Tuesday, March 22, 2016

हिम्मत भए पक्रेर देखाऊ ः धर्ती सिंह

चन्द्रदिप यादव उर्फ धर्ती सिंहले नेतृत्व गरेको
पार्टीद्वारा जारी गरिएको अपिल ।
अजय अनुरागी
जनकपुरधाम............
केही महिना अघि मात्र अस्तित्वमा आएको भुमिगत समुह जनतान्त्रिक टाईगर जनशक्ति पार्टी बर्तमान परिस्थितिमा आक्रामक हुन सक्ने बताइएको छ । केही आपराधिक घटनाको जिम्मेवारी लिएका उक्त पार्टी २०७२ सालमा मधेस आन्दोलनका दौरान जन्मिएको भएपनि उसले जारी गरेको अपिलमा भने उक्त पार्टी २०६३ सालमै स्थापना भएको दावी गरिएको छ ।
मधेसी जनतामाथि खस पहाडी शासकले गुलामी गर्दै आएकाले मधेसका यूवाहरुले हतियार उठाउन बाध्य भएको तथा स्थानीय प्रशासनले मधेसमा मानव अधिकारको गम्भीर उल्लंघन गरिरहेको बताउँदै उक्त पार्टीका सेना कमाण्डर भनिने कथित पृथ्वी सिंहले आफुहरुको टाईगर सेनालाई समातेर देखाउन स्थानीय प्रशासनलाई चुनौति समेत दिइएको छ । उक्त पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंह समेतले चेतावनी सहित जारी गरिएको अपिलमा टाईगर सेनालाई स्थानीय प्रशासनले समातेर देखाओस अनि मात्र थाहा लाग्ने छ कि मधेसी बीरहरु कति क्रान्तिकारी योद्धा हुन देखाईदिने अपिलमा चेतावनी दिइएको छ ।
 २०६२ र ०६३ को जनआन्दोलनमा आफ्नो प्राणको आहुति दिने शहिदहरु अमर छन् भन्दै मधेसी यूवाहरुलाई २४ जिल्लामा तयार गरिएको र अहिलेसम्म करिब ८ हजार सेना तयार भईसकेको उक्त पार्टीले अपिल पत्र मार्फत दावी गरेको छ । यसका अतिरिक्त योगी सिंह अध्यक्ष रहेको जनतान्त्रिक मधेस राष्टू सेना र सनी आलम मगर केन्द्रिय सचिव रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा धर्ती सिंहले नेतृत्व गरेको जनतान्त्रिक टाईगरमा समावेश भएको बताइएको छ । समावेश भईसकेपछि लाखौंको संख्यामा सेना तथा ७५ प्रतिशत हतियार जम्मा भईसकेको दावी समेत गरिएको छ । तराई मधेसमा मधेसको २२ वटा नभएर २४ वटा जिल्लाहरु रहेको दावी गर्दै आफुहरुको सुराकी गर्ने कसैलाई पनि नछाडिने चेतावनी समेत दिइएको छ । उक्त अपिल पत्रमा सैन्य पोशाकमा सेना कमाण्डरको रुपमा अजय त्यागीको सैन्य पोशाकमा तस्वीर समेत राखेको छ भने अर्को एउटा प्रेस विज्ञप्तीमा सैन्य कमाण्डरको रुपमा सोही तस्वीर राखेर अर्को नाम अविनाश त्यागी राखिएको छ ।
यसअघिसम्म धनुषा र सिरहाको हाइवे तिर उक्त पार्टीको नाउँमा भित्ताहरुमा टाँसिएको पम्पलेटमा चन्द्रदिप यादवले आफ्नै तस्वीर समेत राखेको पाइएको थियो । यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले द एक्सक्लुसिभसँगको कुराकानीमा उक्त पार्टी साँच्चै खतरनाक हो वा होइन भन्ने सवालमा जति प्रचारवाजी गरेर उनले आफ्नो शक्ति र क्षमता देखाउन खोजेका छन् त्यति चाँही नरहेको बताएका छन् । जे भएपनि कतिपय प्रहरीहरु नै पनि चन्द्रदिप यादव खतरनाक हुन सक्ने बताईरहेका छन् ।
को हुन चन्द्रदिप यादव ?
