Monday, January 2, 2017

अजब–गजब छ बा ! : सुदर्शन सिंह

अब बल्ल ढुक्क भएँ । नरकपुरको निर्माण तिब्र रुपमा भएको देखेर !
यूवाको कामै हो दोष लगाउने ।

२०७३ पौष १७ गते आईतबार

जनकपुरको विकासमा मकेश्वर बाबुको योगदान राजदरबारसँग जोडिएका विभिन्न किस्साहरु

स्वर्गीय मकेश्वर प्रसाद सिंह ।
अजय अनुरागी
जनकपुरधाम............
६ पुष २०६७ मा विकास पुरुष मकेश्वर प्रसाद सिंहको निधन भएको थियो । आम जनले उनलाई सम्मान स्वरुप मकेश्वर बाबु भन्ने गर्दथे । ८४ बर्षको उमेरमा उनको निधन भएको थियो । ९ पुष २०७३ मा विकास पुरुष मकेश्वरबाबु सामाजिक प्रतिष्ठानले छैठौं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजन गरेर उनको सम्झना गरेको थियो । स्वर्गीय मकेश्वर बाबुका नाती रितेश सिंह अध्यक्ष रहेको उक्त प्रतिष्ठानले २०६९ सालमा समाजसेवी अमरचन्द्र अनिल, २०७० सालमा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, २०७१ सालमा समाजसेवी पवन सिंघानिया, २०७२ सालमा मिथिला नाटयकला परिषद र २०७३ सालमा सत्य आलोकलाई पुरस्कृत गरेको थियो । मकेश्वर बाबुले यो समाजको विकासका लागि गरेको योगदानलाई स्मरण गर्दै अरु मानिसहरु पनि देश र समाजको विकासका लागि प्रेरित हुन सकोस् र मकेश्वर बाबुको स्मरण हुन सकोस् भन्ने उद्देश्यले पारिवारिक प्रतिष्ठानले प्रत्येक बर्ष उनको पुण्य तिथीमा समाजका समाजसेवीलाई पुरस्कार प्रदान गरेर सम्मान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान
स्वर्गीय मकेश्वर प्रसाद सिंह ।
१९८३ साल गुरु पुर्णिमाको दिन धनुषाको हंसपुर कठपुल्ला ८ स्थित पल्टन सिंह तथा लवकी देवीले आफ्नो सन्तानको रुपमा मकेश्वर प्रसाद सिंहलाई पाएका थिए । पार्टी पौवामा सामान्य लेखपढ गर्न जानेका मकेश्वर १८ बर्षको उमेरमा गाउँबाट सदरमुकाम जनकपुर आएका थिए । जनकपुरको रेल्वे स्टेशन एरियामा उनको पहिले देखि नै घर थियो । त्यही उनी बसोवास गर्न थाले । जनकपुर आईसकेपछि उनको संगत नेपाली कांग्रेसका नेता महेन्द्र नारायण निधिसँग भयो । २००८ साल तिर महेन्द्रनारायण निधिकै सँगतमा परेपछि उनी पनि कांग्रेसको सदस्यता प्राप्त गरेर राजनीति गर्न थाले ।  निधिकै कारण कांग्रेसका संस्थापक नेताहरु सुवर्ण शम्शेर राणा, कृष्ण प्रसाद भट्टराईसँग चिनजान उनको भएको थियो । कांग्रेसमा उनको सक्रियता वढ्दै गएपछि २०१६ सालमा तत्कालिन धनुषा महोत्तरी र सर्लाही सम्मिलित जिल्लाको जिल्ला स्तरीय कोषाध्यक्ष बनाइएका थिए । किनभने उनी सुवर्ण शम्शेरको लविमा थिए । हुन त उनी पञ्चायती व्यवस्था विरुद्ध कांग्रेसले गरेको आन्दोलनमा लागेर पटक पटक जेल परेका थिए । २०१७ सालमा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परिरहेको बेला उनी पनि निर्वासित हुनु परेको थियो । २०१७ साल पुष १ मा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परेपछि त्यसको तेस्रो दिन उनी भारत निर्वासित हुनुपरेको थियो । २०१८ साल कार्तिक २६ गते महेन्द्रनारायण निधिको नेतृत्वमा कार्तिक २६ गते भएको सत्याग्रहमा स्वदेश फिर्ता भएपछिे करिब २ बर्ष भन्दा वढीको समय जति जलेश्वर कारागारमा बन्दीको रुपमा जीवन विताउनु परेको थियो । त्यो बेला महेन्द्र नारायण निधि, जिल्ला सचिव बलराम नायक, नागेश्वर झा, रामचन्द्र मिश्र लगायत ९ जना मानिसहरु पक्राउ परेका थिए । कांग्रेसका तत्कालिन कार्यबाहक सभापति स्वर्ण शम्शेरको बिचारले २०२१ सालमा जनकपुर नगरपालिका वार्ड नं. १ को निर्विरोध वार्ड सदस्यका रुपमा चुनिएका थिए । २०२१ मंसिर १९ गते जनकपुरको वार्ड नं. १ बाट उनी निर्वाचित भएका थिए । २०२३ सालमा जनकपुर विकास समितिको सचिव भएर जनकपुरको विकासका कार्यहरुमा योगदान पुर्याएका थिए ।
 पञ्चायती व्यवस्थाको विरोध गरिरहेको अवस्थामा मकेश्वर बाबु पनि २०२६ साल फागुन ७ गते जानकी मन्दिरको प्राङ्गनमा रहेको राजा महेन्द्रको प्रतिमामा कालो पोत्ने कार्य गरेका थिए । परिणाम स्वरुप उनलाई पक्राउ गरी कारागार पठाइएको थियो । उनीसँगै सरोज प्रसाद कोइराला र महेन्द्रनारायण निधि पनि पक्राउ परेका थिए । राजकाज ऐन र सुरक्षा ऐनका आधारमा पक्राउ गरिएको थियो । करिब ९ महिना पछि उनी जेलबाट निस्किएका थिए ।
पञ्चायतका कट्टर विरोधी यसरी भए पञ्चायतका कट्टर समर्थक
विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानद्वारा९ पुष २०७३ मा छैठौं पुण्य तिथिका अवसरमा समाजसेवी
अनाथ बाल आश्रमका संचालक आलोकलाई सम्मानित गर्दै ।
पञ्चायती व्यवस्थाको विरोध गरिरहेका मकेश्वरबाबुको जिन्दगीमा के त्यस्तो भयो र उनी पछि गएर त्यही राजा महेन्द्र र उनले लागु गरेको पञ्चायती व्यवस्थाका कट्टर समर्थक बने भन्ने प्रश्न अहिले पनि आम जनमा अनुत्तरीत रहेको पाईन्छ । भद्रगोल जेलमा रहेका बेला उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । राजा महेन्द्रका विशेष दुतको रुपमा विष्णु मनि आचार्यलाई जेलमा पठाइएको थियो । विशेष दुत आचार्यसँग मकेश्वर बाबुको पहिले देखि नै चिनजान थियो । विष्णु मनि आचार्यको जनकपुरको रंगभुमि मैदान बारहविघाको सामुन्ने घर छ । त्यसकारण उनको चिनजान थियो । अर्को तर्फ आचार्य राजा महेन्द्रका अत्यन्त नजदिक मानिने विश्वास पात्र मध्ये एक थिए । जेलमा गएर आचार्यले मकेश्वर बाबुलाई के भन्यो भने तपाई स्वास्थ्य स्थितिबाट अत्यन्त लाचार भईसक्नुभएको छ, तपाई विदेशमा गएर आफ्नो इलाज गराउनुस, सम्पुर्ण खर्च दरबारले बेहोर्छ तर सर्त एउटा मात्र के छ भने तपाई पञ्चायती व्यवस्थाको विरोध गर्नुको साटो त्यसको समर्थन गरी पञ्चायतमा आउनुस । जेलबाट मुक्त भएपछि मकेश्वर बाबु उपचार गर्नका लागि भारतको कलकत्ता पुगे । त्यही कांग्रेसका कार्यबाहक सभापति सुवर्ण शम्शेरलाई भेट गरी राजा महेन्द्रले आफ्ना दुत आचार्य मार्फत दिएको प्रस्ताव बारे बृतान्त सुनाए । मकेश्वर बाबुका नाती रितेश सिंहका अनुसार सुवर्ण शम्शेरले मकेश्वर बाबुलाई ग्रिन सिग्नल दिए । सुवर्ण शम्शेरले मकेश्वरबाबुलाई भने, “अब हाम्रो रणनीति नै भनेको के हो भने हाम्रो मान्छेहरु पनि पञ्चायतमा घुसपैठ गर्नुपर्दछ । हाम्रो मान्छे पञ्चायतमा गयो भने त्यहाँ भित्रका कुराहरु पनि हामी कहाँ सूचना प्राप्त हुन सक्छन् । फेरी तपाई जस्तो मान्छे पञ्चायतमा गएर पनि प्रजातन्त्रलाई नै बल पुग्छ । त्यसकारण तपाई पञ्चायतमा छिर्नुस ।” त्यसपछि उनी पञ्चायतमा प्रवेश गरेका थिए । २०२७ सालमा उनी जिल्ला पञ्चायतको सदस्यका रुपमा चुनिएका थिए । