Tuesday, August 1, 2017

अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु बढ्दै पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीको उपचारको क्रममा मृत्यु

मृतक जितेन्द्र मण्डलका शोकाकुल परिवार ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीको कारण एक बालकको ज्यान गएको छ । मिथिला विहारी गाउँपालिका १० ठेरा बस्ने कैलाश मण्डलका १३ वर्षका छोरा राजा मण्डलको अस्पतालको लापरवाहीले ज्यान गएको हो । बालकलाई एक्कासी ज्वरो आएपछि ४ साउनमा विहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । त्यसपछि चेकजाँच गरि चिकित्सकहरुले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि साँझ ६ बजे पुनः जनकपुर अञ्चल अस्पतलकै अकास्मिक कक्षमा भर्ना गराएपछि केहि समय पश्चात वच्चा वार्डको बडेमा पठाएर उपचार शुरु गरिएको बुबा कैलास मण्डलको दावी छ ।
‘राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि ड्यूटीमा रहेका नर्स नैनतारा साह र कविता चौधरीलाई बुबा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार लगाउँदा उल्टै हप्काएर फर्काए ।’मृतक बालकका बुवाले भने,“ राति १२ बजे बालकको अवस्था अत्यन्तै चिन्ताजनक हुँदा ड्यूटीमा रहेकी नर्स नैनतारासा साह आफैले सुई लेखेर किनरे ल्याउन लगाई सुई लगाउनु भएको थियो । त्यस पश्चात बालकको अवस्था झनै चिन्ताजनक भएको थियो ।” मोवाईल चलाएर बसेका नर्सहरुलाई बुबा कैलाशले गुहार लगाउँदै ‘मेरो छोरालाई हेरि दिनुस् । नत्र मरि हाल्छन् ’ भन्दा डिउटीमा रहेका नर्सहरुले ‘ कच कच नगर्नु ,मैले तपाईको छोराको ठेक्का लिएको छैन ’ भन्दै जवाफ फर्काएका थिए । मृतक बालकका बुवा मण्डलका अनुसार अस्पतालमा कार्यरत नर्सहरु मोवाईल चलाएर बसेका थिए । वच्चा वार्डमा ड्यूटीमा रहेका डा.बैद्यनाथ ठाकुर ड्युटी छाडेर आफ्नो क्वाटरमा आराम गरिरहेका थिए ।

१३ बर्षिय छोरा जितेन्द्र मण्डलको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएपछि छोराको लाशलाई
 अंगालो मारेर रुदै सन्तोखिया देवी ।
छोराको मृत्यु पश्चात विछिप्त भएका बुबा कैलाशलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर कुटपीट गरि छाडेका थिए । प्रहरीले समातेर जिल्ला प्रहरीमा लगि गालीगलौज गर्दै झाप्डै झापडले हिर्काएको बुबा कैलाशले रुदै भने ‘ यो कहाँको न्याय हो ? एका तर्फ नर्सको लापरवाहीले मेरो छोरो मरेको छ, अर्को तर्फ प्रहरीले उल्टै मलाई समातेर लगि चोर बदमास र तथानाम गाली गर्दै झाप्डै झापड हिर्कायो । ’
बुबा कैलासले उचित क्षतिपुर्ति र दोषी चिकित्सक र प्रहरीलाई कारबाही लागि पहल गरि दिन सबैपक्षसंग गुहार गरेका छन् । छोराको मृत्यु पश्चात आमा सन्तोषिया देवी अचेत हुने गरेका छन् । तीन छोरी र एक मात्र छोरा सन्तानको रुपमा रहेकोमा छोराको मृत्यु भईसकेपछि अब आफुहरुको जीवन पनि अन्धकारमा परेको ती पीडित आमा बुवाले बताएका छन् । ड्यूटीमा भएका नर्स नैनतारा साहले अनकलमा रहेका डा.बैद्यनाथ ठाकुरसँग सोधेर नै बालकलाई इन्जेक्सन दिएपनि बालकको मृत्यु अस्पतालबाट लगेपछि भएको दावी गरिन् । आफुमाथि मृतक बालकका पिता कैलाशले लठ्ठी बजारेपछि प्रहरीलाई बोलाएको बताईन् ।
चिकित्सकको लापरवाहीका कारण एक बालकको ज्यान गएको खबर सुनेपछि ठेरा गाउँका मानिसहरु आएर अस्पताल परिसरमा दोषीलाई कारवाही गरिनुपर्ने तथा पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने लगायतका नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीको कार्यकक्षमा सुरक्षा निकाय, पीडित परिवार र अस्पतालका चिकित्सकहरु बोलाई छलफल गरिएको थियो । अस्पतालको तर्फबाट डा.नागेन्द्र यादव, डा.रामनरेश पंडित, डा.बैद्यनाथ ठाकुर, नर्स नैनतारा साह लगायत उपस्थित थिए । करिब २÷३ घण्टासम्म भएको उक्त छलफलबाट उक्त घटनाको छानविन गर्नका लागि अस्पताल विकास समितिका सदस्य रामप्रबोध महतोको संयोजकत्वमा ५ सदस्यीय अधिकार सम्पन्न छानविन समिति गठन गरियो । १५ दिन भित्र छानविन गरी प्रतिवेदन बुझाउने म्याद दिइएको हो । त्यसपछि मृतक अति विपन्न दलित समुदायका भएका कारण अस्पताल प्रशासनले मृतक बालकको क्रिया खर्चका लागि १० हजार रुपैयाँ उपलब्ध गराएपछि पीडित परिवारले शव बुझेर दाह संस्कार  गरेका थिए ।
बालक मृत्यु सन्दर्भमा अस्पतालको धारणा
मृतक जितेन्द्र मण्डलका पिता कैलाश मण्डल जसलाई
उल्टै प्रहरीले गिरफ्तार गरी कुटपिट गरेका थिए ।
यता जनकपुर अञ्चल अस्पताल प्रशासनले मृतक भएका बालक जितेन्द्र मण्डलको मृत्युमा अस्पताल प्रशासन जिम्मेवार नभएको दावी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरिक्षण यादवले ५ साउन २०७४ मा जारी गरेको प्रेस विज्ञप्तीमा जितेन्द्र मण्डलको उपचार भईरहेकै अवस्थामा मध्य रातको समयमा अस्पताल बाहिर लगि मृत्यु भएपछि फेरी अस्पतालमा ल्याएको हुँदा घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।
४ साउनमा मण्डललाई अस्पतालको ओपिडीमा जाँच गराउन ल्याएको, जाँच पछि घर फर्किसकेको बेला अबेर साँझ अचानक अवस्था गम्भीर भएपछि फेरी अञ्चल अस्पतालमा ल्याई इमरजेन्सी कक्षमा प्रारम्भिक उपचार पछि बच्चा वार्डमा भर्ना गरिएको थियो । बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएपछि अक्सिजन लगाउँदा बारम्बार अक्सिजनको पाईप निकालेर फालिदिने गर्न थालेपछि उपचार गर्न पनि अप्ठ्यारो भएको थियो भन्दै प्रमुख मेसु यादव भन्छन,“ राति करिब १२ बजेसम्म बच्चाको स्वास्थ्य खतरा मुक्त नै थियो । करिब १ बजे बालकलाई अस्पताल बाहिर लगेको र डेढ घण्टा पछि एम्बुलेन्सबाट पुनः अस्पतालको इमरजेन्सी कक्षमा ल्याएर राखिएको थियो ।”
