Tuesday, May 5, 2015

अजब–गजब छ बा ! - सुदर्शन सिंह


नझुकिनुस् हजुर । बर्षौं देखि विभिन्न बजेट खाएर  राहत पाएका हामीनै हौं । यस्तो संकटको बेलामा हामी भन्दा विश्वाशिलो कोही हुँदैन ।

 
२०७२ बैशाख २० गते आईतबार

मृत्युलाई परास्त गर्ने योद्धाहरुको कथा


महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट
 खसेर जीवित विराटनगरमा उपचार गराइरहेका 
सिरहा गोलबजारका मनिष कुमार साह
र साथमा उनको आमा ।
द एक्सक्लुसिभ सम्वाददाता 
जनकपुरधाम............ 
१२ बैशाख २०७२ शनिबारका दिन नेपालमा आएको महाभुकम्पका कारण हजारौं मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते भई जीवन रक्षाका लागि अस्पतालहरुमा संघर्ष गर्दै छन् । हजारौं घरहरु ध्वस्त भएका छन् । तर, उक्त भुकम्पमा परेर आफ्नो ज्यान जोगाउने केही साहसी यूवा यूवतीहरुको संघर्षलाई सलाम गर्नै पर्छ । मृत्यु र जीवन बीचको संघर्षमा मृत्युलाई परास्त गरी बाँच्ने केही व्यक्तिहरुको कथा प्रस्तुत छ ः


विश्वमा विरलै हुने चमत्कार भयो । नुवाकोटका १५ वर्षीय पेम्बा लामा १२० घन्टासम्म भुकम्पको भग्नावशेषमा पुरिएपनि जिवितै निकालिए । १२० घन्टासम्म पानी र उज्यालोसम्म नदेखेका लामा जिवित मात्र होइन बोल्न सक्ने अवस्थामै भेटिए । उद्वारमा गएको सशस्त्र प्रहरी बलले आज बिहान माथिबाट सवा सात बजे भग्नावशेष पल्टाउँदै गर्दा लामाले तलबाट भने( मलाई बचाउँनुहोस् । 
१२० घन्टा सम्म पनि भग्नावशेषमा थिचिएर मान्छे विरलै बाच्छन् । यति लामो समयसम्म थिचिएर पनि उद्वार टोलीलाई आफू जीवित रहेको जनाउ दिने घटना सायद कमै भएका होलान् । उनलाई जिवितै उद्वार गर्याे निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गएको सशस्त्र प्रहरी बलको टोलीले । यो चामत्कारिक उद्वार  गर्ने  पाँच जनाको टोलीका अन्य हिरोहरू हुन( निरीक्षकहरू ध्वजविक्रम शाही र सुवास पुलामी , सई शशी थापा  र प्रहरी जवान प्रेम शाही । बिहिबार बिहान गोंगबु नयाँ बसपार्क अगाडि रहेको हिल्टन गेष्ट हाउस र वरीपरीका झन्डै एक दर्जन घरहरूको भग्नावशेष हटाउन  पुगेको सशस्त्रको टोलीले भग्नावशेष भित्रबाट मानिस कराएको आवाज सुन्यो । प्रहरीले कोही जिवित हुनुहुन्छ भनेर बाहिरबाट करायो । भित्रबाट ‘याँऽऽऽऽ गरेको आवाज आयो ।

प्रहरीले बोल्नुस, बोल्नुस् भनेपछि भित्रबाट पेम्बाले भने, ‘म जिवित छु, मलाई बचाउनुस् ।’पेम्बाले भित्रबाट प्रहरीलाई धेरै धेरै जानकारी दिए( मलाई केही भएको छैन् । म बसेको ठाउँको अगाडि मोटरसाइकल छ । पछाडि र यताउता फलामको बार छ ।  प्रहरीले उनलाई नआत्ति बस्नुहोस् हामी आउँदैछौ भने । उनीहरूले टर्च लाईटको प्रयोग गरेर इँटा भत्काउदैँ फलाम काट्न थाले । मान्छे छिर्ने प्वाल बनाएपछि उद्वार टोलीका पाँचै जना त्यही प्वालबाट भग्नावशेष भित्र छिरे । ७(८ फिट भित्र गएपछि जीवित लामासँग निरन्तर सम्पर्क हुन थाल्यो । उनीहरू फर्केर आउने ठाउँ बनाउँदै अगाडि बढे । त्यतीबेलै लामाले आफू वरिपरी भित्रपनि हलचल गर्न मिल्ने ठाउँ भएको बताए । 