धनुषाको भरतपुर गाविस ८ तथा हाल गणेशमान चारनाथ नगरपालिका(२ राधापुर बस्ने विल्टु यादवका छोरा हुन चन्द्रदिप यादव । उनी अहिले सशस्त्र समुह जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष हुन । प्रहरीको मोस्ट वाण्टेड सूचिमा उनी छन् । सुरुमा उनी मधेस केन्द्रित राजनीतिक दलमा आवद्ध थिए । २०६२÷०६३ साल तिर प्रथम मधेस आन्दोलन हुँदा मधेसी जनअधिकार फोरम नेपालमा धनुषा जिल्ला सदस्य थिए । पछि फोरम लोकतान्त्रिकमा उनी जिल्ला सदस्य भए । तर, संजय साहले छुट्टै मधेस क्रान्ति फोरम गठन गरेपछि उनी फोरम लोकतान्त्रिकमै रहि जिल्ला उपाध्यक्षको भुमिका पाएका थिए । उनी पार्टी भित्र जे जस्तो भुमिकामा रहेपनि संजय साहको अत्यन्तै विश्वाशिलो पात्र मानिन्थे । पार्टी भित्र उनी दवंग छविका रुपमा चिनिन्थे । उदाहरण स्वरुप मधेसी फोरमको भातृसंगठन यूवा संघ धनुषाको जिल्ला अधिवेशन हुँदा उनी आफ्नै नेतृत्वमा उमाशंकर अरगरिया खेमाका कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए । फोरम लोकतान्त्रिकमै रहेका अर्का सदस्य पवन मण्डल काठ तस्करी गर्ने कार्यमा उनको साझेदार रहेको के बाट पनि पुष्टि हुन्छ भने जिल्ला बन कार्यालय धनुषाले अवैध काठ तस्करी गरेको आरोपमा चन्द्रदिपका दुई पटक काठ सहित टूयाक्टर समातेका थिए । यसका अतिरिक्त राजनीतिमा हुँदै उनी जग्गा कारोवारी समेत बनेका थिए । खासगरेर राजमार्ग तर्फ जग्गा किनबेच गर्ने काम गर्थे । तर, जब संचार उद्यमि अरुण सिंघानिया हत्याको अभियोगमा घटनाको जिम्मेवारी लिने अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परे तब देखि उनी फरार रहेको प्रहरी बताउँछन् ।
विभिन्न अपराधहरुमा प्रमुख अभियूक्तको रुपमा चन्द्रदिपलाई प्रहरीले खोजी गर्न थालेपछि भुमिगत समुहको नाउँमा सरकारसँग बार्ता गरी विगतका अपराधहरुबाट उन्मुक्ति पाउन सकिने उद्देश्यले उनले भुमिगत संगठन खोलेको हुन सक्ने आशंका पनि गरिएको छ । यद्यपि एउटा अपराध गरेपनि र धेरै अपराध गरेपनि केही फरक पर्न नसक्ने हुनाले उनको ती समुह झन खतरनाक हुन सक्ने किन पनि अनुमान गरिएको छ भने ती समुहको नाउँमा उनले धनुषा बालाबाखरका राजेन्द्र प्रसाद यादवको हत्या पनि गरिसकेका छन् भने नसिम राइनलाई ज्यान लिने प्रयासमा गोली प्रहार गरिसकेका छन् । त्यसैगरी उनले विभिन्न व्यक्तिहरुलाई धम्की दिँदै चन्दा समेत व्यापक मात्रामा असुली गरिरहेको धनुषा प्रहरीमा उजुरी परेका छन् ।
चन्द्रदिपका कार्यकर्ताहरु पक्राउ