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पुनः तेस्रो पटक गिरफ्तार भई सिन्धुली जेलमा ७ महिना जति बन्दी जीवन विताई रिहा भएका थिए । २०३२ सालमा जानकी मन्दिर जिर्णाेद्धार समितिका सदस्य भई जानकी मन्दिरको भौतिक विकासका लागि योगदान पुर्याएका थिए । २०३५ सालमा राष्टिूय पञ्चायत सदस्यमा उनी निर्वाचित भई २०३६ सालमा किर्ती निधि विष्टको सरकारमा उनलाई सम्भार तथा पर्यटन सहायक मन्त्रि बनाइएको थियो । उक्त सरकारको समयमा सिंहदरबारमा आगो लागेपछि नैतिकताको आधारमा विष्ट सरकारले राजीनामा दिएको थियो । त्यसकारण ४५ दिन मात्र उनी सहायक मन्त्रिको रुपमा रहेका थिए ।तर त्यो ४५ दिनको अवधिमै उनले जनकपुरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पहिलो पटक पर्यटन कार्यालय पनि जनकपुरमा स्थापित गराएका थिए ।
प्रधानमन्त्री सुर्यबहादुर थापासँगको टकराव
स्वर्गीय मकेश्वर बाबुलाई श्रद्धाञ्जली दिँदै उनका नाती रितेश सिंह ।
 २०३७ सालमा पञ्चायत व्यवस्थालाई नै जनमत संग्रहमा जिताइएपछि सुर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकारमा मकेश्वर बाबुलाई फेरी बन तथा भुसंरक्षण मन्त्री बनाइएको थियो । त्यो बेला एउटा रोचक घटना भयो र मकेश्वरबाबु र तत्कालिन प्रधानमन्त्री थापाका बीचमा ठुलो टकरावको स्थिति उत्पन्न भयो । त्यो बेलामा एउटा गोल्छा काण्ड भएको थियो । त्यो के भने हुलास चन्द गोल्छाले भारतका एक जना ठेकेदारसँग खैर आपुर्ति गर्ने सम्झौता गरेका थिए । मेची, कोशी, सगरमाथा र जनकपुर गरी ४ अञ्चलको जंगलका खरीको बोट काटेर आपुर्ति गर्ने कामका लागि ठेक्का लिएका थिए, गोल्छाले । बन तथा भुसंरक्षण मन्त्रीका रुपमा रहेका मकेश्वर बाबुलाई कन्भिन्स गर्नका निम्ति गोल्छा मकेश्वर बाबुको मन्त्रालय स्थित क्वार्टरमा पुगेका थिए । १५ लाख रुपैयाँ व्रिफकेशमा लिएरै मकेश्वर बाबुलाई गोल्छाले प्रभावमा लिन खोज्दा मकेश्वर बाबुले त्यो अफर स्वीकार गरेनन् । बरु गार्डलाई लगाएर गोल्छालाई घाँटी समातेर बाहिर निकाल्न लगाए, मकेश्वर बाबुले । गोल्छालाई ठुलो अपमान बोध भयो र जाँदाजाँदै गोल्छाले तपाईको मन्त्री पद नै म खाईदिन्छु, तपाईको सव स्वाभिमान म सिद्धियाईदिन्छु भन्दै चेतावनी दिएर गोल्छा बाहिरिएका थिए ।
त्यो घटनाको ४÷५ दिन पछि गोल्छाले आफ्ना मान्छेलाई मेचीको जंगलमा पठाएर खैरको रुख कटानी गराउन सुरु गरे । मन्त्री मकेश्वर बाबुलाई पनि त्यो कुराको सूचना गयो । सूचना पुग्ने वितिकै तत्कालिन बन अधिकृतलाई टेलिफोन गरी के निर्देशन दिए भने प्रहरी प्रशासनको मद्दत लिई त्यो कटानी रोक्न लगाई कटानीमा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गर्नुस् । तर, बन मन्त्रीको निर्देशनलाई डिएफओले ठाडै के भनेर अस्विकार गरिदिए भने रुख कटानीको लागि प्रधानमन्त्रीको कार्यालयबाट परिपत्र गरिएको छ । प्रधानमन्त्री सुर्यबहादुर थापाले रुख कटानीको लागि आदेश दिएको थियो । मकेश्वर बाबुले त्यो कुराको बारेमा छानविन गर्दा सुर्य बहादुर थापाले २५ लाख रुपैयाँ गोल्छाबाट लिएर आदेश गरेको बुझियो । आवेशमा आएर साँझको समयमा राजा विरेन्द्रसँग अपरझट दर्शन भेटको माग गरे । दर्शन भेटमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई के भने भने, अहिले कटान भईरहेको रुख सानै छ, २ हजारको दरले अहिले एउटा रुख विक्री भईरहेको छ केही बर्षमै त्यो रुख ५० हजार रुपैयाँमा पनि बेच्न सकिन्थ्यो ।  

तर, त्यसो नगरी प्रधानमन्त्री सुर्य बहादुर थापाले गोल्छाबाट २५ लाख रुपैयाँ लिएर रुख कटानी गर्न आदेश दिएको छ । जवाफमा राजा विरेन्द्रले के भने भने, म विवश छु । पारिवारिक कारणले । मेरो परिवारको अधिकांश सदस्यले सुर्य बहादुर थापालाई असाध्यै मन पराउँछन् । तत्काल म केही गर्न सक्दिनँ । तिमी केही पनि नगर, चुप लागेर बस । फेरी जवाफमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई यसो भने,“ सरकार म मन्त्री पदमा रहेर पनि मैले दिएको आदेश डिएफओले मान्दैन भने नैतिकताको आधारमा पनि म अब मन्त्री पदमा बसिरहन सुहाउँदैन । भोली म आफ्नो राजीनामा हजुरकहाँ पठाईदिन्छु, हजुरले स्वीकृत गरिबक्सियोस् ।” राजा विरेन्द्रले भने, प्रधानमन्त्री मार्फत राजीनामा आउनुपर्छ, तिमीले प्रोटोकल तोड्नु भएन । यस्तो सोझो मान्छे पनि रिसाउँछन् त ? न भन्दै भोली पल्ट मकेश्वर बाबुले दरबारमा राजा कहाँ राजीनामा पठाए । अनि दरबारले राजीनामाको कारण सहित स्पष्टिकरण माग्यो । सरकारी काम काजमा प्रधानमन्त्रीको दख्खल अन्दाजी भएकोले मन्त्री पदमा रहिरहन नैतिकताले नसुहाएको मकेश्वर बाबुले जवाफ दिए । तर, दरबारले राजीनामा स्वीकार गरेन । राजीनामा फिर्ता भयो । राजा विरेन्द्रले फेरी मकेश्वर बाबुलाई बोलाएर तिमी राजीनामा नगर, क्षेत्री क्षेत्री बीच किन लडाई गरेको भन्दै सम्झाए । राजीनामा गर्नु नै छ भने प्रधानमन्त्रीको कारण नदेखाई भाषालाई परिवर्तन गरी स्वास्थ्यको कारण देखाउँदै राजीनामा गर भनेर राजा विरेन्द्रले आदेश दिए । यदि त्यसो गरेनौं भने पञ्चायत विरोधीहरुले खेल्ने ठुलो अवसर पाउनेछन् । राजाको आदेश पश्चात मकेश्वर बाबुले राजीनामा पत्रमा भाषालाई परिमार्जन गर्दै स्वास्थ्यको अवस्था देखाई राजीनामा पठाए । राजा विरेन्द्रले त्यसपछि उक्त राजीनामा स्वीकृत गरेको थियो । मकेश्वर बाबुले राजा विरेन्द्रको सम्मानका लागि त्यसो गरेका थिए ।
राजीनामा गरेको २ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई खाना खानका लागि दरबार बोलाए । तिमी जस्तो इमान्दार मान्छेलाई मैले यस घटना क्रममा साथ दिन सकिन, तर यसको क्षतिपुर्ति तिमीले भविष्यमा मबाट पाउने छौ भन्दै राजा विरेन्द्रले सुनाए । अहिले तिमी काठमाण्डौमै घरमै बसेर आराम गर । जवाफमा मकेश्वर बाबुले सरकार, म यहाँ काठमाण्डौमा भाडामा किन बस्नु, मेरो घर आफ्नो छैन, बरु जनकपुरमै गएर आफ्नो घरमा आराम गर्छु भने । त्यो कुरा सुन्ने वितिकै राजा विरेन्द्र आश्चर्य चकित हुँदै तिम्रो काठमाण्डौमा घर पनि छैन भनेर सोधेका थिए । पछि हाँस्दै राजा विरेन्द्रले ल त्यसो भए तिमी जनकपुरमै गएर आराम गर । 
सन्दर्भ ः मकेश्वर बाबुको छैठौं पुण्यतिथी