त्यसपछि प्रहरीले पाइपमार्फत माथिबाट पेम्बा भएको ठाउँसम्म पानी पठाए । त्यसपछि अर्को पाइपबाट उनलाई अक्सिजन दिए । अनि खानको लागि स्लाइन् पानी पठाए । प्रहरीले पेम्बालाई नबोल्न आग्रह गरे । ‘डाक्टरले उनलाई धेरै बोल्न नदिनु भनेका थिए,’ निरीक्षक ध्वजविक्रम शाहीले भने ।
फलाम काट्दै, बाटो बनाउँदै उनीहरू ६ घण्टापछि पेम्बा भएको ठाउँमा पुगे । टोली प्रमुख लक्ष्मण बस्नेतले पेम्बालाई बोकेर उचाले । बस्नेतलाई टोलीका अन्य साथीले पेम्बालाई माथिसम्म ल्याउन भरथेग गरे । उद्धारमा खटिएका ध्वजविक्रम शाहीका अनुसार लामा १ सय २० घण्टासम्म पानी सम्म नखाइ र उज्यालो पनि नदेखि बसेका थिए । टोलीको नेतृत्व गरिरहेका बस्नेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट शनिबारको भूकम्पपपछि उद्धारका लागि काठमाडौं आएका हुन् । टोलीका अन्य सदस्य कंलकी स्यूचाटारको विपद् व्यवस्थापन बेसमा काम गर्छन् । 
यो उद्धारको सम्पूर्ण काम सशस्त्र प्रहरीको टोलीले आफ्नै स्रोत साधनमा एक्लै गरेको हो । बाहिर निकालिसकेपछि लामालाई एम्बुलेन्ससम्म स्टेचरमा राखेर ल्याइएको थियो । त्यसपछि एम्बुलेन्सबाट नेपाली सेना र इजरायली सेनाले सञ्चालन गरेको संयुक्त अस्पताल लगियो । लामालाई सशस्त्र प्रहरीको टोलीले निकालेर एम्बुलेन्समा ल्याउँदा बाहिर बसेका सयौं सर्वसाधारणले एपीएफ जिन्दावाद को नारा लगाएका थिए ।
हिल्टन गेष्ट हाउस लगायत वरिपरिका करिब  दर्जन घरहरु पूर्णरुपले क्षतिग्रस्त भएका छन् । सो गेष्ट हाउमा मात्र झण्डै १०० जना मानिस बसेका थिए । अहिलेपनि  भत्किएको सो गेष्टहाउस वरपर कैंयौं शव पुरिएको हुनसक्ने उद्धारमा संलग्न सशस्ञ प्रहरी बलको उपत्यकाको कमाण्ड सम्हालिरहेका डिआइजी दुर्गा कुँवरले बताए । सोही ठाउँबाट सशस्त्र प्रहरी लगायतको उद्धार टोलीले बुधबार १ जना महिलासहित ३ जनाको जीवितै उद्धार गरिएको थियो ।
म पनि धरहरासँगै झरेर बाँचे
 सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं. २ का १६ वर्षीय मनिषकुमार साह उच्च शिक्षाका लागि भनेर राजधानी हिँडेको आठौं दिन थियो । मिर्चैया ह्वाइट हाउस अंग्रेजी बोर्डिङ स्कुलबाट एसएलसी दिएका मनिष भविष्य खोज्न राजधानी पुगेका थिए । पेन्टागन कलेजमा प्लस टु पढ्ने लगभग निधो भइसकेको थियो । उनका ठूलाबुबाका छोरा विकेक साह त्यहीँ पढ्दै थिए । उनी गैरीगाउँस्थित दाइ विकेकको डेरामा बस्ने भए । राजधानी गएको दुई दिनमै (६ गते) तीनकुनेस्थित एबिसी इन्स्टिच्युटमा ब्रिजकोर्स (तयारी कक्षा) लिन थाले । ब्रिजकोर्सको कक्षा चलिरहेको थियो । दाइसँगै पेन्टागन पढ्ने सपना प्रचुर बन्दै थियो ।
