Tuesday, November 14, 2017

विकासको बलमा बच्ला त विमलेन्द्रको विरासत ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..................
मिथिलाको राजधानी जनकपुर मेरो घर हो । यहाँ मैले बामे सर्न सिकें, पढें हुर्किएँ । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।
अहिले समाजवादको नारा दिएर साम्यबाद लादने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दछु । समाजवाद श्रद्धेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।
१६ कार्तिक २०७४ मा धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधान एवम गृहमन्त्री समेत रहेका विमलेन्द्र निधिले सामाजिक संजालमा उक्त अभिव्यक्ति व्यक्त गरेका थिए । २०७० सालको संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट जुली महतोले उनलाई कडा चुनौति दिएका कारण सबैभन्दा पहिलो प्रहार साम्यवाद विरुद्ध उनले गरेको देखिन्छ । यद्यपि ती जुली महतो यसपटक समानुपातिक कोटामा सिफारिस भएकी छिन भने नेकपा माओवादी केन्द्रबाट बाम तालमेल गरी विना विभागिय राज्य मन्त्री रामसिंह यादव यसपटक निधिको संसदीय क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा मेरो जन्म घर मात्र होईन, मेरो राजनीति र लोकतन्त्रको प्राप्ति, विकास र रक्षाका लागि अनवरत संघर्ष गर्न सिकाउने गुरु समेत हो । निरंकुश पञ्चायति व्यवस्था विरुद्ध पहिलो पटक यही भुमिबाट मैले आन्दोलनमा सहभागी भएँ । र, कलिलो उमेरमै काराबासको सजाय भोगे । तर, म अविचलित यस भुमिको अधिकार, विकास र सम्मानका लागि लडिरहे, लड्दै आएको छु । र, लडिरहने छु ।
धनुषा मेरो शान, मान र सम्मान
धनुषा मेरो शान हो । यस भुगोलका नागरिक मेरा आत्म प्रेरणा र मार्ग दर्शक हुन । मैले राजनीतिका ५ दशकमा भोगेका अनेकन कठिनाईमा धनुषाका नागरिकको साथ र सहयोग अविस्मरणिय रहेको छ । मैले जित्दा धनुषाले जितेको गर्व गर्दै आएको छु । मैले हार्दा मलाई मेरो माटोले हारेको अनुभुति हुन्छ । जनकपुरलाई प्रदेश राजधानी बनाएर यसको गरिमा, इतिहास र ऐतिहासिकता कायम राख्दै यसलाई आधुनिक र सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्नु र मधेसले देशको नेतृत्व गर्नु नै मेरो राजनीतिक यात्राका गणतव्य हुनेछ ।
२४ कार्तिकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सामाजिक संजाल फेसबुकमा धनुषा मेरो शान, मान र सम्मान शिर्षक दिँदै माथिका वाक्यांशहरु पोस्ट गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका विमलेन्द्र निधिले ती वाक्यहरु लेखेर आफु धनुषाको छोरा भएको भन्दै आगामी दिनमा जिते भने प्रधानमन्त्री बनेर देशको नेतृत्व समेत गर्न सक्ने, पार्टीमा कार्यबाहक सभापति सम्म बनेर वा आगामी महाधिवेशनमा सभापति सम्म बनेर देशको नेतृत्व गर्ने राजनीतिक यात्राको गणतव्यलाई देखाएका छन् । अर्को तर्फ बाहिर जिल्लाबाट आएर राजपाका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दिएका कारण उनी यो माटोको नभएर बाहिरिया रहेको संकेत गरेका छन् ।
विमलेन्द्र निधि नेपाली कांग्रेसमा अहिले शिर्ष नेताको भुमिकामा छन् । गृहमन्त्री सम्म बन्न सफल निधिको लागि यो चुनाव अत्यन्तै महत्वपुर्ण छ । यो चुनाव जितेमा मात्रै प्रधानमन्त्रीसम्म बन्न सकिने उनको राजनीतिक लक्ष्य प्राप्त हुने हुनाले यो चुनाव कुनै पनि हालतमा निधिले लुज गर्न चाहँदैनन् । निधि त्यो क्षेत्रबाट आफै पनि लगातार दुई पटक जितेका छन् भने विगतमा एक पटक उनी हारेपनि त्यो क्षेत्रमा उनका बुवा स्वर्गिय महेन्द्रनारायण निधिले भने चुनाव जित्दै आएका थिए । यस अर्थमा त्यो संसदीय क्षेत्र निधिको राजनीतिक विराशतको रुपमा पनि रहेको छ ।
राजनीति देशाटन गर्दै घाटानाफा हेर्ने व्यवसाय होइन
राजनीति आस्था, विश्वास, सिद्धान्त र नीतिमा आफुलाई अडिग र अक्षुण राख्दै आफ्नो भुगोलको नेतृत्वलाई जनहितकारी र राष्ट्रहितमा समर्पित गर्ने कर्म हो । यो कुनै निश्चित उद्देश्य, रणनीति र कुटनीति अपनाउँदै मतदाताको विश्वास भन्दा मतको अंक गणितमा गर्ने व्यवसाय होइन ।
धनुषा मेरो भूगोल हो, यहाँका नागरिक मेरो विश्वास । मैले राजनीतिको सिद्धान्त, विचार र दृष्टीकोणलाई यस भेगका नागरिकको समस्यासँग जोडेर राष्ट्रिय मुद्दामा सधै अडिग रहें ।  स्वाधिनता र स्वाभिमान मेरा लागि मेरो प्राणभन्दा प्यारा छन् ।
मधेश आन्दोलनलाई मझदारमा छाडेर, आफ्नो स्वार्थका लागि भौतारिने नेतृत्वलाई नेपाली कांग्रेसकै पहल र मेरो अगुवाईमा समाधान र आत्मसम्मानको अवस्थामा ल्याएर सफल अवतरण गरिएको कोही कसैबाट लुकेको छैन । आन्दोलनमा शहादतप्राप्त गर्ने अमर शहिदका आश्रित परिवारलाई राज्यबाट सहयोग र सीमा रक्षाका महान योद्धाका परिवारलाई सहयोगको अगुवाई मबाटै भएको विदित्तै छ ।
कुनै वस्तुका ब्यापारी जस्तो देशाटन गर्दै वस्तुको मोलमोलाई गर्ने नेतृत्वले राजनीतिलाई पनि त्यस्तै वस्तु ठान्नु आलोचनाको लायक समेत छैन । आशा गर्छु, राजनीतिक आवरणमा रहेका वस्तु ब्यापारीबाट धनुषाबासी होसियार हुुनुहुन्छ ।
२४ कार्तिकमै निधिले १२ घण्टाको अन्तरालमा राजेन्द्र महतो माथि प्रहार गर्दै सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । यसरी हेर्ने हो भने धनुषा क्षेत्र नं. ३ को निर्वाचन वढी नै चर्चाको विषय किनपनि बन्दै गएको छ भने अब लडाई सिधा विमलेन्द्र निधि र राजेन्द्र महतो बीच सांगुरिदै गएको छ ।
निधिका सवल पक्षहरु
निधि अहिले धनुषाको मात्र नभएर देशमै शिर्ष नेताको रुपमा स्थापित हुन सफल भएका छन् । राष्ट्रिय पहिचानका साथसाथै अन्तर्राष्ट्रिय स्तरमा समेत ठुलो नेताको रुपमा पहिचान बनाउन सक्नु उनका लागि सकारात्मक कुरा हो । उनकै संयोजकत्वमा जनकपुरमा राजर्षी जनक विश्वविद्यालय स्थापना गर्ने भनेर दुई दशक देखिको सपना साकार भएको छ । अब जनकपुरमा उक्त विश्वविद्यालय स्थापना हुने लगभग निश्चित भईसकेको छ । यद्यपि त्यो कार्यमा विभिन्न राजनीतिक दलको सामुहिक प्रयास थियो तर त्यसको पुरा श्रेय अहिले निधिले लिएर चुनावमा त्यसलाई पनि आफ्नो सफलताको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।
सुशिल कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा पुर्वाधार मन्त्री रहेका बेला निधिले धनुषा क्षेत्र नं. ३ को विकासका लागि महत्वपुर्ण योगदान निर्वाह गरे । उनको संसदीय क्षेत्रको प्रायः जसो सबै गाउँहरुमा पक्की सडक निर्माण भएका छन् । कतिपय सडकहरु, पुलहरु निर्माणाधिन रहेका छन् । ती सबैको कारण आफ्नो क्षेत्रमा विकास प्रेमी नेताको रुपमा छाप छोड्न सफल भएका छन् ।
