Monday, September 8, 2014

लिलामीको प्रक्रियामा जानकी मेडिकल कलेज

धैर्यकान्त दत्त
जनकपुरधाम............
धनुषाको रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजले किष्ट बैंक र कृषि विकास बैंकको ४० करोड ऋण चुक्ता गर्न नसक्दा कलेजको  लिलामी हुने भएको छ । किष्ट बैंकले ऋण चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको थियो, त्यसको पनि म्याद सकिसकेपछि अब सात दिने सुचना प्रकाशन गरेर लिलामीको प्रकृयामा जाने किष्ट बैंकले जनाएको छ ।
कलेज सञ्चालन गर्नका लागि कलेज रहेको जमिन बंैकमा राखेर ऋण लिएको थियो तर समयमा सो ऋण चुक्ता नगर्दा अहिले लिलामीको प्रकृयामा गएको छ । किष्ट बैंकको नै २० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । किष्ट बैंक धनुषा शाखाका प्रबन्धक राजिव झाले ऋण चुक्ता गर्न कलेजलाई बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाई नभएपछि आफूहरुको लिलामीको प्रकृयामा गएको बताए ।
बैंक स्रोतले भन्यो ( “लिलामी हुँदा जमिनको मात्र होइन, सम्पूर्ण कलेज र त्यहाँका सामग्रीको पनि लिलामी हुनेछ ।” बैंकले सुचना गरेको सात दिनभित्र ऋण चुक्ता नगरे असोजको पहिलो साता कलेज लिलामी प्रक्रियामा जाने श्रोतले जनायो ।
ऋण चुक्ता नगरेपछि जानकी मेडिकल कलेजको लिलामीको लागि किष्ट बैंकले प्रकाशन गरेको सूचना ।
कलेज डुब्ने अवस्थामा हुँदा हुँदै पनि विद्यार्थी भर्ना प्रकृया अगाडि बढाइएको छ ।
विभिन्न ३७ जना विधार्थीसँग १० लाख दरले कलेजका प्रमुख ओमप्रसाद पाण्डेले उठाई सकेका छन् तर ३७ जनाले दिएको प्रवेश परीक्षामा ४ जना मात्र पास भएको छ । कलेज स्रोतका अनुसार पाण्डेले सबै विधार्थीसँग प्रवेश परीक्षा पनि पास गराई दिने भन्दै अग्रिम १०(१० लाख रुपियाँ लिएका छन् तर त्यसमध्ये चारजना मात्र पास भएपछि बाँकी ३३ जना पैसाको कारण चिन्तामा परेका छन । फेल भएका विद्यार्थीहरुले आफूले लिएको रकम माग्न जाँदा अहिले कहाँबाट त्यत्रो रकम दिने अक्टुवर नोभेम्वरमा मात्र दिने भन्दै विद्यार्थीलाई हप्काएर पठाउने गरेको बताइएको छ ।
विद्यार्थीहरु बदनाम हुने डरले कलेज सञ्चालकलाई रकम दिएको भनि कतै उजुरी गर्न चाहेका छैनन् । गत साल पनि यस्तै गरी विभिन्न विद्यार्थीहरुसँग रकम लिएर पास गराई दिने भनेका थिए तर त्यसबेला पनि धेरै जना फेल भएका थिए । फेल भएका रकम हालसम्म पनि फिर्ता नगरेको सञ्चालक समितिका एक सदस्यले बताएका छन् ।
विधार्थी पढाउन ४ सय ८० बेड चाहिन्छ तर हाल जानकी मेडिकल कलेजमा ३ सय बेड मात्र रहेको छ । चिकिसा शास्त्र अध्ययन संस्था (आईएओम) ले मेडिकल काउन्सीललाई ८० वटा कोटा दिन सिफारिस गरेको थियो तर काउन्सीलले कलेजको अवस्था हेर्दा एक कोटा पनि दिएको छैन ।
कलेज स्थापना भए यता राजस्व कार्यालयलाई १० करोड कर तिर्न बाँकी रहेको छ । राजस्व कार्यालय धनुषाले पटक पटक चिठी पठाउँदा पनि कलेज कुनै सुनुवाई नगर्दा राजस्व कार्यालय पनि कानुनी प्रकृयामा जाने तयारीमा रहेको छ । कार्यालयका एक कर्मचारीले चिठी बुझाउन जाँदा पनि चिठी नबुझी उल्टै हप्काएर पठाउने गरेको बताए ।
छोटो अवधिमै सर्वसाधारणलाई तान्न सकेको कलेजले गएको ८ महिनादेखि चिकित्सक तथा कर्मचारीहरुको तलब भत्ता खुवाउन सकेका छैनन् । तलबभत्ता वापतको करिब ८ करोड रुपियाँ कलेजले भुक्तानी गर्नुपर्ने हुन्छ ।
बैंक र चिकित्सक, राजस्व तथा कर्मचारीहरुको गरी करिब ५० करोड रुपियाँ एकमुष्ठ सञ्चालकहरुले तिर्नुपर्ने देखिएकोले कलेज नै डुब्ने अवस्थामा रहेकाले विद्यार्थीहरु आन्योलनमा देखिएको छ । नौ सञ्चालकहरुमध्ये एकजना बलराम प्रसाद गुप्ता सुन काण्डमा थुनामा छन् । सञ्चालक समितिमा सद्भावना पार्टीका नेतृ एवं पूर्व सञ्चार राज्य मन्त्री सुरिता साह, ओमप्रसाद पाण्डे, टीका प्रसाद पौड्याल, समीर ढुंगेल, अशोक कुमार सिन्हा, कनक भुषण सुवेदी, श्रीचन्द साह हलुवाई र अर्चना पाण्डे अधिकारी रहेका छन् ।
यता आर्थिक अवस्था कमजोर भएको कारणले केही समय व्याज र कर तिर्न नसकेको साँचो हो तर अब नियमति तिरिहेको दावी कलेजका प्रमुख पाण्डेले गरे । बजारमा आएको हल्ला जस्तो केही छैन, उनले भने, हाम्रा         विरोधीहरुले यो हल्ला फिजाएका हुन । चार दिनअघि नै किष्ट बैंकको व्याज चुक्ता गरेको समेत दावी गरे । उनले विद्यार्थीहरु भर्ना गर्नका लागि अग्रिम पैसा लिएको स्वीकार गर्दै भने, १० लाख त हैन, पाँच पाँच लाख लिएको एक दुई महिनामा फेल भएका सबै विद्यार्थीको रकम फिर्ता हुनेछ ।’

२०७१ भदौ २२ गते आईतबार