग्रह साहले ध्यानाकर्षण पत्र बुझे भने रामसपाकै सभासद दिनेश साहको निवासमा उनको भतिज दिपक साहले पत्र बुझेका थिए । यसैक्रममा नेकपा एमालेका समानुपातिक सभासद शीतल झा निवासमा नभएकाले डेरावालालाई ध्यानाकर्षण पत्र जिम्मा लगाएको संघर्ष समितिका संयोजक सरोज मिश्रले जानकारी दिए ।
सो ध्यानाकर्षण बुझाउने क्रममा संघर्ष समितिका संयोजक सरोज मिश्र, राजु साह, अमित ठाकुर, ज्योति झा, दिपेन्द्र साह, गायत्री मिश्र, नेहा झा, गुडु साह र रुपम मिश्रसहितका दुई दर्जन भन्दा बढी आन्दोलनकारीहरुको सहभागिता रहेको थियो । त्यस्तै सो समितिको घोषित चरणबद्ध आन्दोलनको पहिलो चरणअन्तर्गतको घर दैलो कार्यक्रममार्फत हरेक पार्टीका मधेशी सभासद र सत्ताधारी मन्त्रीहरुलाई आ(आफ्नो ठाउँबाट यस आन्दोलनलाई सहयोग, समर्थन र प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिताका लागि आव्हान गरिएको छ ।

त्यस्तै संघर्ष समितिका संयोजक सुशील कर्णद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा पहाडिया अहंकारवादी तथा यथास्थितिवादी सरकारका मन्त्री र सभासदहरुलाई पद परित्याग गर्नका लागि अपिल गरिएको छ । “मधेशीहरुलाई पुनः दोश्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्ने प्रयत्नहरु यसै संविधानसभाबाट जारी भएको मस्यौदाबाट भएको छ भन्दै नागरिकताबाट समेत वञ्चित गर्ने उद्देश्य पहाडिया अहांकरवादी सरकारबाट भइरहेको बताइएको छ । नेपाल(भारत बीच शदियौँदेखि रहँदै आएको परम्परागत रोटीबेटीको सम्बन्ध, सँस्कृति र सिमापारीका छोरीहरुसंग अभद्र व्यवहार तथा जन्मिएका बालबालिकालाई अनर्गल रुपमा दोश्रो र तेश्रो दर्जाको नागरिक बनाउन गम्भीर षड्यन्त्र भएको छ ।” ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाली राज्यसत्ताका विरुद्धमा मधेशी जनताका अधिकार र विगतमा विभिन्न आन्दोलनबाट प्राप्त भएको अधिकार तथा संघीयता, सिमांकन, नामांकन, नागरिकता, हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व आत्मनिर्णयको अधिकारसहितका संघीयताका लागि मधेश अधिकार संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनको माध्यमले अघि बढिरहेको कर्णद्वारा जारी पत्रमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा
प्रधानमन्त्री सुशिल कोइरालालाई कालो झण्डा देखाउँदै
मासका कार्यकर्ताहरु ।
जनकपुरको जानकी मन्दिरमा जानकीको दर्शन गर्न पुगेका प्रधानमन्त्री सुशिल कोइरालालाई मधेस अधिकार संघर्ष समितिले कालो झण्डा देखाएको छ । जनकपुरमा राम टावरको उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला कडा सुरक्षाको घेरामा पहिला जानकी मन्दिरको दर्शन गर्न गएका थिए, जानकी मन्दिरको दर्शन गरेर फर्कन लाग्दा मन्दिरको मूलद्वार नजिकै कालो झण्डा देखाउँदै मधेश संघर्ष समितिका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रमुख चार दलको सहमतिमा मधेश विरोधी संविधान ल्याउन लागेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका संघर्ष समितिले पूर्व घोषित कार्यक्रम अनुसार प्रधानमन्त्री कोइरालालाई बुधबार जनकपुरमा कालो झण्डा देखाएको हो । मधेश संघर्ष समितिका सदस्य संजय ठाकुर र सुशील कर्णको अगुवाईमा दर्जनौँ युवाहरुले कालो झण्डा प्रदर्शन गरेको हो । संघर्ष समितिको पूर्व निर्धारित कार्यक्रम तय भएको स्थानीय प्रहरी तथा प्रशासनले थाहा पाएलगत्तैदेखि जनकपुरको विमान स्थलदेखि क्याम्पस चोक, विद्यापतिचोक, रामचोक, जनकचोक, रामानन्दचोक र जानकीचोक तथा जानकी मन्दिरको वरिपरि अति नै कडा र अघोषित कर्फ्युझैँ सशस्त्र प्रहरी, जनपद तथा नेपाली सेनाको समेत अप्रत्यक्ष संलग्नतामा युवाहरुमाथि निगरानी बढाइएको थियो । कार्यक्रम स्थल वरिपरि अत्यन्तै कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

विगतदेखि नै मधेशसँग विभेद र असमान व्यवहार पहाडिया खस अंहकारवादी शासकले गर्दै आएको हुनाले चरणबद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिका संयोजक सरोज मिश्रले बताए । चार दलद्वारा जारी गरिएको संविधानको प्रारम्भिक मस्यौदामा मधेशप्रति विभेद गरेको, संघीयता, सीमांकन, नामांकन, नागरिकताको मुद्दा, मधेशको अधिकार, पहिचान, संघीयता सहितको आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक र समानताको लागि विगत केही महिनादेखि निरन्तररुपमा चरणबद्ध रुपमा आन्दोलित हुदँै आएका छन् ।




२०७२ श्रावण ०३ गते आईतबार