Tuesday, August 26, 2014

एकिकृत सहरी विकास परियोजना र द्वन्द

२९ साउनमा मन्त्रि विमलेन्द्र निधिलाई कालो झण्डा देखाउँदै
१७ राजनीतिक दलिय संयन्त्र र घेरा दिँदै सुरक्षाकर्मी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजतन्त्रको विरोधमा जटहीका दुर्गानन्द झाले राजा महेन्द्रको जनकपुर सवारी हुँदा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरेका थिए । सोही निहुँमा राज्य पक्षद्वारा जनकपुरको विकासमा पुर्वाग्रही भई ग्रहण लगाएको पीडा जनकपुरले भोगेकै छ । देशमा गणतन्त्र स्थापना भईसकेको छ । गणतन्त्रको प्रतिक स्वरुप संजोगवस नेपालको पहिलो राष्टूपति डा.रामबरण यादव जनकपुरकै हुन । उनी राजनीति गर्दा धनुषाको निर्वाचन क्षेत्र नं. ५ बाट चुनाव लड्ने गर्थे । उनको पैत्रिक घर सोही क्षेत्रको सपहीमा पर्छ । उनको घर जनकपुरमा पनि छ । तर पनि जनकपुरमा विकासको गति लिन सकेको छैन । कुनैबेला जनकपुर देशकै सहरहरुमध्ये तेस्रो चौथो स्थानमा गनिन्थ्यो । तर, अहिले जनकपुर भन्दा धेरै पछाडी भएका सहरहरु विकासमा जनकपुरलाई धेरै पछाडी पारिसकेको छ ।
प्राचिन मिथिलाको राजधानी रहेको जनकपुर अहिले धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा पर्दछ । ८ मंसिर २०७० मा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनबाट सदभावना पार्टीका तत्कालिन वरिष्ठ उपाध्यक्ष  संजय कुमार साह १२ हजार ६ सय ६६ मत ल्याएर निर्वाचित भएका हुन । पहिलो निर्वाचनमा पनि उनी नै निर्वाचित भएका थिए ।  १२ हजार ६ सय ६६ जनाले आफ्नो मत दिएर जन प्रतिनिधिको रुपमा चुनेका साह हुन त संविधानसभामा संविधान निर्माण गर्न र जनकपुरको विकासका लागि व्यवस्थापिका संसदमा लड्नु पर्ने थियो । तर, जनकपुरबासीको दुर्भाग्य के छ भने उनीहरुले चुनेका जनप्रतिनिधि साह अहिले संविधानसभामा नभई जनकपुर बम काण्डमा व्यक्ति हत्या गर्न प्रमुख योजनाकारको भुमिका निर्वाह गरेको अभियोगमा सिरहा कारागारमा थुनिएका छन् । त्यसैले अहिले जनकपुर जनप्रतिनिधि विहिन बनेका छन् । जनकपुरको जनप्रतिनिधि निलम्बित छन् । यसको अर्थ जनकपुरको विकास पनि जनप्रतिनिधि थुनिए झैं थुनिनु हुन्न । विकास पनि निलम्बित हुनु भएन । किन भने जनकपुरको जनप्रतिनिधि बन्नका लागि ६२ जनाले संविधानसभाको चुनावमा हाम फालेका थिए । ५ महिला र ५७ जना पुरुषहरु गरी कुल ६२ जना मध्ये ३१ जना राजनीतिक दलहरुका तर्फबाट उम्मेदवार बनेका थिए भने ३१ जना स्वतन्त्र रुपमा चुनावमा सहभागी भएका थिए ।
विरोधका बीच मन्त्रि निधिको शक्ति प्रदर्शन । मन्त्रि निधिलाई स्वागत गर्न मोटरसाईकल ¥याली
सहित विमान स्थलबाट ल्याउँदै नेपाली कांग्रेसका कार्यकर्ताहरु ।