इमरजेन्सी कक्षमा डा.केडी दासद्वारा जाँच पडताल गरी पहिले नै मृत्यु भईसकेको र कहाँबाट ल्याएको समेत सोधपुछ गर्दा मृतक बालकका बुवा कैलाश मण्डलले मृतक बच्चालाई त्यहीँ छाडी बच्चा वार्डमा पुगेर स्टाफ नर्स कविता चौरसियालाई लाठीले हानेपछि एक पटक हातले रोक्न सफल भईन भने अर्को पटक हानेपछि नर्सलाई हातमा चोट लागेको थियो, प्रमुख मेसु यादव भन्छन,“ अस्पताल भित्रै स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि सुरक्षामा खटिएका प्रहरीले कैलाश मण्डललाई नियन्त्रणमा लिएको थियो ।”
घटना २
अञ्चल अस्पतालको चिकित्सकको लापरवाहीका
कारण ज्यान जोगाएकी पुजा हमाल सिंह ।
१४ अषाढ २०७४ मा गर्भवती  महिला पूजा हमाल सिंह जनकपुर अञ्चल अस्पतालमा भर्ना भए । पेट दुखेपछि डेलिभरीका लागि पुजालाई उनका श्रीमान रोशन सिंहले अस्पतालमा भर्ना गराएका थिए । त्यस अघि अस्पतालमै कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक डा.विजय कुमार सिंहको निजी क्लिनिकमा पुजाको नियमित चेक जाँच गराउने गरिएको थियो । बच्चा जन्माउनका लागि पुजालाई अञ्चल अस्पतालमा भर्ना गराएपछि चिकित्सकहरुले विभिन्न चेक जाँच समेत गरे । चिकित्सकले जन्डिसको समेत चेक जाँच गराउन सुझाव दिएका थिए । १४ अषाढ दिनको २ बजे अस्पतालमा कार्यरत चिकित्सकहरुले त्यो रिपोर्ट नहेरिकन नै पुजाको अप्रेशन गरियो । अप्रेशन गरेर बच्चा सकुशल निकालिएपनि आमा पुजाको स्वास्थ्य अवस्था विग्रेको थियो । पुजाका श्रीमान रोशन सिंहका अनुसार चिकित्सकहरुले राति ८ बजे अप्रेशन गर्नुपर्छ, ४ पोका ओ पोजिटिव रगत व्यवस्थ ागर्न भनेका थिए । ‘ हामीले ४ पोका व्लडको व्यवस्था समेत नेपाल रेडक्रसमा गरिसकेका थियौं । राति ८ बजे अप्रेशन गरिन्छ भनेर भनिएको थियो । तर अचानक दिनको २ बजे नै अप्रेशन गरियो ।’ रोशन सिंह भन्छन,“ पुजाको अवस्था विग्रदै गएपछि आईसियू भेन्टिलेटर भएको बेटर प्लेसमा प्यासेन्टलाई रेफर गर्न चिकित्सकहरुले सल्लाह दिए ।” राति १ बजे एम्बुलेन्सले विरामीलाई काठमाण्डौको ओम अस्पतालमा भर्ना गराइयो । त्यसको दोस्रो दिनमै विरामीको शरिरको सबै अंगहरु निष्कृय भई अन्ततःमृत्यू भयो ।
जनकपुरमा चिया पसल संचालन गरी आफ्नो जिविकोपार्जन  गरिरहेका रोशन सिंह आर्थिक रुपले विपन्न छन् । काठमाण्डौमा उपचार गराउँदा ओम अस्पतालको दुई लाख जति विभिन्न ठाउँबाट कर्जा लिएर तिरेका थिए । तर औषधिको बाँकी रहेको ७० हजार रुपैयाँ तिर्न पैसा नभएपछि १८ घण्टा सम्म लाशलाई ओम अस्पतालले कब्जामा राख्यो, रोशन सिंह भन्छन,“ विदेशमा रहेको आफन्तबाट आईएमई मार्फत पैसा झिकाई बाँकी रहेको ७० हजार तिरेपछि लाश अस्पतालले दिएको थियो ।” अनि काठमाण्डौमै रोशनले आफ्नो मृतक पत्नीको दाहसंस्कार गरेका थिए । काठमाण्डौमा उपचार गराउँदाको अवस्थामा प्यासेन्टमा जन्डिस रोग पहिले देखि नै भएको अवस्थामा जनकपुरमा अप्रेशन कसरी गरियो, अप्रेशन नगर्नुपर्ने भनेर चिकित्सकहरुले बताएका थिए । रोशन सिंह भन्छन,“ जब मेरो श्रीमतिलाई जन्डिसको चेक जाँच गर्न जनकपुर अञ्चल अस्पतालमा चिकित्सकले भनेको थियो भने जन्डिसको रिपोर्ट नहेरिकन डाक्टरले अप्रेशन गर्यो । त्यसकारण मेरो श्रीमतिको ज्यान गयो ।”
माथिका दुई घटना उदाहरण मात्र हुन । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकहरुको लापरवाहीका कारण विभिन्न समयमा विरामीहरु मरेको भनेर स्थानीय संचार माध्यमहरुमा समाचार प्रकाशन हुन्छ । तर, अस्पताल प्रशासन र अस्पतालमा कार्यरत चिकित्सकलाई ती घटनाहरुले कुनै असर पर्दैन ।
अस्पतालमा कार्यरत चिकित्सकहरु आफ्नो ड्यूटीको समयमा पनि  निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासो पटक पटक सुन्ने गरिन्छ । यहाँसम्मकी जनकपुर अञ्चल अस्पतालका मेसु डा.रामपरिक्षण यादव समेत जनकपुर अञ्चल अस्पतालमा भन्दा आफुले अवैध रुपमा सञ्चालन गरेको कृष्णा नर्सिंगहोममा बढी समय दिने गरेको सर्वसाधारणहरुको गुनासो छ ।
पछिल्लो ४ बर्षमा जनकपुर अञ्चल अस्पतालमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममै मृत्यु भएको छ । अस्पतालको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९÷०७० मा १ सय ४२ जना, आर्थिक बर्ष २०७०÷०७१ मा १ सय १७ जना, आर्थिक बर्ष २०७१÷०७२ मा १ सय १३ जना  र आर्थिक बर्ष २०७२÷०७३ मा १ सय ३ जना गरी पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी प्रसुति गृहमा प्रसुति महिलाहरुले जन्म दिएका नवजात शिशुहरु मध्ये पछिल्लो ४बर्षमा २ सय ३८ जना नवजात शिशुहरुको अञ्चल अस्पतालमा मृत्यु भएको छ ।  आर्थिक बर्ष २०६९÷०७० मा ७५ जना, आर्थिक बर्ष २०७०÷०७१ मा ६६ जना, आर्थिक बर्ष २०७१÷०७२ मा ५० जना र आर्थिक बर्ष २०७२÷०७३ मा ४७ जना गरी पछिल्लो ४ बर्षमा २ सय ३८ जना नवजात शिशुहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी बच्चा जन्माउन गएका गर्भवती महिलाहरु मध्ये पछिल्लो ४ बर्षमा २८ जना आमाहरुको अञ्चल अस्पतालमा मृत्यु भएको छ । आर्थिक बर्ष २०६९÷०७० मा ११ जना, आर्थिक बर्ष २०७०÷०७१ मा ६ जना, आर्थिक बर्ष २०७१÷०७२ मा ६ जना र आर्थिक बर्ष २०७२÷०७३ मा ५ जना गरी पछिल्लो ४ बर्षमा २८ जना आमाहरुको उपचारको क्रममा मृत्यु भएको हो । यसरी हेर्ने हो भने अस्पतालकै तथ्याङ्कले पनि अञ्चल अस्पतालमा उपचारका लागि जाने विरामीहरुको मृत्यु हुनुले अस्पताल प्रशासन र अस्पतालमा कार्यरत चिकित्सकहरुको लापरवाही बढ्दै गएको प्रष्ट हुन्छ ।