क्षेत्रका विपक्षी दलका नेताहरु पनि के कुरामा सहमत छन् भने निधिले गरेको पुर्वाधार विकासको कार्य कुनै पनि नेताले गर्न सक्ने थिएनन् । यद्यपि ती विकास निर्माणका कार्यहरुमा ठेक्केदारहरुले ढिलासुस्ती गर्नुका साथै गुणस्तरहिन काम गरिरहँदा पनि त्यसलाई नियमन गराउन निधि भने चुकेकै हुन । जटही, जनकपुर र ढल्केवर सम्मको सिक्स लेन राजमार्ग निर्माण अहिले भईरहेको छ । त्यो महत्वाकांक्षी परियोजना अहिले साकार हुँदै जानुमा निधिको एकल प्रयास हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रि हुँदा बिमलेन्द्र निधिले विकासका लागि ठुलो रकम सहितको बजेट विनियोजन गरेर धनुषामा मात्र नभएर मध्य तराई मधेसमा विकास निर्माणको पुर्वाधारमा ठुलो योगदान पुर्याएका छन् । खास गरी धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट जिल्लामा बजेटको खोला नै बगाएपछि उनको छवि विकास प्रेमी नेताको रुपमा बन्न पुग्यो । निधिले धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर र रौतहट गरी कुल ७ वटा जिल्लाहरुमा विकास निर्माणका लागि सडक र पुल निर्माणका निम्ति ८ अर्ब ३४ करोड रुपैयाँ भन्दा वढी विनियोजन गरेका थिए ।
खास गरी विकासको लागि बर्षौं देखि केन्द्रको मुख ताकिरहेका धनुषा र महोत्तरी जिल्लामा निधिले बढी बजेट बिनियोजन गरेको थियो । धनुषा र महोत्तरीमा सडक निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ, जनकपुरको सहर भित्र विभिन्न सडकहरु निर्माणका लागि ४४ करोड रुपैयाँ, धनुषामा थप प्रस्तावित सडकहरुको लागि ३३ करोड रुपैयाँ, ६ लेन सडकका लागि १ अर्ब २३ करोड रुपैयाँ, मिथिला माध्यमिकी परिक्रमा सडकका लागि १ अर्ब रुपैयाँ र धनुषामा पुलहरु निर्माणका लागि ७७ करोड गरी कुल ६ अर्ब २७ करोड रुपैयाँ बजेट अहिले विनियोजन गरेको थियो । त्यसैगरी बारा जिल्लामा ४० करोड रुपैयाँ, पर्सामा १८ करोड रुपैयाँ, मकवानपुरमा ४ करोड ५० लाख रुपैयाँ, सर्लाही र रौतहट गरी दुई जिल्लामा मात्र १ अर्ब ४५ करोड रुपैयाँ मन्त्री निधिले विकास तथा पुर्वाधार निर्माणका लागि विनियोजन गराएका थिए ।
डिभिजन सडक कार्यालय धनुषा मार्फत प्रादेशिक सडक, क्षेत्रिय सडक, मिथिला सडक लगायतका विभिन्न शिर्षकमा धनुषा र महोत्तरी जिल्लाको लागि मात्र निधिले कुल १६ वटा मुख्य योजना अन्तरगत कुल २ सय ३८ किलो मिटर सडक कालोपत्रे गर्नका लागि करिब २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
हुन त ती योजनाहरु मध्ये मन्त्री निधिले आफ्नो निर्वाचन क्षेत्र नं. ३ लाई बढी प्राथमिकता दिई अधिकांश बजेट छुट्याएका थिए भने तत्कालिन क्षेत्र नं. ४ जनकपुरको सहरी सडक अन्तरगत कुल ४० किलो मिटर सम्मको कुल ४० वटा सडकको लागि कुल ४४ करोड रुपैयाँ छुट्याएका थिए । त्यसपछि धनुषाको अन्य निर्वाचन क्षेत्र र महोत्तरी जिल्लाको लागि बजेट छुट्याएका थिए ।
त्यसैगरी उनले धनुषा र महोत्तरीको लागि प्रस्तावित गरेको २० किलो मिटर भन्दा वढी कुल ६ वटा सडक योजनाको लागि ३३ करोड रुपैयाँ बजेट छुट्याई ठेक्कामा लग्नको लागि प्रक्रिया समेत थालेका थिए ।
त्यसैगरी मिथिला माध्यमिकी परिक्रमा अन्तरगत कुल ९८ किलो मिटर सडक समेत मन्त्री निधिले कालो पत्रे गराउन बजेट विनियोजन गराएका थिए । ८६ किलो मिटर रिंग रोड र अर्को हनुमान नगर देखि भारतको कल्याणेश्वर बोर्डरसम्म ९.५ किलोमिटर र जनकपुरको मिल्स एरिया देखि रेल्बे स्टेशन सम्म ३ किलो मिटर गरी बन्ने कुल ९८ किलो मिटर परिक्रमा सडकका लागि करिब १ अर्ब रुपैयाँ जति लाग्ने अनुमान गरिएको छ ।
बारामा कुल ११ वटा योजनाहरुको लागि कुल ४० करोड रुपैयाँ, पर्सामा कुल १५ वटा योजनाको लागि १८ करोड रुपैयाँ र मकवानपुरमा कुल ५ वटा योजनाको लागि रु. ४ करोड ५० लाख बजेट छुट्याएका थिए । निधिले सर्लाही र रौतहट जिल्लाका लागि रु. १ अर्ब ४५ करोड बजेट छुट्याएका छन् । निधिले धनुषामा ६ र महोत्तरीमा कुल ८ गरी कुल १४ वटा पुल निर्माणको लागि ७७ करोड रुपैयाँ भन्दा वढी बजेट विनियोजन गरेका थिए ।
निवर्तमान सांसद संजय साहको समर्थन
धनुषा क्षेत्र नं.४ का लगातार दुई पटक निर्वाचित भएका निवर्तमान सांसद संजय साहले कारागारबाटै विमलेन्द्र निधिलाई समर्थन गरेका छन् । सदभावना पार्टीबाट सांसद बनेको भएपनि तत्कालिन अध्यक्ष राजेन्द्र महतोले आफुलाई धोका दिएको, पक्राउ परेपछि रिहाईका लागि कुनै पनि पहल नगरेको, आफुलाई फरार हुन र पक्राउन समेत महतोले नै षड्यन्त्र गरेको भन्दै संजय साहले आफ्ना समर्थकहरुलाई कारागारबाटै फोन गरेर विमलेन्द्र निधिलाई समर्थन गर्न भनिरहेका छन् । संजय साह अहिले विभिन्न मुद्दामा अभियूक्त भई कारागारमा थुनामा छन् । संजय साहको उक्त भनाई पछि उनका समर्थकहरु निधिको पक्षमा प्रचारप्रसार गर्दै हिँडिरहेका छन् ।
साहुजी समुदायलाई म्यानेज गर्दै निधि
साहुजी समुदाय माथि आफ्नो पकड बलियो बनाउन निधि विस्तारै विस्तारै सफल भईरहेका छन् । जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साह, राम यूवा कमिटिका पुर्व अध्यक्ष रामबाबु साह, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, स्वतन्त्र भई उपमेयर उठेका यूवा राकेश विक्रम साह लगायतको कांग्रेसमा प्रवेश पछि कतिपय साहुजी समुदायले निधिलाई समर्थन गरेका छन् ।
निधिका लागि चुनौति
निधि अहिले हेभी वेटको नेताको रुपमा रहेपनि अहिलेको प्रतिनिधि सभाको निर्वाचन जित्नका लागि उनका सामु थुप्रै चुनौतिहरु छन् । सबैभन्दा ठुलो चुनौति के हो भने उनका सामु राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नै प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका छन् । जसरी निधिको राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान स्थापित छ त्यसैगरी राजेन्द्र महतो पनि मधेसमा मात्रै नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन् । खासगरेर संविधान निर्माण समयमा भएको तेस्रो मधेस आन्दोलनमा एकातर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा चर्चित भए भने मधेसमा राजेन्द्र महतो लोकप्रिय भए । खासगरेर नाकाबन्दीका दौरान विरगञ्ज नाकामा निरन्तर धर्ना दिनु, विराटनगरमा सुरक्षाकर्मीबाट कुटाई खाएर घाईते हुनु, आन्दोलनका समयमा उग्रनाराहरु दिनु, हार्डलाईनर मधेसवादी नेताको रुपमा आफुलाई स्थापित गराएका राजेन्द्र महतोलाई पराजित गर्नु विमलेन्द्र निधिलाई सजिलो हुने छैन । किनभने स्थानीय तहको निर्वाचनमा राजपा नेपालले जनकपुरमा जित हात पारेको थियो । यद्यपि त्यो मतमा अहिले कमि भने पक्कै आएको छ । तर, त्यसैकारण निधि जितिहाल्ने अवस्था देखिँदैन ।
जनकपुर सहरमा साहुजी समुदाय र ब्राम्हण समुदायको संख्या वढी रहेको छ । ती दुवै समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । खास गरेर महतो आफै बैष्य समुदायका भएका कारण अधिकांश साहुजी समुदायले राजेन्द्र महतोलाई मतदान गर्न सक्ने सम्भावना देखिन्छ । किनभने विगतका दुई पटकको संविधानसभाको निर्वाचनमा पनि संजय साहनै निर्वाचित भएका थिए । यद्यपि निधिले प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम साहलाई टिकट दिएर साहुजी मतलाई विभाजन गर्ने प्रयास गरेपनि त्यो भने पर्याप्त देखिँदैन । साहुजी समुदायले श्याम साहलाई मतदान गरेपनि निधिलाई मतदान गरिनै हाल्छन् भन्ने कुराको सुनिश्चितता अहिलेसम्मको स्थितिमा देखिँदैन ।