दुई बर्ष पछि जनताले मत हाल्ने गरी २०३८ सालमा आम चुनावको घोषणा भयो । उक्त निर्वाचनमा मकेश्वर सिंहलाई कुनै पनि हालतमा जित्न नदेऊ, उसको राजनीति नै समाप्त पार्नुपर्छ, उसले मलाई राजाको अगाडीमा नङ्गयाएको छ, भन्दै प्रधानमन्त्री सुर्य बहादुर थापाले खुन्खार एसपी रणबहादुर चन्दलाई जनकपुर पठाए । चुनाव हुनुभन्दा अघिसम्म मकेश्वर बाबु र हेमबहादुर मल्लको जित सुनिश्चित थियो । तर, एसपी रणबहादुर चन्दले मकेश्वर बाबुलाई पराजित गराई हेम बहादुर मल्ल र देवनारायण यादवलाई जिताए । त्यो कुराको पुष्टि पछि गएर कसरी भयो भने जितिसकेपछि हेम बहादुर मल्लले धनुष सागरलाई काठमाण्डौको रानी पोखरी झैं बनाउने भनेर जिर्णोद्धार गर्न लाग्दा धनुष सागरको पानी सुखाइएको थियो । पानी सुखाउने क्रममा धनुषसागरबाट मतदानको बेलामा प्रयोग गरिएका मत पेटिका सहितको बाकसहरु फेला परेको थियो ।
उक्त चुनावको परिणाम पछि मकेश्वर बाबु समाजसेवामा सक्रिय भए । १५ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई दरबार बोलाए । भेटघाटमा मलाई थाहा छ, तिमीले हारेको होइन, सुर्यबहादुरले तिमीलाई हराएको हो । तिमी चिन्ता नगर, १ सय २७ जना सदस्य चुन्ने क्रममा १४ वटै अञ्चलबाट २८ जना मनोनित गर्ने मेरो अधिकार छ । तिमी भोली विहानको ७ बजेको रेडियो नेपालबाट समाचार सुन्नु । तिमी अहिले घर जाउ ।
मकेश्वर बाबु काठमाण्डौमा घरमा फर्किएर भोली पल्ट समाचार सुन्दा उनी पनि मनोनित भएको समाचार प्रकाशित भयो । राष्टिूय पञ्चायतको सदस्यका लागि भएको निर्वाचनमा उनी पराजित भएपनि राजा विरेन्द्रले उनलाई मनोनयन गरेको थियो । राजनीति क्रम अगाडी वढ्दै गयो । राजा विरेन्द्रले राज्य सभा(राजाको सल्लाहकार सभा) पुनर्गठन गर्दा मकेश्वर बाबुलाई आजिवन सदस्यमा मनोनयन गरेका थिए । पञ्चायत सदस्य र राज्य सभा सदस्यको सपथ ग्रहण गरेको ६ महिना पछि मकेश्वर बाबुको स्वास्थ्यमा खरावी देखियो । उनलाई हर्टमा प्रोवलेम देखा पर्यो । जेलमा हुँदा प्रोस्टेट ग्लेन्डमा पहिले देखि नै समस्या थियो । काठमाण्डौको शिक्षण अस्पतालमा उनी भर्ना भए । राजा विरेन्द्रले दरबारका सचिवलाई जिज्ञासा गर्न अस्पताल पठाएर एउटा सन्देश के पठाए भने विदेश गएर इलाज गराउ । राजाले दरबारको उक्त सचिव मार्फत थाईलेन्डमा उपचार गराउन सन्देश पठाएका थिए । जवाफमा मसँग रुपैयाँ छैन, यहाँबाट डिस्चार्ज भएर जनकपुर जान्छु । गाउँको सम्पति बेचेर दिल्लीमा गई उपचार गराउँछु भनेर मकेश्वर बाबुले सचिवलाई सुनाए । सचिवले सोही कुरा राजा विरेन्द्रलाई गएर सुनाए । त्यसपछि फेरी सोही सचिव अस्पतालमा आई के भन्यो भने तपाईको थाईलेन्डमा अहिले सम्पुर्ण उपचार गराईन्छ र त्यसपछि तपाईको मोतियाविन्दको पनि रिपोर्टमा समस्या देखिएकोले आँखाको उपचार गर्नको लागि थाईलेन्डबाटै जापान पठाइने छ । त्यो सम्पुर्ण उपचारको खर्च राजाले आफ्नो व्यक्तिगत कोषबाट तिर्नेछन् । एक हप्ता पछाडी तपाई जाने हो, थाईलेन्डका तत्कालिन राजदुत रामचन्द्र बहादुर सिंहले सबै व्यवस्था मिलाउने छन् । थाईलेन्ड र जापानमा उनको उपचार भयो । साढे ९ लाख रुपैयाँ दरबारले उपचार खर्च बेहोरेको थियो ।
उपचार गराएर स्वदेश फर्किएपछि मकेश्वर बाबु राजा विरेन्द्रलाई धन्यवाद दिन दरबार जाँदा तिमी स्वस्थ्य भयौ, म खुशी छु, मन्त्री मण्डलको पुनर्गठन गर्ने बेलामा तिमीलाई महत्वपुर्ण मन्त्रालय दिनेछु भनेर सोचेको थिएँ, तर, तिम्रो स्वास्थ्य अवस्था राम्रो नभएकाले अब तिमी अब जनकपुर बसेर राजनीति गर भन्दै राजा विरेन्द्रले आदेश दिए । राजाको आदेश पछि उनी जनकपुर फर्किए । आफुलाई आँखाको उपचार दरबारले त गरिदियो तर आम सर्वसाधारण जनताले आँखाको उपचार कसरी गराउँलान भन्ने चिन्ता वढेपछि उनले जनकपुरमै आँखाको अस्पताल हुनुपर्छ भन्ने कुरा सोच्न थाले । त्यतिबेला जनकपुरमा भारतको उत्तर प्रदेशबाट केही डाक्टरहरु आएर शिविर चलाउने गर्थे । नेपाल रेडक्रस मार्फत उनले पहल कदमी गरेर नेपाल रेडक्रस सोसाईटी जानकी आँखा अस्पताल स्थापना गर्न लगाए ।
यता राजनीतिक परिस्थिति परिवर्तन हुँदै थियो । पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन चर्कदै थियो । २०४६ सालको आन्दोलन हुने बेलामा उनी फेरी कांग्रेसको सदस्यता लिए । महेन्द्रनारायण निधिसँग पारिवारिक दोस्ती समेत रहेका कारण कृष्ण प्रसाद भट्टराईले ४७ सालमा उनलाई फेरी कांग्रेसको सदस्यता जनकपुरमा दिलाए । तर, दुई बर्ष पछि अब कुनै पनि पार्टीमा सदस्य नभई राजनीतिबाटै सन्यास लिने भन्दै २०४९ सालमा उनी राजनीतिबाट सन्यास लिएका थिए । राजनीतिबाट सन्यास लिए पनि उनी समाजसेवामा भने सक्रिय रहँदै गए ।
रंगभुमि मैदानका लागि राजा महेन्द्रसँगको टकराव
२०२७ साल तिर राजा महेन्द्रले दरबारको पारिवारिक खुशियालीमा उत्सव मनाईरहँदा आफ्ना ३ ज्वार्इँलाई १२÷१२ विघा जग्गा उपहार स्वरुप दिने घोषणा गरेका थिए । घोषणा भईसकेपछि तत्कालिन सम्बन्धित भुसंरक्षण विभागबाट जग्गाको खोजी गर्न लगाईयो । विभागले तराईको दुई ठाउँ र काठमाण्डौको १ ठाउँ सिफारिस गर्यो । सिरहाको मिर्चैयामा ६÷६ विघाको दुई टुक्रा, जनकपुर रंगभुमि मैदानको बारहविघा र काठमाण्डौको महाराजगंज स्थित १२ विघाको प्लट दिन मिल्ने भन्दै भुमि सुधार विभागले सिफारिस गर्यो । उक्त सिफारिस अनुसार राजा महेन्द्रले ३ वटै ज्वाईँलाई ति जग्गाहरु उपहार प्रदान गरे । जेठो ज्वाईँले काठमाण्डौमा उद्योग संचालन गर्यो, कान्छो ज्वाईँले मिर्चैयामा चिनी मिल संचालन गरे । र, माईलोले जनकपुरको रंगभुमि मैदानमा वियरको उद्योग संचालन गर्ने सोचका साथ काम अगाडी वढाउन निधो गरे ।