जनकपुरको जनप्रतिनिधि भलेही सिरहा कारागारमा थुनिएका बेला जनकपुरका ११ हजार ४ सय २६ जना मतदाताले आफ्नो मत दिएर नेपाली कांग्रेसका धनुषाका सभापति समेत रहेका रामसरोज यादवलाई आफ्नो नेता मानेका थिए । केही मत अन्तरले पराजित भएका उनी अहिलेको अवस्थामा जनप्रतिनिधि नभएपनि उनी जनप्रतिनिधिको रुपमा अगाडी आउन सक्थे । भन्नुको तात्पर्य के हो भने संविधानसभामा नपुगेपनि जनताको सुखदुख र जनकपुरको विकासका लागि पहल कदमी लिएर वर्तमान सरकार जो उनको पार्टीको नेतृत्वमा छ, उनी सफल हुन सक्थे । तर, दुर्भाग्य नै भन्नु पर्छ, जनकपुरबासीले त्यो अनुभुति गर्न सकेका छैनन् ।
संजय साह पहिलो पटक निर्वाचित भई आफ्नो संसदीय क्षेत्र जनकपुरको पुर्वाधार विकासको लागि भौतिक योजना तथा निर्माण मन्त्रालयका राज्य मन्त्रिका हैसियतले लगानी भित्रियाउने प्रयास गरेका थिए । जनकपुरको दुरावस्थालाई अन्तय गरी कायापलट गर्ने उद्देश्य लिई जनकपुर सहर भित्र २६ किलोमिटर सडक र सोही दुरीमा ढल र व्यवस्थित ल्यान्ड फिल साइटको  निर्माण गर्न, जानकी मन्दिरलाई केन्द्र विन्दु मानि त्यहाँबाट विस्तारित र अन्य ढल सहितको सडक संजाल र फोहरलाई उचित तथा बैज्ञानिक तवरले व्यवस्थापन गरिने उद्देश्य लिई एकीकृत सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंक, नेपाल सरकार र जनकपुर नगरपालिका विच त्रिपक्षिय सम्झौता गर्न लगाए ।
    पटक पटकको छलफल र सहमति पश्चात अन्ततः सन् ८ मई २०१२ मा जनकपुर नगरपालिका , एसियाली विकास बैंक र नगरविकास कोषबीच जनकपुर नगरपालिकाको विकासका लागि सडक निर्माण , नगरको सौन्दर्यीकरण सहितका लागि एसियाली विकास बैंकले १९.०४ अमेरिकी डलर अनुदान दिने त्रिपक्षिय सम्झौता पनि भयो । एडिबीका तर्फबाट नेपालमा रहेका कन्टूी डाइरेक्टर तथा आवासिय मिसन प्रतिनिधी केनिची योडोयामा , नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक सुशिल ज्ञवाली र जनकपुर नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले सम्झौतामा हस्ताक्षर गरेका छन् । एक अमेरिकन डलर बराबर नेपाली रुपैयाँ ८५.१५ मानि पुरा परियोजनामा रु. १ अर्ब ६२ करोड १२ लाख ५६ हजार अनुमानित लागत लाग्ने अनुमान गरिएको छ । सडक , नाला र समुदायमा आधारित शीपमुलक तालिमका लागि उक्त रकम लगाइनेछ ।
तर, उक्त परियोजना पुरा हुने हो वा होइन अन्यौलमै छ । किनभने उक्त परियोजना कार्यान्वयनमा आउनका निम्ति सडक तथा ढल निर्माण, ल्याण्ड फिल साइट निर्माण र जनचेतना मुलक कार्यक्रम एकै पटक एक साथ आयोजन हुनुपर्ने परियोजनामा लगानी गरेका एसियाली विकास बैंकको शर्त छ ।  जनकपुर नगरपालिकाको कार्यालयले मापदण्ड निर्धारण गरी सडक विस्तार गर्न चिनो लगाउने कार्य गरिसकेको छ । स्थानीयवासीले समेत चिनो भन्दा बाहिरका घरहरु आफैले भत्काउन थालेका छन् । विकासको लागि जनकपुरवासीले यतिको सहयोग गर्न तयार भएका छन् । तर, फोहर मैला व्यवस्थापनको लागि ल्याण्ड फिल साइट निर्माणमा विवाद भएपछि परियोजना नै धरापमा परेको हो । फोहर व्यवस्थापन गर्ने कार्यको लागि विगतमा गुठी संस्थान केन्द्रीय कार्यालय र जनकपुर नगरपालिकाका बिचमा २०७० साल असार ३१ गते फूलगामा गाविसमा १२ विघा १७ कठ्ठा १७ दशमलव ५ धुर जग्गा २० वर्षे लिजमा लिने गरी सम्झौता भैसकेको थियो । र, उक्त स्थानको माटो परिक्षणको कार्य समेत सम्पन्न भैसकेको अवस्थामा फूलगामामा ल्याण्डफिल्ड साइटको जग्गा राजर्षि जनक विश्वविद्यालयको लागि प्रस्तावित जग्गा भएको भनी नेपाल सरकारका एक जना प्रभावशाली मन्त्री विमलेन्द्र निधिले कुनै पनि हालतमा त्यहाँ हुन नदिने अडान लिएपछि विवाद उत्पन्न भएको छ ।