२०७४ श्रावण ०८ गते आईतबार

यसरी भयो अञ्चल अस्पतालको स्थापना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विक्रम सम्बत १९९० तिर जनकपुरमा कपडाका पसलहरु सागरमल, हर्समल, वैद्यनाथको थियो भने प्रख्यात किराना पसलहरु राम एकवाल, विश्वनाथ प्रसाद, द्वोरीक चौधरी, देव सरण साहका रहेका थिए । गाँउघर र यहाँका मान्छेहरु आईतबार र बुधबार लाग्ने रामजानकी हाट (पेठिया बजार) र यहाँ रहेका किराना, कपडाका पसलहरु बाट आफूलाई चाहिने आवश्यक सामग्री किन्ने गर्दथे । औषधि उपचार गर्नुपर्दा तत्कालिन समयमा रहेका आयुर्वेदिक बैद्यहरु जगतानन्द मिश्र, जगदेव उपाध्याय, महाविर कुर्मी, सरकारी वैद्य असर्फी झाबाट र ऐलोपैथिक तर्फ ज्ञानेन्द्र रंजन (खोका बाबु) बंगालीबाट गराउँदथे । औषधीहरु लादुरामका पसल र  २००५ साल तिर खुलेका विश्वनाथ प्रसाद साह बटुक गौतम साझा पसलबाट खरिद गरी स्वास्थय उपचार गराउँदथे ।
यस्तै अवस्थामा २००९ सालतिर डा. जयबल्लभ दास आफ्ना पिता (स्व.मुक्तिनाथ) लाई तिर्थ गराउने उद्देश्यका साथ पवित्र पुण्य भूमि हिन्दूहरुको धार्मिक तिर्थस्थल जनकपुरधाममा प्रवेश गरे । उनको जनकपुर आगमन भन्दा पूर्व उनका साथी डा. तुलसी गिरीले आफ्नो गाउँमा प्रयाक्टिस गर्न आग्रह गर्दा बाटो अप्ठयारो भएकाले अस्विकार गरेका थिए । डा. गिरीले पूनः जनकपुर चलो भनेर आग्रह गरे । तर उनको जनकपुर आउने उद्देश्य थिएन ।  जीवनमा आफ्ना आमा (निरन्जनी देवी) को सेवा गर्ने मौका नपाएका डा. दास आफनो बुवाको सेवा गर्न बाट बञ्चित हुन चाहँदैन्थे । आफ्ना बुवाका लगि केही गरौं भन्ने भावनाबाट पे्ररित भएका डा. दास जनकपुुरधाम ठूलो धार्मिक तिर्थस्थल भएको र डा. गिरीले समेत बोलाएकाले यहाँ आईपुगे । त्यसताका जनकपुरमा चिकित्सकहरुको निकै अभाव थियो । उनी यहाँ आउँदै डिठ्ठा गौरी नारायण गिरी सँग पेशागत सम्बन्ध गाँसिन गयो । बुढा कम्पाउण्डर मुकुटधारी सँग मकेश्वर सिंहको पहिले देखि नै घनिष्टता रहेका कारण डा. दासको सम्बन्ध पनि उनी सँग स्थापित हुन पुग्यो । डा. दाससँग सम्बन्ध गाँसिन पुगेका डिठ्ठा गिरी, तुलसी गिरी लगायतका अन्य व्यक्तिहरुद्वारा अस्पताल खोल्न सरस्वती हाई स्कुलमा भेलाको आयोजना गरियो । सो भेलाले धर्मशालाको पश्चिम र दक्षिण पट्टिको कुनामा जानकी अस्पताल संचालन गर्न निर्णय गर्याे । डा. दासले चिकित्सा सेवा निःशुल्क प्रदान गर्ने सो भेलामा घोषणा गरे । केही सामग्री राखेर अस्पताल प्रारम्भ भयो । तर मानिसहरुले उपचारका लागि रुची नलिएका कारण अस्पताल चल्न सकेन । बन्द भयो ।
अस्पताल स्थापनाका लागि अनशन
सोही बेला तुल्सी मेहर, भद्रा घले, पदमा कार्की लगायतका व्यक्तिहरुको सम्बन्ध रहेका बसहियाका गाँधी आश्रमबाट चिकित्सा सेवा दिन डा. दासलाई आग्रह भयो । आग्रह अनुसार उनले सप्ताहमा एक दिन सो आश्रममा सेवा दिन थाले । यो सेवा तिन चार वर्ष सम्म उनले त्यहाँ प्रदान गरे । एक दिन अचानक जानकी मन्दिरका महन्थ नवल किसोर दासका गुरु भाई रामनाथ अघोरी डा.दासकहाँ पुगेर सिधै उनलाई भेटी ‘हम अस्पताल खडा करेंगे, ईसमे तुमको सहयोग करना होगा’ भनेर हिंडे । सहयोग करना होगा भनेर हिँडेका अघोरी सिधै जानकी मन्दिरमा पुगी अनशन शुरु गरिदिए । अनशन गरेकै दिन अघोरीले दासलाई एउटा पत्र पठाए । सो पत्रमा उनले ‘मै अस्पताल स्थापना हेतु अनशन कर रहा हँु तुम इसको प्रचार करो’ भनेर लेखेका थिए । तर डा. दासले अनशनको दोस्रो दिन नै यहाँका नेता एवं भद्र भलादमीहरुको जानकी मन्दिरको प्राङ्गणमा भेलाको आयोजना गरे । भेलाले जनकपुरधाममा अस्पताल खोल्ने निर्णय ग¥यो । डा.दासले अस्पताल खोल्न महन्थ नवल किसोर दासको आँपको बगैँचामा राखेको प्रस्तावलाई भेलाले सर्वस्वीकृति प्रदान गर्याे । महन्थ नवल किसोरले एक विगहा आँपको बगैंचा अस्पताल स्थापनाका लागि प्रदान गरे । अनशनमा बसेका रामनाथ अघोरीले पनि अनशन तोडे ।
जानकी अस्पताल प्रारम्भ
अस्पताल भवन स्थापनाका लागि डा. दास, गंगाधार दत्त, देवनन्दन झा लगायतका व्यक्तिहरु मिलेर यहाँका समाजबाट बाँस, लकडी, खर आदी संकलन गरेर सो आँपको बगैंचामा फुसको घर निर्माण गराए । निर्माण गरिएको यहि फुसको घरमा वि.सं. २०११ सालको विवाह पञ्चमी देखि जानकी अस्पतालको नाउँबाट चिकित्सा सेवा प्रदान हुन थाल्यो । इन्डोर(बहिरंग विभाग) प्रथमतः संचालन भयो । विहान ७ बजे देखि ९ बजे सम्म डा. दासले सेवा दिन थाले । सहयोगका लागि बसहिया गाँधी आश्रमबाट भद्रघले, पदमा कार्की लाई समेत अस्पतालमा डा. दासले ल्याए । कम्पाउण्डर टूना दासलाई पनि सहयोगको लागि बोलाए । आक्समिक सेवा पनि प्रारम्भ यो । यहाँ आला, ब्लड प्रेशरका एक्युमेन्ट डे«सिङ सम्बन्धिका औजारहरुबाट उपचार गरिन्थ्यो । साना तिना अप्रेशन पनि हुन्थ्यो । सामान्य विरामीहरुको उपचार गरिन्थ्यो । विशेष चिकित्सा सेवा प्रदान गर्नु पर्ने विरामीलाई विशेषज्ञ कहाँ उपचारका लागि रेफर गरिन्थ्यो । प्रायः जसो रेफर गरिएका विरामीहरु भारतको दरभंगा, सितामढी उपचार गराउन जान्थे ।
अस्पताल संचालनका लागि विभिन्न ठाउँबाट सहयोग
अस्पताल संचालनका लागि दूई देखि दूइ सय पचास रुपैयाँ सम्म मासिक खर्च लाग्दथ्यो । अस्पताल स्थापना भएको पहिलो महिनाको खर्च डा. दासले स्वयम् व्यहोरे । दोस्रो महिनाको खर्च जनकपुरका प्रख्यात व्यापारी विश्वनाथ प्रसाद साहले प्रदान गरे । तेस्रो महिना गएर अस्पतालको सहयोगको लागि व्यवस्थापन समिति गठन भयो । उक्त व्यवस्थापन समितिका अधयक्षमा डिठ्ठा गौरी नारायण गिरी र सचिवमा सरोज कोईराला रहेका थिए । आर्थिक संकलनमा महेन्द्र नारायण नीधि, रुद्र प्रसाद गिरी, मकेश्वर सिंह लगायतका व्यक्तिहरुले सहयोग गरेका थिए । यही समितिको सहयोगबाट अस्पताल संचालन हुन थाल्यो । प्रत्येक साल राम नवमी र विवाह पंचमीको मेलामा जनकपुरमा थिएटर आउँथ्यो । थिएटर सँग एक शो च्यारेटी गराएर अस्पतालको लागि सहयोग संकलन गरिन्थ्यो । यहाँको समाजको सहयोगबाट संचालित यस जानकी अस्पतालले वि.सं. २०१७ सालमा गएर सरकारी अस्पताल सरह सहयोग (ग्रान्ट) पाउन थाल्यो । अस्पतालको सहयोगको लागि जनकपुर चुरोट कारखानाका प्रत्येक कामदारसँग भारतीय २ पैसा र वन विभागबाट प्रत्येक घर संघा पूर्जी माथि २५ पैसा असूल गरिन्थ्यो । यसरी अस्पताल संचालन हुन थाल्यो । वि.स. २०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले संसदीय व्यवस्थाको हत्या गरेपछि अस्पतालका अधिकांश सहयोगी राजनीतिकर्मीहरु निर्वासित भए । तर सहयोगी रामपदारथ मिश्र जनकपुरमै बसे । उनले अस्पताललाई त्यस समय धेरै सहयोग पु¥याएका थिए । रामचन्द्र साह र फुलगेन साहले दुईवटा पक्की भवन निर्माण गरिदिए । निर्माण भएको भवनको उदघाटन सूर्य बहादुुर थापा सँग गराईएको थियो । उदघाटन पश्चात सो भवनमा अन्तरंग विभाग संचालन हुन थाल्यो ।
श्री ५ सरकारलाई अस्पताल हस्तान्तरण
२०१८ सालमा राजा महेन्द्रको जनकपुर सवारी भएको थियो । सोही समयमा रामनाथ अघोरीले अस्पतालका विषयलाई लिएर राजासँग भेट गरे । डा. दासले पनि अस्पतालको विकासका लागि राजा महेन्द्रसँग आएका उनका साथी तुलसी गिरी मार्फत विन्ति पत्र पेश गरे । केही दिन पछि अस्पतालका लागि रु. पचास हजार निकासा भएर आएको थियो । सो रकम बाट अंन्तरग भवनको विचमा अर्को भवन निर्माण गरियो । वि.सं. २०२१ सालमा गएर मात्र सरकारका तर्फबाट पहिलो सरकारी चिकित्सक डा. विमल कुमार घोस यस अस्पतालमा आए । वि.सं २०२३ सालमा गएर यस जानकी अस्पताललाई श्री ५ को सरकारलाई हस्तान्तरण गरियो । हस्तान्तरण गर्दा अस्पतालको तर्फबाट डा. जयबल्लभ दासले र सरकारको तर्फबाट तत्कालिन डाईरेक्टर दिनेशानन्द बैद्यले हस्ताक्षर गरेका थिए । जनकपुरको आउँदो भविष्यलाई देखेका डा.दासको जलेश्वरमा रहेको अंचल अस्पताललाई जनकपुरमा ल्याउने चाहना थियो । सोही अनुसार उनले प्रयास पनि गरे । त्यस बेला जलेश्वर अस्पतालको लागि एक्स–रे प्लान ल्याइएको थियो । तर डा. दासले सम्बन्धित व्यक्तिहरुको चित्त बुझाएर यहींको अस्पतालमा एक्सरे जडान गर्न लगाएका थिए । जनकपुरमा अस्पताल स्थापनाका लागि महत्वपूर्ण योगदान निर्वाह गरेका डा. दासले श्री ५ को सरकार लाई अस्पताल हस्तान्तरण गरेपश्चात पनि अवैतनीक २०२६ साल सम्म सेवा प्रदान गर्दै रहे ।
अस्पतालमा चिकित्सा सेवाबाट डा.दासको अवकास
अस्पतालको स्थापनाकाल देखि चिकित्सा सेवा अवैतनिक निस्वार्थ रुपमा सेवा प्रदान गरेका डा. दासले २०२६ सालमा अस्पतालबाट अवकास लिए । उनी अस्पतालबाट अवकास हुने बेलाको एउटा रोचक प्रसँग छ । सो बेला श्री ५ को सरकारका डाईरेक्टर यज्ञनाथ अस्पतालका निरक्षण गर्न भनेर आएका थिए । डाईरेक्टर यज्ञनाथलाई होटलमा डा. दास भेट्न गए । भेट्न होटलमा डा. दास पुग्दा यज्ञनाथले उनलाई उभेर सम्मान प्रदान गरे । डा. दास बसेपछि मात्र उनी बसेका थिए । बसे पछि कुराकानीको शिलशिलामा डाईरेक्टर यज्ञनाथले अस्पतालमा नोकरीको लागि प्रस्ताव गर्दा उनले ठाढै अस्विकार गरिदिए । डाईरेक्टरले किन ? भनेर सोध्दा उनले भने, “म जब तपाईनिर आएँ तपाई उभिनु भयो । यसको कुनै आवश्यकता थिएन । तपाईलाई उभिनु कुनै बाध्यता पनि थिएन तर तपाई उभिनु भयो । जब तलब लिएर मैले नोकरी गरें भने म अस्पतालको नोकर बन्न जान्छु तब सबैले मलाई हेर्ने दृष्टिकोण बदलिने छ । यो संस्थालाई मैले नै जन्माएको छु । मेरैद्वारा पालनपोषण गरिएको छ । यस अवस्थामा नोकरी गर्न सक्दिनँ ।” सोही कुरा उनले लेखेर पनि पठाए ।  र, अस्पतालको चिकित्सा सेवाबाट उनले अवकास लिए ।
यसरी स्वास्थ र शिक्षा क्षेत्रमा चिन्तित रहने डा. दास जीवनका अमुल्य समय यस धर्तिको पवित्र सेवामा लगाएर सन् ६ जनवरी २००१ मा आफ्ना शरिरलाई परित्याग गर्दै अविश्मरणिय योगदान यस समाजमा छाडेर सदाका लागि यस संसारबाट विदा लिए ।