दरबारकै मानिसबाट मकेश्वर बाबुले उक्त कुरा थाहा पाएपछि राजा महेन्द्रका सबैभन्दा नजिकका व्यक्ति मानिने सरदार विष्णु मनि आचार्यसँग भेट गरे । आचार्यको जनकपुरमा रंगभुमि मैदानको ठिक सामुने जनकपुरमा पनि घर थियो । आचार्यले जनकपुरलाई प्रिय ठाउँ मान्थे । आचार्यको दरबारमा यतिसम्म प्रभाव थियो कि तत्कालिन प्रधानमन्त्री तुल्सी गिरी भन्दा पनि उनले भनेको कुरालाई राजा महेन्द्रले इन्कार गर्दैनथे । त्यसैले मकेश्वर बाबुले सरदार आचार्यलाई भेटेर रंगभुमि दिनु भनेको ठुलो पापको काम हुन्छ र त्यसले पछि विद्रोह पनि निम्तिन्छ, राजालाई रोक्नुस्, भनेर भने । राजा महेन्द्र जस्तो मान्छे जसको आफुले एक पटक गरिसकेको निर्णयबाट फिर्ता लिने बानी छैन, यस्तो कुरा भनेर म सजायको भागिदार हुन्न भनेर आचार्यले जवाफ दिए । त्यसो भए मलाई नै राजासँग दर्शन भेट गराईदिनुस् भनेर भनेपछि आचार्यकै पहलमा राजा महेन्द्रसँग मकेश्वर बाबुको दर्शन भेट भयो । दर्शन भेटका क्रममा मकेश्वर बाबुले यसो भने,“सरकार, जनकपुरको यो बारहविघा भनेको धार्मिक ठाउँ हो । त्यो ठाउँमा भगवान राम जानकीको विवाह हुँदा स्वयम्बर भएको ठाउँ हो । त्यो ठाउँमा ज्वाईँ साहवले कारोवार गर्ने भएपनि फलिफाप हुँदैन । र, यसले जनमानसमा पनि ठुलो विद्रोह निम्तियाउँछ ।” यति सुन्ने वित्तिकै राजा महेन्द्र रिसाए । मैले छोरा सरह ज्वाईँलाई दिईसकेको बक्सिस मैले फिर्ता लिन्न । विद्रोहको नामले मलाई तिमीले डराउन खोज्ने ? ९÷९ बर्ष जेल बसेर तिमीलाई पुगेन । सरदार बाजेको नजिकको मान्छे तिमी नभईदिएको भए अहिले तिमीलाई फेरी जेल हाल्थें । खुरुक्क यहाँबाट गईहाल भन्दै राजा महेन्द्रले आक्रोश पोखे ।
तर, राति राजाको मनमा के भयो, भोली विहान फेरी राजाले मकेश्वर बाबुलाई दरबारमा बोलाए । तिमीले भनेको कुरामा म अनावश्यक रिसाएँ । साँच्चिकै त्यो त आध्यात्मिक इतिहास बोकेको ठाउँ हो । मैले के गर्ने, भुमि सुधारमा बस्ने गोरुहरुको कारण उनीहरुले सिफारिस गरेको हो । तिमी नै भन, ज्वार्ईँलाई दिईसकेको कुरा तिमीले नै कसरी फिर्ता माग्थ्यौ, राजा महेन्द्रले भने । सरकारको आदेश भयो भने ज्वाईँ साहवलाई म कन्भिन्स गर्छु भन्दै मकेश्वर बाबुले सरदार आचार्यलाई लिएर ज्वाईँ साहवको दरबारमा पुग्नु भयो । त्यो जग्गाको ऐतिहासिक तथा धार्मिक पृष्ठभुमिबारे बताउँदा ज्वाईँ साहव त राजा भन्दा पनि बढी आक्रोशित हुनु भयो । तुरुन्त मेरो घरबाट बाहिर जानुस भनेर ज्वाईँ साहवले मकेश्वर बाबुलाई आदेश गरे । तर, ज्वाईँ साहवसँगै एक जना उनको आफन्त बुढो मान्छे पनि सँगै बसेका थिए । उनले त्यो कुराको गाम्भीर्यता र सम्वेदनशिलतालाई बुझ्दै के भने मकेश्वर सिंह बाहिर जाँदैन, बरु तिमीले पुनर्बिचार गर्नुपर्छ । धार्मिक जग्गामा गरिने कारोवारले तिमीलाई पनि फलिफाप गर्दैन । तर, त्यो बुढो आफन्तको कुरालाई पनि ज्वाईँ साहेवले मानेनन् । त्यसपछि १२ विघाको ठाउँमा जनकपुरमै अर्को ठाउँमा २४ विघा जग्गा छ, बरु त्यो जग्गा लिनुस भनेर मकेश्वर बाबुले प्रस्ताव गरेपछि ज्वाईँ साहेव तयार भए । अनि रत्न सागर स्थित जनकपुरको १२ विघा र कभर्ड हल नजिकको अर्को १२ विघाको प्लट दिलाइयो । यसरी अत्यन्तै बहुमुल्य सम्पदाको रुपमा रहेको रंगभुमि मैदान जोगाउन मकेश्वर बाबुको ठुलो प्रयत्न रहेको थियो । पछि गएर मकेश्वर बाबुले रंगभुमि मैदान नीजि मान्छेहरुले पनि कब्जा गर्लान कि भन्ने डरले सताएपछि त्यसको संरक्षणका लागि प्रयत्न गरे । राजा महेन्द्रलाई उनले भने,“ जनकपुर चुरोट कारखानाको लागि कलकताबाट ठुलो ठुलो मेसिन आएको छ । गेट बनाउनका लागि आएको वेलिडङ मेसिनबाट १२ विघा घेर्नका लागि ग्रिल बनाउन हजुरले आदेश दिबक्सियोस् ।” राजाले आदेश दिए । ग्रिल बन्यो । उनले आफ्नै दाई तपेश्वर सिंहलाई कन्भिन्स गरी ५ हजार इटा बराबरको मुल्य लिई, स्थानीय स्तरमा सिमेन्ट आदि सामग्रीहरु जुटाई १२ विघा मैदानको कम्पाउन्ड वाल निर्माण गर्नुका साथै त्यसमा ग्रिल लगाएका थिए ।
यति भईसकेपछि राजा महेन्द्रले मकेश्वर बाबुलाई दरबारमा बोलाउनु भयो । म राजा महेन्द्र जो कुनै निर्णय गर्दा कहिल्यै पनि गलत निर्णय नगरेको व्यक्तिबाट भएको गलत निर्णयलाई तिमीले समयमै सचेत गरायौ, तिम्रो आँट, साहस र बुद्धिमताको म प्रशंसा गर्छु । मैले पुर्व पश्चिम राजमार्ग पनि बनाएँ । कम्यूनिष्ट जस्तो देश रहेको सोभियत संघबाट विभिन्न पुलहरु निर्माण गर्न लगाएको छु । जग्गा सम्बन्धि यो कुरा बाहिर पब्लिकमा गयो भने नराम्रो हुन्छ । यो कुरा बाहिर सार्वजनिक नगर्नु भनेर राजा महेन्द्रले मकेश्वर बाबुसँग बाचा गराए । त्यति खेरै दरबार हुँदै गईरहेका यूवराज विरेन्द्रलाई राजा महेन्द्रले बोलाएर भने,“ छोरा, म त मुटु रोगी भएँ, म अब कति दिन छु छैन, म पश्चात तिमीले नै देश चलाउनु पर्छ । राजापाठ चलाउनु पर्छ । यो व्यक्ति मकेश्वर सिंह हो । यसलाई चिन । यी जस्ता व्यक्तिलाई कहिल्यै पनि साथ नछोड्नु । राजा जस्तो व्यक्तिलाई पनि यीनले गल्ती औंल्याए ।” त्यहाँबाट राजा महेन्द्रले चिनजान गराएको समय देखि राजा विरेन्द्रले पञ्चायती व्यवस्था रहुनजेल सम्म कुनै न कुनै पदमा राखेको थियो । राजा विरेन्द्रले उनलाई सम्मान स्वरुप राज्यसभा सदस्य, पञ्चायत सदस्य, पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य जस्ता पदहरुमा मनोनित गरेका थिए । राजा विरेन्द्रले मकेश्वर बाबुलाई ३ किसिमको तगमा पनि प्रदान गरेका थिए । प्रवल गोर्खा दक्षिण बाहु, शुभराज्याभिषेक पदक तथा भुकम्प पीडित पदक उनलाई नारायणहिटी राजदरबारबाट प्रदान गरिएको थियो ।
राजा ज्ञानेन्द्रको प्रस्ताव अस्वीकार
पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजा ज्ञानेन्द्रले उनलाई राजनीतिमा सक्रिय हुन भनेका थिए । जनकपुर भ्रमणमा आएको बेला राजा ज्ञानेन्द्रसँग मकेश्वर बाबुले दर्शन भेट गरेका थिए । उक्त समयमा तिमी जस्तो विकास प्रेमी मान्छे किन यति चाँडै राजनीतिबाट निस्क्रिय भएको, राजनीति गर । धार्मिक नगरी जनकपुर जस्तो ठाउँको विकास गर्न तिमी सक्रिय हुनुपर्छ भनेर भन्दा मकेश्वर बाबुले जवाफ दिए,“ सरकार म भन्दा पहिले नै मेरो एकलो छोरा र बुहारी दुवैको मृत्यु भईसकेको छ । म अब आफ्नो जिवनको सम्पुर्ण समय आफ्ना दुई नातीहरु रितेश र रुपेशलाई दिन चाहन्छु । भित्रैबाट म अब टुटिसकेको छु । अब राजनीति गर्दिन ।”
जानकी मन्दिरको ५२ विघा जग्गा बचाउन मकेश्वर बाबुको संघर्ष
 जानकी मन्दिरको ५२ विघा जग्गा यहाँका केही नेता र प्रशासनले आफ्नो नाउँमा नामसारी गराउन लागेका थिए । यो कुरा बाहिर सार्वजनिक भएपछि मकेश्वर बाबु बेंगा शिवपुरका स्थानीयवासीहरुलाई जम्मा गरी संघर्ष गर्न उक्साएका थिए । स्थानीयवासीहरुलाई घरेलु हतियार सहित प्रदर्शन गर्न लगाएका थिए । पछि नामसारी गर्न खोजेका जनकपुरका एक जना नेताले उनलाई टेलिफोन गरी तिमी पछाडी हट नत्र तिम्रो घरमै बम विस्फोट गराईदिन्छु भनेर धम्की समेत दिएका थिए । पछि दरबारलाई जानकारी गराई उनले त्यो काम रोकाउन लगाएका थिए । यति मात्र होइन जानकी मन्दिरको परिसर अहिले जति खाली छ पहिले त्यति थिएन । त्यो परिसर पनि उनले अत्यन्तै जोखिम मोलेर खाली गराएका थिए ।