धनुषा प्रहरीले उक्त पार्टीका केही कार्यकर्ताहरुलाई पक्राउ गरी विभिन्न कुराहरु ओगल्न लगाएका छन् ।
धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा कथित भुमिगत संगठन “जनतान्त्रीक टाईगर जनशक्ति पार्टी” नामक भुमिगत समुहले उद्योगपति व्यवसायी, डाक्टर, ईन्जिनियर, शिक्षक, लगायतलाइ धाकधम्की दिई चन्दा संकलन गर्ने, फिरौती माग गर्ने जस्ता कार्य गदै आएको भन्ने प्राप्त गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई गएको प्रहरीको विशेष टोलीले चोकजाँच गर्ने क्रममा कथित जनतान्त्रीक टाईगर जनशतिm पार्टीका सैन्य कमाण्डर अजय सिंह भन्ने रामरीझन यादवलाई नेपाल भारत सिमाको धनुषा खुजुरी ईलाकाबाट पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । त्यसैगरी जिल्ला सिरहा मिर्चैया न.पा वडा ५ का २९ बर्षिय बेचन पासवान र जिल्ला सिरहा राजपुर गाविस वडा न १ का जसलालव यादवलाई समेत धनुषाको पोर्ताहाबाट नगद रु ५० हजार चन्दा लिदै गरेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी धनुषा प्रहरीले उक्त पार्टीका लागि सुराकी गर्ने तथा सूचना संकलन गरिरहेका धनुषा गणेशमान चारनाथ न.पा.२ का ४२ बर्षिय अनिल डा. भन्ने जोगीन्द्र महत्तो, २२ बर्षिय नागे साह, २४ बर्षिय दिलिप भनिने शुभनारायण यादव, धनुषाधाम न.पा. ८ का ३५ बर्षिय प्रमोद कुमार पुर्वेलाई विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान अगाडी वढाएको छ । पक्राउ परेका ती व्यक्तिहरुलाई चन्दा ऐन र संगठित अपराध अन्तरगत धनुषा प्रहरीले मुद्दा चलाएको छ ।
पक्राउ परेका रामरिझनले प्रहरीलाई खुलाएका विवरण
जनता उमावि महरौल बेतौना सिरहाबाट २०६६ सालमा एसएलसी उत्तीर्ण गरी खेतीवारीको काममा लागेका रामरिझन यादवलाई खेतीको कामबाट राम्रो फाइदा नभएकोले बेरोजगार भएर बसेका थिए । सोही क्रममा सिरहा, गोलबजार, मिर्चैया, लहान र धनुषाको विरेन्द्र बजार, पोर्ताहा बजार तिर आउँदा भरतपुर गाविस ८ बस्ने चन्द्रदिप यादव, श्रवण यादव, सिरहा मिर्चैया ६ बस्ने कैलाश ठाकुर, धनुषा बालाबाखर ४ बस्ने संतोष यादवसँग उसको चिनजान भयो । चिनजान भएपछि उनीहरुसँग खाने, बस्ने तथा घुमफिर गर्ने क्रममा चन्द्रदिप यादवको नेतृत्वमा भुमिगत समुह जनतान्त्रिक तराई जनशक्ति पार्टी गठन गरियो । उनीहरुसँगै बस्ने क्रममा रामरिझनले उनीहरुबाटै हातहतियार चलाउन सिकेको हो । पार्टी गठन भईसकेपछि विभिन्न भारतीय नम्बरहरुको सिम प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिँदै पार्टीको लागि चन्दा संकलन गर्ने कार्यहरु गर्दै आएका थिए ।