१२ बैशाख २०७२, शनिबार बिदाको दिन भएकाले घुम्न जाने निधो गरे। घुम्न जाने टोली तयार भयो। उनीसँग घुम्न जाने साथी अरू कोही नभएर आफ्नै जिल्लाका सहकर्मी थिए । उनीसँगै एसएलसी दिएका साथीहरू(दीपक साह, सन्तोष शर्मा, र निरज यादव चार जना भएर घुम्न जाने योजना बनाए । साथीहरू गैरीगाउँ डेरामा आए । डेराबाट मनिष र उनीहरू आठ बजे निस्किए । गाडी चढ्न शान्तिनगर पुगे । त्यहाँबाट फनपार्क पुगे, केहीसमय घुमे । अनि रत्नपार्क हुँदै भृकुटीमण्डप पुगे । भृकुटीमण्डप पुग्दा साढे ११ बजिसकेको थियो ।  ‘साथीहरूले लुगा किनौं भने,’ मनिष भन्छन, ‘मैले चाहिँ केही किनिनँ ।’ तीनैजनाले लुगा र जुत्ता किने । त्यसपछि धरहरा चढ्ने निधो भयो । धरहरा पुग्दा पौने १२ बजेको थियो । धरहरा गुल्जार देखिन्थ्यो । वरिपरि मान्छेहरूको भीड बढ्दै गइरहेको थियो । कोही चढ्दै ओर्लिंदै गरेका दृश्य मनिषले मोबाइलमा कैद गरिरहेकै थिए । चारै जना टिकट काउन्टर पुगे । उनीहरूअघि १ सय ६५ जनाले टिकट काटिसकेका रहेछन् । हातमा टिकट लिएर धरहराको सिँढी उक्लिन थाले । धरहराको टुप्पोबाट राजधानी नियाल्ने रहर थियो । उसै पनि मनिष काठमाडौंका लागि नौला थिए । सानोमा एकपटक उपचारका निम्ति राजधानी गएका उनले ऐतिहासिक स्थलबाट राजधानी नियाल्न पाएका थिएनन् । बेर नलाइकन चारै जना टुप्पामा पुगे । सहर नियाले । १२ बज्न केही समय बाँकि थियो, उनीहरू तल ओर्लिन शुरु गरे । उनीहरू ८ र ९ तलामा आइपुगेका थिए । एक्कासी धरहरा थर्रर काँप्न थाल्यो । चारै जना आत्तिए । सिँढी चढ्ने र उत्रिनेको कोलाहल मच्चिन थाल्यो । कोही कता भागे, कोही कता । मनिषको मुटुले ठाउँ छोडिसकेको थियो । साथीभाई कता पुगे सोच्न भ्याएनन् । एउटा सिँढी तल झरेर धरहरामै अढेस लागे । धरहरा यता ढलुँ कि उता ढलुँ गर्दै लच्किन थाल्यो । अन्ततः धरहार गर्ल्याम्म ढल्यो ।
‘इटाका टुक्राले मेरो टाउको र माटोले शरीर ढाकेको थियो,’ शनिबारको महाभूकम्पमा धरहरासँगै ढलेर जीवितै उद्धार भएका मनिषले रोकिँदै रोकिँदै सुनाए, ‘बाँचुलाजस्तो लागेकै थिएन ।’ वरिपरि कसलाई के भयो थाहा पाएनन् । साथीहरू कता पुगे पत्तै भएन । समय त्यतिधेरै बित्न नपाउँदै प्रहरी र नेपाली सेनाको टोलीले उनलाई उद्धार गरेर वीर हस्पिटल र्पुयाए । ‘टाउको, हात र शरीर थंथिलो थियो । म ऐया .. ऐया भन्दै कराइरहेको थिएँ,’ उनले भने । उनले दाइ विवेकलाई सम्झिए । शान्तिनगर बस्ने मामा ताराकान्त साह सम्झे । गोजी छाम्दा मोबाइल भेटियो । मोबाइल पनि सकुशल रहेछ । ‘दाइको नम्बरमा डायल गरेँ,’ मनिष भन्छन, ‘मामालाई पनि गरेँ ।’ ‘म वीर हस्पिटलमा छु, यहाँ आउनू ।’ विवेक र ताराकान्त शान्तिनगरबाट वीरतिर हान्निए । सहरमा गाडी रोकिएको जाम थियो । गाडी चल्न थालेका थिएनन् । माइतीघरको बाटो हुँदै दुबैजना दौडिए । आधा घन्टाभन्दा केही बेरमा वीर हस्पिटल पुगे । वीरको आकस्मिक कक्ष कोलाहलमय थियो । दुबैजना मनिषलाई खोज्दै भित्र पसे । आकस्मिक कक्षमा मनिष छट्पटाइरहेका थिए । वीरको टूमा सेन्टर खुलिसकेको थिएन । मनिष सानो छँदै उनका बाबु जुगेश्वर बितेका थिए । आमा रेखादेवी छिन् । उपचार नपाएर धेरै छट्पटाइरहेको देखिरहेका विवेकले घरमा ठूलीआमा रेखादेवी र आफ्ना बाबु कामेश्वर सम्झिए । तुरून्तै फोन गरे । कामेश्वरले सिरहाबाट एम्बुलेन्स लिएर आउने बताए । काका कामेश्वर र आमा रेखादेवी मनिषलाई लिन एम्बुलेन्स लिएर राजधानी गए । राति साढे ८ बजे सिरहाबाट हिँडेको एम्बुलेन्स भोलिपल्ट आठ बजेमात्र आइपुग्यो । बाटोमा केही ठाउँ सडक अबरुद्ध पनि भएको रहेछ । ‘हामी मामा, बुबा सबै जना भएर मनिषलाई लिएर आयौं,’ विराटनगरस्थित न्यूरो अस्पतालमा भाइको उपचारमा सक्रिय विवेकले भने, ‘भाइसँग धरहरा चढेका सबै साथी त्यही बिते ।’
यत्रो ठूलो महाभूकम्पमा धरहराको टुप्पोबाट झरेको जीवित व्यक्ति भन्नेवित्तिकै न्युरोसर्जन डा. यमबहादुर रोका मनिषको उपचारमा जुटे । रोकालेनै बुधबार बिहान धरहराबाट खसेको व्यक्तिको उपचार भइरहेको छ भनी जानकारी दिएका थिए । ‘टाउकोभित्र रगत जमेको छ,’ मनिषको उपचारमा क्रियाशिल रोकाले भने, ‘दाहिने हातको पाखुरा भाँचिएको छ, दाहिने भागको करङ पनि भाँचिएका छन् ।’ रोकाका अनुसार मनिषको स्वास्थ्य अवस्था अहिले निकै सुधार भएको छ । बोल्न, खान सक्छन् । सहारा दिएर उठाउने, बसाउने गर्नुपर्छ । तर टाउकोको रगत निकाल्न शल्यक्रिया गर्नुपर्छ । किसान परिवारमा जन्मेका मनिषका बाबु जुगेश्वर १३ वर्षअघि ब्लड क्यान्सरका कारण बितेका थिए । बाबुको मृत्यु भएपछि रेखादेवी र मनिष काका कामेश्वरकहाँ बस्न थालेका हुन् । धरहराको टुप्पोबाट खसेको सुन्नेवित्तिकै रेखादेवीले लगभग माया मारिसकेकी थिइन् ।‘भविष्य बनोस् भनेर एक्लो छोरालाई काठमाडौं पढ्न पठाएकी थिएँ,’ आमा रेखादेवी भन्छिन, ‘धरहराको टुप्पोबाट खसेको भनेपछि एक्लो छोरो गुमाएँछुजस्तो लागिसकेको थियो । तर भगवानले मेरो सहारालाई गुम्न दिएन ।’ महाभूकम्पमा परेर बाँचेका मनिष अब राजधानी फर्किन चाहँदैनन् । सिरहामै बसेर आफ्नो भविष्य कोर्ने संकल्प गरेका छन् । साथीभाइ सबै गुमेको दुःख छँदैछ, तर यत्रो विपत्तिमा परेर बाँचेकोमा मनिष आफूलाई भाग्यमानी ठान्छन् । ‘भगवानले मलाई बचाए,’ उनी भन्छन् ।
धरहरासँगै खसेर बाँचेका एक जोडी साथी
महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट खसेर जीवित काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गराइरहेका संजिव श्रेष्ठ र रमिला श्रेष्ठ ।