२०७४ श्रावण ०८ गते आईतबार

अञ्चल अस्पतालको भद्रगोल ‘डेन्टल विभाग’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
६ अषाढ २०७४ मा जनकपुरका २५ बर्षिय आशिष साहलाई दाँतमा समस्या भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगे । ओपिडीमा अस्पतालका चिकित्सक डा.अजय साहले केही औषधि लेखे । पछाडीका पाँचौ र छैठौं दाँतमा आरसिटी गर्नुपर्छ भनेर प्रेस्क्राईब पनि गरे । डा.साहले विरामी साहलाई दाँतलाई निकाल्ने वा दाँतलाई बचाउने भन्ने दुईवटा विकल्प सुझाए । दाँत जोगाउने भनेर विरामी साहले जवाफ दिए । पछाडी दाँतको आरसिटी उपचार यहाँ हुँदैन, अगाडीको दाँतको उपचार मात्र हुन्छ त्यसकारण बाहिर कतै निजी क्लिनिक वा अस्पतालमा जान भनेर डा.साहले सुझाव दिए ।
त्यसपछि ८ अषाढ २०७४ मा जनकपुर डेन्टल केयर सेन्टर प्रा.लि.मा गएर डा.कपिलदेव यादवसँग उनले उपचार गराए । आरसिटी गरियो । जम्मा खर्च १२ हजार उनले प्राईभेट क्लिनिकमा बुझाउनु पर्यो । यदि त्यो उपचार सरकारी अस्पतालको रुपमा अञ्चल अस्पतालमा भएको भए २ हजार देखि बढीमा ४ हजार रुपैयाँ सम्म खर्च लाग्थ्यो । तर, चिकित्सक भएपनि उक्त सेवा अञ्चल अस्पतालले नदिएपछि बाहिर महँगो उपचार गर्न विरामीहरु बाध्य छन् ।
दाँतको समस्या लिएर आउने विरामीलाई झुलाउने गरिएको छ । उदाहरणको लागि दाँतमा सामान्य किरा लागेको विरामी अञ्चल अस्पतालमा पुग्दा ४÷५ दिनको लागि औषधि लेखेर पठाईन्छ । त्यसपछि फेरी आउँदा एक्सरे गर्न भनिन्छ । एक्सरे गरेको भोली पल्ट दाँत उखेल्ने कि बचाउने भनेर विकल्प दिने गरिन्छ । यदि अगाडीको दाँतमा आरसिटी गर्ने परिस्थिति छ भने आरसिटी गरिदिन्छन् । यदि जडा देखि नै काम नलाग्ने दाँत भएपछि २÷३ किसिमको जाँच लेखेर अर्को दिन रिपोर्ट सहित आएपछि दाँत निकाल्ने निष्कर्षमा चिकित्सक पुग्छन् । तेस्रो दिनमा गएर मात्र दाँत जडा देखि निकाल्ने काम गर्छन । यति समय यस कारण लगाईन्छ कि विरामी दिक्क भएर बाहिर निजी क्लिनिकमा उपचार गरोस् ।
यदि पछाडीको दाँतको आरसिटीको केश छ भने यहाँ हुँदैन बाहिर कुनै क्लिनिकमा जान भन्छन । उपचारको क्रममा कोही डाक्टर नभएको अवस्थामा आफ्नै क्लिनिकमा आउन भन्छन् । र, निजी क्लिनिकमा त्यही डाक्टरले पछाडीको दाँतमा आरसिटी पनि गर्छन् । जबकी अञ्चल अस्पतालमा त्यही डाक्टरले त्यो सेवा प्रदान गर्दैन ।
जनकपुर अञ्चल अस्पतालको डेन्टल डिपार्टमेन्टमा पाँच जना चिकित्सकहरु कार्यरत छन् । डेन्टल सर्जनको रुपमा १८÷२० बर्ष देखि कार्यरत सबैभन्दा पुरानो चिकित्सक डा.शशिकुमार ठाकुर, अस्पताल विकास समितिको तर्फबाट ज्यालादारीमा डेन्टल सर्जन डा.कुन्दन मिश्रा, भोलन्टियरको रुपमा डेन्टल सर्जन डा.अजय कुमार साह कार्यरत छन् । डा.निमु यादव अनधिकृत रुपमा कार्यरत छन् । स्वास्थ्य मन्त्रालयबाट ३ बर्ष अघि करारमा नियूक्त भएका डा. यादवको करार गत पुष २०७३ मा सकियो । तत्कालिन मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको कार्यकालमा उनको करार अवधि मन्त्रालयले थप  गरेन । भोलन्टियरको रुपमा पनि उनलाई राखिएन । तर, अहिले अस्पतालका बहालबाला मेसु डा.रामपरिक्षण यादवले उनलाई विना कुनै नियूक्तिको कागजात अनधिकृत रुपमा खटाएका छन् । विभाग प्रमुख डा.शशि ठाकुर भन्छन्,“ मेसु डाक्टर यादवले डाक्टर निमु यादवलाई काम गरा उभनेर मौखिक आदेश दिएकोले काम गराएको हो । निर्वाचन आचार संहिता लागु रहेका कारण नियूक्ति पत्र दिइएको छैन ।” नवौं तहमा कार्यरत डा.निशा महतोलाई मन्त्रालयले करारमा नियूक्त गरेको थियो । यस अघिको मेसु मिश्रले बरिष्ठताको आधारमा उनलाई विभाग प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरेको थियो । तर, ५ अषाढ देखि मेसु यादवले उनलाई उक्त जिम्मेवारीबाट मुक्त गरी कनिष्ठ डा.शशि ठाकुरलाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरे ।
अञ्चल अस्पतालमा दन्त परीक्षण, दाँत निकाल्ने, दाँत अस्थायी र स्थायी रुपमा भर्ने, दाँत सफ ागर्ने, अगाडीको दाँतमा आरसिटी(दाँत जडादेखि भर्ने) काम भईरहेको छ । तर, पछाडीको दाँतमा आरसिटी सेवा उपलब्ध गराइएको छैन । अस्पतालमा अधिकांश विरामीहरु पछाडीको दाँतमा आरसिटी गराउन आउँछन् । जबकी उक्त सेवा दिनका लागि त्यहाँ कार्यरत डा.निशा महतो विशेषज्ञ नै हुन । तर पनि त्यो सेवा सुरु भएको छैन । जबकी उक्त काम त्यहाँ कार्यरत चिकित्सकहरुले बाहिर आफ्नो निजी क्लिनिक र अस्पतालमा गरिरहेका छन् ।
आरसिटी सम्मको काम विडिएस गरेका चिकित्सकले गर्नुपर्ने काम हो । तर, गर्नुपर्ने काम नगरी दाँतको एक्सरे गर्ने काम चिकित्सकले अञ्चल अस्पतालमा गरिरहेका छन् । डा.कुन्दन मिश्राले त्यो काम गरिरहेका छन् । जबकी उक्त काम एक्सरे टेक्निसियनले गर्नुपर्ने हो । मेजर सर्जरीका लागि नवौ तहका चिकित्सक त्यहाँ छैन ।
जनकपुर अञ्चल अस्पतालमा पान पराग तथा सुर्ती जन्य पदार्थहरु निषेध गरिएको छ । त्यस्तो गरेको पाइएमा ५ सय ५१ रुपैयाँ जरिवाना समेत तोकिएको छ । तर, डेन्टल विभागको विभाग प्रमुख डा.शशि ठाकुर आफै पान पराग र गुटखा खाँदै विरामीहरुलाई उपचार गरिरहेको पाइन्छ । दाँतको उपचार गर्ने चिकित्सकले नै सुर्ती जन्य पदार्थ सेवन गरी उपचार गर्दा विरामीलाई अप्ठयारो समेत महसुस हुने गरेको भएपनि डा.ठाकुरलाई कुनै असर परेको छैन । उपकरणको रुपमा त्यहाँ एउटा मात्र डेन्टल चेयर छ । अर्को डेन्टल चेयर भाँचिएको छ । त्यसलाई मरम्मत गराइएको छैन । जबकी एउटा निजी क्लिनिकमा समेत डाक्टरहरुले दुईवटा डेन्टल चेयर राख्ने गरेका हुन्छन् ।