निधिको ग्रामिण क्षेत्रहरुमा रहेका ब्राम्हण समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । ग्रामिण क्षेत्रका ब्राम्हण समुदायको अधिकांश मत राजपा नेपाललाई जाने सम्भावना किन पनि देखिन्छ भने राजपा नेपालले ग्रामिण क्षेत्रको प्रदेश सभामा ब्राम्हण समुदायबाट पुर्व सभाषद कबिन्द्र ठाकुरलाई उठाएका छन् ।
निधिमाथि जातिकरणको आरोप
विमलेन्द्र निधि एउटा सर्वमान्य नेता भन्दा पनि आफ्नै जातिलाई मात्र अवसर दिने गरेको भनेर अन्य समुदायहरु असंतुष्ट देखिएका छन् । खासगरेर विभिन्न पेशामा रहेका पेशाकर्मीहरु, प्राध्यापकहरु, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु असंतुष्ट देखिएका छन् । विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि यस अघि जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुख भएका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा गर्दा आफ्नै जाति कायस्थ समुदायलाई मात्र प्राथमिकता दिएको भन्दै अन्य समुदायका प्राध्यापकहरुमा असंतुष्टी देखिएको छ । कार्यसम्पादन मुल्याङ्कनमा डा.सुरेन्द्र लाभ, मनोरंजन दत्त लगायतकालाई वढी अंक दिएर प्राध्यापकमा बढुवा गर्न लगाए भने डा.भोगेन्द्र झा लगायत अन्य सहप्राध्यापकहरु प्राध्यापक नबनिकनै अवकास लिनु पर्यो । यसका अतिरिक्त क्याम्पस प्रमुखमा पुनः आफ्नै समुदायका विजयलाल कर्णलाई नियूक्त गर्नुका साथै कतिपय विश्वविद्यालयका उपकुलपतिमा समेत आफ्नै समुदायका प्राध्यापकहरुलाई नियूक्त गरेको भन्दै अधिकांश प्राध्यापकहरु निधि प्रति असंतुष्ट देखिएका छन् ।
उच्च अदालतको न्यायाधीश नियूक्तिका लागि जनकपुरबाट कतिपय कानुन व्यवसायीहरुले आवेदन भरेका थिए । तर, कांग्रेस निकट डिएलएका कानुन व्यवसायीहरुलाई न्यायाधीशमा नियूक्त नगरी आफ्नै भाई राकेश निधिलाई न्यायाधीश बनाएपछि कांग्रेस निकटकै कानुन व्यवसायीहरु असंतुष्ट देखिन्छन् । यसका अतिरिक्त अवकाश प्राप्त गरिसकेका आफ्नै समुदायका न्यायाधीशहरुलाई मात्रै विभिन्न किसिमका आयोगमा नियूक्ति गर्ने गरेको भन्दै जनकपुरका कानुन व्यवसायीहरु निधि प्रति संतुष्ट देखिँदैनन् । अवकास प्राप्त न्यायाधीशहरु गिरिशचन्द्र लाल, कमलनारायण दास, लोकेन्द्र मल्लिकलाई विभिन्न आयोगमा निधिले नियूक्त गराएका थिए ।
त्यसैगरी विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा २ सय ५० जना कम्प्यूटर अपरेटरको नियूक्ति गर्दा आफ्नै जाति कायस्थबाट करिब २ सय जनाको नियूक्ति गरेको भन्दै अन्य समुदायहरु असंतुष्ट देखिन्छन् । त्यसका अतिरिक्त कर्मचारीतन्त्रमा समेत सरुवा वढुवा गर्दा ब्राम्हण समुदायका कर्मचारीहरुलाई प्राथमिकतामा नलिई आफ्नै जाति समुदायका कर्मचारीहरुलाई प्राथमिकतामा राखेको भन्दै ब्राम्हण समुदायका कर्मचारीहरु निधि प्रति असंतुष्ट देखिन्छन् ।
विमलेन्द्र निधि गृहमन्त्री भएको बेलामा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट दिलाइएको अधिकांश मानपदक आफ्नै समुदायका व्यक्तिहरुलाई बढी दिएको र अन्य समुदायलाई नामको लागि मात्र समावेश गरेको भन्दै जनकपुरका साहुजी समुदाय देखि अन्य समुदायहरु असंतुष्ट देखिन्छन् ।
संविधान जारी गर्ने देखि गृहमन्त्री हुँदा सप्तरीको मलेठमा ५ जना यूवाहरुको सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएको आरोप समेत विपक्षी राजपाले लगाईरहेको अवस्थामा नेता निधिलाई समेत मधेस विरोधी नेताको रुपमा चित्रण गरिरहेको अवस्थामा निधिले ती सबै आरोपहरुलाई चिर्दै कसरी अगाडी वढ्ने छन् त्यो भने हेर्न बाँकी छ । यद्यपि निधि आफै पनि कुनै पनि मधेसवादी भन्दा कम मधेसवादी नेता नरहेको, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको कुरा आफैले उठाएको, संविधान संशोधनको पक्षमा कांग्रेसलाई ल्याउन ठुलो भुमिका खेलेको, आगामी दिनमा दुई तिहाई बहुमत जुटाएर संविधान संशोधन गराई छाड्ने भनेर निधिले प्रचारका क्रममा मतदाता माझ कुरा राखिरहेका छन् ।
निधिको राजनीति र वर्तमान अवस्था
बिमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट  पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि पनि क्षेत्रमा केही पनि विकास नगरेको भन्दै उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित थिए । त्यसमा पनि उक्त क्षेत्रबाट विमलको बुवा महेन्द्र नारायण निधि पनि निर्वाचित हुने गरेको अवस्थामा छोरा पनि निर्वाचित भएपछि विकास नहुँदा उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित हुनु स्वाभाविक थियो ।
उक्त क्षेत्रमा कहिँ पनि पक्की सडक थिएन । उक्त क्षेत्रमा धेरै पहिले निर्माण भएको जनकपुर देखि जटही सम्मको एक मात्र पक्की सडक टुटेको बर्षौं बितिसक्दा पनि निधिले केही गर्न सकेका थिएनन् । यति मात्र होइन उनी शिक्षा मन्त्री हुँदा उनैले भन्ने गरेको जनकपुरमा राजर्षी जनक विश्व विद्यालय बनाउने सपना समेत साकार गर्न नसक्दा उनी विश्व विद्यालयको स्थापनाको अजेण्डा आफैले विर्सेको भन्ने सम्म भनियो । उनले आफ्नो बुवा महेन्द्र नारायण निधिको नाउँमा काठमाण्डौको गौशालामा महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बनाउँदा जिल्ला बासी थप असंतुष्ट बन्यो । गृह जिल्लामै अस्पताल बनाएको भए यहाँका जनताहरुले सस्ता र सुलभ ढंगले उपचार गराउन पाउथे भन्ने सोच स्थानीयवासीले राखेका थिए ।
परिणाम स्वरुप दोस्रो संविधान सभाको निर्वाचनको दौरान प्रचारमा जाँदा निधिलाई जनताले मुखमै आलोचना गर्ने गर्थे र, केही पनि विकास गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्थे । हुन त त्यसै पनि दोस्रो चुनावमा उनलाई धेरै मिहिनेत गर्नु पर्यो । किनभने एमालेका प्रत्यासी जुली महत्तो जो उक्त क्षेत्रको स्थानीयवासी नभएर पनि चुनाव प्रचारका दौरान पुरा ताकत लगाएकी थिईन । पहिले पहिले चुनावमा निधि चुनावको नजिकमा आएर मात्र प्रचार वा घर दैलोमा जाने गर्थे ।
एक त निधि प्रति मतदाताको फ्रस्ट्रेशन र अर्को तर्फ जुलीको अग्रेसिभ प्रचार अभियानका कारण निधिलाई उक्त चुनावमा गाउँमै डेरा जमाउनु पर्यो । प्रचारका दौरान उनले विकासको नारा दिए । संविधानसभाबाट कस्तो संविधान बनाउने भन्ने विषय गौन बनेको थियो । गाउँमा बाटो छैन, पुल छैन । बर्षातको समयमा गाउँहरु डुवानमा पर्छन् । पुल अभावका कारण एउटा गाउँबाट अर्को गाउँको सम्पर्क नै विच्छेद हुन जान्छ र गाउँ टापुमा परिणत हुन्छ लगायतका मतदाताहरुको एकातर्फ गुनासो अर्को तर्फ विपक्षी उम्मेदवारहरुले पनि निधि देशको ठुलो नेता भईसके पनि  विकास विरोधी रहेको भनेर आक्रमण गर्थे । त्यसकारण दोस्रो संविधानसभाको निर्वाचनको लागि निधिले चुनाव प्रचारका दौरान आफु जिते पनि वा हारे पनि जुन गाविसबाट आफुलाई सर्बाधिक मत आउँछ उक्त गाविसमा विकासका लागि १ करोड रुपैयाँ दिने घोषणा नै गरेका थिए । चुनाव जिते पछि सबै भन्दा वढी मत आएको झोझि कटैया गाविसमा निधिले गरेको बाचा अनुरुप संसदीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत उनले जिल्ला विकास समिति मार्फत १ करोड रुपैयाँको योजना बनाएर उक्त गाउँमा पक्की सडक निर्माण गराएका थिए ।