रमिला श्रेष्ठ अहिले वीर अस्पातल टूमा सेन्टरको पाचौँ तलामा छिन् । उनको टाउकोमा पट्टी बाँधिएको छ । कालो कम्बलभित्र लुटपुटिएकी रामेछापकी यी १७ वर्षीयाको आँखा, नाक र दरफरिएको गाला मात्रै देखिन्छ । दाहिने आँखा बढी सुनिएको छ । ‘धरहराबाट खसेर पनि ऊ बाँची,’ आडैमा बसेकी उनकी सानिमाले भनिन, ‘भाग्यमानी रै’छ ।’ रमिला मुख छोपेको सुन्तला रंङको रूमाल खोलेर थोरै मुस्कुराइन् । रामेछापको सालु पोखरी घर भएकी उनी गाउँबाट घुम्न भनेर दुईमहिना अघि काठमाडौँ आएकी हुन्। किर्तिपुरमा काम गर्ने आफ्ना बाबुसँगै बस्छिन् । शनिबार भने उनी साथिसँग घुम्न निस्किएकी थिइन् ।
उनी र उनका साथी संजिव श्रेष्ठ धरहरा चढ्न गए । ‘धरहरामाथि संगै गएका साथी कँहा हुनुहुन्छ, थाहा छ ?’ उनले हातको इसाराले वार्डको अर्कोपट्टी देखाइन् । संजिव त्यहीँ थिए । रमिलाको दाँया खुट्टा भाँचिएको छ, संजिवको दायाँ हात ! त्यहीबेला, उनका ’ड्याडी’सँगै उनको शरीरको जाँच गर्न अस्पतालका कर्मचारीहरू आए ।
भग्वनाशेषमा पुरिएको १२० घण्टा पछि नुवाकोटका १५ वर्षीय
 पेम्बा लामालाई प्रहरीको टोलीले जिवितै उद्दार गरेका छन् ।
स्कुल पढ्दा रमिलाले धरहराबाट पूरै काठमाडौँ देखिन्छ भन्ने सुनेकि थिइन् । नौ कक्षा पछि उनी पढ्न छोडिन् । तर धरहरा चढ्ने धोको भने छुटेन । धरहरा देख्न रामेछापको सालुपोखरेबाट काठमाडौँमै आउनुपर्ने ! उनका बाबु दीपक श्रेष्ठ किर्तिपूरको एउटा भाँडा पसलमा काम गर्छन्। बाबुको साथी पनि हुने, आफ्नो धरहरा चढ्ने र काठमान्डौं घुम्ने धोको पनि पूरा हुने। दुई महिनाअघि रमिला काठमाडौँ आइन् । उनी यो बीचमा स्वयम्भू, चिडियाखाना, भृकुटीमण्डप जस्ता अनेक ठाँउ घुम्न गइन् । तर, पुरै काठमाडौँ एकैपटक हेर्न त धरहरा नै चढ्नुपर्थ्यो । शनिबार बिहान खाना पकाएर छिटोछिटो ’ड्याडी’ लाई खुवाइन् । खाना खादै गर्दा आफू साथीसँग घुम्न जाने जनाऊ दिइन् । १० बजे ड्याडी निस्के। उनी पनि किर्तिपुरबाट बसन्तपुर हानिइन् । संजिव वसन्तपुरतिरै बस्थे । उनीहरूको शनिबार फिल्म हेर्न जाने ’प्लान’ थियो, ग्वार्कोको गुण सिनेमा हलमा । ‘कुन फिल्म हेर्न जाने भनेका थियौँ विर्सेँ, तर पहिले धरहरा जाने जाने कुरा भयो,’ रमिलाले भनिन् । सुन्धारा पुगेर संजिव र रमिलाले धरहरा चढ्ने टिकेट किने । धरहरा चढ्दाको अनुभव उनले सुनाइन,’टुप्पोमा पुग्दासम्म मैले दुवै टिकेट हातमै समातेकी थिएँ । मोबाइल पनि हातमै थियो ।’ निकै माथि पुगेपछि गोलो झ्यालबाट उनले बाहिर हेरेकी थिइन् । त्यो बेला उनलाई डर लागेको थियो । संजिव भन्दा अघिअघि हिँडिरहेकी थिइन् । धरहराको बरण्डाबाट काठमाडौँ हेर्ने हुट्हुटी पनि उनैलाईनै ज्यादा थियो । ढोकाबाट निस्केर रेलिङ निर पुगिन् । मधुरो घाम लागेको थियो । संजिव श्रेष्ठ यसअघि पनि धरहरा चढेका थिए । धरहराको बरण्डाबाट घुमिघुमि काठमाडौँको चारैतिर देख्न पाउँदा खुब रमाइलो लागेको थियो । रामेछाप भीरपोखरीका संजिव आफ्नी भाउजुसँग बसन्तपुरमा बस्छन् । कृष्ण गल्लीको न्यु तन्दुरी फाष्टफूडमा काम गर्छन् ।