बेचन पासवान, जसलाल यादव तथा अनिल डाक्टर भन्ने जोगिन्दर महत्तो कोइरी समेतले पैसा ल्याएर दिने गरेको थियो । त्यस्तै प्रमोद कुमार पुर्वे, दिलिप भन्ने शुभनारायण यादव, नागे भन्ने नागेश्वर साह, बेचन पासवान, जसलाल यादव समेतका व्यक्तिहरुले पार्टीलाई सहयोग गर्ने तथा सूचना दिने गरेका थिए । उनीहरु लुकिछिपी गाउँ घर तिर आउने जाने गर्थे । यता आएर प्रहरीको सक्रियता बढेको र चन्द्रदिप यादवलाई अरुण सिंघानिया र विनोद गोहितमान यादवको हत्यामा संलग्न रहेको भनि खोजी हुन थालेपछि उनीहरु भारतमै लुकिछिपी बस्ने गरेका थिए । चन्द्रदिप यादवको नजिकको मानिस धनुषा बालाबाखर गाविस ४ चिरैया टोलमा बस्ने शिवजी प्रसाद यादवको श्रीमति कल्याणी देवी यादवको नाममा धनुषा जिल्लाको बिरेन्द्र बजारमा १० धुर जग्गा रहेको थियो । उक्त जग्गा चन्द्रदिप यादवले बेच्न खोजेको थियो । तर, उक्त कुरा शिवजी प्रसाद यादवले थाहा पाएपछि बालाबाखर ४ बस्ने राजेन्द्र प्रसाद यादवलाई भनेका थिए । त्यसपछि राजेन्द्र प्रसाद यादवले कल्याणी देवीलाई बोलाई गाली गरेका थिए । त्यस्तै भानुभक्त जोशीको साढे २ सय विघा जग्गा उक्त पार्टीमा संलग्न व्यक्तिहरुले बेच्न खोजेका थिए । पार्टीलाई सहयोग गर्नुपर्छ, ति जग्गाहरु बेच्नुपर्छ भन्ने कुरामा राजेन्द्र प्रसाद यादव सहमत थिएनन् । त्यसैगरी नसिम राईन सँग पनि पार्टीको लागि ५ लाख रुपैयाँ सहयोग माग्दा २ लाख सहयोग गर्ने भनेपनि नदिईरहेको कारण तिनीहरु माथि गोली चलाइएको हो ।
राजेन्द्र प्रसाद यादवको हत्याको योजना
राजेन्द्र प्रसाद यादवको हत्या हुनुभन्दा तीन दिन अगाडी भारत विहारको मधुवनी जिल्ला अन्तरगत जयनगरमा रहेको अम्बे होटेलमा उक्त पार्टीका कार्यकर्ताहरु जम्मा भएका थिए । राजेन्द्र प्रसाद यादव र नसिम राइनलाई हत्या गर्नुपर्छ  र उक्त कार्यमा रोकावट गर्ने व्यक्तिलाई समेत गोली हानी घाइते बनाउने योजना बनेको थियो । योजना अनुसार अविनाश त्यागी भनिने संतोष यादव राजेन्द्र प्रसाद यादवको गाउँकै मानिस भएकाले उसलाई घटना बारदात हुनुभन्दा एक दिन पहिले नै राजेन्द्र प्रसाद यादवको निगरानीका लागि पठाइएको थियो । योजना अनुसार संतोषले राजेन्द्रको निगरानी गरी तिनीहरुलाई खबर गर्यो । त्यसपछि २२ माघ २०७२ का दिन भारतको जयनगरबाट बेलुकाको समयमा कैलाश ठाकुर, श्रवण यादव, रामरिझन यादव र चन्द्रदिप यादव समेत दुईवटा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार भई धनुषाको बालाबाखर तर्फ आए ।