मन्त्रि निधि धनुषाको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका छन् । अहिले उनले आफ्नो क्षेत्रको विकासका लागि राज्यको ढुकुटी खोली दिएका छन् । गाउँ गाउँमा सडक बनाउने योजनाहरु कार्यान्वयनको अवस्थामा छन् भने जटही देखि ढल्केबरसम्म ६ लेनको सडक बनाउने तयारी गरिरहेको उनले सार्वजनिक कार्यक्रमहरुमा समेत बताउँदै आएका छन् । त्यसैगरी उनकै क्षेत्रमा पर्ने जटही नाकालाई नेपाल भारत सिमाको मुल नाका बनाउने प्रयासमा छन् । यसरी हेर्दा उनी आफ्नो क्षेत्रका लागि विकास पुरुषको रुपमा आफुलाई स्थापित गराउन अगाडी वढेका छन् । हुन त उनको घर जनकपुरमा पनि छ । कुनै बेला जनकपुरबाट उनी चुनाव पनि लडेका थिए । तर, जनताले उनलाई पराजित गरिदिए । उनको बुवा महेन्द्र नारायण निधिको नाउँमा तिरहुतिया गाछी अन्तरगतका ऐतिहासिक बैल बजारको जग्गामा महेन्द्र नारायण निधि मिथिला संस्कृति संग्राहालय वर्षौ देखि निर्माणाधिन अवस्थामा छन् । तर, मन्त्रि निधिले जनकपुरको विकास भन्दा पनि आफ्नो क्षेत्रको विकासमा मात्रै केन्द्रित भएपछि जनकपुरका जनताहरु आक्रोशित भएका छन् । यसका साथै १९ दलको नगरस्तरीय राजनीतिक संयन्त्र मध्ये १७ वटा राजनीतिक दल विरोधमा ओर्लिएका छन् । उनीहरु विभिन्न चरणको आन्दोलन गर्दै अब जनकपुर बन्द गर्ने सम्मको कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् । राष्टिूय मधेस समाजवादी पार्टी धनुषाका अध्यक्ष महाशंकर ठाकुरका अनुसार संघर्ष समितिले सार्वजनिक गरेको चौथो चरणको कार्यक्रम अन्तरगत भदौ ६ गते संघर्ष समिति गठन गर्ने, भदौ ९ गते रेल्वे स्टेशनबाट मोटरसाईकल जुलुस निकाली नगरको परिक्रमा गर्ने, भदौ १५ गते रेल्वे स्टेशनबाट मशाल जुलुस नगरभरी प्रदर्शन गरिने, भदौ १६ गते एक दिनको लागि आम हडताल गर्ने र भदौ २० गते वृहत जन प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
३१ साउनमा मन्त्रि निधि जनकपुर आउँदा १७ दलिय संयन्त्रले विमान स्थलको प्रवेशद्वारमा कालो झण्डा देखाएका थिए । संख्यामा तिनीहरु कमै भएपनि मन्त्रिलाई कालो झण्डा देखाएका थिए । व्यापक प्रहरीको परिचालन गरिएको थियो । प्रदर्शनकारीहरुलाई प्रहरीले घेराहाली रोकेका थिए । मन्त्रि निधिको तस्वीरलाई क्रस गरिएको व्यानर प्रहरीले हटाएका थिए । एकातर्फ मन्त्रि निधि विकास विरोधी हुन भन्दै विरोध प्रदर्शन गरिएको थियो भने अर्को तर्फ मन्त्रि निधिलाई करिब हजारौंको संख्यामा लिन गएका नेपाली कांग्रेसका कार्यकताहरुले मन्त्रि निधिलाई विकास प्रेमीका रुपमा नाराबाजी गर्दै थिए । त्यहाँ मन्त्रि निधिले आफ्नो शक्ति प्रदर्शन गराएका थिए । किनभने यसअघि विरोधमा ओर्लिएका दलहरुले मन्त्रि निधिलाई जनकपुर प्रवेशमै रोक लगाउने सम्म भनेका थिए ।