उनी शनिबार बिहान दिदीको घरमा गए । दिदिले पकाएको खाना पनि नखाइ १० बजेतिर हतार गर्दै निस्कीए । दिउँसो आफ्नी साथी रमिलासँग फिल्म हेर्न जाने ‘प्लान’ थियो । उनले रमिलालाई बसन्तपुरमा भेटे । त्यसपछि उनीहरु धरहरा गए । काउन्टरमै झोला राख्नुपर्ने रहेछ । झोला छोडेर धरहरा उक्लिए । ति झोला अझै कतै धरहराकै भग्नावशेसमा पुरिएका छन् । संजिवले भने,‘धरहराको ढोकाबाट बरण्डा झर्ने खुट्कीलोमा झर्दै गर्दा सर्रर हावा चले जस्तो भयो ।’ पहिलो पटक यहाँ आउँदा पनि उनलाई यस्तै लागेको थियो, हावा चलेजस्तो । घाम लागेको बेला सर्रर हावा आउँदा मन शितल भयो । रमाइलो लाग्यो । ‘धरहरा त हल्लेको पो रैछ !’ अहिले संजिवले सम्झिए । रमिलाले बारमा च्याप्प समातिन् । उनको हातमा अझै पनि टिकेट र मोबाइल थियो । धरहराबाट देखिने काठमाडौँ एक झल्को मात्रै हेर्न पाएकी थिइन् । उनको यति लामो धोको एक झल्को मात्र पूरा भएको थियो । मान्छेहरु चिच्याउन थाले (भूइँचालो गयो । कोही भित्र जाउँ भन्दै थिए । संजिव थुचुक्क बसेको रमिला सम्झिन्छिन् । ‘के भैरहेको थियो मलाई थाहै थिएन,’ संजिवले भने । संजिवलाई लाग्छ धरहरा ढल्क्यो र खस्यो ! रमिलालाई भने धरहरा सिधा खस्यो, रोकियो र फेरि बेपत्ता खस्यो जस्तो लाग्छ रे । उनी त्यो बेला न चिच्याउन सकिन, न रुन नै! मुटु ढक्क फुल्यो, बस ! धरहरा भुइँमा ड्याम्म बजारियो ।
भग्नावशेषमा ८४ घण्टासम्म पुरिएपछि आफ्नै पिसाव खाएर बाँचेका ऋषि खनाल ।
 उनलाई प्रहरीले जिवित्तै उद्दार गर्न सफल भएको छ ।
रेलिङमा च्याप्प समातेकी रमिला उछिट्टीइन् । ’बिउझिँदा म इँटामाथि थिएँ, त्यसपछिको एकछिन फेरि मलाई थाहा छैन,’ उनले भनिन, ’एकछिन पछि होस आउँदा साथि संजिवलाई अलिपर इटामाथि नै देखेँ, तर बोलाउन सकिन ।’ उनले केही बेर अघिसम्म समातेको रेलिङले एक आमा(छोरीलाई थिचेको थियो । ‘नउछिट्टएको भए त म पनि त्यँही पर्नेरैछु जस्तो लाग्यो,’ उनले भनिन, ‘उठ्न खोज्दा खुट्टा दुख्यो । मामु र ड्याडीको याद आयो अनि रोएँ ।’ केहीबेरमै गाढा निलो रंङको लुगा लगाउने प्रहरीले आएर रमिलालाई उठाए । संजिव त्यहीँ थिए । संजिवले भने धरहरासँगै भुइँमा खसेपछि त्यहीँ उभिएको एकजना मान्छेलाई सोधे रे ‘यो के भएको ?’ ‘भुइँचालो गएको ।’ त्यसपछिको उनलाई केही थाहा छैन ।  होस आउँदा रगतले आँखा ढाकेको थियो । उनले नजिकैको मानिससँग पानी मागे र आफ्नो आँखा पुछेपछि थाहा पाए(उनी वीरअस्पताल अगाडिको बिच बाटामा  थिए । धेरै पछि मात्रै उनलाई स्टूेचरमा राखेर टूमा सेन्टर लगियो । बुधबार टूमासेन्टरको पाँचौँ तलाको वार्डमा सारिएका छन् संजिव ।
