Tuesday, February 24, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


सहमतिबाट संविधान आओस भनेर चाहेका हौं । नआतिनुस न, विकास, संविधान सबै हुन्छ विस्तारे–विस्तारै !
२०७१ फाल्गुन १० गते आईतबार

धनुषामा सशस्त्र द्वन्द्वको असर


२६ माघ २०७१ का दिन धनुषाको 
नौवाखोर प्रसाहीमा सहिद विष्णु देव महत्तोको 
१४ औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै 
नेपाली कांग्रेस धनुषाका पुर्व सभापति
 स्मृतिनारायण चौधरी । महत्तोको २०५७ माघ २६ गते 
माओवादीले हत्या गरेको थियो ।
अजय अनुरागी
जनकपुरधाम............
२६ माघ २०७१ का दिन धनुषाको नौवाखोर परसाहीमा स्थानीय कांग्रेसको कार्य समितिले सहिद विष्णुदेव महत्तोको १४ औं स्मृति दिवस मनाउँदै थिए । जिल्लाबाट पुर्व सभापति तथा पुर्व सांसद समेत रहेका स्मृतिनारायण चौधरी, क्षेत्र नं. ६ का सभापति रामकृष्ण मण्डल, जिल्लाका नेताहरु विजय शंकर साह, खटरु यादव,उमेश साह, जनकपुर नगरका सभापति धिरेन्द्र मोहन झा लगायतका नेताहरु पुगेर महत्तोको बलिदानीको गाथा गाईरहेका थिए । प्रसाही कांग्रेस सभापति रामविलास महत्तोका अनुसार २६ माघ २०५७ मा महत्तोलाई स्थानीय माओवादीका नेताहरुले गोली प्रहार गर्नुका साथै कोदालोले काटेर हत्या गरेका थिए ।
५ फागुन २०७१ मा पुर्व सांसद स्मृति नारायण चौधरी महत्तो मारिएको ठाउँमा महत्तोको शालिक निर्माणका लागि सिलान्यास गर्दै १ वर्ष भित्र सहिद महत्तोको शालिक निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी १ फागुन २०७१ मा धनुषाका माओवादी नेताहरुले जनयूद्ध दिवस मनाउँदै शहिदहरुको सपना साकार नभएको भन्दै अझै पनि लडाई बाँकी नै रहेको बताएका थिए ।
यसरी हेर्ने हो भने २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गतेसम्म देशमा सशस्त्र द्वन्द्व चल्यो । उक्त द्वन्द्वको चपेटमा नेपाली जनता पिल्सिए । स्थानीय शान्ति समिति धनुषाको तथ्याङ्क अनुसार द्वन्द्वका क्रममा धनुषामा मात्रै २ सय २६ जनाले ज्यान गुमाउनु प¥यो । ती मध्ये २ सय १० जना पुरुषहरु र १६ जना महिलाहरु रहेका छन् ।  