२०७४ श्रावण ०८ गते आईतबार

अञ्चल अस्पतालको इमरजेन्सी कक्ष आफै ‘इमरजेन्सी अवस्थामा’ ४ बर्षमा १४ सय विरामी इमरजेन्सीबाट बाहिर रेफर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि त्यस अस्पतालको वार्डमा सारिन्छन, वा निको भएर घर फर्किन्छन, वा अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षको दुरावस्था प्रष्ट गर्छ ।
इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले जनकपुर अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ, विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर, सोर्स, पैरवी र पहुँच पु¥यायो भने मात्र ।
यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति । उक्त कर्मचारी भन्छन,“कतिपय अवस्थामा यहाँ निको हुने संभावना रहन्छ तर, विरामी पार्टीले नै रेफर मागी रहेका हुन्छन् भने कतिपय हामीबाट नसम्हलिने अवस्थाका पनि हुन्छन् । अनि हामी पनि जोखिम उठाउन चाहँदैनौं र रेफर गरिदिन्छौं ।”
हुन त इमरजेन्सी भवन आफै इमरजेन्सी ग्रस्त छ । अस्तव्यस्त छ । १८ देखि २० वटासम्म बेड राखिएको छ । तर, ती बेडहरुमा बेड सिट भने हुँदैनन् । स्रोत साधनको कुरा गर्ने हो भने कर्मचारी र चिकित्सकलाई बस्नका लागि पर्याप्त कुर्सी समेत उपलब्ध हुँदैनन् भने विरामी र कुरुवाका लागि हुने सुविधा त परै जाओस् । आवश्यक चिकित्सकको संख्यामा पनि कमि छ । त्यसैगरी चिकित्सकले विरामी जाँच्ने उपकरण स्टेथोस्कोप (आलां) र विपी जाँच्ने मेसिन बाहेक इमरजेन्सी कक्षमा अन्य सामग्रीहरु उपलब्ध छैनन् । ती उपकरणहरु पनि कहिले कांही विग्रेकै हुन्छन् । नयाँ सामान किनेर दिँदा पनि गुणस्तर हिन भएका कारण लामो समय टिक्दैनन् । किनभने कमसल उपकरण र सामग्री खरीद गर्दा आपुर्तिकर्ताहरुबाट प्रशासनिक निकायका मान्छेले मोटो रकम कमिशन वापत पाउने गर्छन् ।
अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर तर्साउने गर्छन् ।  तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई भ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् । जनकपुर अञ्चल अस्पताल विकास समितिका पुर्व अध्यक्ष कामेश्वर झा भन्छन,“अस्पतालका कर्मचारीले कमिशनको लागि विरामी पठाउन दलालीको काम गरिरहेको विगतमा प्रमाण फेला पारेर कतिपय दलालहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत जिम्मा लगाईयो । तरपनि त्यहाँ दलाली रोकिएको छैन ।”
जनकपुर अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ४ बर्षमा कुल १ लाख १ हजार २ सय ४१ जना विरामीहरु आकस्मिक कक्षमा भर्ना भएका छन् । आर्थिक बर्ष २०६९÷०७० मा २४ हजार ७ सय ८६ जना, आर्थिक बर्ष २०७०÷०७१ मा २५ हजार १ सय २ जना, आर्थिक बर्ष २०७१÷०७२ मा २६ हजार २ सय जना  र आर्थिक बर्ष २०७२÷०७३ मा २५ हजार १ सय ५३ जना गरी पछिल्लो ४ बर्षमा १ लाख १ हजार २ सय ४१ जना विरामीहरु भर्ना भएका छन् । जसमध्ये पछिल्लो ४ बर्षमा कुल ६ हजार ९ सय ९ जना बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट रेफर भएर अञ्चल अस्पतालमा आएका छन् भने जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षबाट पछिल्लो ४ बर्षमा कुल १ हजार ३ सय ५६ जना विरामीहरुलाई बाहिर बेटर सेन्टरमा रेफर गरिएको छ ।
आईसियू संचालनमा नभएका कारण बाहिर रेफर
जनकपुर अञ्चल अस्पतालमा पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो ४ बर्षमा १ हजार ३ सय ५६ जना विरामीहरुलाई बाहिरको अस्पतालमा रेफर गरिएको छ । त्यसको धेरै कारणहरु मध्ये एउटा मुख्य कारण के पनि हो भने अञ्चल अस्पतालमा आईसियू सेवा संचालनमा नआउनु पनि हो । आर्थिक बर्ष २०७२÷०७३ को महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ‘आईसियू सेवा संचालनका लागि रु.२० लाख ८५ हजार खर्च लेखेतापनि आईसियू सेवा संचालन गरेको देखिएन । आईसियू सेवा संचालन गरी ती उपकरण प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन भईनसकेकाले संचालन हुन नसकेको पाइयो ।’
अचम्म के छ भने अञ्चल अस्पतालमा आईसियू संचालनका लागि करिब ३ बर्ष अघि नै भेन्टिलेटर सहित महँगा उपकरणहरु खरिद गरेर ल्याईयो । केही चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विकास समितिको तर्फबाट करारमा नियूक्ति पनि गरियो । डा.बलराम मिश्र मेसु रहेको कार्यकालमा डा.नितु झा, डा.निरज ठाकुर, डा.सुस्मिता झा लगायत ४ जना मेडिकल अधिकृतहरुलाई करारमा नियूक्त पनि गरियो । तर, पनि आईसियू सेवा संचालनमा आउन सकेन । करारमा भर्ना भएका मेडिकल अधिकृतहरु मध्ये कोही थप अध्ययनका लागि त कोही लोक सेवा आयोग मार्फत अन्य ठाउँमा पदस्थापन भए । अहिले ती दरबन्दी खाली रहेका कारण आईसियू सेवा संचालनमा आउन सकेको छैन । अञ्चल अस्पतालका पुर्व मेसु डा.गौराङ्ग मिश्रले विकास समितिको तर्फबाट आईसियू संचालन गर्नका लागि ५ जना मेडिकल अधिकृत, ९ जना स्टाफ नर्स, ४ जना पारामेडिक्स, ४ जना स्वीपर र १ जना कम्प्यूटर अप्रेटर गरी कुल २३ वटा कर्मचारीहरुको दरबन्दी मध्ये ५ जना मेडिकल अधिकृत र ९ जना स्टाफ नर्सका लागि आवेदन फारम भर्न लगाई अन्तरवार्ता समेत लिईसकेका छन् । ११ पुष २०७३ मा स्वास्थ्य मन्त्रालयको राज्य मन्त्री स्तरीय निर्णय गरि अस्पतालमा विकास समिति अध्यक्ष मनोनयन नभएसम्म भर्ना नगर्नु भनेर निर्णय गरेपछि ती चिकित्सकहरुको नियूक्ति गर्न सकिएको थिएन । तर, अहिले जनकपुर अञ्चल अस्पतालमा अस्पतालका पुर्व मेसु डा.बलराम मिश्र विकास समितिको अध्यक्षका रुपमा मनोनयन भईसकेका छन् । अस्पतालका प्रमुख मेसु डा.रामपरिक्षण यादव भन्छन,“ विगतमा आह्वान गरिएको नियूक्ति प्रक्रिया गैरकानुनी थियो । ३० दिने सुचना हुनुपर्नेमा १५ दिने सूचना जारी गरिएको थियो, कस्तो किसिमको नियूक्ति हुने भन्ने कुरा पनि प्रष्ट थिएन । र, निर्वाचन आचार संहिता लागु भएकै अवधिमा अन्तरवार्ता लिइएको थियो । जसलाई लोक सेवा आयोगले समेत असहमति जनाउने थियो ।” यस अघिका पुर्व मेसु डा.गौराङ्ग मिश्रले आईसियू संचालनका लागि लिएको अन्तरवार्ता गैरकानुनी ढंगले गरेका कारण निर्णयार्थका लागि स्वास्थ्य मन्त्रालयमा पठाईसकिएको भन्दै मेसु यादव भन्छन,“ त्यो निर्णय बदर हुन्छ । रद्द हुन्छ । अब आगामी  ३ महिना भित्र नयाँ प्रक्रिया अपनाएर आईसियूका लागि आवश्यक दरबन्दीको पदपुर्ती गरी आईसियू सेवा संचालनमा ल्याईने छ ।”