यहाँ सम्मको विरोधका कार्यक्रमहरुमा उपस्थित नदेखिएका एमाओवादीका नेता तथा पोलिट व्युरो सदस्य रामचन्द्र झा भाद्र ३ गते आयोजना गरिएको विरोध जुलुस र विरोध सभामा सहभागी मात्र भएनन्, अब विमलेन्द्र निधिलाई ठेगाना लगाउनुपर्ने बेला आईसकेको भन्दै चेतावनी पनि दिए । विरोध सभालाई सम्बोधन गर्दै मन्त्रि निधिले आफ्नो क्षेत्रबाट भाडाका टटुहरुलाई ल्याएर जनकपुर नगर विकासमा अवरोध कबनेर शक्ति प्रदर्शन गरेर चल्नेबाला छैन, हिम्मत छ भने निधि अब जनकपुर आएर देखाओस, भकमच्छर छोडाईने छ भनेर चेतावनी समेत दिए । यसरी एकिकृत सहरी विकास परियोजना कार्यान्वयन हुने नहुने विषयमा राजनीतिक रुपमा पनि राजनीतिक दलहरु आमने सामने आउनाले अब मुठभेडको अवस्था पनि ननिम्तिने हो भन्न सकिन्न । जे भएपनि जनकपुरबासी कुनै पनि हालतमा परियोजना कार्यान्वयन हुनुपर्ने अडानमा छन् । यदि यो परियोजना लागु हुन सकेनन् भने भविष्यमा पनि दातृ निकायहरुले जनकपुर विकासको लागि लगानी गर्नबाट हच्किने छन् । तसर्थ मन्त्रि निधिले पनि आफ्नो अडानबाट एक कदम पछाडी हटेर समग्र जनकपुरको विकासका लागि निकास दिनुपर्ने आवश्यकता छ । नत्र भने पुर्वाधार तथा यातायात मन्त्रिको गृह जिल्ला धनुषाको सदरमुकाम जनकपुरको पुर्वाधार तथा यातायातको दुरावस्था देखेर उनको पनि प्रतिष्ठा बढ्ने होइन घट्ने नै छ ।

२०७१ भादौ ०८ गते आईतबार

रंगमञ्चमै समर्पित रामनारायण

भारतको दिल्लीमा आयोजित ‘ओकरा आँगनक बारहमासा’ नाटकमा
सह–कलाकार प्रियंका झासँग अभिनय गर्दै रामनारायण ठाकुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
रामनारायण ठाकुर मैथिली रंगमञ्चका एक सशक्त कलाकार हुन । वरिष्ठ रंगकर्मी ठाकुर हास्य कलाकारका रुपले परिचित छन् । मञ्चमा उनको दृष्य आउने वित्तिकै दर्शकहरु उत्साहित हुन्छन् । उनको अभिनय, सम्वाद तथा बोल्ने प्रस्तुति वा अभिनय गर्ने कलाको जादुमा मन्त्रमुग्ध हुन्छन् दर्शकहरु । मञ्चमा अभिनय गरेर दर्शकलाई हसाउनु उनको खास कला त हुँदै हो तर, गम्भीर प्रकृतिका चरित्रहरुमा पनि उनको अभिनयले दर्शकहरुमा  विशेष किसिमको छाप छोड्न सफल हुन्छन् । नाटक प्रति उनको त्याग र समर्पण यति सम्म छ कि नाटकका सामु उनले परिवार वा निजी जिवनलाई कहिल्यै प्राथमिकता दिएनन् । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उनको आमा सत्यादेवी प्यारालाइसिस रोगले थला परेकी थिईन । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लगे । उनी र उनका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् । यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उनलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गरे तर, उनी आमाको स्याहारका लागि घर फर्के । दुई दिन पछि उनको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उनी काठमाण्डौ प्रस्थान गरे । नाटक गर्नकै लागि उनी काठमाण्डौ पुग्दा उनका सहकर्मीहरु पनि आश्चर्य चकित भए । काठमाण्डौमा नाटक गरेर उनी सबै कलाकारसँगै घर फर्किए । यसरी नाटक प्रति उनको समर्पण कति छ भनेर बुझ्न सकिन्छ ।