दोस्रो संविधान सभाको चुनावको परिणामलाई हेर्ने हो भने पनि निधि १ हजार ४ सय ९२ मत अन्तरले मात्र विजयी भएका छन् । जुली महतोले १३ हजार ५ सय ३९ मत ल्याएकी थिईन भने विमलेन्द्र निधिले १५ हजार ३१ मत प्राप्त गरेर झिनो मत अन्तरले विजयी हुनुले पनि निधिले आगामी दिनमा क्षेत्रमा विकास नगर्ने हो भने अब कठिनाई हुने सहजै बुझिसकेको हुनुपर्दछ । त्यसैले उनले सबै भन्दा पहिले राजनीतिलाई जिवित राख्न आफ्नो संसदीय क्षेत्रमा विकास जसरी पनि गर्नै पर्छ भन्ने मुड बनाएर भौतिक योजना तथा पुर्वाधार मन्त्री भएको बेला निधिले  निर्वाचन क्षेत्र नं. ३ मा मात्रै २ अर्ब भन्दा वढीको रकम लगानी गराएका थिए । अहिले उक्त क्षेत्र धनुषाकै अन्य क्षेत्रहरु भन्दा विकासको मामिलामा सबैभन्दा अगाडी देखिन थालिएको छ । गाउँ गाउँमा पक्की सडकहरु निर्माण भएका छन्, भईरहेका छन् ।
हुन त विगतमा पनि उनी मन्त्री नबनेको होइन । २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा विमलेन्द्र निधि सामान्य प्रशासन मन्त्री, २ बैशाख २०५५ देखि १६ जेष्ठ २०५६ सम्म गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री र २० जेष्ठ २०६१ देखि २० माघ २०६१ सम्म मन्त्री बनेका थिए । तीन पटक सम्म मन्त्री बनेको भएपनि उनले विकास निर्माणको कार्यलाई कहिल्यै प्राथमिकता दिएनन्  । त्यसैगरी विमलका बुवा महेन्द्र नारायण निधि २०४७ बैशाख ६ गते कृष्ण प्रसाद भट्टराईको नेतृत्वको सरकारमा समेत मन्त्री बनेका थिए । यसरी बुवा एक पटक र छोरा पटक पटक मन्त्री हुँदा पनि क्षेत्रमा विकास हुन नसकेपछि जनता निराश हुनु स्वाभाविक थियो ।
तर, जब उनी सुशिल कोइराला नेतृत्वको सरकारमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बने, धनुषामा विकास अवश्य हुन्छ भनेर जनताको आशा पलायो ।
नेपाली कांग्रेसमा मधेसी नेताहरु मध्ये विमलेन्द्र निधि अहिले सबै भन्दा ठुलो उचाईको नेता हुन । विगतमा निधि भन्दा ठुलो कद बनाई कांग्रेसमा स्थापित भएका महन्थ ठाकुर, जयप्रकाश गुप्ता लगायतका नेताहरु पार्टी परित्याग गरिसकेपछि उनी अहिले शिर्ष स्थानमा पुगेका छन् । पार्टी विभाजन भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठित नेपाली कांग्रेस प्रजातान्त्रिकको महामन्त्री बनेका थिए । पार्टी एकिकरण हुँदा उनको महामन्त्री पद यथावत रहेपनि महाधिवेशनबाट उनी मधेसकै मतका कारणबाट महामन्त्री पदमा हार्नु पर्यो ।
विमलेन्द्रको राजनीतिक करियर
हुन त अहिलेको पुस्ताले विमलेन्द्र निधिले आफ्नो बुवा महेन्द्र नारायण निधिको राजनीतिक वारिस भनेर बुझलान् । तर, उनको राजनीतिक जीवनलाई हेर्ने हो भने राजनीतिमा उनी विद्यार्थी काल देखि नै सक्रिय रहेको पाइन्छ । हुन त विमलको हजुर बुवा राजेश्वर निधि जमिन्दार थिए । त्यतिबेला उनको संगत राणाहरुसँग हुन्थ्यो । खास गरी सत्तामा रहेका राणाहरुबाट निस्कासित तथा अपहेलित सि ग्रेडका राणा जमिन्दारहरु राम शम्शेर राणासँग थियो । राजेश्वर निधि करिब २ सय विघा जमिनका जमिन्दार थिए । गाउँमा बच्चाहरुलाई पढाउनको लागि उनी एउटा विद्यालय संचालन गर्न चाहन्थे । जसको स्वीकृति लिनका लागि तत्कालिन राणा शासकहरुबाट अनुमति लिनु पथर््यो । उक्त प्रयास गर्दा बच्चालाई संस्कृत पढाउनु छ भने मटिहानी पाठशालामा पढाउनु, अंग्रेजी पढाउनु छ भने हिन्दुस्तानमा पढाउनु भनेर राणा शासकले जवाफ दिएपछि राजेश्वर निधिले विरोध गरेका थिए । त्यसकारण उनलाई हिरासतमा एक दिन थुनिएको पनि थियो । पछि २००३ मा पदम शम्शेर प्रधान मन्त्री भएको बेलामा नेपालको बैधानिक कानुन बनेपछि मृगेन्द्र शम्शेर तराई दौराहामा आएका थिए । अनि दुई वटा विद्यालय खोल्नका लागि स्वीकृति दिईयो । जब उनले एउटा विद्यालय आफ्नै गाउँ नगराईनमा खोल्ने प्रस्ताव राखे तब धेरै गाउँका मानिसहरु त्यहाँ जान नसक्ने भएपछि जनकपुरमा सरस्वती मावि र यदुकुहामा गौरीनारायण गिरीले विद्यालय खोल्न लगाए । अनि नगराईनमा प्राथमिक विद्यालय स्थापना भयो ।
विमलका बुवा महेन्द्र नारायण निधि नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका एक हुन । राणा शासनको विरुद्धमा र राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा उनी सहभागी भएका थिए । यति मात्र होइन २०४६ सालको आन्दोलनमा समेत उनी सहभागी भएका थिए । जब कांग्रेसको स्थापना भएको थियो त्यति बेला पनि दुई वटा कांग्रेस थियो । सुवर्ण शम्शेर र महाविर शम्शेरहरु नेपाल प्रजातान्त्रिक कांग्रेसमा थिए जो सशस्त्र क्रान्ति र सेना परिचालनको पक्षमा थिए भने अर्को तर्फ विपी कोइराला, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरु नेपाली राष्ट्रिय कांग्रेसमा थिए । जब पार्टी एकिकरण भयो र २००७ सालको सशस्त्र आन्दोलनमा कांग्रेस होमिएपछि महेन्द्र नारायण निधि २०१७ सालको आन्दोलनमा महात्मा गान्धी र राममनोहर लोहियाबाट प्रभावित भई हिंसाको विरुद्धमा शान्तिपुर्ण संघर्ष देश भित्रै गर्ने लाइन लिए । पछि मात्र विपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर देश भित्र फर्किएका थिए । त्यही लाइनलाई निरन्तरता दिँदै विमलेन्द्र निधि अहिले पनि शेरबहादुर देउवा खेमामा लागेका छन् । उनलाई कतिपयले देउवाको राइट हयाण्ड पनि भन्ने गर्छन ।
जब विमलेन्द्र निधि राराब कलेजमा पढ्थे उनलाई कलेजबाट निस्कासन पनि गरेको थियो । २०३२ सालमा जब बैकुण्ठ प्रसाद विजुक्छे क्याम्पस प्रमुख थिए उनले शुल्क वृद्धि गरेका थिए । शुल्क बृद्धिको विरोध गरेका विमलेन्द्र निधि सँगै रामसरोज यादव, दिगम्बर राय, महेश शंकर गिरी, राजकुमार भारती लगायत करिब २५÷३० जना विद्यार्थीहरुलाई क्याम्पस प्रमुख विजुक्छेले १ वर्षको लागि क्याम्पसबाट निष्काशन गरेका थिए । निष्काशित भएपछि विमलेन्द्र काठमाण्डौको पाटनमा पढ्न गए । हुन त त्यतिबेला विमलका दाजु नवेन्द्र निधि पनि विद्यार्थी राजनीतिमा लागेका थिए । तर पछि उनी प्राध्यापन पेशामा लागे । अर्को तर्फ एक वर्ष पछि विमल जनकपुरको राराब क्याम्पसमा फर्केर विद्यार्थी राजनीतिमा सक्रिय भए । पछि २०३६ सालमा जनकपुरको गोपाल धर्मशालामा विपी कोइरालाबाट उदघाटन गरिएको नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सभापतिमा सर्बसम्मत चुनिएका थिए । जसले उनको राष्ट्रिय पहिचान स्थापित हुन गयो । पछिल्लो सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री बन्न सफल भएका थिए ।