२०७४ श्रावण ०८ गते आईतबार

चिकित्सकहरुले ड्यूटि नगर्दा प्राथमिक उपचार केन्द्रमा सिमित ‘जनकपुर अञ्चल अस्पताल’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 नेपाल सरकारको स्वामित्वमा संचालित जनकपुर अञ्चल अस्पताल आफै बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । तराई मधेसका विभिन्न जिल्लाका साथसाथै भारत विहारबाट समेत उपचारका लागि आउने विरामीहरुको लागि एक मात्र सरकारी अञ्चल अस्पताल सम्बन्धित निकायहरु नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन एवं डाक्टरहरुको हेलचक्रयाँईले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उठ्दै गएको छ र निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु फस्टाउँदै गएका छन् । लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका क्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्र राष्ट्र भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं निकट्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन् । तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष, विशेषज्ञ चिकित्सकहरुबाट पाउनुपर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् ।

रिक्त दरबन्दीका कारण पनि समस्या
जनकपुर अञ्चल अस्पतालमा सुधारको माग गर्दै यूवाहरुद्वारा प्रदर्शन ।
एक सय नेपाल सरकार र एक सय विकास समितिको तर्फबाट गरी कुल बेड संख्या २ सय रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ । नेपाल सरकारको तर्फबाट कुल १ सय ३८ जना दरबन्दी कायम रहेकोमा ७४ दरबन्दी पुर्ती भएपनि ६२ जनाको दरबन्दी रिक्त रहेको छ । ८ जना प्रमुख कन्सलटेन्ट चिकित्सक, १० जना कन्सलटेन्ट चिकित्सक, ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, १५ जना स्टाफ नर्स, ३ जना सिस्टर र १९ जना प्रशासनका कर्मचारीहरुको गरी कुल ६२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको दरबन्दी विगत लामो समय देखि रिक्त रहँदै आएको छ । त्यसैगरी अञ्चल अस्पतालको विकास समितिको तर्फबाट कुल १ सय ५२ जना दरबन्दी मध्ये १ सय २५ दबरन्दी पुर्ती गरिएको भएपनि २७ दरबन्दी हालसम्म रिक्त रहेका छन् । विकास समितिको तर्फबाट ९ जना स्टाफ नर्स, १ जना सिस्टर, ३४ जना अहेव, ७ जना प्राविधिक, ५ जना प्रशासन लगायतको दरबन्दीहरु रिक्त रहेको छ ।

एकातर्फ अञ्चल अस्पतालका लागि हुनुपर्ने विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरुको दरबन्दी पुर्ति हुन सकेको छैन भने अर्को तर्फ पुर्ती भएका चिकित्सकहरु पनि अस्पतालमा समय दिँदैनन् । नेपालको संविधानको भाग ३, मौलिक हक सम्बन्धि धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने बुँदा उल्लेख गरिएको छ । जनताको मौलिक अधिकारको रुपमा रहेको उक्त कुरालाई जनताले व्यवहारमा प्राप्त गर्न सकेका छैनन् । पछिल्लो समयमा पुष्प कमल दाहाल नेतृत्वको सरकारले सरकारी अस्पतालका सम्पुर्ण चिकित्सकहरु विहान ९ बजे देखि बेलुका ५ बजेसम्म कार्यकक्षमै बसेर सेवा प्रदान गर्न निर्णय गरेको थियो । तर, त्यो निर्णय जनकपुर अञ्चल अस्पतालमा लागु हुन सकेको छैन ।अञ्चल अस्पतालका अधिकांश डाक्टरहरु प्रायः बिदामा बस्छन र आआफ्ना निजी क्लिनिक र नर्सिङ्ग होम चलाउँछन् । अञ्चल अस्पताल प्रशासनले बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म अस्पतालमा सेवा दिनुपर्ने प्रावधान राखेपनि चिकित्सकहरु आएर हाजिरी गर्ने, २ घण्टा जति ओपिडीमा बस्ने र त्यसपछि दिनभरी अस्पताल अगाडी रहेका आ–आफ्ना क्लिनिकमा रोगीहरुको उपचार गर्नमा व्यस्त रहने गरेका छन् । चिकित्सक तथा कर्मचारीहरुको तलब भत्तामा मात्रै अञ्चल अस्पतालले बार्षिक ८६ लाख रुपैयाँ खर्च गर्ने गरेको छ ।

चिकित्सक देखि कर्मचारीलाई क्वार्टर सुविधा
जनकपुरका चिकित्सकहरुलाई उपलब्ध गराइएको क्वार्टर ।
जनकपुर अञ्चल अस्पतालमा आवश्यक परेको बेला कुनै पनि समयमा चिकित्सकलाई उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले अस्पताल प्रशासनले चिकित्सक देखि कर्मचारीहरुसम्मलाई आवास सुविधा उपलब्ध गराएको छ । तर पनि ती चिकित्सकहरु उपलब्ध हुन सकिरहेको हुँदैनन् । डा.जामुन सिंह, डा.विजय कुमार सिंह, डा.मनिष पाण्डे, डा.अवधेश कान्त झा, डा.नागेन्द्र प्रसाद यादव, डा.रुपेश यादव, डा.अशोक साह, डा.रामदेव चौधरी, डा.रामविनय चौधरी, डा.सदिक रेजा लगायतका चिकित्सकहरुले अस्पतालबाट क्वार्टर सुविधा प्राप्त गरेका छन् । तर, ती चिकित्सकहरु तलब र आवास सुविधा अञ्चल अस्पतालबाट प्राप्त गरेपनि अञ्चल अस्पतालमा अत्यन्तै कम समय दिने र बाहिर क्लिनिक तथा निजी अस्पतालहरुमा बढी समय दिने गरेका छन् । यहाँसम्म कि तिनीहरु अनकल ड्यूटिमा रहेको अवस्थामा नर्सहरुले राति कल गर्दा पनि नआउने गरेका छन् । त्यसैगरी ३२ जना नर्सिङ्ग स्टाफ र केही प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले समेत क्वार्टर सुविधा उपभोग गरिरहेका छन् ।
कार्यालय सहयोगीको रवाफ
अञ्चल अस्पतालमा सबैभन्दा वढी संख्या कार्यालय सहायकको छ । नेपाल सरकारको तर्फबाट ३६ जना कार्यालय सहायकको दरबन्दी स्वीकृत गरिएकोमा २८ जना पदपुर्ति रहेको र विकास समिति तर्फ २८ मा २८ जनाको पदपुर्ति गरी कुल ५६ जना कार्यालय सहयोगीहरु कार्यरत छन् । तर, तिनीहरुपनि अस्पतालमा कमै देखिन्छन्् । अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको निजी घर र भान्सामा गर्ने गरेका छन् । कतिपय मेस्तरहरु यहाँका राजनीतिक दलका केही पार्टी अध्यक्षको घरमा शौचालय सफा गर्छन् र तलब भने अञ्चल अस्पतालबाट खाने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टे«चरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम आवश्यक पर्दा कार्यालय सहयोगीहरु प्रायः जसो वार्डमा देखिँदैनन् । यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरिरहेको अवस्थामा देखिन्छन् । विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न । बाहिरका मानिसहरु तथा सरसफाई अभियन्ताहरुले अञ्चल अस्पतालमा गएर सरसफाई गरिरहनु परेको छ ।