महामुर्ख सम्मेलनमा साडी लगाएर व्यङ्ग गर्दै रामनारायण ठाकुर ।
एक पटक प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सवमा सहभागी हुनु थियो । तर, त्यो बेला उनका बुवा सियाशरण ठाकुर पनि आफ्नो जीवनको उत्तरार्धमा थिए । उनले खानापानी सबै त्यागी सकेका थिए । अवस्था राम्रो थिएन । तर पनि रामनारायण ठाकुरले बुवाको माया मारेर नाटकलाई प्राथमिकता दिएका थिए । काठमाण्डौ पुगी नाटक महोत्सवमा सहभागी भई ‘प्रेत चाहे असौच’ नाटक मन्चन गरी विवाह पञ्चमीका दिन जनकपुर फर्के । फलफुल किनेर घर आउँदा टोलामा पनि सबैले ए रामनारायण आई पुगिस् । धेरै राम्रो गरिस भनेर भन्यो । बास्तवमा उनी घर पुग्दा उनको बुवाको श्वाँस चलिरहेको थियो । उनी पनि आफ्नो छोराको प्रतिक्षामा थिए । रामनारायणलाई हेर्ने वित्तिकै उनको बुवाको आँखाबाट आँसु झर्न थाल्यो । रामनारायणले आफ्नो बुवाको आँसु पुछे । त्यसको केही घण्टा पछि नै उनको देहान्त भयो ।
रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त थिईन । उनी विरामी भएका कारण धेरै पीडामा थिईन । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उनी विराटनगरका लागि प्रस्थान गरे । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उनले आँसुलाई थाम्न सकेनन् । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उनले नाटकलाई नै वढी प्राथमिकता दिएका छन् । यसकारण पनि उनको नाटक प्रतिको लगाव र समर्पण प्रस्ट हुन्छ ।
मैथिली फिल्म मुखियाजीमा जनकपुरका कलाकार
विष्णु मिश्रसँगै
रामनारायण ठाकुर ।
नेपालको पहिलो मैथिली टेली फिल्म ‘मिथिलाक व्यथा’, काठक लोक, बाबा, शान्ति, कनियाँ पुत्रा, अन्हरजाली, सृष्टी, आमा २ लगायतका टेली फिल्महरुमा उनले अभिनय गरिसकेका छन् । यसका अतिरिक्त मैथिली नाटकहरु पुष जाढ की माघ जाढ, गाम नै सुतैय, ओकरा आँगनक बारहमासा, छुतहा घैल, ओ खाली मुह देखैछै, एक टुक्रा पाप, छमादान, ओरिजनल काम, प्रेत चाहए असौच, एकटा छल गदहा लगायतका दर्जनौं नाटकहरुमा उनले अभिनय गरेका छन् । त्यसैगरी मैथिली फिल्म आउ पिया हमर नगरी, छुटत नै प्रेमक रंग, मुखियाजी आदि फिल्ममा समेत ठाकुरले अभिनय गरेका छन् । यसका अतिरिक्त उनले एक हजार भन्दा वढी सडक नाटकहरु धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, पर्सा, सुनसरी लगायतका जिल्लाहरुमा गरेका छन् । अहिले रेडियो नाटक संगोरमा गहुँमलालको पात्रमा अभिनय गर्दैछन् । हे गौ बाउ थेगो रहेको उनको अभिनयको प्रसंसा सबै तिर भईरहेको छ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सँगै उनले आमा २ टेलि फिल्ममा समेत काम गरेका छन् । अभिनय गर्न अगाडी आफ्नो डायलोक याद गर्नका लागि उनी खेत र चौरीमा गएर एक्लै रिहर्सल गर्ने गरेको उनले बताए । कमेडियन रोल गर्न रुचाउने उनी सिरियस रोलहरु गर्न पनि पछि पर्दैनन् । उनको अभिनयलाई सम्मान गर्दै रेडियो मिथिलाले चन्द्रकान्त पुरस्कार, रामानन्द युवा क्लबले राजनारायण सरस्वती पुरस्कार, मैथिल ब्राह्मण समाजले मिथिला गौरव सम्मान, मिथिला महोत्सव सम्मानले सम्मानित गरेका छन् ।