२०७४ कार्तिक २६ गते आईतबार


राजेन्द्र महतोको अग्नी परीक्षा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..................
धनुषा निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट राजेन्द्र महतोले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनुषा जिल्ला नै नेपाली कांग्रेसको आधार इलाका रहेकोमा राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई चुनौति दिनका लागि आफ्नो गृहजिल्ला सर्लाहीको संसदीय क्षेत्रलाई त्यागेर धनुषाको क्षेत्र नं.३ मा उम्मेदवारी दिएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं.४ मा चुनाव नलडेर जनकपुर आई धनुषा क्षेत्र नं.३ मा राजेन्द्र महतोले किन उम्मेदवारी दिए भन्ने प्रश्न अधिकांश मतदाताहरुको रहेको छ ।
स्थानीय तहको निर्वाचनमा धनुषाको सदरमुकाम रहेको जनकपुरधाम उपमहानगरपालिकामा राजपाका मेयर लालकिशोर साह, उपमेयर रिता देवी मिश्र लगायत बहुसंख्यक वडाका वडाअध्यक्ष तथा सदस्यहरु प्यानल सहित निर्वाचित भएपछि कांग्रेसको गढको रुपमा रहेको जनकपुर यसपटक ध्वस्त भएको हो । त्यसैले पनि ताजा मत परिणामको आँकडालाई गणना गर्दै राजेन्द्र महतो जनकपुर आएको हुन सक्ने कतिपय जानकारहरुको बुझाई छ । त्यसमा पनि जनकपुरमा साहुजी समुदाय नै बहुसंख्यक रहेका कारण साहुजीको मत सजिलै प्राप्त गर्न सकिने उद्देश्यका साथ महतो जनकपुर आएको हुनुपर्दछ । विगतमा दुई पटक संविधानसभाको चुनाव हुँदा मधेसी जनअधिकार फोरम नेपालको टिकटबाट पहिलो पटक र सदभावना पार्टीको टिकटबाट दोस्रो पटक संजय साह निर्वाचित भएपछि दुईवटा तथ्य एक मधेसवादी दल र अर्को साहुजी समुदाय नै निर्वाचित हुने गरेको तथ्यलाई निश्कर्ष निकालेर चुनावी गणितको आधारमा राजेन्द्र महतो जनकपुर आएको हुन सक्ने आँकलन गरिने गरिएको छ ।
तर, राजेन्द्र महतोको बुझाई भने अर्कै छ । महतोका अनुसार प्रदेश नं.२ अब मधेस प्रदेश बन्ने र मधेस प्रदेशमा राजपा फोरम गठबन्धनकै मधेस सरकार बन्ने हुनाले प्रदेश नं.२ को राजधानी जनकपुरबाट प्रतिनिधिसभाका लागि पनि राजपाले नै कब्जा गर्नुपर्ने राजपाको रणनीति अनुसार महतोलाई धनुषा ३ मा खटाइएको हो । मधेस आन्दोलनको क्रममा अधिकार प्राप्तिका लागि वा मधेसी जनताको अधिकार सहितको संविधान जारी हुन नसक्नुमा सबैभन्दा महत्वपुर्ण कारण नेपाली कांग्रेसका मधेसी नेता विमलेन्द्र निधि नै रहेको ठहर गर्दै राजपा नेपालले अबको लडाई काठमाण्डौमा लडनुभन्दा पनि मधेसमै विमलेन्द्र निधिसँग पहिले निर्वाचनको लडाई जित्नु आवश्यक रहेकाले आफुलाई पार्टीले निर्णय गरेर जनकपुर पठाएको महतो बताउँछन् ।
सर्लाही क्षेत्र नं.४ आफ्नो बलियो पकड भएको संसदीय क्षेत्रलाई छोडेर आफ्नो पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहलाई टिकट दिई जनकपुर आउनु पछाडीको मुख्य कारण के हो भने जनकपुर भोली प्रदेश नं.२ को राजधानी बन्ने तय छ । स्थानीय तहमा जनकपुरमा स्थानीय सरकार राजपाले बनाइसकेको छ, प्रदेशमा प्रदेश सरकार बनाउँदै छ र केन्द्रमा पनि प्रदेश नं.२ को राजधानीबाट मधेस आन्दोलनको अजेण्डालाई स्थापित गर्नका निम्ति राजपाले नै प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुराको निकर््यौल सहित आफु जनकपुरमा आएको महतो बताउँछन् ।
महतो भन्छन,“ संविधान जारी गर्ने क्रममा यदि विमलेन्द्र निधिले मात्रै अडान लिईदिएको भए आज मधेस विरोधी संविधान जारी हुने थिएन ।  नेपाली कांग्रेसका थुप्रै मधेसी सभाषदहरु उनको पछि पछि थिए । तर, पार्टीमा ठुलो पद पाउने, सरकारमा ठुलो मन्त्री पाउने लोभमा आएर निधिले सिंगो मधेस आन्दोलनको जनभावनालाई उपेक्षा गर्दै संविधान जारी गर्न गए ।” भारतका तत्कालिन विदेश सचिव सुव्रमण्यमले पनि तत्काल केही दिनको लागि रोकेर भएपनि मधेसी जनताको भावनालाई सम्बोधन गर्ने गरी संविधान जारी गर्न भन्दा पनि निधिले नमानेपछि मधेस विरोधी संविधान जारी गरेकाले मधेसी जनताको अधिकार प्राप्तिको शत्रु काठमाण्डौमा बस्ने नेताहरु नभएर मधेसमै मधेसी जनताको मत लिएर जाने कांग्रेस, एमाले, माओवादी लगायतका सांसदहरु प्रमुख शत्रु भएका कारण निधिसँग लडाई लड्न अब उनकै मैदानमा चुनावमा भिडेको महतो बताउँछन् ।
 महतोलाई अहिले कांग्रेसले बाहिरिया रहेको कारण धनुषाका जनताले धनुषा पुत्र विमलेन्द्र निधिलाई नै मतदान गर्ने माहौल कांग्रेसले बनाईरहेको सवालमा महतो भन्छन,“सिंगो मधेस नै मेरो आफ्नो घर हो । जब मधेस आन्दोलन भईरहेको थियो, सिंगो मधेसमै आफुले मोर्चाको अगुवाई गरेको थिएँ । नाकाबन्दी हुँदा आफ्नो गृह जिल्ला सर्लाही छोडेर विरगञ्ज पुग्दा कसैले भनेन कि तपाई बाहिरिया हो । विराटनगरमा आन्दोलन कमजोर पडिरहेको बेला आफ्नो ज्यानको परवाह नै नगरीकन त्यहाँ पुगें । सुरक्षाकर्मीहरुले हत्या गर्ने प्रयास नै गर्यो । त्यतिबेला त कसैले सोधेन कि विराटनगर तपाईको घर होईन ।”
राजेन्द्र महतो अहिले चुनाव प्रचारप्रसारमा व्यस्त  छन् । आफु जित्नेमा कुनै शंका नरहेको महतो बताउँछन् । सबै हिसाव किताव गरेरै डिटरमाईन्ड भएर जनकपुर आएको हो, अब निधिको राजनीति यहिबाट समाप्त हुन्छ भन्दै महतो भन्छन,“ जनकपुरमा यसपटक मधेसवादीको जित सुनिश्चित छ । जोखिमको हिसाव किताव गरेरै आएको छु । २१ मंसिर पछि नेपालको राष्ट्रिय राजनीतिमा निधिको अवशान सुरु हुन्छ ।”
महतोको राजनीतिक यात्रा
२०४६ सालको आन्दोलन अगाडी राजेन्द्र महतो काठमाण्डौमा अध्ययन गर्नुका साथै व्यापार व्यवसायमा पनि जमेका थिए । प्रविणता प्रमाण पत्र तह र स्नात्तक सम्मको अध्ययन गर्दा काठमाण्डौमा मधेसी समुदाय प्रति हुने गरेको भेदभाव र विभेद उनले आफै पनि भोगेका थिए । त्यसकारण २०४६ सालको आन्दोलनमा गजेन्द्रनारायण सिंहको तत्कालिन सदभावना परिषदमा अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । पञ्चायत कालमा नै गजेन्द्र नारायण सिंह सप्तरीबाट लड्दा धोतीको पहिचान र मधेसको मुद्दा उठाउँदा सिंह प्रति महतो विद्यार्थी काल देखि नै आकर्षित थिए । अध्ययन पश्चात काठमाण्डौमा उनी व्यापारमा जमेका थिए । ट्राभल एजेन्सी, कुरियर सेवा, मोटर सेवा लगायत विभिन्न सेवा मुलक व्यवसायमा जमेका महतो २०४६ सालको आन्दोलन पछि काठमाण्डौको डिल्ली बजारमा गजेन्द्र नारायण सिंहसँगको भेटघाट पछि सदभावना परिषदमा आवद्ध भए । २०४८ सालको पहिलो निर्वाचनमा सर्लाहीबाट महतोले प्रतिनिधि सभाको चुनाव लड्दा नेपाली कांग्रेसका मिना पाण्डेसँग पराजित भए । १३ सय मत अन्तरले महतो दोस्रो स्थानमा पुगेका थिए । त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पुनः सोही क्षेत्रबाट चुनाव लड्दा ३ सय मत अन्तरले फेरी मिना पाण्डेसँग महतो पराजित भए । त्यतिबेला देशका पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापा पनि सोही क्षेत्रबाट चुनाव लड्दा थापा तेस्रो भएका थिए । २०५६ सालको निर्वाचनमा फेरी महतोले मिना पाण्डे र सुर्यबहादुर थापासँग चुनाव लडे तर त्यहाँ महतो अत्यधिक मत अन्तरले निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा अत्यधिक मतले सदभावना पार्टीका अध्यक्षको हैसियतमा राजेन्द्र महतो चुनाव जिते पनि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभाको चुनावमा राजेन्द्र महतो तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित भए ।
२०६२÷०६३ को जनआन्दोलन पश्चात नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा राजेन्द्र महतो उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रीको रुपमा पहिलो पटक मन्त्री बनेका थिए । त्यसपछि प्रथम संविधानसभाको चुनाव पछि पुष्पकमल दाहाल प्रचण्डको मन्त्री परिषदमा र माधव नेपालको सरकारमा समेत बाणिज्य तथा आपुर्ति मन्त्री भए । त्यसैगरी बाबुराम भट्टराईको नेतृत्वको सरकारमा समेत स्वास्थ्य मन्त्री बन्न सफल भएका थिए महतो ।
महतो भन्छन,“ त्यतिबेला मधेसी मोर्चाले आन्दोलनलाई सडक, सदन र सरकार तिनवटै मोर्चाबाट अधिकारको लडाईलाई जारी राख्ने निर्णय गरेका कारण सरकारमा गएर अधिकारको लडाई जारी राख्यौं । आफुले विकास सम्बन्धी मन्त्रालय नपाएकोले पुर्वाधार विकास गर्न सकिएन ।” तै पनि बाणिज्य तथा आपुर्ति मन्त्री भएको बेलामा नेपाल भारत व्यापार सन्धी, नेपाल भारत पारवहन सन्धी गर्नुका साथसाथै पेट्रोल र डिजलमा हुने मिसावट तथा भ्रष्टाचार रोक्नका लागि नेपालमा कहिल्यै हुन नसकेको पेट्रोल र डिजलको मुल्य समान गरेर मिसावट रोक्न सफल भएको महतो बताउँछन् ।
स्वास्थ्य मन्त्री हुँदा जनकपुर अञ्चल अस्पताललाई ५ सय बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेपनि पछिको मन्त्रीले त्यसलाई कार्यान्वयन नगरेको महतोको भनाई छ । जनकपुर अञ्चल अस्पतालको भवनहरु निर्माणका लागि बजेट विनियोजन गर्नुका साथै विभिन्न अत्याधुनिक उपकरणहरुको लागि बजेट निकासा आफु मन्त्री हुँदै गरेको महतोको दावी छ । त्यसका अतिरिक्त सर्लाही जिल्ला अस्पतालमा भवन निर्माणका लागि १५ करोड रुपैयाँ निकासा गर्नुका साथै १५ वेडको अस्पताल ३ वटा स्वीकृत गरी ८÷८ करोड रुपैयाँ बजेट निकासा गरिएको महतो दावी गर्छन । मधेसका विभिन्न जिल्लाहरुमा गाउँ गाउँमा स्वास्थ्य चौकीहरु निर्माण गर्न बजेट निकासा गरेको महतोको भनाई छ ।
अहिलेको निर्वाचनमा खास गरेर अधुरो संविधानलाई संशोधन गराउनका निम्ति र जनकपुर सहर विकासमा धेरै पछाडी रहेका कारण आफुले उम्मेदवारी दिएको महतो बताउँछन् ।