बाटोमा चन्द्रदिप यादवले ९८१५७८६७९२ नम्बरको मोबाइलबाट राजेन्द्र प्रसाद यादवको ९८४४०५४८४२ नम्बरको मोबाइल फोनमा अन्दाजी बेलुकी १८ बजेर ४० मिनेटको समयमा कुरा गरेका थिए । त्यसपछि राति अन्दाजी साढे ८ बजेको समयमा बालाबाखर नजिक छडकिया भन्ने ठाउँमा पुग्दा चन्द्रदिप यादवले सोही नम्बरबाट राजेन्द्र प्रसाद यादवलाई फोन गरी बोलायो । राजेन्द्र प्रसाद यादव आउँदै छ भनेपछि रामरिझन यादव र कैलाश ठाकुर उनी आउने बाटोमा मोटरसाइकल चढी अलि अगाडी तिर गए । संतोष यादवले राजेन्द्र प्रसाद यादवलाई चिनिरहेको थियो । त्यसैक्रममा बालाबाखर स्कुलबाट लक्ष्मिपुर जाने बाटोमा संतोष यादव आईपुग्यो र सोही बेलामा रामरिझनले मोटरसाइकल चलाउँदै राजेन्द्र प्रसाद यादवको नजिक गएपछि कैलाश ठाकुरले ४ राउण्ड गोली राजेन्द्र प्रसाद यादव उपर प्रहार गरी फरार भए । उता राजेन्द्र प्रसाद यादवलाई जनकपुर अञ्चल अस्पतालमा ल्याउँदा बाटो मै उनको मृत्यु भईसकेको थियो । गोली प्रहार गरेर फरार रहेका चारै जना सिरहाको निर्धन्ना स्थित चन्द्रदिप यादवको दिदीको घरमा बसेका थिए ।
 उक्त घटनाको भोली पल्ट चन्द्रदिपको दिदीकै घरमा नसिम राइनलाई गोली प्रहार गर्ने उनीहरुले योजना बनाए । डा.भन्ने जोगिन्द्र कोइरीलाई चन्द्रदिप यादवले फोन गरी चिनाईदिने कार्य बापत रु.५ हजार दिने तय गरिएको थियो । योजना अनुसार रामरिझन यादव र कैलाश ठाकुर एउटा मोटरसाइकलमा विरेन्द्र बजार तर्फ आयो । चन्द्रदिप यादव, श्रवण र संतोष अर्को मोटरसाइकलमा चढेर भारत तर्फ गए । विरेन्द्र बजारमा पुगी उनीहरु जोगेन्द्र महत्तो कोइरीको घरमा पुगे । डा.कोइरी पनि घरमै थिए । उनले नसिमको हुलिया उनीहरुलाई बताए पछि उनलाई तिनीहरुले ५ हजार रुपैयाँ दियो । त्यसपछि डा.कोइरीले बजारमा प्रमोद कुमार पुर्वे भन्ने मान्छेले चिनाईदिन्छ भनेपछि नगरपालिका कार्यालय अगाडी बसिरहेका नसिम राइनलाई प्रमोद कुमार पुर्वेले चिनाईदिएको थियो ।
त्यसपछि कैलाश ठाकुर नसिम राईनको नजिक पुगेका थिए भने अर्को तर्फ रामरिझनले बाटोमा मोटरसाइकल स्टार्ट गरेर बसेका थिए । कैलाश ठाकुरले नसिम राइन माथि गोली प्रहार गरी रामरिझनले अगाडी देखि नै स्टार्ट गरेर राखेको मोटरसाइकलमा सवार भई सिरहा तर्फ भागे । भाग्ने क्रममा कैलाशले पिछा गरिरहेका म्याजिक गाडी र व्यक्ति माथि समेत गोली प्रहार गरेका थिए । कमला पुलमा पुग्दा सिरहा बडछरा माल गाविस वडा नम्बर ३ मा बस्ने अन्दाजी बर्ष २५ को राम सोगारथ महत्तो उपर समेत गोली प्रहार गरेका थिए । उक्त दिन उनीहरु दुवै जना रामरिझनको घरमा बास बसेका थिए । पछि उनीहरु भारत तर्फ फरार भए ।