सन् २०१२ मा कतारमा आयोजना गरिएको सो मा जनकपुरका अर्को हास्यकलाकार रविन्द्र झासँग
नाँच्दै रामनारायण ठाकुर ।
श्री कन्टिर झा नमुना मावि बभनगामा, लोहनामा पढ्न जाँदा उनी नाटक प्रति रुचि राख्न थालेका थिए । हुन त उनको बुवा सियाशरण ठाकुर लोक नाँचहरुमा नाच्ने गर्दथे । उनको बुवा पढेलेखेको नभएपनि कन्ठष्थै रामायण बाचन गर्न सक्थे । नाँचको म्यानेजर रहेका उनको बुवालाई मानिसहरुले उस्ताद भन्ने गर्थे । त्यसैले पनि गित गाउन रामनारायण बच्चा देखि नै सिपालु थिए । विद्यालयमा कुनै पनि सांस्कृतिक कार्यक्रम हुँदा उनी गित गाउथे र पुरस्कारहरु जित्ने गर्थे । तर, सोही विद्यालयका शिक्षक तथा मैथिली नाटककार महेन्द्र मलंगियाले एक दिन रामनारायणलाई नाटकमा अभिनय गर्न हौस्याएपछि उनको रुचि नाटकमा पनि जाग्न थाल्यो । संजोग कस्तो भयो भने विद्यालयमा छमादान नाटक गर्ने तयारी भयो । मलंगिया सर हिरोको रुपमा चुनिए भने रामनारायणलाई हिरोइनको रोल र सुनिल मल्लिकलाई बच्चाको रोल दिइयो । पहिलो पटक नाटकमा उनले अभिनय गरेपछि दर्शकहरुबाट राम्रो फिडव्याक आएपछि उनले नाटकलाई नै अगाडी बढाउन कम्मर कसे । गित र नाटकमा वढी ध्यान दिने गरेका कारण उनी एसएलसी परीक्षामा लगातार चार पटक अनुत्तिर्ण भए । पाँचौं पटकमा उनी पास भए । २०३५ को व्याचको विद्यार्थी भएपनि २०४० सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण भए । त्यसपछि काठमाण्डौको पुल चौक क्याम्पसमा सिभिल इन्जिनियरिङ गर्न गएपनि उनी इन्जिनियर त बन्न सकेनन्, पाँच वर्षमा सब ओभरसियर बनेर घर फर्के । सब ओभरसियर भएपछि विभिन्न परियोजनाहरुमा उनले काम त गरे तर नाटककै कारण उनले विभिन्न जागिरहरुपनि त्यागनु प¥यो ।
४ भदौ २०१९ मा जन्मिएका रामनारायणको श्रीमति पवन देवी दुई छोरा र एक छोरी छन् । नाटककै लागि जागिरको परवाह नगरेका उनी नाटकबाट जीवन जिविका चलाउन गाह्रो भएको बताउँछन् । उनी भन्छन,“आफ्नो पैत्रिक खेतबाट धान चामल नआएको भए जीवन चलाउन अत्यन्तै धौ धौ हुने थियो । राज्यले कलाकारलाई कहिल्यै पनि प्राथमिकतामा नराखेका कारण नाटककर्मीहरु यस क्षेत्रबाट रोजिरोटीको खोजीमा अन्यत्र पलायन भए ।” अहिले आएर केही अन्तराष्टिूय गैरसरकारी संस्थाहरुले सडक नाटक वा रेडियो नाटकमा राम्रो पारिश्रमिक दिने गरेको भएपनि विगतमा कलाकारहरुको जीवन अत्यन्तै कष्टकर थियो । घरपरिवारले पनि नाटकमा सहयोग गरेको कारण घर परिवारले पैसाका लागि कहिल्यै पनि दवाव नदिएकै कारण आफु नाटकमै रहन सकेको उनी बताउँछन् । जनताले गरेको सम्मान र पहिचान सबै भेटेका कारण आफु मर्दा पनि मञ्चमै मर्न पाए हुन्थ्यो भन्ने उनको इच्छा छ ।
 

२०७१ भादौ ०८ गते आईतबार