२०७४ कार्तिक २६ गते आईतबार


बर्ग संघर्षबाट उदाएका रामचन्द्र झाको चुनाव जित्ने दावी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..................
धनुषाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता रामचन्द्र झाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । विगतमा पटक पटक प्रत्यक्षबाट सांसद भईसकेका झा भने दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट धनुषाको क्षेत्र नं.१ बाट पराजय भोगेका थिए । पहिलो संविधान सभामा एमालेबाट जितेका झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएका थिए । पछि एमाले छाडेर माओवादी गएका झा माओवादी समेत परित्याग गरी नयाँ शक्तिमा गएका झा स्थानीय तहको चुनाव अघि पुनः माओवादीमा फर्किएका थिए । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका रामकृष्ण यादवसँग हुने अनुमान गरिएको छ । यादव अहिले नेपाल सरकारको कृषि मन्त्री हुन । उनी पहिलो र दोस्रो संविधान सभामा धनुषा क्षेत्र नं. २ बाट लगातार सभाषद भएका थिए । दुवै पटक निरन्तर जित्न सफल भएका यादव तेस्रो पटक समेत ह्याट्रिक लगाउने उद्देश्यले चुनावी मैदानमा ओर्लिएका छन् ।
संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रमा प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी दर्ता गराएका छन् । फोरम लोकतान्त्रिकको दुई नं. प्रदेशका संयोजक समेत रहेका अरगरियाले चुनावको मुखैमा फोरममा प्रवेश गरेका हुन । विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि अरगरिया सहित धनुषाको अधिकांश फोरम लोकतान्त्रिकका नेताहरु फोरममा प्रवेश गरेका थिए । दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट फोरम लोकतान्त्रिको टिकट लिएर प्रत्यक्ष निर्वाचनमा लडेपनि अरगरिया पराजित भएका थिए । रामचन्द्र झा जित्ने हुन वा होइनन् त्यो भने मंसिर २१ गते हुने निर्वाचन पछि प्रष्ट हुनेछ । तर, कम्यूनिष्ट नेताका रुपमा स्थापित रामचन्द्र झा भने जित हुनेमा ढुक्क छन् ।
रामचन्द्र झाको राजनीतिक यात्रा
रामचन्द्र झा २०३१ साल देखि राजनीतिमा सक्रिय भएका हुन । खास गरेर ग्रामिण क्षेत्रमा वर्ग संघर्षको आन्दोलनबाट राजनीति करियर उनले सुरुवात गरेका हुन । त्यतिबेला कम्यूनिष्ट पार्टीका जल्दो बल्दो नेता थिए सुर्यनाथ रान । त्यसपछि तत्कालिन माले कोओर्डिनेशन केन्द्रका राजनीतिमा स्थापित थिए योगेन्द्र साह । धनुषा निर्वाचन क्षेत्र नं.१ र २ मा ती दुवै जना कम्यूनिष्ट नेताहरुले आफ्नो प्रभाव बढाईरहेका थिए । सोही क्रममा झा ती नेताहरुको सम्पर्कमा आए । त्यसपछि झाको गाउँ लगमामा संगठनात्मक गतिविधिहरु हुन थाल्यो । गाउँ देखि इलाका सम्मको संगठन बनाउन उनी लागि परे ।
२०३६ सालको जनमत संग्रहमा पनि झा क्रियाशिल भएर लागेका थिए । धनुषाको यदुकुहामा जनमत संग्रहमा बहुदलको पक्षमा भाषण गरेर उनी चर्चित भएका थिए । क्रमशः २०४६ सालमा संयूक्त जनआन्दोलनको घोषणा भएपछि आन्दोलनमा बाममोर्चाको तर्फबाट झालाई धनुषाको कमाण्डर नै नियूक्त गरिएको थियो । २०४६ सालको आन्दोलनमा उनी मालेसँग आवद्ध थिए । गाउँ कमिटि देखि इलाका कमिटि, क्षेत्रिय कमिटि हुँदै जिल्ला कमिटिसम्मको नेतृत्व गरेका झा एमालेमा जनकपुर अञ्चल कमिटीको इन्चार्ज समेत बनेका थिए । एमालेको राजनीतिमा उनी केन्द्रिय कमिटि हुँदै पोलिट व्यूरोसम्म पुगेका थिए ।
चौथो महाधिवेशनबाट मुलतः राजनीतिमा प्रवेश गरेका झा माले हुँदै एमालेमा लागेका थिए । २०६९ सालसम्म एमालेमा आबद्ध रहेका झा एमाले परित्याग गर्दै तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेका थिए । फेरी माओवादी परित्याग गर्दै नयाँ शक्ति पार्टीमा सह संयोज कबनेका झा स्थानीय तहको दोस्रो चरणको निर्वाचन अघि पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा एमालेबाट धनुषा क्षेत्र नं.१ मा निर्वाचित भएपछि बनेको पहिलो सरकार अर्थात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा झा स्थानीय विकास मन्त्री बनेका थिए ।
पहिलो पटक व्यवस्थापिका संसदमा निर्वाचित भएपछि उनी प्रतिनिधि सभाको सदस्यको हैसियतले केही विकास निर्माणका कामहरुको सुरुवात गरेका थिए । धनुषाको क्षेत्र नं. १ त्यतिबेला अत्यन्तै विकट र दुर्गम क्षेत्रको रुपमा थियो । सवारी साधन जाने वा भनौ सदरमुकामबाट साईकल समेत लिएर जान अत्यन्तै कठिनाई हुन्थ्यो । जोगियाराको पुल, यदुकुहाको कुरनमा पुल लगायत कतिपय पुलहरु निर्माण गराएर उनले सदरमुकाम सम्म जोडेका थिए । साना साना सडकहरु निर्माण गराउन उनले भुमिका निर्वाह गरे । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष भएपछि जनकपुर सहरमा सडकहरु निर्माण गराउन उनले भुमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा नै उक्त परिषदले विकास निर्माणको काममा हात हालेको थियो । जनकपुर सहर भित्रको ११ वटा सडक खण्डहरुमा पक्की सडक बनाइएको थियो । त्यस अघिसम्म धर्मसंस्कृतिको लागि मात्र परिषदले काम गर्ने गथर््यो ।
स्थानीय विकास मन्त्री भएपछि हुलाकी सडक निर्माण गर्नका लागि उनको ठुलो योगदान रह्यो । साईकल समेत चलाउन नसकिने उक्त सडकमा माटो र ग्राभलको काम भएपछि पहिलो पटक उक्त सडक खण्डमा सार्वजनिक सवारी साधनहरु समेत चल्न थाल्यो । कमला पुलको शिलान्यास गराएर धनुषा र सिरहा जिल्ला जोड्न ठुलो भुमिका निर्वाह गरेका थिए । स्थानीय विकास मन्त्रीको हैसियतमा जनकपुर नगरपालिका मार्फत विभिन्न ८४ वटा सडकहरुको लागि बजेट विनियोजन गराइएको थियो ।
सदनमा लडाकु सांसदको रुपमा उदय
२०५१ को मध्यावधि चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार शिवधारी यादवलाई पराजित गरी पहिलो पटक उनी सदनमा पुग्न सफल भएका थिए । जिल्लाको स्थानीय राजनीतिमा आक्रामक, जुझारु तथा लडाकु नेताको रुपमा छवि बनाएका झाले सदनमा समेत जुझारुपन देखाएर सिंगो राष्ट्रमै एक आक्रामक नेताको रुपमा पहिचान बनाउन सफल भएका थिए ।
पहिलो पटक संसदमा पुग्दा  रामचन्द्र झा सदनमा सशक्त ढंगले प्रस्तुत हुँदै एउटा मिलिटेन्ट फोर्सको रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए । २०५२ सालको असोज महिनामा तत्कालिन नेकपा एमालेका महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव लगिएको थियो । कांग्रेसका तर्फबाट सभामुख रामचन्द्र पौडेल थिए । मतदानका लागि सबै ढोकाहरु बन्द गराइएको थियो । तर, सभामुख पौडेलले सुटुक्क पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका लागि ढोका खोलिदिए ।  जुन कि नगर्नु पर्ने थियो । त्यही भएर एमाले सांसद रामचन्द्र झा, निल बहादुर तिलिमा पुन लगायत ४÷५ जना सांसदहरुले थापाका लागि ढोका खोल्ने मर्यादापालकलाई  आक्रमण गरी थापालाई समेत हातपात गरेका थिए । झाका अनुसार नियम भनेको सबैको लागि बराबर हुन्छ । तर, कोही पुर्व प्रधानमन्त्री हुँदैमा नियम तोडेर उसको लागि ढोका खोल्न त हुँदैन । त्यसका लागि नै प्रतिवाद गरिएको थियो ।