पोशाक र परिचय पत्र विना काम गर्छन चिकित्सक
जनकपुर अञ्चल अस्पतालको प्रसुति गृह ।
चिकित्सकहरु पोशाकमा देखिँदैनन् । परिचय पनि खुल्न सकिरहेको हुँदैन । विरामीलाई ओपिडीमा कुन चिकित्सकले जाँच गर्यो, औषधि लेख्यो भन्ने कुराको यकिन गर्न सकिन्न । किनभने विरामीको पुर्जामा चिकित्सकको नाम र हस्ताक्षर रहँदैन । के देखिएको छ भने विहान प्रारम्भिक समयमा ओपिडीमा चिकित्सकले जाँच गरेपनि विभिन्न प्याथोलोजीका टेस्टहरु गराएर आईसकेपछि रिपोर्ट अनुसार औषधि लेखाउनका लागि विरामीहरु चिकित्सकको क्लिनिक खोजेर जानु परेको प्रवृति फस्टाएको छ । यस अघिका मेसु डा.रामशंकर ठाकुर २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउँथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे । चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउँथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए । 
अस्पताल भ्रमणमा कहिले काँही स्वास्थ्य मन्त्री तथा अन्य मन्त्रालयका कर्मचारीहरु आउँदा अस्पताल चिटिक्क पारिन्छ । बेडहरुमा बेडसिट पनि दिइन्छ । तर तिनीहरु अवलोकन गरेर गएपछि फेरी पुर्ववत अवस्थामा अस्पताल फर्किने गरेको छ । कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने  अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ । अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ । त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने, त्यस्तो काम गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ । तर, मेडिकल सुप्रिटेन्डेन्ट आफै वाहिर क्लिनिक र नर्सिङग होममा व्यस्त हुने भएपछि अरुलाई रोक्न मेसुलाई पनि नैतिकबल कहाँबाट आउँछ ?  त्यसकारण कसैलाई पनि कारवाही हुँदैन । नेपाल सरकारको दरबन्दी अनुसारका दक्ष डाक्टर एवं जनशक्तीको अभावबाट पाउनु पर्ने सेवा पाउन नसकि रोगिहरु कराइरहेका छन् । रोईरहेका छन् । सुन्ने कोही छैन । सबैले मौन ब्रत लिएर बसेका छन् । गरिब, असहाय रोगीहरु जाउन त कहाँ ? हुनेखानेहरु नसिङ्ग होम, भारतको दरभंगा, पटना, दिल्ली, बेंग्लौर, धरान, काठमाण्डौं कहाँ–कहाँ पुग्छन कुनै निश्चित ठाउँ नै छैन । नहुनेहरुको एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु छ जनकपुर अञ्चल अस्पताल । हुने खानेहरुको लागि प्राथमिक उपचारको थलो, नहुनेहरुको लागि मृत्युको अन्तिम थलो बन्न पुगेको छ यो अस्पताल ।
जुन जोगी आएपनि कानै चिरेको
अहिलेसम्ममा जनकपुर अञ्चल अस्पतालमा मेडिकल सुप्रिटेन्डेन्टको रुपमा डा.जयबल्लभ दास, डा.रामबहादुर सिंह, डा.पिताम्बर झा, डा.हुक्मदेव साह, डा.रामनन्दन सिन्हा, डा.इश्वरी प्रधान, डा. पुण्य बहादुर थापा, डा.केशव बहादुर सिंह कार्की, डा.महेन्द्र केशरी क्षेत्री, डा.लक्ष्मी राज पाठक, डा. तारानन्द झा, डा.वृजनारायण चौधरी, डा.विजय कुमार सिंह, डा.लखनलाल साह, डा.हुक्मदेव साह, डा.लखनलाल साह, डा.पवन कुमार ठाकुर, डा.मुकेश कुमार चौरसिया, डा.सतिश चन्द्र चौधरी, डा.गौराङ्ग मिश्र, डा.रामशंकर ठाकुर, डा.बलराम मिश्र, डा.संजय कुमार ठाकुर, डा.प्रमोद कुमार यादव, डा.गौराङ्क मिश्र र डा.रामपरिक्षण यादव गरी २५ जना आईसकेका छन् । कोई कोई दोहोरिएका पनि छन् । त्यसैगरी विकास समिति तर्फ  लिला कोइराला, रत्नेश्वर लाल गोइत, पाण्डव राज घिमिरे, दामोदर प्रसाद उपाध्याय, प्रमोद गोयङ्का, प्रकाश चन्द्र साह, गंगा राम यादव, पल्टु यादव, चन्देश्वर पुर्वे, कुमरकान्त झा, कामेश्वर झा, डा.नागेन्द्र प्रसाद यादव र डा.बलराम मिश्र गरी १३ जना अध्यक्ष भईसकेका छन् । तर, जुन जोगी आएपनि कानै चिरेको भनेझैं अञ्चल अस्पतालमा सुधारका लागि अधिकांशले प्रयास गरेको देखिँदैन । प्रायःजसोले अस्पतालमा आआफ्ना मान्छेहरु कुनै न कुनै रुपमा कर्मचारीको रुपमा भर्ती गर्ने केन्द्र बनाएको देखिन्छ । यद्यपि कोई कोईले भने केही राम्रा कामहरु पनि गरेर गएका छन् । जनकपुर अञ्चल अस्पतालका पुर्व मेसु डा.संजय कुमार ठाकुर भन्छन,“यहाँ प्रायःजसोले आआफ्नो मान्छेहरुलाई भर्ती गरेका छन् । एउटा सामान्य कार्यालय सहयोगी वा स्वीपरलाई एउटा वार्डबाट अर्को वार्डमा सरुवा गर्दा सबै पार्टीका नेताहरुका साथसाथै अस्पतालमा कार्यरत डाक्टरहरुले समेत सरुवा नगर्न दवाव दिने गर्छन् ।” कतिपय नियूक्ति गैरकानुनी ढंगले गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यदि विगतमा गरिएका कर्मचारीका नियूक्तिहरुको छानविन गर्ने हो भने ती अवैधकर्मचारीलाई खुवाएको तलब मेसुहरुबाट असुल उपर गर्नुपर्ने अवस्था सम्म आउन सक्छ भन्दै पुर्व मेसु डा. संजय ठाकुर भन्छन,“ अस्पतालमा भित्र र बाहिर गिरोहहरु सक्रिय छन् । ती गिरोहहरुका कारण कसैले पनि अस्पताललाई सुधार्न सकिरहेका छैनन् ।”
नेपाल सरकारको दरबन्दी अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्लान, औषधीको अभाव नहोला, लाइफ सेभिंग ड्रग्स सहुलियत दरमा अस्पतालले बित्तरण गर्ला, इसिजी, अल्टूासाउण्ड तथा एक्सरे लगायत अन्य सेवाहरु नियमित सञ्चालन होलान, प्रत्येक बेडमा बेड पैन, बेड सिट, बेड साइट लकर, कुरुवालाई बस्ने स्टुल, स्लाइन स्टैन्ड, प्रत्येक कोठामा अक्सीजन सिलिन्डर, बिद्युतको अभावमा चौबिसै घण्टा जेनरेटर सञ्चालनको ब्यवस्था, रोगिहरुको खानाको लागि क्यान्टीनको ब्यबस्था, सर सफाई, पार्किङ्ग, खानेपानी, कुरुवा घर लगायत यावत कुरामा विकास भई यस अस्पतालले यस क्षेत्रका गरिब असहाय जनतालाई सेवा प्रदान गर्ला भन्ने पलाएको आशा हालसम्म पुरा हुन सकेको छ्रैन ।
 अस्पताल प्रशासनले भएको योग्य सक्षम जनशक्तिलाई किनारा लगाँउदै अयोग्य र जुनियरहरुलाई विभिन्न विभाग प्रमुख बनाई अस्पतालाई चुहावटको स्थल बनाउन सक्षम भएको छ । संवेदनशिल रहेको अस्पताल भित्रको विगतकाल देखि राजनीतिको अखाड़ा बन्न पुगेको स्थललाई विकास समितिका अध्यक्षले त्याँहाको वातावरण सुधार गर्न पुर्णतः अक्षम सावित भएका छन् । नागरिक समाज, राजनितिक दल, संघ संस्था लगायत यस क्षेत्रका सम्पूर्ण नागरिकको अस्पताल सुर्धान पट्टि आ–आफ्नो दायित्व हुँदा हुदै पनि ब्यक्तिगत स्वार्थमा रुमल्लिनु बाहेक केहि गर्न सकेका छैनन् । 