स्थानीय शान्ति समितिको रेकर्ड अनुसार १ सय २९ जना राज्य पक्षबाट, ७७ जना विद्रोही पक्षबाट, ७ जना अज्ञात समुहबाट र ९ जना नाम नखुलेको समुहबाट मारिएको हो । उक्त द्वन्द्वको चपेटमा परेर एक जना भुतपुर्व प्रहरी सँगै कुल ९ जना प्रहरी मारिएका थिए भने ७ जना माओवादीको जनमुक्ति सेनाहरु मारिएका थिए । उक्त द्वन्द्वमा राज्य पक्ष र तत्कालिन विद्रोही पक्ष मात्र मारिएनन् । राजनीति, कृषि, कर्मचारी, मजदुर, विद्यार्थी, व्यवसायी पेशा रहेका वर्गहरु पनि मारिएका छन् । मारिएकाहरु मध्ये १ सय १५ जना धनुषाका नागरिकहरु राजनीति पेशामा रहेका थिए भने ५१ जना कृषि पेशा, २ जना कर्मचारी, ३ जना मजदुर, ४ जना विद्यार्थी, २ जना व्यवसायी, २ जना शिक्षक, २ जना नोकरीहाराहरु, १ जना पत्रकार र १४ जनाको पेशा खुल्न सकेको छैन ।
 सशस्त्र द्वन्द्व रहेको बेला धनुषामा तत्कालिन अवस्थामा १ सय १ गाविस र एउटा जनकपुर नगरपालिका रहेको थियो । त्यो द्वन्द्वको प्रभाव धनुषाको प्रायः जसो हरेक गाविस र नगरपालिकामा समेत परेको देखिन्छ । सबैभन्दा वढी धनुषाधाममा १९ वटा मानिसहरुको ज्यान गएको छ भने जनकपुर नगरपालिका भित्र मात्र १० जनाले ज्यान गुमाउनु परेको थियो । देउरी परवाहामा २ जना, हंसपुर कठपुल्लामा २ जना, मिथिलेश्वर निकासमा २ जना, तल्लो गोदारमा १ जना, लगमा गाढागुठीमा १ जना, नक्टाझिजमा २ जना, बालाबाखरमा ७ जना, बरमझियामा ८ जना मानिसको ज्यान गएको थियो । त्यसैगरी तारापट्टी सिरसियामा ३ जना, रमदैया भवाडीमा १ जना, धनुषा गोविन्दपुरमा ४ जना, सिंगयाही मडानमा १ जना, भरतपुरमा ५ जना, पटेर्वामा ६ जना, ढल्केवरमा ४ जना, भुतही पटेर्वामा ५ जना, बेंगाडावरमा १ जना, उमाप्रेमपुरमा १ जना, नउवाखोर परसाहीमा ५ जना, बेंगाशिवपुरमा १ जना, यज्ञभुमिमा १ जना, सोनिगामामा ५ जना, पचहर्वामा १ जना, खजुरी चन्हामा ३ जना, मिथिलेश्वर मौवाहीमा ३ जना, सुगा मधुकरहीमा ४ जनाको ज्यान गएको थियो । त्यसैगरी दुहवीमा २ जना, प्रकोमहुवामा १ जना, बहेडाबेलामा १ जना, विसरभोरामा ४ जना, गोपालपुरमा १ जना, रधुनाथपुरमा ५ जना, सखुवा महेन्द्रनगर, बल्हासघारा, खरिहानी, सिनुरजोरा, दिगम्बरपुर, बल्हागोठ, बसहिया, भुचक्रपुर, लक्ष्मीनिवास, धनौजी, लोहना, नगराइन, कुर्था, फुलगामा, सपही, पुष्पवलपुर, धबौली, बल्हाकठाल, अन्दुपट्टी कटरैत, ठिल्ला यदुवा, मखनाहामा क्रमशः १÷१ जनाको ज्यान गएको थियो । त्यसैगरी चौराकोयलपुरमा ६ जना, शान्तिपुरमा ४ जना, ठाढी झिझामा ५ जना, दुवरकोट हथलेटवामा ३ जना, माची झिटकैयामा २ जना, देवपुरा रुपैठामा ३ जना, पौडेश्वरमा २ जना, प्रखे महुवामा २ जनाको ज्यान गएको थियो ।
धनुषामा कुन–कुन प्रहरी मारिए ?