‘हामीसँगै धरहरा चढेका कति मान्छे त्यही पुरिए वा कहाँ पुगे हामीलाई थाहा छैन, तर हामी त टूमा सेन्टरको पाँच तल्लामा दुवै आइपुगेका छौ, भाग्यले भन्नुर्पयो,’ उनी मुस्कुराए ।
देहरादुनबाट हामफालेका बाले सीमामा आएपछि थाहा पाए(छोरो जिवित रहेछ
 उनी १५ दिन अघिमात्रै भारतको देहरादुन गएका थिए । देहरादुनको भारतीय सैनिक क्याम्पको मजदुरी नै ढाकावाङ( ६ अर्घाखाँचीका ५७ वर्षे थानेश्वर खनालको रोजीरोटीको माध्यम थियो । २७ वर्षदेखि मजदुरी गरेर उनले ४ भाइ छोराहरू हुर्काए । २ छोराको विहे गरे, २ जनाको बाँकि छ । हातगोडा चलेसम्म गर्दै आएको मजदुरी किन छोड्नु भनेर उनी १५ दिनअघि देहरादुन हिँडेका थिए । उनले नेपालमा भुकम्प गएको शनिबार दिउँसो टिभी हेरेर थाहा पाए । भूकम्पले भारतभन्दा नेपालमा बढी क्षति गरेको थाहा पाएपछि नेपालका परिवारलाई फोन डायल गरे । घरमा फोन लाग्यो । खासै क्षति भएको रहेनछ । तर, दुबई जान भनेर काठमाडौं आएको माइला छोरा ऋषि खनालसँग सम्पर्क हुन सकेन । निरन्तर प्रयास गर्दा आइतबार बिहान फोनको घण्टी त गयो तर उठेन् । उनको मनमा चिसो पस्यो । काठमाडौंमा भएका आफन्तले पनि ऋषिको पत्तो नलागेको बताएपछि उनी नेपाल आउन बस चढे । ‘लास भेटियो भने काजकिरिया गर्नुपर्ला भन्ने सोचेर हिँडेको थिएँ’ शिक्षण अस्पताल महाराजगञ्जको शैयामा छोराको कुरूवा बसेको खनालले भने, ‘बाटोभरी केही सोच्नै सकिनँ । न आँखामा निद थियो, न पेटमा भोक ।’
यता सयपत्री गेष्ट हाउस भत्किएर पुरिएका ऋषिलाई मंगलबार राति ११ बजे उद्धारकर्ताले जीवितै उद्धार गर्न सफल भए । खुट्टा च्यापिएर भत्किएको घरभित्र अड्किएका ऋषि ८४ घण्टासम्म पुरिएका थिए । उनको उद्धार गरिएको खबर मिडियामा छायो । थानेश्वरले बुधबार बिहान महेन्द्रनगर पुगेपछि थाहा पाए, उनको माइलो छोरा बाँचेकै रहेछ । छोराको लास खोज्न हिँडेका उनीसँग त्यो खबरले दिएको खुसी वर्णन गर्ने उपयुक्त शब्द छैनन् । मुस्कुराउँदै हिन्दी लवजमा भने, ‘धरती र आशमान् उडेजस्तो लाग्यो ।’
त्यसपछि घरबाट उनले कान्छा छोरालाई बोलाए । गोरूसिँगेमा बाबु छोराको भेट भयो । त्यहीँबाट काठमाडौं आए । बिहिबार बिहान शिक्षण अस्पतालको बेड नं ७०८ मा पल्टिएको छोरो देख्दा उनले आँसु थाम्न सकेनन् । बाबु देख्दा घाइते छोराको अनुहार उज्यालो भयो । छोराको उज्यालो अनुहार देखेपछि थानेश्वर आँखा छोपेर रून थाले । वरिपरि भएकाले सोधे( के भयो, किन रोएको ? ‘छोरालाई देखेर मेरा आँखाबाट नदी बग्न थाल्यो’, उनले भने । माइला छोरालाई उनी अरू छोराभन्दा बढी नै माया गर्छन् । सानैदेखि ऋषीलाई रगत जम्ने समस्या थियो । बुवाले उनलाई देहरादुनमा आफैंसँग राखेर उपचार गराए । ‘बिरामी भएकाले उसको अलि बढी नै माया लाग्थ्यो’, थानेश्वरले भने ।