अस्पतालमा यादवकरण
१६ चैत्र २०७३ मा डा.रामपरिक्षण यादव प्रमुख मेडिकल सुप्रिटेन्डेन्टको रुपमा जनकपुर अञ्चल अस्पतालमा कार्यभार सम्हालेका थिए । उनी आएपछि अस्पतालका विभिन्न विभागहरु तथा फाँटहरुको प्रमुखमा यादव थर भएका कर्मचारीहरुलाई नै खोजी खोजी जिम्मेवारी दिएका छन् । अस्पतालको इमरजेन्सीको इन्चार्जका रुपमा शंकर यादव, ओपिडी इन्चार्जका रुपमा बेचन यादव(जसको दरबन्दी विर अस्पताल काठमाण्डौमा रहेपनि विगत १० बर्ष देखि जनकपुर अञ्चल अस्पतालमा काजमा कार्यरत रहेको), एक्सरे फाँटको इन्चार्जको रुपमा विजय यादव, नर्सिङ्ग फाँटको प्रमुखको रुपमा रञ्जु यादव, स्टोर फाँटको प्रमुखको रुपमा प्रदिप यादव, बच्चा वार्डको प्रमुखको रुपमा डा.नागेन्द्र यादव, सरसफाई फाँटको प्रमुखको रुपमा श्याम यादव, छाला रोग प्रमुखको रुपमा डा.रामध्यान यादव लगायत विभिन्न फाँटहरुमा खोजी खोजी यादव थर भएका कर्मचारीहरुलाई जिम्मेवारी दिएको अस्पतालका कार्यरत अन्य थरका कर्मचारीहरुको गुनासो रहेको छ । मेसुको रुपमा अहिले डा.यादव आएपछि आफ्नै समुदाय, निकट र विश्वासपात्रहरुलाई खोजेर विभाग प्रमुखहरुको जिम्मेवारी दिने काम भने नौलो होईन । यस अघिका मेसुहरुले पनि आआफ्नै जाति, समुदाय र निकटका व्यक्तिहरुलाई विभाग प्रमुखको जिम्मेवारी दिने प्रचलन नै बनेको छ ।

सिनियरलाई किनारा लगाउँदै जुनियरलाई विभाग प्रमुख

 सर्जरी डिपार्टमेन्टमा नवौं तहका कर्मचारीलाई विभाग प्रमुख नदिई फिजिसियन डा.रविन्द्र सिंहलाई प्रमुख मेसु यादवले जिम्मेवारी दिएका छन् । त्यसैगरी रेडियोलोजीमा नवौं तहका डा.शम्भुकुमार साहलाई विभाग प्रमुखको जिम्मेवारी नदिई कनिष्ठ आठौं तहका डा.जितेन्द्र मण्डललाई जिम्मेवारी दिएका छन् । बच्चा वार्डमा डा.जामुन सिंह नबांै तहका कर्मचारी हुन । तर मेडिकल अधिकृत डा.नागेन्द्र यादवलाई विभाग प्रमुख बनाइएको छ । मेडिसिन विभागमा डा.मनिष पाण्डे दशौं तहका कर्मचारी हुन तर विभाग प्रमुखको रुपमा नबौं तहका डा.कुलदिप पंडितलाई जिम्मेवारी दिईएको छ । यसरी बरिष्ठलाई विभाग प्रमुख नबनाई कनिष्ठलाई विभाग प्रमुखको जिम्मेवारी दिएका कारण पनि बरिष्ठ चिकित्सकहरु अस्पतालमा समय दिँदैनन् ।



२०७४ श्रावण ०८ गते आईतबार

जागिर अञ्चल अस्पतालमा, काम निजी प्याथोलोजीमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 जनकपुर अञ्चल अस्पतालका प्याथोलोजी विभागका कर्मचारीहरूले निजी प्याथोलोजिहरुमा काम गरेको फेला परेको छ । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु झैं जागिर अस्पतालमा भएपनि काम निजी प्याथोलोजीमा उनीहरुले काम गर्छन् । अस्पतालमै काम गर्ने समय अवधिमा उनीहरुले बाहिर काम गर्ने गरेका छन् ।

अञ्चल अस्पतालको प्याथोलोजी विभागका इन्चार्ज मेडिकल ल्याव टेक्नोलोजिष्ट अरुण कुमार मल्लिक, राम विनय साह, रामसुफल यादव, राम उदगार यादव र युगल यादव ल्याव टेक्नोलोजिष्टको रुपमा निजी प्याथोलोजीहरूमा काम गर्छन् । त्यसैगरी मनमोहन मिश्र, अजित तिवारी र दुई जना भोलन्टियर सुन्दरकुमारी र रामउदगारलाई ल्याव असिस्टेन्टको रुपमा नियुक्त गरिएको भएपनि उनीहरुले समेत बाहिर काम गर्छन् । ती कर्मचारीहरुको काम विहान ८ बजे देखि २ बजेसम्म कार्यकाल निर्धारण गरिएको छ ।

बेलुका र रातिको सिफ्टका लागि गुनानन्द साह, सन्तोष ठाकुर, रामउदय यादव, राजिशरण ठाकुर लगायतका ल्याव टेक्निसियनहरु कार्यरत छन् । तर, अञ्चल अस्पतालको प्याथोलोजिमा काम गर्ने ती कर्मचारीहरुको तलब अञ्चल अस्पतालबाट लिने गरेको भएपनि काम भने बाहिरको निजी प्याथोलोजिहरुमा गर्ने गरेका छन् ।

विभाग प्रमुख नै हाजिर गरेर टाप हुने हुँदा अन्य कर्मचारीहरुले बाहिर काम गर्नु स्वभाविक रहेको प्याथोलोजी विभागकै एक कर्मचारीले बताए । ‘सबै सिनियर कर्मचारीहरू विहान आएर हाजिर गर्छन् र टाप कँस्छन्,’ उनले भने, ‘कलेक्सन गरिएको स्याम्पल भोलन्टियर भई काम गर्ने जुनियरहरुले परिक्षण गर्छन् । र, रिपोर्टमा हस्ताक्षर पनि ती जुनियरहरुकै हुन्छ । जुन गैरकानूनी हो ।’

विभाग प्रमुख मल्लिकको ‘मल्लिक प्याथोलोजि’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निशियन ओम यादवको ‘ओम प्याथोलोजि’, राम सुफल यादवको ‘पवन प्याथोलोजि’, सन्तोष ठाकुरको मेडिकल एउटा प्याथोलोजि, गुनानन्द साहको पेठिया रोडमा एउटा निजी प्याथोलोजी सञ्चालनमा छ ।

त्यसैगरी ल्याव असिस्टेन्ट वसन्त मेहताको डा। सुर्यनारायण यादवको क्लिनिक नजिक ‘मेहता ल्याव’ सञ्चालन छ । सबै कर्मचारीहरु अञ्चल अस्पतालको समयमा पनि आफ्नो निजी क्लिनिकमा बस्ने गरेका छन् । प्याथोलोजि विभागका प्रमुख मल्लिक विभिन्न कलेजका नर्सिङ्ग होमहरुमा समेत पढाउने काम गरिरहेका छन् । ती सबै कलेजहरुमा उनको ड्यूटि अञ्चल अस्पतालकै ड्यूटिको समयमा रहने गरेको छ ।

जनकपुर अञ्चल अस्पतालको नियम अनुसार प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरुले विहानको ९ बजेदेखि दिउँसो २ बजे सम्म काम गर्नुपर्ने हो तर, त्यहाँ कार्यरत कर्मचारीहरु १० बजे आउने र हाजिरी गरेर ११ बजे बाहिरीने गरेका छन् । ११ बजे देखि १ बजे सम्म ती कर्मचारीहरु आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजिहरुमा काम गर्ने गर्छन् । एक बजे अञ्चल अस्पतालमा आएर दुई बजे फेरी बाहिरिन्छन् । यसरी दुई घण्टा पनि अञ्चल अस्पतालमा काम गर्दैनन्, प्याथोलोजिका कर्मचारीहरु । कर्मचारीहरुको गैरअनुसासनात्मक कार्य रोक्नको लागि मेडिकल सुप्रिटेन्डेन्ट डा।रामपरिक्षण यादवको कुनै चासो देखिँदैन ।

मेसु यादवको पनि आफ्नो निजी अबैध नर्सिङ होम रहेको छ । जनकपुर अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष कुमार कान्त झा भन्छन्, ‘अस्पतालको ओपिडी नै पुरा समय चल्दैन, चिकित्सकहरु नै बस्दैनन् भने प्याथोलोजिका कर्मचारी बस्ने कुरै आउँदैन । अस्पताल विकास समितिका अध्यक्ष र मेसु त्यसका लागि सबैभन्दा वढी जिम्मेवार व्यक्ति हुन ।’

अञ्चल अस्पतालमा बाहिरको तुलनामा प्याथोलोजि टेस्ट अलि सस्तो छ । प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी कुल १५ जना जनशक्ति कार्यरत छन् । उपकरण पनि पर्याप्त छ । तर पनि त्यहाँ जाँच गराउन ओपिडीमा काम गर्ने चिकित्सकहरु डायग्नोसिस लेख्दैनन् । अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजि दुवैको मिलेमतोमा डायग्नोसिस गर्न अञ्चल अस्पतालको ल्यावमा नपठाई कार्यरत कर्मचारीहरुका निजी प्याथोलोजिमा पठाउने गरिन्छ ।

त्यस वापत प्याथोलोजिका कर्मचारीहरुले चिकित्सकहरुलाई ५० प्रतिशत सम्म कमिशन दिने गर्छन् । जनकपुर अञ्चल अस्पताल अहिले ५ सय बेडको लागि मन्त्रालयमा प्रस्तावित छ । जनकपुरको ल्यावलाइ क्षेत्रिय ल्याव बनाइने कुरा चलिरहेको छ । तर अस्पतालको प्याथोलोजिबाट एउटा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने सुविधा पनि भेटिंदैन ।

२०७४ श्रावण ०८ गते आईतबार