उक्त दुईवटै घटना गरिसकेपछि ९८१९९४४११६ नम्बरको मोबाइलबाट कैलाश ठाकुरले जनकपुर टुडेका सम्पादक बृज कुमार यादवको फोन नम्बर ९८५४०२००२५ मा जिम्मा लिएको कुराकानीको भ्वाइस रेकर्ड समेत धनुषा प्रहरीले प्रमाणको रुपमा राखेको देखिन्छ । उक्त दुइवटै घटनामा १५ सय सिसिको भारतीय नम्बर प्लेट भएको पल्सर मोटरसाइकल प्रयोग गरिएको छ । रामरिझनले प्रयोग गरेको मोटरसाइकल रातो रंगको पल्सर हो । दुवै मोटरसाइकल भारत विहारको मधुवनी बल्दिया बस्ने सुरेन्द्र कुमार यादवले दिएको थियो । जसमध्ये एउटा मोटरसाइकल अनटेस्ट थियो । घटना वारदातलाई अन्जाम दिने बेलामा दुई थान पेस्तोल बोकेर उनीहरु जाने गरेका थिए । सोही पेस्तोल मध्येबाट उनीहरुले घटना गराएका हुन । एउटा ६ राउण्ड गोली जाने र अर्को ९ राउण्ड गोली जाने हतियार थियो । ती दुवै हतियार कैलाश ठाकुर सँगै हुन सक्ने रामरिझन यादवले प्रहरीलाई बयान दिएका छन् । भारतबाट धनुषाको विरेन्द्र बजारमा हार्डबेयरको पसल गरी बस्ने बसिर उदिन मियालाई भारतीय नम्बरबाट ज्यान मार्ने धाक धम्की दिने गरेका थिए । २०७२ साल फागुन ६ गतेका दिन पोर्ताहा स्थित पेटूोल पम्प नजिक आफ्नो मानिस पठाएर दुई लाख रुपैयाँ लिनु भनेर भनेपछि रामरिझनले बेचन पासवान र जसलाल यादवलाई पैसा लिन पठाएका थिए । पैसा लिन गएपछि एक हजारको एक(एक थान गरी कुल ५० हजार रुपैयाँ उनीहरुले लिएर फर्कदै गर्दा धनुषा प्रहरीले चेक जाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
आर्थिक लाभ, पार्टीको प्रभुत्व देखाउन र जनमानसमा भय त्रासको वातावरण सिर्जना गर्न यस्तो कार्यमा लागेको उनीहरुले प्रहरी समक्ष बताएका छन् । उनीहरुले आपराधिक कार्य गर्नका लागि प्रयोग गरिने हतियार भारत विहारको मधुवनी जिल्ला अन्तरगत जयनगर विरौलीका राजिव सिंहबाट किनेको बताएका छन् । प्रयोग भएका ती सम्पुर्ण हतियारहरु पार्टीकै हतियार रहेको बताएका छन् । घटना पछि उक्त हतियारहरु चन्द्रदिप यादव र कैलाश ठाकुर समेतले राखेको बताइएको छ । त्यसैगरी उनीहरुले नै १९ कार्तिक २०७२ मा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित ज १ ख ७६३ नम्बरको बुद्ध सिद्धार्थ निकेतन स्कुलको बसमा समेत आगजनी गरी क्षति गरेको कुरा स्वीकार गरेका छन् ।
चन्द्रदिपको बारेमा रामरिझनले धनुषा प्रहरीलाई के के बताए ?