जानकी आँखा अस्पतालको १ विघा १८ कठ्ठा र नेपाल अपाङ्ग संघको अहिले १९ कठ्ठा जग्गा रहेको छ । यी दुईवटै जग्गा एउटा कुट्टी अन्तरगत बाबाजीको मातहतमा थियो । तर, त्यो जग्गा कब्जा गर्नका लागि महोत्तरीका १, धनुषाका ३ र काठमाण्डौका १ जना नेता र तत्कालिन अञ्चलाधिश दामोदर शमशेरले त्यो जग्गा ६ जनाको नाउँमा नामसारी गराउने प्रपन्च रचेका थिए । त्यो कुरा मकेश्वर बाबुले थाहा पाएपछि त्यसको विरोध गर्नु भयो । त्यो ५ जना मध्ये एक जना जो जनकपुरकै थिए उनको कोठामा आई त्यो दुई ठाउँको जग्गा मध्ये एक ठाउँको जग्गा तपाई नै राख्नुस र बाँकी एक ठाउँको जग्गा हामी ५ जनाले बाँड्ने छौं भनेर प्रस्ताव गरेका थिए । तर, त्यो जग्गा लिएर मैले के गर्ने भनेर अस्विकार गर्दा त्यो जग्गामा पोखरी खनेर माछा पालन गरी राजनीति गर्न आय स्रोत पनि हुने भनेर प्रलोभन दिँदा पनि उनी तयार भएनन् । पछि राजा विरेन्द्रबाट ठाडो आदेश गर्न लगाई जग्गा नामसारी हुनबाट उनले रोक्न लगाए । तत्कालिन अञ्चलाधिश दामोदर शम्शेरलाई राजाले प्रष्ट रुपमा के आदेश दि एभने त्यो जग्गाको के कार्यमा सदुपयोग हुन्छ मकेश्वर बाबुसँग सोधेर गर्नु भनेपछि मकेश्वर बाबुले पछि त्यहाँ जानकी आँखा अस्पताल र नेपाल अपाङ्ग संघ निर्माण गर्न लगाउनु भयो ।
विकासका लागि सदैव अग्रसर
जनकपुरमा अहिले जे जति पनि पुर्वाधारहरु छन् प्रायः जसो पुर्वाधारहरु निर्माण हुनुमा मकेश्वर बाबुको ठुलो योगदान रहेको छ । ती पुर्वाधारहरु निर्माण गर्न उनले आर्थिक लगानी नगरेपनि जग्गा दाताहरुलाई खोजेर तिनीहरुलाई उत्प्रेरित गरी जग्गा दान गर्न लगाउने र ती दान गरिएको जग्गाहरुमा विद्यालय, अस्पताल जस्ता पुर्वाधारहरु निर्माण गराउन उनको ठुलो भुमिका छ । रामस्वरुप साह, रामसागर साह जस्ता जग्गा दाताहरुलाई प्रोत्साहित गरी विद्यालय, कलेज, अस्पताल निर्माण गर्न लगाएका थिए । सोही क्रममा हालको जनकपुर अञ्चल अस्पताल तथा पहिलेको जानकी पब्लिक अस्पतालको विकासको काम होस वा राराब क्याम्पस, सरस्वती नमुना उच्च माध्यमिक विद्यालय, सकलभवन कन्या माबि, बाल मन्दिर, नेपाल रेडक्रसको भवन आदिको निर्माण सहित विभिन्न मठ मन्दिर, धर्मशाला, सागरपोखरी आदिको निर्माण तथा जिर्णोद्धारमा उनको महत्वपुर्ण योगदान रहेको छ । तसर्थ राजनीतिक रुपमा जे जस्तो आस्था उनको भएपनि उनले समाजको र देशको हितका लागि लिएको अडान तथा उनका योगदानलाई आजको पुस्ताले पनि सम्झनु आवश्यक छ । मकेश्वर बाबु मात्र होइन, आधुनिक जनकपुर निर्माणमा भुमिका तथा योगदान पुर्याउने ती सम्पुर्ण अग्रज पुर्खाहरुलाई आजको पुस्ताले किन पनि स्मरण गर्न सकेको छैन भने ती महान हस्तीहरुको नाउँमा न कतै शालिक निर्माण भएको छ, न कहिँ कतै कुनै चौक वा स्मारक वा सडकको नामाकरण नै उहाँहरुको नाउँमा गरिएको छ । तसर्थ ती सम्पुर्ण महान हस्तीहरुको योगदानलाई अमर पार्नका निम्ति पनि उहाँहरुको नाउँमा विद्यालय, अस्पताल, चौक, चौराहा तथा सडकहरुको नामाकरण गरिनुपर्दछ । स्वर्गीय मकेश्वर बाबुको योगदान प्रति द एक्सक्लुसिभ पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ ।
(स्वर्गीय मकेश्वर बाबुका नातीहरु रितेश सिंह र रुपेश सिंहसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


२०७३ पौष १७ गते आईतबार

अन्तरबार्ता ः म यो देशको धर्ती पुत्र हुँ, परिमार्जन सहितको संशोधन विना कुनै पनि चुनाव हुन दिन्नौं ः राजेन्द्र महतो

सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले आफु भारतीय नागरिक नभई यो देशको धर्तीपुत्र रहेको भन्दै व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक परिमार्जन सहित संशोधन हुँदैन भने यो देशमा कुनै पनि चुनाव सम्भव नहुने बताएका छन् । सदभावना अध्यक्ष महतोसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागील विभिन्न समसामायिक विषयहरु बारे गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष १८ गते खबरदारी विरोध जुलुस गर्ने निर्णय गरेको छ । त्यो विरोध किन गर्न लागिएको हो ?
फेरी बैइमानी सुरु भयो । मधेसी जनताले आन्दोलन मार्फत जे माग गरेका थिए त्यो भईरहेको छैन । संविधान संशोधन गरी मधेसी जनतालाई अधिकार दिलाउनका निम्ति व्यवस्थापिका संसदमा संशोधन विधेयक दर्ता भयो । तर, उक्त विधेयक पास गराउनुको सट्टा विधेयकलाई लावारिस छोडेर चुनावको कुरा आउँदैछ । त्यसकारण हामीले खबरदारी विरोध मधेसका सम्पुर्ण जिल्लाका सदरमुकामहरुमा पुष १८ गते आयोजन गरी सरकार र प्रतिपक्षलाई के खबरदारी गर्न चाहन्छौ भने संशोधन विना कुनै पनि निर्वाचन यो देशमा सम्भव छैन ।
कस्तो संशोधन खोज्नु भएको हो ?
परिमार्जन सहितको संशोधन । अहिले प्रस्तुत गरिएको संशोधन विधेयकमा मधेसका थुप्रै सवालहरु बाँकी छन् । सिमांकन, नागरिकता, भाषा लगायत थुपै्र मुद्दाहरुमा परिमार्जनको आवश्यकता छ ।
तर खास चाही तपाईहरुले सिमाङ्कनमा नै परिमार्जन खोजेको हो त ?
सिमाङ्कनको सवाल मुख्य सवाल हो नै । पहिले मधेसका ८ वटा जिल्लाहरु प्रदेश नं. २ मा दिइयो तर मधेसको १९ जिल्लाहरु मध्ये ११ वटा जिल्लाहरु गायव गरियो । अहिले संशोधन विधेयकबाट ५ नम्बर प्रदेशमा ६ वटा जिल्लाहरु नवलपरासी देखि बर्दियासम्म दिने कुरा गरेको छ । तर, बाँकी ५जिल्लाहरु झापा, मोरंग,सुन्सरी, कञ्चनपुर र कैलाली जुन कि मधेस थरुहटको भुभाग हो त्यसलाई दिइएको छैन । ती ५ जिल्लालाई विवादित भनि आयोगद्वारा समाधान गर्ने भनिएको छ । तर त्यो समाधान कसरी गर्ने भन्ने बाटो खोलिएको छैन । पाण्डवहरुले ५ गाउँ माग्दा कौरवले नदिएपछि महाभारत भएझैं मधेसले आफ्नो जिल्ला मागिरहँदा नदिइए यहाँ पनि महाभारत हुन्छ ।
अभि नहि तो कभि नहि, अव कि बार आरपार जस्ता नाराहरु तपाईले मधेस आन्दोलनताका दिनु भएको थियो । के त्यो नाराहरु विर्सनु भएको छ ?
होइन, मैले विर्सेको छैन । नेताले विर्सेपनि जनताको मुद्दा सहितको नारा कहिल्यै पनि विर्सन्न, जनताले । त्यसैले त संविधान संशोधनमा अहिले बैइमानी भईरहेको कारण हामीहरुले पुष १८ गते देखि आन्दोलन गरेर सरकारलाई प्रष्ट रुपमा बताईरहेका छौ कि संशोधन विना कुनै पनि निर्वाचन हुँदैन ।
नेकपा एमाले त संविधान संशोधन विधेयकको विरोधमा आन्दोलन नै गरिरहेको छ । संसद पनि अवरुद्ध गरिरहेको छ । पहाडबाट तराईलाई छुट्याउनु हुँदैन भनिरहेको छ । यस्तो अवस्थामा संशोधन कसरी पारित हुन्छ ?