धनुषाको कजरा रमौल इनर्वा द्वन्द्व पीडितपरिवारहरु आत्म निर्भर बन्न २०६९ बैशाखमा 
सिलाईको तालिम लिँदै ।
हंसपुर कठपुल्ला २ का सुरत कुमार सिंह २२ भदौ २०५९ मा सिन्धुलीमा विद्रोही पक्षद्वारा मारिएका थिए । त्यसैगरी जनकपुर नगरपालिका ९ का प्रहरी नरेश पोखरेल २१ मंसिर २०६० मा, मिथिलेश्वर निकास ८ का प्रहरी भोला रजक ७ भदौ २०५७ मा सिन्धुलीमा, ठेगाना खुल्न नसकेको धनुषाका प्रहरी अभिराम ठाकुर १९ चैत्र २०५७ मा रुकुममा, तल्लो गोदार ७ का धनबहादुर गौतम ११ अषाढ २०६२ मा अर्घाखाचीमा, लगमा गाढागुठी ६ का प्रहरी सोनेलाल मण्डल २३ चैत्र २०६२ मा सर्लाहीमा र नक्टाझिज ७ का प्रहरी बीर कुमार महत्तो क्रमशः तत्कालिन विद्रोही पक्ष माओवादीबाट मारिएका थिए । त्यसैगरी ढल्केवर ४ का भुतपुर्व प्रहरी हवलदार शम्भु कुमार झा २२ पुष २०६२ मा विद्रोही पक्षद्वारा मारिएका थिए ।
स्थानीय शान्ति समिति धनुषाको अभिलेख अनुसार धनुषाका एक जना पत्रकार पनि मारिएको बताइएको छ । ढल्केवर ७ का सत्यनारायण भनिने लालबाबु झा १८ जेष्ठ २०६१ मा विद्रोही पक्षबाट मारिएको उल्लेख छ । उनको पेशामा पत्रकार उल्लेख गरिएको भएपनि तत्कालिन नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अशोक रौनियारका अनुसार उनी पत्रकार थिएनन् । द्वन्द्वकालमा धनुषामा कुनै पनि पत्रकारको हत्या नभएको रौनियार बताउँछन् ।
चर्चित राजनीतिकर्मीहरुको हत्या
राजनीतिक रुपमा द्वन्द्वकालमा धनुषामा कांग्रेस र माओवादी बीच बढी आक्रमण भएको देखिन्छ । कांग्रेसका नेताहरुका अनुसार माओवादीले आफ्नो संगठन विस्तार गर्न ग्रामिण क्षेत्रका ठुला नेताहरुलाई टारगेट गरेका थिए ।  तर, नेकपा(माओवादीका केन्द्रिय सदस्य रोशन जनकपुरीका अनुसार बर्ग संघर्ष हुँदा सिधा लडाई हाम्रो कांग्रेससँग यसकारण पर्यो किन भने कांग्रेसका नेताहरु सत्ता बचाउनको लागि प्रहरी प्रशासनसँग मिलेर सुराकीको काम गर्ने गर्थे । सुराकी वापत कांग्रेसका नेताहरुले भत्ता समेत लिने गरेको जनकपुरीको दावी छ ।
जनयूद्ध सुरु हुनु अगावै तत्कालिन माओवादीका शिर्षस्थ नेता मध्येका एक धनुषाको बरमझियाका मास्टर साहेव भनेर चिनिने रामवृक्ष यादवको हत्या माओवादीहरुको लागि ठुलो धक्का थियो । प्रचण्ड, मोहन बैद्य समेतको संगतमा रहेका मास्टर साहेव यादवको जनयूद्धको तयारीकै क्रममा २ भदौ २०५१ मा राज्य पक्षद्वारा हत्या गरिएको थियो । जुन कुरा शान्ति तथा पुर्णमन्त्रालयको द्वन्द्व प्रभावित व्यक्ति( परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उनको हत्या जनयूद्धलाई दवाउन र प्रभावशाली बन्दै गएको नेताको हत्या गरेपछि त्यसैपनि अन्य कार्यकर्ताहरु नलाग्ने आशयले हत्या गरिएको थियो । त्यसपछि उनका छोरा शेखर यादवको १४ पुष २०५८ मा हत्या गरियो । राज्यपक्षले हत्या गरेपछि तत्कालिन विद्रोही पक्षले पनि उनको हत्या गर्न सुराक दिएका कांग्रेसका नेताहरुलाई प्रतिसोध लिन र राजनीतिक कारणले पनि हत्या गरियो । बरमझियामा मात्रै द्वन्द्वकालमा ८ जनाको हत्या हुनुले पनि बरमझिया चर्चित मात्र बनेको छैन माओवादीले बरमझिया गाउँलाई अहिले पनि जनयूद्धको केन्द्र स्थलहरु मध्ये एउटा स्थलको रुपमा लिँदै आएको छ ।