रामरिझन यादवले धनुषा प्रहरीलाई बयानको क्रममा जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदिप यादवका विषयमा धेरै कुराहरु खुलाएका छन् ।  उक्त पार्टीको आफु सैन्य कमाण्डर रहेको प्रहरीलाई रामरिझनले बताएका छन् । त्यसैगरी सिरहाको सैन्य कमाण्डर पृथ्वी सिंह भनिने कैलाश ठाकुर रहेको प्रहरीलाई बताएका छन् । 
धनुषा र सिरहा जिल्लाको इन्चार्ज अविनाश त्यागी भनिने संतोष यादव रहेको बताएका छन् । श्रवण यादव चन्द्रदिप यादवका अंगरक्षकको रुपमा काम गर्ने गरेको उनले बताएका छन् । कारी गोहिवार यादव र मंगल भन्ने विश्वनाथ यादव समेत पार्टीका सहयोगी सदस्यहरु हुन । त्यस्तै अनिल डाक्टर भन्ने जोगिन्दर महत्तो, प्रमोद कुमार पुर्वे, दिलिप भन्ने शुभनारायण यादव, नागे भन्ने नागेश्वर साह, बेचन पासवान, जसलाल यादव समेतका व्यक्तिहरु पार्टीका सहयोगीका  रुपमा सूचनाहरु संकलन गर्ने तथा चन्दा संकलन गर्ने गरेको उनले प्रहरीलाई बताएका छन् । चन्द्रदिप यादवको बुवाको नाम बिल्टु यादव हो । उनको उमेर करिब ३६÷३७ बर्ष छ । धनुषा भरतपुर गाविस वडा नम्बर ८ तथा हाल गणेशमान चारनाथ वडा नम्बर २ मा पर्छ । श्यामलो वर्ण तथा ५ फिट ७ इन्च उचाई र ठिक मिलेको शरीर रहेको चन्द्रदिपको हुलिया उनले बताएका छन् । त्यसैगरी उनीसँगै बस्ने अन्य व्यक्तिहरुको हुलिया पनि बताएका छन् ।
उक्त भुमिगत समुहमा नलकटुवा पेस्तोल ५ थान, पेस्तोल २ थान, नलकटुवाको गोली १८ राउण्ड, पेस्तोलको गोली १४ राउण्ड, ५ थान बम समेत रहेको उनले धनुषा प्रहरीलाई बताएका छन् । ती हातहतियार तथा बम भारत विहारको राजिव सिंहसँग एक लाख ५० हजार भारतीय रुपैयाँमा खरिद गरिएको उनले बताएका छन् ।
त्यसैगरी पक्राउ परेका जसलाल यादवले धनुषा प्रहरीलाई दिएको बयान अनुसार उनले संविधान सभाको चुनावको समयमा अजय भन्ने रामरिझनको घरबाट सिरहा रजोखर गाविस वडा नम्बर ९ बस्ने जागेश्वर यादव (प्रधान)को घरमा दुई लाख रुपैयाँ पुर्याएको छ । जागेश्वर यादव (प्रधान) संविधान सभा चुनावमा सिरहाबाट स्वतन्त्र (काइयो छाप)बाट चुनाव लड्ेका थिए । त्यस्तै चुनावकै क्रममा रामरिझन यादवले आफ्नो साढु दाई सिरहा मिर्चैयाका सरोज यादवलाई भनेर १ लाख रुपैयाँ ल्याईदिएको बताएका छन् । उक्त रकम रामरिझन यादवले जागेश्वर यादव (प्रधान)लाई दिएको थियो । पछि उक्त रकम गोपाल सेवा समितिको लहानको अध्यक्षलाई पुर्याईदिने भनेकोमा आफुले पुर्याईदिएको जसलाल यादवले बयान दिएका छन् ।
२०६६ साल फागुन १७ गते जनकपुरको शिव चौकमा संचार उद्यमि अरुण सिंघानियालाई र २०६७ साल असोज २४ गते धनुषा भरतपुर १ का ४० बर्षको विनोद गोइतमान यादवलाई बजारबाट मोटरसाइकलमा घर तर्फ भाग्ने क्रममा धारिलो हतियारले पेटमा र गोली समेत प्रहार गरी हत्या गरी फरार भई धनुषा प्रहरीको सर्बाधिक खोजीको सूचिमा फरार अभियूक्तको रुपमा चन्द्रदिप यादव रहेको छ ।
सशस्त्र समुहको इतिहास