एमाले त सँधै मधेस विरोधी पार्टी हो । अहिले उसले संघीयताको विरोधमा काम गरिरहेको छ । ५ नम्बर प्रदेशमा मधेस थरुहटलाई संशोधन विधेयकमा दिईसकेको ५जिल्ला पनि फिर्ता लिने कुरा गरिरहेको छ । यो त एकात्मक सोच हो । हिजो पनि तराई, पहाड र हिमाललाई मिलाएर यो देशमा एकात्मक शासन गरेकै हो । फेरी पनि त्यस्तै एकात्मक शासन लादन खोजेको छ एमालेले । यदि संसद अवरुद्ध गरी असंसदीय गतिविधि जारी नै राख्यो, संशोधन विधेयकलाई पारित गराएन भने मधेसमा पनि मधेसी जनताले एमाले मुक्त मधेसको अभियान चलाएर मधेसबाट एमालेलाई सफाया गर्न सक्छ ।
तर त्यो आन्दोलनमा एमालेसँगसँगै कांग्रेस र माओवादीका नेताहरु पनि लागेका छन् नि ?
हो, त्यसैले हामीलाई तीनवटै दलहरु प्रति शंका छ । संशोधन विधेयक ल्याउने कांग्रेस र माओवादी प्रति पनि शंका छ । त्यसैले हामीले सरकारलाई पनि खबरदार गरिरहेका छौं ।
त्यसो भए तपाईहरुले सरकारलाई दिएको समर्थन फिर्ता किन लिईरहनु भएको छैन ?
कांग्रेस र माओवादीले प्रस्तावलाई फिर्ता लिएको छैन । संशोधन विधेयकको प्रस्तावलाई इन्कार गरेको छैन । हामीहरुलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले के भनिरहेका छन् भने हाम्रा केही नेताहरु फेस सेभिङका लागि वा पब्लिक कन्जम्पशनका लागि आन्दोलनमा लागेपनि चुनाव हुँदा पार्टीको लाईनमै मतदान गर्नेछन् । तर त्यसको लागि एमालेले संसदमा छलफल त हुनदिनु पर्यो नि । एमाले अहिले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन गरिरहेको छ । त्यसैले मतदानमा कांग्रेस र माओवादीको पनि परीक्षण हुन बाँकी छ । यदि कांग्रेस र माओवादी पनि एमाले जस्तै भयो भने तिनीहरु विरुद्ध पनि आन्दोलन गरिने छ । समर्थन फिर्ता लिइने छ । विगतमा पनि ती ३ दल विरुद्ध हामीले लडेकै हो ।
के सरकार परिमार्जनका लागि तयार भएको छ ?
हो, प्रधानमन्त्री प्रचण्ड र देउवा जीले हामीहरुलाई भनिरहनु भएको छ कि तपाईहरुले खोजेको जस्तो परिमार्जन संशोधन विधेयकमा हुन्छ ।
तपाईहरुले विदेशीको इशारामा संविधान संशोधन गरिरहनु भएको छ, विदेशीबाट परिचालित र आयातित संशोधन विधेयक रहेकाले यो विधेयक राष्टू घाती हो भनेर एमालेले आरोप लगाईरहेको छ नि ?
मधेसीलाई त एमालेले भारतीय भनेकै हो । २५ बर्ष देखि संघीयताको कुरा गर्ने सदभावना पार्टीका नेता गजेन्द्र बाबुलाई पनि भारतीय, विखण्डनवादी भने । एक प्रदेश माग्दा पनि विखण्डनवादी, अहिले दुई प्रदेश माग्दा पनि विखण्डनवादी भनिरहन्छन् । मधेसी जनताले आफ्नो भुभागमा अधिकार सम्पन्न प्रदेश खोजेर अहिले आफ्नै शासन र प्रशासन खोजेको छ । यो देश भित्रै । तर, अहिले यदि मधेस प्रदेश नदिने हो भने, मधेसी जनताले अधिकार सम्पन्न दुई प्रदेश नपाउने हो भने एमालेले मधेसीलाई विखण्डन तिर धकेलिरहेको छ भनेर बुझ्नु पर्छ । प्रदेश नभए मान्छेले के गर्छ । त्यसैले एमाले अहिले देशलाई विखण्डन गर्न चाहन्छ ।
जलेश्वर तथा टिकापुर सहित विभिन्न जिल्लामा लगाइएका मुद्दा र कैदीबन्दीहरुको मुद्दा फिर्ताका सवालमा तपाईहरुले के गरिरहनु भएको छ ?
अदालतमा नचलेको मुद्दाहरु मध्ये अधिकांश फिर्ता भईसकेका छन् । तर, अदालतमा रहेका मुद्दाहरु फिर्ताका लागि महान्यायाधीवक्ताको कार्यालयले तयारी गरिरहेको छ । सर्बोच्च अदालतबाट अनुमति लिएर ती फाईलहरुलाई क्याविनेटमा लगेर मुद्दा फिर्ता गर्ने प्रक्रिया अगाडी वढेको छ ।
मधेस आन्दोलनताका संविधान सभा र व्यवस्थापिका संसदबाट तपाईहरुले अर्थात तपाईका पार्टीका सभासद र सांसदहरुले राजीनामा गरेका थिए । तर, तपाईहरु फेरी सत्ता र भत्ताका लागि किन फिर्ता हुनुभयो ?
हो, राजीनामा हामीले गरेका थियौं । जब संविधान सभामा जवरजस्ती संविधान बनाउन लागिएको थियो तब हामीलाई के लाग्यो भने अब यहाँ हाम्रो ठाउँ छैन । हाम्रो ठाउँ भनेको अब सडक हो । हामी राजीनामा गरेर सडक संघर्षमा आयौं । तर, हाम्रो राजीनामा सभामुख सुभाष नेम्वाङले स्वीकार गरिदिएनन । त्यो उनको बैइमानी हो । र, संविधान सभा विघटन भएपछि जब हाम्रो राजीनामा नै स्वीकृत भएन, हाम्रो सांसद पद रहिरह्यो । र हामी व्यवस्थापिका संसदमा जानु पर्यो ।
आन्दोलनताका त तपाईले आफ्नो पार्टी कार्यालय काठमाण्डौबाट हटाएर मधेसमा ल्याउनु भयो । मधेसलाई अधिकार प्राप्त नभएसम्म केन्द्रिय कार्यालय अब मधेसमै रहन्छ भन्दै काठमाण्डौमा सम्पर्क कार्यालय राख्नु भयो । तर, अहिले मधेसले के पाईहालेको छ र, तपाईहरु पार्टी कार्यालय काठमाण्डौ लग्नुभयो ?
हाम्रो पार्टीको मान्यता के हो भने जहाँ आन्दोलन हुन्छ त्यहाँ पार्टीको केन्द्रिय कार्यालय हुनुपर्छ । मधेस आन्दोलन हुँदा हाम्रो कार्यालय मधेसमा आयो । तर, आन्दोलन मधेसबाट काठमाण्डौ सिफ्ट भएपछि पार्टी कार्यालय पनि सिफ्ट गर्नुपर्यो । अब फेरी आन्दोलन हुन्छ भने पार्टी कार्यालय मधेसमा सिफ्ट हुन्छ ।
काठमाण्डौसँग नाता तोडेर वा भनौ तत्कालिन प्रधानमन्त्री केप ीओली सँग माग पुरा नभएसम्म नबोल्ने वा अब काठमाण्डौ नजाने भनेर तपाईले उदघोष गर्नु भएको थियो । तर, विराटनगरमा ओली सरकारको प्रहरीले तपाईलाई कुटेर घाईते बनाएपछि दिल्लीबाट उपचार गरेर मधेस फर्किनुपर्नेमा तपाई त सिधा बालुवाटार पुगी प्रधानमन्त्री ओलीसँग चिया खान पुग्नु भयो । किन ?
हेर्नुस, यहाँ सरकारले के भनिरहेको थियो भने राजेन्द्र महतोका कारण मात्रै बार्ता भईरहेको छैन । सरकार र मोर्चा बीच बार्ता हुने क्रममा राजेन्द्र महतो नआएकै कारण बार्ता निस्कर्षमा पुग्न सकिरहेको छैन भनेर हल्ला फैलाइएको थियो । मलाई बदनाम गरिएको थियो । उपचारको बेलामा म दिल्लीको रहेको समय प्रधानमन्त्री ओलीले मलाई फोन गरेर तपाई यहाँ आएपछि सबै कुरा मिल्छ, तपाई जसरी पनि काठमाण्डौ आउनु पर्यो भनेर भनेपछि मात्रै गएको हुँ । तर, म गएपनि परिणाम त निस्केन । त्यसैले केपी ओलीलाई एक्सपोज गर्नका लागि म त्यहाँ जानु पर्यो । मलाई पहिले देखि थाहा थियो कि यो ओलीको नौटंकी हो । ३६ पटक वार्ता भयो तर ओलीले समाधान गरेनन् ।
तपाई भारतीय नागरिक हो भनेर भन्ने गरिन्छ । तपाई यो देशको बंशज नागरिक नभई विहारबाट आएर आन्दोलन उचालेको भनेर एमालेले पटक पटक आरोप लगाउने गरेको छ । साँच्चै के तपाई नेपाली नागरिक होइन ?