बिहेपछि पनि आमाबुवासँगै बसेका ऋषिको अस्ति सोमबार दुबईको फ्लाइट थियो । भर्खर ६ महिना पुगेको आफ्नो छोरोको भबिष्य बनाउन र आफूलाई धेरै माया गर्ने बुवाको सपना पूरा गर्न ऋषि केएफसी कम्पनीमा काम गर्न दुवई जान लागेका थिए । ‘मलाई केही नगरेपनि कमाएर छोराले आफ्नो भविष्य त बनाउला भन्ने लागेको थियो’, थानेश्वरले भने ‘ब्रतबन्ध, विहेबारी गरिदिएँ । यत्ति भएपछि बाबुको कर्तव्य लगभग सकियो भन्ने लागेको थियो ।’ ऋषि ८४ घण्टासम्म घरमुनि बस्दा बेहोस भएनन् । उनको बायाँ खुट्टा थिचिएको थियो । वरिपरि अँध्यारो थियो । उनी घरिघरि हात यताउती चलाउँथे । त्यतिबेला उनको हातसँग अर्को मान्छेको हात ठोकिन्थ्यो । चिसो त्यो हात लासकै हो भन्ने उनलाई थाहा थियो । लाससँगै पुरिदाँ उनलाई डर लागेन । बाँच्छु र फेरि संसार देख्छु भन्ने पनि लागेकै थिएन । तर श्वास रहून्झेल बाँच्न प्रयास सबैले गर्छन । उनले पनि गरे । रूमालमा पिसाब फेरे अनि त्यही रुमाल निचोरेर खाए । पिसाबको साहारामा पनि उनको मुटु धड्किरह्यो । ८४ घण्टापछि बाहिरी संसार देख्दा उनलाई लाग्यो(आखिर पानी नखाएर पनि ८४ घण्टासम्म पनि बाँचिदो रै’छ !
आफ्नै पिसाब खाएर पनि उनी बाँचे । तर थिचिएको बाँया खुट्टा बचाउन सकेनन् । डाक्टरले घुँडाभन्दा तल काटिदिएका छन् । उनलाई बाँच्न संघर्ष गरेको त्यो ८४ घण्टाभन्दा एक खुट्टाको भरमा बाच्नु पर्ने अबका दिन कस्ता होलान् भन्ने पीरले सताइरहेको छ । ‘२७ वर्षकै उमेरमा एक खुट्टा छैन, पढे लेखेको छैन, काम गरेर कसरी परिवार चलाउने होला भन्ने पीर लाग्छ’, उनले भने । सामान्य हुँदा दुबई गएर पैसा कमाई घर व्यवहार चलाउने उनले बुनेको सपना शनिबारको भूकम्पसँगै भत्किएपछि उनले नयाँ जिन्दगीको नयाँ सपना पहिल्याउन सकेका छैनन् ।
उता छोरो विदेश गएर जीवन धान्ने भयो भन्ने सोचेका थानेश्वरलाई छोराको बाँया खुट्टा देखेपछि लागेको छ( छोराप्रतिको मेरो कर्तव्य अझ थपिएर पो आयो ! विपद्ले थपेको बाबुको कर्तव्य कसरी पूरा गर्ने ? उनले सोचिसकेका छैनन् । हामीतिर पुलुक्क हेरेर उनले सोधे( कसैले हामीलाई सहयोग गर्छ र ? ३ दिनपछि जिवितै उद्धार भएका खनालले भने ’बाँच्नका लागि आफ्नै पिशाव पिएँ’  नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो । उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन् । उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ ।’ उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए ।
भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको हो । अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको राति ११ बजे उद्दार भएका थिए । अन्य दुई जना साथीसँग काठमाडौं आएका उनी गोंगाबु बसपार्क्स्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ ।
(सौजन्य ः सेतोपाटी डट कम )

२०७२ बैशाख २० गते आईतबार