तत्कालिन माओवादी खजुरी चन्हाका गाविस अध्यक्ष समेत रहेका ५० वर्षिय रामकिशोर साहलाई १६ भदौ २०६१ मा माओवादीको विद्रोही पक्षले हत्या गरेको थियो । उनी नेपाली कांग्रेसको टिकटबाट गाविस अध्यक्ष बनेका थिए भने क्षेत्रिय स्तरको कार्यकर्ता समेत रहेका थिए । काग्रेस धनुषाका सचिव कोमलकान्त झाका अनुसार रामकिशोर साहको उक्त गाउँमा बोलबाला थियो, उनी जीउँदो रहुनजेल माओवादीले आफ्नो संगठन विस्तार गर्न सकिरहेको थिएन त्यसैले तत्कालिन विद्रोही माओवादीले उनलाई हत्या गरे । त्यसैगरी बालाबाखरका रामसेवक यादवलाई १६ चैत्र २०५९ मा विद्रोही पक्षले हत्या गरेका थिए । यादव उक्त गाविसका पुर्व गाविस अध्यक्ष थिए । माओवादीका महादेव यादव, श्याम यादव लगायतका नेताहरुको गाउँ रहेका कारण उनीहरु भुमिगत रहेको भएपनि उनीहरुलाई यादवले केही चल्न नदिएपछि उनलाई तत्कालिन विद्रोही पक्ष माओवादीले हत्या गरेको कांग्रेस सचिव कोमलकान्त झाको भनाई छ । त्यसैगरी शान्तिपुरका विन्देश्वर यादव कांग्रेसको गाउँ स्तरको महत्वपुर्ण कार्यकर्ता जो पञ्चायतकालमा गाविस अध्यक्ष समेत थिए, उनको तत्कालिन विद्रोही पक्षले हत्या गरेको थियो । कांग्रेस सचिव झाका अनुसार अहिलेको राष्टूपति डा.रामबरण यादवको क्षेत्र पर्ने करिब २÷३ वटा गाविसहरुमा ठुलो पकड बनाएको अवस्थामा माओवादीले धेरै धम्की दिन थालेपछि गाउँ छाड्न पार्टीले समेत भन्दा उनी तयार नभएपछि माओवादीले उनको हत्या गरेको थियो ।
    त्यसैगरी भुतही पटेर्वाका गाविस अध्यक्ष जगत नारायण साहलाई माओवादीले हत्या गरेको थियो । उनी एमालेबाट गाविस अध्यक्ष चुनिएका थिए । नेकपा एमाले धनुषाका सह संयोजक राजकिशोर यादवका अनुसार भुतही पटेर्वामा माओवादीको सेल्टर थियो । हुन त साहको घरमा माओवादीहरुले सेल्टर पनि लिन्थे, खाना पनि खान्थे तर, जब उनलाई माओवादी बन्न उनीहरुले दवाव दिए, साहले इन्कार गर्यो । हुन त त्यसैपनि त्यो गाउँमा मण्डल र साह समुदाय बीच परम्परागत द्वन्द्व चलिआएको थियो । पालैपालो मण्डल र साह समुदायबाट गाविस अध्यक्ष हुने गथर््यो । त्यसै क्रममा माओवादीले  साहलाई हत्या गरेका थिए ।