अर्को प्रसङ्ग २०५५ सालतिरको हो । एमालेका अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री भएको बेला स्थानीय निकाय स्वायत्त शासन ऐनमा एउटा राम्रो प्रावधान राखिएको थियो । उक्त ऐनमा स्थानीय निकायका पदाधिकारीले भ्रष्टाचार र जनविरोधी काम गरेको पाइएमा सम्वन्धित पार्टीको निर्णय सिफारिसमा  स्थानीय निकायका उक्त पदाधिकारीलाई पदबाट फिर्ता बोलाउन सकिने प्रावधान राखिएको थियो । स्थानीय निकायमा भ्रष्टाचार र जनविरोधी कार्य गर्नबाट स्थानीय पदाधिकारीलाई रोक्नका लागि उक्त व्यवस्था गरिएको थियो । जुन, धेरै राम्रो व्यवस्था थियो ।
तर, कांग्रेस र एमालेबाट फुटेर गएको मालेको सरकारले उक्त व्यवस्थालाई परिवर्तन गर्न सदनमा लगेको विधेयक जवरजस्ती पास गर्न खोज्दा झाले कालर समातेर घोक्रेठ्याक लगाउँदै सभामुख  रामचन्द्र पौडेलको कालर समातेर आसनबाट तान्न खोज्दा मनमोहन अधिकारीले रोकेका थिए । त्यतिबेला एमालेले ३१ दिन सम्म लगातार संसद अवरोध गरेका थिए । तत्कालिन मन्त्री राधाकृण मैनालीलाई समेत उनले सदनमा घोक्रेठ्याक लगाउँदै सभामुख माथि आक्रमण गरेका थिए । यद्यपि हो हल्लाकाबीच कांग्रेसले उक्त विधेयक संसदमा पास गरेको थियो । यसरी हेर्ने हो भने संसदमा उनी अत्यन्त आक्रामक र सशक्त ढंगले प्रस्तुत भएका थिए । यति मात्र होइन त्यो बेलाको संसदमा तराई मधेसका सवालमा प्रश्नकालमा सबैभन्दा वढी प्रश्न गर्ने भुमिका पनि उनले अत्यन्त गम्भीरताका साथ उठाउने गरेका थिए । त्यसपछि उनी मिलिटेन्ट फोर्सबाट एउटा विकास पुरुषको छवि बनाउने तर्फ केन्द्रित भएका थिए । जसअनुसार उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष र स्थानीय विकास मन्त्री हुँदा धनुषाको विकासका लागि ठुलै पहल गरेका थिए । 
२०३१ सालदेखि नै मोहनविक्रमले नेतृत्व गरेको चौथो महाधिवेशनमा आबद्ध झा २०३९ सालमा तत्कालीन नेकपा (माले) को सम्पर्कमा आएका थिए । २०४० सालमा उनी अध्ययन गर्न भागलपुर गए । त्यहाँ उनले समाजशास्त्रमा स्नाकोत्तर गरे । २०४५ सालमा त्रिवि सेवा आयोगमा परीक्षा दिए । लिखितमा पास भएर मौखिक परीक्षाको तयारी हुँदै थियो, जनआन्दोलनको तयारी चल्न थाल्यो । २०४६ सालभन्दा पहिलेदेखि नै कम्युनिष्टहरूको संसर्गमा रहे पनि उनले सक्रिय रूपमा राजनीतिचाहिँ २०४६ सालको आन्दोलनसँगै थालेका हुन् ।
२०४७ मा नेकपा एमाले गठनसँगै राजनीतिमा होमिएका उनी २०४८ को पहिलो संसदीय निर्वाचनमा धनुषाबाट सांसदका लागि भएको चुनावमा हारे । तर २०५१ को मध्यावधिमा चाहिं क्षेत्र नं २ बाट जिते । यस बीचमा उनी २०४९ सालको जिल्ला विकास समितिको चुनावमा धनुषामा सभापतिको उम्मेदवार भएका थिए, तर पराजित हुनुर्पयो । २०५६ मा पनि उनले चुनाव हारे । २०६४ को संविधासभा चुनावमा पुनः विजयी भए । संविधासभापछि बनेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्चको सरकारमा स्थानीय विकास मन्त्री भए ।
एमालेमा विद्रोह
नेकपा एमालेबाट राजनीतिक करियर सुरुवात गरेका उनी अन्ततः एमालेबाट पनि निस्कनु पर्यो । खास गरेर उक्त पार्टी एउटा खास सम्प्रदायको प्रतिनिधित्व गर्ने पार्टीमा मात्रै रुपान्तरण हुने, मधेस, आदिवासी जनजाति, उपेक्षित वर्गहरुको प्रतिनिधित्व नै गराउन नखोज्ने अवस्था देखेपछि उनी एमाले पार्टी परित्याग गरी माओवादीमा लागेका थिए । तत्कालिन एमाले उपाध्यक्ष अशोक राईको अगुवाईमा एमाले परित्याग गरे पनि झा भने राईसँगै गएनन् । राईले संघीय समाजवादी पार्टी नै खोले भने झा केही दिन स्थिर बसेर माओवादीमा प्रवेश गरे ।
एमाले राजनीतिक मुद्दाका हिसाबले कमजोर हुँदै गएको र पार्टीभित्र विधि स्थापना र व्यक्ति व्यवस्थापन गर्ने कुरामा समेत चुक्दै जानु, संविधानका अन्तरवस्तु र राज्य पुनःसंरचनाका मुद्दामा एमाओवादी नजिक देखिनु,  हेटौंडा महाधिवेशनपछि एमाओवादीले प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्णरूपमा स्वीकारिसकेको अवस्थामा झा माओवादी प्रति आकर्षित भएका थिए । पार्टीभित्र राजनीतिक मुद्दा, संगठन व्यवस्थापन, विधि व्यवस्थापन लगायतका विषयमा विमति राख्दै आएपनि उनले राखेका सैद्धान्तिक विमति र व्यक्ति व्यवस्थापनका मुद्दालाई एमालेले सधै बेवास्ता गरेपछि उनी अन्ततः पार्टीबाट राजीनामा दिन बाध्य भएका थिए । नेकपा एमालेले एक हदसम्म उनलाई अवसर पनि नदिएको होइन तर निर्णायक तहसम्म भने लगेन । पोलिट व्यूरोसम्म मात्र राख्ने नीति निर्माण गर्ने तह स्थायी समिति वा पदाधिकारी सम्म नलग्ने एमालेको साम्प्रदायिक चरित्रका कारण उनी असन्तुष्ट भएका थिए । खास गरी पहिलो संविधानसभाको निर्वाचनका क्रममा मधेस मुद्दामा एमाले पार्टीको प्रवृतिले पार्टी परित्याग गर्न झन् ठुलो मद्दत गरेको थियो ।
एमाओवादीमा पनि विद्रोह
नेकपा एमाले परित्याग गरेर एमाओवादीमा लागेका झा उक्त पार्टीमा पनि संतुष्ट हुन सकेनन् । खासगरी संगठनको सवालमा एमाओवादी भन्दा एमाले कै ठीक रहेको उनले महसुस गरे । हुन त उक्त पार्टी भित्र प्रचण्ड, बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ गरी ३ वटा गुट रहेपनि उनी भने अध्यक्ष प्रचण्डकै खेमामा बसे । एमाओवादीमा आईसकेपछि उनको पार्टी भित्रको अन्तरसंघर्ष र आफ्नै क्षेत्रभित्रको अन्तर संघर्षका कारण दोस्रो संविधानसभाको चुनावमा आफ्नै पार्टीबाट श्रवण बरबरियाले बागी रुपमा उम्मेदवारी दिएपछि चुनावमा पराजित हुनु परेको थियो । अन्तर संघर्ष त एउटा कारण छँदै थियो तर उक्त चुनावमा मत पेटिका र मत पत्र नै विभिन्न चलखेल गरी परिवर्तन गरिएका कारण आफु पराजित हुनुपरेको झाको ठहर छ । यद्यपि उनी पार्टी भित्र सक्रिय रहे । तर, एमाओवादीको महाधिवेशनमा उनलाई स्थायी कमिटि सदस्यमा नलगिएपछि उनी निराश भएका थिए । हुन त प्रचण्डले जसरी पनि झालाई स्थायी कमिटिमा ल्याउनुपर्छ भनेर निर्देशन जारी गरेपनि केही नेताहरुले धोका दिएपछि उनी पोलिट व्यूरोमा सिमित हुन पुगे । र, जुन मुद्दाका लागि उनी एमाओवादीमा आएका थिए उक्त मुद्दालाई विसर्जन गरेर जसरी संस्थापन पक्ष एकहोरो ढंगले संविधान निर्माण गरी दिपावली समेत मनाउन लागेपछि उनी पार्टीबाट विद्रोह गर्न बाध्य भए ।
मधेसमा आन्दोलन भईरहेको, ४० जना भन्दा वढी मानिसले ज्यान गुमाईसकेको अवस्थामा पार्टीले दिपावली मनाउनु उनको लागि ठुलो धोका भएको ठहर गर्दैै बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउन तिर लागे । नयाँ शक्तिमा उनलाई सहसंयोजक बनाईयो । तर, उक्त पार्टीले पनि उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालसँग एकता नगरेपछि उनी नयाँ शक्ति परित्याग गर्दै पुनः माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीले संविधान संशोधनको मुद्दालाई आत्मसाथ गरिसकेको हुनाले र सदनमा भोटिङ्ग हुँदा संशोधनको पक्षमा मतदान समेत गरेकाले माओवादीमा फर्किन झालाई कठिनाई भएन ।