यो देशमा एमालेले पुरै मधेसियालाई भारतीय भन्छ । म मधेसीको नेता भएपछि मलाई उसले महाभारतीय देख्नु अन्यथा होइन । यदि म नेपालको नागरिक होइन भने सरकारले मेरो नागरिकताको सवालमा स्वेतपत्र जारी गर्नुपर्यो । रहयो कुरा मेरो नागरिकताको भने म यो देशको धर्ती पुत्र हो । मेरो नागरिकता जन्मसिद्ध नागरिक हो । मैले विगत १८ बर्ष देखि नागरिकता नपाएको मधेसीहरुको लागि लडाई लडिरहेको छु । त्यसैले मलाई उनीहरु भारतीय भन्छन् । अहिले पनि म बैवाहिक अंगिकृतहरुको नागरिकताको लागि लडिरहेको छु । १९ सालमा संविधान बनाउँदा अंगिकृत नागरिकलाई संवैधानिक पदमा जान रोक लगाइएन । ४७ सालको संविधानमा १० बर्ष पछि बैवाहिक अंगिकृतले र सोही प्रावधान अन्तरिम संविधानमा पनि संवैधानिक पदमा जान पाउने व्यवस्था गर्यो । के त्यो सबै संविधानहरु मधेसीले बनाएको हो ? त्यसैले तिनीहरु गल्ती आफै गर्छन र दोष सारा भारतलाई लगाउँछन् ।
तपाईले पटक पटक मन्त्री भएर अकुत सम्पति आर्जन गर्नु भएको छ भन्ने पनि आरोप लाग्छन् नि ?
त्यसो हो भने सरकारले आफ्नो संयन्त्रहरुलाई प्रयोग गरेर अनुसन्धान गरी मलाई जेल भित्र हाल्नु पर्यो नि । कसले रोकेको छ सरकारलाई ।
मधेसी मोर्चा भित्र पनि खटपट छ भन्छन् ?
पार्टीहरुको एक आपसमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, सिंगो मधेसको एजेण्डामा मोर्चा एक मत छन् । एकतावद्ध भई संघर्ष गर्न तयार छन् ।
संसद तपाईहरुले कहिले छोड्ने हो ?
हामीले अहिले संसद छोड्ने निर्णय गरेका छैनौं । मोर्चाले अहिले त्यो सोचेको पनि छैन । मोर्चाको ध्यान के हो भने संशोधन विधेयक परिमार्जन सहित कसरी पुरा हुन्छ ।

२०७३ पौष १७ गते आईतबार

स्वर्गीय हरिदेव मण्डलको संघर्षका कथाहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
देशमा लोकतन्त्र प्राप्तिसँगसँगै गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको समेत प्रवाह नगर्ने एक समाजसेवी नेता हरिदेव मण्डलको ५ पुष २०७३ मा निधन भएको छ । उनको निधनले सिंगो देशले नै एक असल नेता गुमाउनु परेको छ । चारु मजुमदारको नक्सलवारी आन्दोलन र चेग्वाभाराको आन्दोलनबाट प्रभावित भई गणतन्त्रका लागि रामराजा प्रसाद सिंह र डा.लक्ष्मिनारायण झा (एल एन झा) सँगै विभिन्न संघर्षमा आफ्नो योगदान पुर्याउने एक बामपन्थी नेताको निधन भएको हो । २०३६ साल देखि रामराजा प्रसाद सिंह नेतृत्वको जनमोर्चाका संगठन विभाग प्रमुख र प्रवक्ता हुँदै नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रसम्म आवद्ध भएका मण्डलको संघर्ष उदाहरणिय रहेको छ । बर्गिय संघर्षको आन्दोलन होस वा किसानहरुको तथा सर्वहाराहरुको मुक्तिका लागि गरिएका आन्दोलन, समाजमा रहेका असमानता तथा विभेद र कुरितीहरु विरुद्धका आन्दोलनमा उनी सदैव अग्रसर थिए ।
मण्डलको जिवनी
२००७ साल भाद्र महिनामा बुवा महाविर मण्डल र आमा मलभोगिया देविको सन्तानका रुपमा जन्मिएका हरिदेव मण्डल दुई दाजु भाई र एक बहिनी थिए । सबैभन्दा जेठो मण्डल थिए भने त्यसपछि बहिनी चन्द्रकला मण्डल र भाई इन्द्रदेव मण्डल । धनुषाकै नगराईन स्थित माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका मण्डलको विवाह १८ बर्षकै उमेरमा भएको थियो । १२÷१४ बर्षको उमेरकी प्रेमकला देवीसँग उनको विहे भएको थियो । विहे भएको बेलामा उनकी श्रीमति पुर्ण रुपमा बालिका नै थिईन । मण्डलको ४ वटा सन्तानहरु छन् । जेठो छोरा प्रदिप कुमार मण्डल, सरोज कुमार मण्डल, छोरी पुनम कुमारी मण्डल र कान्छो छोरा संतोष कुमार मण्डल छन् ।
वर्गीय हरिदेव मण्डलको पार्थिव शरीरमा सामुहिक रुपमा दागवती दिने छोराछोरीहरु ।
मण्डलको निधन भएपछि समाजमा सधै देखि चल्दै आएको जेठो छोराले मात्र दागबत्ती दिने परम्परालाई भंग गर्दै ३ छोरा र एक छोरी गरी चारै जनाले सामुहिक रुपमा दागबत्ती दिएका छन् । यति मात्र होइन कर्मकाण्ड भनेको अन्धविश्वास हो भन्दै परिवर्तन स्वरुप कसैले पनि उतरी लगाएका छैनन् र कर्मकाण्ड पनि गरेका छैनन् ।
एसएलसी पास भए लगत्तै मण्डल कैलालीको टिकापुरमा गएर शिक्षक भई त्यहाँ पढाउन थाले । सरकारले विरगञ्जमा आयोजना गरेको १० महिने तालिममा उनी सहभागी भएका थिए । तालिममा उनको प्रदर्शन राम्रो रहेका कारण उनलाई आइएड पढनका लागि छनौट गरियो । विरगञ्जमा आईएड गरिसके पश्चात उनी काठमाण्डौको त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी भाषा साहित्य र राजनीति शास्त्रमा विए र बिएड उत्तीर्ण गरेका थिए । प्रावि शिक्षकको रुपमा नियूक्त भएका मण्डल धनुषाको नक्टाझिजमा प्रधानाध्यापकको रुपमा सरुवा भए । केही बर्ष पछि प्रअ कै रुपमा धनुषाको उमाप्रेमपुर गाविसको पर्वत्तामा उनको सरुवा भयो । उनी पर्वतामा रहेकै बेला धनुषामा हालको एमाले साविकको कम्यूनिष्ट कोओर्डिनेशन सेन्टर गठन भएको थियो । त्यतिबेला पर्वतामा नै रहेर एमालेका नेताहरु माधव कुमार नेपाल, इश्वर पोखरेल, केशव बराल, जस्ता नेताहरुले राजनीति गरेका थिए । मण्डल पनि तिनीहरुको संघर्षबाट प्रभावित भएका थिए । त्यही बेला पर्वतामा जमिन्दारहरु विरुद्ध किसान आन्दोलन भएको थियो । जमिन्दारहरुले किसानलाई शोषन गर्ने, उत्पीडन गर्ने गरेका थिए । किसानका छोरीहरु, चेलीबेटीहरु ती जमिन्दारबाट असुरक्षित हुन्थे । जमिन्दार अगाडी या उनको घर अगाडीबाट भएर किसानहरु आफ्नो चप्पल खोलेर खाली खुट्टा जानु पथर््यो । ज्याला मज्दुरीमा पनि अत्यधिक शोषन गरिन्थ्यो । रातो धोती लगाएर जमिन्दार सामु जान प्रतिबन्ध थियो । त्यसकारण हरिदेव मण्डलकै अगुवाईमा पर्वतामा चौधरी महतो, जिवछ दाहा, झपसी मण्डल लगायतको अगुवाईमा जमिन्दार उन्मुलन आन्दोलन भएको थियो । उक्त आन्दोलनमा झपसी मण्डलले सहादत प्राप्त गरेका थिए ।