माओवादीका तत्कालिन तराई मुक्ति मोर्चाका प्रथम अध्यक्ष जयकृष्ण गोइतलाई नै औपचारिक रुपमा तराईको सशस्त्र आन्दोलनको पृष्ठभुमि तयार पारेको मानिन्छ । २०६१सालको अन्ततिर उनी र माओवादी नेतृत्वका बीचमा मन भिन्नता देखियो । मधेसी मुक्ति मोर्चामा गोइतको ठाउँमा मात्रिका प्रसाद यादवलाई ल्याइनु, माओवादीको नेतृत्वमा रहेको मधेस विरोधी भावना र माओवादीले तराईको पुर्व देखि मध्य नेपाललाई मधेस स्वायत्त क्षेत्र र पश्चिमी तराईलाई थारुवान स्वायत्त क्षेत्र गरी दुई भागमा विभाजन गरेकै कारण उनले माओवादीबाट विद्रोह गरी सशस्त्र आन्दोलन चलाएको बताइन्छ । २०६२ को बैशाखताका अजय यादव पनि जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भए र तराई क्षेत्रलाई स्वतन्त्र राष्टूको रुपमा स्थापनाका लागि गोइतसँग मिलेर काम गर्न थाले । तर, मधेसी टाइगर्सका तत्कालिन नेताहरु अजय यादव तथा राजु मिश्रलाई माओवादी वा सुरक्षा निकाय कसले मार्यो अझैं सम्म स्पष्ट हुन सकेको छैन । सुरुमा १ सय ५० देखि २ सय जना कार्यकर्ता रहेको गोइत समुहले माओवादीको किल्ला मानिएको सप्तरी देखि रौतहटसम्म आफ्नो प्रभाव विस्तार गरेको थियो । सुरुमा कतिपय व्यक्तिहरुले माओवादीसँग बदला लिनका लागि पनि गोइतसमुहमा आवद्ध भएको बताइन्छ । भने कतिपय जवरजस्ती असुली, तथा अपहरणका माध्यमबाट स्वतन्त्रताका साथ पैसा कमाउनका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चालाई आफ्नो सुरक्षित घर ठानेका थिए । गोइतको दावी अनुसार आफ्नो सिरहा मिर्चैयाको जमिन छाड्न भनेपछि ज्वाला सिंह २०६३ सालमा फुटेर गएको हो ।
२०६६ अषाढमा नेपाल सरकारले विशेष सुरक्षा योजना लागु गरेर तराईमा सक्रिय रहेका सशस्त्र समुहहरुलाई निस्तेज गरेका थिए । सशस्त्र समुहका कैयौं नेताहरु नक्कली मुठभेडमा मारिएका छन् भने कैयौं गिरफ्तार गरेका छन् । भिम रावल गृहमन्त्री रहेको बेलामा १ सय ९ वटा तराईमा सशस्त्र समुहहरु रहेको बताएका थिए । जसमध्ये अहिलेको अवस्थामा कतिपय समुहका अध्यक्षहरु जस्तै राजन मुक्ति भनिने रंजित झा, स्वामी जि भनिने उमेश यादव, पृथ्वी भनिने श्याम यादव, अर्जुन सिंह भनिने मुकेश चौधरी लगायतका नेतृत्वहरु नै पक्राउ परेपछि ती समुहहरु स्वतः विघटन भएको देखिन्छ । बाँकी रहेका कतिपय सशस्त्र समुहहरु बार्ता मार्फत शान्ति पुर्वक मुलधारमा आएर राजनीति गरिरहेका छन् । हुन त ती सशस्त्र समुहहरु मध्ये कतिपय सशस्त्र समुहहरुलाई मुलधारका राजनीतिक दलहरुले नै संचालन गरेको, कतिपय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यका सुरक्षा निकायहरुले प्रवद्र्धन गरेको समेत बताइन्छ । खास गरेर मोवाइल, मस्ती, महिला, मोटरसाइकल र माउजर (बन्दुक) सम्मको पहुँच पाउनका लागि तराई मधेसका कतिपय बेरोजगार तथा कुलतमा फसेका यूवाहरु ती सशस्त्र समुहहरुमा आकर्षित हुने गरेको पनि पाइएको छ । अहिले कतिपय जेलहरुमा ती सशस्त्र समुहमा लागेका यूवाहरु पछुताईरहेका छन् ।

चन्द्रदिप यादव उर्फ धर्ती सिंहले नेतृत्व गरेको
पार्टीद्वारा जारी गरिएको अपिल ।
धनुषा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका सैन्य कमाण्डर तथा कार्यकर्ताहरु ।
२०७२ चैत्र ०७ गते आईतबार