२०७४ कार्तिक २६ गते आईतबार


पहिलो पटक चुनावी मैदानमा मात्रिका यादव

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम................
मात्रिका यादव हुन त नेपाल सरकारको तिन पटक मन्त्री भईसकेका छन् । तर, प्रतिनिधिसभाको चुनाव पहिलो पटक फेस गर्दैछन् । धनुषाको निर्वाचन क्षेत्र नं.१ बाट मात्रिका यादवले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दिएका छन् । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यसमेत रहेका यादवलाई तिन पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रिय नेता आनन्द प्रसाद ढुङ्गानाले चुनौति दिएका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालबाट दिपक कार्कीले समेत चुनौति दिनेछन् ।

एउटा क्रान्तिकारी नेताको रुपमा, भ्रष्टाचार विरोधी नेताको रुपमा छवि बनाउन यादव सफल भएपनि चुनाव जित्न त्यति सहज हुने छैन । किनभने धनुषामा पञ्चायत कालमा शेरेधनुषाको उपाधि पाएका हेम बहादुर मल्ललाई लगातार तीन पटक हराएका नेपाली कांग्रेसका भेट्रान नेता आनन्द प्रसाद ढुङ्गानासँग उनले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ढुङ्गाना आफै पनि नेपाली कांग्रेसको नेताहरु स्वर्गीय गिरिजा प्रसाद कोइराला र स्वर्गीय सुशिल कोइरालाको प्रधानमन्त्री कालका किचेन क्याविनेट नेताको रुपमा चिनिने गरिन्थ्यो । ढुङ्गाना पनि दुईपटक मन्त्री बन्नुका साथै नेपाली कांग्रेसका संगठन विभाग प्रमुख देखि प्रमुख सचेतक सम्मको भुमिका निर्वाह गरिसकेका छन् ।

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । त्यसमध्ये गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपमेयर मात्र जितेको छ । अरु केही वडाहरुमा जितेको छ । अरु बाँकीमा काँग्रेस र मधेशवादी दल जितेका छन् । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सीट जितेका छ ।

मात्रिकाको राजनीतिक यात्रा


पञ्चायति व्यवस्था विरुद्ध आफ्नै गाउँ सबैलामा कांग्रेसको कार्यकर्ताहरुको प्रभावमा परेर मात्रिका राजनीतिमा आएका थिए । २०३३ सालमा जब विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर मेरो घाँटी र राजाको घाँटी एउटै हो भनेर नेपाल आएपछि मात्रिका कांग्रेसबाट अलग भए । एउटा नयाँ पार्टी खोज्नुपर्छ जसले बर्गिय, सामाजिक र राष्ट्रिय उत्पीडनलाई मुक्ति दिलाउन सकोस भन्ने उद्देश्यले २०३४ सालमा नेकपाको चौथो महाधिवेशनमा उनी भाग लिए । २०३५÷०३६ सालको आन्दोलनमा भाग लिनुका साथै जनमत संग्रहमा पनि उनी सहभागी भए । त्यसपछि कलेजको पढाई गर्न सिरहा गएका बेला सिरहा क्याम्पसमा दुई पटक स्ववियू सभापति समेत बने । होल टाईमर रुपमा राजनीतिक जीवन विताउँदा पञ्चायत कालमा विभिन्न आरोपहरु लगाई तत्कालिन शासकले उनलाई पटक पटक जेल पनि पठाए ।
२०३८ सालमा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका भूमिगत थियो, संगठन । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थी भन्दापनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटव्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गिय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।
२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखेको थियो । त्यहाँ उनले ठूलो संघर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण भएको थियो । त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएको थिए ।

विस २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विस २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आईपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रुपमा पार्टीमा सक्रिय भइसकेका थिए ।
२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यसताका मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसंख्यकको माग थियो । त्यस्ताका मातृका क्षेत्रिय व्यूरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण शुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरी उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रिय समितिमा ल्याउने कुरा भयो । उनी रामबृक्ष यादव मास्टर साहेबलाई केन्द्रिय सदस्य बनाउनु पर्ने अडान राखे र आफू गएनन् ।

२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतिको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई वेपत्ता पारियो । २०५८ मा फेरी उनी जेलमा परे । २०५९ मा सरकारसंग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरी दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे  ।

माओवादीको केन्द्रिय सदस्यका रुपमा रहेका यादव जनयूद्ध कालमा सुरुमा प्रशिक्षकको रुपमा काम गरेका थिए । पछि उनलाई लजिस्टिक  डिपार्टमेन्टको प्रमुख बनाइयो । तर, त्यहाँ तस्करहरुसँग भेटघाट गर्नुपर्ने भएकाले त्यो विभाग छोडेर जनयूद्ध कालमा पार्टी भित्रको अन्य काममा उनी लागे । २०५६ सालको चैत्र महिनामा काठमाण्डौमा मधेसी बुद्धिजिविहरुसँग भेटन जाँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो । २२ महिनाको कारावास पछि उनी रिहा भएका थिए । त्यसैगरी भारतमा भुमिगत रहेको बेला २०६० सालको माघमा दिल्लीमा उपेन्द्र यादव, सुरेश आले मगर र मात्रिका यादवलाई पक्राउ गरियो । उपेन्द्र यादवलाई दिल्लीमै राखियो भने मगर र यादवलाई काठमाण्डौ पठाइयो । २७ महिनाको कारावास पछि उनी रिहा भएका थिए । जनयूद्ध कालमै मात्रिकाले काठमाण्डौको पर्खालहरुमा ‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धर्ती पुत्र छि’ लेख्न लगाएका थिए । यादव भन्छन,“ त्यो नारा किन लेख्न लगाए भने काठमाण्डौको मानसिकता माथि प्रहार गर्नु थियो । मधेसी नागरिक भारतीय नागरिक नभएर नेपालकै राष्ट्रवादी नागरिक हुन भनेर काठमाण्डौलाई म्यासेज दिनु थियो ।”

त्यसपछि मात्रिका यादवले नेपाली नागरिकताको प्रमाण पत्र लिन ढाका टोपी नै लगाएको तस्वीर राख्नुपर्ने व्यवस्था विरुद्ध समेत लडाई लडे । आफ्नो छोरा अमर कुमार यादवलाई नागरिकता दिलाउन विना टोपीकै तस्वीर सहितको फोटो राखेर नेपाली नागरिकताको प्रमाण पत्र पाउनुपर्छ भन्ने अडान राखे । पछि विना ढाका टोपीकै नेपाली नागरिकताको प्रमाण पत्र उनले आफ्ना छोरालाई दिलाए । जो कि नेपालमै ऐतिहासिक परिवर्तन थियो । शान्ति प्रक्रियामा आउँदा अनमिनका प्रमुख इयान मार्टिन समक्ष मधेस मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन दवाव दिए र मधेस भन्ने शव्द संयूक्त राष्ट्र संघमा पहिलो पटक मात्रिकाकै अडानका कारण गयो ।

जनआन्दोलन पश्चात गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संसदमा मात्रिका यादव पनि सांसद बने । कोइरालाको नेतृत्वमा उनलाई बन मन्त्री बनाइयो । तर, मन्त्री पदको शपथ लिँदा मैथिली भाषामा नै शपथ लिने अडान लिएपछि प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला विच्किए । अन्ततः मात्रिका यादवको अडानका सामु कोइराला पनि पछि हट्न बाध्य भए । नेपालको इतिहासमा पहिलो पटक उनले मैथिली भाषामा मन्त्री पदको शपथ लिएका थिए । धोति कुर्ता पहिरणमा मैथिली भाषामा शपथ लिएपछि उनी मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै चर्चित भएका थिए ।

अन्तरिम कालमा उनी दुई पटक मन्त्री बने भने पहिलो संविधानसभामा प्रचण्डको नेतृत्वमा समेत एक पटक मन्त्री बने । अन्तरिम सरकारमा १३ दिनको लागि भुमिसुधार मन्त्री हुँदा राजपरिवारका जमिन माथि जनताले कब्जा गरेपछि मधेसी जनअधिकार फोरमको नेतृत्वमा ती जनतालाई प्रशासन लगाएर उठाउन लगाएपछि त्यसको विरुद्धमा मन्त्री पदबाट राजिनामा गरेको यादव बताउँछन् । बन मन्त्री हुँदा बनको उपयोग मधेसीले पनि गर्न सकोस त्यसका लागि नीति बनाएको यादव बताउँछन् । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजिनामा दिएर हिडेका थिए ।

अब संविधान संशोधन गराउन र मधेसको विकासका लागि प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएको तथा जनताले आफुलाई जिताउने निश्चित रहेको दावी गर्दै यादव भन्छन,“ एमाले र माओवादीसँग गरिएको ६ बुँदे समझदारीमा समेत मधेस समस्या समाधान गर्ने प्रतिबद्धता गरिएकाले पनि अब बन्न गईरहेको बाम सरकारमा दुई तिहाई बहुमत जुटाई संविधान संशोधन गराउने आफ्नो प्रमुख प्राथमिकता रहेको छ ।” यसका अतिरिक्त आफुले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखानाको पुनःसंचालन गर्ने, किसानहरुको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागि पर्ने यादवले बताएका छन् ।

२०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । सभासद् भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजिनामा दिए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।

मधेश आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेशमा आन्दोलन शुरु गरेका थिए । मधेशवादी दलहरुले आन्दोलन शुरु गर्दा उनी त्यसअघि देखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेशवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानु पर्छ भनि उनले निकै प्रयास गरेका थिए त्यही प्रयास स्वरुप एकपटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

२०७४ कार्तिक २६ गते आईतबार