     माओवादी द्वन्द्वको प्रभाव सबैभन्दा वढी धनुषाधाम गाविसमा परेको थियो । त्यसको दुईवटा प्रमुख कारण के थियो भने अजब लाल यादव माओवादीको राजनीतिक फ्रन्ट जो खुल्ला रुपमा काम गथर््यो, संयुक्त जनमोर्चाका केन्द्रिय सदस्य थिए । अर्को तर्फ हेमबहादुर मल्ल पञ्चायती व्यवस्थाका प्रभावशाली पञ्चहरु मध्ये एक जो शेरेधनुषाका नामले प्रसिद्ध थिए, उनको गाउँ पनि धनुषाधाम नै थियो । यादव र मल्ल बीचको संघर्ष वर्ग संघर्षको रुपमा परिणत भएपछि माओवादी तर्फबाट हेमबहादुर मल्लका छोरा मनोहर प्रताप मल्लको ३१ साउन २०५९ मा माओवादीले हत्या गरेको थियो । त्यतिबेला हेमबहादुर मल्ल राजेश्वर देवकोटा केन्द्रिय अध्यक्ष रहेको राष्टिूय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष थिए । हेमबहादुरको कान्छो छोरा मनोज मल्ल उक्त गाविसको अध्यक्ष थिए भने कुदरुस राइन उपाध्यक्ष थिए । कुदरुसको ठुलो प्रभाव थियो । माओवादीले कुदरुसलाई अपहरण गरेपछि मनोहर प्रताप मल्ल उनलाई अपहरण मुक्त गराउन सक्रिय भयो । पछि माओवादीले कुदरुसलाई लगेर म मेजर हुँ ढोका खोल भनेर भन्न लगाएपछि ढोका खोल्दा मनोहर प्रताप मल्लको हत्या गरिएको थियो । अर्को तर्फ केही दिन नवित्दै १३ भदौ २०५९ मा राज्य पक्षबाट धनुषाधाम ७ का अजवलाल यादवको हत्या गरिएको थियो । त्यसैगरी अजबलालको परिवारका सदस्य फकीचन्द यादवलाई समेत राज्य पक्षले सोही दिन हत्या गरेको थियो । यसरी हेर्ने हो भने धनुषाधाममा राज्य र विद्रोही पक्षबाट कुल १९ जनाको हत्या भएको देखिन्छ । माओवादीले धनुषाधामको चौकमा अजवलाल यादवको स्मारक पनि निर्माण गरिसकेको छ । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य रामचन्द्र मण्डलका अनुसार द्वन्द्वकालमा मात्रै धनुषामा १ सय ५ जना माओवादीका नेता तथा कार्यकर्ताहरु सहिद भएका छन् भने ११÷१२ जना द्वन्द्व पछि पनि मारिएका छन् । माओवादीका नेताहरु मध्ये मिथिलेश्वर मौवाहीका जनसरकार प्रमुख चन्देश्वर मण्डललाई १ भदौ २०६२ मा, हनुमान भनिने देवनारायण प्रतिहस्त जो जिल्ला कमिटि सदस्यका साथै मधेसी राष्टिूय मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत थिए, उनको ९ कार्तिक २०६० मा राज्य पक्षद्वारा हत्या गरिएको थियो । त्यसैगरी मनोज दत्त, गणेश जर्घा मगर, रोहित यादव, ठाकुर प्रसाद काफ्ले आदि लगायतका शिर्षस्थ नेताहरु राज्यपक्षद्वारा मारिएका थिए ।
त्यसैगरी २६ माघ २०६२ मा हुने भनिएको नगरपालिकाको निर्वाचनमा जनकपुर नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाल सदभावना पार्टी धनुषाका अध्यक्ष विजयलाल दासलाई नेकपा माओवादी समुहले ९ माघ २०६२ मा गोली हानी हत्या गरेका थिए ।
राहत मात्र वितरण
सशस्त्र द्वन्द्वकालमा धनुषामा मारिएका १ सय ८० जना घर परिवारहरुले कुल ३÷३ लाख रुपैयाँका दरले जिल्ला प्रशासन कार्यालय धनुषाबाट हालसम्म राहत लिएका छन् । त्यसैगरी ९ जना मृतकका परिवार जनले १ लाख रुपैयाँ मात्र राहत लिएको भएपनि २ लाख रुपैयाँ पाउन छुटेका छन् । जसमध्ये तल्लो गोदारका धन बहादुर गौतम, लक्ष्मीनिवास ९ का नैन बहादुर तामाङ, लगमा गाढागुढी ६ का सोनेलाल मण्डल, बहेडाबेलाका भोला यादव, मिथिलेश्वर निकास ८ का भोला रजक, बेंगाडावर ३ का गणेश बहादुर जर्घामगर, बरमझिया ६ का शेखर यादव, विन्ही ९ का अभिराम ठाकुर र दुहवी ८ का श्याम किशोर कापड साह रहेका छन् ।    