पर्वता स्कुल प्रावि थियो । तर निमाविमा प्रस्तावित भएको थियो । विद्यालयका लागि आवश्यक पर्ने जग्गा खाली भएपनि पर्वता मठका महन्थले दिन मानिरहेको थिएन । विद्यालयको नाउँमा रहेको अरु जग्गाहरु बरु दोब्बरै भएपनि दिन तयार थिए विद्यालयका प्रअ मण्डल । विद्यालय अगाडीको जग्गा विद्यालयलाई दि एभने खेलकुद गर्नका लागि मैदान समेत हुने र भविष्यमा विद्यालयको प्रगतिको लागि राम्रो हुने भन्दै त्यो जग्गा विद्यालयलाई दिन प्रअ मण्डल महन्थलाई हारगुहार गरिरहेका थिए । तर, महन्थले दिन नमानेपछि स्थानीयबासीहरुको अगुवाईमा मण्डलले त्यो जग्गा विद्यालयको नाउँमा कब्जागर्न लगाए । कब्जा भएपछि प्रअ मण्डल र महन्थ बीच टसल बढ्यो । तत्कालिन सिडिओ र जिल्ला शिक्षा अधिकारीलाई बोलाएर त्यहाँ सभा आयोजना गरियो । क्यापचर गरिएको जग्गा अन्ततः विद्यालयलाई दिलाइयो । यति मात्र होइन गाउँमा रहेका विद्यालयको जग्गा पनि अतिक्रमण गरिएको थियो । मण्डलकै अगुवाईमा करिब २७÷२८ विघा अतिक्रमित जग्गा मुक्त गराई विद्यालयमा हस्तान्तरण गराईयो । त्यसपछि उनको मावि कुम्रौडामा सरुवा भयो । उनी अंग्रेजी विषयका मावि शिक्षक भईसकेका थिए । त्यहाँ पनि विद्यालय संचालक समितिका अध्यक्ष रघुविर मिश्रसँग पटक पटक उनको टसल हुन्थ्यो । सरस्वती पुजा हुँदा ब्राह्मण समुदायका विद्यार्थीलाई मात्र पूज ागर्न दिइन्थ्यो । अन्य समुदायका विद्यार्थी क्लास टपर भएपनि जाती समुदायको आधारमा पूज ागर्नबाट वञ्चित गरिन्थ्यो । त्यो परम्पराको विरोध गर्दै मण्डलले अन्य समुदायका विद्यार्थीले पनि सरस्वती पूजा गर्न पाउने बातावरण बनाए । वर्ण व्यवस्था माथि उनको ठुलो प्रहार थियो । त्यस्तै त्यहाँ शिक्षकहरुको अधिकारका लागि पनि उनले संघर्ष गरेका थिए ।
कुम्हरौरा विद्यालयमा रहेकै बेला २०४२ साल तिर नेपाल जनवादी मोर्चाका रामराजा प्रसाद सिंह र संघीयता सहित गणतन्त्र पक्षधरका सामाजिक अभियन्ता डा.लक्ष्मिनारायण झासँग उनको सम्पर्क बढेको थियो । डा.लक्ष्मिनारायण झाको सपना प्रत्येक गाउँमा माध्यमिक विद्यालय हुनुपर्ने, प्रत्येक वार्डमा किसानहरुको खेतीका लागि सिचाईको व्यवस्था हुनुपर्ने जस्ता सामाजिक अभियानमा पनि मण्डलले भरपुर साथ दिएका थिए । सिंचाईका लागि उक्त अभियन्ताहरुले धनुषाको बहुअर्वा र अकौराको बीचमा सरहन्चिया नदिमा तटबन्ध निर्माण गरेर पैनी समेत खनेका थिए । तर, विभिन्न कारणले उक्त अभियान सफल हुन सकेन ।
२०४२ सालमा राजसंस्थाको विरोधमा रामराजा प्रसाद सिंहको नेपाल जनवादी मोर्चाले बम काण्ड गराएको थियो । २०४३ सालमा निर्वाचनको घोषणा गरिएको थियो । उक्त निर्वाचनको जनवादी मोर्चाले विरोध गरेको थियो । त्यसकारण ४२ सालमा काठमाण्डौ सहित  देशका विभिन्न ठाउँहरुमा बम विस्फोटन गराइएको थियो । नेपाल जनवादी मोर्चाले हतियार बन्द राजनीतिको सुरुवात पनि त्यहीबाट गरेको थियो । बम काण्डको आरोपमा डा. एलएन झा सहित विभिन्न व्यक्तिहरु पक्राउ परे । हालसम्म डा. झा लगायत कतिपयको अवस्था अज्ञात रहेको छ । बम काण्ड भएको बेला मण्डल जनवादी मोर्चाका संगठन विभाग प्रमुख तथा प्रवक्ता थिए । भैरहवा नाका तर्फबाट सुमन भनिने चन्द्रदेव ठाकुर पक्राउ परेपछि प्रहरीले जनवादी मोर्चाको संजाल पत्ता लगाई विभिन्न ठाउँमा रहेका मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । काठमाण्डौको सुनधारा लजबाट प्रहरीले मण्डललाई पनि गिरफ्तार गरे । मण्डल पक्राउ परेको अवस्था धेरै दिनसम्म अज्ञात रहयो । धेरै दिन पछि उनलाई महाराजगञ्ज जेलमा राखियो । जेलमा मण्डललाई अत्यन्त अमानविय तरिकाले प्रहरीले शारिरीक तथा मानसिक यातना दिने गथर््यो ।  बालटिनमा खुर्सानीको धुलो सहितको पानीको मिश्रण राखेर मण्डललाई उल्टो झुन्डयाई त्यो खुर्सानी सहितको पानीमा टाउको डुवाउने गर्थे । यसरी डुवाउँदै तान्दै गर्दा बाल्टीको पानी सकिए पछि उनलाई भुईमा सुताएर पैतालामा लाठी लिएर पिट्ने गर्थे । उक्त यातनाबाट मण्डल कतिपय दिनसम्म बेहोस रहने गर्थे । कुटपिटबाट शरीरमा उनको घाउहरु हुन्थ्यो । खाल्डो खनि खाल्डोमा किरा सहितको पानी राखेर मण्डललाई घण्टौसम्म उभ्याएर किराबाट टोक्न लगाउँथ्यो । यातना कसरी दिइन्थ्यो भन्ने कतिपय कुरा लेख्न पनि सकिन्न ।
त्यतिबेलाको प्रशासनले मण्डलमाथि राज्यद्रोह, हातहतियार तथा खरखजाना लगायत १४ वटा मुद्दाहरु लगाएका थिए । एउटा मुद्दामा ११ बर्षसम्म सजाय गरी कुल १४ वटा मुद्दामा कुल १ सय ५४ बर्षको कैद सजाय निर्धारण गरिएको थियो । जेलमा मण्डल रहेका बेला मण्डललाई गलाउन तथा प्रलोभनमा पार्न तत्कालिन शासकले भरपुर प्रयास पनि गरेको थियो । एक पटक उनलाई राजा महेन्द्रको संदेश पुर्याउनका लागि नक्कली गोली काण्ड गराई एक जना कैदीलाई मण्डल रहेको जेलमा पठाइयो । उक्त कैदीले मण्डललाई भन्ने गर्थे कि राजा विरेन्द्रले तपाईलाई पञ्चायत स्वीकार गरे, रामराजा प्रसाद सिंहलाई समेत कन्भिन्स गर्न सके जेलबाट मुक्ति दिनुका साथै मोटो रकम समेत प्रदान गरिने छ । तर, उनी दरबारबाट पठाइएको उक्त नक्कली कैदीको रुपमा रहेका दुतको प्रस्ताव मण्डलले ठाडै अस्विकार गरिदिए । २०४७ साल पछि पञ्चायत व्यवस्थाको अन्त भई बहुदल स्थापना भयो । नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारले ती राजनीतिक मुद्दाहरुमा फसाइएका तथा कैदी बन्दीहरुलाई रिह ागर्ने तथा आम माफी दिने निर्णय गरेपछि मण्डल पनि जेलबाट रिहा भए । रिहा भएर आएपछि उनको शिक्षकको पद यथावत थियो । कुम्हरौडामा पुनः पद स्थापना भएपछि उनी शिक्षण पेशामा फर्किए । त्यसपछि जनकपुरको ज्ञानकुपमा उनको सरुवा भयो । संकटमोचन माविमा पनि उनी शिक्षक भएर काम गरेका छन् ।
माओवादीले गरेको सशस्त्र विद्रोहका क्रममा ज्ञानकुप विद्यालयबाट मण्डललाई नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरेको थियो । २०६० साल तिर विजया दशमीको घटस्थापनाका दिन माओवादी विद्रोही रहेको आरोपमा सादा पोशाकमा गएका नेपाली सेनाले तपाईसँग कुनै कुरा गर्नुछ भन्दै गिरफ्तार गरेका थिए । सिन्धुलीको भिमान स्थित व्यारेकमा उनलाई गिरफ्तार गरी राखिएको थियो । ६३ दिन पछि उनी रिहा भएका थिए ।
२०५१ साल तिर रामराजा प्रसाद सिंहले नेपाल जनवादी मोर्चा नामक दललाई निर्वाचन आयोगमा दर्ता गराई आम चुनावमा मोर्चा लड्यो । जनकपुरबाट रामराजा प्रसाद सिंह चुनाव लडेका थिए । तर, चुनावमा रामराजा संगसँगै एउटा पनि सिट मोर्चा जित्न सकेन । २०५३ साल तिर मण्डल लगायत जनवादी मोर्चाका कार्यकर्ताहरु एमालेको विरगञ्ज महाधिवेशनबाट एमालेमा प्रवेश गरेका थिए । एमालेको भातृ संगठन किसान संघमा सचिवालय सदस्य, एमालेको शिक्षक संगठनमा धनुषा अध्यक्ष तथा केन्द्रिय सदस्य हुँदै नेकपा एमालेमा उनी धनुषा अध्यक्ष समेत भएका थिए ।
२०६४ साल चैत्र २८ गते संविधानसभाको प्रथम चुनावमा एमालेको तर्फबाट धनुषा क्षेत्र नं. ३ बाट चुनाव लडे पनि विमलेन्द्र निधिबाट पराजित भएका थिए । उनी निकटतम प्रतिद्वन्दी भई दोस्रो स्थानमा रहेका थिए । पछि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेर संविधानसभाको दोस्रो चुनावमा पुनः लडेपनि सोही क्षेत्रबाट उनी पुनः पराजित भएका थिए ।

२०७३ पौष १७ गते आईतबार