    माओवादी जनयूद्ध कालमा राज्य पक्षबाट ८ जनालाई बेपत्ता पारिएको थियो । जसमध्ये ५ जना यूवाहरुको शव उत्खन्न गरी दाह संस्कार समेत गरिसकिएको छ भने जनकपुर १० का मनोज कुमार दत्त, नगराईन १ का रामचन्द्र लाल कर्ण र वेंगाडावरका अमर विकको अवस्था अझैसम्म अज्ञात रहेको छ । स्थानीय विकास समिति धनुषाका अनुसार माओवादी जनयूद्ध कालमा मारिएका मृतकका पत्नीले पाउनु पर्ने विधवा भत्ता स्वरुप १ सय १७ जना महिलाहरुले एक मुष्ठ २५ हजार रुपैयाँ पाईसकेका छन् भने आन्तरिक रुपमा विस्थापित भएका १ सय २६ जनाहरुले परिवारको सदस्य संख्या अनुसार न्यूनतम १५ सय रुपैयाँ देखि अधिकत्म १ लाख ३१ हजार ५ सय रुपैयाँ सम्म जिल्ला प्रशासन कार्यालय धनुषाबाट राहत पाईसकेका छन् । त्यसैगरी स्थानीय शान्ति समितिले व्यक्तिगत सम्पति क्षतिपुर्ती सम्बन्धि निवेदन अनुसार धनुषामा कुल १ सय ४८ जना पीडितहरुको नाम राहतको लागि सिफारिस गरेको छ । जसमध्ये द्वन्द्वकालमा व्यक्तिगत सम्पति क्षति भएका, नजरबन्दमा परेका र अंगभंग तथा अपाङ भएका कुनै पनि पीडितले राहत तथा क्षतिपुर्ती पाएका छैनन् । तत्कालिन अवस्थामा राज्य पक्षद्वारा नजरबन्दमा पारिएका मानसिंह पट्टी ३ का महेश महरा, बरमझिया ७ का शोभित यादव, बरमझिया ८ का राधाकृष्ण यादव, बरमझिया ९ का जिवछ यादव, सबैला ४ का तेजनारायण यादव, भुतही पटेर्वा ९ का विहारी राय अमात्य, नउवाखोर परसाहीका विन्देश्वर दास तत्मा, सबैला २ का शिवजी गडेरी आदि नजरबन्द र घाइतेको रुपमा सिफारिस गरिएको छ । ती घाइतेकै रुपमा खरिहानी ६ का बुद्धिया देवीले आँखा नै गुमाउनु परेको उल्लेख गरिएको छ ।
    स्थानीय शान्ति समिति धनुषाका नायव सुब्बा विनोद रविदासका अनुसार द्वन्द्व पीडितहरु मध्ये कतिपय पीडितहरु न्याय नै पाउनु पर्छ भनेर भनिरहेका छन् भने कतिपय अव जे भयो, भयो अब विर्सौं भन्ने मानसिक्तामा पनि छन् ।
        कतिपय आँखाको सामुने भएका घटनाहरुमा पीडितहरु कुनै पनि हालतमा माफी दिन तयार छैनन भने कतिपय अवस्थामा अहिलेसम्म पीडकको पहिचान हुन नसकेका कारण पीडकको पहिचान गरी कानुनी दायरा अन्तरगत त्यसलाई कारवाही गर्नूपर्छ भन्ने पक्षमा पनि छन् । द्वन्द्वकालमा विस्थापित भएकाहरु घरमा फर्की सकेर समाजमा घुलमिल पनि भईसकेका छन् तर, यदि राजनीति सुरु हुँदा त्यहाँ फेरी पनि प्रतिसोधको भावना जाग्ने गरेको रविदास बताउँछन् । अब धेरै लामो समय पछि देशमा सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानविन गठित भईसकेपछि त्यसले टुङ्गो लगाउनेमा    पीडितहरु आशावादी छन् ।

२०७१ फाल्गुन १० गते आईतबार